१) साँचो पिरती गाँसूँ सधैँभरि म तिमीसँगै खुसीले सधैँ हाँसूँ । २) म मुटुभरी सजाउँछु तिमीलाई यो जुनीमा अब मायाले रिझाउँछु । ३) गुलाफको रातो थुङ्गा तिमी माझी हौ बन्छु तिम्रै डुङ्गा । ४) अमर रहोस् माया पवित्र यो सम्बन्धले नभोगोस् कहिल्यै छाया । ५) मुटुको एउटा कुना सजाएर तिमीलाई राख्छु सधैँभरि दुई गुना । ६) बाचा कसम खाऔँ भुलेर सारा दुनियाँलाई मायाकै संसारमा धाऔँ । ७) न्यानो त्यो अङ्गालो सजाइदिऊँ खुसीहरू सबै फुटाएर मनको भङ्गालो । ८) नटुटोस् यो साथ जिन्दगीको हरेक मोडमा कति सुन्दर माथ । ९) प्रणयको मिठो मास बदलियोस् यो जीवन बनेर तिम्रो बास । १०) चोखो यो प्रीति बसौँला सँगै हाँसेर बदलेर संसारको रीति । ११) अटुट एउटा नाता तिमीलाई नै ओढाउँछु पिरतीको यो छाता । १२) पवित्र रहोस् मन तिमी हौ मेरो जिन्दगीको अमूल्य धन । १३) जपेर पिरतीको माला सजाउँला यो संसार हेरौँला त्यसको चाला । १४) भरेर ओठमा हाँसो बाँचेका छौँ खुसीले नपारी कहिल्यै पासो । ✍️ नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, उदयपुर
१) बाँड्छन् राति नोट देखाउँछन् अनेक सपना चाहियो मात्रै भोट । २) रक्सी र मासु मिल्छ चुनावको बेला नेता बन्छन् आँसु । ३) आफ्नो मत दिएर पछि अन्धो भई उल्टी हुन्छ पिएर । ४) बन्छन् साह्रै सोझा नजितेसम्म त नेताले बोकाउँछन् पछि बोझा । ५) आयो फेरि मेला झुटा आश्वासन सुन्ने चुनावी यो बेला । ६) गर्छन् ठूला कुरा भ्रष्ट ती अनुहार भाषण मात्रै पूरा । ७) चिल्ला गाडी कुद्ने धुलो उडाउँदै गाउँमा सोझा जनता गुद्ने । ८) हाम्रो होइन राम्रो नखोजौँ अब विकल्प परिवर्तन हो हाम्रो । ९) पाँच वर्ष रुने एक दिन बिकेर देशै सिध्याउने हुने । १०) सयको नोटमा बिक्ने सचेत नभए नागरिक हार मात्रै सिक्ने । ११) झुसिलकिरा ती नेता चुनावमा पुतली बन्छन् खान्छन् हाम्रै जेथा । ✍️ नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल
१. शीर्षक र विलोम शिल्पको प्रयोग दीपक लोहनीद्वारा लिखित विलोम लघुकथाको शीर्षक “स्वाद” हो, तर यथार्थमा कथा स्वादको अनुभवभन्दा पनि स्वाद भेटाउने प्रक्रियाको व्यङ्ग्यात्मक विलोम प्रस्तुति हो । ‘विलोम लघुकथा’ मा प्रायः परम्परागत शैलीको उल्टो प्रवाह, घटनाको अघिल्लो अनुक्रम वा सामान्य तर्कको व्युत्क्रम अपेक्षा गरिन्छ । तर यहाँ विलोमको प्रयोग शुद्धतः शारीरिक क्रियाको ‘नाटकीय उल्टोपन’मा सीमित देखिन्छ, जसले कथालाई पारम्परिक विलोमभन्दा बढी आभासी व्यङ्ग्यात्मक टोन दिन्छ ।
२. शैलीगत रचनाशिलता
लेखकले संवादात्मक शैली अपनाएका छन्, जुन लघुकथामा ‘लघुता’ र ‘नाटकीयता’ ल्याउने राम्रो उपाय हो । संक्षिप्त वाक्य, ‘मैले भनेँ- उनले गरिन्’ को दोहोरिएको संरचना कथामा हास्यको लय सिर्जना गर्छ । यसले पाठकलाई एउटा ‘नाट्य-चक्र’मा लैजान्छ, जसले कथा पढ्नु भन्दा कथा हेर्नु जस्तै अनुभूति दिन्छ ।
तर, यही शैली पुनरावृत्त भएको कारण शब्दको स्वादभन्दा व्यवहारको यान्त्रिकता बढी महसुस हुन्छ ।
३. विषयवस्तु र व्यङ्ग्यको सन्दर्भ
कथाले साहित्यिक स्वाद पाउन बाह्य वातावरण र स्थितिलाई मात्र जिम्मेवार ठान्ने प्रवृत्तिलाई व्यङ्ग्य गरेको देखिन्छ । कहिलेकाहीं पाठकलाई कथा मन नपर्नु वा ‘स्वाद नपाउनु’ आफ्नै मनोवृत्ति वा पाठकीय शैलीको अभाव हुन सक्छ भन्ने सोचलाई यस कथाले व्यङ्ग्यात्मक रूपमा उद्घाटन गरेको छ ।
‘स्वाद’ पाउन पात्रलाई सयनकक्ष लैजानु, बिजुली निभाउनु, पर्दा लगाउनु, सिरानी प्रयोग गर्न लगाउनु यी सबै क्रियाहरूले ‘अध्यात्मिक एकाग्रता’ होइन, शारीरिक सङ्केत उत्पन्न गर्छन् । यसले कथालाई सौम्य कामुक व्यङ्ग्यको धारमा पुर्याउँछ । ‘ब्रह्मलीन भएर पढिन्’ भन्ने वाक्य यसैको प्रतीक हो ।
४. लघुकथाको प्रभावकारिता
कथाले पाठकमा पहिलो पंक्तिबाटै जिज्ञासा सिर्जना गर्छ । त्यस जिज्ञासालाई मनोरञ्जन र व्यङ्ग्यको झोलामा राखेर ‘आहा !’ भन्ने वाक्यमा विसर्जन गर्छ । यहाँ ‘आहा !’ शब्द आफैं बिजवाक्य बनेको छ, जसले दर्शक/पाठककै अनुभूति दोहोर्याएको जस्तो लाग्छ ।
यद्यपि, केही पाठकले यसमा यथार्थभन्दा कामुक व्यङ्ग्य बढी देख्न सक्छन् । यसको भाषा सङ्केतात्मक भए पनि विलासिता र सौम्यता बीचको सन्तुलन कहिलेकाहीँ चिप्लिन्छ। त्यसैले सबै पाठकले यसलाई सहज रूपमा ग्रहण गर्न सक्दैनन् ।
५. समालोचनात्मक निचोड
‘स्वाद’ विलोम लघुकथा आफ्नो शीर्षकको अर्थ उल्टाउँदै स्वाद पाउन गरिएको हास्यास्पद प्रयत्नलाई व्यङ्ग्य बनाउँदै अगाडि बढ्छ । कथा मूलतः साहित्यिक स्वाद र भौतिक स्वादबीचको द्वन्द्वलाई पृष्ठभूमिमा राखेर पाठकीय मनोविज्ञानमा टिप्पणी गर्छ ।
यो कथा समालोचना, साहित्यिक सर्कल र गम्भीरताका खोलामा लुकेका बनावटीपनहरूलाई लक्षित व्यङ्ग्य हो भनेर बुझ्न सकिन्छ । तर, त्यसका लागि पाठकमा पनि कथा बुझ्ने स्वाद हुनुपर्छ । होइन भने, उनी पनि सोफामा बसेर भनिदिन्छन्; “अहँ, स्वाद भेटिएन ।”
दीपक लोहनीद्वारा रचित विलोम लघुकथा ‘स्वाद’ ले अत्यन्तै रोचक, गहिरो र बहुआयामिक सन्देश दिन्छ। कथाले हाँस्य, व्यङ्ग्य र विम्बमार्फत एकैसाथ व्यक्तिगत र सामाजिक स्तरमा थुप्रै विषयमा टिप्पणी गरेको छ। यस लघुकथाले दिने मुख्य सन्देशलाई तार्किक, सान्दर्भिक र स्वभाविक रूप मा यसरी बुझ्न सकिन्छ:
६. सन्देश
६.१. स्वाद अनुभूतिको कुरा हो, सजावटको होइन
यो कथा यिनै वाक्यबाट सुरु हुन्छ- “म विलोम लघुकथामा स्वाद भेट्दिन”। कथाले सुरुमा नै स्वाद ‘भेटिने’ हो कि ‘भोगिने’ भन्ने प्रश्न उठाउँछ । पात्रले स्वाद पाउन अनेक भौतिक प्रक्रिया (जस्तै: सयनकक्ष जानु, पर्दा लगाउनु, बिजुली निभाउनु, पलङमा पल्टनु आदि) अपनाउँछिन्, तर स्वाद तबमात्र आउँछ जब उनी साँच्चिकै ‘ब्रम्हलीन भएर’ कथा पढ्छिन् । सन्देश यही हो – साहित्यमा स्वाद प्राप्त गर्नका लागि शारीरिक अवस्था वा वातावरणको होइन, मानसिक एकाग्रता र आत्मीयताको खाँचो हुन्छ ।
६.२. स्वाद पाठकको मानसिकता र तयारीमा निर्भर गर्छ
साहित्यिक स्वाद लेखकले होइन, पाठकले महसुस गर्ने कुरा हो । लेखकले केवल माध्यम तयार गर्छ । यदि पाठकको मन एकाग्र छैन, उनी पूर्वाग्रही छन्, या सतही छन् भने जति राम्रो कथा लेखे पनि स्वाद आउँदैन । तसर्थ पढ्ने दृष्टिकोण नै स्वाद पाउने चाबी हो।
६.३. साहित्य पढ्न अभिनय होइन, अनुभव चाहिन्छ
यो कथा व्यङ्ग्यात्मक रूपमा आधुनिक पाठकीय प्रवृत्तिको नक्कलप्रति टिप्पणी हो । दृश्य यस्तो बनाइएको छ, पात्र पढ्नुअघि अभिनय गर्छिन्, साजसज्जा मिलाउँछिन्, तर यथार्थमा पढ्दैछिन् कि “पढेको अभिनय” गरिरहेकी छन्, स्पष्ट छैन । कथाले भन्छ- पढ्नु भनेको देखाउने कुरा होइन, भित्र गहिरिएर बुझ्ने कुरा हो ।
६.४. स्वाद, साहित्य र सम्बन्धबीचको लुकेको सन्देश
यस कथामा साहित्यको स्वाद मात्र होइन, पात्रबीचको अन्तरसम्बन्ध र आकर्षणको स्वाद पनि चल्दैछ । लेखक स्रष्टाको विम्बमा छन्, र पाठक पात्रले उनलाई ‘आँखाको इशाराले’ डाक्छिन् । यो एउटा साहित्यिक र शारीरिक समीपताको विम्ब हो । त्यसैले, साहित्यिक सम्पर्क केवल पाठ र लेखकबीचको सम्बन्ध नभएर अनुभव र आत्मीयताको गहिरो संवाद पनि हो ।
६.५. ‘विलोम’को प्रयोग स्वयं एक गहिरो व्यङ्ग्य हो
‘विलोम लघुकथा’ भनेर लेखिएको यो कथा वास्तवमा विलोम प्रवृत्तिको व्यङ्ग्य हो । जहाँ पाठक उल्टो दिशा लाग्छन् अर्थात् सरल विषयलाई जटिल बनाउँछन्, भावनालाई शरीरमा बदल्छन्, र स्वादलाई दृश्य सजावटमा खोज्छन् । लेखकको भनाइ, “शैली उल्टो छ, सुल्टो सम्झी पढ” भन्ने वाक्य आफैँमा कथाको आधारभूत सन्देश हो । जुन कथा उल्टो देखिन्छ, त्यो सुल्टो बुझ्ने प्रयत्न गर्न सक्ने मनोवृत्तिले नै स्वाद जन्माउँछ।
यो कथा भन्छ; “स्वाद देखिने कुरा होइन, बुझिने अनुभूति हो । बुझ्न मन चाहिन्छ, देखाउन पर्दा होइन ।”
७. निष्कर्ष
दीपक लोहनीको ‘स्वाद’ एउटा छोटो, हँसिलो र गहिरो लघुकथा हो जसले हाम्रो पढ्ने शैली, पाठकीय व्यवहार, र स्वादप्रतिको सोचलाई चुनौती दिन्छ । कथा गम्भीर पाठकीयता र ‘स्वाद’ को अपेक्षा गर्नेहरूको मनोदशामाथि लेखिएको सटिक व्यङ्ग्य हो । लेखन सरल छ, तर सन्देश गहिरो र चोटिलो छ । कथाले सोध्छ- ‘स्वाद पढेर आउँछ कि अनुभव गरेर ?’ र अन्त्यमा स्वयं उत्तर दिन्छ- ‘आहा !’ ००० (विलोम लघुकथा) 🔴 विलोम लघुकथा- स्वाद ✍️ दीपक लोहनी
‘म विलोम लघुकथामा स्वाद भेट्दिन ।’ उनले भनिन् । मैले भनेँ, ‘शैली उल्टो छ । सुल्टो सम्झी पढ, सजिलै स्वाद पाइन्छ ।’
००० कुरिलो घर काठमाडौं । ~~~~~~~ (उत्तरकथा) 🔴 विलोम लघुकथा- स्वादको भित्री ढोका ✍️ नन्दलाल आचार्य
‘स्वाद छैन’ भन्ने मेरो हठ, विलोम लघुकथाको शैलीप्रति हो कि आफ्नै पढ्ने तरिकाप्रति ?
त्यो रात, म पढ्दै थिएँ- बत्तीको उज्यालोमा, आँखा टोलाउँदै, मन बिना ध्यान… उनले भने, ‘शैली उल्टो छ, सुल्टो सम्झी पढ, सजिलै स्वाद पाइन्छ ।’
शब्दहरूको अर्थ मात्र हैन, ढाँचाको पनि स्वाद हुँदोरहेछ भन्ने ज्ञान मलाई पहिलोपटक त्यही साँझ भयो ।
सोफा त्यागेँ, शरिरलाई लचिलो बनाएँ, सोचलाई खुला- सयनकक्षमा पस्न खोज्दा, मैले साँच्चै कथा भित्र पस्ने पहिलो प्रयास गरेँ ।
पर्दा तान्दा, साँच्चिकै संसारको भीड रोकिएझैँ लाग्यो । बत्ती निभाउँदा, कथा उज्यालिन थाल्यो- बाहिरी प्रकाश मरेर, भित्री चित्रहरू उफ्रिए । पलङमा पल्टिँदा, म स्वयं कथाको पात्र भएँ, र सिरानी कम्मरमुनी राखेँ, किनकि सोच तलबाट माथि आउन थाल्यो- मस्तिष्क होइन, मेरुदण्डबाट !
‘स्रष्टालाई डाक’ भन्नु, माने- कथामा लेखकसँग संवाद गर । ‘उनी’ले त आँखाको इशाराले बोलाइन्, तर मैले त स्रष्टाको शब्दहरूलाई मनको पर्दामा देख्न थालें- त्यो रात म विलोम कथा मात्र होइन, कथा पढ्ने तरिका पढ्दै थिएँ ।
र, त्यो ‘ब्रहमलीन’ पल… शब्दहरूसँग विचार पनि पल्टिए, कथाको ‘उल्टो शैली’ अब उल्टो लागेन, त्यो त मलाई सिधा लाग्न थाल्यो । र, अन्त्यमा मलाई पनि उस्तै महसुस भयो- ‘आहा !’
अब जो-कोही भन्छन्- ‘म विलोम लघुकथामा स्वाद भेट्दिन’, म भन्छु- ‘स्वाद पाउन कथा पढ्ने हैन, कथाले तिमीलाई पढ्न थालोस् । अनि मात्र स्वादले जिब्रो होइन, आत्मा पड्किन्छ ।’ ००० २०८२/०४/२०
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
धेरै लेखकहरू लेख्छन्, केही बोल्छन्, तर थोरैले लेखेर बोल्न सक्छन्- आवाज दिएर शब्दको आत्मा ब्युँताउन सक्छन् । लीलानाथ गौतम त्यस्तै बिरलाहरूको श्रेणीमा पर्छन्, जो लेख्छन् पनि, बोल्छन् पनि, र हरेक उच्चारणमा जनताको उज्यालो सपना, शिक्षकको तीतो सास्ती, र समाजको मौन असहमति गुँजिन्छ ।
१. गौरीडाँडाबाट सुरु भएको यात्रा
२०३८ सालको कात्तिक २७ गते, महोत्तरी जिल्लाको बर्दिबास-३ स्थित गौरीडाँडामा जन्मिएका लीलानाथ गौतम खडानन्द र देवमायाको कोखबाट जन्मेका सञ्जीव साहित्यिक चेतनाका जरा हुन् । यो गाउँको हावा, माटो र गरिबीमा हुर्किएर बालकविताका शब्दहरू लेख्दै लीलानाथले नेपाली साहित्यमा आफ्नो पहिलो अक्षर कोरे ।
शिक्षक भएर पाठशालामा प्रवेश गर्नु अघि नै उनले ‘मुना’ बालपत्रिकामा आफ्ना बालभावनाहरू पोख्न थाले । बाल्यकालमै शब्दसँगको सामिप्यता उनले केवल किताब पढेर हैन, जीवनको भोगाइबाट बटुले । गाउँको चोक, चौतारो र कष्टपूर्ण जनजीवन नै उनको पहिलो विद्यालय बन्यो ।
२. शिक्षण र साहित्यको समन्वय
२०५८ सालदेखि निरन्तर २४ वर्षदेखि उनी शिक्षणमा संलग्न छन् । निजी र सरकारी दुवै विद्यालयमा आफ्नो शिक्षकीय दायित्व निर्वाह गरेका गौतम हाल भँगाहा नगरपालिकास्थित माध्यमिक विद्यालयमा नेपाली विषय अध्यापन गरिरहेका छन् । तर उनको शिक्षण केवल पाठ्यपुस्तकसम्म सीमित छैन । उनी हरेक दिन कक्षाकोठा र समाजबीच पुल बनाउँदै आएका छन्, जहाँ पढाइभित्र कविताको आत्मा भेटिन्छ र कविताभित्र शिक्षाको सार भेटिन्छ ।
शिक्षकको रूपमै २०८० सालमा भँगाहा नगरपालिकाबाट उत्कृष्ट शिक्षक पुरस्कार पाउनु पनि यही यात्राको एउटा साक्षी हो ।
३. कविता : प्रतिरोधको सौन्दर्य
शब्दहरू उनीसँग बोल्दछन्, रुन्छन्, रिसाउँछन्, झरनाझैँ बग्दछन् । यिनै शब्दहरू उनी सामाजिक सञ्जालमार्फत वाचन गरेर जनतालाई सुनाउँछन् । न केवल मनोरञ्जनको निम्ति, बरु जनचेतनाको निम्ति उनी समय र बौद्धिकता लगानी गर्छन् ।
हालैको शिक्षक आन्दोलनमा वाचन गरिएको उनको कविता “आशैआशमा झुलायौ सरकार” भाइरल भयो। सरकारप्रतिको आक्रोश, शिक्षकहरूको अन्योल र जनता भित्रको मौन असन्तोष त्यो कवितामा मिसिएको थियो । यस्तो कविता केवल लेख्न लेखेर होइन, जीवन बाँचेर र बाँच्न बचाउन लेखिन्छ । भोगाइको रङमा रङिएको त्यो कविता सरकारको काँतर गालामा प्रश्नको झापटजस्तै थियो ।
४. कथाहरू : समाजको ऐना
गौतमको कथा लेखन शैली सादा छ, तर सरल छैन । त्यो सादगीभित्र झन्झनाउने यथार्थ छ । शब्दहरू हँसिला लाग्छन्, तर अन्त्यमा पाठक रुवाउने गहिराइ राख्छन् । उनका कथाहरू सामाजिक आलोचना पनि हुन्, व्यक्तिगत पीडा पनि, र सांस्कृतिक व्यङ्ग्य पनि ।
४.१ ‘काजीको गाउँ’ सत्ताको संरचनागत मनोविज्ञानको व्यङ्ग्य हो, जहाँ एक काजी पात्रले गाउँको सामाजिक चेतनालाई कति अपहेलित गर्न सक्छ भन्ने चित्रण गरिएको छ ।
४.२ ‘त्यसपछि मैले मितज्यू देखिनँ’ स्मृतिको स्पर्श लिएर लेखिएको कथा हो, जहाँ हराएको सम्बन्ध र बदलिँदो समाजको चित्र सजीव छ ।
४.३ ‘भोज’ भनेको मात्र परिकारको समुच्चय हैन, त्यो वर्गीय र सांस्कृतिक द्वन्द्वको कसी हो ।
४.४ ‘उदयबहादुर जोकोहीलाई नमस्कार गर्दैनन्’ भनेको केवल शीर्षक मात्र हैन, त्यो एक युगको अवमानित आदर्शको घोषणा हो ।
४.५ ‘कोलम्बस किस्ने’ भोलि हुने सपना होइन, आजको विडम्बनालाई ऐतिहासिक आवरणमा व्यङ्ग्य गर्ने कथा हो ।
यी सबै कथाहरूले समाजका विविध तहको चिरफार गर्छन्, राजनीतिक विडम्बना, शिक्षाको उपेक्षा, गाउँको मौन द्वन्द्व, सत्ताको अदृश्य आँखा ।
५. सामयिक लेखन र समालोचना
गौतम २०६० सालदेखि उनले विभिन्न पत्रिकामा सामयिक लेख, कविता र समालोचनाहरू लेख्दै आएका छन् । त्यो लेखन कुनै हल्लाको पछि लागेको छैन, बरु आफ्नो सोचको गहिराइबाट निस्किएको विश्लेषण हो ।
गौतमका लेखहरू सजिलो भाषामा लेखिए पनि सजिलै पच्ने छैनन् । तिनीहरू सोच्न बाध्य पार्छन् । राजनीतिक दाउपेच, शैक्षिक विकृति, र सांस्कृतिक पक्षबारे उनको कलमले उठाउने प्रश्नहरू सदा सरकार र समाजका आलसी विवेकलाई झस्काउने छन् ।
६. कृति प्रकाशन र सम्भावना
हालसम्म उनले कुनै पुस्तक प्रकाशित गरेका छैनन् । तर प्रकाशित नहुनु न लेखकको कमजोरी हो, न समाजको । गौतमका शब्दहरू पुस्तकको खोलभित्र सीमित छैनन्; ती शब्दहरू सामाजिक सञ्जालमा उड्छन्, भिडभाडमा सुनिन्छन्, आन्दोलनको जुलुसमा गुञ्जिन्छन् ।
तर अब समय आएको छ- ती फुटकर कथाहरू, वाचन गरिएका कविताहरू र पत्रिकामा हराएका लेखहरूलाई एक सुगन्धित फूलमालामा गुँथ्ने । लीलानाथ गौतमको लेखनले एउटै पुस्तकमा सीमित हुनुपर्छ भन्ने होइन; तर उनका विचारहरूले यश र आगामी पुस्ताका लागि कागजमा अमिट भएर बाँकी रहनुपर्छ भन्ने पक्कै हो ।
७. भविष्यको साहित्यिक मूल्य
आज लीलानाथ गौतमको कथा, कविता वा लेख कुनै पाठ्यक्रममा समावेश छैन होला । तर भविष्यले उनलाई फरक आँखाले हेर्नेछ । भविष्यले थाहा पाउनेछ- यी नै त थिए ती शिक्षक, जसले बोर्डको डसामा अड्किएको समाजलाई कविताको आवाजमा बोल्न सिकाए । ती नै त थिए लेखक, जसले असिनपसिन शिक्षकलाई ‘आशैआशमा’बाट झुल्ने होइन, प्रतिरोध गर्न सिकाए ।
८. शब्दको आवाज, आवाजको विद्रोह
उनको लेखन शैली शुद्धिकृत गद्य होइन, त्यो प्राण लिएर बाँचिरहेको जीवित गद्य हो । ‘भोज’ को पात्र होस् या ‘उदयबहादुर’, उनीहरू केवल कल्पना होइनन्; उनीहरू तपाईंहामीभित्र बाँचिरहेका असन्तुष्ट आत्माहरू हुन् ।
गौतमका शब्दहरूले कहिले काँध थिचेर सम्झाउँछन्, कहिले कान समातेर झक्झक्याउँछन् । उनीले लेख्छन्, किनभने चुप लाग्न सक्दैनन् । बोल्छन्, किनभने समाज मौन छ ।
९. अन्त्य होइन, सुरुआतको अन्तर्नाद
लीलानाथ गौतमको नाम कुनै पुरस्कारको सूचीमा छैन; कुनै ठूला प्रकाशन गृहमा उनको आत्मपरक जीवनी निस्केको छैन । तर यिनै गौतमका शब्दहरू सामाजिक सञ्जालको झ्यालबाट लाखौँ पाठकको मुटुमा पसिरहेका छन् ।
कथाहरू त उनले लेखिसके, अब समयले ती कथाहरूलाई दस्तावेज बनाउने हो । कविता त उनले बाचन गरिसके, अब पाठकले ती कवितालाई आत्मामा गुनगुनाउने हो।
हिजो ‘मुना’ को बालकवि आज ‘आशैआशमा’ झुल्दैन, झल्किन्छ । आजको शिक्षक भोलिको साहित्यिक दस्तावेज हो भने, लीलानाथ गौतम त्यो दस्तावेजका जीवित पन्ना हुन् ।
अनि अन्त्यमा, उनको सम्पर्क नम्बर ‘९८४४१०४७०३’ मात्र एउटा अंकहरू को जोड होइन; त्यो एक आवाज हो, जसले भन्न सक्छ- “यदि सुन्न चाहन्छौ यथार्थको आवाज- त ल आऊ, लीलानाथ सुनेर हेर ।”
गाईघाटको त्यो बिहान सामान्य थिएन । शान्त आकाशमुनि एउटा सभाहलभित्र अक्षरहरू गुञ्जिरहेका थिए । दुई कृतिका आवाजले समयलाई झस्क्याइरहेका थिए, र उदयपुर साक्षी बनेको थियो दुई सशक्त सिर्जनाको आगमनमा ।
सङ्गम पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रममा कथाकार बोधकुमार घिमिरे र कवि हिमालय पौडेलका कृति ‘बलिदानका कथाहरू’ र ‘शिखण्डी’ सार्वजनिक गरिए । कार्यक्रम संयोजन, सञ्चालन र सन्देश सबै साहित्यप्रेमीहरूको आत्मीय सहभागितामा सम्पन्न भयो ।
कार्यक्रमको अध्यक्षता पुस्तकालय अध्यक्ष भरत खड्काले गरे । प्रमुख आतिथ्य सम्हाल्दै प्रा.डा. टङ्कप्रसाद न्यौपानेले साहित्यलाई चेतनाको ऐनासँग जोडेर प्रस्तुत गरे । समीक्षा र समालोचनाका लागि नन्दलाल आचार्य र पुण्य कार्की, टीकाप्रसाद पौडेल र दीपक पौडेल मञ्चमा थिए । उपस्थित दर्शकको संवेदनशील शान्तिमा साहित्य बोलिरहेको थियो ।
बोधकुमार घिमिरेद्वारा लिखित ‘बलिदानका कथाहरू’ ११ कथाको सङ्ग्रह हो- शब्दको सजावट होइन, यथार्थको चोट हो। समीक्षकद्वय आचार्य र कार्कीले कथाहरूलाई “हाँसोभन्दा बढी आँसुका भाषा” भने । माओवादी द्वन्द्वको त्रासदी, त्यसपछिको विघटन, राजनीतिक सङ्क्रमण र सामाजिक पीडाको समग्र चित्र यसमा पाइन्छ ।
कथाकारका आफ्नै शब्दमा- “सत्य लेख्न खोज्दा झुटो लाग्ने पात्र मेरा आफ्नै समाजका पीडित अनुहार हुन् ।” कथा न त केवल कल्पना हुन्, न त शुद्ध यथार्थ यी जीवित विडम्बनाहरू हुन्, जो कलमका लयमा कराइरहेका छन् ।”
हिमालय पौडेलको ‘शिखण्डी’ केवल खण्डकाव्य होइन, मिथकको खोल फुकालेर युगको मुहार देखाउने प्रयत्न हो । समालोचक टीकाप्रसाद पौडेल र दीपक पौडेलले यसलाई “युगीन विद्रोहको स्वर” र “अव्यक्त घाउको भाष्य” माने ।
प्रा.डा. न्यौपानेले खण्डकाव्यलाई युगको पुनर्परिभाषा मान्दै भने, “कवितामा अनुभूति कल्पनामा ढालिनुपर्छ, तर खण्डकाव्यमा त्यो अनुभूतिमा युग बोल्नुपर्छ ।” शिखण्डी त्यसैको सजीव उदाहरण हो- पौराणिकताभित्र विद्रोहको नयाँ विम्ब ।
कार्यक्रम केवल विमोचनमा सीमित रहेन । यो सन्ध्या वाचन, विचार र विमर्शको साझा मञ्च बन्यो । प्राज्ञ रामप्रसाद खरेलले भने, “सिर्जनापछि कुटाइ पनि खानुपर्छ, माया पनि पाइन्छ । लेखक दुबैका लागि तयार हुनुपर्छ ।” यस भनाइमा लेखकीय इमानदारीको समर्पण झल्किन्थ्यो ।
कोशी प्रदेश सांसद सम्झना पाख्रिन, साहित्यकार विन्दु दाहाल, कवयित्री मायामितु न्यौपाने, कथाकार राममणि पोखरेल र सङ्खुवासभाका कवि ताराबहादुर बुढाथोकी लगायतले मन्तव्य दिँदै आफ्ना रचना वाचन गरे ।
विशेषतः बुढाथोकीद्वारा वाचन गरिएको कविता ‘झोला’ दर्शकहरूलाई झस्क्याउने खालको थियो । शार्दूल विक्रिडित छन्दमा रचिएको यो व्यङ्ग्यात्मक कविता प्रवासपीडासँगै सामाजिक र राजनीतिक विडम्बनाहरूको चीरफार गर्छ ।
“झोला हो परदेश भ्रमण सखे नेपालमा पूजने, रित्तो पो छ कि वा पुटुक्क छ भनी सङ्केतमा बुझिने । झोलाकै बलमा युधिष्ठिर भए झोले ती दुर्योधन, लेख्नै मुस्किल पो भयो कि त सखे झोला नबोकीकन ।।”
कार्यक्रमका समापनतिर अनुसन्धाता कौशल चेम्जोङले भने, “अक्षरहरू मन्त्र हुन्। लेख्न विवेक चाहिन्छ। बेफ्वाँक लेखिँदैन, विवेकविना बुझिँदैन ।” यो भनाइले आजको साहित्यिक जिम्मेवारीलाई उजागर गर्यो ।
कार्यक्रमको आरम्भमा सल्लाहकार महेन्द्र राईले स्वागत मन्तव्य राख्दै सङ्गम पुस्तकालयलाई सिर्जनात्मकता र विवेकको थलो बनाउने अठोट व्यक्त गरे । यस्तै, प्रा.डा. न्यौपानेले उदयपुर गढीको ऐतिहासिकता र प्रदेश प्रज्ञा प्रतिष्ठानको आवश्यकता उठाउँदै साहित्यको क्षेत्रीय समृद्धिमा जोड दिनुपर्ने बताए ।
उनले कथा लेखनबारे सूत्र वाक्य पनि दिए- “कथा आकस्मिक रूपमा सुरु हुनुपर्छ र अप्रत्यासित ढङ्गमा टुङ्गिनुपर्छ । पाठकले अन्दाज गर्न नसक्ने कौतुहलता राखेर अन्त्यमा स्पष्टीकरण दिन सक्नु नै कथा हो ।”
उक्त कार्यक्रम केवल दुई कृतिको विमोचन थिएन । त्यो दिन दुई सर्जकले आफ्ना भोगाइ, दृष्टि र युगको चोट नेपाली पाठकमाझ अर्पण गरे । एकातिर युद्ध र बलिदानको दस्तावेज ‘बलिदानका कथाहरू’, अर्कातिर मिथक र वर्तमानको संगम ‘शिखण्डी’ यी दुबै उदयपुरबाट एकैपटक उदाए ।
शब्दहरू शस्त्र थिएनन्, तर शक्ति थिए । कार्यक्रमका प्रत्येक वक्ताले भन्न खोजेका थिए, साहित्य मनोरञ्जन होइन, चेतनाको निर्माण हो ।
अन्त्यमा अध्यक्ष भरत खड्काले भने, “आज हामीले साहित्यको यात्रा होइन, जीवनको यात्रा थालेका छौं। यस यात्रामा शब्दहरू सधैँ हाम्रो साथमा रहनेछन् ।”
गाईघाटको त्यो बिहान शब्दहरूको उत्सव थियो । जहाँ शब्दले मञ्च पाए, सर्जकले आत्मसन्तोष, र पाठकले सन्देश । ‘बलिदानका कथाहरू’ र ‘शिखण्डी’ दुवै सिर्जनात्मक परिश्रमका उपज हुन्- यी कृतिहरूले नेपाली साहित्यमा केवल लेखकीय उपस्थितिको होइन, जनचेतनाको अस्तित्व पुष्टि गरेका छन् ।
सिर्जनालाई सम्मान गर्ने समाज नै सिर्जनात्मक हुन्छ । गाईघाटले त्यसको गवाही दियो । उदयपुरले त्यो अभ्यास गर्यो ।