• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

भारतमा एकैदिन डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

  • २५ पुष २०७८, आईतवार १४:३१ मा प्रकाशित
  • २५ पुष, काठमाडौं । छिमेकी मुलुक भारतमा तेस्रो लहर सुरु भएसँगै कोभिड-१९ का संक्रमित अचानक बढ्न थालेका छन् ।

    भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जना नयाँ संक्रमित थपिएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, उक्त अवधिमा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३२७ जनाको मृत्यु भएको छ ।

    त्यस्तै, आइतबारसम्म कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ३ हजार ६२३ पुगेको छ । हालसम्म २७ राज्यमा यो भेरियन्ट फैलिइसकेको छ ।

    महाराष्ट्रमा ओमिक्रोनका संक्रमित सबैभन्दा धेरै छन् । त्यहाँ यो भेरियन्तका संक्रमितको संख्या १ हजार ९ पुगेको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ५१३ जनामा हालसम्म ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

    हाल भारतमा संक्रिय संक्रमितको संख्या ५ लाख ९० हजार ६११ रहेको छ । संक्रमितको संख्या एक्कासि बढ्‍न थालेपछि भारतका कैयौं राज्यमा कडाइ गरिएको छ । दिल्ली र कर्नाटकमा हप्तामा २ दिन (शनिबार र आइतबार) कर्फ्यू लागू गरिएको छ भने आजदेखि तमिलनाडुमा आइतबार पूर्ण कर्फ्यू लगाइएको छ ।

    यसैबीच, आईआईटी कानपुरका प्राध्यापक मनिन्द्र अग्रवालले यसै महिनाको मध्यसम्ममा दिल्ली र मुम्बई जस्ता प्रमुख शहरमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढ्न सक्ने बताएका छन् । तेस्रो लहरमा दैनिक संक्रमितको संख्या दोस्रो लहरको भन्दा झण्डै दोब्बर अर्थात् ८ लाखसम्म पुगेको उनको अनुमान रहेको छ ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on भारतमा एकैदिन डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

    नयाँ–नयाँ श्रम गन्तव्य पहिल्याउँदै नेपाली

  • २५ पुष २०७८, आईतवार १३:१२ मा प्रकाशित
  • रोमानिया, पोल्यान्ड, सेसेल्स, माल्टा, साइप्रस, मोरिसस, चेक गणतन्त्रलगायत मुलुक रोजगारीका आकर्षक गन्तव्य तर वैधानिकताको प्रश्न

    बितेका ६ महिनामा मात्रै दुई सय ३० जना महिलासहित १ हजार ८ सय ५६ जना नेपाली श्रमिक श्रम स्वीकृति लिएर दक्षिणपूर्वी युरोपियन मुलुक रोमानियामा काम गर्न गए । तीमध्ये ६ सय ६ जना व्यक्तिगत पहुँचका आधारमा र १ हजार २ सय ५२ जना म्यानपावर कम्पनीमार्फत गएका थिए ।

    वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो समयमा रोमानिया वैदेशिक रोजगारीमा जानेहरूका लागि नयाँ गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । कोभिड–१९ महामारीका कारण श्रमिक भर्ना प्रक्रियाले गति नलिएको अवस्थामा पनि गत आर्थिक वर्षमा १ हजार ४ सय ९६ जना रोमानिया गएका थिए । विश्व बैंकको प्रतिवेदनअनुसार रोमानियाले विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति लिएपछि रोजगारीका अवसरहरू खुल्न थालेका हुन् ।

    रोमानिया हेर्ने जर्मनीस्थित नेपाली दूतावासका अनुसार रोमानिया, चेक गणतन्त्र, पोल्यान्डलगायत देशमा नेपालीको उपस्थिति बढ्दै गएको छ । ‘श्रमिक ल्याउनका लागि दूतावास आफैंले मागपत्र प्रमाणीकरण गरेको छैन । मागपत्र प्रमाणीकरण गर्न दूतावाससँग स्रोत र साधन पनि छैन । यी देशमा कृषि र सेवा क्षेत्रमा नेपालीका लागि रोजगारीको सम्भावना छ । यहाँका सरकार पनि सरकारी मोडलबाट भन्दा पनि व्यक्तिगत आधारमा नै श्रमिक ल्याउन चाहन्न्,’ जर्मनीसहित युरोपका १० मुलुकका जिम्मेवारी पाएका नेपाली राजदूत रामकाजी खड्काले कान्तिपुरसँग भने, ‘तलबमा ठग्ने त हुँदैन । कानुनी संरचना बनाएर सरकारको तहबाट अनुगमन गरिराख्न श्रम सम्झौता गर्न पाए हुन्थ्यो । यसका लागि सम्बन्धित देशले पनि चासो राख्नुपर्छ ।’ उनका अनुसार ठूलो संख्यामा सरकारी निकाय नै संलग्न भएर लैजान सम्भव छैन । ‘व्यक्तिगत छनोटका आधारमा रोजगारी दिन भने सरकारहरू तयार नै देखिन्छन्,’ उनले भने ।

    व्यवसायीहरूका अनुसार स्थानीय नागरिक अन्य विकसित मुलुक जाने गरेका कारण रोमानियाका कम्पनीहरूले सस्तो ज्यालामा काम गर्ने नेपाली लैजान थालेको बताउँछन् । उनीहरूका अनुसार रोमानियामा धेरैजसो नेपाली होटल, निर्माण, उद्योग र पशुपालनका क्षेत्रमा जाने गरेका छन् । तर, त्यहाँ पुगेका नेपाली दक्ष नहुँदा कम ज्याला पाइरहेको उनीहरूको भनाइ छ । रोमानियाले आफ्ना नागरिकका लागि न्यूनतम ज्याला ६ सय डलर निर्धारण गरेको छ । नेपालीले भने मासिक ५ सय ५० डलर मात्र पाउने गरेका छन् ।

    वैदेशिक रोजगार विभागका अनुसार खाडी र मलेसियामा वार्षिक लाखका दरले श्रमिक गइरहेको भए पनि युरोप र अन्य एसियाका देशमा वार्षिक हजारका दरले गइरहेका छन् । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको अभिलेखअनुसार एक हजारभन्दा बढी नेपाली श्रमिक भएका अन्य प्रमुख गन्तव्य पोल्यान्ड (४७२८), माल्दिभ्स (३७६३), जोर्डन (३४०२), टर्की (३३९६), साइप्रस (३३०४), माल्टा (२३१७), जापान (१७२०) र मकाउ (१३६८) मा गइरहेका छन् । नेपाली श्रमिकका लागि आकर्षक मानिएका उदीयमान मुलुकहरूसँग मागपत्र प्रमाणीकरण गर्न भने कठिन छ । जसले गर्दा व्यक्तिगत श्रम स्वीकृति लिई श्रमिक माल्दिभ्स, सेसेल्स, माल्टा, चेक गणतन्त्र जस्ता मुलुकमा जाने गर्छन् । साइप्रसमा जानेको ८० प्रतिशत महिला घरेलु श्रमिकका रूपमा गइरहेका छन् । जोर्डनमा भने महिला श्रमिक गार्मेन्टको क्षेत्रमा जाने गरेका छन् ।

    वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने भन्दै झन्डै ८८ प्रतिशतको प्रमुख गन्तव्य खाडी र मलेसिया हो । जहाँ नेपाली श्रमिकले न्यून तलब पाउनुका साथै शोषण पनि उच्च छ । श्रमिकले आधारभूत अधिकार पनि पाउन सकेको छैन । आप्रवासनविद् गणेश गुरुङ सुरक्षा र आकर्षक तलब दिन नयाँ गन्तव्य खोज्न जरुरी रहेको ठान्छन् । ‘अहिले हामीले सबैभन्दा सस्तो, कम तलब र मानव अधिकारको स्थिति कमजोर भएको खाडी मुलुकमा युवालाई पठाएका छौं,’ उनले भने, ‘हामी नयाँ बजारको अध्ययन गर्न सक्दैनौं ? नयाँ बजारको खोजी गर्न सक्दैनौं ? सुरक्षामा गोर्खाली ब्रान्ड युरोपमा किन बेच्न सक्दैनौं ?’

    वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुक सम्बन्धित अध्ययनको जिम्मेवारी पाएका पूर्वराजदूत उदयराज पाण्डेको नेतृत्वको कार्यदलको प्रतिवेदन–२०७५ अनुसार युरोप, एसिया र अफ्रिकी देशहरू नेपालीका लागि राम्रो गन्तव्य बन्न सक्छन् । ‘युरोप पुरानै गन्तव्य भए पनि नेपाली श्रमिकका लागि धेरै पछिमात्र नयाँ गन्तव्यका रूपमा विकास हुँदै आएको हो,’ कार्यदलका संयोजक पाण्डेले भने, ‘खासगरी पोर्चुगल, चेक गणतन्त्र, रोमानिया तथा पोल्यान्ड र उत्तरी युरोपका अन्य देश पनि नेपाली श्रमिकका लागि उपयुक्त हुन सक्छन् । ती देशहरूमा पनि सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग रहेको देखिन्छ ।’ जापान, फिजी, सिसेल्स र मौरिसस जस्ता मुलुक पनि नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुने सम्भावना रहेको उनले बताए । चीन, रुस, श्रीलंका र माल्दिभ्स पनि नयाँ गन्तव्य मुलुकको विकास भइरहेका छन् । ‘क्रुज (पानी जहाज) मा काम गर्ने श्रमिकको पनि ठूलो माग देखिन्छ । नेपालबाट केही श्रमिक क्रुजमा काम गर्न पनि गएका छन्,’ उनले भने, ‘पानी जहाज एक देशमा दर्ता हुने तर विभिन्न देशमा यात्रा गर्ने भएकाले त्यसमा काम गर्ने श्रमिकको निश्चित गन्तव्य मुलुक यही हो भनेर किटान गर्न सदैव सम्भव हुँदैन । सरकारले क्रुजमा काम गर्न जाने नेपाली आप्रवासी श्रमिकका लागि आवश्यक पर्ने कानुन निर्माण एवं सहजीकरणको व्यवस्था गरेमा त्यस क्षेत्रमा बढी संख्यामा कामदार पठाउन सम्भव हुने देखिन्छ ।’

    यी क्षेत्रमा जान भने सरकारले तोकिएको फ्रि भिसा र फ्रि टिकटको नीति लाग्दैन । देशपिच्छे शुल्क तोकिएका छन् । पोल्यान्डका लागि ८० हजार ४ सय, पोर्चुगलका लागि ६५ हजार, साइप्रसमा ८० हजार र रोमानियामा ३५ हजार रुपैयाँ लागत शुल्क तोकिएको छ । तर, सरकारले तोकिएको शुल्कमा श्रमिक जान पाइरहेका छैनन् । पोर्चुगल र पोल्यान्डको श्रमिक भर्ना प्रक्रियामा अध्ययन गरेका इक्डियमका दक्षिण पूर्वी निर्देशक रामेश्वर नेपालका अनुसार पोर्चुगल र पोल्यान्डका लागि मात्रै १० लाख रुपैयाँसम्म तिर्न बाध्य भइरहेको बताए । ‘ठूलो ऋणधन गर्न सामर्थ राख्ने वर्ग युरोप गइरहेको भेटिन्छ । युरोप छिरिसकेपछि सकिहाल्यो नि भन्ने भनाइ छ । आफ्ना परिवार, आमाबुबालाई लैजान पाउने र स्थायी आवास (पीआर) को अनुमति पाइने भएकाले जति पनि लगानी गर्न तयार देखिन्छन्,’ नेपालले भने, ‘ठगी पनि डरलाग्दो छ ।’ केही दिनअघि मात्र पोर्चुगल पठाइदिने भन्दै चार जनासँग ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा युनिवर्ल्ड इन्टरनेसनल टुर एन्ड ट्राभल्स प्रालिका सञ्चालक बागलुङका अमृत सोतीमगर र व्यवस्थापक सर्लाहीका समिर कार्की पक्राउ परेका थिए । प्रहरीका अनुसार उनीहरूले वर्किङ भिसामा पोर्चुगल जान प्रतिव्यक्ति १४ लाख लाग्नेभन्दै चार जनाबाट १० लाखका दरले ४० लाख रुपैयाँउठाएका थिए ।

    वैदेशिक रोजगार विभागका अनुसार खाडी–मलेसिया जानेको तुलनामा युरोप जाने खोज्नेहरूको पैसा बढी डुब्ने गरेको छ । विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार व्यक्तिगत रूपमा झन्डै एक अर्ब बराबरको दाबी गरी उजुरी पर्ने गरेको छ । ‘युरोप लगायतका मुलुकमा व्यक्तिगत हिसाबले नै जानेको संख्या उच्च छ । कसरी त्यो च्यानल प्रयोग हुन्छ भन्ने देखिँदैन,’ काफ्लेले भने, ‘हामीसँग आएका त्यस्ता उजुरीहरूलाई अदालत प्रक्रियाबाट टुंग्याउने गरेका छौं ।’ पाण्डेका अनुसार नेपाली श्रमिकका लागि रोजगारीको सम्भाव्यता देखिएको हुँदा त्यहाँ कामदार पठाउने निर्णय गर्नुअघि रोजगारदाताले भर्ना शुल्क बेहोर्ने/नबेहोर्ने र कामदारको सेवा, सुविधा एवं कानुनी संरक्षणको अवस्थालगायत विषयमा स्थलगत अध्ययन र सरकारका तर्फबाट सम्बन्धित मुलुकसँग द्विपक्षीय छलफल गर्न आवश्यक देखिन्छ

    साभार: कान्तिपुर दैनिकमा हिोम कार्की द्वारा तयार पारिएको रिपोर्ट

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on नयाँ–नयाँ श्रम गन्तव्य पहिल्याउँदै नेपाली

    ‘कम्पनीले साउदीबाट मेरो भाइको शव मात्र होइन पासपोर्ट समेत पठाएन’

  • २२ पुष २०७८, बिहीबार १६:१२ मा प्रकाशित
  • रमा आले, नवलपरासी ।

    नवलपरासी – बिदामा घर आएर फर्किएका सरावल गाउँपालिकाका समसुल होडा गुज्जरले आफू राम्रोसँग साउदी पुगेको खबर गर्नुभयो । तर त्यसपछि भने तीन दिनसम्म कुनै खबर आएन । घरबाट फोन गर्दा पनि उठेन । घरबाट हाँसीखुसी बिदा भएका समसुलले फोन नउठाउँदा घरमा चिन्ता बढ्यो । तर त्यसै दिन साउदीबाट नयाँ नम्बरबाट फोन आयो । फोन समसुलका साथीको थियो ।समसुलका दाइ नुखल होडा गुज्जर भन्नुहुन्छ ‘भाइ त छैन भन्ने कुरा सुनायो, हामीलाई त पत्यार नै लागेन, साथीले भनेअनुसार उसले आफ्नै कोठामा आत्महत्या गरेको रहेछ ।’ समसुलको वैदेशिक रोजगारीको यात्रासमसुल सन् २०१७ मा वैदेशिक रोजगारीको लागि साउदी जानुभएको थियो । घरपरिवारको दुःख टार्ने र केही पैसा बचाएर घर फर्किने योजना सुनाउनुभएको थियो समसुलले घरमा । राम्रोसँग काम र कमाइ गरेर दुई वर्षपछि उहाँ दुई महिनाको बिदामा नेपाल पनि आउनुभयो ।दुई महिनाको बिदा सक्काएर समसुल २०१९ को अक्टुबरमा साउदी फर्किनुभएको थियो । घरबाट बिदा हुने बेला केही वर्ष साउदीमा काम गर्ने र फर्किएर नेपालमै केही गर्ने कुरा पनि गर्नुभएको थियो परिवारमा । राम्रो सरसल्लाहसहित परदेश फर्किएका समसुलले आत्महत्या गरेको खबरले परिवारमा ठुलो बज्रपात पर्‍यो । परिवारले विश्वास नै गर्न सकेन । ‘आत्महत्या गर्नुपर्ने त्यस्तो कुनै कारण नै थिएन’ दाइ नुखल होडा गुज्जर भन्नुहुन्छ, ‘सबैसँग राम्रो कुराकानी गर्थ्यो, आफूलाई चिन्ता भएको कुरा पनि केही गरेन, न कुनै झैझगडा भएको थियो, खै किन पो उसले त्यस्तो गर्‍यो अहिलेसम्म पनि हामीले पत्याउन सकेका छैनौँ ।’समसुलको मृत्युको कारण पोस्टमार्टम रिपोर्टले पनि आत्महत्या नै हो भनेको छ ।

    समसुलको वैदेशिक रोजगारीको यात्रा

    समसुल सन् २०१७ मा वैदेशिक रोजगारीको लागि साउदी जानुभएको थियो । घरपरिवारको दुःख टार्ने र केही पैसा बचाएर घर फर्किने योजना सुनाउनुभएको थियो समसुलले घरमा । राम्रोसँग काम र कमाइ गरेर दुई वर्षपछि उहाँ दुई महिनाको बिदामा नेपाल पनि आउनुभयो ।दुई महिनाको बिदा सक्काएर समसुल २०१९ को अक्टुबरमा साउदी फर्किनुभएको थियो । घरबाट बिदा हुने बेला केही वर्ष साउदीमा काम गर्ने र फर्किएर नेपालमै केही गर्ने कुरा पनि गर्नुभएको थियो परिवारमा । राम्रो सरसल्लाहसहित परदेश फर्किएका समसुलले आत्महत्या गरेको खबरले परिवारमा ठुलो बज्रपात पर्‍यो । परिवारले विश्वास नै गर्न सकेन । ‘आत्महत्या गर्नुपर्ने त्यस्तो कुनै कारण नै थिएन’ दाइ नुखल होडा गुज्जर भन्नुहुन्छ, ‘सबैसँग राम्रो कुराकानी गर्थ्यो, आफूलाई चिन्ता भएको कुरा पनि केही गरेन, न कुनै झैझगडा भएको थियो, खै किन पो उसले त्यस्तो गर्‍यो अहिलेसम्म पनि हामीले पत्याउन सकेका छैनौँ ।’समसुलको मृत्युको कारण पोस्टमार्टम रिपोर्टले पनि आत्महत्या नै हो भनेको छ ।

    शव ल्याउन समस्या

    मृत्युको खबर त आयो । तर कम्पनीले समसुलको शव नेपाल पठाउन खर्च नगर्ने बतायो । बिदा सक्काएर साउदी फर्किए पनि काम गर्न नथालेको भन्दै कम्पनीले शव नेपाल पठाउन इन्कार गरेको परिवार बताउँछन् । ‘काममा भर्ना नभएको भन्दै आफ्नो खर्चमा पठाउने नसक्ने भन्दै कम्पनीले तिमीहरूले नै पैसा पठाउने भए मात्र म तिम्रो मानिसको शव पठाउँछु भन्यो, हामीसँग त्यत्रो रकम नै थिएन’ नुखल होडाले भन्नुभयो । त्यो बेला उनीहरूलाई न सरकारले शव ल्याउन सहयोग गर्छ भन्नेबारे थाहा थियो न त कुने सहयोग पाइन्छ भन्ने जानकारी नै । त्यसपछि समसुलको सदगत साउदीमै गर्ने निर्णय गर्‍यो परिवारले । सबै कागजात मिलाएर साउदीमै अन्तिम संस्कार गर्न अनुमति दियो परिवारले । उहाँ भन्नुहुन्छ ‘शव नेपाल झिकाउन एक लाख रुपैयाँ जति लाग्छ भन्ने कुरा भयो, तर एक लाख खोज्दा, पैसा पठाउँदा कहिले आउने कहिले, ढिलो गर्दा शव कुहिने हो कि जस्तो लाग्यो, त्यसैले हामीले उतै दफन गर्न अनुमति दियौँ ।’

    कागजपत्र झिकाउन समस्या

    त्यसको लागि समसुलको परिवारले निकै धपेडी खेप्नुुपर्यो । ३–४ पटक काठमाण्डौ धाउनुुपर्यो । परराष्ट्र मन्त्रालयमार्फत बल्लतल्ल कागजपत्र हात लाग्यो । अन्य कागजात त आयो तर पासपोर्ट आएन । पासपोर्ट झिकाउन कै लागि उनीहरूले ६ महिनासम्म काठमाण्डौ धाउन पर्‍यो । तर पनि प्रहरीले पासपोर्ट राखेको भन्दै कम्पनीले पासपोर्ट पठाउन सकेन ।

    सामीको सहयोग

    विदेशबाट पासपोर्ट नआएपछि सरकारबाट पाइने आर्थिक सहायता पाउने आश मारेर बसेका समसुलका दाइ एक दिन आप्रवासी स्रोत केन्द्र (एमआरसी) परासीमा आइपुग्नुभयो । एमआरसीले नखुलेको समस्यामा समन्वय गर्‍यो । एमआरसीले नखुलेको समस्यालाई सुरक्षित आप्रवासन (सामी) परियोजनाको साझेदार संस्था प्रवासी नेपाली समन्वय समिति पीएनसीसीमा पठायो ।पीएनसीसीमार्फत् दूतावास हुँदै त्यहाँको कम्पनीसँग पासपोर्टको मगाउन पहल भयो । तर ११ महिना बित्दा पनि पासपोर्ट आएन । नियमअनुसार वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकले एक वर्षभित्र वैदेशिक रोजगार बोर्डमा क्षतिपूर्ति दाबी गर्नपर्छ । तर एक वर्ष बित्दा पनि पासपोर्ट नै नआएपछि बोर्डमार्फत पाइने राहतको माया मारेका थिए परिवारले । तर एमआरसीले नै वैदेशिक रोजगार बोर्डमा सम्पर्क गरेर समसुलको घटना बारेमा बताएपछि पासपोर्टको फोटो कपीको आधारमा बोर्डले आर्थिक सहायता रकम प्रदान गर्‍यो । कोरोना महामारी र देशव्यापी लकडाउनका कारण सबै प्रक्रिया पूरा गर्न समस्या थियो ।एमआरसीले नै क्षतिपूर्ति र बिमाको लागि आवश्यक पर्ने कागजात सङ्कलन गर्न लगाइ नोटरी गर्न सहयोग गरेर पालिकामा पठायो । एमआरसीकै पहलमा समसुलको परिवारले बोर्डबाट ७ लाख रुपैयाँ र बिमामार्फत १२ लाख रुपैयाँ पायो ।

    (रमा आले सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत नवलपरासी पश्चिममा रहेको आप्रवासी स्रोत केन्द्रमा परामर्शकर्ताको रूपमा कार्यरत हुनुहुन्छ । सामी परियोजना नेपाल सरकार र स्वीस सरकारबीचको दुईपक्षीय परियोजना हो ।)

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on ‘कम्पनीले साउदीबाट मेरो भाइको शव मात्र होइन पासपोर्ट समेत पठाएन’

    साउदीअरबले लण्डनभन्दा १७ गुणा ठूलो अनौठो सहर बनाउँदै

  • २२ पुष २०७८, बिहीबार १५:२३ मा प्रकाशित
  • आफ्नै चन्द्रमा हुनेछ, गाडीहरु उड्नेछन्

    काठमाडौं। सहरमा घुमिरहेका रोबोट र हावामा उडिरहेका गाडीहरु अब फिल्ममा मात्र देखिने कुरा रहेन । साउदी अरेबियाले यस्तै साइ–फाइ सहर बनाउँदैछ जहाँ रोबोटले मानिसको सुरक्षादेखि लिदएर सेवा समेत गर्नेछन् । कार हावामा उड्नेछन्, कृत्रिम बादलले पानी पार्नेछन् । यो सहरमा कृत्रिम चन्द्रमा पनि हुनेछ जो हरेक रात उदाउनेछ । ५०० अर्ब डलरको लागतमा बन्ने यो सहर लण्डनभन्दा १७ गुणा ठूलो हुनेछ ।

    साउदी अरेबियाको ताबुक राज्यमा यो सहर बसाइनेछ । यो सहरको नाम नियोम हो । जुन कम्पनीले यो प्रस्तावित सहरलाई किनेको छ र यसलाई बनाउने जिम्मा लिएको छ त्यो कम्पनीका योजना यति महत्वाकांक्षी छन् कि सहरमा प्रयोग हुने कैयौं प्रविधि अहिलेसम्म अस्तित्वमै छैनन् । बेलायतको अखबार द सनको एक रिपोर्टअनुसार नियोम सहर जोर्डन र मिस्रको सीमा नजिकै हुनेछ । यो सहर अबको ३ वर्षपछि २०२५ सम्म मानिसहरु बस्नको लागि बनेर तयार हुनेछ ।

    नियोम आफ्नो किसिमको पहिलो सहर हुनेछ जसलाई सौर्य ऊर्जा र वायु ऊर्जाबाट संचालन गरिनेछ । नियोमका अध्यक्ष साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानका अनुसार यो सहर ड्रोन फ्रेण्डली र रोबोटिक्सको विकासको लागि एक केन्द्र बनेर उदाउनेछ । सहरको पूर्वयोजनाका दस्तावेजका अनुसार सहरमा उड्ने ट्याक्सी हुनेछन् । यी ट्याक्सी ठिक त्यस्तै हुनेछन् जस्तो ‘ब्लेड रनर’ र ‘ब्याक टु द फ्युचर २’ फिल्ममा देखाइएका थिए । साउदी अरेबियामा वर्षा हुँदैन तर क्लाउड सिडिङ प्रविधिको प्रयोग गरेर नियोममा बादल बनाइनेछन् र वर्षा पनि हुनेछ ।

    सहरका लागि अरु पनि केही विचित्र प्रस्ताव गरिएका छन् । यहाँ जुरासिक पार्क शैलीमा डयनोसोर रोबोट पनि बनाइनेछ । रोबोट मार्शल आर्ट पनि बनाइनेछ जहाँ रोबोट मनोरञ्जनका लागि एक अर्कासँग लड्नेछन् । साउदी अरेबिया यो महत्वाकांक्षी परियोजनाद्वारा आफ्ना प्रतिद्वन्द्वी खाडी देशहरु युएइ र कतारभन्दा अगाडि जान चाहन्छ । उसले नियोमलाई विश्वका प्रतिभाशाली र सर्वश्रेष्ठ व्यवसायीहरुलाई आकर्षित गरेर प्रमुख वाणिज्य केन्द्र बनाउन चाहन्छ । योजना दस्तावेजमा उल्लेख भएअनुसार रोबोटले यी विदेशी व्यवसायीको घरको काम गर्नेछन् ।

    साउदीले रियादमा फ्युचर इन्भेस्टमेन्ट इनिसिएटिभ सम्मेलन २०१७ मा नियोम निर्माणको घोषणा गरेको थियो । कार्यक्रममा बोल्दै रोबोटिक्स फर्म बोस्टन डायनेमिक्सका सीइओ मार्क रोयबर्टले महानगरहरुमा रोबोटलाई सुरक्षाको लागि पनि उपयोग गर्न सकिने बताएका थिए । उनले रोबोटहरुले धेरै काम गर्न सक्ने बताउँदै सुरक्षा, लोजिस्टिक्स, होम डेलिभरी, बुद्ध र कमजोरको हेरचाहका काम रोबोटले गर्न सक्ने बताएका थिए ।

    महत्वाकांक्षी महानगर नियोमको निर्माण हजारौं श्रमिकहरुले गरिरहेका छन् । यी श्रमिकहरुलाई कथित रुपमा खराब परिस्थितिमा राखिएको छ । ६ जना श्रमिकलाई सुत्नको लागि केवल १ कोठा दिइएको बताइएको छ । मानवअधिकार कार्यकताृहरुले पश्चिमी देशहरुमा साउदीको खराब मानवअधिकार रेकर्डका कारण यो परियोजनालाई बहिष्कार गर्न आह्वान गरेका छन् । इस्तानबुलमा वाशिङटन पोस्टका पत्रकार जमाल खशोग्गीको २०१८ मा हत्या भएपछि मानवअधिकार कार्यकर्ताको यो माग तीब्र भएको छ ।

    रिपोर्टका अनुसार नियोम सहर बसाउनको लागि त्यहाँका आदिवासीहरुलाई जबरजस्ती हटाइएको छ । हुवैतेत जनजातिकी एलिया अल्हवेती पनि नियोम परियोजनाका कारण विस्थापित भएकी हुन् । उनले भनिन् ‘यो पूरै विपत्तिको स्थितिजस्तै छ र म निराश छु ।’ एलियाका भाइ अब्दुलरहीम अल हुवैतीले गत वर्ष यही परियोजनाका कारण ज्यान गुमाएका थिए । उनको घर भत्काइँदै गर्दा उनले घर बचाउने निकै कोसिस गरे र अन्ततः मारिए । एलिया अहिले बेलायतमा बस्छिन् । उनले मानवअधिकार हननको विषयमा पश्चिमी देशहरुको आलोचना गर्दै उनीहरुले पनि यो परियोजना रोक्ने कोसिस नगरेको आरोप लगाएकी छिन् ।

    साउदीले नियोममा मदिराको अनुमति दिन अस्वीकार गरेको छैन । साउदी जस्तो रुढीवादी मुस्लिम देशको लागि यो कदम ऐतिहासिक हुनेछ । साउदीमा अहिले मदिरामा पूर्ण रुपमा प्रतिबन्ध छ । नियोम साउदीको तेलमा निर्भर अर्थव्यवस्थामा विविधता ल्याउन प्रिन्स सलमानको भिजन २०३० को हिस्सा हो । नियोमको आफ्नो कानुन हुनेछ जसलाई अहिले तयार गरिँदैछ ।

    नियोमको टेक र डिजिटल होल्डिङ कम्पनीका सीइओ जोसेफ ब्रेडलीले नयाँ कानुन अनुसार मदिराको अनुमति दिइन्छ वा दिइँदैन भन्ने पुष्टि गरेका छैनन् । तर, उनले विदेशी प्रतिभा र पर्यटकलाई आकर्षित गर्नुपर्ने आवश्यकतालाई जो कोहीले बुझेको बताएका छन् । उनका अनुसार एक देखि २ वर्षमा नियोमको कानुनले मन्जुरी पाउनेछ । २०१७ मा क्राउन प्रिन्स बनेपछि प्रिन्स सलमानले धेरै सुधार गरेका छन् । यहाँ महिलालाई गाडी चलाउन लगाइएको प्रतिबन्ध हटाइएको छ । प्रिन्स सलमानले धार्मिक हस्तीहरुको शक्तिमा पनि अंकुश लगाएका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on साउदीअरबले लण्डनभन्दा १७ गुणा ठूलो अनौठो सहर बनाउँदै

    दिलकुमारको दुख : विदेशिदा श्रीमती परपुरुषसँग गइन्, बाँच्ने रहर थियाे तर..

  • २१ पुष २०७८, बुधबार २०:०० मा प्रकाशित
  • काठमाडौं । एकसता अघि मलेशियामा मृत्यु भएका तेह्रथुमका दिलकुमार बुढाथोकीको शव आज नेपाल आउने भएको छ । उनको शव मलेशियाबाट बुधबार आउने दिलकुमारका दाई तुलसी बुढाथोकीले बताएका छन् ।

    गएको हप्ता उनको सुतेकै अवस्थामा ज्यान गएको मलेशियामा कार्यरत नेपालीहरुले बताएका छन् ।

    दिलकुमार आठराई गाउँपालिका- ६, तत्कालीन चुहानडाँडा गाविस ४ भदौरेका हुन् । ३४ वर्षका उनी करिब ४ वर्षअघि बैदेशिक रोजगारीको शीलशिलामा मलेशिया पुगेका थिए ।

    उनको मृत्युका बारेमा ठोस कारण खुल्न सकेको छैन । कम्पनीले सबै रिपोर्टहरु तयार गरेको भएपनि मृत्युको खास कारण भने खुलाएको छैन ।

    कम्पनीमा सँगै काम गर्ने नेपाली कामदारहरुका अनुसार उनी सामानय अवस्थामै थिए मृत्यु भएको अघिल्लो दिन ।

    सामान्य अवस्थामै रहेका उनले त्यो दिन कोरोना भाइरसबिरुद्धको तेस्रो डोज खोप लगाएको उनका साथीहरुले बताएका छन् ।

    कोरोना खोपमाथि शंका

    मृतक दिलकुमारका भान्जा रोशन दंगालका अनुसार अघिल्लो दिन कोरोना भाइरसबिरुद्धको तेस्रो डोज खोप लगाएका थिए । त्यसै राति उनी विते ।

    ‘कुनै पनि समस्या नभइ मामा सामान्य अवस्थामा हुनुहुन्थ्यो । अघिल्लो दिन कोरोनाको खोप चाही लगाउनुभएको थियो रे । उहाँका साथीहरुले भनेको,’ दिलकुमारका भान्जा रोशनले भने, ‘राति खाना खाएर उहाँ आफ्नो बेडमा सुत्न जानुभयो। हामी हाम्रो कोठामा सुत्यौँ । हामी बिहान उठ्यौँ । तर उहाँ उठ्नुभएन।’

    रोशन हाल मलेशियामै कार्यरत छन् । उनलाई पनि कोरोनाको खोपले केही असर गरेको सुनाए । रोशनलाई मृत्युको कारण मेडिकल रिपोर्टबारे सोध्दा हर्टआट्याक भनेर भनेको बताएका छन् । तर त्यो कुनै ठोस रुपमा प्रमाण नदिइ कम्पनीले दावी गर्दै आएको मात्रै बताए ।

    उता दिलकुमारको परीवारले पनि मृत्यु हुनुअघि सञ्चै भएको भन्दै कुराकानी गरेको बताएको छ ।

    दिलकुमारका दाई तुलसी बुढाथोकीले भाइले अघिल्लो दिन आफू सञ्चै भएको भन्दै फोनमा कुरा भएको सुनाए ।

    प्रेम संघर्ष

    दिलकुमारले १० वर्षअघि तेह्रथुमकै एक युवतीसँग प्रेम विवाह गरेका थिए । उनी क्षेत्रीकै छोरा भएपनि भागी विवाह गरेका थिए । लामो समयसम्मै उनको प्रेम चल्यो । तर युवतीको आमाबुबाले माग्न जाँदा नदिने सम्भावना बढेपछि उनले भगाएर विहे गर्ने निधो गरे । र, उनले चैतको बेला भगाएर घर त्याउने प्रयास गरेका थिए ।

    उनको सुइको पत्तो पाएपछि युवतीका बुबाले उनीहरुको पीछा गर्दै तमोर खोलासम्म पछ्याएर छोरी फर्काउने गरि आएको थिए ।

    त्यसपछि हुनेवाला ससुरा र दिलकुमारको तमोर खोलामा झण्डै हात हालाहाकै स्थिती भएको उनले सुनाएका थिए । तर उनी आफ्नोप्रेमिकालाई आफ्नो बनाउन सफल भए।

    उनीहरुको विवाह पनि भयो । उनीहरुको छोरा पनि भयो । तर दिलकुमार आर्थिक समृद्धि र सुखद भविश्यका लागि विदेशिन पुगेका थिए ।

    श्रीमतीबाट धोका

    उनी विदेशिएको २ वर्षपछि उनीका श्रीमति अर्कै पुरुषसँग विवाह गरेर गइन् । उनीहरुको एक सन्तान छोरा छन् । ती छोरा उनका दाई तुलसीका काखमा छन् ।

    श्रीमतीबाट धोका भएपछि उनी पीडामा थिए । तर उनलाई बाँच्ने रहर भने थुप्रै थियो । उनी आफ्नो छोरासँग दिनैजासो म्यासेन्जरमा कुरा गर्ने गर्दथे । र, खुसी साट्ने गर्दथे ।

    अहिले सँधै बुबा-आमा खोज्ने भतिजोलाई बुबासँग फेशबुक म्यासेन्जरमा कुराकानी गराउँदै आएको र कुरा गर्दा खुसी हुने गरेका तुलसीले बताए । तर अब उसको त्यो चाहना र खुसीमा पनि कहिल्यौ नखुल्ने बादल लागेको छ ।
    सभार: news 24

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on दिलकुमारको दुख : विदेशिदा श्रीमती परपुरुषसँग गइन्, बाँच्ने रहर थियाे तर..

    ‘भिजिट भिसामा दुबईमा अलपत्र परेपछि स्वदेश फर्किन भारतीय नागरिकको झोला बोक्न बाध्य भयौँ’

  • २० पुष २०७८, मंगलवार १६:२८ मा प्रकाशित
  • धादिङ – भिजिट भिसामा यूएई पुर्‍याएर एजेण्ट भागेपछि भोक भोकै परेका बेला साने परियारलाई एजेण्टले नै चिनाएका एक भारतीय नागरिकले भने ‘तिमीहरुलाई म टिकट काट्दिन्छु, तर मेरो सामान लानुपर्छ ।’

    भारतीय नागरिकको त्यो बोली बाध्यतामा फसेका साने र उहाँका साथीलाई आफूलाई बचाउन भगवान स्वयं आए झैँ लाग्यो । किनकि उनीहरूलाई यूएईमा राम्रो काम र कमाइको प्रलोभन देखाएर लैजाने एजेण्ट सम्पर्क विहीन भइसकेका थिए ।

    त्यो बेला उनीहरूको साथमा न बस्ने बास थियो न खाने गाँस । कमाउन गएको मानिस भोक भोकै परदेशी भूमिमा मर्नुभन्दा भारतीय नागरिकको सामान बोकेर भए पनि स्वदेश फर्कने निधो गरे साने र उहाँका साथीले ।

    ‘त्यो बेलामा अर्काको देशमा कुकुरको मराई हुनुभन्दा, आफ्नो देशमा जान जस्तो सुकै जोखिम पनि मोल्न तयार भयौँ’ साने भन्नुहुन्छ ‘हामीसँग कुनै विकल्प नै थिएन, लग्ने एजेण्ट सम्पर्क विहीन भइहाल्यो, अन्त कहाँ सम्पर्क गर्ने थाहा नै भएन ।’

    भिजिट भिसाले झण्डै ज्यान लियो
    तीन वर्ष साउदीमा रोजगारी गरेर फर्कनुभएका सानेले सानोतिनो घर बनाउनुभयो । साउदीको धेरथोर कमाइमा थपथाप गर्न ऋण नै काढ्न पर्‍यो । त्यसमाथि बालबच्चा पढाउँदा सानेलाई ऋण लाग्यो । साहुले ऋण तिर्ने अर्को उपाय भएन । आफ्नै ठाउँमा गरिखाऊ न त भन्दा जागिर मिलेन । त्यसपछि सानेलाई साहुको ऋण तिर्न फेरि विदेश नै जानु पर्ने बाध्यता आइलाग्यो ।

    ‘भिजिट भिसामा जानु हुँदैन भन्ने थाहा त थियो, तर एजेण्टले भने कि अहिले भिजिटमै गएर काम खोज्ने हो, समय यस्तै छ,’ साने भन्नुहुन्छ ।


    परदेशी भूमिमा गर्नु पर्ने दुःख थाहा थियो सानेलाई । पर्ने अप्ठेराबारेमा पनि जानकारी नभएको होइन । ऋणमा डुबेको बेला एजेण्टले यूएई पठाउने कुरा बताए ।

    ‘भिजिट भिसामा जानु हुँदैन भन्ने थाहा त थियो, तर एजेण्टले भने कि अहिले भिजिटमै गएर काम खोज्ने हो, समय यस्तै छ,’ साने भन्नुहुन्छ ।

    एजेण्ट पनि नाताले सानेकी भान्जी पर्छिन् । भान्जीले नै भनेपछि उहाँले विश्वास गर्नुभयो ।

    भने अनुसार नै सबै कुरा गर्नुभयो । साना किसान सहकारीमा घरजग्गा राखेर २ लाख ५० हजार रुपैयाँ लिनुभयो र एजेण्टलाई बुझाउनुभयो । सानेजस्तै भिजिट भिसामा यूएई जान गाउँका अन्य ६ जनाले पनि प्रतिव्यक्ति २ लाख ५० हजारका दरले पैसा बुझाए । एकै गाउँका ७ जना र गोरखाका एक जना गरी ८ जना ‍२२ मार्च २०२१ अर्थात् २०७७ साल चैत ९ गते सोमबारका दिन यूएई उडे ।

    यूएई उड्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ का साने परियारसहित, सुजन परियार, धन बहादुर परियार, राजु परियार, गणेश परियार, दीपक परियार र तारा भण्डारी थिए ।

    एजेण्टको मिठो कुरामा विश्वास गरेर यूएईमा टन्न कमाउने सपना बुन्दै यूएई त पुगे ।

    एजेण्टले मासिक १२ सय यूएई दिर्हाम कमाइ हुने बताएका थिए । काम भने चकलेट प्याक गर्ने हो भनेका थिए ।

    यूएई पुगेपछि १५ दिनसम्म त अजमानको एक भिल्लामा राम्रो गरी राखे एजेण्टले नै । तर १५ दिन पछि भने कम्पनीको साहु जेल परेको भन्दै साहु छुटेपछि मात्र काममा जान पाइने बताए । त्यो खबर सुन्दा उनीहरूको मनमा चिसो पस्यो ।

    साने भन्नुहुन्छ,‘ला अब के होला भन्ने त जानसाथ लागेको थियो, तर के गर्नु आफ्नी भान्जीको विश्वास गर्दा फसियो ।’

    एजेण्ट भागेपछि ट्वाइलेटको पानीले प्राण धान्यौँ
    साहु छुटेपछि काममा लगाइदिनहुन्छ भनेका एजेण्टको व्यवहार बिस्तारै फेरिन थाल्यो । १५ दिनपछि त्यहाँको बन्दोबस्त मिलाउने एजेण्ट नै सम्पर्क विहीन भए । न फोन लाग्यो न जाने बेलामा केही भने ।

    त्यही एजेण्टको बोलिमा विश्वास गरेर यूएई पुगेका उनीहरू एजेण्ट नै हराएपछि बिचल्लीमा परे । एजेण्ट नै भागेपछि भने सानेसहित उहाँका साथीलाई अर्को समस्या आइपर्‍यो । आफ्नो नाम मात्र लेख्न जान्ने उनीहरूलाई विदेशको ठाउँमा कहाँ जाने, के गर्ने भन्ने थाहै भएन ।

    खाने पानी नहुँदा थुप्रै दिन ट्वाइलेटको पानीले प्राण धानेको बत्ताउँछन् उनीहरू । न खाने कुरा छ न त जाने ठाउँ कही । एकातिर भिजिट भिसाको समय सकिँदै थियो । उनीहरूको एक मनले त भन्थ्यो अब बाँचेर घर फर्कँदैनौँ ।
    ‘काम लगाइदिन्छु भन्दा भन्दै एजेण्ट नै भाग्यो, हामी त कहाँ जानु कसलाई भन्नु, केही पत्तै भएन,’ साने भन्नुहुन्छ,‘न पढ्न लेख्न आउने ।’

    एजेण्ट भागेको एक महिनासम्म उनीहरू त्यही ठाउँमा आधा पेट खाएर दिन कटाउन थाले । एउटा कोठामा ८ जना पालैपालो सुत्थेँ ।

    सानेका साथी गणेश परियार भन्नुहुन्छ ‘जिन्दगीमा त्यत्तिको दुःख त कहिले पनि भोग्न परेको थिएन ।’

    खाने पानी नहुँदा थुप्रै दिन ट्वाइलेटको पानीले प्राण धानेको बत्ताउँछन् उनीहरू । न खाने कुरा छ न त जाने ठाउँ कही । एकातिर भिजिट भिसाको समय सकिँदै थियो । उनीहरूको एक मनले त भन्थ्यो अब बाँचेर घर फर्कँदैनौँ ।

    घरमा फोन गर्नुहुन्थ्यो बेला बेलामा । घरका मानिससँग पनि रुनु बाहेक अर्को विकल्प थिएन ।

    ‘आफ्नो समस्या सुनाउँदा घरमा पनि रुने, हामी पनि रुने, रुदा रुँदै फोन काटिन्थ्यो ’ साने सुनाउनुहुन्छ ।

    पहिले एजेण्टलाई चिनाउने भान्जी पर्ने निशा परिवारलाई पनि आफ्नो समस्या सुनाउनुभयो । तर भान्जीले पनि आफूले चिनेको मात्र भएको र आफ्नो त्यसमा कुनै हात नभएको बताइन । भान्जी निशामार्फत नै उनीहरूले एजेण्ट रुपेश कुमार ठाकुर र नवराज तामाङलाई चिनेका थिए । उनीहरूले नै यूएई पठाएका थिए ।

    कुनै विकल्प नभेटेपछि उनीहरूले एजेण्टले नै चिनाएका एक भारतीय नागरिकलाई आफ्नो समस्या सुनाए ।

    उनले निःशुल्क टिकट काटिदिने तर त्यसका लागि आफ्नो सामान लैजान पर्ने सर्त राखे ।

    ‘उसले त्यसोभन्दा पनि मन त यति खुसी भयो नि, अब त बाँचिने भयो भन्ने लाग्यो, जे सामान होस्, बोक्ने र घर जाने भन्ने नै भयो ’ गणेशले भन्नुभयो ।

    सामान बोकेर भारतबाट नै जानु पर्ने, भारतीय नागरिकले राखेको अर्को सर्त थियो । त्यसपछि उनी ८ जनाको टिकट काटिदिन राजी भए ।

    ‘दुबईमा भोकै मर्नुभन्दा भारतमै मरौँ भन्ने सल्लाह गर्‍यौं, उसले के सामान पठाउँछ, कसरी पठाउँछ भन्ने कुरामा हामीलाई चिन्ता नै भएन, दीपक परियार त्यो क्षण सम्झनुहुन्छ ।

    ‘हेर्दा खरानीजस्तो धुलो थियो तर धागोले जेलेर सिलाएको थियो’ गणेशले भन्नुभयो ‘हेरेर हामीले के हो भनेर छुट्टाउन सकेनौँ ।’


    गएको असारमा दुबई विमानस्थलबाट उड्नुभन्दा अघि आठै जानालाई कालो कपडाको पाइन्ट लगाउन लगाए । कपडामा खरानीजस्तो धुलो राखेर सिलाएको थियो ।

    ‘पाइन्टमा खरानीजस्तो बस्तु राखेर सिलाइएको थियो, सुटकेसमा पनि माथि माथि चकलेट, काजु र तल भने पाइन्टमा राखेकोजस्तै कुरा राखिएको थियो,’ सानेले सुनाउनुभयो ।

    एजेण्टले दिएको लुगा र सुटकेस बोकेर उनीहरू विमानस्थलमा प्रवेश गरे । मन डरले थुरथुर काँपेको थियो । तर उनीहरूको अघिल्तिर अर्को कुनै विकल्प थिएन । गणेशले भने ट्वाइलेटमा गएर लुगामा के रहेछ भनेर हेर्नुभयो ।

    ‘हेर्दा खरानीजस्तो धुलो थियो तर धागोले जेलेर सिलाएको थियो’ गणेशले भन्नुभयो ‘हेरेर हामीले के हो भनेर छुट्टाउन सकेनौँ ।’

    भारतीय नागरिकले आफूहरूलाई गलत सामान पठाउन लागेछन् भन्ने बल्ल अनुभव भयो उनीहरूलाई । किनकि उनीहरू उड्नुअघि भारतीय नागरिकले आठै जनाको फोटो खिचे र उनीहरूको कागजपत्रसहित भारतमा आफ्नो मानिसलाई पठाए । त्यसपछि जे परे पनि परोस् भनेर उनीहरूले भारतीय नागरिकले भने अनुसार नै विमानस्थलमा सामान्य तरिकाले सबै प्रक्रिया पुरा गरे ।

    ‘प्रत्येक ठाउँमा चेक गर्दा मुटु ढुक्क फुल्थ्यो, यही जेलमा परिन्छ कि जस्तो लाग्यो, तर मर्नुभन्दा बौलाउन बेस भने झैँ भयो ’ साने भन्नुहुन्छ ।

    चेक हुने ठाउँमा उनीहरूको त्यो सामानको जाँच भएन । कुनै अप्ठेरो बिना दिल्ली विमानस्थलमा ओर्लिए ।

    उनीहरू विमानस्थलमा ओर्लिदा त्यहाँ केही मानिसहरू बसिरहेका थिए । उनीहरूले नै विमानस्थलबाट एउटा कोठामा लगे । र लुगा फुकाल्न लगाए । सानेसहित उहाँका साथीले भारतीय नागरिकले लगाउन दिएको कालो पाइन्ट खोलेर सुटकेस पनि जिम्मा दिए । ती भारतीय नागरिकले नै उनीहरूलाई ३५ सय नेपाली रुपैयाँ दिए ।

    त्यो झोलामा के थियो भन्ने कुरा उनीहरूलाई अहिले पनि थाहा छैन । त्यो झोला बोकाएर पठाउने भारतीय नागरिकले उनीहरूलाई त्यो सामान पठाउन किन प्रयोग गरे भन्ने पनि जान्दैनन् उनीहरू ।


    सामान जिम्मा लगाएपछि उनीहरू एक अर्कालाई अङ्कमाल गर्दै निकै बेर रोए । बाँचेर नेपाल फर्कन पाइने भयो भनेर खुसीयाली मनाए । जीवितै आफ्नो देश पुगिनेमा उनीहरू ढुक्क भए ।

    त्यही ३५ सय रुपैयाँले उनीहरू दिल्लीबाट काठमाण्डौ आउने बस चढे । कमाउने सपना बोकेर जुन लुगामा विदेश उडेका थिए त्यही लुगामा उनीहरू तीन महिना परदेशको दुःख भोगेर घरमा आइपुगे ।

    त्यो झोलामा के थियो भन्ने कुरा उनीहरूलाई अहिले पनि थाहा छैन । त्यो झोला बोकाएर पठाउने भारतीय नागरिकले उनीहरूलाई त्यो सामान पठाउन किन प्रयोग गरे भन्ने पनि जान्दैनन् उनीहरू ।

    आफ्नैको विस्वासमा जोखिम मोलेर विदेश जाँदा झण्डै ज्यानै गयो । भएको सम्पत्ति पनि गुम्ने अवस्था आएको छ । किनकि सहकारीबाट लिएको ऋण र ब्याज बढिरहेको छ ।

    आफ्नै भान्जी भनेर विश्वास गर्दा आफू र आफ्नो छोरासहित एकै घरको तीन जना ठगीमा परेका पछुतो लाग्छ सानेलाई ।

    ‘आफ्नैले घात गर्लान् भन्ने के थाहा, विश्वास गरियो, झण्डै ज्यान गयो, घर फर्कन्न पनि ज्यानकै बाजी लगाउन पर्‍यो, अहिले ऋणै ऋण छ म के गरौँ’ साने पछुतो मान्दै भन्नुहुन्छ ।

    एजेण्टको अर्को झुट
    विदेशमा काम र कमाइ नभएपछि उहाँहरूले आफूले तिरेको रकम भए पनि फिर्ता गर्न एजेण्टसँग माग गर्नुभयो । भान्जी निशामार्फत मुख्य एजेण्टहरुलाई सम्पर्क गर्नुभयो । एजेण्टले रकम दिन्न भनेन । तर ६ महिना बित्दा पनि दिएनन् पनि ।

    उनीहरू एजेण्टले नै पैसा दिन्छन् कि भन्ने आशमा १० पटकभन्दा धेरै काठमाण्डौ धाइसके । तर धादिङबाट काठमाण्डौ आइपुग्दा पैसा दिन्छु भन्ने एजेण्ट कि त फोन उठाउँदैनन् कि त मोबाइलको स्विच आफ गरिदिन्छन् ।

    ‘दिन्छु भन्छन्, यहाँबाट काठमाण्डौ जान्छौँ, यो ठाउँमा आइज भन्छन् त्यहाँ जान्छौँ तर एजेण्ट आउँदैनन् ’ साने भन्नुहुन्छ ‘फेरि भोलि आइज भन्छन् भोलि त फोन नै लाग्दैन ।’

    भन्छन् ‘हामी त मरेर पनि बाँचेका छौँ, तपाईँहरू जानीजानी भिजिट भिसामा काम गर्न भनेर विदेश नजानुहोस् ।’


    यता साना किसान कृषि सहकारीले ऋण तिर्नको लागि ताकेता गरिरहेको छ । भएको घर र जायजेथासमेत सहकारीमा राख्नुभएका सानेलाई अब बालबच्चा कसरी पाल्ने भन्ने अर्को चिन्ता थपिएको छ ।

    ‘काम त दिन सकेन, त्यो भुमरीमा मर्नका लागि छोडिदियो तर बाँचेर फर्किएका हामीलाई तिरेको रकम त दिए हुने नि,’ उनीहरू भन्छन् ।

    राम्रो काम र कमाइको प्रलोभनमा आफू ठगीमा परेको भन्दै उनीहरू एजेण्टबाट रकम फिर्ताको माग गर्दै आप्रवासी स्रोत केन्द्र धादिङमा निवेदन दिन आइपुगेका छन् । केन्द्रले निवेदन दिएको र आवश्यक समन्वय र सहजीकरण भइरहेको कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो ।

    उनीहरूलाई आजकाल भिजिट भिसामा विदेश जानुभन्दा साग र सिस्नु खान बेस जस्तो लाग्छ ।

    भन्छन् ‘हामी त मरेर पनि बाँचेका छौँ, तपाईँहरू जानीजानी भिजिट भिसामा काम गर्न भनेर विदेश नजानुहोस् ।’
    यो खबर ऊजयालो अनलाइनका लागी रामकुमार थापाले तयार पारेका हुन्।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, लोकप्रिय, विचारLeave a Comment on ‘भिजिट भिसामा दुबईमा अलपत्र परेपछि स्वदेश फर्किन भारतीय नागरिकको झोला बोक्न बाध्य भयौँ’

    गायक राजेशपायल राईमाथि स्टेजमै हातपात

  • १७ पुष २०७८, शनिबार २०:१३ मा प्रकाशित
  • चर्चित गायक राजेश पायल राई माथि स्टेजमै दुर्व्यवहार भएको छ । अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा उनीमाथि दुर्व्यवहार भएको हो ।

    बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ नेपाल अमेरिकन कम्युनिटीको आयोजना रहेको कन्सर्टमा सांगीतिक प्रस्तुति दिँदै गर्दा एक व्यक्तिले स्टेजमै चढेर उनी माथि हातपात गरेका हुन् । कन्सर्टमा उनीमाथि हातपात भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    अमेरिकामा आयोजना भएको यो कन्सर्ट राजेशको कोरोना सुरु भएपछिको पहिलो हो । कन्सर्टका लागि उनी ४ दिन पहिले अमेरिका उडेका थिए । ८ दिनको कन्सर्टका लागि अमेरिका जान लागेको एयरपोर्टमा उनले केही सञ्चारकर्मीलाई बताएका थिए । राजेश चलचित्र तथा आधुनिक गीतका चर्चित गायक हुन् ।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, मुख्य खबरLeave a Comment on गायक राजेशपायल राईमाथि स्टेजमै हातपात

    साउदी अरबमा पनि कोरोना संक्रमितको संख्यामा वृद्धि

  • १५ पुष २०७८, बिहीबार १५:३२ मा प्रकाशित
  • एजेन्सी, १५ पुस। साउदी अरबमा कोरोना संक्रमित बढ्न थालेका छन् । संक्रमित बढिरहेका बेला साउदी अधिकारीले आज (बिहीबार)देखि सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम पुन: लागू गरेका छन् । हिजो (बुधबार) साउदी अरबमा ७४४ जना नयाँ संक्रमित थपिएको जनाइएको छ । उक्त संख्या अहिले सम्म कै धेरै रहेको जनाइएको छ।

    त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ५ लाख ५४ हजार ६६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल गम्भीर संक्रमितको संख्या ४३ रहेको मन्त्रालयको भनाइ छ ।केही समयअघि साउदी अरबको स्वास्थ्य मन्त्रालयले कोभिड खोपको दोस्रो डोज लगाएको ३ महिनापछि मानिसहरूले बुस्टर डोज लगाउन सक्ने बताएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको बताएका छन् ।-Photo: अगेंच्य

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदी अरबमा पनि कोरोना संक्रमितको संख्यामा वृद्धि

    एनआरएनए आरसिसि अल कासिमको सहयोगमा ३ जना नेपाली स्वदेश फर्के ।

  • १५ पुष २०७८, बिहीबार ०१:१५ मा प्रकाशित
  • समर्पण रम्जान

    २९ डिसेम्बर २०२१! साउदी अरब ! तीन वर्षदेखि साउदीअरब अल कासिमको बन्दर अल जैदी कम्पनीमा कार्यरत ३ जना नेपाली एनआरएनए आरसिसि अल कासिमको सहयोगमा नेपाल फर्केका छन् ।

    रुपन्देही घर भएका कैलास पासी, रौतहट घर भएका हरिन्द्र महरा र सर्लाही घर भएका लखिन्द्र साह तेलिको कम्पनीले नेपाल बाट आएको एक बर्षपछी २ बर्ष सम्म इकमा नविकरण नगरि दिएको र घर जान नसकेको कारण एनआरएनए साउदीका निवर्तमान उपाध्यक्ष तथा एनआरएनए आरसिसि अल कासिमका संरक्षक बिशालकेका कुमार श्रेष्ठलाई सहयोगको लागि अनुरोध गरेका थिए !
    ४ महिना काम गरेको तलब पनि नपाएका ३ जना पीडितहरु काम छोडेर बारम्बार साउदी अरबको लेबर कोर्ट जाँदा पनि कुनै उपाय नभएपछि एनआरएनए आरसिसि अल कासिमलाई सहयोगको लागि अनुरोध गरे सँगै संरक्षक बिशाल कुमार श्रेष्ठ १५ डिसेम्बर आफैं लेबर कोर्ट गएर सहयोग गरे लगत्तै समस्या समाधान भएको थियो ।

    श्रेष्ठको निरन्तर पहलमा पीडितहरुको २२ डिसेम्बरका दिन इक्स्जिट लागेको र २९ डिसेम्बर २०२१ का दिन ३ जनै पीडित आफैंले टिकट काटेर नेपाल फर्कन सफल भएका छन् ।


    उक्त कम्पनीमा धेरै जना नेपाली आएका सोहि कम्पनीमा रहेका नेपालीहरुलाई कहिले करार पत्रमा भए अनुसारको तलब नदिने समस्या त कहिले दुई चार महिनाको तलब रोकिदिने समस्या हुँदा सहयोगको लागि अनुरोध आइरहने बताउंदै बिगतका समयमा पनि दूतावास रियादका कर्मचारी समेत आएर कम्पनी भिजिट गरिएको श्रेष्ठले बताए ।


    कम्पनी राम्रो नहुँदा कतिपय नेपाली उक्त कम्पनीबाट भागेर काम गरेका र कतिपय यस्तै इकमा इक्स्पायर भएर नेपाल फर्किनका लागि पर्खिरहेका, जसको सहयोगका लागि पनि पहल भैरहेको श्रेष्ठले बताए ।।
    उक्त कम्पनीमा तीन बर्षदेखि धेरै नेपालीहरु पीडित हुँदाहुँदै पनि अझैँ नयाँ नेपालीहरु आउने क्रम नरोकिएको र आएपछि उस्तै समस्या भोग्नु परेकोले दूतावास रियादले नीग्रानी गरि नयाँ भिसामा रोक लगाउनु पर्ने अथवा कम्पनीका गतिविधि जाँचेर मात्रै भिसा स्वीकृत गर्नुपर्ने समेत श्रेष्ठ विशालले जनाए ।।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए आरसिसि अल कासिमको सहयोगमा ३ जना नेपाली स्वदेश फर्के ।

    सधैंकालागि साउदीमा अस्ताए तनहुँका सन्तोष अधिकारी !

  • १४ पुष २०७८, बुधबार ०८:०९ मा प्रकाशित
  • दम्माम ,साउदी अरेबिया/
    कमाएर आफू र आफ्ना परिवारको लागि केही गर्छु भनेर वैदेशिक रोजगारको सिलसिलामा साउदी आएका तनहुँका सन्तोष अधिकारी सधैंको लागि साउदीमा नै अस्ताएका छन। 

    साउदीको प्रतिष्ठित कम्पनी अल्मराईको दम्माम स्थित वयरहाउसमा कार्यरत तनहुँ  भानु नगरपालिका-१३का स्व बाबुलाल अधिकारीका ३३ बर्षीय छोरा सन्तोष अधिकारीको आइतबार दिउसो २ बजे सुतेको बेला निधन भएको उनी संगै कार्यरत उनका साथीले जानकारी दिएका छन्।

    रातको ड्युटी गरि खाना खाई सुतेका उनी एक्कासि खोकेको जस्तो आवाज गरेपछि रुम पाटनरले अन्य साथी तथा कम्पनीलाई खवर गरेका थिए। कम्पनीले स्थानीय प्रहरी र एम्बुलेन्सलाई खबर गरि अस्पताल लगिएको थियो।अस्पतालले मृत्यु भएको घोषणा गरेका कम्पनीका सिनियर सेल्स सुपरभाइजर राजु केसीले जानकारी दिनुभयो। 
     
    आगामी फ्रेब्रुअरीमा घर जान तयारी गरेका अधिकारीको छुट्टी पास भइ टिकटको प्रोसेस रहेको र छुट्टी सम्बन्धि कुराले उत्साहित हुने उनी घर जान नपाई निधन भएको केसीले भावुक हुँदै बताउनुभयो ।

    उनको बारेमा परिवार र नेपाली दूतावासलाई जानकारी गराएको , आबस्यक कानुनी कारबाही गरेर शवलाई छिट्टै नेपाल पठाउने केसीले बताउनुभयो । 

    राहदानी नम्बर ०८१६५१३७ बाहक मृतक अधिकारीको आमा ,श्रीमती एक छोरा र एक छोरी रहेका छन्। अल्पायुमै अधिकारीको निधनले परिवारलाई ठूलो धक्का लागेको छ।

    सभार:- मयुर पाटी डटकम

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on सधैंकालागि साउदीमा अस्ताए तनहुँका सन्तोष अधिकारी !

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P