
त्रिवेणी साहित्य मञ्च अमेरिकाको अभ्यासशालामा आएका उत्कृष्ट झिल्का कविताहरू:
क)
मुटुमा राखौँ देश
सुखदुःख जस्तो होस्
नराखौँ कुनै क्लेश ।
ख)
नपुर्याई कुनै घात
दिउँ योगदान स्वदेशमा
जोडेर हातमा हात ।
✍️ वसन्त अनुभव
वसन्तविहार, घोराही
क)
आनन्दमा निमग्न जून
सङ्गीत सुनकोसी नदीको
मीठो अलौकिक धून ।
ख)
शिक्षाको ज्योति बालेर
चिर्नुछ निस्स्पष्ट अँध्यारो
अभिमानको लप्को फालेर ।
✍️नारदप्रसाद आचार्य ‘सुदामा’
संयुक्त राज्य अमेरिका
क)
मेहनत गरेर खाऔँ
आफ्नै कर्ममा रमाई
मुस्कानको गीत गाऔँ ।
ख)
ओठमा मुस्कान छरी
अघि बढौँ निरन्तर
बाँचौँ सत्कर्म गरी ।
✍️ अम्बिका धिताल
क)
छातीमा गाँठो पर्यो
बुझ्नै सकिनँ आशय
मायाले के गर्यो-गर्यो ।
ख)
कर्ममा दोष देखियो
रोएर सधैँ बाँच्नुपर्ने
कस्तो भाग्य लेखियो ?
✍️ विकल ‘आर्त्त’
क)
हरेक गाउँदेखि सहर
हुँदैछ हेर खाली
छ बिदेसिनेको लहर ।
ख)
स्वदेशमै केही गर
कति बस्छौ मरुभूमिमा ?
फर्केर आऊ घर ।
✍️ आर के भण्डारी
क)
सम्बन्ध रहन्न दिगो
राख्यौँ भने कसैप्रति
मैमत्ता दर्साउने इगो ।
ख)
देखिन्न चरित्र चित्रबाट
झुक्किन्छन् कैयौँ मान्छेहरू
आफ्नै अनन्य मित्रबाट ।
✍️ बाबुराम गौतम
गुल्मी
क)
ठुलो घर बनायो
छोराले दूर सहरमा
घरमा ढुसी गनायो ।
ख)
छोरा आउने आसमा
वृद्ध बाउआमा बस्छन्
बाटो हेर्दै निराशमा ।
✍️ बिबा तामाङ
दार्जलिङ
क)
लेख्दा मुक्तक, गजल
रदिफ, काफिया मिलाई
भएँ म पागल ।
ख)
मिलेर सबै दाजुभाइ
हाँसखेल गर्दै रमाऔँ
संसार आफ्नो बनाई ।
✍️ रिमेन आलोक
अष्ट्रेलिया
क)
भाषा हाम्रो पहिचान
संस्कृति बचाउँछ यसले
गरौँ सदैव सम्मान ।
ख)
नेपाली भाषा हाम्रो
बोल्दा लाग्छ आनन्द
सुन्नमा कति राम्रो ।
✍️ अम्बिका राणा
खरसाङ दार्जिलिङ
क)
टाढाबाट उडेर आयो
एउटा सानो झिल्का
मनमा आगो लगायो ।
ख)
अझै निराशा रोज्छु
झ्यालबाट बाहिर हेर्दै
किन सन्ध्या खोज्छु ?
✍️ कबिता कुँवर
सिन्धुली ५भक्तिराम
क)
साइत छ राम्रो
हुन्छ चाहेको हामीले
एउटै सफर हाम्रो ।
ख)
मनमा सूर्य उदायो
बलियो भयो मिलन
सुतेका जति जगायो।
✍️ सुरेशकुमार पाण्डे
घोराही,दाङ
क)
नगर्नुहोस् प्रेम सस्तो
अमर रहोस् गाथा
ती राधाकृष्णको जस्तो ।
ख)
उन्मुक्ति नपाओस् दागी
कानुनबमोजिम हुने दण्डमा
पीडक हुनुपर्छ सहभागी ।
✍️ वैँशालु महेन्द्र
लेटाङ नगरपालिका-८, जाँते, मोरङ
हाल:- माहे टापु, सिसेल्स, पूर्वी अफ्रिका
क)
सृजनाको मीठो लहर
स्रष्टाको अमूल्य निधि
रचनाका हरेक वहर ।
ख)
जिन्दगीका तिता व्यथा
शब्दका पानामा कोरिन्छन्
ओकल्दै आफ्नै कथा ।
✍️ तोयानाथ चापागाईं
दमक,झापा,नेपाल
क)
समय आयो कस्तो ?
स्वरूप हेर्दा मान्छे
आचरण दानवको जस्तो ।
ख)
हुर्किएँ कस्तो परिवेशमा ?
राम्रो काम गर्ने
मान्छे भेटिनन् देशमा ।
✍️ प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना, सुर्खेत
क)
देशको हालत सम्झेर
भविष्यसँग म डराउँछु
नेताहरूको पारा देखेर ।
ख)
मान्छे राम्रो बन्छ
सफा मन व्यवहारले
ऊ शिखर उक्लन्छ ।
✍️ नम्रत प्रधान
तकदाह, दार्जिलिङ
क)
स्वार्थको संसार यहाँ
संकट पर्दा बदलिने
आफन्त भेटिन्छन् जहाँ ।
ख)
अस्मिता लुटिन्छ सडकमा
निदाएको छ कानुन
चेली बाँच्छन् डरमा ।
✍️ अर्पना चापागाईं
विराटनगर, मोरङ
क)
भिकारी बनाए देश
मौलायो अशान्तिको ज्वाला
राम्रो छैन परिवेश ।
ख)
कला, संस्कृति, संस्कार
हुन् धरोहर देशकै
पहिचानको अहम् आधार ।
✍️ राजेन्द्र जि.सी “यसत”
व्यास ११ फराकचौर,तनहुँ
हाल प्रवास।
क)
पापको डर मान्नुपर्छ
हामी हिन्दु धर्मावलम्बी
आफ्नो कर्म जान्नुपर्छ ।
ख)
धर्मनिरपेक्ष देश हाम्रो
सबै जातजाति धर्मावलम्बी
मिलेर गर्नुपर्छ राम्रो ।
✍️ शोभाकान्त रेग्मी
स्याङ्जा
क)
देशमा सङ्कटकाल ल्यायो
पुर्खाले बचाएर राखेका
सबै इज्जत गुमायो ।
ख)
कहिल्यै भ्रष्टाचारले छोडेन
अप्ठ्यारो भयो यात्रा
देशले सत्मार्ग रोजेन ।
✍️ अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ
क)
मोबाइलमै संसार हरायो
समय छैन कसैसँग
सम्बन्धमा शङ्का भरायो ।
ख)
पैसाले माया किन्यो
मीठो लाग्छ झुट
विश्वास पुरै छिन्यो ।
✍️ माधव अधिकारी
अस्ट्रेलिया
क)
जाँदैछु साउदी कतार
बोकेर मनमा तिर्सना
बाध्य भएर लाचार ।
ख)
जूनको उज्यालो छरियो
तिम्रो यादले सताउँदा
मायाको सागर भरियो ।
✍️ ध्रुव खड्का
फेदीखोला १, स्याङ्जा
क)
देशले विकास माग्छ
नेता भनौदो त्यो
भ्रष्टाचार गर्न लाग्छ ।
ख)
साहित्यमा कलम चलाएर
कुसंस्कारकाे अन्त्य गरौँ
चेतनाको दीप जलाएर ।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
खाेटाङ ऐसेलुखर्क ३ हाल भक्तपुर
क)
बाँच्ने रहर भागिसक्यो
बलात्कारको घटनाले देशमा
सीमा नै नाघिसक्यो ।
ख)
न्याय पाउने कहिले ?
ती अबोध बालिका
अकालमा मर्नुपर्ने जहिले ।
✍️ साबित्री प्याकुरेल
धादिङ
क)
मनसँगै कलम चलाएर
मनका भावना पोखौँ
साहित्यिक यात्रा समाएर ।
ख)
आत्मविश्वास बढाऊँ अब
हत्यारालाई सजाय दिलाई
कुसंस्कार हटाऊँ सब ।
✍️ पुस्पा न्यौपाने
कैलाली
क)
जान्छ जोबन बगेर
खेर नफाल्नू कहिल्यै
रोकिँदैन फेरि रोकेर ।
ख)
माया जातको कुरा
नगर्नू कहिल्यै पनि
चल्छ मुटुमा छुरा ।
✍️ सुर्य गाहा मगर
क)
दुःखमा पनि चल्दैछ
जीवन सुखमा झैँ
इर्ष्यालु आँखा जल्दैछ ।
ख)
पाप नपखालिने धुँदा
फुट्छ वेदनामा भक्कानो
अतीत सम्झी रुँदा ।
✍️ कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
क)
स्वार्थी भएछ सहर
त्यसको भरमा पर्दा
बिग्रियो सुन्दर घर ।
ख)
भुल्न सकिएनँ गाउँ
जहाँ बालापन बित्यो
थियो आनन्दको ठाउँ ।
✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ
क)
कतिन्जेल खानु हार
चाहिँदैन केही अरू
न्याय देऊ सरकार ।
ख)
सपना अधुरै पार्यो
तीन वर्षकी बालिकालाई
बलात्कार गरी मार्यो ।
✍️ शब्दयात्री लम्साल
दुल्लु -१२ लम्सु ,दैलेख
क)
छोरी देश चलाऊ
बलात्कार गर्ने राक्षसलाई
कानुन बनाई जलाऊ ।
ख)
लक्ष्मी हुन् छोरीहरू
हाँसून् उन्मुक्त आकाशमा
चुडाई बन्धन डोरीहरू ।
✍️ प्रेम शर्मा “एकान्त प्रेमी”
कालेबुङ
क)
बिचरी गरिमा नानी
क्रूर अपराधी आएर
खत्तम पारिदियो जिन्दगानी ।
ख)
पाओस् पापीले दण्ड
जलिरहोस् पापको घडामा
पीडा पाएर प्रचण्ड ।
✍️ रामकृष्ण ढकाल
चितवन
क)
सीमा छैन अपराधको
दिनदिनै किन चल्दैछ
सिलसिला यहाँ अत्याचारको ।
ख)
मान्छे भ्रष्ट भएपछि
यस्तै हुने रहेछ
गलत विचार रहेपछि ।
✍️ शिवराज जोशी `मनबन्धु´
बुङ्गल ११, बझाङ
क)
ऋण लिँदा सानो
आफैँलाई दिन्छन् धम्की
कुरा गर्छन् मानो ।
ख)
उज्यालो हुन्छ मुहार
सफा राख मनलाई
कसैसँग नमाग्नु गुहार ।
✍️ सुनिता निरौला पौडेल
हाल – राधेराधे भक्तपुर
क)
सफा राखौँ मन
कसैलाई मन नदुखाई
खुसी हुन्छ जन ।
ख)
छोरी भएर जन्मिनु
अभिशाप थियो र ?
पराई घर अन्मिनु ।
✍️ रमा गुरुङ्ग
सालुगडा सिलीगुडी
क)
धर्मकर्म अनि भेषमा
विदेशी संस्कार, संस्कृति
आउँछन् हाम्रो देशमा ।
ख)
न शिक्षाले दियो
राम्रोसँग खान, बस्न
खाडी भाग्यमा थियोे ।
✍️ कल्पना राई वेदना
क)
हातमा हात राखेर
साथ मिल्दैन यहाँ
स्वार्थी माया मागेर ।
ख)
आँसु पिउनु पर्यो
तिमीले छोडेर जाँदा
जिउने रहरै मर्यो ।
✍️ हिरा बुढा मगर ‘अमृत’
शारदा नगरपालिका–१४, सल्यान
क)
फरक भएर चल्ती
कहिलेकाहीँ हुने रहेछ
अन्जानमा यहाँ गल्ती ।
ख)
धेरै भ्रमहरू नछरी
आफैँमा विश्वास गरौँ
कसैको भरमा नपरी ।
✍️ विष्णु पंगेनी(पाण्डे)
वालिङ ,स्याङ्जा
क)
हामी एकतामा बसौँ
कसैले हेप्न नसकोस्
क्रान्तिमा कम्मर कसौँ ।
ख)
एकतामा बल हुन्छ
झुकाउँछ सरकार पनि
हारमा सधैँ रुन्छ ।
✍️ बिधुत गुरूङ
गोरुबथान
क)
नयनमा चम्क्यो तारा
मनभरि चाहना जाग्यो
जीवनभरि छायो सहारा ।
ख)
मनभित्र जाग्यो आस
अँध्यारो हराउँदै गयो
नयनभरि पलायो विश्वास ।
✍️ सतीश पण्डित
भानु६ चुँदी तनहुँ
क)
निशब्द रात बोलिरह्यो
चन्द्रकिरणको पत्र बनी
मनभित्र कोही आइरह्यो ।
ख)
ओइलिएको फूल झरेर
सुगन्ध छोड्छ सधैँ
मायाले पनि मरेर ।
✍️ नागेन्द्र भट्टराई
अष्ट्रेलिया
क)
जिन्दगी अनौठो खेल
दोष दिँदै भाग्यलाई
नबगाऊ आँसुको भेल ।
ख)
अधुरो प्रेमको सार
सकियो सम्झनाको बाटाे
गरेँ दु:खलाई पार ।
✍️मिना मल्ल
बझाङ

