बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई नगदसहित पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । बिआर ०५ वाई ६४१७ नम्बरमा सवार भारत विहार जिल्ला मोतिहारी थाना हंशपुर ग्राम पञ्चायात वडा नं १० घोडासहान बस्ने २६ वर्षीय अरबिन्द महतो र १४ वर्षीय नाम परिवर्तित खम्बालाई पक्राउ गरेको प्रवक्ता मिश्रले भन्नुभयो । कपडाको झोलामा लुकाइछिपाइ एक हजारको एक हजार ९२३ थान, ५०० को पाँच हजार ७०४ थान, १०० को एक हजार २०० थान र रु ५० को १०० थान रुपैयाँसहित नेपाल आइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको र यस कारोवारमा नेपालीको पनि सहभागिता रहेको हुनसक्ने हुँदा चाँडै नै तिनीहरुलाई कानूनी दायरामा ल्याउने उपरीक्षक शाहीले बताउनुभयो । पक्राउ परेका दुबै जनालाई सम्पत्ति शुद्धीकरण विभाग काठमाडौँमा पठाउने उहाँले भन्नुभयो । पक्राउ परेका हकमा बिगोको दोब्बर र दुई वर्षदेखि १० वर्षसम्मको जेल सजाय हुने व्यवस्था रहेको जानकारी गराउनुभएको थियो ।
नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । आमहड्ताललाई शान्तिपूर्ण बनाउने बताइएपनि बिहीबार बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको जानकारी दिए । ‘कालो ज्याकेट लगाएर आएका दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेका छन् । ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ,’ सिंहले भने, ‘दुई जनाको खोजी कार्य भइरहेको छ ।’ सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश सूचकमा प्रगति गर्दै आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिको तुलनासम्म ३९.८७ प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ८ करोड रुपैयाँ आर्जन गरेको थियो। बैंकको वितरणयोग्य मुनाफा ९९ करोड ९८ लाख रुपैयाँ रहको छ। समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ४२.७३ प्रतिशतले बढेर २ अर्ब १४ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ५० करोड रुपैयाँ रहेको थियो। दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ६९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकले बैंकको निक्षेप संकलन र कर्जा प्रवाह पनि आक्रामक देखिएको छ। गत वर्ष यही अवधिमा १ खर्ब २८ अर्ब निक्षेप संकलन गरेकोमा यो वर्ष २५.८५ प्रतिशतले बढाएर १ खर्ब ६२ अर्ब रुपैयाँको उचाइमा पुर्याएको छ। त्यस्तै गत वर्ष ९९ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा यो वर्ष २६.८२ प्रतिशतले बढाएर १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। दोस्रो त्रैमासमा बैंकको रिजर्भको आकार ८.५७ प्रतिशतले बढेर ४ अर्ब १८ करोड रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा ३ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो। बैंकले खराब कर्जाको दर पनि ३३.९७ प्रतिशतले घटाएर २.०६ प्रतिशतमा सीमित पारेको छ। गत वर्ष खराब कर्जाको दर ३.१२ प्रतिशत थियो। बैंकको आधार दर ७.२४ प्रतिशत रहेको छ। बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २१.०५ रुपैयाँबाट बढेर २६.७७ रुपैयाँ पुगेको छ। पीई रेसियो १५.३२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४७.२९ रुपैयाँ रहेको छ।
१३ माघ, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । डिम्याट खाता प्रयोगकर्ता नै २६ लाख नाघिसके । यो लेख सेयर बजारमा आउन चाहनेहरुले जान्नैपर्ने आधारभूत विषयमा केन्द्रित छ । सेयर बजारमा दुईवटा बजार हुन्छ- प्राथमिक बजार र दोस्रो बजार । यी दुईमध्ये प्राथमिक वा सिधै दोस्रो बजार प्रवेश गरेर सेयर कारोबार गर्न सकिन्छ । कुनै कम्पनीद्वारा सर्वसाधारणका लागि जारी साधारण सेयर (आईपीओ) किन्न आवेदन दिनु प्राथमिक बजारमा प्रवेश गर्नु हो । दोस्रो बजारको तुलनामा प्राथमिक बजार धेरै सुरक्षित मानिन्छ । पछिल्लो समय आवेदक संख्या बढ्दा आईपीओ पर्ने सम्भावना पनि कम हुँदै गएको छ । आज, प्राथमिक बजारकै विषयमा विस्तृत चर्चा गरौँ :
संस्थापकहरुले संस्थापक सेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि ऋण खोजिन्छ र साधारण सेयर जारी गरिन्छ । साधारण सेयर सर्वसाधारणबाट उठाइएको सेयर लगानी हो । सामान्यतः १ कित्ता सेयरको मूल्य १०० हुन्छ । अहिले न्युनतम १० कित्ताको लागि आवेदन दिन पाइने व्यवस्था छ । पछिल्लो समय आईपीओ जारी गरेको चन्द्रागिरि हिल्स लिमिटेडको १ लाख ३९ हजारभन्दा धेरै जनालाई आईपीओ परेको छ । आवेदन भने १२ लाख ५१ हजारभन्दा बढी परेको थियो । १५ लाख कित्ता आईपीओ निस्काशन गरेको कम्पनीले प्रतिनिवेदक १० कित्ताका दरले बाँडफाँट गर्दा १० लाखभन्दा बढी आवेदकको हात खाली भयो । हालै जारी नेपाल इन्फ्रा स्ट्रक्चर बैंकले जारी गरेको ८ करोड कित्ता आईपीओ भने सबै आवेदकको हातमा पर्ने पक्का छ । किनभने, यसका लागि १५ लाख ३० हजार जनाले मात्र आवेदन दिएका छन् । कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार सेयरवालाहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुने रकमबाट लाभांश वितरण गर्ने गरी जारी गरिएको धितोपत्रलाई पनि साधारण सेयर भनिन्छ । साधारण सेयर लगानीकर्तालाई आफ्नो लगानीको मात्राअनुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरुलाई कम्पनीको ‘ओनर’ मानिन्छ । कम्पनीको ‘ओनर’को हैसियतले साधारण सेयरवालाले बढी जोखिम उठाउनुपर्दछ । साधारण सेयरमा दिइने लाभांश दर कम्पनीले आर्जन गर्ने नाफाको घटबढ अनुसार तलमाथि हुन्छ । अर्काेतर्फ कम्पनी नाफामा जाँदैमा साधारण सेयरवालालाई लाभांश प्राप्त हुन्छ भन्ने पनि हुँदैन । किनभने, साधारण सेयरमा लाभांश दिनै पर्ने बाध्यात्मक अवस्था हुँदैन । कम्पनी अधिक नाफामा जाँदा भने लाभांश पाउने सम्भावना बढ्छ । लाभांशको रुपमा कम्पनीले साधारण सेयरवालालाई बोनश सेयर पनि वितरण गर्न सक्छ । सम्बन्धित कम्पनी खारेजीमा गएको अवस्थामा डिबेञ्चरवाला र अग्राधिकार सेयरवालाहरुलाई भुक्तानी गरिसकेपछि बाँकी रहेको रकम साधारण सेयरवालाहरुले दावी गर्न सक्छन् । यसकारण साधारण सेयरमा गरिने लगानीलाई जोखिमपूर्ण मानिएको हो । बढी प्रतिफलको लागि बढी जोखिम उठाउन तयार लगानीकर्ताका लागि मात्र साधारण सेयर जस्तो धितोपत्रको औजार उपयुक्त मानिन्छ । कदाचित सम्बन्धित कम्पनी खारेजीमा गई ठूलो दायित्व व्यहोर्नुपर्ने भएको अवस्थामा पनि साधारण सेयरवालाको दायित्व उनीहरुले लगानी गरेको रकमको हदमा सीमित हुने भएकाले घरघरानाबाट भने व्यहोर्नु पर्दैन । सेयर जारी गर्नुअघि कम्पनीहरू नेपाल धितोपत्र बोर्डमा दर्ता हुन्छन् । ३ करोड रुपैयाँभन्दा बढी रकमको सेयर निस्कासन गर्दा इक्रा नेपालबाट रेटिङ पनि गराउनुपर्छ । लगानीकर्ताले धितोपत्र बोर्ड र इक्रा नेपालको वेबसाइटबाट पनि कुन कम्पनीको सेयर आउँदैछ भनेर जानकारी लिन सक्छन् । कसरी किन्ने सेयर ? सेयर बजारको सिद्धान्तिकसँगै व्यवहारिक पक्ष पनि बुझ्नुपर्छ । जस्तो-आईपीओ कसरी किन्ने ? पहिलो कुरा त आईपीओ निस्कासन सम्बन्धी समाचारहरु प्रकाशन भइरहेका हुन्छन् । त्यसबाट धेरै कुरा बुझिन्छ । धितोपत्र बोर्डले आईपीओ निस्काशन गर्न अनुमति दिएको जानकारी आफ्नो वेबसाइटमै राखेको हुन्छ । आईपीओ जारी गर्नुभन्दा साता दिनअघि सम्बन्धित कम्पनीहरूले आह्वानपत्र निस्कासन गर्छन् । आह्वानपत्रमा कम्पनीले कुन मितिदेखि, कति सेयर निकाल्दै छ भन्ने जानकारी दिन्छ । आह्वानपत्रमा कम्पनीको कतिसम्म सेयरका लागि कहाँबाट आवेदन सकिन्छ भन्नेदेखि कम्पनीको स्थिति र भावि योजनासम्मका कुरा उल्लेख हुन्छ । आह्वानपत्र राम्ररी अध्ययन गर्दा धेरै जानकारी पाइन्छ। आईपीओ खरिद गर्न चाहनेको लागि बैंक खाता र डिम्याट खाता अनिवार्य नै हो । डिम्याट खाता कुनै बैंक वा क्यापिटल मर्चेन्ट (बैंक) गएर खोल्न सकिन्छ । पैसा बैंक खातामा राखिन्छ भने डिम्याट खातामा सेयर जम्मा हुन्छ । डिम्याट र बैंक खाता खोलिसकेपछि सम्बन्धित बैंकमा गएर सीआस्वा (सीआरएन) दर्ता गर्नुपर्ने हुन्छ । सीआरएन दर्ता गरिसकेपछि ‘मेरो सेयर’ नामक सुविधा लिएर घरमै बसीबसी आईपीओ भर्न सकिन्छ । डिम्याट खोलेको बैंक वा क्यापिटलमा मेरो सेयरको फर्म भर्नुभयो भने युजर आईडी र पासवर्ड इमेलमा आउँछ । त्यसकै आधारमा मोवाइल वा कम्प्युटरबाट आईपीओ भर्ने हो । आईपीओ सामान्यतः १० कित्तादेखि माथि भर्न पाइन्छ । सेयर भरेअनुसारको रकम तपाईंको बैंक खातामा हुनुपर्छ । सेयर बाँडफाँट हुँदासम्म सेयर आवेदन दिए अनुसारको रकम रोक्का हुन्छ । त्यसकारण, आईपीओ भरेपछि बाँडफाँट कहिले हुन्छ भनेर बुझ्नुपर्ने हुन्छ । बाँडफाँटपछि तपाईंलाई परेको सेयर स्वतः डिम्याट खातामा आउँछ । जति सेयर पर्यो त्यति बराबरको रकम खाताबाटै काटिन्छ । सेयर परेन भने तपाईको पैसा खातामै जम्मा हुन्छ । आईपीओ बाँडफाँट भइसकेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुन्छ । त्यसपछि दोस्रो बजारमा कारोबार हुन्छ । दोस्रो बजारमा बजार मूल्यअनुसार सेयर खरिद गर्न सकिन्छ । ध्यान दिनुपर्ने कुराहरु सम्भावित जोखिमबारे लगानीकर्ता सधैं सचेत रहनुपर्छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्तालाई जोखिम नहोस् भनेर बेलाबेलामा विभन्न सूचना पनि जारी गर्छ । बोर्डका अनुसार सेयर बजारमा लगानी गर्न चाहनेहरुले यी कुराहरुमा ध्यान दिनपर्छ : १. सेयर निस्कासनकर्ता कम्पनीको विवरणपत्र अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति (नेटवर्थ, नाफा-नोक्सान स्थिति आदि), व्यवस्थापन पक्ष, जोखिम पक्ष जस्ता महत्वपूर्ण कुराको विश्लेषण गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् । २. विवरणपत्र लगायत निस्कासनकर्ता कम्पनीसँग सम्बन्धित अन्य अद्यावधिक विवरणका लागि निस्कासनकर्ता कम्पनी, निस्कासन तथा बिक्री प्रबन्धक र तोकिएका दरखास्त संकलन केन्द्रहरुमा सम्पर्क राख्नुहोस् । ३. सेयर खरिदका लागि दरखास्त दिएपछि धितोपत्रको बाँडफाँट, फिर्ता भुक्तानी, प्रमाणपत्र प्राप्ति तथा सूचीकरण सम्बन्धमा सजग रहनुहोस् । ४. धितोपत्रको निस्कासन मूल्यले सूचीकरण पश्चात धितोपत्र विनिमय बजारमा कायम हुन जाने मूल्यलाई नजनाउने हुँदा धितोपत्रको बजार मूल्य परिवर्तनको जोखिमप्रति सजग रहनुहोस् । ५. धितोपत्रमा गरिने लगानीको जोखिम तपाईं स्वयंले व्यहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार वा कसैको बहकाउबाट प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् । ६. आफूले सेयर खरिद गरेको कम्पनीको गतिविधिबारे निरन्तर जानकारी राख्न र कम्पनीको साधारण सभामा सहभागी हुन नबिर्सनुहोस् । ७. धितोपत्रमा लगानी गर्दा आफ्नो नागरिकता प्रमाणपत्र वा नेपाल सरकारबाट जारी गरिएको आधिकारीक परिचय प्रस्तुत गरी भविष्यमा परिचय सम्बन्धी विवाद आउन नदिन सजग रहनुहोस् । ८. धितोपत्रमा लगानी सम्बन्धी तपाईंका जिज्ञासा, शंका वा गुनासाहरु भए धितोपत्र व्यवसायी, धितोपत्र विनिमय बजार तथा धितोपत्र बोर्डमा सम्पर्क राख्नुहोस् । साभार : अनलाइन खबर बाट
काठमाडौं । आस्वा प्रविधि सुरु हुनुअघि साधारण शेयर भर्ने प्रक्रिया निकै कष्टपूर्ण थियो । शेयरको आवेदनका लागि तोकिएका बिक्री प्रबन्धकको कार्यालयमा घन्टौंसम्म लाइन बस्नुपर्ने अवस्था थियो । यो प्रविधि आएसँगै सबै आवेदकले आईपीओका लागि बिक्री प्रबन्धक कहाँ नभई आफ्नो खाता भएका बैंकमा जाने अवस्था सुरु भयो । तर, अहिले यो पनि वाध्यकारी छैन । नेपालकै एकमात्र केन्द्रीय निक्षेप प्रणाली तथा राफसाफ गर्ने संस्थाको रुपमा रहेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको मेरो शेयर सफ्टवेयरमार्फत् आईपीओका लागि आवेदन गर्न समेत सकिन्छ । यसले गर्दा अहिले शेयर भर्नकै लागि लाइन देखिनुपर्ने अवस्था छैन । तर, अहिले निक्षेप सदस्य (डीपी) को कार्यालयमा शेयर भर्ने पुरानो अवस्थालाई बिर्साउनेगरी लाइन लाग्न थालेको छ । यो अरु केहीको नभएर डिम्याट खाता खोल्नेको भीड हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले हालसम्म ७६ वटा संस्थालाई निक्षेप सदस्यको लाइसेन्स दिएको छ । तर, लाइसेन्स नपाएका संस्थाहरुले समेत लाइसेन्सप्राप्त संस्थासँग सहकार्य गरेर डिम्याट खाता खोल्ने सुविधा दिँदै आएका छन् । यतिबेला अधिकांश मर्चेन्ट बैंकर्स, बैंक तथा वित्तीय संस्था एवं स्टक ब्रोकरका कार्यालयमार्फत् यस्तो सेवा पाइन्छ । पछिल्लो समय अधिकांश संस्थामा यस्तै भिड लाग्दै आएको छ । पछिल्लो समय आकर्षक आईपीओहरु बजारमा आउन थालेपछि डिम्याट खाता खोल्नेको क्रम यसरी बढेको हो । कति खुले खाता ? प्राथमिक बजारमा शेयरको खरिदबिक्रीका लागि अनिवार्य मानिएको डिम्याट खाता खोल्नेको संख्या साढे २४ लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार बेलुकासम्म २४ लाख ५१ हजार १ सय ७३ जनाले डिम्याट खाता खोलिएका छन् । सोमबार मात्रै करिब १७ हजार जनाले यस्तो खाता खोलेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । ‘हिजो (सोमबार) १७ हजार खाता खुल्यो । आइतबार २० हजारजति खुल्यो,’ न्यौपानेले भने, ‘यी सबै आईपीओलाई केन्द्रित गरेर खोलिएका खाता हुन् । राम्रो आईपीओ आउँदा खाता खोल्नेको संख्या पनि बढ्दै जाने गरेको छ ।’ सीडीएसीको तथ्यांक अनुसार असार मसान्तसम्मा डिम्याट खाताको संख्या १७ लाख १४ हजार ४ सय ३२ जनाले मात्रै थियो । करिब ६ महिनामा यो संख्या साढे ७ लाखले बढेको देखिएको छ । यो वृद्धि करिब ४३ प्रतिशत हो । पछिल्लो समय यो रफ्तार निकै बढेको छ । प्रभु, चन्द्रागिरी र निफ्राले ताने लगानीकर्ता पछिल्लो एक महिनामा २ लाख २० हजार नयाँ डिम्याट खाता खुलेको छ । यो ६ महिनामा खुलेको कुल डिम्याट खाताको एक तिहाई हिस्सा हो । अघिल्लो महिनामा औसत १ लाखको खाता खुल्ने गरेकोमा पुस महिनामा यो क्रम दोब्बर भन्दा बढी देखिएको छ । यसरी खाता खुल्ने रफ्तार बढ्नुमा प्रभु लाइफ इन्स्योरेन्स, चन्द्रागिरी हिल्स र नेपाल इन्फास्ट्रक्चर बैंकको प्रमुख योगदान रहेको छ । यो महिना प्रभु र चन्द्रागिरीको आईपीओ बिक्री भइसकेको छ भने निफ्राको आईपीओ माघ २ गतेदेखि खुला हुनेगरी आह्वानपत्र प्रकाशन गरेको छ । नयाँ डिम्याट खाता खोल्ने क्रमसँगै प्रत्येक आवेदकले पाउने इन्फास्ट्रक्चर बैंकको शेयरको संख्या निकै कम हुने देखिएको छ । यसअघि निफ्राको शेयरका लागि १२ लाख लगानीकर्ता हुने आकलन गरिएको थियो । तर, यो संख्या १४ लाखको हाराहारीमा पुग्ने देखिएको छ ।
काठमाडौँ– बिगत केहिदिन देखि अघोषित लोडसेडिङ शुरु भएको भन्दै चौतर्फी मिडियामा आलोचना भएपछि नेपाल विद्युत प्राधिकरणले एक प्रेस बिग्यप्ती निकाल्दै लोडसेडिङ नभएको जनाएको छ। विद्युत प्राधिकरणले विज्ञप्ति निकाल्दै ३ बर्षदेखि लोडसेडिङ हटेको र यो क्रम निरन्तर रहने जानकारी गराएको छ । साथै विद्युतको मागलाई थेग्ने गरी आपूर्ति भइरहेकाले लोडसेडिङको अवस्था नरहेको र भविष्यमा पनि नहुने जनाएको हो ।
कहिलेकाँही राष्ट्रिय विद्युत प्रणालीको भारवहन क्षमताभन्दा बढी विद्युत प्रवाह हुँदा केही समयलाई प्रसारण र आपूर्ति प्रणालीमा अवरोध उत्पन्न भएपनि त्यो लोडसेडिङ नभएको प्राधिकरणले जानकारी गराएको छ ।
नेपालको विद्युत प्रणालीमा आन्तरिक उत्पादनमा कमि भएको र खपत बढी भएको अबस्थामा कहिलेकाही भारतबाट आयात समेत गरी मागअनुसारको आपूर्ति भइरहेको जनाएको छ । विभिन्न कारणले विद्युतका पोलहरु सार्ने, ट्रान्सफर्मर फेरबदल गर्ने, पूराना संरचना मर्मतसम्भार गर्ने लगायतका आकास्मिक कार्यहरू गर्दा सम्बन्धित स्थानको विद्युत आपूर्ति केही समय काट्नुपर्ने हुँदा केहि समय विद्युत आपूर्ति मा अबरोध आउने आप्राधिकरणले जनाएको छ । यसै पौष १३,१४ गते राष्ट्रिय विद्युत प्रणालीमा केही समस्या आएको र यसको निराकण पनि गरिसकिएको जानकारी गराएको छ ।
काठमाडौं । दिगो समूहले नेपालमा विक्री गर्दै आएको इ८ कार किन्ने ग्राहकले ४ लाख ९८ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट तिरेर नयाँ इलेक्ट्रीक कार किन्न सक्ने छन् । उक्त रकम गाडीको मूल्यको २० प्रतिशत हो । पाँच जनाले आरामदायी यात्रा गर्न सक्ने यो कारको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ । अहिले बजारमा चलेको औषत ८.५ प्रतिशत व्याजदरमा ७ वर्षको लागि कर्जा लिएर गाडी किन्ने ग्राहकले मासिक ३१ हजार ५९६ रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ । अनुमानित मासिक किस्ता थाहापाउन यहाँ क्लीक गर्नुहोस् । दिगो समूहले नेपाली बजारमा इलेक्ट्रीक सवारी साधन कार, माइक्रोबस र बस जस्ता उत्पादनको विक्री वितरण गर्दै आएको छ । यस्तोमा कम्पनीले विक्री गर्दै आएको दिगो इ८ अहिले ग्राहकको रोजाईमा पर्न थालेको हो । विशेषत कम मूल्य, व्यवस्थित विक्री कक्ष, आधुनिक सर्भिस सेन्टर र पुरानो व्यवसायीक घरानाले यसको स्वामित्व लिएसँगै ग्राहकमा कम्पनी प्रतिको विश्वास बढ्दो देखिन्छ । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटबाट विद्युतीय कारमा भन्सार, अन्तःशुल्क र सडक निर्माण दस्तुर वढाएसँगै विद्युतीय कारमा आकर्षण बन्द प्रायः रहेको थियो । अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै उनले अन्तःशुल्क साना कारमा ३० प्रतिशतबाट घटाएर ६ प्रतिशतमा ल्याएसँगै साना विद्युतीय कारको विक्रीमा केहि चहल पहल आएको देखिन्छ ।
यस्तो छ ‘इ-८’ दिगो इ८मा १५.२ किलोवाट आवरको लिथियम आयोन फस्फोरस व्याट्री दिइएको छ । उक्त व्याट्रीलाई ३ किलोवाटको चार्जरले घरायसी विजुलीबाट ५ घन्टामा फुल चार्ज गर्न सकिन्छ । कारमा दिइएको मोटरले अधिकतम पावर २०.११ बीएच पावर र अधिकतम टर्क १८० एनएम प्रदान गर्छ । रियर ह्वील अटोमेटिक ड्राइभ अप्सनमा उपलब्ध यो कारले एकपटकको फुलचार्जमा १५० किलोमिटर रेञ्ज प्रदान गर्छ । तर, एनइडीसीले २०० किलोमिटर रेञ्ज प्रदान गर्ने प्रमाणित गरेको छ । यसको संचालन खर्च १ रुपैयाँ १० पैसा प्रतिकिलोमिटर पर्ने कम्पनीले दाबी गरेको छ । १६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा पावर स्टेरिङ, डिस्क र ड्रम ब्रेक जस्ता फिचर समाबेस गरिएको छ । स्टायडर्ड र इकोनोमिक ड्राइभिङ मोड रहेको उक्त गाडीमा इलेक्ट्रोनिक्स ब्रेकिङ ओआरभीएम, हिल एसिस्ट कन्ट्रोल, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, एसी, हिटर, पावर विन्डो, रिमोट अनलक, व्याट्री म्यानेजमेन्ट सिस्टम, फगल्याम्प जस्ता प्रिमियम फिचर रहेको छ । त्यसैगरी, सुरक्षा फिरचको रुपमा उच्च जोखिम बहन गर्न सक्ने बडी, अगाडिको चालक र यात्रुलाई सिट वेल्ट, लो व्याट्री वार्निङ जस्ता फिचर रहेका छन् । कारमा यात्रा गर्दा मनोरञ्जन र सूचना प्रदान गर्न ७ इन्चको मल्टीमिडिया एचडी टचस्कृन, ब्ल्यूटुथ कनेक्सन, रिभर्स पार्किङ क्यामेरा जस्ता फिचर उपलब्ध रहेको छ । कारको लम्बाई ३६१० एमएम, चौडाई १५७० एमएम र उचाई १४९० एमएम रहेको छ । साथै ह्वील वेस २४३५ एमएम रहेको छ ।
दाङ जिल्ला उधोग बाणिज्य संघको आउँदो कार्यकालका लागि नेपाली कांग्रेस, नेकपा र राप्रपा लगायत संयुक्त प्यानल द्वारा वर्तमान उपाध्यक्ष टङ्क सिंह बुढाथोकीलाई उम्मेदवार बनाउने घोषणा गरेका छन् । आगामी कार्यकालका लागि अध्यक्ष तथा कोषाध्यक्ष बाहेक बाँकी सबै पदमा यसअघिनै निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ भने अध्यक्ष तथा कोषाध्यक्षमा आउँदो पौष 20 गतेका दिन निर्वाचन हुने भएको छ। अध्यक्षमा टङ्क सिंह बुढाथोकीको अर्का उम्मेदवार बसन्त जोशी संग टक्कर रहेको छ भने कोषाध्यक्षमा धनपति शर्मा र सुशील पोखरेलको उमेदवारी परेको छ। उम्मेदवारीको घोषणासँगै उधोग बाणिज्य संघको आउँदो कार्यकालका लागि हुने चुनावमा सरगर्मी बढेको छ । चुनावको नतिजा कतातिर जान्छ भन्ने हेर्न भने सर्वसाधारणलाई पौष 20 गते सम्म पर्खिनु पर्ने भएको छ ।
काठमाडौं । शुक्रबार अपरान्ह करिब ४ बजे पोखरा विमानस्थलमा बुद्ध एयरको एटीआर ७२ जहाज अवतरण गर्यो । त्यसपछि विमानमा सवार यात्रु तीन छक परे, उनीहरू काठमाडौंबाट जनकपुर जान भनेर विमान चढेका थिए । आफू चढेको जहाज पोखरा अवतरण भएको थाहा पाएपछि उनीहरू अलमलमा परे । आखिर के भयो ? किन भयो ? पोखरा विमानस्थलका प्रमुख भोला गुरागाइँका अनुसार जहाज पोखरा विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र यात्रुले आफूहरु जनकपुर नभइ पोखरा आएको पत्तो पाएका थिए ।
सामान्यतयाः आकासमा कुनै प्राविधिक गडबडी भएमा, जनकपुरको मौसम सफा नभएमा अवतरण हुन नसकी विकल्प खोज्नु सामान्य हो । तर, शुक्रबार त्यस्तो कुनै अवस्था थिएन । गुरागाइँ भन्छन्, सेफ्टिका कारण जहाज पोखरा आएकै होइन। भएको चाँहि के हो त ? विमानस्थलस्रोतका अनुसार त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्यान्डिलिङमा कम्पनीबाटै खटिएका कर्मचारीको कमजोरीले यस्तो हुन पुग्यो । बुद्ध एयरको उडान नम्बर ६०७ जहाज पोखराका लागि पुर्वनिर्धारित उडान थियो । सोहीकारण दुबै विमानस्थलका कन्ट्रोल टावरले यो जहाजलाइ पोखरा उडानको अनुमति दिए । तर, जहाजमा पोखरा जाने यात्रु बोर्ड गर्नुपर्ने (चढाउनुपर्ने) मा असावधानीबस जनकपुर जाने यात्रु चढाइयो । फलस्वरूपः पोखरा जाने जहाजमा जनकपुरका यात्रु भरेर उडाइयो । यसको सुइँको चालक दलले पनि पाएन । हरेक उडानको शुरु र अन्तिममा पाइलट र एयर होस्टेसले गन्तब्यबारे जानकारी दिन्छन् । यो उडानका दौरान पक्कै पनि उनीहरुले त्यो जानकारी दिएका हुनसक्छन्। विमान पोखरा पुग्दासम्म पाइलट र एयरहोस्टेसको ‘एनाउन्समेन्ट’मा यात्रुले किन प्रतिक्रिया दिएननन् त ? यो विषय भने अचम्म लाग्दो भएको विमानस्थलका प्रमुख गुरागाइँ पनि बताउँछन्। काठमाडौं विमानस्थलबाट पोखराकै लागि निर्धारित उडान भएका कारण पाइलटको समेत यो उडानमा गल्ति नदेखिएको विमानस्थल स्रोतको भनाइ छ । यद्यपि यस विषयमा छानबिन हुने काठमाडौं विमानस्थलका एक अधिकारीले जानकारी दिए । पोखरा विमानस्थलका प्रमुख गुरागाइँका अनुसार जनकपुरका यात्रु बोकेर पोखरा पुगेको जहाजलाइ इन्धन भराएर पुनः काठमाडौंको आकाश हुँदै जनकपुर पठाइएको छ । जहाजले जनकपुरमा सफल अवतरण गरेको छ ।
नेपाल नर्सिङ परिषद द्वारा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित बि.एन. तथा बी.एस.सी नर्सिङ्ग अन्तर्गतका परीक्षाहरुमा शामिल भई परीक्षामा उत्तीर्ण भएतापनि त्यसको मान्यता नदिने निर्णय गरेको छ। परिषदद्वारा १६ गते जारी गरिएको सूचनामा जनाइएअनुसार प्रयोगात्मक अभ्यासको प्रक्रिया पुरानै नगरिकन गराइएको परीक्षामा उत्तीर्ण भएतापनि त्यसले कुनै अर्थ नराख्ने हुँदा त्यस परीक्षा अन्तर्गत उत्तीर्ण भएका विद्यार्थीहरुलाई मान्यता दिन र नाम दर्ता गराउन नसकिने बेहोराको जानकारी सम्बन्धित निकायहरु विश्वविद्यालय, प्रतिष्ठान, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्लाइ जानकारी गराइने जनाएको छ।
कोभिड-१९ ले विश्व जगतलाईनै आक्रान्त बनाइरहेको घडीमा पूर्वाञ्चल विश्वविद्यालय र नेपाल नर्सिङ परिषदमा देखिएको आपसी समन्वयको अभावमा बि.एन. तथा बी.एस.सी नर्सिङ्ग अन्तर्गतका विद्यार्थी अरुलाई भने अन्योल सिर्जना गरेको छ ।