• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

झिल्का कविता

  • १८ श्रावण २०८२, शनिबार १५:०३ मा प्रकाशित
  • झिल्का कविता
    *********************
    १)
    बगैँचामा फुलेका फूल
    जीवनमा नगर्नू है
    चुँडेर ठूलो भूल !
    २)
    आमाको असीम माया
    सधैँ सम्झिराख्नू है
    नपरोस् कसैको छाया !
    ३)
    साँचो साथी बन
    छलकपट केही नगरे
    आनन्द हुन्छ मन !
    ४)
    बोल्दा गर विचार
    शब्दमा हुन्छ शक्ति
    नबनाऊ मनको भार !
    ५)
    ज्ञानको दियो बाल
    तिमी अन्धकार हटाऊ
    पार जीवनलाई लाल !
    ६)
    ढिलासुस्ती नगर कहिल्यै
    समयको गरे पालन
    जीवन चल्दछ जहिल्यै !
    ७)
    पाइँदैन कतै सदाचार
    देख्न सक्छौँ हामीले
    हरेक क्षेत्रमा भ्रष्टाचार !
    ८)
    ज्ञानको अमूल्य सार
    भनेको रहेछ शिक्षा
    जीवन जिउने आधार !
    ९)
    नेता घुम्छन् गाडीमा
    देशका मेरुदण्ड युवाशक्ति
    पसिना चुहाउँदै खाडीमा !
    १०)
    राजनीति फोहोरी खेल
    सोझासिधा जनतामाथि नै
    गर्नुपर्ने अनेक झेल !
    ✍️
    सतीश पण्डित
    भानु६ चँदी तनहुँ
    हाल चनपा ६ मातातीर्थ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का साहित्य समाज, सतीश पण्डित

    साहित्यकारद्वय उमानाथ दाहाल र गरिमा आचार्यको सिर्जना-मन्थन

  • १७ श्रावण २०८२, शुक्रबार १९:२९ मा प्रकाशित
  • ✍️ नन्दलाल आचार्य
    १. उमानाथ दाहालको लघुकथा “मूल्य” बारे विश्लेषणात्मक टिप्पणी-
    “मूल्य” कथा कुनै पृष्ठभूमिमा होइन, घरभित्रको भान्साकोठादेखि शुरू हुन्छ । त्यहाँ नारीको श्रम बोल्दैन, तर पुरुषको अधिकारले कराउँछ । उमानाथ दाहालको कलमले ‘मूल्य’ नामक लघुकथामा घरको श्रम र त्यसको अदृश्य पीडालाई एउटा स्त्रीको मुखर प्रतिरोधमार्फत साहित्यिक दृश्य बनाएको छ।
    शब्दहरूले यहाँ केवल संवाद जनाएका छैनन्, तिनीहरूले भित्र लुकेका सामाजिक संरचना र परम्परागत लिंग विभाजनलाई चिर्दै सत्यको पर्खालमा चोट पुर्‍याएका छन् । रमेशको प्रतिनिधित्व गर्छ त्यो समाज, जसले स्त्रीको २४ घण्टे श्रमलाई घरको कर्तव्य भन्दै खारेज गर्छ। शर्मिला भने उभिन्छिन्- एक स्थायी श्रमिकको हैसियतमा, एक आमाको भूमिकामा, र अन्ततः एक सचेत नागरिकका रूपमा ।
    शब्दजाल होइन, जीवनजाल भत्काउन उद्दत हुन्छन् शर्मिलाका वाक्यहरू- “मेरो श्रमको चैँ मूल्य हुँदैन ?” यो प्रश्न केवल रमेशलाई होइन, सम्पूर्ण पितृसत्तालाई सोधिएको प्रश्न हो । यो कथा एउटा लघु संवादमा पनि श्रमिक अधिकार, लिङ्ग समानता, पारिवारिक न्याय र आत्म-सम्मानको सशक्त विमर्श हो ।
    शब्दहरू शोषणको पर्दा च्यात्न सक्ने हतियार हुन्छन् । उमानाथ दाहालको कलममा त्यही सामर्थ्य देखिन्छ । जन्मोत्सवको अवसरमा यो कथा उनलाई स्त्री चेतनाको संवाहक र लघुकथालाई सामाजिक औजार बनाउने कुशल शिल्पी को रूपमा सम्मानित गर्छ ।

    २. गरिमा आचार्यको लघुकथा “सञ्चय” बारे विश्लेषणात्मक टिप्पणी-
    गरिमा आचार्यको ‘सञ्चय’ लघुकथा, एक मौन रुख र बकबक गर्ने मान्छेबीचको संवाद होइन; बल्कि, मौनता र आत्मचिन्तनको प्रतीकात्मक संवाद हो । दिनेश भनेको हामी हौं; जो सधैं बोल्छौं, बयान गर्छौं, व्यक्त गर्छौं, तर सुन्दैनौं । रुख भने त्यो सहनशील शक्ति हो, जसले अत्याचार चुपचाप पीर गर्छ, तर अन्ततः समय आएपछि बोल्छ ।
    रुखको मौनता केवल मौनता होइन; त्यो शक्ति सञ्चयको अवस्था हो । उसले बोलेको वाक्य “म मौन रहेर तिमीहरूको अत्याचार सहने शक्ति बटुल्छु” भन्ने क्षणमा कथा एक चिन्तनको गहिराइमा पुग्छ । यहाँ प्रकृति पात्र हो, साक्षी हो र शिक्षक पनि ।
    गरिमा आचार्यले मितवाचक शब्दमा प्रकृतिवादी दर्शन र मानवीय चेतनाको सुन्दर समन्वय गरेकी छन् । उनी प्रकृति र जीवनबीच संवाद गराउने कलामा सिद्धहस्त देखिन्छिन् । रुखको मौनता आजको मानव समाजप्रति एउटा चेतावनी हो; मौनलाई कमजोर नठान ।
    यो लघुकथा शब्दमा होइन, ‘वृत्तान्तभन्दा पर’ को अनुभूतिमा बाँचेको कथा हो । वाणीले नभई मौनताले सञ्चय गरिने शक्ति र शान्तिको सन्देश छ । गरिमा आचार्यका लागि यो लघुकथा एक सशक्त काव्यात्मक संवाद पनि हो, जसले उनीभित्रको चिन्तक सर्जक, प्रतीकवादी लेखकको पहिचान दिन्छ ।
    उनको जन्मोत्सवमा, यस कथाले उनलाई मौनताको दर्शन बुझ्ने दार्शनिक दृष्टिकोण र लघुकथालाई ‘स्व-चिन्तनको आँखा’ बनाउने शिल्पकारको रूपमा सम्मान दिन्छ ।
    निष्कर्ष-
    यी दुई लघुकथाले छुट्टाछुट्टै स्वरूप र सन्देश बोके पनि, दुबै कथा सर्जकका जीवनदृष्टि, अनुभव र कलात्मक परिपक्वताको उँचाइ प्रस्तुत गर्छन् ।
    उमानाथ दाहालको कथाले विरोधको मूल्य सिकाउँछ ।
    गरिमा आचार्यको कथाले मौनता को शक्ति सम्झाउँछ ।
    उहाँहरूको जन्मोत्सवमा साहित्यिक शुभकामना यही हो-
    “कलम चलिरहोस्, सत्य बोलिरहोस्, मौनले बोलोस्, र आवाजले हृदय हल्लाओस्।”
    यी दुबै सर्जककाे जन्म दिनको अवसरमा शुभकामना स्वरुप तल प्रस्तुत छन् माथि विवेच्य लघुकथा~~~
    १. लघुकथा- मूल्य
    ✍️ उमानाथ दाहाल
    भान्साकोठामा भाँडा बजेको सुनेर फुल्याउँदै गरेकी नानी छोडेर शर्मिला हतार हतार पुगी ।
    ” समयको केही ख्याल छैन, बसेर कहिल्यै नअघाउने बेकारी ! ” रमेश जङ्गियो । शर्मिला हतार हतार दिउरे निकाल्दै थिई रमेशले थप्यो ” दिनभरि लखतरान परेर आउँदा पनि घरमा खाजाको व्यवस्था हुँदैन “
    ” आज नानीले धेरै झगडा गरी नत्र म चियाखाजा तयार गरी राख्थें ” शर्मिला सुस्तरी बोली ।
    ” कस्ले सुतिदेओस्, कस्ले मोबाइल हेरिदेओस्, नानीको बहाना छँदैछ । ‘आइमाईलाई सजिलो र बाख्रालाई सम्म’ काम लाग्दैन भन्ने साँच्चै रहेछ ” ऊ फतफताउँदै कोठा भित्र पस्यो ।
    शर्मिलालाई निको लागेन । ऊ चिया लिएर कोठामा गई र टेबुलमा राख्तै भनी ” सुन्नु भो ? आज तपाईंको वचनले मलाई बाणले जस्तै घोच्यो “
    ” ठिकै त भनेकोछु, ज्यादा भनेकोछु र ?” रमेशले ठाडठाडै जवाफ दियो ।
    ” घर भित्रको कामलाई कामै जस्तो ठान्नुहुन्न तपाईँ , कस्तो विवेक नभएको मान्छे ” शर्मिलाले हिम्मत गरेर भनी । रमेशले चिया सुरुप्प पार्यो । शर्मिलाले अरू थपी ” बिहान सबैभन्दा छिटो उठेर घरको सफाई , चियानास्ता, खाना, धन्दा, नानीहरूको स्कुलको तयारी, दिउँसोको खाजा, कोठा मिलाउने, लुगा धुने , हाटबजार, बेलुकाको खाना यी सबै काम हैनन् ? मैँले २४ घण्टा खट्नु पर्छ सम्झिनु भएको छ “
    रमेशले खिसीको हाँसो हाँस्यो र भन्यो ” ” ‘जुन गोरुको सिङ छैन उस्कै नाम तिखे’ “
    शर्मिलाले दृढ आवाजमा भनी ” रातको १ बजे तपाईँकी छोरी छटपटाई भने मै तयार हुनु पर्छ, जतिबेला मन लाग्यो उतिबेला तपाईँको इच्छा पुरा गर्न मै तयार हुनु पर्छ, मैले राती भन्न पाएकीछु ?”
    ” भयो बेतुकका भाषण नछाँट, मलाई सुन्नु छैन ” ।
    शर्मिलाले रमेशको अनुहारमा हेरी। उसले आँखा जुधाएन । पुनः शर्मिला बोली ” सुन्नु भो ? एउटा श्रमिकले दिनमा ८ घण्टा काम गर्छ र ज्याला पाउँछ । म २४ घण्टा काम गर्छु । मेरो श्रमको चैँ मूल्य हुँदैन ?”
    ०००
    शिवसताक्षी नगर पालिका झापा

    ~~
    २. लघुकथा- सञ्चय
    ✍️ गरिमा आचार्य
    “दिनेशजी, सुन्नुस् त !” एक्कासी सुनेको स्वरले दिनेशले चौका खायो ।
    ऊ सधैं बकबक गरिहन्थ्यो तर त्यसको साथी रुख भने मौन थियोे । कारण बुझ्न नसकेर दिनेश ह‌ैरान थियोे ।
    दिनेश विगत सम्झन्थ्यो- अरू मान्छे आउँथे । सुस्ताउँथे । शरीरमा ताजापन भर्थे । त्यही शक्तिले साथीका हाँगाबिँगा काटकुट पार्थे । लिएर घर जान्थे । दोहोरो कुरा गर्न नपाएर ऊ निराश हुन्थ्यो ।
    यतिबेला भने उसको साथी भन्दै थियोे, “तिमीहरू बढता बाेलेर शक्तिहिन छौ । म मौन रहेर तिमीहरूको अत्याचार सहने शक्ति बटुल्छु ।”
    बिउँझदा त दिनेश रुखमुनि थियोे । रुखका पातले हम्केर वरपर शीतल वातावरण बनाइरहेका थिए ।

    बेलका २, उदयपुर, हाल- गोलबजार ४, सिरहा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    म मुग्लान लागेको दिन

  • १६ श्रावण २०८२, बिहीबार २२:५९ मा प्रकाशित
  • रमेश कुमार सिटौला

    कन्काई नगरपालिका ६, चम्पापुर, झापा घर भई करिब अठार वर्ष देखी साउदी अरबमा श्रमिक भएर काम गरिरहनु भएका रमेश कुमार सिटौला म मुग्लान लागेको दिन मार्मिक कविता लेखेका छन् ।

    उहाँको कविता

    परिवारको अवस्था बदल्छु भनी हिँडेको दिन,
    रातैभरि झरी परेको थियो, थाहा छैन,
    आकाश रोएको थियो म अभागीलाई देखेर ।
    वा खुशी भएको थियो,
    अब यो अभागीको पनि दुखका दिन सकिए भनेर ।।
    ’ उहाँले विदेश हिँड्दाको पिरलाइ कवितामा उन्दै लेख्नु भएको छ,
    ‘तर मलाई पर्नु पिर परेको थियो,
    म विदेशिएको दिन, झमझम पानीमा एउटा छाता मुनि ।
    म मेरा दुई साथी अनि साथमा,पैसाको बिटो राख्ने झोला ।।
    कठै, कसरी पुग्यौ, दर्के पानीमा, म विदेशिएको दिन,
    सन्जोग थियो वा के थियो, थाहा भएन ।
    तर, “परदेश जाने दाइ, हाम्लाई पनि सम्झनु है कहिलेकाहीँ”, भन्ने गीत बजिरहेको थियो,
    म घर छोडी विदेशिएको दिन ।। ’

    Posted in साहित्य

    पञ्चकन्याद्वारा ‘शल्यक्रिया’ को लोकार्पण 

  • १४ श्रावण २०८२, मंगलवार ०७:५० मा प्रकाशित
  • सिरहा/साउन १२/रोजिना धमला
    कथा केवल कल्पनाको खेल होइन, यो समाजको मर्मस्पर्शी शल्यक्रिया हो, जहाँ भावनाहरूको चिरफार गरिन्छ, विचारहरूको पट्टी बाँधिन्छ र समयको घाउमा चेतनाको मलहम लगाइन्छ । यही सन्देश बोकेको कथासङ्ग्रह ‘शल्यक्रिया’ को लोकार्पण आज सिरहाको गोलबजार-४ स्थित श्री बुढानिलकण्ठ आवासीय माध्यमिक विद्यालयमा एक भव्य समारोहका बीच सम्पन्न भयो ।

    कार्यक्रमको विशेष आकर्षण थियो- लोकार्पणको ऐतिहासिक शैली । नन्दलाल आचार्यद्वारा रचित ‘शल्यक्रिया’ कथासङ्ग्रहको विमोचन समाजका विविध जातीय, भाषिक र सांस्कृतिक पृष्ठभूमिका पाँच प्रेरणादायी किशोरीहरूमार्फत् गरियो । उनीहरू थिए- पासाङमाया तामाङ, लक्ष्मी यादव, रानी महतो, रोशनी ठाकुर र पुनिता साह । यिनै पाँच किशोरीलाई प्रतीकात्मक रूपमा ‘पञ्चकन्या’ भनिएको थियो, जसले नेपाली साहित्यको नयाँ युगको शुभारम्भमा एक प्रकारको सांस्कृतिक पुनःपाठको सङ्केत गरे । हिन्दू धर्मग्रन्थमा अहल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोदरी गरी जम्मा पाँचवटी कन्याहरूको समुदायलाई पञ्चकन्या भनिन्छ । ‘शल्यक्रिया’ कथासङ्ग्रहको विमोचनमा भने पासाङमाया, लक्ष्मी, रानी, रोशनी र पुनितालाई पञ्चकन्याको रूपमा हेरिएको थियोे ।

    उक्त लोकार्पण समारोहको सभाध्यक्षता विद्यालयका प्रधानाध्यापक रामवरण यादवले गर्दै भने, “हामीले शिक्षालयलाई पाठ्यपुस्तकको परिधिभन्दा बाहिर ल्याउँदै सिर्जनशीलता, समावेशीपन र साहित्यिक चेतनाको प्रयोगशाला बनाइरहेका छौँ । ‘शल्यक्रिया’ कथाकृति त्यही प्रयोगशालाको एक प्रयोग हो, जहाँ विद्यार्थीहरू पाठक होइनन्, साक्षी बनिरहेका छन् ।”

    ‘शल्यक्रिया’ कथासङ्ग्रह शब्दाङ्कुर मासिक पत्रिकाद्वारा प्रकाशित कृति हो, जसमा नन्दलाल आचार्यले नेपाली समाजको आन्तरिक सन्त्रास, संरचनात्मक हिंसा, वर्गीय विभाजन र मौन पीडाका अनेक विम्बहरूमार्फत समाजको चित्रण गरेका छन् । सङ्ग्रहमा भएका २० थान कथा केवल घटना होइनन्, तिनमा यथार्थको नशा छ, प्रतिरोधको ज्वाला छ र परिवर्तनको भाषा छ । सहभागी वक्ताहरूको कथन थियोे ।

    उद्घोषक रितिका साहको लयात्मक स्वर, पुस्तकमाथि युवाहरूको सरल भाषामा विमर्श, र सहभागी शिक्षकहरूको सकारात्मक दृष्टिकोणले कार्यक्रमलाई पाठ्यपुस्तक बाहिरको सिकाइ बनायो । कुनै औपचारिक औपचारिकता होइन, यो साक्षात्कार थियो, जहाँ युवाले साहित्यसँग हात मिलाए ।

    लोकार्पण भनेको केवल फूल, मालाले सजाइएको कुनै औपचारिक क्षण होइन, यो चेतनाको उद्घाटन हो । खासगरी जब समाजका विविध प्रतिनिधित्व भएका किशोरीहरूले ‘पञ्चकन्या’को रूप लिन्छन् र एउटा कथासङ्ग्रहको झिल्को बाल्छन्, तब त्यो सामान्य साहित्यिक कार्यक्रम रहँदैन, त्यो परिवर्तनको प्रतिकात्मक अनुष्ठान बन्छ ।

    “साहित्य विद्यालयमा पस्दैछ, विद्यार्थीहरू किताबको अनुहार चिन्दैछन्, र शिक्षकहरू पाठ्यपुस्तकबाहिरको संसार देखाउँदैछन् । यही हो ‘शल्यक्रिया’ को सबभन्दा सशक्त अर्थ ।” सहभागी अञ्जली यादवले भनिन् ।

    कार्यक्रममा कक्षा ८, ९ र १० का करिब ९० जना विद्यार्थीहरूको उपस्थिति मात्र थिएन, तिनीहरूको अनुहारमा देखिएको उत्सुकता, मुटुभित्रको प्रश्न र आँखाभित्रको उज्यालो पनि साहित्यप्रतिको नयाँ पुस्ताको सम्भावनाको सङ्केत थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    लीलानाथ गौतम: कलमको आवाज, आवाजको प्रतिरोध

  • ९ श्रावण २०८२, बिहीबार १७:३६ मा प्रकाशित
  • (साहित्यिक प्रतिभा परिचय)

    ✍️ नन्दलाल आचार्य

    धेरै लेखकहरू लेख्छन्, केही बोल्छन्, तर थोरैले लेखेर बोल्न सक्छन्- आवाज दिएर शब्दको आत्मा ब्युँताउन सक्छन् । लीलानाथ गौतम त्यस्तै बिरलाहरूको श्रेणीमा पर्छन्, जो लेख्छन् पनि, बोल्छन् पनि, र हरेक उच्चारणमा जनताको उज्यालो सपना, शिक्षकको तीतो सास्ती, र समाजको मौन असहमति गुँजिन्छ ।

    १. गौरीडाँडाबाट सुरु भएको यात्रा

    २०३८ सालको कात्तिक २७ गते, महोत्तरी जिल्लाको बर्दिबास-३ स्थित गौरीडाँडामा जन्मिएका लीलानाथ गौतम खडानन्द र देवमायाको कोखबाट जन्मेका सञ्जीव साहित्यिक चेतनाका जरा हुन् । यो गाउँको हावा, माटो र गरिबीमा हुर्किएर बालकविताका शब्दहरू लेख्दै लीलानाथले नेपाली साहित्यमा आफ्नो पहिलो अक्षर कोरे ।

    शिक्षक भएर पाठशालामा प्रवेश गर्नु अघि नै उनले ‘मुना’ बालपत्रिकामा आफ्ना बालभावनाहरू पोख्न थाले । बाल्यकालमै शब्दसँगको सामिप्यता उनले केवल किताब पढेर हैन, जीवनको भोगाइबाट बटुले । गाउँको चोक, चौतारो र कष्टपूर्ण जनजीवन नै उनको पहिलो विद्यालय बन्यो ।

    २. शिक्षण र साहित्यको समन्वय

    २०५८ सालदेखि निरन्तर २४ वर्षदेखि उनी शिक्षणमा संलग्न छन् । निजी र सरकारी दुवै विद्यालयमा आफ्नो शिक्षकीय दायित्व निर्वाह गरेका गौतम हाल भँगाहा नगरपालिकास्थित माध्यमिक विद्यालयमा नेपाली विषय अध्यापन गरिरहेका छन् । तर उनको शिक्षण केवल पाठ्यपुस्तकसम्म सीमित छैन । उनी हरेक दिन कक्षाकोठा र समाजबीच पुल बनाउँदै आएका छन्, जहाँ पढाइभित्र कविताको आत्मा भेटिन्छ र कविताभित्र शिक्षाको सार भेटिन्छ ।

    शिक्षकको रूपमै २०८० सालमा भँगाहा नगरपालिकाबाट उत्कृष्ट शिक्षक पुरस्कार पाउनु पनि यही यात्राको एउटा साक्षी हो ।

    ३. कविता : प्रतिरोधको सौन्दर्य

    शब्दहरू उनीसँग बोल्दछन्, रुन्छन्, रिसाउँछन्, झरनाझैँ बग्दछन् । यिनै शब्दहरू उनी सामाजिक सञ्जालमार्फत वाचन गरेर जनतालाई सुनाउँछन् । न केवल मनोरञ्जनको निम्ति, बरु जनचेतनाको निम्ति उनी समय र बौद्धिकता लगानी गर्छन् ।

    हालैको शिक्षक आन्दोलनमा वाचन गरिएको उनको कविता “आशैआशमा झुलायौ सरकार” भाइरल भयो। सरकारप्रतिको आक्रोश, शिक्षकहरूको अन्योल र जनता भित्रको मौन असन्तोष त्यो कवितामा मिसिएको थियो । यस्तो कविता केवल लेख्न लेखेर होइन, जीवन बाँचेर र बाँच्न बचाउन लेखिन्छ । भोगाइको रङमा रङिएको त्यो कविता सरकारको काँतर गालामा प्रश्नको झापटजस्तै थियो ।

    ४. कथाहरू : समाजको ऐना

    गौतमको कथा लेखन शैली सादा छ, तर सरल छैन । त्यो सादगीभित्र झन्झनाउने यथार्थ छ । शब्दहरू हँसिला लाग्छन्, तर अन्त्यमा पाठक रुवाउने गहिराइ राख्छन् । उनका कथाहरू सामाजिक आलोचना पनि हुन्, व्यक्तिगत पीडा पनि, र सांस्कृतिक व्यङ्ग्य पनि ।

    ४.१ ‘काजीको गाउँ’ सत्ताको संरचनागत मनोविज्ञानको व्यङ्ग्य हो, जहाँ एक काजी पात्रले गाउँको सामाजिक चेतनालाई कति अपहेलित गर्न सक्छ भन्ने चित्रण गरिएको छ ।

    ४.२ ‘त्यसपछि मैले मितज्यू देखिनँ’ स्मृतिको स्पर्श लिएर लेखिएको कथा हो, जहाँ हराएको सम्बन्ध र बदलिँदो समाजको चित्र सजीव छ ।

    ४.३ ‘भोज’ भनेको मात्र परिकारको समुच्चय हैन, त्यो वर्गीय र सांस्कृतिक द्वन्द्वको कसी हो ।

    ४.४ ‘उदयबहादुर जोकोहीलाई नमस्कार गर्दैनन्’ भनेको केवल शीर्षक मात्र हैन, त्यो एक युगको अवमानित आदर्शको घोषणा हो ।

    ४.५ ‘कोलम्बस किस्ने’ भोलि हुने सपना होइन, आजको विडम्बनालाई ऐतिहासिक आवरणमा व्यङ्ग्य गर्ने कथा हो ।

    यी सबै कथाहरूले समाजका विविध तहको चिरफार गर्छन्, राजनीतिक विडम्बना, शिक्षाको उपेक्षा, गाउँको मौन द्वन्द्व, सत्ताको अदृश्य आँखा ।

    ५. सामयिक लेखन र समालोचना

    गौतम २०६० सालदेखि उनले विभिन्न पत्रिकामा सामयिक लेख, कविता र समालोचनाहरू लेख्दै आएका छन् । त्यो लेखन कुनै हल्लाको पछि लागेको छैन, बरु आफ्नो सोचको गहिराइबाट निस्किएको विश्लेषण हो ।

    गौतमका लेखहरू सजिलो भाषामा लेखिए पनि सजिलै पच्ने छैनन् । तिनीहरू सोच्न बाध्य पार्छन् । राजनीतिक दाउपेच, शैक्षिक विकृति, र सांस्कृतिक पक्षबारे उनको कलमले उठाउने प्रश्नहरू सदा सरकार र समाजका आलसी विवेकलाई झस्काउने छन् ।

    ६. कृति प्रकाशन र सम्भावना

    हालसम्म उनले कुनै पुस्तक प्रकाशित गरेका छैनन् । तर प्रकाशित नहुनु न लेखकको कमजोरी हो, न समाजको । गौतमका शब्दहरू पुस्तकको खोलभित्र सीमित छैनन्; ती शब्दहरू सामाजिक सञ्जालमा उड्छन्, भिडभाडमा सुनिन्छन्, आन्दोलनको जुलुसमा गुञ्जिन्छन् ।

    तर अब समय आएको छ- ती फुटकर कथाहरू, वाचन गरिएका कविताहरू र पत्रिकामा हराएका लेखहरूलाई एक सुगन्धित फूलमालामा गुँथ्ने । लीलानाथ गौतमको लेखनले एउटै पुस्तकमा सीमित हुनुपर्छ भन्ने होइन; तर उनका विचारहरूले यश र आगामी  पुस्ताका लागि कागजमा अमिट भएर बाँकी रहनुपर्छ भन्ने पक्कै हो ।

    ७. भविष्यको साहित्यिक मूल्य

    आज लीलानाथ गौतमको कथा, कविता वा लेख कुनै पाठ्यक्रममा समावेश छैन होला । तर भविष्यले उनलाई फरक आँखाले हेर्नेछ । भविष्यले थाहा पाउनेछ- यी नै त थिए ती शिक्षक, जसले बोर्डको डसामा अड्किएको समाजलाई कविताको आवाजमा बोल्न सिकाए । ती नै त थिए लेखक, जसले असिनपसिन शिक्षकलाई ‘आशैआशमा’बाट झुल्ने होइन, प्रतिरोध गर्न सिकाए ।

    ८. शब्दको आवाज, आवाजको विद्रोह

    उनको लेखन शैली शुद्धिकृत गद्य होइन, त्यो प्राण लिएर बाँचिरहेको जीवित गद्य हो । ‘भोज’ को पात्र होस् या ‘उदयबहादुर’, उनीहरू केवल कल्पना होइनन्; उनीहरू तपाईंहामीभित्र बाँचिरहेका असन्तुष्ट आत्माहरू हुन् ।

    गौतमका शब्दहरूले कहिले काँध थिचेर सम्झाउँछन्, कहिले कान समातेर झक्झक्याउँछन् । उनीले लेख्छन्, किनभने चुप लाग्न सक्दैनन् । बोल्छन्, किनभने समाज मौन छ ।

    ९. अन्त्य होइन, सुरुआतको अन्तर्नाद

    लीलानाथ गौतमको नाम कुनै पुरस्कारको सूचीमा छैन; कुनै ठूला प्रकाशन गृहमा उनको आत्मपरक जीवनी निस्केको छैन । तर यिनै गौतमका शब्दहरू सामाजिक सञ्जालको झ्यालबाट लाखौँ पाठकको मुटुमा पसिरहेका छन् ।

    कथाहरू त उनले लेखिसके, अब समयले ती कथाहरूलाई दस्तावेज बनाउने हो । कविता त उनले बाचन गरिसके, अब पाठकले ती कवितालाई आत्मामा गुनगुनाउने हो।

    हिजो ‘मुना’ को बालकवि आज ‘आशैआशमा’ झुल्दैन, झल्किन्छ । आजको शिक्षक भोलिको साहित्यिक दस्तावेज हो भने, लीलानाथ गौतम त्यो दस्तावेजका जीवित पन्ना हुन् ।

    अनि अन्त्यमा, उनको सम्पर्क नम्बर ‘९८४४१०४७०३’ मात्र एउटा अंकहरू को जोड होइन; त्यो एक आवाज हो, जसले भन्न सक्छ-
    “यदि सुन्न चाहन्छौ यथार्थको आवाज-
    त ल आऊ, लीलानाथ सुनेर हेर ।”

    ०००
    २०८२/०४/०८
    उदयपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नन्दलाल आचार्य, लीलाराज गौतम, वसन्त अनुभव

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- २१७

  • ५ श्रावण २०८२, आईतवार ०९:५४ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- २१७ सम्पन्न
    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको २१७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- २१७ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    पालो
    सिधाको पहिल्यै
    चलेको परम्परा जहिल्यै !

    • वसन्त अनुभव
      [२]
      यथार्थता
      टेढोलाई बिदा
      मार खाने सिधा !
    • रमा पन्त, पाल्पा
      [३]
      सत्य
      सिधा हेला
      टेढा नपर्ने फेला !
    • कार्की डिबी माकुम, सुनवल-४
      [४]
      पालो
      सिधा पहिला
      टेढा सोझाएर काम !
    • बिबा तामाङ, दार्जिलिङ
      [५]
      यथार्थ
      मार खानेमा
      सोझाको पालो पहिले !
    • सरिता सेढाई, धादिङ
      [६]
      बाङ्गाे
      सिधा नहुने
      साेझाे सधैँ पिटिने !
    • नवराज भट्ट, कञ्चनपुर
      [७]
      पालो
      घन उचालो
      सिधालाई हानेर बसालो !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [८]
      सोझो
      ढाल्छन पहिले
      जंगलका रुख अहिले !
    • चूडामणि देवकोटा
      सिन्धुली हाल- पुरानो नैकाप, काठमाण्डौ
      [९]
      सत्य
      हार जहिल्यै
      बाङ्गाेकाे जीत पहिल्यै !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      ऐसेलुखर्क-३, खाेटाङ हाल- भक्तपुर
      [१०]
      सादा
      झरीले भिज्ने
      आखिर चिसोले थिच्ने !
    • आर्त अकुलीन
      [११]
      साहारा
      आमा तिम्रो
      विदेशमा छ छोरो !
    • एवाइ प्रभात, धनकुटा
      [१२]
      यथार्थ
      बाङ्गोलाई बिदा
      चोट पाउने सिधा !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [१३]
      पालो
      अवश्य आउँछ
      समयले थपेडा खुवाउँछ !
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      [१४]
      उदाहरण
      बाङ्गाको हुलमा
      सोझाको उपयोगी महत्त्व !
    • दुर्गा अधिकारी भमरकोटे
      [१५]
      विधि
      हराएपछि मित्र
      त्यहाँ हुन्छ विचित्र !
    • प्रद्युम्न चालिसे चालिसे
      भक्तपुर, कटुञ्जे
      [१६]
      यथार्थ
      सिधालाई जेल
      कागलाई पाकेको बेल !
    • बुद्धिप्रसाद लामिछाने
      घोडाघोडी नपा-८, कैलाली
      [१७]
      जीवन
      सिधा टेढो
      पालो पहिले तेरो !
    • सविता के.सी.
      [१८]
      किल्ला
      सोझोपनमा न्याय
      कहिले मिल्छ होला ?
    • सरस्वती वली, बर्दिया, नेपाल
      [१९]
      यथार्य
      बाङ्गाहरू उम्कन्छन्
      साेझाेलाई पिटिन्छ भासिन्छन् !
    • ईश्वर लामिछाने, धरान
      [२०]
      सीधा
      जो कोही
      प्रतिष्ठित बन्छ जहिल्यै !
    • बिपी लामिछाने, दमक, झापा
      [२१]
      बाङ्गो
      बस्छ गजधुम्म
      पार्छ अरुलाई नाङ्गो !
    • ऋजु दिल्पाली
      ईटहरी-१, हलगडा, सुनसरी
      [२२]
      साेझाे
      अपहेलना गर्छन्
      दुःखमा पहिला पर्छन् !
    • केसर बाेहरा ‘आदर्श’
      अछाम हाल- भारत
      [२३]
      पालो
      यस्तै हो
      नपार्नु मुख कालो !
    • दीप गोले तामाङ, रौतहट
      [२४]
      सादा
      समय किल्ला .
      नाम भन्न मिल्ला !
    • श्री कृष्ण धामी
      [२५]
      परम्परा
      जो सोझो
      उसैको मुखमा घोचो !
    • घनश्याम पौडेल, पोखरा
      [२६]
      मान्छे
      सोझालाई सुली
      बाङ्गोलाई चौतारी देख्छ !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती-३, काभ्रे
      [२७]
      जीवन
      विविधताको सङ्गम
      लाग्यो जहिल्यै लगाम !
    • पदमराज न्यौपाने
      रामारोशन-४, अछाम
      [२८]
      सोझो
      सोझाकै टाउकोमा
      हथौड़ाको पर्छ बोझो !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [२९]
      सधैं
      छोडिन्छ बाङ्गो
      मारमा पर्छ सोझो !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [३०]
      सत्य
      सदा तितो
      असत्यको बिग्बिगी मीठो !
    • कमला देवकोटा, पाल्पा
      [३१]
      जीवन
      बुझ्न कठिन
      मृत्यु हुने एकदिन !
    • तेजप्रसाद खनाल, लमही, दाङ
      [३२]
      सोझोपन
      जीवनलाई हानिकारक
      उसैलाई ठोक्छन् भरसक !
    • भुपेन्द्र राना मगर, धादिङ
      [३३]
      सधैं
      बाङ्गोलाई हेला
      सोझाजति पर्छन् फेला !
    • कला ढकाल, झापा
      [३४]
      चलन
      सिधा बाटो
      निमुखालाई सधैं दलन !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [३५]
      बाङ्गा
      धेरै हुन्छन्
      सिधालाई देखेर रुन्छन् !
    • देवी पन्थी
      [३६]
      बाङ्गाे
      तर्किन्छन् साराे
      साेझाेलाई जिउन गाह्रो !
    • राजेन्द्र भुसाल (डिल्ली), अर्घाखाँची
      [३७]
      साेझाे
      जाे विनाखाेट
      उसकाे खप्परमा चाेट !
    • टीकाराम जाेशी, इमाडोल
      [३८]
      यथार्थ
      जीवनको भोगाइ
      सधैँ लगातार चलिरहने !
    • दुर्गा आचार्य, मोरङ
      [३९]
      लचक्ता
      आरामको अवस्था
      चोट पाउछ खडा !
    • बि के विरही, टीकापुर, कैलाली
      [४०]
      मानिस
      सिधालाई सिध्याउने
      बाङ्गालाई समय लगाउने !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [४१]
      बाङ्गिन्छन्
      बाङ्गाे नाङ्गिन्छन्
      काम साेझाले दिन्छन् !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [४२]
      अधिकार
      भएछ कुन्ठित
      गरौँ राज्यलाई खबरदार !
    • डा. टीकाराम पोखरेल
      बुढानीलकण्ठ, काठमाडौँ
      [४३]
      बाङ्गो
      नजरमा पर्दैन
      सोझोलाई बनाइन्छ नाङ्गो !
    • विवश पारदर्शी, झापा
      [४४]
      समाज
      बाठालाई नछुने
      सोझालाई पाएसम्म ठोक्ने !
    • सुरेश चन्द्र घिमिरे, कपन
      [४५]
      बाङ्गो
      कहिल्यै नसोझिने
      सिधालाई जहिल्यै ठोकिने !
    • पशपती राई, खोटाङ
      [४६]
      हतौडा
      सोझोलाई ठोक्छ
      बाङ्गो हाँस्दै हेर्छ !
    • देव स्याङ्देन, कालेबुङ
      [४७]
      संसार
      अनौठा चलनहरू
      सोझाका हृदय जलनहरू !
    • घनश्याम पन्त, हरिवन
      [४८]
      विधि
      शासनको भित्र
      भ्रष्टाचार भो बिचित्र !
    • दुर्गा भट्टराई, मोरङ
      [४९]
      सिप
      सिकेर आऊँ
      त्यसपछि काममा जाऊँ !
    • रवि पाैडेल
      दक्षिण भारत, पाण्डेचरी
      [५०]
      जमाना
      सिधालाई सजा
      बाङ्गालाइ सधैँ मजा !
    • सुमित्रा पोखरेल, काठमाडौँ
      [५१]
      सोझो
      सिधाको शिरमा
      सबैले हथौडा घोचो !
    • धनमाया चौधरी, कैलाली
      [५२]
      नियति
      सोझो हुनु
      चोट सहेर बाच्नु !
    • समुन्द्रा शर्मा, सुनसरी
      [५३]
      पालाे
      पर्खने साेझाे
      बाङ्गाले समात्छ कठालाे !
    • काेपिला अधिकारी, गाेरखा
      [५४]
      सरल
      सल्लाको रुख
      सबैले बनाए घायल !
    • कविता आचार्य, कैलाली
      [५५]
      सावन
      हरयर प्रकृति
      छाँइल लावा संस्कृति !
    • सागर कुस्मी, कैलाली
      [५६]
      यथार्थ
      किला हथौडा
      अहिलेकाे सरकार तगडा !

    – बलराज गिरी, कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged आर्त अकुलीन, उदक, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन

    गाईघाटमा ‘बलिदानका कथाहरू’ र ‘शिखण्डी’को सार्वजनिक

  • ५ श्रावण २०८२, आईतवार ०७:२१ मा प्रकाशित
  • नन्दलाल आचार्य,/गाईघाट, उदयपुर

    गाईघाटको त्यो बिहान सामान्य थिएन । शान्त आकाशमुनि एउटा सभाहलभित्र अक्षरहरू गुञ्जिरहेका थिए । दुई कृतिका आवाजले समयलाई झस्क्याइरहेका थिए, र उदयपुर साक्षी बनेको थियो दुई सशक्त सिर्जनाको आगमनमा ।

    सङ्गम पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रममा कथाकार बोधकुमार घिमिरे र कवि हिमालय पौडेलका कृति ‘बलिदानका कथाहरू’ र ‘शिखण्डी’ सार्वजनिक गरिए । कार्यक्रम संयोजन, सञ्चालन र सन्देश सबै साहित्यप्रेमीहरूको आत्मीय सहभागितामा सम्पन्न भयो ।

    कार्यक्रमको अध्यक्षता पुस्तकालय अध्यक्ष भरत खड्काले गरे । प्रमुख आतिथ्य सम्हाल्दै प्रा.डा. टङ्कप्रसाद न्यौपानेले साहित्यलाई चेतनाको ऐनासँग जोडेर प्रस्तुत गरे । समीक्षा र समालोचनाका लागि नन्दलाल आचार्य र पुण्य कार्की, टीकाप्रसाद पौडेल र दीपक पौडेल मञ्चमा थिए । उपस्थित दर्शकको संवेदनशील शान्तिमा साहित्य बोलिरहेको थियो ।

    बोधकुमार घिमिरेद्वारा लिखित ‘बलिदानका कथाहरू’ ११ कथाको सङ्ग्रह हो- शब्दको सजावट होइन, यथार्थको चोट हो। समीक्षकद्वय आचार्य र कार्कीले कथाहरूलाई “हाँसोभन्दा बढी आँसुका भाषा” भने । माओवादी द्वन्द्वको त्रासदी, त्यसपछिको विघटन, राजनीतिक सङ्क्रमण र सामाजिक पीडाको समग्र चित्र यसमा पाइन्छ ।

    कथाकारका आफ्नै शब्दमा- “सत्य लेख्न खोज्दा झुटो लाग्ने पात्र मेरा आफ्नै समाजका पीडित अनुहार हुन् ।” कथा न त केवल कल्पना हुन्, न त शुद्ध यथार्थ यी जीवित विडम्बनाहरू हुन्, जो कलमका लयमा कराइरहेका छन् ।”

    हिमालय पौडेलको ‘शिखण्डी’ केवल खण्डकाव्य होइन, मिथकको खोल फुकालेर युगको मुहार देखाउने प्रयत्न हो । समालोचक टीकाप्रसाद पौडेल र दीपक पौडेलले यसलाई “युगीन विद्रोहको स्वर” र “अव्यक्त घाउको भाष्य” माने ।

    प्रा.डा. न्यौपानेले खण्डकाव्यलाई युगको पुनर्परिभाषा मान्दै भने, “कवितामा अनुभूति कल्पनामा ढालिनुपर्छ, तर खण्डकाव्यमा त्यो अनुभूतिमा युग बोल्नुपर्छ ।” शिखण्डी त्यसैको सजीव उदाहरण हो- पौराणिकताभित्र विद्रोहको नयाँ विम्ब ।

    कार्यक्रम केवल विमोचनमा सीमित रहेन । यो सन्ध्या वाचन, विचार र विमर्शको साझा मञ्च बन्यो । प्राज्ञ रामप्रसाद खरेलले भने, “सिर्जनापछि कुटाइ पनि खानुपर्छ, माया पनि पाइन्छ । लेखक दुबैका लागि तयार हुनुपर्छ ।” यस भनाइमा लेखकीय इमानदारीको समर्पण झल्किन्थ्यो ।

    कोशी प्रदेश सांसद सम्झना पाख्रिन, साहित्यकार विन्दु दाहाल, कवयित्री मायामितु न्यौपाने, कथाकार राममणि पोखरेल र सङ्खुवासभाका कवि ताराबहादुर बुढाथोकी लगायतले मन्तव्य दिँदै आफ्ना रचना वाचन गरे ।

    विशेषतः बुढाथोकीद्वारा वाचन गरिएको कविता ‘झोला’ दर्शकहरूलाई झस्क्याउने खालको थियो । शार्दूल विक्रिडित छन्दमा रचिएको यो व्यङ्ग्यात्मक कविता प्रवासपीडासँगै सामाजिक र राजनीतिक विडम्बनाहरूको चीरफार गर्छ ।

    “झोला हो परदेश भ्रमण सखे नेपालमा पूजने,
    रित्तो पो छ कि वा पुटुक्क छ भनी सङ्केतमा बुझिने ।
    झोलाकै बलमा युधिष्ठिर भए झोले ती दुर्योधन,
    लेख्नै मुस्किल पो भयो कि त सखे झोला नबोकीकन ।।”

    कार्यक्रमका समापनतिर अनुसन्धाता कौशल चेम्जोङले भने, “अक्षरहरू मन्त्र हुन्। लेख्न विवेक चाहिन्छ। बेफ्वाँक लेखिँदैन, विवेकविना बुझिँदैन ।” यो भनाइले आजको साहित्यिक जिम्मेवारीलाई उजागर गर्‍यो ।

    कार्यक्रमको आरम्भमा सल्लाहकार महेन्द्र राईले स्वागत मन्तव्य राख्दै सङ्गम पुस्तकालयलाई सिर्जनात्मकता र विवेकको थलो बनाउने अठोट व्यक्त गरे । यस्तै, प्रा.डा. न्यौपानेले उदयपुर गढीको ऐतिहासिकता र प्रदेश प्रज्ञा प्रतिष्ठानको आवश्यकता उठाउँदै साहित्यको क्षेत्रीय समृद्धिमा जोड दिनुपर्ने बताए ।

    उनले कथा लेखनबारे सूत्र वाक्य पनि दिए- “कथा आकस्मिक रूपमा सुरु हुनुपर्छ र अप्रत्यासित ढङ्गमा टुङ्गिनुपर्छ । पाठकले अन्दाज गर्न नसक्ने कौतुहलता राखेर अन्त्यमा स्पष्टीकरण दिन सक्नु नै कथा हो ।”

    उक्त कार्यक्रम केवल दुई कृतिको विमोचन थिएन । त्यो दिन दुई सर्जकले आफ्ना भोगाइ, दृष्टि र युगको चोट नेपाली पाठकमाझ अर्पण गरे । एकातिर युद्ध र बलिदानको दस्तावेज ‘बलिदानका कथाहरू’, अर्कातिर मिथक र वर्तमानको संगम ‘शिखण्डी’ यी दुबै उदयपुरबाट एकैपटक उदाए ।

    शब्दहरू शस्त्र थिएनन्, तर शक्ति थिए । कार्यक्रमका प्रत्येक वक्ताले भन्न खोजेका थिए, साहित्य मनोरञ्जन होइन, चेतनाको निर्माण हो ।

    अन्त्यमा अध्यक्ष भरत खड्काले भने, “आज हामीले साहित्यको यात्रा होइन, जीवनको यात्रा थालेका छौं। यस यात्रामा शब्दहरू सधैँ हाम्रो साथमा रहनेछन् ।”

    गाईघाटको त्यो बिहान शब्दहरूको उत्सव थियो । जहाँ शब्दले मञ्च पाए, सर्जकले आत्मसन्तोष, र पाठकले सन्देश । ‘बलिदानका कथाहरू’ र ‘शिखण्डी’ दुवै सिर्जनात्मक परिश्रमका उपज हुन्- यी कृतिहरूले नेपाली साहित्यमा केवल लेखकीय उपस्थितिको होइन, जनचेतनाको अस्तित्व पुष्टि गरेका छन् ।

    सिर्जनालाई सम्मान गर्ने समाज नै सिर्जनात्मक हुन्छ । गाईघाटले त्यसको गवाही दियो । उदयपुरले त्यो अभ्यास गर्‍यो ।

    ०००

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नन्दलाल आचार्य

    “मौलिक तीज गीत माइत बरिलै सार्वजनिक “

  • ५ श्रावण २०८२, आईतवार ००:२४ मा प्रकाशित
  • नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज 2082 को अबसर । मौलिक तीज गीत माइती बरिलै सार्वजानिक भएको छ । चर्चित गायक खुमन अधिकारी र लोक गायीका मिना बेल्बासेको समधुर आवाजमा रहेको यस गीतमा सर्जक नवीन घिमिरेले शब्द संकलन गर्नु भएको छ भने लोक गायक तथा सर्जक तेज सिलवालको संगीत रहेको छ ।भुवन के पोख्रेल ,यशु भट्टराई, छबिलाल बेल्बासे ,अन्य थुप्रै कलाकारहरुको अभिनयमा रहेको बरिलै गीत युटुब तिर पनि राम्रो views पाउन सफल भएको छ।

    पछिल्लो समय तीजको गीत भन्दै बजार मा छाडापन झल्काउने गीत हरुको भिडमा माइत बरिलै गीत दर्शकले मौलिक गीत भनेर रुचाएका छन । अहिले सामाजिक संजाल टिकटक रिल्स जताततै गीतले चर्चा बटुलेको छ ।

    गीतको पूरा भिडियो Mina Belbase youtube च्यानलमा राखिएको छ ।

    New song ( MAITA BARILAI)बजारमा!
    स्वर :- खुमन अधिकारी / मिना बेल्बासे
    शब्द :- नवीन घिमिरे
    संगीत :- तेज सिलवाल
    एरेन्ज :- सन्जय सिर्पाल
    स्टुडियो :- मुर्चुङा रेकर्डिङ स्टुडियो
    मिक्सिङ मास्टरीङ :- गोबिन्द वली
    नृत्य निर्देशक :- देबेन्द्र कुवर
    अभिनय :- भुवन के पोखरेल /यशु भट्टराई
    सहयोगी :- छबिलाल बेल्बासे

    Posted in ताजा अपडेट, समाज, साहित्य

    गोरखाले गर्‍यो, भानुजयन्तीको अवसरमा कविता प्रतियोगिता

  • २९ असार २०८२, आईतवार १८:५० मा प्रकाशित
  • असार २९/दाङ

    नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा गोरखा मोडेल सेकेण्डरी स्कुल लमही दाङले विद्यालयमा कविता प्रतियोगिता आयोजना गरि मनाएको छ।

    बिहानी सत्र र दिवा सत्र गरि दुई सत्रमा कार्यक्रम आयोजना गरिएको थियो। बिहानी सत्रमा व्यवस्थापन सङ्कायका ११ जना विद्यार्थीले भाग लिएका थिए। जसमा रुमा चौधरी ,रञ्जित चौधरी ,योगेश बस्नेत ,रेखा कुमाल, सुरेश शर्मा ,बिक्की सुनार,करुणा आचार्य ,रितु भट्टराई ,रेखा खड्का ,उष्मा पुन,लक्ष्मी वि.क रहेका थिए। जसमा उष्मा पुन प्रथम,रञ्जित चौधरी द्वितीय र रुमा चौधरीले तृतीय स्थान हासिल गरे।

    त्यस्तै दिवा सत्रमा विज्ञान सङ्कायका १० जना विद्यार्थीले भाग लिएका थिए। जसमा युवराज डाँगी ,विशाल खड्का ,योजना कालाथोकी, विविका खत्री,सजिना आचार्य ,रोहित यादव,पुष्कर पोख्रेल ,सविता आचार्य ,कुशल भण्डारी , रीता सुवेदीले भाग लिएका थिए। जसमा विविका खत्री प्रथम,योजना कालाथोकी द्वितीय ,युवराज डाँगी तृतीय र पुष्कर पोख्रेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

    बिहानी सत्रमा सुचारु कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले गर्नुभएको थियो भने अतिथिमा व्यवस्थापन सङ्कायका प्रमुख प्रकाश ओली,विनोद ठाकुर , मा.वि ९/१० संयोजक यमप्रकाश डाँगी लगायत रहनुभएको थियो। दिवा सत्रको कार्यक्रमको आतिथ्यतामा विज्ञान संयोजक प्रकाश रिजाल, माधव शर्मा , अजित शाह, राजिव पोख्रेल, सि. के. यादव, गुरुदास यादव, सुशील आचार्य,आयुव सेन्चुरी, लगायत रहनुभएको थियो। निर्णायक मण्डलमा विद्यालयका नेपाली शिक्षक द्वय तेजप्रसाद खनाल र टुकलाल आचार्य रहनुभएको थियो।

    कार्यक्रमको सहजीकरण बिहानी सत्रमा सुजन छिनाल र दिवा सत्रमा मिलन खनालले गरेका थिए। कार्यक्रम निक्कै रोचक र भव्य रुपमा सम्पन्न भएको थियो।सबै प्रतियोगीले भानुको उच्च प्रशंसाा गरेका थिए। विद्यालयका शिक्षक प्रकाश रिजाल र तेजप्रसाद खनालले भानुभक्तको बारेमा कविता सहित छोटोे मन्तव्य समेत राख्नुभएको थियो भने प्रकाश ओलीले कविता सुनाउनुभएको थियो।

    समाचार स्रोत- तेजप्रसाद खनाल

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged तेजप्रसाद खनाल, वसन्त अनुभव

    साउदी अरबमा “रोम लामा एकल सांस्कृतिक कार्यक्रम” २०२५ भव्यताका साथ हुँदै।

  • २९ असार २०८२, आईतवार ०१:४८ मा प्रकाशित

  • ‎ साउदी अरब, रियाद !

    साउदी अरबको रियादस्थित एक्जिट १३ मा “रोम लामा एकल सांगीतिक” कार्यक्रम यही एक अगस्ट २०२५ का दिन भव्यताका साथ सम्पन्न हुन गइरहेको छ।
    ‎
    ‎ आफ्नो १० वर्षे सांस्कृतिक यात्रा पूरा भएको र यसको निरन्तरताका लागि आयोजना गर्न गइरहेको रोम लामा एकल सांस्कृतिक कार्यक्रम २०२५ का प्रमुख अतिथि नेपाली दूतावास रियादका राजदूत रहने जानकारी कार्यक्रमका आयोजक रोम लामाले गराएका छन् ।
    ‎
    ‎ यसैगरी कार्यक्रममा अतिथिहरूमा विभिन्न संघसंस्थाका पदाधिकारीज्यूहरू विभिन्न समाजसेवीज्यूहरू विभिन्न भद्राभलादमी ज्यूहरू र विभिन्न नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहने पनि रोम लामाले जानकारी दिएका छन् ।
    ‎ प्रवासमा रहेर पनि आफ्नो सांस्कृतिक यात्रालाई निरन्तरता दिँदै आफ्नो १० बर्षे सांस्कृतिक यात्रालाई पूरा गरिएको खुशीको क्षणमा यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजक लामाले हिमालयन दृष्टिलाई जानकारी दिनुभएको छ।
    ‎ उक्त कार्यक्रममा धेरै जसो आफ्ना अहिलेसम्मका विविध कृतिहरू, सांस्कृतिक झलकहरू प्रस्तुत गर्नुका साथै केही एक दुई जना गेस्ट अतिथि कलाकारहरुलाई पनि आफ्नो प्रस्तुति दर्शक माझ प्रस्तुत गर्नका लागि स्थान दिइने जानकारी लामाले दिएका छन्।
    ‎
    ‎ उक्त कार्यक्रम एक अगस्ट २०२५ शुक्रबारका दिन दिनको १२ बजेदेखि राति ८ बजेसम्म हुनेछ। रियादका केही स्थान बथाबाट कार्यक्रममा आउन जानको लागि निःशुल्क बसको पनि व्यवस्था गरिएको छ।
    ‎ कार्यक्रमको अन्त्यमा उपस्थित हुनुहुने अतिथिहरू तथा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई खानाको व्यवस्था समेत गरिएको आयोजक लामाले जानकारी गराएका छन्।
    ‎आफ्नो बिसुद्द एकल आयोजनामा आयोजित उक्त कार्यक्रम निकै भव्य सभ्य र मौलिक तरिकाको नेपाली सांस्कृतिक मनोरञ्जन दिने खालको भएको हुनाले साउदी अरबमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरू सबैलाई आयोजक रोम लामाले हार्दिक निमन्त्रणा गरेका छन्।
    ‎
    ‎कार्यक्रम हल

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, साहित्य

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P