• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: admin

साउथ इन्डियन फिल्मका स्टार जोडी चैतन्य र समन्थाको सम्बन्ध विच्छेद

  • १६ आश्विन २०७८, शनिबार २१:१४ मा प्रकाशित
  • समन्था भन्छिन् – सम्बन्ध विच्छेदपछि पनि विशेष सम्बन्ध रहिरहनेछ

    मुम्बई — साउथ इन्डियन फिल्मका सुपरस्टार नागा चैतन्य र समन्था अक्किनेनीले ४ वर्षको वैवाहिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनीहरुले आफूहरु अब अलग हुने फैसला गरेको प्रतिक्रिया दिएका छन् ।

    साथै उनीहरुले यस मुद्दामा गोपनीयता दिन पनि सञ्चारमाध्यम समक्ष आग्रह गरेका छन् । समन्थाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले र नागा चैतन्यले आफ्नो बाटोमा हिँड्नका लागि पति पत्नीको रुपबाट अलग हुने फैसला गरेका छौं । एक दशकभन्दा लामो मित्रता हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो । साथै हामीलाई विश्वास छ कि हाम्रो बीचमा एक विशेष सम्बन्ध रहनेछ ।’

    तर मिडियासमक्ष उनले गोपनीयताको माग समेत गरेकी छन् । उनले यस्तो कठिन समयमा आफूहरुलाई गोपनीयता र समर्थन चाहिएको भन्दै शुभचिन्तक र प्रशंसकहरुसँग अपिल समेत गरेकी छन् । उनले लेखेकी छन्, ‘यो कठिन समयमा हाम्रो समर्थन गरिदिनुहोला जसले हामीलाई यसभन्दा अगाडि बढ्न मद्दत मिलोस् ।’

    दुई चर्चित दक्षिण भारतीय कलाकारको सम्बन्ध विच्छेदबारे केही दिनदेखि नै भारतीय सञ्चारमाध्यमले समाचार बनाउँदै आएका थिए । सम्बन्ध विच्छेदको फैसलापछि समन्था र चैतन्यलाई अदालतमा परामर्श समेत दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस सम्बन्ध विच्छेदपछि अभिनेत्री समन्थाले ५० करोड रुपैयाँ पाउने बताइएको छ ।

    समन्था अक्किनेनी र नागा चैतन्यले ६ अक्टोबर २०१७ मा गोवामा पहिले हिन्दू रीति रिवाज अनुसार र ७ अक्टोबरमा फेरि क्रिश्चियन रीति रिवाज अनुसार विवाह गरेका थिए । विवाहपछि समन्थाले आफ्नो नामको अगाडि अक्किनेनी जोडेकी थिइन् । जबकी सम्बन्ध विच्छेदपछि समन्थाले आफ्नो ट्वीटर ह्यान्डलबाट अक्किनेनी हटाएकी छन् । आगामी अक्टोबर ६ मा विवाहको चार वर्षगाँठ पूरा हुनुअघि नै उनीहरुले अलगिने घोषणा गरेका हुन् ।

    Posted in कला /जीवनशैलीLeave a Comment on साउथ इन्डियन फिल्मका स्टार जोडी चैतन्य र समन्थाको सम्बन्ध विच्छेद

    पोलको भाडा नबुझाउने इन्टरनेट कम्पनीको तार काट्दै प्राधिकरण

  • १६ आश्विन २०७८, शनिबार १२:५६ मा प्रकाशित
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको पोल प्रयोग गरेर बढेको भाडा सम्झौता नगर्ने र नतिर्ने कम्पनीहरूको इन्टरनेटको तार काटिने भएको छ ।

    भाडा तिर्ने सम्झौता गर्ने तर भाडा तिर्ने अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन काटिने भएको हो ।

    प्रमधिकरणले अप्टिकल फाइबरलगायत संरचना प्रयोग गर्ने कम्पनीहरुका लागि बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि प्राधिकरणले शुक्रबारसम्म समय दिएको थियो ।

    प्राधिरणले उपलब्ध गराएको समयसम्ममा पनि सेवा प्रदायकहरू सम्पर्कमै नआएपछि शनिबारबाट तार काट्न लागिएको प्राधिकरणले जनाएको छ ।

    शनिबार (आज) बाट हरेक इन्टरनेट सेवा प्रदायकको एक–एकवटा प्वाइन्टमा सांकेतिक रूपमा तार काट्छौं, एक साता पर्खिँदा पनि भाडा नतिरेको खण्डमा काट्ने दरलाई बढाएर दुई वा सोभन्दा बढी प्वाइन्टमा काट्दै लैजान्छौं,’प्राधिकरणले भन्यो, ‘दुई महिनाभित्र यसलाई टुंग्याउनुपर्छ, अरु थुप्रै काम छन्, यसमा मात्र अल्झेर बस्ने समय छैन ।

    प्राधिकरणले देशभर प्राधिकरणको संरचना प्रयोग भएको ठाँउ सबैमा तार काट्ने जनाएका छ ।

    Posted in बिज्ञान/प्रविधिLeave a Comment on पोलको भाडा नबुझाउने इन्टरनेट कम्पनीको तार काट्दै प्राधिकरण

    परीक्षणकै क्रममा रहेको कोरोना भाइरसविरुद्धकाे खाने औषधि प्रभावकारी

  • १६ आश्विन २०७८, शनिबार १२:४७ मा प्रकाशित
  • काठमाण्डाै – परीक्षणकै क्रममा रहेको कोरोना भाइरसविरुद्धकाे खाने औषधिले प्रभावकारी काम गरेको देखिएको छ ।

    अमेरिकामा अन्तिम परीक्षणमा रहेको ‘मोल्नापिराविर’ औषधिले गम्भीर बिरामी र ज्यान जानसक्ने अवस्थालाई रोक्न सकिने देखिएको बीबीसीले जनाएको छ । यो ट्याब्लेट दिनको दुई पटक कोरोना सङ्क्रमित बिरामीलाई दिइएकोमा नतिजा सकारात्मक आएको अमेरिकी औषधि उत्पादक कम्पनीले जनाएको छ ।

    अबको दुई हप्ताभित्रै अमेरिकामा यो औषधिको आकस्मिक प्रयोगका लागि स्वीकृति माग्दै निवेदन दिने कम्पनीले जनाएको छ । फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन एफडीएले परीक्षण नतिजा पुन:मूल्याङ्कन नगर्दासम्म औषधिको प्रयोगमा सावधानी आवश्यक रहेको जनाएको छ ।

    यो औषधि सुरुमा इन्फ्लुएन्जाको उपचारका लागि विकास गरिएको हो । तर अहिले कोभिड–१९ को भाइरस शरीरमा फैलिन नदिने जेनेटिक कोड राखेर परीक्षण गरिएको हो ।  ७ सय ७५ जनामा गरिएको परीक्षणमा औषधि खाएकामध्ये ७ दशमलव ३ प्रतिशतमात्रै अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी भएका पाइएको छ । 

    Posted in बिज्ञान/प्रविधिLeave a Comment on परीक्षणकै क्रममा रहेको कोरोना भाइरसविरुद्धकाे खाने औषधि प्रभावकारी

    खुसी मनाउन हतार नगरौं, अझै धेरै गर्न बाँकी छ : प्रशिक्षक अल्मुताइरी

  • १६ आश्विन २०७८, शनिबार ०९:४० मा प्रकाशित
  • नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले साफ च्याम्पियनसिप-२०२१ मा माल्दिभ्समाथि शुक्रबार राति प्राप्त जितका लागि पूर्णत: हकदार रहेको बताएका छन् । उनले अहिले नै खुसीयाली मनाउन हतार नगर्न पनि अनुरोध गरेका छन् । उनले माल्दिभ्समाथिको जित आफैमा ऐतिहासिक भएको भने मानेका छन् ।

    प्रशिक्षक अल्मुताइरीले भनेका छन्, ‘माल्दिभ्सलाई उसकै भूमिमा हराउनु आफैमा ठूलो हो, यसको फरक महत्त्व छ। त्यसमाथि साफ च्याम्पियनसिपमै यो माल्दिभ्समाथि नेपालको पहिलो जित हो। त्यसैले म आफै निकै भावनात्मक भएको छु र उत्तिकै खुसी पनि छु। तर अहिले नै धेरै खुसीयाली मनाउन हतार पनि नगरौं।’

    उनले थपे, ‘म सबै नेपाली फुटबल समर्थक र अखिल नेपाल फुटबल संघ सबैलाई भन्न चाहन्छु, हामीले अझै धेरै गर्न बाँकी छ। हामी सबै काम योजनाबद्ध ढंगले तह तहमा गर्नेछौं। अब हाम्रो खेल श्रीलंकाविरुद्ध छ। हामीले अहिले नै सबथोक प्राप्त गरेका छैनौं। हामी सबै संयमित हुनु पर्छ।’ अल्मुताइरीका लागि व्यक्तिगत रूपमा पनि यो जित विशेष रह्यो।

    मालेस्थित नेसनल स्टेडियममा नेपाली टिमको हौसला बढाउन आएका नेपाली दर्शक।

    खेलको अघिल्लो दिन मात्र उनका काकाका कुवेतमा निधन भएको थियो र यसै कारण उनी प्रतियोगिताको प्रि म्याच कन्फ्रेन्समा उपस्थित समेत हुन पाएनन्। उनलाई ढाडको पनि समस्या भइरहेको छ र यसका लागि शल्यक्रिया नै आवश्यकता रहेको छ। यस्तोमा उनले भने, ‘प्रशिक्षकको काम कहाँ सजिलो छ र? फुटबलमा प्रशिक्षकको व्यक्तिगत भावनाको कुनै अर्थ छैन।’

    प्रशिक्षक अल्मुताइरीको भनाइ थियो, ‘मेरो परिवारको एक सदस्यको निधन भएको छ र तर अहिले म यहाँ व्यस्त छु। मेरा लागि के ठूलो हो, त्यसको अर्थ छैन। मैले टिमको भलाइका लागि काम गर्नु पर्छ। म आफै ढाडको समस्याबाट गुज्रिरहेको छु। हामी सबैका लागि यति बेला टिमको प्रदर्शनको मात्र अर्थ छ।’

    तस्बिरहरू : एन्फा

    Posted in खेलLeave a Comment on खुसी मनाउन हतार नगरौं, अझै धेरै गर्न बाँकी छ : प्रशिक्षक अल्मुताइरी

    पत्रकार वलीको निधन

  • १५ आश्विन २०७८, शुक्रबार २२:२६ मा प्रकाशित
  • तुलसीपुर
    १५ असोज/ पत्रकार हेम प्रकाश वलीको अकस्मात निधन भएको छ । वलीको उपचारको क्रममा नर्सिङ होम बाँकेमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख झलक प्रसाद शर्माले जानकारी दिएका छन ।

    वली बिरामी भएपछी आफन्तले तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि वलीलाई थपा उपचारका लागि नसिंङ होममा लगिएको थियो । पत्रकार वलीले रेडियो तुलसीपुर र एसटीएन च्यानल लगाएतका संचार माध्यममा आबद्द  थिए  । सारांश तुल्सीपुर अनलाईन

    Posted in UncategorizedLeave a Comment on पत्रकार वलीको निधन

    देशलाई कसरी अगाडि बढाउने भनेर साेच्ने बेला आयाे : हिमानी शाह

  • १५ आश्विन २०७८, शुक्रबार १८:४७ मा प्रकाशित
  • नवलपरासी – पूर्वयुवराज्ञी हिमानी शाहले देशलाई कसरी अघि बढाउने भनेर एक पटक सोच्ने बेला आएको बताउनुभएको छ । आज शुक्रवार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्वयुवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एक पटक देश विकासका लागि सोच्ने बेला आएको बताउनुभयो ।

    उहाँले आय आर्जनका लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाको गरिबी निवारण गर्नुपर्ने बताउनुभयो । युवा र महिलालाई गरिबी निवारण गर्नका लागि नयाँ तरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्वयुवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरूको समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्ने बताउनुभयो ।   

    पूर्वयुवराज्ञी शाहले भन्नुभयो, ‘नेपाली हुनुको नाताले अब समय आयो, सबै एक भएर सोचौँ, मनन गरौँ कि हामी हाम्रो देशलाई कसरी उत्थान गर्न सक्छौँ, आय आर्जनका लागि दिगो घरेलु उद्योगको सञ्जाल स्थापना गरी त्यसमार्फत युवा र महिला वर्गको गरिबी निवारणमा टेवा, सेवा प्रदान गर्ने कोषको विविध लक्ष्यमध्येको एक हो, यसका लागि नवीन परिवर्तनात्मक तरिकाको खोज अन्वेषण आवश्यक छ । सबै नेपालीलाई निश्चित समयभित्र कोरोनाविरुद्धको खोपको सुनिश्चित गर्न आवश्यक छ । कृषि क्षेत्रमा रहँदै आएका, किसानले भोगिरहेका समस्याको समाधान गरिनुपर्छ, पर्यावरण सन्तुलनका लागि हरित प्रयोग, नेपाल र नेपालीका लागि स्थानीय लक्ष्य, नेपाली वन, नेपाली वस्तु किन ? भन्नेजस्ता नाराहरू आज अझ बढी यथार्थ भएको छ । प्रतिभा पलायन र ज्ञान, सीप एवम् क्षमताबीचको दुरी परिपूर्ण गर्नलाई हामी न त नजरअन्दाज गर्न सक्छौँ, न त यो स्थितिलाई सहेर बस्ने विलासिताको सुविधा नै हामीसँग बाँकी रहेको छ ।’

    पूर्व युवराज्ञी शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नव सुधार गर्दै देशलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो । उहाँले देशको सेवा गरेमात्रै देशले हाम्रो लालनपालन गर्ने भन्दै विकसित देश निर्माणका लागि प्रयत्न गरिरहनुपर्ने बताउनुभयो ।   

    Posted in विचारLeave a Comment on देशलाई कसरी अगाडि बढाउने भनेर साेच्ने बेला आयाे : हिमानी शाह

    बाहुबली अखडा बन्ने जोखिममा एनआरएनए

  • १५ आश्विन २०७८, शुक्रबार १२:०७ मा प्रकाशित
  • प्रवासी नेपालीको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशन (कात्तिक ६–८) नजिकिँदो छ । भौगोलिक रूपमा ८० देशमा फैलिए पनि शैली र एजेन्डाको हिसाबले यो साँघुरिंदै गएको देखिन्छ ।

    शैक्षिक, सामाजिक, आर्थिक क्षितिज खोज्दै परदेसिएका नेपालीले त्यहाँको स्रोत, सीप, प्रविधि र संस्कारअनुसार आफ्नो पृष्ठभूमिलाई समृद्ध बनाउन सकून्, त्यसका लागि अवधारणा– अनुभव साझा गर्ने अवसर मिलोस् भन्ने उद्देश्यले नै यो संस्था स्थापना भएको हुनुपर्छ । तर, उताका अनुभव सिक्नेभन्दा पनि यतैको राजनीतिक भारीले थिचिएर गैरआवासीय नेपाली अभियान दिशाहीन भएको विश्लेषण गर्नुपर्ने अवस्था आएको छ । नेतृत्व छनोटमा विचारको मन्थन होइन, शक्तिको प्रदर्शन भइरहेका खबर अमेरिकादेखि बेलायत, पोर्चुगलदेखि अस्ट्रेलिया र बेल्जिमयदेखि जपानबाट आइरहेका छन् । आमरूपमा प्रवासी नेपालीहरूको बौद्धिक मञ्च मानिने नेपाली डायस्पोरा बाहुबलीको अखडा बन्ने जोखिम निरन्तर बढ्दै छ ।

    खासमा एनआरएनए संस्था मात्रै होइन, अभियान हो । यो अभियानसँग मुख्य दुई पाटा जोडिएका छन्— प्रवासी नेपालीले आर्जन गरेको सीप–पुँजीलाई संगठित गर्नु र सुरक्षित आप्रवासनको ढोका खोल्नु । तर, सामाजिक संस्थाका रूपमा दर्ता भएको एनआरएनको नेतृत्वमा पुग्न राजनीतिक दल र गुटका आधारमा प्रतिस्पर्धा हुन थालेको छ । एउटा महाधिवेशन सकिएलगत्तै अर्को महाधिवेशनको तयारी गर्ने, त्यसका लागि गुट बनाउने, समुदायलाई विभाजित गर्ने खेल हुन थालेको छ । यसले पूर्व अस्ट्रेलियादेखि पश्चिम अमेरिकासम्म भएका नेपालीलाई जोड्ने होइन, तोड्ने प्रवृत्ति विकास भएको छ । अन्तर्राष्ट्रिय सम्मेलनअघि वैचारिक विमर्श गर्ने, समुदायको समृद्धिका अवधारणा र कार्ययोजना बनाउने होइन, पैसाको खोलो बगाउने र मत प्रभावित गर्ने परम्परा बसेको छ । संस्थामा राजनीति यति हाबी भएको छ कि स्वतन्त्र रूपमा उम्मेदवारी र मत दिन पाउने अवस्थाबाट पार्षद्हरू वञ्चित हुँदै गएका छन् । अवसरको खोजीमा बिदेसिएका नेपाली यसरी ध्रुवीकृत भएको खबर स्वदेशका लागि सुखद होइन ।

    दलहरूले हस्तक्षेप गर्नुका पछाडि राजनीतिक र आर्थिक पाटो जोडिएका छन् । प्रवासमा भएका झन्डै ९० प्रतिशत युवा वैदेशिक रोजगारीमा रहेकाले आउने–जाने गरिरहन्छन् । उनीहरूलाई संगठित गर्ने र परिवार प्रभावित गरेर भोट बढाउने रणनीति दलहरूको छ । त्यस्तै, प्रवासीहरूको आर्थिक पाटो दरिलो भएकाले उनीहरू आर्थिक सहयोगका बलियो स्रोत पनि हुन् । त्यसैले अचेल दलका सदस्य गाउँमा होइन, प्रवासमा भेटिन्छन् ।

    पछिल्ला दुई दशकमा अध्ययन र कामको सिलसिलामा मुलुकबाहिर पुगेका नेपालीको संख्या ४० लाख नाघिसकेको छ, सँगै उनीहरूका साझा सवाल पनि बढिरहेका छन् । तिनलाई संस्थागत हिसाबले अगाडि बढाउने एनआरएनएको उद्देश्य प्रशंसनीय नै छ । भूकम्प, नाकाबन्दी र कोभिड महामारीको समयमा एनआरएनएले खेलेको भूमिकाले संस्थाको महत्त्व थप बढाएको छ । संस्थाको संगठन, आर्थिक हैसियत, पहुँच र प्रभाव विस्तार भइरहेकाले यसमा आफ्नो उपस्थति र पकड बढाउन नेपालका राजनीतिक दलको प्रयत्न पनि बढ्दै गएको छ । जसरी स्वदेशभित्र सामुदायिक हितका लागि खोलिएका सामुदायिक वन उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समिति, आमा समूह र पेसागत सञ्जालमा दलीय प्रभुत्व बढेको छ, त्यही शैली प्रवासमा पनि देखिएको छ ।

    प्रवासमा सबै राजनीतिक दलका भ्रातृ संगठनले खुला रूपमै आफ्नो क्रियाशीलता बढाउँदै लगेका छन् । कुन देशमा कसको संगठन बलियो छ भनेर देखाउन पनि एनआरएनएको मञ्च प्रयोग भइरहको छ । उम्मेदवार जिताउन दलीय नेता ठेकेदार नै बन्ने प्रवृत्ति देखिएको छ । त्यसको प्रत्यक्ष समन्वय र निगरानी राजनीति दलका ‘हेडक्वार्टर’ बाट गर्न थालिएको छ । जरादेखि नै दलले आफ्नो पकड जमाउन खोज्दा प्रवासमा नेपाली–नेपालीबीच वैचारिक विमति मात्रै होइन, कुटाकुटै भइरहेको छ । नेपालीको छवि धुमिल्याउने यस्ता घटना सिंगो देशका लागि दुर्भाग्यपूर्ण छन् ।

    एनआरएनएमा भएको दलीयकरणको दोष दलका नेताहरूलाई दिएर मात्र पुग्दैन, सबैभन्दा पहिले प्रवासी अभियन्ताले सोच्नुपर्छ, संस्थाको उम्मेदवार बन्न दलको ढोका–ढोका पुग्नुपर्ने अवस्था किन आयो ? स्वच्छ र पारदर्शी ढंगले छनोट भए नेतृत्वमा पुग्ने, नसकेमा आफ्नो दैनन्दिन काम गरेर परिवार, संस्था र समाजलाई सकेको योगदान गर्न नसक्ने अभियन्ताको बाध्यता के हो ? व्यक्तिगत स्वार्थपूर्तिका लागि पैसा पेलेर आमप्रवासीलाई भर्‍याङ बनाउँछु भन्ने नेतृत्वलाई दलका नेताले भर्‍याङ बनाउन सक्छन् । त्यसैले एनआरएनए सत्ताको भर्‍याङ होइन, प्रवासी नेपालीको विश्वासकेन्द्र बन्नुपर्छ । सामाजिक–आर्थिक एकता र समृद्धिको मूल उद्देश्यलाई केन्द्रमा राखेर न्यायपूर्ण सामाजिक काममा अगाडि बढ्नुपर्छ । त्यसले मात्र संस्थाको छवि सुधार्ने, सदस्यको आत्मविश्वास बढाउने र देशको समृद्धिको साझेदार हुने वातावरण बन्न सक्छ । सारांश कान्तिपुर पत्रिका

    Posted in विचारLeave a Comment on बाहुबली अखडा बन्ने जोखिममा एनआरएनए

    एमालेको विधान महाधिवेशन आजदेखि

  • १५ आश्विन २०७८, शुक्रबार ११:५३ मा प्रकाशित
  • काठमाण्डौ,असोज १५ नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन शुक्रबारदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजना हुँदैछ

    महाधिवेशनको उद्घाटन शुक्रबार दिउँसो सवा बाह्रबजे पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने मूल व्यवस्थापन समितिका संयोजक तथा स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले जानकारी दिए।

    विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेशागत संगठनबाट चुनिएका प्रतिनिधि, प्रवासका संघ संगठनहरुबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधान वमोजिम मनोनित सदस्यहरु प्रतिनिधिका रुपमा रहने बताइएको छ।

    पार्टीको नीति, विचार र संरचनाबारे टुंगो लगाउन एमालेको विधान महाधिवेशन हुन लागेको हो। पार्टीको विचार, सिद्धान्त, संरचना, कार्यनीति एवं रणनीतिबारे देशभरका प्रतिनिधिले दुई दिनसम्म छलफल गरी निचोड निकाल्ने छन्।

    महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमा छलफल हुनेछ। तीनवटै प्रतिवेदनमा छलफलपछि विधानको टुंगो लाग्ने स्थायी समिति सदस्य सुवास नेम्बाङले जनाए।

    महाधिवेशनको दोस्रो दिन शनिबार समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ। तेस्रो दिन आइतबार दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ।

    महाधिवेशनले पाँच वर्षका लागि पार्टीको नीति तय गर्नेछ। प्रस्तावित विधानमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ७ सचिवसहित १४ सदस्यीय पदाधिकारीको प्रस्ताव गरिएको छ।

    केन्द्रीय कमिटीको असोज ८, ९ र १० गतेको बैठकमा उपाध्यक्षको संख्या बढाएर ७ पुर्‍याउनुपर्ने माग उठेको थियो। प्रस्तावित विधानमा ३५ सदस्यीय स्थायी समितिको प्रस्ताव छ। पोलिटब्युरो र वैकल्पिक सदस्यको व्यवस्था हटाइएको छ।

    अध्यक्षको नेतृत्वमा ७ सदस्यीय केन्द्रीय सचिवालय र पाँच सदस्यीय केन्द्रीय कार्यालयको प्रस्ताव गरिएको छ। विगतमा एमाले र माओवादीबीच पार्टी एकतापछि बनेको नेकपामा सचिवालयको संरचना बनाइएको थियो।

    Posted in राजनीतिLeave a Comment on एमालेको विधान महाधिवेशन आजदेखि

    भोलिबाट साफ च्याम्पियनसिप, नेपाली टोलीको कतार भ्रमण र आशा

  • १४ आश्विन २०७८, बिहीबार १७:३६ मा प्रकाशित
  • काठमाडौं।कोरोना भाइरस महामारीबीच एक वर्ष धकेलिएको दक्षिण एसियाली प्रतिष्ठित साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १३औँ संस्करण माल्दिभ्समा भोलिबाट सुरु हुँदै छ । हरेक दुई वर्षमा हुने साफ च्याम्पियनसिप कोरोनाकै कारण धकेलियो ।

    खासमा यस पटक साफ आयोजना गर्ने बंगलादेशले जिम्मा पाएको थियो । कोरोना र मुख्य प्रायोजन लिएर धेरै दबाब खेप्न नसकेको बंगलादेश फुटबल फेडेरेसनले आयोजनाबाट नाम फिर्ता लियो । यसपछि नेपाल र माल्दिभ्सले साफ आयोजनाको लागि प्रस्ताव गरे । दुवै टोलीलाई केही सर्त राखियो ।

    त्यसमा माल्दिभ्स नेपालभन्दा बलियो देखियो र दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यसमिति बैठकले माल्दिभ्सलाई आयोजनाको स्वीकृति दियो । योसँगै १३औँ संस्करणको साफ १–१६ अक्टोबरसम्म माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आयोजना हुनेछ ।

    यस पटक साफमा पाँच राष्ट्र मात्र सहभागी हुनेछन् । भुटानले कोरोना कारण सहभागी नहुने बताउँदा फिफाको प्रतिबन्धका कारण पाकिस्तानले सहभागिता जनाउने छैन । सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुने साफमा साविक विजेता माल्दिभ्स, साविक उपविजेता भारतसहित नेपाल, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । तालिकाको शीर्ष दुईमा रहने टोली दक्षिण एसियाली च्याम्पियन बन्नेछ ।

    गत फागुनमा नेपालले मुख्य प्रशिक्षकमा कुवेती नागरिक अब्दुल्लाह अल्मुताईरीलाई भित्र्याउँदै साफको योजना र प्रशिक्षण सुरु गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अल्मुताईरीलाई आफ्नो मुख्यालयमा भित्र्याउँदै गर्दा उनले आफ्नो मूख्य लक्ष्य नेपाललाई साफको उपाधि दिलाउने बताएका थिए । उनले एन्फासँग सहयोग माग्दै खेलाडीलाई बढीभन्दा बढी अभ्यास दिन आग्रह गरे ।

    त्यसयता, नेपाली टोली लगातार केही प्रतियोगिता, केही मैत्रीपूर्ण खेल, बन्द प्रशिक्षण र बन्द प्रशिक्षण क्रममा मैत्रीपूर्ण खेलमा रहेको छ । अब्दुल्लाहको आगमनसँगै नेपालले सात ठूला खेल खेलिसकेको छ । अब अब्दुल्लाहको प्रशिक्षणमा नेपालले खेल्ने साफ च्याम्पियनसिप सबैभन्दा महत्वपूर्ण प्रतियोगिता हो ।

    हाल दक्षिण एसियाली फुटबलबाट माथि उठ्न नसकेको नेपाली टोलीको ‘टार्गेट’ नै साफ उपाधि रहने गर्दछ । नेपालले साफको १३औँ संस्करण आइपुग्दा हालसम्म उपाधि हात पार्न सकेको छैन । यति मात्रै हैन, नेपाल फाइनल नै पुग्न सकेको छैन । नेपाल सधैँ साफको उपाधि दाबेदारी रह्यो र उपाधिबिहीन पनि । यस क्रममा नेपालले १३ संस्करण नै खेलेको छ ।

    त्यसैले मालेमा नेपाली टोलीको लक्ष्य मात्र उपाधि हुनेछ । यसबाट मूख्य प्रशिक्षक अब्दुल्लाहले कुनै बाहना पाउने छैनन् । सामाजिक सञ्जालमा आफ्ना शुभेच्छुकलाई पहिलो पटक साफ उपाधि जिताउने बनाउँदै गर्दा उनको वास्तविक परीक्षा शनिबार (पर्सी)बाट हुनेछ ।

    मालेस्थित राष्ट्रिय रंगशालामा हुने साफ शुक्रबार (भोलि) उद्घाटन हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा शनिबार आयोजक माल्दिभ्सको सामना गर्दै एउटा मिसन सुरु गर्नेछ । खेल राति पौने १० बजे सुरु हुनेछ ।

    कतार भ्रमण

    नेपाललको लागि कुवेती प्रशिक्षक हुन् अब्दुल्लाह अल्मुताईरी । तर, उनले प्रो लाइसेन्स कतार फुटबल संघबाट पूरा गरेका हुन् । यता, साफ माल्दिभ्समा हुँदैछ । हाल माल्दिभ्समा तापक्रमसमेत उच्च छ । यसैले नेपाली प्रशिक्षक अब्दुल्लाहले माल्दिभ्सको हावापानीसँग मिल्ने गरी नेपाली टोलीको बन्द प्रशिक्षण कतारमै राखे । नेपाली टोलीले १६ दिन कतारमा प्रशिक्षण गरेर २७ सेप्टेम्बर मात्र माले प्रस्थान गरेको हो ।

    यसअघि नेपाली टोलीले पोखरा र काठमाडौंमा तयारी गर्दै साफ अघि भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ पहिलो खेल बराबरीमा समाप्त भएको थियो भने दोस्रो खेल भारतले आफ्नो पक्षमा पारेको थियो ।एन्फाले समेत नेपाली टोलीलाई यस पटक प्राथमिकतामा राख्दै कतार भ्रमणमा पठाएको हो । मूख्य प्रशिक्षक अब्दुल्लाहको चाहना अनुसार नै नेपालले कतार भ्रमण पायो । अब्दुल्लाहले आफ्नै पहलमा स्थानीय एक क्लब र ओमान राष्ट्रिय फुटबल टोलीसँग नेपाली टोलीलाई मैत्रीपूर्ण खेल दिलाए ।

    एक प्रकारले भन्दा नेपाली टोली कतारमा अझै मजबुद बनेको छ । विदेशी भूमिमा विदेशी प्रशिक्षकको साथ नेपाली टोलीले पहिलो पटक उच्च मनोबलका साथ प्रशिक्षण पूरा गरेको छ । कतार भ्रमण ठ्याक्कै कस्तो रह्यो भनेर शनिबार खेलले नै बताउनेछ ।

    साफ उपाधिको आशा

    प्रशिक्षक अब्दुल्लाहले आफ्नो पहिलो र दोस्रो पत्रकार सम्मेलन तथा भारतसँग खेल्दै गर्दा आफ्नो मूख्य लक्ष्य साफ च्याम्पियनसिप नै रहेको बताएका थिए । नयाँ खेलाडीलाई प्राथमिकतामा राख्दै टोलीको रणनीतिसमेत नयाँ बनाई अब्दुल्लाहले साफको उपाधि आशा देखाएका हुन् । यति मात्र हैन पछिल्लो नेपालको रणनीति काउन्टरमा गएको र नेपाली टोलीमा ‘वान टिम वान गोल’ नारा दिलाउने उनै अब्दुल्लाह हुन् ।

    अब्दुल्लाहबाट नेपाली टोलीले धेरै नै आशा गरेको छ । यति मात्र हैन पछिल्लो समयमा उनै अब्दुल्लाहले सामाजिक सञ्जालमा एक प्रकारको आफ्नो शुभेच्छुक जम्मा गरेका छन् ।पछिल्लो समय केही विवादमा परेका अब्दुल्लाहलाई साफबाट आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती रहेको छ । अब्दुल्लाहले आफैँ कार्यरत संस्थाको वरिष्ट उपाध्यक्ष पंकज नेम्वाङको बदनाम गरेका छन् । यस्तै नेपालका पूर्वखेलाडीलाई आरोप लगाएका छन्, उपाधि जित्न नसकेको भनेर ।

    यी तमाम विषयका बीच अब्दुल्लाहले उपाधि हात पार्न सके उनी नेपालका लागि सबैभन्दा उत्कृष्ट र सफल प्रशिक्षक गनिनेछन् ।साफको १३औँ संस्करण शुक्रबारबाट सुरु हुँदै गर्दा सम्पूर्ण नेपालीको आशा छ । यो युवा टोली र प्रो लाइसेन्स प्रशिक्षक अब्दुल्लाहले नेपाली टोलीलाई पहिलो पटक उपाधि दिलाउनेछन् ।

    Posted in खेलLeave a Comment on भोलिबाट साफ च्याम्पियनसिप, नेपाली टोलीको कतार भ्रमण र आशा

    तीन दिन भित्र सडक पेटीमा रहेका फुटपाथ पसल हटाउन आग्रह

  • १४ आश्विन २०७८, बिहीबार १५:०१ मा प्रकाशित
  • तुलसीपुर,
    १४-असोज/ तुलसीपुर उपमहानगरपालिकाले बजार क्षेत्रका फुटफाथ पसल तथा ठेलागाडाहरु तीन दिन भित्र हटाउन आग्रह गरेको छ । सड्क पेटीमा फुटपाथ पसल संचालन गर्दा बजार अव्यवस्थित हुनुका साथै दुर्घटनाको जोखिम बढेकाले फुटपाथ पसल र ठेलागाडाहरु असोजको १३ देखि लागू हुने गरी तीन दिन भित्र हटाउन आग्रह गरेको हो ।

    तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क स्थित पातुखोला पुलको उत्तर तर्फ खाली स्थानमा फुटपाथ तथा ठेलागाडामा पसल संचालन गर्न पटकपटक सूचना तथा माईकिङ गरी जानकारी गराउँदा समेत अटेरी गरेको हुँदा अबको तीन दिन भित्र पसल हटाउन आग्रह गरेको हो ।

    बुधबार तुलसीपुरमा बसेको पुर्ण बैठकबाट निणर्य भएको हुँदा अन्तिम पटक पुनः यो सूचना जारी गरिएको छ, अन्यथा तोकिएको समयभित्र फेरी अटेरी गरेमा सामानहरु उठाईने र सो सामान उठाउँदा कुनै क्षेति भएमा तुलसीपुर उपमहानगरपालिका जिम्मेवार नहुँने सूचनामा जानकारी गराईएको छ । उपमहानगरपालिकाले फेरी एक सूचना जारी गदै असोजको १३ गते देखि लागू हुने गरी बजार क्षेत्रका सडक पेटीमा व्यापार व्यवसायी गदै आएका फुटफाट पसल र ठेलागाडाहरु तिन दिन भित्र हटाउन भनेको छ ।

    Posted in अर्थLeave a Comment on तीन दिन भित्र सडक पेटीमा रहेका फुटपाथ पसल हटाउन आग्रह

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P