नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘मारुनी’ र ‘चाक चारब्रा’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजेसम्म चलेको थियोे ।
‘मारुनी’ लघुकथासङ्ग्रह, लघुकथाकार राजन ग्याल्दाङ ‘बुद्धि सिङ’ घलेको र ‘चाक चारब्रा’ लघुकथासङ्ग्रह, लघुकथाकार मुक्ति गौतमको लघुकथासङ्ग्रह हो । यी दुवै लघुकथासङ्ग्रहहरू कृतिकारका पहिलो लघुकथा कृतिहरू हुन् ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार प्रा.डा. हरिप्रसाद सिलवालले नमस्ते आधुनिक लघुकथा मञ्चले फरक ढङ्गले परिचर्चा कार्यक्रम गरेकोप्रति मञ्चको सराहना गर्नुभयो । परिचर्चाकारले लघुकथाहरू वोधगम्य हुनुकासाथै समापन घोच्ने खालको, झसङ्ग बनाउने खालको हुनुपर्छ भन्ने परिचर्चाकार डा.शंकरप्रसाद गैरेको अभिव्यक्तिलाई समर्थन गर्दै लघुकथामा शब्द कति छ भन्नुभन्दा पनि लघुकथाले कस्तो सन्देश दिएको छ, कत्तिको झट्का हानेको छ भन्ने कुराले महत्त्व राख्ने बताउनुभयो । साथै उहाँले परिचर्चाकारहरूले दिनुभएको सुझावलाई ग्रहण गर्दै अगाडि बढ्न कृतिकारहरूमा अनुरोध पनि गर्नुभयो ।
राजन ग्याल्दाङ घलेको लघुकथा सङ्ग्रह ‘मारुनी’को परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, साहित्यकार ध्रुव मधिकर्मीले लघुकथा निश्चित विषय, निश्चित आयामको हुनुपर्छ, जसले लघुकथालाई राम्रो र मानक बनाउने बताउनुभयो । ‘लघुकथाकार घलेका लघुकथामा परदेशका विशेषत: जापानका चित्रहरू, हाम्रै समाजका चित्रहरू हेर्न र देख्न पाइन्छ’ उहाँले भन्नुभयो ।
कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार मुक्ति गौतमको लघुकथा कृति ‘चाक चारब्रा’ बारे परिचर्चा गर्नुहुँदै परिचर्चाकार, वरिष्ठ साहित्यकार एवम् समालोचक डा.शंकरप्रसाद गैरेले लघुकथाकार गौतमको कृतिको शीर्षकले नै आफूमा कौतुहलता उत्पन्न गरेको बताउनु भयो । लघुकथासङ्ग्रहको शीर्षक ‘चाक चारब्रा’ले सुरुमा अर्थ नबुझेर र पछि बुझेपछि झनै आकर्षित गरेको बताउनु भयो । आजभोलि गाउँघरमा ‘खाना खानु भयो’ भनेर सोध्ने मान्छे र परिस्थिति दुवै नभएको उल्लेख गर्दै यसले पछिल्लो समयको गम्भीर कुरा उठाएको बताउनु भयो । गौतमका लघुकथामा आफू जन्मिएको समाज एवम् माटोको यथार्थ चित्रण पाइन्छ । कतिपय लघुकथाको शीर्षक उपयुक्त हुन नसकेको बताउँदै डा.गैरेले शुद्धता तर्फ पनि ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्नुहुँदै वरिष्ठ साहित्यकार, समालोचक एवम् उक्त कृतिहरूका सम्पादक डा.विदुर चालिसेले भन्नुभयो, “छोटो समयमै दुई दर्जन बढी कृतिहरूको सम्पादन गर्नु, प्रकाशन गर्नु कम चुनौतीपूर्ण कार्य थिएन, तर हामीले त्यसलाई सहजतापूर्वक सम्पन्न गर्यौँ । हतारमा काम गर्दा सानातिना कमिकमजोरी हुनसक्छन्, तर सकेसम्म कम त्रुटि होस् भन्नेमा हामी सजग थियौँ ।”
परिचर्चा कार्यक्रममा कृतिकारद्वय राजन ग्याल्दाङ घले र मुक्ति गौतमले परिचर्चाकारज्यूहरू, नमस्ते आधुनिक लघुकथा मञ्च लगायत उपस्थित सबैप्रति हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्नुभएको थियो ।
‘लघुकथा वन्दना’को प्रशारणसँगै शुरु भएको कार्यक्रममा प्रा.डा. हरिप्रसाद सिलवाल, कृष्णजी शर्मा, ध्रुव मधिकर्मी, डा.शंकरप्रसाद गैरे, डा.विदुर चालिसे, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, म्यामराज राई, डा.टिकाराम पोख्रेल, राजन घले, मुक्ति गौतम, लोकनाथ पुडासैनी, कमल पौडेल, इन्दिरा पौडेल, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेल र संस्थाकी आधिकारिक लघुकथा वाचिका इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।
१. शीर्षक र विलोम शिल्पको प्रयोग दीपक लोहनीद्वारा लिखित विलोम लघुकथाको शीर्षक “स्वाद” हो, तर यथार्थमा कथा स्वादको अनुभवभन्दा पनि स्वाद भेटाउने प्रक्रियाको व्यङ्ग्यात्मक विलोम प्रस्तुति हो । ‘विलोम लघुकथा’ मा प्रायः परम्परागत शैलीको उल्टो प्रवाह, घटनाको अघिल्लो अनुक्रम वा सामान्य तर्कको व्युत्क्रम अपेक्षा गरिन्छ । तर यहाँ विलोमको प्रयोग शुद्धतः शारीरिक क्रियाको ‘नाटकीय उल्टोपन’मा सीमित देखिन्छ, जसले कथालाई पारम्परिक विलोमभन्दा बढी आभासी व्यङ्ग्यात्मक टोन दिन्छ ।
२. शैलीगत रचनाशिलता
लेखकले संवादात्मक शैली अपनाएका छन्, जुन लघुकथामा ‘लघुता’ र ‘नाटकीयता’ ल्याउने राम्रो उपाय हो । संक्षिप्त वाक्य, ‘मैले भनेँ- उनले गरिन्’ को दोहोरिएको संरचना कथामा हास्यको लय सिर्जना गर्छ । यसले पाठकलाई एउटा ‘नाट्य-चक्र’मा लैजान्छ, जसले कथा पढ्नु भन्दा कथा हेर्नु जस्तै अनुभूति दिन्छ ।
तर, यही शैली पुनरावृत्त भएको कारण शब्दको स्वादभन्दा व्यवहारको यान्त्रिकता बढी महसुस हुन्छ ।
३. विषयवस्तु र व्यङ्ग्यको सन्दर्भ
कथाले साहित्यिक स्वाद पाउन बाह्य वातावरण र स्थितिलाई मात्र जिम्मेवार ठान्ने प्रवृत्तिलाई व्यङ्ग्य गरेको देखिन्छ । कहिलेकाहीं पाठकलाई कथा मन नपर्नु वा ‘स्वाद नपाउनु’ आफ्नै मनोवृत्ति वा पाठकीय शैलीको अभाव हुन सक्छ भन्ने सोचलाई यस कथाले व्यङ्ग्यात्मक रूपमा उद्घाटन गरेको छ ।
‘स्वाद’ पाउन पात्रलाई सयनकक्ष लैजानु, बिजुली निभाउनु, पर्दा लगाउनु, सिरानी प्रयोग गर्न लगाउनु यी सबै क्रियाहरूले ‘अध्यात्मिक एकाग्रता’ होइन, शारीरिक सङ्केत उत्पन्न गर्छन् । यसले कथालाई सौम्य कामुक व्यङ्ग्यको धारमा पुर्याउँछ । ‘ब्रह्मलीन भएर पढिन्’ भन्ने वाक्य यसैको प्रतीक हो ।
४. लघुकथाको प्रभावकारिता
कथाले पाठकमा पहिलो पंक्तिबाटै जिज्ञासा सिर्जना गर्छ । त्यस जिज्ञासालाई मनोरञ्जन र व्यङ्ग्यको झोलामा राखेर ‘आहा !’ भन्ने वाक्यमा विसर्जन गर्छ । यहाँ ‘आहा !’ शब्द आफैं बिजवाक्य बनेको छ, जसले दर्शक/पाठककै अनुभूति दोहोर्याएको जस्तो लाग्छ ।
यद्यपि, केही पाठकले यसमा यथार्थभन्दा कामुक व्यङ्ग्य बढी देख्न सक्छन् । यसको भाषा सङ्केतात्मक भए पनि विलासिता र सौम्यता बीचको सन्तुलन कहिलेकाहीँ चिप्लिन्छ। त्यसैले सबै पाठकले यसलाई सहज रूपमा ग्रहण गर्न सक्दैनन् ।
५. समालोचनात्मक निचोड
‘स्वाद’ विलोम लघुकथा आफ्नो शीर्षकको अर्थ उल्टाउँदै स्वाद पाउन गरिएको हास्यास्पद प्रयत्नलाई व्यङ्ग्य बनाउँदै अगाडि बढ्छ । कथा मूलतः साहित्यिक स्वाद र भौतिक स्वादबीचको द्वन्द्वलाई पृष्ठभूमिमा राखेर पाठकीय मनोविज्ञानमा टिप्पणी गर्छ ।
यो कथा समालोचना, साहित्यिक सर्कल र गम्भीरताका खोलामा लुकेका बनावटीपनहरूलाई लक्षित व्यङ्ग्य हो भनेर बुझ्न सकिन्छ । तर, त्यसका लागि पाठकमा पनि कथा बुझ्ने स्वाद हुनुपर्छ । होइन भने, उनी पनि सोफामा बसेर भनिदिन्छन्; “अहँ, स्वाद भेटिएन ।”
दीपक लोहनीद्वारा रचित विलोम लघुकथा ‘स्वाद’ ले अत्यन्तै रोचक, गहिरो र बहुआयामिक सन्देश दिन्छ। कथाले हाँस्य, व्यङ्ग्य र विम्बमार्फत एकैसाथ व्यक्तिगत र सामाजिक स्तरमा थुप्रै विषयमा टिप्पणी गरेको छ। यस लघुकथाले दिने मुख्य सन्देशलाई तार्किक, सान्दर्भिक र स्वभाविक रूप मा यसरी बुझ्न सकिन्छ:
६. सन्देश
६.१. स्वाद अनुभूतिको कुरा हो, सजावटको होइन
यो कथा यिनै वाक्यबाट सुरु हुन्छ- “म विलोम लघुकथामा स्वाद भेट्दिन”। कथाले सुरुमा नै स्वाद ‘भेटिने’ हो कि ‘भोगिने’ भन्ने प्रश्न उठाउँछ । पात्रले स्वाद पाउन अनेक भौतिक प्रक्रिया (जस्तै: सयनकक्ष जानु, पर्दा लगाउनु, बिजुली निभाउनु, पलङमा पल्टनु आदि) अपनाउँछिन्, तर स्वाद तबमात्र आउँछ जब उनी साँच्चिकै ‘ब्रम्हलीन भएर’ कथा पढ्छिन् । सन्देश यही हो – साहित्यमा स्वाद प्राप्त गर्नका लागि शारीरिक अवस्था वा वातावरणको होइन, मानसिक एकाग्रता र आत्मीयताको खाँचो हुन्छ ।
६.२. स्वाद पाठकको मानसिकता र तयारीमा निर्भर गर्छ
साहित्यिक स्वाद लेखकले होइन, पाठकले महसुस गर्ने कुरा हो । लेखकले केवल माध्यम तयार गर्छ । यदि पाठकको मन एकाग्र छैन, उनी पूर्वाग्रही छन्, या सतही छन् भने जति राम्रो कथा लेखे पनि स्वाद आउँदैन । तसर्थ पढ्ने दृष्टिकोण नै स्वाद पाउने चाबी हो।
६.३. साहित्य पढ्न अभिनय होइन, अनुभव चाहिन्छ
यो कथा व्यङ्ग्यात्मक रूपमा आधुनिक पाठकीय प्रवृत्तिको नक्कलप्रति टिप्पणी हो । दृश्य यस्तो बनाइएको छ, पात्र पढ्नुअघि अभिनय गर्छिन्, साजसज्जा मिलाउँछिन्, तर यथार्थमा पढ्दैछिन् कि “पढेको अभिनय” गरिरहेकी छन्, स्पष्ट छैन । कथाले भन्छ- पढ्नु भनेको देखाउने कुरा होइन, भित्र गहिरिएर बुझ्ने कुरा हो ।
६.४. स्वाद, साहित्य र सम्बन्धबीचको लुकेको सन्देश
यस कथामा साहित्यको स्वाद मात्र होइन, पात्रबीचको अन्तरसम्बन्ध र आकर्षणको स्वाद पनि चल्दैछ । लेखक स्रष्टाको विम्बमा छन्, र पाठक पात्रले उनलाई ‘आँखाको इशाराले’ डाक्छिन् । यो एउटा साहित्यिक र शारीरिक समीपताको विम्ब हो । त्यसैले, साहित्यिक सम्पर्क केवल पाठ र लेखकबीचको सम्बन्ध नभएर अनुभव र आत्मीयताको गहिरो संवाद पनि हो ।
६.५. ‘विलोम’को प्रयोग स्वयं एक गहिरो व्यङ्ग्य हो
‘विलोम लघुकथा’ भनेर लेखिएको यो कथा वास्तवमा विलोम प्रवृत्तिको व्यङ्ग्य हो । जहाँ पाठक उल्टो दिशा लाग्छन् अर्थात् सरल विषयलाई जटिल बनाउँछन्, भावनालाई शरीरमा बदल्छन्, र स्वादलाई दृश्य सजावटमा खोज्छन् । लेखकको भनाइ, “शैली उल्टो छ, सुल्टो सम्झी पढ” भन्ने वाक्य आफैँमा कथाको आधारभूत सन्देश हो । जुन कथा उल्टो देखिन्छ, त्यो सुल्टो बुझ्ने प्रयत्न गर्न सक्ने मनोवृत्तिले नै स्वाद जन्माउँछ।
यो कथा भन्छ; “स्वाद देखिने कुरा होइन, बुझिने अनुभूति हो । बुझ्न मन चाहिन्छ, देखाउन पर्दा होइन ।”
७. निष्कर्ष
दीपक लोहनीको ‘स्वाद’ एउटा छोटो, हँसिलो र गहिरो लघुकथा हो जसले हाम्रो पढ्ने शैली, पाठकीय व्यवहार, र स्वादप्रतिको सोचलाई चुनौती दिन्छ । कथा गम्भीर पाठकीयता र ‘स्वाद’ को अपेक्षा गर्नेहरूको मनोदशामाथि लेखिएको सटिक व्यङ्ग्य हो । लेखन सरल छ, तर सन्देश गहिरो र चोटिलो छ । कथाले सोध्छ- ‘स्वाद पढेर आउँछ कि अनुभव गरेर ?’ र अन्त्यमा स्वयं उत्तर दिन्छ- ‘आहा !’ ००० (विलोम लघुकथा) 🔴 विलोम लघुकथा- स्वाद ✍️ दीपक लोहनी
‘म विलोम लघुकथामा स्वाद भेट्दिन ।’ उनले भनिन् । मैले भनेँ, ‘शैली उल्टो छ । सुल्टो सम्झी पढ, सजिलै स्वाद पाइन्छ ।’
००० कुरिलो घर काठमाडौं । ~~~~~~~ (उत्तरकथा) 🔴 विलोम लघुकथा- स्वादको भित्री ढोका ✍️ नन्दलाल आचार्य
‘स्वाद छैन’ भन्ने मेरो हठ, विलोम लघुकथाको शैलीप्रति हो कि आफ्नै पढ्ने तरिकाप्रति ?
त्यो रात, म पढ्दै थिएँ- बत्तीको उज्यालोमा, आँखा टोलाउँदै, मन बिना ध्यान… उनले भने, ‘शैली उल्टो छ, सुल्टो सम्झी पढ, सजिलै स्वाद पाइन्छ ।’
शब्दहरूको अर्थ मात्र हैन, ढाँचाको पनि स्वाद हुँदोरहेछ भन्ने ज्ञान मलाई पहिलोपटक त्यही साँझ भयो ।
सोफा त्यागेँ, शरिरलाई लचिलो बनाएँ, सोचलाई खुला- सयनकक्षमा पस्न खोज्दा, मैले साँच्चै कथा भित्र पस्ने पहिलो प्रयास गरेँ ।
पर्दा तान्दा, साँच्चिकै संसारको भीड रोकिएझैँ लाग्यो । बत्ती निभाउँदा, कथा उज्यालिन थाल्यो- बाहिरी प्रकाश मरेर, भित्री चित्रहरू उफ्रिए । पलङमा पल्टिँदा, म स्वयं कथाको पात्र भएँ, र सिरानी कम्मरमुनी राखेँ, किनकि सोच तलबाट माथि आउन थाल्यो- मस्तिष्क होइन, मेरुदण्डबाट !
‘स्रष्टालाई डाक’ भन्नु, माने- कथामा लेखकसँग संवाद गर । ‘उनी’ले त आँखाको इशाराले बोलाइन्, तर मैले त स्रष्टाको शब्दहरूलाई मनको पर्दामा देख्न थालें- त्यो रात म विलोम कथा मात्र होइन, कथा पढ्ने तरिका पढ्दै थिएँ ।
र, त्यो ‘ब्रहमलीन’ पल… शब्दहरूसँग विचार पनि पल्टिए, कथाको ‘उल्टो शैली’ अब उल्टो लागेन, त्यो त मलाई सिधा लाग्न थाल्यो । र, अन्त्यमा मलाई पनि उस्तै महसुस भयो- ‘आहा !’
अब जो-कोही भन्छन्- ‘म विलोम लघुकथामा स्वाद भेट्दिन’, म भन्छु- ‘स्वाद पाउन कथा पढ्ने हैन, कथाले तिमीलाई पढ्न थालोस् । अनि मात्र स्वादले जिब्रो होइन, आत्मा पड्किन्छ ।’ ००० २०८२/०४/२०
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘तमासा’ र ‘भेटी’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।
‘तमासा’ लघुकथासङ्ग्रह, लघुकथाकार अनुग्रह रानामगर ‘पुष्प’को र ‘भेटी’ लघुकथासङ्ग्रह, लघुकथाकार विष्णु पन्थी ‘विनु’को लघुकथासङ्ग्रह हो । यी दुवै लघुकथासङ्ग्रहहरू कृतिकारका पहिलो लघुकथा कृतिहरू हुन् ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक, साहित्यकार प्रा.डा.लक्ष्मणप्रसाद गौतमले नमस्ते आधुनिक लघुकथा मञ्चले फरक ढङ्गले परिचर्चा कार्यक्रम गरेकोप्रति मञ्चको सराहना गर्नुभयो । परिचर्चाकारले लघुकथासङ्ग्रहको परिचर्चा गर्नुपूर्व सङ्ग्रहको परिचय प्रशारण गरिएको प्रति टिप्पणी गर्दै यसो गर्दा उपस्थित दर्शकमा कौतुहलता नरहने र कार्यक्रम अलि खल्लो हुने भएकोले सकेसम्म कम छोटो परिचय राख्न आयोजकलाई सुझाउनुभयो । साथै परिचर्चाकारले दिनुभएको सुझावलाई ग्रहण गर्दै अगाडि बढ्न कृतिकारहरूलाई अनुरोध गर्नुभयो ।
पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, समालोचक एवम् भाषा आयोगका सदस्य गोपाल अश्कले कार्यक्रमको पहिलो चरणमा लघुकथाकार अनुग्रह रानामगर ‘पुष्प’को लघुकथा कृति ‘तमासा’को परिचर्चा गर्दै सङ्ग्रहमा सङ्ग्रहित लघुकथाहरू उपयुक्त आकारमा र सरल रेखिक ढाँचामा रहेको उल्लेख गर्नुभयो । वर्तमान समयमा पनि मुलुकमा तमासा हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सङ्ग्रहको शिर्षक सार्थक रहेको बताउनुभयो । सङ्ग्रहभित्रका अधिकांस लघुकथाहरूमा श्रमजीवी र मध्यमवर्गका पात्रहरू रहेको र लघुकथामा क्लिष्ट नरहेको भन्नुभयो । लघुकथासङ्ग्रहमा विविध विषयहरू उठान गरिएका छन् । कृतिकार लामो समय वैदेशिक रोजगारको क्रममा मुलुकबाहिर रहनुभएको हुँदा त्यसको प्रभाव लघुकथामा देख्न पाइन्छ । कुनै कुनै लघुकथामा बढी व्याख्या भएको, वर्णनात्मक भएको पाइएको हुँदा आगामी दिनमा सचेत रहन पनि सुझाव दिनुभयो । लघुकथाकार ‘पुष्प’को उक्त सङ्ग्रहमा ४१ वटा लघुकथाहरू रहेका छन् ।
कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार विष्णु पन्थी ‘विनु’को लघुकथा कृति ‘भेटी’ बारे परिचर्चा गर्नुहुँदै परिचर्चाकार, वरिष्ठ साहित्यकार एवम् समालोचक डा.शंकरप्रसाद गैरेले लघुकथाकार विनुको लघुकथासङ्ग्रह ‘भेटी’भित्र समाजमा देख्दै, भोग्दै आएका घटनाहरूलाई आधार बनाएर गहन ढङ्गले प्रस्तुत गरिएका ४० वटा लघुकथाहरू रहेको उल्लेख गर्नुभयो । केही सामाजिक, केही राजनीतिक त केही काल्पनिक धरातलमा रहेर लेखिएका लघुकथाहरू पठनीय रहेकोे उल्लेख गर्नुभयो । ‘भेटीभित्रका लघुकथाहरूले नारी चेतनाका कुरा उठाएको छ, राजनैतिक विकृति विसङ्गतिहरू उजागर गरेको छ ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा ‘तमासा’ लघुकथासङ्ग्रहको कृतिकारको तर्फबाट लघुकथाकार अनुग्रह रानामगर ‘पुष्प’ र ‘भेटी’ लघुकथासङ्ग्रहको तर्फबाट लघुकथाकार विष्णु पन्थी ‘विनु’ले धन्यवाद मन्तव्य दिनुभएको थियोे । साथै उहाँहरूले परिचर्चाकारज्यूहरूले दिनुभएको सुझावलाई अक्षरस: पालना गर्ने उल्लेख गर्नुभयो । आयोजक मञ्चप्रति आभार प्रकट गर्दै कृतिकारद्वयले परिचर्चा कार्यक्रमले आफ्ना कमिकमजोरी जान्न पाएको बताउँदै भविष्यमा सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
छोटो समयमै सङ्ग्रह निकाल्नुपरेको हुँदा कमिकमजोरी भएको स्वीकार गर्दै परिचर्चाकारज्यूले दिएको सुझावलाई ग्रहण गरेर अगाडि बढ्ने बताउनुभयो । सङ्ग्रह प्रकाशन लगायत परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा आयोजक संस्थाप्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार, समालोचक एवम् उक्त कृतिहरूका सम्पादक डा.विदुर चालिसेले ‘छोटो समयमै दुई दर्जन बढी कृतिहरूको सम्पादन गर्नु, प्रकाशन गर्नु कम चुनौतीपूर्ण कार्य थिएन, तर हामीले त्यसलाई सहजतापूर्वक सम्पन्न गर्यौँ । हतारमा काम गर्दा सानातिना कमिकमजोरी हुनसक्छन्, तर सकेसम्म कम त्रुटि होस् भन्नेमा हामी सजग थियौँ ।’ उहाँले भन्नुभयो ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेलले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘अखबार’ र ‘मरजाद’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा जुम प्रविधिबाट भएको उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।
‘अखबार’ लघुकथासङ्ग्रह, लघुकथाकार गङ्गा कर्माचार्य पौडेलको दोस्रो लघुकथा कृति हो । उहाँको यसभन्दा पहिले एउटा लघुकथासङ्ग्रह प्रकाशित भइसकेको छ । त्यस्तै ‘मरजाद’ लघुकथासङ्ग्रह लघुकथाकार अवधेश सिंहको पहिलो लघुकथा कृति हो ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक गोपाल अश्कले नआलमद्वारा वि.सं. २०८१ मा प्रकाशित सम्पूर्ण लघुकथासङ्ग्रहहरूमा शैली वैज्ञानिक सूत्रको प्रयोग भएको उल्लेख गर्नुभयो । उहाँले मरजाद शब्दको अर्थ मर्यादा मात्र नभएर तराईमा बिहेमा गरिने एक संस्कृति भएको र जुन आजकल बिस्तारै हराउँदै गएको बताउनुभयो । ‘आजका परिचर्चाकारले खास परिचर्चा नगरी प्रभावी परिचर्चा मात्र गर्नुभयो । कम्तिमा परिचर्चाकारले सर्जकको शैली, राम्रा पक्षको उजागरसँगै सुधार गर्नुपर्ने कुराहरू पनि राख्नुपर्ने थियोे’ प्रमुख अतिथि अश्कले भन्नुभयो ।
पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार एवम् समालोचक ध्रुव मधिकर्मीले कार्यक्रमको पहिलो चरणमा लघुकथाकार गङ्गा कर्माचार्य पौडेलको लघुकथा कृति ‘अखबार’को परिचर्चा गर्दै लघुकथासङ्ग्रह अखबारमा विविध विषयवस्तुहरू समेटिएका ३० उत्कृष्ट लघुकथाहरू रहेकोे बताउनुभयो । ‘साहित्यका विविध विधाहरूमा कलम चलाई तत् तत् विधामा आफ्नो दह्रो उपस्थिति जनाउनुभएकी लघुकथाकार पौडेलले ‘अखबार’मा पनि आफ्नो बलियो उपस्थिति जनाउनुभएको छ ।’ उहाँले भन्नुभयो । सङ्ग्रहका लघुकथाहरूमा कोरोनाकालमा भोग्नुपरेका दु:ख, पीडा एवम् तीता भोगाइदेखि वर्तमान समयको चित्रण, समाजमा विद्यमान भेदभाव एवम् सामाजिक कुरीति, विकृति आदिप्रति व्यङ्ग्य पाउन सकिन्छ । साथै ‘अखबार’मा पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको एउटा लघुकथालाई बीज विन्दु मानेर लघुकथाहरू सङ्ग्रहित रहेकोे बताउनुभयो ।
कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार अवधेश सिंहको लघुकथा कृति ‘मरजाद’ बारे परिचर्चा गर्नुहुँदै परिचर्चाकार, वरिष्ठ समालोचक एवम् कृति सम्पादक डा.विदुर चालिसेले लघुकथाकार सिंहको लघुकथासङ्ग्रह ‘मरजाद’भित्र पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको ‘नाटक’ लघुकथालाई बीज विन्दु मानेर लेखिएका ५४ वटा फरकफरक विषयका लघुकथाहरू रहेकोे उल्लेख गर्नुभयो । साथै उहाँका लघुकथाहरूमा स्थान वैशिष्ठ्यता रहेको र तराईको माटोको सुगन्ध रहेको बताउनुभयो । उहाँको लघुकथाको शीर्षकले नै पाठकको ध्यान आकृष्ट गर्ने, कौतुहलता, जिज्ञासा पैदा गर्ने खालको भएको उल्लेख गर्नुभयो । समाजमा विद्यमान रहेका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गर्ने लगायत प्रश्न उठाउने पनि काम गरेको बताउनुभयो ।
कार्यक्रममा ‘अखबार’ लघुकथासङ्ग्रहको तर्फबाट बोल्नु हुँदै कृतिकार एवम् लघुकथाकार गङ्गा कर्माचार्य पौडेलले छोटो समयमै सङ्ग्रह निकाल्नुपरेको हुँदा कमिकमजोरी भएको स्वीकार गर्दै परिचर्चाकारज्यूले दिएको सुझावलाई ग्रहण गरेर अगाडि बढ्ने बताउनुभयो । सङ्ग्रह प्रकाशन लगायत परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा आयोजक संस्थाप्रति आभार प्रकट गर्नुभयो ।
त्यस्तै कृतिकारको तर्फबाट बोल्नुहुँदै ‘मरजाद’ लघुकथासङ्ग्रहका कृतिकार अवधेश सिंहले आफू लघुकथाको सामान्य विद्यार्थी रहेको उल्लेख गर्दै नमस्ते आधुनिक लघुकथा मञ्चले निकालेका लघुकथाको सुगन्ध स्मारिका हेरेर पढेर लघुकथा लेखनमा सुधार गर्दै आएको बताउनुभयो । परिचर्चाकारले दिएका सुझावहरूलाई सहर्ष स्वीकार गर्दै उहाँले परिचर्चा कार्यक्रमको आयोजना गरिदिनुभएकोमा आयोजकप्रति आभार प्रकट गर्नुभयो ।
‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा गोपाल अश्क, ध्रुव मधिकर्मी, गङ्गा कर्माचार्य पौडेल, अवधेश सिंह, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, डा.विदुर चालिसे, वसन्त अनुभव, हिमलाल श्रेष्ठ, ललिता दोषी, डा.शेखर कुमार श्रेष्ठ, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, कर्ण दयाल, इन्दिरा चापागाईँ, म्यामराज राई, कुमार काफ्ले, निर्मला, चन्द्रा न्यौपाने, कमल पौडेल, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेलले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।
काठमाडौँ, माघ २६ गते शनिवार वसन्त अनुभव नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘बुन्छ्त’ र ‘नमस्ते’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा जुम प्रविधिबाट भएको उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।
‘बुन्छ्त’ लघुकथासङ्ग्रह लघुकथाकार म्यामराज राईको दोस्रो लघुकथा कृति हो । यसभन्दा पहिले उहाँको ‘हाम्रो बाटो’ लघुकथासङ्ग्रह प्रकाशित भइसकेको छ । त्यस्तै ‘नमस्ते’ लघुकथासङ्ग्रह, लघुकथाकार भूमिका गैरे तिमिल्सिनाको पहिलो लघुकथा कृति हो । यद्यपि उहाँको ‘निवुवा’ नामक दोस्रो लघुकथा कृति पनि बजारमा आइसकेको छ ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक डा.विदुर चालिसेले नआलमद्वारा वि.सं. २०८१ मा प्रकाशित सम्पूर्ण लघुकथासङ्ग्रहहरूमा शैली वैज्ञानिक सूत्रको प्रयोग भएको उल्लेख गर्नुभयो । साथै गुरुकुल पद्धतिमा रहेका उक्त २२ वटा कृतिले विभिन्न जाति, वर्ग, स्थान आदिको प्रतिनिधित्व गरेको बताउनुभयो । उक्त पुस्तकहरूको सम्पादकको समेत भूमिका निभाउनुभएका डा.चालिसेले प्रकाशनका क्रममा भोगेका सास्तीहरू उल्लेख गर्दै सकेसम्म त्रुटिरहित बनाउन हरप्रयास गरिएको बताउनुभयो ।
पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका समालोचक डा.शंकरप्रसाद गैरेले कार्यक्रमको पहिलो चरणमा लघुकथाकार म्यामराज राइको लघुकथा कृति ‘बुन्छत’को परिचर्चा गर्दै ‘वान्तवा’ भाषामा राखिएको शिर्षक ‘बुन्छत’ले पाठकमा कौतुहलता, जिज्ञासा पैदा गर्ने गरेको उल्लेख गर्नुभयो । साथै उहाँले ‘बुन्छ्त’मा पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको ‘खलल’ लघुकथालाई बीज विन्दु मानेर लेखिएका ५४ वटा लघुकथाहरू रहेकोे उल्लेख गर्नुभयो । ‘बुन्छत’ शिर्ष लघुकथा मिथकिय पृष्ठभुमिमा भए पनि सम्पूर्ण लघुकथाहरू सामाजिक, समसामयिक पृष्ठभुमिमा लेखिएका छन् । साथै नेपाली र जापानी परिवेशलाई पृष्ठभुमि बनाएर लघुकथाहरू लेखिएका बताउनु हुँदै राईका लघुकथामा विकृति, विसङ्गतिप्रति व्यङ्ग्य, मानवले पालना गर्नुपर्ने अनुशासन लगायत प्रेम, मानवीय समवेदना रहेको उल्लेख गर्नुभयो । साथै उहाँले समाजमा देखिरहेका, भोगिरहेका घटना, विषयवस्तुलाई कलात्मक शिल्प शैलीमा प्रस्तुति गर्ने क्षमता लघुकथाकार राईमा रहेको बताउनुभयो ।
कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार भूमिका गैरे तिमिल्सिनाको लघुकथा कृति ‘नमस्ते’ बारे परिचर्चाकार एवम् समालोचक डा.शंकरप्रसाद गैरेले लघुकथाकार तिमिल्सिनाको लघुकथासङ्ग्रह ‘नमस्ते’ पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको ‘सराप’ लघुकथालाई बीज विन्दु मानेर लेखिएको र जसमा ३७ वटा फरकफरक विषयका लघुकथाहरू रहेकोे उल्लेख गर्नुभयो । साथै उहाँले तिमिल्सिनाको लघुकथाहरूमा समाजमा रहेका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य, असल शिक्षकमा हुनुपर्ने गुणहरू लगायत शैक्षिक क्षेत्रमा रहेका विसङ्गतिहरूमाथि प्रहार देख्न पाइने बताउनुभयो ।
कार्यक्रममा कृतिकारको तर्फबाट बोल्नु हुँदै लघुकथाकारद्वय म्यामराज राई र भूमिका गैरे तिमिल्सिनाले परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा संस्थाप्रति हार्दिक आभार प्रकट गर्दै परिचर्चाकारले दिनुभएको सुझावलाई स्वीकार गर्ने बताउनु हुँदै परिचर्चाकारप्रति धन्यवाद प्रकट गर्नुभयो ।
‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा वसन्त अनुभव, कमल पौडेल, डा.विदुर चालिसे, यमुना प्रधानाङ्ग, कृष्णजी शर्मा, डा.शंकरप्रसाद गैरे, अवधेश सिंह, मीठू कुमारी पाठक, मुक्ति गौतम, म्यामराज राई, भूमिका गैरे तिमिल्सिना, छायादत्त न्यौपाने, कुमार काफ्ले, ध्रुव राज थापा, ध्रुव नेपाल, राजन घले लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेलले गर्नुभएको थियोे ।
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (६५औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार खगेन्द्र बस्यालको लघुकथा ‘स्वर्गको बाटो’, लघुकथाकार मित्र ‘उराठी’ गौतमको लघुकथा ‘निर्देशन’ र लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘अपाहिज’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।
——————-<•>——————
लघुकथा: स्वर्गको बाटो
✍️ खगेन्द्र बस्याल -“तपाईँको घरमा आएर दिक्क पारिरहने नन्दकृष्ण आज आएको देखिनँ, कता गएछन् ?” दैलातुङ्ग फाँटबाट आएका थिरलालले आफ्ना साथी दयारामलाई सोधे ।
दयारामले जिज्ञासा राखे, -“के गरेर हामीलाई सताएको देख्नुभएको थियो र ?” थिरलालले जानकारी दिए, -“रक्सीले झल्लिँदै आउने, बोल्न नमिल्ने शव्दहरू प्रयोग गर्ने, फेरि धोक्नका लागि पैसा मागेर मरिहत्ते गर्ने गरेको कहाँ बिर्सेको छु र !”
-“उनी त स्वर्गको बाटो लागे नि !” दयाराम बताए । थिरलाल भावुक हुँदै बोले, -“उनको आत्माले शान्ति पावस् । उनी गएपछि परिवारले पनि शान्तिको स्वास फेरे होलान् ।” दयारामको भनाइ रह्यो, -“उनी स्वर्गको बाटो लिएपछि परिवारको मात्र होइन सारा गाउँको मनमा बेग्लै शान्ति र कान्ति उदाएको छ।” थिरलालले सोधे, -“कहिले गए उनी स्वर्गतिर ? परिवारले आफ्नो हैसियत अनुसार दानपुण्य त गरे ?”
-“उनी स्वर्गमा पुगिसकेका छैनन् । परिवारले कुनै दानपुण्य पनि गर्नु परेन ।” दयारामले झस्काए । थिरलालले भने, -“पढेलेखेका छोराछोरी भएर पनि सडेका रहेछन् । पितृको आशिर्वादले नै सबैको मनोकामना पूर्ण हुन्छ भन्ने कुरा उनीहरूलाई थाहा रहेनछ।”
दयारामले स्पष्ट पारे, -“कुलतलाई तिलाञ्जली दिँदै आफैँबाट नमूनायोग्य काम गरी सबैको आँखाको नानी बन्न लाग्नु नै यथार्थमा स्वर्गको बाटो हो । सबैले राम्रो काम गरे स्वर्ग यहीँ छैन त !”
* तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।०८१ कात्तिक २९ **************
लघुकथाः निर्देशन
✍️ मित्र ‘उराठी’ गौतम कुनै आश्चर्यको कुरा भएन । हाम्रो देशमा वर्ष, डेढवर्षमा भइरहन्छ। सरकार फेरियो । प्रधानमन्त्री, मन्त्री नयाँ बने । नयाँ पनि के भन्नु ? ‘रक्सी पुरानै, बोतल नयाँ’ भने जस्तै । सपथ ग्रहण भयो । पदवहाली गरेकै भोलिपल्ट प्रधानमन्त्रीले सचिवहरूको बैठक बोलाए । -“अब पुरानो ढर्राले हुन्न । केही नयाँ गर्नुपर्छ । यो भएन, त्यो भएन, म जान्दिनँ । हो, ऐन नियमावली नयाँ बन्नसकेका छैनन्, पुरानै छन्, त्यो जगजाहेर छ । त्यो संसदको काम हो, बन्दै गर्छन् । तर तपाईँहरूको कुनै बहानाबाजी मलाई सुन्नु नपरोस् । मलाई परिणाम चाहिन्छ।” कडा निर्देशनका साथ उनी कड्किए ।
अर्कोदिन सचिवहरूले मातहतका विभागिय प्रमुखहरू, निर्देशकहरूको बैठक बोलाए । प्रधानमन्त्रीको निर्देशन सुनाउँदै अझ कडारूपमा प्रस्तुत भए । विभागिय प्रमुखहरू, निर्देशकहरूले पनि त्यसैगरि आफू मातहतकालाई झन् झन् कडा निर्देशन दिए । परिणाम दिन नसके कार्यसम्पादन मूल्याङ्कन बिगारिदिने, बढुवा रोकिदिने समेत चेतावनी दिए ।
बैठक सकेर बाहिरिने क्रममा भूपध्वजले जीवनारायणसँग साउति मार्दै भने, -“अहिलेसम्म त निर्देशन नपाएर पो ! विकासले गति लिन नसकेको । अब त छलाङ्ग मार्ने भो नि साथी !” अमरपुर–गुल्मी,हालःतिलोत्तमा न पा -२,रुपन्देही **************
लघुकथा: अपाहिज
✍️ सुरेशकुमार पाण्डे -“थोरै पैदल हिँड्ने बानी पनि बसाल्नुपर्छ । जहाँ पैदलको बाटो हो, त्यहाँ पैदल हिँड्नुपर्छ । अलि टाढा भएपछि मात्र बाइक, रिक्सा वा अटोको प्रयोग गर्नुपर्छ ।” रवीले आफ्नो छोरा सग्रामलाई सम्झाउँदै थिए । छोरा सग्राम कत्ति पनि पैदल हिँड्न मान्दैनथ्यो । परिणाम उसको शरीर अस्वाभाविक रूपमा मोटाउँदै गएको थियो । रवी, उसको स्वास्थ्यलाई लिएर अत्यन्तै चिन्तित् थिए । -“बाबा म पैदल हिँड्नै सक्दैनँ, म के गरूँ ?” सग्रामले असमर्थता जतायो । -“ट्याङ् .. ट्याङ् “ डोरबेलको आवाजले बाबुछोरा नै झस्किए । -“छोरा, सग्राम ! बाहिर हेर त ! सायद सामान आयो कि ?” रवीले सग्रामलाई हेर्न लगाए ।
नभन्दै दैलो खोल्दा बाहिर रिक्सावाला समान लिएर खडा थियो। -“बाबु ! यो तोरी मगाउनुभा’को साहुजीले । सात बोरा छ, कहाँ राखौँ ?” रिक्सावालाले सोध्यो । -“बोरी, यहाँ होइन माथिल्लो तलामा रख्नुहोस् !” सग्रामले उसलाई दोस्रो तलामा राख्न लगायो । उमेरले बाउ बराबरको रिक्सावाला चुपचाप बिस्तारै सातवटै बोरी माथिल्लो तलामा पुरायो । -“हजुरको खुट्टामा केही भएको छ ?” सग्रामले उसलाई खोच्याएको देखेर सोध्यो । उसले सटिकमा उत्तर दियो, -“हजुर !” -“के भएको हो ?” -“एक्सिडेन्ट भएको थियो, केही वर्ष पहिले ।” उसले आफ्नो दायाँ खुट्टा झिकेर देखाउँदै भन्यो । त्यो देखेर सग्राम झसङ्ग भयो र मनमनै भन्यो, -“उफ् ! वास्तवमा अपाहिज त म पो ! रहेछु ।”
दाङ घोराही १८ १३-११-२०२४(२८-०७-२०८१) ——————-<•>——————-
चितवन जिल्लाको राप्ती नगरपालिकामा अवस्थित जुमेरा होटेल एण्ड लजको सभाहलमा शनिवार लघुकथा साहित्यिक महोत्सव, २०८१ सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा २६ लघुकथा कृतिहरूको लोकार्पण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.चुडामणि बन्धुले पानसमा बत्ती बालेर उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे । उक्त अवसरमा पुरेतले स्वस्ती मन्त्र वाचन र नौमती बाजा समूहका कलाकारले मङ्गल धुन बजाएका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढिमाई बाहिनी, मुख्यालय मकवानपुरका ब्याण्डबाजा समूहले राष्ट्रगानको धुन बजाएको थियोे भने विद्यालयका शिक्षक तथा बहिरा विद्यार्थीहरूको समूहले सांकेतिक भाषामा राष्ट्रगान गाएको थियो ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार प्रा.डा.चुडामणि बन्धुले स्टेज अगाडि लहरै राखिएका २६ वटा कृतिमा पुष्प अर्पण गर्दै कृतिको लोकार्पण गर्नुभएको थियोे । लोकार्पित भएका लघुकथा कृतिहरूमा- १. घनश्याम डल्लाकोटी कृष्णजी शर्माकृत ‘महाकम्प’ २. यमुना प्रधानाङ्ग मुनाकृत ‘उपहार’ ३. वसन्त अनुभवकृत ‘नेपाली नस्ल’ ४. मीठूकुमारी पाठककृत ‘सुन्दरी’ ५. श्रीकृष्ण पौडेलकृत ‘लोपाञ्जन’ ६. कर्ण दयालकृत ‘दोपानी’ ७. होमप्रसाद नेउपानेकृत ‘प्रयोगशाला’ ८. सुरेशकुमार पाण्डेकृत ‘जेईको सम्झना’ ९. अवधेश सिंहकृत ‘मरजाद’ १०. म्यामराज राईकृत ‘बुन्छत’ ११. कुमार काफ्लेकृत ‘सपना कतिपय’ १२. ज्यो.नानी बिवुकृत ‘इज्जत’ १३. विष्णु पन्थीकृत ‘भेटी’ १४. मुक्ति गौतमकृत ‘चाक चारब्रा’ १५. विष्णु भण्डारी आचार्यकृत ‘बकसपत्र’ १६. अनुग्रह राना मगर पुष्पकृत ‘तमासा’ १७. राजन ग्याल्दाङ घलेकृत ‘मारुनी’ १८. रञ्जुश्री पराजुलीकृत ‘विभीषिका’ १९. विजय चालिसेकृत ‘हात्तीको दाँत’ २०. गङ्गा कर्माचार्य पौडेलकृत ‘अखबार’ २१. लक्ष्मी रेग्मी खनालकृत ‘अन्त्य’ २२. गुप्तबहादुर श्रेष्ठकृत ‘थेरापी’ २३. भूमिका गैरे तिमिल्सिनाकृत ‘नमस्ते’ २४. डा.विदुर चालिसेकृत ‘शताब्दम् महाशक्ति’ २५. गोपाल अश्ककृत ‘लघुकथा प्रक्रिया र पाठ’ २६. लघुकथाको सुगन्ध अङ्क ६ रहेका छन् ।
कार्यक्रममा आफ्नो जीवनको लामो समयसम्म साहित्य क्षेत्रमा योगदान दिनुहुने वरिष्ठ साहित्यकारहरूलाई माला, खादा र दोसल्ला ओढाई अभिनन्दन गरिएको थियोे । अभिनन्दित हुनेमा वरिष्ठ साहित्यकार, कथा- कुथुङ्ग्री नायक पुष्कर लोहनी र वरिष्ठ साहित्यकार, समालोचक ध्रुव मधिकर्मी हुनुहुन्छ । ‘कथा- कुथुङ्ग्री सिर्जना विशिष्ट नायक’का रूपमा लोहनीलाई र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा मधिकर्मीलाई अभिनन्दन गरिएको थियोे । त्यस्तै कार्यक्रम वरिष्ठ साहित्यकार डा.विदुर चालिसेलाई ‘आदर्श लघुकथा साधक सम्मान’ वरिष्ठ साहित्यकार विजय चालिसेलाई ‘अग्रज लघुकथाकार सम्मान’ र वरिष्ठ साहित्यकार रञ्जुश्री पराजुलीलाई ‘वरिष्ठ लघुकथा नारी हस्ताक्षर सम्मान’ द्वारा सम्मानित गरिएको थियोे । साथै कार्यक्रममा वरिष्ठ लोक गायक/डेउडा गायक नन्दकृष्ण जोशी र वरिष्ठ आधुनिक गायक आनन्द कार्कीलाई पनि सम्मान गरिएको थियोे । ‘डेउडा लोकगायक विशिष्ट सम्मान’ जोशीलाई र लघुकथा बन्दना गायक विशिष्ट सम्मान’ कार्कीलाई प्रदान गरिएको थियोे । साथै उक्त अवसरमा यस वर्षको पूर्व घोषित ‘हेमलता स्मृति लघुकथा सम्मान- २०८१’ महिलातर्फ लघुकथाकार प्रभादेवी पौडेललाई र पुरुषतर्फ राजन ग्याल्दाङ ‘बुद्धिसिङ’ घलेलाई प्रदान गरिएको थियोे । त्यस्तै पहिलोपटक ‘नमस्ते झिल्का पुरस्कार-२०८१’ वृहत् लघुकथा कृति ‘शताब्दम् महाशक्ति’का लागि डा.विदुर चालिसेलाई प्रदान गरिएको थियोे, जसको पुरस्कार राशि रु. २२,२२२/- रहेकोे छ ।
त्यस्तै ‘लघुकथालय पुरस्कार- २०८१’ वरिष्ठ साहित्यकार/लघुकथाकार ललिता दोषीलाई उहाँ उत्कृष्ट लघुकथाकृति ‘पहिरो’का लागि प्रदान गरिएको थियोे, जसको राशि ११,१११/- रहेको छ । साथै यसवर्षको ‘वर्ष लघुकथाकार सम्मान- २०८१’ र ‘वर्ष पाठक सम्मान- २०८१’ द्वारा साहित्यकार, लघुकथाकार/पाठक सुरेशकुमार पाण्डेलाई सम्मान गरिएको थियोे । जसको पुरस्कार राशि क्रमशः ७०००/- र ५०००/- रहेको छ । उक्त अवसरमा मञ्च द्वारा प्रकाशित एवम् लोकार्पित २२ वटा कृतिहरूका कृतिकारहरूलाई ‘नमस्ते गुरुकुल लघुकथा सुशोभन सम्मान- २०८१’ द्वारा सुशोभन गरिएको थियोे ।
त्यस्तै कार्यक्रममा ‘वर्ष उत्कृष्ट सामाजिक रेडियो’ सम्मान द्वारा रेडियो सारथि १०७.४ मेगाहर्ज, बडिगाड खर्बाङ, बागलुङलाई र ‘वर्ष उत्कृष्ट सामाजिक पत्रिका’ सम्मान द्वारा हिमालयन दृष्टि मिडिया प्रा.लि. नागार्जुन, काठमाडौलाई सम्मान गरिएको थियोे ।
त्यस्तै ‘वर्ष स्तम्भकार सम्मान पत्र’ द्वारा हिमालयन दृष्टि प्रा.लि.का लघुकथा स्तम्भकार वसन्त अनुभवलाई, ‘वर्ष वाचक लघुकथा सम्मान- २०८१ द्वारा उत्कृष्ट लघुकथा वाचक विवेक काफ्लेलाई र ‘वर्ष उत्कृष्ट प्राविधिक सारथि सम्मान द्वारा अनिष पाठक (रेडियो सारथि), अमित प्रधानाङ्ग(वीरगन्ज) र आयुष बडाल (धूलिखेल)लाई सम्मानित गरिएको थियोे । त्यस्तै उक्त अवसरमा संस्थाको छैटौँ वार्षिकोत्सव प्रायोजन गर्नुहुने १२ जना प्रायोजकहरूलाई पनि ‘वर्ष प्रायोजक-२०८१’ प्रशंसा पत्र प्रदान गरिएको थियोे । प्रशंसा पत्र प्राप्त गर्नेहरूमा श्री हिमालयन अर्गानिक चिया (चितवन), यमुना प्रधानाङ्ग मुना (वीरगन्ज), वसन्त अनुभव (दाङ), मीठूकुमारी पाठक (चितवन), श्रीकृष्ण पौडेल (कास्की), अमरनाथ साह (अमेरिका), अनुग्रह राना मगर पुष्प (मलेसिया), देवी परियार (चितवन), दीपक खड्का (चितवन), कलावती गिरी (चितवन), राजु उपाध्याय (चितवन) र सरिता उप्रेती (चितवन) हुनुहुन्छ ।
कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरूमा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.चूडामणि बन्धु, कथा-कुथुङ्ग्री सिर्जना विशिष्ट नायकका रूपमा अभिनन्दित वरिष्ठ साहित्यकार पुष्कर लोहनी, अविश्रान्त लघुकथा साधकका रूपमा अभिनन्दित वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी, अग्रज लघुकथाकारबाट सम्मानित वरिष्ठ साहित्यकार विजय चालिसे, आदर्श लघुकथा साधक र नमस्ते झिल्का पुरस्कार-२०८१ बाट सम्मानित एवम् पुरस्कृत वरिष्ठ साहित्यकार डा.विदुर चालिसे, डेउडा लोक गायक विशिष्ट सम्मानबाट सम्मानित वरिष्ठ लोक गायक नन्दकृष्ण जोशी, लघुकथा वन्दना गायक विशिष्ट सम्मानबाट सम्मानित वरिष्ठ गायक आनन्द कार्की, लघुकथालय पुरस्कार- २०८१ बाट पुरस्कृत वरिष्ठ साहित्यकार ललिता दोषी, विमोचित कृतिहरूका कृतिकारहरूमध्येबाट भारतबाट आउनुभएका लघुकथाकार एवम् संस्थाका आजीवन सदस्य मुक्ति गौतम, मञ्चका संरक्षकहरूमध्येबाट मञ्चका संरक्षक एवम् विशिष्ट आजीवन सदस्य अवधेश सिंह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । कार्यक्रममा वरिष्ठ साहित्यकारहरू गोपाल अश्क, नर पल्लव, डा.शंकरप्रसाद गैरे, गङ्गा कर्माचार्य पौडेल, लक्ष्मण अर्याल, डा.शेखर कुमार श्रेष्ठ, रचना शर्मा, विष्णु डल्लाकोटी एवम् बेलिमाया डल्लाकोटी (लघुकथा विकास कोषदाता), विष्णुप्रसाद काफ्ले, यमुना प्रधानाङ्ग मुना, वसन्त अनुभव, मीठूकुमारी पाठक, श्रीकृष्ण पौडेल, होमप्रसाद नेउपाने, कुमार काफ्ले, विष्णु पन्थी, विष्णु भण्डारी आचार्य, सुरेशकुमार पाण्डे, प्रभादेवी पौडेल(हेमलता स्मृति लघुकथा सम्मान-२०८१ बाट सम्मानित व्यक्तित्व), सुनिता निरौला पौडेल, खगेन्द्र बस्याल, तुलसी पण्डित, रामराजा के.सी., कमल पौडेल, विवेक काफ्ले, अनिष पाठक, आयुष बडाल, सन्तकुमार चौधरी लगायत मञ्चका पदाधिकारी, अति/विशिष्ट/आजीवन सदस्यज्यूहरू, वाचकहरू, प्रायोजकहरू, पत्रकारहरू, विभिन्न साङ्गीतिक/सांस्कृतिक टोलीका प्रमुख एवम् सदस्यहरू, विभिन्न संघ/संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियोे ।
उक्त अवसरमा अभिनन्दित एवम् सम्मानित महानुभावहरूलाई रथारोहण गराइएको थियोे । नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेडियोकर्मी एवम् कुशल उद्घोषकद्वय कमल पौडेल र विवेक काफ्ले गर्नुभएको थियोे ।
‘वन्दना साङ्गीतिक एवम् सांस्कृतिक साँझ- २०८१’
लघुकथा साहित्यिक महोत्सवको प्रथम चरणको कार्यक्रम समापन पश्चात् सोही दिन साँझ ‘वन्दना साङ्गीतिक एवम् सांस्कृतिक साँझ- २०८१’ को आयोजना गरिएको थियोे । जसमा सुपरिचित वरिष्ठ गायक आनन्द कार्की र वरिष्ठ लोक/देउडा गायक नन्दकृष्ण जोशीले आफ्ना प्रस्तुति दिनुभएको थियोे । आफ्ना पुराना चर्चित आधुनिक गीत गाएर वरिष्ठ गायक आनन्द कार्कीले स्टेज तताउँदै उपस्थित दर्शक/श्रोताहरूको मन जित्न सफल हुनुभएको थियोे । त्यस्तै अर्का वरिष्ठ लोक गायक/देउडा गायक नन्दकृष्ण जोशीले विभिन्न चर्चित देउडा गीत गाएर सबै दर्शक/श्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल हुनुभएको थियोे । उक्त साङ्गीतिक एवम् सांस्कृतिक साँझमा हरूका चर्चित गायकको गायन सँगसँगै विभिन्न सांस्कृतिक समूहले आ-आफ्नो प्रस्तुति दिएका थिए । जसमा मगरहरूको सांस्कृतिक कौडा नाच, थारूहरूको सांस्कृतिक फगुवा नाच, डम्फु नाच, झम्टा नाच, धौलागिरीको नौमति पञ्चेबाजा, पुन समाजको सोरठी नाच, मारुनी नाच लगायत विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए ।
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (६४औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार रञ्जुश्री पराजुलीको लघुकथा ‘मर्निङ्ग वाक’, लघुकथाकार खगेन्द्र बस्यालको लघुकथा ‘गहना’ र लघुकथाकार ध्रुवराज थापा ‘पुरूष’को लघुकथा ‘उच्च सम्मान’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।
——————-<•>——————
[१] लघुकथा: मर्निङ्ग वाक
✍️ रञ्जुश्री पराजुली दिनमा कम्तीमा पनि पाँच हजार पाइला हिँड्नुपर्छ । हिँडाइ पनि एकप्रकारको उपचार नै हो भन्ने भनाई आजभोलि यत्रतत्र सुनिन्छ । हिँडाइले अनेकौँ रोग निको पार्छ भनेको सुनिन्छ । त्यसैले अझ कोही त सातदेखि दस हजार पाइलासम्म हिँड्नुपर्छ भनेर नाडीमा बाँधेको वाकिङ्ग सेस्टेप देखाउने घडी हेर्दै हिँड्छन् । एकदिन लौ त भनेर म पनि बिहान छ बजेतिर हिँड्न निस्किएँ । पिच सडकमा बिहानको स्कुलको बसहरू हुइकिरहेका देखिन्थे ।
पेटीमा वृद्ध, युवा आदि हिँड्नेको लर्को नै थियो । ठूलाठालुहरू सडकको पेटीमा आफ्ना पाल्तु कुकुरलाई हगाउन ल्याउने पनि निकै देखिन्थे । उनीहरू मध्ये एउटाले अर्को कुकुर मालिकसँग उसको कुकुर सुम्सुम्याउँदै ‘राम्रो रहेछ । कुन ब्रीडको हो ? कति पर्यो ?’ भनेर सोध्यो । “यो ल्याब्रे सेपर्ड हो । पचास हजार पर्यो ।” तपाईँको के ब्रीडको सानो लामो कान भएको कालो सेतो रङ्गको राम्रो रहेछ ।” “यो बर्नी डुडल मिनी हो । यस्को साठी हजार पर्यो । मेरी छोरीले यही चाहियो भन्न थाली ।” यसरी ती दुई सम्भ्रान्त नवधनाड्यहरूले आफ्ना मूल्यवान पाल्तु कुकुरहरूको प्रशंसा गर्दै कुकुरलाई सडकमा हगाएर ‘बाई बाई’ भन्दै आ-आफ्ना आलिसान बङ्गलोतिर लागे । अरूको कुरा सुन्नु त राम्रो होइन तर उनीहरूभन्दा पछि परेकोले नसुनुभन्दा पनि मैले उनीहरूको सबै सम्वाद प्रत्यक्ष सुनेँ ।
हिँडदा हिँडदै एउटाले सडकको बिचमा थुप्रिएको एक रास ठूलै कुकुरको आची टेक्यो । छि: छि: र दुर्दुर गर्दै “छोराले आमेरिकाबाट भर्खर पठाइदिएको लेटेस्ट ब्रान्डेडे मेरो नयाँ महङ्गो दुई सय डलर पर्ने स्पोर्ट्स सु …” भन्ने चीत्कार उस्को मुखबाट निस्कियो । ——————-<•>——————
२) लघुकथा: गहना
✍️ खगेन्द्र बस्याल -“गहनाले झकिझकाउ हुँदा कति राम्री तिमी त !” शारदाले विमलालाई भनिन् । विमलाको भनाइ रह्यो, -“मेराभन्दा राम्रा गहना तिमीसँग छन् ।”
शारदाले प्रतिक्रिया जनाइन्, -“के भनेकी, तिमीसँग जति गहना छन्, त्यसको एक चौथाइ पनि छैन मसँग ।” विमलाले हाँस्दै भनिन्, -“सासूआमाले मेरी बुहारीसँग एक नम्बरी सुन, चाँदीको अतिरिक्त हिरामोतीका गहना समेत प्रयाप्त छन् भनेर फाइँफुट्टी लगाउनु भएको थियो र !”
शारदाको कथन रह्यो, -“मैले भनेको होइन, देखेको मात्रै कुरा पत्याउँछु । कहिलेकाहीँ कसैको केहीबेरलाई लगाएको गहना देखेर झुक्किनु भयो कि ?” शारदाले हँसाइन्, -“आफ्नो वा अरूको लगाएको हो, अनुहारले नै बताउँछ नि !” विमलाले जिज्ञासा राखिन्, -“उसो भए ल भन त मेरा गहना के के देखेकी छ्यौ ?”
शारदाले स्पष्ट पारिन्, -“बोल्ने कला, कसैलाई दुःख परेको बेला सम्झाउन सक्ने क्षमता, नाच्न गाउनमा विलक्षण प्रतिभा, सामाजिक कार्यमा अग्रसरताको कारण तिमी समाजकै गहना बन्न सफल भएकी छ्यौ। वास्तवमा त्यो सक्कली गहना मसँग छ त !”
तिलोत्तमा ९ सरस्वती पथ, रुपन्देही ——————-<•>—————– ३) लघुकथा: उच्च सम्मान
✍️ ध्रुवराज थापा ‘पुरूष’ -“भाइ साहब ! हम आपके साथ एक फोटो ले सकते हैँ ?” शैक्षिक सम्मेलनमा सहभागी एक भारतीय शिक्षकले मलाई अनुरोध गरे । -“अरे भाइ, क्योँ नहीँ ! आइए न लिजिए ।” भारतको राजस्थानस्थित शान्तिवनमा आयोजित शैक्षिक सम्मेलनमा सहभागीता जनाउन पुगेको मैले सहजै स्वीकारोक्ति जनाएँ ।
उनले मसँग टाँसिएरै फोटो खिचे । उनका समूहका साथीहरूले पनि मसँग उत्साहकासाथ फोटो खिचाए । ग्रुप फोटो पनि प्रसस्तै खिचे । उनीहरू मसँग फोटो खिचाउन पाउँदा दङ्ग थिए । म पनि फुरूङ्ग परेँ ।
बिहानीको नास्ताको समयमा खाली समयको सदुपयोग गर्दै सम्मेलनमा सहभागी भारतीयहरूको अरू धेरै समूहले मेरो साथमा त्यस्तै सद्भाव प्रकट गरे । पर्याप्त फोटो खिचे । महिलाहरूले पनि त्यसै गरे । मिलाइमिलाइ फोटो खिचाए । देख्नेहरूलाई लाग्थ्यो होला ‘म ठूलै सेलिब्रेटी हुँ ।’ भिडले उत्साहपूर्वक यो दृष्य नियालिरहेको थियो । म भने गर्वले दङ्ग थिएँ । मेरो महत्त्व बढेको देखेर फोटो सेसनको समयपछि सम्मेलनमा सहभागी हुन आएका अर्का एक नेपाली साथीले मसँग जिज्ञासा राख्नुभयो, -“आज हाम्रा छिमेकी मित्रहरूले तपाईँको निकै सम्मान गरे, खै हामीसँग त त्यस्तो गरेनन् !” मैले उत्तर दिएँ, -“उनीहरूले मलाई सम्मान गरेका हैनन्, न म कुनै चर्चित मान्छे, न मैले उनीहरूलाई चिनेको नै छु ।”
-“त्यसो भए त्यत्रो सम्मान केको लागि थियो त ?” साथिले सोधे । मैले प्रतिउत्तर दिएँ, -“मेरो शिरमा उच्च सगरमाथा समान ढाका टोपी सजिएको छ नि त !”
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (६३औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार धनसिंह विश्वको लघुकथा ‘बुबाको मुख’, लघुकथाकार मोहन पोखरेलको लघुकथा ‘आवरण’ र लघुकथाकार प्रार्थना खनाल जोशीको लघुकथा ‘अपुग महसुस’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।
——————-<•>——————
[१] लघुकथा: बुबाको मुख
✍️ धनसिंह विश्व बेलुका अफिस छुट्टी भएपछि एकजना साथीको घरमा हुस्की रक्सी तान्दै तिन पत्तीको खेल खेल्न थाल्यौँ । आठदस हजार रुपैयाँ गोजीमा बोकेर बसेको के थिएँ, खेल नसकिँदै गोजी रित्तो भएपछि आधारातमा चुपचाप घर गएर सुतेँ।
मेरी आठ वर्षकी छोरी रेश्मा र तेह्र वर्षको छोरो राकेश बिहान सातै बजे ओछ्यानमा आएर कम्मल तान्दै भने, -“बुबा ! उठ्नुहोस् । ‘हेप्पी फादर्स डे’ बुवा !” म झसङ्ग भएँ । राकेशकी आमा गीताले भान्साबाटै कराउँदै भनिन्- -“रेश्मा, बुबा राती अबेला सुत्नुभा’छ, त्यहाँ हल्ला नगर ।” म निदाएको नाटक गर्दै सुतिरहेँ, अनि मनमनै सोचेँ, -‘ओहो ! आज बुबाको मुख हेर्ने दिन । कुसेऔँसी । आफ्नो त बुबा बितेको पनि बीस वर्ष भैसक्यो । अब कस्को मुख हेर्ने र ?’ के के सोचेँ । मनले मानेन अनि उठेँ ।
नानीहरू आएर फेरि मलाई प्रणाम गर्दै भने, -“हेप्पी फादर्स डे, बुवा !” दुवै आएर मेरो काखमा बसे अनि बिस्तारै छोरोले कानमा भन्यो, -“उफ् ! बुबा, मुख गनाउँदैछ ।” छोरीले पनि नाक समाउँदै भनी, -“छि: बुवा ! अझै रक्सी गनाउँदैछ । खोइ ! बिहानै रक्सीले बिग्रिएको मुख पनि के हेर्नु र !” गेजिंग प० सिक्किम। ——————-<•>——————
२) लघुकथा: आवरण
✍️ मोहन पोख्रेल जीवनप्रसादजीका एक छोरा र एक छोरी थिए । श्रीमतीलाई उमेरमै रोगले लग्यो । दु:खजिलो गर्दै छोराछोरी हुर्काए । छोरी पढनमा तेज थिई, खर्च गरेर राम्रैसँग पढाए । छोरा पनि सामान्य पढेर कमाउनतिर लागी ।
हुर्केकी छोरी गतिलै कुटुम्ब हेरेर बिहे गरिदिए । राम्रो कुटुम्ब र भाइबन्धुका अगाडि छोरासँग सल्लाह गरी ऋण धन गरी बिहेमा गतिलै खर्च गरे । अनि मधुमेह र रक्तचापका पीडित जीवनजीका बाउछोरा मेहनत गर्दै रिन उतार्दै निर्वाह गर्नतर्फ लागे । केही समयपश्चात् जीवनजी रोगले काम गर्न नसक्ने भएपछि घरव्यवहार र बाबुको उपचारको भार समेत छोरा योगेनको काँधमा पर्यो, तैपनि हरेस नखाई धान्न पछि हटेन । दिदी कहिलेकाहीँ चिहाएर जान्थिन । कुसेऔँसी आयो । दिदी आफ्नै मोटरमा फलफूल, मिठाइ, केही लुगा लिएर आइन् र बाबुको अगाडि राखिन् । जीवनजीले भने, -“नानी यी मिठाइ, म के गरुँ ? सुगर, प्रेसरको रोगी खानुहुँदैन ।” -“अँ बुबा ! हजुर पनि, बल्ल आएको बाबुको मुख हेर्ने दिन, म बुबा खुसी भएको हेरेर खुसी हुन आएकी, आज त मेरो मन राख्दिनुस् । अनि बाबुसँग बसेर सामान सहित सेल्फी लिएर फेसबुकमा पोष्ट गरिन् । क्याप्सन थियो, -“बाबाको खुसी नै मेरो खुसी । बाबाको सुस्वास्थ्य र दिर्घायुको कामना !”
सम्पन्न दिदी आएकीले उपचार र घरव्यवहारले चेपेको योगेशलाई आशा पलायो र भन्यो, -“दिदी ! यी बाबाले खान नमिल्ने मिठाइभन्दा बरु बाबाको औषधी सकिएको थियो, दुई हप्तापछि डाइलाइसिस गर्नुपर्ने थियो ।” आसलाग्दो नजरले दिदीको मुख हेर्यो । दिदीले कुरो बुझिन र जङ्गिइन्, -“अँ, बाको कमाइ खाने, अंश खाने तँ, उपचार गर्ने म ? के त्यो तेरो दायित्व हो, मलाई के दिएका छौ र ?” तब बाले आँखा टिल्पिलाउँदै भने, -“हो छोरी ! केही दिन सकिनँ, म रोगीले । बरु यी कपडा पनि लैजाऊ, कति खर्च गर्छ्यौ बाँचे भने अर्को साल फोटो खिच्न काम लाग्छ । मिठाइ पनि मेरा नातिनातीनाले खान्छन्, लैजाऊ छोरी ! फोटो खिचिहाल्यौ, म यसै खुसी छु !” ——————-<•>—————–
३) लघुकथाः अपुग महसुस
✍️ प्रार्थना खनाल जोशी आज सबै जम्मा भए एकसाथ । सबैले आफूले ल्याएका उपहार अगाडि राखेर दर्शन गरे । एकआपसमा छलफल गरी उहाँको आवश्यकता पूरा हुने र मनपर्ने मिठाइ, फलफूल उपहार सबैले ल्याए । उहाँलाई मनपर्ने मनोरञ्जनका क्रियाकलाप गरी नातिनातिनालगायत छोराबुहारीहरू र छोरीज्वाइँ प्रस्तुत भए ।
अरू दिन आफ्नै कर्ममा व्यस्त भए पनि आज सपरिवारमा एकैठाउँमा बसेर खाना खाए । सबै दिनभर साथ रहे । उहाँलाई खुसी देख्न कुनै कसर बाँकी राखेनन् । -“बुवा ! हजुरलाई हामी सबै जम्मा भएर कुसेऔँसी मनाएकोमा केही त खड्केको छैन नि ?” कान्छो छोरोले सोध्यो । बुवाको तत्काल जवाफ दिए, -”जेठा छोराका परिवार पनि भएकाभए अझ सुनमा सुगन्ध हुन्थ्यो ।” सुकेधारा, काठमाडौँ ——————-<•>——————-
नमस्ते आधुनिक लघुकथा मञ्चले ‘कथा-कुथुङ्ग्री सृजना नायक’का रूपमा साहित्यकार एवम् समालोचक पुष्कर लाेहनीलाई र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा लघुकथाकार/साहित्यकार ध्रुव मधिकर्मीलाई अभिनन्दन गर्ने भएको छ । त्यस्तै ‘आदर्श लघुकथा सर्जक सम्मान” द्वारा साहित्यकार एवम् समालोचक डा. विदुर चालिसेलाई सम्मान गर्ने भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा पहिलोपटक उक्त कुरा घोषणा गरेको हो
नमस्ते आधुनिक लघुकथा मञ्चले वि.स. २०८१ सालका लागि लामाे समयदेखि समालाेचना एवं साहित्यका विभिन्न विधा तथा उपविधामा आजीवन साधनारत रही आख्यानकाे छाेटाे आख्यात्मक संरचनाका रूपमा कथा-कुथुङ्ग्री समेतकाे सिर्जनामार्फत नेपाली साहित्यमा पुर्याउनुभएकाे याेगदानका लागि वरिष्ठ साहित्यकार एवं कथा-कुथुङ्ग्रीका रचनाकार श्री पुष्कर लाेहनीलाई “कथा-कुथुङ्ग्री सिर्जना नायक”को रूपमा अभिनन्दन गर्न लागेको हो ।
त्यस्तै नेपाली साहित्यकाे क्षेत्रमा लामाे समयदेखि लघुकथा लेखनमा विशिष्ट याेगदान गर्नुभएका वरिष्ठ लघुकथाकर श्री ध्रुव मधिकर्मीलाई “अविश्रान्त लघुकथा साधक” का रूपमा अभिनन्दन गरिने भएकाे छ ।
साथै कविता, समालाेचना, भाषाविज्ञान एवं लघुकथाकाे समेत रचना गरी विभिन्न विधा एवम् उपविधासहित उपविधागत बृहत्तर आकारकाे “शताब्दम् महाशक्ति” लघुकथा महासङ्ग्रह जस्ताे एक आदर्श कृतिकाे सृजनामार्फत नेपाली साहित्यमा पुर्याउनुभएको विशिष्ट योगदानका लागि भाषाविद् एवम् वरिष्ट साहित्यकार डा. विदुर चालिसेलाई “आदर्श लघुकथा सर्जक” सम्मान प्रदान गरिने भएको छ ।