पञ्चाङ्ग चित्रपट : भाग: १० लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७८/१२/२४
प्रशिक्षक : ———— सोमनाथ लुइटेल “रवि पाल्पाली” नारायण प्रसाद निरौला
मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार
चित्र संकलक —————- सोमनाथ लुइटेल ” रवि पाल्पाली”
समायोजन ————- 👉️सोमनाथ लुइटेल”रवि पाल्पाली”
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको दसौं शृङ्खलामा छौँ । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
पञ्चाङ्ग चित्रपट =========
पञ्चाङ्ग ०१
१ बाँदर र मान्छेमा फरक केही देख्दिन म नरमा भएको गुण वानरमा भेट्दिन म जंगलको बसाई रुखलाई घर सम्झन्छ आधुनिक मनुष्यको पढाइ नै छेल्दिन म बाँदरै भएनी मनुष्यको घर टेक्दिन म । २ बाँदरले पनि कस्तो कस्तो बोली बोल्न थल्यो हेर्दाहेर्दै जंगलिले कापि किताब खोल्न थाल्यो हेर ! मनुष्य तिमी भन्दा बादर कम्ती छैन आगो बाली खानेकुरालाई सधैँ पोल्न थाल्यो जडिबुटी बाँच्नको लागि अमृत घोल्न थाल्यो ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग ०२
सक्ला शासन गर्न बाँदरहरू, पढ्ने गरेमा यहाँ ज्ञानी बन्छु पढेर अाज म भनी, आफैँ सरेमा यहाँ डिग्री पास गरेँ भनेर मनुवा, भुल्दै गयाे याे घर गिर्दै मानिस झर्छु बाँदर भई, भन्दै झरेमा यहाँ हाेला शान्ति यहाँ त बाँदर गई, बाधा टरेमा यहाँ
💢ताेयानाथ सुवेदी, काँडाघारी, काठमाडौं।
पञ्चाङ्ग ०३
अब बाँदर पढेर ज्ञानी हुने ठानेका छन् सधैँ आफु भन्दा ठुलाले भनेको मानेका छन् सानोले ठुलोको सम्मान गर्नु त जरुरी छ पढेर ठुलो भइन्छ भन्ने सबै जानेका छन् ज्ञान सिकाउनका लागि नजिक तानेका छन् ।
💢सुशीला पौडेल, काठमाडौं ।
पञ्चाङ्ग ०४
समाजको लागि बाँदरबाट केही सिक्नु पर्छ आफूसँग भएका कमि कमजोरी झिक्नु पर्छ बाँदरमा जस्तै माया,प्रेम मानिसमा हुनु छ जस्तो सुकै दुःख र पीडा हुँदा पनि टिक्नु पर्छ यहाँ हामी मानव भएर नामले बिक्नुु पर्छ।
💢ह्यारिस ह्यारिसन, काठमाडौं ।
पञ्चाङ्ग ०५
मान्छेले पढेर भ्रष्टचारको बाटो रोज्दैछन् बाँदर पढेर सही मार्गको साटो रोज्दैछन् आशा मानव जन्तु पशुपंछी सबैको हुन्छ कोही खान, लालाबाला पाल्ने पाटो रोज्दैछन् अहिले जमाना उल्टो छ बाठो खाटो रोज्दैछन् ।
💢अम्विका अधिकारी, झापा विर्तामोड।
पञ्चाङ्ग ०६
बाँदरहरू बरु खबर जान्न खोज्छन् आफ्नो काम, कर्तव्य र धर्म मान्न खोज्छन् हेरेर बस्दैनन् मान्छे जस्तो रमिता नै दुश्मनहरुलाई नै मुक्का हान्न खोज्छन् आफ्नालाई आफैँतिर सधैँ तान्न खोज्छन् ।
💢रुपा गौतम, बारा
पञ्चाङ्ग ०७
बाँदर भनेर हेप्छन् मान्छे पुर्खामा अटियो आज बाँदरबाट मान्छे भइयो जीवन कटियो आज मान्छे मात्र छनन् प्रकृतिमा स्मरण रहोस् सबैको मानिस सरह पढाइ लेखाइमा खटियो आज भ्रष्टाचार विरुद्ध देश विकासमा डटियो आज ।
💢💢सविता के.सी. काठमाडौं ।
पञ्चाङ्ग ०८
सन्ततिकाे रक्षा गर्न बाँदरले सिके बरु सभ्यताकाे खाेजी गर्दै कापी पनि झिके बरु यसैबाट सिक्नु बरु मानिसले गति लिन हाम्रा पुर्खा यिनै त हुन् युगाैँयुग टिके बरु आजभाेलि मानिस नै लुटाउन बिके बरु ।
💢चन्द्रावती अधिकारी, कोहलपुर बाँके ।
पञ्चाङ्ग ०९
बज्छ्न् आज बजारमा दिनदिनै, अश्लील ती गीत नै बझ्दैनन् कविता सुरम्य बनिऊन्, छाडा भयो रीत नै के बुझ्ला र पढेर वानर यहाँ, बुझ्दैन मान्छे अझै सारै मस्त भएर पढ्दछ बरा, मर्दैन रे धीत नै लेखौँ गज्जप साथ काव्य कविता, पढ्ने अरे नीत नै।।
💢नारायणप्रसाद निरौला, काठमाडौँ।
पञ्चाङ्ग १०
मानव मनको ज्योति पुस्तक पढेर शिखरमा पुग्यौं पूर्खाले दिएको ज्ञानभित्र नै गढेर शिखरमा पुग्यौं सिक्ने सिकाउने दुनियाँ वानरबाटै सिकौँ हामी पनि शिष्य असल बनी पलपल लक्ष्य चढेर शिखरमा पुग्यौं अमृत ज्ञान, सागर सतहमा डटेर शिखरमा पुग्यौं।
💢सरिता काफ्ले, कोहलपुर बाँके।
पञ्चाङ्ग ११
मानिस पढेर पनि ज्ञानी छैनन् बाँदरहरूको जस्तो बानी छैनन् छैन बाँदरको आफ्नो र पराई विवेकशील र हुने खानी छैनन्, आजकल कोही पनि दानी छैनन् ।
💢सुमित्रा पोखरेल, काठमाडौँ ।
पञ्चाङ्ग १२
बुवाको कुरा बाँदर हाम्रा पुर्खा भन्ने सुनेकी छु मैले अहिलेका मान्छे भन्दा त चौगुणा ज्ञानी गुनेकी छु मैले पढ्न जाँगर नै भएकोमा बधाई छ तिमीहरूलाई बरु उनिहरुसँगै सभ्यताको माला उनेकी छु मैले देख्छु अनि मनमनै मायाको जाल नि बुनेकी छु मैले ।
💢दुर्गा आचार्य, मोरङ।
पञ्चाङ्ग १३
आधुनिक समयका बाँदर पढ्न थाले कि आफ्नै घर निर्माण गर्दै नित्य खट्न थाले कि भन्न त बाँदरले घर बनाउँदैन भन्छन् उच्छृङ्खल पन हटाई सबै बस्न थाले कि मानव संस्कृति सभ्यता सँगै रम्न थाले कि !
💢सुरेश चन्द्र घिमिरे, लमजुङ ।
पञ्चाङ्ग १४
अति भयाे सहन नसकिने अब यहाँ । खति भयाे सहन नसकिने अब यहाँ । पशुले नि विधान पल्टायाे न्यायका लागि गति भयाे सहन नसकिने अब यहाँ । मति भयाे सहन नसकिने अब यहाँ ।
💢भवानी घिमिरे, सर्लाही ।
पञ्चाङ्ग १५
बाल्यकालमा तिमी र म जङ्गल धाएको बेला अन्धकार भएर कालो बादल छाएको बेला असिना पानी दर्केको झझल्को ता लागी रहेछ बेमौसमी झरीमा रुझेर गीत गाएको बेला ईन्द्रेनीको रङ्ग देखेर हामी रमाएको बेला ।
💢गुणनिधि घिमिरे, पाँचथर मोरङहाल अमेरिका।
पञ्चाङ्ग १६
जङ्गल जाँदा आफैँ जस्तो लाग्छ बाँदर पनि मानव देखेपछि किन भाग्छ बाँदर पनि बाँदरले नि बुझ्यो होला तिम्रो चलन हेर पढाउछु भनी कागज माग्छ बाँदर पनि मानव भन्दा सचेत भई जाग्छ बाँदर पनि ।
💢गिता अर्याल, नेपालगन्ज बाँके ।
पञ्चाङ्ग १७
१
बाँदर पनि के कम र गुरुले सिकाए पढ्ने भैसके आफ्नो लागि काम गर्छन् डराए भाग्दै रुख चढ्ने भैसके जनावर पनि तालिम पाए भने झैँ सबै गर्न सक्छन् मानव जस्तै चेतना छर्न ज्ञान मनमा गढ्ने भैसके वैरीहरूको सामना गर्दै सबै मिलेर बढ्ने भैसके
२ समयको ज्ञान लिदैँ खोजे अघि बढ्नलाई हेर मानिस जस्तै बोल्न सक्दैनौ सक्छौ पढ्नलाई हेर मानिसको दुनियाँ बदल्ने पालो सर्दै हामीतिर सामुहिक आक्रोस पोखिन सक्छौ गढ्नलाई हेर भन तिमी भन्दा माथि पुग्छौ रुख चढ्नलाई हेर
३ पढ्न थालिसके जीव जनावर मानिस केही गर्दैन अझै कत्ति पनि चेतना पुगेको छैन पढेर धीत मर्दैन अझै मनुष्यको चेतनाले कम भयो अब लागि पर जीवजन्तू बोली फिर्ता नदिए पनि बुझ्ने शैली सिकाउनु पर्दैन अझै जीवजन्तू पशुपंक्षीविना मनु मनको दिन टर्दैन अझै ।
💢जमुना आचार्य, सिन्धुपाल्चोक।
पञ्चाङ्ग १८
बाँदरको घर छैन नेताको त भर छैन आफ्नो काम आफै ँगरे भोकै मर्ने डर छैन भोट हाल्न कर छैन ।
💢देवकी के.सी., काभ्रे हाल बिरगंज ।
पञ्चाङ्ग १९
मनुष्य जस्तो चाकरी गर्ने वानर हुँ म दानव भएर बाँच्ने मर्ने वानर हुँ म जङ्गलमा बस्छु आश लाग्दैन महलको एकैछिनमा तलमाथि झर्ने वानर हुँ म हाम्रो एकतामा भर पर्ने वानर हुँ म ।
💢देवी कार्की खुलाल, झापा।
पञ्चाङ्ग २०
नेता पनि पशु जस्तै भए पशु पनि झनै मस्तै भए बादर पनि पतृका हेर्ने नेतानि भ्रष्ठमा व्यस्तै भए मनुज बुद्धिमा त्यस्तै भए ।
💢लक्ष्मी प्रसाद मिश्र, लमजुङ।
पञ्चाङ्ग २१
के सही के गलत छान्न सकिएन । गलतलाई सत्य मान्न सकिएन । सेवा नै धर्म ठानी हिँडेर नै होला , आखिर वचनले हान्न सकिएन । बाँदरले पढेको जान्न सकिएन ।
💢आर्त अकुलीन, कैलाली।
पञ्चाङ्ग २२
रामापिथेकसदेखि उत्पति रहेकाे मान्छे आजकाे अत्याधुनिक सम्म भएकाे मान्छे नरवानर भएरै पनि हाेला आज यस्तो फेरि नि जंगली युग तर्फ नै गएकाे मान्छे विवेकहिन भएसि वानर कहेकाे मान्छे ।
💢रामराजा के. सी. फर्पिङ, काठमाडौं।
पन्चाङ्ग २३
मान्छे मान्छे हुन नसक्दा उद्गार हुन्छ पशु झैं आफ्नो हुँदो नभए लाग्छ रे निराशामा बसु झै मन त मन नभए , तन तन जस्तै नभए खोजौं के रोजौं के भनेर मगज अझै कसु झै बाँदर प्रवृत्ति देखिए त लाग्छ मोसो धसु झै ।
💢प्रेम थापा “मन” बागलुङ ।
पञ्चाङ्ग २४
नपढेर नहुने भो अब पढ्न सिक्नुपर्छ मान्छे जस्तै सफल हुने उपाय झिक्नुपर्छ आऊ बस यता दुईचार कुरा सिकाउँछु, जस्तोसुकै परिस्थिति होस् दृढ भै टिक्नुपर्छ परिआउँदा तिमी राम्रो मोलमा बिक्नुपर्छ ।
💢वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ
पञ्चाङ्ग २५
बाँदर चौरासी जुनिको अन्तिम जुनी मान्दछन् बाँदर र मानव को रूप हेर्दा एकै ठान्दछन् पशु भनी के गर्नु र यहाँ हेर्नुहोस् हजुर उसले पनि पढाइ के हो भन्ने कुरा जान्दछन् गल्ती गरे बाँदर ले पनि लौरो टिपी हान्दछन् ।
यमुना प्रधानाङ्ग ‘मुना’को ‘उपहार’ लघुकथालाई हेर्दा ✍️ शेखर अर्याल विषयप्रवेश यमुना प्रधानाङ्ग लघुकथा, गीत र कवितालाई आत्मसाथ गर्ने व्यक्ति हुन् । पछिल्लो समयमा उनको लघुकथा विधामा ज्यादा लगाव रहेको देखिन्छ । उनले आफूलाई साहित्यमा ‘मुना’ भन्न रुचाउँछिन् । लघुकथाकार यमुना प्रधानाङ्गको जन्म माता कृष्णकुमारी श्रेष्ठ र पिता गोविन्दमान श्रेष्ठबाट वि. सं. २०२१ साल मङ्सिर १७ गते साविकको भैरवी गा. वि. स. भुटोल बजार, नुवाकोट जिल्लामा भएको हो । उनको स्थायी बसोबास वीरगञ्ज – ११, मिनबजार, पर्सा रहेको छ । उनले औपचरिक रुपमा आइ.ए. सम्मको शिक्षा हासिल गरेकी छन् । सरकारी सेवा, शाखा अधिकृत पदबाट सेवानिवृत्त प्रधानाङ्गको लघुकथा लेखन यात्रा वि. सं. २०७५ सालदेखि भए पनि निरन्तर रुपमा २०७७ सालदेखि अगाडि बढेको देखिन्छ । उनी लघुकथाकार, कवि, गीतकारका रुपमा आफ्नो पहिचान कायम गर्न सफल छिन् । उनका आमा कविता सङ्ग्रह (२०७६), मुना गीत एल्बम (२०६८), बुद्धको देश गीती सङ्ग्रह (२०७०), प्रकाशित छन् । उनका लघुकथा भने विभिन्न पत्रपत्रिका तथा अनलाइन पत्रिकामा प्रकाशित भएका छन् । यमुना प्रधानाङ्गलाई लघुकथाकारका रुपमा हेर्दा उनका लघुकथामा नारीचेतना, वर्गीय विभेद, सामाजिक सचेतता, सामाजिक अन्याय, अत्याचार, दमन, विभेद राजनीतिक विषमता, आर्थिक अभाव जस्ता विशेषता रहेका छन् । यमुना प्रधानाङ्ग मुनाका पत्रपत्रिकामा प्रकाशित विभिन्न लघुकथामध्ये यहाँ उनको उपहार लघुकथालाई विविध कोणबाट पर्गेल्न खोजिएको छ : कथानक ‘उपहार’ लघुकथा महिला र पुरुषबिचको विभेदलाई आधार मानेर लेखिएको छ । जसमा पुरुषसत्ताले महिलामाथि गरेके व्यवहारलाई उजागर गर्नुका साथै समयसन्दर्भ सँगै पुरुषसत्तामा चेत खुलेको कुरामा आधारित रहेको छ । पतिले भावनालाई सुख दिन नसकेको प्रसङ्ग निकाल्दै माफी मागेको अवस्थाबाट लघुकथाको विषयवस्तु आरम्भ भएको छ । पतिले माफी माग्ने कुरा कसरी आयो ? भनी भावनाले प्रतिप्रश्न गरेकी छन् । यसमा पतिले पहिले नै यो सोच आउनुपर्ने भन्दै आफूले श्रीमतीलाई केही सहयोग नगरेको कुरा पतिबाट अभिव्यक्त हुँदा विवाह वर्षगाँठको छोराछोरीले शुभकामना र उपहार दिएका छन् । पतिको विचारमा आएको परिवर्तनले हर्षित बनेकी भावनाले छोराछोरीले उपहार खोई भन्दा तिम्रो बाबाले पहिले नै उपहार दिइसक्नुभयो भन्दै आँसु खसालेकी छन् । यसै क्रममा पश्चातापको कारण पतिको आँखाबाट पनि आँसु खसेसँगै कथानक समाप्त भएको छ । कथाको विषय र घटनाक्रम सहसम्बन्धित रहेको छ । श्रीमानले भावनालाई भनेको कुरा समाप्त नभई छोराछोरीले उपहार र शुभकामना दिएको प्रसङ्गले कथानकमा प्रष्टता ल्याएको देखिन्न तर पनि कथानक र विषयको तारतम्यता भने मिलेको छ । कथानकलाई गति प्रदान गर्नका लागि कथाकारले भावनालाई सशक्त बनाएर विषायवस्तुलाई अगाडि बढाउन सहयोग गरेकाले यसमा तृतीय दृष्टिविन्दुको प्रयोग भएको छ । पात्र वा चरित्र ‘उपहार’ लघुकथामा भावना पति र छोराछोरी पात्रका रुपमा आएका छन् । प्रस्तुत पात्रमध्ये भावना मुख्य पात्र हुन् । भावना एक पत्नी हुन् । उनी घरको हरेक काम गर्ने र जागिर पनि खाने काम गर्छिन् । श्रीमान् छोराछोरी र घरपरिवारको व्यवस्थापन गरी आफ्नो कामसमेत भ्याउने भावना असल, कर्तव्यनिष्ठ, विवेकी, मिहिनेती पात्रका रुपमा रहेकी छन् । पहिला जसले श्रीमानको सहयोगसमेत पाउन सकेकी छैनन् । पछि श्रीमानले सुख दिन नसकेको कुराले भावुक बनेकी छन् । छोराछोरीले विवाहको वर्षगाँठमा बुबाले दिएको उपहार खोई भन्दा पहिले नै सुखको उपहार पाएको भाव व्यक्त गर्ने पात्र हुन् । लघुकथाका अर्का पात्र पति आफ्नी श्रीमतीको दुख बुझ्न नसक्ने, घरको काममा सहयोग नगर्ने, आफ्नै कुरामा जिद्धि गर्ने र पुरुषत्व बढी देखाउने पात्र हुन् । लगनशील तथा कर्तव्यनिष्ठ श्रीमतीको व्यवहारले अन्त्यमा मनस्थिति परिवर्तन भई पश्चाताप गर्ने पात्रका रुपमा देखिएका छन् । कथामा आएका छोराछोरीको भूमिका गौँण छ । उनीहरुले वर्षगाँठको समयमा आमाबुबालाई शुभकामना र उपहार दिने असल सन्तानका रुपमा देखिएका छन् । पात्रले कथानकलाई गति प्रदान गर्नुका साथै सामाजिक अवस्थालाई यथार्थपरक ढङ्गले प्रस्तुत गरेका छन् जसले गर्दा पात्र चयनका हिसाबले कथा सफल देखिन्छ । परिवेश उपहार लघुकथाको परिवेश नेपाली समाजको सहरीय परिवेशमा आधारित छ । लघुकथामा आएका बाहिर काम गर्ने, छोराछोरीले विवाह वर्षगाँठमा उपहार दिने, शुभकामना दिने, फूलमाला लगाइदिने जस्ता विषयले सहरीया परिवेशको सङ्केत गरेको छ । भावनाको घरको वातावरण र पतिको घरको वातावरण स्थानगत परिवेशको रुपमा आएको छ । समयगत हिसाबले हेर्दा रातको १२ बजेबाट सुरु भएर बिहानको १० बजेसम्मको अर्थात् एक रातको समय यसले समातेको देखिन्छ । यसरी हेर्दा परिवेश प्रत्यक्ष ढङ्गबाट नदेखिए पनि परिवेशले समातेको विषयवस्तु भने सार्थक रहेको छ । यसले गर्दा विषयवस्तुलाई परिवेशले बाँध्न सकेको देखिन्छ । उद्देश्य उपहार लघुकथाको मूल उद्देश्य नारी र पुरुषबिचको असमानता देखाउनु हो । पुरुषसत्ताबाट नारीसत्ता पिल्सनु, महिलाका कुरा मान्नु हुन्न भन्ने प्रवृत्ति देखाउनु, नारीप्रतिको परम्परावादी सोच त्याग्नुपर्छ भन्ने कुराको सङ्केत गर्नु, नारी र पुरुषाबिच सहसम्बन्ध रहनुपर्छ भन्ने परम्परावादी सोचबाट उन्मुक्त हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ । महिलाले पुरुषले भनेका हरेक कुरा मान्नु पर्ने तर महिलाले भनेका कुरामा चासो नदिनु, घरका हरेक काम महिलाले मात्र गर्नुपर्छ भन्ने सोच राख्नु, घरको जिम्मेवारी सबै महिलाले पूरा गरी घरका सबैलाई खुसी तुल्याउनु पर्ने कुराको चित्रण गर्नु, परिवर्तित समाजमा आधुनिक परिवर्तनशील चिन्तन भएका पुरुषको सोचमा परिवर्तन आएको अवस्था देखाइएको छ । यस लघुकथामा लगनशील महिला जसले निरन्तर रुपमा अफ्नो काम गर्दै जाँदा पुरुष चरित्रमा परिवर्तन आएको छ । घरको काम पनि बाहिरी काम जस्तै नारीपुरुष मिलेर गर्नुपर्छ भन्ने सन्देश प्रदान गर्नु लघुकथाको मूल उद्देश्य हो । भाषाशैली यमुना प्रधानाङ्गको ‘उपहार’ लघुकथामा ६ अनुच्छेद र १२१ शब्द रहेका छन् । यो लघुकथा रैखिक संरचनामा संरचित छ । सरल, सहज र स्वभाविक भाषाशैली रहेको यो कथा बोधगम्य रहेको छ । व्याकरणिक रुपले वाक्यात्म संरचनामा कसरमसर रहे पनि भाव र अर्थका हिसाबले स्वभाविक रहेको छ । विषयवस्तुलाई स्वादिलो बनाई विवरणात्मक ढङ्गले प्रस्तुत भएकाले भाषिक प्रयोग उचित देखिन्छ । तत्सम, तद्भव र आगन्तुक शब्दको सही प्रयोगले भाषाशैलीमा निख्खरता देखिन्छ । विषयवस्तुअनुसारको भाषिक प्रयोग र पात्रानुकूलको भाषिक उपयोगले प्रयोगले लघुकथाको भाषाशैली उपयुक्त रहेको छ । शीर्षक ‘उपहार’ लघुकथा एक शब्दमा संरचित छ । ‘उपहार’ नाम शब्द हो । कुनै खुसियालीका प्रसङ्गमा मान्यजन वा मित्रलाई दिइने भेट, कोसेली, सौगात नै उपहार हो । यस लघुकथामा पनि भावनालाई पतिले लामो समयपछि आफूले घरको काममा सहयोग नगरेकोमा पश्चाताप गरेको कुरालाई अभिव्यक्त गरेको छ । त्यस्तै आमाबुबाको विवाह वर्षगाँठमा छोराछोरीले उपहार दिएको र बुबाले के उपहार दिनुभयो ? भन्दा अगाडि नै अमूल्य उपहार दिएको कुराले कथाको विषयवस्तु र शीर्षकबिच सहसम्बन्ध रहेको देखिन्छ । लघुकथामा वर्णित घटनाक्रमअनुसार उपहारको भूमिका र स्थान महत्त्वपूर्ण रहेकाले शीर्षक चयनका हिसाबले पनि लघुकथा सार्थक र सफल रहेको छ । निष्कर्ष यमुना प्रधानाङ्गको ‘उपहार’ लघुकथा सामाजिक तथा नारीवादी सोचमा आधारित रहेको छ । हाम्रो समाजमा अझै पनि पुरुषबाट नारीप्रति गरिने व्यवहार कस्तो छ ? घरपिरवारको काम सबै महिलाले गरुन् भन्ने सोच रहेको र त्यो सोच समाज परिवर्तन सँगै पुरुषसत्तामा आएको परिवर्तनले महिलाप्रति गर्ने व्यवहार र सोचाइमा परिवर्तन आएको विषय देखाइएको छ । पुरुषले पनि घरको काममा सहयोग गर्नुपर्छ र घरायसी काम महिला पुरुष मिलेर गर्नुपर्छ, घरको सबै काम महिलाले मात्रै गर्नुपर्छ भन्ने परम्परावादी मान्यता हट्नुपर्छ भन्ने सन्देश प्रदान गरेको छ । लघुकथाको आयम, दृष्टिकोण, कथानक, पात्रको चयन, परिवेश, उद्देश्य र भाषाशैलीको उपयोगले लघुकथा सबल रहेको छ ।
लघुकथा : उपहार यमुना प्रधानाङ्ग ‘मुना’ भावनाको पतिले रातको १२ बजे उठेर भन्दै थिए, “जून जस्ती मेरी भावनालाई कहिल्यै सुख दिइनँ । मलाई माफ गर है !” भावनाले अचम्म मान्दै पतिको मुखमा हेर्दै भनिन् -“होइन्, आज हजुरलाई कताबाट आयो यस्तो कुरा ?!” “यो कुरा मलाई पहिल्यै आउनु पर्थ्यो भावना ! तिमीलाई कति दुःख दिएँ । सधैँ आफ्नै कुरा माथि राखेँ । तिमी पनि बाहिर काम गर्छौ, कहिल्यै पनि तिम्रो कामको कदर गरिनँ । तिमीलाई बिहान उठेदेखि भ्याइनभ्याइ हुन्थ्यो, कहिल्यै सहयोगको हात बढाइनँ, हगि ?” भन्दै गर्दा, “बुबाआमा ! हजुरहरूलाई विवाह वर्षगाँठको हार्दिक मङ्गलमय शुभकामना !” भन्दै छोराछोरीले झ्याम्म अँगालो मारे र फूलमाला लगाइ दिदै उपहार दिए । भावनाले भनिन् – “बाबु ! नानी ! तिमीहरुले भन्दा पहिले नै तिम्रा बाबाले मलाइ उपहार दिई सक्नुभयो ।” छोराछोरी- “खोइ ! बाबाले दिनुभएको उपहार ?” भन्दै यताउति खोज्न थाले । उनीहरूका भने आँखामा आँसु टिलपिलाइ रहेका थिए । सायद, श्रीमतीको हर्षको, श्रीमानको पश्चातापको । वीरगन्ज, पर्सा ; हाल : इमाडोल, ललितपुर
काठमाडौ, १९ चैत । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २७ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४७ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २७ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
चुनावी मौका छ हजुर, सुटुक्क नोट लिनुहोस्, सट्टामा केही चाहिदैन, अमुल्य भोट दिनुहोस्। ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] कति मनाउछौ अप्रिल फूल, तिमीले वर्षै भरी, थाल्नामै सुताउछौ जनतालाई सधैँ यसै गरी।
वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[२] कसले भन्यो र अमुल्य हो भोट भनेर, हालिन्छ उतै जसले दिन्छ नोट गनेर।
अच्युत घिमिरे भुटान 🇧🇹
[३] नाेटले भाेट बेच्नु जनताहरू नेताले देशै बेच्लान, भाषण सुन्नु किन पर्याे आखिर बेच्नु नै छ महादान ।
ताराप्रसाद चापागाईं धुनिबेसी ।
[४] आउनुस् मेरो साथ, मोटरसाइकल र नोट लानुस्, भोट हालेर निश्चितरूपमा, टन्न मासु रक्सी खानुस्।
प्रदीप के रिमाल इटहरी -आठ
[५] जनताले त त्यति सजिलै नोट लिइन्न, पाएमा बरू पैसा खाइन्छ भोट दिइन्न ।
गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका
[६] राजनीति गर्ने नेता चाँडै कसरी धनी बन्छन् ? आफ्नो आँङमा नहेरी जनताको ओइरो खन्छन्।
रतन पाण्डे’पारतन’ दार्जीलिङ।
[७] सित्तैमा नोट हामी लिॅंदैनौ, गद्दारलाई भोट दिॅंदैनौं।
म्यामराज राई हतुवागढी-६,भोजपुर
[८] भोटजस्तो अमूल्य कुरा नोटमा थालेछ बिक्न, बेइमान गरी किन पर्ने हो संसारमा टिक्न ?
गंगा खड्का
[९] नोटले किनेको भोटमा नेताहरुको रजाईं हुने भयो, बुझिलिनु जनता र राष्ट्रको पाँच वर्ष त्यसै खेर गयो।
दीपक ठटाल जलन खरसाङ,०२.०४.२२
[१०] बिकाउछ भोट आफैँलाई लाग्छ पछि चोट, पैसाले भोट दिने लिनेको मनमा हुन्छ खोट।
सुरेशकुमार पान्डे दाङ घोराही१८
[११] पालाे मात्र एक हाे जनकाे यही नबिक्नुहाेला कबै, भाेटै अमूल्य हक हाे जनकाे मनै चिन्नुहाेला सबै ।
निरज काेइराला बेलका १ उदयपुर
[१२] पैसामा बिक्नु हुन्न , लिनु हुन्न नोट, चुनाव महायज्ञ हो , दान हो भोट ।
पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- पच्चिसौँ (२५) ——————————————–
“पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “ विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ १२ /२२ ………………………………………….
प्रशिक्षक:- सोमनाथ लुइटेल “रवि पाल्पाली” नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी
सङ्कलक :- सोमनाथ लुइटेल “रवि पाल्पाली”
सहजकर्ता :- (महासचिव) रामराजा के. सी.
======================
अनुप्रास र स्थायी आफू खुसी राखेर पञ्चाङ्ग बनाउनु होला ।
पञ्चाङ्ग ०१
तिमीलाई मनभरी सजाउन मन छ झिनो आश दिलभित्र बचाउन मन छ सम्झिदा खेरी बैराग लाग्दछ सधैँभरी मायाको बिरोधिलाई गलाउन मन छ दुष्ट मायाको किनारा लगाउन मन छ ।
💢सोमनाथ लुइटेल ” रवि पाल्पाली “।
पञ्चाङ्ग ०२
अहिले जमाना ठिक्क पार्नेको रहेछ। कि भने कुरै कुरामा टार्नेको रहेछ। आफू त निकै सोझो परिएछ हजुर, दिन कुरैमा समुद्र तार्नेको रहेछ। पराजित त कुरामा हार्नेको रहेछ।
💢सुशीला पौडेल, काठमाडौं ।
पञ्चाङ्ग ०३
मानिसको जिन्दगी एउटा भाला रहेछ। भित्र खोक्रो शरीर बाहिर छाला रहेछ। ए मानव किन गर्छौं घमण्ड सधैँभरि, एक दिन सबै मरी जाने चाला रहेछ। चारैतिरबाट रिस गर्ने हाला रहेछ।
💢ह्यारिस ह्यारिसन, काठमाडौं ।
पञ्चाङ्ग ०४
कस्तो मिठो साहित्य बनायौ पञ्चाङ्ग धेरै राम्रो साधना भनायौ पञ्चाङ्ग मलाई मन पर्यो विधा यो प्रविधा धेरै नै मिठो काव्य जनायौ पञ्चाङ्ग उत्सव यहाँ राम्रो मनायौ पञ्चाङ्ग ।
💢🇮🇳सीता देवी, लखिमपुर, आसाम, भारत ।
पञ्चाङ्ग ०५
१ स्वर्ग कहा छ चाहा छैन नर्क कहाँ छ थाहा छैन फेरि चर्चा स्वर्ग कै किन? स्वर्ग पुगेको राहा छैन नर्क देखेको साहा छैन। २ हिउँमा बिलाएका अक्षर कसले चिन्यो र हिउँमा कापेका मुटुलाई कसले पिन्यो र हिउँसित सेल्फीमा रमाउने सहरिया हो हिमपहिरोको त्रास कसले छेक्न छिन्यो र हिउँमै हराए कति कसले भेट्न हिन्यो र
💢देवकी के.सी. बिरगंज।
पञ्चाङ्ग ०६
१ नलाइ भएन पिराको सिरानी मुनामा गढेको सिराको सिरानी बढेको थकाइ मिटाएर आऊ थिचेको कहानी मिराको सिरानी मुसाको डुहुरा छिराको सिरानी । २ किन हुन्छ हत्या हिंसा किन हुन्छ यहाँ समाचार सधैँ केलाई गर्छौ राजनिति केलाई गर्छौ अत्याचार सधैँ आखिर मरेर जानु छ सधैं जिउँदो त रहन्न कोही विद्वान सबैले भन्छन् नगर यसरी भ्रष्टाचार सधैँ मरी लानु के छ साथी सबैसँग गरौँ सदाचार सधैँ ।
💢गुणनिधि घिमिरे, पाँचथर मोरङ हाल अमेरिका ।
पञ्चाङ्ग ०७
फूलको बागमा फुल्नु पो जिन्दगी, दु:ख र कष्ट ती भुल्नु पो जिन्दगी। भेलमा हेलिँदै मर्छ जो मूर्ख हो, होसमा चेतले डुल्नु पो जिन्दगी, रातमा चाँदझैँ खुल्नु पो जिन्दगी।।
💢नारायणप्रसाद निरौला, काठमाडौँ।
पञ्चाङ्ग ०८
बगैँचामा फुलेका डाली भरि धेरै फूल पुतलीको डुलाइ जाली भरि धेरै फूल मायाको संसारमा नी पाइला टेक्दै हिड गोडे काँडा पन्साइ माली भरि धेरै फूल ढक्कमक्क रमाई बालीभरि धेरै फूल ।
💢अम्विका अधिकारी, झापा विर्तामोड।
पञ्चाङ्ग ०९
बैगुनि यो मायाको कहिल्यै गुन मिल्दैन टाढैबाट हेरे भईगो नि छुन मिल्दैन सगरमाथा जस्तै उच्च हुँदै गयौ तिमी अलिकति झुकि थोरै सानो हुन मिल्दैन? मन मिल्छ खुन मिल्छ जात धुन मिल्दैन?
💢चेतना पोखरेल, मोरङ।
पञ्चाङ्ग १०
१ यो जिउलाई घटाउनु छ लागेको बोसो हटाउनु छ स्कुल पढ्दाको जस्तो बनाई आफ्नो मन त फटाउनु छ मोटाइस् भन्ने कटाउनु छ । २ माटोको बासना भुलेको छैन माटोबाट टाढा खुलेको छैन म जन्मेको हुर्केको माटो मै हो माटोदेखि पर डुलेको छैन काम गर्दा कतै झुलेको छैन ।
💢सुमित्रा पोखरेल, काठमाडौँ
पञ्चाङ ११
१ दुखमा आँशु झार्न नपरोस् मनका इच्छा मार्न नपरोस् मरि जानेको जीवन हाम्रो भाग्यमा कीरा पार्न नपरोस् दिएको माया सार्न नपरोस् । २ नेता चुनाव आउँदा गाउँमा पसेको देखिन्छ गरीब दुःखीकै सार मिलई बसेको देखिन्छ भोट हालेर जितेपछि कार्यकर्ता चिन्दैनन् विकासको नाममा फेरि झुठ फसेको देखिन्छ आश्वासन दिएर धेरै चिप्लो घसेको देखिन्छ ।
💢तारा घिमिरे, संखुवासभा ।
पञ्चाङ्ग-१२
सधैँ बलत्कार र हिंसा किन हुन्छ बारम्बार यहाँ सुनिन्छ चेली को वेदना किन रुन्छ बारम्बार यहाँ न्याय नै नभएको देस जस्तो भयो हाम्रो देस पनि आवाज सुन्ला भनी मुख किन थुन्छ बारम्बार यहाँ जालझेल मा कुराहरू किन बुन्छ बारम्बार यहाँ ।
💢दुर्गा आचार्य, मोरङ।
पञ्चाङ्ग १३
तिम्रै समिपमा रमाउन पाऊँ माया यो मुटुमा सजाउन पाऊँ बिछोडमा दिग्दार छ सधैँभरी रिस गर्नेलाई गलाउन पाऊँ दु:ख कष्ट पार लगाउन पाऊँ ।
💢दुर्गा भट्टराई, मोरङ।
पञ्चाङ्ग १४
१ सरुवा रोगले सताएको छ डरुवा भोगले अताएको छ कोरोना कहर नि लुप्त छैन अरूकै हेरेर बताएको छ परिवारले नै मताएको छ । २ नङलाई रेट्न सक्दैन भने के काम छ र नैनीको यहाँ सहयोग दिन सक्दिनन् भने के काम छ र बैनीको यहाँ व्यर्थैमा किन धाइरहन पर्यो र केही मिल्दैन भने त कुलोमा पानी नै छैन भने त के काम छ र पैनीको यहाँ कुलतमा फसाउने बाहेक के काम छ र खैनीको यहाँ ।
💢जमुना आचार्य, सिन्धुपाल्चोक।
पञ्चाङ्ग १५
मन सबैकाे हुन्छ हजुर दु:खकाे बेला रुन्छ हजुर कसैले याे मन कुँडाएमा आँसुले आफैँ धुन्छ हजुर नराम्रा कुरा सुन्छ हजुर ।
💢मधुसूदन प्र. घिमिरे, काठमाडौँ ।
पञ्चाङ्ग १६
१ जलेको मन छ जल्न देउ मलाई धिपी धिपी दिपक बल्न देउ मलाई यहाँ नगर्ने मनुष्य हुदैन लोकमा एकोहोरो सदैव गल्न देउ मलाई शान्तिले हिँडेकोछु चल्न देउ मलाई ।
२ सुन्दर मनलाई सजाइ राख्नु पर्छ हृदयभित्र कुरा बचाई राख्नु पर्छ मौकामा काम लाग्छ हेर्न सम्झन कहिले आत्मालाई जगाइ राख्नु पर्छ आवश्यक परेमा सधैँ हसाइ राख्नु पर्छ।
💢गीता अर्याल नेपालगन्ज।
पञ्चाङ्ग १७
धेरै कुरा मनमा थियो लुकाउन सकिन दिल खोलेर तिमीसँग फुकाउन सकिन दिलको कुरा दिलमा नै रहने भयो अब आँखाबाट झरेको आँसु सुकाउन सकिन मलाई हेर्ने तिम्रो दृष्टि झुकाउन सकिन ।
💢देवि कार्की खुलाला, झापा ।
पञ्चाङ्ग १८
स्याललाई पठाई सिंहदरबार रुन मिल्दैन भ्रष्टाचारले ढाकिराछ डाँडा काँडा धुन मिल्दैन विकास विनास भन्दै मन जति कुड्याए ता पनि आयो चुनाव आफ्नो पार्टी छोडी अर्को हुन मिल्दैन ब्वासै होस् हाम्रो राम्रोको चुनाव चिह्न छुन मिल्दैन ।
💢पद्मा रिजाल, बाँके कोहलपुर ।
पञ्चाङ्ग १९
चुनावका बेला गाउँमा पस्छन् नेता जनता सामू चिप्ला कुरा धस्छन् नेता भोट सकिएपछि फर्केर हेर्दैनन् विकासको नाममा आफैँ डस्छन् नेता जनता रुवाई चैनले बस्छन् नेता ।
💢सरस्वती श्रेष्ठ इटहरी।
पञ्चाङ्ग २०
साच्चै सृष्टि छ आज रम्य रमिता, सारा कजायो किन ! ठूला शक्ति सबै छ चुप्प कसरी, मान्छे खसायो किन ! खोक्रो आज नयाँ छ रूप यसको ,बुझ्दैन मान्छे अझै के हो यो षडयन्त्र आज भवमा, भन्दै रचायो किन ! आफ्नै बर्गत आज रुग्ण जगमा, यस्तो बनायो किन !
💢प्रेम थापा “मन” बागलुङ ।
पञ्चाङ्ग २१
१ बाह्र महिनाको मिहिनेतले पनि हातमा फल नपरेपछि स्वार्थीलाई सहयोग परेछ आफ्नो साथमा बल नपरेपछि डर मर्दो छ, पृथ्वीमा बाँच्नलाई कति गर्नु चुनौतीको सामना काकाकुल भयो जीवन तप्प रसिलो थोपा जल नपरेपछि सबैतिर हरियाली मेरो खेती बाँझो भयो हल नपरेपछि ।
२ रसाउन जाने खडेरीमा पनि मूल हो जीवन सुन्दरता छरे पहाडमा पनि फूल हो जीवन जस्तो बनायो उस्तै बन्छ, जान्नुपर्छ खुसी साट्न नि पवित्र मनसायमा थोत्रो टालो, तुल हो जीवन मनमा आँट भए एक्लैमा पनि हुल हो जीवन ।
३ स्रग्विणी छन्द
जोत्न झन् यो हलो काममा चाहिने सिन्दुरे रङ्ग यो धाममा चाहिने फूलको पत्रले लोभमा रङ्गियो बाँच्नु नै धर्म हो नाममा चाहिने जिन्दगी कर्म हो दाममा चाहिने ।
विश्वास गर प्रिय घात हुने छैन स्वार्थको यहाँ कुनै हात हुने छैन बुझ दुनियाँ अनि बुझ्ने गर अात्मा मायामा कुनै त्यस्तो जात हुने छैन जन्मभूमि समान थात हुने छैन ।
💢निर्मला सुवेदी, बागलुङ।
पञ्चाङ्ग २५
दुबै हात लड्डु हुन्न धैर्य गर्नुपर्छ भन्छन् ढकमक्क फुल्ने लाली वैलिएर झर्छ भन्छन् चक्र नै हाे जिन्दगानी रात पछि दिन हुन्छ, मूल पानी चुलीबाट बेसीतिर सर्छ भन्छन् , नियम बुझे अवश्य नै खाेली तर्छ भन्छन्।
💢चन्द्रावती अधिकारी, कोहलपुर बाँके।
पञ्चाङ्ग २६
दुःखी गरीबहरूको सेवा गर्नु छ मैले भोका र नाङ्गाहरूको पेट भर्नु छ मैले सुखी नेपाली समृद्धि नेपाल बनाएर एक पछि अर्को गर्दै ठाउँ सर्नु छ मैले यसरी नै जिन्दगीको खोली तर्नु छ मैले ।
💢आर्मित्मा थापा मगर,स्याङ्जा
पञ्चाङ्ग २७
मस्त हुँदा गफमा तिमी उता, म यता रुन्छु आज तिम्रो याद पखाल्न आफूलाई आँसुले धुन्छु आज लुटेर लगेकाे मन मस्तिष्क उपहार तिमीलाई केही छैन अरु मसँग, तिम्रो तस्बिर छुन्छु आज बियाेगमा बाँच्नु भन्दा बरू मैले मृत्यु चुन्छु आज।
काठमाडौ, १९ चैत । साप्ताहिक उदक लेखन शृङ्खलाको ४५औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर
photo : social media
तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१] माटो भर ढुङ्गा तिन अपाङ्ग अभिन्न!
✍️ जमुना कायस्थ, पोखरा
[२] सङ्गमा आत्मा मिलन एक दुई तीन !
✍️ राेशन पराजुली,धरान।
[३] वाह ! अपाङ्ग मैत्री असल मित्रताको नमुना !
✍️खेमराज पुरी कैलाली
[४] मित्रता सुन्दर फूलबारी एकता वर्तमान आवश्यकता !
✍️आर्त अकुलीन, कैलाली
[५] मित्रता बलियो खम्बा आपसी सहकार्यको नमुना !
✍️ सरस्वती श्रेष्ठ इटहरी
[६] एकता आपसी सहकार्य प्रतिकुल परिस्थिमा अनुकुल!
✍️राजाराम रत्गैंया अमौरा, कैलाली
[७] मित्रता आपसी मेलमिलाप कार्य सहजतामा एकता !
✍️ मिलन के.सी.(थापा) पोखरा
[८] सहकार्य आपसी एकता वर्तमान समयको आवश्यकता!
✍️हिमाल अम्मै घोडाघोडी कैलाली
[९] साथी पवित्र गठबन्धन अगालो मारेर हिडेको !
✍️चक्र शाही
[१०] साथी दु:ख सुख दुवै वेला जाती!
✍️बालकृष्ण खनाल टीकापुर
[११] अपाङ्गता एकता विश्वास गर्दै होस्टेमा हैँसे !
✍️कमला देवकोटा, पाल्पा
[१२] एकता आजको अपरिहार्यता प्रतिकुल परिस्थितीको सामना !
साताका तीन लघुकथाको एघारौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (शावक सालिक, पीडा बोध र उहाँलाई प्रश्न) छनोट गरी प्रकाशन गरिएको छ।
[१] लघुकथा : शावक सालिक
✍️ कात्यायन म अभावमा थिएँ । भाव बनाउँदै थिएँ । वृत्ति खोज्दै थिएँ । मनोदशा आइन्, र भनिन्, “मेरो निकट आऊ !”
उनको समीप गएँ । उनी उदाङ्गिन् । तानिन् र भनिन्, “मलाई स्पर्श गर ! अङ्गालोमा लिऊ ! चिथोर !”
गहिरो निश्वास लिएँ । छोएँ । बेस्सरी च्यापेँ । उनलाई आफूभित्र आत्मसात गर्न खोजेँ । सकसकाएँ । तुलबुलाएँ । जति आफू भित्रभित्र लिन खोज्दै थिएँ, मनोदशालाई ; त्यति नै परपर पुग्दै थिइन् , उनी !
एक्कासि उनले चिमोट्दै पर धकेलिन् , मलाई ! लडखडाउँदै लथालिङ्ग भएकी उनलाई नियालेँ । न मभित्र कुनै मनोदशा थियो । न मनोदशा भित्र कुनै भाव ! उनलाई मैले भनेँ, “तिमीमा कोमलता रहेनछ !”
लतपतिएको रङ्ग पुछ्दै उनले भनिन्, “तिमी त झन् शावक सालिक मात्र रहेछौ !” चावहिल, काठमाडौँ – ७
[२] लघुकथा : पीडा बोध
✍️ चेतनाथ दाहाल आँगनको डिलमा फुलिरहेका सुन्दर फूलहरूलाई हेरेर मन बहलाउने बानी परेको थियो, रामहरिलाई। सुन्दर फूलहरूले उसको घरलाई शोभा पनि दिएका थिए । थुङ्गा थुङ्गा सुम्सुम्याउँदै हर्षीत् मुद्रामा गोडमेल र पानी हाल्ने कर्म छुटाउदैनथ्यो ऊ ।
कसैले मागेर, कसैले नमागीकन बेलाबेला टिपेर लाने गर्थे। ऊ मनमनै सोच्थ्यो “जे होस् मैले धर्म पनि कमाएको छु।”
ऊ कल्पना गर्थ्यो “मेरो आँगनका फूलहरूले कतिका गला सजिए होलान्, कति मन्दिरका देवताहरू पुजीए होलान् ! कतै कसैको अन्तिम श्रद्धाञ्जलीमा साथ दिन पनि पुगे होलान् !”उ मनमनै खुसी हुन्थ्यो।
तर उसको त्यो खुसी धेरै समय टिक्न सकेन् । उसले फुलको हाँगा सुमसुम्यायो, नजानिदो गरी तप्प ! आँशु खसाल्यो किनकि उसले रगत पसिना सिंचेर, अमुल्य समय खर्चेर फुलाएका सुन्दर फूलहरू त्यहाँ एउटा पनि थिएनन् ।
उसको अगाडि फूलको बोट यसरी रित्तिएको थियो जसरी आफ्ना सन्तानहरू पालैपालो परदेशि भएपछि उ स्वयं त्यसै गरी रित्तिएको थियो। कानेपोखरी२ मोरङ्ग
[३] लघुकथा : उहाँलाई प्रश्न
✍️ नानी बिवु उहाँ र म एकैदिन लोकसेवा पास गरेर एउटै अफिसमा पोष्टिङ भएका दुई कर्मचारी थियौँ तर हाम्रो परिचय त्यो भन्दा अगाडि भएको थिएन ।
एकअर्काका लागि हाम्रो सम्बोधन सर मिस थियो । दुवैले एक अर्कालाई हजुर तपाईं लगाएर उच्च सम्मानले बोल्थ्यौँ । काम गर्ने क्रममा कहिले उहाँले मलाई सहयोग गर्नुहुन्थ्यो त कहिले मैले उहाँलाई सहयोग गर्थेँ । एउटै अफिस, सँगै रहेर गरिने काम, दुवै अविवाहित ।
थाहै नपाई हामी एक अर्कासँग धेरै नै नजिकिन पुगेछौँ । सर/मिस, तपाई/ हजुर गर्दै बोल्ने हामी कार्यालय समय भन्दा बाहिर सहमतिमा नै एक अर्काको नाम तथा उपनामले एक अर्कालाई तिमी भनेर सम्बोधन गरी बोल्न थाल्यौँ । समय बित्दै गयो । हामी एक अर्का विना बाँच्न नसक्ने भईसकेका थियौँ । दुवैले आ-आफ्नो घरमा जानकारी गराएर विहे गर्ने निधो गर्यौँ । दुवैको परिवारबाट स्वीकृती जनाएपछि हाम्रो बिहे धुमधामसँग भयो ।
तिमी भन्न बानी परिसकेकोले मैले विहेपछि पनि उहाँलाई तिमी सम्बोधन गर्दा उहाँले असजिलो मान्नुभयो र तपाईँ भन्न आग्रह गर्नुभयो । सुरुमा भेट्दा दुवैले एक अर्कालाई तपाई भनिन्थ्यो, विचमा आएर प्रेममा परेपछि दुवैजना तिमीमा झर्यौँ । विहे भएपछि म फेरी तपाईंमा उक्लनु पर्यो । उहाँ त झनै तँ मा झर्नुभयो ।
आजभोलि म उहाँलाई तपाईं भनेर सम्मान गर्छु । तर उहाँ सबैका अगाडि पनि मलाई तँ भनेर अपमान गर्नुहुन्छ । कहिलेकाहीँ लात्तीले पनि हान्नुहुन्छ । तर मैले भने उहाँको लात्ती समातेर आफ्नो शिरले ढोग गर्नुपर्छ । आफ्नो जन्मघर, आमा-बा, आफन्त सबै छोडेर आएकी नारीलाई तपाईँ भनेर सम्मान गर्न नसके पनि, तिमी भनेर मायाँ दिन सकिन्छ नि ! तँ भनेर अपमान नै गर्नुपर्छ र ? दुराडाँडा लमजुङ हाल गैंडाकोट नवलपुर