‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३६ सम्पन्न

  • १३ जेष्ठ २०८१, आईतवार २०:४९ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३६ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३६ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३६
    ~<•>~
    कामभन्दा कुरा गर्ने चाहिएको छ मान्छे
    बोल्दाखेरि गाई बनोस् ढुकुटी बाँड्दा भान्छे !
    वसन्त अनुभव
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    [१]
    गल्तीहरू ढाकछोप गर्ने, कार्यकर्ता चाहियो
    अन्धाभक्त बनेपछि हेर बोल्न जे नि पाइयो ।
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    नराम्राे काम छाेपिदिने मान्छे मात्र मेरा
    दैलाे खाेली देखाउनेले सरे हुन्छ डेरा ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [३]
    मख्ख पर्दै ढोकातिर ए हात लम्काएर
    ढिकुटीको साँचो देखाई भाग्य चम्काएर ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [४]
    पर्दाफास गर्ने जति लाखापाखा लागुन्,
    ठगाहा र भ्रष्टाचारी मारेका नि जागुन् ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    [५]
    गणतन्त्र प्रजातन्त्रमा हेर जे बोल्छौ बोल पाइन्छ
    देशमा गाई गोरु जे बनोस् ढुकुटी मलाई चाहिन्छ ।
    ✍️ बेदु न्यौपाने
    [६]
    कार्यकर्ता नै लहैलहैमा लाग्छन् भएजति
    नेताको चालचलन अनि बिग्रिए नि मति।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [७]
    नियत नै खोटो भएपछि कसको के लाग्छ
    जसरी पनि देश कङ्गाल पार्ने मति जाग्छ ।
    ✍️ सतीश पण्डित
    चुँदी तनहूँ
    हल चनपा माततीर्थ।
    [८]
    जे गर्दा पनि नहुने भयो, खाली आँखा छ्ल्ने मात्र कुरो
    कठै भनी कति भनौँ हजुर बन्नुपरेको छ बबुरो ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा
    [९]
    धरतीमा बसी गरून् आकास छुने कुरा
    सबै रित्याएर बाँडुन् ढुकुटी जति पूरा ।
    ✍️ मन्जु जोशी
    डीलासैनी ५ बैतडी
    हाल भक्तपुर
    [१०]
    बिरालो मुसा जस्ता भेटिन्छ भान्छे
    डाडु पन्यु जिम्मा लगाएको मान्छे ।
    ✍️ चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    [११]
    गर गर मात्र भन्छन् हरेक बेला काम
    काम गरेको नि मिल्दैन त हजुर दाम ।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    [१२]
    काम गर्न किन पर्याे उसले चाप्लुसी गरेपछि
    दु:खपीडा दिइरन्छ पीडक तिनले सहेपछि ।
    ✍️ शर्मिला खतिवडा
    विर्तामोड ,झापा ।
    [१३]
    जता गयो उसैको डर
    कोही कसैको छैन भर !
    ✍️ आर्त अकुलीन
    [१४]
    प्रजातन्त्र देशमा आयो, सबैले बोल्नु पायो
    काम गर्नेले बोक्रा पायो, बोल्नेले गुदी खायो।
    ✍️बिके मुखिया
    दार्जीलिङ,भारत।
    [१५]
    जगमा हामी नै भयौँ विचित्र
    नदेखिने कतै पनि सचित्र ।
    ✍️ कार्की डिबी माकुम
    [१६]
    घरमा पनि कर अरे जग्गामा पनि कर
    विकास गर्ने कार्यमा त जनताकै छ भर ।
    ✍️ Shreya timalsina
    Hetauda makwanpur
    [१७]
    किन पर्यो रुन व्यर्थ मच्चाउँदै रोइलो ?
    भ्रष्टाचारी समातेर काट्दाखेरि खोइलो !
    ✍️ विवश पारदर्शी
    झापा,
    [१८]
    भाषण गर्छन् नेता देश विकास गर्ने आकाश पातलकाे कुरा
    देशको ढुकुटी रित्याई पत्नीलाई लगाइदिन्छन् सुनको चुरा ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    [१९]
    काम कुरा एकातिर कुम्लाे बाेकेर ठिमीतिर
    सुशासन दिन्छु भन्नेले देशलाई लगे भिर ।
    ✍️ प्रद्युम्न चालिसे
    [२०]
    सरल व्यक्तिलाई पराया जस्तो गर्दैछ
    स्वार्थीले भने धमाधम ढुकुटी भर्दैछ ।
    ✍️ अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    [२१]
    भाषणमा माइक पाउँदा मिठा गर्छन् बात
    पैसा पाउने ठाउँ आएमा लम्काउँछन् हात ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    [२२]
    बोल्दाखेरि गाई बनोस् बजेट बाँड्दा माई
    द्रव्य पोषण गर्ने भान्छे मिलोस् हामीलाई l
    ✍️ बाबुराम गौतम, गुल्मी
    [२३]
    भ्रष्टाचार, कामचोरहरूको रगरगी बढेर गयो
    फोहोरमैलाले झोडा नाला डुङडुङ्ती गह्नाउने भयो ।
    ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा।
    [२४]
    महान् व्यक्तिहरूले नै गर्छन् नराम्रो धन्दा
    भाषण मात्र छाँट्छन् ठूला काम गर्नुभन्दा ।
    ✍️ साबित्री प्याकुरेल, धादिङ्ग।
    [२५]
    बोलेरै त सिध्याए ढुकुटी काम माखो मारेनन्
    जनतामुखी कर्म भने कहिल्यै अघि सारेनन् ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [२६]
    के पाइएला र याे जुनीमा यस्ता खालका मान्छे
    बरु तिमी आफैँ बन मिलाएर लैजाने भान्छे ।
    ✍️ भवानी पोख्रेल
    [२७]
    गधालाई नुहाएर गाई हुन्नन् भन्थे त्यस्ता
    नेटो काट्यो समयले राष्ट्रभक्त भए सस्ता ।
    ✍️ ममता पौडेल
    बूढीगङ्गा-२, मोरङ
    [२८]
    गरीबको हरायो सानो डेरा
    धनीले बनायो सबै नै मेरा ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    [२९]
    अहम् अनि घमण्ड छ प्रत्येक मेरो बातमा
    भान्छाको डाडु पन्यु भएपछि मेरै हातमा ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [३०]
    सही गलत छुट्याउन नसक्ने रहेछ मान्छे
    आफ्नै भुँडी मात्रै भर्ने कस्तो बनाइएछ भान्छे ?
    ✍️ दीपा समभाव
    खोटाङ्ग
    [३१]
    सबै मिलेर रित्याइसके ढुकुटी
    अर्थतन्त्र दुब्लाई भैसक्यो सुकुटी ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    [३२]
    ढुङ्गा पग्लिएला बरु फाट्न सक्ला धर्ती
    तितो लाग्नेगर्छ स्वार्थीलाई मिठो अर्ती ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [३३]
    अस्तित्वमा अझै रहेछ खुन चुस्ने आदमखोर
    गरीबको पसिना पिउँदै सत्तामा बसेका चोर ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [३४]
    ठूला ठूला भाषण गऱ्यौ भने नेता बन्छौ नानी
    भ्रष्टाचार गर्नु र घुस खानु राम्रो हुन्छ बानी ।
    ✍️ गुणनिधि घिमिरे अमेरिका
    [३५]
    कुरा गर्यो कुराकै दुख
    मान्छे मारेर खोज्छ सुख ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    हाल- एनेलकुटी, सिरहा ।
    [३६]
    कुराले नै विकास गर्ने मान्छे चाहियो भन्छौ
    को जनता कहाँ मरे भन्दै तिमी फेरि गन्छौ ।
    ✍️ धनुष न्यौपाने” यात्री “
    जुम्ला
    [३७]
    अलिकति दाउ परे खोसाखोस नाली झोडे काम
    बर्खा नलागी भत्किँदै पछि देख्छ भ्रष्टाचारी नाम ।
    ✍️ राजनारायण राई
    राजदल बस्ती सोनादह
    [३८]
    तिमीसँग हात फैलाएर माग्नु पर्यो मैले माया
    यस्तै रहेछ जिन्दगी कहिले घाम कहिले छाया ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [३९]
    नक्कली माया लाएर नै पारेउ जालमा
    बस्नुपरेको छ राेई अहिले बेहालमा ।
    ✍️ रामप्रसाद पुरी, बादेल , खाेटाङ ।
    [४०]
    मुखमा राम राम चित्तमा छुरा
    भित्रभित्र गर्छौं ठूला ठूला कुरा।
    ✍️ रमेश दियाली
    [४१]
    साँचो माया गर्छु है भनेको उनले
    असल व्यवहार भरेको गुनले ।
    ✍️ गंगाराम यादव
    औरावनी २ सुनसरी
    [४२]
    तिमी देऊ साथ मलाई असल मान्छे भनेर
    कमिला भई पस्नेछु र निस्कन्छु हात्ती बनेर ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [४३]
    चुनाव आउँदा नमन बाँड्छु भाषण पनि ठुला
    विकासका बजेट ल्याउँछु त पोटली भर्ने दुला ।
    ✍️ इन्दु श्रेष्ठ, चितवन
    [४४]
    छानेर पठाएको मान्छेले चलाएको छ सत्ता
    ढुकुटी रित्याएर बाँडेको छ तलब र भत्ता ।
    ✍️ अरुण कुमार भुजेल
    गोरुबथान, कालेबुङ, भारत।
    [४५]
    कसैले दया देखाउँदा भाग्छु
    कमलो देखिए म उतै लाग्छु ।
    ✍️ लक्ष्मी रिजाल
    कञ्चनरूप १२, रूपनगर, सप्तरी
    [४६]
    बोलेर पनि अब देश भए चलाउने
    काम छ नेपाल आमाको मुटु जलाउने ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    [४७]
    जता छ आफ्नो भाग, उतै लगाउँ कुरो र कुलो
    देशको ढुकुटीमा राख तिम्रै भान्छे तिम्रै चुलो ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    [४८]
    झुटा भाषणमा रम्ने, सत्तामा छन् विराजित
    सन्तान दास पोसेर, बन्छन् भान्छे मजासित।
    ✍️ रामशरण न्यौपाने, भक्तपुर
    [४९]
    खान टन्न पाएपछि आँखा देखिँदैन कान पनि हैन सुन्ने
    जे जे गरोस् मतलब छैन बुद्धजस्तै त्यागी भन्दै सधैँ चुन्ने ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    [५०]
    कामभन्दा कुरा गरी बन्ने गर्छन् यहाँ हिरो
    देशको ढुकुटी लुटेर बनाइसक्यो जिरो ।
    ✍️ रुना कर्माचार्य दाहाल ,चितवन
    [५१]
    कुरा मात्र गर्ने देश चलाउनेहरूको काम
    विकासको नाममा हुँदैछ है जताततै जाम ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [५२]
    काम बिक्ने बजार, हुँदाेरहेछ नीच
    बाेली बिकुवा ती ग्राहकहरूकाे बिच ।
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    [५३]
    बहुदल हाम्रो निम्ति भएको छ शान
    प्रजातन्त्र देखाएर जानेका छाैँ खान।
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    [५४]
    बोली बिक्ने समय छ त किन गर्नु काम
    जति खेदो खने पनि कमाइहाल्छु दाम |
    ✍️ सरिता सेढाई धादिङ
    [५५]
    मान्छे बने हेर आजकल, झुटो खेतीको भान्छे
    बुढी समेत तरकारी, कोदाको झोलमा झान्छे ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [५६]
    जताततै भएको छ सधैँ अशान्तिको युद्ध
    फेरि आऊ देशलाई बचाऊ गौतम बुद्ध ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    [५७]
    खोजेको बराबर भएको कुरा सबैलाई बाँडेपछि आफू खाने भान्छे
    भेटियो आफू र आफ्नालाई पस्की अरू भोकै राखी आफू टन्न खाने मान्छे !
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [५८]
    कामभन्दा कुरा मात्रै गर्ने हाम्रा नेताहरू
    काम देख्दा जनतालाई भयो बाँचु कि मरु !
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ,हाल काठमाडौँ ।
    [५९]
    ढुकुटी बाँड्दा भान्छे बन्न तम्सनेहरू छन् धेरै
    मौका पर्दा पोल्टो भर्न जेलाई पनि भन्छन् मेरै ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    ~<•>~

    One thought on “‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३६ सम्पन्न

    1. Somebody essentially lend a hand to make significantly articles Id state That is the very first time I frequented your website page and up to now I surprised with the research you made to make this actual submit amazing Wonderful task

    Leave a Reply