• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

देशको माया र पसिनाको मूल्य

  • १२ आश्विन २०८२, आईतवार १७:३१ मा प्रकाशित
  • ✍️— तुल्सी राम आचार्य
    वैदेशिक रोजगारीको सिलसिलामा मध्यपूर्वमा आएको पनि दशकौं भइसकेछ। बिहान–बेलुकीको धपेडी उस्तै हुन्छ, रुटिन उस्तै हुन्छ, घामको ताप र पसिनाको गन्ध उस्तै छ… यिनै सबैसँग यहाँ जीवन कटिरहेको छ। आफ्ना परिवार, समाज र देशको लागि मरिमेटी पसिना बगाइरहेका छौं; हरेक महिनाको अन्त्यमा केही रकम ‘रेमिट्यान्स’को रूपमा स्वदेश पठाइरहेका छौं।
    काम सकेर थकाइले चुर हुँदै बासस्थान फर्किने बेला, गर्मीले चुत्रुक्क भिजेको शरीर लिएर बस कुर्दै गर्दा मेसेञ्जरमा छोरीको तोते बोलीमा आउने “बाबा…” भन्ने सम्बोधनले सबै थोक बिर्साइदिन्छ। त्यो मुस्कान, त्यो शब्द—थकान, पीडा र विछोडको भार बगाएर लैजान सक्ने रहेछ।

    तर म यहाँ कुनै सम्पन्न देश वा सम्पन्न व्यक्तिको सहानुभूति खोजेर बसेको छैन। मलाई त केवल यति थोरै आश्वासन चाहिएको छ—मेरो गाउँ, मेरो सहर, मेरो समाज शान्त होस्; मेरो जीवन र पसिनाको सुरक्षा सुनिश्चित होस्।
    म जान्दछु, आन्दोलनले मेरो चुलो बल्दैन। यदि बल्ने भए—२०४७ सालदेखिको तर्स्याउने क्रियाकलाप, तोडफोड र भरपर्दो नभएका आश्वासनहरूले मेरो जीवनमा केही वास्तविक परिवर्तन ल्याइदिएको हुन्थ्यो। मैले ती आन्दोलनहरू देखेँ—संगठित हुन पाएनँ, तर नतिजाको प्रतीक्षामा रहिरहेँ।
    २०४७ मा भयो—राजनीतिक आन्दोलन। केही व्यवस्था फेरिएझैं देखियो।
    २०६३ मा भयो—लामो र तिखो जनयुद्ध। हजारौंले ज्यान गुमाए, अर्बौंको आर्थिक क्षति भयो। नियम-कानुन र संविधानमा केही संशोधनहरू भए होलान्, तर गरिबको भाग्य फेरिएन।
    जसले तोडफोड गरे, तिनलाई प्राय: राजनीति नामकै छाताले बचाइदियो। ‘क्रान्तिको नाममा’ भनेर कानुनी कारबाहीबाट उन्मुक्ति दिइयो। समय बित्यो, अनि हामी फेरि बिर्सियौं।

    आज फेरि आन्दोलन हुँदैछ। फेरि तोडफोड हुँदैछ। फेरि सार्वजनिक सम्पत्तिमा आगो लाग्दैछ। र फेरि हामीलाई भनिँदैछ—“यो त देशको भविष्यका लागि हो।” अनि गृहमन्त्री बोल्छन्: तोडफोड गरिनेलाई कारबाही गरिनु हुँदैन।

    यो स्वीकार्य छैन। कानून र सुरक्षाको प्रश्नमा दुईतर्फी मापदण्ड हुँदैन। सार्वजनिक शान्ति, व्यक्तिगत सुरक्षा र आर्थिक आधारभूत संरचनाको रक्षा गर्दै न्याय कायम गर्नु सबै नागरिकको पहिलो कर्तव्य हो—राजनीतिक स्वार्थ होइन। आन्दोलनले बोल्न पाउनुपर्छ; तर त्यो बोलाइले जीवन र सम्पत्तिमा क्षति पुर्‍याउनु हुँदैन, र दोषीहरूले राजनीतिमा सक्रिय भएकै कारण वा आधारमा छुट पाउनु हुँदैन।

    हामीले अब प्रश्न उठाउनुपर्ने बेला आयो—के हामी वास्तवमा परिवर्तन चाहन्छौं, कि केवल ‘अर्को पटक’ को लागि बहाना? के हाम्रो लक्ष्य तोडफोड र अस्थिरता हो, कि न्याय, विकास र सुरक्षा हो? छुट वा संरक्षण पाउनेहरूको सूची लामो रहिरहेसम्म, असल परिवर्तनका लागि भरोसा कसरी फर्किन्छ?

    देशको माया झन्डा फहराउनेभन्दा ठूलो हो—देशलाई जिम्मेवार नेतृत्व, उत्तरदायी शासन र सुसम्बन्धित न्यायिक प्रक्रिया चाहियो। मेरो पसिना र अनेकौं परिवारको बलिदानले त्यस्तो भविष्य चाहिन्छ जहाँ अरूले ‘क्रान्ति’को नाममा अमान्यतालाई धर्म नदिएर जवाफदेही बनून्।
    हामी चुप बस्ने समय सकियो — आवाज उठाउनै पर्दछ; तर आवाजले विनाश ल्याउनु हुँदैन, न्याय र इमानदारी माग्नुपर्छ। त्यसो भए मात्रै मेरो र तपाईंको पसिना असल तरिकाले मुल्यवान हुनेछ।

    Posted in मुख्य खबर, विचार, समाज

    ‘लोपाञ्जन ‘ र ‘प्रयोगशाला’को परिचर्चा कार्यक्रम सम्पन्न

  • ११ आश्विन २०८२, शनिबार २०:३० मा प्रकाशित
  • काठमाडौँ, असोज ११ गते
    वसन्त अनुभव

    नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘लोपाञ्जन’ र ‘प्रयोगशाला’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।

    ‘लोपाञ्जन’ लघुकथासङ्ग्रह, लघुकथाकार श्रीकृष्ण पौडेलको पहिलो लघुकथा कृति हो । त्यस्तै ‘प्रयोगशाला’ लघुकथासङ्ग्रह लघुकथाकार होम प्रसाद नेउपानेको पनि पहिलो लघुकथा कृति हो ।

    कार्यक्रमका प्रमुख अतिथि एवम् आज परिचर्चा गरिएका पुस्तकहरूको सम्पादक समेत रहनुभएका वरिष्ठ समालोचक, साहित्यकार प्रा.डा.विदुर चालिसेले परिचर्चाकारज्यूले औल्याउनुभएका त्रुटिहरूको सन्दर्भमा बोल्दै ‘छोटो समयमै दुई दर्जन बढी कृतिहरूको सम्पादन गर्नु, प्रकाशन गर्नु कम चुनौतीपूर्ण कार्य थिएन, तर हामीले त्यसलाई सहजतापूर्वक सम्पन्न गर्‍यौँ । हतारमा काम गर्दा सानातिना कमिकमजोरी हुनसक्छन्, तर सकेसम्म कम त्रुटि होस् भन्नेमा हामी सजग थियौँ ।’ उहाँले भन्नुभयो ।
    साथै लघुकथाकार होम प्रसाद नेउपानेको लघुकथा कृति ‘प्रयोगशाला’को परिचर्चा गर्दै प्रा.डा. विदुर चालिसेले लघुकथाकार होम प्रसाद नेउपानेका लघुकथाहरू छोटा, सटिक र चोटिला रहेको उल्लेख गर्नुभयो । ‘उहाँका धेरै लघुकथाहरू समसामयिक परिवेशसँग मेल खाने हुनुका साथै व्यङ्ग्यात्मक शैलीमा रहेका छन् ।’ उहाँले भन्नुभयो ।

    पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा.कपिल लामिछानेले लघुकथाकार श्रीकृष्ण पौडेलको लघुकथा कृति ‘लोपाञ्जन’को परिचर्चा गर्दै सङ्ग्रहमा सङ्ग्रहित लघुकथाहरू सामाजिक, राजनैतिक लगायत विभिन्न परिवेशका रहेका उल्लेख गर्नुभयो ‘लघुकथाकार पौडेलले आफ्ना लघुकथाहरूमा नेपाली संस्कृति उजागर गर्नुभएको छ । साथै उहाँका लघुकथाहरूमा रैथाने शब्दहरूको प्रयोग धेरै पाइन्छ ।’ उहाँले भन्नुभयो ।
    सङ्ग्रहमा रहेका सुधार गर्नुपर्ने कुराहरूको उल्लेख गर्दै परिचर्चाकार लामिछानेले केही लघुकथाहरूमा संवाद नभएकोमा संवाद राख्दा उचित हुने, लघुकथा लेख्दा एउटै कालमा लेख्नुपर्ने सुझाव दिनुभयो । साथै उहाँले शुद्धाशुद्धी तर्फ पनि ध्यान पुर्‍याउन आग्रह गर्नुभयो ।

    कार्यक्रममा ‘लोपाञ्जन’ लघुकथासङ्ग्रहको कृतिकारको तर्फबाट बोल्नुहुँदै लघुकथाकार श्रीकृष्ण पौडेलले आफ्नो कृतिको शब्द शब्द केलाएर अत्यन्त मिहिन ढङ्गले समीक्षा गरिदिनुभएकोमा परिचर्चाकार प्रा.डा. कपिल लामिछानेज्यू, प्रमुख अतिथि प्रा.डा. विदुर चालिसेज्यू, अध्यक्षज्यू लगायत कार्यक्रममा उपस्थित भइदिनुहुने सबै महानुभावप्रति आभार प्रकाट गर्नुभयो ।

    ‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा प्रा.डा.विदुर चालिसे, प्रा.डा. कपिल लामिछाने, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, अवधेश सिंह, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, डा.टिकाराम पोख्रेल, मुक्ति गौतम, कर्ण दयाल, श्रीकृष्ण पौडेल, विष्णुप्रसाद काफ्ले, लोकनाथ पुडासैनी, मुक्तिनाथ गौतम, मित्र उराठी गौतम, रोहिनी, प्रतीक्षा पौडेल, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण आधिकारिक लघुकथा वाचक प्रतीक्षा पौडेलले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।


    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, लघुकथा, लघुकथा परिचर्चा, वसन्त अनुभव

    पर्साको भिस्वामा गोली प्रहार, एक किशोर घाइते

  • १० आश्विन २०८२, शुक्रबार ०६:३० मा प्रकाशित

  • वीरगन्ज, ९ असोज: पर्साको छिपहरमाई गाउँपालिका–५, भिस्वामा बिहीबार साँझ भएको झगडाका क्रममा गोली प्रहार हुँदा एक किशोर घाइते भएका छन्।

    घाइते हुनेमा सोही स्थानका करिब १६ वर्षीय गोलु आलम धुनिया रहेका छन्। उनको बायाँ तिघ्रामा गोली लागेको र अहिले वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार गाउँपालिकाको कार्यालय पछाडिको सडकमा दुई समूहबीचको विवादका क्रममा गोली चल्दा आलम घाइते भएका हुन्। तर उनलाई कसले र किन गोली प्रहार गरियो भन्ने विषयमा अनुसन्धान जारी रहेको छ।

    पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले घटनाको पुष्टि गर्दै घाइते आलमको अवस्था खतरामुक्त रहेको जानकारी दिए। उनले गोली प्रहार गर्ने व्यक्तिहरूको खोजी भइरहेको पनि बताए।


    Posted in मुख्य खबर

    जबरजस्ती करणीमा जेल सजाय काटिरहेका नख्खु कारागारबाट फरार कैदीद्वारा श्रीमतीको हत्या

  • ६ आश्विन २०८२, सोमबार २२:१२ मा प्रकाशित
  • facebook sharing button
    sharethis sharing button

    काभ्रेपलाञ्चोक । नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्।

    काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए।

    सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए ।

    इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

    हत्यापछि तामाङ फरार छन् । प्रहरी घटनास्थल पुगेपछी थप जानकारी हुने प्रहरीले जनाएको छ ।

    Posted in मुख्य खबर

    अपहरण प्रकरण- १५ वर्षीय बालकको अपहरण, पाँच करोड फिरौती माग

  • ६ आश्विन २०८२, सोमबार २१:५३ मा प्रकाशित
  • sharethis sharing button

    सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहा गाउँका १५ वर्षीय बालक अभिषेक सिंह अपहरणमा परेको भन्दै परिवारजनले इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका छन्।

    असोज ५ गते राती ८:३० बजे खाना खाएर घर बाहिर आँगनमा निस्केका अभिषेक बेपत्ता भए। अभिषेककी आमा , बाजे र बज्यैले रातभरी गाउँ चाहारे तर बालक अभिषेक भेटिएनन्।

    असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा ५ करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको लख काटियो। फिरौती माग गरिएको इमो सन्देशमा अंक र अक्षर दुबैमा ५ करोड उल्लेख गरिएको छ।

    अभिषेकका बुबा सञ्जय सिंहको ७ वर्ष अघि करेण्ट लागेर मृत्यु भएको र अभिषेक सिंह परिवारको एक मात्र वारिस भएको वृद्धवयका बाजे लक्ष्मण सिंहले बताए। नाति अपहरणमा परेको थाहा पाएर बिलखबन्दमा परेका बाजे लक्ष्मण सिंह र बालककी आमाले असोज ६ गते मध्यान्हमा आएर इलाका प्रहरी कार्यालय गोलबजारमा लिखित जाहेरी दिएका छन्।

    बालक अपहरणको सूचना पाएपछि प्रहरी अनुसन्धान , खोज तलास र उद्धारका लागि सकृय भएको छ। घटनास्थलमा भेटिएका प्रहरी निरीक्षक गोविन्द साहले अनुसन्धान र खोज तलास सुरु गरिएको बताए।

    हराइ रहेका बालक जनता माध्यमिक विद्यालय बलहीमा कक्षा ७ मा पढदा पढदै पढाई छाडेको र आफ्नै स्वामित्वमा रहेको सिटी रिक्सा तथा ट्रयाक्टर चलाउने गरेको छिमेकीहरुले बताए।

    बालक अभिषेकको अपहरणको खबर गोलबजार नगरपालिकामा डढेलो झैं फैलिएको छ। गोलबजार चोकदेखि ६ किलोमिटर दक्षिणमा रहेको डंग्राहा गाउँमा यो खबरले त्रास फैलिएको छ। स्थानीयहरु असुरक्षित महसुस गर्दैछन्।

    समाचार संकलन गर्न गएका पत्रकारहरुलाई समाचार नलेखि दिन परिवारजनले आग्रह गरेका छन्। समाचार लेखेकै कारण बालक अभिषेकको ज्यान झन् खतरामा पर्ने भयले परिवारजनले आफ्नो नाम र घटनाको नालीबेली बताउन चाहदैनन्।

    chandrasurya wani

    Posted in मुख्य खबर

    अन्तरिम सरकारको श्रममन्त्रीको चर्चामा प्रोफेसर रमजान अलि मियाँ

  • ४ आश्विन २०८२, शनिबार १७:३२ मा प्रकाशित
  • काठमाडौं । नेपालमा जेन जिको आन्दोलन पछि गठित वर्तमान सरकारमा मन्त्री बनाउन विभिन्न व्यक्तित्वहरूको नाम चर्चामा भइरहेका बेला मुस्लिम समुदायबाट प्राध्यापक डा. मोहम्मद रमजान अली मियाँको नाम श्रम मन्त्रालयका लागि सिफारिस भएको जानाकारीमा आएकोछ ।

    काठमाडौंको डाँछीमा जन्मिएका मियाँले अरबी साहित्यमा डबल एमए गरी उच्च शिक्षा हासिल गरेका छन् । सन् २००७ यता कतारलाई कर्मथलो बनाएर उनी श्रमिक अधिकार संरक्षण, उद्धार र सहायतामा क्रियाशील छन् । नेपाली मात्र नभई दक्षिण एसियाली श्रमिक समुदायबीच पनि उनी विश्वसनीय नामका रूपमा परिचित छन् ।

    कर्मभूमि कतारमा लामो समयदेखि मानवअधिकार र श्रमिक अधिकारको क्षेत्रमा सक्रिय रहेर अनगिन्ति श्रमिकहरुको हकहितका लागि काम गरेका मियाँले नेपाल–कतार सम्बन्ध सुदृढ बनाउन उल्लेख्य योगदान पुर्याउँदै आएका छन् । वैदेशिक रोजगारीको क्षेत्रमा आम श्रमिक र युवाको आवाज बनेका उनी लेखक, अनुवादक, समाजसेवी, कानुनी परामर्शदाता मात्र नभई राष्ट्रिय मानव अधिकार समिति कतारसँग पनि आवद्ध छन् ।

    उनका अरबी, नेपाली, उर्दू, हिन्दी भाषामा तीन दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । फारसी, मलेसियन, पस्तु, नेपाली, अंग्रेजी र हिन्दी भाषामा दक्ष मियाँ श्रम ऐन र श्रमिक अधिकार विषयक अनुसन्धानका कारण कतारमा सम्मानित व्यक्तित्व मानिन्छन् । उनलाई कतार सरकारले समेत दर्जनौँ पटक सम्मान गरिसकेको छ ।

    उनी पछिल्लो पटक जेन जी अभियानमा सहभागी हुन कतारबाट काठमाडौ आएका थिए र आन्दोलनमा प्रत्यक्ष सहभागी भएर आफुले सक्दो सहयोग पनि गरेका थिए ।

    २०७२ को भूकम्पताका उनले आधा घण्टाको टेलिभिजन अपिलमार्फत ३२ मिलियन कतारी रियाल संकलन गरी नेपाल पठाएका थिए । कोरोना महामारीताका पनि उनले कतार सरकारबाट नेपाललाई ठूलो परिमाणमा मेडिकल सामग्री सहयोग पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । नेपालमा कतार च्यारिटी र कतार डेभलपमेन्ट फन्डमार्फत विभिन्न सहयोग ल्याउन उनको योगदान रहँदै आएको छ । कतारी अमिर लगायत विभिन्न उच्च व्यक्तित्वको नेपाल भ्रमण मिलाउन उनले बलियो कसरत गरेका समेत थिए ।

    भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलाम फाउन्डेसनले यस वर्षको अरबी साहित्य तथा समाजसेवा सम्मान प्रदान गर्ने पहिलो नेपाली व्यक्तित्वसमेत बनेका मियाँ हालै अन्तर्राष्ट्रिय मानवअधिकार संगठन बाट पनि उच्च सम्मान बाट सम्मानित भएका थिए । कतार फाउन्डेसन कतार सरकारका निकायहरु कतार फन्ड फर डेभलपमेन्ट लगायत कतारको विभिन्न निकाय संग मियाँको बलियो सम्बन्ध भएको हुनाले उनले आर्थिक कुटनिती गर्न सक्ने विश्वास समुदायले लिएको छ ।

    कतार र खाडी मुलुकको राजदूतमा समेत बलियो दावेदार मानिँदै आएका मियाँ मुस्लिम समुदायका उदाउँदा तारा हुन । नेपालमा समेत उनी आफ्नो समुदायको शैक्षिक, सामाजिक तथा आर्थिक उत्थानमा सक्रिय रहँदै आएका छन्।

    प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा श्रममन्त्रीका लागि मियाँको नाम जोडदार रूपमा सिफारिस हुन थालेपछि उनको बहुआयामिक व्यक्तित्व फेरि एकपटक चर्चामा आएको छ । वैदेशिक रोजगारीमा रहेका कामदारको हकहितमा धेरै काम गरेर अनुभव बटुलेका मिया श्रममन्त्री बनेमा उनले आमूल परिवर्तन ल्याउन सक्ने वैदेशिक रोजगार बिज्ञहरु बताउछन ।

    हाल श्रममन्त्रीमा मियासङ्गै अन्य ३ जनाको सिफारिस परेको समाचार स्रोतले दावी गरेको छ । मुस्लिम समुदायबाट कोहि पनि बर्तमान मन्त्रीपरिसदमा नभएकोले मियाँको संभावना बढेर गएको छ ।

    उहाँले श्रमिकहरुको समस्या बुझेको श्रमिकहरु तथा देश र जनताका लागि हरेक पल साथ सहयोग गरि करिब करिब बिश्वका अधिकांस देशहरुमा राम्रो छवि बनाउऩ सफल भएका मियाँ श्रम मन्त्रालय हाँक्न सक्ने प्रबल क्षमता रहेको देखिन्छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीति, समाज

    साउदी अरबको यान्बुमा बिगत 5 महिनेदेखि अलपत्र ११ नेपाली श्रमिकको उद्वार ।

  • ३० भाद्र २०८२, सोमबार २१:२१ मा प्रकाशित
  • यान्बु साउदी अरब ।

    बिगत केहि महिनादेखि साउदी अरबको यान्बु शहरमा अलपत्र परेका ११ जना नेपाली श्रमिकहरुको उद्वार भएको छ। अलपत्र ११ जना मध्ये १ जना स्थानीय कम्पनीमा ट्रान्सफर लिएको र बाँकी १० जना आज नेपाल फिर्ता भएका छन् ।

    अलपत्र नेपाली नपाली श्रमिकहरुलाई राजदुतावास रियाद र नेपाली महाबाणिज्यदुतावास जेद्दाको अथक पहलकदमी पछि कम्पनीले बहिर्गमन भिषा र टिकट उपलब्ध गराएको थियो । बिगतक ५ महिना देखी कम्पनीले काम र तलब नदिएर पिडित बनेपछि १ महिना पहिले नेपाली सेवा समिति-यान्बु को सम्पर्कमा आएर विभिन्न मिडियामा  समाचार आए पश्चात उद्दार प्रक्रिया अगाडि बढेर उद्वार गर्न सफल भएको हो ।

    उद्दारका गरि नेपाल पठाउन सहयोग गर्नुहुने राजदुतावास रियाद, वाणिज्य दूतावास जेद्दा, पत्रकार तथा अन्य सहयोगीहरूलाई समितिका  कार्यबहाक अध्यक्ष धन बहादुर गुरुङले धन्यवाद ज्ञापन गर्नुभयो। खान नपाएर परदेशमै भोकै मरिन्छ कि भन्ने लागेको थियो ३७  दिन यता आवश्यक खाद्यान्न, सरसफाइ सामाग्री र केही नगद रकम उपलब्ध गराएर नेपाली सेवा समितिले अभिवावक को जिम्मेवारी ग्रहण गरि हाम्रो ज्यान बचाईदियो बहिर्गमन भिषा र टिकट पाए पछि खुसी हुदै एक पिडितले भने।

    रुममा बिजुली थिएन ५०-५५ डिग्रीको गर्मीमा यसै बस्दा केहि साथी बिरामी परेपछि उपचारको लागि पैसा नभएर नेपाल मेनपावर कम्पनीलाई जानकारी गराउदा रुम र उपचारको लागि पैसा पठाईदिन्छु भनेको तर आज भोलि भन्दै टारिदिएको अर्का पिडित ले बताए । घर जाने बेलामा कम्पनी ले बाँकी तलब उपलब्ध गराउने भनेता पनि ५ महिना देखि को करिब ५९ हजार साउदी रियल (ने.रु. २२ लाख) तलब नदिई टिकेट मात्र उपलब्ध गराएको पिडितहरुको गुनासो छ।

    अल फराज इन्टरनेशनल ओभरसिज प्रा. लि. नेपाल बाट साउदी को इलाईट सपोर्टिङ कम्पनी एलएलसीमा गत सेप्टेम्बर २०२३ मा मेसन, टि ब्वाए, लेबर मा साउदी अरब पुगेका उनीहरूलाई शुरुवातमा तलब दिए तापनि ९ महिना देखी  साउदी आवासीय कार्ड (अकामा) नविकरण नगरिदिएको, ५ महिना देखी तलब नदिएको र बिगत २ महिना देखी रुममा लाईट नभएकोले खाना बस्न को समस्या भएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज

    “म पनि विदेशमै छु”

  • ३० भाद्र २०८२, सोमबार २१:०९ मा प्रकाशित
  • ✍️तुल्सी राम आचार्य

    म पनि विदेशमै छु, तर नेपालमा विधि–विधान र प्रजातान्त्रिक पद्धतिको वकालत गर्छु। मेरो देश जहिले पनि खुशहाल, प्रगतिशील र उज्यालो भविष्यतर्फ अगाडि बढोस् भन्ने मेरो कामना छ।

    तर म जस्तै विदेशमा रहेका कतिपय “कथित देशभक्त”हरूले सामाजिक सञ्जालमा देश, समाज र सरकार विरुद्ध बिष वमन गर्दा त्यसबाट उत्पन्न परिस्थितिले आज देशले हजारौं रोजगारी गुमाएको छ। अरबौंको क्षति भएको छ। सरकारी सम्पत्ति जलेर खरानी भएको छ।र करिब सयौँको सङ्ख्यामा नेपाली आमाका काख रित्तिएका छन्।

    हो, देशमा विकास जति हुनुपर्ने थियो त्यति भएको छैन, भ्रष्टाचार पनि रोकिएको छैन। तर हामीले रोइलो गरेजति देश बिग्रेको पनि थिएन।

    गाउॅ, सहर् पालीका, नगरपालिका–उपमहानगरलाई जोड्ने सडकहरू धमाधम हाम्रो अर्थतन्त्रले भ्याए अनुसार फराकिला बन्दै थिए। तराई–हिमाल–पहाडलाई जोड्ने सडक आफ्नै गतिमा अघि बढ्दै थियो। नागढुङ्गा सुरुङ मार्ग अन्तिम चरणमा थियो। काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माण भइरहेकै थियो। बुटवल–नारायणघाट सडक चार लेनमा विस्तार हुँदै थियो।

    व्यापार–व्यवसाय फस्टाउँदै थियो, निजी लगानीकर्ताहरू उत्साहित थिए। भाटभटेनीले देशभर शाखा विस्तार गरिरहेको थियो। चन्द्र ढकाल केबलकार विस्तारमा सक्रिय थिए। विदेशी मल्टिनेसनल कम्पनीहरू नेपालमा लगानी गर्न थालेका थिए। यी सबै क्रियाकलापले रोजगारी सिर्जना गरिरहेका थिए। गाउँपालिकासम्म प्रहरी चौकी र अस्पताल विस्तार भइरहेका थिए।

    हाम्रो जस्तो भूपरिवेष्ठित देश युरोप–अमेरिकासँग तुलना गर्न नसकिए पनि आफ्नै गतिमा अघि बढ्दै थियो। हामीले मौजुदा सरकारलाई नागरिकको तर्फबाट सहयोग गर्दै, डेलिभरी चित्त नबुझे प्रजातान्त्रिक पद्धतिबाट चुनावमार्फत परिवर्तन गर्ने हो भने हाम्रो लोकतन्त्र अझ बलियो बन्दै जाने थियो र हामीले चाहेका ब्क्ती सरकारमा पुग्ने थिए!

    तर कसको आँखा लाग्यो—पलभरमै सबैकुरा खरानी बन्यो। भाटभटेनीको पसलभित्रको कपडा मात्र जलेन, त्यहाँ काम गर्ने गरिब–मध्यमवर्गीय परिवारको रोजीरोटी पनि जल्यो। अब उनीहरूले पनि झोला बोकी विदेशतिर पलायन हुने अवस्था आयो।

    अब सुरुवात हामीबाटै गर्नुपर्छ। हाम्रो पुर्खाले हामीलाई क्रान्ति र लडाइँ त सिकाए, तर सिर्जनशील रूपमा समाजका लागि केही गर्न सिकाएनन्। त्यसैले आज हामीले लेख्ने, बोल्ने, सोच्ने पद्धति नै सकारात्मक बनाउनुपर्छ। जसले समाजमा सकारात्मक ऊर्जा भरिन्छ, त्यसले नै भविष्यको पुनर्निर्माण सम्भव बनाउँछ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, विचार, समाज

    “नेतृत्वको अर्थ र नागरिकको जिम्मेवारी”

  • ३० भाद्र २०८२, सोमबार ०३:१३ मा प्रकाशित
  • प्रर्तीकात्मक तस्बीर


    ✍️तुल्सी राम आचार्य


    मिडियामा बहस चर्किएको छ—गत सोमबार र मङ्गलबारको विध्वंसमा कसैले विदेशीको हात देख्छ, कसैले दलको, कसैले राजसंस्थाको।

    कोही लिपापोतीमा छन्, कोही श्रेय लिन दौडिरहेका छन्। तर जनता अझै अलमलमा छन्।

    प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेकी सुशीला कार्कीको उपस्थितिले एक कुरा स्पष्ट पार्छ—देशले केही समयका लागि भए पनि स्वच्छ छविको नेतृत्व खोजिरहेको थियो, र त्यो अपेक्षा पूरा भएको छ।

    तर नेतृत्वमा पुगेकाले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कामलाई प्राथमिकता दिएन भने भोलि पनि यस्ता आयातित आन्दोलन दोहोरिन सक्छन्। देश आर्थिक दलदलमा फस्न सक्छ। त्यसैले नयाँ सरकारले यो सन्देश बुझ्न जरुरी छ।

    सवारीचालक अनुमति पत्र बनाउन हजारौँ रुपैयाँ घुस नदिई सम्भव छैन। कर तिर्न जाँदा पनि घुसको माग। कार्यालयमा “चिया–पानी”को व्यवस्था नभएर एक दिनको काम पाँच दिन, पाँच दिनको काम महिना दिन, कहिलेकाहीँ वर्षौं लाग्छ।

    यसका लागि आन्दोलनको जगमा उभिएको सरकारले गाउँ–गाउँ, टोल–टोलमा सुशासन कायम गर्नुपर्छ। नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने निकायमा हुने घुस्या प्रवृत्तिमाथि तुरुन्त कारबाही जरुरी छ, ताकि जनताले राजनीतिक परिवर्तनको वास्तविक अनुभूति गर्न सकून्।

    आधारभूत सेवामा बाधा हुँदा जनताको आक्रोश बढ्नु स्वाभाविक हो। तर जनता पनि अनुशासित नभई देश बदलिँदैन। जति सरकार फेरिए पनि परिणाम उस्तै रहन्छ। “घुस लिन्या र दिन्या दुवै समाजका शत्रु” हुन् भन्ने सचेतना सबैमा हुनुपर्छ।

    सरकारी सम्पत्ति जोगाउने जिम्मा पनि हामी सबैको हो। नेताहरूलाई प्रक्रिया अनुसार फेर्न सकिन्छ, तर सार्वजनिक सम्पत्ति पनि नष्ट गर्न थालियो भने गन्तव्य टाढा धकेलिन्छ—१० वर्षको लक्ष्य पचास वर्ष लाग्न सक्छ।

    आजको युगमा सामाजिक सञ्जालमार्फत विभिन्न शक्तिहरू आफ्नै स्वार्थ सोझ्याउन लागिपरेका छन्। बजारको हल्ला, पत्रिकाको समाचारको सत्यता जाँच नगरी चरित्र हत्या गर्ने प्रवृत्ति रोक्नैपर्छ। आज ब्यक्ति बिषेसलाई खुइल्याउन प्रयोग भएको यही विष भोलि हाम्रो समाजमै फर्किन सक्छ।

    यस्ता प्रवृत्तिले सरकार मात्र होइन, हामी नागरिकलाई पनि कटघरेमा उभ्याउँछ।

    हामीले दोष सधैं सरकारलाई मात्र थोपर्दै आएका छौं। तर यो संकटमा नागरिकको पनि उत्तिकै जिम्मेवारी छ। सरकारमा हुँदा सुधार नगर्ने, बाहिरिएपछि नकारात्मकता फैलाउने राजनीतिक शक्तिहरू—दुवैले आजको अविश्वासको भित्तो बाक्लो बनाएका छन्। त्यसकै परिणाम जनतामा निराशा बढ्दै देश फेरि २० वर्ष पुरानै अवस्थामा फर्किनु परेको छ।

    कहिल्यै सम्मानको पर्याय रहेको “नेता” भन्ने शब्द आज कतिपयको मुखमा तिक्त लाग्छ। सामाजिक सञ्जालको अन्धाधुन्ध प्रयोगले यसलाई झन् घातक बनाएको छ। सकारात्मक विमर्शको ठाउँमा दोषारोप र वितृष्णाले स्थान लिएको छ।

    सरकारले ढिला–चाँडो सामाजिक सञ्जाल नियमनको आवश्यकता वैज्ञानिक रूपमा पहिचान गरी अगाडि बढाउनुपर्छ। तर नियमन मात्रै समाधान होइन; यसले व्यक्तिगत स्वतन्त्रतामा चोट पुर्याउन सक्छ। त्यसैले यस्तो कदम नागरिक र सरकार दुवैको सहमतिमा अघि बढ्नुपर्छ। नागरिक चेतना र स्वनियन्त्रण बिना कुनै पनि कानुन अपुरो हुन्छ।

    सन्देश स्पष्ट छ—देशको भविष्य बदल्ने शक्ति केवल सिंहदरबारमा छैन। नागरिकको अनुशासन, इमानदारी र सक्रिय सहभागिताले मात्र विध्वंसको घाउ निको पार्न सक्छ। नेतृत्वको मूल्य जोगाउने र समाजको आत्मसम्मान उठाउने जिम्मा हामी सबैको हो।

    Posted in मुख्य खबर, राजनीति, विचार

    प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र संविधान संशोधनको कठोर परीक्षा

  • २८ भाद्र २०८२, शनिबार ०२:४१ मा प्रकाशित
  • ✍️ तुल्सी राम आचार्य

    नेपालको राजनीतिमा फेरि नयाँ बहस सुरु भएको छ—के देशले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको बाटो रोज्ने हो? जेन–जीको आन्दोलनले यो विषयलाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ। तर अहिलेको संविधानलाई टेकेर यस्तो संरचनात्मक परिवर्तन सम्भव छ त भन्ने प्रश्नले गम्भीर छलफल माग्छ।

    संविधान २०७२ ले संशोधनको लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा उपस्थित सदस्यहरूको दुई–तिहाइ बहुमत अनिवार्य गरेको छ। साथै गणतन्त्र, लोकतन्त्र, सार्वभौमिकता र स्वतन्त्रता जस्ता मूल आधार सुरक्षित रहनुपर्ने संवैधानिक शर्त स्पष्ट छ। यसैले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीजस्तो प्रणाली ल्याउनु केवल कानुनी औपचारिकता मात्र होइन, संविधानकै ढाँचामा गहिरो हस्तक्षेप गर्ने विषय हो।

    प्रतिनिधि सभामा नयाँ शक्तिले ठूलो सफलता हात पार्न सक्ने सम्भावना राजनीतिमा देखिएको छ। जनताको आक्रोश पुराना दलतर्फ मोडिएको छ भने बालेनजस्ता युवा नेताप्रतिको आकर्षण बढ्दो छ। तर संविधान संशोधनको बाटो लोकप्रियताले मात्र खुल्दैन।

    राष्ट्रिय सभा स्थायी संरचना हो। यसलाई भंग गर्न सकिँदैन, प्रत्येक दुई वर्षमा एक–तिहाइ मात्र नयाँ हुन्छ। यस कारण यसमा पुराना दलहरूको पकड लामो समयसम्म रहने निश्चित छ। प्रतिनिधि सभामा दुई–तिहाइ जिते पनि राष्ट्रिय सभाको अनुमोदन विना संविधान संशोधन असम्भव हुन्छ।

    यस्तो अवस्थामा नयाँ शक्ति वा अन्तरिम सरकारले पुराना दललाई पूर्णतया बाइपास गरेर अघि बढ्ने कल्पना राजनीतिक यथार्थसँग मेल खाँदैन। संविधान संशोधन सहमति र संवादकै आधारमा मात्र सम्भव हुन्छ।

    नेपालले गणतन्त्र, लोकतन्त्र र सार्वभौमिकताको यात्रा धेरै संघर्षपछि हासिल गरेको हो। त्यसैले कुनै पनि संरचनात्मक परिवर्तनलाई जल्दबाजीमा होइन, व्यापक बहस र सहमतिको आधारमा अघि बढाउनुपर्छ। लोकप्रियता क्षणिक हुन्छ, तर संविधान दीर्घकालीन।

    हामीले बुझ्नैपर्छ—देशलाई नयाँ गन्तव्यमा पुर्‍याउने बाटो सहमति र संवाद नै हो। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा अन्य कुनै विकल्प ल्याउने हो भने त्यसलाई जनताको अपेक्षा, राजनीतिक दलहरूको सहभागिता र संवैधानिक मर्यादासँगै अघि बढाउनुपर्छ।

    Posted in मुख्य खबर, राजनीति, विचार

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P