• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: नमस्ते आधुनिक लघुकथा मञ्च

‘तमासा’ र ‘भेटी’को परिचर्चा कार्यक्रम सम्पन्न

  • ३० चैत्र २०८१, आईतवार २२:०६ मा प्रकाशित
  • काठमाडौँ, चैत ३० गते
    वसन्त अनुभव

    नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘तमासा’ र ‘भेटी’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।

    ‘तमासा’ लघुकथासङ्ग्रह, लघुकथाकार अनुग्रह रानामगर ‘पुष्प’को र ‘भेटी’ लघुकथासङ्ग्रह, लघुकथाकार विष्णु पन्थी ‘विनु’को लघुकथासङ्ग्रह हो । यी दुवै लघुकथासङ्ग्रहहरू कृतिकारका पहिलो लघुकथा कृतिहरू हुन् ।

    परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक, साहित्यकार प्रा.डा.लक्ष्मणप्रसाद गौतमले नमस्ते आधुनिक लघुकथा मञ्चले फरक ढङ्गले परिचर्चा कार्यक्रम गरेकोप्रति मञ्चको सराहना गर्नुभयो । परिचर्चाकारले लघुकथासङ्ग्रहको परिचर्चा गर्नुपूर्व सङ्ग्रहको परिचय प्रशारण गरिएको प्रति टिप्पणी गर्दै यसो गर्दा उपस्थित दर्शकमा कौतुहलता नरहने र कार्यक्रम अलि खल्लो हुने भएकोले सकेसम्म कम छोटो परिचय राख्न आयोजकलाई सुझाउनुभयो । साथै परिचर्चाकारले दिनुभएको सुझावलाई ग्रहण गर्दै अगाडि बढ्न कृतिकारहरूलाई अनुरोध गर्नुभयो ।

    पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, समालोचक एवम् भाषा आयोगका सदस्य गोपाल अश्कले कार्यक्रमको पहिलो चरणमा लघुकथाकार अनुग्रह रानामगर ‘पुष्प’को लघुकथा कृति ‘तमासा’को परिचर्चा गर्दै सङ्ग्रहमा सङ्ग्रहित लघुकथाहरू उपयुक्त आकारमा र सरल रेखिक ढाँचामा रहेको उल्लेख गर्नुभयो । वर्तमान समयमा पनि मुलुकमा तमासा हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सङ्ग्रहको शिर्षक सार्थक रहेको बताउनुभयो । सङ्ग्रहभित्रका अधिकांस लघुकथाहरूमा श्रमजीवी र मध्यमवर्गका पात्रहरू रहेको र लघुकथामा क्लिष्ट नरहेको भन्नुभयो । लघुकथासङ्ग्रहमा विविध विषयहरू उठान गरिएका छन् । कृतिकार लामो समय वैदेशिक रोजगारको क्रममा मुलुकबाहिर रहनुभएको हुँदा त्यसको प्रभाव लघुकथामा देख्न पाइन्छ ।
    कुनै कुनै लघुकथामा बढी व्याख्या भएको, वर्णनात्मक भएको पाइएको हुँदा आगामी दिनमा सचेत रहन पनि सुझाव दिनुभयो । लघुकथाकार ‘पुष्प’को उक्त सङ्ग्रहमा ४१ वटा लघुकथाहरू रहेका छन् ।

    कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार विष्णु पन्थी ‘विनु’को लघुकथा कृति ‘भेटी’ बारे परिचर्चा गर्नुहुँदै परिचर्चाकार, वरिष्ठ साहित्यकार एवम् समालोचक डा.शंकरप्रसाद गैरेले लघुकथाकार विनुको लघुकथासङ्ग्रह ‘भेटी’भित्र समाजमा देख्दै, भोग्दै आएका घटनाहरूलाई आधार बनाएर गहन ढङ्गले प्रस्तुत गरिएका ४० वटा लघुकथाहरू रहेको उल्लेख गर्नुभयो । केही सामाजिक, केही राजनीतिक त केही काल्पनिक धरातलमा रहेर लेखिएका लघुकथाहरू पठनीय रहेकोे उल्लेख गर्नुभयो । ‘भेटीभित्रका लघुकथाहरूले नारी चेतनाका कुरा उठाएको छ, राजनैतिक विकृति विसङ्गतिहरू उजागर गरेको छ ।’ उहाँले भन्नुभयो ।


    कार्यक्रममा ‘तमासा’ लघुकथासङ्ग्रहको कृतिकारको तर्फबाट लघुकथाकार अनुग्रह रानामगर ‘पुष्प’ र ‘भेटी’ लघुकथासङ्ग्रहको तर्फबाट लघुकथाकार विष्णु पन्थी ‘विनु’ले धन्यवाद मन्तव्य दिनुभएको थियोे । साथै उहाँहरूले परिचर्चाकारज्यूहरूले दिनुभएको सुझावलाई अक्षरस: पालना गर्ने उल्लेख गर्नुभयो । आयोजक मञ्चप्रति आभार प्रकट गर्दै कृतिकारद्वयले परिचर्चा कार्यक्रमले आफ्ना कमिकमजोरी जान्न पाएको बताउँदै भविष्यमा सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


    छोटो समयमै सङ्ग्रह निकाल्नुपरेको हुँदा कमिकमजोरी भएको स्वीकार गर्दै परिचर्चाकारज्यूले दिएको सुझावलाई ग्रहण गरेर अगाडि बढ्ने बताउनुभयो । सङ्ग्रह प्रकाशन लगायत परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा आयोजक संस्थाप्रति आभार प्रकट गर्नुभयो ।


    कार्यक्रममा वरिष्ठ साहित्यकार, समालोचक एवम् उक्त कृतिहरूका सम्पादक डा.विदुर चालिसेले ‘छोटो समयमै दुई दर्जन बढी कृतिहरूको सम्पादन गर्नु, प्रकाशन गर्नु कम चुनौतीपूर्ण कार्य थिएन, तर हामीले त्यसलाई सहजतापूर्वक सम्पन्न गर्‍यौँ । हतारमा काम गर्दा सानातिना कमिकमजोरी हुनसक्छन्, तर सकेसम्म कम त्रुटि होस् भन्नेमा हामी सजग थियौँ ।’ उहाँले भन्नुभयो ।

    ‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, कृष्णजी शर्मा, गोपाल अश्क, डा.शंकरप्रसाद गैरे, डा.विदुर चालिसे, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, म्यामराज राई, बालकृष्ण सुवेदी, डा.टिकाराम पोख्रेल, अनुग्रह रानामगर ‘पुष्प’, विष्णु पन्थी ‘विनु’, राजन घले, सुरेशकुमार पाण्डे, त्रिलोचन ढकाल, छायादत्त न्यौपाने, होमप्रसाद नेउपाने, मुक्ति गौतम, राजन तिवारी, नानीमैया पोख्रेल, डिलाराम पोख्रेल, रिलिश्मा पोख्रेल, होम सुवेदी, कमल पौडेल, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेलले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।


    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, लघुकथा, वसन्त अनुभव

    ‘बुन्छत’ र ‘नमस्ते’को परिचर्चा कार्यक्रम सम्पन्न

  • २६ माघ २०८१, शनिबार २३:०० मा प्रकाशित
  • काठमाडौँ, माघ २६ गते शनिवार
    वसन्त अनुभव
    नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘बुन्छ्त’ र ‘नमस्ते’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा जुम प्रविधिबाट भएको उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।

    ‘बुन्छ्त’ लघुकथासङ्ग्रह लघुकथाकार म्यामराज राईको दोस्रो लघुकथा कृति हो । यसभन्दा पहिले उहाँको ‘हाम्रो बाटो’ लघुकथासङ्ग्रह प्रकाशित भइसकेको छ ।
    त्यस्तै ‘नमस्ते’ लघुकथासङ्ग्रह, लघुकथाकार भूमिका गैरे तिमिल्सिनाको पहिलो लघुकथा कृति हो । यद्यपि उहाँको ‘निवुवा’ नामक दोस्रो लघुकथा कृति पनि बजारमा आइसकेको छ ।

    परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक डा.विदुर चालिसेले नआलमद्वारा वि.सं. २०८१ मा प्रकाशित सम्पूर्ण लघुकथासङ्ग्रहहरूमा शैली वैज्ञानिक सूत्रको प्रयोग भएको उल्लेख गर्नुभयो । साथै गुरुकुल पद्धतिमा रहेका उक्त २२ वटा कृतिले विभिन्न जाति, वर्ग, स्थान आदिको प्रतिनिधित्व गरेको बताउनुभयो ।
    उक्त पुस्तकहरूको सम्पादकको समेत भूमिका निभाउनुभएका डा.चालिसेले प्रकाशनका क्रममा भोगेका सास्तीहरू उल्लेख गर्दै सकेसम्म त्रुटिरहित बनाउन हरप्रयास गरिएको बताउनुभयो ।

    पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका समालोचक डा.शंकरप्रसाद गैरेले कार्यक्रमको पहिलो चरणमा लघुकथाकार म्यामराज राइको लघुकथा कृति ‘बुन्छत’को परिचर्चा गर्दै ‘वान्तवा’ भाषामा राखिएको शिर्षक ‘बुन्छत’ले पाठकमा कौतुहलता, जिज्ञासा पैदा गर्ने गरेको उल्लेख गर्नुभयो । साथै उहाँले ‘बुन्छ्त’मा पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको ‘खलल’ लघुकथालाई बीज विन्दु मानेर लेखिएका ५४ वटा लघुकथाहरू रहेकोे उल्लेख गर्नुभयो ।
    ‘बुन्छत’ शिर्ष लघुकथा मिथकिय पृष्ठभुमिमा भए पनि सम्पूर्ण लघुकथाहरू सामाजिक, समसामयिक पृष्ठभुमिमा लेखिएका छन् । साथै नेपाली र जापानी परिवेशलाई पृष्ठभुमि बनाएर लघुकथाहरू लेखिएका बताउनु हुँदै राईका लघुकथामा विकृति, विसङ्गतिप्रति व्यङ्ग्य, मानवले पालना गर्नुपर्ने अनुशासन लगायत प्रेम, मानवीय समवेदना रहेको उल्लेख गर्नुभयो ।
    साथै उहाँले समाजमा देखिरहेका, भोगिरहेका घटना, विषयवस्तुलाई कलात्मक शिल्प शैलीमा प्रस्तुति गर्ने क्षमता लघुकथाकार राईमा रहेको बताउनुभयो ।

    कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार भूमिका गैरे तिमिल्सिनाको लघुकथा कृति ‘नमस्ते’ बारे परिचर्चाकार एवम् समालोचक डा.शंकरप्रसाद गैरेले लघुकथाकार तिमिल्सिनाको लघुकथासङ्ग्रह ‘नमस्ते’ पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको ‘सराप’ लघुकथालाई बीज विन्दु मानेर लेखिएको र जसमा ३७ वटा फरकफरक विषयका लघुकथाहरू रहेकोे उल्लेख गर्नुभयो । साथै उहाँले तिमिल्सिनाको लघुकथाहरूमा समाजमा रहेका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य, असल शिक्षकमा हुनुपर्ने गुणहरू लगायत शैक्षिक क्षेत्रमा रहेका विसङ्गतिहरूमाथि प्रहार देख्न पाइने बताउनुभयो ।

    कार्यक्रममा कृतिकारको तर्फबाट बोल्नु हुँदै लघुकथाकारद्वय म्यामराज राई र भूमिका गैरे तिमिल्सिनाले परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा संस्थाप्रति हार्दिक आभार प्रकट गर्दै परिचर्चाकारले दिनुभएको सुझावलाई स्वीकार गर्ने बताउनु हुँदै परिचर्चाकारप्रति धन्यवाद प्रकट गर्नुभयो ।

    ‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा वसन्त अनुभव, कमल पौडेल, डा.विदुर चालिसे, यमुना प्रधानाङ्ग, कृष्णजी शर्मा, डा.शंकरप्रसाद गैरे, अवधेश सिंह, मीठू कुमारी पाठक, मुक्ति गौतम, म्यामराज राई, भूमिका गैरे तिमिल्सिना, छायादत्त न्यौपाने, कुमार काफ्ले, ध्रुव राज थापा, ध्रुव नेपाल, राजन घले लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेलले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, लघुकथा, वसन्त अनुभव

    साताका तीन लघुकथा- ६२

  • १६ भाद्र २०८१, आईतवार १६:५४ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६२औँ) शृङ्खलाका लागि लघुकथाकार बाबुकाजी सुवाल ‘विकेश निराशी’को लघुकथा ‘बुढो हड्डी’, लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘विवश’ र लघुकथाकार प्रतिज्ञा प्रतिज्ञाको लघुकथा ‘झोला’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    ——————-<•>——————

    [१]
    लघुकथा: बुढो हड्डी

    ✍️ बाबुकाजी सुवाल ‘विकेश निराशी’
    एक महिनाअघि विदेशबाट फर्केको नाति सहनीलाल चार पाँच जना मान्छे जम्मा पारेर आएको देखेर खरको छाप्रोबाहिर आँगनमा राखेको मेचमा घाम तापेर बसेकी नथुनी बज्यै अचम्ममा परिन् ।
    -“बाबु माइला, किन मान्छे ल्याएको ? के गर्न लाग्यौ ?” नथुनीले नातिलाई सोधिन् ।
    -“परको त्यो बारीको आँपका बोटहरू काट्न लागेको । अब त्यहाँ घर बनाउनु पर्छ, हजुरआमा ।” सँगै आएका मान्छेहरूलाई बन्चराहरू र डोरी सुम्पिँदै सहनीलालले भन्यो ।

    -“त्यो आँपबारी हाम्रा बाआमा समान छन् बाबू ! नमास्नू, त्यसलाई । हाम्रा बाजेबराजुदेखि हामी सबैलाई पालेको छ, त्यसले । त्यही बारीको आँप तिमीहरूले खायौ, बढ्यौ, पढ्यौ र आज पुगिसरी भयौ । अब मास्यौ भने पाप लाग्छ, बा ! नमास ।”
    नथुनी बज्यैले गहभरि आँसु पारेर गला अवरुद्ध गर्दै भनिन् ।
    -“अब ती आँपका रुखहरू बुढा भइसके । फल पनि राम्रो दिँदैन, तिनको के काम, हजुरआमा ?” सहनीलालले बज्यैलाई सम्झायो ।
    -“हो त नि है ! यो बुढो हड्डीको के काम ?” नथुनी बज्यैले आँखाबाट बर्र आँसु झारिन् र बर्बराउँदै मेचबाट भुइँमा ढलिन् अनि पर्लक्क आँखा पल्टाइन् ।

    २०८१ भाद्र १० गते श्रीकृष्ण जन्माष्टमी
    ——————-<•>——————


    २)
    लघुकथा: विवश

    ✍️ सुरेशकुमार पाण्डे
    -“साहुजी ! मेरो छोरी बिमार छिन् । कृपया मलाई पाँच हजार ऋण दिनुहोस्; मेरो तलबबाट चुक्ता गरुँला ।” सेरुले साहु मुरलीधरसँग बिन्ती बिसायो ।
    -“हेर सेरु ! मसँग एउटा फुटेको कौडी छैन यो वेला । तँलाई कसरी दिउँ ? अरू यता सुन् तँ काम नसकिकन नजानू नि ।” मुरलीधरले सहयोग दिनुको सट्टा उल्टै रोक्यो ।
    -“तर साहुजी मेरो छोरीको जिन्दगी दाउमा छ । उनलाई एक सय चार डिग्री जरो छ । अस्तिदेखि पैसा नभएर सदरमुकाम ठूलो अस्पतालमा लैजान सकेका छैनौँ । कृपया मलाई सके त थोरै रुपियाँ ऋण दिनु, नसके मलाई नरोक्नु । दुई दिनको बिदा दिनुहोस् ।” सेरुले फेरि दुवै हात जोड्यो ।

    -“तीन दिनदेखि नमरेकी तेरी छोरी आजै मर्छे ? काम नसक्दै तँलाई म छुट्टी दिन सक्दैनँ । काम सकेर जा, अनि फेरि भोलि कामको बेला आइपुग नि । नत्र काममा नआए पनि हुन्छ बुझिस् ।” मुरलीले आफ्नो अडान छाडेन ।

    उता सेरु अत्यन्तै चिन्तित थियो । पाँच वर्षकी छोरी बिरामी भएकोले ‘कहाँ लिएर जाने’ भन्ने चिन्ता थियो । साहुले पैसा दिन पनि मानेन ।
    ऊ आँगनीमा व्याकुल अवस्थामा उभिएको थियो । साहु मुरलीधर कुर्सीमा विराजमान थियो ।
    -“साहुजी नमस्ते !” प्रदिप टुप्लुक्कै आइपुग्यो ।
    -“सेरु ! अर्को कुर्सी ले त भित्रबाट ।” साहुले आदेश गर्यो । सेरुले कुर्सी ल्याइदियो ।
    -“पर्दन सर ! म बस्न लाग्दैन । बरु यो दशहजार रकम राख्नुस्, अरू पछि हिसाब गरौँला ।” प्रदिपले दशहजार रुपैयाँ मुरलीधरलाई थमायो र फर्कियो ।

    सेरु मनैमन खुसी भयो । साहुसँग रुपैयाँ आयो । ‘अब मेरो छोरीको उपचार हुन्छ ।’
    -“साहुजी ! पैसा आइहाल्यो । अब मलाई मेरो तलब दिनुहोस् ।” फेरि हात जोड्दै ऊ मुरलीधरको अगाडि उभियो ।
    -“सेरु ! यो पैसा अर्कै कामको लागि हो, दिन मिल्दैन । अरू पैसा सुको छैन ।” मुरलीधरले फेरि पनि बहाना बनायो ।

    सेरुको सहनशिलताको बाँध टुट्यो । उसले मुरलीधरको हात मरक्क मर्क्याइदियो र सबै पैसा खोस्यो । घरमा अरू कोही पनि थिएनन् । त्यसपछि सेरु फटाफट घर गयो र छोरीलाई अस्पताल लगेर भर्ना गर्यो । केहीबेरमै प्रहरी लिएर मुरलीधर अस्पताल पुग्यो ।
    -“सर ! सेरुले मसँग एकपल्ट छोरी बिमार छ भनेको भए म आफैँ अस्पताल पुराइदिन्थेँ । तर यो डाँकाले मलाई मार्नै खोज्यो । यसलाई छोड्नु हुँदैन ।” मुरलीधरले छाती चौडा गराउँदै भन्यो । उता सेरुले प्रहरीलाई मोबाइलमा रिकार्ड गरेको सुनाउँदै थियोे ।

    दाङ घोराही १८
    २८-०८-२०२४(१२-०५-२०८१)
    ——————-<•>—————–


    ३)
    लघुकथा: झोला

    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    -“जाने बेलामा हाँसेर बिदा गर्नु है ” उनले भने तर उनको आँखाहरू भरिएका थिए । आँसु खस्नलाई हतार गरिरहेका थिए ।

    बुढी आमाले सकी नसकी छोराको निधारमा रातो टीका टाँस्दै आशिर्वाद दिइन् ।
    -“भगवानले तेरो सधैँ रक्षा गरुन् !”
    उनलेे श्रीमती र आमासँग बिदा मागेर जान आँटेका थिए, आमाले प्रश्न गरिन् ।
    “बाबु ! झोला गरुङ्गो छ, कसरी लग्छस् ?”

    उनले दुखी हुँदै भने ।
    -“योभन्दा त पीरको झोला बोक्न गाह्राे हुँदोरहेछ, आमा !”

    मेहेलकुना सुर्खेत
    २०८१/५/१३
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव, साताका तीन लघुकथा2 Comments on साताका तीन लघुकथा- ६२

    वर्ष स्तम्भकार सम्मानबाट वसन्त अनुभव र वर्ष उत्कृष्ट पत्रिका सम्मानबाट हिमालयन दृष्टि सम्मानित

  • ११ असार २०८१, सोमबार १६:१४ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले वर्ष स्तम्भकार सम्मा, २०८१’बाट स्तम्भकार वसन्त अनुभवलाई र ।
    ‘वर्ष उत्कृष्ट पत्रिका सम्मान, २०८१ बाट ‘हिमालयन दृष्टि मिडिया प्रा. लि.’लाई सम्मान गरेको छ । मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा उक्त सम्मानबाट सम्मानित गरेको हो ।

    नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथाहरू छानेर स्तम्भकार वसन्त अनुभवले ‘साताका तीन लघुकथा’ स्तम्भ हिमालयन दृष्टि अनलाइन पत्रिकामा निरन्तर प्रकाशन गर्दै आउनुभएको छ । पत्रकारिताको माध्यमबाट उहाँले लघुकथाको उन्नयन र प्रवर्द्धनमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।

    मञ्चका सचिव समेत रहनुभएका अनुभवले लघुकथाको लेखन, सम्पादनका अलावा कथा, कविता, मुक्तक, निबन्ध, गीत, गजल, झिल्का, टुक्का, उदक, पञ्चाङ्ग, चारु लगायत विविध विधामा कलम चलाउने गर्नुहुन्छ । अनुभव विभिन्न संस्थाहरूका कार्यसमितिमा रहेर कार्य गर्दै आउनुभएको छ । उहाँ झिल्का कविताको प्रवर्तक एवम् झिल्का साहित्य समाजको संस्थापक अध्यक्ष हुनुहुन्छ ।

    त्यस्तै लघुकथालाई लगातार वर्षभरि समाजमा फैल्याउनका लागि स्तम्भ प्रदान गरेर योगदान पुर्‍याएकोमा हिमालयन दृष्टि अनलाइन पत्रिकालाई पनि ‘वर्ष उत्कृष्ट पत्रिका सम्मान, २०८१’ द्वारा सम्मान गरिएको छ । “साताका तीन लघुकथा” स्तम्भ विगत लामो समयदेखि यसै पत्रिकामार्फत सञ्चालन हुँदै आइरहेको छ, जसको सञ्चालन वसन्त अनुभवले गर्दै आउनुभएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव1 Comment on वर्ष स्तम्भकार सम्मानबाट वसन्त अनुभव र वर्ष उत्कृष्ट पत्रिका सम्मानबाट हिमालयन दृष्टि सम्मानित

    साताका तीन लघुकथा- ५८

  • १९ जेष्ठ २०८१, शनिबार २१:११ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५८औँ) शृङ्खलाका लागि लघुकथाकार वत्सराज कोइरालाको लघुकथा ‘भुलक्कड प्रोफेसरकी असली धर्मपत्नी’, लघुकथाकार चूडामणि नेपाल ‘अकिञ्चन’को लघुकथा ‘छुइछाइ’ र लघुकथाकार त्रिपूरा खरेलको लघुकथा ‘गणतन्त्र’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~

    [१]
    लघुकथा: भुलक्कड प्रोफेसरकी असली धर्मपत्नी

    ✍️ वत्सराज कोइराला
    निकै भुलक्कड थिए, प्रोफेसर खड्काजी । कलेजतिर हिँड्ने बेलामा कहिले पर्स बोक्न बिर्सन्थे, कहिले मोबाइल । हत्तपत्त उनकी पत्नीले ‘यो छुट्यो, त्यो छुट्यो’ भन्दै ती चीज ल्याएर उनलाई थमाइदिन्थिन् ।

    बुढीले सधैँ आफूलाई बुद्धू र भुलक्कड भनेर गिज्याइरहेपछि एकदिन प्रोफेसर खड्काजीको दिमागमा एउटा आइडिया फुर्‍यो ।

    भोलिपल्ट बिहान कलेज जानुअघि आफूले लैजानुपर्ने पेन, पर्स, मोबाइल, ब्याग, चस्मा, डायरी आदिको लिस्ट बनाए । त्यसपछि चिनो लगाउँदै ती सामान खल्तीमा, ब्यागमा राखे ।

    त्यसपछि ढोकाबाट निस्केर आँगनमा रहेको मोटरसाइकल स्टार्ट गर्न लाग्दा ढोकामा बुढीलाई देखेपछि मुसुक्क हाँस्दै भने- “देख्यौ बुढी ! आजबाट म भुलक्कड होइन नि !”

    अनि पत्नी नजिकै आइन् र बिस्तारै भनिन्- “मेरो प्यारो भुलक्कड पतिदेव ! हिँड्नुस् भित्र, आज शनिवार हो ।”

    यो सुनेर खड्काजी लाजले पानी पानी हुँदै भने- “धन्यवाद बुढी ! आज बल्ल धर्मपत्नीको असली महत्त्व बुझेँ ।”

    [२]
    लघुकथा: छुइछाइ

    ✍️ चूडामणि नेपाल ‘अकिञ्चन’
    “भनेको मान्दिनस् ? पर समालिएर बस है ।” बिहानैदेखि घरमा भ्याइ नभ्याइ थियो । हजुरआमालाई पूजामा बसेपछि एक घण्टा लाग्थ्यो । पेटको शल्यक्रिया गरेर आएकी आमा सकि नसकी काममा व्यस्त हुनुहुन्थ्यो ।
    “भाउजूको छुइछाइ चारदिन भएको, अझै छुन हुँदैन रे ! लु फटाफट रोटी पकाउनुहोस् त भाउजू ! ओइ बुने तँ आइज तरकारी काट । दुईदिन होस् कि तीनदिन, म डयुटी बस्छु; कसले के गर्दो रैछ, के हुँदोरैछ हेर्छु । कसैलाई यता आउनै दिन्नँ । शरीरको नियमित एउटा प्राकृतिक कुरालाई अपराध बनाउन हुन्न । यो सामान्य कुरा हो । जानु आमा कुर्सीमा बसेर आरामा गर्नु ।” जेठी नातिनी सुधा बोेली ।

    “हाम्रो परिवार र समाज कहिले बदलिन्छ दाइ ? तपाईँहरू पनि त बोल्नु पर्‍यो नि !”
    “खै हजुरआमा, आमासँग कसले सक्ने बहिनी ? बुवा र मैले त बोलेकै छौँ । जबसम्म सम्पूर्ण महिलामा चेतना आउँदैन तबसम्म यस्तै होला बहिनी । हामी लोग्नेमान्छेभन्दा महिलाहरूमा नै परम्परा र धार्मिक कट्टरता बढी देखिन्छ बहिनी !”

    हजुरआमा भटभटेभन्दा ठूलो स्वरमा भटभट्याउँदै पूजा सकेर भर्‍याङ ओर्लनुभयो । फेरि अवस्था परिवर्तन भयो । आमा आएर पिठोमा हात चोब्नुभयो । बहिनी उठेर अर्कैतिर लागी ।
    पूजा सकिँदा तीन बज्यो । आमा एकपटक बेहोस हुनुभयो । हजुरआमा त्यसै रिङ्गटा लाग्यो भनेर ढल्नुभयो । हामीले जीवनजल खुवायौँ ।
    “कुन चाहिँ मोरामोरीले छुइछाइको बेला के बिगार गरे, आज भगवान् रिसाउनुभयो । यस्तो मलाई कहिल्यै भएको थिएन ।”
    “भगवान् होइन, नातिनी रिसाई हजुरआमा ! दक्षिणा कम भयो ।” कोठामा हजुरआमा बाहेक सबै हाँस्न थाल्यौँ । हामीले देखेका पूजा कोठाका र भित्तामा टाँगिएका भगवानहरू पनि हाँसीरहनु भएको थियो ।
    विराटनगर १

    [३]
    लघुकथा: गणतन्त्र

    ✍️ त्रिपुरा खरेल
    जङ्गलमा आमसभा बस्यो । सभालाई हात्ती र स्यालले सञ्चालन गरेका थिए । सभा राख्नुको उद्देश्य थियो, जङ्गलको राजालाई सिंहासनबाट हटाउनु ।

    “हामीले सिंहलाई सत्ताच्युत गर्नुपर्छ । एउटै वंशले राजसत्ता चलाउनु प्रजाहरूका लागि घोर अन्याय होब।” स्यालले टेबल ठटायो ।

    “हामी पनि कमजोर छैनौँ । आफूमात्र खाने अरूको भोकप्यासको वास्ता नगर्ने राजाका विरुद्धमा हामी सबै मिलेर विद्रोह गर्नुपर्छ।” हात्ती गर्जियो ।
    “जङ्गलको राजालाई हटाउनै पर्छ । हामीलाई राजतन्त्र होइन गणतन्त्र चाहिन्छ।” सभामा उपस्थित सबैले नारा लगाए ।
    “शान्त, शान्त ! पहिले हामीले सिंहलाई गद्दीबाट हटाउने उपायबारे सोच्नुपर्छ । त्यसपछि उसले अन्याय गरेर जेलमा थुनेका निर्दोष बाघहरूलाई जेलबाट निकाल्नुपर्छ । यसपछि मात्र हामी प्रजाहरूले सुशासन चलाउनुपर्छ ।” हात्तीले सबैलाई चुप गरायो ।

    “हामीलाई आफ्नो पेट भरेर मस्त सुत्ने अविवेकी अल्छे राजा चाहिँदैन । गरीबलाई गाँस, बास, कपास दिने नेता चाहिन्छ ।” स्यालले पनि हात्तीले जस्तै प्रजातन्त्रको पक्षमा भाषण दियो ।
    सबै मिलेर सिंहलाई जालमा पारेर सत्ताबाट हटाए । जेलको सजाय भोगेका बाघहरूलाई कैदबाट मुक्त गरिदिए । जङ्गली जानवरहरूले हात्तीलाई राजा र स्याललाई जम्बु मन्त्रीको पदभार सम्हाल्ने अनुमति दिए ।


    हात्ती र स्याल खादा माला लगाएर आआफ्नो कुर्सीमा बस्न जाँदै थिए । जेलबाट मुक्त भएका बाघहरूले ती दुईलाई मारेर सत्ता हत्याए ।
    मामरिङ्ग, दक्षिण सिक्किम

    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव, साताका तीन लघुकथाLeave a Comment on साताका तीन लघुकथा- ५८

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P