
साप्ताहिक झिल्का लेखन अभ्यासको ३५ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३५ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
फोहोर राखेको खाल्डोमा
फोहोरीले राजनीति खेलेपछि
चढ्छन् फोहोरहरू उकालोमा ।
२,
कलमभन्दा दिमाग चलाउॅंछन्
अक्सर सबै क्षेत्रभित्र
विशुद्ध कलमकर्मीलाई लडाउॅंछन् ।
३,
छक्कापन्जा जो जान्दछ
पारिरहन्छ कुर्सीमा मानौँ
सर्पले गडुल तान्दछ ।
- म्यामराज राई
…
१,
राजनीतिक गन्दगीको खेल
जतिखेर पल्टिन सक्छ
हुन्छ वर्षायामको भेल ।
२,
आफू कुर्सीमा बसेर
सोझा जनता लडाउँछन्
बलियो कम्मर कसेर । - केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम, (हाल भारत)
…
१,
लडाइँ धेरै भए
निर्धा निर्धा जुधे
बलिया माथि गए । - ताराप्रसाद चापागाईँ
…
१,
मैदानमा लड्छन् साना
लडाई हिॅंड्छन् ठूलाठालु
जहिल्यै बोकी तानाबाना।
२,
मर्ने उही साना
जहिल्यै उम्कने ठूलाबडा
टुट्ने सानाकै माना।
३,
कस्ले बुझ्ने कुरा ?
लडाइँ मात्र सानाको
ठूलाकै चाहना पुरा । - अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
हालः-क्यानडा,क्यालगरी।
…
१,
लडाइँ गर्दागर्दै गए
सबैभन्दा माथि ठूलाठालुहरू
निर्धाहरू तल भए ।
२,
ठगी खान पल्केका
दुखी गरिब लडाएर
माथि पुगेर झल्केका ।
३,
राजनीतिक सत्ताको खेल
भ्रष्टाचार देशमा गर्दै
गरे जनतालाई झेल । - बेदु न्यौपाने
…
१,
चलाख हुन खोज्नेले
पाखण्डी बनाए जनता
राजनीति गर्न रोज्नेले !
२,
गरेर गणतन्त्रको नाउँ
जनताको आँखा टालेको
कुर्सी ओगट्ने दाउ !
३,
उहिले मान्थे घिन
ऐले चारैतिरबाट चाहियो
देश चलाउन रिन ! - अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
…
१,
सत्तामा जहिल्यै रडाको
विचराको बानी हटेन
भाषण सुन्नुस् बडाको।
२,
हर्रो नपाउने जोगी
यसै भन्थे हामीलाई
रहिछस् जाइफलको भोगी। - चुडामणी देबकोटा, पुरानोनैकाप काठमाडौँ
…
१,
राजनीति फोहोरी खेल
देश डुबाउने नेतालाई
लागेर कोच्नुपर्छ जेल ।
२,
आँखामा हाल्छन् छारो
कहिलेकाहीँ सम्झिदा पनि
तातेर आउँछ पारो।
३,
मार्नुपर्छ गोली हानेर
देश खाने जति
यहाँ सबैलाई छानेर । - ललिता गिरी, सिन्धुली
…
१,
लडाइँ धेरै गरे
कार्यकर्ता जति लडाएर
आज नेतामाथि परे।
२,
राजनीति फेरि खेल
नेताले सोझा जनतामाथि
सधैँ गर्छन् जालझेल। - राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
…
१,
खडेरीमा गिट्टी कुट्छन्
पढ्न लेख्न पाउॅंदैनन
बालअधिकार सोझै लुट्छन् ।
२,
बालअधिकार हुँदैछ हिनामिना
यसरी दिनचर्या बित्दैछ
बिचरा! बगाउदै पसिना ।
३,
सफलताको शिखर छुन
आमाबाबु भगवान् हुन्
बालबालिकाले पर्दैन रुन । - हिरामाया श्रेष्ठ, गजुरी – १, धादिङ
…
१,
सत्तामा बसेर तिनीहरू
विदेशीको भक्त बनेर
हेर लुटिरहेछ यिनीहरू ।
२,
कति खान्छौ मागेर
नेपाललाई युक्रेन बनाउँदैछन्
विदेशीको खेलमा लागेर ।
३,
जेलेन्स्कीहरु धेरै छन्
यो देशको लागि
खतरा भो झन् । - दीप गोले तामाङ – रौतहट
…
१,
देशमा राजनीति खेल
खुट्टा तान्ने धेर
सबै यस्तै बाँचुन्जेल।
२,
चलाख हुँ भन्नेहरू
हार खाए धेरै
अरूको बारी खन्नेहरू ।
३,
मैदानमा लड्छन् दुई
जित हुन्छ एकको
अर्कोले खान्छ सुई । - एवाइ प्रभात, सहिदभुमि धनकुटा
…
१,
नडुलाऊ लोभी आँखा
भाग्यमा छैन भने
कर्मले लगाउँछ पाखा! - मन्दिरा सेढाई, मलेखु, धादिङ
…
१,
चाकरी राज देशमा
एकअर्को गर्छन् लडाइँ
आउॅंछन् जोगी भेषमा । - राज बहादुर बडुवाल, जुम्ला
…
१,
हटाउँदैनन् कहिल्यै बालश्रम
सुनिस्चित भविष्य खै
फैलाउॅंदै छन् भ्रम ! - प्रेम थापा “मन”, बागलुङ
…
१,
गरे राजनीतिमा धोका
बेइमानी र छलकपट
मन्त्री भष्टाचारका पोका !
२,
बेचेर अस्मिता देशको
पुरानालाई उछिन्दै नयाँ
उस्तै जोगीको भेषको ! - रबि पौडेल, दक्षिण भारत पाण्डेचरी
…
१,
फोहोरकै बीउ रोपेपछि
फोहोर थुपारेको बारीमा
कृषकले बीउ नछाँटेपछि। - लोकबहादुर क्षेत्री लामिछाने
…
१,
राजनीतिमा सधैँ खेल
सत्तामा कसरी पुग्ने
जनतालाई गरे झेल ।
२,
इमानको कुरै नगरौँ
बेइमानीले गरे राज
नेताको भर नपरौँ ।
३,
जनता पनि मिलेका
नेताका चिप्ला कुराले
मासु भातमा बिकेका । - कृष्ण बजगाई भक्तपुर
…
१,
बेरोजगारी धेरै भए
रोजगारी दिन्छौँ भन्ने
नेता कहाँ गए।
२,
अत्याचार बढ्दै गएको
समाजमा जातिय विभेदको
अन्त्य कहिल्यै नभएको । - कला ढकाल, झापा
…
१,
आपसमा सहनशील बनेर
गरौँ सेवा मानवको
दिव्यचक्षु अविरल बिउँझाएर। - हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा -१४, साँगाबजार
…
१,
कुरा गर्छन् जातिको
दाउमा हुन्छन् सबै
चौकी हेरेर माथिको ।
२,
विकासको रकम खाएर
भाँडो भरियो नेताज्यूको
जनताले दुःख पाएर ।
३,
सपनाको कुरा गर्छन्
पूरा हुँदैन कहिले
भन्दा आँखा तर्छन् । - मोती योन्जन सुब्बा, दार्जिलिङ
…
१,
जो छ खास
मनको सुन्दर बगैँचामा
उसैको लाग्छ आस ! - आर्त अकुलीन
…
१,
राजनीतिले डामाडोल गरायो
सुरक्षा छैन केही
गाँसबास पनि हरायो। - सीता सुनगाभा पोखरेल
…
१,
हुँदैन साथीको अभाव
निस्वार्थ सहयोग गरे
सबैमा राख्दै प्रेमभाव !
२,
किन नराम्रो बन्छौ ?
गर व्यवहार उहीँ
अरूबाट जे चाहन्छौ ।
३,
किन भौतारिन्छौ रोज ?
नियाल आफूभित्रै तिमी
खुसी बाहिर नखोज ! - वसन्त अनुभव, घोराही, दाङ
…
१,
दुःखी धेरै मन
किन यस्तो सधैँ ?
पर्यो मैले सहन ।
२,
आफ्नो मन चङ्गा
बोल्न पनि नसक्ने
किन यस्तो महङ्गा ?
३,
मान्छेको लोभी जात
फाइदा मात्र हेरेर
हान्छन् मौकामा लात । - डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
…
१,
किन हेर्छौ तर्केर
आउने गरको छु
साँझ घर फर्केर ।
२,
जे जुर्छ खाउँला
नगरी सुख छैन
कर्म गर्न जाउँला । - कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
…
१,
खेल भयो कस्तो
कसैले जान्दैन भन्छ
नियम नभएको जस्तो।
२,
सफा कुन खेल
ज्ञानको पुस्तक हेर
कहाँ छैन झेल ?
३,
मेरो कुरा जातिमा
सुन्ने सबै चुपचाप
चामल हाल पाथीमा। - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
…
१,
खेतमा झार पलायो
खडेरी लागेर होला
किसान हृदय जलायो ।
२,
खेलौ जुहारी साथी
जान्ने भएर हारेछ
घमण्डी पुग्दैन माथि ।
३,
हजार मान्छेको भीड
ठाउँ भेटाउन गाह्रो
चारैतिर छन् छिॅंडैछिॅंड । - अम्बिका अधिकारी, झापा बिर्तनमोड
…
१,
धैर्य सहनशीलता भित्र,
कहिलेकाहीँ हिंसाको मात्रा
झाँगिॅंदोरहेछ नि मित्र !
२,
सहनुको सिमा आफैँले
तोक्नु सबैतिर हेरी
देख्दैन शोषित कसैले।
३,
न्याय अन्यायको तराजु
साँच्चै अन्धो हुन्छ
शोषण गर्दछ बराजु । - मनोहरी पौडेल, गैडाकोट १
…
१,
धेरैजसो उस्तै गए
कसको विश्वास गर्नु
भेडा जम्मा भए।
२,
राजनिती कच्चा खेल
गल्ती गर्ने सबैलाई
बाँध्नु पर्ने नेल। - दुर्गा आचार्य, मोरङ
…
१,
सबै समयको खेलाँ
लागिरहन्छ सधैँ नै
बेला न कुबेला ।
२,
स्वार्थविनाको यो संसार
कहाँ पाउने मानिसले
खोजी गर्नु बेकार।
३,
जसले देश डुबायो
लोभी पद प्रतिष्ठा
विदेशीलाई गुन लगायो। - सुरेशकुमार पाण्डे, दाङ घोराही १८
…
१,
लागिरहन्छ मनमा पिर
समय यस्तो होकि
खोटो हो तक्दिर ?
२,
कहिल्यै मात्तिन सुखसँग
दिनरात छ साथमा
गुनासो गर्दिन दुखसँग।
३,
जिन्दगी बगेको खोला
जीवनमा सुखदु:ख त
कस्लाई पो नहोला ? - अनिता भण्डारी, ताप्लेजुङ
…
१,
राष्ट्रघाती दलाल भ्रष्टाचारी
शानले गाडीमा सवार
बनेर हिॅंड्छन् सदाचारी
२,
फटाहाहरू उफ्रेका सदनमा
पीडाले रुन्छिन् धर्तीमाता
छैनन् पीडाहरू वदनमा।
३,
आरोप प्रत्यारोप आपसमा
सदनमा भत्ता पचाउने
फिरेनन् विवेकता राकसमा। - घनश्याम पन्त, हरिवन सर्लाही
…
१,
पानी परेर रमायो
रमायो औधी किसान
धानले फूल लगायो ।
२,
आशाको दीप जलेछ
खडेरीले खान लागेको
बादलको जल झरेछ ।
३,
पार्टीहरू सबै टुक्रेर
स्वार्थको लागि जुटन
खाली भाषणमा डुक्रेर । - भगवती दवाडी
…
१,
फोहोर भएको सहरमा
हराभरा बनाएर रमाइलो
रहिरह्यो देखिरहने रहरमा ।
२,
फोहोरै फोहोरको सहर
सरकार हेरेरै बसिरह्यो
नपुग्दासम्म आफ्नो रहर ।
३,
खडेरीमा गिटी कुट्छन्
दिनचर्या चलाउन पर्दछ
मङ्सिरमा खेती चुट्दछन् । - रक्षा काली
…
१,
सत्य धेरैलाई पच्दैन
दुश्मनी मोल्न अगाडि
यसर्थ आफ्नोपन बच्दैन ।
२,
धर्तीमा पाहुना मानव
जानेर वा नजानी
कोही बने दानव ।
३,
प्रेम मजाक बनाए
किन गर्छन् दुरुपयोग ?
केवल बहानामा सताए । - पृथक प्रकृति, झापा
…
१,
विश्वासमा मन जाग्छ
भूलको क्षमा पाउँदा
सहानुभूतिले दया लाग्छ ।
२,
मित्रताको बन्धन कसिलो
अपदस्तमा हुनुपर्छ संवेदना
भेटघाटको औपचारिकता मलिलो ।
३,
यात्रा हाम्रो नटुङ्गियोस्
लक्ष्यमा अवश्य पुग्नेछौ
पाइलाहरू एकाअर्कामा नछुट्टियोस्। - दिल ठकुरी
…
१,
कुरा उठ्छ बारम्बार
सुनिश्चित हुन्छ कहिले
हाम्रो देशमा बालअधिकार । - डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा.-६, दोलखा
…
१,
गरेर उच्च कर्म
सदैव सत्यमा लाग
निभाउनु सनातन धर्म।
२,
गरेर दुखीको सेवा
मरेर आफू बचाऊ
पाउनेछौ माथि मेवा।
३,
जीवनको सार बुझेर
जीवन नटुङ्गिने यात्रा
गर सङ्घर्ष जुझेर। - सरस्वती श्रेष्ठ रुपन्देही बुटवल
…
१,
पानीले ताल फुटाउँछ
मायाको कमजोर धरातलले
जिन्दगीको यात्रा टुटाउँछ।
२,
जनतालाई मूर्ख बनाएर
सत्तामा बसिरहन पाऊॅं
खुइलिएको तालु कनाएर। - होमप्रसाद नेउपाने, धरान,सुनसरी
…
१,
गरेर बालअधिकारको कुरा
देखेर मात्रै कहिले
हुँदैन सपना पूरा ।
२,
वर्षमा एकदिन रमाएर
निर्धक्क बन्ने बालबालिका
आधार केलाई समाएर ? - पुष्पा राई, बादेल, खोटाङ
…
१,
भ्रष्टहरूको छ सत्ता
जति विरोध गर
हल्लिॅंदैन एउटा पत्ता । - अरुण कुमार भुजेल, दार्जिलिङ्ग, भारत
…
१,
नेपाल आमाका सन्तान
गर्छन् सधैँ लुछाचुँडी
नेतालाई चाहिन्छ मान । - बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
…
१,
बालअधिकार कता हरायो।
लेखाइमा सिमित छन्,
बेकारमा रोयो करायो । - भुपेन्द्र राना मगर, धादिङ
…
१,
खराबलाई निकाला गरौँ
फोहोरी खेल खत्तम
मनमा शान्ति भरौँ ।
२,
राजनीतिले देश खाए
बाँकी केही राखेनन्
जनताले दुःख पाए ।
३,
लागौँ देश बचाउन
हामी सबै जुटेपछि
नेताले सक्दैनन् पचाउन। - लक्ष्मण देउवा, डोटी
…
१,
तिज पर्व गयो
समय सँगसँगै घुमेर
यताउता सुनसान भयो । - शोभा आाचार्य गौतम, काठमाडौँ
…
१,
नेताका फोहोरी पहर
हटाऔॅं सबै मिली
ल्याउनलाई नयाँ लहर। - सन्तु खत्री
…
१,
बोलाउँछ र फर्किन्छ
भनी घत हेराहेरमा
सुन्दर घर बनिन्छ।
२,
दुवै कानले सुन्ने
राम्रो श्रीमतीको श्रीगणेशपछि
आफूले मौनता चुन्ने।
३,
मतलबका कुरा रहेछ
आज वर्षौँपछि फेरि
एउटा मेसेज गरेछ। - दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ
…
१,
बुझ्नू, अरूको मर्म
पुण्य मिल्दछ यहीँ
गर्यो भने सत्कर्म ।
२,
सभ्य समाजमा अटाउन
दुष्ट आत्माहरूलाई हामीले
सक्नुपर्छ डाँडो कटाउन ।
३,
चाल्दा नराम्रो खेल
क्षणिक आनन्दपछि फेरि
बग्छ आँशुको भेल । - शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
…
१,
पैसाको महिमा अपार
जिन्दगीमा छैन भने
पाइला पाइलामा मार।
२,
खल्ती भए खाली
आफ्ना भन्ने सबै
तयार गर्न गाली ।
३,
जिन्दगीमा मचिन्छ हाहाकार
होला पैसाविहीन जीवन
कहिले बन्दैन साकार । - रुना कर्माचार्य दाहाल, चितवन
…
१,
परेपछि म थला
हेरिरहन्छ दुनियाँ मेरो
पासोमा परेपछि गला । - खडक आर सि मिलन, छेडागाड नगरपालिका -२, साल्मा जाजरकोट
…
१,
कसैले लोभ गर्ला
चुपचाप काम गर
जे पर्ला पर्ला ।
२,
नाम भएर हुँदैन
काम ठूलो हुनुपर्छ
हात्तीलाई कसैले छुँदैन । - नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
…
१,
घमण्ड बढपन रवाफ
अतृप्तले खति हुन्छ
समयले दिन्छ जवाफ ।
२,
असल स्वभाव बानी
विनयी बन्न सिकौँ
अरूको भलो ठानी।
३,
लोभको खुकुलो पोको
विवेकले कस्न सकेमा
रहन्न अधुरो धोको । - जयनारायण नेपाल, इलाम, (हाल सूर्यविनायक २, बालकोट, भक्तपुर )
…
१,
बगाएर भावको खोला
विकृतिमाथि प्रहार गरौँ
झिल्काको झरिलो लोला l
२,
चेतको दैलो खोलोस्
कविको ती अन्तरभावना
सत्यको पक्षमा बोलोस् !
३,
कावा खाँदै उड्छ
कविको निश्चल हियो
कैयौँको अन्तरमा बुड्छ l - बाबुराम गौतम, गुल्मी
::::::::जय झिल्का साहित्य ! ::::::::::
I do trust all the ideas youve presented in your post They are really convincing and will definitely work Nonetheless the posts are too short for newbies May just you please lengthen them a bit from next time Thank you for the post