वसन्त अनुभव ९ असार/चितवन नमस्ते आधुनिक लघुकथा मञ्चले ‘वर्ष लघुकथा स्रष्टा सम्मान- २०८२’बाट लघुकथा सर्जक खगेन्द्र बस्याललाई सम्मान गर्ने भएको छ । संस्थाले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा असार ९ गते उक्त घोषणा गरेको हो ।
संस्थाले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर विभिन्न पुरस्कार, पदक, सम्मान प्रदान गर्नुका साथै अग्रज एवम् वरिष्ठ व्यक्तित्वलाई अभिनन्दन गर्दै आएको छ ।
वर्षभरि आफ्नो आधिकारिक फेसबुक समूहको भित्तोमा सबैभन्दा धेरै उत्कृष्ट लघुकथाहरू प्रेषित गर्ने लघुकथा स्रष्टाहरू मध्येबाट प्रथम, द्वितीय र तृतीय घोषणा गरेर पुरस्कार रकम सहित सम्मान गर्दै आएको मञ्चले यसपटक प्रथम स्थान लिन सफल स्रष्टा खगेन्द्र बस्याललाई मात्र पुरस्कारसहित सम्मान गर्न लागेको हो । उहाँलाई सम्मान पत्रसहित नगद रु. ७,०००/- रकम प्रदान गरिनेछ । गतवर्ष लघुकथाकार श्री सुरेशकुमार पाण्डेले उक्त सम्मान प्राप्त गर्नुभएको थियोे । संस्थालाईले दिएको जानकारी अनुसार वि.सं. २०८२ सालमा राप्ती नगरपालिका, चितवनमा आयोजना गरिने संस्थाको औपचारिक कार्यक्रममा ‘वर्ष लघुकथा सर्जक सम्मान- २०८२’ प्रदान गरिनेछ ।
लघुकथाकार खगेन्द्र बस्यालको जन्म, पिता भोजराज बस्याल र माता स्व. ढुण्डिकादेवी बस्यालको पहिलो सन्तानको रूपमा २०१६ चैत १ गते बगनासकाली- ७ दैलातुङ्ग फाँट, पाल्पामा भएको थियोे । हाल उहाँ तिलोत्तमा न. पा.- ९, रुपन्देहीमा बसोबास गर्दै आउनुभएको छ ।
निजामती सेवामा लामो समय जीवन व्यतीत गर्नुभएका बस्याल हाल सेवानिवृत्त हुनुहुन्छ र साहित्य लेखनमा अझ सक्रिय हुनुहुन्छ । उहाँका हालसम्म कुनै लघुकथा कृति प्रकाशित नभए पनि प्रकाशोन्मुख अवस्थामा रहेको छ । उहाँका गैरलघुकथाकृति भने आधा दर्जन प्रकाशित भइसकेका छन् ।
साहित्यका विविध विधामा कलम चलाउनुहुने बस्यालले ‘सिर्जनशील साहित्य सम्मान’, ‘आदिकवि भानुभक्त द्विशताब्दी स्रष्टा सम्मान’, ‘पेमा वाङ्मय साहित्य सम्मान’ लगायत आधा दर्जन बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।
वसन्त अनुभव ९ असार/चितवन नमस्ते आधुनिक लघुकथा मञ्चले यस वर्षको लघुकथालय कृति पुरस्कार लघुकथाकार लक्ष्मण अर्यालको लघुकथासङ्ग्रह ‘दुर्बिन’लाई प्रदान गर्ने भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो सातौँ वार्षिकोत्सवको प्रथम दिन अर्थात् असार ९ गते उक्त पुरस्कारको घोषणा गरेको हो । लघुकथालय पुरस्कारको राशी नगद रु. ११ हजार १ सय ११ रुपैयाँ रकम र प्रमाणपत्र रहेको छ ।
संस्थाले २०८१ सालभरमा प्रकाशित भएका लघुकथा सङ्ग्रहहरू बजारमा उपलब्ध भएसम्मका सङ्कलन गरी मूल्याङ्कनमा समावेश गराएको थियोे । जसबाट निर्णायक समितिले अध्ययन र मूल्याङ्कन गरी उक्त पुरस्कारका लागि लघुकथा कृति ‘दुर्बिन’लाई छ्नोट गरेको थियोे । गतवर्षको लघुकथालय पुरस्कार लघुकथाकार ललिता दोषीकृत लघुकथा सङ्ग्रह ‘पहिरो’ लाई प्रदान गरिएको थियोे ।
‘दुर्बिन’मा सङ्ग्रहीत लघुकथाहरू विषयवस्तु, प्रस्तुती कला, भाषाकाे गुरूत्व, भाव प्रक्षेपण लगायतका आधारमा नेपाली सामाजिक सुधारवादी चेतनाले भरिएका अत्यन्त सफल भएको निर्णायक समितिले जनाएको छ ।
‘दुर्बिन’का कृतिकार लक्ष्मण अर्यालको जन्म पिता शिवहरि अर्याल र माता ज्ञानप्रभा अर्यालको दोस्रो सन्तान एवम् प्रथम पुत्ररत्नको रूपमा वि.सं. २०२६ साल साउन १५ गते धादिङमा भएको थियोे । हाल उहाँ रत्ननगर नगरपालिका– ३, विद्युत रोड, चितवनमा स्थायी बसोबास गर्दै आउनुभएको छ ।
प्राध्यापन पेशामा कार्यरत अर्यालका ‘टुटीकाण्ड’, ‘औँला’ र ‘दुर्बिन’ गरेर तीन वटा लघुकथासङ्ग्रहका साथै ‘लघुकथा विमर्शन’, एक लघुकथा सिद्धान्त पुस्तक प्रकाशित भइसकेका छन् । ‘सम्प्रेषण’, ‘रत्नप्रभा’ जस्ता प्रकाशनका कार्यकारी सम्पादक रहेका अर्यालले हालसम्म लगभग २ दर्जनभन्दा बढी पुस्तक, पत्रिका, स्मारिका आदिमा प्रधानसम्पादकको भूमिका निभाइसक्नुभएको छ ।
उहाँ यस अघि पनि नमस्ते आधुनिक लघुकथा मञ्चबाट ‘लघुकथाश्री समालोचक सम्मान-२०८०’ बाट सम्मानित भैसक्नु भएको छ । उहाँले अन्य संस्थाहरूबाट ‘रेडियो अर्पण सम्मान’, ‘चिसाप कृष्णकृष्णा पुरस्कार’, ‘वैजयन्ती स्रष्टा सम्मान’ लगायत आधा दर्जन बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ ।
संस्थाको निर्णय अनुसार वि.सं. २०८२ सालमा आयोजना गरिने राष्ट्रिय कार्यक्रममा ‘लघुकथालय कृति पुरस्कार- २०८२’ उहाँलाई प्रदान गरिनेछ ।
वसन्त अनुभव ९ असार/चितवन युवा स्रष्टाद्वय हिमा रोका ‘प्रतिज्ञा’ र हेमराज अधिकारीलाई ‘हेमलता स्मृति लघुकथा सम्मान-२०८२’ बाट सम्मान गरिने भएको छ । आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा नमस्ते आधुनिक लघुकथा मञ्चले यो सम्मानको घोषणा गरेको हो । ‘प्रतिज्ञा’ कर्णाली प्रदेशको सुर्खेत निवासी हुनुहुन्छ भने अधिकारी सिक्किम, भारत निवासी हुनुहुन्छ ।
कीर्तिशेष लघुकथाकार हेमलता उप्रेतीको स्मृतिमा स्थापित ‘हेमलता स्मृति लघुकथा सम्मान’ लघुकथामा कुनै पनि कृति ननिकालेका तर निरन्तर स्तरीय लघुकथा लेखनमा लागिपरेका जुझारु युवा लघुकथाकारहरूलाई प्रोत्साहनस्वरूप उक्त सम्मान प्रदान गरिँदै आएको संस्थाले जनाएको छ । ६० वर्ष उमेरसम्मका लघुकथा लेखनमा सक्रिय एकजना महिला स्रष्टा र एकजना पुरुष स्रष्टा छनोट गरेर संस्थाले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ । यो सम्मानबाट विगतका तीन वर्षमा तीन पुरुष तथा तीन महिला गरी ६ जना सक्रिय युवा लघुकथा सर्जकहरूलाई मञ्चले सम्मानित गरिसकेको छ ।
संस्थाले दिएको जानकारी अनुसार वि.सं. २०८२ सालमा राप्ती नगरपालिका, चितवनमा आयोजना गरिने संस्थाको औपचारिक कार्यक्रममा छनोट हुनुभएका स्रष्टालाई सम्मान पत्रसहित नगद रु. ५,५५५/- रकमले सम्मान गरिनेछ ।
‘हेमलता स्मृति लघुकथा सम्मान- २०८२’बाट सम्मानित हुन लाग्नुभएकी ‘प्रतिज्ञा’को वास्तविक नाम हिमा रोका हो । बुबा चन्द्रबहादुर रोका र आमा निमकला रोकाकी सात सन्तानहरू मध्ये छैटौँ सन्तान एवम् कान्छी सुपुत्रीको रूपमा वि.सं. २०५२ साल भदौ ०७ गते घुमखहरे, सुर्खेत(कर्णाली प्रदेश)मा उहाँको जन्म भएको हो । हाल गुर्भाकोट नगरपालिका -८, मेहेलकुना, सुर्खेतमा स्थाउी बसोबास गर्दै आउनुभएको छ ।
जन्मजात नै दुवै खुट्टा र दाहिने हात नचल्ने उहाँ यताउता डुल्न ह्विलचियर प्रयोग गर्नुहुन्छ भने उहाँको देब्रे हात मात्र काम गर्न र लेखपढ गर्न प्रयोग हुन्छ । बोली लठेब्रो हुँदा उहाँ बोलेको कुरा अरूलाई बुझ्न कठिन हुने गर्दछ । विद्यालयबाट औपचारिक शिक्षा ग्रहण गर्नबाट बन्चित प्रतिज्ञाले घरमै बसेर अरूको सहयोगमा साउँ अक्षर छिचोल्नु भयो । उहाँले वि.सं. २०७८भदौ १६ गते ‘पालो’ शीर्षकको लघुकथा रचना गर्नुभएसँगै उहाँको लघुकथा लेखन यात्रा अगाडि बढेको थियोे ।
लघुकथासँगै उहाँले झिल्का कविता, टुक्का कविता, मुक्तक, गजल सृजनामा कलम चलाउनु हुने उहाँको हालसम्म कुनै कृति भने प्रकाशित भने भएको छैन ।
त्यस्तै ‘हेमलता स्मृति लघुकथा सम्मान- २०८२’बाट समानित एवम् पुरस्कृत हुन लाग्नुभएका पुरुष स्रष्टा हेमराज अधिकारीको जन्म पिता स्व. कुबेरनाथ अधिकारी र माता देवकी अधिकारीका ५ सन्तानहरू मध्ये पहिलो सन्तानको रूपमा वि.सं. २०२८ साल जेठ १५ गते भारतको तुमिन, गान्तोक जिल्लाको, पूर्व सिक्किममा भएको थियोे । हालसम्म पनि उहाँ सोही स्थानमा बसोबास गर्दै आउनुभएको छ ।
स्कुले विद्यार्थी जीवनदेखि नै साहित्यमा लाग्नुभएका अधिकारी हालसम्म पनि सक्रिय रूपमा लाग्नुभएको छ । सन् २०१९/२० देखि विशेष रूपमा कथा, लघुकथा र निबन्ध लेखनमा समर्पित उहाँ सन् २०२१ देखि सिक्किमेली लघुकथा समाजको संस्थापक सदस्य तथा एडमिन हुनुहुन्छ ।
उहाँ एक स्थापित वक्ता पनि हुनुहुन्छ । राज्यस्तरीय विभिन्न तर्क प्रतियोगितामा विजयी भई नगद पुरस्कार, विभिन्न देश भ्रमणको अवसर पनि प्राप्त गर्नुभएको छ । उहाँ विभिन्न सामाजिक सेवा सम्बन्धी संघसंस्थामा आवद्ध हुनुका साथै सिटिजन एक्सन पार्टी(सिएपी), सिक्किमको संस्थापक सदस्य एवम् वर्तमान महासचिव/महामन्त्री हुनुहुन्छ । साथै उहाँ राज्यभरिकै विभिन्न शैक्षिक, साहित्यिक तथा सामाजिक संस्थाहरूबाट सम्मानित र पुरस्कृत हुनुहुन्छ ।
वसन्त अनुभव ९ असार/चितवन नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर ‘”लघुकथाश्री समालोचक सम्मान-२०८२” घोषणा गरेको छ । उक्त सम्मान नेपाली आधुनिक लघुकथाको समीक्षा/समालोचनामा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका वरिष्ठ समीक्षक/समालोचक प्रा.डा. कपिल लामिछानेलाई प्रदान गर्न लागेको हो ।
मञ्चले दिएको जानकारी अनुसार वि.सं. २०८२ सालमा राप्ती नगरपालिका, चितवनमा आयोजना गरिने संस्थाको औपचारिक कार्यक्रममा नगद रु ७,७७७/- र सम्मान पत्र सहित वरिष्ठ समीक्षक/समालोचक प्रा.डा. कपिल लामिछानेलाई सम्मान गरिनेछ ।
“लघुकथाश्री समालोचक सम्मान-२०८२” बाट समानित हुनलाग्नुभएका प्रा. डा. कपिल लामिछानेको जन्म पिता शुकदेव र माता सुकुमायाका तेस्रो सन्तान एवम् ज्येष्ठ पुत्ररत्नको रूपमा कास्की पोखराको माझठानामा वि.स. २०१५ असोज २४ गते भएको थियोे । उहाँ पनि एक वरिष्ठ साहित्यकार एवम् विशिष्ट प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ । हाल उहाँ सिद्धार्थनगर, भैरहवामा बस्दै आउनुभएको छ । उहाँले पनि त्रि.वि.बाटै ‘नेपाली गाउँखाने कथा’मा विद्यावारिधि गर्नुभएको थियोे ।
दर्जनौँ साहित्यिक, सामाजिक, सांस्कृतिक संघसंस्थामा आवद्ध प्रा.डा. लामिछानेका अन्यथा, जलमानव, बोन्साइ लगायत आधा दर्जन लघुकथा कृति, एक समालोचना सङ्ग्रह र करिब ५ दर्जन अन्य कृतिहरू प्रकाशित छन् । उहाँले गीता प्रथमा रजत पदक, महेन्द्र विद्याभूषण पदक ख, मकबुल अहमद लारी स्वर्ण पदक लगायत चार दर्जन बढी पदक, पुरस्कार, सम्मान प्राप्त गर्नुभएको छ ।
वसन्त अनुभव ९ असार/चितवन नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो सातौँ वार्षिकोत्सव अवसर पारेर अग्रज एवम् वरिष्ठ साहित्यकार प्रा.डा.दयाराम श्रेष्ठलाई विशिष्ट अभिनन्दन गर्ने भएको छ । नेपाली आख्यानको अनुसन्धान तथा समालोचनामा विशिष्ट योगदान पुर्याउनु भएबापत उहाँलाई ‘आख्यान अनुसन्धान तथा समालोचना शीर्ष पुरुष”का रूपमा अभिनन्दन गर्न लागिएको हो । मञ्चले गतवर्ष ‘कथा-कुथुङ्ग्री सृजना नायक’का रूपमा साहित्यकार एवम् समालोचक पुष्कर लाेहनीलाई र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा लघुकथाकार/साहित्यकार ध्रुव मधिकर्मीलाई अभिनन्दन गरेको थियोे ।
मञ्चले दिएको जानकारी अनुसार वि.सं. २०८२ सालमा राप्ती नगरपालिका, चितवनमा आयोजना गरिने संस्थाको औपचारिक कार्यक्रममा आख्यान अनुसन्धानकर्ता एवम् समालोचक प्रा.डा. दयाराम श्रेष्ठलाई नगद रि ११,१११/- र अभिनन्दन पत्रद्वारा अभिनन्दन गरिनेछ । अभिनन्दन हुन लाग्नुभएका प्रा.डा. दयाराम श्रेष्ठ, पिता सूर्यबहादुर र माता नयनकुमारीका चौथो सन्तान तथा माहिलो पुत्ररत्नका रूपमा सिरानबजार धनकुटामा वि. सं. २००० कार्तिक ८ गते शुक्रवार जन्मिनुभएको थियोे । उहाँ एक विशिष्ट प्राज्ञिक व्यक्तित्व एवम् वरिष्ठ साहित्यकार हुनुहुन्छ । वि.स. २०३९ सालमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका प्रा.डा. श्रेष्ठले त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय लगायतका विभिन्न शैक्षिक संस्थामा प्राध्यापन गर्नुभएको थियो ।
विभिन्न विषयका डेढ दर्जन कृतिहरू प्रकाशन गरिसक्नुभएका, करिब १ दर्जन कृति सम्पादन गरिसक्नुभएका प्रा.डा. श्रेष्ठका तीन वटा अनुसन्धानात्मक कृति प्रकाशोन्मुख रहेका छन् ।
उमेरले ८२ वसन्त पार गरिसक्नुभएका प्रा.डा.श्रेष्ठले ‘झपट पुरस्कार’, रजत जयन्ती पदक, सैनध्वज नन्दकुमारी विद्वत वृत्ति पुरस्कार, महेन्द्र विद्याभूषण “क” श्रेणी लगायत चार दर्जन पुरस्कार, पदक, मानसम्मान प्राप्त गरिसक्नुभएको छ ।
नमस्ते आधुनिक लघुकथा मञ्चले सदाझैँ यस वर्ष पनि विभिन्न कार्यहरू गर्दै आफ्नो सातौँ वार्षिकोत्सव यही २०८२ साल असार ९ र १० गते मनाउने भएको छ । उक्त कार्यक्रममा विभिन्न लघुकथाकार, साहित्यकार एवम् लघुकथाको क्षेत्रमा विशिष्ट योगदान दिनुहुने सर्जकहरूलाई प्रदान गरिने अभिनन्दन, पुरस्कार तथा सम्मानको घोषणा लगायतका कार्यहरू हुने बताइएको छ । जस अन्तर्गत
👉️’आख्यान अनुसन्धान एवम् समालोचना शीर्ष पुरुष-२०८२’ द्वारा अभिनन्दित हुनुहुने एकजना अग्रज/वरिष्ठ साहित्यकारको नाम सार्वजनिक । (असार ०९ गते)
👉️’वर्ष समालोचक सम्मान-२०८२’ ले सम्मान प्राप्त गर्नुहुने नेपाली आधुनिक लघुकथाका एकजना वरिष्ठ समीक्षक/समालोचकको नाम सार्वजनिक । (असार ०९ गते)
👉️’लघुकथालय पुरस्कार-२०८२’ द्वारा पुरस्कृत हुन सफल एक उत्कृष्ट लघुकथाकृतिको नाम घोषणा । (असार ०९ गते)
👉️’हेमलता स्मृति लघुकथा सम्मान -२०८२’ द्वारा सम्मानित हुनुहुने एक नारी र एक पुरुष स्रष्टाको नाम घोषणा । (असार ०९ गते)
👉️’वर्ष लघुकथा सर्जक सम्मान -२०८२’ द्वारा सम्मानित हुनुहुने एक जना सक्रिय लघुकथाकारको नाम घोषणा गरिनेछ । (असार ०९ गते)
👉️’लघुकथा विशिष्ट प्रतियोगिता-२०८१’ को नतिजा प्रकाशन । (असार १० गते)
उक्त वार्षिकोत्सव कार्यक्रमलाई भव्य र सभ्य बनाउन विभिन्न व्यक्ति तथा संस्थाहरूले प्रायोजन गर्नुभएको छ । जसको विवरण यसप्रकार रहेको छ ।
तपसिल– १. श्री घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ (संस्थापक अध्यक्ष) राप्ती न.पा.- ८, चितवन । २. कृष्ण पाठक, राप्ती न.पा.- ८, चितवन । (हाल- अमेरिका) ३. श्री मीठू कुमारी पाठक (संस्थापक कोषाध्यक्ष) राप्ती न.पा.- ८, चितवन । ४. श्री अच्युत प्रधानाङ्ग, वीरगन्ज म.न.पा.- ६, मीनाबजार, पर्सा । ५. श्री गोविन्द उप्रेती, चिफ अपरेसन अफिसर, ओम शिव स:मिल एण्ड भेनीर उद्योग, राप्ती न.पा.- ६, चितवन ६. श्री माध्यमिक विद्यालय, बजरहट्टी (बहिरा आवासीय मा.वि., राप्ती न.पा.- ८, चितवन । ७. श्री गोकुलकुमारी उप्रेती, राप्ती न.पा.- ८, चितवन । ८. श्री मिरा कुमारी (बर्तौला) डल्लाकोटी, राप्ती न.पा.- ८, चितवन । ९. श्री प्रविन बर्देवा, म्यानेजिङ डाइरेक्टर एण्ड टिचर, ब्राइट भिजन एकेडेमी, राप्ती न.पा.- ८, चितवन । १०. श्री मनोज सुवेदी, राप्ती न.पा.- ८, चितवन । ११. श्री शिवराज बुर्लाकोटी, राप्ती न.पा.- ८, चितवन । (हाल- कैलाली) १२. श्री नव उद्यमी कृषक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, राप्ती न.पा.- ८, बडहरा, चितवन १३. श्री रामहरि घिमिरे, राप्ती न.पा.- ७, चितवन । (हाल- बेल्जियम) १४. श्री सञ्जय घतानी, राप्ती न.पा.- ८, बडहरा, चितवन । (हाल- अष्ट्रेलिया)
मञ्चले प्रायोजन गर्नुहुने सबै व्यक्ति तथा संस्थाप्रति हार्दिक आभार एवम् धन्यवाद प्रकट गरेको छ ।
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘तमासा’ र ‘भेटी’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।
‘तमासा’ लघुकथासङ्ग्रह, लघुकथाकार अनुग्रह रानामगर ‘पुष्प’को र ‘भेटी’ लघुकथासङ्ग्रह, लघुकथाकार विष्णु पन्थी ‘विनु’को लघुकथासङ्ग्रह हो । यी दुवै लघुकथासङ्ग्रहहरू कृतिकारका पहिलो लघुकथा कृतिहरू हुन् ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक, साहित्यकार प्रा.डा.लक्ष्मणप्रसाद गौतमले नमस्ते आधुनिक लघुकथा मञ्चले फरक ढङ्गले परिचर्चा कार्यक्रम गरेकोप्रति मञ्चको सराहना गर्नुभयो । परिचर्चाकारले लघुकथासङ्ग्रहको परिचर्चा गर्नुपूर्व सङ्ग्रहको परिचय प्रशारण गरिएको प्रति टिप्पणी गर्दै यसो गर्दा उपस्थित दर्शकमा कौतुहलता नरहने र कार्यक्रम अलि खल्लो हुने भएकोले सकेसम्म कम छोटो परिचय राख्न आयोजकलाई सुझाउनुभयो । साथै परिचर्चाकारले दिनुभएको सुझावलाई ग्रहण गर्दै अगाडि बढ्न कृतिकारहरूलाई अनुरोध गर्नुभयो ।
पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, समालोचक एवम् भाषा आयोगका सदस्य गोपाल अश्कले कार्यक्रमको पहिलो चरणमा लघुकथाकार अनुग्रह रानामगर ‘पुष्प’को लघुकथा कृति ‘तमासा’को परिचर्चा गर्दै सङ्ग्रहमा सङ्ग्रहित लघुकथाहरू उपयुक्त आकारमा र सरल रेखिक ढाँचामा रहेको उल्लेख गर्नुभयो । वर्तमान समयमा पनि मुलुकमा तमासा हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सङ्ग्रहको शिर्षक सार्थक रहेको बताउनुभयो । सङ्ग्रहभित्रका अधिकांस लघुकथाहरूमा श्रमजीवी र मध्यमवर्गका पात्रहरू रहेको र लघुकथामा क्लिष्ट नरहेको भन्नुभयो । लघुकथासङ्ग्रहमा विविध विषयहरू उठान गरिएका छन् । कृतिकार लामो समय वैदेशिक रोजगारको क्रममा मुलुकबाहिर रहनुभएको हुँदा त्यसको प्रभाव लघुकथामा देख्न पाइन्छ । कुनै कुनै लघुकथामा बढी व्याख्या भएको, वर्णनात्मक भएको पाइएको हुँदा आगामी दिनमा सचेत रहन पनि सुझाव दिनुभयो । लघुकथाकार ‘पुष्प’को उक्त सङ्ग्रहमा ४१ वटा लघुकथाहरू रहेका छन् ।
कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार विष्णु पन्थी ‘विनु’को लघुकथा कृति ‘भेटी’ बारे परिचर्चा गर्नुहुँदै परिचर्चाकार, वरिष्ठ साहित्यकार एवम् समालोचक डा.शंकरप्रसाद गैरेले लघुकथाकार विनुको लघुकथासङ्ग्रह ‘भेटी’भित्र समाजमा देख्दै, भोग्दै आएका घटनाहरूलाई आधार बनाएर गहन ढङ्गले प्रस्तुत गरिएका ४० वटा लघुकथाहरू रहेको उल्लेख गर्नुभयो । केही सामाजिक, केही राजनीतिक त केही काल्पनिक धरातलमा रहेर लेखिएका लघुकथाहरू पठनीय रहेकोे उल्लेख गर्नुभयो । ‘भेटीभित्रका लघुकथाहरूले नारी चेतनाका कुरा उठाएको छ, राजनैतिक विकृति विसङ्गतिहरू उजागर गरेको छ ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा ‘तमासा’ लघुकथासङ्ग्रहको कृतिकारको तर्फबाट लघुकथाकार अनुग्रह रानामगर ‘पुष्प’ र ‘भेटी’ लघुकथासङ्ग्रहको तर्फबाट लघुकथाकार विष्णु पन्थी ‘विनु’ले धन्यवाद मन्तव्य दिनुभएको थियोे । साथै उहाँहरूले परिचर्चाकारज्यूहरूले दिनुभएको सुझावलाई अक्षरस: पालना गर्ने उल्लेख गर्नुभयो । आयोजक मञ्चप्रति आभार प्रकट गर्दै कृतिकारद्वयले परिचर्चा कार्यक्रमले आफ्ना कमिकमजोरी जान्न पाएको बताउँदै भविष्यमा सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
छोटो समयमै सङ्ग्रह निकाल्नुपरेको हुँदा कमिकमजोरी भएको स्वीकार गर्दै परिचर्चाकारज्यूले दिएको सुझावलाई ग्रहण गरेर अगाडि बढ्ने बताउनुभयो । सङ्ग्रह प्रकाशन लगायत परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा आयोजक संस्थाप्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार, समालोचक एवम् उक्त कृतिहरूका सम्पादक डा.विदुर चालिसेले ‘छोटो समयमै दुई दर्जन बढी कृतिहरूको सम्पादन गर्नु, प्रकाशन गर्नु कम चुनौतीपूर्ण कार्य थिएन, तर हामीले त्यसलाई सहजतापूर्वक सम्पन्न गर्यौँ । हतारमा काम गर्दा सानातिना कमिकमजोरी हुनसक्छन्, तर सकेसम्म कम त्रुटि होस् भन्नेमा हामी सजग थियौँ ।’ उहाँले भन्नुभयो ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेलले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।
काठमाडौँ, माघ २६ गते शनिवार वसन्त अनुभव नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘बुन्छ्त’ र ‘नमस्ते’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा जुम प्रविधिबाट भएको उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।
‘बुन्छ्त’ लघुकथासङ्ग्रह लघुकथाकार म्यामराज राईको दोस्रो लघुकथा कृति हो । यसभन्दा पहिले उहाँको ‘हाम्रो बाटो’ लघुकथासङ्ग्रह प्रकाशित भइसकेको छ । त्यस्तै ‘नमस्ते’ लघुकथासङ्ग्रह, लघुकथाकार भूमिका गैरे तिमिल्सिनाको पहिलो लघुकथा कृति हो । यद्यपि उहाँको ‘निवुवा’ नामक दोस्रो लघुकथा कृति पनि बजारमा आइसकेको छ ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक डा.विदुर चालिसेले नआलमद्वारा वि.सं. २०८१ मा प्रकाशित सम्पूर्ण लघुकथासङ्ग्रहहरूमा शैली वैज्ञानिक सूत्रको प्रयोग भएको उल्लेख गर्नुभयो । साथै गुरुकुल पद्धतिमा रहेका उक्त २२ वटा कृतिले विभिन्न जाति, वर्ग, स्थान आदिको प्रतिनिधित्व गरेको बताउनुभयो । उक्त पुस्तकहरूको सम्पादकको समेत भूमिका निभाउनुभएका डा.चालिसेले प्रकाशनका क्रममा भोगेका सास्तीहरू उल्लेख गर्दै सकेसम्म त्रुटिरहित बनाउन हरप्रयास गरिएको बताउनुभयो ।
पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका समालोचक डा.शंकरप्रसाद गैरेले कार्यक्रमको पहिलो चरणमा लघुकथाकार म्यामराज राइको लघुकथा कृति ‘बुन्छत’को परिचर्चा गर्दै ‘वान्तवा’ भाषामा राखिएको शिर्षक ‘बुन्छत’ले पाठकमा कौतुहलता, जिज्ञासा पैदा गर्ने गरेको उल्लेख गर्नुभयो । साथै उहाँले ‘बुन्छ्त’मा पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको ‘खलल’ लघुकथालाई बीज विन्दु मानेर लेखिएका ५४ वटा लघुकथाहरू रहेकोे उल्लेख गर्नुभयो । ‘बुन्छत’ शिर्ष लघुकथा मिथकिय पृष्ठभुमिमा भए पनि सम्पूर्ण लघुकथाहरू सामाजिक, समसामयिक पृष्ठभुमिमा लेखिएका छन् । साथै नेपाली र जापानी परिवेशलाई पृष्ठभुमि बनाएर लघुकथाहरू लेखिएका बताउनु हुँदै राईका लघुकथामा विकृति, विसङ्गतिप्रति व्यङ्ग्य, मानवले पालना गर्नुपर्ने अनुशासन लगायत प्रेम, मानवीय समवेदना रहेको उल्लेख गर्नुभयो । साथै उहाँले समाजमा देखिरहेका, भोगिरहेका घटना, विषयवस्तुलाई कलात्मक शिल्प शैलीमा प्रस्तुति गर्ने क्षमता लघुकथाकार राईमा रहेको बताउनुभयो ।
कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार भूमिका गैरे तिमिल्सिनाको लघुकथा कृति ‘नमस्ते’ बारे परिचर्चाकार एवम् समालोचक डा.शंकरप्रसाद गैरेले लघुकथाकार तिमिल्सिनाको लघुकथासङ्ग्रह ‘नमस्ते’ पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको ‘सराप’ लघुकथालाई बीज विन्दु मानेर लेखिएको र जसमा ३७ वटा फरकफरक विषयका लघुकथाहरू रहेकोे उल्लेख गर्नुभयो । साथै उहाँले तिमिल्सिनाको लघुकथाहरूमा समाजमा रहेका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य, असल शिक्षकमा हुनुपर्ने गुणहरू लगायत शैक्षिक क्षेत्रमा रहेका विसङ्गतिहरूमाथि प्रहार देख्न पाइने बताउनुभयो ।
कार्यक्रममा कृतिकारको तर्फबाट बोल्नु हुँदै लघुकथाकारद्वय म्यामराज राई र भूमिका गैरे तिमिल्सिनाले परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा संस्थाप्रति हार्दिक आभार प्रकट गर्दै परिचर्चाकारले दिनुभएको सुझावलाई स्वीकार गर्ने बताउनु हुँदै परिचर्चाकारप्रति धन्यवाद प्रकट गर्नुभयो ।
‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा वसन्त अनुभव, कमल पौडेल, डा.विदुर चालिसे, यमुना प्रधानाङ्ग, कृष्णजी शर्मा, डा.शंकरप्रसाद गैरे, अवधेश सिंह, मीठू कुमारी पाठक, मुक्ति गौतम, म्यामराज राई, भूमिका गैरे तिमिल्सिना, छायादत्त न्यौपाने, कुमार काफ्ले, ध्रुव राज थापा, ध्रुव नेपाल, राजन घले लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेलले गर्नुभएको थियोे ।
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (६२औँ) शृङ्खलाका लागि लघुकथाकार बाबुकाजी सुवाल ‘विकेश निराशी’को लघुकथा ‘बुढो हड्डी’, लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘विवश’ र लघुकथाकार प्रतिज्ञा प्रतिज्ञाको लघुकथा ‘झोला’ उत्कृष्ट तीनभित्र परेका छन् ।
——————-<•>——————
[१] लघुकथा: बुढो हड्डी
✍️ बाबुकाजी सुवाल ‘विकेश निराशी’ एक महिनाअघि विदेशबाट फर्केको नाति सहनीलाल चार पाँच जना मान्छे जम्मा पारेर आएको देखेर खरको छाप्रोबाहिर आँगनमा राखेको मेचमा घाम तापेर बसेकी नथुनी बज्यै अचम्ममा परिन् । -“बाबु माइला, किन मान्छे ल्याएको ? के गर्न लाग्यौ ?” नथुनीले नातिलाई सोधिन् । -“परको त्यो बारीको आँपका बोटहरू काट्न लागेको । अब त्यहाँ घर बनाउनु पर्छ, हजुरआमा ।” सँगै आएका मान्छेहरूलाई बन्चराहरू र डोरी सुम्पिँदै सहनीलालले भन्यो ।
-“त्यो आँपबारी हाम्रा बाआमा समान छन् बाबू ! नमास्नू, त्यसलाई । हाम्रा बाजेबराजुदेखि हामी सबैलाई पालेको छ, त्यसले । त्यही बारीको आँप तिमीहरूले खायौ, बढ्यौ, पढ्यौ र आज पुगिसरी भयौ । अब मास्यौ भने पाप लाग्छ, बा ! नमास ।” नथुनी बज्यैले गहभरि आँसु पारेर गला अवरुद्ध गर्दै भनिन् । -“अब ती आँपका रुखहरू बुढा भइसके । फल पनि राम्रो दिँदैन, तिनको के काम, हजुरआमा ?” सहनीलालले बज्यैलाई सम्झायो । -“हो त नि है ! यो बुढो हड्डीको के काम ?” नथुनी बज्यैले आँखाबाट बर्र आँसु झारिन् र बर्बराउँदै मेचबाट भुइँमा ढलिन् अनि पर्लक्क आँखा पल्टाइन् ।
२०८१ भाद्र १० गते श्रीकृष्ण जन्माष्टमी ——————-<•>——————
२) लघुकथा: विवश
✍️ सुरेशकुमार पाण्डे -“साहुजी ! मेरो छोरी बिमार छिन् । कृपया मलाई पाँच हजार ऋण दिनुहोस्; मेरो तलबबाट चुक्ता गरुँला ।” सेरुले साहु मुरलीधरसँग बिन्ती बिसायो । -“हेर सेरु ! मसँग एउटा फुटेको कौडी छैन यो वेला । तँलाई कसरी दिउँ ? अरू यता सुन् तँ काम नसकिकन नजानू नि ।” मुरलीधरले सहयोग दिनुको सट्टा उल्टै रोक्यो । -“तर साहुजी मेरो छोरीको जिन्दगी दाउमा छ । उनलाई एक सय चार डिग्री जरो छ । अस्तिदेखि पैसा नभएर सदरमुकाम ठूलो अस्पतालमा लैजान सकेका छैनौँ । कृपया मलाई सके त थोरै रुपियाँ ऋण दिनु, नसके मलाई नरोक्नु । दुई दिनको बिदा दिनुहोस् ।” सेरुले फेरि दुवै हात जोड्यो ।
-“तीन दिनदेखि नमरेकी तेरी छोरी आजै मर्छे ? काम नसक्दै तँलाई म छुट्टी दिन सक्दैनँ । काम सकेर जा, अनि फेरि भोलि कामको बेला आइपुग नि । नत्र काममा नआए पनि हुन्छ बुझिस् ।” मुरलीले आफ्नो अडान छाडेन ।
उता सेरु अत्यन्तै चिन्तित थियो । पाँच वर्षकी छोरी बिरामी भएकोले ‘कहाँ लिएर जाने’ भन्ने चिन्ता थियो । साहुले पैसा दिन पनि मानेन । ऊ आँगनीमा व्याकुल अवस्थामा उभिएको थियो । साहु मुरलीधर कुर्सीमा विराजमान थियो । -“साहुजी नमस्ते !” प्रदिप टुप्लुक्कै आइपुग्यो । -“सेरु ! अर्को कुर्सी ले त भित्रबाट ।” साहुले आदेश गर्यो । सेरुले कुर्सी ल्याइदियो । -“पर्दन सर ! म बस्न लाग्दैन । बरु यो दशहजार रकम राख्नुस्, अरू पछि हिसाब गरौँला ।” प्रदिपले दशहजार रुपैयाँ मुरलीधरलाई थमायो र फर्कियो ।
सेरु मनैमन खुसी भयो । साहुसँग रुपैयाँ आयो । ‘अब मेरो छोरीको उपचार हुन्छ ।’ -“साहुजी ! पैसा आइहाल्यो । अब मलाई मेरो तलब दिनुहोस् ।” फेरि हात जोड्दै ऊ मुरलीधरको अगाडि उभियो । -“सेरु ! यो पैसा अर्कै कामको लागि हो, दिन मिल्दैन । अरू पैसा सुको छैन ।” मुरलीधरले फेरि पनि बहाना बनायो ।
सेरुको सहनशिलताको बाँध टुट्यो । उसले मुरलीधरको हात मरक्क मर्क्याइदियो र सबै पैसा खोस्यो । घरमा अरू कोही पनि थिएनन् । त्यसपछि सेरु फटाफट घर गयो र छोरीलाई अस्पताल लगेर भर्ना गर्यो । केहीबेरमै प्रहरी लिएर मुरलीधर अस्पताल पुग्यो । -“सर ! सेरुले मसँग एकपल्ट छोरी बिमार छ भनेको भए म आफैँ अस्पताल पुराइदिन्थेँ । तर यो डाँकाले मलाई मार्नै खोज्यो । यसलाई छोड्नु हुँदैन ।” मुरलीधरले छाती चौडा गराउँदै भन्यो । उता सेरुले प्रहरीलाई मोबाइलमा रिकार्ड गरेको सुनाउँदै थियोे ।
दाङ घोराही १८ २८-०८-२०२४(१२-०५-२०८१) ——————-<•>—————–
३) लघुकथा: झोला
✍️ प्रतिज्ञा प्रतिज्ञा -“जाने बेलामा हाँसेर बिदा गर्नु है ” उनले भने तर उनको आँखाहरू भरिएका थिए । आँसु खस्नलाई हतार गरिरहेका थिए ।
बुढी आमाले सकी नसकी छोराको निधारमा रातो टीका टाँस्दै आशिर्वाद दिइन् । -“भगवानले तेरो सधैँ रक्षा गरुन् !” उनलेे श्रीमती र आमासँग बिदा मागेर जान आँटेका थिए, आमाले प्रश्न गरिन् । “बाबु ! झोला गरुङ्गो छ, कसरी लग्छस् ?”
उनले दुखी हुँदै भने । -“योभन्दा त पीरको झोला बोक्न गाह्राे हुँदोरहेछ, आमा !”
नमस्ते आधुनिक लघुकथा मञ्चले वर्ष स्तम्भकार सम्मा, २०८१’बाट स्तम्भकार वसन्त अनुभवलाई र । ‘वर्ष उत्कृष्ट पत्रिका सम्मान, २०८१ बाट ‘हिमालयन दृष्टि मिडिया प्रा. लि.’लाई सम्मान गरेको छ । मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा उक्त सम्मानबाट सम्मानित गरेको हो ।
नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथाहरू छानेर स्तम्भकार वसन्त अनुभवले ‘साताका तीन लघुकथा’ स्तम्भ हिमालयन दृष्टि अनलाइन पत्रिकामा निरन्तर प्रकाशन गर्दै आउनुभएको छ । पत्रकारिताको माध्यमबाट उहाँले लघुकथाको उन्नयन र प्रवर्द्धनमा पुर्याउनुभएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।
मञ्चका सचिव समेत रहनुभएका अनुभवले लघुकथाको लेखन, सम्पादनका अलावा कथा, कविता, मुक्तक, निबन्ध, गीत, गजल, झिल्का, टुक्का, उदक, पञ्चाङ्ग, चारु लगायत विविध विधामा कलम चलाउने गर्नुहुन्छ । अनुभव विभिन्न संस्थाहरूका कार्यसमितिमा रहेर कार्य गर्दै आउनुभएको छ । उहाँ झिल्का कविताको प्रवर्तक एवम् झिल्का साहित्य समाजको संस्थापक अध्यक्ष हुनुहुन्छ ।
त्यस्तै लघुकथालाई लगातार वर्षभरि समाजमा फैल्याउनका लागि स्तम्भ प्रदान गरेर योगदान पुर्याएकोमा हिमालयन दृष्टि अनलाइन पत्रिकालाई पनि ‘वर्ष उत्कृष्ट पत्रिका सम्मान, २०८१’ द्वारा सम्मान गरिएको छ । “साताका तीन लघुकथा” स्तम्भ विगत लामो समयदेखि यसै पत्रिकामार्फत सञ्चालन हुँदै आइरहेको छ, जसको सञ्चालन वसन्त अनुभवले गर्दै आउनुभएको छ ।