नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकार सुनिल थापा ‘राते काइँला’ को आज बिहान हृदयाघातका कारण ६८ वर्षको उमेरमा निधन भएको छ ।
शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका उनको स्वास्थ्यमा समस्या आएपछि बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियोे । अस्पताल श्रोतका अनुसार बेहोस अवस्थामा अस्पताल पुर्याइएका उनको ईसिजी गरेपश्चात अस्पतालले मृत्यु भएको पुष्टि गरेको थियोे ।
नेपाली चलचित्र ‘चिनो’मा खलनायकको भूमिकामा खेलेदेखि उनी ‘राते काइँला’को नामले परिचित थिए । नेपाली, भोजपुरी, बलिउड फिल्महरूमा आफ्नो छुट्टै पहिचान बनाएका थापाको निधनले समस्त शुभचिन्तक एवम् सिने जगत गहिरो शोकमा डुबेको छ । दिवंगत सुनिल थापाको आत्माले छिट्टै चिरशान्ति प्राप्त गरोस् हार्दिक श्रद्धाञ्जली !
१) लिएर प्रलोभन धेर आउँछन् सचेत बनौँ ब्वाँसो गाई बनेर ! २) भन्ने होइन हाम्रो खराब भ्रष्ट नेतालाई बिदाइ गरेकै राम्रो । ३) अहिले बिक्दा मासुभातमा पर्नेछ पछि पछुताउनु सराप्दै बसेर दिनरातमा । ४) सोची, विचारी जानी भिजन हेरेर मात्र गरौँ मतको लगानी । ५) लगाइदिँदा भ्रष्टलाई माला अन्धकार देशको भविष्य जनतालाई आँसुको प्याला । ६) अहिले जोड्दैछन् हात चिन्दैनन् तिनैले पछि छातीमै हान्नेछन् लात । ७) छोडेर झोलेश्वरको भक्ति बेला आयो देखाउने जनता जनार्दनको शक्ति । ८) खराब ठाउँबाट उध्रिनुपर्छ सुधार्न खातिर नेता पहिले जनता सुध्रिनुपर्छ । ९) विवेकले मत हानेर देशको भविष्य कोरौँ सही नेतृत्व छानेर । १०) अहिले नगरे कहिले मतको सही सदुपयोग सराप्दै बस्ने जहिले ? ✍️ वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ
झिल्का कविता १) विकासको नौलो योजना खोजमूलक कार्य थालौँ कृषि उत्पादनको सपना । २) पेसाको लागि राजनीति नगरौँ सहमति कसैले संस्कारमा बन्दैछ बेथिति । ३) हरियो वन जोगाए निरोगी हुन्छौँ हामी खुसहाल दिन उदाए । ४) देश जलाउनेहरू दलाल विदेशी थिए बुझौँ पछि हुनसक्छ मलाल । ५) नेपाली वीरहरूका सन्तान बन्नुहुंँदैन विदेशीको गोटी जोगिँदैन आफ्नो स्वाभिमान । ६) अखण्ड देशका लागि भ्रष्टाचार निर्मूल पारौँ कोही नबनौँ दागी । ७) आत्मनिर्भर बनाउन योगदान हुन्छ कर्तव्य नागरिकको जोगाउन आफ्नै स्वाभिमान । ८) भन्छौ विकास बराबर गर्छौ झारफुक देशमा छाड कुरीतिको सफर । ९) विज्ञानले पुग्यो संसार आकास पाताल खगाल्यो छाड्न सकेनौँ कुसंस्कार । १०) राजनीतिमा भई इमान्दार गरौँ स्वच्छ राजनीति सकिन्छ देशबाट भ्रष्टाचार । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
झिल्का कविता १) जाेगाउन लागाैँ देश बचाएर राख्नुपर्छ स्वाभिमान लुटिनु हुँदैन भेष । २) घुस्याहा सबैलाई निर्मुल गराैँ मिलीजुली हामीले नदाेहाेरियाेेस् अब भूल । ३) सजाई देशको आँगन बढारेर फाेहाेर सबै बढुन् अग्रपथमा जन ! ४) नदेखाए हुन्थ्यो लाज बचाएर राख भित्रै मिलीजुली गराैँ काज । ५) बनेर भरिया नेपालको सेवा गर्न पाऊँ तराई पहाड हिमालको । ६) कला, संस्कृतिको सान जोगाइराखौँ नेपाली माटा गाेर्खालीको यो मान । ७) मरेर देश बचाउँछु हुँ नेपाली छोरा सदैव माटाे हँसाउँछु । ८) भिरालो आँगन नेपाल सबै अट्छन यही तराई पहाड हिमाल । ९) सद्भाव र माया सब छ यहाँ घाम र छाया । १०) भाैतारियाे मेरो मन उसको यादमा यताउता बोकेर मौन क्रन्दन । ✍️ ईश्वर साउद(भिक्षु) रामाराेशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
दाङ, माघ ३ दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १८ पुल्चोकमा एकदिने नि:शुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । पार्वता स्मृति साहित्य प्रतिष्ठान दाङले दिवङ्गत आमा पार्वता पाण्डेको तेस्रो पुण्यस्मृति दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे । कार्यक्रममा स्थानीय १ सय ३५ जना सेवाग्राहीहरूको नि:शुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै औषधी वितरण गरिएको थियोे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुली, राजमो अध्यक्ष गणेश आचार्य, टोलका अध्यक्ष भेषबहादुर रावत, मेघराज भट्टराई, वाम बुद्धिजीवी शशिधर भण्डारी, मेडिकल सञ्चालक शिवराज पाण्डे, अनिल कुमार, प्रतिष्ठानका अध्यक्ष देवी पाण्डे, संरक्षक सुरेशकुमार पाण्डे लगायतका साहित्यकार, बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
स्मृतिशेष आमा पार्वता पाण्डेको सम्झनामा स्थापित पार्वता स्मृति साहित्य प्रतिष्ठानले आमाको सम्झनामा नियमितरूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । जसमा सामुदायिक विद्यालयमा एक लाखको अक्षयकोष खडा गरेर वार्षिक रूपमा जेहेन्दार विद्यार्थीलाई सम्मान गर्नु, असी वर्ष पार गरेका वृद्धवृद्धालाई सल ओढाएर सम्मान गर्नु जस्ता कार्य मुख्य रहेका छन् ।
नमस्ते आधुनिक लघुकथा मञ्चका आजीवन सदस्य लघुकथाकार हेमराज अधिकारीको लघुकथासङ्ग्रह ‘च्यातिएको जुत्ता’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजे (भारतीय समयानुसार बेलुका ५:४५ देखि राति ८:४५ बजे) सम्म चलेको थियोे ।
‘च्यातिएको जुत्ता’ लघुकथासङ्ग्रह, तुमिन, सेले, पूर्व सिक्किम, गान्तोक,भारत निवासी लघुकथाकार हेमराज अधिकारीको पहिलो लघुकथा कृति हो । जसमा कुल ८० वटा लघुकथाहरू सङ्ग्रहित रहेका छन् । अधिकारी सिक्किमेली लघुकथा समाजको संस्थापक सदस्य एवम् प्रशासक र नमस्ते आधुनिक लघुकथा मञ्चको आजीवन सदस्य हुनुहुन्छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा.कपिल लामिछानेले आफ्नो मन्तव्यमा ‘नेपाली जाति, नेपाली साहित्य, नेपाली भाषा नेपालमा मात्र छैन । नेपालको राजनैतिक भूगोललाई उछिनेर नेपाल बाहिर पनि एउटा ठूलो नेपाली संसार छ । यो कुरा आजको परिचर्चाले पुष्टि गरेको छ’ भन्नुभयो । साथै उहाँले मञ्चको कामको प्रशंसा गर्दै नमस्ते आधुनिक लघुकथा मञ्चले पनि नेपालभित्रका नेपाली लघुकथाकार र लघुकथाको मात्र कुरा गर्दैन, नेपालबाहिरका लघुकथाकार एवम् लघुकथाहरूको कुरा गर्न, सम्मान गर्न तम्तयार छ भन्ने कुराको पनि आजको कार्यक्रमले पुष्टि गरेको उल्लेख गर्नुभयो । ‘च्यातिएको जुत्ता’ लघुकथासङ्ग्रहको बारेमा आफ्नो धारणा राख्दै उहाँले कृतिमा ‘विस्मरण’को कुरा उठाइनु, लघुकथामा हास्य रसको प्रयोग त्यति नभइरहेको अवस्थामा हास्य रसको प्रयोग गरिनु जस्ता कुराहरू उल्लेखनीय रहेकोे भन्दै कृतिकारलाई अझ दृढ भएर लाग्न प्रेरित गर्नुभयो । कृति सुन्दर, पठनीय भएको उल्लेख गर्दै उहाँले कतिपय लघुकथाहरूमा अन्त्य बिस्तार भएको, एउटै लघुकथामा धेरै कालखण्ड आएको, कथाको सार जस्तो देखिएको(जस्तै- चिन्ता र चिता), निबन्धको प्रभाव देखिएको हुँदा सर्जक सचेत रहनुपर्ने बताउनुभयो । साथै उहाँले ‘सामान्यतया यस्ता समीक्षा कार्यक्रममा कृतिका धेरै कमजोर पक्षलाई बताएर सर्जकलाई हतोत्साहित गर्ने गरिँदैन । तसर्थ समीक्षकका कुरा सुनेर सर्जक धेरै हौसिन पनि नहुने’ बताउनुभयो ।
कार्यक्रममा ‘च्यातिएको जुत्ता’को परिचर्चा दुई पक्षमा आधारित रहेर गरिएको थियोे । लघुकथा कृतिमा समाविष्ट लघुकथाहरूको ‘विषयवस्तु वा संरचनागत पक्ष’मा केन्द्रित रही सोको विश्लेषण गर्दै परिचर्चाकार डा.हरिप्रसाद भण्डारीले लघुकथाकार हेमराज अधिकारीको लघुकथाहरूमा विषयगत विविधता रहेको उल्लेख गर्नुभयो । साथै ती विविध विषयहरूभित्र पनि धेरै विविधता रहेकोे बताउनुभयो । ‘साहित्यकार गरिब भए पनि उनीहरू विचारक हुन्छन्, महान हुन्छन् जस्ता सकारात्मक भावहरू, साहित्यमा रहेका विकृति, विसङ्गति लगायतका कुराहरूको उजागर ‘च्यातिएको जुत्ता, पर्फ्युम ब्रान्ड, टिकटकको नृत्य, हुरीको डढेलो, कङ्ग्राचुलेसन सर आदि शीर्षकका लघुकथाहरूले गरेका छन् । समकालीन राजनीतिमा रहेका विकृति, विसङ्गति लगायतका कुराहरूको उजागर कफनको खरानी, चिसो चुल्हो, खुद्रा मोल आदि शीर्षकका लघुकथाहरूले गरेका छन् । नेपाली संस्कृति र सांस्कृतिक पर्वहरूमा आएको विचलन, विकृतिहरूको उजागर टोपीको गर्व, सम्बन्धको पुनर्जन्म, कुन लुतो फाल्ने जस्ता लघुकथाहरूले गरेका छन् । प्रविधिको विकास र व्यस्त आधुनिक समाजका कारण वृद्धवृद्धामा पर्नगएको असर, विकसित विकृतिको उजागर अनलाइन सन्तान, विवश मौनता, मुख्य अतिथि, पाखाबारीको मल, कठै सन्चमान जस्ता लघुकथाहरूले गरेका छन् । समाजमा रहेकोे गरिबीको पराकाष्ठाको उजागर ‘बाबाको बाध्यता, कम्बल, चमत्कारको प्रतीक्षा, रुञ्चे माइलोको दसैँ जस्ता लघुकथाहरूले, जीवन दर्शनका सुन्दर पक्षको उजागर मनबहादुरको मन, जङ्गलको बतास, पोलेका मकै जस्ता लघुकथाहरूले, नारी उत्पीडन, स्वतन्त्रता जस्ता कुराको उजागर माइली, हारपछिको जीत, पितृदण्ड जस्ता लघुकथाहरूले गरेको उल्लेख गर्नुभयो । साथै शिक्षा (पौमाङ्गे धिरी), धार्मिक(ब्राह्मणको चतुर्याइँ), अन्धविश्वास(ज्योतिष), तेस्रो लिङ्गी(आघात) लगायत विविध विषयवस्तुमा रचित लघुकथाहरूले समाज, राजनीति जस्ता क्षेत्रमा गतिलो व्यङ्ग्य प्रहार गरेका छन् । यसरी विविध विषयवस्तुलाई कथानक बनाई विकृति, विसङ्गति माथि प्रहार गर्दै अन्तमा लघुकथामा सकारात्मक सोच ल्याउनु, हरेक लघुकथामा बिज वाक्य स्थापना गर्नसक्नु कृतिकार अधिकारीको सफल पक्ष रहेकोे छ ।’ उहाँले भन्नुभयो ।
पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका अर्का वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा.विदुर चालिसेले ‘च्यातिएको जुत्ता’को शिल्प शैली र सौन्दर्यगत पक्षको परिचर्चा गर्नुभएको थियोे ।
‘हरेक सर्जकको पहिचान उसको आफ्नो विशिष्ट शैलीले हुन्छ। जुन उसले आफ्नो कृति वा सृजना मार्फत प्रस्तुत गर्ने गर्दछ’ भन्नुहुँदै परिचर्चाकार डा.चालिसेले ‘लघुकथाकार हेमराज अधिकारीको लघुकथाहरूमा नेपाली भाषा, साहित्य, संस्कृतिको सुगन्ध पाइने, स्थानीय भाषा (आञ्चलिकता), शैली, परम्परा जस्ता विषयहरू संयोजन भेटिने’ बताउनुभयो । साथै उहाँले लघुकथाहरूमा प्रयुक्त भाषामा सरलता, अनुच्छेदहरूको कुशल संयोजन, विचार, भाव, विम्बहरूको सही प्रयोग, बिज वाक्यको स्थापना, लेखन अनुशासन, इको साउण्ड (प्रतिध्वनीत)को प्रयोग, अधिकांश कथाहरू परावर्तन गर्ने शैलीको प्रयोग जस्ता कुराहरू अधिकारीका सबल पक्ष रहेको उल्लेख गर्नुभयो । उहाँका लघुकथाका पात्रहरू कर्तव्यपरायण रहेकोे उल्लेख गर्दै सिक्किमेली समाजमा रहेका प्राकसन्दर्भलाई लघुकथामा समावेश गर्नुभएको बताउनुभयो । साथै उत्कृष्ट शब्द चयन र मानवेतर पात्रको प्रयोग लोभलाग्दो रहेकोे बताउनुभयो । सुधार गर्नुपर्ने पक्ष बारे बोल्नुहुँदै परिचर्चाकार डा. चालिसेले ‘लघुकथाको शीर्षकमा अङ्ग्रेजी शब्दको प्रयोग नगरिदिएको भए सुनमा सुगन्ध हुने थियोे’ भन्नुभयो ।
कृतिकारको तर्फबाट बोल्नुहुँदै ‘च्यातिएको जुत्ता’ का कृतिकार हेमराज अधिकारीले समीक्षकहरूबाट आफ्नो कृतिमा त्यति आलोचना नआएकोमा खुसी व्यक्त गर्दै आएका आलोचना/सुझावलाई ग्रहण गर्ने र आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । साथै उहाँले सुन्दर समीक्षाका लागि समीक्षकहरूप्रति, अवसर र व्यवस्थापनका लागि नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूप्रति आभार एवम् धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा साहित्यकारहरू त्रिपुरा पोखरेल खरेल, डा.पारसमणि दंगाल, चक्रपाणि भट्टराई, महेश प्रसाईले शुभकामना मन्तव्य दिनुभएको थियोे । अन्तमा धन्यवाद मन्तव्य दिनुहुँदै कार्यक्रमका सभाध्यक्ष एवम् नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले आजको कार्यक्रम निकै कठिनाइका बावजुद सफल भएको बताउनुभयो । ‘नेपालबाहिर रहनुहुने नेपाली भाषी स्रष्टाहरू नेपाली भाषामै लेख्नुहुन्छ, नेपाली भाषामा कटिबद्ध हुनुहुन्छ, हिन्दी भाषामा लेख्नुहुन्न । बरु हामी नेपालीहरू हिन्दी लगायत विदेशी भाषामा लेख्न लालायित हुने गर्दछौँ ।’ उहाँले भन्नुभयो । परिचर्चा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, कृतिकार लगायत कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण अतिथिहरू, कार्यक्रम हेर्ने/सुन्ने दर्शक/श्रोता, सबैप्रति उहाँले हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण लघुकथाकार एवम् कुशल कार्यक्रम सञ्चालक इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे भने जुम प्रविधि ह्यान्डलिङ आयुष बडालले गर्नुभएको थियोे ।
दाङ, २५ पुस । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आयोजना गर्ने नियमित एकल रचना वाचनको ८३ औँ शृङ्खलामा साहित्यकार स्मृति योगीले रचना वाचन गरेकी छिन् ।
परिषद्ले शुक्रवार आयोजना गरेको एकल रचना वाचन कार्यक्रममा स्रष्टा योगीले कविता, गजल र मुक्तकमार्फत् आफ्ना अनुभूति र समाजप्रतिको दृष्टिकोण श्रोता माझ प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा वाचन गरिएका रचनामा मायाप्रेमका सूक्ष्म भाव, व्यक्तिगत भोगाइ, समाजको यथार्थता र समसामयिक राजनीतिक परिवेशप्रति व्यङ्ग्य तथा वर्तमान सामाजिक परिवेश समेटिएका थिए । स्रष्टा योगीले संवेदनशील भावनालाई कलात्मक शैलीमा प्रस्तुत गर्दै समाजभित्र विद्यमान विकृति, विसङ्गतिमाथि प्रश्न उठाएकी थिइन् । सरल शब्द चयन र गहिरो भाव समेटिएका उनका रचनाले उपस्थित श्रोताको ध्यान खिचेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै भाषा आयोगका पूर्व सदस्य डा. अमर गिरीले लेखक र साहित्यकार समाज, देशको माटो र स्वयम् आफूप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै यी सबै गुण स्रष्टा योगीका रचनामा भएको बताए । साहित्यमा विशेषतः एउटा सानो कविताले सिङ्गो आख्यान नै बोकिरहेको बताउँदै प्रमुख अतिथि डा. गिरीले समाजमा विद्यमान विकृति र विसङ्गतिलाई प्रत्यक्ष वा साङ्केतिक रूपमा योगीका रचनाले पनि बोकेको बताए । ‘साहित्यिक रचना सधैँ सजिलै बुझिने खालका मात्र हुँदैनन्, साङ्केतिक अभिव्यक्तिलाई बुझ्ने संवेदनशील पाठक पनि आवश्यक छ’, उनले भने । स्मृति योगीका रचनामा समाज, माटो र आत्मप्रतिको जिम्मेवारी स्पष्ट देखिएको उल्लेख गर्दै डा. गिरीले लेखनलाई निरन्तरता दिन आग्रह समेत गरे । राप्ती साहित्य परिषद् केन्द्रका पूर्वअध्यक्ष पुरुषोत्तम खनालले योगीले वाचित रचनाहरूले समाजको यथार्थतासँगै सर्जकका निजी भोगाइलाई सशक्त रूपमा समेटेकोमा खुसी व्यक्त गरे । उनले आफ्ना जीवनको भोगाइलाई साहित्यमार्फत् कलात्मक शैलीमा प्रस्तुत गर्न सके रचना अझ जीवन्त बन्ने धारणा राखेका थिए ।
राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुरेश पाण्डेले स्वागत गरेका थिए। कार्यक्रमको सहजीकरण परिषद्का सचिव घनश्याम केसीले गरेका थिए। कार्यक्रममा विभिन्न साहित्यप्रेमी, सर्जक तथा पाठकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस किसिमका साहित्यिक कार्यक्रमले स्थानीय साहित्यिक वातावरणलाई चलायमान बनाउनुका साथै नयाँ र स्थापित सर्जकलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने साझा मञ्च प्रदान गर्ने आयोजकको भनाइ थियो। स्रष्टा योगीको एकल रचना वाचनले राप्ती क्षेत्रको साहित्यिक गतिविधिमा थप ऊर्जा थपेको उपस्थित साहित्यकारको धारणा रहेको थियो ।
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २१२ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २१२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
~~~~~<•>~~~~~ सहभागी टुक्काकारहरूका सुन्दर टुक्का कविताहरू- ~~~~~<•>~~~~~ आउनुहोस् ! सबैजना मिलेर गरौँ पहल फेरि पनि त लुट्न पर्यो, खोलौँ एउटा दल । १// दल खोलेर मात्रै के गर्नु चुनाव हुनै गाह्रो छिचिमिरो जस्तै निस्किएपछि जित्नै पर्छ साह्रो । ✍️ वेदु न्यौपाने २// सबै जना मिलेर खोलौँ ठुलै खाले दल विकासका कुरा गर्न त्यागेर सारा छल। ✍️ दिलीप कुमार शर्मा कट्टेल भद्रपुर -झापा हाल -अस्ट्रेलिया ३// पुरानालाई हप्काएर खोलौँ नयाँ दल ढाँटी छली सत्तामा पुग्ने गरौँ दलबल । ✍️ गुणनिधि ४// दल खोल्न सजिलो भयो नि भ्रष्टाचारको दलदल अहिले सम्मकै के रह्यो नतिजा देखाऊ पलपल । ✍️ मोती योन्जन सुब्बा दार्जिलिङ। ५// पुरानाले मासिसके देश जथाभावी पोलेर थप क्षति किन निम्त्याउने नयाँ दल खाेलेर । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा ६// जनतालाई उल्लु सधैँ बनाउन हुने छैनौँ सफल साँच्चै जुनसुकै बनाए पनि यिनै नेताहरूले दल । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ ७// दल खोलौँ बाटो खुल्छ पैसा कमाउन काम हैन कुरा गरी सक्छौँ रमाउन । ✍️ हरिप्रसाद तिमल्सिना त्रिपुरासुन्दरी -४ धादिङ् ८// हाम्रो सानो देश नेपाल सबैजसो खोल्छन् दल मात्रै जनको दुःखलाई कसले हेर्ने भइहेको छ जात्रै । ✍️ अर्जुन प्रसाद चौलागाई हालः अमेरिका,बोस्टन ९// पुरानाले सब लुटीसके देश खोक्रो बनाए काले काले सबैजना मिली एकता पो जनाए । ✍️ पदमराज न्यौपाने रामारोशन ४ अछाम १०// हामी पनि कम छैनाैँ खाेलाैँ नयाँ दल लुटतन्त्र काफी छ गर्याैँ भने पहल । ✍️ काेपिला अधिकारी सिरानचाेक-७, गाेरखा ११// हिडौँ है सबै मिलेर खोजेर उज्यालो बाटो फेरि पनि खोज्छन् पुरानो नयाँहरूको साटो । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहुँ । हाल चनपा ६ मातातीर्थ १२// यहाँ देशप्रेमी नेता कमै छन् अधिक छन् दलाल बाहिर राष्ट्रवादी नारा दिई भित्र गर्छन् कमाल । ✍️ नवराज भट्ट कञ्चनपुर १३// चाहे खोल नयाँ दल चाहे तिम्रो झण्डा फेर तिम्रो अस्तित्व मेटाउँने छ चुनावले हेर । ✍️ पुष्पा सुवेदी नेपालगन्ज, बॅाके १४// भ्रष्टाचारीहरूको मात्र संगठन खोल्ने गरौँ अब नै पहल देशको भण्डार लुटेर तलामाथि तला थप्दै बनाऔँ महल । ✍️ दिल ठकुरी दार्जिलिङ १५// पार्टी पनि नेपालमा च्याउजस्तै उम्रे उमेदवार दिएका बच्चादेखि खुम्रे । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई नगरपालिका ४ झापा १६// कसरी गरौँ देश बनाउन पहल हेर त अवसरवादीहरूको दल । ✍️दीप गोले तामाङ रौतहट १७// बोटमा पाकेको छ फल खानलाई नगर कल ! ✍️ आर्त अकुलीन १८// देशमा नेताभन्दा दर्ता धेरै दल निर्वाचन हुनुअघि देखाए बल । ✍️ चुडामणी देबकोटा सिन्धुली मरिणखोला जखनी हाल थानेटार पुरानोनैकाप काठमाण्डौ १९// हान गोली छानी छानी आखिर मर्ने हो भोलि भ्रष्टाचारी नेताहरू कति कति भरे झोली । ✍️ बिबा तामाङ दार्जिलिङ। २०// देशलाई बनायौ कङ्गाल सभ्यतामा अझै नै बेहाल । ✍️ प्रेम थापा मन” बागलुङ २१// दलले दलदल बनाएछ देश यस्ता दल हुनुभन्दा नहुनु वेश । ✍️ ध्रुव श्रेष्ठ खोटाङ २२// हुन पनि दल नै दलमा लागेर नै जनता जति फुटे नेतालाई धनी बनाउन चारैतिरबाट जनता लुटे । ✍️ पवनकुमार बुढाथेाकी काठमाडौं २३// दल कुनै दिन भ्रष्टाचारको दलदलमा फस्छ राष्ट्रवादको नारा खोकी भिडभित्र के खोज्न पस्छ ? ✍️ कला ढकाल, झापा २४// भएको सबै सम्पत्ति कतै राखेर बन्धकी गरेर छल खोलिए दल बन्नेछ नर्तकी । ✍️ घनश्याम पौडेल, पोखरा २५// बिग्रेको छ देशको हालात अहिले हेर यसरी दल खोलौँ पार्टी बनाऔँ र लुटौँ जसरी तसरी । ✍️ सुशीला शिखा काठमाडौं कागेश्वरी २६// नेता त बनिँयो दल चलाउन गाह्रो भ्रष्टाचारी बन्नबाट बचाउन साह्रो । ✍️ निमा छिरिङ भोटिया जलढाका कालेबुङ २७// कुर्सी चढ्दामा भन्छन् भगवान् हुन् जनता चढेपछि कुर्सी भन्छन् चिन्दिनँ अब ता । ✍️ भेष सुवेदी २८// दौडी आउँछन् मूर्ख जनता खोलौ नयाँ दल आजभोलि राम्रो चल्छ राजनीतिको पसल । ✍️ बीके मुखिया वाङदे, दार्जिलिङ, भारत २९// खौलाैँ दल निम्त्याओैँ कल, गराैँ छल, बेचाैँ बाँकी जल र थल जनतालाई भल, बनाई खल, बास्ना छराैँ गनाए झैँ ढल । ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ ३०// दल खाेले असल हुन्छ राम्रो नकारात्मक साेच नहाेस् हाम्रो । ✍️ कोपिला ३१// दल नयाँ होइन सोच राम्रो खोल सबैसँग सधैँ सत्य वचन बोल । ✍️ सुनगाभा पोखरेल कपिलवस्तु १ ३२// विदेशीको गुलाम बनेर जब सबै त्यस्तो नबनौँ नेपाली अब । ✍️ नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ ३३// देशमा सबै नेतै नेता, जनता कोही छैन दल खोलेर बसे पनि, काम त गर्ने हैन । ✍️ एवाइ प्रभात धनकुटा ३४// छिचिमिरा जस्तै खोलिदिए राजनीति दल नागरिकलाई सास्ती छ दलमा अलमल । बिपी लामिछाने दमक, झापा ३५// च्याउझैँ उमारिए फेरि नयाँ दल ताकत हेर अझै गरौँला छ छल । ✍️ इन्दु श्रेष्ठ चितवन ३६// हाम्रै छ गुनगान, हाम्रै छ चहलपहल जनताको रगतले भिजेको छ तीन दल । ✍️ होमप्रसाद नेउपाने धरान, सुनसरी । ३७// देशले भार थेग्न सक्दैन दल मात्र खोलेर भ्रष्टाचार अन्त्य हुँदैन जोपनि आफ्नै दुनो सोझ्याउने मात्र हो, मिलेर जाने पक्षमा कोही छैन । ✍️ कबिताहरी सुन्दरहरैंचा १ कुमार गाउँ मोरङ ३८// दुईसय दल बनायौँ भने भागबण्डा हुन्छ पद सबले पाउँदा हामीलाई कसले छुन्छ । ✍️ सुरेश चन्द्र घिमिरे ३९// दल मात्रै कति खोलेका हुन् बनाउने भए नि लुट्ने ठाउँ दल बनाउन मात्र आतुर छन्, लथालिङ्ग सहर गाउँ । ✍️ शोभा आचार्य गौतम काठमाडौँ ४०// चुनावमा साट्छौ नोटले भोट त्यसैले भन्छु हामी मै छ खोट । ✍️ रमा पन्त, पाल्पा ४१// कुर्ची बिलो पाउन जोड घटाउ गरे नेता सित्तिमा दिन्नन् ठाउँ बनाउँछन् यता न तेता । ✍️ बालकृष्ण खनाल रिप्दिकोट-३ पाल्पा ४२// मान्छे नभए नि दल छ्न् जसोतसो मिलाउँदै छ्न् देश लुट्ने खेल कसो ! ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली ४३// राजनीतिक एवम् कूटनीतिक खेल खेलाैँ हाम्रो सत्ता सरकार ल्याएर जनता पेलाैँ । ✍️ केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम ,हाल भारत । ४४// टाक्कटुक्क मिलाइकन चिन्ह्र पनि राखौँ चिन्ह्र भजाई ढिकुटीको स्वाद पनि चाखौँ । ✍️ रेजिना ४५// नयाँ दल, पुरानो दल नामै मात्र बदलेको देश जनता लुटी खान भ्रममात्र छरिएको । ✍️ शिवराम सुलु भनपा १० व्यासी – भक्तपुर ४६// मौका मिल्नासाथ पारौँला भनी देशको अवस्था खलबल देखासिकीमै खोलिरहेका छन् च्याउ उम्रे जस्तै नयाँ दल l ✍️ बाबुराम गौतम, गुल्मी ४७// केही गर्ने हाेइन दलहरू काम, ग्राउन्डमा जिराे खुद्रा पसलझैँ दल खाेलेर मुख बनाउँछन् पिरो । ✍️ रवि पाैडेल दक्षिण भारत पाण्डेचरी ४८// खोल्छु दल नयाँ अब, चाहिन्न केही आफन्त भए पुग्छ दुई चार ओटा आन्दोलन गर्छु, सरकार आफैँ नुग्छ । ✍️ राजेशराज गड्तौला काँडाघारी, काठमाण्डौ ४९// टोले दल झोले दल खोलौँ घरघर चण्डाल र डाका सबै राखौँ वरपर । ✍️विवश पारदर्शी झापा ५०// संरक्षण अनि सम्बर्द्धन गरौँ भन्न छाडेर आफूमात्र बाँच्न खोज्ने मातृभूमिलाई गाडेर । ✍️ अरुण कुमार भुजेल गोरूबथान, दार्जिलिङ। ५१// दलहरूकै रहेछ जगजगी खाेलाैँ एउटा दल सुर्ता चिन्ता जनताकाे भाग तिनलाई पैसाकाे भल । ✍️ प्रमाेद नेपाल काठमाडौँ – ५ ५२// पारदर्शिताको दियो बालौँ, जनताको पक्षमा बलौँ, लुटकै लागि होइन है, रुपान्तरणकै लागि उठौँ । ✍️ नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल । ५३// सबै जना मिलेर गरौँ राम्रो पहल देशको कुरामा मान्छेले नगरी कल । ✍️ रमा गुरुङ्ग सालुगडा सिलीगुडी ५४// मर्नुपर्छ भन्ने कुरा बिर्सेर जाँदा थाहा पाइन्छ बल्ल पछि धोखा खाँदा । ✍️ अच्युत घिमिरे सर्पाङ, भुटान🇧🇹 ५५// आजसम्मकाे यात्रामा मिलेर लुटेको नै थियौँ युवाकाे चेतावनीले फेरि बाटो बदली दियाैँ । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ५६// दुनियाँ अजिब छ खाएको थालमा चुठ्ने जसको छ आडमा उसैको विरुद्ध उठ्ने । ✍️ धन माया चौधरी कैलाली ५७//
मङ्सिर १८ दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रिय सचिव, घोराही बनाऔँ अभियानका संयोजक तथा उपन्यासकार सविन प्रियासनको १३ औँ औपन्यासिक कृति ‘नयाँ लुगा’ सार्वजनिक भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा नेपाल पत्रकार महासंघ, दाङ शाखाको सभा हलमा एक कार्यक्रम आयोजना गरी उक्त कृतिको विमोचन गरिएको थियोे ।
नेपालकै सर्वाधिक उपन्यास प्रकाशित गर्ने उपन्यासहरूमध्ये दोस्रो स्थानमा रहनुभएका प्रियासनको यस वर्षकै तेस्रो प्रकाशित उपन्यास हो । यस अघि यसै वर्ष उहाँले ‘कडी’ र ‘कालो मन’ नामक उपन्यास प्रकाशित गरिसक्नुभएको थियो ।
परिषदका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा परिषदका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यता एव परिषदकै सल्लाहकार पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
साहित्य लेखनका अलावा पत्रकारिता एवम् समाजसेवामा छुट्टै पहिचान बनाइसक्नुभएका प्रियासनको कृति विमोचन कार्यक्रममै विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका दुई युवा प्रतिभालाई पनि सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा घोराही बनाऔँ अभियानको तर्फबाट सामुदायिक विद्यालयबाट चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल घोराही–१० की रोशनी घर्ती मगर र कलिलो उमेरमै (२० वर्षको) सरस्वती आधारभूत विद्यालय, जलजला, बबई गा.पा.को प्रधानाध्यापक बन्न सफल हुनुभएकी रक्षा कुमारी यादवलाई योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले साहित्यको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै अझ राम्रो र उत्कृष्ट रचना ल्याउन सुझाव दिनुभयो । उहाले पाठकको रोजाइमा पर्न सक्ने पुस्तक ल्यानुपर्ने बताउनु भयो ।
सो अवसरमा बोल्ने वक्ताहरूले प्रियासनलगायतका उपन्यासकारहरूका कारण उपन्यास लेखनमा दाङ बलियो स्थानमा उक्लिएको बताएका थिए । वक्ताहरुले प्रियासनलाई नेपालकै पहिलो बन्न सुझाव दिँदै खदिलो, वजिलो विषयवस्तुमा पनि उपन्यास प्रकाशित गर्न अनुरोध गरेका थिए ।
सो अवसरमा बोल्दै उपन्यासकार प्रियासनले अबको पाँच वर्षभित्रमा नेपालकै पहिलो धेरै उपन्यास प्रकाशित गर्ने उपन्यासकार बन्ने उद्घोष गर्नुभएको थियो । कार्यक्रममा पुस्तकका बारेमा लेखक सविन प्रियासनले प्रकाश पार्नुभएको थियो भने विशिष्ट अतिथि पद्मप्रसाद शर्मा, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष डा.सुदीप गौतम लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो । परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषदका जिल्ला सचिव घनश्याम केसीले गर्नुभएको थियो ।