• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: झिल्का कविता

झिसासको पुस्तक विमोचन तथा झिल्का वाचन कार्यक्रम सम्पन्न

  • १५ जेष्ठ २०८३, शुक्रबार २३:०९ मा प्रकाशित
  • १५ जेठ, काठमाडौँ
    नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात प्रवचन कक्षमा आज पुस्तक विमोचन एवम् झिल्का वाचन कार्यक्रम सम्पन्न भएको छ। झिल्का साहित्य समाज नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा. धनप्रसाद सुवेदी र साहित्यकार वसन्त अनुभवले संयुक्त रूपमा विमोचन गर्नुभएको थियोे ।

    झिल्का साहित्य समाज नेपालका अध्यक्ष एवम् झिल्का प्रवर्तक वसन्त अनुभवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नवीनतम् काव्यिक विधा झिल्का कविताका ३ वटा पुस्तकहरू विमोचन भएका थिए। विमोचित पुस्तकहरूमा नेपाल, भारत लगायत विश्वका विभिन्न मुलुकहरूमा रहनुभएका ८३ जना नेपाली भाषी झिल्काकारहरूको संयुक्त झिल्का कवितासङ्ग्रह ‘आवाज’, झिल्काकार वसन्त अनुभवको एकल झिल्का कवितासङ्ग्रह ‘अनुभव’ र झिल्काकार सुरेशकुमार पाण्डेको झिल्का कवितासङ्ग्रह ‘आँगन’ रहेका छन्।

    विमोचित कृतिहरूमध्ये ‘अनुभव’को समीक्षा समीक्षक प्रमोद नेपालले, ‘आँगन’को समीक्षा समीक्षक अनुराग अरुणले र ‘आवाज’ संयुक्त झिल्का कवितासङ्ग्रहको समीक्षा समीक्षक अरुण बहादुर खत्री नदीले गर्नुभएको थियोे ।

    कार्यक्रममा डा.धनप्रसाद सुवेदी, ललिता दोषी, घनश्याम पन्त, लता के.सी. त्रिचन्द्र श्रेष्ठ, कृतिकारका तर्फबाट सुरेशकुमार पाण्डेले मन्तव्य राख्नुभएको थियोे ।
    उक्त अवसरमा झिल्काकार सुरेशकुमार पाण्डेलाई कृति निकाले वापत ‘झिल्का साहित्य समृद्धि सम्मान २०८३ बाट सम्मानित गरिएको थियो । त्यस्तै झिल्का कवितालाई पत्रिकामा प्रकाशित गरेर टेवा पुर्‍याए वापत झिल्का साहित्य सञ्चार समान २०८३ ‘द्वारा, अग्रिम साप्ताहिक र संसार न्युजलाई सम्मान गरिएको थियो ।

    त्यस्तै आवाज झिल्का संयुक्त सङ्ग्रहमा समाविष्ट सबै सर्जकहरूलाई ‘झिल्काश्री साहित्य सम्मान २०८३ द्वारा सम्मानित गरिएको थियोे । साथै उक्त अवसर दुई दर्जन बढी अतिथिहरूलाई मायाको चिनो Token of Love प्रदान गरिएको थियो ।
    पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा झिल्काकार रामप्रसाद पुरीले सबै अथितिलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।

    कार्यक्रमको विशिष्ट अतिथिमा कवि एवम् साहित्यकार ललिता दोषी, हरिवन नगर वाङ्मय प्रतिष्ठानका कुलपति घनश्याम पन्त, हाम्रो लघुकथा केन्द्रकी संस्थापक अध्यक्ष लता के.सी. हुनुहुन्थ्यो भने विशेष अतिथिमा नेपाल हाइकु समाजका अध्यक्ष चेतनाथ धमला, टुक्का साहित्य समाजका कोषाध्यक्ष होम प्रसाद नेउपाने, पञ्चाङ्गकी प्रतिनिधि सुशीला पौडेल, लघुकथा संसार/कविता संसारका सम्पादक त्रिचन्द्र श्रेष्ठ, कपिल अज्ञात, यमुना प्रधानाङ्ग मुना, कर्ण दयाल ‘सोराडी’, शशीश्री आचार्य र अतिथिहरूमा कृष्ण कुमार वैद्य, राजेशराज गड्तौला, जयनारायण नेपाल, अर्जुनप्रसाद चौलागाईं, हरिगोपाल न्हुच्छेप्रधान, पुष्पा सुवेदी, रामप्रसाद पुरी, चुडामणि देवकोटा, कृष्ण बहादुर बजगाईँ, सन्दीप बि.क., सुरेशकुमार पाण्डे, रबिता महर्जन, प्रमोद नेपाल, पुष्पा राई, राजकुमार राजभण्डारी, होम प्रसाद नेउपाने, बेदु न्यौपाने, जमुना आचार्य कोइराला, दीपा गुरुङ समभाव, सरस्वती श्रेष्ठ, दीप गोले तामाङ, बसन्ता श्रेष्ठ, जगन्नाथ पोखरेल, माधवी, देवकी आचार्य, पुष्पा दाहाल, रमिला राई, ललिता गिरी, कल्पना भण्डारी, प्रदिप नेपाली, सन्तोष खत्री, हरि पथिक, बेद प्रसाद लामिछाने, रामचन्द्र दाहाल, देवकी गुरुङ, सन्त कुमारी गुरुङ, तीर्थराम डंगोल, इन्दिरा ढकाल, राजु तामाङ, शिशिर चालिसे, सुनिता अधिकारी, सागर महर्जन, सुर्य बहादुर सेन, दिवाकर देवकोटा, रश्मी रिमाल, युवराज सिंह, अच्युत अधिकारी लगायतका स्रष्टाहरू हुनुहुन्थ्यो।
    कार्यक्रममा घनश्याम पन्त, लता के.सी. सञ्जय सोती, अर्जुन प्रसाद चौलागाईँ, ईश्वर लामिछाने, सरस्वती श्रेष्ठ, नेत्र बहादुर श्रेष्ठ, रामप्रसाद पुरी, जमुना आचार्य कोइराला लगायतका स्रष्टाहरूले झिल्का कविता वाचन गर्नुभएको थियो ।
    झिल्काकार दीपा गुरुङ समभावले कार्यक्रमको सञ्चालन गर्नुभएको कार्यक्रम ४ घण्टा बढी समयसम्म चलेको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, वसन्त अनुभव

    परिषद्को १८ औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न

  • २२ चैत्र २०८२, आईतवार ०७:२५ मा प्रकाशित
  • दाङ चैत्र २१
    राप्ती साहित्य परिषद् दाङ शाखाको १८औँ वार्षिकोत्सव कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा आधा दर्जन साहित्यिक व्यक्तित्वहरूलाई सम्मान एवम् पुरस्कार समर्पण गरिएको थियोे ।

    राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा भाषा आयोगका निवर्तमान सदस्य तथा वरिष्ठ साहित्यकार डा. अमर गिरीको प्रमुख आतिथ्य र राप्ती साहित्य परिषद केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

    कार्यक्रममा ‘यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार’बाट डा. टीकाराम उदासी, ‘कृष्ण गायत्री प्रज्ञा पुरस्कार’बाट हरि पोख्रेल, ‘नेत्रमोहनादेवी साहित्य पुरस्कार’बाट डिल्लीराज श्रीधर र ‘वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार’बाट खगेश्वर भण्डारीलाई पुरस्कृत गरिएको थियो। त्यसैगरी साहित्यकार तथा लेखक गुरुप्रसाद शर्मा रेग्मी र पुरस्कार संस्थापकहरू मध्येबाट देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापक घरपरिवारलाई सम्मान गरिएको थियाे । पुरस्कृत स्रष्टाहरूको परिचय प्रतिभा छनोट समितिका संयोजक राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा दाङ शाखाका सल्लाहकार दीपक शर्मा ‘समीर’ गर्नुभएको थियो ।

    कार्यक्रममा दुई दर्जन बढी कवि एवम् साहित्यकारहरूले काव्य वाचन गर्नुभएको थियो । डा. हिमलाल पन्थी, धनसिंह गिरी, देवेन्द्र रिजाल, शंकर घर्ती मगर, पदमप्रसाद पोखरेल, महेश कुमार न्यौपाने, दीप बहादुर खत्री, कपिल किशोर घिमिरे, वसन्त अनुभव, पुरण शर्मा, नारदप्रसाद भण्डारी, शारदा शर्मा, सुरेशकुमार पाण्डे, डा. लोकराज पराजुली, अनुजा शर्मा संस्कृति लगायत पुरस्कृत स्रष्टा हरि पोख्रेल, डिल्लीराज श्रीधर र खगेश्वर भण्डारीले शुभकामना मन्तव्य सहित रचना वाचन गर्नुभएको थियोे ।

    नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक विभागका निर्देशक तथा पुरस्कृत स्रष्टा डा. टीकाराम उदासी, राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, सल्लाहकार पदमप्रसाद शर्मा, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापा, प्रगतिशील लेखक सङ्घ दाङका अध्यक्ष चन्द्रबहादुर थापा, लेखक सङ्घ दाङका उपाध्यक्ष गोविन्द पौडेल, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, सिस्नोपानी नेपाल दाङ शाखाका अध्यक्ष लोकराज पराजुली, झिल्का साहित्य समाज नेपालका अध्यक्ष एवम् झिल्का प्रवर्तक वसन्त अनुभव लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। त्यसैगरी सम्मानित स्रष्टा गुरुप्रसाद रेग्मी तथा वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापक लालबहादुर आरसीले आफ्नो सान्दर्भिक भनाइ राख्नुभएको थियो।

    प्रमुख अतिथिको रूपमा रहनुभएका वरिष्ठ साहित्यकार तथा भाषा आयोगका निवर्तमान सदस्य डा.अमर गिरीले साहित्यकारले साहित्यको विधागत चेतनाका साथसाथै साहित्यको गुणस्तरमा पनि स्रष्टाले ध्यान दिनुपर्ने कुरा बताउनुभएको थियो। विशिष्ट अतिथि रूपमा रहनुभएका राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालले राप्ती साहित्य परिषद्का विभिन्न जिल्लाहरूमा छ वटा शाखा रहेको र सबै शाखाहरू सक्रिय रूपमा अगाडि बढेकोमा आफूलाई गर्व लागेको बताउनुका साथै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

    उक्त अवसरमा वार्षिक कार्यक्रम सञ्चालनमा आर्थिक सहयोग प्रदान गर्ने संस्थाहरू पार्वता स्मृति साहित्य प्रतिष्ठान, घोराही, दाङ र धनलक्ष्मी कानुनी सेवा, घोराही दाङलाई पनि सम्मान गरिएको थियो ।

    सो कार्यक्रममा परिषदका कोषाध्यक्ष सुशीला आचार्यले आर्थिक प्रतिवेदन र सचिव घनश्याम केसीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, वसन्त अनुभव

    झिल्का कविता

  • १४ फाल्गुन २०८२, बिहीबार ०६:५१ मा प्रकाशित
  • १)
    पूज्य मेरो गुरु
    ब्रान्डका पिता हजुर
    हजुरबाट सृष्टि सुरु ।
    २)
    उघारी आँखा मेरा
    जहाँतहीँ देखूँ तिमीलाई
    तोडेर सम्पूर्ण घेरा ।
    ३)
    दिनपछि कालो रातमा
    भगवान् शिव छन्
    हरहमेसा मेरो साथमा ।
    ४)
    म भक्त शिवकाे
    उनकै पछि लाग्छु
    कल्याण हुन्छ जीवकाे ।
    ५)
    गुरुका पनि गुरु
    हजुरै त हुनुहुन्छ
    हजुरबाटै काम सुरु ।
    ६)
    माया र स्नेह
    गर्नुहुन्छ आफ्नाे भक्तकाे
    सम्झी आफ्नै देह ।
    ७)
    बनेर म अन्धभक्त
    लागिरहेछु रातदिन सदा
    भएर कट्टर सशक्त ।
    ८)
    लगाई बाघको छाला
    बस्नु हुन्छ ध्यानमा
    पहिरिई रुद्राक्ष माला ।
    ९)
    समातेर डमरु हातमा
    गर्नुहुन्छ उहाँ ध्यान
    केशरी जटाका साथमा ।
    १०)
    सारा पृथ्वी चलाउने
    सृष्टिदाता भगवान् उनै
    पापीलाई सिधैँ जलाउने ।
    ✍️
    ईश्वर साउद(भिक्षु )
    रामाराेशन गाउपालिका ६ सुदुरपश्चिम अछाम

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged ईश्वर साउद, झिल्का कविता, वसन्त अनुभव

    प्रेमिल झिल्का कविताहरू

  • १३ फाल्गुन २०८२, बुधबार २०:३६ मा प्रकाशित
  • १)
    साँचो पिरती गाँसूँ
    सधैँभरि म तिमीसँगै
    खुसीले सधैँ हाँसूँ ।
    ​२)
    म मुटुभरी सजाउँछु
    तिमीलाई यो जुनीमा
    अब मायाले रिझाउँछु ।
    ​३)
    गुलाफको रातो थुङ्गा
    तिमी माझी हौ
    बन्छु तिम्रै डुङ्गा ।
    ​४)
    अमर रहोस् माया
    पवित्र यो सम्बन्धले
    नभोगोस् कहिल्यै छाया ।
    ​५)
    मुटुको एउटा कुना
    सजाएर तिमीलाई राख्छु
    सधैँभरि दुई गुना ।
    ​६)
    बाचा कसम खाऔँ
    भुलेर सारा दुनियाँलाई
    मायाकै संसारमा धाऔँ ।
    ​७)
    न्यानो त्यो अङ्गालो
    सजाइदिऊँ खुसीहरू सबै
    फुटाएर मनको भङ्गालो ।
    ​८)
    नटुटोस् यो साथ
    जिन्दगीको हरेक मोडमा
    कति सुन्दर माथ ।
    ​९)
    प्रणयको मिठो मास
    बदलियोस् यो जीवन
    बनेर तिम्रो बास ।
    ​१०)
    चोखो यो प्रीति
    बसौँला सँगै हाँसेर
    बदलेर संसारको रीति ।
    ​११)
    अटुट एउटा नाता
    तिमीलाई नै ओढाउँछु
    पिरतीको यो छाता ।
    ​१२)
    पवित्र रहोस् मन
    तिमी हौ मेरो
    जिन्दगीको अमूल्य धन ।
    १३)
    जपेर पिरतीको माला
    सजाउँला यो संसार
    हेरौँला त्यसको चाला ।
    ​१४)
    भरेर ओठमा हाँसो
    बाँचेका छौँ खुसीले
    नपारी कहिल्यै पासो ।
    ✍️
    ​नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, उदयपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, नन्दलाल आचार्य, वसन्त अनुभव

    झिल्का कविता

  • ३० माघ २०८२, बिहीबार २१:१९ मा प्रकाशित
  • झिल्का कविता
    १)
    बनाएर चुनावी ढाल
    एउटै घरभित्र पनि
    किन बनायौ पर्खाल ?
    २)
    सङ्घीयता भयो अपच
    मुलुक कङ्गाल हुनथाल्यो
    विदेशी भरिए खचाखच ।
    ३)
    साम्राज्यवाद ठूलो रोग
    गर्छन् नेताहरू सधैँभरी
    किन उसैलाई ढोग ।
    ४)
    मतदान नागरिक अधिकार
    जनतालाई चिन्ता देशको
    गर्नुहुँदैन भोटको व्यापार ।
    ५)
    तराई पहाड हिमाल
    जनता मिलेर सबै
    बलियो बनाउँ नेपाल ।
    ६)
    गाउँ हाम्रो सहर
    भए देश बलियो
    सुन्दर बन्छ घर ।
    ७)
    सबैले अबको पालो
    बलियो नेता देशभक्त
    छानौँ देशकै गोठालो ।
    ८)
    पाखा लगाउँ पोल्ने
    गर्ने देशमा भ्रष्टाचार
    विदेशीकै भाषा बोल्ने ।
    ९)
    देश सङ्कटमा गयो
    बने विदेशी दलाल
    भगाउँ अति भयो ।
    १०)
    देशबाट हटाउँ भ्रष्टाचार
    सुधार्न देशको व्यवस्था
    नेताहरू छानौँ इमान्दार ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का साहित्य समाज, वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    व्यङ्ग्यात्मक झिल्का कविता: मतदान

  • २६ माघ २०८२, आईतवार २३:२२ मा प्रकाशित

  • १)
    बाँड्छन् राति नोट
    देखाउँछन् अनेक सपना
    चाहियो मात्रै भोट ।
    ​२)
    रक्सी र मासु
    मिल्छ चुनावको बेला
    नेता बन्छन् आँसु ।
    ​३)
    आफ्नो मत दिएर
    पछि अन्धो भई
    उल्टी हुन्छ पिएर ।
    ​४)
    बन्छन् साह्रै सोझा
    नजितेसम्म त नेताले
    बोकाउँछन् पछि बोझा ।
    ​५)
    आयो फेरि मेला
    झुटा आश्वासन सुन्ने
    चुनावी यो बेला ।
    ​६)
    गर्छन् ठूला कुरा
    भ्रष्ट ती अनुहार
    भाषण मात्रै पूरा ।
    ​७)
    चिल्ला गाडी कुद्ने
    धुलो उडाउँदै गाउँमा
    सोझा जनता गुद्ने ।
    ​८)
    हाम्रो होइन राम्रो
    नखोजौँ अब विकल्प
    परिवर्तन हो हाम्रो ।
    ​९)
    पाँच वर्ष रुने
    एक दिन बिकेर
    देशै सिध्याउने हुने ।
    ​१०)
    सयको नोटमा बिक्ने
    सचेत नभए नागरिक
    हार मात्रै सिक्ने ।
    ​११)
    झुसिलकिरा ती नेता
    चुनावमा पुतली बन्छन्
    खान्छन् हाम्रै जेथा ।
    ✍️
    ​नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, नन्दलाल आचार्य, वसन्त अनुभव

    अहिले नगरे कहिले- झिल्का कविता

  • २५ माघ २०८२, शनिबार ०८:१६ मा प्रकाशित
  • चुनाव विषयक १० झिल्का कविताहरू

    १)
    लिएर प्रलोभन धेर
    आउँछन् सचेत बनौँ
    ब्वाँसो गाई बनेर !
    २)
    भन्ने होइन हाम्रो
    खराब भ्रष्ट नेतालाई
    बिदाइ गरेकै राम्रो ।
    ३)
    अहिले बिक्दा मासुभातमा
    पर्नेछ पछि पछुताउनु
    सराप्दै बसेर दिनरातमा ।
    ४)
    सोची, विचारी जानी
    भिजन हेरेर मात्र
    गरौँ मतको लगानी ।
    ५)
    लगाइदिँदा भ्रष्टलाई माला
    अन्धकार देशको भविष्य
    जनतालाई आँसुको प्याला ।
    ६)
    अहिले जोड्दैछन् हात
    चिन्दैनन् तिनैले पछि
    छातीमै हान्नेछन् लात ।
    ७)
    छोडेर झोलेश्वरको भक्ति
    बेला आयो देखाउने
    जनता जनार्दनको शक्ति ।
    ८)
    खराब ठाउँबाट उध्रिनुपर्छ
    सुधार्न खातिर नेता
    पहिले जनता सुध्रिनुपर्छ ।
    ९)
    विवेकले मत हानेर
    देशको भविष्य कोरौँ
    सही नेतृत्व छानेर ।
    १०)
    अहिले नगरे कहिले
    मतको सही सदुपयोग
    सराप्दै बस्ने जहिले ?
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार, घोराही, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का साहित्य समाज, वसन्त अनुभव

    झिल्का कविता

  • २४ माघ २०८२, शुक्रबार २१:५९ मा प्रकाशित
  • झिल्का कविता
    १)
    विकासको नौलो योजना
    खोजमूलक कार्य थालौँ
    कृषि उत्पादनको सपना ।
    २)
    पेसाको लागि राजनीति
    नगरौँ सहमति कसैले
    संस्कारमा बन्दैछ बेथिति ।
    ३)
    हरियो वन जोगाए
    निरोगी हुन्छौँ हामी
    खुसहाल दिन उदाए ।
    ४)
    देश जलाउनेहरू दलाल
    विदेशी थिए बुझौँ
    पछि हुनसक्छ मलाल ।
    ५)
    नेपाली वीरहरूका सन्तान
    बन्नुहुंँदैन विदेशीको गोटी
    जोगिँदैन आफ्नो स्वाभिमान ।
    ६)
    अखण्ड देशका लागि
    भ्रष्टाचार निर्मूल पारौँ
    कोही नबनौँ दागी ।
    ७)
    आत्मनिर्भर बनाउन योगदान
    हुन्छ कर्तव्य नागरिकको
    जोगाउन आफ्नै स्वाभिमान ।
    ८)
    भन्छौ विकास बराबर
    गर्छौ झारफुक देशमा
    छाड कुरीतिको सफर ।
    ९)
    विज्ञानले पुग्यो संसार
    आकास पाताल खगाल्यो
    छाड्न सकेनौँ कुसंस्कार ।
    १०)
    राजनीतिमा भई इमान्दार
    गरौँ स्वच्छ राजनीति
    सकिन्छ देशबाट भ्रष्टाचार ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    झिल्का कविता

  • २३ माघ २०८२, बिहीबार २१:३३ मा प्रकाशित
  • झिल्का कविता
    १)
    जाेगाउन लागाैँ देश
    बचाएर राख्नुपर्छ स्वाभिमान
    लुटिनु हुँदैन भेष ।
    २)
    घुस्याहा सबैलाई निर्मुल
    गराैँ मिलीजुली हामीले
    नदाेहाेरियाेेस् अब भूल ।
    ३)
    सजाई देशको आँगन
    बढारेर फाेहाेर सबै
    बढुन् अग्रपथमा जन !
    ४)
    नदेखाए हुन्थ्यो लाज
    बचाएर राख भित्रै
    मिलीजुली गराैँ काज ।
    ५)
    बनेर भरिया नेपालको
    सेवा गर्न पाऊँ
    तराई पहाड हिमालको ।
    ६)
    कला, संस्कृतिको सान
    जोगाइराखौँ नेपाली माटा
    गाेर्खालीको यो मान ।
    ७)
    मरेर देश बचाउँछु
    हुँ नेपाली छोरा
    सदैव माटाे हँसाउँछु ।
    ८)
    भिरालो आँगन नेपाल
    सबै अट्छन यही
    तराई पहाड हिमाल ।
    ९)
    सद्भाव र माया
    सब छ यहाँ
    घाम र छाया ।
    १०)
    भाैतारियाे मेरो मन
    उसको यादमा यताउता
    बोकेर मौन क्रन्दन ।
    ✍️
    ईश्वर साउद(भिक्षु)
    रामाराेशन गाउँपालिका ६  सुदुरपश्चिम अछाम

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged ईश्वर साउद (भिक्षु), झिल्का कविता, वसन्त अनुभव

    झिल्का कविता

  • २३ माघ २०८२, बिहीबार ००:०४ मा प्रकाशित
  • झिल्का कविता

    १)
    जाडोमा थुरुरु काँप्दै
    बस्दछौँ शरीर तताउन
    माघको घाम ताप्दै ।
    २)
    असल सम्बन्ध गाँसेर
    सबैमा सद्भाव छर्दै
    बसौँ हामी हाँसेर ।
    ३)
    दुष्टताको भाव फालेर
    शान्तिले जीवन बिताऊँ
    एकताको दीप बालेर ।
    ४)
    हत्या हिंसा फालेर
    दसैँ मनाउँछौँ खुसीले
    सत्यको दीप बालेर ।
    ५)
    बिजुली जस्तै चम्केर
    गर्दछौँ कुरा अरूको
    सारा गाउँघरमा लम्केर ।
    ६)
    सोचेर गरेमा काम
    लाग्दैन दाग कहिले
    रहन्छ इज्जत नाम ।
    ७)
    बलको घमण्डले गर्दा
    दुःख पाउँछ मानिसले
    दुष्टको फेला पर्दा ।
    ८)
    वीणा र पुस्तकधारिणी
    हंसवाहिनी सरस्वती माता
    सारा पीडा कष्टहारिणी ।
    ९)
    अगाडि हामी सरेर
    सरस्वती माताको पूजा
    गर्दछौँ चरणमा परेर ।
    १०)
    रमाई आज सङ्क्रान्ति
    मनाउँ सबैले मिलेर
    हटाई मनको भ्रान्ति ।
    ✍️
    खोम काफ्ले
    दागाना,निचुला, भुटान🇧🇹

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged खोम काफ्ले, झिल्का कविता, वसन्त अनुभव

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P