२३ माघ, काठमाडौं । वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ ।
राष्ट्रिय ध्वजा संहिताअनुसार राजकीय शोकमा संसद, सचिवालय, विधानसभा, अन्य महत्वपूर्ण राष्ट्रिय भवन तथा सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । समाचार एजेन्सी एएनआईका अनुसार लताको पार्थिव शरीरको अन्तिम संस्कार आइतबार साँझ साढे ६ बजे राजकीय सम्मानका साथ मुम्बईको शिवाजी पार्कमा गरिनेछ ।
कोकिल स्वरकी धनी लता मंगेशकरको आइतबार बिहान ९२ वर्षको उमेरमा मुम्बईको बीच क्याण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।लताको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा लताको निधनले देशमा खालीपन महसुस भएको उल्लेख गरेका छन् ।
लिस्बन । पोर्चुगलमा एक नेपाली युवाको निधन भएको छ। काम गर्दागर्दै बेहोस भएका २४ बर्षका उनि नेपाल स्याङ्जा निवासी हुन्।
उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो। भिरकोट नगरपालिका वार्ड नम्बर ५ स्याङ्जा घर भै हाल पोर्चुगलमा रहेका अंकित सिह ठकुरी काम गर्ने क्रममा बेहोस भएको र तत्कालै उपचारको लागि हस्पिटल पुर्याइएको थियो।
जनवरी २९मा हस्पिटलले बचाउन नसकेको कुरा जानकारी गराएको छ। केही महिना अगाडि मात्रै ग्रिस हुदै युरोप छिरेका उनले पोर्चुगललाई आफ्नो गन्तब्य बनाएका थिए ।
दुई दिन अगाडि मात्रै पोर्चुगलमा नेपाल कन्चनपुर घर भएका अर्का युवकले सुसाइड नोट लेख्दै झुण्डिएर आत्महत्या गरेका थिए। साभार:डि.सि.नेपाल डट कम
काठमाडौं। लोकप्रिय रियालिटी शो ‘बिग बोस १५’मा तेजस्वी प्रकाश नयाँ विजेता बनेकी छन् । विजेता बनेसँगै तेजस्वीले ट्रफीका साथ ४० लाख रुपैंयाँ पुरस्कार पनि जितिन् ।शोमा प्रतीक सहजपाल फस्ट रनरअप र करण कुन्द्रा सेकेण्ड रनरअप बने । आइतबार राती भएको फिनालेमा निशान्त भट्ट, तेजस्वी प्रकाश, करण कुन्द्रा, प्रतीक सहजपाल र शमिता शेट्टीबीच ट्रफीका लागि कडा प्रतिष्पर्धा भएको थियो ।तर निशान्त १० लाख रुपैंयाँ लिएर शोबाट बाहिरिएका थिए । जसलाई शोका होस्ट सलमान खानले पनि सही निर्णय भनेका थिए । यसपछि भोटको कमीका कारण शमितालाई अगाडि बढ्न अवरोध भएको थियो ।अन्ततः तेजस्वी, करण र प्रतीकबीच भएको निर्णायक स्पर्धामा तेजस्वीले ‘बिग बोस १५’को उपाधि पोल्टामा पारिन् । शोको विजेता बनेसँगै तेजस्वी निर्मात्री एकता कपूरको लोकप्रिय टेलिभिजन शो ‘नागिन’को ‘नयाँ नागिन’ घोषित भइन् ।
काठमाडौं । नेपालको बाटो भएर दुबई उड्न लागेका एक पाकिस्तानी नागरिक ४७ हजार एक सय रियालसहित पक्राउ परेका छन् ।
विमानस्थल प्रहरीले ३३ वर्षीय हाफिज एट्टिक उर रेहमानको साथबाट ४ सय यूएई दिरामसहित ओमान र भारतीय मुद्रा पनि बरामद भएको जनाएको छ । उनले पेपर ब्यागमा राखेर उक्त पैसा दुबई लैजान लागेको प्रहरीको दाबी छ ।
हाफिजलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ । गत साता एक भारतीय नागरिक नेपालको बाटो भएर दुबई उड्न लागेका बेला अवैध अमेरिकी डलरसहित पक्राउ परेका थिए ।
३० जनवरी २०२२, साउदी अरब ! सोलुखुम्बु घर भएर ४ महिना अगाडी मात्रै, अब्दाल सप्लाइ कम्पनी रियादमा आएका मनि कुमार बि.क ले आफ्नै बासस्थानमा आत्महत्या गरेका छन् ।
सप्लाइ कम्पनीमा आए पनि कम्पनीले अर्कै रेस्टुरेन्टमा डाइनिङ् डिपार्टमेन्टमा काम लगाएको थियो । केही दिन देखि घरायसी तनाबले ग्रसित रहेका बि.क ले रेस्टुरेन्टमा काम गर्दै गर्दा गत शुक्रबार केही सामन्य समस्या भएपछि उक्त रेस्टुरेन्ट का फिलिपिनी म्यानेजरले टर्मिनेट गर्नलाई पेपरमा साइन गराइ र लगाएको युनिफर्म पनि फिर्ता गर्न भनेपछि तनाब मा रहेको उहाँका निकटतम साथी सुरज बिश्वकर्माले जानकारी गराए । घरायसी तनाबले ग्रस्त बि.क लाई साथिहरुले राम्ररी सम्झाइ बुझाइ गरे पनि दोहोरो तनाबले अन्त्यमा सनिवार बिहान ६ बजे आफ्नो देह त्याग गर्न पुगे ।
निकटतम साथी सुरजका अनुसार यो केसका सम्बन्धमा नेपाली दूतावास रियादमा जानकारी गराइसकेको र मृत शरीर लाइ नेपाल पठाउन छिटो सहयोग गरिदिन दूतावास रियाद तथा एनआरएनए आरसिसीलाइ अनुरोध गरेका छन् ।
यो आत्महत्या केस भएकोले यसको पेपरहरु तयार गर्न, पोलिस रिपोर्ट पाउन केही बढि समय लाग्ने भएकोले मृत शरीर पठाउन केही समय लाग्ने तर सम्बन्धित पक्षशीत समन्वय गरि छिटो पठाउन सहयोग गर्ने दूतावासले उहाँको साथी सुरज बिश्वकर्मा लाइ जानकारी दिएको छ ।
३० जनवरी २०२२, साउदी अरब ! आगामी फेब्रुअरी ४ तारीख शुक्रबारका दिन एनआरएनए साउदी अरबले साउदी को पुर्वी क्षेत्र जुबेलमा निशुल्क स्वास्थ्य परिक्षण शिबिर संचालन गर्ने भएको छ ।
पुर्वी क्षेत्र जुबेल स्थित Gulf Asian Medical Center मा आप्रबासी नेपाली श्रमिकहरु जसको मेडिकल कार्ड छैन ( इकामा सकिएको वा नबनेकाहरु) उहाँहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्न लागिएको एनआरएनए अध्यक्ष डम्बर यादबले जानकारी गराएका छन् ।
उक्त शिविरमा बिहान ८ बजे देखी दिउँसो २ बजे सम्ममा उपस्थित भएर चिकित्सकीय सेवा लिई आफ्नो स्वास्थ्यको लाभ लिनुहुन एनआरएनए साउदीले जुबेल आसपासमा रहेका सम्पुर्ण नेपालीहरुलाइ आग्रह गरेको छ।
पछिल्लो समयमा अल कासिम, दम्माम क्षेत्रहरूमा यस्तै श्रमिक हक हितका स्वास्थ्य परिक्षण तथा श्रमिक सम्बन्धित बिभिन्न सचेतना कार्यक्रमहरु गर्दै आएको एनआरएनए साउदीले यस पटक इकमा बिहिन तथा मेडिकल कार्ड बिहिन हरुलाइ बिशेष मध्यनजर गर्दै यो कार्यक्रम गर्न लागेको हो ।
उक्त शिबिरमा कोलेस्ट्रोल जाँच, ब्लड प्रेसर जाँच, युरिक एसिड जाँच, सुगर जाँच, भिटामिन डिफिसियन्सिको जाँच तथा श्रमिकहरुको आवास्यक्ता अनुसारको अन्य जाँचहरु आवास्यक स्वास्थ्य परामर्श दिइने कार्यक्रम रहेको अध्यक्ष यादबले जानकारी दिए । उक्त शिबिरमा परिक्षण गराउन आउनको लागि यातायातको पनि ब्यबस्थापन गरिएको यादवले जानकारी दिए ।
स्थानः Gulf Asian Medical Center (Al-jubail): https://foursquare.com/v/5685385d498eede816966917
३० जनवरी २०२२, साउदी अरब ! नेपाल गोर्खा जिल्ला, बारपाक सुलिकोट गाउँ पालिका वाड नम्बर ७ देउराली, बोखोला घर भइ बिगत १० बर्षदेखि साउदी अरबमा कार्यरत रहेका तर दुई बर्षदेखि सम्पर्क बिहिन रहेका मान बहादुर गुरुङलाई खोजी गरिदिन परिवारले अपील गरेको छ ।
कुम्याङ इलेक्टि्रक साम्सुङ साउदी अरेबिया कम्पनीमा इलेक्ट्रीसियन पदमा कार्यरत गुरुङ दुई बर्षदेखी कुनै सम्पर्कमा न आएपछि उहाँको परिवारले कि सास कि लास भए पनि खोजी गरिदिन हुन एनआरएनए आरसिसि तथा दूतावास रियादलाइ अनुरोध गरेका छन् ।
एनआरएनए आरसिसि अल कासिम अध्यक्ष रम्जान दिन मियाँलाई जानकारी गराउदै मान बहादुर गुरुङका साला प्रेम गुरुङ ले जसरी भएपनी खोजी गरि सहयोग गर्न अनुरोध गरेका छन् ।
उहाँको इकमा चेक गर्दा दुई बर्ष पहिलेनै इक्स्पायर भएको, इकमा कपि सहित कम्पनीको आइडी कपि पनि गुरुङका सालाले प्रदान गरेपछि अध्यक्ष मियाँले अल कासिमका दूतावास प्रतिनिधि बिशाल श्रेष्ठलाई जानकारी दिइसकेका र दूतावास रियादमा समन्वय गर्दै उहाँको स्थितीबारे बुझेर जानकारी गराउने कुरा हिमालयन दृस्टीलाई अबगत गराए ।
हामी पनि साउदीमा रहनु हुने सबैमा उहाँको खोजी कार्य गरिदिनु हुन र यदि कहि कतै उहाँको बारेमा जानकारी भएमा तल दिइएको नम्बरमा सम्पर्क गरि अबगत गराइदिनु हुन पनि हिमालयन दृस्टी विनम्र अनुरोध गर्दछ । +9779826129226
२०७४ साल भदौ २५ गते सुनौलो सपना बोकेर घरको कमजोर आर्थिक स्थिती सबल बनाउन र छोराछोरीको उच्चशिक्षाको सपनालाई साकार बनाउने उद्देश्यका साथ केही पैसाको जोहो गर्न श्रीमती बालसिला वलीसंग सर सलाह गरी परदेशीएका थिए दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राना गाउँका मानसिंह वली।
तर २०७८ साल जेठ २२ गतेकादिन बिहान घरपरिवारसँग फोन सम्पर्कमा रहेका वलीको फोन अचानक सम्पर्कविच्छेद हुनजान्छ र उनी त्यसबेलादेखि पारिवारिक स्रोतसँग सम्पर्क विहिन हुनपुग्छन्।
उनका छोरा सनु वलीले काठमाडौँ कन्सुलर विभागमा निवेदन गरी बुबालाई खोजीदिन आग्रह गर्दै गरेको निवेदनमा मानशिंह वली २०७४ साल भदौ २५ गते वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएको र उनी कार्यरत कम्पनीद्वारा उनलाई काम र तलब नदीएपछी उनी कम्पनीबाट बाहिर गई अवैधरुपमा काम गर्दै आएको र घरपरिवारसँग पनि सम्पर्कमै रहेका थिए।
तर मिति२०७८ साल जेठ २२ गतेकादिन बिहान करीब मध्यान्ह १२ बजेतिर घरपरिवारसँग फोनमा कुरा गर्दागर्दै सम्पर्क विच्छेद भएका वली अहिलेसम्म सम्पर्कमा नआएको हुनाले छोरा सनु बाबुलाई खोजिदिन आग्रह गर्दै काठमाडौंमा धाईरहेका छन्। मानशिङ ओलीको खोजीकार्यमा साउदी अरबमा क्रियाशील गैरआवसीय नेपाली संघ, प्रवासी नेपाली समन्वय समिति लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले चासो देखाएका छन् साथै उहाँको बारेमा जानकारी पाउनासाथ नेपाली दूतावास रियाद वा हिमालयन दृष्टिको ई-मेल वा मेसेज बक्समा जानकारी गराउनुहुन अनुरोध गरिएको छ।
२८ जनवरी २०२२, शुक्रवार साउदी अरब ! नेपाली दूतावास रियादले अब यन्त्रवाचक राहदानी (MRP) नवीकरण सेवा स्थगन गर्दै नेपाल सरकारले लागू गरेको विद्युतीय राहदानी (e-Passport) बनाउने प्रक्रिया अगाडी बढाउन लागेको छ ।
शुक्रबार आफ्नो आधिकारिक पेजबाट एक जरुरी सूचना प्रसारित गर्दै नेपाली राजदूतावास साउदी बाट पनि केही हप्ता भित्रै जारी गर्ने गरी आवश्यक व्यवस्थापकीय तयारी भईरहेको जनएको छ । दूतावासले उक्त सूचना मार्फत ई-पासपोर्ट प्रणाली जडान गर्ने कार्य लगायत अन्य तयारी कार्यका लागि केही समय लाग्ने हुंदा आगामी आइतबार ३० जनवरी २०२२ देखि बिहीबार १७ फेब्रुअरी २०२२ सम्मको लागि यन्त्रवाचक राहदानी (MRP) नवीकरण गर्ने कार्य स्थगन गरिएको र ई-पासपोर्ट बनाउने प्रकृया, आवश्यक कागजात लगायतका सम्बन्धमा राजदूतावासले केही दिनमा नै आफ्नो आधिकारिक फेसबुक पेजबाट अर्को सूचना जारी गर्ने सबैमा सुचित गरेको छ ।
तत्काल साउदी इकामा नवीकरण गर्नुपर्ने अवस्था आएको र त्यसको लागि नयाँ राहदानी आवश्यक पर्ने भएमा मात्र यन्त्रवाचक राहदानी (MRP) नवीकरणको लागि आवेदन लिईने र यस्तो अवस्था भएका श्रमिकहरुले पनि दूतावासको राहदानी शाखामा काम गर्ने कर्मचारीहरू शीत सम्पर्क गर्न अनुरोध गरेको छ । राहदानी शाखामा काम गर्ने कर्मचारीहरुको नं. ०५०००३४७८६ वा ०५७१८५७८८४ वा ०५३४३४३१९१ मा सम्पर्क गरेर अग्रिम समय लिएर मात्रै दूतावासमा आउनु अनुरोध गर्दै यदि अग्रिम समय (appointment) नलिइकन आउने सेवाग्राहीको आवेदन नलिने पनि जनाएको छ ।
यदि कोहि नेपालीहरु साउदीबाट फाइनल एक्जिटमा जान लागेका र राहदानीको म्याद सकिएको भए दूतावासबाट एकतर्फी यात्रा अनुमतिपत्र (One Way Travel Document-TD) प्रदान गर्न सकिने पनि जानकारी गराएको छ।
कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य मात्रामा घटे पनि यस वर्ष भने उत्साहजनक रुपमा वुद्धि भएको छ ।
वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा नेपाल भित्रने रेमिट्यान्समा गिरावट आएको थियो जसले समग्र नेपालको अर्थतन्त्रमा समेत असर गरेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार यस वर्ष अर्थात २०७८ सात सुरु भएयताको ९ महिना (वैशाखदेखि पुससम्म)मा वैदेशिक रोजगारीमा जान ३ लाख ४६ हजार १४३ जनाले अन्तिम श्रम स्वीकृति लिइसकेका छन् । श्रम स्वीकृति लिनेहरू धेरैजसो वैदेशिक रोजगारीमा गइसकेका छन् ।
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिना (साउनदेखि पुससम्म)मा कूल २ लाख ९७ हजार ३६ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
अहिलेकै गतिमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्याले थप ६ महिनासम्म निरन्तरता पाए चालु आर्थिक वर्षको अन्तसम्म करिव ६ लाख नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको हुनेछन् ।
सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलो पटक कोरोना भाइरस देखिएपछि यसले केही दिनमै महामारीको रुप लिएको थियो । त्यसपछि कोरोना भाइरस विश्वभर फैलिएको थियो र यसको आतंक अहिलेसम्म पनि जारी छ ।
कोरोना महामारी नियन्त्रण गर्न विश्वका अधिकांश देशले लकडाउन गरेका थिए जसका कारण वैदेशिक रोजगारीमा नयाँ कामदार जानेक्रम ठप्प भएको थियो । गत वर्ष खोपको विकास भएसँगै यसको प्रयोग बढेपछि विस्तारै वैदेशिक रोजगारीको ढोका खुल्न थालेको हो ।
कोेरोना महामारी सुरु हुनुभन्दा अघि आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगार विभागबाट ४ लाख ७६ हजार ७०५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । यसअघि नेपालबाट वैदेशिक रोजगारीमा जान वर्षेनी चार देखि पाँच लाख जनाले श्रम स्वीकृति लिने गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
कोरोना महामारी सुरु भएपछि आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको थियो । कोरोनाका कारण नेपालमा २०७६ चैत ११ गतेबाट लकडाउन सुरु गरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा ३ लाख ६८ हजार ४३३ जनाले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका थिए ।
गत आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा जानेको संख्या झन् घटेको थियो । गत वर्ष मात्र १ लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएका थिए ।
कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या मात्र घटेन यसले वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि वेरोजगार बनायो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी)का अनुसार कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगारीमा गएका ५ लाख ७२ हजार ५७१ जनाले रोजगार गुमाई स्वदेश फर्केका छन् । उनीहरुलाई सरकारले उद्धार गरी स्वदेश फर्काएको हो ।
वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा र भएकाले पनि रोजगारी गुमाउँदा नेपाल भित्रने रेमिट्यान्स समेत घटेको नेपाल राष्ट्र बैंकले जनाउँदै आएको छ । चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएपछिको पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) नेपाल भित्रने रेमिट्यान्समा ६.८ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ । यो पाँच महिनामा नेपालमा ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ११ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपाल भित्रने रेमिट्यान्स अमेरिकी डलरमा ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोडमा झरेको छ । अघिल्लो वर्ष यो ६.४ प्रतिशतले बढेको थियो ।
२०७८ साल सुरु भएपछि भने वैदेशिक रोजगारीमा जानेको संख्या क्रमैसँग बढ्दै गएको छ । यही गतिमा श्रम स्वीकृति लिनेको संख्या बढ्दै गए यो वर्ष नेपालबाट हालसम्मकै सबैभन्दा ठूलो संख्या वैदेशिक रोजगारीमा जाने पक्का छ ।
२०७८ साल सुरु भएयताको ९ महिनामा क्रमशः वैशाखमा २४ हजार ३६३, जेठमा ४ हजार ८६, असारमा २० हजार ६५८, साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४ र पुसमा ६६ हजार ६२५ जनाले विभागबाट श्रम स्वीकृति लिएका छन् ।
यस वर्ष वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेको संख्या उल्लेख्यरुपमा बढ्दा नेपाल भित्रने रेमिट्यान्समा पनि क्रमिकरूपमा सुधार आउने आशा गरिएको छ । यो वर्ष वैदेशिक रोजगारीमा गएकाहरुले गएको दुई वर्षमा जस्तो रोजगारी पनि गुमाएका छैनन्, जसले गर्दा नेपाल भित्रने रेमिट्यान्स बढ्ने विश्वासलाई थप मजबुत बनाएको छ ।