• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

विदेश पठाउने भन्दै पैसा लिएर सम्पर्कविहीन

  • ५ आश्विन २०८१, शनिबार १४:१८ मा प्रकाशित
  • दाङ, ५ असोज । दाङमा क्रोसिया पठाउने भन्दै युवाहरूसँग पैसा लिएर म्यानपावर व्यवसायी सम्पर्कविहीन भएका छन् । घोराही उपमहानगरपालिका–१५ तुलसीपुरचोक (भानुचोक) नजिकै रहेको दियालो कन्सल्टेन्सी सञ्चालन गर्ने घोराही निवासी शम्शेर सिंहलगायत तीन जना करिब एक करोड रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएका छन् ।

    म्यानपावर व्यवसायी सिंहसँगै तुलसीपुर निवासी कृष्ण पुन र भैरहवा निवासी पिताम्बर यादव दुई महिनादेखि सम्पर्कविहीन भएको पीडितले बताएका छन् । पीडितले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर क्रोसिया पठाउने भन्दै एक लाखदेखि १० लाख ५० हजार रुपैयाँसम्म उठाएका सिंहलगायत तीन जना सम्पर्कविहीन भएको पीडित रोल्पा निवासी धनबहादुर विकले बताएका छन् ।

    क्रोसिया पठाउने भनेर आपूmसँग दुई पटक गरेर १० लाख ५० हजार रुपैयाँ लिएर अहिले सम्पर्कविहीन भएको उनले बताए । ‘क्रोसिया पठाउने भनेपछि मैले दुई पटक गरेर शम्शेर सिंहलाई १० लाख ५० हजार रुपैयाँ दिएको हुँ’, पत्रकार सम्मेलनमा धनबहादुरले भने, ‘तर पैसा लिएका म्यानपावर व्यवसायी सिंह अहिले सम्पर्कमा छैनन् ।’

    धनबहादुरलाई क्रोसिया पठाउन नसकेपछि म्यानपावर व्यवसायी सिंहले २०८० चैतमा अजरबैजान र त्यसपछि कम्बोडिया भिजिट भिसामा पठाएका थिए तर त्यहाँ काम नपाइने भएपछि फर्किएर आउँदा म्यानपावर व्यवसायी सम्पर्कमा नभएको बताए । ‘ऋण काढेर जुटाएको पैसाको व्याज बढेर १२÷१३ लाख पुग्न लागेको भनेपछि म्यानपावर व्यवसायी सिंहले राम्रो काम पाइने र त्यहाँबाट युरोप, अमेरिका जान सकिने भने ।

    उनको विश्वासमा गत चैतमा अजरबैजान र त्यसको एक महिनापछि नेपाल फर्किएर कम्बोडिया गएको थिएँ’, पत्रकार सम्मेलनमा धनबहादुरले भने, ‘तर त्यहाँ केको कमाइ हुनु, काम नै नपाइँदो रहेछ ।’ त्यहीँबाट म्यानपावर व्यवसायीलाई सम्पर्क गर्दा सम्पर्कमा नआएपछि घरबाट पैसा पठाउन लगाएर नेपाल फर्किएको बताए । असारमा नेपाल फर्किएका धनबहादुरलगायत तीन जनाले साउन ४ गते वैदेशिक रोजगार विभागमा ठगिएको भन्दै सिंहसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको बताए ।

    धनबहादुर जस्तै ठगिनेमा रोल्पाकै अमर विक पनि रहेका छन् । क्रोसिया जानका लागि म्यानपावर व्यवसायी सिंहको सम्पर्कमा पुगेका अमरलाई सिंहले कम्बोडियामा आकर्षक काम र पैसा कमाउन सकिने र पछि त्यहीँबाटै युरोप, अमेरिका जान सकिने भन्दै चैतमा कम्बोडिया पठाएका थिए । आकर्षक काम र पैसाको लोभमा कम्बोडिया पुगेका विकले पैसा कमाउने त परैको कुरा काम नपाएर दुःख पाएपछि तीन महिनापश्चात फर्किएको बताए ।

    ‘कम्बोडियाबाट पटक–पटक सम्पर्क गरेका थियौँ, सम्पर्क हुन सकिन, यहाँ आएर पनि खोज्ने प्रयास ग¥यौँ तर भेट्नै नसकेपछि ठगिएको महसुस गरेर वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरेका हौँ’, उनले भने, ‘हामी जस्तै अन्य कोही नठगिनु होला भन्न चाहन्छौँ ।’ अमरले कृष्ण पुन र पिताम्बरको खातामा पैसा हालिदिएका थिए । पैसा लगेपछि अहिले घोराहीमा रहेको म्यानपावरको कार्यालय समेत बन्द गरेर सम्पर्कविहीन भएको अमरले बताए ।

    धनबहादुर र अमरजस्तै २२ जना बढीको करिब एक करोड बढी रकम कुम्ल्याएर म्यानपावर व्यवसायी सिंहसँगै कृष्ण र पिताम्बर भागेको पीडितले पत्रकार सम्मेलनमा बताएका छन् । ठगिएका व्यक्तिबाट एक लाखदेखि १० लाखसम्म रकम उठाएर तीन जना सम्पर्कविहीन भएको भएको देवीकला महराले बताइन् । ‘सुरुमा फोन गर्दा पठाउन नसके पैसा फिर्ता दिन्छौँ भन्थे’, उनले भनिन्, ‘तर अहिले न मान्छे सम्पर्कमा छन् न पैसा दिन्छन् ।’ महराले छोरालाई विदेश पठाउनका लागि एक लाख रुपैयाँ म्यानपावर व्यवसायी सिंहलाई दिएकी थिइन् । उनीले जसरी भए पनि पक्राउ गरेर ठगिएका नागरिकलाई न्याय दिन प्रशासनसँग माग समेत गरेकी छन् ।

    Posted in मुख्य खबर, समाजLeave a Comment on विदेश पठाउने भन्दै पैसा लिएर सम्पर्कविहीन

    पुस्तक परिचयात्मक समीक्षा; लघुकथासङ्ग्रह ‘चाक चारब्रा’

  • ५ आश्विन २०८१, शनिबार ०८:१६ मा प्रकाशित
  • कृतिकार: मुक्ति गौतम
    समीक्षक: डा. शंकरप्रसाद गैरे

    ‘चाक चारब्रा’ लघुकथासङ्ग्रहका लेखक मुक्ति गौतम भारतीय मुलका नेपाली हुन् । मणिपुरको कालापहाडमा जन्मिएका गौतमले माध्यमिक तहको अध्ययन गरेका छन् ।
    लामो समय शिक्षण सेवामा संलग्न रहेर सेवा निवृत्त भएका गौतमले निबन्ध विधामा कलम चलाएका छन् भने विभिन्न कृति तथा पत्रपत्रिकाको सम्पादन समेत गरेका छन् ।

    आधा दर्जनभन्दा बढी कृतिका लेखक गौतमले सन् १९८० को दशकमा गुवाहाटीबाट प्रकाशित हुने ‘हाम्रो ध्वनि’ पत्रिकामा एक मिनेटका कथा नामबाट प्रकाशित भएका छोटा कथाबाट प्रभावित भएर लघुकथा लेखनमा लागेको देखिन्छ ।

    विभिन्न पत्रपत्रिका र नमस्ते आधुनिक लघुकथा मञ्चको पेजमा आफ्ना लघुकथा प्रकाशित गर्दै आएका गौतमको ‘चाक चारब्रा’ पहिलो लघुकथासङ्ग्रह हो । सानासाना आकारका एकचालीसवटा लघुकथा समेटिएको यस सङ्ग्रहको नाम मणिपुरे भाषामा राखिएको छ । चाक चारब्राको अर्थ खाना खानुभो ? भन्ने लाग्छ । कृतिको अठ्ठाइसौँ क्रममा यही शीर्षकको लघुकथा समाविष्ट छ ।

    सामाजिक यथार्थ र आदर्शलाई प्रस्तुत गरिएको यस कृतिमा समाविष्ट लघुकथाहरूले विषयगत विविधतालाई प्रस्तुत गरेको पाइन्छ । केही भारतीय परिवेश, केही नेपाली परिवेश र केही दुवै देशलाई मिल्ने परिवेशमा आधारित यिनका लघुकथामा समस्यालाई प्रस्तुत गर्दै तिनको समाधान खोज्ने कार्य गरेको पाइन्छ । शहर र गाउँका विशेषता र समस्या, मान्छेका मनोभावना, स्वार्थ, मानवेतर प्राणी, शरीरका अङ्गको मानवीकरण, गरिएका लघुकथाहरू सरल र सुन्दर छन् ।

    शीर्षक चयनलाई अभिधेय तुल्याइएकाले सरल बनेको देखिन्छ । युवा वर्गमा देखिएको विकृति, उद्दण्डपन, बृद्धप्रतिको अनुदारपना, गाउँको विशालता र शहरको साँघुरोपन, अमानवीय हत्याहिंसा, ठट्टामा हुने दुर्घटना, सासूससुराको सम्मान र सेवा गर्ने आदर्श बुहारी, स्वार्थी र झुटो बोल्ने नेताप्रतिको वितृष्णा, कोरोना कहर, दुर्घटना, पुत्र तथा सन्तानमोह र पत्नीको अपहेला, आदर्श छोरा, आदर्श छिमेकी, सङ्घर्ष र मानवता, बिग्रिएको नयाँ पुस्ता, अधिकारका नाममा विकृति, लोभ, अकर्मण्यता, घमण्ड, लगायतका विषयलाई विभिन्न विषयप्रसङ्गका माध्यमबाट प्रस्तुत गरिएको छ ।

    विषयमा वैविध्य प्रस्तुत गर्ने गौतमका लघुकथाहरू सरल र रैखिक ढाँचामा लेखिएका छन् । केही रचनामा व्यङ्ग्य चेतना देखिन्छ भने अत्यधिक रचनामा आदर्श चेतना देखिन्छ ।

    पछिल्लो समयको एकल परिवारको प्रभावले आमाबाबुलाई बिचल्लीमा पारेका मार्मिक सन्दर्भ प्रस्तुत गर्ने गौतमका लघुकथा समयको प्रतिध्वनिका रूपमा देखापरेको छ ।

    २०८१ वैशाखमा प्रकाशित लघुकथासङ्ग्रह `चाक चारब्रा´को प्रकाशन आधुनिक लघुकथा मञ्चले गरेको हो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभव1 Comment on पुस्तक परिचयात्मक समीक्षा; लघुकथासङ्ग्रह ‘चाक चारब्रा’

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३५ सम्पन्न

  • ५ आश्विन २०८१, शनिबार ००:१३ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ३५ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३५ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    फोहोर राखेको खाल्डोमा
    फोहोरीले राजनीति खेलेपछि
    चढ्छन् फोहोरहरू उकालोमा ।
    २,
    कलमभन्दा दिमाग चलाउॅंछन्
    अक्सर सबै क्षेत्रभित्र
    विशुद्ध कलमकर्मीलाई लडाउॅंछन् ।
    ३,
    छक्कापन्जा जो जान्दछ
    पारिरहन्छ कुर्सीमा मानौँ
    सर्पले गडुल तान्दछ ।

    • म्यामराज राई
      …
      १,
      राजनीतिक गन्दगीको खेल
      जतिखेर पल्टिन सक्छ
      हुन्छ वर्षायामको भेल ।
      २,
      आफू कुर्सीमा बसेर
      सोझा जनता लडाउँछन्
      बलियो कम्मर कसेर ।
    • केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम, (हाल भारत)
      …
      १,
      लडाइँ धेरै भए
      निर्धा निर्धा जुधे
      बलिया माथि गए ।
    • ताराप्रसाद चापागाईँ
      …
      १,
      मैदानमा लड्छन् साना
      लडाई हिॅंड्छन् ठूलाठालु
      जहिल्यै बोकी तानाबाना।
      २,
      मर्ने उही साना
      जहिल्यै उम्कने ठूलाबडा
      टुट्ने सानाकै माना।
      ३,
      कस्ले बुझ्ने कुरा ?
      लडाइँ मात्र सानाको
      ठूलाकै चाहना पुरा ।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-क्यानडा,क्यालगरी।
      …
      १,
      लडाइँ गर्दागर्दै गए
      सबैभन्दा माथि ठूलाठालुहरू
      निर्धाहरू तल भए ।
      २,
      ठगी खान पल्केका
      दुखी गरिब लडाएर
      माथि पुगेर झल्केका ।
      ३,
      राजनीतिक सत्ताको खेल
      भ्रष्टाचार देशमा गर्दै
      गरे जनतालाई झेल ।
    • बेदु न्यौपाने
      …
      १,
      चलाख हुन खोज्नेले
      पाखण्डी बनाए जनता
      राजनीति गर्न रोज्नेले !
      २,
      गरेर गणतन्त्रको नाउँ
      जनताको आँखा टालेको
      कुर्सी ओगट्ने दाउ !
      ३,
      उहिले मान्थे घिन
      ऐले चारैतिरबाट चाहियो
      देश चलाउन रिन !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
      …
      १,
      सत्तामा जहिल्यै रडाको
      विचराको बानी हटेन
      भाषण सुन्नुस् बडाको।
      २,
      हर्रो नपाउने जोगी
      यसै भन्थे हामीलाई
      रहिछस् जाइफलको भोगी।
    • चुडामणी देबकोटा, पुरानोनैकाप काठमाडौँ
      …
      १,
      राजनीति फोहोरी खेल
      देश डुबाउने नेतालाई
      लागेर कोच्नुपर्छ जेल ।
      २,
      आँखामा हाल्छन् छारो
      कहिलेकाहीँ सम्झिदा पनि
      तातेर आउँछ पारो।
      ३,
      मार्नुपर्छ गोली हानेर
      देश खाने जति
      यहाँ सबैलाई छानेर ।
    • ललिता गिरी, सिन्धुली
      …
      १,
      लडाइँ धेरै गरे
      कार्यकर्ता जति लडाएर
      आज नेतामाथि परे।
      २,
      राजनीति फेरि खेल
      नेताले सोझा जनतामाथि
      सधैँ गर्छन् जालझेल।
    • राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
      …
      १,
      खडेरीमा गिट्टी कुट्छन्
      पढ्न लेख्न पाउॅंदैनन
      बालअधिकार सोझै लुट्छन् ।
      २,
      बालअधिकार हुँदैछ हिनामिना
      यसरी दिनचर्या बित्दैछ
      बिचरा! बगाउदै पसिना ।
      ३,
      सफलताको शिखर छुन
      आमाबाबु भगवान् हुन्
      बालबालिकाले पर्दैन रुन ।
    • हिरामाया श्रेष्ठ, गजुरी – १, धादिङ
      …
      १,
      सत्तामा बसेर तिनीहरू
      विदेशीको भक्त बनेर
      हेर लुटिरहेछ यिनीहरू ।
      २,
      कति खान्छौ मागेर
      नेपाललाई युक्रेन बनाउँदैछन्
      विदेशीको खेलमा लागेर ।
      ३,
      जेलेन्स्कीहरु धेरै छन्
      यो देशको लागि
      खतरा भो झन् ।
    • दीप गोले तामाङ – रौतहट
      …
      १,
      देशमा राजनीति खेल
      खुट्टा तान्ने धेर
      सबै यस्तै बाँचुन्जेल।
      २,
      चलाख हुँ भन्नेहरू
      हार खाए धेरै
      अरूको बारी खन्नेहरू ।
      ३,
      मैदानमा लड्छन् दुई
      जित हुन्छ एकको
      अर्कोले खान्छ सुई ।
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा
      …
      १,
      नडुलाऊ लोभी आँखा
      भाग्यमा छैन भने
      कर्मले लगाउँछ पाखा!
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      …
      १,
      चाकरी राज देशमा
      एकअर्को गर्छन् लडाइँ
      आउॅंछन् जोगी भेषमा ।
    • राज बहादुर बडुवाल, जुम्ला
      …
      १,
      हटाउँदैनन् कहिल्यै बालश्रम
      सुनिस्चित भविष्य खै
      फैलाउॅंदै छन् भ्रम !
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      गरे राजनीतिमा धोका
      बेइमानी र छलकपट
      मन्त्री भष्टाचारका पोका !
      २,
      बेचेर अस्मिता देशको
      पुरानालाई उछिन्दै नयाँ
      उस्तै जोगीको भेषको !
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरी
      …
      १,
      फोहोरकै बीउ रोपेपछि
      फोहोर थुपारेको बारीमा
      कृषकले बीउ नछाँटेपछि।
    • लोकबहादुर क्षेत्री लामिछाने
      …
      १,
      राजनीतिमा सधैँ खेल
      सत्तामा कसरी पुग्ने
      जनतालाई गरे झेल ।
      २,
      इमानको कुरै नगरौँ
      बेइमानीले गरे राज
      नेताको भर नपरौँ ।
      ३,
      जनता पनि मिलेका
      नेताका चिप्ला कुराले
      मासु भातमा बिकेका ।
    • कृष्ण बजगाई भक्तपुर
      …
      १,
      बेरोजगारी धेरै भए
      रोजगारी दिन्छौँ भन्ने
      नेता कहाँ गए।
      २,
      अत्याचार बढ्दै गएको
      समाजमा जातिय विभेदको
      अन्त्य कहिल्यै नभएको ।
    • कला ढकाल, झापा
      …
      १,
      आपसमा सहनशील बनेर
      गरौँ सेवा मानवको
      दिव्यचक्षु अविरल बिउँझाएर।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा -१४, साँगाबजार
      …
      १,
      कुरा गर्छन् जातिको
      दाउमा हुन्छन् सबै
      चौकी हेरेर माथिको ।
      २,
      विकासको रकम खाएर
      भाँडो भरियो नेताज्यूको
      जनताले दुःख पाएर ।
      ३,
      सपनाको कुरा गर्छन्
      पूरा हुँदैन कहिले
      भन्दा आँखा तर्छन् ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      …
      १,
      जो छ खास
      मनको सुन्दर बगैँचामा
      उसैको लाग्छ आस !
    • आर्त अकुलीन
      …
      १,
      राजनीतिले डामाडोल गरायो
      सुरक्षा छैन केही
      गाँसबास पनि हरायो।
    • सीता सुनगाभा पोखरेल
      …
      १,
      हुँदैन साथीको अभाव
      निस्वार्थ सहयोग गरे
      सबैमा राख्दै प्रेमभाव !
      २,
      किन नराम्रो बन्छौ ?
      गर व्यवहार उहीँ
      अरूबाट जे चाहन्छौ ।
      ३,
      किन भौतारिन्छौ रोज ?
      नियाल आफूभित्रै तिमी
      खुसी बाहिर नखोज !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      दुःखी धेरै मन
      किन यस्तो सधैँ ?
      पर्‍यो मैले सहन ।
      २,
      आफ्नो मन चङ्गा
      बोल्न पनि नसक्ने
      किन यस्तो महङ्गा ?
      ३,
      मान्छेको लोभी जात
      फाइदा मात्र हेरेर
      हान्छन् मौकामा लात ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      किन हेर्छौ तर्केर
      आउने गरको छु
      साँझ घर फर्केर ।
      २,
      जे जुर्छ खाउँला
      नगरी सुख छैन
      कर्म गर्न जाउँला ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      खेल भयो कस्तो
      कसैले जान्दैन भन्छ
      नियम नभएको जस्तो।
      २,
      सफा कुन खेल
      ज्ञानको पुस्तक हेर
      कहाँ छैन झेल ?
      ३,
      मेरो कुरा जातिमा
      सुन्ने सबै चुपचाप
      चामल हाल पाथीमा।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      खेतमा झार पलायो
      खडेरी लागेर होला
      किसान हृदय जलायो ।
      २,
      खेलौ जुहारी साथी
      जान्ने भएर हारेछ
      घमण्डी पुग्दैन माथि ।
      ३,
      हजार मान्छेको भीड
      ठाउँ भेटाउन गाह्रो
      चारैतिर छन् छिॅंडैछिॅंड ।
    • अम्बिका अधिकारी, झापा बिर्तनमोड
      …
      १,
      धैर्य सहनशीलता भित्र,
      कहिलेकाहीँ हिंसाको मात्रा
      झाँगिॅंदोरहेछ नि मित्र !
      २,
      सहनुको सिमा आफैँले
      तोक्नु सबैतिर हेरी
      देख्दैन शोषित कसैले।
      ३,
      न्याय अन्यायको तराजु
      साँच्चै अन्धो हुन्छ
      शोषण गर्दछ बराजु ।
    • मनोहरी पौडेल, गैडाकोट १
      …
      १,
      धेरैजसो उस्तै गए
      कसको विश्वास गर्नु
      भेडा जम्मा भए।
      २,
      राजनिती कच्चा खेल
      गल्ती गर्ने सबैलाई
      बाँध्नु पर्ने नेल।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      सबै समयको खेलाँ
      लागिरहन्छ सधैँ नै
      बेला न कुबेला ।
      २,
      स्वार्थविनाको यो संसार
      कहाँ पाउने मानिसले
      खोजी गर्नु बेकार।
      ३,
      जसले देश डुबायो
      लोभी पद प्रतिष्ठा
      विदेशीलाई गुन लगायो।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …
      १,
      लागिरहन्छ मनमा पिर
      समय यस्तो होकि
      खोटो हो तक्दिर ?
      २,
      कहिल्यै मात्तिन सुखसँग
      दिनरात छ साथमा
      गुनासो गर्दिन दुखसँग।
      ३,
      जिन्दगी बगेको खोला
      जीवनमा सुखदु:ख त
      कस्लाई पो नहोला ?
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      राष्ट्रघाती दलाल भ्रष्टाचारी
      शानले गाडीमा सवार
      बनेर हिॅंड्छन् सदाचारी
      २,
      फटाहाहरू उफ्रेका सदनमा
      पीडाले रुन्छिन् धर्तीमाता
      छैनन् पीडाहरू वदनमा।
      ३,
      आरोप प्रत्यारोप आपसमा
      सदनमा भत्ता पचाउने
      फिरेनन् विवेकता राकसमा।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      पानी परेर रमायो
      रमायो औधी किसान
      धानले फूल लगायो ।
      २,
      आशाको दीप जलेछ
      खडेरीले खान लागेको
      बादलको जल झरेछ ।
      ३,
      पार्टीहरू सबै टुक्रेर
      स्वार्थको लागि जुटन
      खाली भाषणमा डुक्रेर ।
    • भगवती दवाडी
      …
      १,
      फोहोर भएको सहरमा
      हराभरा बनाएर रमाइलो
      रहिरह्यो देखिरहने रहरमा ।
      २,
      फोहोरै फोहोरको सहर
      सरकार हेरेरै बसिरह्यो
      नपुग्दासम्म आफ्नो रहर ।
      ३,
      खडेरीमा गिटी कुट्छन्
      दिनचर्या चलाउन पर्दछ
      मङ्सिरमा खेती चुट्दछन् ।
    • रक्षा काली
      …
      १,
      सत्य धेरैलाई पच्दैन
      दुश्मनी मोल्न अगाडि
      यसर्थ आफ्नोपन बच्दैन ।
      २,
      धर्तीमा पाहुना मानव
      जानेर वा नजानी
      कोही बने दानव ।
      ३,
      प्रेम मजाक बनाए
      किन गर्छन् दुरुपयोग ?
      केवल बहानामा सताए ।
    • पृथक प्रकृति, झापा
      …
      १,
      विश्वासमा मन जाग्छ
      भूलको क्षमा पाउँदा
      सहानुभूतिले दया लाग्छ ।
      २,
      मित्रताको बन्धन कसिलो
      अपदस्तमा हुनुपर्छ संवेदना
      भेटघाटको औपचारिकता मलिलो ।
      ३,
      यात्रा हाम्रो नटुङ्गियोस्
      लक्ष्यमा अवश्य पुग्नेछौ
      पाइलाहरू एकाअर्कामा नछुट्टियोस्।
    • दिल ठकुरी
      …
      १,
      कुरा उठ्छ बारम्बार
      सुनिश्चित हुन्छ कहिले
      हाम्रो देशमा बालअधिकार ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा.-६, दोलखा
      …
      १,
      गरेर उच्च कर्म
      सदैव सत्यमा लाग
      निभाउनु सनातन धर्म।
      २,
      गरेर दुखीको सेवा
      मरेर आफू बचाऊ
      पाउनेछौ माथि मेवा।
      ३,
      जीवनको सार बुझेर
      जीवन नटुङ्गिने यात्रा
      गर सङ्घर्ष जुझेर।
    • सरस्वती श्रेष्ठ रुपन्देही बुटवल
      …
      १,
      पानीले ताल फुटाउँछ
      मायाको कमजोर धरातलले
      जिन्दगीको यात्रा टुटाउँछ।
      २,
      जनतालाई मूर्ख बनाएर
      सत्तामा बसिरहन पाऊॅं
      खुइलिएको तालु कनाएर।
    • होमप्रसाद नेउपाने, धरान,सुनसरी
      …
      १,
      गरेर बालअधिकारको कुरा
      देखेर मात्रै कहिले
      हुँदैन सपना पूरा ।
      २,
      वर्षमा एकदिन रमाएर
      निर्धक्क बन्ने बालबालिका
      आधार केलाई समाएर ?
    • पुष्पा राई, बादेल, खोटाङ
      …
      १,
      भ्रष्टहरूको छ सत्ता
      जति विरोध गर
      हल्लिॅंदैन एउटा पत्ता ।
    • अरुण कुमार भुजेल, दार्जिलिङ्ग, भारत
      …
      १,
      नेपाल आमाका सन्तान
      गर्छन् सधैँ लुछाचुँडी
      नेतालाई चाहिन्छ मान ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
      …
      १,
      बालअधिकार कता हरायो।
      लेखाइमा सिमित छन्,
      बेकारमा रोयो करायो ।
    • भुपेन्द्र राना मगर, धादिङ
      …
      १,
      खराबलाई निकाला गरौँ
      फोहोरी खेल खत्तम
      मनमा शान्ति भरौँ ।
      २,
      राजनीतिले देश खाए
      बाँकी केही राखेनन्
      जनताले दुःख पाए ।
      ३,
      लागौँ देश बचाउन
      हामी सबै जुटेपछि
      नेताले सक्दैनन् पचाउन।
    • लक्ष्मण देउवा, डोटी
      …
      १,
      तिज पर्व गयो
      समय सँगसँगै घुमेर
      यताउता सुनसान भयो ।
    • शोभा आाचार्य गौतम, काठमाडौँ
      …
      १,
      नेताका फोहोरी पहर
      हटाऔॅं सबै मिली
      ल्याउनलाई नयाँ लहर।
    • सन्तु खत्री
      …
      १,
      बोलाउँछ र फर्किन्छ
      भनी घत हेराहेरमा
      सुन्दर घर बनिन्छ।
      २,
      दुवै कानले सुन्ने
      राम्रो श्रीमतीको श्रीगणेशपछि
      आफूले मौनता चुन्ने।
      ३,
      मतलबका कुरा रहेछ
      आज वर्षौँपछि फेरि
      एउटा मेसेज गरेछ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ
      …
      १,
      बुझ्नू, अरूको मर्म
      पुण्य मिल्दछ यहीँ
      गर्यो भने सत्कर्म ।
      २,
      सभ्य समाजमा अटाउन
      दुष्ट आत्माहरूलाई हामीले
      सक्नुपर्छ डाँडो कटाउन ।
      ३,
      चाल्दा नराम्रो खेल
      क्षणिक आनन्दपछि फेरि
      बग्छ आँशुको भेल ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
      …
      १,
      पैसाको महिमा अपार
      जिन्दगीमा छैन भने
      पाइला पाइलामा मार।
      २,
      खल्ती भए खाली
      आफ्ना भन्ने सबै
      तयार गर्न गाली ।
      ३,
      जिन्दगीमा मचिन्छ हाहाकार
      होला पैसाविहीन जीवन
      कहिले बन्दैन साकार ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      परेपछि म थला
      हेरिरहन्छ दुनियाँ मेरो
      पासोमा परेपछि गला ।
    • खडक आर सि मिलन, छेडागाड नगरपालिका -२, साल्मा जाजरकोट
      …
      १,
      कसैले लोभ गर्ला
      चुपचाप काम गर
      जे पर्ला पर्ला ।
      २,
      नाम भएर हुँदैन
      काम ठूलो हुनुपर्छ
      हात्तीलाई कसैले छुँदैन ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
      …
      १,
      घमण्ड बढपन रवाफ
      अतृप्तले खति हुन्छ
      समयले दिन्छ जवाफ ।
      २,
      असल स्वभाव बानी
      विनयी बन्न सिकौँ
      अरूको भलो ठानी।
      ३,
      लोभको खुकुलो पोको
      विवेकले कस्न सकेमा
      रहन्न अधुरो धोको ।
    • जयनारायण नेपाल, इलाम, (हाल सूर्यविनायक २, बालकोट, भक्तपुर )
      …
      १,
      बगाएर भावको खोला
      विकृतिमाथि प्रहार गरौँ
      झिल्काको झरिलो लोला l
      २,
      चेतको दैलो खोलोस्
      कविको ती अन्तरभावना
      सत्यको पक्षमा बोलोस् !
      ३,
      कावा खाँदै उड्छ
      कविको निश्चल हियो
      कैयौँको अन्तरमा बुड्छ l
    • बाबुराम गौतम, गुल्मी

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता1 Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३५ सम्पन्न

    साताका उत्कृष्ट झिल्काहरू- २७

  • ५ आश्विन २०८१, शनिबार ००:०७ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २७ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २७ का लागि झिल्काकारत्रय सोमनाथ लुइटेल “रवि पाल्पाली”, नन्दलाल आचार्य र सुस्मिता अधिकारीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    [१]
    १.
    काम लगाउने ठालु
    परिश्रम गर्ने अर्कै
    सित्तैमा खाने कालू ।
    २.
    शुद्ध कहाँ पाइन्छ
    भेटाउन सकिन्न यहाँ
    खोजेर पनि खाइन्छ।
    ३.
    हुन खोज्छन् भगत
    नास्तिकले गर्छ पूजा
    सबै कुरा फगत ।
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”



    [२]
    १.
    राष्ट्रको ढुकढुकी सुन्दै
    संविधानले आशा जगाएको
    बस्छु मनमा गुन्दै ।
    २.
    संविधान शिरोधार्य बनोस्
    सबैको हृदयमा बसेर
    वैरीका जरा खनोस् !
    ३.
    कसैले लोभ गर्ला
    चुपचाप गर काम
    जे पर्ला पर्ला ।
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर



    [३]
    १.
    संविधान दिवसको शुभकामना
    प्रत्येक नेपाली जनलाई
    अन्यायसँग नहोस् सामना !
    २.
    छाओस् खुसी जनमा
    उत्कृष्ट संविधान पाएर
    सन्तोष होस् मनमा ।
    ३.
    नैतिकता हरेकमा भएमा
    उपयोग हुन्छ विवेकको
    नेता इमानदार रहेमा ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ



    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का1 Comment on साताका उत्कृष्ट झिल्काहरू- २७

    दरबारमार्गबाट पक्राउ परेका एक व्यक्ति ज्यान मार्ने उद्योगका फरार प्रतिवादी

  • ४ आश्विन २०८१, शुक्रबार १२:०३ मा प्रकाशित
  • संविधान दिवसको अवसरमा नागरिक स्तरबाट आयोजित नेसनल डे कन्सर्टमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति ज्यान मुद्दामा फरार अभियुक्त भएको खुलासा भएको छ ।

    दरबारमार्गमा बिहीबार संविधान दिवसका अवसरमा ‘नेशनल डे कन्सर्ट’ को आयोजना भएको थियो । उक्त कन्सर्टमा धकेलाधकेल र अभद्र व्यवहार गरिरहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो ।

    तिलक खड्का नाम गरेका व्यक्ती ज्यान मुद्दामा फरार रहेको पाइएको प्रहरीले जनाएको छ । उनीविरूद्ध प्रहरी वृत्त दरबारमार्गबाट तीन महिनाअघि मुद्दा चलेको थियो। त्रिचन्द्र क्याम्पसमा तीन महिना अगाडि सोही क्याम्पस पढ्ने प्रवेश लामालाई ‘नक’ ले प्रहार गरेर घाइते बनाएका थिए। त्यसपछि खड्काविरुद्ध ज्यान मुद्दाको जाहेरी परेको थियो ।

    पक्राउ परेका खड्कासहितका अन्य केही व्यक्तिले हिजोको कन्र्सटमा पुगेका प्रधानमन्त्ती केपी शर्मा ओली लगायत विरुद्ध नारावाजी समेत गरेका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेनको पक्षमा नारा लगाउँदै ओलीविरुद्ध उनीहरुले चर्को नारावाजी गरेका थिए ।

    साँझमा प्रधानमन्त्री आएर सम्बोधन गर्ने बेला प्रधानमन्त्री ओलीको नाम लिएर अश्लील नाराबाजी र हुटिङ गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । 

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on दरबारमार्गबाट पक्राउ परेका एक व्यक्ति ज्यान मार्ने उद्योगका फरार प्रतिवादी

    ‘जेईको सम्झना’ लघुकथासङ्ग्रहको परिचयात्मक समीक्षा

  • २ आश्विन २०८१, बुधबार ०८:४१ मा प्रकाशित
  • कृतिकार: सुरेशकुमार पाण्डे

    समीक्षक: डा.शंकरप्रसाद गैरे

    ‘जेईकाे सम्झना’ लघुकथासङ्ग्रह वि. सं २०८० फागुनमा प्रकाशित कृति हो । यसका लेखक सुरेशकुमार पाण्डे साक्षर व्यक्ति हुन् । यद्यपि लामाे समय भारतमा पेशा गरेका पाण्डेले साहित्य साधनामा लामै समय व्यतित गरेको देखिन्छ ।

    लघुकथा, कविता, गजल आदि विधामा कलम चलाउँदै आएका पाण्डेका दुईवटा गजलसङ्ग्रह प्रकाशित छन् भने सन् २०२१ मा ‘अनुभव’ नामक हिन्दी भाषाको लघुकथासङ्ग्रह प्रकाशित छ ।

    ‘जेईकाे सम्झना’ नेपाली भाषामा लेखिएको उनको पहिलाे लघुकथासङ्ग्रह हाे । दाङ जिल्लाको घाेराही उपमहानगरपालिकामा बस्दै आएका पाण्डेले आफ्नो कृतिकाे नाम स्थानीय बाेलीकाे प्रचलित शब्दबाट राखेका छन् । जसमा जेईको अर्थ आमा हुन्छ ।

    कृतिको बाह्रौँ क्रममा यही शीर्षकको लघुकथा समाविष्ट छ, जसमा आमाप्रति अगाध श्रद्धा गर्ने छाेराकाे आमाप्रतिकाे आस्थालाई प्रस्तुत गरिएको छ । प्रस्तुत कृतिको नाम ‘जेईकाे सम्झना’ रहनुमा त्यही शीर्षकको एउटा कथामात्र आधार नभएर सङ्ग्रहभित्र आमालाई विषय बनाइएका थुप्रै लघुकथा समावेश हुनुले शीर्षक सार्थक भएको देखिन्छ ।

    लेखक पाण्डेले कतै आदर्श आमाका कथा प्रस्तुत गरेका छन् भने कतै व्यक्तिगत स्वार्थ र सुखसुविधाका लागि सन्तानको हत्यासम्म गर्ने स्वार्थी ममताहीन आमाका कथा पनि प्रस्तुत गरेका छन् । जसरी आमाका आदर्श रूपका साथै कुरूप रूपको प्रस्तुति यिनका लघुकथामा पाइन्छ त्यसैगरी छाेरा वा सन्तानका पनि आदर्श र कुरूप स्वार्थी रूप यिनका लघुकथामा पाइन्छ । यसबाट पाण्डेले परिवार र समाजका एकपक्षकाे नभएर बहुपक्षकाे प्रस्तुति गरेकाे पाइन्छ ।

    पाण्डेले सङ्ग्रहमा समावेश अत्यधिक रचनामा आमालाई केन्द्रीय विषय बनाएको भए पनि अन्य विविध विषयलाई समेत प्रस्तुत गरेका छन् ।

    वेश्याको समाजसेवी रूप र भूमिका, जातीय विभेद गलत हो भन्ने तर आफूले अवलम्बन नगर्ने आडम्बरी प्रवृत्ति, बालश्रम बन्द गर्दा श्रमिक बालकको समस्या, आदर्श तथा स्वार्थी लोग्ने, डाक्टरको लापरबाही, वैदेशिक रोजगारीमा जानेका विविध समस्या, भविष्यवाणीका नाममा ठगी धन्दा चलाउनेहरू, आफन्त बनेर झुक्याउने चोर, जोगी बनेर बालबच्चा चोरी गर्ने, घुसखोर कर्मचारी, पशुप्रेम, ऋण लिएर नतिर्ने आफन्त, मित्रता, जुवाको लत, रक्सीको लत, पर्वलाई भड्किलो बनाउन नहुने सन्देश यिनका लघुकथामा प्रस्तुत भएको छ ।

    सरल भाव र भाषाशैलीको प्रयोग गरेर सामाजिक चेतनामूलक लघुकथा लेख्न मन पराउने पाण्डे कुशल लघुकथा शिल्पी हुन् । उनको कुशल लेखनको परिचय दिने लघुकथासङ्ग्रहका रूपमा जेईको सम्झना प्रस्तुत भएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा2 Comments on ‘जेईको सम्झना’ लघुकथासङ्ग्रहको परिचयात्मक समीक्षा

    वसन्त अनुभव र उनको ‘नेपाली नस्ल’मा एक नजर (परिचयात्मक समीक्षा)

  • १ आश्विन २०८१, मंगलवार ०७:३४ मा प्रकाशित

  • कृतिकार: वसन्त अनुभव

    समीक्षक: लक्ष्मण अर्याल

    वसन्त अनुभव रेडियो नेपालबाट प्रसारित हुने बाल कार्यक्रम सुनेर हुर्किएका अनि त्यसैको प्रभावले साहित्यतिर आकर्षित भएका स्रष्टा हुन् । विष्णुबहादुर र भीमाकुमारी खत्रीका कान्छा सुपुत्र हुन् उनी । उनको जन्म वि. सं. २०३५ साल वैशाख १० गते दाङ जिल्लाको साविक हापुर २ मा भएको हो । हाल उनी जन्मिएको त्यो ठाउँ दाङको घोराही उपमहानगरपालिका १२ गुर्जेमा पर्छ । स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर गरेका अनुभव हाल सरकारी सेवामा कार्यरत छन् ।

    वसन्त अनुभवको दुई व्यक्तित्व छ, सम्पादक र लेखक । व्यङ्ग्य कन्तुर (संयुक्त टुक्का कवितासङ्ग्रह), लघुकथाको सुगन्ध स्मारिका (अङ्क ४ र ५) अनि ऐतिहासिक यात्रा (संयुक्त टुक्का कवितासङ्ग्रह) मा उनको सम्पादन क्षमता देख्न सकिन्छ भने लघुकथाको सुगन्ध १२ फूल १०८ सुगन्ध (२०७९ संयुक्त लघुकथा सङ्ग्रह) र नेपाली नस्ल (लघुकथा सङ्ग्रह)मा उनको लेखनकौशल झल्कन्छ । २०५४ सालबाट लघुकथा यात्रामा लागेका उनको पहिलो लिखित लघुकथा ‘महिला स्वतन्त्रता’ हो । यस विषयमा उनी आफैँले यो लघुकथा डायरीमा सुरक्षित छ भनेकाले उनको पहिलो लिखित लघुकथा कतै प्रकाशित नगरिएको भन्ने बुभिन्छ ।

    बीचमा निकै लामो समय लघुकथा नलेखी मौन बसेका उनले २०७८ सालदेखि लघुकथा लेखमा रफ्तार बढाएर त्यो मौनता तोडेका छन् । २०८० चैतमा ‘नेपाली नस्ल’ लघुकथा सङ्ग्रह प्रकाशित गराएर आफू लघुकथामा सक्रिय भएको उनले पुुष्टि गरेका छन् ।

    वसन्त अनुभवको नेपाली नस्ल सङ्ग्रहभित्र ५४ वटा लघुकथाहरू सङ्ग्रहित छन् । ३४ वटा लघुकथाका शीर्षकहरू एकपदीय छन् भने बाँकी २० वटा लघुकथाका शीर्षकहरू द्विपदीय छन् ।

    उनका लघुकथाहरूमा नेपाली समाज मुखरित भएका छन् । पात्र स्थापनामा विविधता र लेखनमा प्रगतिशीलता छ । सङ्ग्रहमा भुइँमान्छेहरूका समस्याहरू असरल्ल छन् । कतिपय लघुकथाले अभिधेयार्थको बाटो हिँडेका छन् भने कतिपय लघुकथाले प्रतीकात्मक र ध्वन्यात्मक अर्थको फेरो समाएका छन् । मानव र मानवेतर दुबै खाले पात्रहरूको उपयोग गरिएको छ । कतिपय लघुकथामा मान्छेका शारीरिक अवयव (पेट, मुख, हात, टाउको) पनि पात्र बनेर आएका छन् भने कतिपय लघुकथामा त मानवीय भावनाहरू (वेदना)ले पनि पात्ररूप धारण गरेका छन् । जसले गर्दा लघुकथालाई रोचक र पठनीय पनि बनाएको छ ।

    यस सङ्ग्रहका लघुकथाहरू रैखिक ढाँचाका नै छन् । उद्देश्य र आशय प्रष्ट छन् । सामाजिक, राजनैतिक, शैक्षिक बेथितिमाथि गरिएका प्रहारहरू निकै बलिया छन् । लघुकथाहरू भाषागत रूपमा सरल भएर पनि अर्थगत रूपमा गहन छन् । सम्वादमा मिठास छ । सम्पादनमा भने केही थोरबहुत कमीकमजोरी देखिएका छन् । लघुकथाको एकाध ठाउँमा एउटै आशय दिने वाक्यहरूको पुनरावृत्ति भएको छ । प्रकाशनमा हतारो नगरी यी पक्षहरू माथि सामान्य दृष्टि पुर्‍याउन सकेको भए यो लघुकथा सङ्ग्रहको ओज अझै बढ्ने थियो । यद्यपि, व्यङ्ग्यधर्मिता प्रखर रूपमा प्रकट भएको यो सङ्ग्रह आजकल प्रकाशित भएका लघुकथा सङ्ग्रहहरूमध्ये उम्दा सङ्ग्रह हो भन्न सकिने ठाउँ भने यथेष्ट छ ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभवLeave a Comment on वसन्त अनुभव र उनको ‘नेपाली नस्ल’मा एक नजर (परिचयात्मक समीक्षा)

    संसदीय समिति द्ववारा रास्वपाका सभापति रवि लामिछाने दोषी ठहर

  • ३१ भाद्र २०८१, सोमबार १२:१० मा प्रकाशित
  • काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दोषी रहेको ठहर गरेको छ।

    गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको हो।

    समितिले सहकारी ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको उक्त प्रतिवेदन सोमबार प्रतिनिधिसभाका सभामुखलाई बुझाउने तयारी गरेकोछ।

    समितिका एक सदस्यका अनुसार विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकम खर्च गर्दा सभापति लामिछानेको हस्ताक्षर रहेकाले उनीलाई दोषी ठहर गरिएको हो।

    गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको पुष्टि भएको छानबिन समितिले जनाएको छ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on संसदीय समिति द्ववारा रास्वपाका सभापति रवि लामिछाने दोषी ठहर

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५२ सम्पन्न

  • ३० भाद्र २०८१, आईतवार २२:२६ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
    ~<•>~
    प्रतिनिधि टुक्का- १५२
    बालबालिका सडक, भट्टी अनि कारखानामा
    सुनिश्चित छ बालअधिकार, भाषण नारामा ।
    ~<•>~

    टुक्कामाथि टुक्काको १५२ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    [१]
    खान र लाउन दिए पुग्छ, दिनोस् भन्दै काम
    बालबालिका आउँदा दिएको हुँ रामोराम ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    कानुन बनाउनेले नै गरे बालश्रम शाेषण
    उल्टै भन्छन् टेबुल ठाेक्दै गर्नेछाैँ भरणपाेषण ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    [३]
    बालबालिकाको शिक्षादीक्षा हरण गर्दै लगाए धनीले नै काम
    खान लाउन दिए पुग्छ भन्दै बालशोषण गरे सत्ते रामोराम ।
    ✍️
    बेदु न्यौपाने
    [४]
    बालश्रम शोषण हो भन्दै बनाए कानुन
    व्यवहारमा किन उतार्दैनन् तिनै जानुन।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी
    [५]
    बालश्रम मुक्तिको नारा भयो अति सस्तो
    अधिकारीबाट बच्चा शोषित हुने कस्तो!
    ✍️
    रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर
    [६]
    कानुनमा कागजी बाल अधिकारका कुरा
    स्कूल पढ्न बञ्चित नै छन् नाबालक टुहुरा ।
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम
    हाल भारतबाट
    [७]
    भाषण त दिन्छन् नेता नियंत्रण भएनन् सानासाना नानी
    घरेलु कामदार ,ग्यारेज होस् , हटेन शोषण गर्ने बानी।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    [८]
    दिऊॅ राम्रो शिक्षा गरौं राम्रो भरणपोषण
    नगरौं बालबालिकाको अधिकार शोषण।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    [९]
    बनाइन्छन् प्रत्येक वर्ष बालअधिकारका नारा
    तर बनेन बालमैत्री मैले पिउने पानी धारा ।
    ✍️
    देव मगर
    तिनाउ-१,कचल,पाल्पा
    [१०]
    बालअधिकारको कुरा गर्दा त जोस नचलेको हैन
    यता फकाउँ कि उता फकाउँ काम गर्ने फुर्सदै छैन ।
    ✍️
    पुष्पा राई, बादेल, खाेटाङ
    [११]
    जसले गरिरहेछन् एकआपसमा मिलेर बालश्रम शोषण
    उनैले गर्दछन् बालअधिकार सुनिस्चितताको फोस्रो उद्घोषण l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    [१२]
    नारामा मात्रै सिमित बाल शाेषणकाे अन्त्य भएन
    घरेलु हिंसा परेकालाई उद्धार गर्न काेही गएन ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
    [१३]
    नारामा मात्र सीमित भयो,बालअधिकारको कुरा,
    देशमा जताततै शोषण,नेताको भाषणमा पुरा।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    [१४]
    कैले आउँछ बालबालिका सुरक्षित हुने बेला,
    कसरी मेटिएला कलिला हातहरुबाट ठेला।
    ✍️
    रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ
    [१५]
    मसिनो छ बोली झन् छ चिम्सा आँखा
    बाल हिंसा रोकी राखौं अब काखा ।
    ✍️
    दीप गोलेे तामाङ – रौतहट
    [१६]
    बालअधिकार पाउनुपर्छ भनी भाषण मात्र गर्ने
    आएको अनुदान आधा देखाइ बाँकी आफ्नै पेट भर्ने ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा
    [१७]
    कराएर मात्र हुँदैन बाल अधिकारको नारा
    ठुलै टाउके भुंडेहरुको ठीक छैन है नि पारा
    ✍️
    सरिता सेढाई धादिङ
    [१८]
    मुखले बोलेर मात्र हुँदैन कामले अघि सरौँ
    बालश्रम अन्त्य गर्नलाई हामी सबै लागि परौँ।
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    [१९]
    रातदिन सधैँ गरेका छन् काम,
    बालबालिकालाई हेर न राम ।
    ✍️
    आर्त अकुलीन
    [२०]
    रहेछ आजै बाल दिवस आएको
    खै अनाथ टुहुराले पढ्न पाएकाे ।
    ✍️
    प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    [२१]
    बेसहारा छन् अधिकांश बालबालिका
    सौम्य लगानी गर्‍यो र खै कुन पालिका ?
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    [२२]
    सानासाना कलिला हातमा उठ्ने गरेर ठेला ,
    काम गराएर बालकलाई नगरौँ है हेला ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    [२३]
    हेर्नू बाल अधिकार कानुनमा मात्रै भयाे
    पुग्दैन खान घरमा बालक काममा गयाे ।
    ✍️
    रबि पाैडेल दक्षिण भारत पाण्डेचरी
    [२४]
    आजका हाम्रा बालबालिका भोलिका कर्णधार
    पाएका छन् छैनन् खई तिनले बालअधिकार ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा६ मातातीर्थ।

    [२५]
    ऐन कानुन कागजमा व्यबहारमा छैन
    बाल श्रम अन्त्य गर्दै दिउँ सबैलाई चैन ।
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरि-५,जुम्ला
    [२६]
    जहिले पनि भाषण गर्छन् ~भनेर मानव अधिकार
    छोड्दैनन् दुध खाने बच्चीलाई समेत गर्छन् बलात्कार।
    ✍️
    भवानी पोखरेल (बाबु बिराज)
    बाणगंगा १ चार नम्बर
    कपिलवस्तु
    [२७]
    भाषणमा किन मख्ख माग अधिकार?
    बालबालिका व्युझेर खाेज हक सार ।
    ✍️
    जी.वि.घाेराही,दाङ
    [२८]
    बालअधिकार नारामा हुन्छ सिमित
    भएन कहिले बालबालिकाको जीत ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [२९]
    बालअधिकार बग्छन् भाषण अनि नारामा
    प्रताडितहरु बस्न पाएकाछैनन् थारामा ।
    ✍️
    कमला देवकोटा, पाल्पा
    [३०]
    न बन्छ बालग्राम न हुन्छ बालपाेषण
    घरमा भाँडा मझाई गर्छन् बाल शोषण ।
    ✍️
    शालिकराम दाहाल
    [३१]
    नारामै सिमित रह्यो बालबालिकाको अधिकार
    कहिले गर्न सक्लान् कठै, व्यभिचारको प्रतिकार ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [३२]
    साना हात सानो दिमाग सहनुपर्ने ठूलो चोट
    बाल शोषण अन्त्य गरेर नदेखाऔ कुनै खोट ।
    ✍️
    सबिता खड्का कैलाली
    [३३]
    बालबालिकाकाे माैलिक हक संविधानकाे पानामा
    शाेषित पीडित बालबालिका कारखानाकाे छानामा ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    [३४]
    उच्च ओहदामा हेर बस्नेको बोली सस्तो
    अधिकार बाट वञ्चित गराउने कस्तो ।
    ✍️
    कला ढकाल झापा
    [३५]
    बालबालिका हाम्रा सृजनाका हुन् है खानी
    बालश्रम अपराध रोकौं सबले जानी ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    [३६]
    कानुनमा मात्रै रहेछ बालअधिकार
    बालककै पसिना बेची गर्दैछ व्यापार।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार
    [३७]
    ससाना नानीको नरम कोमल हुन्छ मन
    सबैसँग नहुने किन नि ! बराबरी धन ।
    ✍️
    सुनगाभा पोखरेल
    [३८]
    बालआश्रमको सुधारमा सबै मिलेर गरौ
    अन्यायको जरा उखेल्न नेताको भर नपरौ ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [३९]
    वडा बालमैत्री लेखेर विदेशीका छारो राख्न सजाए
    बाल हकका आउने बाहिरी कमिसन भित्रै पचाए ।
    ✍️
    इन्दु श्रेष्ठ, चितवन
    [४०]
    अन्याय र अत्याचार कहिल्यै कम भएन
    रोकथाम र कार्यान्वयनमा ध्यान गएन।
    ✍️
    अरुण कुमार भुजेल
    गोरुबथान,कालेबुङ,भारत
    [४१]
    नेताले भाषणमा बालअधिकार हनन् भयो भनी सुनाउँछन्
    ठुलाठालुको उद्योगमा बालबालिकालाई गलैँचा बुनाउँछन्।
    ✍️
    कृष्ण बजगाई भक्तपुर
    [४२]
    सडकमा छन् बालबालिका बालअधिकार हरायो
    भित्रभित्रै शोषण, नीति त कागजमा मात्र गरायो ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    [४३]
    बालबालिकाको हक देऊ
    शिक्षाको बाटोमा सबै लेऊ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    [४४]
    कलिला बालबालिकामा लगानी
    भविष्यमा हुन्छ देशकाे आम्दानी।
    ✍️
    प्रद्युम्न चालिसे
    [४५]
    नेता भाषण मात्र ठुला गर्छन् काम केही हुन्न
    सडकमा जति रोउन् उनलाई त्यसले छुन्न ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    [४६]
    गरिब अलपत्र नहुँदामा छाना खाना नाना
    कुरैको मात्र बालअधिकार छैन तानाबाना ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [४७]
    बालबालिकाहरू के के सुघी हिँडेका छन् बाटामा
    अभिभावक खै कतातिर अधिकार छ घाटामा ।
    ✍️
    भगवती दवाडी
    [४८]
    आफ्ना परिवार र दलका बाहेक बच्चाबच्ची समेत हेर्दैनन्
    नेता बने पछि त जागिर नि खान नपर्ने कसैलाई टेर्दैनन् ।
    ✍️
    पवनकुमार बुढाथेाकी
    काठमाडौँ
    [४९]
    सडकमा माग्दै धूलोमा पडी बसेको छ कति बालबालिका
    कुपोषणले हैरान उनीहरूले नै पाउन सकोस् तालिका ।
    ✍️
    बिबा तामाङ
    लाटपञ्चर सिटोङ थ्री खरसाङ
    [५०]
    भविष्यका कर्णधार हुन् साना बालबालिका
    शोषण रोक्न कदम उठाऊ न्यायपालिका ।
    ✍️
    मन्दिरा सेढाई मलेखु, धादिङ
    [५१]
    होटल ग्यारेजका कामदार बालक नारामा अधिकार
    सबै कुराबाट बञ्चित उनीहरू कसैले गर्दैन प्यार ।
    ✍️
    घनश्याम पन्त हरिवन सर्लाही
    [५२]
    बालश्रम हटाएर बाल शिक्षा जगाऔँ
    शिक्षाको ज्योति जगाई अन्धकार भगाऔँ ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [५३]
    बालबालिकाको अधिकारको कुरा सिमित हुन्छ नारामा
    कानुन फितलो भएपछि सबै नाच्छन् आफ्नो आफ्नो पारामा।
    ✍️
    मोती योन्जन सुब्बा दार्जिलिङ
    [५४]
    व्यवस्था धेरै धेरै परिवर्तन भयो
    तर पनि बालअधिकार कता गयो ?
    ✍️
    डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा
    [५५]
    नि:शुल्क शिक्षा भए बालबालिका सक्षम बन्छन्
    घरको चुल्हो बाल्न सके बल्ल बालहित गन्छन् ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव1 Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५२ सम्पन्न

    पञ्चाङ्ग अभ्यास शृङ्खला- ११२

  • ३० भाद्र २०८१, आईतवार २१:५१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय बाह्र अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११२ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०५/२४
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    दमको रोग लिएर बाँच्न परेको छ।
    फाटेको मन सिएर बाँच्नु परेको छ।
    घमण्ड र अहमता छोड्न सकिँदैन,
    तिखा वचन दिएर बाँच्नु परेको छ।
    दिनहुँ आँसु पिएर बाँच्नु परेको छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    सपना निदाएर बिउँझिएन भने
    जीवनको कुनै महत्त्व दिएन भने
    त्यही सपनाको पछि परेर के गर्नु
    चुनौतीको जवाफदेही लिएन भने
    श्रम गर्ने हातको नङ्ग्रा खिएन भने ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०३
    नबाेली बसेपनि तिमी हाँसी राख्छु म त !
    छाेडेर गएपनि मायाँ गाँसि राख्छु म त !
    ढुक्क हुनु, मेराे माया कति नि स्वार्थी छैन
    टाढा जान कहाँ दिन्छु र टाँसी राख्छु म त
    तिम्रो प्रतिक्षामा बैँस नै नासी राख्छु म त

    उर्मिला के.शी.
    धनकुटा !

    पञ्चाङ्ग:०४
    हिमाललाई हँसायाे तिम्रो कलाले ।
    जून र तारा खसायाे तिम्रो कलाले ।
    एउटा फूल फुलेर यहाँ कविज्यु ,
    ब्राह्मण्ड सारा बसायाे तिम्रो कलाले ।
    सम्झिँदैआँखा रसायाे तिम्रो कलाले ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०५
    सास फेर्न पनि गाह्रो भएको होला
    आँखा हेर्न पनि गाह्रो भएको होला
    दबाई किन्न पैसा छ कि छैन फेरि
    भन्या टेर्न पनि गाह्रो भएको होला
    चिठी केर्न पनि गाह्रो भएको होला ॥

                गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०६

    तिम्रो सपनामा सुटुक्क आउन मनछ प्रिय,
    टाढा छु तिमी हिड्ने बाटो धाउन मनछ प्रिय।
    सधैँ भरि हाम्रो सम्बन्धलाई बचाउन लागि
    काखमा सुतेर लोरी पो गाउन मनछ प्रिय,
    त्यो हातले सिन्दुर पोते लाउन मनछ प्रिय।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०७
    घर मेरो थियो धन अरूकै थियो हजुर
    सर्त अनुसार साहुले घर लियाे हजुर
    धनकाे नाममा छैन अरू केही कसाे गरुँ
    घरबाट साहुले त निकाली दियो हजुर
    स्याहार गरियो हात मात्रै पाे खियाे हजुर ।

       राज कुमार राजभण्डारी खाेटाङे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    पञ्चाङ्ग:०८
    खुसीमा एकसाथ हासौँला हामी।
    भएका शत्रु बैरी मासौँला हामी।
    जिन्दगी हाँसेर बिताउनु पर्छ,
    प्रेममा जल्नेलाई नासौँला हामी।
    मिलेर प्रेम माला गासाैँला हामी।
    ह्यारिस

    पञ्चाङ्ग-०९
    जति स्वस्थ भएपनि हरदिन मरिरहेको हुन्छ जिन्दगी
    जन्मको बिन्दु बाटै यात्रा ओरालो झरिरहेको हुन्छ जिन्दगी
    जिन्दगी छ दुइदिनको सत्य खोज्ने फुर्सद पो कसलाई
    उमेर आयो बैँस आयो भ्रममै परिरहेको हुन्छ जिन्दगी
    जताततै लहलह छ भ्रम नै, चरिरहेको हुन्छ जिन्दगी।
    पशपती राई

    पञ्चाङ्ग:१०
    नारीले लगाएको कानमा सुन राम्रो।
    भन्नु प्रिया तिमी र म मा छ कुन राम्रो।
    अन्धकारमा धर्तीलाई उज्यालो दिने,
    रातमा आकाशकाे उज्यालो जून राम्रो।
    कृष्ण भगवानकाे मुरेली धुन राम्रो।
    केशर बोहोरा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग अभ्यास शृङ्खला- ११२

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P