• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • २९ मंसिर २०७९, बिहीबार २३:०१ मा प्रकाशित
  • उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    १.
    पहिचान
    हाम्रो देश
    प्रकृतिले सुन्दर शान्त !

    २.
    जाडो
    होसियार मानिस
    सुरक्षित राखौँ परिवार !

    ३.
    हुस्सु
    तराईको विशेषता
    प्रकृतिले दिएको पहिचान !

    ४.
    फूल
    बगैँचा भरि
    सौर्न्दर्यको मन्द मुस्कान !

    ५.
    स्वार्थ
    मानिसको जात
    आफ्नो दुनो सोझाउने !

    • दुर्गा आचार्य
      मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग लेखन शृङ्खला भाग- ३

  • २७ मंसिर २०७९, मंगलवार ०८:४८ मा प्रकाशित
  • Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन शृङ्खला भाग- ३

    नर पल्लवको ढुङ्गा लघुकथालाई पर्गेल्दा-शेखर अर्याल

  • २४ मंसिर २०७९, शनिबार २३:४३ मा प्रकाशित
  • नर पल्लवको ढुङ्गा लघुकथालाई पर्गेल्दा

    शेखर अर्याल

    शेखर अर्याल

    विषयप्रवेश

    नर पल्लव लघुकथाकार, कवि, कथाकार र अनुवादक व्यक्तित्व भएका साहित्यकार हुन् । पछिल्लो समय लघुकथामा उनको बढी लगाव रहेको देखिन्छ । लघुकथाकार नर पल्लवको वास्तविक नाम नरबहादुर गुरुङ हो । उनको जन्म माता दुर्गादेवी गुरुङ र पिता होसियारसिंह गुरुङबाट वि.सं. २००४ चैत्र ७ गते भारतको देहरादुनमा भएको हो । नर पल्लवको कर्म क्षेत्र काठमाडौँ हो । हाल उनको बसोबास बुद्धनगर काठमाडौँमा रहेको छ । उनले ‌औपचरिक रूपमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । पेसाका सम्बन्धमा उनले अध्यापनलगायत अनुसन्धान संस्थाहरू, प्राइवेट कम्पनी, राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गरेका छन् ।

    नरपल्लवको विशेष गरी अनुवादमा विशेष योगदान रहेको छ । उनका दुईवटा कवितासङ्ग्रह, एउटा कथासङ्ग्रह र छवटा अनुदित कृति प्रकाशित भएका छन् । प्रकाशित मौलिक कृतिहरूमा ‘नसुनिने पदचापहरू’ (कवितासङ्ग्रह, २०४४), छोपिएका पातहरू (कवितासङ्ग्रह, २०७०), र ‘उज्यालोतिरको खोज’ (कथासङग्रह, २०७१) रहेका छन् । त्यस्तै उनले पारिजातको ‘अनिदो पहाडसँगै’ उपन्यासको अङ्ग्रेजीमा ‘Under the Sleepless Mountain’ ( २०६४) शीर्षकमा अनुवाद गरेका छन् । अमेरिकी कवयित्री एमिली डिकिन्सनको ‘Poems by Emily Dikinson’ को नेपाली अनुवाद ‘एमिली डिकिन्सनका कविताहरू’ (कविता सड्ग्रह, २०४१) लगायत ‘Unheard footsteps’ अङ्ग्रेजी अनुवाद (२०७०), महेश पौडयाल ‘इस्माली’को ‘चिम्पेन्जीको चिन्ता’को (बालकथा सङ्ग्रह) अङ्ग्रेजी अनुवाद ‘A Chimpanzee’s Worry’ (२०७३), र अङ्ग्रेजीबाट नेपालीमा अनुवाद ‘विश्वका बालकथा’ (बालकथा सङ्ग्रह, २०७६) शीर्षकमा अनुवाद कृति पनि प्रकाशित भएका छन् । उनले विभिन्न संघ-संस्थाबाट कदर-पत्र / धन्यवाद-पत्र प्राप्त गरेका छन् । उनका साहित्यिक अन्तर्वार्ता एफएम रेडियोबाट प्रशारित भएका छन् ।

    नर पल्लवलाई लघुकथाकारका रूपमा हेर्दा उनका लघुकथामा विषयवस्तुमा विविधता, सामाजिक, धार्मिक तथा सांस्कृतिक विषमता, नारीचेतना, वर्गीय विभेद, अन्धविश्वास, सामाजिक अन्याय, अत्याचार, दमन, विभेद, राजनीतिक विषमता जस्ता विशेषता रहेका छन् । नर पल्लवका प्रकाशित विभिन्न लघुकथासङ्ग्रहमध्ये यहाँ नमस्ते आधुनिक लघुकथा मञ्चमा २०७९ साल भदौ ७ गते प्रकाशित लघुकथालाई विविध कोणबाट विश्लेषण गरिएको छ :

    कथानक

    ‘ढुङ्गा’ लघुकथा आफ्नो सुख र स्वार्थ पूरा गर्नका लागि आफ्नी विधवा आमालाई वृद्धाश्रममा पुराएको अनि सामाजिक देखावटीपनका लागि आमाको मुख हेर्ने दिन वृद्धाश्रममा पुगको विषयलाई आधार मानेर लेखिएको छ । यस लघुकथाले समाजमा रहिरहेको यथार्थ चित्रण र आधुनिक भनाउँदा सन्ततिले गर्ने व्यवहार अनि लोक बुझाउन आमाको मुख हेर्ने दिन भेट्न गएर देखाउनु पर्ने कार्यलाई गहन ढङ्गले प्रस्तुत गरिएको छ । आफूले जस्तो कार्य गर्यो त्यस्तै कुरा आफ्ना सन्ततिले पनि सिक्छन् । त्यसैले त्यबाट टाढा रहनुपर्छ भन्ने सङ्केत गरेको छ ।

    विधवा आमालाई आमाको मुख हेर्ने दिन भेट्न वृद्धाश्रममा पुगेको प्रसङ्गबाट लघुकथा आरम्भ भएको छ । रमणीय र आध्यात्मिक वातावरणमा आश्रममा ती विधवा आमाले तुलसीको मठसँगै शिवलिङ्ग बनाई जल चढाएको देखेर नातिले जिज्ञासा राखेको छ । जसमा हजुरआमाले शिवभगवान् रहेको हुनाले ईश्वरप्रति आस्था राख्नुपर्छ भनेको विषय विकसित भएको छ । नातिले ईश्वरको पूजा गरी जल चढाउँदा के हुन्छ ? भन्दा सारा दुखकष्ट र सङ्कट नष्ट हुन्छन् भन्ने विश्वास नातिसमक्ष हजुरआमाले गरेकी छन् । लघुकथाको उत्कर्ष स्वरुप हजुरको दुखकष्ट बुवाले हटाउन सक्नुहुन्न र ? भन्दा लघुकथा उत्कर्षमा पुगेको छ । नाति बोलेपछि हजुरआमाले “तेरो बावु त ढुङ्गा भइसकेको छ” भनी व्याङ्ग्यात्मक झटारोबाट कथानक समाप्त भएको छ ।

    लघुकथामा वृद्ध विधवा आमाप्रति छोराछोरीको दृष्टिकोण कस्तो हुन्छ ? देखावटीका लागि मात्र आमाको मुख हेर्ने दिन भेट्न जाने अघिपछि वास्ता नगर्ने प्रवृत्तिप्रति नातिको भनाइ र हजुरआमाको भनाइबाट यथार्परक कुरा प्रकट भएको छ । नाति र हजुरआमाको संवादात्मक भूमिकामा लघुकथाको कथानक सलबलाएको छ । यसमा घटना वा विषयवस्तुलाई पात्रका सहायताले उचित परिवेशमा कथानक व्यवस्थापन गरिएको छ । घटनाको अन्त्यभन्दा अगाडि ह्रासको अवस्थामा एकदुई वाक्य प्रकट गनृ सकिएको भए एक्कासी कथा अवतरण हुने थिएन । तर यसरी अकस्मात घटनाको अन्त्य भएपनि विषयवस्तुको सार्थकता र कथाले प्रदान गर्ने सन्देश खजमजिएको छैन । लघुकथाको कथानकमा रहेको विषयवस्तुको क्रम संरचनात्मक रूपले संरचित रहेको देखिन्छ । कथाको विषय र घटनाक्रम सहसम्बन्धित छ । कथानकलाई गति प्रदान गर्नका लागि कथाकारले पात्रलाई सशक्त बनाएर विषायवस्तुलाई अगाडि बढाउन सहयोग गरेकाले यसमा तृतीय पुरुषीय दृष्टिविन्दुको प्रयोग भएको देखिन्छ ।

    पात्र वा चरित्र

    ‘ढुङ्गा’ लघुकथामा विधवा, निरव, र नाति पात्रका रूपमा आएका छन् । प्रस्तुत लघुकथामा विधवा एक वृद्धाश्रममा बस्ने आमा हुन् । उनी निरवकी आमा र नातिकी हजुरआमा हुन् । विधवा वृद्धाश्रमा बसेकी पात्र हुन् । आध्यात्मिक वातावरण रहेको वृद्धाश्रममा विधवा आमाले तुलसीको मठसँगै शिवलिङ्ग निर्माण गरी पूजाआजा गरी बाँच्ने आधार बनाउने पात्र हुन् । ईश्वरको पूजाआजा गर्नाले दु:खकष्ट हरण हुन्छ भन्ने विश्वास व्यक्त गर्ने आध्यात्मिक पात्रका रूपमा भूमिका निभाएकी छन् । विधवा आमा कथामा एक सामाजिक विषयको प्रतिनिधित्व गर्ने आध्यात्मिक, स्नेही, कर्मशील पात्रका रूपमा देखिन्छिन् । छोराको भूमिकामा रहेको निरव समाजको लोकाचार पूरा गर्न आमाको मुख हेर्ने दिन वृद्धाश्रम पुग्ने ढोँगी चरित्रको व्यक्ति हो । यस पात्रले हालको समाजमा देखा परेको वृद्धवृद्धाप्रति छोराबुहारीको दृष्टिकोण र उनका कारण वृद्धाश्रममा पुग्नु परेको कारुणिक अवस्थाको चित्रण गरेको छ । निरव आफ्नो कर्तव्य पूरा नगर्ने संस्कारविहीन आधुनिक सन्ततिको प्रतिनिधित्व गर्ने पात्र हो । लघुकथाको भूमिकामा रहेको नाति एक जिज्ञासु अनि ईश्वर के हो ? भन्ने कुरा जान्न खोज्ने आधुनिक पात्र हो । ईश्वरको पूजा गरेर दुःख हरण हट्छ भन्ने वाक्यांश सुन्दा बुवाले तपाइँको दुःखकष्ट हटाउन सक्नुहुन्न र ? भनी कुरा राख्न सक्ने तेस्रो पुस्ताको व्यक्तिका रूपमा रहेको छ ।

    यसरी पात्र चयनका हिसाबले कम पात्र रहेको र पात्रकै सहायताले कथावस्तुलाई गतिशील बनाएको हुनाले लघुकथा पात्रानुकूल रहेको देखिन्छ । पात्रले जुन विषायवस्तुलाई बाँधेको छ त्यसका आधारमा हेर्दा पनि पात्रको प्रयोग सार्थक रहेको छ । यस लघुकथामा पात्रले व्यक्त गर्ने विषय स्तरअनुकूलको कथन बनाउन सकेको भए अझ सशक्त बन्ने देखिन्छ ।

    परिवेश

    ‘ढुङ्गा’ लघुकथाको परिवेश नेपाली समाजको सहरीया परिवेशमा आधारित रहेको देखिन्छ । लघुकथामा आएको वृद्धाश्रमको घटनाले विशेषतः सहरीया परिवेशको सङ्केत गरेको छ । लघुकथाको परिवेश मूलतः वृद्धाश्रमको सेरेफेरोमा घुमेको छ । समयगत रूपमा हेर्ने हो भने पनि आमाको मुख हेर्ने दिनको एक समयको घटना हुनाले पूर्व स्मृतिबाहेक लगभग एकै समयको एक घन्टाको समयभित्र लघुकथा सिर्जना भएको देखिन्छ । यसरी हेर्दा परिवेशले समातेको विषयवस्तु भने सार्थक रहेको छ । यसले गर्दा विषयवस्तुलाई परिवेशले बाँध्न सकेको देखिन्छ ।

    उद्देश्य

    ‘ढुङ्गा’ लघुकथाको मूल उद्देश्य आफ्ना वृद्ध बुवाआमालाई अशक्त भएपछि वृद्धाश्रममा लगेर राखी आफ्ने कर्तव्यबाट पन्छिने प्रवृत्तिको उद्घाटन गर्नु यस कथाको मूल मर्म हो । बुवाआमाको चाहनाविपरीत वृद्ध विधवा आमालाई वृद्धाश्रममा लगेर राख्ने अनि सामाजिक प्रतिष्ठा बढाउनका लागि आमाको मुख हेर्ने दिन त्यही मुख लिएर आमासामु पुगेको देखावटी चरित्रको उछितो काढ्नु पनि कथाको मूल मर्म हो । दोस्रो फुस्ताले वृद्धालाई अपहेलना गरे पनि तेस्रो पुस्ताको नातिमार्फत वृद्धवृद्धाको सेवा गर्नुपर्छ, वृद्धाश्रममा होइन उनीहररूको खुसी दिन सक्नुपर्छ भन्ने सन्देश प्रदान गरेको छ । उमेर पुगेपछि धार्मिक कार्यमा बढी आस्था र विश्वास रहने कुरा पनि विधवा आमाले वृद्धाश्रममै भएपनि तुलसीको मठसँगै शिवलिङ्ग बनाएर पूजा गर्नुले प्रमाणित गरेको छ । जस्तोसुकै दुःखकष्ट भएपनि आफ्ना सन्तानको उन्नति र प्रगतिका लागि आमाको कोमल हृदय हलचल हुँदैन भन्ने कुरा कथाले सङ्केत गरेको छ । ईश्वरीय चिन्तनमा आधारित यस कथामा ईश्वप्रति आस्था राख्दा सबैको भलो हुने धार्मिक तथा हाम्रो सांस्कृतिक मान्यतालाई पनि समावेश गरिएको छ ।
    यस लघुकथामा द्रोस्रो पुस्तामा कमजोरी देखिए पनि तेस्रो पुस्ताको सन्तानले आफ्ना विचार राख्दै “हजुरको दुखकष्ट बुवाले हटाउन सक्नुहुन्न र ?” भन्दै सच्चिनु पर्ने सन्देश प्रवाह गरेको छ । यसरी मूल रूपमा हामीले वृद्धावृद्धाको सम्मान गर्नुपर्छ अनि ईश्वरप्रति आस्था जगाउन सक्नुपर्छ भन्ने सन्देश प्रदान गर्नु लघुकथाको मूल उद्देश्य हो ।

    भाषाशैली

    ‘ढुङ्गा’ लघुकथामा ११ अनुच्छेद र २१९ शब्द रहेका छन् । यो लघुकथा रैखिक संरचनामा संरचित छ । सरल, सहज र स्वभाविक भाषाशैली रहेको यो कथा बोधगम्य रहेको छ । व्याकरणिक रूपले भगवान (भगवान्) जस्ता कसरमसरबाहेक भाव र अर्थका हिसाबले स्वभाविक रहेको छ । विषयवस्तुलाई स्वादिलो बनाई विवरणात्मक ढङ्गले प्रस्तुत भएकाले भाषिक प्रयोग उचित देखिन्छ । तत्सम, तद्भव र आगन्तुक शब्दको सही प्रयोगले भाषाशैलीमा निख्खरता देखिन्छ । विषयवस्तुअनुसारको भाषिक प्रयोग र पात्रानुकूलको भाषिक प्रयोगले लघुकथाको भाषाशैली सार्थक, सफल र उपयुक्त रहेको छ ।

    शीर्षक

    ‘ढुङ्गा’ लघुकथा एक शब्दमा संरचित छ । ‘ढुङ्गा’ नाम शब्द हो । यसको अर्थ पत्थर, पाषाण भन्ने हुन्छ । यस लघुकथामा छोराको मन ढुङ्गा बनेर आफ्नी आमालाई वृद्धाश्रममा पुराएको छ । यति मात्र नभएर आमाको मुख हेर्ने दिन नातिले बुवाले हजुरको दु;खकष्ट हटाउन सक्नुहुन्न भन्दा आमाको वाक्य तेरो बावु त ढुङ्गा भएको कुरा गरी आफ्ने पीडा, बेदना, छटपटी र कुण्ठा नातिसामु अभिव्यक्त गरेको कारण प्रतीकात्मक रूपमा शीर्षक सार्थक र सफल रहेको छ । यसका साथै विषयवस्तुले छोराबुहारी कडा बनेर विधवा आमालाई वृद्धाश्रममा पुराउनु र आमाको सेवा नगरेको हुनाले विषयवस्तु र शीर्षकबिच सहसम्बन्ध रहेको देखिन्छ । लघुकथामा वर्णित घटनाक्रमअनुसार ढुङ्गारूपी मन र व्यवहार देखाएका कारण शीर्षक चयनका हिसाबले लघुकथा सार्थक र सफल रहेको छ ।

    निष्कर्ष

    नर पल्लवको ‘ढुङ्गा’ लघुकथा सामाजिक तथा धार्मिक सोचमा आधारित रहेको छ । हाम्रो समाजमा आधुनिक युगका नाममा वृद्धवृद्धालाई गर्ने व्यवहार कस्तो छ ? घरपिरवारको जिम्मेवारीबाट वृद्धबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने सोच रहेको र त्यो सोच समाज परिवर्तनसँग मेल खाएको छैन । बरु कुरीति र कुविचारले आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको छ । जसले आफ्ना सन्तानले त्यही सिक्ने हुनाले खराब संस्कार बस्न सक्ने कुराको सङ्केत गरेको छ । पात्रकै सहायताले कथावस्तुलाई गतिशील बनाएको हुनाले लघुकथा पात्रानुकूल रहेको छ । लघुकथामा पात्रले व्यक्त गर्ने विषय स्तरअनुकूलको कथन बनाउन सक्दा कथा अझ सशक्त बन्न सक्छ । नेपाली समाजको सहरीया परिवेशमा यो लघुकथा आधारित छ । लघुकथाको उद्देश्य आफ्ना वृद्ध बुवाआमालाई अशक्त भएपछि वृद्धाश्रममा लगेर राखी आफ्नो कर्तव्यबाट पन्छिनु हुँदैन भन्ने हो । सरल, सहज र स्वभाविक भाषाशैली रहेको ढुङ्गा लघुकथा बोधगम्य रहेको छ । छोराको मन ढुङ्गा बनेर आफ्नी आमालाई वृद्धाश्रममा पुराएको हुनाले पाषाणयुक्त छोराको मनसँग ढुङ्गालाई दाँजिएकाले शीर्षक चयनका हिसाबले उपयुक्त रहेको छ । मूलत: लघुकथाको आयम, दृष्टिकोण, कथानक, पात्रको चयन, परिवेश, उद्देश्य र भाषाशैलीका आधारमा हेर्दा लघुकथा सबल रहेको छ ।

    लघुकथाः ढुङ्गा

    नर पल्लव

    नर पल्लव

    विधवा आश्रममा आश्रित आफ्नी विधवा आमालाई भेट्न आमाको मुख हेर्ने दिन निरव विधवा आश्रम पुगेको थियो। ऊ जस्तै अरु पनि संस्कारविहीन आधुनिक सन्तति लोकापवादबाट बच्न विधवा आश्रम पुगेका थिए।

    आश्रमको वातावरण अत्यन्तै स्वच्छ र आध्यात्मिक भावनाले ओतप्रोत थियो। आश्रमभित्र निरवकी विधवा आमाले आफ्नै पहलमा तुलसीको मठसँगै शिवलिङ् स्थापित गरेकी थिइन्। शिवलिङ्मा प्रातः र सन्ध्याकालमा जल अर्पण गर्नु उनको दैनन्दिनको नित्य कर्म थियो। उनको त्यो आस्था नै उनको लागि बाँकी जीवन बाँच्ने एउटा आधार थियो।

    आश्रममा आफ्नो बाबु निरवसँग हजुर आमालाई भेट्न आएको सात वर्षीय नाति जिज्ञासु स्वभावको थियो। उसले आफ्नी हजुर आमालाई शिवलिङ्मा जल चढाउँदै गरेको देखेर बालसुलभ जिज्ञासा राख्दै सोध्यो, ‘हजुरआमा…” ‘किन बाबु’? स्नेहिल स्वरमा हजुरआमाले सोधिन्।

    “हजुरले यो ढुङ्गामा पानी किन हाल्नु भाको?” जिज्ञासापूर्ण भावमा नातिले सोध्यो।

    ‘यी त शिव भगवान हुन्। यिनको पूजा गरेको नि!’ ईश्वरप्रतिको आस्था प्रकट गर्दै हजुर आमाले भनिन्।

    ‘माता र पिताबाहेक अरुको अस्तित्वबाट अनभिज्ञ बालकका लागि ईश्वरको महत्ता बुझ्न कठिन भइरहेको थियो।

    हजुरआमा केही क्षण आफैँभित्र हराइन्।
    बालक नातिले पुनः अर्को जिज्ञासा राख्यो, ‘यसो गर्दा के हुन्छ, हजुर आमा?’

    ‘यी सबैका दुःख-कष्ट-संङ्कट हर्ता हुन्। यिनले नै मेरा सारा दुःख-कष्ट-सङ्कट हर्छन्, बाबु।’ हजुर आमाले ईश्वरप्रतिको आफ्नो अटल विश्वास व्यक्त गर्दै भनिन्।

    हजुर आमाको कुरा सुनेर नातिले फेरि प्रश्न गर्यो, ‘हजुरको दुख-कष्ट बुवाले हटाउन सक्नुहुन्न र?’
    अबोध नातिको त्यो बोली सुनेर हजुरआमाले भनिन्,’ होइन, बाबु। तेरो बाबु त ढुङ्गा भइसकेको छ।’

    बुद्धनगर, काठमाडौं। २०७९/५/७

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on नर पल्लवको ढुङ्गा लघुकथालाई पर्गेल्दा-शेखर अर्याल

    हाम्रो नोवेल साकोसको १४औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न

  • २४ मंसिर २०७९, शनिबार २३:०७ मा प्रकाशित
  • २४ मङ्सिर /घाेराही दाङ
    हाम्राे नाेवेल वचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आफ्नो १४औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डि.सीले आज आयोजित कार्यक्रममा बिच पानसमा बत्ती बालेर उक्त सभाको उद्घाटन गर्नुभएको थियो ।

    संस्थाकी अध्यक्ष सुषमा घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रूपमा घोराही उपमहानगरकी उपमेयर हुमा डि.सी. र विशिष्ट अतिथिका रूपमा घोराही -१५ की जनप्रतिनिधि कृष्णा रानाको उपस्थिति रहेकोे थियो ।

    संस्थाका उपाध्यक्ष केशवराज ढकालबाट स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा विभिन्न महानुभावहरूले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    आफ्नो मन्तव्य राख्नु हुँदै प्रमुख अतिथि हुमा डि.सी.ले सहकारी हरेक निकायसँग जाेडिएकाे हुनाले केवल पैसा जम्मा गर्ने र निकाल्ने मात्र नभई मानिसकाे जीवनकाे हरेक क्षेत्र सँग जाेडिएकाे हुनाले जिम्मेवारी वहन गर्ने कार्यमा सहकारीकाे ठूलाे भुमिका रहेकाे भन्नुहुंँदै शिक्षा,स्वास्थ तथा विभिन्न खाले हिंसाका बारेमा सचेतना जगाउने कार्यमा सहकारीले अझै भूमिका समाजमा अपनाउनु पर्ने कुरामा जाेड दिनुभयो । साथै उहाँले गुरुकुलका विद्यार्थीहरुलाई संस्थाले समेटेकाेमा खुसि प्रकट गर्नुभयाे ।

    त्यस्तै विशिष्ट अतिथि घाेराही १५ कि जनप्रतिनिधि सदस्य कृष्णा रानाले आफ्नो मन्तव्य राख्दै संस्थाकाे उन्नति प्रगतिकालागि शुभकामना ब्यक्त गर्नुभयो । साथै उहाँले सहकारीका लागि आफ्नाे व्यक्तिगत तथा वडाकाे तर्फबाट सधै सकारात्मक सहयाेग रहने प्रतिबद्धता जनाउनु भयो ।

    त्यस्तै मन्तव्य राख्नुहुनेमा नेपाल अपाङ्ग संग खगेन्द्र नवजीवन केन्द्र दाङ शाखाकी अध्यक्ष रुपा वली , गाेरखनाथ वैदिक गुरुकुलकी प्राचार्य सन्ताेषी सुवेदी ,संस्थाका सल्लाहकार चेतलाल न्याैपाने, शरद शर्मा लगायतका व्यक्तित्वहरू हुनुहुन्थ्यो ।

    कार्यक्रममा काेषाध्यक्षकाे प्रतिवेदन /संस्थाकाे आर्थिक प्रतिवेदन काेषाध्यक्षकाे अस्वस्थताका कारण संस्थाका व्यवस्थापक पुर्ण बहादुर वलीले प्रस्तुत गर्नुभएकाे थियाे भने लेखा संयाेजक राजकुमार थापाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।
    संस्थाकी अध्यक्ष रेग्मीले संस्थाकाे बार्षिक गतिविधि र आगामि कार्यक्रमका बारेमा जानकारी गराउनु हुँदै सबैका जिज्ञासा माथि प्रकाश पार्नु भएकाे थियाे ।

    उक्त कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वहरूलाई प्रमुख अतिथिले अबिर दोसल्लाद्वारा सम्मानित गर्नुभएको थियोे । सम्मानित हुनेमा असल ऋणि सदस्यहरू २ जना, असल बचतकर्ता सदस्यहरू २ जना, संस्थालाई याेगदान पुर्याउने सदस्य १ जना, उत्कृष्ट पत्रकार १ जना, असल ऋणि सदस्यहरूबाट २ जना तथा संस्थाका जेष्ठ शेयर सदस्य १ जना हुनुहुन्थ्यो ।

    कार्यक्रममा गाेरखनाथ वैदिक गुरुकुल चाैघेराका विद्यार्थीहरुबाट स्वस्ति वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रकाश भट्टराईले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on हाम्रो नोवेल साकोसको १४औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न

    साताका तीन लघुकथा

  • २४ मंसिर २०७९, शनिबार २०:१८ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि अनलाइन पत्रिकामार्फत सञ्चालित एक नियमित स्तम्भ हो । नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित गरिएका लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथा छ्नोट गरी प्राप्त हुन आएका लघुकथाहरू यहाँ प्रकाशन गर्ने गरिन्छ । यस साता प्रकाशित हुने लघुकथाहरूमा लघुकथाकार तुलसी पण्डितको ‘पैसा’, लघुकथाकार सरण राईको ‘गुट’ र लघुकथाकार राजन ग्याल्दाङ घलेको ‘बुर्जुवा शिक्षा’ रहेका छन् ।

    १) लघुकथा : पैसा

    ✍️तुलसी पण्डित

    धन्न खरदारले राम्रै सरकारी कार्यालय भेट्टाएछन् र खरदार्नीले मान्छे कजाउन पाएकी छन् ।
    निरमायाले उनको घरमा काम गरेको केही समय भयो । खरदार्नीको घरको सबै काम उसैले गर्नुपर्थ्यो । त्यति हुँदापनि खरदार्नी बजैको चित्त बुझेको थिएन । उनी निरमायालाई गाली गरिरहन्छिन् । के गर्ने ऊ विवश छे गरिबीले ।
    एकदिन निरमायाले छोरो बिरामी भएकोले तलव अगाडि दिन अनुरोध गरिन् । अँह बज्यैले दिइनन् । झन् उल्टो सराप्न थालिन् । निरमायाको मन भाँच्चियो । ऊ अर्को दिनबाट काममा आउन छोडी । उसले अग्रिम पैसा लिएर अन्तै काम खोजी ।
    यता खरदार्नी बजैलाई समस्या भयो । घरको यावत् काम आफैँले गर्नु पर्दा बल्ल उनले सम्झन थालिन्, निरमायालाई । निरमायाले कसरी यति धेरै घरको काम गर्न सकेकी होली । उसले बुढालाई भनेर निरमायालाई लिन पठाइन् ।
    “निरमाया अन्तै काममा लागि सकिछन् ? ” “ल बुढा त्यसो भए अर्कै मान्छे खोजेर ल्याऊँ । म घरको काम गर्दागर्दै आजित भैसके ।” बुढाले मान्छे खोजेर ल्याए । तर फित्तिकै काम न गर्ने । केही कुरा भने मुखमुखै लाग्ने । खरदार्नी बज्यैलाई काममा कत्ति चित्त बुझेनछ । उनले भनिन्, “भो भोलिदेखि तँ काममा नआइज ।”
    केही समयपछि बजार जादा निरमायालाई भेटिन् खरदार्नी बज्यैले । “निरमाया तिमी आउने भए म पहिलेभन्दा दोब्बर पैसा दिनेछु ?”
    उसले भनि । “पैसा नै ठूलो कुरा हैन नि बज्यै ।”

    २) लघुकथा : गुट

    ✍️ सरण राई
    रित्ता गाग्रीहरूले गुट बनाए । एकापसमा ठाेक्किएर चर्काे आवाज निकाल्न सक्ने भए र चर्चाको शिखरमा पुगे । ती आवाजलाई साहित्य भने । कोहीले सङ्गीत भने । धेरैजसाेले सार्वभौम राजनीति भने । रित्ताहरू शक्तिशाली रित्ता देखिन थाले ।

    भरिएका गाग्रीहरू भने रित्ताहरूझैँ हल्ला गर्न नसकी चुपचाप रित्ताहरूका यस्तो चर्तिकला चुपचाप हेरिरहेका हुन्थे ।

    २०७५/८/२२
    सुमेरु अस्पताल,धापाखेल

    ३) लघुकथा : बुर्जुवा शिक्षा

    ✍️ राजन ग्याल्दाङ घले
    शिशिर र वसन्त स्कुले सहपाठी थिए । शिशिर गरिब किसानको र वसन्त मास्टरका छोरा थिए ।

    एकको पढाइ मध्यम स्तरको थियो भने अर्कोको अब्बल । जो बाउबाट प्रेरित भई कक्षा १ देखिनै सधैँ प्रथम हुन्थ्यो ।

    दुवैले माध्यमिक शिक्षा त उत्तीर्ण गरे । तर किसानको छोरो पास मात्र भयो भने मास्टरको छोरोले स्कुल टप गर्यो ।

    गाउँमा एक जना कर्मचारी चाहिँएको सूचना निस्कियो । दुवैले जागिरका लागि निवेदन हाले ।
    “मेरो स्कुल टपर छोरोलाई टक्कर दिने, त्यो नाथे दरिद्रका सन्तानले, हा हा !” किसानको छोरोले दरखास्त दिएकोमा मास्टरले खिल्ली उडायो ।

    छनोट प्रमुख अधिकारीले छनौट प्रक्रिया सञ्चालन गरी रिजल्ट निकाले । जागिर शिशिरको पोल्टोमा पर्यो । यो देखेर मास्टरलाई सहिनसक्नु भयो ।

    “के हो प्रमुख ज्यू, जाँबो दोस्रो डिभिजन ल्याई पास गरेको त्यो शिशिरेले जागिर पाउने ? मेरो स्कुल टपर छोरा फेल हुने । यो कस्तो छनोट प्रक्रिया हो ? यसमा सरासर तपाईहरूको राजनिति खेल छ ।” आक्रोशित हुँदै मास्टरले प्रमुख अधिकारीलाई भन्यो ।

    मुस्कुराउँदै प्रमुख अधिकारीले भने, “मास्टर साहेब ! तपाईले आफ्नो छोरालाई सैद्धान्तिक ज्ञान त अथाह दिनुभएछ । तर व्यावहारिक ज्ञान, सीप दिन भुल्नुभएछ । यो त्यसैको परिणाम हो ।”

    २०७९/०८/२२
    धार्चे- ६ काशीगाउँ ,गोरखा
    हाल – गुन्मा ,जापान

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    पञ्चाङ्ग लेखन शृङ्खला भाग- २ सम्पन्न

  • २४ मंसिर २०७९, शनिबार १९:२४ मा प्रकाशित
  • Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन शृङ्खला भाग- २ सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८१औँ भाग सम्पन्न

  • २४ मंसिर २०७९, शनिबार १७:३९ मा प्रकाशित
  • काठमाण्डौँ, २४ मङ्सिर । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८१औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    photo: social media

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    [१]
    मान्छे
    जात एउटै
    किन यस्तो विडम्बना ?
    🌑गोपे दाजु
    पाँचथर ।

    [२]
    भोगाइ
    मानव जीवन
    वास्तविक यथार्थको कथा !
    🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [३]
    मानव
    व्यवहार दानव
    विभेद देख्दा तनाव !
    🌑भवानी घिमिरे
    सर्लाही ।

    [४]
    मानव
    जाति एउटै
    फरक फरक भोगाइ !
    🌑सरिता सेढाई
    धादिङ

    [५]
    रहस्य
    तलुवा चाट्नु
    रहर कि बाध्यता ?
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [६]
    तलुवा
    चाटी बस्छ
    दास नोकर घरपालुवा !
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [७]
    मानव
    मानवता विहिन
    चौतर्फी दानवता प्रदर्शन !
    🌑आर्त अकुलीन
    कैलाली

    [८]
    खै
    कस्ताे विडम्बना
    चाकरीकाे अर्काे परिचय !
    🌑राेशन पराजुली
    धरान।

    [९]
    मानव
    सङ्कीर्णताले दबाब
    नि:स्वार्थताको मानवीय अभाव !
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [१०]
    मानव
    नाम काफी
    लोभी या पापी !
    🌑म्यामराज राई
    भोजपुर

    [११]
    मानव
    बनायो  दास
    देखाउँदै  नीच व्यबहार !
    🌑समुन्द्रा शर्मा
    इटहरी

    [१२]
    चाकरी
    शक्तिको पुजारी
    पद पैसाको भिखारी !
    🌑ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी

    [१३]
    चाकरी
    शक्तिका पछाडि
    निरीह आजको मान्छे !
    🌑रमेश प्रभात
    चितवन ।

    [१४]
    मानव
    दानवीय शक्ति
    स्वभावको देखिन्छ प्रदर्शनी !
    🌑सविता के.सी.
    काठमाडौँ ।

    [१५]
    मान्छे
    स्वार्थको लागि
    चाट्न तयार खुट्टा !
    🌑प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्बत

    [१६]
    पतन
    मान्छेको नैतिकता
    जालझेल मान्छेको बौद्धिकता !
    🌑बिके माकजु
    भक्तपुर ।

    [१७]
    मन
    सधैँ अतृप्त
    गर्छ सधैं तिरस्कार !
    🌑चन्द्र पुन

    [१८]
    स्वभाव
    सर्वश्रेष्ठ मानव
    सधैभरि देखाउँने रवाफ!
    🌑देवकी

    [१९]
    मानव
    नैतिक  दंश
    विभेदको एक  अंश!
    🌑कमला  देवकोटा
    पाल्पा

    [२०]
    गरिबी
    समयको खेल
    वरिपरि अनेक जालझेल !
    🌑कविता आचार्य
    कैलाली

    [२१]
    मानव
    वर्गीय द्वन्द्व
    कहिले होला अन्त्य ?
    🌑रमा पन्त
    पाल्पा

    [२२]
    लात
    गला फाट
    पैसा चप्पल चाट !
    🌑हिरा तामाङ लो
    महाभारत 7 बनखु

    [२३]
    अनावश्यक
    नेताको सेवा
    झोलेहरु गर्छन यस्तै !
    🌑नारायण कोइराला

    [२४]
    बाध्यता
    तलुवा चाट्ने
    मानवता कता हरायो
    🌑कृष्ण जोशी
    मेरिल्याण्ड,  अमेरिका

    [२५]
    चाकरी
    अन्ध मनुवा
    चाट्दै नेताको तलुवा !
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [२६]
    चाकरी
    नगर्नु अति
    बिग्रिन्छ मान्छेको मति ।
    🌑ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क, अर्घाखाँची ।

    [२७]
    नारी
    जिम्मेवारी बहन
    बाध्य हिंसा सहन !
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [२८]
    चाप्लुसी
    दासत्वमा खुसी
    प्रदर्शन गर्दै बेकुफी !
    🌑हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [२९]
    तस्बिर
    अत्यन्तै दयनीय
    दास प्रथाको झलक !
    🌑विक्रम तिरूवा सलिन
    जुम्ला

    [३०]
    चाकरीपना
    साँस्कृतिक बिडम्बना
    स्वार्थ पूर्तिका भावना ।
    🌑रामप्रसाद पुरी
    बादेल,खाेटाङ ।

    [३१]
    मानिस
    विभेदकारी व्यवहार
    ब्यबहार मानिसबाट
    देख्न पाइन्छ जताततै !
    🌑सुशीला पौडेल।

    [३२]
    मानव
    हुँदै अस्तित्वविहीन
    अत्याचारको नटुङ्गीने यात्रा !
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [३३]
    स्वार्थ
    निचता प्रदर्शन
    तलुवा धरी चाट्दै !
    🌑प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [३४]
    मानव
    तलुवा चाट्ने
    नेताका झोले कलङ्कहरू!
    🌑खेमराज पुरी
    कैलाली

    [३५]
    विवेक
    देखाइ उठेर,
    हुँदैन पाउ चाटेर !
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [३६]
    मानव
    सर्वश्रेष्ठ ठान्ने
    अरुलाई देखाउने निच।
    🌑दुर्गा आचार्य
    मोरङ

    [३७]
    नेपाल
    वीरहरूको देश
    वर्तमानमा दासत्वको पराकाष्ठा !
    🌑गोपालप्रसाद पौड्याल, विराटचोक

    [३८]
    विडम्बना
    भगवान् नेता
    चप्पल चाट्ने कार्यकर्ता !
    🌑श्रद्धा आचार्य
    पोखरा

    [३९]
    मान्छे
    शक्तिको पूजारी
    पैसाको लागि दुखारी ।
    🌑धनमाया चौधरी
    कैलाली

    [४०]
    भोक
    पीडादायी शोक
    बुझौँ साझा परलोक !
    🌑तोया घिमिरे
    शंखमुल, काठमाडौ।

    [४१]
    नीच
    स्वार्थी सदाचारी
    लोलुपतामा रमाउने व्यभिचारी !
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [४२]
    दासत्व
    अधिक क्रुरता
    व्यवहार जालझेल पूर्णता !
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४३]
    चाप्लुसी
    स्वार्थी प्रवृति
    सत्तामा पुग्ने नीति !
    🌑पशपती राई
    खोटाङ

    [४४]
    मानव
    चौतर्फी दबाब
    दानवीय व्यवहार प्रदर्शन !
    🌑मिलन के. सी.( थापा)
    पोखरा

    [४५]
    दासत्व
    जरा प्रसारण
    शासनको फोस्रा आश्वासन !
    🌑त्रिलोक रामदाम ,रुपन्देही भैरहवा ।

    [४६]
    मान्छे
    दुईधारे अस्तित्व
    क्रुर अमानवीय दासत्व !
    🌑कण्ठराज गिरी

    [४७]
    चाकरी
    प्रथा खास
    बनाउने आफैँलाई  दास !
    🌑केशवप्रसाद ढकाल
    गाेरखा

    [४८]
    नियति
    खराब परेछ
    हेप्छन् गरिब देखेर !
    🌑मंगला आचार्य उपाध्याय
    बारा  कलैया १

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८१औँ भाग सम्पन्न

    गुरुकुलमा न्यानाे कपडा दान प्राप्ति, वटुकहरूमा खुसीको सञ्चार

  • २३ मंसिर २०७९, शुक्रबार ०९:०४ मा प्रकाशित
  • कमाउन जति सजिलाे छ ,दान गर्ने निकाय छनाेट गर्न धेरै गाह्रो छ । शास्त्रमा एउटा कुरा उल्लेख गरिएकाे पाईन्छ । त्याे हाे पराेपकार नै धर्म हाे ।पराेपकारकाे अर्थ एउटा छ भने कस्ताे ठाँउमा पराेपकार गर्ने ? त्यसकाे अर्थकाे अनर्थ हुन गएमा पराेपकार नभई पछुताे पनि हुनसक्छ । पराेपकार भनेकाे आवश्यक परेकालाई उपकार गर्ने कार्यलाई नै भनिन्छ । दान गर्ने त हाे ,कस्ताे निकायलाई गर्ने याे अझै महत्वपूर्ण हुन्छ । कसैले उसकाे आवश्यक्ता देखेरनै दान गरेकाे हुन्छ ।त्यस बस्तु उसैले प्रयाेगमा ल्याउँदछ भने मात्रै दानीलाई राम्राे हुन्छ । अर्थात उसलाई आत्मसन्तुष्टि मिल्दछ । अब यहाँनेर बुझ्नैपर्ने कुरा कतै गलत स्थानमा दान गरिरहेकाे त छैन ? या भनाै दान गरेकाे बस्तु बेचेर उस्ले धन आर्जन गरेकाे छ भने पनि दान गर्नेलाई पुण्य प्राप्त नहुने कुरा शास्त्रमा उल्लेख गरेकाे पाईन्छ । एउटा प्रश्न यहाँ उब्जियाे धेरै भएकाे घरमा राख्ने ठाउँ नभएमा नबेचेर के गर्ने ? याे कुरा हामीले बिर्सन हुँदैनकि भेरै भएमा केही दान गरेर पनि दाेष कटाउन सकिन्छ ।त्यसैले कमाउन जति सजिलाे छ दान गर्ने निकाय छुट्याउन गाह्रो अझै छ ।

    यसै सिलसिलामा दाङकाे सिद्ध रत्ननाथ मठमा संचालित गाेरखनाथ वैदिक गुरुकुल चाैघेरामा दान गर्नकालागि गुरुकुलमा प्राय हरेक दिन केही न केही नगद तथा बस्तु आईरहेका छन् । यहाँ नि:शुल्क रुपमा गुरुकुलीय शिक्षा प्राप्तिका लागि जिल्लाभित्र तथा बाहिरका वटुक विद्यार्थीहरु रहेका छन् । समय जाडाेकाे छ । माथि टिनकाे छानाे रहेकाे छ । टिनपनि प्वाल परेका छन् । शीत तप तप चुहिएकाे अवस्थामा उनिहरुलाई न्यानाे कपडा निकै सुविधा बनेकाे छ ।

    घाेराही भिङ्ग्रेली परिवारका धेरै सदस्यहरुकाे याेगदान बन्दै गएकाे छ गुरुकुलमा ।प्यूठानकाे भिङ्गिबाट बसाई सराई गरेर आएकाले नै भिङ्ग्रेलि परिवारकाे रुपमा दाङमा चिनिन्छ याे परिवार ।
    यही मंसिर २२ गते रमेश राजभण्डारी ॐ शिरडि साई मन्दिरका अध्यक्ष पिता,पुत्र तथा नातिनिलाई लिएर गुरुकुलमा पाल्नु भई सबै विद्यार्थीहरुकालागि न्यानाे सल, दक्षिणा तथा फलफुल प्रसाद प्रदान गर्नु भएकाे छ ।

    त्यस्तै आजकै दिन सगरमाथा सिमेन्टका गाेग्ली निवासी अमर सुवेदीज्यूबाट सबैकालागि न्यानाे कम्बल प्रदान भएकाे छ । यस शुभ कार्यकालागि गुरुकुल परिवारले दानिज्यूहरुप्रति कृतज्ञता ब्यक्त गर्दै सबै मिलेरनै याे गुरुकुललाई दाङमा हुर्काअेाें भनी आह्वान गरेकाे छ ।

    स्रोत: इन्बक्समा प्राप्त समाचार

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on गुरुकुलमा न्यानाे कपडा दान प्राप्ति, वटुकहरूमा खुसीको सञ्चार

    उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

  • २२ मंसिर २०७९, बिहीबार १६:१३ मा प्रकाशित
  • उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू –

    १
    सम्बन्ध
    नङ मासु
    सबै समयसँगै छुटिने !

    २
    सम्बन्ध
    प्रकृति जस्तै
    निरन्तर बदलिँदै जाने !

    ३
    सम्बन्ध
    जहाँ पवित्रता
    त्यहीँ सुन्दरता स्चच्छता !

    ४
    सम्बन्ध
    स्वार्थकाे पाेकाे
    क्षण क्षणमा धृष्टता !

    ५
    सम्बन्ध
    धर्ती आकाश
    शिर शरीर पाउ !

    • प्रद्युम्न चालिसे, भक्तपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग लेखन शृङ्खला भाग- १

  • २२ मंसिर २०७९, बिहीबार ०९:३७ मा प्रकाशित
  • पहिलो शृङ्खला भाग १ (एक) मा छजना स्रष्टाको पञ्चाङ्ग ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन शृङ्खला भाग- १

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P