
काठमाडौं । आस्वा प्रविधि सुरु हुनुअघि साधारण शेयर भर्ने प्रक्रिया निकै कष्टपूर्ण थियो । शेयरको आवेदनका लागि तोकिएका बिक्री प्रबन्धकको कार्यालयमा घन्टौंसम्म लाइन बस्नुपर्ने अवस्था थियो । यो प्रविधि आएसँगै सबै आवेदकले आईपीओका लागि बिक्री प्रबन्धक कहाँ नभई आफ्नो खाता भएका बैंकमा जाने अवस्था सुरु भयो ।
तर, अहिले यो पनि वाध्यकारी छैन । नेपालकै एकमात्र केन्द्रीय निक्षेप प्रणाली तथा राफसाफ गर्ने संस्थाको रुपमा रहेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको मेरो शेयर सफ्टवेयरमार्फत् आईपीओका लागि आवेदन गर्न समेत सकिन्छ । यसले गर्दा अहिले शेयर भर्नकै लागि लाइन देखिनुपर्ने अवस्था छैन ।
तर, अहिले निक्षेप सदस्य (डीपी) को कार्यालयमा शेयर भर्ने पुरानो अवस्थालाई बिर्साउनेगरी लाइन लाग्न थालेको छ । यो अरु केहीको नभएर डिम्याट खाता खोल्नेको भीड हो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले हालसम्म ७६ वटा संस्थालाई निक्षेप सदस्यको लाइसेन्स दिएको छ । तर, लाइसेन्स नपाएका संस्थाहरुले समेत लाइसेन्सप्राप्त संस्थासँग सहकार्य गरेर डिम्याट खाता खोल्ने सुविधा दिँदै आएका छन् । यतिबेला अधिकांश मर्चेन्ट बैंकर्स, बैंक तथा वित्तीय संस्था एवं स्टक ब्रोकरका कार्यालयमार्फत् यस्तो सेवा पाइन्छ । पछिल्लो समय अधिकांश संस्थामा यस्तै भिड लाग्दै आएको छ । पछिल्लो समय आकर्षक आईपीओहरु बजारमा आउन थालेपछि डिम्याट खाता खोल्नेको क्रम यसरी बढेको हो ।
कति खुले खाता ?
प्राथमिक बजारमा शेयरको खरिदबिक्रीका लागि अनिवार्य मानिएको डिम्याट खाता खोल्नेको संख्या साढे २४ लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार बेलुकासम्म २४ लाख ५१ हजार १ सय ७३ जनाले डिम्याट खाता खोलिएका छन् ।
सोमबार मात्रै करिब १७ हजार जनाले यस्तो खाता खोलेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । ‘हिजो (सोमबार) १७ हजार खाता खुल्यो । आइतबार २० हजारजति खुल्यो,’ न्यौपानेले भने, ‘यी सबै आईपीओलाई केन्द्रित गरेर खोलिएका खाता हुन् । राम्रो आईपीओ आउँदा खाता खोल्नेको संख्या पनि बढ्दै जाने गरेको छ ।’
सीडीएसीको तथ्यांक अनुसार असार मसान्तसम्मा डिम्याट खाताको संख्या १७ लाख १४ हजार ४ सय ३२ जनाले मात्रै थियो । करिब ६ महिनामा यो संख्या साढे ७ लाखले बढेको देखिएको छ । यो वृद्धि करिब ४३ प्रतिशत हो । पछिल्लो समय यो रफ्तार निकै बढेको छ ।
प्रभु, चन्द्रागिरी र निफ्राले ताने लगानीकर्ता
पछिल्लो एक महिनामा २ लाख २० हजार नयाँ डिम्याट खाता खुलेको छ । यो ६ महिनामा खुलेको कुल डिम्याट खाताको एक तिहाई हिस्सा हो । अघिल्लो महिनामा औसत १ लाखको खाता खुल्ने गरेकोमा पुस महिनामा यो क्रम दोब्बर भन्दा बढी देखिएको छ ।
यसरी खाता खुल्ने रफ्तार बढ्नुमा प्रभु लाइफ इन्स्योरेन्स, चन्द्रागिरी हिल्स र नेपाल इन्फास्ट्रक्चर बैंकको प्रमुख योगदान रहेको छ । यो महिना प्रभु र चन्द्रागिरीको आईपीओ बिक्री भइसकेको छ भने निफ्राको आईपीओ माघ २ गतेदेखि खुला हुनेगरी आह्वानपत्र प्रकाशन गरेको छ ।
नयाँ डिम्याट खाता खोल्ने क्रमसँगै प्रत्येक आवेदकले पाउने इन्फास्ट्रक्चर बैंकको शेयरको संख्या निकै कम हुने देखिएको छ । यसअघि निफ्राको शेयरका लागि १२ लाख लगानीकर्ता हुने आकलन गरिएको थियो । तर, यो संख्या १४ लाखको हाराहारीमा पुग्ने देखिएको छ ।

