• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: लोकप्रिय

कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल

  • १३ बैशाख २०७७, शनिबार १४:४५ मा प्रकाशित
  • काठमाडौँ, १३ बैशाख ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई अति उच्च जोखिमको सूची (लेभल ४)बाट हटाएर उच्च जोखिमको सूची (लेभल ३)मा झारेको छ ।

    कोरोना नियन्त्रणमा नेपालको सक्रियता र नतिजाको आधारमा जोखिम सूचीमा सुधार भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘हामी पहिले लेभल ४ अर्थात अति उच्च जोखिमको सूचीमा थियौँ । तर त्यसलाई हामीले सुधार गर्‍यौँ, अहिले लेभल ३ मा झरेका छौँ ,’ उनले भने ।

    सार्क मुलुकका भारत, श्रीलंका, बंगलादेश, भुटान, मालदिव्स लेभल ३ मा रहेको उनले बताए । तर पाकिस्तान अहिले पनि लेभल ४ र अफगानिस्तान अहिले पनि लेभल ५ मा रहेको उनले बताए ।

    नेपालले पछिल्लो समय पीसीआर र र्‍यापिड टेष्टको दायरा ह्वात्तै बढाएको, संक्रमण रोक्न लकडाउनलाई कडाईका साथ लागू गरेको, आइसोलेसन वार्ड बढाएको, क्वारेन्टाइन गर्ने कार्य स्थानीय तहले कडाईका साथ लागू गरेको कार्यको मूल्यांकन गरी नेपालको अवस्था दुई महिना अघिको तुलनामा सुधार भएको महानिर्देशक श्रेष्ठले बताए । उनले कोरोना नियन्त्रणका लागि नेपालले चालेको कदम विश्वमै उत्कृष्ठ रहेको दोहो र्‍याए । ‘नेपालमा रोग देखियो भने अवस्था भयावह हुन्छ भन्ने थियो । स्रोत साधन छैन् पार लाउन सक्दैन, परीक्षण गर्न समेत सक्दैन भन्ने जो अनुमान थियो । त्यो हामीले गलत गरिदिएका छौँ । हामीले सातवटै प्रदेशमा तिब्रगतिमा प्रयोगशाला विस्तार ग र्‍यौँ, ७७ वटै जिल्लामा र्‍यापिड टेष्ट ग र्‍यौँ, अहिले देशभरका स्थानीय तहले संकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने कामलाई बढो व्यवस्थित ढंगले गरेको छ । संघ प्रदेश र स्थानीय तहको अभुतपूर्व कार्यले कोरोनाको सम्भावित भयावह अवस्था हुनबाट जोगाउन सफल भएको छ । संक्रमित व्यक्तिहरु पनि अहिले धमाधम निको भइरहेका छन् । यो हाम्रो लागि निकै सफलताको कुरा हो,’ उनले भने ।

    डव्लुएचओले नेपालको कोरोना नियन्त्रण सम्वन्धी कदमलाई सही दिशामा अघि बढीरहेको उल्लेख गरेको समेत जानकारी दिए ।
    नेपालमा अहिलेसम्म कोरोनाबाट ४९ जना संक्रमित भएका छन् । तीमध्ये ११ जना निको भएर घर फर्किसकेका छन् ।
    ABCnews

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल

    सल्यानमा खानेपानी हाहाकार, एक गाग्री पानी ल्याउन दिनभर

  • १३ बैशाख २०७७, शनिबार १४:२८ मा प्रकाशित
  • सल्यान : जिल्लाका ग्रामीण भेगका गाउँबस्तीमा खानेपानीको चरम अभाव हुन थालेको छ । बढ्दो गर्मीका कारण भएका पानीका मुहान पनि सुक्न थालेका छन्। त्यसमाथ पनि पानीको माग दिन प्रतिदिन बढ्दै जान थालेको छ ।

    खेतीपाती, सिँचाइ तथा अन्य प्रयोजनका लागि त परै जाओस् पिउनसमेत पानी नपाउने अवस्था आएपछि स्थानीयवासी घण्टौं पैदल हिँडेर खानेपानीको जोहो गर्न बाध्य छन्।

    गाउँहरूमा खानेपानीको अभाव हुन थालेपछि पशुचौपाया समेत संकटमा पर्न थालेको बनगाड कुपिण्डे नगरपालिका ४ डोप्केका स्थानीय दुर्गा बस्नेत बताउँछन्।
    गाउँमा ६५ घरधुरीलाई खानेपानी कहाँबाट ल्याउने भन्ने चिन्ताले सताउन थालेको छ । एक गाग्री पानीका लागि दिनभर धारोमा बिताउनुपर्ने बाध्यता भएको बस्नेतले बताए।

    लकडाउनमा भीडभाड नगर्ने भनिए पनि खानेपानीको अभावका कारण भीडभाडमा जानुपर्ने बाध्यता रहेको रुमा बुढा बताउँछिन्। ‘दैनिक ५० लिटर खानेपानी पालो लगाएर लिने गर्छौं’, तर घरमा रहेका बस्तुभाउलाई के खुवाउने ?’, उनले प्रश्न गरिन्।

    कोरोनाबाट बच्न दैनिक १५ ÷१६ पटक साबुन पानीले मिचिमिचि हात धुने भनिए पनि एक अम्खोरा पिउन समस्या भइरहेको उनको गुनासो छ। कोरोना भाइरसको भन्दा पनि कतिबेला पानी भर्ने भन्ने चिन्ता छ यहाँ बासिन्दालाई । पानीको अभावसँगै घरमा निर्माण गरिएका शौचालय समेत प्रयोगविहीन हुन थालेको उनको भनाइ छ ।

    गाउँबाट करिब दुई किलोमिटर टाढा रहेको मुहान तथा कुवाहरुबाट पानी बोक्नुपर्ने बाध्यता भएकाले एक जनाको काम नै पानी बोक्ने हुने गरेको स्थानीय बताउँछन्। अधिकांशले प्रदूषित पानी खान बाध्य भइरहेका कुमाख गाउँपालिका ४ थदाराका मिसरकुमार आर्चायले बताए।

    कुइयापानी, थदरा, स्यानिपिपल, भण्डारखोलालगायत ठाउँमा खानेपाीको चरम अभाव रहेको उनको भनाइ छ। पानी अभाव भएपछि भेरी नदी किनारमा जानुपर्ने बाध्यता रहेको उनले बताइन्। समुद्री सतहदेखि ५ सय मिटरमाथिको उचाइमा यस बस्ती छ। जिल्लाका १० वटै स्थानीय तहका अधिकांश बस्ती डाडाँमा नै छन्। thahakhabar

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on सल्यानमा खानेपानी हाहाकार, एक गाग्री पानी ल्याउन दिनभर

    जारी लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा छलफल

  • १३ बैशाख २०७७, शनिबार १४:१६ मा प्रकाशित
  • काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमण एक युवतीमा देखिएपछि शुरु गरिएको एक महिनादेखिको लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा छलफल भईरहेको छ। यस सम्वन्धमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक अहिले बसिरहेको छ।

    सिंहदरबारमा जारी बैठकमा लकडाउनको अहिलेसम्मको परिस्थिति र बिभिन्न स्थानको संक्रमणको अवस्थाबारे बैठक केन्द्रित रहेको बुझिएको छ। समग्र अवस्थाको विश्लेषण गरेर प्रधानमन्त्रीलाई भेट्ने र लकडाउनको स्वरुपबारे निर्णय दिइने उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिए।

    पछिल्लो पटक थपिएको लकडाउनको अवधि वैशाख १५ गते सकिने भएको छ। अर्कोतर्फ कोभिड १९ को महामारी विश्वमा कायम रहेसम्म नेपालले लकडाउन सहज बनाएपनि पहिलेकै अवस्थामा सहज रुपमा फर्कन समय लाग्ने विज्ञहरुले औल्याएका छन्।
    NepaliPatrika

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on जारी लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा छलफल

    आफ्नो ३८ औ जन्मदिनको अवसरमा तुलसीपुरका एक युवाले गरे रक्तदान

  • १३ बैशाख २०७७, शनिबार १०:५९ मा प्रकाशित
  • -बसन्त अनुभव-

    तुलसीपुर, १३ बैशाख २०७७
    तुलसीपुर उपमहानगरपालिका, जनस्वास्थ्य प्रवर्द्धन महाशाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक बिमल केसीले आफ्नो ३८ औ जन्मदिनको अवसरमा रक्तदान गर्नुभएको छ ।

    उहाँ सँगै अन्य दुईजना ब्यक्तिहरुले पनि रक्तदान गर्नुभएको थियो । रक्तदान गर्नेमा नगर स्वास्थ्य केन्द्र पर्सेनीमा कार्यरत अनमी कमला बोहरा र अप्टोमेट्री अध्ययनरत विद्यार्थी रविन्द्र थापा रहनु भएको छ ।

    रक्तदान बाट शरिरमा उर्जा थपिने, सकारात्मक सोचको विकास हुने र समाज सेवामा मन लाग्ने जस्ता कुराहरू फाइदा हुने बताउने केसीले यो सँगै २१ पटक रक्तदान गरिसक्नु भएको जानकारी दिनु भएको छ ।

    साथै उहाँले रक्तदान भनेको जिवनदान हो । हामीले दिएको रगतले कसैले जीवन प्राप्त गर्दछ भने त्यो भन्दा ठूलो पुण्य अरु केही हुन नसक्ने बताउनुभयो ।

    रगत बन्ने मर्ने शरीरमा निरन्तर चलिरहने प्रक्रिया भएकोले हरेक १२० दिनमा रगत खेर जाने गर्दछ । यसरी त्यसै खेर जाने रगतलाई रक्तकमिका कारण अकालमा ज्यान गुमाउन वाध्य अवस्थामा पुगेका ब्यक्तिलाई दिएर उसको जीवन बचाउन सकिन्छ ।

    हामीले गरेको रक्तदानबाट साप्ताहिक डायलाइसिस गर्नुपर्ने बिरामीहरु, अप्रेसन गर्नुपर्ने विरामीहरु, अप्रेसन गर्नुपर्ने सुत्केरी, सिकलसेल एनिमिया पीडित बिरामीहरु, थैलेसिमिया रोग पीडित जस्ता बिरामीहरुले जिवनदान प्राप्त गर्न सक्दछन ।

    लकडाउनको समयमा तुलसीपुर लगायत समग्र दाङ जिल्लामा देखिएको रगत अभावलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाईटी दाङ शाखाद्वारा रक्त संकलनको अभियान नै संचालन गर्दै आएको छ । उक्त अभियानमा दाङ जिल्लामा क्रियाशिल संघसंस्थाहरुले दैनिक जसो रगत संकलन कार्य गरिरहेका छन।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on आफ्नो ३८ औ जन्मदिनको अवसरमा तुलसीपुरका एक युवाले गरे रक्तदान

    छायाँनाथ रारा नगरपालिकाद्वारा अग्नि पीडितलाई नगद रु २५००० सहित खाद्यान्न , लत्ताकपडा र खाना पकाउने भाँडाकुडा सहयोग

  • १२ बैशाख २०७७, शुक्रबार १९:३३ मा प्रकाशित
  • –वसन्त अनुभव-
    मुगु, १२ बैशाख २०७७
    छायाँनाथ रारा नगरपालिकाले सोही नगरपालिकाको वडा नम्बर १४ बाम गाँउ निवासी अग्निपिडित धनमानसिंह बुढालाई नगद रु २५००० सहित आवश्यक खाद्यान्न, लत्ताकपडा लगायत खाना बनाउने भाडाकुडाहरु सहयोग गरेको छ ।

    छाँयानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले आफुले गरेको प्रतिबद्धता अनुरुप निज बुढा परिवारलाई एक कार्यक्रमको आयोजना गरि उक्त सहयोग रकम र सामग्री प्रदान गर्नुभएको हो ।

    मिति २०७७ साल बैशाख ९ गतेका दिन भएको आगलागीबाट निज धनमानसिंह बुढाको खाद्यान्न, लत्ताकपडा सहित घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट निज बुढाको घर पुर्ण रुपमा जलेर नष्ट भएपनी कुनै मानवीय क्षति भने भएको थिएन ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on छायाँनाथ रारा नगरपालिकाद्वारा अग्नि पीडितलाई नगद रु २५००० सहित खाद्यान्न , लत्ताकपडा र खाना पकाउने भाँडाकुडा सहयोग

    अनुगमन टोलिद्वारा पसल अनुगमन, नुनको मुल्य बढी लिएको पाइयो

  • १२ बैशाख २०७७, शुक्रबार ११:३५ मा प्रकाशित
  • राजपुर, दाङ, ११ बैशाख
    दाङ जिल्लाको राजपुर गाउँपालिकामा गठित अनुगमन टोलिले बुधबार गा.पा. भित्रका पसलहरुको अनुगमन गरेको छ ।

    गाउँपालिका उपाध्यक्ष धनपती देवी यादव, प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी, प्रहरी चौकी चंगवाका इन्चार्ज नयाँ राम कार्की, प्रशासन शाखाका पाचौं तहका कर्मचारी पृथ्वी पौडेल लगायतका व्यक्तिहरु सम्मिलित टोलिले राजपुर गा.पा.का वडा नम्बर ५ र ६ का पसलहरुको अनुगमन गरेको हो ।

    लकडाउनका बेला भएको अनुगमनमा क्रममा केही सामानहरुको बिक्री मुल्य भन्दा बढि मुल्य लिने गरेको पाईयो । गा.पा उपाध्यक्ष यादवले केही पसलहरुमा नुनको मुल्य बढी लिने गरेको पाइएको बताउनु भयो ।

    साथै ती ब्यापारीहरुलाई मुल्य भन्दा बढि मुल्यमा बेच्न नहुने बारे सचेत गराइएको र आगामी दिनमा पु:न अनुगमन गर्दा पुन: गल्ती भेटिएमा कानुनी दायरामा ल्याई आवश्यक कारवाही गरिने चेतावनी दिएको बताउनुभयो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on अनुगमन टोलिद्वारा पसल अनुगमन, नुनको मुल्य बढी लिएको पाइयो

    कोरोना प्रतिरोधी जडीबुटीहरू

  • १२ बैशाख २०७७, शुक्रबार १०:४७ मा प्रकाशित
  • विश्व आज कोरोना महामारीको चंगुलमा फस्दै गईरहेको छ। रोगलागेका मध्ये ३ प्रतिशत विरामी हरूको मृत्युवरण भईसकेको र रोगको खास रोकथाम, नियन्त्रण एवं उपचार का कुनै पनि औषधि  एवं भ्याक्सिन बनिनसकेकाले अझै कति मान्छेहरू यो रोगले मर्ने भन्ने टुंगो छैन।

    यो रोगको संक्रमणको कारणले मर्ने हरूको तथ्यांक हेर्दा अधिकांश ९९% मान्छेहरू को प्रतिरक्षा प्रणाली अत्यन्त कमजोर रहेको र अन्य रोगहरू जस्तै मधुमेह, मृगौला रोग, क्यान्सर, दम खोकी मोटोपन, मुटुरोग, अनियन्त्रित कोलेस्टेरोल, वात, अटोईम्यून जस्ता समस्याले ग्रस्त भएको पाईयो र यो तथ्यले के पनि पुष्टि गर्दछ भने जसको प्रतिरक्षा प्राणाली कमजोर छ उसैलाई कोरानाको समस्या ले ज्यादा आक्रान्त पार्दछ र मृत्यु हुन सक्दछ ।

    यस परिपेक्षमा यो रोगलाई जित्नको लागि हाम्रो प्रतिरक्षा प्रणालीलाई मजवुत पर्नुपर्ने  हुन्छ।  प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र कोरोना संक्रमण लाइ रोक्न निम्न लिखित जडिबुटी हरूलाई निम्न लिखित विधिले उपयोग गर्न सकिन्छ।

    के के हुन ती जडिबुटीहरू ?

    गुर्जो, दालचिनी, जीरा, धनिया, बेसार, लसुन, ज्वानो, असुरो, तुलसी, अमला, आदि मध्य कुनै एकको  उपयोग गर्न सकिन्छ ।

    यी जडिबुटीहरूको उपयोग कसरी गर्ने ?

    क.  गुर्जोको उपयोग गर्दा आफ्नो  भित्ताले एक भित्ता (१० देखि १५ से.मी.) लामो ताजा गुर्जोको डाँठ लाई राती सिलौटोमा कुटेर एक गिलास पानीमा हालेर छोडिदिनुहोला र यो पानीलाई भोली पल्ट बिहान कपडाले छानेर पिउनु होला। गुर्जोको धुलो (गुडूची चुर्ण)प्रयोग गर्नुहुन्छ भने ५ ग्राम गुडूची चुर्णलाई एक गीलास तातो पानीमा हालेर छोपिदिनुहास । छोपेको ५ मिनेट पश्चात यो औषधिलाई बिस्तारै स्वाद लिदै पिउनु होस । 

    ख. तीन ग्राम दालचिनीको धुलोलाई एक गिलास तातो पानीमा हालेर पिउदा वा बजारमा उपलब्ध दालचिनीको एउटा क्यापसुल राती सुत्ने बेलामा खादाँ पनि रोग प्रतिरोधक क्षमता बढ्दछ ।

    ग. जीरा, धनिया, बेसार, लसुन, ज्वानो जस्ता मरमसला एवं जडिबुटीहरूलाई खानामा समाबेस गरौ ।

    घ. जडिबुटी काँडाको प्रयोग:  आधा लीटर पानीमा १ ग्राम (एक चुट्की) मरिच, १ ग्राम सूठो, १ ग्राम दालचिनी, एवं १ चिया चम्चा सख्खर हालेर उमाल्नुहोस । सबै जडिबुटीहरू मजाले पाकीसके पछि १० वटा तुलसीको पातलाई त्यस घोलमा हालेर ढाकी दिनुस । यसरी बनेको काढालाई ५ मिनेट पश्चात तात्तातौ पिउनुस । यो काढाले प्रतिरक्षा प्रणलीलाई मजबुत पार्नुका साथै कफ फटाउने एवं गला  बसेको, घाटी दुखेको, निको पार्दछ ।

    ङ. अचानक रुघामर्की ले सताई हाल्यो भने मरिच, सूठो र सख्खरलाई एकसाथ उमालेर चूल्होबाट निकालीसके पश्चात तातौ घोलमा एउटा असूरोको पातलाई राम्रो संग धोएर स साना टुक्रा बनाएर उक्त घोलमाहालेर छोपि दिनुहोस । यसरी बनेको काढालाई ५ मिनेट पश्चात तात्तातौ पिउनुहोस ।

    च. ५ ग्राम अमलाको चुर्णलाई वा त्रिफला चूर्णलाई एक गीलास तातो पानीमा हालेर छोपिदिनुहास । छोपेको ५ मिनेट पश्चात यो औषधिलाई बिस्तारै स्वाद लिदै पिउनु होस । यसरी बनाएको औषधि दैनिक २ देखि ३ चोटी पिउनुहोस।

    छ. एक गिलास दुधमा १ देखि २ ग्राम शुद्घ बेसार हालेर राती सुत्ने बेलामा पिउनुहोस । यो विधिले पनि प्रतिरक्षा प्रणालीलाई मजबुत पार्दछ ।   

    ज. आधा आधा घण्टामा एक – एक गिलास मनतातो पानी पिउदै रहनु होला ।

    झ. ज्वानोको झोल:  तात्तातो ज्वानोको झोलले पनि मुख एवं  घांटीमा रहेका व्याक्टेरिया एवं भाइरस मार्न मद्धत गर्दछ।
    #सोसल मिडियामा शेयर

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, विचारLeave a Comment on कोरोना प्रतिरोधी जडीबुटीहरू

    अब किसानकै लागत मुल्यमा घरघरमा तरकारी, किन्ने होइन त !

  • १२ बैशाख २०७७, शुक्रबार ०९:२९ मा प्रकाशित
  • दाङ, ११ बैशाख २०७७
    दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा केन्द्रिय कार्यालय रहेको उज्यालो विहानी फाउन्डेसनले अनलाइन खरिदबिक्री सेवा Buysewa को समन्वयमा अब घरघरमा किसानकै लागत मुल्यमा तरकारीहरु होम डेलिभरी दिने भएको छ ।

    हाललाई घोराही बजार क्षेत्र आसपासमा मात्र सेवा प्रदान गर्ने सोच बनाएको र बिस्तारै सेवाको क्षेत्र विस्तार गरिने Buysewa का अध्यक्ष चार्टर्ड एकाउन्टेन्ट सुदन बिसीले बताउनु भयो ।

    बजारमा पाइने तरकारीजन्य बस्तुहरु अत्यधिक महंगो र गुणस्तरहिन वा कम गुणस्तरको भएको भन्ने ब्यापक जनगुनासोलाई मध्यनजर राखी हाललाई बाध्यात्मक रुपमा Buysewa को समन्वयमा होम डेलिभरी सेवा सुरु गर्नु परेको उज्यालो विहानी फाउन्डेसनको अध्यक्ष डा. गिर रोदन महराले जानकारी दिनुभयो ।

    हाललाई यो सेवा लकडाउन अवधिभर कायम रहने बताउदै तरकारी उत्पादक किसानहरुले आफ्ना उत्पादित तरकारीहरु बिक्रीका लागि र उपभोक्ताहरुले खरिदका लागि Buysewa एप मार्फत वा उज्यालो विहानी फाउन्डेसनको मोबाइलमा सम्पर्क राख्न अनुरोध गर्नुभयो ।

    फाउन्डेसनको लागतमा गाडी रिजर्भ गरि तरकारी उत्पादक किसानको बिक्री मुल्यमै तरकारीहरु स्वयंसेवकहरुले घरघरै होम डेलिभरी दिने फाउन्डेसनका सचीव तुला बिकले बताउनु भयो।

    तरकारी किन्न चाहने उपभोक्ताहरुले उज्यालो फाउन्डेसनका मेम्बरहरुको मोबाइलमा सम्पर्क गरेर, बाइसेवाको अनलाइन फर्म भरेर आफ्नो अर्डर गर्न सकिने बाइसेवाका अध्यक्ष बिसीले बताउनु भयो ।

    विगत लामो समय देखि समाज सेवामा समर्पित उज्यालो विहानी फाउन्डेसन कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउनका अवधिमा निकै सक्रिय भएर अगाडि बढिरहेको छ ।

    फाउन्डेसनका युवाहरुको निस्वार्थ सेवा प्रतिको समर्पण, जोश, जागर अनि उर्जा साच्चिकै तारिफयोग्य छ । ती युवाहरू घाम, पानी, भोक, तिर्खा, दिन, रात, निद्रा केही नभनी मेशिनझै खटेको देख्दा लाग्छ संसारमा दया,माया र मानवीयता मरेकै छैन ।

    लकडाउनका अवधिमा बाहिर हिड्नु हुँदैन भन्ने सचेत हुदाहुदै पनि जब पीडितहरुको फोन आउँछ, खबर आउँछ उनिहरु प्रहरीसँग लुक्दै सरोकारवाला निकायसँग समन्वय गरि राहत लिएर दौडिन्छन ।

    फाउन्डेसनका युवाहरू कहिले घरधनिद्वारा निकालिएकि चेलीको उद्वार गर्न पुग्छ्न त कहिले रगत नपाई तड्पिएको बिरामीलाई रक्तदान गर्न जुट्छन । कहिले अलपत्र यात्रुको उद्वार गरि गन्तब्यमा पुर्‍याउने प्रयास गर्छन त कहिले छाक बसेका गरिब, मजदुर, विपन्न, पीडितहरुको घरदैलोमा चामल, दाल, नुन, मसलाको थैलो आफै बोकेर पुग्छन ।

    त्यस्तै पैसाको जोहो गरेर कहिले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि मास्क, पिपिईको ब्यवस्थापन गर्छन त कहिले आफै खाना बनाई बोकेर भोकाएर तड्पिएका यात्रुहरु भएकै स्थानमा पुगि भरपेट खाना खुवाउछ्न ।

    राहत सामग्री खरिदका लागि फाउन्डेसन मेम्बरहरुले नगद रकम मात्र उठाएनन । त्यतिले नपुगे पछि आफ्नो घडी, मोवाइल, बाइक सम्म पनि बेचेर निरन्तरता दिने बताउछन् ।

    अर्डर गर्ने लिन्क: अर्डर गर्नका लागि तल Buysewa लेखेको लिंकमा दबाउनु होस् ।
    Buysewa

    सम्पर्क मोबाइल नम्बर
    जेपी केसी : ९८२२९७२७४०
    तुला बि के : ९८०६२४३६०३
    मनोज श्रेष्ठ : ९८६६२४२९२४

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on अब किसानकै लागत मुल्यमा घरघरमा तरकारी, किन्ने होइन त !

    बंगलाचुलीबाट एक जना घोराही रेफर, क्वारेन्टाईनमा एक जना थप

  • १० बैशाख २०७७, बुधबार १९:४२ मा प्रकाशित
  • बसन्त अनुभव

    कमिरेचौर १० बैशाख २०७७
    दाङ जिल्लाको बंगलाचुली गाउँपालिकाले एक जना ब्यक्तिलाई बुधबार घोराही रेफर गरिएको छ ।

    बंगलाचुली- ३ तापा घर भएका एक २५ वर्षीय युवालाई कोरोना संक्रमणको आशंकामा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसन राख्नका लागी रेफर गरिएको बंगलाचुली गाँउपालिका, स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर वलीले जानकारी दिनुभयो । निजलाई हिजोमात्र बंगलाचुली गा.पा. वडा नं. ४ झुलिडाँडामा रहेको क्वारेन्टाइन स्थलमा राखिएको थियो ।

    त्यसैगरी बंगकाचुली गा.पा. स्थित झुलिडाँडा क्वारेन्टाईन स्थलमा बुधबार एकजना व्यक्ति थप भएका छन् । बंगलाचुली गाउँपालिका वडा नं. ६ रिभान घर भई हालै चितवन नारायणघाटबाट आउनु भएका एक ४५ वर्षिय पुरुषलाई क्वारेन्टाईनमा राखिएको हो ।

    योसंगै झुलिडाँडा क्वारेन्टाईन स्थलमा रहेका ब्यक्तिहरुको संख्या ७ जना पुगेको छ । भने एक जनालाई रेफर गरिएको छ । यस अघि गाउँपालिकाले क्वारेन्टाईन बसेका ७ जना ब्यक्तिहरुलाई घर पठाई सकेको जानकारी स्वास्थ्य शाखा प्रमुख जिसीले दिनुभयो ।

    गाँउपालिकाले हालसालै संक्रमित क्षेत्र, भारत तथा अन्य देशबाट आएका ब्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ । निजलाई क्वारेन्टाइन अवधिभर कोरोना सम्बद्व कुनै लक्षण नदेखिए आवश्यक सल्लाह, सुझाव र परामर्श सहित घर पठाउने तर कोरोना संबद्ध लक्षण देखिए वा आशंका लागेमा रेफर गर्ने गरेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on बंगलाचुलीबाट एक जना घोराही रेफर, क्वारेन्टाईनमा एक जना थप

    नेपालमा कोभिड १९ को संक्रमित संख्या ४५ पुग्यो

  • १० बैशाख २०७७, बुधबार १७:२७ मा प्रकाशित
  • काठमाडौं, १० बैशाख २०७७
    नेपालमा कोरोना भाइरस संक्रमितको संख्या थप ३ जना वृद्धि भएको छ ।

    बुधबार वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको आर टि पीसीआर परीक्षणबाट थप ३ जना कोरोना संक्रमीत भएको पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ४५ जना पुगेको छ ।

    बुधबार संक्रमित भएको पुष्टि हुनेहरुमा २४, ६० र ७२ वर्षीय पुरुष रहेका छन् । उनीहरुको थप विवरण भने खुलाइएको छैन । उनिहरु पनि उदयपुरको त्रियुगा नगरपालिका भुल्केको भएको जानकारी प्राप्त भएको छ । मस्जिदमा लुकेर बसेका कोरोना संक्रमितबाट संक्रमित हुन पुगेको बुझिएको छ ।

    क्वारेन्टाइन स्थलबाट ती संक्रमितलाई अस्पताल ल्याउने तयारी भइरहेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधबार आयोजित पत्रकार सम्मेलनमा गराउनु भएको हो ।

    साथै प्रवक्ता देवकोटाले दिएको जानकारी अनुसार आजै थप २ जना निको भइ डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेमा सेती प्रादेशिक अस्पताल, धनगढीका ४० वर्षीय र टेकु अस्पतालका ३२ वर्षीय पुरुष रहेका छन ।

    यो सँगै निको भइ डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ७ जना पुगेको छ । बाकी संक्रमित विरामीहरुको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on नेपालमा कोभिड १९ को संक्रमित संख्या ४५ पुग्यो

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P