• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: विचार

‘गुरुकुललाई राज्यले हेर्नुपर्दछ’ डा. रामचन्द्र अधिकारी, अध्यक्ष, विश्व हिन्दु महासंघ

  • २ श्रावण २०७८, शनिबार २०:५४ मा प्रकाशित
  • विश्व हिन्दु महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले गुरुकुललाई राज्यले हेर्नुपर्ने बताएका छन् ।

    घाेराही उप महानगर पालिकाको चौघेरामा अवस्थित प्राचीन मठ गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठमा संचालनमा रहेकाे गाेरखनाथ वैदिक गुरुकुलद्वारा संचालित जुम भर्चुअल कार्यक्रम ‘गोरक्ष चिन्तन’ मा उक्त कुरा बताएका हुन ।

    विशेष गरेर मठ मन्दिरकाे प्रचार प्रसार ,गुरुकुलीय गतिविधिलाई विश्वसामु परिचित गराउने र सबैको ध्यान गुरुकुल प्रति आकर्षण गराउने, उद्देश्यले संचालित कार्यक्रमको आठौं शृङ्खलाको प्रमुख वक्ताको रुपमा अध्यक्ष डा रामचन्द्र अधिकारीले गुरुकुलीय शिक्षाकाे अभावलेनै विभिन्न प्रकारका विकृति र विसंगतिकाे चपेटामा हाम्राे देश परेको बताए ।

    आज हिन्दूकाे वाहुल्यता रहेकोे नेपालमा गुरुकुल चलाउन अप्ठेराे स्थिति रहेकोे, राज्य माैन बसेर हेरेको आरोप लगाए । साथै अबकाे युग भनेकाे भाैतिक विज्ञान र आध्यात्मिक ज्ञान दुवैलाई जाेडेर लग्न सक्नु पर्ने बताए ।

    उक्त कार्यक्रममा गुरुकुलका शुभचिन्तक अभिभावक महेन्द्र बहुमुखि क्याम्पसका प्राध्यापक माधव गाैतमले राष्ट्र गुरु नरहरिनाथले साधना गरेकाे चाैघेरा मठमा गुरुकुल चल्नु सबैकालागि खुसि र गाैरवकाे कुरा रहेकाे
    बताए ।

    साथै विश्व हिन्दू महासंघका पदाधिकारी वरिष्ठ उपाध्यक्ष शंकर खरालले गाेरखनाथ गुरुकुलले सबैकाे मन जित्न सफल भएकाे र सबैलाई एउटा मालामा उन्ने प्रयास गरेको बताए ।

    डेढ घण्टा लामो चलेको उक्त कार्यक्रमका अन्य वक्ताहरुमा महासंघका उपाध्यक्ष प्रविण घिमिरे, गणेश न्याैपाने, पूर्व डिआईजी श्याम नेपाल, खगेन्द्र अवस्थि लगायतले गुरुकुलकाे याे कार्यले सबैमा राम्राे सन्देश पुगेकाे बताए ।

    अन्तर्राष्ट्रिय वक्ता गुरुकुलका प्रमुख सल्लाहकार डा चिन्तामणि याेगीज्यूले गुरुकुलले सबैलाई जाेड्ने काम गरेकाे बताए ।

    गुरुकुलका अध्यक्ष एवम् गाेरक्ष चिन्तनका संचालक प्रकाश भट्टराईले याे एउटा मठकाे मात्रै चिन्तन नभई राष्ट्र कै चिन्तन भएकाले अब पूर्व र मध्यका गुरुकुल र मठलाई जाेडेर लैजाने साेच रहेकाे बताए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, विचार, समाजLeave a Comment on ‘गुरुकुललाई राज्यले हेर्नुपर्दछ’ डा. रामचन्द्र अधिकारी, अध्यक्ष, विश्व हिन्दु महासंघ

    चर्को हवाई भाडा, महँगो क्वारेन्टिन र विभेदकारी खोप नीति

  • २९ असार २०७८, मंगलवार १६:२८ मा प्रकाशित
  • रबिन्द्र घिमिरे

    २९ असार, काठमाडौं । कोरोना महामारीका कारण कुनै एक क्षेत्र मात्रै प्रभावित भएको छैन । व्यापार व्यवसाय, शिक्षालय, यातायात, पर्यटन, उद्योग, कलकारखाना प्रभावित बनेका छन् । सबैभन्दा बढी प्रभावित बनेको क्षेत्रमध्ये हो, वैदेशिक रोजगारी ।
    महामारीमा यातायात, प्रवेश अनुमति र श्रमिकको न्यून मागले प्रभावित बनेको वैदेशिक रोजगारी एअरलाइन्सहरूको मनलाग्दी हवाई भाडादर, गन्तव्य देशको क्वारेन्टिन तथा खोपसम्बन्धी नीतिले थप अप्ठेरोमा फसेको छ । असामान्य भाडा दर लिंदा पनि एअरलाइन्सहरूप्रति नतमस्तक देखिएको सरकारको कमजोर ‘श्रम कूटनीति’का कारण कामदारहरू सबैभन्दा बढी मारमा परिरहेका छन् ।
    महामारीमा विदेश जाने श्रमिकसँग विभिन्न कारण देखाउँदै एअरलाइन्सले असामान्य भाडा असुलिरहेका छन् । श्रम गन्तव्य मुलुकले श्रमिकका लागि निःशुल्क क्वारेन्टिनको व्यवस्था गरेका छैनन् । कतिपय देशले आफूले मान्यता दिएको खोपको मात्रा पूरा गरेका श्रमिकलाई मात्रै काममा लिने खालका नीति बनाएका कारण नेपालबाट विदेश जाने श्रमिकहरू मारमा परेका छन् ।
    देशभित्र प्राथमिकता प्राप्त उमेर समूहले भारत र चीनमा बनेका खोप समेत नपाइरहेको अवस्थामा अमेरिका र युरोपमा बनेको खोप अनिवार्य गर्दै त्यस्तो खोप नलगाउने श्रमिकलाई आफ्नै खर्चमा क्वारेन्टिनमा राख्ने गैरन्यायिक नीतिले नेपाली श्रमिकहरू थप समस्यामा परेका हुन् । महँगो हवाई भाडा र क्वारेन्टिन खर्च कटौतीका लागि पहल नगरिरहेको सरकार श्रमिकको गन्तव्य मुलुकहरूले लिएको खोप सम्बन्धी विभेदकारी नीतिबारे पनि मौन छ ।
    मनलाग्दी हवाई भाडा
    अघिल्लो साता साउदी अरब पुगेका राजन गोर्खाली (नाम परिवर्तन)ले दमाममा पाइला टेक्न मात्रै ३ लाख १० हजार खर्च गर्नुपर्‍यो । ‘हिमालय एअरलाइन्सको टिकट र क्वारेन्टिनको मात्रै १ लाख ८० हजार खर्च लाग्दोरहेछ’ कार्पेन्टरको काम गर्न साउदी गएका उनले भने, ‘१ लाख ३० हजार त म्यानपावर एजेन्टले नैै लिए ।’
    महीनामा ४० हजार कमाउने आशामा रहेका उनी एक वर्षमा ऋण तिरिसक्ने योजना सुनाउँछन् । तर, कतै भनेअनुसार तलब नपाए ठूलो ऋणमा भासिनुपर्ने हो कि भन्ने डर गोर्खालीलाई छ ।
    ‘क्वारेन्टिनकै एक लाख लाग्छ भनेर हिमालय एअरलाइन्सले टिकट काटेको थियो, तर यहाँ हामी बसेको होटल त्यस्तो महँगो हो जस्तो लाग्दैन’ उनी भन्छन्, ‘क्वारेन्टिनको खर्च त हामी गरीबमाथि पार्न नहुने हो ।’
    अहिले साउदी अरेबिया जाने श्रमिकसँग हिमालय एअरलाइन्सले चर्को शुल्क असुलिरहेको छ । दमाममा हप्तामा तीन वटा उडान गरिरहेको हिमालय एअरलाइन्ससँग कोही पनि प्रतिस्पर्धामा छैन । त्यसैले क्वारेन्टिनको खर्च धेरै लाग्छ भन्दै हिमालयले प्याकेज बनाएर श्रमिकसँग दुई लाखसम्म असुलेको गुनासो आइरहेको छ ।
    विगतमा ५० हजारमा दुईतर्फी टिकट काट्न पाउने अवस्था थियो । तर अहिले एकतर्फी उडानमा क्वारेन्टिन खर्च देखाएर दुई लाखसम्म असुल्ने गरेको गुनासो तीव्र हुँदा पनि सरकारले हिमालय एअरलाइन्समाथि कुनै छानबिन गरेको छैन । बरु मौन बसेर सघाइरहेको अवस्था छ ।
    म्यानपावर व्यवसायीले नेपाल एअरलाइन्सलाई साउदीमा उडान भरेर टिकटको मूल्य घटाउन दबाब पनि दिएका हुन् । तर, नेपाल एअरलाइन्सले क्वारेन्टिनको व्यवस्था गर्न नसकेको भनेर पन्छिएको छ ।
    हिमालय एअरलाइन्स मात्रै होइन, विभिन्न श्रम गन्तव्यमा उडान भरिरहेका नेपाल एअरलाइन्स, सलाम एअर र कतार एअरवेजले पनि साविकको भन्दा निकै चर्को मूल्यमा उडान गरिरहेका छन् । कतार एअरलाइन्सले कतारको टिकटको एकतर्फी भाडा ७० हजार रुपैयाँ र सलाम एअरलाइन्सले ओमानको ६० हजार रुपैयाँमाथि राखेर टिकट बिक्री गरिरहेका छन् ।
    श्रमिकहरूसँग चर्को भाडा असुलिरहेका स्थानमा उडान संख्या थपेर मूल्य घटाउनेतर्फ सरकारले जोडबल गर्नुपर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव सुजितकुमार श्रेष्ठ बताउँछन् ।
    ‘हिमालय एअरलाइन्सले त अचाक्ली नै गरेको छ, नेपाल एअरलाइन्सले हिमालयलाई एक्लै छाडेर लुट्न छुट दिएको देखिन्छ’ उनले भने, ‘कमाउन जाने श्रमिकलाई झण्डै डेढ लाख आर्थिक भार थपिएको देख्दादेख्दै सरकार मूकदर्शक भएर बस्नु लज्जास्पद हो । यो राज्यविहीनता हो ।’
    चर्को मूल्यको क्वारेन्टिन
    अहिले श्रमिकले भोगिरहेको अर्को समस्या हो, सशुल्क क्वारेन्टिन । गन्तव्य मुलुकले आफ्नो देशमा पुगेपछि क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएका छन् । तर, क्वारेन्टिन खर्च कसले व्यहोर्ने भन्नेबारे ती देशहरू अनिर्णित छन् ।
    कतिपय बहुराष्ट्रिय कम्पनीहरूले आफैंले क्वारेन्टिन खर्च बेहोरिरहेका छन् । तर, नेपालमा श्रमिक माग गर्ने अधिकांश कम्पनी साना तथा मझौला उद्योग÷व्यवसाय हुन्छन् । जसले श्रमिक आफैंले क्वारेन्टिन खर्च बेहोर्नुपर्ने बताउँदै आएका छन् ।
    कतारमा १४ दिन क्वारेन्टिन बस्ने श्रमिकले कम्तीमा २५०० देखि ३६०० कतारी रियालसम्म खर्चिनुपर्छ । साउदीमा ७ दिने क्वारिन्टन खर्च ८०० देखि एक हजार डलरसम्म छ । अहिले धेरै श्रमिकको माग पनि यिनै देशबाट आइरहेको छ । तर, यहाँको क्वारेन्टिन नीति ‘श्रमिकमारा’ देखिएको व्यवसायीहरू नै बताउँछन् ।
    वैदेशिक रोजगार व्यवसायी महासंघका अनुसार सशुल्क क्वारेन्टिनको नियमका कारण क्वारेन्टिन खर्च बेहोर्न नसक्ने भएपछि भिसा आएका श्रमिक पनि रोकिन पुगेका छन् । थप माग ल्याउन पनि यही कारण उल्झन परेको छ ।
    ‘तत्काल म्यानपावरले पठाउनुपर्ने ३५ हजार जति कामदारहरू क्वारेन्टिन खर्च तिर्ने गरी जानसक्ने अवस्थामा छैनन्’ उनी भन्छन्, ‘सरकारले क्वारेन्टिन खर्चबारे रोजगारदाता मुलुकलाई जिम्मेवार बनाउन पनि पहल गरेको छैन ।’
    वैदेशिक रोजगार विभागले भने एक सूचना नै जारी गरेर संस्थागत रूपमा जाने श्रमिकको खर्च सम्बन्धित रोजगारदाता र घरेलु श्रमिकको सम्बन्धित रिक्रुटमेन्ट एजेन्सीले व्यहोर्ने व्यवस्था रहेको बताएको छ । तर, अहिले पनि सबै शुल्क श्रमिक आफैंले तिरिरहेका छन् ।
    विभेदकारी खोप नीति
    हवाई भाडा र क्वारेन्टिन खर्च पछि श्रमिकलाई तनावमा पार्ने अर्को पक्ष हो कोरोना विरुद्धको खोप । श्रम गन्तव्य मुलुकले महामारी रोकथामको लागि लिएका खोप सम्बद्ध नीतिले वैदेशिक रोजगारीमा अर्को व्यवधान खडा गरेको छ ।
    साउदीले महँगो क्वारेन्टिनको विकल्प दिएको छ, ‘फाइजर, मोर्डेना र जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनिका’को खोपको पूरा डोज लगाएको हुनुपर्ने । कुवेतले त यी खोपको मात्रा पूरा नगरेका श्रमिकलाई प्रवेशमै प्रतिबन्ध लगाएको छ ।
    त्यति मात्रै हैन, कुवेतले फाइजर, मोर्डेना र जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनिका र स्पुतनिक खोपको मात्रा पूरा गरेका श्रमिकलाई क्वारेन्टिन बस्नु नपर्ने नियम बनाएको छ । कतारले यही सूचीमा ‘कोभिसिल्ड’ पनि थपेर प्रतिबन्धको सूची निकालेको छ ।
    खोप नलाएकालाई क्वारेन्टिन अनिवार्य गरिएपछि नेपालबाट जाने श्रमिकहरू विकल्पहीन बनेका छन् । युरोपेली र अमेरिकी कम्पनीका खोप अनिवार्य गर्दा श्रमिकहरू क्वारेन्टिनमा आफैंले ठूलो खर्च व्यहोरेर बस्नुपर्ने अवस्थामा छन् । नेपालमा बढी लगाइएको चिनियाँ भेरोसेल कुनै पनि देशको सूचीमा छैन ।
    वैदेशिक रोजगार विज्ञ डा. जीवन बानियाँ नेपालसँग सहज रूपमा खोप उपलब्ध छैन भन्ने जान्दाजान्दै त्यस्ता व्यवस्था गर्नु जायज नभएको बताउँछन् । श्रमिक सुरक्षा र महामारी नियन्त्रणका लागि गरिएका व्यवस्था सही भए पनि श्रमिकमाथि आर्थिक भार थपिन नदिने गरी रोजगारदाता मुलुकले व्यवस्थापन गर्नुपर्ने उनी बताउँछन् ।
    वैदेशिक रोजगार व्यवसायीहरू अब खोपको उपलब्धतामा विदेशिने श्रमिक पनि प्राथमिकतामा पर्नुपर्ने बताउँछन् । ‘अब अमेरिकाबाट आउने खोपको केही प्रतिशत वैदेशिक रोजगारीमा जानेका लागि छुट्याउनुपर्छ’ महासचिव श्रेष्ठ भन्छन्, ‘संस्थागत, व्यक्तिगत र विदामा आएर फर्किनेहरू हिसाब गर्दा अहिले पनि ६५ हजार श्रमिक विदेश जान खोप कुरिरहेको अनुमान छ ।’
    संघले सरकारलाई अमेरिकाबाट आउनेमध्ये एक लाख डोज खोप श्रमिकका लागि छुट्याउन र विदेश जानेलाई लगाइदिने प्रबन्ध गर्न माग गरेको छ । श्रमिकले क्वारेन्टिनका लागि मात्रै श्रमिकले एक लाख रुपैयाँभन्दा बढी खर्च गरिरहेकाले सरकार यसप्रति संवेदनशील बन्नुपर्ने विज्ञहरू बताउँछन् ।
    वैदेशिक रोजगारविज्ञ डा. बानियाँ विभिन्न श्रम गन्तव्य मुलुकसँग गरिएको श्रम सम्झौता र समझदारीहरूमा भर्ना शुल्कसहित श्रमिक आपूर्तिमा लाग्ने यावत् खर्च रोजगारदाताले व्यहोर्ने व्यवस्था रहेको बताउँछन् । त्यसैले क्वारेन्टिन सहितका खोपका खर्चहरू गराउन रोजगारदातालाई जिम्मेवार बनाउनुपर्ने बताउँछन् ।
    ‘अहिले श्रम गन्तव्य मुलुकले क्वारेन्टिन र खोपमा लिएका नीति अन्तर्राष्ट्रिय कानून र नेपालसँग गरेका सम्झौता विपरीत छन्’ उनले भने, ‘वर्षौंदेखि नेपाली श्रमिकले गरेका योगदानको हिसाबले पनि यो महामारीमा क्वारेन्टिन र खोप खर्च श्रमिकमाथि पर्न नदिनु उसको नैतिक दायित्व पनि हो ।’
    यो पक्षलाई बलियो कूटनीति मार्फत पहल गरेर नेपालले श्रम गन्तव्य मुलुकसँग राख्नुपर्ने बानियाँ बताउँछन् । श्रम गन्तव्य मुलुकमा पछिल्लो समय श्रम तथा आर्थिक शोषणको मुद्दा चर्को रूपमा उठेकाले यस्ता पक्षमा श्रमिकको हित सोचेमा बिग्रिएको छवि सुधार्न सम्बन्धित मुलुकलाई अवसर हुने विज्ञ बानियाँ बताउँछन् ।

    Posted in विचार, समाजLeave a Comment on चर्को हवाई भाडा, महँगो क्वारेन्टिन र विभेदकारी खोप नीति

    नेपालमा कुनै भविष्य छैन भन्नेहरूका नाममा

  • २४ असार २०७८, बिहीबार १५:२१ मा प्रकाशित
  • जता नजर लगाए पनि मुलुकको अवस्था चौपट देखिन्छ । कृषि, उद्योग, शिक्षा र स्वास्थ्य सबै क्षेत्रमा संकट छ । उठेको राजस्वले राज्यका कर्मचारी र जनप्रतिनिधि पाल्न समेत नपुग्ने अवस्था छ । भ्रष्टाचार, कुशासन आम छ । विकास र प्रगतिका हिसाबले नेपाल जस्ता रुग्ण मुलुक अब संसारमा थोरै मात्र बाँकी छन् जसभित्र अफ्रिकाका केही मुलुक पर्दछन् । विशेषतः सत्ता र त्यस वरपरका महानुभावलाई मुलुकको यो चित्रण अत्यन्तै अप्रिय र नकारात्मक लाग्नेछ र उनीहरूबाट यस पंक्तिकारमाथि ‘राम्रो कुरा देख्नै नसक्ने’ आरोप लाग्नेछ, तर वास्तविकता जताबाट नापे पनि यही नै हो ।
    नेपालबाट १०४ वर्षको जहानियाँ राणाशासन अन्त्य हुँदा कोरिया, सिङ्गापुर, थाइल्याण्ड जस्ता मुलुकहरू नेपाल जस्तै गरीब र कमजोर नै थिए । चीन र भारतको अवस्था पनि उस्तै थियो । त्यसो त कोरिया, सिंगापुर र थाइल्याण्डमा अमेरिका र अन्य पश्चिमा मुलुकले ठूलो परिमाणमा पूँजी लगानी गरेपछि विकासले गति लिएको हो जसको उद्देश्य ती मुलुकहरूलाई साम्यवादी कित्तामा जानबाट रोक्नु थियो । तर पनि यसमा कुनै शंका छैन कि नेतृत्वको दूरदृष्टि र कुशलताबाट नै त्यहाँ विकास सम्भव भएको हो ।
    २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालले उदार लोकतन्त्र भनिने राजनीतिक मार्गलाई पछ्याउँदै गर्दा ठूलो जनशक्ति खाडी र पश्चिमा मुलुकहरूतिर अवसरको खोजीमा मुलुकबाट बाहिरियो । त्यो जनशक्तिभित्र अदक्ष र दक्ष श्रमिकहरू मात्र थिएनन्, शिक्षित वर्ग पनि थियो । युरोप, अमेरिका, पूर्वी एशिया र खाडीका मुलुकहरूको विकास, त्यहाँका उन्नत भौतिक पूर्वाधार र त्यहाँको शिक्षा, स्वास्थ्य आदिको स्तर देखेर त्यसरी विदेश पसेका युवाहरू छक्क पर्नु स्वाभाविक थियो ।
    विदेशको उच्चस्तरको विकास आफैंले प्रत्यक्ष रूपमा भोगेको र अँध्यारो नेपालको गहिरो अनुभूति सँगालेको एउटा सिंगो पुस्ताले आफ्नो ऊर्जाशील जीवनको सर्वाधिक महत्वपूर्ण कालखण्ड विदेशमा बिताएको पनि आज झण्डै तीन दशक पुगिसकेको छ । जानेर नजानेर त्यो पुस्ताले आफू बसेको मुलुकको विकासको स्तर र आफ्नो मातृभूमिको अवस्थालाई तुलना गरेर ‘नेपाल खत्तम छ’ भन्ने मान्यता स्थापित गर्न खोज्दैछ । ‘खातापिता’ त्यो पुस्तालाई देखेर देशभित्रका युवाहरूमा ‘नेपालमा कुनै भविष्य छैन’ भन्ने आम मान्यताले घर गरेको छ । स्कूल कलेज जाने लाखौं युवाले विदेश गएर आफ्नो भविष्य सपार्ने सपना बुनिरहेका छन् । देशका लागि यो अत्यन्त चिन्ताजनक अवस्था हो ।
    यसमा कुनै शंका छैन कि नेपालको वर्तमान गरीबी र जर्जर अवस्थाका लागि २००७ सालदेखि आजसम्म सत्तामा पुगेको राजनीतिक नेतृत्व मुख्य रूपमा जिम्मेवार छ । तर, यो कुरा पनि त्यत्तिकै सत्य हो कि १०४ वर्षको राणाशासनको अन्त्य भएर २००७ सालमा सीमित लोकतन्त्रको प्रादुर्भाव हुँदा राणाहरूले हस्तान्तरण गरेको नेपाल राजनीतिक र आर्थिक रूपमा मात्र नभएर कानूनी र प्रशासनिक रूपमा पनि एउटा राष्ट्र–राज्य बन्ने प्रक्रियामै थियो । त्यति मात्र नभएर एकातिर भारत–चीनबीच र अर्कोतिर सोभियत संघ र अमेरिकाबीच नेपालमाथि बर्चस्व कायम गर्ने शीतयुद्धकालीन टकराव नेपाललाई एउटा सबल र स्वतन्त्र राष्ट्र बनाउने दिशामा ठूलो चुनौतीका रूपमा रहेको थियो ।
    यो पृष्ठभूमिमा २००७ सालको परिवर्तनपछि मुलुकलाई सही दिशामा डोर्‍याउन एउटा सशक्त राजनेताको खाँचो थियो तर सत्ता साझेदार कांग्रेस दरबार र राणाहरूको दिल्लीबाट निर्देशित गठबन्धन सत्ताबाट यो सम्भव भएन । यी सबै कारणले मुलुक अस्थिरता र अविकासको शिकार बन्न पुग्यो ।
    राजा महेन्द्रले मुलुकलाई स्वतन्त्र, सबल र विकसित बनाउने प्रयास गरे तर लोकतन्त्रको मजबुत जग विना र निरंकुशतन्त्रको बलबुतामा त्यो सम्भव थिएन । त्यसतर्फ केही आशलाग्दा कामहरू आरम्भ भए तर लोकतन्त्र र दलहरूलाई निषेध गरेपछि त्यसले अपेक्षित परिणाम दिन सकेन ।
    नेपाल अविकसित रहिरहनु पछाडिको ऐतिहासिक कारणको बारेमा पनि यहाँ संक्षिप्त चर्चा गर्नु वाञ्छनीय हुनेछ । आधुनिक नेपालको स्थापनादेखि राणाशासनको उदयसम्म राज्यको मुख्य काम सैन्य भर्ती र नयाँ–नयाँ इलाकाहरू कब्जा गरी राज्य विस्तार गर्नु रहेको थियो । राणाशासनको उदयपछि पनि राज्यको मुख्यस्वरुप सैन्य नै रहन गयो । त्यस अवधिमा राज्यको मुख्य काम बेलायतलाई आफ्ना उपनिवेशहरूको सुरक्षाका लागि लडाइँमा सहयोग गर्नु रहेको थियो । चन्द्रशमशेरको पालादेखि औपचारिक रूपमै ब्रिटिश भारतीय सेनामा नेपाली युवाहरूको आपूर्ति गर्नु राज्यको मुख्य काम बन्न पुग्यो ।
    शिक्षा र ज्ञान नै सबै प्रकारको विकासको मुख्य आधार हो । तर जनतामा शिक्षा, ज्ञान र चेतनाको विकास हुँदा आफ्नै सत्ता खतरामा पर्ने बुझाइ राणा शासकहरूको थियो । त्यसैले राणाकालमा शिक्षा आम जनताको पहँुचमा रहेन । नेपालमा पहिलो कलेजको स्थापना (त्रिचन्द्र) १९१८ मा मात्र भएको थियो । प्रथम विश्वविद्यालयको स्थापना १९५९ मा भएको थियो । जबकि बेलायतमा अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयहरू तेह्रौं शताब्दीमै खुलिसकेका थिए । फ्रान्स, स्पेन आदि देशमा पनि त्यसै कालखण्डमा कलेज, विश्वविद्यालयहरू खुलिसकेका थिए ।
    हाम्रै छिमेक भारतमा कलकत्ता, बम्बई र मद्रासमा १९औं शताब्दीको मध्यतिर नै विश्वविद्यालय र कलेजहरू स्थापित भइसकेका थिए । सत्रौं र अठारौं शताब्दीतिर नै अमेरिका, फ्रान्स, बेलायत जस्ता मुलुकहरू पूँजीवादी प्रजातन्त्रतर्फ अगाडि बढिसकेका थिए । त्यहाँका जनताले सञ्चालन गरेका ठूल्ठूला संघर्षहरूबाट सामन्तवादको अन्त्य भई पूँजीवादी लोकतन्त्रको आधार निर्माण भएको थियो । युरोप, अमेरिकातिर ठूल्ठूला राजनीतिक उथलपुथलहरू भैरहँदा नेपाल भने राजनीतिक चेतना र जागरणको युगबाट सयौं वर्ष टाढा थियो । नेपालमा राजनीतिक संघर्ष मुख्य रूपमा दोस्रो विश्वयुद्धको सेरोफेरोमा मात्र अगाडि बढेको हो । यसरी ज्ञान, विज्ञान, चेतना र राजनीतिक संघर्ष सबै हिसाबले नेपाल युरोप र अमेरिका भन्दा सयौं वर्षपछि पर्न गएको हो ।

    मुलुकको राजनीतिक र आर्थिक अविकासको आजको स्थितिलाई यसै ऐतिहासिक पृष्ठभूमिमा बुझ्न सकिन्छ । अर्को शब्दमा भन्दा युरोप, अमेरिका र जापान जस्ता मुलुकहरूमा आजभन्दा डेढ दुई सय वर्ष पहिलेको पुस्ताले सामाजिक र राजनीतिक रूपान्तरणका लागि ठूला–ठूला संघर्ष गरे तर हाम्रा पुर्खाहरूको सारा जीवन सैन्य काममा वा जेनतेन जीवन धान्न मात्र सकिने निर्वाहमुखी कृषिकर्ममा बित्यो । त्यस्तो खाले सैन्य कामबाट राज्यको विस्तार त भयो, दरबारको आयस्रोतमा र सुखसयलमा वृद्धि पनि भयो, तर त्यसबाट समाजको शिक्षा, सामाजिक, राजनीतिक चेतना र ज्ञानको स्तरमा कुनै प्रगति भएन । मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विकास अवरुद्ध हुन पुग्यो ।
    राणा वा त्यसभन्दा पहिलेका शासकहरूले समाजलाई अग्रगति दिन, उत्थानमा डोर्‍याउन र र भौतिक विकासको पथमा अग्रसर गराउन भूमिका खेलेनन् । उनीहरू आफ्नो र आफ्नो परिवारको सत्ता सुदृढ गर्न मात्र तल्लीन रहे । त्यसको परिणाम यो भयो कि २००७ सालको राजनीतिक परिवर्तनपछि सत्तामा पुगेको राजनीतिक नेतृत्वलाई एउटा जर्जर र बिमार मुलुक मात्र हात लाग्यो । यस्तो हुँदाहुँदै पनि मुलुक सही र सक्षम नेतृत्वको हातमा पुगेको भए सात दशकको अवधिमा मुलुकमा कायापलट हुन सक्दथ्यो ।
    नेपाल विकसित पश्चिमा मुलुकहरू भन्दा सयौं वर्षपछि परेको छ भन्नुको अभिप्राय यो होइन कि अब ती मुलुकको दाँजोमा पुग्नका लागि नेपालले फेरि पनि सयौं वर्षको कोर्स पूरा गर्नुपर्नेछ । आजको डिजिटल युगमा संसार एउटा विश्वग्राममा रूपान्तरित हुन पुगेको छ । उदाहरणका लागि युरोपमा सन् १८९८ मा पहिलो कारको निर्माण भएको थियो तर नेपालमा १९३८ मा मात्र पहिलो कार राजा त्रिभुवनका लागि भित्रिएको थियो । अर्थात् युरोपका धनाढ्यहरूले नेपालका राजा त्रिभुवनले भन्दा चार दशक पहिलेदेखि नै कार प्रयोग गर्न थालिसकेका थिए । तर अब अमेरिकामा बनेको आईफोन एकै दिनमा काठमाडौं र क्यालिफोर्नियाका शोरुमहरूमा उपलब्ध हुन्छ । अमेरिकी राष्ट्रपतिले प्रयोग गर्ने फोन नेपालको एक आम नागरिकले एउटै समयमा प्रयोग गर्न सक्छन् । यसबाट स्पष्ट हुन्छ कि यदि मुलुकमा ठीक प्रकारको दूरदृष्टियुक्त राजनीतिक नेतृत्व हुने हो भने एक–दुई दशकभित्र नै नेपाल समृद्ध मुलुकको स्तरमा पुग्न सक्छ ।
    कुनै पनि मुलुकको सबैभन्दा ठूलो सम्पदा भनेको जनशक्ति हो । जापान, सिंगापुर, कोरिया, स्वीट्जरल्याण्ड जस्ता मुलुक उल्लेख्य प्राकृतिक साधन–स्रोत नहुँदा नहुँदै पनि विकसित र समृद्ध बनेका छन् भने नेपाल लगायत थुप्रै अन्य मुलुक विशाल प्राकृतिक सम्पदाहरूले परिपूर्ण हँुदाहँुदै पनि गरीब छन् । किनभने यी मुलुकको जनशक्ति विदेश पलायन भएको छ अथवा स्वदेशमै भएको जनशक्तिलाई पनि राज्यले विकासमा संलग्न गराउन सकेको छैन ।
    विकसित मुलुकको झिलिमिलीबाट मन्त्रमुग्ध हुनु र आफ्नो देश त्यस्तै किन बनेन भन्ने चिन्ता र चासो हुनु स्वागतयोग्य र सकारात्मक कुरा हो । तर अन्तिम सत्य यो हो कि विश्वका विकसित र सबल राष्ट्रहरूको निर्माण त्यहाँका जनताकै सामूहिक शक्ति, बुद्धि र विवेकबाट भएको हो । नेपालको विकास र सबलता पनि जनताको सामूहिक चेतना बल र बुद्धिबाट मात्र सम्भव छ । अवसर विदेशमा देख्ने तर देश बनेन र देशमा भविष्य छैन भनेर देश र नेताहरूलाई सरापिरहने अवस्था रहँदासम्म मुलुक विकसित बन्न सम्भव छैन । त्यसैले विदेशको रंगीचंगी देखेर देशलाई गाली गर्ने होइन देशको राजनीतिक र आर्थिक रूपान्तरणका लागि विदेशको आफ्नो अनुभव, पौरख, क्षमता र सीपको स्वदेशमै लगानी गर्नु मुलुकको सबलता र विकासको पहिलो शर्त हो । विदेशको कमाइले परिवार र व्यक्तिमा समृद्धि ल्याए पनि मुलुकमा समृद्धि ल्याउन सक्तैन ।
    (पन्त नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।)

    Posted in विचारLeave a Comment on नेपालमा कुनै भविष्य छैन भन्नेहरूका नाममा

    कठै! म परदेशी

  • ७ असार २०७८, सोमबार १५:२५ मा प्रकाशित
  • सनम रोका
    त्यो रात निकै ठूलो पानी पर्‍यो। सायद त्यो सङ्लो पानीले मेरो मनलाई अझ बढी धमिलो बनाउँदै गइरहेको थियो।
    जति सङ्लो पानी आकाशबाट बर्सिदैँ थिए। त्यति नै मेरो मन र तन निकै ठूलो धमिलो बाढीले धमिल्याइरहेको महशुस यत्रतत्र भइरहेको थियो। जसरी पानी पर्दै जाँदा अड्किएर रहेका स-साना कणहरु पखाँलिदै थिए त्यति नै ममाथि ठूला-ठूला चट्टानहरु बर्सिदैँ थिए।
    खै, यो पानी र मेरो सम्बन्ध निकै फरक लागिरहेको थियो।
    पानीले आफ्नो कर्तव्य बिर्से जस्तो! तर मैले नि मेरो कर्तव्य त कहाँ सम्झेँ र?
    ५ वर्ष भएछ आफ्नो कर्तब्यलाई प्लास्टिक बेरेर एउटा कुनोमा फ्याँकिदिएको। रुँदै गरेको बच्चालाई फकाउनुको साटो चड्कन लगाएर हिड्ँको। मैले पाएको संस्कार, व्यवहार, नियम, वचन सब बिर्सेर झोला बोकी खाडी पसेको।
    स्कुल पढँदा शिक्षकहरुले बडो ठाटिएर भन्नुहुन्थ्यो- ‘नेपालमा गर्न सके सुन फल्छ।’ सैद्धान्तिक कुराहरुमा रोप्न, फलाउन, सन्तुष्टि हुन, सुख प्राप्त गर्न, भोको पेट भर्न लगायतका धेरै कुराहरु मज्जाले सिकियो।
    यहाँ गर्न नसकिने के छ? कृषि, पर्यटन, उद्योग, व्यापार आदि इत्यादि, इत्यादि। खै पैसा हुनेले गर्छन् कि? मलाई त थाहा भएन।
    दुई छाक टार्न नि गाह्रो पर्थ्यो मेरो परिवारलाई। विभिन्न दार्शनिकहरूका कुरा सुनियो, पैसाले मात्र सुख पाउन सकिँदैन। तर हजुर, भोको पेटले पनि त निन्द्रा नलाग्ने रहेछ।
    सामान्य साक्षर म, भोको पेट र नोटले मलाई पढ्न दिएन। सात जनाको पारिवारिक जिम्मेवारीले ढपक्कै ढाकेको थियो मलाई।
    अनि उनी मेरी दुलही! उनको पनि त अनेकन इच्छाहरु होलान्। बुबाआमा निकै वृद्ध भइसक्नु भएको थियो। धेरै रोगबाट ग्रस्त पनि। दिनहुँ औषधि खाइरहनुपर्ने वृद्ध भएका बाआमालाई स्याहार्नुपर्ने अवस्थामा गरिवीले मलाई भने विदेश तर्फ ढकेलिरहेको थियो।
    एकजना भाइ र दुई जना बहिनीहरु, उनीहरु पढ्दै थिए। उनीहरुका पनि त ठूला-ठूला सपनाहरु थिए।
    भाइ सहरमा ठठिएका विशाल महलहरु देखाउँदै भन्थ्यो ‘म पनि यस्तै डिजाइन गर्छु, मलाई इन्जिनियर बन्नु छ।’
    बहिनीहरु दिनरात नभनी बिरामीको सेवामा खटिएका नर्सहरुको कामको तारिफ गर्दै भन्थेँ- ‘हामी त नर्स नै बन्ने हो।’
    सपनाहरुको पहाडले थिचे जस्तो महशुस भयो। मेरा पनि त सपनाहरु थिएँ। जुन हाल ‘आधारहीन शब्द जस्तो, नबग्ने खोला जस्तो’ काम नलाग्ने भएका छन्।
    मेरा दौँतरीहरु प्रायः विदेशी भइसकेका थिए, उनीहरुसँग सम्पर्कमा रहँदा ‘मैले त चार/पाँच ठाउँमा जग्गा किनिसके, फलना ठाउँमा घर जोडे, निकै सम्पन्नता व्यक्त गर्थें।
    अब साँच्चै झोला बोक्नुपर्यो, मैले निर्णय गरेँ। निर्णयसँगै आमाबुबाको गलेको शरीर, चाउरिएको मांसपेशी, संर्घषलाई पूर्णविराम लगाइसकेको पाखुराहरु, अब त तैले हामीलाई डोहोर्‍याउनुपर्छ भन्ने समयमा चट्क्क छाडेर कसरी जाउँ?
    परिवार छाडेर भर्खरै आएकी उनीलाई मैले यति चाँडै छाडेर परदेश लाग्दा उनको मनमा के बित्ला, कसरी मन बुझाउँली, मनोकल्पनाका साथ केही दिन बिते। अन्त्यमा परदेशी हुनका लागि सम्पूर्ण प्रक्रिया पुर्‍याएर म खाडी मुलुक तर्फ लम्किएँ।
    ‘भनाइ अर्को, काम अर्को’ सहज थिएन खाडी मुलुकको बसाइ।
    न दशैंमा आशीर्वाद लिन पाएँ न साथिभाइसगँ मच्ची मच्ची पिङ्ग खेल्न पाएँ, मैले पाएको सिर्फ खाली निधार थियो।
    पालो पर्खेर पिङमा झुन्डिँदाको आनन्द खै परदेशको लिफ्ट चढ्दा नपाइने रहेछ। दशैंको बेला रमाइलो देश त्यो दिन, परदेशमा म भने चर्को घाममा रापिरहेको थिएँ।
    हरेक बिहान उठ्दा एक्लो भएपनि हर रातका सपनीमा उहीँ गाउलेसँग खेल्थेँ, आमासँग झगडिन्थें, बाले भनेको नमानेर गाउँ तिरै कुदथेँ।
    दिनभर बाटोमा सलल बगेका कारहरुमा भविष्य खोज्थेँ, अग्ला बिल्डिङमा भविष्य देख्थेँ तर सपना जस्तो सजिलो विपना कहाँ थियो र?
    तिहारमा वर्षौदेखि बुनिएका सयपत्री र मखमलीका मालाहरुले मेरो बाटो हेर्दाहेर्दै आशा मारिसकेका थिए।
    जल र तेलको धारा लगाउँदै लगाइदिएको टीका सम्झिँदै दुबोको त्यान्द्रोले कानमा तेल राखिदिँदा काउकुती लागेर बहिनीहरुसँग हाँसेको हाँसो वा उपहार दिएको कपडा अहिले पनि साँचेर राखेको छु। ‘देउसुरे, देउसुरे’ को भाका मानसपटलमा सधैं गुन्जिन्थेँ।
    ‘तिजमा मेरो लागि बसेको व्रत मैरै हातले पानी पिलाएर व्रत टुङ्गाएका’ ती दिनहरु नसम्झेका कुनै पल थिएन।
    सायद समयले थोत्रो बनाउँने कोसिस गरिरहेका थिए तर मनले सधैं ताजा बनाउन हर प्रयास गरिरहन्थेँ।
    आज पनि यतै छु तर, एकरति पनि खुसी छैन म। तन परदेशमा भएनि मन भने उतै स्वदेशमै छ। डाँडापाखा, वनपखेरा, परिवार, आफ्ना, सबैको गहिरो सम्झना आउँछ, हरेक दिन।
    भौतिक आरामदायीका धेरै कुराहरु देखेपनि आत्मिय आराम देख्न नसकेको धेरै भयो। ‘आज भात खादिनँ, मिठो छैन’ भन्दा आमाले मायाले ‘खा’न’ भनेका सम्झनाहरु दिमाखबाट कहिलेकाहीँ मनसम्म आउँन खोज्छन, अनि भक्कानिन्छु।
    खोइ धेरै भयो यहाँ मायाले कसैले नबोलाएको। आफ्ना भनेर विश्वास गरेका पात्रहरुले नि लुट्ने रहेछन् यहाँ!
    भर्खरैको घटना सम्झिँन्छु, बिरामी भएर लखतरान भएर सुत्दा परिवारको साह्रै याद आयो। गाउँमा त छिमेकीले पनि ‘जेठोलाई के भयो?’ भनेर सोध्दै आउथेँ र भन्थेँ ‘जेठोलाई वैद्यकोमा लानुपर्छ।’
    म असन्चो हुँदा, खान मन नलाग्दा उनी पनि मसँगै भोकै बसेको, मेरो चिन्ता गरेको, दाइलाई कस्तो छ नि भनेर भाइबहिनीहरुले सोध्दाका कुराहरू एकादेशको कथा जस्तो लागेर आउँछ।
    विदेशीनु रहर कसलाई पो होला र? बाध्यता र विवशता, परिस्थितिले रुमलिँदै परदेशी भएँ म। मलाई त स्वदेश नै फर्किउँ भन्ने लाग्छ, तर खै! साहुको ऋण तिर्न सक्या छैन। आमा-बुबालाई औषधि किन्ने पैसा अझै जुटाउन सक्या छैन। भाइबहिनीहरुको सपनाहरु अझै जिउका तिउँ छन्।
    साथिहरुसँग कहिलेकाहीँ कुरा हुन्छ। भन्छन्- पैसा त टन्नै कमाइस् होला है? अब त हामीसँग बोल्न नि फुर्सद हुदैँन नि तँलाई, ठूलो भइहालिस्! कहिले फर्किन्छस्? फर्किँदा एउटा दामी फोन ल्याइदे है।’
    अनि म मज्जाले हाँसेर हँसिलो मुहारका साथ कुरालाई अन्त्य गर्छु। अनि लाग्न थाल्छ, सम्बन्धहरु त सब भौतिक त हुने रहेछन्, विदेश भनेको त पैसा टिप्न त गइने रहेछ। पीडा भुलाएर रगतसँग दुई पैसा साट्दै छु। सबैको आवश्यकता बढ्दो छ। भनिन्छ नि- नमरी स्वर्ग कहाँ देखिन्छ, देख्नलाई त मर्नैपर्छ।
    यतिकै मेरो घरबाट आमाको फोन आयो, हतास आवाजमा भन्दैँ हुनुहुन्थ्यो, ‘ए जेठा, हेर न तेरो बुबा एक्कासी बेहोस भएर लड्नुभयो। कसलाई बोलाउने, छेउछाउमा कोही ठिटाहरु पनि छैनन् के गर्ने होला?’
    आमाको त्यही वाक्यसँगै म निशब्द भएँ।
    हो, यही समस्याको परिणाम हो परदेशी जीवन। परदेशीनु सबैको आ-आफ्नो बाध्यता होला। जे कारणले परदेशी भएपनि यसको मूल कारण भनेको विवशता, अभाव र समस्या नै हो।

    Posted in विचारLeave a Comment on कठै! म परदेशी

    काठमाडौंका सीडीओ भन्छन् : पोहोरजस्तै पूरै ठप्प पार्ने स्थिति आउन सक्छ

  • २० बैशाख २०७८, सोमबार १६:२६ मा प्रकाशित
  • २० वैशाख, काठमाडौं । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि भन्दै एकसाता निषेधको आदेश जारी गरेका छन् । तर उपत्यकामा कोरोना भाइरस संक्रमणको दर दैनिक बढिरहेको छ ।

    विज्ञहरुका अनुसार निषेधाज्ञाले काम गर्‍यो वा गरेन भन्ने पुष्टि हुन कम्तीमा एक साता कुर्नुपर्छ । यद्यपि निषेधाज्ञाको समयमा पनि देखिएको भिडले महामारी नियन्त्रणको प्रयासमा नै असर गर्नसक्ने कतिपयको चिन्ता छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली भन्छन्, ‘अझै निषेधको आदेशको पालना नहुने र संक्रमणको अवस्था बढ्दै जाने हो भने गत वर्ष जस्तै पूरै ठप्प पार्नुपर्ने स्थिति आउन सक्छ ।’ नागरिक आफैं सचेत नभएसम्म महामारी नियन्त्रणको सरकारी प्रयास सफल नहुने उनको बुझाइ छ ।
    सीडीओ पराजुलीका अनुसार दुई दिनपछि फेरि एक साताका लागि थप हुने निषेधको आदेश जारी हुँदा थप कडाइका गर्ने तयारी छ । महामारी नियन्त्रणमा काठमाडौंमा भइरहेका प्रयास र हालको अवस्थाबारे काठमाडौंका सीडीओ पराजुलीसँग गरिएको संक्षिप्त कुराकानी :
    कोभिड–१९ को महामारी नियन्त्रणका लागि निषेधको आदेश जारी भएको पाँच दिन भइसक्यो । सडकमा सवारी चाप धेरै घटेको देखिँदैन, कार्यान्वयन फितलो भएको हो ?
    काठमाडौं, भक्तपुर र ललितपुरका हामी तीनजना प्रमुख जिल्ला अधिकारी बसेर १६ गतेदेखि २२ गतेसम्म लागि निषेधाज्ञा जारी गरेका थियौं । त्यसमा अत्यावश्यक सेवाहरु सञ्चालन गर्न दिइएको अवस्था छ ।
    सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सञ्चारलगायत सञ्चालनमा कुनै बाधा गरिएको छ । ती क्षेत्रका सवारीसाधनहरु सञ्चालन भएकाले पनि केही भिड देखिएको हुनसक्छ ।
    शनिबार हामी अनुगमनमा पनि निस्किएका थियौं । अन्य दिनको तुलनामा प्रायः सबै बन्द थियो । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाको गाडी नचल्दा मुभमेन्ट एकदमै नियन्त्रित हुँदो रहेछ । तर, आइतबारदेखि कार्यालय खुल्दा फेरि चाप देखिएको छ । त्यसैले यसलाई सीमित गर्नुपर्ने आवश्यकता देखिएको छ ।
    हामीले अहिले अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालयहरुलाई सीमित गर्न भनेका छौं । सेवाग्राहीको चाप हुँदैन भनेपछि कर्मचारी र सवारीसाधनको संख्या पनि घटाउनुपर्‍यो । बैंक तथा वित्तीय संस्थामा पनि सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्नुपर्ने भनेका छौं ।
    अहिले अति नै आवश्यक पर्ने सवारीसाधन मात्रै सञ्चालन गर्न दिएर अन्यलाई थप कडाइ गर्ने अवस्थामा हामी पुगेका छौं ।
    गत वर्ष लकडाउन हुँदा पूर्णतः ठप्प भएको धेरैलाई याद छ । त्यसैलाई आधार मानेर कतिपयले ‘यस्तो पनि निषेधाज्ञा हुन्छ र’ भनेर व्यंग्य गर्ने गरेका छन् । तपाईंलाई के लाग्छ ?
    मैले अगाडि पनि भनिहालेँ, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतका कार्यालयहरु पनि खुलेका छन् । त्यसकै कारणले गत वर्षको जस्तो पूर्णतः ठप्प हुन नसकेको हो । तर पछिल्लो समयको परिस्थिति हेर्दा यतिले मात्र पुग्ने स्थिति छैन ।
    भोलि संक्रमण दर अझै बढ्दै गयो भने स्थितिलाई नियन्त्रणमा लिन थप कदम चाल्नुपर्ने हुन्छ । दुई/चार दिनको स्थिति हेर्दा केही नियन्त्रणमा आउँछ कि भन्ने छ । तर मत्थर हुने अवस्था छैन । स्थिति जटिल बन्दै गए, गत वर्ष लकडाउनमा जस्तो स्थितिमा पुग्नुपर्ने हुनसक्छ ।
    निषेधाज्ञाको कार्यान्वयनमा प्रशासनले अनुरोध गर्ने हो । यो नागरिककै लागि हो । तर जसलाई परेको छैन, उहाँहरुले चाहिँ पास पाए हुन्थ्यो, हिँड्न पाए हुन्थ्यो भन्ने लाग्दो रहेछ । यो बाध्यात्मक अवस्था हो भन्ने सबैले बुझ्नुपर्छ । रोग लागेका मान्छेका अनुभव र भोगाइ सुन्दा पनि सचेत हुनुपर्ने अवस्था छ । त्यसैले आवश्यकताविना घरबाट ननिस्किने, निस्किनै परे पनि सामाजिक दूरीको पालना गर्ने, मास्क तथा सेनिटाइजरको नियमित प्रयोग गर्ने गर्नुपर्छ ।
    बैंक तथा सरकारी कार्यालय खुल्ने भनिएको छ, तर नागरिक जो सेवाग्राही पनि हुन्, उनीहरुलाई चाहिँ हिँडडुलमा रोक लगाइएको छ । यो अलि अमिल्दो भएन र ?
    केही कार्यालयहरु खोल्नै पर्ने हुन्छ । जस्तै, जिल्ला प्रशासन, स्वास्थ्य, खानेपानी, बजार अनुगमन गर्ने वाणिज्यलगायत । यद्यपि, त्यहाँ काम गर्ने कर्मचारी र सवारीसाधनको संख्या सीमित गर्न भनेका छौं ।
    मन्त्रिपरिषद् बैठक र कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को पनि त्यही निर्णय छ । यसलाई चाहिँ २२ गतेपछि दोस्रो चरणको निषेधाज्ञामा थप कडाइ गर्दै लानेछौं । हामी अझै सीमित गर्ने पक्षमा छौं ।
    तपाईंहरुले निषेधाज्ञामा कडाइ गर्ने हरेक दिन बताउँदै आउनु भएको छ । रुपन्देहीमा निषेधाज्ञाको पालना नगर्नेलाई एक महिना जेल सजाय तोकिएको भन्ने पनि आएको छ । उपत्यकाको कडाइ पनि त्यस्तै खाले हुन्छ ?
    रुपन्देहीको घटना मैले पनि समाचारमा पढेको हुँ । निषेधाज्ञा उल्लंघन गर्नेलाई धरौटी तोकियो, त्यो तिर्न नसकेर जेलमा गएको अवस्था हो । काठमाडौं उपत्यकामा पनि अहिले मास्क नलगाउनेलाई जरिवाना गराउनका लागि प्रहरीलाई चिट काटेर दिइसकिएको अवस्था छ ।
    हामीले सबै पक्षलाई अहिलेसम्म अनुरोध गरिरहेका छौं । तर फेरि पनि कसैले आदेश उल्लंघन गर्छ, जबरजस्ती गर्छ भने त्यसलाई चाहिँ संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ को अनुसार पक्राउ गरेर मुद्दा पनि चलाउनुपर्ने हुनसक्छ ।
    जनस्वास्थ्यविज्ञहरुले निषेधाज्ञा महामारी रोकथामका लागि तयारीको समय भएको बताउँछन्, यो समयमा प्रशासनले चाहिँ के गरिरहेको छ ?
    आइसोलेसन सेन्टर स्थापना गर्नुपर्‍यो भने कहाँ–कहाँ सम्भव होला भनेर शनिबार जिल्ला प्रशासन कार्यालयले निरीक्षण तथा अनुगमन गरेको छ । वीर अस्पतालको नयाँ भवन बनेको छ, त्यसलाई तत्काल सञ्चालन गर्न सकियो भने एक सय/दुई सयसम्म आइसोलेसन बनाउन सकिन्छ कि भनेर छलफल गरिरहेका छौं । भवनको खास क्षमता ५ सय क्षमता हो ।
    अहिले राधा स्वामी सत्सङ्ग केन्द्रमा पनि अक्सिजन सपोर्टसहितको आइसोलेसन सेन्टर स्थापन गर्ने प्रयास गरिरहेका छौं । त्यस्तै, जनमैत्री अस्पतालको आइसोलेसन सेन्टर तत्काल चालू हुँदैछ ।
    मनमोहन अस्पतालमा पनि बेडहरु सबै छ, तर अक्सिजन लगायत केही भौतिक पूर्वाधारको कमी छ । त्यसलाई व्यवस्थापन गर्नुपर्छ भनेर प्रशासनसहित सम्बन्धित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौं महानगरपालिकालाई अनुरोध गरिरहेको अवस्था छ ।
    अहिले काठमाडौंमा संक्रमणको अवस्थालाई कसरी हेरिरहनु भएको छ ?
    पछिल्लो समय तीब्ररुपमा संक्रमण दर बढिरहेको छ । यसलाई व्यवस्थापन गर्नका लागि अस्पतालको शय्याहरु थप्नुपर्ने आवश्यकता छ । आइसोलेसन सेन्टरहरु थप गर्नुपर्छ । अक्सिजनसहितको आइसोलेसन सेन्टरहरुको आवश्यकता महसुस गरेका छौं ।
    त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य सरोकारवाला निकायले पनि आवश्यक समन्वय र सहकार्य गरिरहेका छन् । अहिले धेरै जस्तो व्यक्तिहरु होम आइसोलेसनमा हुनुहुन्छ । तर धेरैलाई अक्सिजनसहितको आइसोलेसनको आवश्यकता छ, त्यसमा सहज स्थिति बनाउन प्रयास गरिरहेका छौं ।
    अहिले नागरिकहरु कस्तो अवस्थामा उपत्यकाबाट बाहिर जान सक्छन् ?
    सोमबारसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ सेवा रोकिएका छैनन् । काठमाडौं उपत्यका छिरिसकेपछि विदेश जाने व्यक्तिहरु विमनस्थलसम्म जान पाउनुहुन्छ । विभिन्न देशबाट आउनेहरु एयरपोर्टबाट बसपार्कमा जानुहुन्छ । ती त्यस्ता खाले नागरिकलाई सहजिकरण गरिरहेका छौं । अतिआवश्यक अवस्थामा बाहिर जाने हकमा सहजिकरण गरिरहेका छौं ।
    बाहिर जाने नै संख्या बढी देखिन्छ । उपत्यका आउने क्रम कम छ । उपत्यका आउन अत्यावश्यक काम हुनुपर्छ, बिरामी, सरकारी कार्यालयका कर्मचारी, बिहेलगायतको हकमा मात्र दिइएको छ । बाहिर जाने विषयमा पनि अवस्था हेरेर मात्र पठाउने गरिएको छ ।
    गत वर्षको लकडाउन धेरै मजदुरहरु काठमाडौंमा हातमुख जोर्न समस्या भएर हिँडेरै गाउँगाउँ गए । अब फेरि पनि निषेधाज्ञा थपिँदै जाँदा नागरिक समस्यामा पर्न सक्छन् । त्यसबारे प्रशासनले केही सोचेको छ ?
    प्रशासनले निषेधाज्ञा लगाउनु अगावै दुई दिन घर जानलाई समय दिएको थियो । त्यसैले धेरै नागरिकहरु घर गइसक्नु भएको छ । तर निषेधाज्ञा थप लम्बिँदैन जाने अवस्था भयो वा थप कडाइ गर्दै जानुपर्ने स्थितिमा यहीँ रहनु भएका थप व्यक्तिहरु पनि प्रभावित बन्न सक्ने कुरामा सचेत छौं ।
    हाम्रो पहिलो प्राथमिकता त सकेसम्म जोरजाम गरेर डेरामै बस्न अनुरोध गर्ने हुन्छ । किनभने, अहिले जो जहाँ छौं, त्यहीँ बस्दा हामी सुरक्षित हुन्छौं । तर अफ्ठ्यारै स्थिति छ भने घर जानलाई सहजीकरण पनि गरिदन्छौं ।

    Posted in विचारLeave a Comment on काठमाडौंका सीडीओ भन्छन् : पोहोरजस्तै पूरै ठप्प पार्ने स्थिति आउन सक्छ

    ‘हिम्मतवाली’ छोरी

  • २९ चैत्र २०७७, आईतवार १८:१५ मा प्रकाशित
  • सारा न्यौपाने


    यही हात होइन, त्यसले छोएको ? म यो हात काटेर फालिदिन्छु। यही हात समाएर जिन्दगीभर साथ निभाउने कुरा गरेको थियो खुब’,  हात काटेर फाल्न चक्कु खोज्न थालें। तर चक्कु भेटिएन। 

    राम्रोसँग प्याज पनि नकाट्ने भुत्ते चक्कु थियो कोठामा। त्यही जैरे चक्कु पनि भेटिएन। 
    यसो सम्झें त्यसले छोएको के/के छ ?
    सम्झिँदै गएँ। 

    उफ् खुट्टाका पैंतालाबाहेक केही बाँकी   नरहने  रहेछ। झन् मलाई रुन मन लाग्यो। मेरो यत्रो विश्वासमाथि कति सजिलै घात गर्न सकेको होला ?म यसरी बाँच्न सक्दिनँ। आत्मालाई पीडा दिएर मलाई सास फेर्नै गाह्रो भो। 
    त्यही बेला आमाको बेस्सरी याद आयो। 
    हरेक पीडामा सबभन्दा पहिला हृदयले सम्झिने मान्छे आमा। उहाँको काखमा लुटुपुटु परेर डाँको छोडेर रुन मन लाग्यो।

    एकचोटि आमालाई भेट्छु र मर्छु भनेर म गाउँ लागें। यो सहरमा मरे पनि मेरो लास उठाउने कोही छैन। जसलाई आफ्नो भनेको थिएँ, उसले लात्ती मुटुमै हानेको थियो। त्यसैले अब मर्नै भए पनि गाउँ जान्छु।
    घर आएको दुई दिन भएको थियो। एक मिनेट सास फेरेर मलाई यो धर्ती हेर्न मन थिएन। मलाई कसैको माया लागेको थिएन। चाहना सबै खतम भएका थिए। 
    मलाई नुहाउन जरूरी थिएन। जसले मर्ने योजना बनाएको छ , त्यसलाई किन नुहाउन पर्यो र ! तर पनि के गरूँम र कसो गरूँम भयो र आमालाई भनें 
    ‘पानी तताइदिनु नुहाउन पर्यो।’ 
    तातो पानीले नुहाउन मन लाग्यो मलाई। 
    अँगेनामा देप्चीभरि पानी बसालेर आमा कचौरामा तोरीको तेल लिएर आउनुभयो, र भन्नु भयो
    ‘नानी आइज कपालमा तेल लगाइदिन्छु।’कपाल नै कस्तो फुङ उडेको तेरो। सहरमा कहिले तेल लगाउने होइन होला।
    हुनतः मेरो  कपालमा तेल लगाउन पनि जरूरी थिएन। 
    म अब कसको लागि राम्री बन्नु थियो र ? मेरो कपाल राम्रो भएको हेर्ने को थियो र ?तर म चुप लागेर आमालाई तेल लगाउन दिइरहें। 
    मैले  मनमनै आमालाई सम्झाएँ। 
    ‘आमा जति माया गर्नु आजै गर्नु है। मेरो यो अन्तिम रात हो। हामी आमाछोरीको यो साथ अन्तिम हो। त्यो रात म आत्महत्या गर्दै थिएँ। बाँच्न सक्ने क्षमता नष्ट भएको थियो। त्यसैले म यो सास रोकिदिन चाहन्थें। 
    कपालमा तेल लगाइदिँदै आमाले अचानक मैले कल्पनै नगरेको कुरा भन्नुभो
    ‘मेरी छोरी मैले सोचेभन्दा हिम्मतवाली रै’छ। म भन्दा पनि हिम्मतवाली।’
    आमा काठमाडौं आउँदा त्यो मान्छेको बारेमा सुनाएको थिएँ। आमाले भेट्न खोज्नुभएको थियो। तर त्यो मान्छेले अनेक बहाना बनाएर आएन। हिँड्ने बेला आमाले तैंले हामीले भन्दा धेरै पढेकी छस्, बुझेकी छस्। के राम्रो, के नराम्रो आफैं छुट्याउन सक्छेस्। मेरी छोरीले राम्रै मान्छेको संगत गरेकी होलिस् भन्नुभएको थियो। बुवालाई यो सम्बन्धको बारेमा केही नभन्नु भनेर पठाएको थिएँ। 
    त्यसैले मलाई के भएको हो आमाले थाहा पाइसक्नु भएको थियो। 
    तर तँ हिम्मतवाली रै’छस्। आज तैंले हिम्मत हारेकी भए । तैंले कुनै त्यस्तो कदम उठाएकी भए। म मेरो छोरीलाई खोज्न कहाँ जान्थे होला ? र मैले कहाँ पो भेट् आउँथें र ? तँ मेरो छोरीमात्र होइनस् नि, मुटुको टुक्रा होस्। तँलाई मैले पेटमै हुँदैबाट माया गर्न थालेकी हुँ।
    त २४ वर्षकी भइस् तर तँलाई मैले माया गर्न थालेको २५ वर्ष भएछ। तँबिना म बाँच्नै सक्दिनँ। तर तैंले मैले जस्तो हरेस खाइनस्। आमा रून थाल्नुभो। म छाँगाबाट खसें। मैले केही नभनी आमाले मेरो अवस्थाको बारेमा थाहा पाइसक्नु भएको थियो। 
    म त्यो रात मर्दै थिएँ। म मायाको अभावमा मर्दै थिएँ। 
    आमाले थप्दै जानुभयो। 
    ‘तेरो बुवासँग बिहे हुनुभन्दा अघि म पनि तँजस्तै एक जना मान्छेसँग प्रेममा थिएँ। तर उसले मलाई झुक्काएको रहेछ। घरमा श्रीमती र छोराछोरी रै’छन्। त्यो थाहा पाएपछि मलाई बाँच्न मन लागेन र गण्डकीमा गएर हाम फालें। तर मलाई बाँच्नु लेखेको रै’छ। तँजस्तो राम्री छोरी लेखेको रहेछ। तेरो बुवाजस्तो माया गर्ने श्रीमान लेखेको रहेछ र बाँचें। गाँउलेहरूले देखेर खोलाबाट निकालेका थिए।
    खोलामा डुबेर मर्नबाट बचाए पनि पछि गाँउलेहरूले पटक/पटक मारे। कसको भुँडी बोकेकी छ, नत्र त्यसै खोलामा कस्ले फाल हान्छ भनेर कुरा काट्न थाले। गाउँमा बुवालाई विभिन्न काममा बहिष्कार गरिँदो रहेछ। गाउँलेहरूको छि:छी: र दुर्रदुर्र सहनुपर्दा पनि आमाबुवाले मलाई एक शब्द बोल्नु भएन। 
    त्यतिबेला मलाई किन केही भन्नु भएन होलाजस्तो लागेको थियो। आजकाल बुझ्दा लाग्छ। आफ्नो सन्तानले जस्तोसुकै गल्ती गरे पनि माफ गर्दिने हृदय हुँदो रहेछ बाउआमासँग।
    पछि हामी पहाड छोडेर तराई झर्‍यौं। तेरो बुवासँग मेरो बिहे भयो। मलाई हरेक पुरूष त्यी मान्छे जस्तो स्वार्थी हुन्छ लाग्थ्यो। 
    तेरो बुवासँग भेटेपछि लाग्यो यो समाजमा असल पुरूष पनि रहेछन्। नारीलाई सम्मान गर्ने, माया गर्ने पुरूष भेटिँदो रहेछ। 
    तँ जन्मिदा बुवा अरूले देख्छन् भनेर गोठ पछाडि गएर रोएका थिए रे। खुसीले आँसु थाम्न नसकेर रोएको भन्नुहुन्थ्यो। सानो, प्यारो मान्छे जन्मिदा मन थाम्न नसकेको कुरा गर्नुहुन्थ्यो। 
    हामी तँलाई गाली गर्छौं। तर तँलाई भन्दा बढी हामी आफैंलाई नराम्रो लाग्छ। बस् हामी व्यक्त मात्र गर्दैनौं। माया व्यक्त गर्नै नजानी– नजानी पनि हामी तँलाई अथाह माया गर्छौं।
    तँ पहिलोचोटि नछुने हुँदा हजुरआमासँग झगडा गरेर अर्काको घरमा लुकाउन दिएका थिएनन् तेरो बुवाले। मेरो छोरीलाई दु:ख हुन्छ भन्थे। हजुरआमाले पल्लो कोठामा तेरो विस्तारा लगाइदिनु भयो। त्यो रात पहिलोचोटि तँ एक्लै सुत्नुपर्दा तेरो बुवा निदाउनै सक्नु भएन। उठ्दै झ्यालबाट हेर्दै बस्नुभएको थियो। छोरी मान्छेको लागि यस्तो कठोर नियम कसले बनाई दिएको होला भनेर रिसाउनु हुन्थ्यो।
    अझ तँलाई अर्को रमाइलो कुरा सुनाउँछु। तँ जम्मा दुई महिनाकी भएकी थिइस्। म सुत्केरी नै थिए। राति सुत्ने बेलामा ‘सानु म त आजकल तिमीसँग भन्दा अर्कैको प्रेममा डुब्न थालेको छु भने। 
    अफिसमा काम गर्दा उनैको याद आउँछ। टोलाई रहन मन लाग्छ।  साथीहरूले पनि सर लबमा पर्नु भो के हो भन्छन्। म त झसंग भएँ। मन दुख्यो। घरमा श्रीमती सुत्केरी भएपछि लोग्ने अर्कैको प्रेममा पर्छ भनेर आमाहरूले कुरा गर्नुहुन्थ्यो। श्रीमती सुत्केरी हुँदा बिग्रेको लोग्ने कहिले सुध्रिँदैन पनि भन्नुहुन्थ्यो। मनै चिसो भएर आयो। 
    निदाएका तेरा निर्दोष आँखालाई हेर्दै काखँमा च्याप्थें। र भन्थें हेर न यति राम्री मेरी प्यारी छोरी छन्। यिनलाई भन्दा धेरै माया मैले तिमीलाई गर्नै सकिनँ। मलाई लाग्थ्यो, म तिमीलाई सबसे धेरै माया गर्छु। तर जब छोरी यस धर्तीमा आइन् मेरो मायाको बाढी छोरीतिरै निशाना बनाएर बग्छ। 
    त्यो पल मैले संसारको सबै खुसी पाएजस्तो लाग्यो। मलाई मर्नको लागि छोडेको मान्छेलाई सम्झेर बस्ने मलाई कहिल्यै फुर्सदै भएन। बरू मलाई कहिलेकाहीँ त्यो मान्छेसँग यति खुसी भएर बाँच्थें होला जस्तो लाग्दैन। जति तेरो बुवाले खुसी दिनुभयो। एक दुई जना मानिस गलत हुँदैमा संसार अँध्यारो हुँदैन। यो सुन्दर संसारमा आउन पाउनु सौभाग्यको कुरा हो। 
    आमाको कुराले म झस्कें, कहाँनिर मलाई मायाको अभाव थियो?
    म किन र कसको लागि आत्महत्या गर्दै थिएँ ? जसले मलाई मर्नको लागि छोडेर गएको थियो, त्यसको लागि ? ए आमा तिम्ले आज नसम्हालेकी भए… 
    त्यसपछि, मलाई आफैंदेखि घृणा लाग्न थाल्यो। मसँग के अधिकार आत्महत्या गर्ने? न मैले आफूलाई आफैंले जन्माएको हुँ ? न हुर्काएको हुँ ? न पढाएको हुँ ?के मैले आफैंलाई कहिले प्रेम गरें ? आमाबुवाको त्याग र तपस्याको सम्मान गरे ?त्यो पल आफैंसँग प्रश्न गर्ने हैसियत गुमाएको थिएँ।
    मेरो आमाबुवा। जसले मलाई यत्ति पनि दुःख हुन्छ कि भनेर ख्याल गरेर हुर्काउनु भो। मेरो सुख र राम्रो भविष्यको खातिर दिनरात दुःख गर्नुपर्दा उहाँहरू आजसम्म थाक्नुभएको छैन। 
    मैले आमाबुवासँग मनमनै माफी मागें। मनमनै उहाँहरूको खुट्टा ढोगें। गल्ती गरेर पनि झुक्नु नपर्ने,माफी माग्नु नपर्ने आमाबुवा नै रहेछन्। 
    सबथोक बिर्सेर जीवनमा अगाडि बढ्छु भनेर काठमाडौं फर्किएँ। आफ्नो पढाइमा ध्यान दिन थालें। जीवनको लक्ष्य बनाएँ। बलियो अठोटका साथ अगाडि बढ्ने प्रयास गर्न थालें। मेरो हरेक अप्ठ्यारो परिस्थितिमा लड्न साथ र साहस दिने आमाबुवा हुनुहुन्थ्यो। उहाँहरूले गर्व गर्ने छोरी बन्नु थियो। 
    एकदिन, अचानक खाना बनाउँदा–बनाउँदै ग्यास सकियो। ग्यास पसल मेरो कोठा नजिकै थियो। म पसल अगाडि उभिएको थिएँ। साहुजी पसलमा थिएनन् त्यसैले यताउता हेर्दै थिएँ। अलि परबाट कोही चिने जस्तो, देखेजस्तो मान्छे आइरहेको थियो। 
    एउटा हातमा छोरी बोकेको थियो। अर्का हात उनको श्रीमतीले समातेकी थिइन्। यदि नचिनेको मान्छेको हुन्थ्यो भने त्यो सुन्दर परिवार थियो। तर मान्छे त्यही थियो जसको कारण मलाई त्यो दृश्य सुन्दर लागेन।
    नजिकबाट भेट भएर पनि त्यो मान्छे मलाई चिन्दै नचिनेको जसरी गयो। 
    मलाई धोका दिएर त्यसलाई पनि शान्ति छैन होला भन्ने थियो। तर म गलत थिएँ। मेरो भावनासँग खेलवाड गरेर, मेरो जिन्दगी बर्बाद पारेर, मर्न बाध्य बनाएको उसको नजरमा कहीँ–कतै आत्मग्लानी थिएन। 
    मलाई छोडेकोमा एकरत्ति पश्चताप थिएन। ऊ खुसी थियो। ऊ मलाई देखे नदेखेझैं गरेर हिँड्यो। 
    जिन्दगीभरिको साथ उसलाई चाहिएकै थिएन। मसँग समय बिताउनेभन्दा बाहेक अरू केही लक्ष्य थिएन। तर मैले त्यसैलाई प्रेम मानें। 
    आत्महत्या गरेर त्यसलाई चैनले बाँच्न दिन्न भन्ने लागेको थियो। 
    उफ् मेरो भ्रम। हेर त्यो कति चैनले बाँचेको रहेछ। आत्महत्या गरेको भए यो सब देख्न पाउँथें ? मैले राम्रोसँग बुझें, मान्छे चिन्न पनि बाँच्नुपर्ने रहेछ। 

    Posted in विचारLeave a Comment on ‘हिम्मतवाली’ छोरी

    “नारी स्वतन्त्र भए मात्र असल परिवार बन्छ”

  • २७ चैत्र २०७७, शुक्रबार ०६:४२ मा प्रकाशित

    नारी स्वतन्त्र भए मात्र असल परिवार बन्छ
    नारी स्वतन्त्र भए मात्र सुन्दर घरवार बन्छ

    नारी स्वतन्त्र भए मात्र संस्कारी समाज बन्छ
    कुरितीलाई तोड्न सके पबित्र रीतिरिवाज बन्छ

    नारी स्वतन्त्र भए मात्र बिकासको आधार बन्छ
    नारी स्वतन्त्र भए हेर्न लाएक दृश्य संसार बन्छ

    नारी स्वतन्त्र भए एकताको बुलन्द आवाज बन्छ
    प्रेमले भरिपुर्ण ममतामयी हाम्रो समाज बन्छ

    नारी स्वतन्त्र भए मात्र हाम्रो देश महान बन्छ
    हामी पुरुष भएकोमा गर्व गर्ने एक सान बन्छ

    नारी स्वतन्त्र भए मात्र असल परिवार बन्छ
    समानता सहित दुई आत्माको एक सरकार बन्छ

    रन्जित कुशवाहा”अबिरल”
    प्रदेश न.-२ लहान ,सिरहा

    Posted in विचार, साहित्यLeave a Comment on “नारी स्वतन्त्र भए मात्र असल परिवार बन्छ”

    प्रदूषणले विस्तारै-विस्तारै मारिरहेको छ

  • १७ चैत्र २०७७, मंगलवार ००:५६ मा प्रकाशित
  • केही दिनयता हामीकहाँ आँखाले प्रष्टै देख्ने र शरीरले तत्कालै महसूस गर्ने गरी प्रदूषण फैलिएको छ । हाम्रो शहर पहिल्यैदेखि धेरै प्रदूषित थियो, अहिले प्रष्ट महसूस भएको छ । यो विषयले महत्व नपाएको मात्र हो, हामीले आमाको पेटमा हुँदादेखि नै दूषित हावा लिइरहेका छौं ।
    एक हप्तायता धेरै मानिसले आँखा पोल्ने, घाँटी खस्खसाउने, टाउको दुख्नेलगायत समस्या भोगिरहेका छन् । स्वस्थ मानिसलाई प्रदूषणले पारेको तत्कालीन असर हो, यो । दम रोगीहरूलाई त यसले सिकिस्तै पारेको छ । अस्पतालहरूमा यो प्रष्ट देखिएको छ । खोकी बढेर अस्पताल आएकामध्ये धेरैलाई प्रदूषणको कारणले यस्तो भएको भन्ने थाहा समेत छैन ।
    गाह्रो भएर पनि विभिन्न कारणले अस्पताल आउन नसकेका बिरामीहरूलाई ‘इन्हेलर’ को मात्रा बढाउन, सकेसम्म घरबाहिर ननिस्कन सुझाव दिइरहेकी छु । प्रदूषणको कारण बिरामीहरूको स्वास्थ्य खराब हुँदै गएको, मानिसको आयु विस्तारै–विस्तारै घटाउँदै लगेको थाहा पाउँदा फोक्सो सम्बन्धी डाक्टर भएको नाताले मलाई निकै नमज्जा लागिरहेको छ ।
    केही दिनयता हामीकहाँ आँखाले प्रष्टै देख्ने र शरीरले तत्कालै महसूस गर्ने गरी प्रदूषण फैलिएको छ । हाम्रो शहर पहिल्यैदेखि धेरै प्रदूषित थियो, अहिले प्रष्ट महसूस भएको छ । यो विषयले महत्व नपाएको मात्र हो, हामीले आमाको पेटमा हुँदादेखि नै दूषित हावा लिइरहेका छौं ।
    एक हप्तायता धेरै मानिसले आँखा पोल्ने, घाँटी खस्खसाउने, टाउको दुख्नेलगायत समस्या भोगिरहेका छन् । स्वस्थ मानिसलाई प्रदूषणले पारेको तत्कालीन असर हो, यो । दम रोगीहरूलाई त यसले सिकिस्तै पारेको छ । अस्पतालहरूमा यो प्रष्ट देखिएको छ । खोकी बढेर अस्पताल आएकामध्ये धेरैलाई प्रदूषणको कारणले यस्तो भएको भन्ने थाहा समेत छैन ।

    गाह्रो भएर पनि विभिन्न कारणले अस्पताल आउन नसकेका बिरामीहरूलाई ‘इन्हेलर’ को मात्रा बढाउन, सकेसम्म घरबाहिर ननिस्कन सुझाव दिइरहेकी छु । प्रदूषणको कारण बिरामीहरूको स्वास्थ्य खराब हुँदै गएको, मानिसको आयु विस्तारै–विस्तारै घटाउँदै लगेको थाहा पाउँदा फोक्सो सम्बन्धी डाक्टर भएको नाताले मलाई निकै नमज्जा लागिरहेको छ ।

    यो बेला अति आवश्यक काम नपरिकन घरबाहिर ननिस्कनु नै राम्रो हुन्छ । दीर्घरोगीहरूले औषधि टुटाउनुहुँदैन । मर्निङ वाक गर्नेहरूले घरभित्रै व्यायाम गर्नुपर्छ ।

    हावामा फैलिएका धुलीकणमा सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड, ग्राउण्ड लेभल ओजनलगायत मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक रासायनिक पदार्थहरू मिसिएको हुन्छ । हावाको धुलीकण अत्यन्तै सूक्ष्म भएकाले सीधै फोक्सो र रक्तनलीहरूमा प्रवेश गर्छ । त्यसले शरीरमा धेरै नकारात्मक असर पार्न थाल्छ । यसले हृदयघात, पक्षघात जस्ता असर देखाउँछ । क्यान्सर र डिमेन्सिया हुने सम्भावना बढ्छ ।
    सन् २०१५ को एउटा रिपोर्टले शिशु मृत्युको प्रमुख कारण प्रदूषणलाई मानेको छ । गत वर्ष विश्वभर प्रदूषणको कारणले एकमहिना मुनिका पाँच लाख शिशु मरेको अर्को रिपोर्ट छ । प्रदूषणले दम रोगीहरूको मृत्यु हुने सम्भावना ४० प्रतिशत र मुटुरोगीको २० प्रतिशत बढाउँछ । प्रदूषणले क्यान्सरका बिरामीको मृत्यु हुने जोखिम १९ प्रतिशत बढाउँछ । त्यस्तै, ‘स्ट्रोक’ हुने जोखिम २० प्रतिशत बढाउँछ । हृदयघात, पक्षघात, क्यान्सर र डिमेन्सिया हुने सम्भावना २० प्रतिशत भन्दा बढी देखाउँछ ।
    सवारी साधनहरूले सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड जस्ता घातक रसायन हावामा मिसाउँछन् । सवारी साधनले निकाल्ने धुवाँले ग्राउण्ड लेभल ओजन बढाउँछ । थोत्रा सवारी साधन र कमसल पेट्रोलियम पदार्थका कारण हाम्रो जस्तो गरिब देशहरूमा बढी प्रदूषण हुन्छ । ‘आमाकै पेटमा हुँदा प्रदूषित हावा खाएको’ यसै भनिएको होइन ।
    घरभित्रकै हावाले पनि मानिसलाई असर गरिरहेको हुन्छ । आधाभन्दा बढी नेपाली अहिले पनि खाना पकाउन दाउरा र गुइँठा प्रयोग गरिरहेका हुन्छन् । हाम्रो देशमा खाना पकाउने महिला नै हुन्छन्, जसको कारण गर्भवतीहरूले आफ्नो गर्भमा रहेका सन्तानलाई समेत प्रदूषित हावा खुवाइरहेका हुन्छन् ।

    प्रदूषणले हरेक दिन देखिने र दुख्ने गरी असर गरिरहेको हुँदैन । विस्तारै घातक असर गर्दै लैजाने भएकाले प्रदूषणलाई ‘साइलेन्ट किलर’ भनिन्छ । प्रदूषणले हामीलाई विस्तारै–विस्तारै मारिरहेको छ ।
    प्रदूषणको असरबारे बुझ्ने, बुझाउने काममा सरकार र नागरिक दुवैको उत्तिकै भूमिका र उत्तरदायित्व हुनुपर्छ । यो बेला पनि टोलटोलमा फोहोर जलाइरहेको देखिन्छ । यो भनेको हामी नागरिकहरूले नै प्रदूषण बढाउन योगदान गरिरहेका छौं । यातायातका साधन प्रयोगकर्ताहरूले नियमित सर्भिसिङ गरे धेरै हदसम्म प्रदूषण कम हुन्छ । सरकारले विद्युतीय गाडीलाई प्रोत्साहित गर्ने नीति लागू गर्दा पनि प्रदूषण नियन्त्रण हुन्छ ।
    सरकारले लिने नीति कडा र कार्यान्वयन प्रभावकारी हुनुपर्छ । हाम्रोमा प्रदूषणको मात्रा तोकिएको भन्दा सधैं बढी किन हुन्छ ? नीतिनिर्माण तथा कार्यान्वयन गर्नेहरू उत्तरदायी हुनुपर्छ कि पर्दैन ? हामीमध्ये धेरैमा उत्तरदायी हुनुपर्छ भन्ने भावना नै छैन ।
    वयस्क र स्वस्थ मानिसमा अहिले देखिएको प्रदूषणको असर बढ्दै जाँदा निमोनियाको खतरा बढ्छ । दीर्घ रोगीहरूको फोक्सो त्यसै पनि नाजुक हुन्छ । यो प्रदूषणले उनीहरू अस्पताल भर्ना हुनुपर्ने, मृत्यु हुने जोखिम दोब्बर बनाइसकेको छ । दमका रोगीलाई अक्सिजन नै चाहिने अवस्था आइसक्यो । बालबच्चाको समग्र ‘ग्रोथ’ मा दीर्घकालीन असर पार्ने अवस्था छ ।
    यो बेला अति आवश्यक काम नपरिकन घरबाहिर ननिस्कनु नै राम्रो हुन्छ । दीर्घरोगीहरूले औषधि टुटाउनुहुँदैन । मर्निङ वाक गर्नेहरूले घरभित्रै व्यायाम गर्नुपर्छ । अहिलेको लागि हरेक व्यक्तिले गर्ने प्रयास भनेको यिनै हुन् ।

    Posted in विचारLeave a Comment on प्रदूषणले विस्तारै-विस्तारै मारिरहेको छ

    कोभिडपछिको विश्वमा कुटनीतिलाई नियाली हेर्दा : एक भारतीय विचार

  • ५ चैत्र २०७७, बिहीबार २१:५९ मा प्रकाशित
  • कोभिड—१९ महामारीलाई परास्त गर्ने अभीष्ट आशासहित हामी २०२१ मा प्रवेश गरेका छौं । प्रत्येक समाजले यसलार्ई भिन्न तरिकाले सामना गरे पनि, यस विरुद्घ जुझे पनि वैश्विक कुटनीतिले आफ्नो सम्पूर्ण ध्यान साझा चिन्ता र सिकाईमा केन्द्रित गर्नेछ । धेरै जसो कुराहरु भूमण्डलीकरणको प्रकृतिमाथि पनि निर्भर गर्दछ ।

    यस घटनाले हाम्रो पुस्तालाई विशेष गरी आर्थिक क्षेत्रमा निकै सोच्न बाध्य बनाएको छ। सामान्य अर्थमा व्यापार, वित्त, सेवा, सञ्चार, प्रविधि तथा गतिशिलतामाथि साँच्चै नै सोच्नुपर्ने क्षण आएको छ। यसले हाम्रो युगको एक अर्काप्रतिको निर्भरता र परस्पर सम्बन्धलाई अभिव्यक्त गर्दछ। हाम्रो अस्तित्वको गहिरो अविभाज्यतालाई कोभिडले बाहिर ल्याएको छ। विश्वव्यापीकरणलाई बुझ्दै गर्दा महामारी, जलवायु परिवर्तन र आतङ्कवाद जस्ता कुराहरुलाई सहजै नर्कान सकिदैन। कुटनीतिक विचार विमर्शमा यी पक्षहरु समाविष्ट हुनैपर्छ जसको ज्वलन्त उदाहरण सन् २०२० मा हामीले महामारीलाइ बेवास्ता गर्दा भोग्नुपरेको पीडा एवम् चुकाउनु परेको मूल्यलाई लिन सकिन्छ ।

    यसका धेरै फाइदाहरु भए पनि विश्वले विश्वव्यापीकरणप्रति विविध प्रतिक्रियाहरु झेलेको छ । धेरै जसो समाजबीच र समाजभित्रका असमान लाभबाट उत्पन्न हुन्छन् । तसर्थ यस्ता परिस्थितिहरु बारे बेखबर रहेका शासन पद्घति तथा प्रबन्धमाथि यसले ठूलो चुनौती खडा गरेको छ । हामी के कुरामा निश्चिन्त हुन जरुरी छ भने यो विजेता र परास्त व्यक्तिका बारेमा नभएर समुदायको दिगो विकासको बारेमा हो ।

    कोभिड—१९ ले सुरक्षा सम्बन्धमा हाम्रो बुझाइलाई पनि झकझकाएको छ। अहिलेसम्म राष्ट्रहरुले सुरक्षा भन्ने बित्तिकै सैन्य, खुफिया, आर्थिक र सांस्कृतिक गतिविधिलाई बुझ्दथे तर अहिले आएर यी मुलुकहरुले स्वास्थ्य सुरक्षालाई विशेष महत्व दिदै भरलाग्दो एवम् सुरक्षित आपूर्ति प्रणाली उपर चासो एवम् चिन्ता व्यक्त गर्न थालेका छन्। कोभिड—१९ ले निम्त्याएको समस्याले हाम्रो वर्तमान अवस्थाको नाजुकतालाई प्रष्ट्याएको छ। वैश्विक अर्थतन्त्रलाई जोखिमरहित बनाउन विकासका थप इन्जिनहरुको आवश्यकता पर्दछ।

    बहुपक्षीय संस्था यस दुखद अनुभवबाट राम्रोसँग निस्किन पाएका छैनन् । सन् १९४५ देखि नै धेरै जसो गम्भीर विश्वव्यापी महामारीविरुद्घ लड्न सामूहिक प्रयासहरु भएका छैनन् । तसर्थ यसमा गम्भीर समीक्षा हुन अत्यावश्यक छ । प्रभावकारी समाधान सिर्जना गर्न निमित्त बहुपक्षीय संस्थालाई सुधार गर्न अत्यन्त जरुरी छ।

    कोभिड—१९ ले निम्त्याएको चुनौतीविरुद्घ प्रभावकारी रुपमा लड्न चालिने प्रयासले सन् २०२१ मा विश्वव्यापी कुटनीतिमाथि हाबी हुने देखिन्छ । भारतले यसमा एउटा उदाहरण पेश गरिसकेको छ । भारतले मृत्युदरलाई घटाउदै र निको हुने दरलाई बढाउदै महामारीविरुद्घको लडाइमा सफलता हासिल गरेको छ । यति मात्र नभएर १५० भन्दा बढी मुलुकलाई अनुदान स्वरुप औषधी आपूर्ति गरेर विश्व जगतमै प्रशंसा बटुल्न सफल भएको छ ।
    हाम्रो मुलुक कोरोना विरुद्घको खोप अभियानमा लागिसकेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वलाई नै सर्वसुलभ र सहज तरिकाले खोप उपलब्ध गराउन मद्दत गर्ने वाचा अनुरुप सो कार्य कार्यान्वयन अवस्थामा रहेको छ । भारतमा बनेको खोप भारतका नजिकका छिमेकी मुलुकहरु—भुटान, माल्दिभ्स, बङ्गलादेश, नेपाल ,मौरिसस, सेसेल्स र श्रीलङ्का मात्र नपुगी भारतभन्दा निकै टाढाका मुलुकहरु ब्राजिल र मोरक्कोमा समेत पुगिसकेको छ ।
    यस बाहेकका अन्य विश्वव्यापी समस्याहरुले यस्तै स्तरको ध्यान पाउन जरुरी छ । पेरिस सम्झौतामा हस्ताक्षर गरिसकेको भारत जलवायु परिवर्तनले निम्त्याएको चुनौतीविरुद्घ लड्न कटिबद्घ छ । नवीकरणीय उर्जामाथि लिइएको लक्ष्यहरुलाई बढाइएको छ, वनक्षेत्रको आकार बढेर गएको छ, जैविक विविधता विस्तार गरिएको छ र पानीको उपयोगमा भारत बढी केन्द्रित भएको छ । भारतमा अपनाइएका अभ्यासहरु यसका विकास साझेदारहरु अफ्रिका र अन्य मुलुकमा पनि लागु गरिएको छ । उदाहरण र उर्जाद्वारा, International Solar Alliance र Coalition for Disaster Resilient Infrastructure पहल मार्फत भारतीय कुटनीति अघि बढिसकेको छ ।

    आतंकवाद र यस्ता गतिविधिमा संलग्न तत्वहरुले निम्त्याउने चुनौती पनि डरलाग्दो छ । लामो समयदेखि सीमापार आतंकवादी समस्यासँग जुझ्दै आएको भारतले विश्वव्यापी चेतना अभिवृद्वि गर्न र समन्वयित कार्यलाई प्रोत्साहित गर्न सदैव तदारुकता देखाएको छ । सुरक्षा परिषदको गैर—स्थायी सदस्यको रुपमा र FATF र G20 जस्ता अन्तराष्ट्रिय मञ्चहरुमा भारतको कुटनीति यसै कुरामा केन्द्रित हुनेछ ।

    कोभिड—१९ ले सिकाएको अर्को अनुभव भनेको डिजिटल डोमेनको शक्ति रहेको छ । कन्ट्याक्ट ट्रेसिङ्गलाई लिएर होस् वा वित्तिय वा खाद्यान्न सामाग्रीको व्यवस्थालाई लिएर होस् भारतको डिजिटल फोकसले सन् २०१४ पछि प्रभावशाली नतिजा प्राप्त गरेको छ । कोभिड—१९ का कारण ‘जहाँसुकैबाट काम’ र ‘घरबाट अध्ययन’ जस्ता प्रयोगहरु व्यापक रुपमा प्रयोगमा आए । यी सबैले भारतको विकास कार्यक्रमसँग सम्बन्धित उपकरणहरुलाई विदेशमा विस्तार गर्न सहयोग गर्नेछ । साथै भारतका थुप्रै साझेदारहरुको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

    यसको अलावा सन् २०२० मा भारतले विदेशमा रहेका ४० लाख भारतीय नागरिकलाई स्वदेश फर्काई समकालीन समयमा गतिशिलताको महत्वलाई उजागर गरेको छ । कुटनीतिको माध्यमबाट गतिशिलतालाई सहजीकरण गर्नु विश्वव्यापी हितमा छ ।

    सन् २०२१ मा सामान्य जीवनमा फर्किनु भन्नाले सुरक्षित यात्रा, राम्रो स्वास्थ्य, आर्थिक गतिविधि चलायमान र डिजिटल सञ्चालित सेवाहरुलाई बुझाउनेछ । यी कुराहरु नयाँ कुराकानी र ताजा सिकाइमा व्यक्त हुनेछन् । कोभिड पछिको विश्व अधिक बहु—ध्रुवीय, बहुलवादी र पुनः सन्तुलित हुनेछ । र, भारतले आफूले आर्जेको अनुभवबाट नयाँ सिकाई स्थापित गर्न सहयोग गर्नेछ ।

    Posted in कला /जीवनशैली, विचारLeave a Comment on कोभिडपछिको विश्वमा कुटनीतिलाई नियाली हेर्दा : एक भारतीय विचार

    कोरोन संक्रमित हुदाको भोगाई

  • २७ माघ २०७७, मंगलवार २०:५५ मा प्रकाशित
  • नारायण पासवान


    कोरोनाकोको कहरबाट बच्न र बचाउन लकडाउन निकै कडाइका साथ पालन गरिइदै आएको थियो । इदको छुट्टिमा धेरै भिडभाड नहोस र थप संक्रमण नफैलियोस भनेर सरकारले लकडाउनलाइ थप कडाइ गर्ने सुचना जारि गर्यो।
    त्यसैले उक्त अबधिभर खाधान्नको समस्या नहोस भनेर २३मे का दिन राहतको लागि कतैबाट फोन आएपछि जाने पर्खाइमा थिए । जिउ बिहानै देखि तापक्रम बढेको महसुस भइरहेको थियो। साझ पख ज्वरो बढ्दै गयो, र क्रमिक रूपमा बड्दै गयो त्यैपनी सदाझै  सनिवार  नुहाएर खाना खाने र आइतबार उपबास बस्ने चै छोडिएन । सोमबार अर्थात २६ का दिन मात्रै अलिकति खाना खाएको याद छ । त्यसपछि खानामा रुचि हुन छोड्यो, तातोपानी स्याउ र जुनार मात्रै केही खान थाले, ज्वरोको पारा उक्लिरह्ने पहिला  सिटामोल नखाएकोमान्छे म, ज्वरो सन्चो होला कि भनेर  बाध्यताबस खान्थे र जिउमा पसिना आउथ्यो र ट्याब्लेटको असर रह्दा सम्म जिउ चिसो भए पनि टाउको तातेको तातै रह्ने , तातोपानी चै खाइरह्न्थे  । केही खायोकि बान्ता हुने , जिब्रो खस्रो र बाक्लो भएको थियो । 


     ज्वरोले नियमित च्याप्दै गएपछि निकै कमजोरी महसुस हुँदै थियो , अब केहि दबाइ लिनै पर्छ भनेर २९ तारीखका दिन  नजिकैको ढाका मेडिकल गए। हनहनी ज्वरो भएकोले अस्पताल भित्र छिर्नै दिएन । फोनको भरमा औसधि लेखिएको प्रेस्क्रिप्सन पाए।चेकजाँच नगरिकन लेखिएको औषधिले उल्टो असर गर्ला कि भनेर सिटामोल र केही एन्टिबायोटिक ट्याबलेट किनेर फर्के । जति औसधि खाएनि बीस को उन्नाइस नहुने । बल्ल बल्ल ३१ तारीखमा कोविड टेस्ट गर्ने भनेर अपाइन्टमेन्ट पाइयो । लामो, ताती झन्डै 700/800 मिटरको लाइनको पालो , आफू भने एकछिन उभिन नसक्ने भएको थिए , मेरो अबस्था देखेर अस्पतालको गेट निरको लाइनमा उभिन दिए। भित्र पनि करिबकरिब 400 को हाराहारीमा मान्छे , लाइन सर्ने बेला उभिएर थचक्क बस्थे । जुन 1 तारीख तिर अब बिना उपचार मर्ने भइयो भनेर अबस्थाले संकेत गर्यो । मर्नु त पर्छ नै एक दिन तर अहिलेको मृत्यु भयानक र जनावरको भन्दा नि तलको हुने सम्झे । म त मर्ने भएं तर मेरो मृत्युको खबरलाई कसरी सह्न सक्छ, मेरो परिवारले भनेर झन्झन् म चिन्तित भए।  मेरो आबाज पनि पहिलाको जस्तो थिएन। घरमा सबै चिन्तित भएर खान खान छोडेका थिए। मन बुझाउन सकिरहेको थिएन, जुनसुकै बेला जे पनि हुन सक्छ भनेर सम्झेपछि  मोबाइलको लक खोलेर राखेको थिए, जो अहिलेसम्म अनलक नै छ । 


    महामहिम राजदुतज्युलाइ कल गरि ब्यथा सुनाउदै “मलाई अब गार्‍हो छ भनेर सुनाए, राजेन्द्र अर्यालसर सङ्ग कुरा गर्दा गर्दै मेरो परिवारलाई शान्त्वना दिनुहोला सर भनेर  भक्कानिए ।
    दूतावासको पहलमा 2 जूनमा दिउँसो तिर दल्ला अस्पताल गए अब म हिड्न सक्ने भएको थिएन, ह्विल चेयरमा राखेर जित बहादुर खड्कादाइले यताउता सोध्दै भए भरका सबै काउन्टरमा डुलाउनु भयो । जहाँ गयो यहाँ होइन भन्दै पठाइदिने। अन्तिममा ठाउँ छैन भनेर बाहिर निकालिदिए । बाहिर गएपछि एकपटक जितदाइले दूतावासमा सम्पर्क गर्नुभयो । पर्खिनु भनेर खबर आयो ।  त्यसको 15 मिनेट पछि नाम लिएर एक जना अस्पतालको कर्मचारी खोज्दै तुरुन्त इमर्जेन्सीको सानो बेडमा राखेर अक्सिजन स्लाइन  दिन सुरु भएपछि अब बाचिन्छ कि भनेर आसा जागेर आयो ।
    यसरी रातभर बेडमै राखेर  विभिन्न चेक जाँच गर्न ल्याबमा घुमाउदै बिहानको 3 बजेछ । बिहान 5 बजे तिर डायपर लगाइदिने बेलामा आइ सि यु मा आएको थाहा पाए, किन लगाको यो डाइपर भनेर सोधे ” दिसापिसाब गर्न उठ्न मिल्दैन इसिजिका तारहरु र उपकरण छुटाउन हुंदैन त्यसैले यहीँ सब गर्नु सफा गर्न म छु नि भनेर  फिलिपनी नर्सले   केही नसोच भन्दै मलाई स्नेहका साथ सम्झाए। त्यै समयमा बेला नास्ता आयो 6 बजे तिर 9 दिन देखि अन्न नखाएको उनैले ख्वाइदिए। उनको शब्द र स्नेह  मेरो लागि अबिष्मरणिय र ताजा नै छ । काम त सबैले नै गर्दछन तर मानवियताको र इमानदारि, सहृदयी  सेवा भावले  कमैले गर्दछन।जुन व्यबहार उनले देखाए  म सधैं सम्झिन्थे त्यो मेल नर्सको सेवा भावलाई सम्झिरह्ने छु ।
    तीन दिनको  सघन उपचार कक्षको उपचार पछि मलाई छुट्टै क्याबिनमा सारिएको थियो अक्सिजन र स्लाइन( 6/6 घन्टामा) छुट्ट्याएको थिएन । दुईटै हातमा केनुला लगाएको शरीर राम्रोसँग  निद्रा पर्दैन नपर्ने , एक छिन निदाउन खोज्यो कि औसधि दिन र इन्जेक्सन दिन  नर्सहरु आइ हाल्थे ।अरु दबाइ त ठिकै थियो हेरेर खान्थे नेटमा खोज्थे केका लागि भनेर । एउटा सारै ठुलो ट्याब्लेट दुईवटा खानुपर्ने एक साथ, खाएपछि बान्ता हुन खोज्ने एकदिन राति धेरै बान्ता भयो पनि, त्यसपछि त्यो ट्याब्लेट खाइन जे जे हुन्छ भनेर डस्टपिन मा हाल्दिन्थे ।घरी घरी मेरो सन्सारमा कोहि नभएको जस्तो पनि हुने रहेछ, लाग्थ्यो म कहाँ छु, चिनजानको कोइ छैन । भेट्न पनि कोइ कसैलाई नदिने मान्छे देखि मान्छे डराउनु पर्ने कस्तो भयंकर परिक्षा ? 
    बिहान सधैं स्लाइन दिन र औषधि दिन स्वास्थकर्मी आइपुग्ने गरेको रुटिन नै थियो, राति बान्ता भएकोले गर्दा निद्रा नपरेर निदाएको थिएन , फोनको घन्टी बज्यो गुड मर्निङ भने ” तपाईं सन्क्रमित हुनुभएको रिपोर्ट आयो “अर्को कोठामा लान हामी आउदैछौं तयारी भएर बस्नु ” सुन्ने बितिक्कै म निकै आतिएर मृत्युनै आएको हो कि जस्तो लागेर ओछ्यानबाट उठें सकि नसकी कोठामा घुमेर सोफामा थचक्क बसेर पानी खाएं ।स्वास्थ यति कमजोर थियो कि उठेर मुख धुन सक्दैनथे। एक हातले ब्रुस अर्को हात वास बेसिनमा राखेर सहारा लिन्थे।
    यति बिचलित भए कि मनमा अनेकन तर्कहरुले प्रवेश पायो, सायद अब म नबाच्ने हो। त्यै भएर मलाई छुट्टै ठाउँमा लगेर मृत्यु कुर्न पो लाने हो कि ? नभन्दै दुई जना सिस्टरहरु व्हिल चेयर लिएर आइपुगे। दैनिक प्रयोगका  सामानहरु र औसधि लिएर व्हिल चेयमा गुडाउदै अर्को कोठाको ढोका उघारेर मलाई बेडमा सहारादिएर राखे। मेरो होस ठाउँमा थिएन कोठा नियाल्न थाले  निराश मन एकैछिनमा पुलकित भएर आयो। किनकि त्यो कोठा निकै सुसज्जित थियो पर्खालमा राम्रा राम्रा तस्बिरहरु निकै आकर्षक । अक्सिजनको भेन छदैथियो , छोडेको त्यो कोठा आइ सि यु को जस्तो भएर मेरो अबस्थामा सुधार भएकोले नर्मल कोठामा सारिएको कारण सिस्टरबाट थाहा पाए। 
    ज्वरो त पुरा सन्चो भैसकेको थियो। आइ सि यु मा भर्ना भएको प्रहिलो दिनमै , नाकमा रगत आएर जम्ने रहेछ , टिस्युले पुछ्दै हैरान डाक्टरलाई सोध्थे किन रगत आयो भनेर केही होइन बिस्तारै सन्चो हुन्छ न आतिनु ढाढस दिन्थे। फेरि स्वाब लियो पोजिटिभ देखियो । यसरी बार्ह दिन बितिसकेको थियो, नुहाएको थिएन। सिस्टरलाई अनुरोध गरे इन्जेक्सन लगाएपछि  मलाई साझ मात्रै फेरि इन्जेक्सन दिने भयो ,सारै दुख्यो एक छिन केनोला झिकिदिनुस प्लिज,म नुहाउछु भने, मेरो अनुरोध लाई स्वीकारेर निकालिदिइन । 
    इन्जेक्सन लगाउदा पनि डराउने मान्छे।
    पुनः 16 जुन मा स्वाब लिएर गयो , केही आशा पलाएको थियो। अब त निगेटिभ आउँछ कि भनेर  नभन्दै 18 तारीखमा 4 बजे तिर फोनको घण्टी बज्यो , आतिएर हलो भने ” बधाई छ त तेरो रिपोर्ट निगेटिभ आयो। ठिक परेर बस आज डिस्चार्ज हुन्छ्स। खुशी भएर जित दाइलाई फोन गरे मलाई लिन आउनुहोला । केही औसधिको थैलो , मास्क र ह्यान्ड ग्लोभ र मेरो रिपोर्ट दिएर बिदा गरिदियो दल्ला हस्पिटलले । रियादको मुख्य ठाउँ एक्जिट 4 मा अबस्थित  दल्ला हस्पिटल , त्यहाँका डाक्टर स्वास्थ कर्मीहरु प्रति आभार व्यक्त गर्दै आत्म बिभोर भएर निस्के, यस्तो उत्कृष्ट उपचार र सेवा नगरेको भए   सायद बाच्ने आधार थिएन होला । 
    हुनपनि यो कोरोनाले यति गाल्दोरहेछ भोग्ने लाई मात्रै थाहा हुन्छ । घाँटी दुख्ने र नाकबाट रगत आउने रोकिन 6 महिना लाग्यो।मेरो उपचारमा संलग्न स्वास्थ्य कर्मिहरू, सुबेक्षा र आशिर्बाद दिनुहुने सबै प्रति हार्दिक नमन गर्दै आभार प्रकट गर्न चाहन्छु।
    कोभ्याक्सिन लगाउदा देखिने साइड इफेक्टहरु कोरोनाकै प्रबृत्तिका हुनु स्वभाविक हो , जस्तो ज्वरो आउनु, जिउ दुख्नु , खाना नरुच्नु , आदि । फलामलाई फलामले काट्न उच्च टेम्पर गराएर बनाएको हतियार जस्तै । 
    त्यसैले कोरोनाबाट वच्न  र बचाउन साबधानी अपनाउनु सर्बोत्तम उपाय हो ।
     
     

    Posted in अन्तर्राष्ट्रिय, विचारLeave a Comment on कोरोन संक्रमित हुदाको भोगाई

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P