
साप्ताहिक झिल्का लेखन अभ्यासको दोस्रो शृङ्खला आइतवार सम्पन्न भएको छ । झिल्का साहित्य समाजको आयोजनामा यो शृङ्खला सञ्चालन भएको हो । साप्ताहिक झिल्का कविता लेखन अभ्यास शृङ्खला विगतको शृङ्खलामाझैँ सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ४ दर्जन झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक आदिको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-
……………………………
१,
फल हेर्नु पहिले
मलजलमा ध्यान दिॅंदै
कर्म गर अहिले ।
२,
उम्रिन्छ पैसाको बोट
लाग्छ, विदेशी भूमिमा
धन कमाउने अठोट ।
३,
युवा शक्ति विदेश
देशमा नागरिक खाँचो
हराभरा बनाउन परिवेश ।
- म्यामराज राई, भोजपुर
……………………………
१,
तिमीले बुझेनौ मलाई
त्यसैले रातदिन कराएँ
यो मन जलाई ।
२,
रातदिन दुःख विदेशमा
आमाले छोरालाई भन्छिन्
आऊ हाम्रै परिवेशमा ।
३,
घरको पुकार सुन
चोक र गल्ली
अनि चौतारी गुन । - शशी आचार्य
……………………………
१
राजनीति व्यापार भयो
देश नाङ्गेझार पार्न
नेता विदेश गयो।
२
हामी सामाजिक बन्नुपर्छ
त्यो व्यवहारले मात्र
सबैको हित गर्छ।
३
नागरिक देशभक्त हुनुपर्छ
दुस्मन डराउँछ सधैँ
सबैको हित गर्छ। - सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ
……………………………
१,
नेपाल बेची खाएर
भन्दैछ आन्दोलन गर्छु
लज्जाले म सर्माएर।
२,
बेरोजगारको भर्ती नेपाल
जित्छ मतदान बुढाले
बर्बाद बनायो हाल।
३,
उम्रिॅंदैन पैसाको बोट
देशमा केही गर्नु
पसिना बगाएको नोट। - एवाइ प्रभात, सहिदभूमि-३, छेन्ताङ, धनकुटा
……………………………
१,
विद्रोह चाल बोकेर
विकास छैन देशको
के बस्छौ खोकेर ?
२//
पटक पटक गरेर
जनता ठग्ने चालले
अन्जान सिधा परेर ।
३//
देखायौ त्यो अन्धोपनले
विश्वास गर्दा पनि
छलेर, ढाँटेर जनले । - अम्बिका अधिकारी, बिर्तामोड, झापा
……………………………
१.
हिमालमा चुलियो हिउँ
मायालुलाई चौतारीमा बोलाएर
गुराँसको फूल दिउँ।
२.
म धर्तीमा टेकेर
आकाश हेर्दै छु
तिमीलाई नै देखेर। - होम प्रसाद नेउपाने, धरान, सुनसरी ।
……………………………
१,
सधैँ अगाडि बढ्न
शिक्षा हो सार
गाह्रो नमान पढ्न ।
२,
माया गर्छु भन्यो
भर मलाई पारेर
अरू कसैको बन्यो ।
३,
हेर कति राम्रो !
मन लोभिन्छ यहाँ
ईलाम जिल्ला हाम्रो । - दीपा तिम्सिना पौडेल, ईलाम
……………………………
१,
दिलले दिल जलाई
भो नसोध भो
छोडेर गएपछि मलाई ।
२,
भयौ अचम्मै अटल
बेचेर हिॅंडेछौ भन्छन्
कुन कर्मको फल ? - प्रेम थापा “मन”बागलुङ
……………………………
१.
मन भित्रको चोट
कसले हो देख्ने
टुटेको भाग्यको खोट।
२.
लिन्छन् गनीगनी नोट
पाएपछि गायब हुन्छन्
दिएर नराम्रो चोट।
३.
छ्याप्छ्याती हुन्छन् अहिले
दिनु भन्दा अगाडि
कुरा बुझ पहिले । - अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६, संखुवासभा ।
……………………………
१.
जन्मभूमिको माया थियो
बस्ने वातावरण नभएर
विदेशले आश्रय दियो।
२.
जन्मभूमि सकिॅंदैन बिर्सन
जहाँ गए पनि
गाउॅंघरमै हुन्छ मन।
३.
समस्या कसले टार्छ
सुनाएर नसुन्ने बहिरो
बरु जिउॅंदै मार्छ। - अर्जुन प्रसाद चौलागाई, सुनापति-१ , रामेछाप (हालः-अमेरिका, बोस्टन)
……………………………
१,
लैजाला टोपी खोसेर
नबस आफ्नै भाईको
घरमा आगो झोसेर।
२.
लोभको थैली भरेर
बिताउँछन् लोभीले जिन्दगी
लैजाने के मरेर ?
३.
जान्छ एकदिन ढलेर
खरानी हुन्छ जिन्दगी
चिताको माथि जलेर। - बिके मुखिया, दार्जिलिङ, भारत
……………………………
१,
देशका सहिदको रगत
भ्रष्टाचारीको लागि बग्यो
सत्ताको भर्याङ फगत ।
२,
संविधानको रक्षा भन्दै
आदर्श सिद्धान्त विपरीत
मख्ख भोट गन्दै ।
३,
राजनीतिमा लाजले छुॅंदैन
मुर्छा पर्यो कानुन
भ्रष्टको नैतिकता हुँदैन । - प्रद्युम्न चालिसे
……………………………
१,
बोट लटरम्म फलेको
असह्य गर्मी दिन
चिसो बतास चलेको ।
२,
उपकार फलदायी हुन्छ
कर्मबिना आशा फलको
इच्छा राख्ने रुन्छ।
३,
मन आस्था ढलेको
शोभायमान हुन्छ मन्दिर
सधैँ दियो बलेको । - कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
……………………………
१.
मरेपछि गुणगान गाउँछन्
कस्तो रहेछ परम्परा ?
जिउँदैमा आडम्बरी हराउँछन्।
२.
भोका नाङ्गा हेर्दैनन्
ढुङ्गामा दूध ओइराउने,
पुरातन सोच फेर्दैनन्।
३.
ढिकी, जाँतो हरायो
प्रविधिको भयो विकास,
अचेल आलस्य मौलायो। - पृथक प्रकृति, झापा
……………………………
१,
रिनको भारी बोकेर
बाआमा एक्लै छोडी
जाँदैछु परदेश छोडेर ।
२,
सहिद दिवस मनाऊ
माघ सोह्र गते
सालिकमा माला लगाऊ।
३,
मिलेर काम गर
देश बनाउने कुरामा
अरूको भर नपर। - कला ढकाल, झापा
……………………………
१,
नराख्नु आस पहिले,
गर्ने गर्नु सबैले
निष्काम कर्म जहिले ।
२,
विषय सुखमा अल्झेर
बस्नु हुन्न प्रदेशमा
फर्क माटो सम्झेर ।
३,
आउला भनी फर्केर
लेकबेँसी, बनजङ्गल, झरना
बसिरहेका सधैँ पर्खेर । - दीपा समभाव, दुबेकोल -खोटाङ्ग (हाल बुनपा काठमाडौ)
……………………………
१,
तराई, पहाड, हिमाल
साझा हाम्रो फूलबारी
प्यारो हाम्रो नेपाल ।
२,
दुखिरहन्छ यो मन
रहर पूरा गर्नलाई
चाहिने रहेछ धन।
३,
गर्नलाई रहेछ घात
माया गर्छु भनी
किन दियौ हात ? - अनिता भण्डारी, ताप्लेजुङ
……………………………
१ .
बास बस्ने घर
मानवलाई सधैँ चाहिन्छ
गाँसको पनि भर ।
२
हिमाल पहाड तराई
हामी सबै नेपाली
कोही छैन पराई ।
३.
साथ सहयोग जोड्नु
नराम्रो मान्छेलाई सबैले,
मन, मुटुबाट छोड्नु । - श्री कृष्ण धामी, सुदूरपश्चिम बझाङ
……………………………
१,
पहले कति रमाए
तिमीलाई भेटेपछि हजुर
जिन्दगीको परिभाषा समाए।
२,
सेवा सबैको गर
नबस कसैलाई पर्खी
छैन जिन्दगीको भर।
३,
देश चलाउने हात
छ असल चाहिएको
हुनेछ सबैको साथ। - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
……………………………
१,
असल सोच लिनु
सधैँभरि सेवक बनी,
समाजलाई साथ दिनु।
२,
घर छाडी गएको
पराईलाई खुसी पारेर,
सबैको प्यारो भएको ।
३,
भोग विलासमा अल्झेर
हराउनु हुन्न परदेशमा,
घर आउ सम्झेर । - राज कुमार राजभण्डारी “खोटाङ्गे”,
मध्यपुर ठिमी – ५, संगम कोलोनी भक्तपुर ।
……………………………
१.
चिस्याउन आउँछ माघले
जतिसुकै भोकाए पनि
खाँदैन घाँस बाघले ।
२.
भयो माघ आधा
ओकले हिउँदे निसान
सेताम्मे तुसारो बाधा । - कृष्णकुमार वैद्य , बनेपा ९, काभ्रे
……………………………
१,
सीमाभित्र बस मन
हैन खुला संसारमा
स्याहारी आफ्नै तन। - रचना शर्मा प्रतीक्षा, ललितपुर ।
……………………………
१ ,
छैन लुगा ऊनी
आयो पुस माघ
बालाऔॅं, आउ धुनी ।
२ ,
जता हेर्योसेताम्य
टुसारो अतिनै पर्यो
कहिले होला साम्य?
३ ,
जब लाग्छ फागुण
तब वसन्त छाउँला
हट्छ चिसो अवगुण। - हरिगाेपाल प्रधान, काभ्रे पलाञ्चोक बनेपा १४, सँगा बजार ।
……………………………
(१)
नदिएपछि प्रमाणपत्रले खान
धनीपुर्जा धितो राखेर
बाध्यता परदेश जान।
(२)
राजनीतिले सौदाबाजी गर्छ
उच्चतम योग्यता पुगेका
युवाशक्ति बिदेसिनु पर्छ। - पद्मा काश्यप पाण्डे, मोरङ
……………………………
१,
नुन,चुक घाउमा
मैले रोजेको सरकार
मलाई सिध्याउने दाउमा ।
२,
हिजोको जिन्दावादको नाराले
सत्तामा पुर्यायो नेतालाई
दु:ख पायो साराले ।
३,
एक, दुई, तीन
व्यवहार यस्तै रहे
फेरिन्न जनताको दिन । - चिरञ्जीवी ढकाल, नेपालगन्ज-२०, राँझा एयरपोर्ट बाँके
……………………………
१
जिन्दगीमा रमाईलो गरौँ
समाज प्रगति चाहॅंदैन
अरूको आशा नगरौँ ।
२
समाजले साथ दिॅंदैन
भोली गरौँला नसोचौँ
खोसेर कसैले लिँदैन ।
३
अर्काको भरमा नपरौँ
गरौँ आफ्नो कर्म
अरूलाई उक्साउने नगरौँ । - चुडामणी देबकोटा, चनपा – १३, काठमाडौ
……………………………
१
पैसोले गर्नु गर्यो
भए मान्छे बदनाम
पशुभन्दा तल झर्यो ।
२
सकिएन समस्यालाई रोकेर
बेटुङ्गो यात्रामा निस्किॅंदैछु
बाध्यताको पोको बोकेर।
३
सात समुद्र तरे
कोही फर्किए हजुर
कोही उतै मरे । - बि.कुलुङ, दार्जिलिङ, रंगबुल
……………………………
१)
झुटो बोल्ने बानी
हुन्छ हानी आफैंलाई
जान यति बाबुनानी ।
२)
किताबले दिन्छ ज्ञान
खेर समय नफाले
पढाईमा देउ ध्यान ।
३)
पुर्याएर सुन्दर ढङ्ग
बोल विनम्र भई
बनाऊ सबै दङ्ग । - रुना कर्माचार्य दाहाल, चितवन
……………………………
१,
ऋतुहरूमा खास वसन्त
लागेर चोटहरू अनायसै
झिल्काकार भएँ अनन्त।
२,
चोटमा मल्हम भरिएला
बिसेक बनेर आउॅंछु
पीडाको समुद्र तरिएला।
३,
डालीमा फूलहरू खिल्नेछन्
चोटहरू सह्य भएपछि
पुनः सबैसँग मिल्नेछन्। - दार्जिलिङ भारत।
……………………………
१
को होला खोई ?
खोजी रहेछु म
मेरो बन्ने जोई ।
२
चाहिॅंदैन अनुहार राम्रो
मेरो सङ्गी होस्
परिवारलाई भन्ने हाम्रो ।
३
नसके दिन सुख
रुवाउँदिन मेरो मान्छेलाई
दिन्न म दु:ख । - बिके माकजू , भक्तपुर ।
……………………………
१,
अचार मीठो आलुको
ट्वाक्क जिब्रो पड्काउॅंदा
सातो उडेछ ठालुको ।
२,
हिजै सल्लाह गरेछौ
आज आयो चेतना
बल्ल जिल्ल परेछौ ।
३,
जान्ने सुन्ने बनेर
औधी गर्यो बाठोले
आफ्नै खाडल खनेर । - कमला पौडेल
……………………………
१,
छोडेर लाज सर्म
थप्यौ भुक्तमान जनतामा
उल्टो गरेर कर्म ।
२,
चैन लुट्ने हाम्रो
ढाँटको गर्छौ खेती
कसरी भनौँ राम्रो ।
३,
मेटी आफ्नो सान
मुर्खता थियो हाम्रो
तोरी छरेर धान । - रामप्रसाद पुरी,बादेल,खाेटाङ ।
……………………………
१,
बोलौँ सदा सोचेर
बिझ्न सक्छ काँडा
बोले जबर्जस्ती घोचेर ।
२,
देखेर तिम्रो चाल
उदास हुने रहेछु
आउने पनि साल ।
३,
आँखा आँखा जुधेपछि
दोधार हुन्छ मन
प्रेमिल रहर कुदेपछि । - मेचीनगर, झापा
……………………………
१,
रामराज्य बनाउन खोजे
शासकले साथ पाउँछन्
असल कर्म रोजे।
२,
काम कुरा विपरीतले
हास्यपात्र बन्नु भन्दा
खुसी हुनु परहितले।
३,
गहन विचार सिर्जनाको,
सधैँ कदर भएदेखि,
प्यास बुझ्थ्यो तिर्सनाको। - मनोहरी पौडेल, गैडाकोट – १
……………………………
१.
भन्न सजिलो हुन्छ
मायालु निष्ठुरी भएपछि
धर्धरी मन रुन्छ ।
२.
हेर मायाले एकफेर
मनमा तिमीलाई सजाउँला
नबस्नु तिमी सम्झेर ।
३.
कोसौ टाढा जाँदैछु
झोलामा तस्वीर बोकेर
सम्झना साथमा लाँदैछु । - बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
……………………………
१,
महॅंगीले गगन चुम्यो
विलीन भयो चाहना,
मानवको अस्तित्व गुम्यो ।
२,
बजार भाउ बढेर
सहर बस्न गाह्रो
नसकिने पुराउन हेर ।
३,
मिठा सपना बुनेर
सहर पसेको थिएँ
फर्किए रिनले उनेर । - सीमा कार्की समर्पण, ठोरी गाउँपालिका -४, मेलचोक, पर्सा
……………………………
क)
फसेर पनि दलदलमा
सत्ता सधैँ ओगट्छन्
छल औ बलमा l
ख)
मूलढोका बन्द थिए
जस्केलबाट भित्र तानी
फूलमाला लगाई दिए l
ग)
नेतामा विवेक छैन
निमुखा हुँदा पीडामा
वेदना बुझ्ने हैन l - बाबुराम गौतम, गुल्मी
……………………………
(१)
हिमालमा हिउँ सेतै
देखेर मन रमाउँछ
हेर्न आउँछु तेतै ।
(२)
उकालीमा जाँदा जाँदै
थकाइ मार्दा एकछिन
बसेर पानी खाँदै ।
(३)
गयौ माया मारेर
तिमी खुसी भयौ
मलाई एक्लै पारेर । - उर्मिला के.शी., धनकुटा
……………………………
१/
सुगन्ध भए सुनमा
हुन्थ्यो होला कस्तो
तुलना गरौँ गुनमा।
२/
जन्मिन् छोरी भनेर
नगर हेला कदापि
बाँचुन् लक्ष्मी बनेर।
३/
छोरी बुहारी बराबर
सम्झे बढ्दछ उन्नति
हुन्छ शान्तिप्रिय घर। - विवश पारदर्शी, झापा
……………………………
१,
तिम्रो माया पाउनलाई
बाआमा छोडेर आए
तिमीसँग हात समाई ।
२,
घृणा पात्र बनायौ
तिमीले मलाई होइन
स्वार्थी के पायौ ?
३,
मायाको जलमा पारेर
फसाउने कुपात्र तिमी
जिउँदै गयौं मारेर । - कविताहरी, सुन्दर हरैंचा नगरपालिका १ मोरङ
……………………………
१,
कविको भव्य भेला
भयो विचारका प्रहार
साहित्यमा रम्ने बेला।
२,
समिक्षा भयो लामो
पाठक माथि विश्वास
साहित्य प्रवर्द्धनको खामो।
३,
अमूल्य समय दिए
थिएन प्रतिस्पर्धा रचनाको
मनले पदवी लिए । - सुस्मिता अधिकारी ,काठमाडौँ
……………………………
१.
कामको राम्रो तरिका
अचेल छन् मानिस
व्यस्त संसार भरिका ।
२.
आँटेपछि कुराहरू आउँछन्
हरेक जानकारी लिनुपर्छ
आवश्यक पर्नेहरू धाउँछन् ।
३.
भोकले भोजन माग्दछ
आफ्नै पसिनालाई जहिल्यै
श्रमिकले मालिक ठान्दछ । - नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
……………………………
१)
हुन्छ मिठो फल
दिनदिनै हेरचाह गर्नुपर्छ
दिनुपर्छ सधैँ जल ।
२)
हेरेर बाटो अघि
बढ्दै जाऔॅं सबै
विरहमा कहीँ नबगी ।
३)
उठाई देशको झण्डा
बोकेर हिॅंडौँ सबै
भष्टाचारीलाई दिऔॅं दण्ड । - रबि पौडेल, दक्षिण भारत पाण्डेचरि
……………………………
१,
शिक्षाको ज्योति छरौँ
देशलाई समृद्धितर्फ डोर्याउन
भरमग्दुर प्रयास गरौँ।
२,
हृदयमा सन्नाटा छायो
विगतका अनवरत यात्राका
अस्मेल याद आयो ।
३,
चौतारीमा शितल छाया
जूनी जूनीसम्म पनि
रहिरहोस् हाम्रो माया । - डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६, दोलखा ।
::::::::जय झिल्का साहित्य ! ::::::::::
















