• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

ई–पासपोर्ट बनाउन अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र यसरी बनाउनुहोस्

  • ९ मंसिर २०७८, बिहीबार १४:०९ मा प्रकाशित
  • काठमाण्डौ – तपाईँ ई पासपोर्ट अर्थात् विद्युतीय राहदानी बनाउँदै हुनुहुन्छ र राष्ट्रिय परिचयपत्र कसरी बनाउने भन्ने सोचिरहनुभएको छ ? राष्ट्रिय परिचयपत्र आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा बनाउन सकिन्छ ।

    त्यसका लागि जिल्ला प्रशासन कार्यालयमा नै निवेदन दिन सकिन्छ । पासपोर्ट बनाउनका लागि जिल्ला प्रशासन कार्यालय जाँदा राष्ट्रिय परिचयपत्रका लागि पनि निवेदन दिन सकिन्छ । निवेदन दिएपछि राष्ट्रिय परिचय पत्र नम्बर तत्काल पाइन्छ ।

    राष्ट्रिय परिचयपत्रको कार्ड बन्न समय लागे पनि नम्बर भने जिल्ला प्रशासन कार्यालयबाट निवेदन दिएकै बेलामा लिन सकिन्छ ।

    लामो समयका लागि वैदेशिक रोजगारीमा जाने हो भने राष्ट्रिय परिचयपत्र नै लिँदा राम्रो हुन्छ । तर तत्कालै गइहाल्ने हो भने नम्बर मात्र पाइने भएकाले समस्या हुँदैन ।

    १६ वर्ष माथिका र नेपालमा निवेदन दिनेहरूको हकमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको राहदानी विभागले जनाएको छ । विदेशबाट निवेदन दिने र १६ वर्षभन्दा कम उमेरका आवेदकहरूको  लागि भने राष्ट्रिय परिचय पत्र नभए पनि हुन्छ । 

    राष्ट्रिय परिचयपत्र बनाउनका लागि नागरिकताको सक्कल प्रति र विवाहित व्यक्तिको हकमा भने विवाह दर्ताको प्रमाणपत्र पनि आवश्यक पर्छ ।

    परिचयपत्र लिन दर्ताका लागि भने व्यक्ति आफैं जानुपर्छ । 

    विद्युतीय राहदानीको  लागि  आवेदन दिने तरिका

    राहदानी विभागको वेबसाइटको विद्युतीय राहदानीको लागि निवेदन भन्ने बटम थिची प्रि-इनराेलमेन्ट पोर्टलमार्फत फाराम भरी तोकिएका सक्कल कागजात अपलोड गर्नु पर्दछ । 

    आफूले बुक गरेको मिति र समयमा त्रिपुरेश्वरस्थित राहदानी विभाग वा तोकिएका जिल्ला प्रशासन कार्यालयहरू र विदेशस्थित नियोगमा जानु पर्दछ । 

    मिति र समय बुक नगरी गएमा विभागले निवेदन लिँदैन । फाराम भर्दा जन्म मिति, नाम आदि विवरणमा कुनै गल्ती नगर्न विभागले अनुरोध गरेको छ । आफूले गलत विवरण राखेर फाराम भरेमा र राहदानी पुनः बनाउँदा दस्तुर पुनः लाग्छ ।

    विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुन्छ । तर यो आँखाले सहजै देख्न सकिँदैन । 

     चिपमा औँठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरणहरू पनि हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैनन् । 

    ICAO PKD मार्फत सूचनाहरू रुजु हुने हुँदा विभिन्न देशका अध्यागमन कार्यालयहरूमा सहज र छिटो हुनेछ । विद्युतीय गेटहरू भएका ठाउँमा स्वतः खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।

    विभागका अनुसार यो तेस्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो । साधारण राहदानीको रङ्ग चकलेटी खैरो हुन्छ । साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी हुन्छ ।

    Posted in अर्थLeave a Comment on ई–पासपोर्ट बनाउन अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र यसरी बनाउनुहोस्

    साउदी अरेबियाको भन्सार प्राधिकरण द्वारा चेकजाँचको मा ३६१२ बोतल रक्सी बरामद।

  • ८ मंसिर २०७८, बुधबार ०१:३४ मा प्रकाशित
  • साउदी अरेबियाको भन्सार प्राधिकरणले जेद्दा (इस्लामिक) बन्दरगाहको पाइपहरूमा लुकाइएका 3,612 रक्सीका बोतलहरू बरामद गरेको छ।

    साउदी अरबको जकात, कर र भन्सार प्राधिकरण (ZATCA) ले रेड सी जेद्दा बन्दरगाहमा फलामको पाइपको ढुवानीमा अवैध सामानहरू जफत गरिएको र ति रक्सीका बोतल रहेको बताएको छ !

    #ارقد_وآمن | هيئة #الزكاة_والضريبة_والجمارك في ميناء جدة الإسلامي تُحبط محاولة تهريب أكثر من 3 آلاف زجاجة من الخمور، وبالتنسيق مع الشرطة تم ضبط المستقبلين للمضبوطات داخل المملكة وعددهم شخصان.
    🔗| https://t.co/jDGZp5yLfN pic.twitter.com/beg5jLqRnY

    — هيئة الزكاة والضريبة والجمارك (@Zatca_sa) November 19, 2021


    बन्दरगाहको सुरक्षा चेकजाँच गर्ने अधिकारीहरु द्वारा सुरक्षा चेकजाँचको क्रममा पाइपहरूमा विस्तृत प्याकमा रक्सीको मात्रा फेला परेको जानकारी त्यहाँको भन्सार कार्यालयको आधिकारिक ट्वीटरमार्फत जनाइएको छ।

    ज्ञान रहोस् साउदी अरेबियामा रक्सी लगायत सम्पूर्ण लागुपदार्थको आयात निर्यात तथा भोगचलन माथि कडा भन्दा कडा कारबाहीको प्रावधान रहेको छ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on साउदी अरेबियाको भन्सार प्राधिकरण द्वारा चेकजाँचको मा ३६१२ बोतल रक्सी बरामद।

    साउदी अरेबियाले ल्याएको श्रम कानुनबारे श्रममन्त्रीको चासो

  • ७ मंसिर २०७८, मंगलवार १८:२८ मा प्रकाशित

  • काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका राजदुत मुसैद वीन सुलेमन अल मार्वानीले शिष्टाचार भेट गरेका छन् ।

    मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–साउदी अरेबियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा श्रममन्त्री श्रेष्ठले साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनबारे चासो राख्दै नयाँ श्रम कानुनबाट नेपालीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारसँग प्रकृयामा रहेको द्विपक्षीय श्रम सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउन समन्वयका लागि समेत राजदुत अल मार्वानीसँग आग्रह गरे ।

    मन्त्री श्रेष्ठले नेपालमा पनि सिप परिक्षण परियोजना कार्यान्वयनका लागि राजदुतमार्फत साउदी अरेबिया सरकारसमक्ष आग्रह गरे । नेपालबाट वैदेशिक रोजगारीमा गएकामध्ये २० प्रतिशत जनशक्ती साउदी अरेबियामा रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्रमा साउदी अरेविया सरकारले नेपाललाई प्रदान गरेको अवसरको लागि धन्यवाद दिए ।

    साउदी अरेवियाबाट आर्जन गरेको आर्थिक, सामाजिक र प्राविधिक पुँजीबाट धेरै नेपाली लाभान्वित भएको भन्दै मन्त्री श्रेष्ठले निर्माण, अतिथि सेवा र अन्य सेवाबाहेक प्रविधिमा आधारित उद्योगमा पनि नेपाली श्रमिकहरु काम गर्न इच्छुक रहेको बताए । राजदुत अल मार्वानीले द्विपक्षीय श्रम सम्झौता छिटो सम्पन्न गर्न साउदी अरेबिया तयार रहेको बताए । साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनले श्रमिकहरुको समस्या सम्वोधन गर्ने उनले बताए। नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कुटनीतिक सम्वन्ध स्थापना भएको हो ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on साउदी अरेबियाले ल्याएको श्रम कानुनबारे श्रममन्त्रीको चासो

    ऋण नतिरे इच्छाराजको सिभिल स्टेट्स लिलामी गर्ने चेतावनी

  • ६ मंसिर २०७८, सोमबार १६:४९ मा प्रकाशित
  • काठमाडौं । कर्मचारी सञ्चय कोषले व्यवसायी इच्छाराज तामाङको स्वामित्वमा रहेको सिभिल स्टेट्स प्रालिलाई आफ्नो ऋण तिर्न आउन भन्दै ३५ दिने सूचना जारी गरेको छ । एक सार्वजनिक सूचनामार्फत कोषले सुन्धारास्थित सिभिल मल धितोमा राखेर लिइएको ऋण तिर्न ताकेता गरेको हो ।

    ऋणको सावाँ र ब्याज रकम भुक्तानीको लागि दिइएको भाका नाघेको भन्दै कोषले ३५ दिनभित्रै ऋण तिर्न नआए सिभिल मल लिलामी गर्ने बताएको छ । यदि धितोबाट रकम असुली नभए जमानी दिनेहरुको व्यक्तिगत सम्पत्तिबाट असुल गरिने सूचनामा उल्लेख छ ।

    सुन्धारास्थित ६ रोपनी जग्गामा रहेको मलको सञ्चालकमा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखिया छन् । ८२ हजार ९५ वर्गफिटको यो मलमा १३२ पसल उपलब्ध छन् ।

    मल धितोमा राखेर ऋण लिँदा तामाङ, श्रेष्ठ र मुखियासहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रविणप्रसाद प्रधान र सुमन नन्दन वैद्य जमानीकर्ताका रुपमा छन् । कोष स्रोतमा अनुार कम्पनीले करिब २० करोड रूपैयाँ ऋण तिर्न बाँकी छ । नियमित रूपमा सावाँ र ब्याज नतिरेपछि सूचना निकालिएको  कोषका एक अधिकारीले बताए ।

    Posted in अर्थLeave a Comment on ऋण नतिरे इच्छाराजको सिभिल स्टेट्स लिलामी गर्ने चेतावनी

    ‘१५ लाख डुबाएँ मुश्किलले बाँचेर आएँ’ 

  • ६ मंसिर २०७८, सोमबार १०:४९ मा प्रकाशित

  • साथीभाइको विदेश जाने लहर थियो । मामा किरण नेपालीले टर्की जाने कुरा सुनाउनुभयो । मैले भर्खर १२ कक्षाको पढाइ सकेको थिएँ । मलाई पनि जाऊँ जाऊँ लाग्यो । २२ वर्षको उमेरमा युरोप छिरेर ‘सेटल’ हुन पाए भविष्य बन्छ भन्ने थियो ।

    टर्कीमा बस्दै आएकी दमक–८ की गीता काफ्ले एजेन्ट रहिछिन् । मामाले भेट गराउनुभयो । काठमाडौंमा कुराकानी हुँदा उनले सजिलै दिल्लीदेखि टर्की उड्ने सपना देखाइन् । हामी दिल्ली पुग्यौं । डेढ महीना होटलको बास भयो । भिसा आउने कुनै अत्तोपत्तो छैन । होटलको बिल बढेको बढ्यै । यसरी हुँदैन भनेर हामी नेपाल फर्कियौं ।

    अब नेपालबाट सीधै जान मिल्ने भए मात्रै जाने भन्ने हाम्रो सोच भयो । स्याङ्जा घर भएका अर्का एजेन्ट विष्णु गुरुङसँग गीताले चिनजान गराइन् । उनीहरूले नेपालदेखि नै हामीलाई उडाउने आश्वासन दिए ।

    मैले १२ लाख र मामाले ९ लाख रुपैयाँ बुझाइसकेका थियौं । काठमाडौंमा डकुमेन्ट छोडेर हामी घर फक्र्यौं । एकदिन भिसा लाग्यो भनेर हामीलाई काठमाडौं बोलाए । तर फेरि होटलमा एक हप्ता बस्नु पर्‍यो । पठाउने  सुरसार नै देखिएन । उनीहरूले सीधै टर्की नभई दुबई पठाउने र त्यहाँबाट टर्की उडाउने कुरा गरे । त्यसरी जान त मन थिएन । तर पैसा बुझाइसकेका थियौं । नगए रकम फिर्ता नहुने अडान उनीहरूले राखे । बाध्य भएर जान तयार भयौं ।

    टनेलको संकट टरे पनि फेरि नयाँ संकट थपियो । हिमालको छेउ पूरै हिउँ नै हिउँले भरिएको बाटो पैदल हिंड्नुपर्ने । त्यो पनि घन्टौंसम्म । हातखुट्टा चल्नै नसक्ने अवस्थामा पुगिसकेका थिए । मैले त बाँच्ने आशा गुमाइसकेको थिएँ ।
    २०७६ मंसीरको अन्तिम साता हामी घरपरिवार आफन्तसँग बिदा भएर नेपालदेखि दुबई उड्यौं । लगभग १५ दिन दुबईमा बित्यो । त्यहाँबाट टर्की जाने भिसा थिएन । पहिले जस्तै फेरि हुन्छ हुन्छ मात्रै भन्न थाले ।

    दुबई पुगेपछि एजेन्टले बोली फेरे । अब दुबईदेखि पनि सीधै टर्की होइन, पहिले इरान जानुपर्ने भयो अनि मात्रै टर्की । लाखौं रकम बुझाइसकेका थियौं । हामी एजेन्टको विश्वासमा पर्न बाध्य थियौं ।

    दुबई पुग्नु अघिसम्म हाम्रो एजेन्टको रूपमा गीता र विष्णु थिए । दुबई पुगेपछि नयाँ एजेन्टका रूपमा आए लक्की सिंह । उनी टर्कीमा बस्ने रहेछन् । लक्कीसँग हाम्रो सम्पर्क हुन थालेपछि गीता र विष्णु भने सम्पर्कबाट बाहिरिंदै गए ।

    दुबई जाँदा भिजिट भिसामा गएका थियौं । डलरमा साटेर लगेको पैसा साथैमा थियो । एजेन्टहरूलाई थाहा नहुने कुरै भएन । त्यो पैसा पठाउन लक्कीले भन्यो । दुबईबाट एक नेपाली मार्फत पैसा लक्कीलाई पठाइदियौं । १५ दिनपछि इरान फ्लाइटको टिकट आइपुग्यो ।

    दुबईमा पुग्दा अरू नेपाली पनि थपिए । हामीलाई जस्तै झुक्याएर ल्याइएको रहेछ । त्यहाँ मान्छे थपिने र इरान उड्ने क्रम जारी रह्यो । हामी इरान उड्यौं ।

    टर्कीबाट लक्कीले सम्झाउँदै थियो, ‘इरानमा चोर फटाहा धेरै छन् । अलि डर छ । बाहिर कसैसँग सम्पर्क नगर्नु । आफ्नो बारेमा केही नभन्नु ।’ उनीहरूलाई कतै भाग्छन् वा कसैलाई सम्पर्क गरेर आफ्नो पोल खोल्छन् कि भन्ने डर रहेछ ।

    इरानमा न भाषा मिल्छ, न कोही अंग्रेजी बोल्ने । नशाले मातिएका जस्ता मान्छेहरूले हामीलाई ‘रिसिभ’ गरे । उनीहरूकै भरमा हिंड्नुपर्ने । त्यसपछि त निकै डर लाग्न थाल्यो । रातको समय थियो । गाडीमा राख्ने, निकाल्ने र गाडी परिवर्तन भइरहन्थे । उनीहरू कुलतमा फसेर पागल बनेका जस्ता देखिन्थे । हाउभाउ पनि उस्तै । पासपोर्टदेखि सबै डकुमेन्टहरू उनीहरूले नै राखे । अब त साथमा पैसा पनि छैन । डकुमेन्ट पनि छैन । उनीहरूकै इशारा पछ्याइरह्यौं ।

    त्यतिबेलासम्म इरान र टर्कीको बोर्डर नजिकै पुगिसकेका थियौं । हिमाल नजिकै भएकाले निकै चिसो थियो । भुइँमा रात बितायौं । टर्की जान हिंडेका पाकिस्तानी र अफगानीहरू पनि बाटोमा भेटिए ।

    दुई देशको बोर्डरनेर पुग्यौं । नेपालमा ढलका लागि प्रयोग हुने टनेल भन्दा अलिकति मात्रै ठूलो । पानी पास हुने एउटा लामो टनेल रहेछ । पानी बगिरहेको त्यो टनेलमा छिरेर टर्की निस्कनुपर्ने । हामीलाई एजेन्टले जबरजस्ती ठेल्न खोज्दै थियो । मामाले जान नसक्ने संकेत गर्दै हुनुहुन्थ्यो । उहाँको मुखमा एक मुक्का हान्यो । इशाराले त्यहाँभित्र नपस्ने संकेत बुझेपछि उसले मुक्का हानेर तर्साएको थियो ।

    अफगानी र पाकिस्तानीहरूको टोली टनेलबाट हामीतिर फर्किंदै थिए । पुलिस देखेपछि उनीहरू इरानतिर नै फर्किएका रहेछन् । त्यसपछि टनेलबाट नभई एजेन्टले अर्को वैकल्पिक बाटो खोज्यो । हामी त्यहाँबाट शुरूमा बास बसेकै ठाउँमा फर्कियौं । त्यहाँ पुग्दा दुबईमा बस्दा भेटेका नेपाली पनि भेटिए । उनीहरू तीन जना थिए, हामी दुई गरेर पाँच जना नेपाली एकै ठाउँमा भयौं ।

    टनेलको संकट टरे पनि फेरि नयाँ संकट थपियो । हिमालको छेउ पूरै हिउँ नै हिउँले भरिएको बाटो पैदल हिंड्नुपर्ने । त्यो पनि घन्टौंसम्म । मेरो खुट्टामा स्पोर्टस् टाइपका जुत्ता थिए । पटक–पटक हिउँमा चिप्लिएर लड्थें । हिउँमा हातहरू धेरै पटक गाडिए । हातखुट्टा नै चल्न नसक्ने अवस्थामा पुगिसकेका थिए । मैले त बाँच्ने आशा गुमाइसकेको थिएँ । अगाडि पाइला चाल्नै नसक्ने अवस्थामा पुगें ।

    यात्रामा भेटिएका पोखराका सन्दिप विश्वकर्माले नयाँ जीवन दिए । उनले मलाई ठेल्दै–ठेल्दै समातेर अघि बढाए । उनले मेरा लागि धेरै नै दुःख गरे । यति ठूलो सहारा नपाएको भए शायद म हिउँमै गाडिएको हुन्थें । रातभरको कष्टकर पैदल यात्रा पछि जसोतसो पारि पुग्यौं ।

    बाख्राको गोठ जस्तोमा लगेर एजेन्टले राख्यो । मान्छे थुपार्ने थलो रहेछ । अलि धेरै मान्छे भएपछि मात्रै अघि बढ्ने रहेछ । एक रात त्यहीं बितायौं । मेरा हातहरू चिसोले सुन्निएका थिए ।

    हामी टर्कीको बोर्डरमा छिर्‍यौं । सबै जनालाई कन्टेनरमा हाल्यो । पछि त्यहाँबाट निकालेर फेरि पानीजहाजमा राख्यो । ठाउँहरूको नाम मलाई याद नै छैन । तर राख्ने, निकाल्ने, फेरि राख्ने क्रम चल्दै गए ।

    लिन आउने गाडीको बसस्टप नजिकै प्रतीक्षा गरिरहेका थियौं । त्यहाँ धेरै चिसो थियो । एकदिन एकरात त बाटोमै कुरेर बितायौं । पछि गाडी त लिन आयो तर बाटोमा पुलिसको चेकजाँचमा पर्‍यौं । पुलिसले समातेर लकरमा राख्यो । कागजपत्र केही थिएन । सबैसँग सोधपुछ गर्‍यो ।

    टर्कीको भाषा अलि-अलि बोल्न सक्ने अफगानीलाई राखेर हामीलाई सोधेको थियो । सबैको देश नेपाल लेखेको रहेछ । मेरो भने अफगानिस्तान भनेर टिपिदिएछ । म फेरि अर्को लफडामा फसें । हातमा हत्कडीको क्लिप लगाएर युएनको क्याम्पमा लगेर राख्यो । म बाहेक अन्य चार जना नेपालीलाई छोडिदियो ।

    १५ दिनभित्र टर्की छोड्नुपर्ने भनेर पेपरमा लेख्दोरहेछ । तर पाकिस्तान, अफगानिस्तानको भनेपछि अलि फरक ढंगले हेरिंदोरहेछ । म भने अफगानी भन्दै लफडामा परेकाले निस्कन सकिनँ ।

    मैले टर्कीका लागि १५ लाख रुपैयाँ भन्दा बढी खर्च गरें । त्यसको प्रतिफलमा दुई वटा औंला गुमाएँ । औंला काट्दा पनि उनीहरूमा कत्ति पनि दया–माया देखिएन ।
    हातको समस्या झन् झन् बल्झिंदै गयो । दाहिने हातको माझी र साहिंली औंला चाहिं सुक्दै गए । डाक्टरले मलाई पेनकिलर र मल्हम मात्रै दिन्थ्यो । डाक्टरलाई पनि अलिअलि अंग्रेजी आउँदो रहेछ । मैले मेरो हातको र डकुमेन्टको दुवै समस्या राखें । उता क्याम्पको मान्छेसँग पनि एक जना अफगानी मार्फत देशको नाम गलत टिपिएको सुनाएको थिएँ ।

    युएनका प्रतिनिधिहरूले मेरो औंलाको समस्या जटिल बन्दै गएको देखेपछि अस्पताल पुर्‍याए । डाक्टरले त्यति बेलै दुईवटा औंला काट्नुपर्ने बताएका थिए । म इलिगल रूपमा यहाँ आएकाले सजाय पो दिएको हो कि ! भन्ने मनमा लाग्यो र औंला काट्न डराएँ । मैले सहमति जनाइनँ । त्यसैले थप उपचार हुन सकेन । कसैसँग सम्पर्क गर्न पाएको छैन । मेरो मनमा त्यतिबेला डर र त्रास मात्रै थियो । त्यसैले त्यस्तो निर्णय गर्न पुगें । मेरो डकुमेन्ट पनि सच्चियो । म पनि नेपाली बनेर नै त्यहाँबाट अन्य साथीहरू जस्तै निस्किएँ ।

    अब कता जाने, न गोजीमा पैसा छ न जाने ठाउँ थाहा छ । नेपाली साथीहरूले क्याम्पबाट छुट्दै गर्दा एउटा नम्बर छोडिदिएका थिए । मसँग त्यही नम्बर मात्रै एउटा विकल्प थियो । १०–१५ पटक फोन गरें तर उठेन । बल्लबल्ल सम्पर्क भयो । त्यो फोन नम्बर उनै लक्की सिंहको रहेछ । मसँगै आएका अन्य चार नेपाली पनि उनकै रुममा पुगिसकेका रहेछन् ।

    ह्वाटसपबाट लोकेशन सेयर भयो । ट्याक्सी लिएर त्यहाँ पुगें । ट्याक्सीको पैसा पनि त्यहीं रहेका नेपाली साथीहरूले तिरिदिए । लक्की भने लिन पनि आएन ।

    टर्की पुगियो, तर कुनै खुशी थिएन । हातको समस्या मैले सहन सक्ने अवस्था नै थिएन । मेरो त्यो अवस्था देखेपछि लक्की मबाट तर्कियो । काठमाडौंमा भेटेकी एजेन्ट गीता काफ्ले टर्की आइपुगेकी रहिछिन् । लक्की आफू फस्ने चाल पाएपछि गीतालाई जिम्मा लगाएछ । गीताले हामीलाई लिएर गइन् । पाकिस्तानीको अन्डरमा हामीलाई राखियो । उनले पाकिस्तानी मार्फत अस्पतालसम्म पुर्‍याइन् ।

    उनीहरूको योजना केवल कमाउने मात्रै थियो । मेरो उपचारमा अढाइदेखि ३ लाखसम्म खर्च लाग्ने तर आफूहरूले नव्यहोर्ने बताए । नेपालबाट नभएपछि बहराइनबाट टर्की पैसा झिकाएँ । पैसा आएको १० दिनसम्म पनि उपचारको अत्तोपत्तो गरेनन् । सेटिङमा काम गर्नुपर्छ भन्थे । अन्ततः मेरो दाहिने हातको माझी र साहिंली औंला काटियो । पछि बुझ्दै जाँदा मैले गरेको उपाचार खर्च ५०–६० हजार रुपैयाँ मात्रै रहेछ ।

    अझ शुरूमा बहराइनबाट पठाएको ३ हजार डलर डाक्टरले खायो समेत भने । उपचारको नाममा पनि ३ लाख रुपैयाँ सकियो । यसरी मैले टर्कीका लागि १५ लाख रुपैयाँ भन्दा बढी खर्च गरें । त्यसको प्रतिफलमा दुई वटा औंला गुमाएँ । औंला काट्दा पनि उनीहरूमा कत्ति पनि दया–माया देखिएन । उल्टै पैसा खाइदिए ।

    कोरोनाको कहर, पूरै लकडाउन थियो । औंला निको हुन महीनौं लाग्यो । घरमा ऋणको बोझ त छँदैछ । अवैध रूपमा बसिरहेका हामीले त्यो बेला रोजगारी पाउनु झन् परको कुरा थियो ।

    अब फेरि उनीहरूले टर्कीबाट युरोप लैजाने भन्दै ग्रीस जान दबाव दिनथाले । तर म त्यहाँबाट अघि बढ्ने पक्षमा थिइनँ । त्यहाँ पुगेपछि मैले एजेन्टको सबै चाल बुझिसकेको थिएँ । मान्छेलाई जति अप्ठ्यारोमा पार्न सकियो त्यति नै एजेन्टलाई पैसा कमाउन सजिलो हुँदोरहेछ । त्यसैले पनि अहिले दुबई हुँदै इरान र टर्कीसम्मको बाटो एजेन्टको रोजाइमा पर्छ । टर्कीपछि ग्रीस हुँदै अन्य मुलुकसम्म पुग्दा त अझ ठूलो खर्च र जोखिम हुन्छ ।
    लामो यात्रा बनाउन सके, उति नै बढी पैसा असुल्न उनीहरूलाई सजिलो हुँदोरहेछ । एजेन्टले पासपोर्ट लगायत डकुमेन्ट कब्जामा राख्छन् । ज्यान जोगाउनका लागि परिवारले जति पनि रकम खर्च गर्न तयार हुन्छन् भन्ने उनीहरूलाई थाहा छ ।

    टर्कीमा नेपालीको अवस्था भयावह छ । नेपाली एजेन्टहरूले नै थुप्रै नेपाली ठगिरहेका छन् । पाकिस्तानी र अफगानीहरूको संगतमा नेपाली एजेन्टहरूले पनि कमाइखाने बाटो बनाएका छन् । उनीहरूकै नियन्त्रणमा बसेर काम गरिरहेका छन् । नेपाली एजेन्टहरूबीच समन्वय पनि देखिन्छ । उनीहरू छुट्टाछुट्टै रूपमा युरोप जाने नेपालीलाई एउटै समूहमा राखेर ग्रीसतिर पठाउँछन् ।

    टर्की आउँदा मोटो रकम डुबाएकाहरूले त्यही काम गरेको पनि देखें । यो काम नराम्रो हो भन्ने उनीहरूलाई थाहा छ । उनीहरू नै दुःख भोगेर आएका छन् । तर घरको ऋण कसरी तिर्ने भन्ने चिन्ताले उनीहरू अरूलाई फसाउने काम गर्दा रहेछन् ।

    ५/७ जना मान्छे खोज् तँलाई अघि युरोपतिर पठाइदिन्छु, काममा लगाइदिन्छु भनेर एजेन्टले आश्वासन दिएको हुन्छ । आफू अघि बढ्ने उद्देश्यले पनि अरू मान्छे जम्मा गर्न प्रेरित गरेको पनि बुझें मैले । हामीलाई पनि त्यही भनिरहेको थियो । यदि नेपाल फर्कने कुनै आधार नै छैन भने त्यो नेपाली त्यही बाटो समात्न बाध्य हुन्छ । म आफू पनि ठगिएर आएको हुँ । म पनि अब अरूलाई ठग्छु भन्ने भावना विकास हुँदोरहेछ ।

    टर्कीमा थुप्रै संख्यामा नेपाली छन् । एक नेपालीले अर्कोलाई जानाजान पैसाकै लोभमा फसाएका छन् । नेपाली महिला पनि एजेन्टको रूपमा सक्रिय रहेको देखेको छु । टर्कीको टाक्सिम भन्ने ठाउँतिर नेपाली एजेन्टहरूले फ्याल्ट भाडामा लिएर मान्छेहरू भेला पार्ने काम गर्छन् । त्यहाँ गैरकानूनी रूपमा थुप्रै नेपाली राखेका छन् ।

    टाक्सिम एजेन्ट नै एजेन्टहरूले भरिएको छ । थुप्रै नेपाली फसेका छन् । बाहिर मिडियामा कुराकानी त परको कुरा खुलेर उनीहरू आफन्तसँग गुनासो राख्न पनि सक्दैनन् । त्यो अवस्था भनेको बन्धक जस्तै हो । सबै एजेन्टको अनुसार चल्नुपर्ने हुन्छ । टर्कीमै रहेका अरू नेपालीसँग पनि आफ्नो समस्या राख्न र कुराकानी गर्न गाह्रो पर्छ । ऊ त झनै ठूलो तस्कर हो भनेर डर देखाइदिन्छन् ।

    टर्कीको नौ महीने बसाइलाई टुंग्याएर मामा र म घर फर्कन चाहन्थ्यौं । तर घर फर्कन त्यति सजिलो थिएन । हामी एजेन्टकै नियन्त्रणमा थियौं । तर युरोपमा नै रहनुभएका मेरा अंकलले एनआरएनए टर्कीसँग समन्वय गर्नुभयो । एनआरएनए मार्फत नै इस्लामावादस्थित नेपाली दूतावासबाट नेपाल फर्कने ट्राभल डकुमेन्ट बनायांै ।

    त्यतिबेला चार्टर फ्लाइट मात्रै जान्थ्यो । उहाँहरूले एजेन्टलाई जबरजस्ती पेलेर भए पनि टिकटको पैसा तिर्न लगाउनुभयो । एनआरएनएसँग सम्पर्क भएपछि एजेन्ट गीता काफ्ले पनि सम्पर्कविहीन भइन् । उनी टर्कीदेखि ग्रीस पुगिसकेको पछि थाहा पायौं ।

    अन्ततः २०७७ भदौमा हामी नेपाल फर्कियौं । युरोप गएर धन कमाउने, परिवारलाई सुखी बनाउने सपना सपना नै रह्यो । उल्टो टर्कीमा पुग्दा र उपचार खर्च सहित मैले १५ लाख र मामाले १० लाख गरेर हामीले २५ लाख रुपैयाँ गुमाएका छौं ।

    काठमाडौं आएर हामीले वैदेशिक रोजगार विभागमा प्रमाण सहित २०७७ असोज पहिलो साता उजुरी दिएका थियौं । त्यस्तो मान्छेलाई सजाय मिलेन भने झनै प्रोत्साहन पाएर थुप्रै मान्छेलाई डुबाइदिन्छ । झन् नराम्रो काम गर्न उनीहरूमा आत्मविश्वास बढ्छ भनेर मैले उजुरी दिएको एक वर्ष भइसक्यो ।

    जिल्ला प्रशासन कार्यालय झापामा उनको पक्राउ पुर्जी पनि आएको छ । तपाईंहरू खोज्नुहोस्, यो मान्छे यहाँ छ भनिदिनुहोस्, हामी एकैछिनमा प्रहरी पठाएर समात्छौं । वैदेशिक रोजगार विभागबाट त्यही भन्नुहुन्छ । फर्केको एक वर्ष भयो । न दोषी समातिएको छ न त डुबेको पैसा नै फिर्ता भएको छ ।

    साभार:-

    (मोरङ उर्लाबारीका २४ वर्षीय एन्जल परियारसँग उनको टर्की यात्राबारे अनलाइनखबरकर्मी वसन्त रानाभाटले टेलिफोनमा गरेको कुराकानीको सम्पादित अंश ।)

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबर, समाजLeave a Comment on ‘१५ लाख डुबाएँ मुश्किलले बाँचेर आएँ’ 

    भरियाका रूपमा प्रयोग गरी सुन तस्करी

  • ४ मंसिर २०७८, शनिबार १७:५० मा प्रकाशित
  • तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा सुन तस्करी भइरहेको छ। सरकारले सुन तस्करी रोक्ने प्रयास गरे पनि अझै सफलता मिलेको छैन। सुन तस्करले खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई प्रयोग गरेर नेपालमा तस्करीको सुन पठाउने र विमानस्थलको पार्किङलटमा संकलन गरेर तस्करी गरिरहेका छन्। कोरोना संक्रमणले अवरुद्ध भएको उडान खुलेसँगै तस्करले दुबईबाट सुन पठाउन थालेका छन्। तस्करले खासगरी दुबईबाट नेपाल आउनेलाई केही रूपैयाँ दिने प्रलोभनमा सुन बोकाएर पठाउँछन्।

    अरू मुलुकबाट पनि छिटफुट मात्रामा अवैध रूपमा आइरहेको भए पनि दुबईबाट आएको सुन बढी बरामद हुने गरेको छ। पछिल्लोपटक शुक्रबार त्रिभुवन विमानस्थल हुँदै नेपालगन्ज पुर्‍याइएको चार किलो सुन बरामद भयो। विमानस्थलको आन्तरिक ट्रमिनलबाटै सुन बाहिरिएको आशंका छ। प्रहरीका अनुसार सो सुन विदेशबाटै आएको हो। यस प्रकरणमा पक्राउ परेका व्यक्ति भरिया हुन्। विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव लक्ष्मी निरौलाका अनुसार धेरैजसो भरियामात्रै पक्राउ परेका छन्। ‘प्रहरीले पक्राउ गरेको र भन्सार कार्यालयमा आएका मुद्दा हेर्ने हो भने पहिलो व्यक्ति (मुख्य कारोबारी/तस्कर) एकजना पनि पक्राउ परेका छैनन्, पक्राउ पर्नेहरू भरियामात्रै हुन्। पक्राउ परेका भरियालाई पनि कानुनबमोजिम कारबाही गर्नुपर्छ’, निरौलाले भने।

    विमानस्थल कार्यालयको अभिलेखअनुसार तस्करीको सुन बोकेर आउनेबाट ५० ग्रामदेखि ११६५ ग्रामसम्म सुन बरामद हुने गरेको छ। विगत ९ महिनामा विमानस्थलबाट करिब १२ केजी सुन बरामद भएको छ। विदेशबाट आउँदा एक सय ग्रामसम्म सुन ल्याउन पाइन्छ। एक सय ग्रामसम्म सुन भन्सार शुल्क नतिरी ल्याउन पाइने भएकाले पनि तस्करले त्यसको फाइदा उठाउने गरेका छन्। उनीहरूले विदेशबाट नेपाल आउनेलाई केही रकम दिने प्रलोभनमा सुन बोकाएर पठाउँछन्। विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बाँस्तोला पनि तस्करीको मूल व्यक्ति पक्राउ नपर्ने तर भरियामात्रै समातिएको स्वीकार गर्छन्। ‘सबैभन्दा बढी सुन दुबईबाट नेपाल आएको पाइयो तर मुख्य तस्करभन्दा पनि भरियामात्रै पक्राउ परेका छन्’, उनले भने।

    भन्सार कार्यालयले दिएको विवरणअनुसार साउन २१ गते बिहान साउदी अरबबाट काठमाडौं आएका सिरहाको धनगढीमाई नगरपालिका– ८ का २४ वर्षीय ऋषभ महतो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ परेका थिए। भन्सार कार्यालय र प्रहरीको संयुक्त पहलमा उनी पक्राउ पर्दा प्रहरीले ८ वटा बाला र २ वटा औंठी गरी ४७४ ग्राम सुन बरामद गरेको थियो। उनको साथबाट बरामद भएको सुन त्यसदिनको बजार मूल्यअनुसार करिब ३७ लाख ३८ हजार ६ सय ७५ रूपैयाँको थियो। त्यस्तै, साउन १२ गते दुबईबाट काठमाडौं आएका गोरखाका पदम परियारको साथबाट १ किलो १६५ ग्राम सुन बरामद भएको थियो।

    हिमालय एयरको उडानबाट आएका उनको सुटकेसको भन्सार जाँच क्रममा एक्सरेले शंकास्पद देखाएको थियो। त्यसपछि त्यहाँका कर्मचारीले प्रहरीको रोहबरमा सुटकेस खोलेर हेर्दा कफी बनाउने मेसिनमा सुन फेलापरेको थियो। तीनवटा पत्र रहेको मेसिनको बीचको भाग सुनको थियो। ‘तस्करले नयाँनयाँ उपाय लगाएर सुन ल्याउने गरेका छन्। कोहीले थर्मसको कभरभित्र, कोहीले प्रेसर कुकर त कोहीले कफी बनाउने मेसिनभित्र राखेर ल्याएको पाइयो’,निरौलाले भने।

    विमानस्थल प्रहरी कार्यालयका अनुसार गत फागुन २ गते काभ्रेपलान्चोकका राजीव लामाले टर्च लाइटभित्र लुकाएर ६०० ग्राम सुन ल्याएका थिए। फ्लाई दुबईको उडानबाट आएका लामाको सुटकेस भन्सार एक्सरेमा जाँच गर्दा टर्च लाइटमा चकलेट आकारमा सुन भेटिएको थियो। वैशाख १३ गते दुबईबाटै आएका धादिङका सन्दीप तामाङले टेबुल फ्यानभित्र सुन फिट गरेर ल्याएका थिए।

    करिब तीन वर्षअघि त्रिभुवन विमानस्थलबाट भित्रिएको ३३ किलो सुन हराएपछि सरकारले छानबिन समिति बनाएर अनुसन्धान गरेको थियो। अनुसन्धान गर्दा केही प्रहरी पनि दोषी पाइए। दोषी पाइएका केही प्रहरी अधिकारी अहिले पनि कारागारमा छन्। छानबिन समितिले ७ सय ७२ पृष्ठको प्रतिवेदन सरकारलाई बुझाएको भए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन। सो प्रतिवेदनमा विभिन्न समयमा गरी ३८ क्विन्टल सुन विमानस्थलबाट भित्रिएको उल्लेख छ। त्यसयता हवाई मार्गबाट केही मत्थर भएको सुन तस्करी फेरि सुरु भएको छ।

    विगत १० वर्षयताको तथ्याँक हेर्ने हो भने २०७० असारदेखि २०७१ असारसम्म नेपालमा सुन तस्करीको क्रम ह्वात्तै बढेको बरामद सुन परिमाणले देखाउँछ। २०६९/७० मा ६९ किलो सुन बरामद भएकोमा ०७०/७१ मा १४१ किलो बरामद भएको थियो। त्यसयता पनि प्रहरीले सुन बरामद गर्दै सरकारलाई बुझाएको छ। तीन वर्षअघि भित्रिएको तस्करीको ३३ किलो सुनबारे अनुसन्धान गर्न बनेको समितिले विभिन्न समयमा गरी ३८ क्विन्टल सुन तस्करी भएको प्रतिवेदन सरकारलाई बुझाएको थियो। चूडामणि शर्मा गोरेको समूहले २०७२ असार साउनयता खेपखेप गरेर ३७ लाख ९९ हजार ५६५ ग्राम अर्थात तीन हजार ७९९ किलो सुन तस्करी गरेको छानबिन समितिले ठहर गरेको थियो। छानबिन प्रतिवेदनअनुसार तस्करले प्रहरी, अध्यागमन, गुप्तचर सबैसँग सेटिङ मिलाएर विदेशबाट सुन ल्याउँछन्प/ठाउँछन्। सेटिङमै विमानस्थलबाट सुन बाहिरिने गरेको छ।

    तर भन्सार कार्यालय प्रमुख निरौला भन्सारमा आएका सबै सामानको जाँच हुने र सिसी टिभीले सबै छर्लंग देखाउने बताउँछन्। भन्सार अधिकारी र एक्सरे मेसिनले शंकास्पद देखाए तुरुन्तै प्रहरीको रोहबरमा जाँच हुने उनी बताउँछन्। ‘पहिला केके हुन्थ्यो त्यो मलाई थाह भएन तर अहिलेको अवस्था भने सबै पारदर्शी रहेको छ’, निरौलाले भने। प्रहरी प्रमुख एसएसपी बाँस्तोलाले पनि शंकास्पद लागे जाँच र पक्राउ गरिने र पार्किङलटमा समेत निगरानी गर्न थालिएको बताए।

    तर शुक्रबार भने त्रिभुवन विमानस्थलबाट कसरी सुन बाहिरिएर नेपालगन्ज पुग्यो भन्ने विषय भने अनुसन्धानकै पाटो रहेको उनले बताए। ‘अहिले यो अनुसन्धानको विषय बनेको छ। एसपीको नेतृत्वमा छानबिन समिति बनेको छ’, उनले भने। उनका अनुसार एसपी नान्तीराज गुरुङको संयोजकत्वमा छानबिन समिति बनाइएको छ। विदेशबाट आएको सुन आन्तरिक उडानमार्फत नै नेपालगन्ज पुगेपछि छानबिन समिति बनाउनुपरेको हो। उनका अनुसार पुसयतामात्रै विदेशबाट नेपाल आउँदा अवैध रूपमा सुन ल्याएका ३७ जनालाई विमानस्थल प्रहरीले पक्राउ गरेको छ। त्यसमध्ये दुई महलिा पनि छन्।

    भन्सार ऐनमा १० लाख रूपैयाँसम्मको सुन ल्याउनेलाई थुनामा नराखी बिगोबराबरको धरौटी बुझाएर छाड्ने व्यवस्था छ। ऐनअनुसार जति मूल्यबराबरको सामान बरामद हुन्छ, त्यति नै रकम जरिवाना हुन्छ। १० लाखदेखि २५ लाख रूपैयाँसम्म भन्सार छली गर्नेलाई जरिवाना र बढीमा एक महिना कैद सजाय हुने व्यवस्था छ। २५ लाखदेखि ५० लाख रूपैयाँसम्म भन्सार छल्नेलाई ३ महिनासम्म कैद र जरिवाना हुन्छ। ५० लाखमाथि एक करोड रूपैयाँसम्मको भन्सार छल्नेलाई भन्सार कार्यालयले एक वर्षसम्म कैद गर्न सक्ने व्यवस्था छ। ‘उता (खाडीलगायत मुलुक) बाट आउनेलाई तस्करले दुई चार हजार रूपैयाँ दिने प्रलोभनमा सुन बोकाएर पठाउँछन्। उताबाट ल्याउनेलाई सुन पठाउने मानिस र यता बुझ्ने मानिसबारे पनि थाहा हुँदैन। उताबाट पठाउने मानिस र यता बुझ्ने मानिस पक्राउ नपरेपछि ल्याउने नै कारबाहीको भागीदार हुन्छन्’, भन्सार कार्यालयका प्रमुख निरौलाले भने।
    यो खबर नयाँ पत्रिकामा टपेन्द्र कार्की द्वारा लेखिएको हो।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on भरियाका रूपमा प्रयोग गरी सुन तस्करी

    एमसीसी अनुमोदनका लागि प्रचण्ड र ओलीलाई अमेरिकी सहायक विदेशमन्त्रीको आग्रह ।

  • ४ मंसिर २०७८, शनिबार ०२:२७ मा प्रकाशित
  • नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।भेटमा विदेशमन्त्री लूले एमसीसी तथा अन्य सहयोगका विषयमा कुराकानी गरेका छन् । लूसँगको भेटपछि अध्यक्ष प्रचण्डले छलफलबाट आफू सन्तुष्ट भएको बताएका छन् । भेटमा लूले नेपालको शिक्षा स्वास्थ्य र स्वच्छ उर्जाको क्षेत्रमा विशेष सहयोग गर्ने बताएका थिए ।भेटमा अध्यक्ष प्रचण्डले एमसीसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने सहायक विदेश मन्त्री लू लाई जानकारी गराएको जानकारी दिए । उनले अमेरिकाले दिएको डिसेम्बर १४ भन्दा अघिको समयसीमा भित्र ठोस निर्णयमा पुग्ने पनि बताए । लूसँग नेपालको समग्र विकास प्रक्रिया नेपालको विकासको सम्भावना बढी कुन क्षेत्रमा छ भन्ने बारेमा कुराकानी भएको अध्यक्ष प्रचण्डले जानकारी दिए ।प्रचण्डले भने,‘नेपालको शान्ति प्रक्रियाकाबारेमा कुरा भयो । एमसीसीकाबारेमा कुरा भयो । एमसीसीको बारेमा मैले प्रष्टसँग भने हामी एमसीसी फिर्ता जाओस् भन्ने पक्षमा विल्कुल छैनौँ । किनभने त्यत्रो पैसा नेपालमा इन्फास्ट्रक्चरको लागि आवश्यक छ, तपाईहरु पैसा दिन तयार हुनुहुन्छ, हामी लिन तयार छौँ । यहाँ केही कन्फ्यूजनहरु छन्, पहिला ओर्जिनल डकुमेण्ट जस्तो थियो, अहिले छैन, त्यसले कन्फ्युजन छ । अल पार्टी मिटिङमा हामी छलफल गर्छौं, हामी डिसेम्बर १४ अघि एउटा टुंगोमा पुग्छौँ ।’त्यस्तै सहायक विदेशमन्त्री लूले एमाले अध्यक्ष ओलीसँग पनि भेट गरेका छन् । भेटमा मन्त्री लूले अमेरिकाले विभिन्न स्वास्थ्य, शिक्षा र रोजगार लगायतका क्षेत्रमा गरिरहेको सहयोगलाई अझै बिस्तार गर्ने प्रतिवद्धता जनाएका नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए । भट्टराईले सहायक विदेशमन्त्री लूले अध्यक्ष ओलीसँग नेपालमा अमेरिकाले केही नयाँ क्षेत्र (क्लिन इनर्जी) को क्षेत्रमा पनि सहयोग गर्ने चासो दिएको बताए । मन्त्री लूले एमसीसीको बारेमा राखेको प्रश्नको उत्तरमा अध्यक्ष ओलीले आफू सरकारमा नभएको बेलामा बोल्ने स्थिति नभएको भन्दै सरकारमा भएका दलहरुले गरेको निर्णय हेरेर आफ्नो निर्णय बनाउने बताएका थिए ।बुधबार नेपाल आएका लूले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा पनि उनले एमसीसी छिटो अनुमोदन गर्न आग्रह गरेका थिए ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on एमसीसी अनुमोदनका लागि प्रचण्ड र ओलीलाई अमेरिकी सहायक विदेशमन्त्रीको आग्रह ।

    कामदार भिसामा बेलायतले १० हजार नेपाली नर्स माग्यो

  • ३ मंसिर २०७८, शुक्रबार १६:२६ मा प्रकाशित
  • बेलायतले कामदार भिसामा १० हजार नेपाली नर्स माग गरेको छ । बेलायतको मागअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  नर्सलाई कामदार भिसामा बेलायत पठाउने प्रकृया थालेको जानकारी दिएको छ । 

    वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिवद्धता कार्यक्रममा विभागीय मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा कामदार भिसामा  नर्स पठाउने प्रकृया थालिएको बताए । मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले पनि नर्स पठाउन बेलायतसँग सम्झौता गर्न लागिएको जानकारी दिए । 

    नेपालस्थित बेलायती राजदूतावासले नै मन्त्रालयसँग सरकारी तहको सम्झौता गरेर १० हजार नेपाली नर्स लैजाने प्रस्ताव गरेको हो । सो प्रस्तावमाथि छलफल गरी श्रम सम्झौताको खाका बनाउन थालिएको सचिव गौतमले बताएका छन् । उनका अनुसार नेपाल र बेलायतबीच अबको केही समयभित्रै यससम्बन्धी सम्झौता भए सन् २०२२ को मध्यतिरबाट रोजगारीका लागि नेपाली नर्स बेलायत पठाउन थालिनेछ ।

    सन् २००५ मै बेलायतले चार हजार नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने प्रस्ताव गरेपनि नेपालले प्रकृया अघि नबढाउँदा पठाउन सकिएको थिएन । पछिल्लोपटक नेपालमा ६० हजार नर्स अध्ययन सकेर सेवाका लागि तयारी अवस्थामा बसेका छन् । बेलायतले अनुभव भएका नर्स नेपालबाट त्यहाँ लैजान चाहेको छ । 

    मन्त्रालयका अनुसार बेलायत पठाइने नर्सको तलब मासिक दुई लाख ५० हजार रुपैयाँभन्दा बढी हुनेछ । मन्त्रालयले रोजगारी सुनिश्चितता, स्वास्थ्य/रोजगार र अन्य बीमा, पारिवारिक सुविधा, नेपाल आउने/जाने खर्च र तलब एकीन गरी बेलायत जान लाग्ने खर्च पनि बेलायतस्थित रोजगारदाता कम्पनीले नै ब्यहोर्नेगरी सम्झौता हुने मन्त्रालयले जनाएको छ ।

    Posted in अर्थLeave a Comment on कामदार भिसामा बेलायतले १० हजार नेपाली नर्स माग्यो

    विद्युत् महशुल घट्यो ,बिजुली बाल्दा कति लाग्छ शुल्क?

  • १ मंसिर २०७८, बुधबार १९:२२ मा प्रकाशित
  • काठमाडौँ — विद्युत् नियमन आयोगको गत कात्तिक १० गतेको निर्णयअनुसार आजबाट बिजुलीमा नयाँ महशुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले आजबाट नयाँ महशुल दरअनुसार बिलिङ गर्नेछ । नयाँ व्यवस्थाअनुसार धेरैजसो उपभोक्ताको शुल्क घटाइएको छ ।

    सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने विपन्न वर्गका उपभोक्तालाई नि:शुल्क बिजुली उपलब्ध गराउने घोषणा गरेको थियो । सोही व्यवस्थाअनुसार आजबाट मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने १९ लाख ८६ हजार विपन्न वर्गका उपभोक्ताले यो सुविधा पाउनेछन् । इनर्जी शुल्कका रुपमा यी परिवारले मासिक ३० रुपैयाँ शुल्क तिरे पुग्नेछ । त्यस्तै, कृषि र सिँचाई प्रयोजनमा प्रयोग हुने विद्युत्को महशुलमा पनि छुट दिने व्यवस्था बजेटमा राखिएको थियो ।

    अब सिंगल फेज तथा थ्रीफेजबाट विद्युत् खपत गर्ने उपभोक्ताले आफ्नो मिटरको क्षमता नि:शुल्क रुपमा बढाउन पाउनेछन् । त्यस्तै अब सिंगल फेज प्रयोगकर्ताको न्युनतम शुल्क २५ रुपैयाँ घट्नेछ । त्यस्ता उपभोक्ताका लागि इनर्जी शुल्क पनि अब कम लाग्नेछ । सिंगल फेजबाट मासिक १ सय ५१ देखि २ सय ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले इनर्जी शुल्क प्रतियुनिट ९ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । त्यस्तै, सिंगल फेजमार्फत मासिक ४ सय युनिटभन्दा माथि खपत गर्ने उपभोक्ताले यस्तो शुल्क प्रतियुनिट ११ रुपैयाँ तिर्नुपर्नेछ ।

    आजबाट सरकारी अस्पताल तथा स्वास्थ्यचौकीले बिलिङ भएको २१ दिनभित्र महशुल तिर्दा कुल बिल रकममा २० प्रतिशत छुट पाउनेछन् । अन्य उपभोक्ताको हकमा मिटर रिडिङ भएको ७ दिनभित्र महसुल बुझाउँदा २ प्रतिशत छुट पाइनेछ । औद्योगिक क्षेत्रका ग्राहकले पनि यो सुविधा पाउनेछन् ।

    साभार कान्तिपुर समाचार बाट

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on विद्युत् महशुल घट्यो ,बिजुली बाल्दा कति लाग्छ शुल्क?

    आजदेखि ई–पासपोर्ट, यस्ता छन् विशेषता

  • १ मंसिर २०७८, बुधबार ११:०१ मा प्रकाशित
  • काठमाण्डाै – सरकारले आजदेखि विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट जारी गर्ने भएको छ । त्रिपुरेश्वरमा रहेको राहदानी विभागको कार्यालयबाट आजदेखि औपचारिक रुपमा विद्युतीय राहदानी जारी हुन लागेको हो ।

    अहिले नेपालमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) चलनमा रहेको छ । राहदानी विभागका अनुसार एक हप्तापछि पूर्णरुपमा ई पासपोर्ट वितरण सुरु हुने भएको छ । तर, अहिले नै सरकारले ई पासपोर्टलाई अनिवार्य भन्ने गर्ने छैन । पहिलो चरणमा विभागले साधारण पासपोर्ट जारी गर्ने तयारी गरेको छ। मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ।

    के हो ई–पासपोर्ट ?

    हातले लेख्ने पासपोर्ट हुँदै मेसिनले पढ्ने र अहिले ई–पासपोर्ट आएको हो । चिप्स र विद्युतीय बारकोडसहित यो विशेष र सुरक्षित पासपोर्ट हो । विश्वका १ सय २० भन्दा बढी देशले अहिले ई–पासपोर्ट जारी गरिरहेका छन् । ई–पासपोर्टमा चिप्स हुन्छ र त्यसमा पासपोर्टवाहकको सबै जानकारी उपलब्ध हुन्छ । यसका साथै नेपालमा जारी भएको पासपोर्ट आधिकारिक हो कि होइन भनेर त्यसको डिजिटल सिग्नेचर र ‘कि’हरू आइकाओमार्फत सम्पूर्ण देशमा शेयर हुने भएकाले संसारका सबै अन्तर्राष्ट्रिय अध्यागमन मै पासपोर्टको आधिकारिकता र पासपोर्ट बोकेको मानिस हो कि होइन भनेर जाँच गर्न सकिनेछ।

    ई–पासपोर्ट एमआरपीभन्दा बढी सुरक्षित, आधिकारिक र अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त पासपोर्ट हो । एमआरपीको तस्बिर भएको पेज अर्थात् डाटा पेजमा ‘अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन फर्म्याट’मा मेसिन रिडेबल जोन हुन्छ । पासपोर्ट रिडर मेसिनले रिड गर्दा त्यसमा उल्लेखित महत्वपूर्ण विवरणहरू देखिन्छन् । विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनाले यात्रा गर्दा अध्यागमनमा सहज हुन्छ । चिपमा औँठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरणहरू हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न नसक्ने हुनाले यसको आधिकारिकता धेरै हुन्छ ।

    साधारण पासपोर्टको रङ्ग भने परिवर्तन हुनेछ । साधारण पासपोर्ट चकलेटी खैरो हुन्छ भने यसको पृष्ठ पनि ३४ र ६६ पेज गरी दुई प्रकारका हुनेछ ।

    लाइभ इन्राेलमेन्ट, पासपोर्ट ढिलो बन्ने समस्याको अन्त्य

    ई–पासपोर्ट अनलाइनमार्फत लाइभ इन्राेलमेन्ट हुन्छ । लाइभ इन्राेलमेन्ट सिस्टम भएको हुँदा सम्बन्धित व्यक्ति जिल्ला प्रशासन कार्यालयमा गएर पैसा तिरेपछि फोटो खिच्नेदेखि अन्य काम कम्प्युटरमार्फत नै हुनेछ ।

    जिल्ला प्रशासनबाट लाइभ आवेदन हुने हुँदा विभागले तत्काल पासपोर्ट प्रिन्ट गरेर जिल्ला प्रशासन कार्यालयलाई पठाउने छ । यो व्यवस्थाले जिल्ला प्रशासन कार्यालयले फारम सङ्कलन गरेर विभागमा ल्याउनु पर्ने, विभागले फेरि जाँच गरेर प्रक्रिया अघि बढाई प्रिन्ट गर्नु पर्ने र प्रिन्ट भएका पासपोर्ट पठाउँदा लाग्ने समय बचत हुनेछ । राहदानी विभागका निर्देशक शरद राजका अनुसार ई–पासपोर्ट जारी हुन थालेपछि आवेदन दिएको १५ दिन भित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै ई–पासपोर्ट लिन सकिनेछ ।

    यसअघि एमआरपी बनाउँदा जस्तो डेढदेखि दुई महिना कुर्न पर्दैन । जिल्ला प्रशासन कार्यालयबाट मात्र नभई विदेशमा रहेका नेपाली नियोगबाट पासपोर्टका लागि आवेदन दिनेहरूको हकमा पनि यही व्यवस्था लागू हुनेछ ।

    ‘अहिले विदेशबाट राहदानी नवीकरणका लागि लामो समय लाग्छ किनभने, आवेदन दिन पर्‍यो, त्यसको सङ्कलन, डिप इमेल, त्यसको अन्य प्रक्रिया र प्रिन्ट गरी पठाउँदा लामो समय लागिरहेको छ,’ विभागका निर्देशक तथा प्रवक्ता शरद राज अरनले भन्नुभयो,‘अब ई–पासपोर्ट भएपछि यो झन्झण्ट रहँदैन र लामो समय पनि कुर्न पर्दैन ।’

    म्याद रहँदासम्म एमआरपी पासपोर्ट चल्छ ई–पासपोर्ट जारी हुँदैमा एमआरपी पासपोर्ट नचल्ने भन्ने हुँदैन । अहिले जारी भएको एमआरपीको म्याद रहँदासम्म एमआरपी पासपोर्ट चल्छ । तर त्यसको म्याद सकिएपछि भने नयाँ बनाउँदा ई–पासपोर्ट नै जारी हुन्छ । ई–पासपोर्ट जारी हुन थालेपछि विभागले नयाँ एमआरपी पासपोर्ट जारी गर्ने छैन ।

    Posted in अर्थLeave a Comment on आजदेखि ई–पासपोर्ट, यस्ता छन् विशेषता

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P