
१.
चाल
सत्ता टिकाउने
आन्दोलन गरीबकाे नाममा !
२.
सर्प
देख्दा झस्कनु
माछा भए पक्रनु !
३.
परिवर्तन
नामकाे लागि
काम पहिलेको चालमा !
४.
कुर्सी
ठूलाका लागि
साना तालीकाे भागेदार !
५.
कल्पना
राम राज्यको
काम गरीब माराकाे
- भवानी घिमिरे
सर्लाही

१.
चाल
सत्ता टिकाउने
आन्दोलन गरीबकाे नाममा !
२.
सर्प
देख्दा झस्कनु
माछा भए पक्रनु !
३.
परिवर्तन
नामकाे लागि
काम पहिलेको चालमा !
४.
कुर्सी
ठूलाका लागि
साना तालीकाे भागेदार !
५.
कल्पना
राम राज्यको
काम गरीब माराकाे

उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको दशौँ शृङ्खला सम्पन्न भएको छ ।
उक्त उदक वाचन कार्यक्रमको प्रमुख अतिथि साहित्यकार बालकृष्ण खनालले कवि र माझीको कहानी बताउँदै नेपाली साहित्यमा उदयमान काव्यिक विधा उदकको संरचनागत अवधारणाको जानकारी लिएर उदक लेख्न जाने सहज हुने विचार राखेर उदकको उज्ज्वल भविश्यको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उदक वाचन कार्यक्रमको दशौँ शृङ्खलामा विशिष्ट अतिथि पञ्चाङ्ग विधाका प्रवर्तक साहित्यकार सोम लुइटेलले कार्यक्रममा उदक यात्रीको सहभागिताका साथै काव्यिक विधाअन्तर्गतको उदकलाई सफलताको शिखरमा लैजान सामुहिक साहित्यिक एकताको आवश्यकता भएको गहन धारणा राख्नुभएको थियो ।
सो कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय बाछिटा प्रतिष्ठानका अध्यक्ष साहित्यकार खगेन्द्रप्रसाद बस्यालले कार्यक्रममा वाचन गरिएका उदकहरू भावगत विचारले माथि पुगेका र समग्र उदकहरू सबल र सफल भएको धारणा राख्नुभएको थियो ।
दशौँ साप्ताहिक उदक वाचन कार्यक्रममा उदक यात्री प्रेम थापा, लक्ष्मी बस्याल, सुमित्रा पोखरेल, केशब न्यौपाने, पुष्प राना, सरस्वती श्रेष्ठ ( रुपन्देही ), बादल वियोगी गुरूङ, सुरेशचन्द्र घिमिरे, वसन्त अनुभव, रोशन पराजुली, प्रद्युम्न चालिसे, कमला देवकोटा, पुष्पा सायरा, रमा पन्त, सविता केसी, सरस्वती वली राना, निर्मला सुवेदी, उर्मिला पन्त, गुणनिधि घिमिरे, लक्ष्मी प्रसाद मिश्र, नवराज भट्ट, घनश्याम पौडेल, कविता आचार्य, देवेन्द्र शाक्य, धर्मी शाक्य, जमुना कायस्थ लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।
उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनले उदकको सैद्धान्तिक अवधारणाको बारेमा जानकारी गराउँदै उदकमा पहिलो पङ्क्तिमा रहेको एक शब्दले परिचय, दोस्रो पङ्क्तिमा रहेका दुई शब्दले व्याख्या र तेस्रो पङ्क्तिमा रहेका तीन शब्दले निष्कर्ष दिनुको साथै उदक काव्यिक विधाको लघुतम रूप भएकोले काव्यिक भावका साथै आन्तरिक संरचनामा जोड दिन अनुरोध गर्नुभएको थियो ।
उदक साहित्य समाज नेपालका अध्यक्ष तथा काव्यिक विधा उदकका प्रवर्तक साहित्यकार आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उदक साहित्य समाज नेपालको महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।

काठमाडौ, १० पौष । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १४औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ५५ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिलामा उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १४औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का

बलात्कार हत्या हिंसा, गहना हुन् नेपालका,
जवाफ हुन् जनताका, अनैतिक सवालका ।
✍️ वसन्त अनुभव
***********************
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१//
बन्द आँखा अन्धाे कानुन हत्या हिंसा भयाे अरे,
धन बल शक्ति छ र छुट्छन् बाँकी कसुर ठरे ।
✍️
ताराप्रसाद चापागाईं, धादिङ्ग ।
*************************
२//
नमान लाज रत्तिभर अपराधलाई बढावा देऊँ
कानुनी संरक्षण दिदै तिमी अपराधीकै पक्ष लेऊँ ।
✍️
वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ
*************************
३//
बलात्कार गरेको छ राज्यका सब अङ्गले,
न्याय, इन्साफ मारेको, देखियो गैर ढङ्गले ।
✍️
अम्विका अधिकारी, झापा विर्तामोड
*************************
४//
जस्ले गर्छ हत्या हिंसा बलात्कार, उसैको हुन्छ ठुलो रवाफ ,
सरकार उसैलाई टेवा दिन्छ ,जनतालाई छैन जवाफ ।
✍️
बुद्धिमान चौधरी, कनकाई नगरपालिका ४ झापा
*************************
५//
हत्या हिंसा, बलात्कार कस्ले गर्याे भन्नु,
चाेख्याउछ कानुनले खै कस्लाई गन्नु ?
✍️
अच्युत घिमिरे- दोभान सर्पाङ्ग, भुटान
*************************
६//
हत्या हिंसा बलात्कारलाई जति सक्यो बढावा दिन्छु,
पीरै छैन कानुन छ खल्तीमा पुलिस पहिल्यै किन्छु ।
✍️
शर्मिला श्रेष्ठ, भैंसेपाटी,ललितपुर
*************************
७//
कानुन भएर पनि नभए जस्तो,
पशु झैँ नेपालमा बलत्कार कस्तो।
✍️
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”, पनौती-३,काभ्रे
*************************
८//
बलात्कार र हत्या हिंसा गहना हुन् यदि भने,
थुक्क तिमीभन्दा विवेकशील पशुपंक्षी बने ।
✍️
गुणनिधि घिमिरे #पाँचथर #मोरङ
*************************
९//
सानालाई ऐन ठूलालाई चैन हुने भएछ,
निमुखाले न्याय पाउने दिन त अब गएछ ।
✍️
गंगा खड्का, बूढानीलकण्ठ १, काठमाडौँ
*************************
१०//
हत्या हिंसा बलात्कार जस्तै भयो यहाँ खेल,
विचार ब्यवहारमा सधै नेताको वेमेल।
✍️
सुरेशकुमार पान्डे।दाङ घोराही१८
*************************
११//
अपराध गरी जसले धाक धक्कु लाउँछ,
उसैले नै सुनै सुनको फूली पनि पाउँछ।
✍️
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गाउँपालिका-६, दोलखा
*************************
१२//
नेताहरुले अवैधानिक चाेट दिए जनता माथि,
जनताले नि अनैतिक भाेट दिए थापी चाेक्टा पाथी ।
✍️
निरज कोइराला बेलका १ उदयपुर हाल: इटहरी
*************************
१३//
चोखो भयो बलात्कारी पाँच दिन बसी जेल ,
माला भिर्यो जुलुसमा, कति हेर्नु यस्तो खेल।
✍️
मनोहरी पौडेल, नवलपुर ,गैडाकोट
*************************
१४//
बलात्कार गरी हत्या हिंसा हुन्छ, आन्दोलन पर्ने गर्नु,
संरक्षण गर्छन् हत्यारालाई, पीडित सधैंभरि मर्नु?
✍️
भगवती दवाडी ,झापा
*************************
१५//
छैन् कानुन यहाँ बोलवालाकै छ जालझेल,
हेर्नुपर्छ दिनदिनै बढ्दै छ फोहरी खेल।
✍️
सुरेखा चाम्लिङ्ग, भक्तपुर
*************************
१६//
हत्या हिंसा बलात्कार त दिनहुुँको खेल,
हाम्रो कानुन कहाँ भाग्यो शान्ति तर्यो भेल।
✍️
इश्वरी अधिकारी
*************************
१७//
मानिसलाई मारेर गुण्डा शक्तिशाली बन्ने,
शक्तिकै खेल रह्यो मानव अधिकार भन्ने।
✍️
भूषण जंग, ललितपुर
*************************
१८//
सीतामाताको जन्मथलो भनिने यो नेपालमा,
चेलीबेटीहरु असुरक्षित देखिन्छ हालमा।
✍️
बी.कुलुङ, दार्जिलिङ (भारत)
*************************
१९//
सत्तामा टिक्न टिकाउन,बिक्न बिकाउन,
अनैतिक उपाए अरु, के छ सिकाउन।
✍️
होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
*************************
२०//
कुर्सी हत्याउन बलियो दाबेदारी झन,
एक, दुई अपराध देखाऊँ कति छन ?
✍️
म्यामराज राई,भोजपुर
*************************
२१//
देशको संविधान अनि कानुन,
बाठाको भयो सोझाले के जानुन।
✍️
बिके मुखिया, दार्जीलिङ, भारत।
*************************
२२//
भएका छन् नेता ठुला यस्तै काम गरी,
बस्दैछन् जनता मार चपेटामा परी।
✍️
अनुग्रह राना मगर ‘पुष्प’, संखुवासभा हाल मलेसिया
*************************
२३//
भ्रष्टाचारी, बलात्कारी र अपराधिलाई प्रोत्साहन र पदक,
फाँसीदेऊ राम्रो काम गर्ने, सत्य बोल्नेलाई हुन् देशका बाधक।
✍️
रामकुमारी खड्का
*************************
२४//
हत्या हिंसा बलात्कार दिन दिनै बढ्दै गयो,
त्यही कानूनको खोस्टो पनि नेताज्यूकै भयो ।
✍️
इन्दिरा देवकोटा, कपिलवस्तु न .पा .३
*************************
२५//
बलात्कार गर्ने संसदमा छन्, हत्या गर्ने मोजमा,
हामी लाग्नुपर्ने रातदिन अपराधीकै खोजमा ।
✍️
राजेशराज गड्तौला, रतुवामाई- १०, मोरङ, हाल- प्रवास
*************************
२६//
भ्रष्टाचारी बलात्कारीका हात माथी,
थिचोमिचोमा नै भए जनता साथी।
✍️
टिकाराम पुन (टिपु), सल्यान छत्रेश्वरी २
*************************
२७//
हत्याहिंसा, बलात्कार, ठान्दा रैछन् हतियार ,
स्वार्थ लुट्न पल्किएका, सत्ताका ती मतियार ।
✍️
केशवप्रसाद ढकाल `प्रीतबीज´,गाेरखा
*************************
२८//
दुखे पनि दुखे छैन भन्नु छोरी सहिदिनू,
दुनियाँका दुःख पीडा आफैँभित्र भरिलिनू।
✍️
पौडेल विमुन्स 💕 पोखरा कास्की 💕
*************************
२९//
कानुन माथि सवार गर्छ अपराधी कहाँ?
जवाफ आयो कसैको नेपाल देश छ जहाँ।
✍️
अनिल खग्रास, पर्वत
*************************
३०//
शासक र कानुन अन्धो भएपछि के गरोस् देशले?
तिनले त जानीजानी छोपेकै छन् आँखा कालो भेषले।
✍️
दीपक ठटाल जलन,खरसाङ,दार्जीलिङ।
*************************
३१//
बलात्कारी र भ्रष्टाचारीलाई सम्मान छ नेपालमा ।
कति बोल्नु हामी जनताले हत्याहिंसाको सवालमा ।
✍️
श्री लिम्बू आङ्बुहाङ पाँचथरे
*************************
३२//
हत्याहिंसा र बलात्कार गर्ने सबै ठूला-बडा हुन्छ,
मान सम्मान त्यस्तैलाई मिल्छ मान्छे पाउ सम्म छुन्छ।
✍️
अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ्ग,भारत।
*************************
३३//
हत्या हिंसा बलात्कारकै रजाइँ भयो देशमा,
दस नङ्ग्रा कसरी खियाउनु यो परिवेशमा ?
✍️
संझना (कुसुम)
*************************
३४//
देशमा कानुन छैन ठोस, के गर्नु खै रोष,
चल्छ सधै मनपरी तन्त्र, हुन्न कुनै दोष !
✍️
बिबश पारदर्शी, भद्रपुर न०पा० २ झापा
*************************
३५//
नेपालमा हत्या हिंसा बलात्कार धेरै हुन्छ ,
यो मेरो मन घरीघरी बेसरी यहाँ रुन्छ ।
✍️
बिक्रम तिरुवा सलिन, तिला गाउँपालिका ३ कुडारी जुम्ला
*************************
३६//
विधि विधान छ देशमा राम्रो पालना गरे पो हुन्छ
बलत्कार र हत्या गर्ने लाई नियमले कहाँ छुन्छ ।
✍️
सूर्यमणि रेग्मी, चितवन
*************************
३७//
दिन दहाडै हत्या अपराध हुन्छ मेरो देशमा,
रक्षक आफै भक्षक बनि आउँछ छद्म भेषमा ।
✍️
कर्ण दयाल, मेलौली नगर पालिका ७, बैतडी
*************************
३८//
हत्या हिंसा बलात्कार गर्न सक्छ जसले,
बुबा मन्त्री आमा नेता के गर्छ र कसले?
✍️
मन्दिरा सेढाई, मलेखु,धादिङ
*************************
३९//
हत्या हिंसा बलात्कार नै राष्ट्रका हुन् खेल ,
जो जो सक्छन् खेल्न तिनको हुन्छ पूर्ण मेल।
✍️
रामजी लामिछाने
*************************
४०//
अन्यायीको पक्षपोषण जो जसले गर्छ सुन,
हत्या हिंसा बलात्कारका भागिदार तिनै हुन।
✍️
बिके माकजु ,भक्तपुर ।
*************************
४१//
के के हुन्छ के के यहाॅ, हिजो भन्दा झनै आज,
गर्नेलाई भन्दा ज्यादा, देख्नेलाई हुने लाज।
✍️
घनश्याम पौडेल
*************************
४२//
मेरो चोटहरुले बिर्सने छैनन्, कस्तो लज्जाहीन कानुन,
आजै बलात्कार हत्याहिंसा बिरुद्ध बज्नेछ बिगुल धुन।
✍️
जिकुमार गौतम भद्रपुर -१ पृथ्विनगर झापा
*************************
४३//
भ्रष्टाचारी महोदय कानुन हात लिन्छन् ,
जनताका प्रतिनिधि उसकै साथ दिन्छन् ।
✍️
त्रिलोचन भण्डारी, झापा
*************************
४४//
बलात्कारी,हत्या, हिंस्रकलाई सधै मिल्छ चैन,
गरिब, दलित, निमुखाले बोल्न पाउने हैन ।
✍️
जमुना आचार्य, कपन काठमाडौं
*************************
४५//
हत्या हिंसा र बलात्कारले छ समाज विकृत भएको,
जनताले बनाएको सरकार खै जनतामा गएको ।
✍️
पुष्पाशायरा । बिराटनगर ।
*************************
४६//
छोरीको न्यायको लागि बुबा अदालत धाउने,
बेचिएकाे न्यायालयबाट उल्टै पिडा पाउने।
✍️
सुमिना तिमल्सिना, भक्तपुर
*************************
४७//
हत्या हिंसा किन घट्थ्यो कानुन उनकै हात,
जनता हामी उस्तै सबै बढाइदिन्छौं मात ।
✍️
कमला देवकोटा, पाल्पा
*************************
४८//
घातक एमसिसि’को चलायो तीर,
पास नभए त उडाउँछ रे शिर ।
✍️
रिजाल विनोद, बेलबारी ०२ मोरङ
*************************
४९//
बलात्कार हत्या हिंसा,भए नेपालका खजाना,
जनता भुलाउने आश्वासन नेताका बहाना ।
✍️
दुर्गा भट्टराई, मोरङ
*************************
५०//
बलात्कार ,अन्याय, घुसखाेरी ,दुई नम्बरी जसले गर्छ,
संरक्षित हुन्छ त्यही मान्छे यहाँ जसको मन्त्री आफ्नाे पर्छ।
✍️
रामकृष्ण रिजाल, बा न पा १३ बागलुङ
*************************
५१//
रातोदिन हत्या हिंसा बलात्कार आफै बन्छ हतियार,
दुख लागेर आउँछ गरिबकै सधैं भएको छ हार ।
✍️
सहयात्री शाेभा अर्याल, रुपन्देही बुटवल
*************************
५२//
नेपालमा बलात्कारको त फेसन नै भयो,
नियम कानुनको कुरा गर्ने खै कता गयो?
✍️
ललिता अभागी, सुनकोशी५ सिन्धुली
*************************
५३//
बाबु, दाइ, काका घरकैबाट ईज्जत् लुटिने डर,
अब कहाँ जानु, कता भाग्नु र कसको गर्नु भर?
✍️
दुर्गा आचार्य, मोरङ
*************************
५४//
हिंसाप्रेमी प्रभु आफैं उनै रच्छन् बलात्कार,
आउ आजै ख्वामितलाई चढाऔँ उपहार।
✍️
रामकृष्ण दुवाडी
*************************
५५//
हत्या हिंसा बलात्कार गर्नेलाई उनै गर्छन् सम्मान जान,
सिधासाधा सत्यमा हुनेलाई गर्छ न्यायले त्यो अपमान ।
✍️
बेदु न्यौपाने काठमाडौ
*************************
जय टुक्का ! जय साहित्य !!

दाङ, घोराही । दाङ जिल्लामा अवस्थित सिद्ध रत्ननाथ मठ चाैघेरा दाङद्वारा संचालित गाेरखनाथ वैदिक गुरुकुललाई करिब पन्ध्र हजार रकम बराबरको सामग्री सहयोग प्राप्त भएको छ । उक्त सामग्री घाेराही निवासी तन्त्र गुरु पदम बस्नेतले प्रदान गर्नुभएको हो।
सहयोग गरिएको सामग्रीमा २८थान धाेति ,२५ थान आसनि २ थान तामाकाे अमखाेरा रहेका छन् । आफ्ना पुजनिय पितालाई मठको दर्शन गराउन ल्याउनु भएका दाता बस्नेत मठको कार्यक्रममा सरिक भइ उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रमका प्रमुख अतिथि मठाधीश पीर याेगी सन्ताेषनाथले दाता परिवारलाई फूलमाला लगाई सम्मान गर्नुभएकाे थियाे । उक्त अवसरमा सम्मानित व्यक्तित्व तन्त्र गुरु पदम बस्नेतले गुरुकुललाई सहयाेग गर्न पांउदा खुसी लागेकाे र आगामी दिनमा पनि गर्दै जाने प्रतिबद्धता जनाउनु भयो। दाता बस्नेतले विगतमा पनि पटकपटक धोती, आसनी, तामाको भाडो, रुद्राक्ष लगायतका सामग्री सहयोग गर्दै आउनुभएको छ ।
उक्त कार्यक्रममा गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले गुरुकुललाई जति जतिबेला समस्या पर्छ, त्यति त्यतिबेला गुरु गोरखनाथले दाताहरूलाई पठाउने गरेको आशय व्यक्त गर्नुभयो । कार्यक्रममा मठका साधु,सन्त,गुरुकुलका शिक्षक परिवार सबैकाे सहभागिता रहेकाे थियाे ।



१.
मानव
भगवानको वरदान
बन्ने कर्मले महान !
२.
कर्णाली
सुन्दरताको धनी
सयौं अमुल्य चिजहरु !
३.
नेपाल
सुन्दर भुमी
यसैमा नालायकको जन्म !
४.
राष्ट्र
सिध्याउने खेल
भ्रष्टाचारी नेता धेरै !
५.
सपना
अमुल्य उपहार
सबैको होस् बराबर !
६.
उदक
उत्कृष्ट रचना
हृदयको धेरै कल्पना !
७.
समृद्धि
हासिल अवश्य
सदैव कर्म मेहनत !
८.
विगत
आँखा अगाडि
देख्नु छ पछाडि !
९.
विकास
चौतर्फी एकनास
आओस् जोश जाँगर !
१०.
मायामा
धोका उपहार
मुटुमा छुराको धार !
११.
निर्माण
सबैको सोचमा
बनाउन सके बलियो !
१२.
श्रृङ्गारले
भरिपूर्ण नारी
पापी आँखाहरुको नजर !
१३.
हिउँदमा
अत्याधिक जाडो
चिसोबाट जोगिन आवश्यक !
१४.
प्रिया
मनकी मान्छे
तिम्रै माया अथाह !
१५.
फुलबारीमा
फुल्दै फुलहरु
बिना कुनै भेदभाव ।
✍️ बिक्रम तिरुवा सलिन
तिला गाउँपालिका ३ कुडारी जुम्ला

१.
ऐना
देखाउने प्रतिबिम्ब
टुटे कहिले नजाेडने !
२.
समुद्र
जलकाे भण्डार
बादल वर्षाकाे श्राेत !
३.
भाेजन
पेटकाे पुजारी
त्यसैकाे लागि भिखारी !
४.
माछा
पानीकाे बास
नहुने कसैकाे आस !
५.
चिया
सत्कारकाे साधन
दुध चिनी पानी !

काठमाडौ, १० पौष। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३२ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

१//
बाध्यता
दुखको भारी
अविरल जीवन यात्रा!
✍️
राजाराम रत्गैंया अमौरा कैलाली
२//
उदक :
अतुलनिय
निस्वार्थ माया
कर्तब्यपथमा आमाको हृदय !
✍️उर्मिला पन्त पाण्डेय, ज्ञानेश्वर , काठमाण्डौँ
३//
आमा
श्रद्वाकि देवी
जीवन दिएर बँचाउने!
✍️
राेशन पराजुली,धरान।
४//
आमा
ममताकी खानी
संघर्षको अमिट कहानी !
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
५//
पद्धति
मेरो देश
सन्तानको भविष्य आमा!
✍️
गुणनिधि घिमिरे #पाँचथर
६//
आमा
संघर्षरत प्राणी
ममताकी विशाल खानी!
✍️
सरस्वती श्रेष्ठ इटहरी
७//
आमा
लगाएको भार
ममताकाे अथाह सागर!
✍️
भवानी घिमिरे
८//
आमा
गर्छिन् संघर्ष
आफ्नो सन्तानको लागि !
✍️
राज कुमार राजभण्डारी खाेटाङ्गे
भक्तपुर ।
९//
आमा
दुईतिर भारी
ममताले भरिएको फूलबारी !
✍️
सविता के.सी., काठमाडौँ ।
१०//
जिन्दगी
उकाली ओराली
पीडा मिश्रित जिम्मेवारी !
✍️
आर्त अकुलीन, कैलाली
११//
काँधमा
जिम्मेवारी बाेकेर
संघर्षरत जिन्दगी नारीको!
✍️
सावित्री अधिकारी
१२//
ममता
आमाको स्नेह
मायाको न्यानो स्पर्श!
✍️
केशब न्यौपाने, नुवाकोट
१३//
भारी
शारिरीक भन्दा
मानसिक ठूलो जिम्मेवारी!
✍️
घनश्याम पौडेल
१४//
आमा
ममताकि खानी
कर्मसँगै कर्तब्य बाेध!
✍️
सुरेशचन्द्र घिमिरे
१५//
नारी
लिन्छन् जिम्मेवारी
लक्षिन भित्र्याउने सवारी!
✍️
इश्वरी अधिकारी
१६//
आमा
पिठ्युमा भारी
सन्तानको शितल छहारी!
✍️
बलराज गिरी
कैलाली
१७//
संघर्ष
बाँच्न बाध्यता
धर्तिमा एकमुठी श्वास!
✍️
कण्ठराज गिरी
क्यानवेरा अष्ट्रेलिया
१८//
जननी
ब्रम्हाण्डमै अतुलनीय
माया जिम्मेवारी निस्वार्थकाे!
✍️
मुना दाहाल
१९//
अामा
मायाकी खानी
भाग्य विधाता जननी!
✍️
अाेम प्रकाश मदुवा, कैलाली
२०/
स्त्री
अपार शक्ति
अटुट मायाको खानी!
✍️
राम बहादुर चौधरी, मनकामना, गोरखा।
२१//
आमाको
नाम्लो माथमा
जिम्मेवारी बोकेर काँधमा!
✍️
बालकृष्ण खनाल
२२//
परिवार
आफ्नै संसार
चलाउनु छ घरवार!
✍️
कृष्ण जोशी,
मेरिलायन्ड, अमेरिका
२३//
आमा
ममताकी खानी
दायित्व ,व्यवहार संरक्षण!
✍️
प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे
२४//
जीवन
जीउनु छ
पीडको भारी बोकेर!
✍️
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती -३,काभ्रे
२५//
वाध्यता
दाउराकाे भारी
आमा बच्चाकाे पियारी!
✍️
नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर।
२६//
नारी
ममताकी खानी
बुझ्ने सधैं जिम्मेवारी!
✍️
सुधा बाँस्कोटा ढकाल
२७//
सन्तान
आमाको जिम्मेवारी
यथार्थ जीवनको भारी!
✍️
विनय तामाङ /भक्तपुर
२८//
आमा
निस्वार्थ प्रेम
गर्छिन् पुरा जिम्मेवारी!
✍️
धनमाया चौधरी कैलाली
२९//
आमा
जिम्मेवारी मायामा
अथक सौम्य कायामा!
✍️
प्रेम थापा
३०//
आमा
सन्तानको मुख
हेर्न चाहन्छिन् सुख!
✍️
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
३१//
आमा
मेरो भगवान
सदा आँखाको नानी !
✍️
बिन्दु पौडेल, दाङ
३२//
सौम्य
कायाको ममता
असिमित हेर दायित्व !
✍️
कमला देवकोटा, पाल्पा
३३//
आमा
ममताको खानी
बचाउँछ बालकको जिन्दगानी!
✍️
देवेन्द्र राज शाक्य
३४//
कर्तव्य
निष्ठा अपरम्पार
माताको ममता असीमित!
✍️
सोमनाथ लुइटेल “रवि पाल्पाली”
३५//
जननी
रमेकी धर्तिमा
आफ्नो सन्तानको मोहमा!
✍️
इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३
३६//
जननी
सन्तानकी भगवान
माया ममताकी खानी ।
✍️
सरस्वती वली
बर्दिया नेपाल
३७//
आमा
सन्तानको हितमा
हिड्दै मरिहत्ते गरि!
✍️
सुशीला पौडेल
३८//
कहानी
आमाको ममता
फूलेको हाम्रो जीन्दगानी!
✍️
हिमाल अम्मै घोडाघोडी कैलाली
३९//
आमा
धर धर्तीको
रुप शक्ति दुर्गाको!
✍️
मित्र कुमार आचार्य,काठमाडौं ।
४०//
आमा
ममताकी खानी
जन्मभुमिकी निस्वार्थ दानी!
✍️
टिकाराम पुन टिपु
सल्यान छत्रेश्वरी २
४१//
अामा
ममताकी खानी
सन्तानकी मायाकी रानी!
✍️
इन्दिरा ज्ञवाली
४२//
जननी
सन्तानको माया
मुटुको हरेक धमनी!
✍️
पशपती राई खोटाङ
४३//
अामा
सन्तानकाे जिम्मेवारी
थाक्दिनन् बाेकेर भारी!
✍️
रामराजा के. सी.
फर्पिङ, काठमाडौं
४४//
नारी
आमाको जिम्मेवारी
पिठ्युंँमा बाध्यताकाे भारी ।
✍️
नारायण प्रसाद उपाध्याय , कैलाली
४५//
जननी
ममताको खानी
मायामा भुलेको पीडा!
✍️
चेत राज जैशी
हाल UAE.
४६//
आमा
निस्वार्थ प्रेम
सन्तान मुटुको ढुकढुकी!
✍️
प्रभादेवी पौडेल
चितवन
४७//
मातृवात्सल्य
जिम्मेवारी बाेध
मातापिता पूज्य सर्वमान्य!
✍️
खड्गबहादुर गुरुङ बुटवलबाट ।।
४८//
आमाको
अचम्मको माया
सन्तानप्रती छैन छाँया!
✍️
बिक्रम तिरुवा सलिन
जुम्ला
४९//
जिन्गी
उभरखाभर दिन
प्रभाव ओ अभाव!
✍️
सागर कुस्मी, कैलाली
५०//
आधुनिक
प्रविधिको प्रयोग
मान्छे भड्काउने अवस्था!
✍️
नारायण कोइराला
युएई
५१//
आँखामा
आँसु रोकेर
हिड्छौँ दु:ख पोखेर
✍️
श्री लिम्बू आङ्बुहाङ पाँचथरे
५२//
संसार
जननी भगवान
आमाको माया अपरम्पार!
✍️
रिता खराल,रुपन्देही
५३//
आमा
ममताकी खानी
दुनियाँ जगतकै दानी!
✍️
केशवप्रसाद ढकाल `प्रीतबीज´
गाेरखा
५४//
अदृश्य
काँधमा जिम्मेवारी
सबैभन्दा महान आमा !
✍️
कविता आचार्य, कैलाली
५५//
रुचि
ममताको सुरुचि
अामा हुन्छिन् पौरखी।
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
५६//
आमा
पीडा सहेर
लालनपालन गर्दछिन् हेर!
✍️
धर्मी शाक्य
५७//
माता
निभाउनु पर्ने
कर्तब्य बोधको गाथा!
✍️
नुमा खालिङ्ग राई
ईटहरी – 2 सुनसरी
हाल – साईप्रस
५८//
आमा
जिम्मेवारी बहन
सन्तानलाई प्रेमिल भाव!
✍️
खेमराज पुरी कैलाली
५९//
माता
हरेक सन्तानमा
माया ममता समानता!
✍️
बिके माकजु, भक्तपुर ।
६०//
आमा
ममताकी खानी
संघर्षको लामो कहानी !
✍️
सहयात्री शाेभा अर्याल
रुपन्देही, बुटवल
६१//
मातृत्व
दृढ सहनसिलता
अनि महत्वपूर्ण जिम्मेवारी!
✍️
गृष्मा पौड्याल
टोकियो जापान
६२//
आमा
असीम दायित्व
सम्हाल्दै अपार जिन्दगी!
✍️
रमेश प्रभात
६३//
सन्तानको
लालनपालनमा समर्पित
ममताकि खानि आामा!
✍️
मंगला उपाध्याय
बारा कलैया १
६४//
मातृत्व
काँधमा जिम्मेवारी
थाक्दिनन् संघर्ष गरि!
✍️
श्रद्धा आचार्य , पोखरा
६५//
बाध्यता
पारिवारिक अबस्था
झेल्नुपर्ने अनाहकका समस्या!
✍️
रामकृष्ण दवाडी
६६//
आमा
बोक्दै भारी
श्रृष्टिकाे पक्का जिम्मेवारी!
✍️
चन्द्रावती अधिकारी
६७//
आमा
सन्तानको जिम्मेवारी
सहेर बोझ कठैबरी!
✍️
सरस्वती श्रेष्ठ
६८//
भारी
फूलको थुङ्गा
आमाको कर्तव्य पथमा!
✍️
समुन्द्रा शर्मा
६९//
बालक
बनतरुल आहार
आमालाई सास्ती अपार!
✍️
जमुना कायस्थ, पोखरा
७०//
माता
जिम्मेवारीको बोझ
सन्तानको भविष्य निर्माता!
✍️
जीवन न्यौपाने
७१//
आमा
काधँमा जिम्मेवारी
सुखी सन्तुष्ट छोराछोरी!
✍️
सुमित्रा पोखरेल
७२//
चिसो
बाचौँ बचाऔँ
मानव वस्ती जोगाऔँ!
✍️
अबोध निर्मल, कंचनपुर
७३//
जननी
सन्तानकाे माया
कर्तव्य पथमा सदासर्वदा!
✍️
लता पौड्याल निरौला
७४//
धरतीमा
स्वर्गीय आनन्द
आमाको ममतामयी साथ !
✍️
टीकाराम जाेशी, टीकापुर
७५//
आमा
कठिन परिस्थिति
सामना गर्न तत्पर !
✍️
अस्मिता राउत, सोलुखुम्बु
७६//
आमा
सन्तानको माया
प्राणभन्दा पनि प्यारो!
✍️
रमा पन्त
पाल्पा
७७//
मातृत्व
सन्तानका लागि
प्राण भन्दा प्यारो!
✍️
विष्णुदीप सङ्कल्प
भक्तपुर
७८//
प्राण
राख्दै दाउमा
जननी सन्तानका लागि!
✍️
बिमला आठपहरिया राई – धनकुटा
७९//
सजिलो
बन्ने जीवन
मात्र आमाको मायाले!
✍️
पुष्पाशायरा । बिराटनगर ।
८०//
अामा
मायाकी खानी
खप्छिन् सबै हैरानी!
✍️
ताेयानाथ सुवेदी
८१//
आमा
पृथ्वीको जन्मदाता
दु:खमा सुखको आभास!
✍️
मिलन के.सी.(थापा)पोखरा
८२//
मातृत्व
आमाको जिम्मेवारी
सर्वत्र उनको दायित्व!
✍️
तिला लेकाली!
८३//
आमा
धरती सदृश
सदा हृदयकी खानी!
✍️
गोपालप्रसाद पाैड्याल
विराटचोक, मोरङ
जय उदक! जय साहित्य!!

*********************
१
संसारमा एक सानो छ देश नेपाल नामले,
बिहानै सेतो सुन्दर हिमाल टल्किने घामले ।
२
बिहानै लाली उषाको किरण पँहेलै पाखामा,
कोइली गर्छ कुहु मा कुहु रमाईलो भाखामा ।
३
पाखा र पर्वत खोला र नाला पहाड तराई,
नेपाल हाम्रो नेपाली हामी कोही छैन पराई ।
४
लेक र बेँशी डाँफे र मुनाल न्याउली बासेको,
उत्तरमा हेर सुन्दर सेतो हिमाल हाँसेको ।
५
नेपाली वीर विश्वका कुना कुनामा पुगेर,
देशको शान नबढी मान फर्कन्न झुकेर ।
६
गाउँ घरका गरिब दुखी माग्दैछन् गुहार,
सुनेर दैव शान्त्वना देउ आमाको पुकार ।
७
जस्ताको तस्तै मिलाई राख्नु देशको आकार,
राष्ट्रका सबै जनताहरु हुनेछन् आभार ।
८
रोजगारी छैन् स्वदेशमा हाम्रो केही छैन् आधार,
अर्काको देशमा गएर युवा बटुल्छन् आहार ।
९
सोझो र सिधा काम गर्नु नत्र पोल्ने छ पापले,
भोका र नाङ्गा दुःखी र गरिबको अभिशापले ।
१०
बिदेशको दाउमा नपार देश होला है धराप,
दुखेर देश सन्तान शाखाले नगरुन सराप ।
११
सतिको श्राप परेको छ रे त्यस्लाई पञ्छाऔं,
असल कर्म गरेर अब त्यो श्राप मञ्छाऔं ।
१२
सत्कर्म गरौँ हटाउँ अब सतिको सराप,
सबैले मिली यो देश अब नपारौँ धराप ।
———-+——-
गुणनिधि घिमिरे #पाँचथर

टुक्का एक काव्य विधा अन्तर्गतको एक नविनतम प्रविधाको रुपमा चिनिन्छ । जसमा समान अक्षर संख्या भएका दुई हरफ मात्र रहेका हुन्छन्। जसमा पहिलो हरफले विषयवस्तुको उठान र बिस्तार गर्दछ भने दोस्रो हरफले समर्थन र समापन गर्दछ।
टुक्का छन्द र स्वच्छन्द रुपमा लेख्न सकिन्छ तर अन्त्यानुप्रास अनिवार्य हुनुपर्दछ । टुक्का सम्पूर्ण रसमा लेख्न सकिन्छ । हाल टुक्का ५ अक्षर देखि २७ अक्षरको सिमा भित्र रहेर लेख्न सकिन्छ । जसको नमूना यहाँ प्रस्तुत गरिएको छ ।
टुक्का कविता (अक्षर संख्या – ५ )🌹
गाउँको माया,
धमिलो छाया ।
टुक्का कविता (अक्षर संख्या – ६ )🌹
सरकार हाम्रो,
आहा ! कति राम्रो ।
टुक्का कविता (अक्षर संख्या – ७ )🌹
खोइ आँसु झरेको,
मानवता मरेको ।
टुक्का कविता (अक्षर संख्या – ८)🌹
दु:खपीडा जिउँदैछ,
रक्त आँसु पिउँदैछ ।
टुक्का कविता (अक्षर संख्या – ९)🌹
दुनियाँको के बात गर्नु,
पार्दछ दोसाँधमा मर्नु ।
टुक्का कविता (अक्षर संख्या – १० )🌹
ध्यान खिच्दछ बोली चर्कैले,
लगायो भाड्यो कुरा अर्कैले ।
टुक्का कविता (अक्षर संख्या – ११ )🌹
आँसुको के विश्वास त्यसै झर्छ,
दु:ख होस् वा खुसी वर्षात गर्छ ।
टुक्का कविता (अक्षर संख्या – १२ )🌹
सबैको दिन आउँछ भन्छन् हेर,
प्रयत्न त्यसै कहिल्यै जादैन् खेर ।
टुक्का कविता (अक्षर संख्या – १३ )🌹
खै किन हो जिन्दगी जेलजस्तै लाग्छ,
हरेक् दिन जेल तोडेर कैदी भाग्छ ।
टुक्का कविता (अक्षर संख्या – १४ )🌹
सोचेजस्तो जीवन सहज हुने भए,
स्वर्ग बन्थ्यो धरती रहर पुग्दै गए ।
टुक्का कविता (अक्षर संख्या – १५ )🌹
मेरो हारमै तिम्रो जीतको उमंग थियो,
हेर्दा लाग्दथ्यो उता बल्दैथ्यो उज्यालो दियो ।
टुक्का कविता (अक्षर संख्या – १६ )🌹
फुटेको रहेछ भाग्य, रहेछु साह्रै अभागी,
निर्दोष म हुदाहुदै, संझन्छन् मलाई दागी ।
टुक्का कविता (अक्षर संख्या – १७ )🌹
राखेको थिएँ नयनमा, सजाएर तिमीलाई,
वर्षियौं मुसलधारे पानी झैँ हुरीसँगै आई ।
टुक्का कविता (अक्षर संख्या – १८ )🌹
मान्छेमा अब मानवता रहेन् बनेको छ पत्थर,
धोका दिनसक्छ जतिबेला पनि छैन कुनै भर ।
टुक्का कविता (अक्षर संख्या – १९ )🌹
जिन्दगी एक जुवा रहेछ जसरी पनि खेल्नैपर्ने,
जीत होस् या हार नै बाध्यतामा चुपचाप झेल्नैपर्ने ।
टुक्का कविता (अक्षर संख्या – २० )🌹
बारबार चोट दियौं तिमीले, नियति संझी सहि बसेँ,
गुनासो गरेन् कसैसँग कहिल्यै आँखाबाट बरू खसेँ।
टुक्का कविता (अक्षर संख्या – २१ )🌹
बाउले छोरी भन्दैनन् अचम्म नत भन्दछ छोराले आमा,
कतिबेला मेटिने हो अस्मिता कठै सुटुक्कै खुलेर जामा ।
टुक्का कविता (अक्षर संख्या – २२ )🌹
आलोचना मात्र गर्छौं सधैं सरकारको भुली कर्तव्य किन?
तिमी को हौं यो राष्ट्रको? हेर मनुवा पहिले आफूलाई चिन ।
टुक्का कविता (अक्षर संख्या – २३ )🌹
खेल्यो अचम्मैको खेल यो जिन्दगीले आज जिउनु न मर्नु पार्यो,
कहिल्यै हरेस खान्न भन्नेले पनि लक्ष्य नचुम्दै बिचैमा हार्यो ।
टुक्का कविता (अक्षर संख्या – २४ )🌹
अन्यायमा छ न्याय आफैं आजकल, हेर न्यायको गुहार माग्दैछ,
संरक्षक नै मिच्दै हिड्छ्न् कानुन हरकदम राष्ट्र कता लाग्दैछ।
टुक्का कविता (अक्षर संख्या – २५ )🌹
नेताकै छ चुरिफुरी जताततै, देख्छु उनकै रोब र हालीमुहाली,
भलै ती अनपढ नै सही, सत्ता जमाएका छन्, गाएरै आहा कौवाली ।
टुक्का कविता (अक्षर संख्या – २६ )🌹
भन्दथे खाएको विषमात्र लाग्दछ तर नखाएको पनि लाग्दोरहेछ,
ग्रह दशा बिग्रिएपछि जीवनमा मरेका समस्या पनि जाग्दोरहेछ ।
टुक्का कविता (अक्षर संख्या – २७ )🌹
आरनको ताप सहन्छ हतौडोको धाप सहन्छ बल्ल पो बन्छ तरवार,
दु:खपीडा सहेर अनुशासनमा रहेर मात्र सुनौलो बन्छ घरबार ।
©️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका – १४, दाङ

दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भइ थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार हिजाे अस्पतालबाट भागेको प्रहरीले जनाएको छ ।
परियार छालाको उपचारका लागि अस्पताल गएका बेला त्यहीबाट भागेका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिनुभयो । उनी प्रहरी जवान धनबहादुर चौधरीसँगै लु३४प ४१० नंको मोटरसाइकल चढेर अस्पताल गएका थिए । उपचारका लागि हत्कडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको बताइएको छ ।
घटनाबारे चौधरीले दिउँसाे ४ बजेतिर मात्रै जानकारी दिनुले पनि आशङ्का गर्ने प्रशस्त आधार देखिएकाले प्रहरी जवान चौधरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो । २० वर्ष कैद सजाय तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए ।
परियारको खोजीमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।