श्रमिकहरूको लागी वैदेशिक रोजगार असुरक्षित हुँदै ..

  • ३ असार २०७९, शुक्रबार २१:०६ मा प्रकाशित
  • -शुक्र मोक्तान-
    साउदी अरब

    वैदेशिक रोजगारको प्रमुख गन्तव्य मध्येको एक प्रमुख राष्ट्र साउदीअरबमा वर्तमान समयमा करिब ४ लाख भन्दा अधिक नेपाली श्रमिकहरू विभिन्न क्षेत्रमा कार्यरत रहेका छन्। जस मध्ये हजारौँ संख्यामा अलपत्रमा परिने श्रमिकहरू दिन प्रतिदिन बढ्दै गएको छ। श्रमिक समस्याहरू न्युनिकरण गर्ने उद्देश्य सहित मागपत्रहरू दूतावास द्वारा प्रमाणिकरण पश्चात मात्र कार्यान्वयन हुने प्रावधान लागू हुनुको वावजुत पनि हिजो आज एकै प्रकारका श्रमिक समस्याहरू बढ्दै गईरहेको सुन्न र देख्न सकिन्छ ।
    विशेषतः साउदीअरबमा रोजगार दाता द्वारा पाउनु पर्ने तोकिएको काम र तत् सम्बन्धित तलब सहित अन्य सेवा सुविधा बाट बन्चित भई उद्धार र न्यायोचित न्यायीक उपचारका लागी सहयोग मागीरहेको श्रमिकहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। यही समस्याहरूलाई ध्यानमा राखी साउदीअरबका लागी कुटनितिक नियोग नेपाली दूतावास रियादले सकेसम्म रोजगारीका लागी साउदीअरब नआउन र आउनै परेमा आवश्यक सबै जानकारी प्राप्त भए पछि मात्र आउन आफ्नो अफिसियल सामाजिक संजाल फेसबुक मार्फत सुचनानै जारी गरेको छ।

    पछिल्लो समयमा साउदी सरकारले ल्याएको श्रमिक मैत्री कानुन र विगतको तुलनामा आप्रवासी कामदार सम्बन्धी लचिलो कानुन लागु भए पश्चात श्रमिक समस्याहरू न्युनिकरण हुनुको साटो दिन प्रतिदिन वृद्धि हुँदै गएको छ। यो भन्दा पहिला न्यूनतम एक वर्षको लागी साउदीअरब बसोबास अनुमति पत्र (ईकामा) रोजगार दाताले दिनु पर्ने थियो भने अहिले ३महिने, ६ महिने र एक वर्षेको गरी वर्गीकरण गरिएको छ भने सोही कानुनी व्यबस्थालाई उपयोग गर्दै नव आप्रवासी कामदारहरूको पहिलो ३ महिने ईकामा बनाई त्यसलाई नवीकरण नगरी रोजगार दाताले आफ्नो जिम्मेवारी बाट पन्छिने गरेको देख्न सकिन्छ।

    यसै क्रममा पाँच महिना अगाडी व्लुग्यालेक्सी ओभर्सीज बाट साउदीअरब आएका मध्ये १७ जना कामदार सडकमै अलपत्र परेको पिडित मध्येको एक कुमार खवासले जानकारी दिएका छन्। उनका अनुसार हाल एनआरएनए आरसीसी दम्मामले जीवन रक्षार्थ खान र बस्ने ब्यवस्था मिलाएको र उद्वारको पर्खाईमा रहेको खवासले बताए भने आरसीसी दम्मामका अध्यक्ष विष्णु भण्डारीले पिडीत श्रमिकहरूको न्यायोचित व्यवस्थापनको लागी म्यानपावर व्यवसायी र नेपाली दूतावास रियाद संग समन्वय गरिरहेको र सकरात्मक परिणामको अपेक्षा गरिएको बताए।

    त्यस्तै कृष्ण रामदाली राई संगै साउदीअरब आएको ३-६ महिना भईसकेको १० जना नेपाली श्रमिकहरुले हाल सम्म ईकामा नपाएको राईले बताए । राईका अनुसार दैनिक १० घण्टा काम तोकिए पनि अतिरिक्त ६-७ घण्टा काम गर्नु पर्ने र समयमै तलब सुविधा नपाएको सुनाए। करार पत्र अनुसार काम र तलब सुविधा नभएको भनि म्यानपावरलाई भन्दा काम गर्न गए पछि काम त गर्नै पर्छ, चुपचाप काम गर भन्दै फोन काट्ने गरेको राईको भनाई छ।
    उल्लेखित पिडित वा अलपत्र परेको नेपाली श्रमिकहरू मात्र प्रतिनिधि पात्रहरू हुन् र यस प्रकारको समस्याहरू दिन प्रति दिन बढ्दै गईरहेको देखिन्छ।
    कोभिड-१९ को महामारीको अवस्थामा होस या पोस्ट कोभिडको अवस्थामा नेपाली दूतावास रियादले जवाजात(साउदी पास्पोर्ट अफिस) मार्फत कम्पनीले ईकामा नबनाई दिएका, नवीकरण नगरि दिएका, हुरूप लाएका तथा कुनै मुद्दा नपरेका तर अन्य कारणले अवैध हुन पुगेका नेपाली श्रमिकहरूलाई बहिर्गमण भिषा दिलाउँदै सहज स्वदेश फिर्ती गराउँदै आएको छ। पछिल्लो पटक ३१ मेई देखी जुन ७ सम्ममा ९३ जना आप्रवासी नेपाली श्रमिकहरूलाई दूतावासले वहिर्गमण भिषा दिलाएको नेपाली दूतावास रियादले जनाएको छ।

    नेपाली दूतावास रियादले जुन म्यानपावर मार्फत आएको वा कम्पनीमा नेपाली श्रमिकहरू समस्यामा परेका छन् उक्त म्यानपावर व्यवसायी र कम्पनीको मागपत्र रोके पनि पहिलो पटक वा प्रक्रिया पुर्याएर आएको मागपत्रहरू प्रमाणिकरण गर्दै आएको छ।

    मागपत्रहरू नेपाली नियोग दूतावासले प्रमाणिकरण गर्ने भएको कारण सम्बन्धित म्यानपावर व्यवसायी र कुटनिति मार्फत रोजगारदाता कम्पनीलाई जवाफदेही बनाउन थप कडाईका साथ दूतावास प्रस्तुत हुनु पर्ने देखिन्छ।

    Leave a Reply