• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

साप्ताहिक तस्बिरमा उदक अभ्यास शृङ्खलाको ५३औँ भाग सम्पन्न

  • १७ जेष्ठ २०७९, मंगलवार १७:५२ मा प्रकाशित
  • काठमाडौ, १४ जेठ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५३औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    परमेश्वर
    सृष्टि अचम्म
    टुटेको बलियो संबन्ध !
    ✍️
    जमुना कायस्थ
    पोखरा

    [२]
    जीवन
    मरेर बाँचेकाे
    उन्नत सृष्टि कर्ममा !
    ✍️
    राेशन पराजुली
    धरान।

    [३]
    संरक्षण
    पहिलो प्राथमिकता
    देखाउनु असल लक्षण !
    ✍️
    होम प्रसाद
    धरान,सुनसरी ।

    [४]
    चोट
    गहिरो कलमी
    सम्बन्धमा दुश्मनको औडाहा !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [५]
    सम्बन्ध
    भावनाको मेल
    नङ मासुको जस्तो !
    ✍️
    आर्त अकुलीन
    कैलाली

    [६]
    पीडा
    सानो ठुलो
    सबै भोग्न बाध्य !
    ✍️
    अन्जिता राउत
    नेचा सल्यान -५ सोलुखुम्बु

    [७]
    निकटतम्
    रगतको सम्बन्ध
    अस्ताएर छरेको प्रकाश !
    ✍️
    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [८]
    मन
    आफ्नो पास
    भित्र मीठो आभास !
    ✍️
    सुमित्रा पोखरेल
    काठमाडौं

    [९]
    सम्बन्ध
    निकै गहिरो
    पीडा सहेर पनि !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    [१०]
    प्रकृति
    बुझ्न गाह्राे
    भयाे सम्बन्ध मजबुत !
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [११]
    उन्नति
    मेल आपसमा
    कठाेर समस्या पाखामा !
    ✍️
    भवानी घिमिरे
    सर्लाही ।

    [१२]
    प्रभाव
    आफन्तको साथ
    प्रकृतिको अनुपम स्वभाव !
    ✍️
    शिव खनाल जीवम
    रुपन्देही

    [१३]
    प्रकृति
    अचम्मको सृष्टि
    परस्पर अटुट दृष्टि !
    ✍️
    धर्मी शाक्य
    बुटवल रुपन्देही

    [१४]
    गजब
    सृष्टि प्रकृतिको
    जोगाउने कर्तव्य हाम्रो !
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [१५]
    प्रबन्ध
    अप्ठ्यारो परिस्थिति
    नटुट्ने प्रगाढ सम्बन्ध !
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [१६]
    आफ्ना
    भएमा बलिया
    योजना निष्फल दुश्मनको !
    ✍️
    पद्मा, बाँके

    [१७]
    प्रकृति
    परस्पर सौम्य
    पर्यावरण कञ्चन सुरम्य !
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ

    [१८]
    प्रकृति
    गर्छन् विकृति
    सकेसम्म लिएर स्वीकृति !
    ✍️
    रामप्रसाद पुरी
    ऐसेलुखर्क २,खाेटाङ

    [१९]
    बिरुवा
    मस्तिष्कको अभाव
    उच्च भावको प्रभाव !
    ✍️
    सविता के.सी., काठमाडौँ ।

    [२०]
    सम्बन्ध
    आघुनिक प्रविधि
    जाेडाईमा क्राेमाेजाेमकाे भुमिका ।
    ✍️
    नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [२१]
    सजीव
    बाँच्नका लागि
    चाहिने आफन्तको सहारा !
    ✍️
    केन्द्रप्रकाश बराल
    इलाम ।

    [२२]
    सुन्दर
    प्राकृतिक दृश्य
    हराभरा स्वच्छ मौसम !
    ✍️
    संझना कुसुम
    पोखरा

    [२३]
    सहारा
    परजीवी जस्तै
    खाएर अर्कैको आहारा !
    ✍️
    राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही हाल भरतपुर चितवन

    [२४]
    हाँगा
    काटिए ताछिए
    तर संकल्प दृढ !
    ✍️
    कमला देवकोटा
    पाल्पा

    [२५]
    सम्बन्ध
    टाढाको देवता
    नजिकको भूत प्यारो !
    ✍️
    रामचन्द्र ढकाल
    चितवन

    [२६]
    सहारा
    जसको भरोसा
    उसैको लिन्छ आहारा !
    ✍️
    घनश्याम पौडेल
    पोखरा

    [२७]
    सम्बन्ध
    जोडिएको भावना
    पुग्दैन दुश्मनको कल्पना !
    ✍️
    कल्पना पहाडी
    सिन्धुली

    [२८]
    सम्बन्ध
    नङ्ग मासुको
    खोला जस्तो बगिरहने !
    ✍️
    बुद्धिमान दनुवार
    कनकाई नगरपालिका ४ झापा

    [२९]
    प्रकृति
    अद्भुत सहारा
    पाएर बाँचेको बिचरा !
    ✍️
    मंगला उपाध्याय

    [३०]
    प्रकृति
    सुन्दर आकृति
    सुमधुर प्रेमको आभास !
    ✍️
    मिलन के.सी.(थापा)
    पोखरा

    [३१]
    अनन्त
    प्रगाढ सम्बन्ध
    पराइको रेट्छन् आफन्त !
    ✍️
    पशपती राई
    खोटाङ

    [३२]
    सङ्गत
    आफन्तै पारङ्गत
    सून्दर प्रकृति सुखद !
    ✍️
    सिबि आले मगर

    [३३]
    हाँगा
    नाता रगतकाे
    पीडामा माया आफ्नैकाे !
    ✍️
    श्रद्धा आचार्य
    पोखरा

    [३४]
    सम्बन्ध
    बलियो पारे
    जिन्दगी निरन्तर चल्ने !
    ✍️
    रमेश प्रभात

    [३५]
    परजीवी
    परनिर्भरताको साइनु
    कमजोर शाखाको आधार !
    ✍️
    कण्ठराज गिरी
    टीकापुर कैलाली हालअस्टलिया

    [३६]
    नाता
    सम्बन्ध साइनो
    राम्रो अनुराग मिसिएको !
    ✍️
    `प्रीतबीज´

    [३७]
    जीवन
    जिउने सहारा
    निकटतम आफन्तको महत्त्व !
    ✍️
    सावित्री अधिकारी
    काठमाडौ

    [३८]
    सम्बन्ध
    अमर रहन्छ
    अन्तर हृदय भित्र !
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी

    [३९]
    शिक्षा
    अमुल्य रुखको
    माया प्रदर्शन आफ्नाको !
    ✍️
    रिता खराल
    रुपन्देही

    [४०]
    सम्बन्ध
    भावना जोडिएमा
    गल्दैन् कसैको दाल !
    ✍️
    धनमाया चौधरी
    कैलाली

    [४१]
    सम्बन्ध
    अटुट माया
    ब्यवहार मिल्छ जहाँ !
    ✍️
    बुद्धिप्रसाद लामिछाने
    कैलाली

    [४२]
    सहारा
    जिवन्त सम्बन्ध
    प्रकृति विचित्र संसार !
    ✍️
    घनश्याम पौडेल

    [४३]
    आफ्नो
    उही हाे
    दु:ख पर्दाकाे साथी !
    ✍️
    टीकाराम जाेशी
    टीकापुर

    [४४]
    बिरूवा
    प्राकृतिक सौन्दर्य
    आपसी गहिरो सम्बन्ध !
    ✍️
    कविता आचार्य
    कैलाली

    [४५]
    प्रकृति
    सुन्दर सृष्टि
    अनायासै नछुटिने दृष्टि !
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४६]
    प्रकृति
    जैविक स्वभाव
    सच्चा प्रेमको प्रभाव !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    जय उदक ! जय साहित्य !!

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक अभ्यास शृङ्खलाको ५३औँ भाग सम्पन्न

    गणतन्त्र दिवसको अवसरमा विशेष टुक्का लेखन कार्यक्रम

  • १६ जेष्ठ २०७९, सोमबार २२:०९ मा प्रकाशित
  • काठमाडाैँ, नेपालकाे १५ ओैँ गणतन्त्र दिवसकाे अवसरमा २०७९ जेठ १५ गते टुक्का साहित्य समाजकाे आयाेजनामा “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३७” सम्पन्न भएकाे छ । 

    टुक्का पाठशालामा सञ्चालन भएकाे उक्त कार्यक्रमकाे संयाेजन तथा प्रशिक्षण टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंले गर्नु भएकाे थियाे । कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट ८२ टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे ।

    कार्यक्रममा सहभागीहरूले नेपालमा लाेकतान्त्रिक गणतन्त्र आएकाे १४ वर्ष पूरा भएकाे अवसरमा “लाेकतान्त्रिक गणतन्त्र काे समीक्षा तथा शुभकामना ” विषयमा केन्द्रित भएर टुक्का कविताहरू सिर्जना गरेका थिए ।

    अभ्यासकाे क्रममा सङ्कलन भएका टुक्का कविताहरूकाे भाषिक सम्पादन कार्यक्रमकाे सह-संयाेजक तथा सक्रिय टुक्काकार बिना राेकाले गर्नु भएकाे थियाे ।

    कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष/ संयाेजक चापागाईं तथा सह-संयाेजक राेकाले सहिदहरूकाे बलिदानबाट प्राप्त नेपालकाे गणतन्त्रकाे समीक्षा गर्दै गणतन्त्र दिवसकाे अवसरमा सुन्दर टुक्काहरू सिर्जना गर्नुहुने सम्पूर्ण टुक्काकारहरूमा हार्दिक आभार व्यक्त गर्दै सबै टुक्काकारहरू, टुक्का प्रेमीहरू तथा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरूमा गणतन्त्र दिवसकाे अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नु भएकाे थियाे । 
    अभ्यासका क्रममा सङ्कलन गरिएका केेही टुक्का कविताहरू
    [१]
    १.
    सक्षम सबल बनुन् जनता, पुरा हाेस् सबैकाे चाहना
    पन्ध्राै लाेकतान्त्रिक गणतन्त्रकाे हार्दिक शुभकामना ।
    २.
    धन पहुँचले पूर्ण तिमी जनताकाे मुख कालाे,
    भनी देउ न नेता ज्यू हाम्राे, कहिले आउँछ पालाे ।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेसी हाल प्रवास

    [२]
    १.
    गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र जे भने पनि चल्छ नेताकै मन्त्र
    कुर्सीमा गजधम्म बसिसकेपछि चलाउँछन् अनेक मन्त्र तन्त्र।
    २.
    शिक्षा नभएमा सबै तन्त्र बेकार हुन्छ
    भोट दिएपछि पाँच वर्ष जनता रुन्छ ।
    ✍️ दीपक ठटाल जलन
    खरसाङ

    [३]
    गणतन्त्रमा सबैले पाऊन् सुख शान्ति ,
    उन्नतिले मुहारमा चम्कोस् मिठो कान्ति ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [४]
    १.
    नेपालमा पनि आयो धेरै पछाडि त्याग गरि गणतन्त्र
    अहिलेसम्मको स्थिति हेर्दा भएन यो विकास गर्ने मन्त्र।
    २.
    कति आपसमा लडेर बहस र छिनाझपट मात्र गर्छौ
    यस्तो पाराले दिन दु:खी अनि गरिबका पेट कहिले भर्छौ ।
    ✍️ पवन कुमार बुढाथेाकी
      काठमाडौं

    [५]
    १.
    गणतन्त्रको शुभकामना आज सबलाई दिउँ
    आफ्नो हक र अधिकार अब जसरी पनि लिउँ ।
    २.
    गणतन्त्रको नाममा छ यहाँ, लुटतन्त्र चलेको
    नेता जति खानै मस्त, छ जनताको घर जलेको ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ, हाल- प्रवास

    [६]
    १.
    गणतन्त्रको चर्को नारा मात्र लाएर
    विकास गर्न अल्छी गरे धेरै खाएर ।
    २
    गणतन्त्र आयो भनि सबमा थियो धेरै आशा
    काम केही नहुदामा जनतामा छायो निराशा ।
    ✍️ अम्विका अधिकारी
    झापा विर्तामोड

    [७]
    १.
    जनताको  पनि शासनमा पहुँचको कदर आओस्,
    गणतन्त्र दिवसले सम्पूर्ण नेपालीको हर्ष छाओस् ।
    २.
    गणतन्त्रात्मक देशमा जनताको मूल्य भएन,
    महँगीले आकाश छोइसक्यो टिक्ने स्थिति रहेन।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चाेक

    [८]
    १.
    गणतन्त्र नै ल्याए पनि फेरिएन पारा ,
    गरिब दुःखी अझै बढि भए सर्वहारा ।
    २.
    ल्याए पनि गणतन्त्र, फेरिएन नीति ,
    भाेका नेता माेटाएकाे हेर जातिबिती ।
    ✍️ रामकृष्ण दुवाडी
      पाेखरा

    [९]
    १
    गणतन्त्रवादी यो देशमा यतिमै सीमित भयो लोकतन्त्र 
    सहुलियतहरू सबै चौकीमा आएर भइदियो छु मन्त्र ।
    २
    शुरुमा यी नेता भनौंदालाई लोकतन्त्रको अर्थ सिकाउनु पर्छ
    तब मात्रै हो विकास र उन्नतिमा पछाडिको यो देश अघि सर्छ ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ

    [१०]
    १.
    नेपालको लोकतान्त्रिक शासन सम्पूर्ण जनमत छाइयोस् ,
    शुभकामना पन्ध्रौं गणतन्त्र दिवस बर्सेनि मान्न पाइयोस् ।
    २.
    हाम्रो देशको सुन्दर देख्ने हिमाली प्रदेश ,
    विश्वमा जतासुकै गएपनि प्यारो स्वदेश ।
    ✍️ भगवती दवाडी
    दमक झापा

    [११]
    १.
    लाेकतान्त्रिक गणतन्त्रमा थियो स्वतन्त्र भई बाँच्ने चाहना,
    पुरा हाेस छिट्टै, सबैमा हार्दिक मङ्गलमय शुभकामना ।
    २.
    राज्यको ढुकुटी रित्याएर देश विकासको लगायौ नारा ,
    देशलाई संकटमा पारेर जनताहरू रुवायौ सारा ।
    ✍️ बेदु न्यौपाने
    भोजपुर हाल निवास काठमाडौ

    [१२]
    १.
    चुनिएका छन् देशभर नेता लाेकतन्त्रकाे रक्षा गर्न
    नबनुन् काेही स्वार्थी अब जुटुन् जनमा हाँसाे खुसी भर्न ।
    २.
    लाेकतन्त्र आएकाे हाे जनताहरूकाे बलिदानले
    बाँच्न वातावरण बनाेस् अब आफ्नै देशमा शानले ।
    ✍️ भाेलामान बर्देवा
    धरान-८, सुनसरी ।

    [१३]
    १.
    गणतन्त्र आयाे गणगणमा लुटतन्त्र छायाे जनजनमा
    महँगीले छायाे सब थाेकमा वितृष्णाले ढाक्याे जनमनमा।
    २.
    सिंह आए तीन तिरबाट जनलाई झाेला करकाे
    बने महल कसैका ठुला कसैका चुहुँदा  खरकाे ।
    ✍️ निरज काेइराला
    बेलका १ हाल इटहरी

    [१४]
    १.
    थाहै नपाई बितेर गएछन् पन्ध्रवटा वर्ष
    दाेधारमा परें लाै न म त रुनु कि मानाैं हर्ष ।
    २.
    बेलै देखि राम्रो गर्या भए हुन्थ्याे गणतन्त्र साजा
    हाेस गर नेता गण जनताले बजाउलान् बाजा ।
    ✍️ कृष्ण अधिकारी
    विर्तामोड -३, झापा

    [१५]
    १.
    गणतन्त्र वासना विनाको फूल जस्तो भयो ,
    सम्बृद्धिको आसै आसमा डेढ दशक गयो ।
    २.
    गरिब झन गरिब धनी झन धनी बनायो ,
    जनतालाई त उस्तै हो नेताको भाग्य उदायो ।
    ✍️ कर्ण दयाल
    मेलौली नगरपालिका -७, बैतडी

    [१६]
    १.
    दुःख जाला सुख आउला गणतन्त्रमा आशा राख्दा,
    खाली धोक्रो भाषण खोक्रो अमिलो भयो फल चाख्दा।
    २.
    लोकतन्त्र गणतन्त्र जे आए पनि एउटै मन्त्र,
    लुटिलिने भुटीखाने गरेकै हुन्छ किन षड्यन्त्र ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    [१७]
    १.
    सारङ्गी अनि मादल जस्तै जनता सधैँ भरिको खोक्रो,
    गणतन्त्रले नित्य भरि दियो भ्रष्ट नेताहरूको धोक्रो।
    २.
    भन्नलाई गणतन्त्रमा जनतालाई सर्वेसर्वा भन्छन्,
    घुसखोर नेताहरूले भने जनता ठगी नोट गन्छन्।
    ✍️ अरुण कु.भुजेल
    गोरूबथान, कालेबुङ्ग, भारत।

    [१८]
    १.
    गणतन्त्र भित्र नि परतन्त्र जस्तो,
    भोग्दैछन् जनता दुर्भाग्य कस्तो ।
    २.
    अशान्ति क्रान्ति महँगीको सामना,
    गणतन्त्र मार्मिक शुभकामना ।
    ✍️ बिबस पारदर्शी
    भद्रपुर -२, झापा

    [१९]
    १.
    गणतन्त्रमा मातृभूमि  हुनुपर्छ लिम्पियाधुरा
    गौरव गराैँ राष्ट्रको, बनाउँ पुर्खाको झैँ पाखुरा ।
    २.
    गणतन्त्रको मूल मर्म स्वतन्त्रतामा पुगोस्
    अस्थिरताले देश गले स्वाभिमान नझुकोस् ।
    ✍️ प्रेम थापा “मन”
    बागलुङ

    [२०]
    १.
    नाम मात्रको गणतन्त्रको कति कुरा गर्ने?
    जनताको लागि हो है भन्दै आफ्नै भुँडी भर्ने।
    २.
    गणतन्त्रले नेताहरूमा खुसियाली छायो
    जनताले चोट र दु:ख पाउन सम्म पायो।
    ✍️ परिक्रमा श्रेष्ठ
    धरान ।

    [२१]
    १.
    गणतन्त्रमा राहत सास फेर्न पाईएन
    यस्तै यही गणतन्त्र हो भने भो चाहिएन।
    २.
    महङ्गीले जन जीवन अक्रान्त पारिदियाे,
    याे भन्दा धेरै राम्राे पञ्चायत शासन थियाे।
    ✍️ ईशहाक हुसैन
    जितपुर-सिमरा उ म न पा  बारा

    [२२]
    १.
    नामकाे गणतन्त्र जनताका लागि गाँड गणतन्त्री बन्याे ,
    विधि विधान मासियाे सत्ताधारी जे जे गर्याे त्याे बेस भन्याे।
    २.
    मनमा त लाग्दै थियाे दिँउ दिँउ शुभकामना ,
    राजनीतिक वेश्यावृत्ति बन्याे बढ्याे दुर्भावना।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर

    [२३]
    १.
    गणतन्त्र दिवस सबैले मनाऔँ
    राज्यको ढुकुटी विकासमा लगाऔँ।
    २
    महङ्गी र भ्रष्टाचार रहित सुशासनको सबैको चाहना
    गणतन्त्र दिवसको सम्पूर्णमा मङ्गलमय शुभकामना ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ

    [२४]
    लुट तन्त्र विकासको तगारो
    गणतन्त्र नैतिकता को प्यारो ।
    ✍️ रिजाल विनोद
    बेलबारी ०२ मोरङ

    [२५]
    १,
    सङ्गिन देखाई ल्याएको गणतन्त्र गणतन्त्र हैन,
    गरिब जनता गणतन्त्र देखेर कोही खुसी छैन।
    २,
    साच्चै नै लोकतन्त्र हो भने जनताको शासन हुन्छ,
    गणतन्त्र ल्याउने नेता देख्दा गरिबको मन रुन्छ।
    ✍️ मल्ल लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [२६]
    १.
    गणतन्त्र आएपछि, देशमा, खुसियाली छायो
    विकास गर्लान् भनेको त महङ्गी बोकी ल्यायो।
    २.
    दुःख र पिडामा अल्झिएको छ जनताको मर्म भावना
    भन्नै पर्छ, सबै जनालाई, गणतन्त्रको शुभकामना ।
    ✍️ राम रावल सागर
    कैलाली

    [२७]
    १.
    प्रजातन्त्र, लोकतन्त्र हुँदै हुँदै गणतन्त्र आयो ,
    गरिब दुखी जनताले आजसम्म के कति पायो ।
    २.
    बुझेनन् कहिले पनि जन मानिसको है भावना ,
    पन्ध्राैँ गणतन्त्र दिवसको हार्दिक शुभकामना ।
    ✍️ बुद्धिमान दनुवार
    कनकाई नगरपालिका ४ झापा

    [२८]
    १.
    गणतन्त्र लोकतन्त्र आयो गरिबले दु:ख पायो
    नेतालाई भ्रष्टाचार जनतालाई महङ्गी छायो ।
    २.
    सुख शान्ति समृद्धिको जनले गरेका छन् चाहना
    पन्ध्रौं  गणतन्त्र दिवसको सबैमा शुभकामना ।
    ✍️ तारा घिमिरे
    सङ्खुवा सभा

    [२९]
    देशमा गणतन्त्र आएको आभास भैन,
    जनताका समस्या उस्तै रह्याे चैन छैन।
    ✍️ सुरेशकुमार पान्डे
    दाङ घोराही-१८

    [३०]
    १.
    तन्त्र यो घुमीफिरी बल्ल गणतन्त्र आयो
    गाउँवासी जनतालाई थोरै खुसी छायो।
    २.
    शान्ति समृद्धि र सुखै सुखको बोकेर लाखौँ भावना,
    पन्ध्राैँ गणतन्त्र  दिवसको सबैलाई  शुभकामना।
    ✍️ अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [३१]
    १.
    स्थायी शान्ति र विकासको जप्दै जप्दै मन्त्र,
    हजारौँको   बलिदानले   आयो   गणतन्त्र ।
    २.
    हिमाल पहाड तराई कुना कन्दराका ठाउँमा
    काठमाडौँको सिंहदरबार पुग्यो गाउँ गाउँमा ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [३२]
    १.
    जहानियाँ  शासन एकतन्त्री पहिले राजतन्त्रमा,
    संविधान भन्दा माथ हुने राजा फाले गणतन्त्रमा।
    २.
    सार्वभौमसत्ता हातमा लिए सारा जनताले,
    समृद्ध  देश  बन्नेमा  मत पाएन  एकताले।
    ✍️ म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

    [३३]
    १.
    गणतन्त्र आयो जनताको भनि ढाँटेर,
    नाफा लिए नेताले पैसामा राष्ट्र साटेर।
    २.
    न इतिहास न संस्कृति न रह्यो धर्म
    लथालिङ्ग  भयो देश  नबुझेर मर्म ।
    ✍️ लक्ष्मण समीर, बर्दिया
    हाल काठमाडौं

    [३४]
    १.
    गुटतन्त्र लुटतन्त्र नहाेस् गणतन्त्र
    स्वच्छ छवि कमाउन जपाैँ सदा मन्त्र ।
    २.
    जनताको विश्वासलाई शिराेधार्य गर्दै
    जुटाैँ लागाैँ जनादेश सफल पार्छाैँ भन्दै ।
    ✍️शर्मिला खतिवडा
      विर्तामोड ,झापा

    [३५]
    १
    गणतन्त्र आयो भन्दैमा आउँने होइन
    मोज, मस्ती र भ्रष्टचार गर्न पाउने होइन
    २
    गणतन्त्रले सबैलाई स्वतन्त्रता दियोस्
    गरिबको खाली पेट अन्नले भरियोस्
    ✍️ सीता आस्था ढुङ्गेल
    काठमाडौँ

    [३६]
    १.
    गणतन्त्र आयो देशमा त्यो राजतन्त्र फाली
    गणतान्त्रिक  देशमा  काम  गर्नुहुन्न जाली ।
    २.
    जनताको अधिकार गाउँमा पुग्यो जब,
    भ्रष्टाचार पो नियन्त्रण गर्नुपर्‍यो अब ।
    ✍️ रचना मोक्तान “यात्री”
      नमोबुद्ध न.पा. -५, काभ्रे ।

    [३७]
    १.
    संसारभर नेपालको गणतन्त्रको बढोस् गरिमा ,
    नेपाली जनजनले सकुन् गाउन यसको महिमा ।
    २.
    फुलोस् फलोस् गणतन्त्र मेरो याे चाह ,
    म गर्वले भन्नसकाैँ वाह रे वाह ।
    ✍️ बिके माकजु
    भक्तपुर ।

    [३८]
    १
    हजारौं सहिदको बलिदानीमा हिजो गणतन्त्र आयो
    न देशमा अमन चैन भयो न जनताले शान्ति पायो ।
    २
    जनता झुक्याउन गणतन्त्र भजाएर कुर्ले
    सिङ्गो देशबाट एकसाथ जनता हिजो उर्ले ।
    ✍️ रुपा गौतम
    बारा

    [३९]
    १.
    म खोज्दै हिडेको सुनौलो बिहानी ।
    गणतन्त्र राम्रो सुनेको कहानी ।
    २.
    अनेकौँ लडाइँ भयो देश भित्र
    मरे धेरै योद्धा सहासी ती मित्र ।
    ✍️ सुर्य मणि रेग्मी
    चितवन

    [४०]
    १,
    हत्या हिंसा नहाेस् फेरि दिगाे शान्ति चाहियाे
    गणतन्त्र आए पछि झन दुख पाइयाे ।
    २.
    कहाली लाग्दो संसार त्यागि सुखी खुसी बनाैँ
    हातेमालाे गर्दै हामीले नै नयाँ बाटाे खनाैँ ।
    ✍️ रश्मि रिमाल
    झापा

    [४१]
    १.
    बुझ्न सकुँन ती नेताहरूले जनताकाे चाहना,
    गणतन्त्र दिवसको सम्पूर्णलाई शुभकामना ।
    २.
    राजनीतिमा विभिन्न पार्टीकाे हुने रहेछ जलझेल,
    चुनाव भनेको कुटनीतिले हार्ने जित्ने रहेछ खेल।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [४२]
    १.
    जनताको घर दैलोमा आएको गणतन्त्र
    सुशासन र समृद्धिको बोकेर मूल मन्त्र ।
    २.
    समान हक अधिकार पाउने हरेक नागरिकको चाहना
    पन्ध्रौं लोकतान्त्रिक गणतन्त्र दिवसको सबैमा शुभकामना।
    ✍️ इश्वरी अधिकारी
    लमजुङ

    [४३]
    स्वच्छ सभ्य र सुलभ बनाेस् गणतन्त्रको नारा,
    गाउँ शहर देश बासी सुखी खुशी बनुन् सारा ।
    ✍️ रामप्रसाद पुरी
    खाेटाङ

    [४४]
    १.
    गणतन्त्र भित्र कोही नबनुन् है राजा
    तीनै अङ्ग कब्जा गर्दै बजाएर बाजा।
    २.
    भ्रष्ट सबै पाखा लागुन् आउन् दक्ष ताजा
    गणतन्त्र जनताको चौतारी होस् साझा।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर

    [४५]
    १.
    गणतन्त्र भन्छन् सबै छैन जनतन्त्र
    गणलाई हुत्याएर थपे गणतन्त्र ।
    २.
    झिनो आशा बोकी आज जेठ पन्ध्र आयो
    फर्केला कि उही रूप भन्ने भाव छायो !
    ✍️ प्रीति आत्रेय ज्ञवाली
    बुटवल, हाल प्रवास

    [४६]
    १.
    गणतन्त्रको नाराले,
    दु:ख पाए साराले ।
    २.
    बोका जस्तै बली चढे ल्याउन लोकतन्त्र ,
    सक्षम भै सिकाउ नेता विकासका मन्त्र ।
    ✍️ अम्बिका गिरी
    विराटनगर

    [४७]
    १.
    स्वार्थ सिद्ध गर्न रैछ राजा फाल्ने  मन्त्र ,
    हात्ती आयो, हात्ती आयो फुस्सा गणतन्त्र ।
    २.
    गणतन्त्र भित्र यहाँ हुँदा  धेरै राजा,
    जनादेश खाेज्नुपर्छ भन्ने लाग्यो ताजा ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    [४८]
    १
    फुलोस् फलोस् गणतन्त्र समेट्न सकोस् मूल भावना
    उदाओस् नेपालीको भाग्य पूरा हाेऊन् सबै चाहना ।
    २
    गणतन्त्र फाप्न सकाेस् उठाेस् शिर यहाँ नेपालीकाे
    सुवास चलाेस् विश्वभर नै वीर हामी गाेर्खालीकाे ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर

    [४९]
    १.
    अधिकार सुनिश्चित रही सधैँ पूरा होस् चाहना
    लोकतान्त्रिक गणतन्त्र दिवसको शुभकामना ।
    २.
    पन्ध्रौं गणतन्त्र मुल आधार
    रहोस् समान हक अधिकार ।
    ✍️रिता खराल
    रुपन्देही

    [५०]
    १.
    गणतान्त्रिक राष्ट्रमा अभाव छ जनतालाई नुन, भुटुन, रासन
    नेताको लागि मात्र भैदियो सुखको अनुभूति गणतान्त्रिक शासन।
    २.
    शिशु छ हाम्रो गणतन्त्र भन्दै, टार्दै आए नेताले यतिका धेरै बर्ष,
    अब किशोर भयो गणतन्त्र सबैलाई शुभकामना मनाऔं हर्ष।
    ✍️ प्रमोद भट्टराई ‘प्रतीक’
      कौशलटार, भक्तपुर

    [५१]
    १.
    जनता देशका शक्ति हुन्
    बगाए धेरै तिनैले खुन् ।
    २.
    हामीलाई गणतन्त्र पनि चाहिन्थेन
    पहिला यहाँ शान्ति बाहेक
    पाईन्थेन ।
    ✍️ पुष्पशायरा । विराटनगर ।

    [५२]
    सहिदको  बलिदानले गणतन्त्र आयाे
    नेताहरूले जनका सपना सबै खायाे।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी भक्तपुर

    [५३]
    १.
    सही बाटो तय गर आयो देशमा गणतन्त्र
    ढुक्क भइ विकास गर यहीँ’त हो मुलमन्त्र।
    २.
    सुनियो  गणतन्त्र  भइयो  खुसी  शुभकामना आज
    खै के गर्नु गणतन्त्र कोही छैनन् स्वतन्त्र चल्यो राज।
    ✍️ प्रकाश बुढाथोकी
    असम भारत ।

    [५४]
    १.
    बढ्दै जाओस् गणतन्त्रमा चेतना
    घट्दै जाओस् जनजनका वेदना ।
    २.
    जनताको शासन हुनु पर्छ गणतन्त्रमा
    स्वच्छता चाहिन्छ काम, बिचार, मूलमन्त्रमा ।
    ✍️ रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    [५५]
    १.
    आमूल परिवर्तनको निम्ति भए सङ्घर्ष देशमा
    त्यसैले त बाँच्न पाइएको छ सबैले आफ्नै भेषमा।
    २. 
    प्रजातन्त्र हुँदै देशमा आयो गणतन्त्र
    राष्ट्र सम्बृद्धि होस् अब सबैको मूल मन्त्र ।
    ✍️ तेजप्रसाद खनाल
    लमही दाङ।

    [५६]
    १.
    देशमा लोकतन्त्र, गणतन्त्र, कतै नभए जस्ताे
    लोक र गण छन् अझै गौण, झनै बिल्लिबाठ कस्ताे।
    २.
    अर्थ नबुझ्नेलाई शब्द सुनाई के गर्नु?
    लोक र गण नबुझ्नेले, किन अघि सर्नु?
    ✍️ अर्जुन उप्रेती (अप्रतिम)
    असम भारत।

    [५७]
    १.
    कुन चरीकाे नाउँ हाे गणतन्त्र भन्ने?
    जुनै तन्त्र आएपनि हामी दास बन्ने ।
    २.
    भर्याङ हामी बनि दिन्छाैं नेता चढ्छ माथि,
    कुन तन्त्रमा सुध्रिएला हाम्रो स्तर साथी ?
    ✍️ मित्र उराठी गाैतम
    अमरपुर- गुल्मी हाल: तिलाेत्तमा न पा -२, रुपन्देही

    [५८]
    देशभक्ति को के कुरा गर्नु यहाँ महँगी ले आकाश छोयाे,
    लाेकतान्त्रिक गणतन्त्र भन्नु मात्र गरिबको मन रोयाे।
    ✍️ प्रेम शर्मा एकान्त प्रेमी
    कालेबुङ भारत

    [५९]
    १.
    चलाऊ इमानदारीता सदुपयोग हओस् यन्त्रको
    कुशासन भ्रष्टाचार होइन आशय लोकतन्त्रको ।
    २.
    कस्तो नेपालको कल्पनामा सहिद भएका हुन्
    ती वीरहरूका बलिदान सरकारले बुझुन् ।
    ✍️ अरुणा श्रेष्ठ ‘ अनु’
    भद्रपुर झापा

    [६०]
    फेरि पनि घर घरमा गणतन्त्र दिवस आयाे
    नुन, भुटुनको महँगीले जनताकाे खुसी खायाे ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [६१]
    १.
    मिठो बोल्नु नराम्रो कसैलाई नभन्नु’
    सबैको नजरमा असल मान्छे बन्नु।
    २.
    अघि बढ्नु हो राम्रो राम्रो कुराको रथ समाइ,
    शुभकामना गणतन्त्र दिवसको सबैलाई ।
    ✍️ पारस भट्ट प्यासी
    मेलौली दुई बैतडी

    [६२]
    १.
    पूर्वाधार बन्दै छन् अब गरौँ आर्थिक  क्रान्ति
    विदेश नजाऔं  मिलोस् शिक्षा ,रोजगार, शान्ति ।
    २.
    स्वतन्त्रता स्वाधीनता स्वच्छतासँगै जिवित राख्नुपर्छ गणतन्त्र
    शुभकामना ! निस्वार्थ देशभक्त राष्ट्रप्रेम जीवन्त होस् मूलमन्त्र ।
    ✍️ मिसु श्रेष्ठ
    काठमाडौं

    [६३]
    १.
    बुझ्न खोजेँ बुझ्नै सकिनँ, के होला गणतन्त्र,
    सत्ता चढ्ने र मोज गर्ने, यही होला कि मन्त्र ।
    २.
    राजा फालेर राजा बने आफैँ उद्घोष गरी,
    अझै बेसी ठाँट छ उनको गर्छन् मनपरी ।
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ

    [६४]
    जनता र त्रिभुवनले प्रजातन्त्र ल्याएका थिए
    सुधार्दै लैजानु ठिक थियाे किन गणतन्त्र दिए ?
    ✍️ संझना (कुसुम)
    पाेखरा

    [६५]
    १
    हजारौं जनताले रगत बगाइ ल्याएका हुन् गणतन्त्र
    दबाबमा  होइन  सबले  जिउनु पाउनुपर्छ स्वतन्त्र ।
    २
    फलोस् फुलोस् उच्च रहोस् सदा यही भावना
    पन्ध्रौं  गणतन्त्र  दिवसको  शुभकामना ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [६६]
    १.
    सुनेँ, देखेँ, भोगेँ, के रैछ थाहा पाएँ गणतन्त्र,
    गरिबी दूर गर्ने, कसैसँग छैन कुनै मन्त्र ।
    २.
    यौटा दरबार यौटा सिंह, थियो यथानाम,
    धेरै दरबार धेरै सिंह, भए बदनाम । 
    ✍️ गोपालकृष्ण डंगोल
    काठमाण्डौँ हाल इटहरी

    [६७]
    १.
    कसरी बाच्ने हामी दु:खीहरू बनाउ कुनै मन्त्र
    नेताहरू मात्र माेटाउँदै छन् यही हाे गणतन्त्र ?
    २.
    गणतन्त्र दिवस भनेर ती ठुला नारा लगाउँछौ
    जनतालाई पीडा थप्दै रगतकाे खोला बगाउँछौ।
    ✍️ कमला हरिमाया पाण्डे पराजुली
    झापा चारआली

    [६८]
    राजतन्त्र मासेर गणतन्त्र ल्याएको,
    जनले हित भन्दा दुख धेरे पाएकाे ।
    ✍️ रिना सापकाेटा
    बारा
    [६९]
    १.
    छैन कही सुख यहाँ आए पनि गणतन्त्र,
    हाम्रो लागी खुसी हुने भेटिएन मुलमन्त्र।
    २.
    अफाप भयो  गणतन्त्र संघियता  हामीलाई,
    अभाव भित्रै कती बाँच्नु दिदी बहिनी दाजुभाइ।
    ✍️ नवशिला।
    बेलबारी -२, लालभित्ती,मोरङ।

    [७०]
    जनताको शासन देशमा आएको थियोे
    नेता बन्दै फटाहाले सब लुटेर लियाे।
    ✍️ विक्रम तिरूवा सलिन
    तिला गाउँपालिका ३ कुडारी जुम्ला

    [७१]
    १.
    बैरो भयो कान सुन्ने,लाटोसुधो बोल्ने
    मह उत्पादन गर्न घार भित्र चिनी घोल्ने।
    २.
    रास्ट्रवादको नाराले गणतन्त्र भयो फुल्ने
    जय होस ती नेतालाई, देशभक्ति नै भुल्ने।
    ✍️ जि कुमार गौतम
    भद्रपुर १ पृथिविनगर झापा

    [७२]
    १.
    गणतन्त्र मुखको लागि,भयो जनता माझ।
    बिहानीमै त अन्धधुन्ध, भयाे उज्यालो साँझ।
    २.
    सुसेलीमा हाली अनि,गणतन्त्र बोलायो
    गरिबको दिन सबै अध्यारोमै टोलायो।
    ✍️ एवाइ प्रभात
    धनकुटा, हाल मोरङ

    [७३]
    १.
    जनता देशको अमुल्य धन
    लोकतन्त्र बनोस् सबैको  मन।
    २.
    युवायुवती देशको सम्पति
    विदेशी नबनोस् हाम्रो दम्पति।
    ✍️ रतन पाण्डे’पारतन’
    दार्जीलिङ।

    [७४]
    १.
    पन्ध्र वर्ष लागिसक्याे आएको गणतन्त्र
    देला कसले जनले सुख पाउने मन्त्र  ।
    २.
    जनताले अनुभूत गर्न मिलोस् सब
    जुनै तन्त्र आए पनि एकता होस् अब ।
    ✍️  दुर्गा वनवासी
    झापा

    [७५]
    १.
    जनयुद्ध उन्नाइस दिने आन्दाेलनले उपलब्धि पायाे,
    फलस्वरूप नेपालमा नि लाेकतान्त्रिक गणतन्त्र आयाे।
    २.
    महँगी, बेथिति भ्रष्टाचार, बढ्दैछ चाैतर्फी अराजकता झन्
    लुटतन्त्र माैलाउँदै छ जनता गणतन्त्रदेखि निरास छन् ।
    ✍️ रामकृष्ण रिजाल
    बा न पा १३ बागलुङ

    [७६]
    गणतन्त्र आयो फेरिएन देशको मुहार
    गरिब जनताको कतै सुनिएन गुहार ।
    ✍️ अम्बिका कोइराला
    धादिङ

    [७७]
    १.
    गणतन्त्र दिवसमा खुसियाली मनाऊँ
    देशवासीकाे भविष्य सुनिश्चित बनाऊँ ।
    २.
    देशले गणतन्त्र ल्यायो,
    सबैकाे मन खुशी भयाे ।
    ✍️ रिना याेल्माे
    दार्जिलिङ्ग

    [७८]
    १.
    गणतन्त्रले घुस, भ्रष्टाचार र हिंसा बढायो
    युवाशक्ति सबै परदेश कमाउन पठायो ।
    २.
    महँगीले सीमा नाघ्यो देशमा
    चोरी हुन्छ जनावर भेषमा।
    ✍️ बिना रोका
    घोराही दाङ्ग।

    [७९]
    १.
    राजा फालेर देशमा गणतन्त्र आयो,
    गरिब, निमुखा जनले झन् दुख पायो ।
    २.
    देश चिरा पारेर विकास क्यै भएन,
    जाग्नुपर्छ युवा अब मनले सहेन ।
    ✍️ ऋषिराम खनाल
    मध्यबिन्दु -६ नवलपुर ।

    [८०]
    १.
    हजारौंकाे बलिदान गणतन्त्र ल्याउन
    नेता आज सफल भए भ्रष्टाचार भ्याउन।
    २.
    भ्रष्टाचार, नातावाद छ लोकतन्त्रको नाममा
    शान्ति सम्मृद्धी छाओस् अब यही नै शुभकामना ।
    ✍️ प्रेम कला चापागाईं( सिटौला )
    मेचीनगर -१२ झापा

    [८१]
    १.
    ती झुपडी भरिभराउ बनाेस् चाहना हो मेरो
    गणतान्त्रिक याे नयाँ नेपाल बाँझै सेरोफेरो।
    २.
    आफै उब्जाएर खान सक्ने जनता बनाऔं
    शुभकामना गणतन्त्रको सबले जनाऔं।
    ✍️ मनाेहरी पाैडेल

    [८२]
    १.
    आयो गणतन्त्र रगत कति बगेर जनको
    चाहा अधुरै समृद्ध देश बनाउने मनको ।
    २.
    नेतालाई गणतन्त्र फलिफाप भयो
    जनताको जीवन ऊँधो गतिमा गयो ।
    ✍️ इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा . ३
    >> जय टुक्का! जय साहित्य!! <<

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on गणतन्त्र दिवसको अवसरमा विशेष टुक्का लेखन कार्यक्रम

    अनलाइन लाइसेन्स आवेदन आज ६ बजेदेखि खुल्ने, हालसम्म परेका सबै आवेदन रद्द 

  • १६ जेष्ठ २०७९, सोमबार १२:५३ मा प्रकाशित
  • यातायात व्यवस्था विभागले दुईसाता ढिलोगरि सवारीचालक अनुमति पत्र अनलाइन आवेदन आजदेखि खुलाउने भएको छ ।

    विभागले सोमबार एक सुचना जारी गरेर आज अर्थात जेठ १६ गते बेलुकी ६ बजेदेखि औपचारीक रुपमा नयाँ प्रणाली सहित लाइसेन्स अनलाइन आवेदन खुलाउने भएको हो ।

    ‘सवारीचालक अनुमति पत्रका लागि हालसम्म परेका अनलाइन आवेदनहरु आजदेखि रद्द गरि जेठ १६ गेत बेलुृका ६ बजेदेखि नयाँ लाइसेन्स आवेदन प्रणाली सुरु हुने भएको छ’ विभागको सूचनामा भनिएको छ ‘जसका लागि applydi.dotm.gov.np मा लागईन गरि नयाँ आवेदन फारम भर्नुहुन अनुरोध छ’ । 

    त्यस्तै वर्ग थपको लागि भने अर्को हप्ता सोमबारबाट खुल्ला गरिने विभागले जनाएको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on अनलाइन लाइसेन्स आवेदन आज ६ बजेदेखि खुल्ने, हालसम्म परेका सबै आवेदन रद्द 

    तेलको गन्ध पछ्याउँदै गएर हामीले जहाज भेट्यौं’

  • १६ जेष्ठ २०७९, सोमबार ०९:५९ मा प्रकाशित
  • बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ का विशाल घर्ती मगर वैशाखदेखि मुस्ताङ थासाङको लेकमा बस्दै आएका छन्।

    उनी वैशाखको पहिलो सातादेखि मुस्ताङको थासाङ वडा नम्बर २ को सानुसरे क्षेत्रका खर्कमा बस्दै आएका थिए।

    उनी यार्सागुम्बा संकलन गर्न त्यस क्षेत्रमा पुगेका हुन्।

    आइतबार पनि उनीसहित साथीहरू यार्सागुम्बा खोजीमै थिए।

    ‘टाउको माथिबाटै जहाज गएजस्तो भयो। एकैछिनमा ठूलो आवाज आयो। जहाज ठोक्कियो कि क्या हो भनेर साथीहरूबीच कुरा भयो,’ सेतोपाटीको सम्पर्कमा आएका विशालले भने, ‘बादल लागेको थियो, डाँडाहरू केही देखिएको थिएन।’

    केही घन्टापछि गाउँलेहरूले टेलिफोन गरेर तारा एयरको जहाज हराइरहेको खबर दिएको उनले बताए। ‘हामीले आइतबार बेलुकीसम्मै जहाज भेटिन्छ कि भनेर खोज्यौं, भेटिएन,’ उनले भने।

    आज बिहान ५ बजेदेखि पुन: जहाजको खोजी सुरू गरिएको विशाल बताउँछन्।

    ‘हामी त्रिपाल टागेर यही खर्कहरूमा बसेका छौं। आज बिहान ५ बजे उठेर चिया मात्रै खाएर जहाजको खोजी गर्न निस्कियौं,’ उनले भने, ‘एक घन्टाजति हिडेपछि माथि डाँडामा पुग्यौं। हामी तीन जना छौं। दुई जना डाँडाबाट अझै माथि जानुभयो म तलतर्फ हेर्न लागेँ। केही तल पुगेपछि डिजेल गन्हायो। यतै दुर्घटना भएको हो कि भनेर खोज्दा जहाजका टुक्राहरू देखेँ। शवका टुक्रा छरिएका अवस्थामा देखेँ।’

    यसपछि आफूले गाउँमा भएका भिनाजुलाई टेलिफोन सम्पर्क गरी जहाज दुर्घटनाबारे जानकारी दिएको उनले बताए।

    ‘भेनालाई जहाज दुर्घटनाबारे खबर गरेको थिएँ। उहाँले प्रहरी चौकीमा खबर गरिदिनुभएछ। केहीबेरमा प्रहरीहरूले मलाई फोन गरेर दुर्घटनाग्रस्त जहाजको फोटो र भिडिओ पठाउन भनेपछि मैले पठाइदिएको हुँ,’ उनले भने।

    उनकाअनुसार जहाज डाँडामा एकपटक ठक्कर खाएर पुन: ठक्कर खाएको जस्तो देखिन्छ।

    ‘घटनास्थलमा कोही पनि घाइते देखिएन। कसैलाई जीवित देखिएन,’ उनले भने, ‘शव पनि सग्ला छैनन्। जहाज पनि टुक्राटुक्रा भएको छ।’

    अहिले घटनास्थल नजिकै एउटा हेलिकप्टर अवतरण भएको छ।

    ‘हेलिकप्टरमा दुई जना प्रहरी र अर्का एक व्यक्ति आएर अनुसन्धान गर्दै हुनुहुन्छ,’ उनले भने।

    मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि विशालले नै घटनास्थलको तस्बिर पठाएको सेतोपाटीलाई बताए। घटनास्थलमा प्रहरीहरू पुगिसकेको उनको भनाइ छ।

    आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो।

    तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।

    जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए। जहाजमा २ जना जर्मन, चार जना भारतीय र १३ नेपाली यात्रु थिए।

    Posted in ताजा अपडेटLeave a Comment on तेलको गन्ध पछ्याउँदै गएर हामीले जहाज भेट्यौं’

    गुणनिधि घिमिरेका पाँच सुन्दर पञ्चाङ्ग

  • १५ जेष्ठ २०७९, आईतवार २०:०२ मा प्रकाशित
  • गणतन्त्र दीवश रे ?
    —~~
    पाँच विरक्त पञ्चाङ्ग

    
    १
    साँझ बिहान ढिँडो  रोटी खान पाओस् गरिब
    दुःख पाएर देशभित्र नहोस् कोही हरिप
    नामै मात्र गणतन्त्र के का शुभकामना रे 
    जनतालाई मासी आफू हुँदा रैछन् सरिफ
    ठिनेमिने लुटाहाले देश डुबाए करिब॥
    २
    
    जुनै जोगी आए पनि कानै चिऱ्या हुन्छन्
    जनता नै बिर्सिएर आफैं गिऱ्या हुन्छन्
    शुभकामनाको कुरो गर्नै मन छैन 
    न्याय मिची आफ्नो सबै ऋण तिऱ्या हुन्छन्
    म्याउ म्याउ अर्को पल्ट गाउँ फिऱ्या हुन्छन् ॥
    ३
    
    राष्ट्रलाई छिया छिया पारेपछि अब 
    केको नाम रहेको छ दारेपछि अब
    के का गणतन्त्र यहाँ कता प्रजातन्त्र
    गरिबीको अन्त्य तिर झारेपछि अब
    दुःख दिई प्रजाहरू मारेपछि अब ॥
    ४
    
    लाज लाग्छ गणतन्त्र दीवश भन्न पनि
    शुभकामनाको कुरो मनमा गन्न पनि 
    किन किन आज मलाई रिसै मात्र उठ्छ
    बिहान र बेलुकालाई छैन अन्न पनि
    खान पनि पाको छैन कहिल्यै टन्न पनि ॥
    ५
    
    बाध्यतामा परे पछि दुःख खप्नै पर्छ
    खान पाउने  कसरी  मन्त्र जप्नै पर्छ
    अरूलाई पिर नपारी शान्तिले बाँचौँ
    किन सधैँ अरूलाई जित्न टप्नै पर्छ ..?
    अरूलाई तल पारी आफ्नो थप्नै पर्छ ?

    ~~~~
    गुणनिधि घिमिरे
    पाँचथर खान्द्रोङ्ग उर्लावारी मोरङ
    हाल अमेरिका

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on गुणनिधि घिमिरेका पाँच सुन्दर पञ्चाङ्ग

    हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

  • १५ जेष्ठ २०७९, आईतवार १६:४१ मा प्रकाशित
  • पोखरा– आज बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको छ । नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिनुभएको हो ।

    मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिनुभयो । विमानमा अहिले पनि आगो लागिरहेको छ ।

    बिहान ९:५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०:७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

    सम्पर्कविहीन तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

  • १५ जेष्ठ २०७९, आईतवार १६:२४ मा प्रकाशित
  • 15-जेठ/ आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।

    नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर विजयपुरका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार मानापाथी हिमालको फेदीमा विमान रहेको पुष्टि भएको छ । स्थानीय वासिन्दाले त्यस क्षेत्रमा विमान दुर्घटना भएको जानकारी गराएपछि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको पनि उनले बताए ।

    Posted in ताजा अपडेटLeave a Comment on सम्पर्कविहीन तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

    पञ्चाङ्ग चित्रपटको १६औँ भाग बिहीबार सम्पन्न

  • १५ जेष्ठ २०७९, आईतवार १४:४३ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट
    =========

    पञ्चाङ्ग चित्रपट : भाग: १६
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०२/१२

    प्रशिक्षक :
    ————
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला

    मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात्  बिहीबार

    चित्र संकलक
    —————-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    समायोजन
    ————-
    👉️सोमनाथ लुइटेल”रवि पाल्पाली”

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू
    हार्दिक नमस्कार ।
    हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एघारौं   शृङ्खलामा छौँ  । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

    नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

    पञ्चाङ्ग चित्रपट
    =========

    समपञ्चाङ्ग    ०१

    जनताको  जायज  नै  माग हुनुपर्छ
    विकास  गर्नलाई  त  घाग  हुनुपर्छ
    उत्तर-दक्षिण     मिलाउन नेता हुनु
    परिपक्व  नेता   भइ  खाग हुनुपर्छ
    तीक्ष्ण बुद्धि चलाखमा काग हुनुपर्छ ।

    स्वच्छ छवि  नलागेको दाग हुनुपर्छ
    सुन्दर   संगीत   जस्तै   राग हुनुपर्छ
    सोझा जनतालाई धोका कैले नदिनु
    बैरीलाई   डस्न   सक्ने नाग हुनुपर्छ
    सबैलाई  चित्त  बुझ्ने   भाग हुनुपर्छ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग   २
    १
    जितेर राम्राे काम गर
    जहिल्यै हाम्राे काम गर
    मनमा सँधै हित् चिताई
    पिङ्काे काम्राे काम गर
    नियम चाम्राे काम गर ।
    २
    बालेनकाे जित्याे पार्टि हा-याे कठै
    पार्टिले ठुला कुरा मा टा-याे कठै
    गलै कण्ठि भिरे मुसा खान छाडे
    मतदाताले खुत्रुक्कै पा-याे कठै।
    ऐले भने त खुच्चिङ झा-याे कठै ।

    ✍️मधुसूदन प्र घिमिरे, काठमाडौं ।

    पञ्चाङ्ग   ०३

    इन्जिनियर हुन अब राजनीति  सिक्ने छन् अवस्य
    आफैले नयाँ योजना अपनाएर झिक्ने छन् अवस्य
    नव युवा जोसिला होसिला र जानकार धेरै हुनपर्छ
    देशभक्तिको राम्रा कामहरु गरेर टिक्ने छन् अवस्य
    पतन भै पक्कै जादैनन बालेन बिक्ने छन्   अवस्य ।

    ✍️रुपा गौतम ।

    पञ्चाङ्ग   ०४

    कोही प्रगति गर्न सक्छन् , कोही आडम्बरले उम्लेर रोकिन सक्छन्
    कोही सबैको प्यारो बन्न सक्छन् , कोही अझ लगातार पोखिन सक्छन्
    सोच्दै कुन बेला सद्भाव राख्ने,कुन बेला समालोचना बढाउने
    कोही सदा सुध्रिन सक्छन् ,कोही आफ्नै धरातलबाट होचिन सक्छन्
    कोही चरित्र सपार्छन् ,तर कोही न रोकिन सक्छन् न सोझिन सक्छन् ।

    ✍️प्रेम थापा “मन”बागलुङ ।

    पञ्चाङ्ग   ०५

    देशको नाममा मरेर जाने सहिदको सास खेर गयो
    पटकपटक गरेको विश्वास मतको आश खेर गयो
    आशावादी हुनुपर्छ अझै विश्वास गरेका छन् जनताले
    आधा पेट खाएर आधा ति लडाकुलाई गाँस खेर गयो
    अलपत्र जीवन स्वदेश परदेशमा खास खेर गयो ।

    ✍️सविता के.सी. काठमाडौं ।

    पञ्चाङ्ग   ०६

    मानिस असल हुनुपर्छ ‌।
    स्वभाव सरल हुनुपर्छ ।
    समाज सुधारक सिर्जना,
    मनको गजल हुनुपर्छ ।
    जीवन सफल हुनुपर्छ ।

    ✍️आर्त अकुलीन, कैलाली ।

    पञ्चाङ्ग   ०७

    सक्षम व्यक्ति नै राजनीतिमा हुनुपर्छ अब   
    हजारौँ बालेन्द्र जन्मी शिखर छुनुपर्छ अब
    भिजन मिसन नभएका व्यक्ती र अाैठाछापे
    कति खायौ नि ठगी हिजोसम्म? रुनुपर्छ अब
    तिम्रा कर्तुतका पोका त सबै फुनुपर्छ अब ।

    ✍️गीता अर्याल,  नेपालगन्ज २ ।

    पञ्चाङ्ग   ०८

    तिम्रो नैतिकताले पक्कै जनता हेर्छ बालेन
    एकदिन त लाैराेले भ्रष्टाचारी घेर्छ बालेन 
    राजनीतिकाे  विश्वकपमा गाेल  गर्याै भने  
    नेतृत्व बलियो हाेस् तिम्रो ,सबैले  टेर्छ बालेन
    मेराे देशले नै शान्तिकाे श्वास फेर्छ बालेन ।

    ✍️श्रद्धा आचार्य, पाेखरा ।

    पञ्चाङ्ग   ०९

    जनताको आस नमारे तिमी
    जनताको सास नमारे तिमी
    जिताउने प्रयत्न सफल भो
    जनताको गाँस नमारे तिमी
    जनताको बास नमारे तिमी ।

    ✍️सुमित्रा पोखरेल काठमाडौं ।

    पञ्चाङ्ग    १०

    जनताले छाने अब मेल गराउनु तिमीले
    विकासका काम गरि भेल गराउनु तिमीले
    सम्पूर्ण कामको  जिम्मेवारी हातमा सुम्पेका छौँ
    राम्रो काम गर्ने शैली खेल गराउनु तिमीले
    भ्रष्ट , बलात्कारी जति जेल गराउनु तिमीले ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग   ११
    १
    युवाशक्ति  जुटेपछि के हुँदैन  अब
    प्रगतिकाे शिखरमा के छुँदैन अब
    चेतनाकाे बल्याे दियाे जाेश थपिँदै छ
    सामन्तिकाे ढल्दा खम्बा के रुँदैन अब
    शाेसकले अश्रुले मुख के धुँदैन अब
    २
    सधैँभरि सुखीकाे नै नारा मात्र लाए  यहाँ
    हेर्याे कस्ले जनताले के लाए के खाए  यहाँ
    आज बल्ल खुल्याे हाेला हाेस तिन्काे अब
    प्रेत मसान भगाउने  लाैरी टेकी आए  यहाँ ?
    नपत्याउने खाेलामा बाँध छेकी आए यहाँ ।

    ✍️चन्द्रावती अधिकारी, बाँके कोहलपुर ।

    पञ्चाङ्ग    १२

    नयाँ पुस्ता हौ नायक जाेसकाे मास बन
    भाेका पेटहरुकाे सक्छौ भने गाँस बन
    हजारौँ लाम छन् तिम्रा पछाडि साथ दिने
    हरेक नेपालीकाे धड्कनकाे सास बन
    नेपालको इतिहासका निम्ति खास बन ।

    ✍️भवानी घिमिरे, सर्लाही ।

    पञ्चाङ्ग   १३

    नयाँ नयाँ अनुहार नै हेरे चुनावमा
    बालेन्लाई भाेट हाल्दै घेरे चुनावमा
    सबैलाई माैका दिने भन्दै जनताले
    पार्टीभन्दा स्वतन्त्र नै बेरे चुनावमा
    काम राम्रो गर भन्दै फेरे चुनावमा ।

    ✍️ताेयानाथ सुवेदी, काठमाडौं ।

    पञ्चाङ्ग   १४

    भाषणका   वचन  पूरा  गर  वालेन
    जनताका  भरोसा  बनी  तर वालेन
    अन्याय, अत्याचारको पर्दा तानी हेर
    जनको  मनका  दु:ख पो हर वालेन
    विकास गति अघि  लिइ  सर  वालेन

    ✍️सरिता काफ्ले, कोहलपुर बाँके ।

    पञ्चाङ्ग   १५
    १
    झूटा आश्वासन दिनेलाई श्राप लाग्नेछ एकदिन
    आरोप लगाउनेलाई त पाप लाग्नेछ एकदिन
    मानव भएर मानवता  देखाउन नसकेपछि
    आफैलाई नै गल्तीको पश्यताप लाग्नेछ एकदिन
    दुश्मनको विल्लामा नै सही छाप लाग्नेछ एकदिन ।
    २
    दिनहुँ तनाव दिनेको खात छ
    आफ्नै मान्छेबाट विश्वास घात छ
    कसलाई आफ्नो भन्न सकिन्छ र?
    सधैँ असाय माथि बज्रपात छ
    नभएको कुराको मात्र लात छ।

    ✍️सुशीला पौडेल, काठमाडौं ।

    पञ्चाङ्ग   १६

    (सार्दूलबिक्रीडित छन्द)

    पाईन्छन् कति काव्य विज्ञ कविकाे, पढ्दै गयाे दिन् दिन
    शैलीमा  रचना  मिठास  सपना,  बढ्दै   गयाे  दिन्   दिन
    भर्च्याेल्मा  र  प्रत्यक्ष  संगत   भयाे,  विद्वान  ठूला  कवि
    ईच्छा  याे  मनकाे  सुभाव  वहँदै,  चढ्दै   गयाे  दिन्  दिन
    मिल्दै गाे  पनि  हाैसला  छ  मनमा,  गढ्दै  गयाे दिन् दिन ।

    ✍️सुरेश चन्द्र  घिमिरे, लमजुङ ।

    पञ्चाङ्ग   १७

    बालेनको लौरोले कुट्यो काठमाडौंमा
    जिताउन    भनेर उठ्यो काठमाडौंमा
    नयाँ पुस्ताको अब काम हेर्न बाँकी छ
    शहर   टोलटोल  जुट्यो काठमाडौंमा
    जनाताको मन नै लुट्यो काठमाडौंमा ।

    ✍️देवकी के.सी. हाल बिरगंज ।

    पञ्चाङ्ग   १८

    चुनाव   जितेर   भलो गर्नुपर्छ अब
    जनताको  लागि भनी मर्नुपर्छ अब
    तिम्रो बोलीमा आश गरे सबैले यहाँ
    शीत उघाएर  घडा भर्नु पर्छ  अब
    विकासका बिज आफै छर्नुपर्छ अब ।

    ✍️निर्मला सुवेदी, बागलुङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपटको १६औँ भाग बिहीबार सम्पन्न

    उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

  • १५ जेष्ठ २०७९, आईतवार १४:३४ मा प्रकाशित
  • १.
    बिहानी
    साहित्यिक रौनक
    सबैले लेखौँ उदक !

    २.
    उदक
    साहित्यिक विधा
    छाेटाे सरल कविता !

    ३.
    सरल
    छाेटाे मिठाे
    सिक्न सकिने छिटो !

    ४.
    उदक
    लयमा हुने
    गाउन असाध्यै मिल्ने !

    ५.
    उदक
    कविता प्रेमी
    लेख्छन् बिछट्टै रमी !

    ६.
    उदक
    शब्द पानी
    सिर्जनात्मक बनाउँ जिन्दगानी !

    • भवानी घिमिरे, सर्लाही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

    उदक यात्री कल्पना पहाडीका उत्कृष्ट उदकहरू

  • १५ जेष्ठ २०७९, आईतवार १४:३१ मा प्रकाशित
  • १
    बिहानी
    पोतिएका आभा
    जाग्दै गरेका मनहरू !

    २
    जवानी
    हात्तीको बल
    आँखा भएर अन्धो !

    ३
    शिक्षक
    समाजका अगुवा
    अपजस बोक्ने भरिया !

    ४
    हिमाल
    नेपालको सान
    नेपाली मनको पहिचान!

    ५
    संस्कृती
    एकताको माला
    जीवन जिउने कला !

    • कल्पना पहाडी, सिन्धुली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री कल्पना पहाडीका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P