आफ्नो ३८ औ जन्मदिनको अवसरमा तुलसीपुरका एक युवाले गरे रक्तदान

  • १३ बैशाख २०७७, शनिबार १०:५९ मा प्रकाशित
  • -बसन्त अनुभव-

    तुलसीपुर, १३ बैशाख २०७७
    तुलसीपुर उपमहानगरपालिका, जनस्वास्थ्य प्रवर्द्धन महाशाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक बिमल केसीले आफ्नो ३८ औ जन्मदिनको अवसरमा रक्तदान गर्नुभएको छ ।

    उहाँ सँगै अन्य दुईजना ब्यक्तिहरुले पनि रक्तदान गर्नुभएको थियो । रक्तदान गर्नेमा नगर स्वास्थ्य केन्द्र पर्सेनीमा कार्यरत अनमी कमला बोहरा र अप्टोमेट्री अध्ययनरत विद्यार्थी रविन्द्र थापा रहनु भएको छ ।

    रक्तदान बाट शरिरमा उर्जा थपिने, सकारात्मक सोचको विकास हुने र समाज सेवामा मन लाग्ने जस्ता कुराहरू फाइदा हुने बताउने केसीले यो सँगै २१ पटक रक्तदान गरिसक्नु भएको जानकारी दिनु भएको छ ।

    साथै उहाँले रक्तदान भनेको जिवनदान हो । हामीले दिएको रगतले कसैले जीवन प्राप्त गर्दछ भने त्यो भन्दा ठूलो पुण्य अरु केही हुन नसक्ने बताउनुभयो ।

    रगत बन्ने मर्ने शरीरमा निरन्तर चलिरहने प्रक्रिया भएकोले हरेक १२० दिनमा रगत खेर जाने गर्दछ । यसरी त्यसै खेर जाने रगतलाई रक्तकमिका कारण अकालमा ज्यान गुमाउन वाध्य अवस्थामा पुगेका ब्यक्तिलाई दिएर उसको जीवन बचाउन सकिन्छ ।

    हामीले गरेको रक्तदानबाट साप्ताहिक डायलाइसिस गर्नुपर्ने बिरामीहरु, अप्रेसन गर्नुपर्ने विरामीहरु, अप्रेसन गर्नुपर्ने सुत्केरी, सिकलसेल एनिमिया पीडित बिरामीहरु, थैलेसिमिया रोग पीडित जस्ता बिरामीहरुले जिवनदान प्राप्त गर्न सक्दछन ।

    लकडाउनको समयमा तुलसीपुर लगायत समग्र दाङ जिल्लामा देखिएको रगत अभावलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाईटी दाङ शाखाद्वारा रक्त संकलनको अभियान नै संचालन गर्दै आएको छ । उक्त अभियानमा दाङ जिल्लामा क्रियाशिल संघसंस्थाहरुले दैनिक जसो रगत संकलन कार्य गरिरहेका छन।

    Leave a Reply