• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

GCC एकीकृत पर्यटक भिसा छिट्टै लागू हुने

  • १९ असार २०८२, बिहीबार १०:४२ मा प्रकाशित
  • रियाद — खाडी सहयोग परिषद् (GCC) का महासचिव जसिम अल-बुदईवीले बुधबार घोषणा गर्दै खाडी क्षेत्रका गैर-नागरिकहरूका लागि एकीकृत GCC पर्यटक भिसा चाँडै सुरु गरिने जानकारी दिएका छन्।

    GCC सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार, खाडी मुलुकका गृह मन्त्रालयअन्तर्गत राहदानी विभागका निर्देशकहरूको ३९औं बैठकपछि सो जानकारी दिइएको हो। महासचिव अल-बुदईवीले एकीकृत भिसा प्रणाली विकासमा सहयोग पुर्‍याउने सबै सरोकारवालाप्रति आभार व्यक्त गरे।

    उनले यस पहलले खाडी क्षेत्रका नेतृत्वहरूको साझा दृष्टिकोणसँग मेल खाने र पर्यटन तथा आर्थिक एकीकरण प्रवर्द्धन गर्न सहयोग गर्ने बताए। साथै, उनले सम्बन्धित निकायहरूले प्रविधिमा आधारित प्रणाली अपनाउने र बढ्दो विश्वव्यापी सुरक्षा चुनौतीहरूको सामना गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर

    साउदीमा कार्यरत नेपालीहरूले मिर्गौला पीडित पारस खत्रीलाई गरे आर्थिक सहयोग

  • १९ असार २०८२, बिहीबार ०१:२८ मा प्रकाशित
  • साउदी अरब – साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकहरूले मिर्गौला पीडित एक पारस खत्रीलाई सहयोग गर्दै आफ्नो मानविय धर्म निभाएका छन्।

    साउदीको हापर अलबातेनस्थित अल्माराई कम्पनीमा कार्यरत नेपालीहरूले भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका–९, नलिनचोक निवासी प्रवेशजंग खत्री (श्रीकृष्ण) र यशोदा खत्रीका २५ वर्षीय सुपुत्र पारस खत्रीको उपचारका लागि रू. ४६,६०० आर्थिक सहयोग गरेका छन्।

    नेपाली साझा मञ्च साउदीका अध्यक्ष अन्जान गुभाजुका अनुसार, पारस खत्रीको दुवै मिर्गौला फेल भएपछि तुरुन्तै प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको र पारिवारिक आर्थिक अवस्था निकै कमजोर भएकाले परिवारले सहयोगको लागि अपिल गरेका थिए। उक्त अपिलपछि भक्तपुर पलासेका चिरण थापाको समन्वय तथा संयोजनमा हापरबातेन क्षेत्रका नेपाली श्रमिकहरूबाट सहयोग उक्त रकम संकलन गरी पठाइएको हो।

    सहयोगि संयोजक चिरण थापा

    ध्यक्ष अन्जान गुभाजुका अनुसार, हाल बिरामी खत्रीको उपचार भक्तपुरस्थित एक अस्पतालमा भइरहेको छ। नेपालमै उपचार सम्भव नभए भारत लैजानुपर्ने अवस्था आउन सक्ने हुँदा अझ ठूलो खर्च लाग्न सक्ने जानकारी समेत गराएका र देश बिदेशमा रहेका नेपाली दाजुभाईहरुलाई सहयोगको लागि पनि अनुरोध गरेका छन्।

    विदेशमा कार्यरत नेपालीहरूले विगतदेखि नै बिरामी, दुर्घटना वा विपत्तिमा परेकाहरूलाई सहयोग गर्दै आएका छन्। “साउदी लगायत खाडी मुलुकमा रहेका नेपालीहरू मानविय सहयोगमा सधैँ अग्रपङ्तिमा रहँदै आएका छन्,” ।

    पारस खत्रीको सफल उपचारका लागि सहयोगी सम्पूर्णलाई धन्यवाद दिँदै थप सहयोगका लागि पनि सबै मनकारी व्यक्तिहरूमा आग्रह गरिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर

    पञ्चाङ्ग अभ्यास शृङ्खला- १५३

  • १६ असार २०८२, सोमबार १४:१९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयत्रिपन्नौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५३————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०३/०९
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग;०१
    मिलेर माया र प्रीति गाँसेर जाउँ
    दुष्टकाे दुष्ट्याइ सबै मासेर जाउँ
    चाेथाले मुखले नपार्नु ठिक्क अब
    तिताे बाेल्नेकाे त्याे बाेली नासेर जाउँ
    हातेमालो गर्दै प्रिय हाँसेर जाउँ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    बढेको छ माया मुटु सुकाएर जान्छ
    किन मौन साथी शिर झुकाएर जान्छ
    सुकेको छ सधै बनी धेर प्यासी यहाँ,
    जलेको छ छाती पीडा लुकाएर जान्छ
    कहाँ पोखूँ माया छाती फुकाएर जान्छ।
    -गोर्खे साइँलो

    पञ्चाङ्ग:०३
    हालै विश्व युद्धतर्फ लागिरहेको छ
    हानाहानको प्रभाव जागिरहेको छ
    परमेश्वरका सन्तानहरूको बुद्धि
    कोही बमको डरले भागिरहेको छ
    कोही तुरुन्त उद्धार मागिरहेको छ ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०४


    म आएँ तिम्रो घर भन्दै जनाएर गयो।
    जन्म दिनको केक छुट्टै बनाएर गयो
    मैले भने चिनेकै छैन को हो यो जवान,
    केक काटी मेरो वर्थडे मनाएर गयो।
    शिर भरी फूलको वर्षा खनाएर गयो।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०५
    साउन झरी मेरै निम्ति झरे जस्तो लाग्छ
    त्यो निस्ठुरीले घर डेरा सरे जस्तो लाग्छ
    मर्म नबुझ्नेलाई केही छैन भन्ने कुरा ,
    मैलाई देखेर नक्कल गरे जस्तो लाग्छ
    सपनामा कर्णाली नदी तरे जस्तो लाग्छ ।

    -धनमाया चौधरी कैलाली

    ॐ

    पञ्चाङ्ग:०६

    स्वार्थकाे फूलबारी नास्नु पर्छ हामीले
    जन जन मिलेर हाँस्नु पर्छ हामीले
    ईशले दिएकाे जिन्दगी हाम्रो हजुर
    मनुष्यले मित्रता गाँस्नु पर्छ हामीले
    कदापि कलङ्क त ! मास्नु पर्छ हामीले ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०७

    उज्यालोलाई छेकेको हुँदा मोल पाएन जूनले पनि
    आयात निर्यात धेरै हुदा भाउ पाएन सुनले पनि
    जाली हुदो रहेछ समय पनि त्यही अनुसार मान्छे,
    कहिल्यै हिउँद नआउँदा तौल पाएन ऊनले पनि
    बैगुनीलाई ऋणदिएर थर पाएन गुनले पनि।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०८

    हरियाली देखिन्छ असारको दिनमा दाजै
    झम्के झरी छन् कतै घाम लाग्छ छिनमा दाजै
    खाेला नाला रमाउँछन् एकताको माला गाँसी ,
    संसारलाई रुवाउने शक्ति तिनमा दाजै
    अझ त्रास रातदिनकाे कठै दीनहीनमा दाजै ।

    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०९
    व्यर्थमा कुरा टारेर नबस
    मनका ईच्छा मारेर नबस
    अब त बेला भएको छ तिम्रो
    दिन्दिनै आँसु झारेर नबस
    एक्लो जिन्दगी पारेर नबस।

    -गुणनिधि घिमिरे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १२५

  • १६ असार २०८२, सोमबार १४:१४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयपच्चीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०३/०५

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२५[एकसयपच्चिसौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफूखुसी
    स्थायी :- आफूखुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    मनै लोभ्याउने सुन्दर ठाउँ छ हाम्रो
    यहाँ हरियाली सादृश्य नाउँ छ हाम्रो
    पर्यटकीय आकर्षण केन्द्र सबैको,
    त्यहाँ टेक्ने अति उज्ज्वल पाउ छ हाम्रो
    एकपटक सबै नै घुम्ने गाउँ छ हाम्रो।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    हेर्दा सुन्दर प्रकृति तिमी
    स्वच्छ र सफा आकृति तिमी
    संरक्षण गर्न सबै लागौं
    हाम्रो देशको संस्कृति तिमी
    मनोरम कलाकृति तिमी ।

    -धनमाया चौधरी कैलाली।

    पञ्चाङ्ग०३

    प्रकृतिको सुन्दरता त्यो कति राम्रो
    कतै देखिदैन नेपाल जति राम्रो
    खोला,झरना, हरियाली जताततै
    मौसम परिवर्तनको गति राम्रो
    ऋतुको आफ्नै विशेषता अति राम्रो
    -शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०४
    जहाँ छ शान्त त्यही नै सर्न मन लाग्ने
    चित्त बुझे ओरालो पनि झर्न मन लाग्ने
    प्रकृतिको अनुपम मनमा राखेर
    त्यसैको हेरविचार गर्न मन लाग्ने
    अतुलनीय‌ बाटोमा पर्न मन लाग्ने ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    ॐ
    पञ्चाङ्ग:०५
    *–
    प्रकृतिभित्रकाे हरियाली मन प्रफुल्ल हुन्छ
    नेपाल सधैँ नै हरियाली वन प्रफुल्ल हुन्छ
    जङ्गलकाे जडिबुटी दैव निसृृत निधि हाम्रो
    वनपैदावार हरियाली धन प्रफुल्ल हुन्छ
    हिमाली देशमा हरियाली जन प्रफुल्ल हुन्छ ।

    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग;०६

    कति सुन्दर मन लोभ्याउने ठाउँ होला
    कहाँ पर्छ यो रमाइलो कुन गाउँ होला
    मोहित बनेर सधैँ भरि ध्यानमा बस्नु,
    प्रकृतिले दिएको काख पार्ने नाउँ होला
    साथीहरू मिलेर घुम्नलाई जाउँ होला।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०७
    यही हरियालीमा फूल्न मन छ
    म यसैको साथमा खुल्न मन छ
    आहा सुन्दर रमणिय ठाउँमा,
    सधैंभरि मलाई झुल्न मन छ
    यसको फूलसँग भुल्न मन छ।
    -ह्यारिस

    पञ्चाङ्ग-८
    प्रकृतिको कति धेरै छौं धनी हामी
    प्रकृतिकै हौं एक अंस पनि हामी
    नछरौं भ्रम स्वर्गको यही हो स्वर्ग,
    फेरौ न सास यहीँ गनि गनि हामी
    नगरौं मरेर अर्काको बनी हामी।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    पञ्चाङ्ग लेखन शृङ्खला- १५२

  • १६ असार २०८२, सोमबार १४:११ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय बाउन्नौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५२—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०३/०२
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    नेपाली हुनुमा गौरव गर्नु पर्छ
    विश्वको सुन्दर सूचीमा पर्नु पर्छ
    नेपाल भएर नेपाली भएका हौ,
    सम्पूर्णमा ज्ञानको ज्योति छर्नु पर्छ
    दुःखका बीजलाई सबै हर्नु पर्छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    आँगनीमा डाफे चरी नाच्ने देश मेरो
    आफु भरी अरूलाई बाँच्ने देश मेरो
    मानवता जहिँतहीँ नभेटिन सक्छ
    सोधेर नै कुशलता जाँच्ने देश मेरो
    कोपिलामै हाॅगाबिगा भाॅच्ने देश मेरो।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०३
    याे कविको तिलस्मी कलम चलिरहन्छ सधैँ
    तेल थपेमा निभ्दैँन दीयाे बलिरहन्छ सधैँ
    आउन ठुला अस्त्र शस्त्र ,सुनामी तुफान आओस् ,
    ढाल बनेर अक्षर उभिँदै छलिरहन्छ सधँ
    मसी छर्दा सृजनाकाे फल फलिहरन्छ सधैँ।
    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग :०४

    फूल फुल्नु पर्दछ भमरो डुल्नलाई साथी
    बादल हट्नु पर्छ आकाश खुल्नलाई साथी
    दिनरात , दुःख र सुख सृष्टिको नियममा,
    आपसी प्रेम चाहिन्छ खुसी घुल्नलाई साथी
    परिवार हुनुपर्छ मन भुल्नलाई साथी ।

    -भवानी घिमिरे
    सर्लाही ।

    👉पञ्चाङ्ग:०५
    अल्छ्याइँले गलत बाटो जान्छौ भने
    झुक्याइ अरूलाई त्यतै लान्छौ भने
    जानी राख्नु सबै कुराको सीमा हुन्छ
    सपना खोज्न पनि कष्ट मान्छौ भने
    दिनहुँ दृढ भै क्षुद्र नै छान्छौ भने ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    ॐ

    पञ्चाङ्ग:०६

    तिर्खा मेट्ने अन्तत; पानी हुन्छ मित्र
    मान्छेमा आफ्नाे आफ्नाे बानी हुन्छ मित्र
    मायामा फुल्ने संसार रहेछ प्रिया
    सद्भाव भित्र प्रेम खानी हुन्छ मित्र
    खासमा व्यवहार रानी हुन्छ मित्र ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०७
    उज्यालोलाई छेकेको हुँदा मोल पाएन जूनले पनि
    आयात निर्यात धेरै हुँदा भाउ पाएन सुनले पनि
    जाली हुँदो रहेछ समय पनि त्यही अनुसार मान्छे,
    कहिल्यै हिउँद नआउँदा तौल पाएन ऊनले पनि
    बैगुनीलाई ऋण दिएर थर पाएन गुनले पनि।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०८
    जूनको उज्यालो राम्रो मान्नु पर्छ
    सांसारिक माया आफ्नो ठान्नु पर्छ
    देख्नेले जूनमा पनि देख्छन् दाग,
    गलत सही आफैंले जान्नु पर्छ
    खराब जो कोहीलाई हान्नु पर्छ।
    -ह्यारिस

    पञ्चाङ्ग:०९


    हामीले आफ्नो देशलाई आफैं बनाउनु छ
    हामी नेपाली हौँ भनेर आफैं जनाउनु छ
    दु:खी भएकी नेपाल आमालाई सबै मिली
    सुख र शान्त हामी पार्छौँ भनी मनाउनु छ
    विश्वलाई सुन्दर शान्त देश भनाउनु छ।


    -मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:१०
    फूर्ति नगर पुरानो पदको कहिले पनि
    सकियो हातको मैलो रहन्न अहिले पनि
    सानोलाई भेट्दा माया गरे सम्मान पाइन्छ,
    मीठो कुरा बोलेर माया गर्नु जहिले पनि
    चोखो भनी नुहाको हुन्न दूध दहीले पनि।

    -सुरेश चन्द्र घिमिरे

    पञ्चाङ्ग -११

    मेरा कुरा थाती राखेर  मलाई  झार्‍यौ तिमी
    अलि बुढोबुढो भएपछि  माया चार्‍यौ तिमी 
    माया   पनि   यही   रुपमा    निहित   रहेछ ,
    माया पाउँदा   पाउँदै अर्कैलाई नार्‍यौ तिमी 
    मलाई राम्रो देखिनौ मेरो माया मार्‍यौ तिमी ।
    -सोमनाथ लुईटेल

    पञ्चाङ्ग-१२
    यो जिन्दगी पनि तिमीलाई नै थमाउँला सानू
    जति नै दु:ख आओस् हाँसी हाँसी रमाउँला सानू
    दुइदिने चोलामा मरिलानु केही पनि छैन,
    बाँचुन्जेल हामी हातमा हात समाउँला सानू
    भएभरको खुसी जति यहीँ कमाउला सानू।

    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १२४

  • १६ असार २०८२, सोमबार १४:०८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय चौबिसमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०२/२९

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२४ एकसय चौबिसौँ चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    सुन्दर हिमाल हेर्न मन छ
    दुईचार शब्द केर्न मन छ
    प्राकृतिक छटा क्या छ गज्जब,
    यहाँ बसि श्वास फेर्न मन छ
    रमणीय ठाउँ बेर्न मन छ ।
    -सुशीला पौडेल

    ॐ

    पञ्चाङ्ग:०२

    सुन्दर शान्त नेपाल राम्रो साथी
    सनातन हिन्दु धर्म हाम्राे साथी
    जन्मदेखि मृत्यु पर्यन्त व्यवस्था
    विदेशी चलखेलले दाम्राे साथी
    दिनदिनै बिग्रेको छ काम्राे साथी ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०३
    सूर्य जस्तै चम्किन सक्नु पर्छ
    पोल्दा पानी छम्किन सक्नु पर्छ
    प्रकृतिको महिमा छ असाध्यै,
    यस्मै हामी लम्किन सक्नु पर्छ
    परी आए गम्किन सक्नु पर्छ।
    -ह्यारिस

    पञ्चाङ्ग:०४

    माथि निलाे आकाशकाे तलपट्टी सेताे हिउँ देखिन्छ
    पानीमा टलक्क टल्किएकाे यो हरियो जीउ देखिन्छ
    अरुले के अर्थ लगाई तर्क गर्लान् त्यो त ठेक्का लिन्न,
    नेपाल हेर्दा लाग्दछ स्वर्ग सानाे टुक्रा बिउ देखिन्छ
    मनाेरम दृश्य सानो घर आहा साच्चै घिउ देखिन्छ ।

    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग- ०५
    हिमालको सेतो छायाँ निलो तालमा टल्केको देखिन्छ
    हरियो बन चारैतिर सौन्दर्यता छल्केको देखिन्छ
    यस्तो दृश्य देखेपछि स्वर्गै पाए पनि नजाऊँ लाग्छ,
    नजर अन्त जानै मान्दैन आँखा यहीँ पल्केको देखिन्छ
    शब्दहरु निशब्द भइ भावतिरै सल्केको देखिन्छ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग-०६
    अक्षर-१७

    वरिपरि हिमाल बिचमा देखिन्छ गाउँ हजुर
    यस्तो दृश्यले मनमा धेरै लेखिन्छ नाउँ हजुर
    रमाइलो सुन्दर त्यो ठाउँ कहाँ पो होला हेर्नु छ,
    वर्षा अनि मेघ लाग्यो भने छेकिन्छ ठाउँ हजुर
    लागिरहोस् घाम यो ठाउँ सधैं हेर्न पाऊँ हजुर।

    दुर्गा आचार्य
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    पञ्चाङ्गले मनायो चौथो वार्षिकोत्सव

  • १३ असार २०८२, शुक्रबार २०:२८ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाजले आज आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । काव्यिक उपविधा ‘पञ्चाङ्ग’ लेखन सुरुआत गरेको चौथो वर्ष पूरा भई पाँचौँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा भर्चुअल माध्यमबाट अपरान्ह ५ बजे कार्यक्रम आयोजना गरी मनाएको हो ।

    साहित्यकार ऋषि प्रसाद लामिछानेको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा दर्जनौँ कवि एवम् साहित्यकारहरूले शुभकामना मन्तव्य दिनुहुँदै पञ्चाङ्ग वाचन पनि गर्नुभएको थियोे ।

    कार्यक्रममा साहित्यकार ऋषि प्रसाद लामिछाने, चारु साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् चारु प्रवर्तक डा. देवी पन्थी, झिल्का साहित्य समाजका अध्यक्ष एवम् झिल्का प्रवर्तक वसन्त अनुभव, कोपिला प्रवर्तक गिरिराज डल्लाकोटी, पञ्चाङ्ग प्रवर्तक सोमनाथ लुइँटेल, पञ्चाङ्गका सल्लाहकार सुरेश चन्द्र घिमिरे, साहित्यकारहरू चन्द्रा न्यौपाने, पुष्पा सायरा, घनश्याम पौडेल लगायतका महानुभावहरूले शुभकामना मन्तव्य दिनुभएको थियो ।

    पञ्चाङ्गकार/साहित्यकार दुर्गा रिजाल आचार्यको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको अध्यक्षता साहित्यकार एवम् पञ्चाङ्ग साहित्य समाजकी अध्यक्ष सुशीला पौडेलले गर्नुभएको थियोे भने कार्यक्रमको सञ्चालन साहित्यकार सुशीला ढकाल अधिकारीले गर्नुभएको थियोे ।

    केही पञ्चाङ्गहरू

    पञ्चाङ्ग✍️

    चौँथो बर्ष पूरा भयो पाचौं बर्ष लाग्यो पञ्चाङ्ग,
    सबै संग भेट भयो खुसी आज जाग्यो पञ्चाङ्ग।
    पञ्चाङ्गको उत्सव आज स्वागत छ मनै बाट,
    अल्छी पन साहित्यले सबै आज भाग्यो पञ्चाङ्ग,
    सबैमा शुभकामना चौँथो वर्ष नाग्यो पञ्चाङ्ग।

    दुर्गा आचार्य
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    “म” गद्यकविता

  • ११ असार २०८२, बुधबार ०८:३२ मा प्रकाशित
  • ” म !” गद्यकविता
    ~~
    लोभ
    र मोह
    त्याग गर्न नसक्ने
    भौतिकतामा नभई
    आध्यात्मिकतामा
    विश्वास गर्न नसक्ने

    पारिवारिक मोह
    त्याग्न नसक्ने
    तर उच्च सफलता खोजिरहने
    मानवजीवको
    यथार्थता बुझ्न नसक्ने
    अज्ञानी मान्छे हुँ
    म!

    महान् व्यक्तिका
    जीवनी पढ्ने
    तर प्रेरणा लागू गर्न नसक्ने
    असक्षम पात्र हुँ
    म!
    तर पनि सहयोग
    र सद्भाव बाँढ्न चाहन्छु

    कोही
    दु:खी नहोओन् भन्न चाहन्छु
    मबाट पनि
    लोभमोह
    र इर्ष्या हट्न सकेको छैन
    अरूलाई शीतलता दिन नसक्ने
    समाजलाई
    योगदान दिन नसक्ने
    एक स्वार्थी मनुवा हुँ
    म!

    पारिवारिक
    मोहको
    दल्दलमा चुर्लुम्म डुब्दै
    कैयौँ महत्वपूर्ण
    लक्ष्यहरू
    भुसुक्कै बिर्सेर हिड्ने
    मनुवा हुँ
    म!

    सबैलाई
    खुसी देख्न खोज्दा खोज्दै
    आफैँ दु:खी बन्न पुगेको
    अक्षम्य कल्पना बोकेर हिँड्ने
    भावुक मनुष्य हुँ
    म!

    एक साधारण
    गाउँमा जन्मेर
    अ‌ौपचारिक शिक्षा
    स्नातकोत्तर लिएको
    तर जीवनको
    वास्तविकता बुझ्न नसकेको
    एक अज्ञानी मनुष्य हुँ
    म!

    तर पनि अरूलाई
    ज्ञान बाढ्दै हिँडिरहेछु
    बुबाका दुई श्रीमती
    स्वर्गवास भएर
    संयोगले
    मेरी आमालाई
    तेस्रो विवाहको
    रूपमा भित्र्याएर
    जन्मिएको मनुष्य हुँ
    म!

    संयोगले पाएको
    यो जीवन
    सार्थक होस् भन्न चाहने
    तर सार्थकताका लागि
    त्याग गर्न नसक्ने
    एक बबुरो मनुष्य हुँ
    म!
    तर मसँग
    धेरै मान्छेहरू डराउन खोज्छन्
    अनेक जालझेल बुन्न खोज्छन्
    त्यो बेला आफूमा
    केही कुरा भएको
    महसुस गर्ने
    एक मनुष्य हुँ
    म!
    भन्दा गाउँ राम्रो भन्ने
    तर बजारमा बसाइँ सरेको
    एक मनुष्य हुँ
    म!
    भनाइ
    र गराइमा
    एकरूपता ल्याउन नसकेको
    आदर्श बाँड्दै हिड्ने
    व्यक्ति हुँ
    म!

    अज्ञानै
    अज्ञानताको भुमरीबाट
    ज्ञानगुन लिँदै
    पछिल्ला दिनहरूमा
    विचारमा
    परिवर्तन ल्याउँदै गरेको
    जीवन बुझ्दै गरेको
    दुधे बालक हुँ
    म!
    मलाई दिव्य ज्ञान
    दिनुहोस् प्रभु
    अनेलो यात्रामा
    हिँड्दै गरेको
    एक अनजान यात्री
    हुँ म!!

    तेजप्रसाद खनाल(भावुक) लमही,दाङ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    छेत्रीकृत ‘आह्लादित’को सार्वजनिकरण, टुक्का प्रवर्तक चापागाईं भारतमा सम्मानित

  • ११ असार २०८२, बुधबार ०८:२२ मा प्रकाशित
  • सिलगढी, भारत
    विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको आयोजनामा गत २२ जुनमा हन्नाह छेत्रीकृत “आह्लादित” टुक्का कविता सङ्ग्रह सार्वजनिकरण भएको छ । देवकोटा सङ्घ सिलगढीमा उक्त कार्यक्रम भव्यताका साथ सुसम्पन्न भएको थियो ।

    कार्यक्रमको अध्यक्षता राहुल राई बोगिकोले गर्नुभएकाे थियाे । प्रमुख अतिथि डा.साङ्मू लेप्चा हुनुहुन्थ्याे भने विशिष्ट अतिथीहरू डा.सुकराज दियाली, डा.तेजमान वराइली, ताराप्रसाद चापागाईं, चन्द्र भण्डारी, श्रीमती सीता देवी छेत्री, प्राध्यापक नवीन पौड्याल, ग्याल्पो लामा, डा.कृष्ण राज घतानी, सतिस रसाइली, श्रीमती लतिका जोशी, कृष्ण प्रधान ‘अर्पण’, गणेश प्रधान, प्रेम कुमार राई, जितबहादुर साेनार हुनुहुन्थ्याे ।

    ‘आह्लादित’ टुक्का कविता सङ्ग्रहकी प्रकाशिका सुश्री सहारा रसाइली कार्यक्रमको साक्षी बन्नुभएकाे थियाे ।

    कार्यक्रममा नेपालकाे काडमाडाैँ, झापा, इलाम र भारतकाे मनिपुर, असम, सिक्किम, दार्जिलिङ, मिरिक, कालेबुङ, सामसिङ्ग, गाेरुवथान, खरसाङ लगायत सिलगढीका स्थानिय साहित्यानुरागी, गोर्खे हाट सिलगढीकाे परिवार लगायत विनेसाम भारत शाखाका पदाधिकारी सदस्यहरू समेत २०० जनाकाे साहित्यानुरागीहरूकाे उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रममा बाल साहित्य अकादमी पुरस्कारले पुरस्कृत हुने डा.साङ्मू लेप्चा अनि नेपाली साहित्य परिषद मणिपुरकी अध्यक्ष श्रीमती सीतादेवी छेत्रीलाई दोसल्ला, स्मृति चिन्ह सहित सम्मान समर्पण गरिएको थियो । त्यसैगरि नेपालका टुक्का कविताका प्रणेता अग्रज साहित्यकार ताराप्रसाद चापागाईँलाई “टुक्का कविता प्रवर्तक सम्मान २०२५” सहित दाेसल्ला ओढाएर सम्मान समर्पण गरिएकाे थियाे ।

    कार्यक्रममा नेपालबाट उपस्थित प्रमुख वक्ता वरिष्ठ साहित्यकार चन्द्र भण्डारीले मेची वारि र मेची पारी बस्ने हामी भाषा साहित्य प्रेमी नेपालीले देख्ने सपना एउटै हो भन्दै हाम्रो र हामी शब्दले हामी महाजातीलाई जोड्ने कुराको उजागर गर्दै प्रयाेगवादी लघुत्तम काव्यिक विधा टुक्का कवितासङ्ग्रह “आल्हादित” काे कृतिकार हन्नाह छेत्रीलाई बधाई तथा शुभकामना ज्ञापन गर्नु भएकाे थियाे ।

    कार्यक्रमका अध्यक्ष राहुल राई बोगिकोले कार्यक्रम सफलिभूत तुल्यउनमा तन, मन र धन खर्चिएर सहयाेग पुर्याउने समस्त विनेसाम भारत शाखा परिवार प्रति आभार प्रकट गर्नुकाे साथै कृतिकार छेत्रीलाई बधाई तथा शुभकामना अर्पण गर्नु भएकाे थियाे ।

    कार्यक्रमका विशेष अतिथी ताराप्रसाद चापागाईंले टुक्का कविताको सैद्धान्तिक पक्षलाई प्रकाश पार्दै हन्नाह छेत्रीकृत “आह्लादित” काे पुस्तक समीक्षा गर्नुकाे साथै स्रष्टा छेत्रीलाई बधाई तथा शुभकामना अर्पण गर्नु भएकाे थियाे ।
    कार्यक्रमका प्रमुख अतिथिद्वय डा.सङ्मू लेप्चा र श्रीमती सीता देवी छेत्रीले आफूहरू सम्मानित भएकोमा आयोजक पक्ष प्रति आभार प्रकट गर्दै नेपाली साहित्य मौलाउँदै गएकाे र कवितामा प्रयाेगकाे रूपमा रहेकाे टुक्का कविता सङग्रह ‘आह्लादित’ लाेकार्पण भएकाेमा खुसि व्यक्त गर्दै सम्मानित हुँदा साहित्य सेवाको जिम्मेवारी अझै थपिएकाे कुरा व्यक्त गर्नु भएकाे थियाे ।

    विशिष्ट अतिथि देवकोटा सङ्घ सिलगढीका अध्यक्ष मिलन रुचालले नेपाली साहित्य अनि मानव जीवन जगत्का सरस दार्शनिक कुरालाई उजागर गर्दै कृतिकार हन्नाह छेत्रीलाई बधाई अर्पण गर्नु भएकाे थियाे ।
    कृतिकार हन्नाह छेत्रीले आफ्ना दुई सन्तानलाई जन्माउनु भन्दा प्रथम कृति”आह्लादित” जन्माउँदा कठिन परेको कुरा अनि आफ्ना स्वर्गीय माता पिताको सम्झना गर्नुकाे साथै विभिन्न किसिमका सहयाेगहरू उपलब्ध गराएर आफ्नाे सपना साकार गर्न सहयाेग पुर्याउनु हुने विनेसाम भारत शाखा लगायत सम्पूर्णमा सहयाेगी हातहरूलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

    उक्त कार्यक्रमको सञ्चालन विनेसाम भारत शाखाकी कोषाध्यक्ष श्रीमती देविका मङ्ग्राती राई अनि उपाध्यक्ष विनोद खातीले गर्नु भएको थियो । स्वागत सम्बोधन सचिव श्रीमती गीताश्री शर्माले राख्नु भएको थियो भने महासचिव मोहन गौतमले संस्थाकाे वार्षिक प्रतिवेदन पेस गर्नु भएकाे थियाे । उक्त कार्यक्रममा बिबा तामाङ्ग, रमा गुरुङ र कविता भट्टराईले टुक्का कविता अनि पेम नर्बु सेर्पा “ज्योति”, प्रेम न्यौपाने “प्रहर”, अर्चना शर्मा र राेजेश राईले कविता वाचन गर्नु भएकाे थियाे । आयुष्णा प्रधान र अनुष्का प्रधानले नृत्य प्रस्तुत गर्नु भएकाे थियाे अनि अनिल गुरुङ र सुधीर घलेले मिठा गीतहरू प्रस्तुत गर्नु भएकाे थियाे । अन्त्यमा विनेसाम भारत शाखाका उपाध्यक्ष पेम नर्बु शेर्पा “ज्योतिले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएकाे थियाे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का_कविता

    लघुकथा विशिष्ट प्रतियोगिता-२०८१ को अन्तिम नतिजा घोषणा, ‘टिफिन’ले ल्यायो प्रथम स्थान

  • १० असार २०८२, मंगलवार ०७:३१ मा प्रकाशित
  • वसन्त अनुभव
    १० असार/चितवन

    लघुकथा विशिष्ट प्रतियोगिता-२०८१ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर असार १० गते प्रतियोगिताको नतिजा घोषणा गरेको हो ।

    घोषित नतिजा अनुसार लघुकथाकार लोकनाथ पुडासैनीको लघुकथा ‘टिफिन’ प्रथम बन्न सफल भएको छ । उहाँ गण्डकी प्रदेशबाट सहभागी हुनुभएको थियोे । त्यस्तै लघुकथाकार मित्र उराठी गौतमको लघुकथा ‘आशीर्वाद’ले दोस्रो स्थान, लघुकथाकार तारानाथ पराजुलीको लघुकथा ‘समाचार’ले तेस्रो स्थान, लघुकथाकार लक्ष्मी रेग्मी खनालको लघुकथा ‘गणतन्त्रको चोट’ र लघुकथाकार कुमार काफ्लेको लघुकथा ‘सम्पदा संरक्षण’ सान्त्वना स्थान प्राप्त गरेका छन् । उहाँहरूले क्रमशः लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेशबाट प्रतिनिधित्व गर्नुभएको थियोे ।

    विजयी लघुकथाकारहरूले पूर्व घोषित निर्णय अनुसार प्रमाणपत्र सहित प्रथमले रु. २५०००/-, द्वितीयले रु. २०,०००/-, तृतीयले रु. १५,०००/- र सान्त्वना स्थान प्राप्त दुईजनाले पाँच/पाँच हजार नगद प्राप्त गर्नुहुनेछ । साथै प्रतियोगिताको पहिलो र दोस्रो चरणमा विजयी सम्पूर्ण लघुकथाहरूलाई मञ्चको सातौँ वार्षिक स्मारिकामा समावेश गरिने आयोजकले जनाएको छ ।

    आयोजक संस्था नमस्ते आधुनिक लघुकथा मञ्चले विजयी लघुकथा एवम् लघुकथाकारहरूमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दै विजयी लघुकथाकारहरूको पुरस्कार वि.सं. २०८२ सालमा संस्थाद्वारा राप्ती नगरपालिका, चितवनमा गरिने औपचारिक राष्ट्रिय कार्यक्रममा प्रदान गरिने जनाएको छ ।

    लघुकथा विशिष्ट प्रतियोगिता, २०८१ दुई चरणमा सञ्चालन गरिएको थियोे । पहिलो चरणको प्रतियोगिता समूहगत (clusterwise) रूपमा मुलुकभित्र (नेपालका सातै प्रदेशका स्रष्टाहरूको सहभागिता सुनिश्चित हुने गरी) र मुलुकबाहिर (विश्वका जुनसुकै देशका नेपालीभाषी स्रष्टाहरूबाट सहभागिता सुनिश्चित हुने गरी) क्रमशः सञ्चालन गरिएको थियोे । यसरी समूहगत (clusterwise) रूपमा सञ्चालित प्रतियोगिताको निर्णायकज्यूहरूद्वारा मूल्याङ्कन गराई प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने लघुकथाका सर्जकलाई पुरस्कार प्रदान गरिएको थियोे ।

    त्यस्तै लघुकथा विशिष्ट प्रतियोगिता, २०८१ को दोस्रो चरणमा पहिलो चरणमा विजयी लघुकथाका सर्जकहरूलाई ‘मेरो विजयी लघुकथा, मेरो वाचन’ अन्तर्गत जुम हलमा कार्यक्रम सञ्चालन गरी वाचन गर्न लगाइएको थियोे । उक्त कार्यक्रम संस्थाद्वारा नियुक्त चार जना निर्णायकज्यूहरूले हेरेर/सुनेर र प्रथम चरणमा विजयी लघुकथाहरूको पुनर्मूल्याङ्कन गरेर प्रतियोगिताको अन्तिम नतिजा निकाल्नुभएको थियोे । जुन माथि उल्लेख गरिसकिएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, लघुकथा विशिष्ट प्रतियोगिता, वसन्त अनुभव

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P