
गाडी आयात रोक्न बैंकका सीइओलाई राष्ट्र बैंकको निर्देशन, छलफलमा अरु के के भयो ?
नेपाल राष्ट्र बैंकले गाडी आयातको एलसी रोक्नलाई निर्देशन दिएको छ। आज सबै कमर्शियल बैकका सीईओहरुलाई डाकेर राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो।
बिदेशी मुद्राको संचितिमा दबाब बढ्दै गएको बताउदै राष्ट्र बैंकले बैंकका सीईओहरुलाई गाडीहरुको एलसी रोक्नलाई निर्देशन दिएको हो। अहिलेको विदेशी सन्चिती ६ महिनाको वस्तु तथा सेवा आयात समेत धान्न नसक्ने अवस्थामा रहेको छ।
बैंकहरुलाई औपचारिक रुपमा पत्र काटेर वा निर्देशन जारी गरेर गाडी आयातमा एलसी रोक्नलाई निर्देशन नदिएपनि सबै बैंकका सीईओहरुलाई नै छलफलमा डाकेर यस्तो निर्देशन दिनुले गाडी आयातको एलसी खोल्नलाई अब कडाई हुने भएको छ।
राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको ७ महिनामा ७० अर्बजतिको गाडी र यसको पाटपुर्जा आयात भएको छ। त्यस्तै बैंकहरुले सीडी रेसियो ९० प्रतिशत भन्दा बढी भएको भन्दै राष्ट्र बैंकले बैंकहरुलाई यसलाई सीमामा ल्याउनलाई निर्देशन दिएको छ।
आजको छलफलमा राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल,अनुसन्धान विभागका डा प्रकाश श्रेष्ठ र विदेशी विनिमय विभागका रामु पौडेल तथा कमर्शियल बैंकका सीईओ तथा बैंकका प्रतिनिधिहरुको उपस्तिथी थियो।
राष्ट्र बैंकले हिजो नै बैंकहरुलाई पत्र काटेर आज दिउँसो पौने ४ बजेलाई सबै बैंकका सीईओहरुलाई छलफलमा डाकेको हो ।


