सबैले झुत्रे बा भन्थे फोहोरी डङ्डङ्ग पसिना गनायो भन्थे मलाई अत्तरको सुगन्ध भन्दा बाको पसिनाको गन्ध मन पर्थियो।
फोहोरी थिएनन् मेरा बा कसैसँग बेइमान गरेका थिएनन् ईमानमा चुक्दैन थिए मेरा बा।
चाडबाड आयोकि मेरा बाको पैसाको कारण टाउको दुख्थ्यो बिस्तारै आफै मालिस गर्थे चाडबाडमा गाउँको महाजनसँग ऋण माग्न जानुहुन्थ्यो तर निराश भएर फर्कनुहुन्थ्यो! जानू बाध्यता थियो मेरा बाको तर पनि जान्थे अनि निरास हुँदै खाली हात फर्कन्थे बिचरा मेरा बा हाम्रो लागि हरेक पटक झुक्थे बाको त्यो झुकाइ भित्र आत्मग्लानी त छँदै थियो अनि बाध्यता पनि! ऐले सम्झन्छु कठै मेरा बा।
आङका कपड़ा कैले फेरेनन् बाले टाल्दा टाल्दा टाल्ने ठाउँ सकिएको थियो र पनी हार मान्दैनथे मेरा बा।
एक दिन बा हराए हामी सानै थियौँ कहाँ गए-गए कयौ महिना हराए बा एकदिन चाडको मुखैमा पल्लाघरे काकालाई पैसा पठाए परदेश गएको बल्ल थाहा भयो साथमा एक चिट्ठी पनि थियो छोराछोरीलाई राम्रा कपडा किनिदिनु प्यारी लेखेको मीठो मसिनो बनाएर खुवाउनु छोरा छोरी रोलान रुवाउनु हुन्न जे जे माग्छ्न किनिदिनु म महिनै पिच्छे पैसा पठाउनेछु मेरा आँखा रसाएको मैले पहिलो पटक त्यही दिन जानेकि थिए।
स्कुल पढ्ने हैसियत नभएका हामी बोर्डिङ पढ्ने भयौँ बा बेचिएका थिए हाम्रा सपना किन्न खुसी किन्न बन्धक भएका थिए परदेशमा मेरा बा चाडबाडमा कैले फर्कियेनन् बर्सौं बा कापार्सल हेर्दै रमाउँदै चाड मनाउँथ्यौ हामी।
जब काम गर्न सकेनन अनि एक दिन बा फर्किए क्यान्सर उपहार लिएर बाको दु:खले हामी खुशी भएको बल्ल थाहा भो एकदिन बा हिड्दा हिड्दै ढले बा थला परे न भोकै न निन्द्रा भो उपचार कहिं भएन धेरै प्रयास गर्यौँ हामी चुपचाप हुन बाध्य भयौँ धेरै गलेका मेरा बाको शरीरले आराम चाहन्थ्यो मेरा बा चितामा पुगे मेरा बा जिउँदो हुँदा गरिबीले घोच्यो चितामा बाँसले बा बोलेनन बोल्दै बोलेनन ऐयासम्म भनेनन् ।
संस्कार सिकाएका हात पकाडेर हिड्न सिकाएका मेरा बालाई मैले आफ्नै हातले आगो सल्काएकी थिएँ कति प्यारी थिए बाका लागि म तर म रुँदा नरोसम्म भनेनन् बाले निर्दयी भए मेरा बा।
परदेश हुँदा चिट्ठी पैसा खाने कुरा पठाउने बा सधै फर्किएर आउँलान झैँ लाग्थ्यो आउँलान भन्दै बाटो दिनहुँ हेरें कैले आएनन् न चिट्ठी आयो न खबर बा रिसाएका रहेछन् मसँग तेसैले त आजसम्म वा फर्किएर आएनन् आज बुझें मेरा बा कहिल्यै आउँदैनन् कुनै चाडमा आउँने छैनन् फेरि छोरी भनेर बोलाउने छैनन्।
म बाको बेड सुम्सुम्याएर बस्छु घच-घच्याउँछु अहँ बा सुन्दैनन् म आफै के भए मलाई थाहा छैन बालाई दागबत्ती दिएका यि हातले बालाइ खोज्नु मेरो मुर्खता थियो म भकान्नीए कराए ए बा !… ए बा!… ए बाबा !
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- उन्नचालिसौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०४/ १८गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३९[ उन्नचालिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
शुद्धीकरण ————– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना ——— अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक ————-
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~~~~~~~~~~~~~~~~~ चित्रमा पञ्चाङ्ग ~~~~~~~~~~~~~~ पञ्चाङ्ग:०१ परिश्रम गरेर पसिनामा बगाएका हातहरु। कुनै घर भित्र कुनै बाहिर भगाएका हातहरु। मिहिनेत र साैन्दर्यकाे सङ्गम छ कति अपूर्वकाे, हृदयमा आशा अनि विश्वास जगाएका हातहरु कस्ताे ठेला उठेकाे र मेहेन्दी लगाएका हातहरु।
✍️सुशीला पाैडेल
पञ्चाङ्ग:०२ महिला महिला नै हुन सबै। यिनका अनेकौँ छ गुन सबै। मिहिनेतले हात पनि धुन्छन्, श्रुगरिन्छन् बजाई धुन सबै। महिला निपुण छन् जुन सबै।
✍️शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग :०३ प्राय महिला मन कारी हुन्छन्। महिलाहरू जन कारी हुन्छन्। देखिन्छन् नारी देवी स्वरुपमा, यि धेरै जसो धन कारी हुन्छन्। नारी नै प्राय श्रम कारी हुन्छन्। ✍️ बेदु न्यौपाने काठमाडौँ ❤️
पञ्चाङ्ग:०४ अक्षर-१५ १. कहिले मेहदिका बुट्टा भरेर आउछौँ , ठेलाछन् अनेक संर्षमा गरेर आउछौँ । काम छ काम गर्ने नत्र रमाईलो पनि, अर्म पर्म लाई नजिक सरेर आउछौँ , नारीहौँ यसर्थ उज्यालो छरेर आउछौँ ।
✍️दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०५ केही हातमा मेहदी केही हातमा ठेला भयो । काेही मान्छे सुकुमार छ काेहीलाई हेलाँ भयो । सरकार हाे कि दाेषी यहाँ प्रकृतिलाई दिऊँ , निधारमा वाफ लगाउन कठिन खेला भयो । वाचा सम्झी सरकार गरीब हेर्ने बेला भयो ।
✍️भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०६ कोहीको दुखद हत्केलाले बतायो सारा। कोहीको श्रृङ्गारी हत्केलाले सतायो सारा। चाडपर्व ऋतु बदल्दै चहलपहल, शहर के गाउँ जिम्मेवारी ततायो सारा। श्रृङ्गार अनेक फेसनले मत्तायो सारा।
✍️जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग:०७ घर परिवार पाल्न खर्च जुटाउनु छ। कम आम्दानी हुने ठाउँ छुटाउनु छ। काम गर्दा हातमा ठेला परोस् केही छैन, काम गरेको नदेख्नेलाई टुटाउनु छ। राम्रो गर्नेलाई खोजी खोजी खुटाउनु छ। ह्यारिस
पञ्चाङ्ग:०८ गरियो काम आज भेला भएर। हातमा पीडा भाछ ठेला भएर। मेहेन्दीले एउटा हात रङ्गियो, यौवनले अचम्मै बेला भएर। भोलि नै बजारमा मेला भएर।
✍️पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग:०९ कसैका हातमा ठेला भएका कसैले मेहन्दी लगाएका छन्। कसैलाई छाक टार्न गाह्राे छ कसैले पैसा बगाएका छन्। दुबैकाे हातलाई दाँजेर हेर्नुस् त कति विभेद छ यहाँ, मान्छे सबै बराबर छन् तर गरीबलाई भगाएका छन्। धनीले विलासिताका सामान विदेशबाट मगाएका छन्।
✍️नवराज भट्ट कञ्चनपुर
पञ्चाङ्ग:१० तिम्रो रहर अनौठो लाग्छ । गाउँ सहर अनौठो लाग्छ । त्यो तन मन जीवन सक्ने, पापी कहर अनौठो लाग्छ । मन्द जहर अनौठो लाग्छ ।
✍️आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग:११ दु:ख गर्ने हातभरि ठुला ठेला देख्छु म त। सुखभोगीका हातमा खेलैखेला देख्छु म त। दु:ख गर्ने सधैँभरि दु:ख मात्रै गर्ने हुन्छ, अघिपछि जसो होला यसै बेला देख्छु म त। बुढा परदेशी भए त्यहीँ मेला देख्छु म त।
✍️घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग:१२ हात एउटै रङ्ग फरक कर्म लुकेको हुन्छ। भाग्य लेख्दा हातमा मेहेन्दी रङ्ग सुकेको हुन्छ। महलको सुविधा पाखाबारीमा खोजेर हुन्न, के गर्दछन् बाँच्नलाई को को कहाँ चुकेको हुन्छ। एउटा हत्केला अर्को हातसँग झुकेको हुन्छ।
✍️होम प्रसाद
पञ्चाङ्ग:१३
गरीबी हातमा ठेला मात्रै देखिन्छ यहाँ। मेहेन्दी लाई धनीको जात्रै देखिन्छ यहाँ। धनी-गरीबको तुलना साहित्यमा छैनन्, जता हेरे नि धनीका पात्रै देखिन्छ यहाँ । गरीबको लथालिङ्ग कात्रै देखिन्छ यहाँ ।
✍️शिव कुमार रेग्मी पोखराथोक,पाल्पा
पञ्चाङ्ग:१४ प्रकृतिकी आहा अनमाेल उप हार हुन् नारी। घर सुन्दरता बनाउने कला कार हुन् नारी नारी भएर विश्वमा फुल्छ अनेकन फूल रङ्ग , हर जीव हुर्काउने बढाउने सार हुन् नारी । बालबच्चाकाे निमित्त सुरक्षित बार हुन् नारी ।
✍️प्रधुम्न चालिसे भक्तपुर ,कटुञ्जे
पञ्चाङ्ग:१५ पिडा र हर्षका कथा त लेखियो बेला बेला खुब। हात भरी थिए साहुको मेलामा जाँदा ठेला खुब। जसका लागि तनमन खियायौं जिवन भरी नै, लगाई मेहेन्दी गई जता जता लाग्यो मेला खुब। हुन्थ्यो मेरै दुःखमा सन्तानको ऐयासी भेला खुब।
✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग:१६ कहिँ हातमा मेहेन्दी कहिँ ठेला हुन्छ। कहिँ नारी सम्मान त कहिँ हेलाँ हुन्छ। यस्तै उकाली ओराली गर्दै बित्छ दिन , कहिले जिन्दगीको दौडमा खेला हुन्छ। राम्ररी ब्यवहार नहुदा पेला हुन्छ ।
✍️दुर्गा भट्टराई मोरङ
पञ्चाङ्ग:१७ कसैका हातमा ठेला साउनमा। संस्कृतिमा भयो झेला साउनमा। चाड र परिश्रम तुलना गर्दा, विकृतिले पार्छ फेला साउनमा। श्रम गरौँ हुन्न हेला साउनमा ।
✍️दाहाल कल्पना
पञ्चाङ्ग:१८ कसैको हातमा बुट्टा भरेको छ। कसैको छालाको ठुट्टा झरेको छ। यो संसार पनी बिचित्रको छ नि, सहि सत्य बोल्दा झुट्टा परेको छ। खराब बाटोमा खुट्टा सरेको छ।
✍️सरिता सेढाइ धादिङ
पञ्चाङ्ग:१९ याे असार साउकाे कामै कामकाे बेला हजुर। हातै भरी परेका छन् किसानकाे ठेला हजुर। प्रकुति कति साह्रो निष्ठुरी भए पछि यहाँ त, काम नगरी बस्दा सबैकाे भईन्छ हेला हजुर। जिन्दगीको भयाे यहाँ सुनाैलाे याे खेला हजुर।
✍️सहयात्री शाेभा अर्याल बुटवल रुपन्देही नेपाल
पञ्चाङ्ग:२० यो साउनको महिनाले महिमा हरियो भन्छ। कोही गाउँले त कोही सहरीया परियो भन्छ। महिना र महिमा यौटै हात पो फरक भयो, चिल्ला चिल्ला हातले मेहेन्दी मात्रै भरियो भन्छ। ठेला उठेका हातले बीउ मात्रै छरियो भन्छ।
✍️पशपति राई खोटाङ ।
पञ्चाङ्ग:२१ कसैको हातमा मेहन्दी त कसैकाे हातमा ठेला भयाे। काम गरि खाने निमुखा मान्छे यहाँ सवैकाे हेला भयाे। दु:खी गरिबहरुकाे मर्म यहाँ कसले पाे बुझ्छ र नै, राम्रो कर्म गर्दा पनि हजुर आज अरुकाे खेला भयाे। साँचाे कुरा गर्दा पनि हुन्न यहाँ सवैकुरा रेला भयाे।
✍️उर्मिला के.शी. धनकुटा
पञ्चाङ्ग:२२ विदेशमा दु:ख गर्दा श्रीमानका हातमा ठेला छन् । यता श्रीमतीका हातमा रंगिन मेहनदी खेला छन् । जिन्दगी सुख दु:खकाे दुई पाटाे भनि जान्दाजान्दै, सुखी सधैं सुखी हुन्छन् कठै दु: खी त्यो हेला हेला छन् ,। घर चलाउन लेकाे ऋणको व्याज तिर्ने वेला छन् ।
✍️ पारू अर्याल नेपाल, भरतपुर चितवन ।
पञ्चाङ्ग:२३ स्वास्नीका हातमा मेहदी पुरुषको ठेला छ । चुपचाप बसी हेर्नोस् अहिले यस्तै बेला छ । रातदिन नभनी खट्दछ पुरुष खाडीमा, तैपनि पैसा थोरै पठायो भनेर हेला छ । घरमा त पार्टी भोज भ्याइनभ्याई मेला छ ।
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (३५ औँ) शृङ्खलाका लागि लघुकथाकार यमुना प्रधानाङ्ग ‘मुना’को लघुकथा ‘डर’, लघुकथाकार रोशन पराजुलीको लघुकथा ‘अन्तरङ्ग’ र लघुकथाकार शिव कुमार रेग्मीको लघुकथा ‘पर्याप्त’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१) लघुकथा : डर
यमुना प्रधानाङ्ग’मुना’ श्याम र हीरा शनिवारका दिन एउटा साहित्य कार्यक्रममा भाग लिन जाँदै थिए । श्यामले भने- “हाम्रो देशमा के भइरहेको छ हँ ? दिनहुँजसो एउटा न एउटा घटना भइरहेको छ, बाहिरिइरहेको छ।” “हो भन्या ! समाचारमा कहिल्यै राम्रो कुरा सुन्न पाइएको होइन ।” हीराले भने ।
“देश समृद्धिको बाटोमा जाने आशामा त्यति धेरै व्यक्तिहरूले ज्यानको आहुति दिए । कतिका सिन्दूर पुछिए । कतिका काख रित्तिए, कति बेघर भए ।” -गफिँदै हिँडिरहेका उनीहरू कार्यक्रम स्थल पुगेको पत्तै पाएनन् ।
कार्यक्रम स्थलमा अगाडि नै पुगिसकेका कवि रमणले ‘नमस्कार साथीहरू !’ भन्दा पो उनीहरू झसङ्ग भए । “नमस्कार !” भन्दै दुवै खाली कुर्सी भएतिर लम्किए । “हैन साथीहरू ! तपाईँहरू निकै गफिँदै हुनुहुन्थ्यो । मैले टाढैबाट नियालिरहेको थिएँ ।” -रमणले भन्यो ।
“के हुनु नि ! देशको बेथिति, दुरावस्थाका बारेमा कुरा गरेको ।” -हीरा अगाडि बोल्दै गए- “छिमेकी देशले दिएको पीडा आफ्नो ठाउँमा छ । रोटीबेटीको सम्बन्ध भन्दै बेलाबखतमा चिप्लो घस्दै आफ्नो फाइदा उठाइरहेको छ । अहिले त त्यहाँका महान् साहित्यकार भनाउँदा, सञ्चारकर्मी, हुँदाहुँदा कथित धर्मगुरु समेतले पनि उनीहरूको देशबाट हाम्रो देश टुक्रिएको भन्दा हाम्रो मन मान्छ ?”
“हो ! तपाईँहरूले मनासिब कुरा गर्नुभयो । अहिले हामी जनता, नेता, सरोकारवालाहरू वाह्य हस्तक्षेपबाट आफ्नो देशको रक्षा कसरी गर्ने भन्ने बारेमा लाग्नुपर्ने बेलामा देशलाई भित्रभित्रै धमिराले खोक्रो पारिसकेका चाङका चाङ भ्रष्टाचारीहरूको फाइल खोल्नमा अल्झिनुपरेको छ । बलात्कारी, भ्रष्टाचारी, तस्करहरूलाई त फाँसीको सजाय दिएमात्र हाम्रो देश उँभो लाग्ने थियोे ।” -रमणले भन्दै गर्दा कार्यक्रममा आएका सबैले समर्थन जनाउँदै एकै स्वरमा भने- “हो, हो !”
त्यो सबै सुनिरहेको नजिकैको एउटा पाको व्यक्तिले भन्यो- “तपाईँहरूलाई थाहा छ कि छैन कुन्नि ! हाम्रो देशको धेरैजसो भूभागहरू त बेचिसके । भोलि कतै सबै बेच्ने हुन् कि भन्ने पो डर भो !” “हो, डर भो ! हो, डर भो !” भन्दै श्यामले मस्त निद्राबाट आँखा खोल्दा बिहानीलाई धुम्म बादलले छोपेको थियो । वीरगञ्ज, पर्सा हाल इमाडोल, ललितपुर २०८०/०४/१२ गते शनिवार
२) लघुकथा : अन्तरङ्ग
राेशन पराजुली “उठ्न भन्या उठ् !” “हैन ! किन बाेल्दैन याे, के भयाे ?” ऊ अनुत्तरित भावमा शून्यमा हरायाे । छेवैमा मौन शरीर तेर्सिएकाे थियाे । रत्तिभर हलचल थिएन । “खै के भयाे ? कसलाई बाेलाउने ?” -ऊ आफैँ असमञ्जसमा पर्यो । छेउछाउमा कसैलाई देखेन । फेरि चिच्याउँदै उसलाई झक्झकायाे तर हलचल भएन । अनायासै अश्रुधारा बहिरह्याे । “ए ! उठ्न भन्या, ढिलाे भयाे । हेर, बाआमालाई तर्पण दिनुपर्छ, दुईभाइ भएर ।” “उठ्न काले ! एकपल्ट बाेल्न ! अनि फिस्स हाँसिदे । मेराे मन पनि हल्का हुन्छ, उठ्न भाइ !” -उसले भाइलाई काखमा राखेर फेरि झक्झकायाे । “हँ दाइ ! के भयाे ? हजुर किन चिच्चाएकाे ?” -उसले दाजुलाई प्रतिप्रश्न गर्यो । “मलाई त ! बाआमाले बिच बाटोबाटै फर्काउनु भयाे, हजुर चिच्याएकाे सुनेर ।” उसले उठेर दाजुका आँसु पुछिदियाे र भन्याे- “दाइ ! म मरेको छुइनँ ।” बरगाछी, धरान। १७/०४/२०८०
३) लघुकथा : पर्याप्त
शिव कुमार रेग्मी सीमा क्षेत्रमा लडाइँको स्थिति बनेपछि रेग्मी छुट्टी घटाएर कार्यक्षेत्रमा फर्कनुपर्ने भयो। केही समय भित्रैमा नयाँ जिन्दगीलाई यस संसारमा ल्याउन लागेकी प्रियाको नजिकै पुगेर रेग्मीले चिन्तित स्वरमा भन्यो- “प्रिया ! म जानैपर्ने भयो तर तिमी यस्तो हालतमा एक्लै कसरी बसौली ?” प्रियाले सान्त्वना दिँदै भनिन्- “नेपाल आमालाई अहिले हजुरको खाँचो छ । यो त एउटा सैनिकको बच्चा हो । म सैनिकको श्रीमती । हामी दुवै योद्धा हौँ । म एक्लै पर्याप्त छु, यस लडाइँलाई जित्न । हजुर जानुस् र विजय भएर आउनुस् ।” पोखराथोक, पाल्पा
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– ११५ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] सिकारी स्वयम् सिकार सीमा नाघेमा प्रतिहार !
वसन्त अनुभव
[२] सिकार वैमनस्यताकाे आधार युद्व घाेषणाकाे सुरुवात !
राेशन पराजुली, धरान
[३] नेता मार यसरी ओरेक्सले सिंह जसरी !
अमृत सुवेदी, रूपा सात, कास्की
[४] आहार भाेकाे पेट मर्न मार्न तयार !
बाबुराम आचार्य, धनगढी
[५] ताकत नहोला बराबर खुस्कियो राजाको औकात ! -शारदा गौतम आचार्य, ललितपुर
[६] आक्रमण सिकार गर्दा भयो ठुलो प्रत्याक्रमण !
डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा
[७] भोक आहार खोजी एक अनौठो प्रकृति !
बेदु न्यौपाने, काठ्माडौँ
[८] बेला नगर रेला समय परिस्थितिकाे खेला !
भवानी घिमिरे, सर्लाही
[९] युद्ध आपसी वैरभाव हारजितकाे छैन ठेगान ।
राज कुमार राजभण्डारी “खाेटाङ्गे मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[१०] यात्रा युद्ध कुस्ती साेचेजस्ताे हुँदैन मस्ती !
शुक्र राज घिमिरे, सर्लाही
[११] सजीव बन्दै सिकार आखिर मृत्युको काख !
सुरेशकुमार पाण्डे
[१२] सुरक्षा शक्तिशाली बल नराख्नु कमजोर सोच !
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा -६, संखुवासभा
[१३] सिकारी सबै बनिरहेका एकदिन अवश्य सिकार !
निरज कोइराला, इटहरी
[१४] समय हुँदैन एकनास भयो आज सर्वनाश !
सरिता सेढाइ, धादिङ
[१५] सुरक्षा हरेकको आधार नभए हुन्छ प्रतिकार !
घनश्याम पौडेल, पोखरा
[१६] निर्धो मर्नै परेपछि अन्तिम निर्मम प्रहार !
गोपालप्रसाद पौड्याल
[१७] आहार नहेर बेकार गरेर खान्छ सिकार !
पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत” पनौती न.पा.-३, काभ्रे
[१८] सिकारी जीवनको भिकारी भोकले परिस्थिति स्विकारी !
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ
[१९] विध्वंस प्रकृतिको नियम आहाराको खोजीमा सङ्घर्ष !
यहि साउन २७ गते `जलन´ नामक कृति सार्वजनिकहुने भएको छ। यो कृतिका लेखक दाङका गणेश खड्का हुन् । ऊनी करिब १ दशकदेखि साउदी अरबमा कार्यरत छन् । साहित्यिक नाम असन्तुष्ट जलनबाट परिचीत उनी साउदी अरबमा श्रम गर्दैगर्दा विभिन्न संघ संस्थामा आवद्ध भएर तथा व्यक्तिगत रुपमा समेत सामाजिक कार्यमा सक्रिय भएका व्यक्ति हुन् । अर्काको देशमा श्रमगर्न जाने हामी नेपालीलाई विभिन्न खाले समस्याहरू आइपर्छन् । ती मध्ये पहिलो समस्या त भाषाको हुन्छ । भाषा नजान्दा भनेको काम नपाउने, कामगर्दा भाषा नबुझ्दा गाली तथा अपशब्द सहनुपर्ने,काम गर्न गाह्रो हुने जस्ता समस्या हुन्छन् त्यही कुरालाई मध्यनजरगर्दै जलनले टिकटकको माध्यमबाट भाषा सिकाउने प्रयास पनि गरे जो धेरैले मन पराए । विशेषगरी एकदमै नयाँ नेपाली कामदारलाई सहजता पुगेको प्रतिक्रिया सुन्न र देख्न पाइयो। त्यतिमात्र नभई विभिन्न जानकारीमूलक भिडियो बनाउनु पनि उनको असल काम मध्यको एक हो।
भनिन्छ नि "इच्छाको अगाडि बहानाले कुनै अर्थ राख्दैन" हो यसको उदाहरण पनि हुन् असन्तुष्ट जलन। उनी साउदी अरबमा श्रमजीवी जीवन बिताइरहे पनि नेपाली भाषा साहित्यको क्षेत्रमा सधैं अग्रसर भइरहे। त्यसो त उनी साधना साहित्य मञ्च नामक साहित्यिक संस्थाका संस्थापक तथा अध्यक्ष पनि हुन् । अहिले उनको यो कृतिको लोकार्पण पनि यसै संस्थाद्वारा काठमाडौंको डिल्लीबजार स्थित सर्वनाम थिएटरमा हुने भएको छ। स्रष्टा गणेशलाई `जलन´ कृति सफलताको हार्दिक शुभकामना !
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: त्रिपनौंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५४ (चौउन्नौं) ————————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०४/१५ गते भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
………………………………………………
पञ्चाङ्ग:०१ पानी पर्दा आकाशले ठाँउ छाेडिदियाे । बादलले आफ्नो रूप नाउ छाेडिदियाे । त्यागी हुँदा बादल बर्षा गजब हुने, खाेलाा खाेल्सा खहरेले गाउँ छाेडिदियाे । दुई दिने चुरिफुरी भाउ छाेडिदियाे ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०२ शिवजीको पूजा गर्छु आजको दिन। दुःखीको सेवामा पर्छु आजको दिन। जय जय शिव शंकर भोला भन्दै, शंकरको ज्ञान छर्छु आजको दिन। दुःख पीडा सबै हर्छु आजको दिन।
सुशीला पाैडेल
पञ्चाङ्ग:०३ तिमी गयौ नहेरी म रोएर बसेँ । नयनका यी परेली धोएर बसेँ । तिमीले भुल्यौ सहजै मैले सकिनँ, यादमा तिम्रो तस्बिर छोएर बसेँ । मनका रहर सब फोएर बसेँ । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
पञ्चाङ्ग०४ आज श्रावण पन्ध्र हाे खीर खाए हुन्छ। सबै साथमा बस्दै मीठाे गीत गाए हुन्छ। रमाइलाेकाे लागि नै पर्वहरू आएका, विदेशमा भएपनि घरमा आए हुन्छ। पुगेर आफन्तकाे आशिर्वाद पाए हुन्छ।
नवराज भट्ट कञ्चनपुर
पञ्चाङ्ग:०५ यो महिनाको नाम पर्यो साउन सोमबार । साउन मास मठ, मन्दिर् धाउन सोमबार । तिता मीठा हिन्दु पर्व हामी सबै मान्न पर्छ , साउनमा शिव मन्दिर जाऊँन सोमबार। पूजा सकेर फुल पाती लाऊँन सोमबार।
पञ्चाङ्ग:०६ पानी पर्यो छानु चुहियो छाउन सोमबार। साउन पन्द्र खिर खाने आउन सोमबार। साउन पन्द्र खिर खाने हिन्दुले मान्ने पर्व , साउन पन्द्र खिर पाक्यो खाउन सोमबार। साउन हरियो पहेँलो लाउन सोमबार।
बेदु न्यौपाने काठमाडौँ ❤️
पञ्चाङ्ग:०७ साउन पन्द्र हिन्दु पर्व खिरकाे छ। परिश्रमीलाई काम नै पीरकाे छ। हामी नेपालीका अनगिन्ती पर्व छन्, झरीमा खिर भन्दा पीर भिरकाे छ। दुःख, सुखमा अावश्यक धिरकाे छ।
शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०८ साउनको सोमबार शिवालय जाउन हो। सबै भक्त मिलेर एउटा भजन गाउन हो। मानवको जीवन हो भक्ति मार्गमा लाग्ने नै, भगवानको गुण गानले शान्ति छाउन हो। सधैं भरी यस्तै समय हामीले पाउन हो।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग:०९ व्रत बसि मन्दिर जाइन्छ अब। भक्त मिली भजन गाइन्छ अब। यो धर्मलाई निरन्तरता दिदै , पूजा सकि फूल लाइन्छ अब। साउन पन्ध्र खिर खाइन्छ अब।
दुर्गा भट्टराई मोरङ
पञ्चाङ्ग:१० खोले खाए पनि मैले खिर सम्झेर खाएको छु। कहिले त केही नखाइ आफ्नो छाना छाएको छु। मेरो लागि त हरेक दिन नै एउटा चाड हो, गरिब भए नि देशभक्तिकै गाना गाएको छु बुढी आमाको आशिर्वाद मैले सधैं पाएको छु।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:११ व्रत बस्न घुँडा धस्नु छ। भक्तिमा कम्मर कस्नु छ। धर्मलाई विश्वास गर्दै, आध्यात्मिक तिर पस्नु छ। आराधना गरि बस्नु छ।
ह्यारिस
पञ्चाङ्ग:१२ हुने खानेलाइ सँधै यहाँ खिरैखिर छ। भित्रभित्रै दुख पर्नेलाइ पिरैपिर छ। ईश्वरको रचना पनि कति भेदभाव, यत्रतत्र छरिएका समस्याको भिर छ गार्हो भयाे जिउन ऋण बाेकेकाे शिर छ।
उर्मिला के.शी. धनकुटा !
पञ्चाङ्ग:१३ सागर झैं आँसु भेल तर्नु पर्दो रहेछ अस्तित्व देखि नै पर सर्नु पर्दो रहेछ आत्मबल दर्हो नबनाउँदा खेरी हेर, भिर बाटै भए पनि झर्नु पर्दो रहेछ। समस्याले घेरे पछि मर्नु पर्दो रहेछ।
सरिता सेढाइ धादिङ
पञ्चाङ्ग:१४ आफ्नै नदिनालामा धेरै पानी बगेको देश भिरमा प्रचुर मात्रामा खानी बगेको देश देशको सम्पत्तिलाई आफैले सुरक्षा गरे भाैतिक सम्रक्षर जानी जानी बगेको देश साेझा जनताहरूलाई मानी बगेको देश
२ अगस्ट २०२३, साउदी अरब ! ७ बर्ष अघि साउदी आएर नेपाल फर्कन नसकेका नवलपरासीका ओम बहादुर थापा, नेपाली दुतावास रियादका प्रतिनिधी तथा नव निर्वाचित एनआरएनए आईसीसी सदस्य बिशाल कुमार श्रेष्ठ र एनआरएनए आरसीसी अलकासिमको अध्यक्ष कृष्ण अधिकारीको सहयोगमा नेपाल फर्किएका छन्। पीडित थापा २०१६ मा अल जाफर इन्टरनेशनल प्रा.ली कुपन्डोल मेनपावर एजेन्सी मार्फत साउदी अरबको एक कृर्षि फार्ममा काम गर्न भनी आएका थिए । कम्पनीको मालिकले साउदिको आइडी अकमा नबनाई गैरकानुनी रुपमा काम लगाईरहेको र नेपाल फर्कन नदिएको अबस्थामा समाजसेवी बिशाल कुमार श्रेष्ठको सम्पर्कमा आएर सहयोगको लागि अनुरोध गरेका थिए । थापाको अनुरोध पछि श्रेष्ठको पहलमा नै साउदी अरबको अनैजा शहरको श्रमिक अदालतबाट बहिर्गमन भिसा प्रात गरेका थिए । तर थापाको बहिर्गमन भिसा प्राप्त गरेको सुचना कम्पनी मालिकले थाहा पाएपछि केही दिन कम्पनी मै थुनेर राखेको श्रेष्ठले जानकारी दिए । यस्तो अबस्थामा थापालाइ नेपाल पठाउने उपाय नभएपछि एनआरएनए आरसिसि अल कासिमको सहयोगमा थापालाई कम्पनीबाट भगाएर दुई दिन बुरैदाको एक होटलमा सुरक्षित राखी नेपाल पठाइएको छ । कोभिड १९ को खोप पनी नलगाएका उनीलाई पिसीआर गर्न एनआरएनए आरसीसी अलकासिमका सदस्य धन कुमार आचार्यले सहयोग गरेको कुरा आरसिसी अल कासिम सह सचिब सिद्धीलाल श्रेष्ठले जानकारी गराए ।
काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९५ औँ शृङ्खला यही श्रावण १३ गते शनिबार सम्पन्न भएको थियो। अभ्यासमा नेपाल लगायत विश्वका ४९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
संसारमा नेपाली झैँ, कसको होला र दम, कामभन्दा पनि कुरा गर्छौँ छैनौँ हामी कम। वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] कुरै खाने कुरै लाउने गर्नुपर्छ बानी, काम नगरी बस्नुपर्छ बन्दै राजारानी। -वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[२] पैसा देखेपछि जहाँको देखे पनि टिप्ने भए, झन आन्दोलन पछि धेरै मान्छे विदेश गए । -पवनकुमार बुढाथेाकी काठमाडौँ
[३] अरूभन्दा नेपाली त हुन्छन् बडबोला, यो पाराले मेरो देश के विकास होला ? -सुसान्त सुनिता लिम्बु ताप्लेजुङ
[४] नेपाली हामी गोर्खाली, सबैले भन्ने गर्छन् बहादुर, कुनै पनि काममा पछि नहट्ने, सधैँ गर्छन् आतुर। -कबिताहरी सुन्दर हरैँचा नगरपालिका १ मोरङ
[५] कुनैबेलाको गोर्खाली भनी कहलिएका हामी, कामभन्दा कुरा गर्ने अहिले भयौँ यस्मा दामी। -अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
[६] हामीलाई संसारले भन्नथाल्यो बात बहादुर, पहिलेका वीर गोर्खाली भयौँ कुरौटे भरपुर। -सुरेशकुमार पाण्डे दाङ घोराही १८
[७] युवा जति विदेशमा घरभित्र सुन, बुढा नेता सास थप्ने जनताकाे खुन । -निरज कोइराला
[८] त्यसै भनेका होइनन् हामीलाई वीर गोर्खाली, हिड्छौँ हामी उच्च शान गरी सधैँ शिर उचाली। -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा ।
[९] आफू परेँ औद्योगिक मेसिन मजदुर, भोको छैन देशभर पुर्यायो भरपुर । -चुडामणी देबकोटा चनपा १३ काठमाडौँ
[१०] गफैको भात दाल साग बनाएर खान छ बाँकी, नेपाली झैँ कसले देखाउँछ गफैगफको झाँकी। -समुद्र जल्जला- ७ गण्डकी
[११] गोलीसित सामना गर्दा खुकुरी नचाउने हुन् नेपाली, विश्वमा साहसी कहलिएका थिए बहादुर गोर्खाली। -भगवती दवाडी, झापा
[१२] काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर, देशमा उल्टो छ कसलाई पर्दैन र पिर । -प्रेम थापा “मन”बागलुङ
[१३] तिमी र म मिली गफाडी विद्यालय खोलौँला, लौ ! पहिले त संसदमा चलचित्र हेरौँला। -म्यामराज राई, भोजपुर
[१४] नेपाली हो वीर योद्धा भन्ने हराएर गयो, पत्रु बन्यौ विश्वमाझ चित्तभित्र दुख्ने भयो। -चूडा निर्भीक हालःचन्द्रागिरि काठमाण्डौ
[१५] नेता भए तस्करीमा रङ्ग फेर्ने छेपारोको चाल, मालामाल बन्न ती सुन ल्याउँदा भरियाको काल। -टिकाराम पुन टिपु सल्यान
[१६] देशभन्दा व्यक्ति धनी नेपाली नै होला, तिनको रक्षा गरिदेउ शङ्कर भोला । -सरिता सेढाई, धादिङ
[१७] कुराले पश्चिमबाट सूर्य उडाउँछ, पानीजहाज चलाई रेल गुडाउँछ । -कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
[१८] नेपाली हौँ हामी, बानी हाम्रो कामभन्दा धेरै बोल्ने, विदेश पुगेर समेत जिल्ला जिल्लाका पार्टी खोल्ने । -राजेशराज गड्तौला काँडाघारी, काठमाण्डौ
[१९] कामभन्दा कुरा गर्न नेता हुन्छन् सिपालु, यिनका कुरा सुन्दासुन्दै खुइलियो तालु । -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
[२०] देशै लुट्न पठायौ त यसै कसरी बस्नु, सामान्य हो हाम्रा लागि भ्रष्टाचारमा फस्नु। -मन्दिरा सेढाई मलेखु,धादिङ
[२१] काम गरुँ काम छैन गर्यो गफगाफ, गफलेनै गर्ने भयो हाम्रो पत्तासाफ । -ध्रुव श्रेष्ठ खोटाङ ।
[२२] वीरताको थियो शान, नेपाली पहिले अति, शेरबाट झरेको छ, मुसाको झैँ गति पति। -रामशरण न्यौपाने, भक्तपुर
[२३] काम छैन दाम छैन खाली लाउँछ धाक, कसरी जोगाउने हो यही पाराले नाक । -चिरञ्जीवी श्रेष्ठ धनकुटा ।
[२४] देश बाँचे हामी बाच्छौँ हेक्का लिनुपर्छ, जन्मभूमि जोगाउन ठेक्का दिनुपर्छ । -पद्मा पाण्डे पथरी मोरङ
[२५] कुनै पनि नगरेर काम, चाह हेर लेखाउने नाम। -आर्त अकुलीन
[२६] कामभन्दा कुरा धेरै हाम्रो देशमा भयो, ठुला हौँ भन्नेहरू सुन तस्करीमा गयो । -शोभा आचार्य गौतम काठमाडौँ
[२७] पुर्खाहरूले वीर गोर्खाली भनेर विश्वलाई चिनाए, सन्ततीहरूले भएको इज्जत पनि पानीमा मिलाए । -रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची, हाल : बुटवल, रुपन्देही, नेपाल
[२८] गफैगफले आकाशका तारा झारिदिन्छौँ, कामै विना दुनियाँ नै चकित पारिलिन्छौं । -बिबस पारदर्शी झापा
[२९] अरूकाे कुरा काट्दै हिँड्ने नेपालीकाे बानी, मनमा कति पालेका हुन् कुराैटेकाे खानी। -भवानी पोख्रेल
[३०] कामकाज ज्यादा गरौँ कुरा चाहिँ कम, कुरा मात्रै गर्नेको त हुन्न खासै दम । -बाबुराम पाण्डे अर्घाखाँची
[३१] जति खाए नि नअघाउने रहेछन् हेर नेताको चाल, भन्सार छलेर नि सुन ल्याइकन भए ती मालामाल -अम्विका अधिकारी झापा विर्तामोड
[३२] विकासको नाममा नेताले विदेशीलाई देश बुझाउने दाउ, स्वाभिमानी वीर गाेर्खालीकाे देश नेताहरू मिलेर बेची खाउ। -राज कुमार राजभण्डारी “खाेटाङ्गे” मध्यपुर ठिमी ५संगम काेलाेनी भक्तपुर ।
[३३] पुर्खाको कामले आर्जेको गोर्खाली नाम, कुरै मात्र गर्छन् छैन कसैको नि काम । -भेष कुमारी लामिछाने देवदह ०५ , खैरेनी रुपन्देही ।
[३४] नेपाली हुँ को सक्छ आऊ झगडा गर्छु, कोहीभन्दा कम छैन म मार्छु कि मर्छु । -बिके माकजू , भक्तपुर ।
[३५] कामभन्दा कुराको नै पाे यहाँ खेती धेरै चल्छ, त्यही खेतीले नेतागणकाे व्यर्थै दिमाग गल्छ । -त्रिलाेचन भण्डारी मेचीनगर,झापा
[३६] विश्वले मानी ल्याएका वीर जातिको सन्तान हामी, कुरा गर्नमात्र नभई ढाँट्न छल्नमा पनि दामी । -राजेन्द्र प्रधान ‘पासा’, दार्जीलिङ ।
[३७] भोग्दा पनि ब्युँझिदैनौँ, फेरि दिन्छौ भोट, सुम्पिन्छौँ देशको भाग्य, सुकाउँदै कोट । -सुस्मिता अधिकारी
[३८] वीर गोर्खाली भनी चिनिएका नेपाली सगरमाथामा शिर, खेतबारी बाँझै राखी ओछ्यानमा सुतेरै पुग्छन् चन्द्रमातिर । -सुशीला थापा
[३९] देश विदेश कमी छैन गफमै हामी गर्छौँ काम, भ्रष्टहरूले चिनारी छोडे नेपालीहरूमा नाम । -बेदु न्यौपाने काठमाडौँ
[४०] इलम गर्न नचाहेर कुरै गर्छौँ दामी, बातैबातको टेवा लिस्नो नेपाली हौँ हामी। -अच्युत घिमिरे-भुटानबाट🇧🇹
[४१] उन्नति देखेर नेपालीको,संसार पर्छ छक्क, भ्रष्टाचारको सयपत्री फूल, फुल्छ ढकमक्क। -होम प्रसाद नेउपाने धरान,सुनसरी ।
[४२] कुरै लाउनु कुरै खानु माखो पनि मार्ने हैनन्, भ्रष्टचारको चलखेलमा कोही अछुतो छैनन् l बाबुराम गौतम, गुल्मी
[४३] बाजेले घिउ खाएका थिए, सुँघ मेराे हात, समयले काेल्टे फेर्यो, अल्छी तिम्राे फुस्राे बात । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे
[४४] भ्रष्टाचार गरेर कमाए हजारौँ करोडौँ दाम, देश विदेशमा गरेका छन् नेपालकाे बदनाम। -सहयात्री शोभा अर्याल बुटवल, रुपन्देही , नेपाल
[४५] परदेश गए त्यतैतिर बिगार्दिन्छौँ थिति, नेपाली हौँ जहाँ गए पनि हाम्रै चल्छ नीती। -नवशिला
[४६] पुर्खाकाे चिनाे छ गाेर्खाली वीर, युवाकाे उन्नति तस्कर तिर। -काेपिला अधिकारी गाेरखा सिरानचाेक
[४७] देश डुब्न लाग्यो माझी धेरै बनेर , पानी कटाउने को हो ? कुलो खनेर । -जमुना आचार्य
[४८] नेपाली युवा जति बाध्यताले जान्छन् विदेश तिर, नेताहरू ढुकुटी लुट्नैमा ब्यस्त छन् नमानी पिर। -शिव कुमार रेग्मी पोखराथोक,पाल्पा
[४९] कामभन्दा ठुलो यहाँ पैसा भएपछि, के नै राख्यौ बाँकी नैतिकता गएपछि । भवानी घिमिरे सर्लाही
काठमाडौँ। मलेसिया वैदेशिक रोजगारीमा जाने नेपालीहरूको आकर्षक गन्तव्य बनेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा २ लाख ५९ हजार ५९४ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन् । जसमा २ लाख ५२ हजार २९५ पुरूष र ७ हजार २९९ महिला छन् ।
यसमा पुनः श्रम स्वीकृति समेत जोडिएको छ । नयाँ श्रम स्वीकृति मात्रै लिएर मलेसियामा २ लाख १९ हजार ३५७ जना गएका छन् । ती मध्ये २ लाख १३ हजार ५० जना पुरूष र ६ हजार ३०७ महिला रहेका छन् । मलेसिया गएका नेपालीहरू जम्मा वैदेशिक रोजगारीमा गएका मध्ये ४४.३८ प्रतिशत रहेको छ । त्यसपछि दोस्रो प्रमुख श्रम गन्तव्य मुलुकमा यूएई रहेको छ । जहाँ ५९ हजार १५२ जना रहेका छन् । साउदी अरेबियामा ५५ हजार ७९१ जना रहेका छन् ।
त्यस्तै कतारमा ४० हजार ५१७ जना नेपाली गत वर्ष वैदेशिक रोजगारीका लागि गएका थिए ।
कुवेतमा ३१ हजार ४१० जना, दक्षिण कोरियामा २१ हजार ४१०, रोमानियमा १३ हजार १३७, क्रोसियामा १३ हजार १३७, जापानमा ७ हजार १८६, माल्टामा ५ हजार ६०३, पोल्याण्डमा ४ हजार ९१५, साईप्रसमा ४ हजार २७५, माल्दिभ्समा ३ हजार ९९४ जना वैदेशिक रोजगारीका गएको देखिन्छ ।
गत आर्थिक वर्षमा १४४ देशमा नेपाली श्रमिकहरू गएको देखिन्छ । विभागको तथ्यांक अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिएर कुल ७ लाख ७१ हजार ३२७ जना वैदेशिक रोजगारीमा गएका छन् । आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजार ९० जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएका थिए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा २०७९/०८० मा १ लाख ४१ हजार २३७ जना वढी वैदेशिक रोजगारीमा गएका छन् । आर्थिक वर्ष २०७८/७९ मा भने कतार प्रमुख श्रम गन्तव्यको रूपमा देखिएको थियो । जहाँ ७६ हजार ८३२ जना नेपाली नयाँ श्रम स्वीकृति लिएर गएका थिए । नयाँ र पुनः श्रम स्वीकृति गरेर १ लाख ८४ हजार ९२६ पुगेको थियो । कतार विश्वकपका कारण त्यो बेला कतार प्रमुख श्रम गन्तव्य मुलुक बनेको थियो ।
मलेसियालाई प्रमुख श्रम गन्तव्यको रूपमा लिनुमा न्यूनमत पारिश्रमिक बढाउनु, रोजगारीका प्रयाप्त अवसर सिर्जना हुनु जस्ता कारण रहेका छन् ।