
७ मार्च २०२२, साउदी अरब ! नेपाली दूतावास रियादले आफ्नो फेसबुक पेजद्वारा साउदी सरकारले कोभिड- १९ सम्बन्धी नियम तथा मापदण्डहरुमा खुकुलो पारेको सम्बन्धी सबैमाझ जानकारी गराएको छ ।
साउदी सरकारले गत ०५ मार्च २०२२ देखि कोभिड १९ सम्बन्धी नियम तथा मापदण्डहरुमा खुकुलो पार्ने निर्णय गरेसँगै नेपाली दूतावास रियादले उक्त नियम बारे सबैमाझ जानकारी गराएको छ ।
जसअनुरूप अब उप्रान्त सभा , सम्मेलन , भेला जस्ता कार्यक्रममा उपस्थित हुँदा , एक अर्कालाई भेट्दा वा सेवा लिनको लागि लाइनमा रहँदा भौतिक दूरी कायम गर्नु नपर्ने जनाएको छ । त्यसैगरी खुल्ला ठाउँमा रहँदा फेस मास्क लगाउनु नपर्ने तर अस्पताल , सरकारी कार्यालय , डिपार्टमेन्टल स्टोर , सपिङ मल , अन्य पसल , जिमखाना जस्ता बन्द स्थल ( closed places ) मा जाँदा भने अनिवार्य रूपमा फेस मास्कको प्रयोग गर्नुपर्ने जनाएको छ ।
अस्पताल , सरकारी कार्यालय , सपिङ मल तथा पसल जस्ता सार्वजनिक स्थलमा प्रवेश गर्ने हरेकले Tawakkalna App को अनिवार्य प्रयोग गर्नुपर्ने छ । साउदी अरब प्रवेश गर्नको लागि PCR रिपोर्ट आवश्यक पर्ने छैन । साउदी प्रवेश गर्ने कसैले पनि संस्थागत वा होम क्वारेन्टिमा बस्नु पर्ने छैन । भिजिट भिसामा आउनेहरूले कोरोना संक्रमण उपचार खर्च कभर गर्ने किसिमको स्वास्थ्य वीमा गरेको हुनु पर्ने पनि उक्त सूचनामा जनाएको छ ।

