
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (५१औँ) शृङ्खलाका लागि लघुकथाकार ललिता दोषीको लघुकथा ‘गोप्य कुरा’, लघुकथाकार सत्या अधिकारीको लघुकथा ‘धरातल’ र लघुकथाकार कमला देवकोटाको लघुकथा ‘एक नारी ब्रह्मचारी’ उत्कृष्ट तीनभित्र परेका छन् ।~<•>~
१) लघुकथा: गोप्य कुरा

✍️ ललिता ’दोषी’
रमोलाले आँसु झार्दै भनिन्- “नानी ! मलाई यो कालकोठरीबाट आजै निकाल । बुहारीले लुकाईलुकाई दुधमा घोलेर मन्द विष दिन्छे । अस्ति मैरै आँखाले देखेँ । कृष्णा बजैलाई पनि त्यसै गरी मारेका हुन् अरे, उनका छोराबुहारीले । नपत्याए हेर, तिनीहरूले फ्याँकेको विषको खोल लुकाएर राखेकी छु ?’’
सुलोचनाले आमाको औषधि राखेको बट्टा हेरिन् । साँच्चै त्यो औषधि मात्र थिएन । भाउजूको कोठामा पस्दै चर्किन्- “मलाई थपक्क आमाको कार्ड दिनुहोस् ।’’
बिनिताले बोली लरबराउँदै भनिन्- “कार्ड मसँग छैन । दाइ काजबाट आएपछि उहाँसँग नै माग्नुहोस् ।’’
सुलोचनाले ‘अहिल्यै पुलिस केस गरिदिन्छु बुझ्नुभयो’ भन्दै आफैँले बक्स पलङको घर्रा खोलिन् । कार्ड पाएपछि आमालाई लिएर निस्किइन् । नर्भिकका डा. मणिले कार्ड हेर्दै भने- “आज तपाईँ आउनुभएछ । आमालाई अलि गाह्रो भयो कि ?’’
रमोलाले भनिन्— “गाह्रै हुन्छ डाक्टर बाबू ! छोराबुहारीको पेटमा हरि छैन ।’’
डा.मणिले नम्र स्वरमा भने— “खोइ ! मलाई त उहाँहरू देवताझैँ लाग्छ । हजुरलाई केही हुँदैन । एकैछिन बाहिर जानुहोस् । म बहिनीसँग कुरा गर्छु ।“
रमोला बाहिर निस्किइन् । सुलोचना औषधिको खोल देखाएर बोल्न लागेकी थिइन् । सोही समय डक्टरलाई रमेशको फोन आयो । फोन राखेर उनी भन्दै थिए- “यो दुखाइ कम गर्ने खाने औषधि हो । आमालाई क्यान्सर भएको गोप्य राख्नु अरे ।“
२०८०।२।१२
बुद्धनगर, बानेश्वर, काठमाडौँ~<•>~
२) लघुकथा: धरातल

✍️ सत्या अधिकारी
सबैको शीतल छहारीजस्तै थियो, डाँडाको बुढो पीपल । गर्मीयाममा बटुवाहरू थकाई मेटाउन यहीँ आउने गर्दथे । पोहोरको बर्खायाममा एउटा लहरो आश्रय खोज्दै आयो र त्यै बुढो पिपलमा लपक्क टाँसियो । उसँगको साथले हलक्क बढेर लहरोले छिटै नै पीपलको टुप्पो छोयो ।
“पिपल दाइ ! हजुर कति वर्षको हुनुभयो ?” लहराले सोध्यो ।
“खै, सय वर्षको भएँ कि ?”
लहरोले हाँस्दै भन्यो- “हैन, तपाईँले बढ्न जान्नुभएन के रे ! म त यति छोटो समयमा नै तपाईँजत्रै भएँ ।”
पिपलले गम्भीर हुँदै लहरालाई सोध्यो- “तिमीले जाडो, गर्मी भोगेका छौ ?”
“छैन ।” लहराले जवाफ दियो ।
“आँधी तुफानको झोक्का महसुस गरेका छौ?”
“छैन” लहरा बोल्यो।
पिपलले सत्य ओकल्यो- “हेर ! ती भनेका जीवनका कठिन समय हुन् । यस्ता विपदमा ज्यान जोगाउन गाह्रो हुन्छ । मेरो यो उमेरसम्म आइपुग्दा तिमीजस्ता लहराहरू त कैयौँ आए । सबैलाई मैले जोगाएँ ।”
चौतारीमा बसेको बटुवाले उनीहरूको कुरा सुनिरह्यो । मनमनै सोच्यो- ‘बर्खामा उम्रने र हिउँदमा सुक्ने लहराहरूले आफ्नो धरातल बिर्सेर पिपलको उचाइ मापन गर्न सक्छन् र ?~<•>~
३) लघुकथा: एक नारी ब्रह्मचारी

✍️ कमला देवकोटा
पत्नीको शव जलेको ठाउँमा झल्लु छट्पटिँदै यताउता गरिरहेका थिए । दाजुभाइ, इष्टमित्र कुरामै मस्त थिए । केही महिलाहरू आपसमा दिवङ्गत नानी बारे भए नभएका कुरा गर्दै थिए- ‘मरेकै जाती, तेस्ती रोगी । केही गर्न नसक्ने, पतिलाई पनि बोझ, खर्चको बाढी ।
यत्तिँकैमा एक लमी झोला बोकेर फटाफट आए । झल्लुनेर बसेर चेपारो पारे- ‘ओहो, कस्तो दु:खद !’
यसो हात समातेर पर लगेर भने- “हेर भाइ ! बल्ल अब छुटकारा पायौ । अब बिहे गरेर नयाँ जीवनको सुरुआत गर ।”
“के रे ? लाज छैन, यस्तो अवस्थामा सान्त्वना दिनु त कता कता हो, उल्टै यस्तो बोल्ने, पागल । जा तँ किन यहाँ आएको ?”
“म त तिम्रै हितको लागि बोलेको । अन्यथा नलेऊ, यत्रो जीवन कसरी जिउँछौ ?”
झल्लुले आक्रोशित हुँदै भने- “मलाई तेरो सङ्गतको खाँचो छैन । नत तेरो सल्लाह नै लिन्छु । म त एक नारी ब्रह्मचारी, बुझिस् ?”
पाल्पा~<•>~















