घोराही, दाङ राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा साहित्यकार एकराज शर्मा अधिकारीको चौथो कृति ‘रचना कुसुम’ (असतोमा सत्गमय) एक विशेष समारोहका बीच विमोचन गरिएको छ। घोराहीस्थित नेपाल पत्रकार महासङ्घको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रमुख लोकसाहित्य अनुसन्धानकर्ता डा. गोविन्द आचार्य प्रमुख अतिथिको रूपमा रहनुभएको थियो भने राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो। विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै पदमप्रसाद शर्माले ‘रचना कुसुम’ लाई नेपाली साहित्यको एउटा ओजिलो प्राप्तिको रूपमा चित्रण गर्नुभयो। उहाँले भन्नुभयो, “लेखक अधिकारीको यो कृतिले मानवीय संवेदना र आध्यात्मिक चेतलाई सरल तर गहिरो ढङ्गले प्रस्तुत गरेको छ। पुस्तकको उपशीर्षक ‘असतोमा सद्गमय’ ले भनेझैँ यसले पाठकलाई असत्यबाट सत्यको मार्गतिर डोर्याउने सामर्थ्य राख्दछ। भाषाको शुद्धता र भावको गहिराइले गर्दा यो अत्यन्तै सुन्दर र प्रेरणादायी पुस्तक बनेको छ।”
कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुली, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनले शुभकामना मन्तव्य राख्दै कृतिको सफलताको कामना गर्नुभएको थियो। वक्ताहरूले लेखकको लामो साधना र अनुभवको निचोडका रूपमा यो कृति आएको बताउनुभयो। लेखकका तर्फबाट सुपुत्र ईश्वरीप्रसाद शर्मा अधिकारीले कृतिको पृष्ठभूमिबारे चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो। राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो। कार्यक्रममा दाङका प्रतिष्ठित साहित्यकार, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
दाङ चैत्र ३ विगतका वर्षहरूमा झैँ यस वर्ष पनि राप्ती साहित्य परिषद् दाङ शाखाले यही चैत २१ गते शनिबारको दिन स्रष्टा सम्मान, साधारण सभा, साहित्यिक कार्यक्रमहरू गर्ने भएको छ।
२०८२ सालको पुरस्कार प्रदानको लागि प्रतिभा छनोट समिति गठन गरिएको छ। जसको संयोजकमा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ सदस्यहरूमा केन्द्रीय सचिव शारदा शर्मा र राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका निवर्तमान सचिव प्रकाश केसीलाई चयन गरिएको छ। राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङमा विभिन्न व्यक्तिहरूले स्थापना गर्नुभएका चारवटा पुरस्कारहरू रहेका छन् ।
प्रतिभा छनोट समिति सिफारिस गरेको स्रष्टाहरूलाई पुरस्कृत गर्ने, २/३ जना अग्रज श्रष्टालाई विगतका वर्षहरूमा झैँ सम्मान गर्ने, साधारण सभा तथा साहित्यिक कार्यक्रम गर्ने कुरा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मी बताउनुभयो।
दाङ ,२७ असार राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १९६औँ श्रृङ्खलामा साहित्यकार शेषमणि घिमिरेद्वारा लिखित “देउखुरीको माटो” कविता सङ्ग्रहको घोराहीमा समीक्षा गरिएको छ।
परिषदका जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवम् लोकसंस्कृति विद् डा. गोविन्द आचार्य प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आदित्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पद्म प्रसाद शर्माले सो कृतिको समीक्षा गर्नुभएको थियो। समीक्षक शर्माले साहित्यकार घिमिरेको कृति साहित्यका हरेक दृष्टिकोणले उत्तम रहेको बताउनुभएको थियो । उहाँले लेखकलाई निरन्तर सिर्जना गर्न पनि आग्रह गर्नुभयो। “देउखुरीको माटो” कविता सङ्ग्रहको लेखक घिमिरेले पुस्तक लेख्दाखेरिका अनुभवहरू सुनाउनुभएको थियो।
सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, निवर्तमान अध्यक्ष डा. टीकाराम उदासी, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा “समीर”, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम ,लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, सिस्नुपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुली, विश्व साहित्य सङ्घ नेपाल दानका अध्यक्ष डा. कृष्णराज डिसी नेपाल पत्रकार केन्द्रका निवर्तमान अध्यक्ष विपुल पोख्रेल, झिल्का साहित्य समाज, नेपाल संस्थापक अध्यक्ष एवम् झिल्का कविता प्रवर्तक वसन्त अनुभव, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, पत्रकार गोविन्द खड्का, लगायत विभिन्न सङ्घसंस्थाबाट गरिमामय उपस्थिति रहेको थियो।
सो कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी साहित्यकारहरू सन्ध्या रेग्मी, कृष्णा शर्मा, वसुन्धरा शर्मा, खगेश्वर शर्मा पोखरेल, गोपाल पोख्रेल, लोकमणि शर्मा ज्ञवाली, मधुसुदन गौतम,सुशीला आचार्य, महेशकुमार न्यौपाने, हरिप्रसाद पौडेल ,धनसिंह गिरी, कुलबहादुर ओली, नरेशजङ्ग राणा, देवेन्द्र रिजाल, शरद गौतम, चन्द्रप्रकाश देवकोटा, नगेन्द्रकुमार शर्मा, सुनिल पोखरेल, केशवराज रिजाल, कपिल किशोर घिमि,रे वीणा रोका, विक्रम ओली “नेपाली बाबु” नारादप्रसाद भण्डारी, गोपाल भुसाल अभिनाषी दामोदर पौडेल, सुनिल कुमार देवकोटा, रिमा गौतम,पार्वती डाँगी, रामहरि शर्मा लगायतको गरिमामय उपस्थिति रहेको थियो। परिषदका जिल्ला उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो । संस्थाको तर्फबाट “देउखुरीको माटो” कविता सङ्ग्रहका लेखक शेषमणि शर्मा घिमिरेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो भने परिवारको तर्फबाट लेखकका भाइ पुरुषोत्तम शर्मा घिमिरेले उपस्थिति सबैमा धन्यवाद मन्तव्य राख्नुभएको थियो।