लघुकथाकार सुरेशकुमार पाण्डेको तेस्रो लघुकथा कृति ‘आवाज’को आइतबार परिचर्चा कार्यक्रम सम्पन्न भएको थियो । स्रष्टा साँझ अमेरिकाको आयोजनामा नेपाली समयानुसार यही चैत २९ गते आइतवार अपरान्ह सवा ६ बजे जुम प्रविधिमार्फत् भएको उक्त कार्यक्रममा परिचर्चाकारहरू सत्या अधिकारी, डा. कुसुमाकर शर्मा गौतम, दीपक लोहनी र खेमराज पोखरेलले कृतिमाथि परिचर्चा गर्नुभएको थियो ।
परिचर्चाकार सत्या अधिकारीले कृतिभित्रबाट समीक्षा शीर्षकको लघुकथा वाचन गर्नुकासाथै वाचित लघुकथाको टिप्पणी गर्नुभयो । उहाँले शैक्षिक बेथितिमाथि बुलन्द आवाज उठाएको, समस्या देखाउने तर समाधान नखोज्ने मानवीयप्रति कटाक्ष गरेको टिप्पणी गर्नुभयो । कृतिका भूमिका लेखक र कार्यक्रमका परिचर्चाकार डा. कुसुमाकर शर्मा गौतमले आवाज लघुकथासङ्ग्रह कालखण्ड दोषमुक्त सङ्ग्रहकारूपमा आएको बताउनु भयो । छोटाकथा र लघुकथाको बीचमा भिन्नता पहिचान गर्न लघुकथामा देखिनु पर्ने लघुत्व , क्षणिकता र प्रभावकारिताको विचार प्रस्तुत गर्नुभयो ।
परिचर्चाकार दीपक लोहनीले आवाज लघुकथाकृतिले उठाएका विचारप्रति आफ्ना धारणा प्रस्तुत गर्नुभयो । कृतिभित्रका १२२ वटा लघुकथाहरूमा कृतिकारले समाचार, सामाजिक घटनाहरू र जीवन भोगाइका विविध अनुभवलाई लघुकथामा पस्केको र समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा, विभेद, नारी चेतना, बाल र पुरुष मनोविज्ञान, वैदेशिक रोजगारका पीडाहरूका विरूद्धमा सशक्त आवाज उठाएका बताउनुभयो । ग्रामिण परिवेश, आञ्चलिक र स्थानीय लवजहरूको सन्तुलित प्रयोग गर्नुले लघुकथामा मिठास रहेको बताउनुभयो । अभिधाको अर्थमा लघुकथाहरू बढी रहेका छन् भने लक्षणाका आधारमा न्यून र व्यञ्जनाका आधारमा प्रमुखरूपमा आएको धारणा प्रष्ट पार्नु भयो । नियमितरूपमा लघुकथा लेख्ने स्रष्टा पाण्डेको लेखनप्रतिको सक्रियता लोभलाग्दो छ तर पनि कृतिकारले धैर्य र चिन्तनमनन गरेर लेख्ने हो भने एउटा सफल लघुकथाकारको रूपमा स्थापित हुन सक्ने विचार राख्नुभयो ।
परिचर्चाकार खेमराज पोखरेलले लघुकथाहरूमा पाइने सवल र दुर्वल पक्षबारे बिहङ्गम दृष्टि प्रस्तुत गर्नुभयो । आमाप्रतिको सम्मान भाव, अर्गानिक भाषा, विविध विषय, स्वैरकल्पना र व्यङ्ग्यको प्रयोग, लघुत्व र क्षणिकता पाइनु , लघुकथाका सबल पक्ष हुन् भने कौतुहलताको क्षय, विषयको दोहोरोपन, परम्परावादी विचार, प्राभवकारिता कम हुनु, कथ्य चयनमा कमजोरी, केही लघुकथामा समापनको बिस्तार र छोटोकथा बनेको बताउँदै आगामी दिनमा सचेत रहन सुझाव दिनुभयो ।
कार्यक्रममा उपस्थित हुनुभएका कृतिका सम्पादक वसन्त अनुभवले कृतिकारले जे जस्तो लवजमा बोल्नुहुन्छ, उस्तै लेख्नुहुन्छ तसर्थ पनि केही कमीकमजोरी देखिनु स्वभाविक हुने गर्छ । औपचारिक शिक्षा नलिएका भए पनि स्रष्टाले छिटो र नियमितरूपमा लेख्ने गर्नुहुन्छ जुन लोभलाग्दो पक्ष रहेकोे भन्दै स्रष्टाको कलमको प्रशंसा गर्नुभयो ।
प्रा. विश्वराज अधिकारीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा लता के. सी. र राप्ती साहित्य परिषद दाङका अध्यक्ष यम रेग्मीले कृतिगत सफलताको लागि कृतिकारलाई शुभकामना र बधाई दिनुभयो ।
कार्यक्रमको अन्त्यमा कृतिकारले सबैलाई धन्यवाद दिँदै लघुकथा लेखनको प्रेरणा , लेखनयात्राका अनुभूति र प्रभावबारे आफ्नो धारणा राख्नु भयो ।
दाङ चैत्र २७ राप्ती साहित्य परिषद् दाङ शाखाले हरेक तीनतीन महिनामा नियमित रूपमा गर्दै आएको एकल रचनावाचनको ८४ औँ श्रृङ्खला युवा गजलकार मनोज थापा मगरलाई स्थान दिएको थियो । राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यता तथा केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाको विशिष्ट आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । एकल रचनावाचन कार्यक्रममा सष्टा मनोज थापा मगरले डेढ दर्जनभन्दा बढी गजलहरू प्रस्तुत गरेका थिए। उनका गजलहरूमा मायाप्रेम पाइनुका साथै समाजमा रहेका विकृति र विसङ्गतिमाथि उनले चोटिलो प्रहार गरेका थिए ।
लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, साहित्यकार नगेन्द्रगुरु, रुकुम पूर्व शाखाका पूर्व अध्यक्ष कमानसिंह बिष्ट, विशिष्ट अतिथि कमलमणि देवकोटा, प्रमुख अतिथि पुरुषोत्तम खनाल लगायतले स्रष्टा मनोज थापा मगरलाई सफलताको शुभकामना दिनुभएको थियो।
कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर,’ नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा. हिमलाल पन्थी, झिल्का साहित्य समाजका अध्यक्ष एवम् झिल्का प्रवर्तक वसन्त अनुभव, प्रगतिशील लेखक सङ्घ दाङका सचिव पुराण शर्मा, अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य बिसी, कान्तिपुर टेलिभिजनका दाङ समाचारदाता अमर क्षितिज भण्डारी, गोरखापत्र दैनिकका दाङ समाचारदाता लिलाधर ओली, नयाँ युगबोध राष्ट्रिय दैनिकका समाचारदाता गोविन्द खड्का, रेडियो भरोसाका समाचारदाता भरत ओली , साहित्यकारहरू रामप्रसाद जैसी , कपिल किशोर घिमिरे, मधुसुधन गौतम, डम्बर प्रसाद निरौला, हरिप्रसाद रिजाल, महेश कुमार न्यौपाने, रिमा गौतम, देवेन्द्र रिजाल, नारदप्रसाद भण्डारी, शरद गौतम, दामोदर पौडेल, अनुजा शर्मा ‘संस्कृति’, शंकर घर्ती मगर, सुष्मा पुन, शर्मिला पुन, लगायतका विभिन्न संघसंस्था तथा साहित्यकारहरूकोहरूको गरिमामय उपस्थित रहेको थियो। राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सहसचिव वीना रोका क्षेत्रीले गर्नुभएको थियो।
दाङ चैत्र २१ राप्ती साहित्य परिषद् दाङ शाखाको १८औँ वार्षिकोत्सव कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा आधा दर्जन साहित्यिक व्यक्तित्वहरूलाई सम्मान एवम् पुरस्कार समर्पण गरिएको थियोे ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा भाषा आयोगका निवर्तमान सदस्य तथा वरिष्ठ साहित्यकार डा. अमर गिरीको प्रमुख आतिथ्य र राप्ती साहित्य परिषद केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा ‘यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार’बाट डा. टीकाराम उदासी, ‘कृष्ण गायत्री प्रज्ञा पुरस्कार’बाट हरि पोख्रेल, ‘नेत्रमोहनादेवी साहित्य पुरस्कार’बाट डिल्लीराज श्रीधर र ‘वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार’बाट खगेश्वर भण्डारीलाई पुरस्कृत गरिएको थियो। त्यसैगरी साहित्यकार तथा लेखक गुरुप्रसाद शर्मा रेग्मी र पुरस्कार संस्थापकहरू मध्येबाट देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापक घरपरिवारलाई सम्मान गरिएको थियाे । पुरस्कृत स्रष्टाहरूको परिचय प्रतिभा छनोट समितिका संयोजक राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा दाङ शाखाका सल्लाहकार दीपक शर्मा ‘समीर’ गर्नुभएको थियो ।
कार्यक्रममा दुई दर्जन बढी कवि एवम् साहित्यकारहरूले काव्य वाचन गर्नुभएको थियो । डा. हिमलाल पन्थी, धनसिंह गिरी, देवेन्द्र रिजाल, शंकर घर्ती मगर, पदमप्रसाद पोखरेल, महेश कुमार न्यौपाने, दीप बहादुर खत्री, कपिल किशोर घिमिरे, वसन्त अनुभव, पुरण शर्मा, नारदप्रसाद भण्डारी, शारदा शर्मा, सुरेशकुमार पाण्डे, डा. लोकराज पराजुली, अनुजा शर्मा संस्कृति लगायत पुरस्कृत स्रष्टा हरि पोख्रेल, डिल्लीराज श्रीधर र खगेश्वर भण्डारीले शुभकामना मन्तव्य सहित रचना वाचन गर्नुभएको थियोे ।
नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक विभागका निर्देशक तथा पुरस्कृत स्रष्टा डा. टीकाराम उदासी, राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, सल्लाहकार पदमप्रसाद शर्मा, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापा, प्रगतिशील लेखक सङ्घ दाङका अध्यक्ष चन्द्रबहादुर थापा, लेखक सङ्घ दाङका उपाध्यक्ष गोविन्द पौडेल, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, सिस्नोपानी नेपाल दाङ शाखाका अध्यक्ष लोकराज पराजुली, झिल्का साहित्य समाज नेपालका अध्यक्ष एवम् झिल्का प्रवर्तक वसन्त अनुभव लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। त्यसैगरी सम्मानित स्रष्टा गुरुप्रसाद रेग्मी तथा वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापक लालबहादुर आरसीले आफ्नो सान्दर्भिक भनाइ राख्नुभएको थियो।
प्रमुख अतिथिको रूपमा रहनुभएका वरिष्ठ साहित्यकार तथा भाषा आयोगका निवर्तमान सदस्य डा.अमर गिरीले साहित्यकारले साहित्यको विधागत चेतनाका साथसाथै साहित्यको गुणस्तरमा पनि स्रष्टाले ध्यान दिनुपर्ने कुरा बताउनुभएको थियो। विशिष्ट अतिथि रूपमा रहनुभएका राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालले राप्ती साहित्य परिषद्का विभिन्न जिल्लाहरूमा छ वटा शाखा रहेको र सबै शाखाहरू सक्रिय रूपमा अगाडि बढेकोमा आफूलाई गर्व लागेको बताउनुका साथै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
उक्त अवसरमा वार्षिक कार्यक्रम सञ्चालनमा आर्थिक सहयोग प्रदान गर्ने संस्थाहरू पार्वता स्मृति साहित्य प्रतिष्ठान, घोराही, दाङ र धनलक्ष्मी कानुनी सेवा, घोराही दाङलाई पनि सम्मान गरिएको थियो ।
सो कार्यक्रममा परिषदका कोषाध्यक्ष सुशीला आचार्यले आर्थिक प्रतिवेदन र सचिव घनश्याम केसीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो।
दाङ चैत्र १७ विगतका वर्षहरूमा झैँ यस वर्ष पनि राप्ती साहित्य परिषद् दाङ शाखाले यही चैत २१ गते शनिबारको दिन पत्रकार महासङ्घ दाङको सभाहलमा स्रष्टा सम्मान, पुरस्कृत,साधारण सभा तथा साहित्यिक कार्यक्रमहरू गर्ने भएको छ। २०८२ सालको पुरस्कार समर्पणका लागि यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट डा टीकाराम उदासी, कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट हरि पोख्रेल, नेत्रमोहनादेवी साहित्य पुरस्कारकाबाट दिल्लीराज श्रीधर र वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट खगेश्वर भण्डारीलाई पुरस्कृत गर्ने भएको छ। त्यसैगरी यस वर्ष विगतका वर्षहरू झैँ साहित्यकार तथा लेखक गुरुप्रसाद शर्मा रेग्मी र पुरस्कार संस्थापकको तर्फबाट देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापक लालबहादुर आरसी सम्मान गर्ने भएको छ । माथिका पुरस्कार समर्पणका लागि प्रतिभा छनोट समिति गठन गरिएको थियो। जसको संयोजकमा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ सदस्यहरूमा केन्द्रीय सचिव शारदा शर्मा र राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका निवर्तमान सचिव प्रकाश केसीलाई चयन गरिएको थियो । उक्त दिन साहित्यिक कार्यक्रम पनि गरिने राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीले जानकारी गराउनुभयो।
दाङ चैत्र ३ विगतका वर्षहरूमा झैँ यस वर्ष पनि राप्ती साहित्य परिषद् दाङ शाखाले यही चैत २१ गते शनिबारको दिन स्रष्टा सम्मान, साधारण सभा, साहित्यिक कार्यक्रमहरू गर्ने भएको छ।
२०८२ सालको पुरस्कार प्रदानको लागि प्रतिभा छनोट समिति गठन गरिएको छ। जसको संयोजकमा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ सदस्यहरूमा केन्द्रीय सचिव शारदा शर्मा र राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका निवर्तमान सचिव प्रकाश केसीलाई चयन गरिएको छ। राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङमा विभिन्न व्यक्तिहरूले स्थापना गर्नुभएका चारवटा पुरस्कारहरू रहेका छन् ।
प्रतिभा छनोट समिति सिफारिस गरेको स्रष्टाहरूलाई पुरस्कृत गर्ने, २/३ जना अग्रज श्रष्टालाई विगतका वर्षहरूमा झैँ सम्मान गर्ने, साधारण सभा तथा साहित्यिक कार्यक्रम गर्ने कुरा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मी बताउनुभयो।
१) पूज्य मेरो गुरु ब्रान्डका पिता हजुर हजुरबाट सृष्टि सुरु । २) उघारी आँखा मेरा जहाँतहीँ देखूँ तिमीलाई तोडेर सम्पूर्ण घेरा । ३) दिनपछि कालो रातमा भगवान् शिव छन् हरहमेसा मेरो साथमा । ४) म भक्त शिवकाे उनकै पछि लाग्छु कल्याण हुन्छ जीवकाे । ५) गुरुका पनि गुरु हजुरै त हुनुहुन्छ हजुरबाटै काम सुरु । ६) माया र स्नेह गर्नुहुन्छ आफ्नाे भक्तकाे सम्झी आफ्नै देह । ७) बनेर म अन्धभक्त लागिरहेछु रातदिन सदा भएर कट्टर सशक्त । ८) लगाई बाघको छाला बस्नु हुन्छ ध्यानमा पहिरिई रुद्राक्ष माला । ९) समातेर डमरु हातमा गर्नुहुन्छ उहाँ ध्यान केशरी जटाका साथमा । १०) सारा पृथ्वी चलाउने सृष्टिदाता भगवान् उनै पापीलाई सिधैँ जलाउने । ✍️ ईश्वर साउद(भिक्षु ) रामाराेशन गाउपालिका ६ सुदुरपश्चिम अछाम
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा ‘निमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कार’ का लागि शनिबार घोराहीमा बाल कविता प्रतियोगिता सम्पन्न भएको छ। घोराहीस्थित गोर्खा इन्टरनेसनल पब्लिक सेकेण्डरी स्कुलमा आयोजित उक्त प्रतियोगितामा १० वटा विद्यालयका १४ वर्ष भन्दा मुनिका २८ जना विद्यार्थीहरू सहभागी थिए।
प्रतियोगितामा सिद्धार्थ एकेडेमीकी अंशु पौडेल प्रथम, ज्योति पुञ्ज बोर्डिङ स्कुलकी प्रेशा खनाल द्वितीय, गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलकी प्रिन्सा पोखरेल तृतीय र जनज्योति विद्यामन्दिरकी रुबी अधिकारी सान्त्वना भएकी छिन्। राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा पुरस्कार संस्थापक संस्थापक पुरुषोत्तम खनालको प्रमुख आतिथ्य तथा गोर्खा इन्टरनेसनलका प्रिन्सिपल मानसिङ घर्ती विशिष्ट आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी, देवेन्द्र रिजाल र विना रोका निर्णायक रूपमा रहनुभएको थियो । कार्यक्रम संयोजक सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसी र अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य बिसीले गर्नुभएको थियो।
१) साँचो पिरती गाँसूँ सधैँभरि म तिमीसँगै खुसीले सधैँ हाँसूँ । २) म मुटुभरी सजाउँछु तिमीलाई यो जुनीमा अब मायाले रिझाउँछु । ३) गुलाफको रातो थुङ्गा तिमी माझी हौ बन्छु तिम्रै डुङ्गा । ४) अमर रहोस् माया पवित्र यो सम्बन्धले नभोगोस् कहिल्यै छाया । ५) मुटुको एउटा कुना सजाएर तिमीलाई राख्छु सधैँभरि दुई गुना । ६) बाचा कसम खाऔँ भुलेर सारा दुनियाँलाई मायाकै संसारमा धाऔँ । ७) न्यानो त्यो अङ्गालो सजाइदिऊँ खुसीहरू सबै फुटाएर मनको भङ्गालो । ८) नटुटोस् यो साथ जिन्दगीको हरेक मोडमा कति सुन्दर माथ । ९) प्रणयको मिठो मास बदलियोस् यो जीवन बनेर तिम्रो बास । १०) चोखो यो प्रीति बसौँला सँगै हाँसेर बदलेर संसारको रीति । ११) अटुट एउटा नाता तिमीलाई नै ओढाउँछु पिरतीको यो छाता । १२) पवित्र रहोस् मन तिमी हौ मेरो जिन्दगीको अमूल्य धन । १३) जपेर पिरतीको माला सजाउँला यो संसार हेरौँला त्यसको चाला । १४) भरेर ओठमा हाँसो बाँचेका छौँ खुसीले नपारी कहिल्यै पासो । ✍️ नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, उदयपुर
लघुकथाकार चुडामणि नेपाल ‘अकिञ्चन’को लघुकथासङ्ग्रह ‘धुवाँको रङ्ग’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजेसम्म चलेको थियोे ।
‘धुवाँको रङ्ग’ लघुकथासङ्ग्रह, लघुकथाकार चुडामणि नेपाल ‘अकिञ्चन’को पहिलो लघुकथा कृति हो । जसमा कुल ७९ वटा लघुकथाहरू सङ्ग्रहित रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. विदुर चालिसेले लघुकथासङ्ग्रहमा आयामगत आवृति एउटै भएको उल्लेख गर्दै लघुकथाकार अकिञ्चनको शिर्ष लघुकथा धुवाँको रङ्ग दार्शनिक चिन्तनबाट अभिप्रेरित रहेको बताउनुभयो । साथै उहाँले सेतो रङले सकारात्मक उर्जा र कालो रङले नकारात्मक उर्जा दर्शाउने भन्दै ती प्रतिकात्मक रूपमा आएको भन्नुभयो ।
लघुकथामा शब्द सङ्ख्याको सन्दर्भमा बोल्नुहुँदै उहाँले भन्नुभयो- “जब लघुकथाकार लेखनमा पारङ्गत अवस्थामा पुग्छ नि शब्द कति भयो भनेर उसलाई शब्द गनिरहनुपर्दैन । उसले मानक सङ्ख्याभन्दा बढी लेख्नै सक्दैन ।”
साथै उहाँले लघुकथामा प्राविधिक मोडुलाइजेसन खाँचो रहेको, जसको लागि वृहत् गोष्ठी आयोजना गर्नुपर्ने बताउनुभयो । धुवाँको रङ्ग लघुकथासङ्ग्रहमा ‘प्रोजेक्ट वर्क’ लघुकथा शिर्षक आफैँमा अङ्ग्रेजी शब्दको भएको र त्यसभित्र २४ भन्दा बढी ठाउँमा अङ्ग्रेजी शब्द प्रयोग भएको उल्लेख गर्दै अङ्ग्रेजी शब्द मोह त्याग्न उहाँले सर्जकलाई सुझाउनुभयो ।
कार्यक्रममा ‘धुवाँको रङ्ग’ लघुकथासङ्ग्रहलाई दुई पक्ष- विषयवस्तु वा संरचनागत पक्ष र शिल्प शैली वा सौन्दर्य पक्षमा आधारित रहेर परिचर्चा गरिएको थियोे । लघुकथा कृतिमा समाविष्ट लघुकथाहरूको ‘विषयवस्तु वा संरचनागत पक्ष’मा केन्द्रित रही सोको परिचर्चा वरिष्ठ लघुकथाकार/समालोचक डा.हरिप्रसाद भण्डारीले र शिल्प शैली वा सौन्दर्य पक्षको परिचर्चा वरिष्ठ लघुकथाकार/समालोचक प्रा.डा. कपिल लामिछानेले गर्नुभएको थियोे । ‘धुवाँको रङ’ भित्रका लघुकथाहरूको संरचनागत पक्षको कोणबाट परिचर्चा गर्नुहुँदै डा. हरिप्रसाद भण्डारीले लघुकथा कृतिमा विषयगत विविधता रहेको उल्लेख गर्नुभयो ।
साथै लघुकथा लेख्नका लागि जुन विषय छान्ने गरिन्छ त्यसलाई लघुकथाको विषयवस्तु वा कथावस्तु मानिन्छ । सुनको प्रसङ्ग उठाउँदै उहाँले संरचनागत पक्ष र शिल्प शैली बीच रहेको भिन्नता स्पष्ट पार्नुभयो । खानीबाट सुन निकाल्नु लघुकथाको संरचनागत पक्ष हो भने बुद्धि विवेक सीप प्रयोग गरेर सुनलाई गहनामा परिवर्तन गर्नुलाई शिल्प पक्ष मान्न सकिन्छ, उहाँले भन्नुभयो ।
लघुकथा कृतिको शिर्ष लघुकथा धुवाँको रङ्गका बारेमा परिचर्चा गर्दै कथामा निर्दोष युवाको चिताको धुवाँको रङ सफा सेतो निस्किएको तर धनी स्वार्थी व्यक्तिको चिताको धुवाँको रङ कालो भएको दर्शाइनुले मान्छे जिउँदो हुँदा जस्तो चरित्र छ मरेपछि उसै अनुरूपको प्रभाव छोड्छ भन्ने सन्देश दिएको बताउनुभयो ।
साथै उहाँले सङ्ग्रहमा समाजमा रहेका सामाजिक, राजनैतिक, सास्कृतिक विकृति, विसङ्गतिहरूको उजागर गर्नुका साथै जेष्ठनागरिकको पीडा, वैदेशिक रोजगारले पारेको प्रभाव, महिनावारी बार्ने प्रचलन, महिलाले भोगेका पीडा, प्रेमको प्रसङ्ग, धार्मिक अन्धविश्वास, यौन चाहना, साहित्यमा भएको विकृति, प्राकृतिक प्रकोपले निम्त्याएको अवस्था लगायत विविध विषयलाई कथावस्तु बनाइएको बताउनुभयो।
साथै कृतिमा धेरै भूमिका, शुभकामना नराख्दा उत्तम हुने, पुस्तकको शिर्षक एउटा लघुकथाको शिर्षकबाट नलिई समग्र लघुकथाहरूको प्रतिनिधित्व हुने गरी उपयुक्त शिर्षक राख्दा सबै लघुकथालाई न्याय हुने, विषयवस्तुको पुनरावृत्ति राम्रो नमानिने भन्दै लघुकथामा परिमार्जन आवश्यकता भएको जनाउनुभयो । साथै केही लघुकथा लघुकथाभन्दा पनि बालकथा हुनपुगेको बताउनुभयो । साथै अन्तमा लघुकथाकार अकिञ्चनको प्रयास अत्यन्त सुन्दर, प्रशंसनीय रहेकोे बताउनुभयो ।
त्यस्तै धुवाँको रङ्गको शिल्प शैली अर्थात् सौन्दर्य पक्षको परिचर्चा गर्दै परिचर्चाकार प्रा.डा. कपिल लामिछानेले सङ्ग्रहभित्र सबै लघुकथाहरू उस्तै उस्तै आकारको भएको, एउटै पृष्ठमा अटाएको अर्थात् सन्तुलन कायम गर्नुभएकोमा सर्जकको प्रशंसा गर्नुभयो । लघुकथाहरूको शिर्षकबारे बोल्दै उहाँले कृतिमा ३६ लघुकथाहरू दुई शब्दको र बाँकी सबै लघुकथाहरू एक शब्दको शिर्षक हुनु कृतिको सुन्दर पक्ष रहेको बताउनुभयो ।
धेरै लघुकथामा संवाद शैलीको प्रयोग भएको तर कतिपय लघुकथामा वर्णनात्मक शैली, नाटकीय शैली र संस्मरणात्मक शैलीको पनि प्रयोग भएको बताउनुभयो । कृति अन्तर्गत सुधार गर्नुपर्ने पक्ष बारे बोल्नुहुँदै उहाँले शिर्ष लघुकथामा रङ हुनुपर्नेमा रङ्ग भएको, कतिपय स्थानमा हलन्त हुनुपर्नेमा अजन्त र अजन्त हुनुपर्नेमा हलन्त भएको उल्लेख गर्दै सर्जकले वर्णविन्यासमा सचेत रहन सुझाउनुभयो ।
साथै उहाँले केही लघुकथाहरूमा अन्त्य बिस्तार भएको, धेरै संवादलाई एउटै अनुच्छेदमा राखेको, दुईवटा वा बढी संवादलाई एउटै उद्धरण चिन्हभित्र राखेको, लघुकथामा द्वन्द आवश्यक हुन्छ, भएको तर हुर्कन नपाएको तर्फ औल्याउँदै सङ्ग्रहमा परिमार्जनको आवश्यकता रहेको बताउनुभयो । साथै उहाँले लघुकथा भनेर छापिएका सबै आख्यान लघुकथा हुँदैनन् । तसर्थ सङ्ख्यात्मकलाई भन्दा गुणात्मक पक्षलाई जोड दिनु आजको आवश्यकता भएको बताउनुभयो ।
कृतिकारको तर्फबाट बोल्नुहुँदै लघुकथाकार चुडामणि नेपाल ‘अकिञ्चन’ले समीक्षकहरूबाट आएको सुझावलाई शिरोपर गर्दै आगामी दिनमा सुधार गरेर अगाडि बढ्ने बताउनुभयो । साथै उहाँले सुन्दर समीक्षाका लागि समीक्षकहरूप्रति, अवसर र व्यवस्थापनका लागि नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूप्रति आभार एवम् धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष एवम् नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले केही सर्जकहरूमा आफ्नो सृजना ठिक भएको र जस्ताको तस्तै छापियोस्’ भन्ने चाहना हुन्छ जुन उचित नभएको बताउनुभयो । साथै अर्काले लेखेको लघुकथा चोरेर त्यसमा थोरै विषयवस्तु, शिल्प शैली परिवर्तन गरेर आफ्नो लघुकथा बनाउनु अनैतिक व्यवहार भएको, जुन क्षम्य नहुने बताउनुभयो ।
‘लघुकथा वन्दना’को प्रशारणसँगै सुरु भएको कार्यक्रममा वरिष्ठ साहित्यकार हरि कट्टेल र दिनेश राज सुवेदीले शुभकामना मन्तव्य दिनुभएको थियोे भने वरिष्ठ लघुकथाकार/साहित्यकार ध्रुव मधिकर्मी, डा.टिकाराम पोख्रेल, वसन्त अनुभव, नर पल्लव, रमेन्द्र कोइराला, इन्दिरा चापागाईं, सीता रेग्मी, नारायणनाथ योगी, लक्ष्मी रेग्मी खनाल, तुलसी पण्डित, दुर्गा ढकाल, हरि कट्टेल, दिनेश राज सुवेदी, चिरञ्जीवी काफ्ले, तिर्थ राज भाट लगायत संस्थाका पदाधिकारी, लघुकथाकार, साहित्यकार, समीक्षक, पाठक, पत्रकारहरूको बाक्लो उपस्थिति रहेकोे थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण लघुकथाकार आयुष बडालले गर्नुभएको थियोे ।
लघुकथाकार सुरेशकुमार पाण्डेको तेस्रो लघुकथा कृति ‘आवाज’को शनिवार विमोचन भएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार/पत्रकार एवम् पूर्व सभासद्, शताब्दी पुरुष नारायण प्रसाद शर्माले उक्त कृतिको विमोचन गर्नुभएको थियोे । विमोचित कृतिका कृतिकार सुरेशकुमार पाण्डे आयोजक संस्थाको उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँको यो पाँचौ एकल साहित्यिक कृति हो । यसअघि उहाँका ‘अन्धकार चिर्ने दीयो’ र ‘देशभक्ति आवाज’ नामक दुई गजलसङ्ग्रह, ‘अनुभव’ (हिन्दी) र ‘जेईको सम्झना’ (नेपाली) नामक दुई लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन् ।
कार्यक्रममा विमोचित कृतिको समीक्षा झिल्का साहित्य समाजका अध्यक्ष/झिल्का प्रवर्तक एवम् लघुकथाकार वसन्त अनुभवले गर्नुभएको थियोे ।
कार्यक्रम परिषदका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार/पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।
कार्यक्रमको विशिष्ट अतिथिमा राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनाल, भाषा आयोगका पूर्व सदस्य एवम् वरिष्ठ साहित्यकार/समालोचक डा.अमर गिरी र वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयालगायत अतिथिहरूमा परिषदका सल्लाहकार पद्मप्रसाद शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास लेख्नेको सूचीमा उभिन सफल उपन्यासकार एवम् नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासन, नेपाली लेखक संघका अध्यक्ष डा. हिमलाल पन्थी, राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष कमलमणि देवकोटा, राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष डा.टिकाराम उदासी, सर्वोदय पुस्तकालय एवम् वाचनालयका अध्यक्ष सुशील गौतम, युवा संघका पूर्व अध्यक्ष एवम् समाजसेवी काशीनाथ पोख्रेल, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा अध्यक्ष डा.कृष्णराज डि.सी., राप्ती साहित्य परिषद दाङका पूर्व अध्यक्ष दीपक समीर लगायत ५ दर्जन बढी लेखक, साहित्यकार, पत्रकारहरूको उपस्थिति रहेकोे थियोे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायण प्रसाद शर्माले सुरेशकुमार पाण्डेका लघुकथाकृति आफूले पढेको, उहाँ राम्रो लेख्नुहुन्छ । दाङले एक उत्कृष्ट साधक पाएको उल्लेख गर्दै लघुकथा पाण्डेको सक्रियता, क्रियाशिलताको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा पुस्तक लेखनका अनुभवका बारेमा कृतिकार सुरेशकुमार पाण्डेले प्रकाश पार्नुभएको थियो भने पुरुषोत्तम खनाल, उत्तमकृष्ण मजगैँया, डा.अमर गिरी, खगराज न्यौपाने, सविन प्रियासन, काशीनाथ पोख्रेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा कृतिकार पाण्डेकी बुहारी मनिषा रेग्मी पाण्डेले उपस्थित सम्पूर्ण व्यक्तित्वहरूमा धन्यवाद प्रकट गर्नुभएको थियोे ।
परिषद्की सहसचिव विना रोकायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषदका जिल्ला सचिव घनश्याम केसीले गर्नुभएको थियो ।