• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा टुसास द्वारा ‘टुक्का लेखन शृङ्खला – ३३’ सम्पन्न; १०४ जना टुक्काकारको सहभागीता

  • २५ फाल्गुन २०७८, बुधबार १०:०९ मा प्रकाशित
  • काठमाडाैँ,
    टुक्का साहित्य समाज नेपालले यहीँ फागुन २४ गते ११२ ओैँ अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३३” सम्पन्न गरेकाे छ ।

    उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट १०४ टुक्काकारहरूकाे सहभागिता रहेकाे टुक्का कविताका प्रवर्तक एव शृङ्खला प्रशिक्षक ताराप्रसाद चापागाईंले बताउनुभयो। कार्यक्रमका सहभागी टुक्काकारहरूका टुक्काहरू लैङ्गिक समानता तथा नारीका हक अधिकारका बारेमा बोलेका चाेटिला रहेकोे पनि जानकारी दिनुभयो ।

    टुक्का साहित्य समाजको अध्यक्ष समेत रहनुभएका चापागाईंले कार्यक्रमकाे समापन गर्दै नारी र पुरुष एक रथका दुई पाङ्ग्रा भने झैँ दुवैमा समान हक र अधिकार सुनिश्चित हुनु पर्ने, लिङ्गकाे आधारमा भेदभाव, अन्याय र शाेषण कसैबाट पनि हुनु नहुने कुरामा सबै सचेत हुनु पर्ने कुरामा जाेड दिँदै सम्पूर्ण स्रष्टाहरूलाई सहभागीताका लागि धन्यवाद दिनुभयो । साथै सम्पूर्ण टुक्काकार लगायत विश्वका समस्त नारीहरूमा अन्तर्राष्ट्रिय नारी दिवसकाे हार्दिक बधाई तथा शुभकामना पनि व्यक्त गर्नुभयो । 

    अभ्यासका क्रममा सङ्कलन गरिएका लैङ्गिक समानता तथा नारी दिवस सम्बन्धी चाेटिला टुक्का कविताहरू

    [१]
    परापूर्व कालदेखि नारी दबिएका थिए
    धेरै सङ्घर्ष गरि समान अधिकार लिए ।
    ✍️ ताराप्रसाद चापागाई
    धुनिबेसी ।

    [२]
    दृष्टी हुनैपर्छ छोराछोरीलाई समान हेर्ने,
    पुरुष प्रधान समाजलाई अब छिट्टै फेर्ने।
    ✍️ सुरेशकुमार पान्डे
    दाङ घोराही-१८

    [३]
    हृदय देखी सम्मान, ती विविध रुप देशका नारीका,
    हक अधिकारको आफ्नो लडाइँ, विरुद्ध जुँघा दारीका।
    ✍️ प्रदीप के रिमाल
    इटहरी-८, सुनसरी

    [४]
    नारीवादी दिवस होइन मनाऔं श्रमिक महिला दिवस
    पहिचान गर्न सिकौं कुन कुन महिला छिन् साँच्चिकै विवश।
    ✍️ रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    [५]
    नारी पनि पुरुष समान
    खराब कुरा सधैँ नमान ।
    ✍️ अरुण नदी खत्री
    काठमाडाैँ  ।

    [६]
    नारी पुरुष समानको राखौं दृष्टि,
    चल्दैन कहिल्यै नि नारी बिना सृष्टि।
    ✍️ शर्मिला श्रेष्ठ
    भैंसेपाटी, ललितपुर ।

    [७]
    गलत विचारलाई प्रश्रय नदिनु
    दु:ख पाइन्छ अाफैँले आश्रय नलिनु ।
    ✍️ अनुराग अरुण
    काठमाडाैँ ।

    [८]
    एक रथका दुई पाङ्ग्रा यिनै नारी मान्नु
    नहेप्नु गृह लक्ष्मी महान भनेर जान्नु ।
    ✍️ रश्मि रिमाल
    झापा ।

    [९]
    आमा, दिदी, बहिनी, अर्धाङ्गिनी समेत हुन नारी
    माया, प्रेम र स्नेह दिन्छन् दुखबाट सुखमा तारि ।
    ✍️ पवन कुमार बुढाथेाकी
      काठमाडौं

    [१०]
    युगौँ युग देखि जिम्मेवारीको बोझ बोक्तै आएकि थियौ नारी
    शिक्षा, सभ्यता र आधुनिकताले हलुको बनाई दियो भारी।
    ✍️ प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    [११]
    नारी सृष्टि धराकी ममता कि खानी
    अपमान गर्छौ किन तिमी अज्ञानी ।
    ✍️ सुर्य मणि रेग्मी
    चितवन ।

    १२]
    दु:ख पीडा त्याग्दै मुस्कुराउँदै परिवारमा कैद छिन् दुनियाँ सारी,
    हरक्षण सबैलाई उज्ज्वल प्रकाश छर्ने शक्तिको रुपहो नारी।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [१३]
    नारी निरीह हुनुहुन्न शक्ति छ तिमीमा विशेषत
    कोटामा सिमीत हैन है सम्माननीय छौ निशेषत ।
    ✍️ पुष्पशायरा । बिराटनगर ।

    [१४]
    नारीत्वको सम्मान गरौँ
    माया प्रेम जगमा छरौँ ।
    ✍️ रतन पाण्डे’पारतन’
    दार्जीलिङ।

    [१५]
    भक्ती गरौँ सबै मिलि अब हाम्रा नारीको
    आशा नगर्नु कहिल्यै घर देखि पारिको ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [१६]
    सशक्त र परिपक्क बनेर नारीमय,
    कति बस्छाै दबिएर तिमी बन्दै सदय।
    ✍️ होम प्रसाद नेउपाने
    धरान ।

    [१७]
    हुनैपर्छ जागरुक हामी नारी पाइला अघि चाल
    बुलन्द भइ अत्याचारी कुदृष्टिका तोड्नुपर्छ जाल।
    ✍️ ओमकुमारी बन्जारा
    काठमाडाैँ ।

    [१८]
    काम गर्ने ठुलै दम छ नारीमा
    अधिकार भने नम छ सारीमा।
    ✍️ परिक्रमा श्रेस्ठ
    धरान- १५, सुनसरी ।

    [१९]
    अधिकार मात्रै नखोजौँ कर्तव्य पनि त गर्नुपर्छ,
    महिला पुरुष बराबरी कर्ममा अघि सर्नुपर्छ।
    ✍️ नानीबाबा अधिकारी
    काठमांडौ ।

    [२०]
    लेख्ने गर्दछु हरेक पानामा नारीको जीवन कहानी
    छन् शंकास्पदका धारणा सच्चाइ खोज्दै यो शुभ बिहानी।
    ✍️ अम्विका अधिकारी
    झापा विर्तामोड ।

    [२१]
    नारी पनि छोरी हो गर्भमा मार्ने नगर्नु,
    स्वतन्त्रता कापीमा हैन हृदयमा छर्नु।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही -१४, बुटवल ।

    [२२]
    नारी नै हुन हामीलाई संसार देखाउने
    दु:ख कष्ट साथ दिई भविष्य लेखाउने ।
    ✍️ प्रेम सुनार
    दैलेख ।

    [२३]
    आधा आकाश काँधमा राख्ने विश्वका महिला
    समान दृष्टि सदा राखौँ स्थान दिई पहिला ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा ।

    [२४]
    शुभकामना छ सम्पूर्ण ती विश्वका नारीलाई
    जसले गोड्दछन् प्रेमले संसारको बारीलाई।
    ✍️ दीपक ठटाल जलन
    खरसाङ।

    [२५]
    जहाँ हुन्छ नारी सम्मान तहाँ रम्छन् रे देवता,
    लैङ्गिक विभेदको अन्य होस् रमून नारी तता।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका – १४, दाङ

    [२६]
    रथका दुई पाङ्र्गा हुन् नारी पुरुष तैपनि
    कानले मात्र सुनिन्छ बाेलेर मात्र हुदैन नि ।
    ✍️ सावित्री न्यौपाने
    काठमाडाैँ ।

    [२७]
    नारी भनि भाषण गर्छन् भित्रै दबाएर
    अधिकार ती दिने कुरा पाखा लगाएर।
    ✍️ ललिता अभागी
    सुनकोशी-५, सिन्धुली ।

    [२८]
    नारी घरकी लक्ष्मी सधैँ सबैको इज्जत,
    सम्मान गरे घर उज्यालो बन्छ सतत।
    ✍️ म्यामराज राई
    हतुवागढी-६,भोजपुर

    [२९]
    संघर्ष र साहस बोकेर हिड्ने नारी हुन्
    अजम्मरी छ उनको माया भुल्न हुन्न गुन् ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया ।

    [३०]
    सोच बद्लेर अगाडि बढ्नुपर्छ अब नारी
    हलुका हैन निपूर्ण बन्दै हुनुपर्छ भारी ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ ।

    [३१]
    दिवसले मात्र खुसी हुँदैनन् यी नारी
    बलात्कारी हत्याराको उछित्तो नपारी।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर ।

    [३२]
    खै सकेको ? अधिकार नी लिन चाहेजती
    नारी नै छन् मन्त्री पनि देशको राष्ट्रपति ।
    ✍️ ईशहाक हुसैन
    जितपुर सिमरा १४  बारा ।

    [३३]
    एउटा सिक्काका दुई पाटा पुरुष र नारी,
    अवसर पाए सिँगार्छन् लोक चिटिक्क पारी।
    ✍️ गंगा खङ्का
    बूढानीलकण्ठ काठमाडौँ ।

    [३४]
    मानवताको व्यवहारले महिला उत्थान हुन्छ
    अधिकारको उपयोगले नै नौलाे बिहानी छुन्छ।
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १, नवलपुर ।

    [३५]
    जन्म देखि मृत्यु सम्म साथ दिने नारी
    जति बाेझ थपे पनि बाकेकै छ भारी।
    ✍️ प्रेम कला चापागाईं( सिटौला )
    मेचीनगर १२ झापा ।

    [३६]
    नारी सिर्जना मूल हौ,चार दिवार बाट बाहिर आऊ,
    शिक्षारुपी श्रृगारले सजिएर, ज्ञानको ज्योति जगाऊ ।
    ✍️ बिबस पारदर्शी
    भद्रपुर -२ झापा ।

    [३७]
    बचाउनु जसरी पनि बाध्यता मा अमुल्य जीवन
    नगर्नु सरकारकाे भराेसा नौट्ङकी लाचार पन।
    ✍️ संझना कुसुम
    पाेखरा

    [३८]
    लक्ष्मी, दुर्गा सरस्वती देवता हुन नारी,
    छोरी हुँदा गाउँ समाजलाई किन भारी।
    ✍️ अम्बिका गिरी
    विराटनगर ।

    [३९]
    आधा धर्ती आधा आकाश जग्मगाउने नारी
    स्वदेश देखि विदेश पुग्छौं खोज्दै रोजगारी ।
    ✍️ तारा घिमिरे
    संखुवासभा ।

    [४०]
    जागजाग यो देश जोगाउन नारी,
    गरि देखाउ पुरुषको  मेखमारी।
    ✍️ चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके

    [४१]
    लेख्न हुन्थ्यो एउटा टुक्का नारीको सम्मान गरि
    नारीहरूको हालत देख्दा आउँछ मन मरि।
    ✍️ मन्दिरा सेढाई
    मलेखु, धादिङ ।

    [४२]
    बदलिएको छ जमाना छोरी धान्छिन् संस्कार,
    छोरीलाई छोरा ठानौँ गर्न छाडौँ तिरस्कार ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक ।

    [४३]
    सलाम गर्छु नारी प्रति नतमस्तक बनी ,
    तिमि मेरी जन्मदाता सर्व प्रिय नाता भनी ।
    ✍️ रामकृष्ण दुवाडी
    पाेखरा ।

    [४४]
    नारी दिवस मलाई लाग्छ बजेट पचाउने  दाऊ
    ढाडस देखाएर सेल्फी खिच्ने पीडित नारीकाे घाउ ।
    ✍️ गणेश तिमल्सिना गति
    धनुषा ।

    [४५]
    आधा आकाश पुरुष भए आधा हुन्छिन् नारी
    नारी सम्मान नगर्ने मान्छे साह्रै अत्याचारी  ।
    ✍️ गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका ।

    [४६]
    नारी नै हुन् आखिर यो संसार चलाउने ,
    विश्वास र आस्थाको दियो सधैँ बलाउने ।
    ✍️ विक्रम तिरुवा सलिन
    जुम्ला ।

    [४७]
    नर र नारी ईश्वरका हुन् फूलबारी
    नगराैँ भेदभाव दुवै छन् बराबरी।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर, कटुञ्जे ।

    [४८]
    नारामा मात्र सीमित नहोस नारी दिवस
    देवी राक्षसी रुप लिन नबनाऊ विवश।
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी ।

    [४९]
    दुर्गा लक्ष्मी सरस्वती रुप अनेक जानि
    नारीलाई सम्मान गराैँ शक्तिरुपा ठानि।
    ✍️ मित्र उराठी गाैतम
    अमरपुर-गुल्मी हाल: तिलाेत्तमा न पा-२

    [५०]
    नारीलाई कस्तो हुन्छ  शिशु बालक जन्माउनुको व्यथा
    अरू त परै छोड्नुस् पुरुष बुझिदिनुस् जीवनको कथा ।
    ✍️ बिनिता विश्वकर्मा बिनु
    बाजुरा

    [५१]
    पृथ्वी सहन्छिन् दैवीप्रकोप, विकासका गतिहरू,
    त्यस्तै महिलाहरू पनि, सृजनाका सुमतिहरू ।
    ✍️ रामप्रसाद पुरी
    ऐसेलुखर्क २ बादेल,खाेटाङ

    [५२]
    पुरुषलाई जन्मदिने तिमी हाै आमा,
    मलहम भै राहत दिन्छाै वेदनामा ।
    ✍️ गाेपालकृष्ण डंगाेल
    इटहरी, सुनसरी ।

    [५३]
    नारीको पनि अधिकार छ खुलेर बाँच्न देऊ
    गणतन्त्र देशमा नलगाउ विवादले छेउ ।
    ✍️ प्रकाश बुढाथोकी
    असम भारत ।

    [५४]
    नारी कोमल भावकी हृदयकी आदर्श भावना ,
    चाड समान नारी दिवसकाे हार्दिकता कामना ।
    ✍️ रामजी लामिछाने
    पाेखरा ।

    [५५]
    नारी पुरुष दुवै जना सबै काममा अब्बल हुन्छन्
    परिआएमा नारीले पनि उच्च सगरमाथा छुन्छन्।
    ✍️ रामकृष्ण रिजाल
    बाग्लुङ ।

    [५६]
    नारी दिवसको दिन मात्रै देखावटी भएको छ नारा
    हक अधिकार पाएका छैनन् गाउँका चेलीले सारा।
    ✍️ राम रावल सागर
      कैलाली ।

    [५७]
    समानताको नारा उराल्दै नारी अगाडि बढेका
    दासताको जन्जिर चुडाल्दै उच्च शिखर चढेका ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा।

    [५८]
    सबैले आफ्नै घरबाट नारीको समान गरौँ
    हक अधिकार दिएर मुहारमा कान्ति भरौँ।
    ✍️ भगवती दवाडी
    दमक, झापा ।

    ५९]
    नारीले पनि पुरा गर्छिन् जिम्मेवारी
    हिड्छिन सधै भरी दुःख आफ्नो टारी ।
    ✍️ अम्बिका कोइराला
    धादिङ

    [६०]
    नारीको अपमान नारीले बुझोस्
    बुहारी नसम्झिनु छोरी नै सुझोस्।
    ✍️ सुरेखा चाम्लिंग
    भक्तपुर ।

    [६१]
    चौतर्फी व्याप्त छ अन्याय प्रवृत्ति कहिले हराउँछ
    संस्कारी बन्ने होडमा नारी स्वयंले हिंसा निम्त्याउँछ।
    ✍️ अरुणा श्रेष्ठ ‘अनु’
    भद्रपुर-३, झापा।

    [६२]
    धर्तीकी प्रतिमूर्ति हुन् नारी एक चम्किलो तारा जानीजानी,

    जीवनमा कसैले नारीलाई नपुर्‍याउ अपवित्र हानि ।

    ✍️ बेदु न्यौपाने
    काठमाडौ ।

    [६३]
    वर्षमा एकदिन मनाइन्छ नारी दिवस ,
    घरेलु हिँसा सहन, कयौँ नारी छन् विवश ।
    ✍️ बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [६४]
    नारी धर्ति उनै देवी हुन् संसारकाे सृष्टी
    भावना बुझाैँ नारीकाे बनाऊँ दूर दृष्टि ।
    ✍️ तारा थापा
    ललितपुर ।

    [६५]
    उनैले थामेका छन् सृष्टि
    उल्टै राखिन्छ वक्रदृष्टि।
    ✍️ वेद प्रसाद रिजाल
    इलाम ।

    [६६]
    शिक्षा, अवसर पाए नारी कमजोर हुन्नन्
    दबिदै हेपिएर बस्नु नपरे त्यसै रुन्नन् ।
    ✍️ रुपा गौतम
    बारा ।

    [६७]
    नारीको पहिचान हुँदैन लगाउँदैमा सारी।
    काँधमा बोकेर हिँडनु पर्छ कैयौँ जिम्मेवारी।
    ✍️ ज्याेति घिमिरे
    धनुषा ,गोदार।

    [६८]
    म त बोल्दिन नारीको छेवैमा बसेर
    मलाइ बात लाउला जवानी देखेर ।
    ✍️ जि कुमार गौतम
    भद्रपुर -१ (पृथिविनगर) झापा

    [६९]
    अपहेलना नगराैँ नारीकाे सम्मान गराैँ
    आपसमा माया ममता र सद्वभाव भराैँ ।
    ✍️ केसर बाेहरा (सङ्घर्ष )
    सुदुर पश्चिम अछाम ।

    [७०]
    अझै पनि कयौं नारीहरूले अन्धकारमा जिएकाछन्
    आफुले पाएका यातनाहरु अमृत सम्झि पिएकाछन् ।
    ✍️ रिना सापकाेटा
    निजगढ, बारा ।

    [७१]
    वर्षमा एकदिन मात्र नारी पुजेर
    हुदैन यिनलाई कमज़ोर बुझेर ।
    ✍️ गृष्मा पौड्याल
    टोकियो जापान

    [७२]
    नारी नै हुन् ममताकी खानी
    घर सुन्दर पार्ने महारानी
    ✍️ विशाल सुवेदी
    मकवानपुर मनहरी ९

    [७३]
    नारी जगको सुन्दर फूल
    चुँडेर फाल्ने नगर्नु भुल।
    ✍️ बिके मुखिया
    सिग्रीमताम बस्ती, दार्जीलिङ भारत।

    [७४]
    खै कहाँ हरायाे महिला अधिकार
    हटेन कहिल्यै अन्याय अत्याचार।
    ✍️ रत्ना पुन मगर
    रुकुम पश्चिम्।

    [७५]
    लैङ्गिक भिन्नता हटाऊॅ मिलेर,
    देश चलाउनेछन् नारी जुटेर।
    ✍️ घनश्याम पौडेल
    सृजना चोक, पोखरा ।

    [७६]
    यौन घरेलु हिँसा अत्याचारमा सधैँ पिल्सिएका,
    खै त नारीका सफलताकाे समाचार लेखिएका।
    ✍️ बबिता बिष्ट
    नारायण नगरपालिका ६ दैलेख

    [७७]
    सीता जन्मभुमी हाम्रो न्याय खै त कता गुम्यो
    सिनेट्को छैन है आशा भ्रुणमै जिन्दगी घुम्यो।
    ✍️ कमला देवकोटा, पाल्पा
    हाल- काठमाडौ

    [७८]
    बलात्कार र घरेलु हिंसाले पीडित छन् नारी,
    बस्न विवश छन् मनको इच्छाहरूलाई मारी।
    ✍️ गणेश तामाङ वाइबा
    ताल्ती,धादिङ नेपाल।

    [७९]
    कागजमा लेखिएका महिला अधिकार ,
    किन लागु गरिएन गराैँ खबरदार ।
    ✍️ केशव प्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा।

    [८०]
    हेर्ने आँखा असल भए सारा संसार नै राम्रो
    घर मात्र कहाँ हो र देश सामाज बन्छ हाम्रो।
    ✍️ कृष्ण आनन्द भट्ट
    पञ्चेश्वर ०५ बैतडी

    [८१]
    धर्ती हो फूलबारी, नारी कोमल फूल
    इज्जतमा हिलो छ्याप्ने गर्नु हुन्न भुल ।
    ✍️ बिके माकजु
    भक्तपुर ।

    [८२]                                                         
    नारी लक्ष्मी, सरस्वती, नारी महाकाली
    उठ अब बेथितिकाे महाजालाे फाली ।
    ✍️ दुर्गा वनवासी
    झापा ।

    [८३]
    दबिएका ती तिम्रा आवाज खोतल्दै अगाडि बढ्नुपर्छ
    कति बस्छौ हेपिएर समानताको शिखर चढ्नुपर्छ।
    ✍️ तारा कुमार थापा
    माईजोगमाई-१, इलाम

    [८४]
    नसाेच्नु कसैले लड्दा लड्दै थाकेकी छन्
    जागौँ नारी अस्तित्वको लडाइँ बाँकी झन्।
    ✍️ लक्ष्मण समीर
    बर्दिया ।

    [८५]
    महान छिन् नारी आफैँमा नदाँज्नु पुरुष जस्ती भनेर,
    असमानता र हिंसाकाे हिसाब पक्कै लिनेछिन् गनेर ।
    ✍️ शान्ति याक्साे
    काठमाडौं ।

    [८६]
    नारी मिलेर अब साच्चै आगो नै बाल्नुपर्छ
    अन्याय अत्याचार ती जरै देखि फाल्नुपर्छ।
    ✍️ लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा ।

    [८७]
    नारी रुपमा जन्म लिएर शान सँग बाँच्नु नारी,
    बढाउ पाईला अगाडिको नहट्ने पछाडि हारी।
    ✍️ दुर्गा आचार्य
    मोरङ ।

    [८८]
    दुई शब्दले बनिएको जीवन नारी
    संसार नै उसको महिमामा अभारी ।
    ✍️ रुद्रराज श्र्लाेक
    दार्जिलिङ्ग ।

    [८९]
    नारी जिम्मेवारी बोकेर संसार चलाउन,
    हिँड्छिन् कुना कन्दरा उज्यालो ज्योति जलाउन।
    ✍️ पौडेल विमुन्स
    पोखरा कास्की ।

    [९०]
    नारी दिवस सबैले मनाउने,
    जागरुक छाैँ भनेर जनाउने ।
    ✍️ सुशीला पाैडेल
    अर्घाखाँची ।

    [९१]
    नारी तिमी सहनशील मेहनती हुन्छेऊ
    खुशी सबैमा बाड्छाै तर एकान्तमा रुन्छेऊ।
    ✍️ सुमिना तिमल्सिना
    भक्तपुर ।

    [९२]
    आह्वान गर्छु नारी जुटेर अघि बढाैँ
    न्यायको निम्ति हामीले एकसाथ लडौँ।
    ✍️ रचना माेक्तान’यात्री’
    काभ्रे ।

    [९३]
    देवी दुर्गा भनेर पुजिन्छन् यी नारी
    नअल्झिउन् त्यतिकै लगाएर सारी ।
    ✍️ सारदा दाहाल भण्डारी
    संखुवासभा ।

    [९४]
    नगरौँ दमन नारीलाई विभेद गरी
    नारी पुरुष सबैलाई सम्झौं बराबरी।
    ✍️ जित बुढाथोकी छन्त्याल
    बेलायत।

    [९५]
    साच्चै महान अपरिहार्य परिवर्तन जुन संसारले गर्दछ,
    नारीको हृदयलाई ग्रहण गर्छ भनी मन विश्वस्तमा पर्दछ।

    ✍️ अच्युत घिमिरे
    भुटान ।

    [९६]
    नारी हुन सृष्टि संसारकाे पहिचान,
    उनीहरू बिना घर हुन्छ सुनसान।
    ✍️ रिना याेल्माे
    दार्जिलिङ्ग ।

    [९७]
    अधिकार लिने मात्र हैन सदुपयोग पनि गरौँ
    अरुकाे मात्र हैन नारीले सदा आफुमा भर परौँ।
    ✍️ साधना पाैडेल
    रगनी-१, ओखलढुङ्गा ।

    [९८]
    सृष्टि गर्छिन बोकेर पीडा हाम्री जन्मदाता
    नारी सहनशीलताकी खानी जननी माता।
    ✍️ अबजस चन्द्र
    झापा ।

    [९९]
    सहलशील भै नारीले नै सृष्टि थामिराख्नु पर्छ
    दिवसमा मात्र हैन सधैँ जुट नत्र हक मर्छ ।
    ✍️ निरज काेइराला

    [१००]
    प्रकृतिको अनुपम रुपकी खानी हुन नारी
    राख्छिन् खुसी सधैं सन्ततिलाई आफ्नो इच्छा मारी।
    ✍️ काेकिला चाैधरी
    बाँके ।

    [१०१]
    नारीमै छ महान शक्ति बलियो यो सृष्टि धान्ने दम,
    हेप्नेगर्छ समाजले यदि भने नारी पनि के कम ।
    ✍️ ऋषिराम खनाल
    मध्यबिन्दु ६ नवलपुर ।

    [१०२]
    दिक्क लाग्छ नारीको जिन्दगी सम्झिदा,
    दु:खी हुन्छन् सबै किन छोरी जन्मिदा।
    ✍️ लालिमाया थापा मगर
    प्यूठान ।

    [१०३]
    संस्कृति, संस्कारको आराधना तयारी
    भक्ति, शक्ति, साधनाको प्रतिक हो नारी।
    ✍️ मेनुका खड्का
    धुलिखेल ।

    [१०४]
    सबैलाई जन्माउने नारी हुन
    नभुलाैँ कहिल्यै ममता र गुन ।
    ✍️ भाेलामान बर्देवा
    धरान-८, सुनसरी ।

    >> जय टुक्का! जय साहित्य!! <<

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा टुसास द्वारा ‘टुक्का लेखन शृङ्खला – ३३’ सम्पन्न; १०४ जना टुक्काकारको सहभागीता

    उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

  • २४ फाल्गुन २०७८, मंगलवार १६:१७ मा प्रकाशित
  • १.
    महिला
    सिर्जनाकी मुहान
    प्रफुल्ल हुँदा जहान !

    २.
    नारी
    ममता खानी
    सृष्टि संरक्षणकी रानी !

    ३.
    नारी
    स्वरूप अनेक
    हरेकमा पुग्ने विवेक !

    ४.
    नारी
    शक्ति महिमा
    अपार भक्ति भावमा !

    ५.
    नारी
    सृष्टिकी गहना
    धर्ती सहनशीलतामा अग्रणी !

    ६.
    नारी
    बनेको घर
    नहुँदा जीवन पतझर !

    ७.
    नारी
    हुँदा घर
    नहुँदा जीवन बञ्जर !

    • भवानी घिमिरे
      सर्लाही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

    साउदी अरबमा कोभिड- १९ सम्बन्धी नियम तथा मापदण्ड खुकुलो सम्बन्धमा नेपाली दूतावास साउदी अरबको जानकारी ।

  • २४ फाल्गुन २०७८, मंगलवार ०१:४७ मा प्रकाशित
  • ७ मार्च २०२२, साउदी अरब ! नेपाली दूतावास रियादले आफ्नो फेसबुक पेजद्वारा साउदी सरकारले कोभिड- १९ सम्बन्धी नियम तथा मापदण्डहरुमा खुकुलो पारेको सम्बन्धी सबैमाझ जानकारी गराएको छ ।

    साउदी सरकारले गत ०५ मार्च २०२२ देखि कोभिड १९ सम्बन्धी नियम तथा मापदण्डहरुमा खुकुलो पार्ने निर्णय गरेसँगै नेपाली दूतावास रियादले उक्त नियम बारे सबैमाझ जानकारी गराएको छ ।

    जसअनुरूप अब उप्रान्त सभा , सम्मेलन , भेला जस्ता कार्यक्रममा उपस्थित हुँदा , एक अर्कालाई भेट्दा वा सेवा लिनको लागि लाइनमा रहँदा भौतिक दूरी कायम गर्नु नपर्ने जनाएको छ । त्यसैगरी खुल्ला ठाउँमा रहँदा फेस मास्क लगाउनु नपर्ने तर अस्पताल , सरकारी कार्यालय , डिपार्टमेन्टल स्टोर , सपिङ मल , अन्य पसल , जिमखाना जस्ता बन्द स्थल ( closed places ) मा जाँदा भने अनिवार्य रूपमा फेस मास्कको प्रयोग गर्नुपर्ने जनाएको छ ।
    अस्पताल , सरकारी कार्यालय , सपिङ मल तथा पसल जस्ता सार्वजनिक स्थलमा प्रवेश गर्ने हरेकले Tawakkalna App को अनिवार्य प्रयोग गर्नुपर्ने छ । साउदी अरब प्रवेश गर्नको लागि PCR रिपोर्ट आवश्यक पर्ने छैन । साउदी प्रवेश गर्ने कसैले पनि संस्थागत वा होम क्वारेन्टिमा बस्नु पर्ने छैन । भिजिट भिसामा आउनेहरूले कोरोना संक्रमण उपचार खर्च कभर गर्ने किसिमको स्वास्थ्य वीमा गरेको हुनु पर्ने पनि उक्त सूचनामा जनाएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदी अरबमा कोभिड- १९ सम्बन्धी नियम तथा मापदण्ड खुकुलो सम्बन्धमा नेपाली दूतावास साउदी अरबको जानकारी ।

    सांसदले मागे चिकित्सा शिक्षा आयोग पदाधिकारीको राजीनामा

  • २३ फाल्गुन २०७८, सोमबार १५:०४ मा प्रकाशित
  • २३ फागुन, काठमाडौं । सांसदहरुले चिकित्सा शिक्षा आयोगका पदाधिकारीको राजीनामा माग गरेका छन् ।

    सोमबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसदहरुले नोबेल मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको समस्या समाधानमा बेवास्ता गरेको भन्दै राजीनामा माग गरेका हुन् ।

    नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा आन्दोलन गर्दा पनि सम्बोधन नगरेपछि उही शुल्कमा अध्ययन गर्न बाध्य भएको र अहिले कलेजले छात्रबासमा नबसे अनुत्तीर्ण गराइदिने धम्की दिएको भन्दै १० विद्यार्थीले कलेज स्थानान्तरणको माग गर्दै आयोगमा निवेदन दिएका थिए । उक्त निवेदन परेपछि पनि आयोगले समस्याको समाधान नखोजेको भन्दै सांसदहरुले पदाधिकारीको राजीनामा माग गरेका हुन् ।नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले विद्यार्थीहरुलाई पढाउने शैक्षिक संस्थाले धम्की दिनु आपत्तिजनक भएको बताउँछन् । उनले भने, ‘अतिरिक्त शुल्क नदिनेलाई टर्चर दिनु लज्जास्पद विषय हो । यस्तो हुँदा पनि आयोग नबोल्नु भनेको पदीय जिम्मेवारी निर्वाह नगर्नु हो । अब पनि यहाँ कसरी बसिराख्नुहुन्छ ?’नेकपा एमालेकी सांसद नविना लामाले विद्यार्थीको मागमा आयोग संवेदनशील नभएको जिकिर गरिन् । उनले भनिन्, ‘अहिलेको सवालमा आयोग संवेदनशील नभएको देखियो । कलेजले विद्यार्थीको भविष्यलाई सुरक्षित गर्नुपर्नेमा धम्की, डर देखाएको छ । यो त आयोग र शिक्षा मन्त्रालयको कमजोरी हो ।’

    तर आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले भने ‘कलेजले विद्यार्थीलाई होस्टेल नबसे ब्याक लाग्छ भनेर ‘थ्रेट’ दिएको निवेदन परेपछि आइतबार कलेजका प्रतिनिधि, आयोग र शिक्षा मन्त्रालयका प्रतिनिधिबीच छ्लफल भई २५ गतेसम्म समाधान गर्ने सहमति भएको बताए ।

    शिक्षा मन्त्रालयका सचिव हरि लम्सालले कलेजले विद्यार्थीका समस्या नसल्ट्याए कारवाही प्रक्रिया अघि बढ्ने बताए । बैठकमा पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कानुनी झञ्झट खुकुलो बनाएर स्थानान्तरण गर्नुपर्ने बताए ।

    एमाले सांसद योगेश भट्टराईले यो विषयमा आयोग जवाफदेही हुनुपर्ने बताए । उनले भने, ‘यो विषयमा मुख्य सम्बन्धित निकाय भनेको आयोग हो । आयोग संवेदनशील नभएको विद्यार्थीहरुको गुनासो छ । किन यस्तो भयो आयोग पदाधिकारीको स्पष्टीकरण चाहिन्छ’ उनले भने, ‘आयोगले विद्यार्थीको पढ्ने व्यवस्थापन नोबेलमै गर्नुपर्छ । २६ गतेपछि सबै विद्यार्थीले नोबेलमा बसेको फोटो ल्याउनुस् । नोबेलमा अनुगमन गरिनुपर्छ ।’

    आयोगको एकीकृत प्रवेश परीक्षाबाट योग्यता क्रममा परेर चिकित्सा शिक्षा अध्ययनका लागि कलेजले अतिरिक्त शुल्क लिएको कुरा उठाउँदा विद्यार्थीलाई विभिन्न डर, धम्की आइरहेको र राज्यका नीति नियम निर्देशन पालना नहुने भएकाले अन्यत्र सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरणको माग गर्दै आएका छन् । तर सोमबारको समितिको बैठकले नोबेलमा नै पढ्ने वातारण बनाउन निर्देशन दिएको छ ।

    Posted in ताजा अपडेट, समाजLeave a Comment on सांसदले मागे चिकित्सा शिक्षा आयोग पदाधिकारीको राजीनामा

    बाल शान्ति गृह घाेराही पर्सामा सत्संग भेला सम्पन्न

  • २३ फाल्गुन २०७८, सोमबार ११:१० मा प्रकाशित
  • दाङ जिल्लाको घोराही पर्सा स्थित बाल शान्ति गृहमा शनिबार सत्संग भेला सम्पन्न भएको छ । विश्व ओमकार एकता महाभियानका प्रमुख संयोजक डा.चिन्तामणिनाथ योगीको संयोजकत्वमा सम्पन्न उक्त सत्संग भेलामा विभिन्न धार्मिक, सामाजिक, शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूबाट गहन छलफल र चिन्तन गरिएको थियो ।

    बाल शान्ति गृहका प्रमुख डा भाेलानाथ याेगीको
    स्वागत मन्तव्य र कार्यक्रमको जानकारी पश्चात् शुरु भएको सत्संग भेलाले मठ, मन्दिर, गुम्बा लगायतका सम्पदामा भएका गतिविधिहरूलाई उजागर गर्दै लगेर जनचासाेकाे रुपमा लिन आवश्यक रहेकाे निचोड निकालेको छ ।

    हिन्दू सनातन धर्ममा सबै क्षेत्रबाट प्रहार भैरहेकाे परिप्रेक्षमा अब सबै मठ, मन्दिर, गुम्बा जाे जसकाे जहाँ जे छ सबैकाे महत्वलाई बुझेर अगाडि बढ्नुपर्ने भेलाका सहभागीको अभिमत रहेकोे थियो।

    कार्यक्रममा डा. चिन्तामणिनाथ याेगीले मठ मन्दिर गुरुकुल, वृद्ध आश्रम, बालगृह, अनाथालय लगायत धार्मिक तथा सेवामूलक संस्थालाई एनजीओ (NGO) काे रुपमा दर्ता नगरी धार्मिक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर जानू पर्ने धारणा राख्नुका साथै बैंकिङ प्रणालीमा अक्षयकोष खाताको ब्यवस्था हुनुपर्ने विचार राख्नुभयो ।

    साथै उहाँले आफ्ना अधिकार प्राप्तिका लागि धार्मिक महासंघकाे स्थापना गरिने जसको लागि विश्व ओमकार एकता महाभियान, विश्व हिन्दु महासंघ नेपाल र गुप्तेश्वर मन्दिरकाे आयाेजनामा गण्डकी प्रदेशस्तरीय धार्मिक मठमन्दिर एवं संघ संस्थाहरूको सम्मेलन मिति २०७८ फागुन २७-२८ गते सम्म पोखरामा गर्न लागिएको पनि जानकारी दिनुभयो।

    कार्यक्रममा सिद्ध रत्ननाथ मठ ,पाण्डवेश्वर मन्दिर, अम्बिकेश्वरी मन्दिर, गाेरखनाथ वैदिक गुरुकुल, बाल गृह पर्सा, वृद्धाश्रम तेराैटे, पतञ्जली योग परिवार लगायतका संस्थाबाट सहभागिता रहेकाे थियाे ।

    भेलामा बाल गृहका बालबालिकाहरूले भजन, प्रार्थना एवं राष्ट्रिय गीत गाएका थिए । साथै भेलाले आगामी सत्संग यात्रा पाण्डवेश्वर धाम धारापानीमा गर्नुका साथै अम्विकेश्वरी मन्दिर अम्वापुर, बराहक्षेत्र मन्दिर बाह्रकुने र सिद्ध रत्ननाथ मठ चौघेरामा समेत क्रमशः गर्ने निर्णय गरेको जानकारी गोरखनाथ वैदिक गुरुकुलका प्रतिनिधि प्रकाश भट्टराईले दिनुभयो।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on बाल शान्ति गृह घाेराही पर्सामा सत्संग भेला सम्पन्न

    साताका तीन लघुकथा

  • २२ फाल्गुन २०७८, आईतवार २१:४६ मा प्रकाशित
  • साताका तीन लघुकथाको सातौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (धर्मपथ, खच्चडहरू र छोरा भर्सेज छोरी) छनोट गरी प्रकाशन गरिएको छ।

    [१] लघुकथा : धर्मपथ

    ✍️ बाबुराम न्यौपाने “उत्स”

    विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय संघ संस्थाको संयुक्त प्रयासमा विश्व सर्व धर्मसभाको भव्य आयोजना गरिएको थियो। सभाहल झकिझकाउ थियो।
    विश्वभरका प्रखर विद्वान विदुषीको उल्लेख्य उपस्थिति थियो। विश्व राजनीतिका हस्तिहरू पनि आमन्त्रित थिए।

    सम्मेलनमा ठूलाठूला बहस भए। अनेक सिद्धान्तहरू प्रस्तुत गरिए । हलभित्र सर्वसाधारणको पङ्तीमा एक वृद्ध महिला पनि सहभागी थिइन्।
    उनले कार्यक्रमको सवै वस्तुस्थिति खुब ध्यान दिएर नियालिरहेकी थिइन्। उनले कार्यक्रमको अन्त्यतिर उठेर भनिन्।
    “मैले तपाईं विद्वानहरूका कुरा सुरूबाटै सुनिरहेकी छु। म सामान्य नारीको कुरा मान्नुहुन्छ भने मसँग हिड्नुहोस्। म जीवन्त धर्मको परिभाषा सप्रमाण देखाउँने छु ।”

    सभाहल क्षणभर नि:शब्द बन्यो।
    फेरि केहीबेरको छलफलपछि दुईदर्जन शिर्ष प्रतिनिधि ती वृद्धनारीसँग हिडे।
    वृद्धाले सवैलाई करिब दस किलोमिटर टाढा चिटिक्कको सानो घरमा पुर्याइन्।
    घरभित्र दुई वृद्ध वृद्धा ओछ्यानमा लम्पसार थिए। ती नारीले विद्वानहरुलाई बताउँदै गइन्।
    “पति हिन्दु र पत्नी क्रिश्चियन हुन् । छोराले मुसलमान केटी विवाह गरेकोमा दुवै बाबु आमा रुष्ट थिए। तर यिनका छोरा बुहारी तीन वर्षदेखि हिड्डुल गर्न नसक्ने बाबु आमाको स्याहारमा रातदिन खटिरहेका छन्। यिनीहरू धर्म गर्दैछन् कि पाप ! मानवता र सेवाभन्दा महान् अर्को कुनै ठूलो धर्म छ ? निष्कर्ष तपाईंहरुको।”
    दुबै बिरामी भावुक भए। उनीहरू आँखाबाट बर्बर आँसु खसालेर भक्कानिए। केही बोल्न खोज्दै थिए । गला अवरुद्ध भएर फिटि्क्कै बोल्न सकेनन् ।

    विद्वानहरूको नजर कोठाको भित्ताको तस्बिरमा पर्यो। सबैको नजर लाजले झुक्यो। भित्तामा लहरै हिन्दु, मुस्लिम, सिख, इसाई, बौद्ध आदि धर्मका प्रवर्तकहरूको तस्बिर राखिएको थियो। छेउको दराजमा गीता, बाइबल, कुरान, त्रिपिटक जस्ता धार्मिक पुस्तकहरूले कोठाको शोभा बढाएका थिए।”
    सबैले एकस्वरमा भने। “आमा ! हामी भ्रमबाट मुक्त भयौँ। हाम्रो एकाङ्की अहङ्कार खरानी भयो। हामीले धर्मपथको गन्तव्य भेट्यौँ।”
    दम्भको बादलले ढाकिएको हाम्रो तेस्रो आँखा खुल्यो।”

    दमक, झापा

    [२] लघुकथा : खच्चडहरु

    ✍️ छविलाल खड्का

    नयाँ प्रजाति । घाेडी र गधाकाे अन्तरजातिय समागमबाट जन्मिएकाे नयाँ वर्णशङ्कर अर्थात खच्चड । सुरो, बिन्ठ्याहा र धूर्त यसका विशेषता ।

    दुर्गम ठाउँका यातायातका साधन । मालिकका अन्नदाता । सिरिफ यहीँ एउटा जुनी मात्र । यिनीबाट न सन्तान उत्पादन न भविष्यकाे चिन्ता । अर्काकाे लागि भारी बाेकिदिनु, धर्म र कर्म दुवै ।

    भारी बाेकेर लामबद्ध रुपमा शीरमा चाैरी फुर्का, घाँटीमा घण्टी र निधारमा शृङ्गारिक ऐनामा सजिएकाे अगुवा खच्चड अघि अघि र लावालस्कर अन्य खच्चडहरू पछि पछि । याे नै दिनचर्या ।

    दिन दैनिकी रुपमा भारी बाेक्दा पनि ग्वालाले पिट्ने, गाली गर्ने र छुद्र व्यवहारले गर्दा खच्चडहरूमा विद्राेहकाे साेच आयाे । एक साँझ सल्लाह गरेर राती भागे । भाग्दै भाग्दै जाँदा पाँच महिनापछि अनाैठाे ठाउँ पुगे । जताततै घरैघर । ग्वाला नै ग्वाला । टाँटाँ र टुँटुँ… । अचम्म माने । याे स्वर्ग हाे कि नर्क ? अलमल्लमा परे ।

    अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मालिककाे स्तुतीकाे तावेदारीमा चर्काचर्की र घम्साघम्सी चलिरहेकाे थियाे । यसै त सुरक्षा व्यवस्थामा खटिएका सुरक्षाकर्मीहरू हैरान थिए । झन् खच्चडहरू दाैड्दै भित्र पस्न खाेज्दा रिसले आगाे भएकाे डण्ठे लखेट्दै, भन्दै थियाे – “यत्ती धेरै दुई खुट्टे खच्चडहरू भित्र हुँदाहुँदै फेरि कहाँबाट मुन्टिए यी चार खुट्टे खच्चडहरू !”
    काेहलपुर, बाँके

    [३] लघुकथा : छोरा भर्सेज छोरी

    ✍️ दुर्गा वनवासी

    त्यो परिवार असल लाग्थ्यो, हामी आमाछोरालाई | उनीहरूले पनि परिवारकै सदस्यलाई जस्तो माया र रेखदेख गरेका थिए | हाम्रो पनि यो संसारमा अरू आफन्त नै को पो थियो र ? रगतको र जातियताकाे नाता मात्रै कहाँ आफ्नो हुने रहेछ र ? विशेष घरमूली आमा असाध्य जाति र दयालु थिइन् | म जन्मिदाँ त झन् धेरै स्याहार गरेकी रे उनले, मेरी आमा र मेरो |

    समय राम्रै बितिरहेको थियो | एकदिन केही मानिसहरू आए र आमालाई लिएर गए | मैले पनि सँगै जान बल गरेँ, जान दिएनन् | रोएँ, कराएँ तर मेरा आँसुले पग्लिएनन् कोही | आमाले पनि पछाडि फर्की फर्की हेरिन् मलाई | रोइन्, कराइन्, अनुनय गरिन् तर सुनेनन् | लगभग घिसार्दै लगे | आमा ओझेल परिन्, म रोइरहेँ |

    साँझ घरमूली आमाले खान दिइन्, मलाई केही खान मन लागेन, आमाको मात्रै सम्झना आइरह्यो | घरमूली आमा पनि केही उदास थिइन् | घरमूली बासँग उनले मेरो अवस्थाबारे बताइन् | बाले भने – “पिर नगर, केही दिनमा बिर्सिन्छ | के गर्नु छोरी भएको भए सँगै पठाइदिन हुन्थ्यो, छोरो पर्यो | उनीहरूले लानै मानेनन्, जबर्जस्ती गर्न पनि भएन |”

    केही दिनपछि घरमूली बा र आमाले कुरा गरेको सुनेँ | बा भन्दैथिए – “के गर्नु, नातिनीले घर भर्न लागे | पहिल्यै दुईटी छँदै थिए | गर्भ परीक्षणमा पनि छोरी नै रहिछे, फाल्दिनु भन्दिए |”

    यो मान्छेको जात पनि कति विचित्रको हुँदो रहेछ गाँठे ? छोरो भएकोले मलाई आमाबाट छुटाए, छोरी भएकोले बुहारीको गर्भ फाल्न लगाए | हामी गाईवस्तुको चाहीँ छोरी चाहिने, मान्छेको चाहीँ छोरा नै हुनुपर्ने ? होइन, म त अलमल्ल परेँ त – छोरा राम्रो कि छोरी हँ ?

    काठमाडौ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    साउदी अरब प्रवेश गर्दा पिसिआर रिपोर्ट नचाइने साथै क्वारेन्टाइन पनि बस्नु नपर्ने

  • २२ फाल्गुन २०७८, आईतवार १८:२२ मा प्रकाशित
  • ६ मार्च २०२२, साउदी अरब !! साउदी अरबको सरकारले अब साउदी अरबमा प्रवेश गर्दा अब पिसिआर परिक्षण तथा र्‍यापिड एन्टिजेन परिक्षण रिपोर्ट साथमा लेराउन नपर्ने र क्वारेन्टाइन पनि बस्न नपर्ने बताएको छ ।

    सामान्य उड्डयन सहित साउदी अरेबियाको एयरपोर्टहरूमा सञ्चालित सबै एयरलाइन्सहरूलाई पत्रचार गर्दै यो सूचना जारी गरेको छ ।

    सूचनामा उल्लेख गरिएको कुरा जस्ताको त्यस्तै :-
    “विषय: निलम्बित देशहरूबाट राज्यमा प्रत्यक्ष आगमनको निलम्बन हटाउने र कोभिड-१९ सन्दर्भको लागि सावधानीका उपायहरू रद्द गर्ने सम्बन्धमा :

    1. नागरिक उड्डयन कानूनको धारा 23।
    2. GACA सर्कुलर नम्बर (5/27682) मिति 08-12-2021।
    3. GACA सर्कुलर नम्बर (5/31041) मिति 26-12-2021।
    4. GACA सर्कुलर नम्बर (5/37061) मिति 03-02-2022।

    निर्देशनहरू:
    निम्न देशहरू (दक्षिण अफ्रिका, नामिबिया, बोत्सवाना, जिम्बाब्वे, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, मौरिसस, जाम्बिया, माडागास्कर, अंगोला, सेशेल्स, कोमोरोस, नाइजेरिया, सेसेल्स, इथोपिया, र अफगानिस्तान बाट राज्यमा आउने र प्रस्थान गर्ने सबै उडानहरूको निलम्बन हटाउने।)

    • राज्यमा आउनु अघि पीसीआर परीक्षण वा कोरोना भाइरसको लागि द्रुत एन्टिजेन परीक्षणको लागि नेगेटिभ नतिजा बुझाउनु आवश्यक छैन। राज्यमा आउने यात्रुहरूलाई संस्थागत क्वारेन्टाइन र होम क्वारेन्टाइन अब आवश्यक छैन। भिजिट भिसा धारकहरूले राज्यमा रहँदा कोरोनाभाइरस (कोविड-19) संक्रमण उपचारको लागतहरू कभर गर्न बीमा गर्नु आवश्यक छ।
    • एयरलाइन्सले राज्यमा आउने यात्रुहरूलाई संस्थागत क्वारेन्टाइन प्याकेज शुल्क फिर्ता गर्नुपर्छ।
    • यो परिपत्र यसको मिति देखि प्रभावकारी छ। • GACA द्वारा जारी सर्कुलरहरूको पालना गर्न असफल भएमा सरकारी आदेशहरूको उल्लङ्घन गर्नेहरूलाई जिम्मेवार हुनेछन् ।”

    यसको साथसाथै खुल्ला क्षेत्रहरूमा मास्क अनिवार्य लगाउनु पर्ने नियम पनि हटाइएको छ भने घरभित्र बन्द क्षेत्रहरूमा मास्क लगाउनु पर्ने छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदी अरब प्रवेश गर्दा पिसिआर रिपोर्ट नचाइने साथै क्वारेन्टाइन पनि बस्नु नपर्ने

    साप्ताहिक उदक लेखन शृङ्खलाको ४१औँ भाग शनिबार सम्पन्न

  • २१ फाल्गुन २०७८, शनिबार २०:५१ मा प्रकाशित
  • काठमाडौ, २१ फागुन । साप्ताहिक उदक लेखन शृङ्खलाको ४१औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ३६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिर : सामाजिक सन्जाल

    तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    अधिकार
    समान अवसर
    समतापूर्ण न्यायीक वितरण !

    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    मैदान
    खेलाडीको भागदौड
    बाहिर रमितेको छट्पटी !

    चक्र शाही ,कैलाली ।

    [३]
    फुटबल
    मैदानमा खेल्दै
    फुच्चे पर्खाल झेल्दै !

    खेमराज पुरी कैलाली

    [४]
    रमिता
    मैदानको खेल
    हेर्नलाई तँछाड मछाड !

    सम्झना कुसुम पोखरा

    [५]
    खेलकुद
    अनुशासित जीवन
    खेलाडी बिचमा मिलन !

    जमुना कायस्थ

    [६]
    दर्शक
    रोचक खेल
    राष्ट्रिय खेलाडीको प्रदर्शन!

    कण्ठराज गिरी टीकापुर कैलाली

    [७]
    खेल
    प्रतिस्पर्धा घमासान
    हारजितको निर्णयमा मैदान !

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [८]
    खेलकुद
    देखिन्छ जालझेल
    बिकृति बढ्दैछ अचेल!

    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३,काभ्रे

    [९]
    असमानता
    फरक प्रवृत्ति
    समता खास आवश्यकता !

    कविता आचार्य, कैलाली

    [१०]
    अधिकार
    समानता हैन
    समता आजकाे आवश्यकता !

    चन्द्रावती अधिकारी ।

    [११]
    समानता
    मानिसको आवश्यकता
    बनाऔँ सकेसम्म समता !

    घनश्याम पौडेल, पोखरा

    [१२]
    आँटिला
    देश सञ्चालनमा
    शिक्षित धैर्यवान महिला ।

    गोविन्द खनाल क्षेत्री
    हरिनास ४ स्याङ्जा

    [१३]
    जिवन
    अघि बढेर
    सबै साथमा रहेर !

    अबोध निर्मल कैलाली

    [१४]
    सुरुवात
    रङ्गमञ्चमा खेल
    बाहिर व्यवहारमा जालझेल !

    आर्त अकुलीन, कैलाली

    [१५]
    समता
    कागजी खोक्रो
    जालझेल कपट नीति !

    मृत्तात्मा बिन्ती, कैलाली

    [१६]
    प्रतिस्पर्धा
    साना ठुलाको
    यो कस्तो अधिकार!

    बि के विरही टीकापुर

    [१७]
    दौडाएर
    अपाङ्ग साङ्ग
    भन्छ अधिकार बराबर!

    बालकृष्ण खनाल टीकापुर कैलाली

    [१८]
    खेलकुद
    रमाइलो मानेर
    हेर्ने दर्शक लापता !

    रमेश प्रभात

    [१९]
    फुटबल
    हेर्न उत्सुक
    बुढा,जवान, वालक!

    धर्मी शाक्य, बुटवल ,रुपन्देही

    [२०]
    असमानता
    हरेक सम्झौता
    सानाठूला अवसरको समानता !

    सिबि आले मगर

    [२१]
    नेतृत्व
    विभेदपूर्ण व्यवहार
    समतामा पाइने सम्मान !

    भवानी घिमिरे
    सर्लाही

    [२२]
    गाेल
    स्मृतिमा झेल
    वचुवा हेरेर जील!

    राेशन पराजुली,धरान।

    [२३]
    समता
    सामाजिक न्याय
    बिभेद समाधानकाे उपाय !

    नारायण प्रसाद उपाध्याय , कैलाली ।

    [२४]
    फुलबल
    हेर्नेको लर्को
    वृद्ध केटाकेटी सबै !

    बुद्धिमान चौधरी

    [२५]
    ममता
    राख्दै समानता
    अनि पुर्‍यायौ समता !

    प्रेम थापा “मन”बागलुङ

    [२६]
    फुटबल
    हेर्नेको लर्को
    ईच्छा सानालाई चर्को!

    सरस्वती श्रेष्ठ इटहरी

    [२७]
    फूल
    फुल्न पाऊन्
    समानता होइन समतामा!

    सीता पाण्डे मरासिनी
    रेसुङ्गा नगरपालिका-९,गुल्मी

    [२८]
    खेल
    सबैको मेल
    नगरौँ कसैले जालझेल!

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२९]
    चित्रले
    दर्शाउन खोजेको
    समानताको लागि समता !

    मंगला उपाध्याय
    बारा कलैया १

    [३०]
    बगैँचा
    खेलाडीको खेल
    दर्शकमा हुदैछ मेल !

    अम्विका अधिकारी
    झापा विर्तामोड

    [३१]
    खेल
    प्रतिस्पर्धाको बाटो
    दर्शक देखिए टाठ‍ो !

    नुमा खालिङ्ग किरात

    [३२]
    गाेल
    माैकामा चाैका
    फूटबल खेलकाे चिनारी ।

    केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    [३३]
    खेल
    सुन्दर तस्बिर
    साना ठूलाको मेल!

    सरस्वती श्रेष्ठ

    [३४]
    खेल
    रमाइलो पल
    गर्छन सबैले जालझेल ।

    दुर्गा भट्टराई
    मोरङ

    [३५]
    खेल
    समथर मैदान
    दर्शक उचाईको बेमेल!

    पशुपति राई -खोटाङ

    [३६]
    समता
    समाजिक न्याय
    सबैलाई बराबरी हक !

    हिमाल अम्मै घोडाघोडी कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक लेखन शृङ्खलाको ४१औँ भाग शनिबार सम्पन्न

    कम्पनी छोडेर भागेर काम नगर्न साउदीमा रहेका नेपालीहरुलाइ एनआरएनए साउदीको अनुरोध

  • २१ फाल्गुन २०७८, शनिबार २०:२४ मा प्रकाशित
  • समर्पण रम्जान

    ५ मार्च २०२२, साउदी अरब! पछिल्लो समयमा साउदी अरबमा कम्पनी छोडेर भागेर काम गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको र विभिन्न समस्यामा परि पीडितहरुको संख्या वृद्धि भएपछि एनआरएनए साउदीले कम्पनी छोडेर काम नगर्न साउदीमा रहेका सम्पुर्ण नेपालीहरुलाइ अनुरोध गरेको छ ।
    आफ्नो पेजबाट एक बिग्यप्ती जारी गर्दै साउदीमा आएपछि कम्पनीबाट या ब्यक्तिगत कुनै पनि समस्या परेमा आफ्नो संस्थालाई जानकारी गराउन अनुरोध गर्दै कुनै पनि अबस्थामा कम्पनी छोडेर भागेर काम नगर्न अनुरोध गर्दै कुनै पनि समस्या समाधानमा आफ्नो संस्थाले सकेको सहयोग गर्ने कुरा पनि एनआरएनए साउदीले जनाएको छ ।

    सूचना जस्ताको त्यस्तै :-
    कम्पनी छोडेर काम नगर्न साउदीमा रहेका सम्पुर्ण नेपालीहरुलाइ हार्दिक अपिल ।

    “कम्पनी छोडेर भागेर काम नगर्न साउदीमा रहेका सम्पुर्ण नेपालीहरुलाइ हार्दिक अपिल ।

    पछिल्लो अबस्थामा वैदेशिक रोजगारीको सिलसिलामा मेनपावर र एजेन्टको झुठो आश्वासनमा परि नेपालीहरु साउदी अरबमा आउने, तर यहाँ आएपछि मेनपावर तथा एजेन्टद्वारा भनिए अनुसारका काम,तलब र अन्य सुबिधाहरु नपाउने, बिदेश आउँदा चर्को ब्याजमा रिन लिएर आएको र थोरै तलबमा सन्तुष्ट नहुने, धेरै तलबको प्रलोभनमा पर्ने, यदि कोइपनि नेपाल फर्किन चाहे पनि सहजै नेपाल फर्किन नसक्ने, कम्पनी मेनपावर एजेन्ट, वैदेशिक रोजगार, जतासुकै आफ्नो कुरा राखे पनि “खाए खा न खाए घिच” भने जस्तै नेपाल फर्कन नसक्ने अबस्थामा अधिकांश नेपाली हरु भागेर काम गरिरहेका सबैमाझ सर्बबिद्दितै छ ।
    तर भाग्ने काम साउदीमा गैर कानुनी रहेको र यहाँ रहदाँ कुनैपनि ब्यक्तिगत समस्याहरु आउँदा कहिँ कतै ( चाहे कम्पनीबाट होस् यात नेपाल सरकारबाट होस्) बाट पनि सहयोग पाउन नसकिने र सहयोगको लागि अनुरोध गरे पनि कठिन र लामो समय लाग्ने भएकोले कृपया कम्पनी छोडेर भागेर काम नगर्नुहुन सबैमा अनुरोध गर्दछौं । भागेर काम गर्नु बाध्यता भए पनि बिदेशको ठाउँमा त्यो गैर कानुनी बाटोलाई अबलम्बन नगरौ, जुन समस्या तपाईंमा परेको छ त्यसलाई सामाना गर्दै धैर्र गर्ने र सम्बन्धित निकायहरुमा बारम्बार पहल, अनुरोध समन्वय गर्ने गर्नु नै उचित हुनेछ । तपाईंको समस्या पक्कै पनि समाधान हुनेछ । यदि कहिँ कतै बाट समाधान हुन नसके हामिलाइ खबर गर्नु होला हामि तपाईहरुको समस्या समाधान गर्ने कोशिस गर्नेछौं ।।”

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर1 Comment on कम्पनी छोडेर भागेर काम नगर्न साउदीमा रहेका नेपालीहरुलाइ एनआरएनए साउदीको अनुरोध

    आन्तरिक हवाई उडानको भाडा बढ्यो

  • २१ फाल्गुन २०७८, शनिबार १८:५७ मा प्रकाशित
  • काठमाण्डाै – आन्तरिक हवाई उडानको भाडा बढेको छ । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको भाउ बढाएपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका छन् ।

    भोलिदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले बढेको छ । यस्तै, काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै काठमाण्डौ–भद्रपुरको तीन सय, काठमाण्डौ–सुर्खेतको तीन सय ४५ र  काठमाण्डौ–नेपालगञ्जको तीन सय ३० रुपैयाँ भाडा बढेको छ ।

    नेपाल आयल निगमले एक सय १२ रुपैयाँ ९२ पैसामा खरिद गरेको आन्तरिक हवाई इन्धनमा २३ रुपैयाँ ८ पैसा नाफा राखेर एअरलाइन्सहरुलाई बेच्दै आएको छ । एअरलाइन्स कम्पनीहरुले निगमले कम नाफा राखेर इन्धन उपलब्ध गराउन माग गर्दै आएका छन् ।

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधिLeave a Comment on आन्तरिक हवाई उडानको भाडा बढ्यो

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P