• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

लिडोद्वारा अनाथ र अपांग विद्यार्थीका लागि आशाको छात्रवृत्ति, ८० लाख रुपैयाँ बराबरको सहयोग

  • २० कार्तिक २०८२, बुधबार १७:३९ मा प्रकाशित
  • कपिलवस्तु – गरिबी, अनाथत्व र अपांगताको कारण धेरै बालबालिकाको पढाइ बीचमै टुट्ने देशमा, लुम्बिनी एकीकृत विकास संस्था (लिडो) ले ४८० विद्यार्थीलाई आशाको नयाँ ढोका खोलेको छ ।

    संस्थाले कतार च्यारिटीको सहयोगमा ८० लाख रुपैयाँभन्दा बढीको छात्रवृत्ति वितरण गर्दै कपिलवस्तुका विभिन्न विद्यालयमा अध्ययनरत अनाथ र अपांग विद्यार्थीलाई शैक्षिक सहयोग उपलब्ध गराएको हो ।

    लिडोकी कार्यकारी निर्देशक सुनिता बेल्बासेका अनुसार, हालसम्म ३०५ विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण भइसकेको छ । “तीनदेखि १८ वर्ष उमेर समूहका विद्यार्थीलाई ५ हजार ६६१ देखि १६ हजार ९८४ रुपैयाँसम्म त्रैमासिक रूपमा छात्रवृत्ति दिइन्छ,” उनले बताइन् ।

    कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले विद्यार्थीको पहुँच र शैक्षिक निरन्तरता बढाउन यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । “गरिबीका कारण पढाइ छाड्ने समस्या अझै छ, यस्तो सहयोगले त्यो चक्र तोड्न सहयोग पुर्‍याउँछ,” उनले भने ।

    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका अधिकृत अर्जुन कुँवर लगायत अधिकारीहरूको सहभागिता थियो ।

    लिडोका कार्यक्रम संयोजक रामनरेश चौधरीका अनुसार, संस्थाले विगतदेखि नै अनाथ र अपांग विद्यार्थीहरूलाई नियमित रूपमा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

    छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले भने आफूहरूलाई अध्ययनमा सहजता र प्रेरणा दुबै बढेको प्रतिक्रिया दिएका छन् ।

    Posted in मुख्य खबर

    न्यूयोर्कको मेयरमा जोहरान ममदानी विजयी

  • २० कार्तिक २०८२, बुधबार १०:५२ मा प्रकाशित
  • काठमाडौं : अमेरिकाको ठूलो शहर न्यूयोर्कको मेयरमा जोहरान ममदानी विजयी भएका छन्। उनी मुस्लिम समुदायबाट पहिलो मेयर बनेका हुन्।

    सीबीएसका अनुसार ३४ वर्षीय ममदानी न्यूयोर्कको सबैभन्दा कान्छा र पहिलो मुस्लिम तथा दक्षिण एसियाली मेयर बनेका हुन्।  उनका समर्थकहरू खुसीयाली मनाइरहेका छन्। उनीहरू एकअर्कालाई बधाइ दिइरहेका छन्। 

    ममदानीको जन्म सन् १९९१ मा युगान्डाको राजधानी कम्पालामा भएको थियो। ममदानीका बुबाले उनलाई क्रान्तिकारी र घानाका प्रथम प्रधानमन्त्री क्वामे एनक्रुमाहको नामबाट क्वामे नाम दिएका थिए।

    ममदानी प्रसिद्ध भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्रख्यात प्राध्यापक महमूद ममदानीका छोरा हुन्।
    उनले आफ्नो सुरुवाती दिनहरू कम्पालामा बिताए र त्यसपछि पाँच वर्षको उमेरमा दक्षिण अफ्रिका सरे।

    ममदानीका बुबा, भारतीय मूलका महमूद ममदानी, केप टाउन विश्वविद्यालयमा प्राध्यापक थिए। उनले आफ्नो प्रारम्भिक शिक्षा दक्षिण अफ्रिकाको सबैभन्दा पुरानो विद्यालय सेन्ट जर्ज व्याकरण स्कूलमा प्राप्त गरे, जुन १८४८ मा केप टाउनमा स्थापित भएको थियो।

    सात वर्षको उमेरमा, उनी न्यूयोर्क शहर सरे र ब्रोंक्स हाई स्कूल अफ साइन्समा पढे। २०१४ मा उनले बोडेन कलेजबाट अफ्रिकी अध्ययनमा स्नातक गरेकी थिइन्। केही वर्षपछि २०१८ मा, ममदानी अमेरिकी नागरिक बने।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर

    बैंकभित्र बियरका बोतल र जुवा

  • २० कार्तिक २०८२, बुधबार १०:३८ मा प्रकाशित
  • कपिलवस्तुस्थित एनआईसी एशिया बैंक तौलिहवा शाखामा असोज ३१ गते प्रहरीले छापा मारे पनि अहिलेसम्म बैंकको केन्द्रिय कार्यालयले कुनै कारबाही नगरेको भन्दै स्थानीयमा असन्तुष्टि बढेको छ ।

    स्थानीय स्रोतका अनुसार, राति करिब १० बजे बैंकको सटर खुला र बत्ती जलिरहेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोली घटनास्थल पुगेको थियो ।

    छापापर्दा बैंकभित्र बियरका बोतल र कालब्रेक तास खेलिरहेको भेटिएको थियो । एक प्रहरी अधिकारीले भने, “बैंकका कर्मचारी भित्रै कालब्रेक तास खेल्दै बियर सेवन गरिरहेका थिए। स्थानीयहरूले बैंक जस्तो पवित्र संस्थामा यस्तो व्यवहार स्वीकार्य नभएको बताएका छन् ।

    घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि बैंकका कर्मचारीहरूले भिडियो मेटाउन दबाब दिएको पनि स्थानीय स्रोतले बताए । बैंक स्रोतका अनुसार, कर्मचारीले भित्र तास खेल्दै र बियर सेवन गरेको घटना सिसिटिभीमा कैद भएको भए पनि प्रदेश कार्यालयको समर्थनमा अहिलेसम्म कुनै कारबाही गरिएको छैन ।

    स्थानीयले प्रदेश र केन्द्रिय कार्यालय दुबैलाई जानकारी दिए पनि अहिलेसम्म कुनै कारबाही नभएकोमा गुनासो गरेका छन् । उनीहरूले भनेका छन्, बैंकमा कुनै घटना भएमा त्यसको जिम्मेवार कर्मचारी र सम्बन्धित निकाय नै हुनेछन् । केन्द्रले तुरुन्त छानबिन गरी कारबाही गर्नु आवश्यक छ ।

    Posted in मुख्य खबर

    ९ पार्टीहरूको पार्टी एकीकरण गर्ने एकीकृत पार्टीको साझा घोषणापत्र लाई माओवादी केन्द्रले गर्यो अनुमोदन

  • २० कार्तिक २०८२, बुधबार ००:५५ मा प्रकाशित
  • आज मिती १९ कार्तिक २०८२, बुधवारका दिन नेकपा माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी ) सहित ९ पार्टीहरूको पार्टी एकीकरण गर्ने निर्णय र प्रस्तावित एकीकृत पार्टीको साझा घोषणापत्र लाई अनुमोदन गरेको छ ।

    राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक संयोजक प्रचण्डको पुष्पकमल दाहालको अध्यक्षतामा बसेको उक्त नेकपा (माओवादी केन्द्र ) को अन्तिम बैठक ले घोषणापत्रलाई अनुमोदन गरेको कुरा माओवादी केन्द्रका बरिष्ट नेता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

    श्रेष्ठले आजको बैठक नेकपा (माओवादी केन्द्र ) को अन्तिम बैठकको रुपमा पार्टी एकीकरण गर्ने निर्णय गर्दै सफलता पूर्वक सम्पन्न भएको र नयाँ एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी (Communist Party of Nepal ) र चुनाव चिन्ह पाँच कुने तारा रहने बताएका छन् ।

    उहाँले अरु कुरा थप्दै पार्टी एकता गरी एकीकृत पार्टी निर्माण गर्दा एकतामा सामेल सबै क्रान्तिकारीहरूले प्रारम्भ देखि नै निम्न पक्षहरूमा गम्भीर ध्यान दिनु जरुरी रहेको पनि बताएका छन् ।

    ” एक, यो एकता नेपालका सबै कम्युनिष्ट तथा बामपन्थी शक्तिहरूको एकीकरण र पुनर्गठनको प्रस्थान विन्दु बन्नु पर्दछ ।त्यसो भएमात्र यो देश ,जनता र कम्युनिष्ट आन्दोलनको माग अनुरुपको कोषे ढुंगा बन्न सक्नेछ । दुई ,नेपाली राजनीति र नेपाली कम्युनिष्ट आन्दोलनको आजको मुख्य समस्या विचारधारात्मक सांस्कृतिक (ideo-cultural ) समस्या हो । त्यसैले समग्र कम्युनिष्ट आन्दोलनको वैचारिक सांस्कृतिक संकट लाई समाधान गर्न व्यापक वैचारिक सांकृतिक रुपान्तरणको अभियान लाई एकीकृत पार्टीले शुरुदेखि नै आफ्नो अभिन्न काम बनाएर जानुपर्छ ।क्रान्तिकारी उद्देश्य ,आदर्श ,विचार ,सिद्धान्त ,विधि पद्धति ,स्वच्छता , प्रदतिशिल संकृति , श्रमजीवी एवं उत्पीडित वर्ग एवं जनमुखी चरित्र लाई एकीकृत पार्टीको चारित्रिक विशेषता बनाउनु पर्दछ । अन्यथा पार्टी एकता जोडघटाउ को थुप्रो मात्र बन्ने र परिणाममुखी एवं सार्थक नबन्ने खतरा उत्पन्न हुनेछ ।कि मार्थ त्यसो हुन दिनु हुँदैन ।”

    र ,तीन, जेन जी (Gen Z ) बिद्रोहात्मक आन्दोलनको चेतना , मुद्दा र संगठन एवं अन्य जिम्मेवारीहरूमा जेन जी सहितका युवाहरुको उल्लेखनीय सहभागिता तथा प्रतिनिधित्व लाई एकीकृत पार्टीले गम्भीरतापूर्वक ग्रहण गर्दै तदनुरूप अघि बढ्न प्रतिबद्ध हुनु पर्ने कुरा उल्लेख गरेका छन् ।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीति

    १३ वर्षीया छोरीको शव खोज्दै सात दिनदेखि धाइरहेका बाबुआमा।।

  • १८ कार्तिक २०८२, सोमबार २०:३६ मा प्रकाशित
  • कपिलवस्तु — सडक दुर्घटनामा निधन भएकी आफ्नी १३ वर्षीया छोरीको शव खोज्दै एक दम्पती सात दिनदेखि जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु धाइरहेका छन् ।

    भारतको सिद्धार्थनगर बर्डपुर घर भई कपिलवस्तुको मायादेवी–१ पकडीमा मजदूरी गर्दै आएका हरिचन्द्र मल्लाह र उनकी श्रीमतीले प्रहरीमा बारम्बार गएर जाहेरी दिन खोजे पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।

    मल्लाह दम्पतीका अनुसार, कात्तिक २ गते लु.१ क ५७८० नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरूको १३ वर्षीया छोरी खुशी मल्लाहको मृत्यु भएको थियो । तर प्रहरीले शव उनको नाममा दर्ता नगरी घरबेटी पर्शुराम तेलीका छोरा पिन्टु तेलीलाई “श्रीमान्” भन्दै जिम्मा लगाएको पीडित पक्षको आरोप छ ।

    ‘मेरी छोरीको विवाह नै भएको थिएन। प्रहरीले नक्कली अभिभावक खडा गरेर हाम्रो दुःख बढायो,’ बाबु हरिचन्द्र मल्लाहले आँसु झार्दै भने ।

    घटनाको पृष्ठभूमि

    पीडित मल्लाह दम्पती कात्तिक १ गते भारतस्थित आफ्नै घरमा धान स्याहार्न गएका थिए । उनले छोरी खुशीलाई स्थानीय पर्शुराम तेलीको जिम्मा लगाएका थिए । त्यसको भोलिपल्ट साँझ ट्रकको ठक्करबाट बालिकाको मृत्यु भयो ।

    तर जब मल्लाह दम्पती कात्तिक ८ गते फर्किए, उनीहरूले छोरीको मृत्यु र शव पहिले नै अरूलाई बुझाइएको थाहा पाए ।

    गैरजिम्मेवार प्रहरी र विवादास्पद शव बुझाइ

    प्रहरी स्रोतका अनुसार, नाता प्रमाणित गर्ने कुनै पनि कागजात नहुँदा पनि जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका एसपी सन्तोष आचार्यको निर्देशनमा शव पिन्टु तेलीलाई बुझाइएको थियो ।
    एक प्रहरी अधिकृतले नाम नखुलाउने सर्तमा भने, “माथिबाट दबाब आएपछि शव बुझाइयो ।”

    पीडित परिवारले जाहेरी नदर्ता भएपछि हुलाकमार्फत पनि जाहेरी पठाए, तर प्रहरीले त्यो समेत बेवास्ता गरेको उनीहरूको भनाइ छ ।

    ‘मेरी छोरीको लाश कहाँ छ—जलाइदिए कि गाडे ? कि फालिदिए ? कम्तीमा अन्तिम पटक हेर्न पाए हुन्थ्यो,’ भन्दै आमाले बिलौना गरेकी छन् ।

    प्रहरीको भनाइ

    मामिला हेर्दै आएका प्रहरी नायब निरीक्षक सुशिल केसीले “शव श्रीमान् दाबी गर्ने पिन्टुलाई बुझाइएको” बताए । तर उनले नाता प्रमाणित गर्ने कागजात नभएको स्वीकारे ।
    सभार:- जनआस्था

    Posted in Uncategorized, मुख्य खबर, समाज

    मायादेवी गाउँपालिकामा “स्वच्छ खाना पकाउने समाधान” परियोजना सुरु ।।

  • १७ कार्तिक २०८२, आईतवार १९:५० मा प्रकाशित
  • कपिलवस्तु _ हरित जलवायु कोषको सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र मायादेवी गाउँपालिका कपिलवस्तुको सहकार्यमा “स्वच्छ खाना पकाउने समाधान (सीसीएस) परियोजना” सञ्चालनमा आएको छ । परियोजनाले गाउँपालिकामा स्वच्छ, दिगो र वातावरणमैत्री ऊर्जा प्रविधि विस्तार गर्ने लक्ष्य लिएको छ ।

    परियोजनाअन्तर्गत गाउँपालिकाका आठ वडामा विद्युतीय चुलो, सुधारिएको तह ३ चुलो र चार घनमिटर क्षमताको घरेलु बायोग्यास प्लान्ट वितरण गरिनेछ । विद्युतीय चुलो प्रति थान ९५२ रुपैयाँ, सुधारिएको चुलो ३१० रुपैयाँ र घरेलु बायोग्यास प्लान्ट १०,७९१ रुपैयाँमा उपलब्ध हुनेछ ।

    अध्यक्ष वलिउद्दिन खानले भने, गाउँपालिकाको दिगो विकास र स्वच्छ ऊर्जा प्रवर्द्धनतर्फ यो परियोजना महत्वपूर्ण कदम हो । यसले आम नागरिकमा स्वच्छ ऊर्जा प्रयोग गर्ने संस्कार विकास गर्नेछ र वातावरणीय प्रदूषण घटाउन सहयोग पुर्‍याउनेछ ।

    त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवले भने, “यो परियोजनाले गाउँस्तरमा दिगो ऊर्जा प्रविधिको पहुँच बढाउनेछ । विशेषगरी ग्रामीण महिलामाथिको कामको बोझ घटाउने र स्वच्छ जीवनशैली निर्माणमा सहयोग पुग्ने अपेक्षा छ ।

    गाउँपालिकाले सबै वडामा आवेदन फाराम उपलब्ध गराएको छ । इच्छुक नागरिकले नागरिकताको प्रतिलिपिसहित फाराम भरी आफूलाई उपयुक्त लाग्ने प्रविधि चयन गर्न सक्नेछन् ।

    गाउँपालिकाले विश्वास व्यक्त गरेको छ कि परियोजनाले स्वच्छ ऊर्जा प्रयोग, वातावरणीय संरक्षण र हरित गाउँपालिका निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

    Posted in मुख्य खबर, राजनीति

    अविरल वर्षा र हावाहुरीले मधेशका किसानको सपना भत्कायो

  • १७ कार्तिक २०८२, आईतवार ०८:५१ मा प्रकाशित

  • उमेश कुशवाहा, वीरगञ्ज (पर्सा)

    चार दिनदेखिको अविरल वर्षा र हावाहुरीले मधेश प्रदेशका अधिकांश जिल्लामा ठुलो असर पारेको छ। किसानले खेतमा लगाएका धानबाली र तरकारीमा व्यापक क्षति पुगेको छ।

    पाकिसकेको धान थन्क्याउन नपाउँदै खेतमै भासिएपछि किसानहरू निराश बनेका छन्। हावाहुरीसहितको लगातार वर्षाले खेतमा ढलेको धान सड्न थालेको र तरकारी बाली पनि नष्ट भएको किसानहरूको गुनासो छ।

    पर्साका किसान शिवचन्द्र महतो भाबुक हुँदै भन्छन् — “एक पटक लगाएको धानले बर्षभरि खान पुग्थ्यो, तर यो अविरल वर्षा र हावाहुरीले खेतमै धान सोत्तर भयो। अब हाम्रो मेहनत र आशा दुवै माटोमा मिल्यो।”

    कृषि प्राविधिकहरूका अनुसार वर्षा र हावाहुरीका कारण खेतमा पानी जम्दा धानको गोडा कुहिने र उत्पादनमा ह्रास हुने अनुमान गरिएको छ।

    स्थानीय प्रशासन र कृषि ज्ञान केन्द्र वीरगञ्जले क्षतिको विवरण संकलन थालिएको कृषि ज्ञान केन्द्र वीरगञ्जका अधिकृत रामजीवन ठाकुरले बताए।

    Posted in बिज्ञान/प्रविधि, मुख्य खबर

    अमेरिकामा भएको ‘स्टाइल आइकन’ 2025 को टप 8 मा नेपालका विशाल कार्की, टप वानमा पुग्दै

  • १७ कार्तिक २०८२, आईतवार ०१:३६ मा प्रकाशित
  • समर्पण रमजान

    अमेरिकामा आयोजना भईरहेको फेसन सम्बन्धी प्रतिस्पर्धा ‘स्टाइल आइकन’ कार्यक्रममा एक हजार जना प्रतिस्प्रधिहरुलाई पछि पार्दै सुप्रसिद्द गायक बिरही कार्किका छोरा विशाल कार्की टप 8 भित्र पर्न सफल भएका छन् ।

    उनी टप टेनबाट टप 8 मा परेपछि अब टप वानका लागि प्रस्तिस्पर्धा गरिरहेका छन् । नपालदेखि नै बाल्यकालदेखिनै म्युजिक भिडियोहरुमा खेलेका र अमेरिकामा पनि चलचित्र, तथा बिबिध विज्ञापनमा अभिनय गर्दै आईरहेका विशाल कार्की फेसन सम्बन्धी प्रतिस्पर्धा ‘स्टाइल आइकन’ का लागि छानिएका हुन् ।

    स्टाइल आइकनलाई एल्टन जोन एड्स फाउन्डेसनले आयोजना गरेको उक्त प्रतिस्पर्धा कार्यक्रममा कार्कीले ‘स्टाइल आइकन’ जिते भने मिलान फेसन विक २०२६ मा भर्साचेको शोको टिकट, फ्लन्ट म्यागजिनमा विशेष स्पटलाइट फिचर २० हजार डलर प्राप्त गर्नेछन् ।
    अमेरिकामा बिजनेशमा ब्याचलर डिग्री तेस्रो वर्षमा अध्ययन गर्दै आएका विशाल अमेरिकन आर्मीमा समेत काम गरिसकेका छन् । नेपालमा छँदादेखि नै स्कुल टप विद्यार्थीका रुपमा अध्ययन गरेका उनले अमेरिका गएपछि पनि पढाइमा टप नै छन् ।

    अहिले भोटिङ खुलिसकेको छ उहाँको भोटिङको लागि तलको लिङ्कबाट गर्न सकिने र नेपालको सानलाई बिश्वमा चिनाउनका लागि पनि बिशाल कार्किलाई भोट गर्न उहाँका बुबा बिरहि कार्किले अपिल गरेका छन् ।

    for vote click : https://styleicon.org/2025/bishal-karki

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, लोकप्रिय

    द्वन्द्वकालमा ध्वस्त चाकरचौडा प्रहरी भवन अझै जीर्ण, भन्सार सहयोगीले सञ्चालन गर्दै ।।

  • १६ कार्तिक २०८२, शनिबार २०:४१ मा प्रकाशित
  • कपिलवस्तु — भारतसँगको सीमाक्षेत्रमा पर्ने मायादेवी गाउँपालिका–४ चाकरचौडा हाल सुरक्षा र प्रशासनिक दुवै दृष्टिले चुनौतीमा परेको छ ।
    द्वन्द्वकालमा माओवादीले बम आक्रमण गरी ध्वस्त पारेको इलाका प्रहरी कार्यालय आजसम्म जीर्ण अवस्थामा नै छ । शान्ति प्रक्रियापछि नेपाल प्रहरीले सोही भवनमा अस्थायी रूपमा काम थाले पनि पूर्ण मर्मत र पुनर्निर्माण हुन सकेको छैन ।

    भवनको छत चुहिने, ढोका–झ्याल कुहिने र शौचालयको अभावले प्रहरीहरू कठिन परिस्थितिमा कार्यरत छन् । अस्थायी बोराले छोपिएको शौचालय प्रयोग गर्न बाध्य छन् । सीमा क्षेत्रमा प्रहरीको लागि चेकिङ बिट नहुनुले सुरक्षा व्यवस्थापनमा चुनौती थपेको छ ।

    त्यसैगरी, स्वागत गेटमा अस्थायी आल्मुनियमको मध्यमबाट बस्ने व्यवस्था गरिएको भए पनि पर्याप्त बस्ने ठाउँ नहुँदा प्रहरी र कर्मचारीहरू कठिन परिस्थितिमा छन् ।

    सोही क्षेत्रको चाकरचौडा छोटी भन्सार कार्यालय पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । भारतको अलिगढवामा कस्टम नहुँदा आयात–निर्यात कार्य अव्यवस्थित भएको छ । नेपालतर्फ भन्सार सञ्चालनको जिम्मेवारी सुठौलीलाई भए पनि, कार्यालय सहयोगीको माध्यमबाट दैनिक सञ्चालन भइरहेको छ ।

    मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन खानले सीमाक्षेत्रका यी समस्या समाधानका लागि पालिकाले संघीय तथा प्रदेश सरकारसँग निरन्तर समन्वय गरिरहेको बताए ।
    उनका अनुसार, “प्रहरी कार्यालयको भवन मर्मत, भन्सार पूर्ण रूपमा सञ्चालन र सीमाक्षेत्रमा स्थायी बसाइव्यवस्था सुनिश्चित गर्न हामी पहल गरिरहेका छौं ।”

    अध्यक्ष खानले थपे, “सीमाक्षेत्रमा जडान गरिएका सिसीटिभी क्यामेरा अहिले बिग्रिएका छन्, त्यसको मर्मतका लागि पालिकाले पहल गरिसकेको छ र छिट्टै कार्यान्वयनमा ल्याइनेछ ।”

    सोही पालिकाको ४ नम्बर वडाअध्यक्ष अशफाक अहमद खानले पनि सरोकारवालाहरूले संघीय सरकारलाई तत्काल ध्यानाकर्षण गराउँदै सीमाक्षेत्रमा पूर्वाधार सुधार, सिसीटिभी मर्मत, भन्सार सुदृढीकरण, चेकिङ बिट र स्थायी प्रहरी बसाइव्यवस्था निर्माण गर्न माग गरेका छन् ।

    Posted in मुख्य खबर, राजनीति

    अध्यक्ष वलिउद्दिन खानको नेतृत्वमा मायादेवी गाउँपालिका विकास र सुशासनको उदाहरणीय मोडेलतर्फ ।।

  • १६ कार्तिक २०८२, शनिबार ००:०४ मा प्रकाशित
  • कपिलवस्तु –
    मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्दिन खान आफ्नो ईमानदार र सोझो स्वभावका कारण स्थानीय तहमा उदाहरणीय नेतृत्वकर्ताका रूपमा परिचित छन् । गाउँपालिकाको समग्र विकास, सुशासन र जनसहभागितामा उनले देखाएको सक्रियता र प्रतिबद्धताले स्थानीयवासीहरूमा विश्वास जागेको हो ।

    अध्यक्ष खानको नेतृत्वमा गाउँपालिकाले पछिल्ला वर्षहरूमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । विकासका योजनाहरूमा पारदर्शिता, जवाफदेहिता र जनसहभागितालाई प्राथमिकतामा दिइँदै आएको हुन् । स्वास्थ्य सेवा सुदृढीकरणका लागि गाउँपालिकाले वडा नं ७ हरनामपुरमा १५ शैयाको आधुनिक अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । छिट्टै सञ्चालनमा आउने उक्त अस्पतालले स्थानीय बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा ल्याउनेछ । साथै, प्रत्येक वडामा एक-एकवटा नयाँ एम्बुलेन्स उपलब्ध गराइएको छ, जसले आपतकालीन अवस्थामा जनजीवन सुरक्षित गर्न सहजतामा ल्याएको छ । अध्यक्ष खानको सक्रियतामा गाउँपालिकाले सडक विस्तार, खानेपानी आयोजना, विद्यालय सुधार तथा सार्वजनिक भवन निर्माणमा प्राथमिकता दिएको छ ।

    जापान सरकारको सहयोग र युनाइटेड मिसन टु नेपालको पहलमा अहिले गाउँपालिकामा आधुनिक दमकल पनि आइसकेको छ । यसले आकस्मिक आगलागी नियन्त्रणमा सहजता ल्याउने र जनधनको सुरक्षा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । अध्यक्ष खानका अनुसार गाउँपालिकाको विकास भनेको जनताको सशक्तीकरण हो । योजना निर्माणदेखि कार्यान्वयनसम्म नागरिकको सुझावलाई प्राथमिकता दिइएको छ। स्रोतसाधन व्यवस्थापन, कर संकलनको पारदर्शिता र बजेटको उचित उपयोगमा गाउँपालिकाले उदाहरण प्रस्तुत गरेको छ ।

    यसले ‘जनताको कर, जनताको विकास’ भन्ने सिद्धान्तलाई व्यवहारमा उतारेको छ । स्थानीय बासिन्दाहरूका अनुसार अध्यक्ष खान ईमानदार, मिलनसार र जिम्मेवार नेताका रूपमा परिचित छन् । उनका सहकर्मीहरू भन्छन्— “उनको सरल स्वभावले गाउँपालिकाभित्र सामाजिक सद्भाव, सहअस्तित्व र सहकार्य कायम राख्न मद्दत गरेको छ।”वलिउद्दिन खानको नेतृत्वले मायादेवी गाउँपालिकालाई स्थानीय विकास, सुशासन र जनसहभागिताको उदाहरणीय मोडेलका रूपमा उभ्याउँदै लैजाने विश्वास जनाइएको छ । जनताको साथ र विश्वास नै उनको सबैभन्दा ठूलो शक्ति बनेको छ ।

    Posted in मुख्य खबर, राजनीति

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P