पञ्चाङ्ग साहित्य समाजले आज आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । काव्यिक उपविधा ‘पञ्चाङ्ग’ लेखन सुरुआत गरेको चौथो वर्ष पूरा भई पाँचौँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा भर्चुअल माध्यमबाट अपरान्ह ५ बजे कार्यक्रम आयोजना गरी मनाएको हो ।
साहित्यकार ऋषि प्रसाद लामिछानेको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा दर्जनौँ कवि एवम् साहित्यकारहरूले शुभकामना मन्तव्य दिनुहुँदै पञ्चाङ्ग वाचन पनि गर्नुभएको थियोे ।
कार्यक्रममा साहित्यकार ऋषि प्रसाद लामिछाने, चारु साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् चारु प्रवर्तक डा. देवी पन्थी, झिल्का साहित्य समाजका अध्यक्ष एवम् झिल्का प्रवर्तक वसन्त अनुभव, कोपिला प्रवर्तक गिरिराज डल्लाकोटी, पञ्चाङ्ग प्रवर्तक सोमनाथ लुइँटेल, पञ्चाङ्गका सल्लाहकार सुरेश चन्द्र घिमिरे, साहित्यकारहरू चन्द्रा न्यौपाने, पुष्पा सायरा, घनश्याम पौडेल लगायतका महानुभावहरूले शुभकामना मन्तव्य दिनुभएको थियो ।
पञ्चाङ्गकार/साहित्यकार दुर्गा रिजाल आचार्यको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको अध्यक्षता साहित्यकार एवम् पञ्चाङ्ग साहित्य समाजकी अध्यक्ष सुशीला पौडेलले गर्नुभएको थियोे भने कार्यक्रमको सञ्चालन साहित्यकार सुशीला ढकाल अधिकारीले गर्नुभएको थियोे ।
केही पञ्चाङ्गहरू
पञ्चाङ्ग✍️
चौँथो बर्ष पूरा भयो पाचौं बर्ष लाग्यो पञ्चाङ्ग, सबै संग भेट भयो खुसी आज जाग्यो पञ्चाङ्ग। पञ्चाङ्गको उत्सव आज स्वागत छ मनै बाट, अल्छी पन साहित्यले सबै आज भाग्यो पञ्चाङ्ग, सबैमा शुभकामना चौँथो वर्ष नाग्यो पञ्चाङ्ग।
” म !” गद्यकविता ~~ लोभ र मोह त्याग गर्न नसक्ने भौतिकतामा नभई आध्यात्मिकतामा विश्वास गर्न नसक्ने
पारिवारिक मोह त्याग्न नसक्ने तर उच्च सफलता खोजिरहने मानवजीवको यथार्थता बुझ्न नसक्ने अज्ञानी मान्छे हुँ म!
महान् व्यक्तिका जीवनी पढ्ने तर प्रेरणा लागू गर्न नसक्ने असक्षम पात्र हुँ म! तर पनि सहयोग र सद्भाव बाँढ्न चाहन्छु
कोही दु:खी नहोओन् भन्न चाहन्छु मबाट पनि लोभमोह र इर्ष्या हट्न सकेको छैन अरूलाई शीतलता दिन नसक्ने समाजलाई योगदान दिन नसक्ने एक स्वार्थी मनुवा हुँ म!
पारिवारिक मोहको दल्दलमा चुर्लुम्म डुब्दै कैयौँ महत्वपूर्ण लक्ष्यहरू भुसुक्कै बिर्सेर हिड्ने मनुवा हुँ म!
सबैलाई खुसी देख्न खोज्दा खोज्दै आफैँ दु:खी बन्न पुगेको अक्षम्य कल्पना बोकेर हिँड्ने भावुक मनुष्य हुँ म!
एक साधारण गाउँमा जन्मेर अौपचारिक शिक्षा स्नातकोत्तर लिएको तर जीवनको वास्तविकता बुझ्न नसकेको एक अज्ञानी मनुष्य हुँ म!
तर पनि अरूलाई ज्ञान बाढ्दै हिँडिरहेछु बुबाका दुई श्रीमती स्वर्गवास भएर संयोगले मेरी आमालाई तेस्रो विवाहको रूपमा भित्र्याएर जन्मिएको मनुष्य हुँ म!
संयोगले पाएको यो जीवन सार्थक होस् भन्न चाहने तर सार्थकताका लागि त्याग गर्न नसक्ने एक बबुरो मनुष्य हुँ म! तर मसँग धेरै मान्छेहरू डराउन खोज्छन् अनेक जालझेल बुन्न खोज्छन् त्यो बेला आफूमा केही कुरा भएको महसुस गर्ने एक मनुष्य हुँ म! भन्दा गाउँ राम्रो भन्ने तर बजारमा बसाइँ सरेको एक मनुष्य हुँ म! भनाइ र गराइमा एकरूपता ल्याउन नसकेको आदर्श बाँड्दै हिड्ने व्यक्ति हुँ म!
अज्ञानै अज्ञानताको भुमरीबाट ज्ञानगुन लिँदै पछिल्ला दिनहरूमा विचारमा परिवर्तन ल्याउँदै गरेको जीवन बुझ्दै गरेको दुधे बालक हुँ म! मलाई दिव्य ज्ञान दिनुहोस् प्रभु अनेलो यात्रामा हिँड्दै गरेको एक अनजान यात्री हुँ म!!
सिलगढी, भारत विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको आयोजनामा गत २२ जुनमा हन्नाह छेत्रीकृत “आह्लादित” टुक्का कविता सङ्ग्रह सार्वजनिकरण भएको छ । देवकोटा सङ्घ सिलगढीमा उक्त कार्यक्रम भव्यताका साथ सुसम्पन्न भएको थियो ।
कार्यक्रमको अध्यक्षता राहुल राई बोगिकोले गर्नुभएकाे थियाे । प्रमुख अतिथि डा.साङ्मू लेप्चा हुनुहुन्थ्याे भने विशिष्ट अतिथीहरू डा.सुकराज दियाली, डा.तेजमान वराइली, ताराप्रसाद चापागाईं, चन्द्र भण्डारी, श्रीमती सीता देवी छेत्री, प्राध्यापक नवीन पौड्याल, ग्याल्पो लामा, डा.कृष्ण राज घतानी, सतिस रसाइली, श्रीमती लतिका जोशी, कृष्ण प्रधान ‘अर्पण’, गणेश प्रधान, प्रेम कुमार राई, जितबहादुर साेनार हुनुहुन्थ्याे ।
कार्यक्रममा नेपालकाे काडमाडाैँ, झापा, इलाम र भारतकाे मनिपुर, असम, सिक्किम, दार्जिलिङ, मिरिक, कालेबुङ, सामसिङ्ग, गाेरुवथान, खरसाङ लगायत सिलगढीका स्थानिय साहित्यानुरागी, गोर्खे हाट सिलगढीकाे परिवार लगायत विनेसाम भारत शाखाका पदाधिकारी सदस्यहरू समेत २०० जनाकाे साहित्यानुरागीहरूकाे उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बाल साहित्य अकादमी पुरस्कारले पुरस्कृत हुने डा.साङ्मू लेप्चा अनि नेपाली साहित्य परिषद मणिपुरकी अध्यक्ष श्रीमती सीतादेवी छेत्रीलाई दोसल्ला, स्मृति चिन्ह सहित सम्मान समर्पण गरिएको थियो । त्यसैगरि नेपालका टुक्का कविताका प्रणेता अग्रज साहित्यकार ताराप्रसाद चापागाईँलाई “टुक्का कविता प्रवर्तक सम्मान २०२५” सहित दाेसल्ला ओढाएर सम्मान समर्पण गरिएकाे थियाे ।
कार्यक्रममा नेपालबाट उपस्थित प्रमुख वक्ता वरिष्ठ साहित्यकार चन्द्र भण्डारीले मेची वारि र मेची पारी बस्ने हामी भाषा साहित्य प्रेमी नेपालीले देख्ने सपना एउटै हो भन्दै हाम्रो र हामी शब्दले हामी महाजातीलाई जोड्ने कुराको उजागर गर्दै प्रयाेगवादी लघुत्तम काव्यिक विधा टुक्का कवितासङ्ग्रह “आल्हादित” काे कृतिकार हन्नाह छेत्रीलाई बधाई तथा शुभकामना ज्ञापन गर्नु भएकाे थियाे ।
कार्यक्रमका अध्यक्ष राहुल राई बोगिकोले कार्यक्रम सफलिभूत तुल्यउनमा तन, मन र धन खर्चिएर सहयाेग पुर्याउने समस्त विनेसाम भारत शाखा परिवार प्रति आभार प्रकट गर्नुकाे साथै कृतिकार छेत्रीलाई बधाई तथा शुभकामना अर्पण गर्नु भएकाे थियाे ।
कार्यक्रमका विशेष अतिथी ताराप्रसाद चापागाईंले टुक्का कविताको सैद्धान्तिक पक्षलाई प्रकाश पार्दै हन्नाह छेत्रीकृत “आह्लादित” काे पुस्तक समीक्षा गर्नुकाे साथै स्रष्टा छेत्रीलाई बधाई तथा शुभकामना अर्पण गर्नु भएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथिद्वय डा.सङ्मू लेप्चा र श्रीमती सीता देवी छेत्रीले आफूहरू सम्मानित भएकोमा आयोजक पक्ष प्रति आभार प्रकट गर्दै नेपाली साहित्य मौलाउँदै गएकाे र कवितामा प्रयाेगकाे रूपमा रहेकाे टुक्का कविता सङग्रह ‘आह्लादित’ लाेकार्पण भएकाेमा खुसि व्यक्त गर्दै सम्मानित हुँदा साहित्य सेवाको जिम्मेवारी अझै थपिएकाे कुरा व्यक्त गर्नु भएकाे थियाे ।
विशिष्ट अतिथि देवकोटा सङ्घ सिलगढीका अध्यक्ष मिलन रुचालले नेपाली साहित्य अनि मानव जीवन जगत्का सरस दार्शनिक कुरालाई उजागर गर्दै कृतिकार हन्नाह छेत्रीलाई बधाई अर्पण गर्नु भएकाे थियाे । कृतिकार हन्नाह छेत्रीले आफ्ना दुई सन्तानलाई जन्माउनु भन्दा प्रथम कृति”आह्लादित” जन्माउँदा कठिन परेको कुरा अनि आफ्ना स्वर्गीय माता पिताको सम्झना गर्नुकाे साथै विभिन्न किसिमका सहयाेगहरू उपलब्ध गराएर आफ्नाे सपना साकार गर्न सहयाेग पुर्याउनु हुने विनेसाम भारत शाखा लगायत सम्पूर्णमा सहयाेगी हातहरूलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रमको सञ्चालन विनेसाम भारत शाखाकी कोषाध्यक्ष श्रीमती देविका मङ्ग्राती राई अनि उपाध्यक्ष विनोद खातीले गर्नु भएको थियो । स्वागत सम्बोधन सचिव श्रीमती गीताश्री शर्माले राख्नु भएको थियो भने महासचिव मोहन गौतमले संस्थाकाे वार्षिक प्रतिवेदन पेस गर्नु भएकाे थियाे । उक्त कार्यक्रममा बिबा तामाङ्ग, रमा गुरुङ र कविता भट्टराईले टुक्का कविता अनि पेम नर्बु सेर्पा “ज्योति”, प्रेम न्यौपाने “प्रहर”, अर्चना शर्मा र राेजेश राईले कविता वाचन गर्नु भएकाे थियाे । आयुष्णा प्रधान र अनुष्का प्रधानले नृत्य प्रस्तुत गर्नु भएकाे थियाे अनि अनिल गुरुङ र सुधीर घलेले मिठा गीतहरू प्रस्तुत गर्नु भएकाे थियाे । अन्त्यमा विनेसाम भारत शाखाका उपाध्यक्ष पेम नर्बु शेर्पा “ज्योतिले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएकाे थियाे ।
वसन्त अनुभव १० असार/चितवन लघुकथा विशिष्ट प्रतियोगिता-२०८१ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर असार १० गते प्रतियोगिताको नतिजा घोषणा गरेको हो ।
घोषित नतिजा अनुसार लघुकथाकार लोकनाथ पुडासैनीको लघुकथा ‘टिफिन’ प्रथम बन्न सफल भएको छ । उहाँ गण्डकी प्रदेशबाट सहभागी हुनुभएको थियोे । त्यस्तै लघुकथाकार मित्र उराठी गौतमको लघुकथा ‘आशीर्वाद’ले दोस्रो स्थान, लघुकथाकार तारानाथ पराजुलीको लघुकथा ‘समाचार’ले तेस्रो स्थान, लघुकथाकार लक्ष्मी रेग्मी खनालको लघुकथा ‘गणतन्त्रको चोट’ र लघुकथाकार कुमार काफ्लेको लघुकथा ‘सम्पदा संरक्षण’ सान्त्वना स्थान प्राप्त गरेका छन् । उहाँहरूले क्रमशः लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेशबाट प्रतिनिधित्व गर्नुभएको थियोे ।
विजयी लघुकथाकारहरूले पूर्व घोषित निर्णय अनुसार प्रमाणपत्र सहित प्रथमले रु. २५०००/-, द्वितीयले रु. २०,०००/-, तृतीयले रु. १५,०००/- र सान्त्वना स्थान प्राप्त दुईजनाले पाँच/पाँच हजार नगद प्राप्त गर्नुहुनेछ । साथै प्रतियोगिताको पहिलो र दोस्रो चरणमा विजयी सम्पूर्ण लघुकथाहरूलाई मञ्चको सातौँ वार्षिक स्मारिकामा समावेश गरिने आयोजकले जनाएको छ ।
आयोजक संस्था नमस्ते आधुनिक लघुकथा मञ्चले विजयी लघुकथा एवम् लघुकथाकारहरूमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दै विजयी लघुकथाकारहरूको पुरस्कार वि.सं. २०८२ सालमा संस्थाद्वारा राप्ती नगरपालिका, चितवनमा गरिने औपचारिक राष्ट्रिय कार्यक्रममा प्रदान गरिने जनाएको छ ।
लघुकथा विशिष्ट प्रतियोगिता, २०८१ दुई चरणमा सञ्चालन गरिएको थियोे । पहिलो चरणको प्रतियोगिता समूहगत (clusterwise) रूपमा मुलुकभित्र (नेपालका सातै प्रदेशका स्रष्टाहरूको सहभागिता सुनिश्चित हुने गरी) र मुलुकबाहिर (विश्वका जुनसुकै देशका नेपालीभाषी स्रष्टाहरूबाट सहभागिता सुनिश्चित हुने गरी) क्रमशः सञ्चालन गरिएको थियोे । यसरी समूहगत (clusterwise) रूपमा सञ्चालित प्रतियोगिताको निर्णायकज्यूहरूद्वारा मूल्याङ्कन गराई प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने लघुकथाका सर्जकलाई पुरस्कार प्रदान गरिएको थियोे ।
त्यस्तै लघुकथा विशिष्ट प्रतियोगिता, २०८१ को दोस्रो चरणमा पहिलो चरणमा विजयी लघुकथाका सर्जकहरूलाई ‘मेरो विजयी लघुकथा, मेरो वाचन’ अन्तर्गत जुम हलमा कार्यक्रम सञ्चालन गरी वाचन गर्न लगाइएको थियोे । उक्त कार्यक्रम संस्थाद्वारा नियुक्त चार जना निर्णायकज्यूहरूले हेरेर/सुनेर र प्रथम चरणमा विजयी लघुकथाहरूको पुनर्मूल्याङ्कन गरेर प्रतियोगिताको अन्तिम नतिजा निकाल्नुभएको थियोे । जुन माथि उल्लेख गरिसकिएको छ ।
वसन्त अनुभव ९ असार/चितवन नमस्ते आधुनिक लघुकथा मञ्चले ‘वर्ष लघुकथा स्रष्टा सम्मान- २०८२’बाट लघुकथा सर्जक खगेन्द्र बस्याललाई सम्मान गर्ने भएको छ । संस्थाले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा असार ९ गते उक्त घोषणा गरेको हो ।
संस्थाले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर विभिन्न पुरस्कार, पदक, सम्मान प्रदान गर्नुका साथै अग्रज एवम् वरिष्ठ व्यक्तित्वलाई अभिनन्दन गर्दै आएको छ ।
वर्षभरि आफ्नो आधिकारिक फेसबुक समूहको भित्तोमा सबैभन्दा धेरै उत्कृष्ट लघुकथाहरू प्रेषित गर्ने लघुकथा स्रष्टाहरू मध्येबाट प्रथम, द्वितीय र तृतीय घोषणा गरेर पुरस्कार रकम सहित सम्मान गर्दै आएको मञ्चले यसपटक प्रथम स्थान लिन सफल स्रष्टा खगेन्द्र बस्याललाई मात्र पुरस्कारसहित सम्मान गर्न लागेको हो । उहाँलाई सम्मान पत्रसहित नगद रु. ७,०००/- रकम प्रदान गरिनेछ । गतवर्ष लघुकथाकार श्री सुरेशकुमार पाण्डेले उक्त सम्मान प्राप्त गर्नुभएको थियोे । संस्थालाईले दिएको जानकारी अनुसार वि.सं. २०८२ सालमा राप्ती नगरपालिका, चितवनमा आयोजना गरिने संस्थाको औपचारिक कार्यक्रममा ‘वर्ष लघुकथा सर्जक सम्मान- २०८२’ प्रदान गरिनेछ ।
लघुकथाकार खगेन्द्र बस्यालको जन्म, पिता भोजराज बस्याल र माता स्व. ढुण्डिकादेवी बस्यालको पहिलो सन्तानको रूपमा २०१६ चैत १ गते बगनासकाली- ७ दैलातुङ्ग फाँट, पाल्पामा भएको थियोे । हाल उहाँ तिलोत्तमा न. पा.- ९, रुपन्देहीमा बसोबास गर्दै आउनुभएको छ ।
निजामती सेवामा लामो समय जीवन व्यतीत गर्नुभएका बस्याल हाल सेवानिवृत्त हुनुहुन्छ र साहित्य लेखनमा अझ सक्रिय हुनुहुन्छ । उहाँका हालसम्म कुनै लघुकथा कृति प्रकाशित नभए पनि प्रकाशोन्मुख अवस्थामा रहेको छ । उहाँका गैरलघुकथाकृति भने आधा दर्जन प्रकाशित भइसकेका छन् ।
साहित्यका विविध विधामा कलम चलाउनुहुने बस्यालले ‘सिर्जनशील साहित्य सम्मान’, ‘आदिकवि भानुभक्त द्विशताब्दी स्रष्टा सम्मान’, ‘पेमा वाङ्मय साहित्य सम्मान’ लगायत आधा दर्जन बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।
वसन्त अनुभव ९ असार/चितवन नमस्ते आधुनिक लघुकथा मञ्चले यस वर्षको लघुकथालय कृति पुरस्कार लघुकथाकार लक्ष्मण अर्यालको लघुकथासङ्ग्रह ‘दुर्बिन’लाई प्रदान गर्ने भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो सातौँ वार्षिकोत्सवको प्रथम दिन अर्थात् असार ९ गते उक्त पुरस्कारको घोषणा गरेको हो । लघुकथालय पुरस्कारको राशी नगद रु. ११ हजार १ सय ११ रुपैयाँ रकम र प्रमाणपत्र रहेको छ ।
संस्थाले २०८१ सालभरमा प्रकाशित भएका लघुकथा सङ्ग्रहहरू बजारमा उपलब्ध भएसम्मका सङ्कलन गरी मूल्याङ्कनमा समावेश गराएको थियोे । जसबाट निर्णायक समितिले अध्ययन र मूल्याङ्कन गरी उक्त पुरस्कारका लागि लघुकथा कृति ‘दुर्बिन’लाई छ्नोट गरेको थियोे । गतवर्षको लघुकथालय पुरस्कार लघुकथाकार ललिता दोषीकृत लघुकथा सङ्ग्रह ‘पहिरो’ लाई प्रदान गरिएको थियोे ।
‘दुर्बिन’मा सङ्ग्रहीत लघुकथाहरू विषयवस्तु, प्रस्तुती कला, भाषाकाे गुरूत्व, भाव प्रक्षेपण लगायतका आधारमा नेपाली सामाजिक सुधारवादी चेतनाले भरिएका अत्यन्त सफल भएको निर्णायक समितिले जनाएको छ ।
‘दुर्बिन’का कृतिकार लक्ष्मण अर्यालको जन्म पिता शिवहरि अर्याल र माता ज्ञानप्रभा अर्यालको दोस्रो सन्तान एवम् प्रथम पुत्ररत्नको रूपमा वि.सं. २०२६ साल साउन १५ गते धादिङमा भएको थियोे । हाल उहाँ रत्ननगर नगरपालिका– ३, विद्युत रोड, चितवनमा स्थायी बसोबास गर्दै आउनुभएको छ ।
प्राध्यापन पेशामा कार्यरत अर्यालका ‘टुटीकाण्ड’, ‘औँला’ र ‘दुर्बिन’ गरेर तीन वटा लघुकथासङ्ग्रहका साथै ‘लघुकथा विमर्शन’, एक लघुकथा सिद्धान्त पुस्तक प्रकाशित भइसकेका छन् । ‘सम्प्रेषण’, ‘रत्नप्रभा’ जस्ता प्रकाशनका कार्यकारी सम्पादक रहेका अर्यालले हालसम्म लगभग २ दर्जनभन्दा बढी पुस्तक, पत्रिका, स्मारिका आदिमा प्रधानसम्पादकको भूमिका निभाइसक्नुभएको छ ।
उहाँ यस अघि पनि नमस्ते आधुनिक लघुकथा मञ्चबाट ‘लघुकथाश्री समालोचक सम्मान-२०८०’ बाट सम्मानित भैसक्नु भएको छ । उहाँले अन्य संस्थाहरूबाट ‘रेडियो अर्पण सम्मान’, ‘चिसाप कृष्णकृष्णा पुरस्कार’, ‘वैजयन्ती स्रष्टा सम्मान’ लगायत आधा दर्जन बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ ।
संस्थाको निर्णय अनुसार वि.सं. २०८२ सालमा आयोजना गरिने राष्ट्रिय कार्यक्रममा ‘लघुकथालय कृति पुरस्कार- २०८२’ उहाँलाई प्रदान गरिनेछ ।
वसन्त अनुभव ९ असार/चितवन युवा स्रष्टाद्वय हिमा रोका ‘प्रतिज्ञा’ र हेमराज अधिकारीलाई ‘हेमलता स्मृति लघुकथा सम्मान-२०८२’ बाट सम्मान गरिने भएको छ । आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा नमस्ते आधुनिक लघुकथा मञ्चले यो सम्मानको घोषणा गरेको हो । ‘प्रतिज्ञा’ कर्णाली प्रदेशको सुर्खेत निवासी हुनुहुन्छ भने अधिकारी सिक्किम, भारत निवासी हुनुहुन्छ ।
कीर्तिशेष लघुकथाकार हेमलता उप्रेतीको स्मृतिमा स्थापित ‘हेमलता स्मृति लघुकथा सम्मान’ लघुकथामा कुनै पनि कृति ननिकालेका तर निरन्तर स्तरीय लघुकथा लेखनमा लागिपरेका जुझारु युवा लघुकथाकारहरूलाई प्रोत्साहनस्वरूप उक्त सम्मान प्रदान गरिँदै आएको संस्थाले जनाएको छ । ६० वर्ष उमेरसम्मका लघुकथा लेखनमा सक्रिय एकजना महिला स्रष्टा र एकजना पुरुष स्रष्टा छनोट गरेर संस्थाले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ । यो सम्मानबाट विगतका तीन वर्षमा तीन पुरुष तथा तीन महिला गरी ६ जना सक्रिय युवा लघुकथा सर्जकहरूलाई मञ्चले सम्मानित गरिसकेको छ ।
संस्थाले दिएको जानकारी अनुसार वि.सं. २०८२ सालमा राप्ती नगरपालिका, चितवनमा आयोजना गरिने संस्थाको औपचारिक कार्यक्रममा छनोट हुनुभएका स्रष्टालाई सम्मान पत्रसहित नगद रु. ५,५५५/- रकमले सम्मान गरिनेछ ।
‘हेमलता स्मृति लघुकथा सम्मान- २०८२’बाट सम्मानित हुन लाग्नुभएकी ‘प्रतिज्ञा’को वास्तविक नाम हिमा रोका हो । बुबा चन्द्रबहादुर रोका र आमा निमकला रोकाकी सात सन्तानहरू मध्ये छैटौँ सन्तान एवम् कान्छी सुपुत्रीको रूपमा वि.सं. २०५२ साल भदौ ०७ गते घुमखहरे, सुर्खेत(कर्णाली प्रदेश)मा उहाँको जन्म भएको हो । हाल गुर्भाकोट नगरपालिका -८, मेहेलकुना, सुर्खेतमा स्थाउी बसोबास गर्दै आउनुभएको छ ।
जन्मजात नै दुवै खुट्टा र दाहिने हात नचल्ने उहाँ यताउता डुल्न ह्विलचियर प्रयोग गर्नुहुन्छ भने उहाँको देब्रे हात मात्र काम गर्न र लेखपढ गर्न प्रयोग हुन्छ । बोली लठेब्रो हुँदा उहाँ बोलेको कुरा अरूलाई बुझ्न कठिन हुने गर्दछ । विद्यालयबाट औपचारिक शिक्षा ग्रहण गर्नबाट बन्चित प्रतिज्ञाले घरमै बसेर अरूको सहयोगमा साउँ अक्षर छिचोल्नु भयो । उहाँले वि.सं. २०७८भदौ १६ गते ‘पालो’ शीर्षकको लघुकथा रचना गर्नुभएसँगै उहाँको लघुकथा लेखन यात्रा अगाडि बढेको थियोे ।
लघुकथासँगै उहाँले झिल्का कविता, टुक्का कविता, मुक्तक, गजल सृजनामा कलम चलाउनु हुने उहाँको हालसम्म कुनै कृति भने प्रकाशित भने भएको छैन ।
त्यस्तै ‘हेमलता स्मृति लघुकथा सम्मान- २०८२’बाट समानित एवम् पुरस्कृत हुन लाग्नुभएका पुरुष स्रष्टा हेमराज अधिकारीको जन्म पिता स्व. कुबेरनाथ अधिकारी र माता देवकी अधिकारीका ५ सन्तानहरू मध्ये पहिलो सन्तानको रूपमा वि.सं. २०२८ साल जेठ १५ गते भारतको तुमिन, गान्तोक जिल्लाको, पूर्व सिक्किममा भएको थियोे । हालसम्म पनि उहाँ सोही स्थानमा बसोबास गर्दै आउनुभएको छ ।
स्कुले विद्यार्थी जीवनदेखि नै साहित्यमा लाग्नुभएका अधिकारी हालसम्म पनि सक्रिय रूपमा लाग्नुभएको छ । सन् २०१९/२० देखि विशेष रूपमा कथा, लघुकथा र निबन्ध लेखनमा समर्पित उहाँ सन् २०२१ देखि सिक्किमेली लघुकथा समाजको संस्थापक सदस्य तथा एडमिन हुनुहुन्छ ।
उहाँ एक स्थापित वक्ता पनि हुनुहुन्छ । राज्यस्तरीय विभिन्न तर्क प्रतियोगितामा विजयी भई नगद पुरस्कार, विभिन्न देश भ्रमणको अवसर पनि प्राप्त गर्नुभएको छ । उहाँ विभिन्न सामाजिक सेवा सम्बन्धी संघसंस्थामा आवद्ध हुनुका साथै सिटिजन एक्सन पार्टी(सिएपी), सिक्किमको संस्थापक सदस्य एवम् वर्तमान महासचिव/महामन्त्री हुनुहुन्छ । साथै उहाँ राज्यभरिकै विभिन्न शैक्षिक, साहित्यिक तथा सामाजिक संस्थाहरूबाट सम्मानित र पुरस्कृत हुनुहुन्छ ।
वसन्त अनुभव ९ असार/चितवन नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर ‘”लघुकथाश्री समालोचक सम्मान-२०८२” घोषणा गरेको छ । उक्त सम्मान नेपाली आधुनिक लघुकथाको समीक्षा/समालोचनामा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका वरिष्ठ समीक्षक/समालोचक प्रा.डा. कपिल लामिछानेलाई प्रदान गर्न लागेको हो ।
मञ्चले दिएको जानकारी अनुसार वि.सं. २०८२ सालमा राप्ती नगरपालिका, चितवनमा आयोजना गरिने संस्थाको औपचारिक कार्यक्रममा नगद रु ७,७७७/- र सम्मान पत्र सहित वरिष्ठ समीक्षक/समालोचक प्रा.डा. कपिल लामिछानेलाई सम्मान गरिनेछ ।
“लघुकथाश्री समालोचक सम्मान-२०८२” बाट समानित हुनलाग्नुभएका प्रा. डा. कपिल लामिछानेको जन्म पिता शुकदेव र माता सुकुमायाका तेस्रो सन्तान एवम् ज्येष्ठ पुत्ररत्नको रूपमा कास्की पोखराको माझठानामा वि.स. २०१५ असोज २४ गते भएको थियोे । उहाँ पनि एक वरिष्ठ साहित्यकार एवम् विशिष्ट प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ । हाल उहाँ सिद्धार्थनगर, भैरहवामा बस्दै आउनुभएको छ । उहाँले पनि त्रि.वि.बाटै ‘नेपाली गाउँखाने कथा’मा विद्यावारिधि गर्नुभएको थियोे ।
दर्जनौँ साहित्यिक, सामाजिक, सांस्कृतिक संघसंस्थामा आवद्ध प्रा.डा. लामिछानेका अन्यथा, जलमानव, बोन्साइ लगायत आधा दर्जन लघुकथा कृति, एक समालोचना सङ्ग्रह र करिब ५ दर्जन अन्य कृतिहरू प्रकाशित छन् । उहाँले गीता प्रथमा रजत पदक, महेन्द्र विद्याभूषण पदक ख, मकबुल अहमद लारी स्वर्ण पदक लगायत चार दर्जन बढी पदक, पुरस्कार, सम्मान प्राप्त गर्नुभएको छ ।
वसन्त अनुभव ९ असार/चितवन नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो सातौँ वार्षिकोत्सव अवसर पारेर अग्रज एवम् वरिष्ठ साहित्यकार प्रा.डा.दयाराम श्रेष्ठलाई विशिष्ट अभिनन्दन गर्ने भएको छ । नेपाली आख्यानको अनुसन्धान तथा समालोचनामा विशिष्ट योगदान पुर्याउनु भएबापत उहाँलाई ‘आख्यान अनुसन्धान तथा समालोचना शीर्ष पुरुष”का रूपमा अभिनन्दन गर्न लागिएको हो । मञ्चले गतवर्ष ‘कथा-कुथुङ्ग्री सृजना नायक’का रूपमा साहित्यकार एवम् समालोचक पुष्कर लाेहनीलाई र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा लघुकथाकार/साहित्यकार ध्रुव मधिकर्मीलाई अभिनन्दन गरेको थियोे ।
मञ्चले दिएको जानकारी अनुसार वि.सं. २०८२ सालमा राप्ती नगरपालिका, चितवनमा आयोजना गरिने संस्थाको औपचारिक कार्यक्रममा आख्यान अनुसन्धानकर्ता एवम् समालोचक प्रा.डा. दयाराम श्रेष्ठलाई नगद रि ११,१११/- र अभिनन्दन पत्रद्वारा अभिनन्दन गरिनेछ । अभिनन्दन हुन लाग्नुभएका प्रा.डा. दयाराम श्रेष्ठ, पिता सूर्यबहादुर र माता नयनकुमारीका चौथो सन्तान तथा माहिलो पुत्ररत्नका रूपमा सिरानबजार धनकुटामा वि. सं. २००० कार्तिक ८ गते शुक्रवार जन्मिनुभएको थियोे । उहाँ एक विशिष्ट प्राज्ञिक व्यक्तित्व एवम् वरिष्ठ साहित्यकार हुनुहुन्छ । वि.स. २०३९ सालमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका प्रा.डा. श्रेष्ठले त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय लगायतका विभिन्न शैक्षिक संस्थामा प्राध्यापन गर्नुभएको थियो ।
विभिन्न विषयका डेढ दर्जन कृतिहरू प्रकाशन गरिसक्नुभएका, करिब १ दर्जन कृति सम्पादन गरिसक्नुभएका प्रा.डा. श्रेष्ठका तीन वटा अनुसन्धानात्मक कृति प्रकाशोन्मुख रहेका छन् ।
उमेरले ८२ वसन्त पार गरिसक्नुभएका प्रा.डा.श्रेष्ठले ‘झपट पुरस्कार’, रजत जयन्ती पदक, सैनध्वज नन्दकुमारी विद्वत वृत्ति पुरस्कार, महेन्द्र विद्याभूषण “क” श्रेणी लगायत चार दर्जन पुरस्कार, पदक, मानसम्मान प्राप्त गरिसक्नुभएको छ ।
सुनसरी – सिर्जनामा इनरुवाको ४० औँ शृङ्खला सम्पन्न भएको छ । सुनसरी बहुमुखी क्याम्पसको सभाहलमा कार्यक्रमको आयोजना गरेर शृङ्खला सम्पन्न गरेको हो । २०७७ सालमा स्थापना भएको यस संस्थाले भाषा, कला र साहित्यका क्षेत्रमा नियमित रूपमा काम गर्दै आएको छ ।
नोबेल साकोस साहित्य संस्थाका कोषाध्यक्ष लघुकथाकार ऋषि तिवारी प्रमुख अतिथि उपाध्यक्ष भूपाल अधिकारी विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा महानन्द साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष छविनाथ रिजाल, प्राज्ञ जीवनाथ पोखरेल ‘पन्छी’, साहित्य सौगातका प्रधान सम्पादक शशिप्रसाद बजगाईं, महाकाव्यकार डम्बरुबल्लभ भण्डारी, लेखक तथा अनुसन्धाता केशु विरहीलगायतका लेखक तथा स्रष्टाहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सिर्जनामा इनरुवाका सहसचिव राधा सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विष्णु थापा मगर, सञ्जीव कटुवाल, रङ्गलाल भट्टराई, नवराज पोखरेल ‘नवशिला’, टीका मिलन, सागर तिम्सिना, एकराज भट्टराई, उमा खतिवडा, टङ्कप्रसाद भेटवाल, प्रिन्स प्रमोद ढकाल, किस्मत खतिवडा, निर्मला भट्टराई, रोहिणी रसिक, किरण रिजाल, फणीन्द्रप्रसाद दाहाल, आयुष्मा खतिवडा भरत गुरागाईं बर्बरिक, कान्ता भट्टराई, टङ्क राजवंशी, धुटन मेहता, छत्र काफ्ले, राधा सुवेदी, जयकृष्ण यादव लगायतका स्रष्टा तथा कलाकारको रचनावाचन रहेको थियो ।
सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव रमेन्द्र कोइरालाको रहेको थियो