
साप्ताहिक झिल्का लेखन अभ्यासको २० औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २० मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
कमल हिलोमा फुल्छ
खास वरदान भगवान्को
सिउॅंडी मरुभूमिमा डुल्छ ।
२,
हुने नहुने कुरो
सस्तो लोकप्रियतामा कुदिरहन्छौ
बुझ्दै नबुझी चुरो ।
३,
एकनासको हुँदैन बाटो
सदा लक्ष्योन्मुख होऔॅं
सकेसम्म नराखी रहाँटो ।
- म्यामराज राई, भोजपुर
…
१,
मनमा नजमाई शीत
बाँचुन्जेल हाँसौ खेलौँ
भविष्य छ अनिश्चित !
२,
गर्नुहुँदैन कदापि रोष
गल्ती आफ्नो जान्दाजान्दै
अरूलाई दिएर दोष !
३,
पैसाको मुख कालो
अपराध निम्त्याउँछ यसले
षड्यन्त्रको हो जालो ! - वसन्त अनुभव, घोराही, दाङ
…
१,
ढुङ्गालाई माटोको भर
दुवै मिले पो
बन्छ सुन्दर घर !
२,
आयो जमाना कस्तो ?
खै किन यहाँ
लोकप्रियता बन्दैछ सस्तो । - दीपा समभाव, खोटाङ
…
१,
भ्रमर फूलमा डुल्छ
रस पसेपछि हेर्दै
फूल काँडामा फुल्छ ।
३,
नचाहिने गर्छौ कुरो
समाज सेवाको काम
चलाउन आफैँ सुरो - बेदु न्यौपाने
…
१,
उनीसँग जुध्यो नजर
रुझ्यो बनको सेरोफेरो
प्रेमिल उष्ण रहर ।
२,
मायाको खर्पन ढाकर
बोकेर सगरमाया चढ्ने
पङ्ख प्रेमको सगर । - ममता पौडेल, बुढीगङ्गा-२, मोरङ
…
१,
हिम्मत नै गर्नुपर्छ
आफू आफैँलाई चिनौँ
समयले सब गर्छ । - ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ
…
१,
दलित अछुत भनेर
मानवमाथि मानवले बोल्छन्
मानहानि सधैँ गरेर !
२,
सबै समान नहुने
मानवमा मानवता नभएर
कसरी तिनी नछुने ?
३,
कहिले हुन्छ समान
मानव मानव मिली
अवश्य आउॅंछ बिहान ! - भोलामान बर्देवा, धरान ८ सुनसरी
…
१,
किन विकार जगाउने ?
सत्यतथ्य बुझ्न खोज्दैनन्
लान्छना मात्र लगाउने !
२,
आफ्नो धरातल भुल्छन्
मानवको स्वरूप मात्र
आखिर आडम्बरमा फुल्छन् ।
३,
भएर पुनः मपाई
कुनै पनि बहानामा
शोषण गर्न नपाई ! - पृथक प्रकृति ,झापा
…
१,
बाँकी काम रोकेर
आएको भेट्न मायालाई
मनमा खुसी बोकेर !
२,
सुन्दर बनी फुलिदेऊ
भनेर सोच्छु म
मेरो मनमा डुलिदेऊ।
३,
हाँसेर बोल्नु राम्रो
बनोस् नटुट्ने सम्बन्ध
झन् गहिरो हाम्रो ! - अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
…
१,
मनको हुँदोरहेछ पोको
सॅंगालेर राख्दा पनि
पूरा नहुने धोको !
२,
भन्न सजिलो हुन्छ
पर्दा मात्र आफूलाई
बल्ल मन छुन्छ।
३,
मनलाई नबनाऔॅं अस्थिर
सॅंगालेर राख्छ जसले
अन्तमा हुन्छ वीर ! - अर्जुन प्रसाद चौलागाई, सुनापति-१, रामेछाप (हालः-अमेरिका, बोस्टन)
…
१,
नगर्नु जोसको बात
आउने गर होसमा
पाइन्न कसैको साथ !
२,
नबिराउनु अनि नडराउनु
भ्रष्टाचारी भए कोही
दण्ड सजाय गराउनु !
३,
दिनेछन् जनताले साथ
हुन् जनार्दन तिनै
बुझेर गरे बात ! - सतीश पण्डित, चुँदी तनहूँ (हाल चनपा- ६ मातातीर्थ)
…
१,
आफ्नाहरू बिराना बन्छन्
लौरी दिएर तार्यो
आफैँ ठुला भन्छन् ।
२,
खोला तर्यो भाँच्यो
भुल्यो लौरी दिनेलाई
खुट्टामा हिर्काएर नाँच्यो।
३,
कस्लाई आफ्नो भनौँ
संसार विचित्र रहेछ
सबैसॅंग व्यावहारिक बनौँ । - चुडामणी देबकोटा, पुरानो नैकाप काठमाडौँ
…
१,
विरोध गर्नेले गर्छ
मौका सधैँभरि आउॅंदैन
टन्न कमाउनु पर्छ ।
२,
जसले कमाउन जान्छ
हेर्दैन राम्रो नराम्रो
समाजले उसैलाई मान्छ । - शंकर कार्की, मकवानपुर
…
१,
कसैलाई समयले पर्खॅंदैन
व्यर्थ खेर नफालौँ
बितेको पल फर्कॅंदैन। - बिके मुखिया, दार्जिलिङ, भारत
…
१,
हरियो बोटको जरा
चौतर्फी ढकमक फूल
आखिर सुन्दर धरा !
२,
कुरैकुराले घर चलाए
समाज बनाउँछु भन्दै
मानिसको मन जलाए ! - आर्त अकुलीन
…
१,
विश्वास मन फुकाएर
अगाडि पछाडि नहेरी
बसेका खुसी लुकाएर !
२,
जनता नेताको पछाडि
नेताजी कुर्सीको दाउमा
खुलेर निस्कनु अगाडि !
३,
जङ्गल फडानी नगरौँ
नफसौँ पहिरो जानमा
हरियो बिरूवाले भरौँ । - अम्विका अधिकारी, झापा बिर्तामोड
…
१,
हुँदैन कसैको आसले
एकदिन जान्छ छोडी
आफूले फेर्ने सासले !
२,
नगर्नु अर्काको रिस
दिन सक्छन् सत्रुले
अमृत भनी विष !
३,
लिची, आँप फलेको
बढ्यो गर्मी धेरै
तातो हावा चलेको ! - अनिता भण्डारी, ताप्लेजुङ
…
१,
उदाउँदो बिहानीको घाम
स्वास्थलाई धेरै राम्रो
गर्नु ताप्ने काम !
२,
साग सिस्नो खानु
रोग हट्दै जान्छ
पर्दैन अस्पताल जानु ! - राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
…
१,
सबैले हिम्मत गरौँ
मरेको मनलाई आनन्द
मनमा माया भरौँ ! - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
…
१,
सपना देशको मेरो
उन्नति लिएर साथमा
नझुकोस् सधैँ सेरोफेरो !
२,
कुर्सीको तानातान हेर
बडेमान शून्य जित्ने
खै चलाखविना खेर !
३,
चाँदनी रुँदैछ देशमा
सिमाना पारि एक्लै
न्याया खोज्दैछु केसमा ! - एवाइ प्रभात, सहिदभूमि, धनकुटा
…
१,
भ्याइएन गन्तव्य कोर्न
सकेनौँ अझै हामीले
आफ्नैको फोहोर सोर्न !
२,
जहिल्यै कुबुद्धि आउँछ
आफ्नो धर्म त्याग्दा
सरापले उल्टो गराउँछ ।
३,
लाकतन्त्रमै त्यस्तो गरेको ?
लेखेको भनेको कथित
समाचार भ्रष्टाचारले भरेको ! - रामप्रसाद पुरी, बादेल, खोटाङ
…
१,
देख्दैनन् मजदुरको काम
हरपल बगाउँछन् पसिना
पाउँदैनन् उचित दाम !
२,
खान्छन् व्यन्जन चौरासी
ठुलाबडा भनाउँदाहरूले यहाँ
हामीलाई बनाउँछन् दासी !
३,
गरिबीको चपेटामा परी
व्यवहार सम्हाल्नु पर्ने
दुनियाँको इस्तेमाल गरी ! - सीमा कार्की समर्पण, मेलचोक पर्सा
…
१,
रित्तो हुँदैछ गाउँ
बेरोजगारीको चपेटाले गर्दा
परदेसिए बिरानो ठाउँ !
२,
निभ्यो आसाको दियो
देशको बेथितिले गर्दा
गलेर आउँछ हियो !
३,
आँसुले मुख धुँदै
बुढेसकालको सहारा गयो
वियोगमा विक्षिप्त हुँदै ! - संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौँ
…
१,
स्वास्थ शरीर लिएर
बढ्न सकिन्छ अगाडि
नहिड रक्सी पिएर !
२,
आफूले पाएको ज्ञान
दिन सक्नुपर्छ सबैलाई
यति कुरा जान !
३,
हेर जीवन जिएर
भइन्छ त्यसै बर्बादी
रक्सी मात्र पिएर । - ललिता गिरी, सिन्धुली (हाल काठमाडौँ )
…
१,
मनमा कुरा खेल्छ
उपलब्धीको खोजी गर्दै
अझ किन धकेल्छ ? - प्रेम थापा “मन”, बागलुङ
…
१,
काममा व्यस्त भएर
बन्द सिर्जनाको ढोका
खेतको गरामा गएर !
२,
मायाको तिर्सना मिठो
सकिन्न कसै बिर्सन
खाइन्न फल गिठो !
३,
जिन्दगी गाह्रो जिउन
सकिन्न किनेर कपडा
सुचिकारमा पुगी सिउन ! - भगवती दवाडी, झापा
…
१,
चोखो माया साँचेर
नगर्नु कलह कसैले
जीवनमा बाँचौँ हाँसेर !
२,
समयले डाँडा काट्यो
तिम्रो त्यो कर्तुतबाट
मन त्यसै फाट्यो । - सरस्वती श्रेष्ठ, इटहरी
…
१,
हार मान्नु हुँदैन
दुःख हुन्छ सबैलाई
बालक केवल रुँदैन ।
२,
तिमी सानो थियौँ
ठुला थिए सोच
अहिले कसलाई दियौँ ?
३,
बलियो बनाऊ मन
प्रदर्शन गर्न शक्ति
काम्नु भएन तन ! - धनुष न्यौपाने” यात्री”
…
१,
देश गम्भीर मोडमा
सबै सचेत बनौँ
अस्तित्व बचाउने होडमा !
२,
मृग ओरालो लागेको
भेट्टाउन मानिसहरू किन ?
उसको पछि दौडेको ?
३,
जति दबाउ भलिबल
उति माथि पुग्छ
पुग्छ उसलाई मल ! - रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि
…
१,
जेठको घाम रापिलो
गर्मीले तराई पाक्दैछ
हुँदैछ पृथ्वी बाफिलो !
२,
उडेका चरा खस्दैछ
भनेर औलो लाग्ला
मनमा शङ्का पस्दैछ ।
३,
सम्झिए हुर्केको पहाड
सितल त्यो चौतारी
छेउमा झरनाको दहाड ! - सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
…
१,
भगवान्को ढोकामा ताला
मान्छेले ल्याएर ठोकेको
मान्छेलाई झुक्याउने चाला !
२,
तिमीले तुलसी पुजेको
भगवान्को आफ्नै नियम
यति मैले बुझेको !
३,
सन्सार तिम्रो मेरो
बाँचुन्जेल प्राणीको साझा
मरेपछिको लोक अँधेरो ! - कमला पौडेल
…
१,
खुशीको साँचो गोजीमा
अनेकौँ तर्क आवतजावत
भौँतारिन्छु सत्यको खोजीमा !
२,
भोकले भोजन माग्दछ
यसकै लागि भौँतारिएँ
रुखोसुखो अमृत लाग्दछ ।
३,
सुखी परिवार बनाउन
हेर छोराछोरी जन्माएँ
दुवै उडे कमाउन ! - नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
…
१,
आउने जाने क्रम
यथार्थ रत्तिभर नभएको
जीवन एक भ्रम !
२,
परिस्थितिको भिरेर भार
परदेश पुगेको हुन्छन्
हामीसँगै देशको अनुहार! - बि.कुलुङ, दार्जिलिङ
…
१,
आउँछ अवश्य पालो
समय पर्खनु पर्छ
हट्छ निरङ्कुशताको जालो।
२,
अरूलाई रुवाई हाँस्ने
अमानवीय कार्य गर्दै
प्रीति कहिले गाँस्ने ?
३,
गरे असहायको सेवा
निस्वार्थ भाव बोकी
मिल्छ एकदिन मेवा ! - अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत
…
१,
सबैको प्यारो बनौँ
मनको पीडा कलमले
धेरै कुरा भनौँ ।
२,
अरू केही चाहिॅंदैन
बाआमा जस्तो माया
संसारैमा कतै पाइँदैन। - सविता भट्टराई, जनकपुरधाम
…
१,
वसन्तमा हरियाली बोट
मन उदास हुँदा
मनभरि गहिरो चोट !
२,
मालामा सुवाउने फूल
खोला आउँदा सधैँ
तर्न चाहिने पुल !
३,
बगेको पानी खोला
बाबा घरमा नभए
जिन्दगी के होला ? - श्रीकृष्ण धामी, बझाङ
…
१,
उहाँहरू कसिएर आउनुभयो
वरपरको माहोल विचारी
फर्की जान पाउनुभयो ।
२,
भातभान्सा खाइसकेर आइयो
फुर्सद अनुभव गरिएन
कामधाम सकिवरी खाइयो । - लक्ष्मी रिजाल, कञ्चनरुप १२, रुपनगर, सप्तरी
…
१,
कसैलाई नभन्नु भुलेर
पीडा भए पनि
मनको कुरा खुलेर !
२,
सदनको खेल हेर
परेर कुर्सी मोहमा
गर्दैछन् समय खेर !
३,
सबैको आउँछ पालो
सहन सक्यो भने
फ्याँकिन्छ अत्याचारको जालो ! - कला ढकाल, झापा
…
१,
विवाहको नाटक गरेर
सम्पत्ति सबै कुम्ल्याउने
लोभ लालचमा परेर !
२,
भएमा प्रेम पवित्र
मिल्दछ आनन्द आफैँ
त्यही सानो झुपडीभित्र !
३,
मान्छेमा मानवता हरायो
देखासिकी गर्दा आपसमा
जीवनशैली भड्किलो गरायो। - पद्मा काश्यप पाण्डे, मोरङ
…
१,
प्रेम रोगजस्तो कडा
अरू केही हुँदैन
याद निकै तगडा !
२,
समय कटाउने खेल
चोखो मायामा पनि
घात हुन्छ अचेल ! - साबित्री प्याकुरेल, धादिङ
…
१,
खोज्दै हिॅंडियो गयो
डुलेर चौतर्फी बेकार
हल्लाको पछि भयो ।
२,
निधारभित्रको यस्तै लेखान्त
थाहै हुँदैन कसैलाई
जिन्दगी मायावीको उपरान्त ।
३,
खोजेर कहाँसम्म हिॅंडू
यो भाग्यको रेखा
घरघर गर्दै भिँडू। - ईश्वर साउद, रामारोसन- ६ सुदुरपश्चिम अछाम
…
१,
मनको पीडा बुझिदिने
एउटा साथी चाहियो
कोही हुनुहुन्छ खोजिदिने ?
२,
हरेक रात सम्झिदिन्छु
एकान्तमा बसेर हरपल
बाटो हिॅंड्नेहरूलाई सोधिलिन्छु ।
३,
कयौँ सपनाहरू सजाए
तिम्रो आगमनको प्रतीक्षामा
वियोगमा मन जलाए ! - दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ
…
१,
बोल्नुपर्छ दिल खोली
देखाऔँ यहाँ सबैले
स्थिर खालको बोली ! - बाबुराम पाण्डे, अर्घाखाँची
…
१,
विश्वास कसैको नगर्नु
स्वार्थ पूरा भएपछि
छोड्छन् पारेर मर्नु !
२,
कमल हिलोमा फुल्छ
संसार लोभ्याउने फूल
देखेर मन भुल्छ ।
३,
मनमा पिर लिएर
जिउन सक्नुपर्छ हामी
दुःखमा सान्त्वना दिएर ! - लक्ष्मण देउवा, डोटी (हाल भारत)
…
१,
झमझम पानी दर्कियो
आकाशैबाट आज हेर
खेतको बाली लर्कियो ।
२,
जाला बैंस खेर
केटा छान्दा छान्दै
बस्नु पर्ला हेरेर ! - बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
…
१,
मेरो कथा अर्को
बुझ्छौ होला सोचेँ,
मानी दियौ झर्को !
२,
जीवन साँच्चै छोटो
राम्रो रमाई बाँच्नु
हुन्न भाग्य खोटो !
३,
मैले हारी दिउँला
तिम्रो जीतको लागि
आफैँ आँसु पिउँला ! - पुष्पा राई, बादेल, खोटाङ
…
१,
मैले दिएको माया
पत्यार नलागे तिमीलाई
सम्झनु तिम्रै छायाँ !
२,
अँध्यारोमा देखिन्न कहिले
मन उज्यालो बनाउनु
तिम्रो साथमा जहिले !
३,
मनमा शङ्काको बादल
मास्तिर उठेको बेला
ओसिएछ कतै मादल ! - मोती सुब्बा दार्जिलिङ, निमकी डाँडा
…
१,
छैन पाएको मान
राम्रो काम गरे
गयो आज जान ! - गंगाराम यादव, औरावनी २, सुनसरी
…
१,
सोच्दै नसोच्नेलाई सुख
समस्या टार्दै गयो,
सन्तापले बढायो दुख !
२,
वर्तमान ठुलो झन्
भविष्य सोचेर हुन्न
भूतकाल व्यर्थ छन् ।
३,
गर्दै जाऔॅं कर्म
जान्छ जीवन बन्दै
पालना गर्दै धर्म ! - मनोहरी पौडेल, गैडाकोट १
…
१,
साँझ परेपछि सलादमा
गर्मी कसरी कटाउने
लोकल अथवा ब्राण्डमा !
२,
कोदोलाई ब्राण्डेड बनाउने
सोच राम्रै सरकारको
शुल्क दाबेर बढाउने !
३,
लोकल पिए खोयाबिर्के
ब्राण्डेड पिए ड्रिङ्क्स
गुणगान दुवैको छिर्के ! - घनश्याम पन्त, हरिवन सर्लाही
…
१,
रित्तो गाग्री भरेर
सबैको प्यास बुझाऔॅं
उपल्लो जङ्घार तरेर !
२,
प्यास सबैको उस्तै
जोहो गरौँ मूलको
अरू अलि दुरुस्तै । - हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
…
१,
पश्चिम आङको चोटले
नेपाल आमा मरणासन्न
नेतृत्व वर्गको खोटले !
२,
लुकाएको पुराना चुक
खोज्नु पर्दछ सबै
अति भयो छुकछुक !
३,
सन्तान देखिए थरीथरीका
सुशासनको माला जप्नु
नीतिगत निर्णय तरिका ! - प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
::::::::जय झिल्का साहित्य ! :::::::::


