• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

‘साउदीले मलाई नियममा बाँधिन सिकायो, जेब्रा क्रसमा मान्छे नभए पनि स्पीड घटिहाल्छ’ 

  • २५ बैशाख २०७९, आईतवार १३:३५ मा प्रकाशित
  • कुमार लामा/दोलखा ।

    गाडीसँगको मेरो साइनो पुरानो हो । सानैदेखि गाडीमा काम गर्दै हुर्किएँ । अलि ठूलो भएपछि लाइसेन्स लिएँ । ट्याक्सी चलाएँ । तर यहाँ जति मेहनत गरे पनि पैसा वचत गर्न सकिएन । त्यसैले म सन् २००९ मा यही ड्राइभिङकै काममा साउदी गएँ । म साउदी जाँदा २९ वर्षको थिएँ । हातमा सीप भएकाले मैले त्यहाँ भनेजस्तै काम पाएँ ।

    आर्थिक अवस्था सुध्रिन्छ कि भन्ने लागेर नै मैले वैदेशिक रोजगारीको बाटो अँगालेको थिएँ । विदेशमा पैसा कमाएर नेपालमा केही गर्न सकिन्छ कि भन्ने सपना थियो । यही सपना बोकेर म पाँच वर्ष साउदी बसेँ । त्यहाँ मैले कम्पनीमा ड्राइभिङको काम गरेँ । काम, कमाइ पनि चित्तबुझ्दो नै थियो । त्यसैबीच म सन् २०१४ मा छु्टटीमा नेपाल फर्किएँ ।

    यो पाँच वर्षमा मेरो ड्राइभिङमा निकै फरकपना आइसकेको थियो । साउदी जानुभन्दा पहिले, दायाँबायाँ हेरेर मान्छे नदेखेपछि हुँइकिहाल्ने मेरो बानी साउदी गएर बदलियो । सडक चिन्हहरुको पालना गर्ने, जेब्रा क्रसिङमा मान्छे नभए पनि स्पीड कम गर्ने ट्राफिक बत्तीको पालना गर्ने लगायतका नियममा बाँधिन मलाई साउदीले नै सिकायो । सबैलाई थाहा भएकै कुरा हो साउदीमा ट्राफिक नियम कडा छ । त्यसैको झन् बढी प्रभाव पर्यो म मा । ड्राइभरका स साना लापरबाहीले ठूलो दुर्घटना निम्त्याउँछ । यो कुरालाई हामी ड्राइभरहरुले बुझ्नैपर्छ । यो कुरा पनि मैले साउदीमै सिकेँ ।

    जे होस्, म सन् २०१४ मा छुट्टीमा घर आएको थिएँ । छुट्टी सकेर फेरि साउदीमै जानु थियो । तर मेरो मनले ‘अब यहीँ केही गर्’ भन्यो । मलाई पनि परिवार, श्रीमतीबाट सधैँ टाढा बसेर धेरै कमाउनु भन्दा उनीहरुसँगै रहेर थोरै कमाउनु नै ठिक हो जस्तो लाग्यो । मैले साउदी नफर्किने निर्णय गरेँ । पहिले पनि नेपाल र साउदीमा ड्राइभिङ गरेको मसँग अनुभव थियो । हातमा सीप भएपछि के देश, के विदेश । कामको माग आइहाल्छ । मैले नेपालमै बस्ने निधो गरेपछि कामको अभाव भएन । कामको लागि ‘अफर’ आइरहे ।

    त्यसपछि दोलखामै सेभ द चिल्ड्रेन संस्थाको गाडी चलाएँ । तीन महिनामा राम्रै कमाइ भयो । त्यस लगत्तै फेरि काठमाण्डौमा युरोपियन युनियनको गाडी चलाउन पाएँ । छोटोछोटो समयमा अन्तर्राष्ट्रिय संस्थाहरुका गाडी चलाउँदा राम्रै कमाइ भयो । मैले विदेशमा गाडी चलाएको अनुभवले गर्दा पनि राम्रो संस्थाहरुमा ड्राइभिङको काम पाएको हुनसक्छ । त्यसपछि काठमाण्डौमा सुनौलो यातायातमा दुई वर्ष जति ड्राइभिङ गरेँ । महिनाको चालिस हजार रुपैयाँ थियो तलब । त्यो गर्दै गर्दा फेरि काठमाण्डौमै गुड अटोमोबाइल प्रालीको महेन्द्रा सर्भिस सेन्टरमा काम गर्न थालेँ । अहिले पनि यसमै छु । काम राम्रै चलिरहेको छ । समयमै तलब पाइन्छ । बाहिर हिँडेको भत्ता पाइन्छ ।

    मलाई गाउँघरमा भाइहरुले ड्राइभिङमा विदेश जाँदा कस्तो हुन्छ भनेर सोध्छन् । म उनीहरुलाई जाने बुझेको सम्झाउँछु । ड्राइभिङ होस् या अरु कुनै काम । आफूमा सीप छ भने गाह्रो हुँदैन । काम जति पनि पाइन्छ । यस्तै, विदेश जानेहरुले सोच पुर्याएर कम्पनी के कस्तो छ भनेर बुझेर मात्र जान पनि म आग्रह गर्छु । सीप सिकेको छ भने धेरै फाइदा हुने रहेछ । सीप सिकेर नजाँदा गाह्रो नै हुन्छ ।
    कुमार लामाको उज्यालो अनलाइनमा छापिएको लेख साभार गरिएको।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on ‘साउदीले मलाई नियममा बाँधिन सिकायो, जेब्रा क्रसमा मान्छे नभए पनि स्पीड घटिहाल्छ’ 

    आकाशमा उडिरहेको विमान एक्कासी हल्लिँदा ४० जना घाइते, १० को अवस्था गम्भीर

  • १९ बैशाख २०७९, सोमबार ००:२० मा प्रकाशित
  • नयाँ दिल्ली : भारतमा स्पाइस जेटको विमान दुर्घटना हुनबाट जोगिएको छ। आइतबार पश्चिम बंगालको दुर्गापुरस्थित काजी नजरुल इस्लाम एयपोर्टमा ल्यान्डिङ गर्नुअघि बेस्सरी आएको आँधीले विमान हल्लाएको भारतीय सञ्चार माध्यहरुले जनाएका छन्।

    हावाहुरीका कारण विमान अत्यधिक हल्लाएको र भित्रको सामान झर्दा कम्तिमा ४० जना घाइते भएका छन्। तीमध्ये १० जना गम्भीर रहेको इन्डिया टुडेले जनाएको छ। उनीहरुलाई नजिकैको अस्पतालमा उपचार भइरहेको बताइएको छ।

    स्पाइस जेटले आफ्नो विमान बोइङ बी७३७ विमान मुम्बईबाट उडेको र दुर्गापुरमा ल्यान्ड गर्नुअघि हावाहुरीका कारण विमान हल्लाएको जनाएको छ। उसले अकस्मात हुन गएको टर्बुलेन्सका लागि क्षमा माग्दै स्वास्थ्य उपचारमा कुनै कमी नराख्ने जनाएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on आकाशमा उडिरहेको विमान एक्कासी हल्लिँदा ४० जना घाइते, १० को अवस्था गम्भीर

    पीएनसीसी साउदीद्वारा वैदेशिक रोजगारी आई बिचल्लीमा परेका नेपाली लाई खाद्यान्न सहयोग ।

  • १४ बैशाख २०७९, बुधबार २३:४८ मा प्रकाशित
  • प्रवासी नेपाली समन्वय समिति(पीएनसीसी)साउदी अरेबियाले करिब ३ वर्ष अघि वैदेशिक रोजगारीका लागि साउदीअरब आएका ४ जनालाई खाद्यान्न सहयोग गरेको पीएनसीसीका प्रवास संयोजक गणेश अर्यालले बताएका छन् ।

    संयोजक अर्यालका अनुसार चामल, दाल, तेल, प्याज लगायतका खाद्यान्न सामग्री २०दिन सम्म पुग्ने खाद्यान्न सहयोग गरेका हुन् । साउदि अरबको दक्षिण पश्चिमी प्रान्तिय सहर जिजानस्थित उनीहरूलाई कम्पनीद्वारा कामविहीन भई खान को समेत समस्या रहेको निवेदन आएपछि खाद्यान्न अभाव झेलिरहेकाहरुलाई सहयोग गरेको अर्यालले बताए ।

    काठमाडौंको अनामनगरमा केन्द्रिय कार्यालय रहेको पीएनसीसीले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या झेलिरहेकाहरूलाई आफ्नै सेल्टरमा राखेर कानुनी, लगायत अन्य मुद्दाहरू पहल गरिनुका साथसाथै पीडितलाई बिदेशमा बाट वा सोदेशबाटै घरसम्म पुग्ने टिकट खर्चको व्यवस्था पनि गरिरहेको अर्यालले बताए।

    पीएनसीसीको प्रवास शाखा हालसम्म साउदी अरेबिया, दुबई, कतार, ओमान, कुवेत लगायतका देशमा छन् ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on पीएनसीसी साउदीद्वारा वैदेशिक रोजगारी आई बिचल्लीमा परेका नेपाली लाई खाद्यान्न सहयोग ।

    साउदी अरेबियाबाट साढे ११ हजार गैरकानुनी कामदारलाई देश निकाला

  • १३ बैशाख २०७९, मंगलवार २२:३० मा प्रकाशित
  • साउदी अरेबियाले ११ हजार ६४७ गैरकानुनी कामदारलाई देश निकाला गरेको छ ।

    विदेशी आप्रवासी नागरिक तथा श्रम कानुन र सीमा सुरक्षा नियम उल्लङ्घन गर्नेलाई देश निकाला गरिएको राहदानी महानिर्देशनालय (जवाजत)ले जनाएको छ ।

    जवाजतका अनुसार १४-२० अप्रिलको अवधिमा सुरक्षा निकायका विभिन्न इकाई र जवाजतले गरेको संयुक्त फिल्ड अभियानमा सुरक्षा अधिकारीहरूले गत साता १३ हजार ६१५ कानुन उल्लङ्घनकारीलाई पक्राउ गरेका थिए । तीमध्ये रेसिडेन्सी ऐन उल्लङ्घन गर्ने ८ हजार ७ सय ५२, सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने ३ हजार १९७ र श्रम कानुन उल्लङ्घन गर्ने १ हजार ६६६ भन्दा बढी रहेका छन्।

    राज्यमा सीमा पार गर्न खोज्दा जम्मा १०६ जना पक्राउ परेका थिए, जसमध्ये ४७ प्रतिशत यमनी, ४८ प्रतिशत इथियोपियाली र ५ ​​प्रतिशत अन्य राष्ट्रका थिए। ४९ जना राज्य सीमा पार गरेर भाग्न खोज्दा पक्राउ परेका थिए। उल्लङ्घन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने १३ जनालाई पनि सुरक्षा बलले पक्रेको छ ।

    हाल दण्डात्मक उपायहरूको अधीनमा रहेका उल्लङ्घन गर्नेहरूको कुल संख्या ९० हजार ७५६ भन्दा बढी रहेको छ जसमा ८६ हजार ४१३ भन्दा बढी पुरुष र ४ हजार ३४३ महिला छन्, जबकि ७९ हजार ७८ उल्लङ्घनकारीहरूलाई उनीहरूको देश निकालाको लागि यात्रा कागजातहरू प्राप्त गर्न कूटनीतिक नियोगहरूमा पठाइएको जवाजतलाई उद्धृत गर्दै साउदी ग्याजेटले जनाएको छ ।

    घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।

    पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासी कामदारलाई लक्षित गरी धड्पकड अभियान तीव्र पारेसँगै गैरकानुनी रुपमा त्यहाँ कार्यरत सयौँ नेपालीहरु पनि पक्राउ परेका र हाल उनीहरुलाई जेलमा राखिएको बुझिएको छ ।

    गत महिना मात्र जेल जीवन बिताइरहेका ३० नेपाली स्वदेश फर्किएका फर्किएका थिए । उनीहरुलाई गैरकानुनी रुपमा कार्यरत रहँदा साउदी प्रहरीले पक्राउ गरेर जेल हालेको र त्यहाँस्थित नेपाली दूतावासको समन्वयमा जेल मुक्त गरी स्वदेश फर्काइएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदी अरेबियाबाट साढे ११ हजार गैरकानुनी कामदारलाई देश निकाला

    नेपाल एयरलाइन्सको जहाज आजदेखि साउदी अरब उड्दै

  • ९ बैशाख २०७९, शुक्रबार १७:०० मा प्रकाशित
  • ९ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमले नेपालीहरुको ठूलो संख्या रहेको मुलुक साउदी अरबमा शुक्रबारदेखि नियमित उडान सुरु गर्ने भएको छ ।

    साउदी अरबको रियादमा काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज शुक्रबार साँझ ७ः१५ मा रियादका लागि उड्ने भएको छ । निगमले वाइडबडी जहाज किन्ने बेला गरेको बजार प्रक्षेपणमा यो गन्तव्य समेटिएको थियो । तर, लामो समयसम्म निगमले अनुमति नपाउँदा उडान विस्तार गर्न भने सकेको थिएन ।

    निगमले साउदीका विभिन्न गन्तव्य (रियाद, दमाम र जेद्दा)मा उडानको अनुमति पाएको भएपनि पहिलो चरणमा रियादमा मात्र उडान गर्न लागेको हो । यस शहरमा निगमले साताको दुई उडान गर्ने भएको छ ।

    शुक्रबार र आइतबार काठमाडौंबाट निगमको जहाज रियाद उड्ने छ । जहाज साउदीबाट भने शनिबार र सोमबार काठमाडौं फिर्ता हुनेछ । साउदी अरबको दमाममा भने अहिले हिमालय एयरलाइन्सले उडान गरिरहेको छ । यो मुलुकमा निगमले यसअघि चार्टर्ड उडानहरु भने गरिसकेको छ । पहिलो पटक नियमित उडान गर्न लागेको हो ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on नेपाल एयरलाइन्सको जहाज आजदेखि साउदी अरब उड्दै

    सरकारसँग चिढियो चीन

  • ९ बैशाख २०७९, शुक्रबार १६:११ मा प्रकाशित
  • सरकारले केही दिनअघि एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणको सम्झौता चिनियाँ कम्पनीसँग रद्द गरेपछि चीन असन्तुष्ट बनेको छ। बिहीबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भर्चुअल पत्रकार सम्मेलनमा बोल्ने क्रममा घुमाउरो ढङ्गले त्यसबारे असन्तुष्टि व्यक्त गरेकी हुन्।उनले नेपालले चिनियाँ उद्यमका वैधानिक अधिकारको रक्षा गर्नुपर्ने बताएकी छन् । ‘म आशा गर्छु, नेपाली पक्षले चिनियाँ उद्यमका वैधानिक अधिकार र चासोको पूर्ण रक्षाका लागि निष्पक्ष र पारदर्शी व्यापारिक वातावरण प्रदान गर्नेछ,’ उनले भनिन् । चिनियाँ लगानीकर्ताका व्यावहारिक समस्या समाधानका लागि नेपालले सहयोग गर्ने विश्वास उनले व्यक्त गरेकी छन् । पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले नेपालमा सरकार परिवर्तन हुने बित्तिकै लगानीसम्बन्धी नीतिमा पनि परिवर्तन हुने र यसले जलविद्युत् लगायत क्षेत्रका ठुला परियोजना निर्माणसम्बन्धी नीतिमा पनि परिवर्तन हुँदा लगानीकर्तालाई अप्ठेरो पर्ने गरेको बताइन् । सरकार परिवर्तन हुने बित्तिकै लगानीसम्बन्धी नीति पनि परिवर्तन हुने प्रवृत्ति हुन नहुने उनको धारणा थियो। आजको नागरिक दैनिकमा समाचार छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on सरकारसँग चिढियो चीन

    कतारमा बन्दी जिबन बिताइरहेका २१ नेपालीहरुले पाए आममाफी ।

  • ७ बैशाख २०७९, बुधबार ०८:२१ मा प्रकाशित
  • समर्पण रम्जान! २० अप्रिल २०२२,

    दोहा ! इस्लाम धर्मावलम्बीहरूको महान पवित्र महिना रमादानको शुभ अवसरमा कतारका जेलमा विभिन्न कसुरमा बन्दी जीवन बिताइरहेका २१ जना नेपालीहरुले आम माफिको रुपमा क्षमा पाएका छन् ।

    कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन व्यतित गरिरहनु भएका २१ (एक्काईस) जना नेपालीहरूलाई क्षमादान गर्नुभएको जानकारी नेपाली दूतावास दोहाले जानकारी गराएको छ ।

    क्षमादान पाउनेहरुमा याैनजन्य क्रियाकलापमा संलग्न ३, चाेरीजन्य क्रियाकलापमा संलग्न ११, मादकपदार्थ बिक्रिवितरणमा संलग्न २ र आर्थिक हिनामिनामा संलग्न ५ जना कसुरदार ठहरी सजायँ भोग्दै जेल जिबन बिताइरहेका थिए ।

    रमदान महिनाको समयमा कतार सरकारले प्रत्येक बर्ष केहि कैदीहरुलाई क्षमादान गर्दै आइरहेको र यस बर्षपनि क्षमादान पाउनेहरु मध्य २१ नेपालीहरु रहेका छन् क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको पनि दूतावास दोहाले जनाएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on कतारमा बन्दी जिबन बिताइरहेका २१ नेपालीहरुले पाए आममाफी ।

    साउदी अरबको राजधानी रियादमा एकजना नेपालीको मृत्यु।

  • ५ बैशाख २०७९, सोमबार २२:३३ मा प्रकाशित
  • साउदी अरब को राजधानी रियादस्थित एउटा कम्पनीमा कार्यरत गोर्खा का अविनाश कार्कीको हिजो दिउँसो हृदयघातबाट मृत्यु भएको छ।

    प्राप्त जानकारीअनुसार मृतक अन्दाजी २७ वर्षीय अविनाश चार वर्षदेखि सो कम्पनीमा कार्यरत थिए भने दोस्रोपटक नेपाल छुट्टीमा जाने तरखरमा थिए।

    सोही कम्पनीमा कार्यरत उनका साथी खिम ओलीका अनुसार यसपटक उनले विहे गरेर आउने तयारी गरेका थिए ।
    खिम भन्छन् विडम्बना…. मान्छेले आफूले सोचेजस्तो कहाँ हुँदोरहेछ र आफ्नै अगाडि साथीले ज्यान गुमाउन पुग्यो ।
    छिटो भन्दा छिटो लासलाई घर फर्काउन सकियोस् भन्दै उनी आफैंले दूतावासका कर्मचारीलाई सम्पर्क गरी जानकारी गराइसकेको बताउँछन् ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on साउदी अरबको राजधानी रियादमा एकजना नेपालीको मृत्यु।

    ठगिँदै साउदी अरेबिया जाने युवा

  • ५ बैशाख २०७९, सोमबार २१:५३ मा प्रकाशित
  • काठमाडौं, बैशाख ५ । रोजगारीका लागि साउदी अरेबिया जाने युवासँग म्यानपावर र एजेन्टले चर्को सेवा शुल्क लिएको र सम्झौताविपरीत काममा लगाएको पाइएको छ।

    साउदीस्थित नेपाली दूतावासले पछिल्ला दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य सङ्ख्याका नेपाली युवालाई म्यानपावर र एजेन्टले तोकिएको शर्त पालना नगरी काममा पठाएको जनाएको छ।

    दूतावासले सूचना जारी गर्दै रोजगारीका लागि त्यहाँ गएका युवाले काम र तलब नपाएको, तोकिएभन्दा बढी पैसा तिरेर गएको जनाउँदै युवाले दुःख पाएको गुनासाहरू आएको बताएको छ।

    आफ्नै चिनजानका मानिस एजेन्ट बनेर ठगी गरेका घटना पनि धेरै देखिएको दूतावासको भनाइ छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन एजेन्टको भूमिकालाई गैरकानुनी मानेको भए पनि पछिल्लो समय समूह नै बनाएर युवासँग ठूलो रकम असुलेको पाइएको छ।

    साउदी जाने युवामा ठगीका घटना बढ्न थालेपछि दूतावासले एजेन्टको पछि नलाग्न अनुरोध गर्दै राम्रा म्यानपावर कम्पनीमार्फत प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।

    यसैगरी साउदीमा काम गरी स्वदेश फर्केका वा कम्पनीमा काम गरिरहेका साथीभाइसँग कुरा बुझेर मात्र आउन र कम्पनीको नाम, काम र स्थान बुझेर जान अनुरोध गरिएको छ। कारोबार दैनिकबाट

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on ठगिँदै साउदी अरेबिया जाने युवा

    साउदी अरेबियाबाट ७ हजार भन्दा बढी इथियोपियाली नागरिक फर्काइयो।

  • ५ बैशाख २०७९, सोमबार ००:२९ मा प्रकाशित
  • इथियोपियाले साउदी अरेबियाबाट एक हप्तामा ७ हजार भन्दा बढी नागरिकलाई स्वदेश फिर्ता गरेको छ ।

    इथियोपियाको विदेश मन्त्रालयले सो कुराको जानकारी दिएको थियो ।

    विदेश मन्त्रालयले दिएको जानकारी अनुसार यहाँको विदेश मन्त्रालयले पछिल्लो हप्ता दिनमा ती नागरिकलाई फिर्ता गरेको छ र आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिनेछ ।

    इथियोपियाको विदेश मन्त्रालयका प्रवक्ता डिना मुफ्तीले इथियोपियाले अहिले दिनहुँजसो चार्टर फ्लाइट गरेर आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेको बताएकी छन् ।

    उनले अहिले इथियोपियाले साउदी अरेबियाबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिएको बताउँदै यसलाई आगामी दिनमा थप गति दिने जनाएको हो ।

    विदेश मन्त्रालयको जानकारीअनुसार हाल साउदी अरेबियामा मात्र ७ लाख ५० हजार भन्दा बढी इथियोपियाली नागरिक रहेका छन् ।

    ती मध्ये करिब ४ लाख ५० हजार इथियोपियाली अवैध रुपमा साउदी अरेबिया पसेका बताइएको छ । यसैकारणले इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्कारहेको बताइएको छ ।

    इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया गएको मार्च महिनादेखि सुरु गरेको थियो ।

    गत मार्च महिनामा यहाँको सरकारले एक कमिटी गठन गरेर साउदी अरेबियाबाट आफ्ना नागरिकलाई फिर्ता गर्ने कार्यका लागि एक समिति गठन गरेको थियो ।

    सो समितिले थप अनुसन्धान गरेर आफ्ना नागरिकलाई स्वदेश फर्काउने विषयमा प्रक्रिया थालेको हो । त्यसपछि यहाँको राष्ट्रिय विमान सेवाबाट नागरिकलाई ओसार्न थालिएको बताइएको छ ।

    पछिल्ला केही महिनायता यहाँका नागरिकलाई स्वदेश फिर्ता गर्ने विषयमा अभियान इथियोपियाले अभियान थालेको हो ।

    विभिन्न देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्ने अभियान इथियोपियाले थालेको हो । इथियोपियाका नागरिकहरु विभिन्न देशहरुमा रहेका थिए ।

    तीमध्ये धेरै नागरिक साउदी अरेबियाका रहेका बताइएको छ ।

    इथियोपियामा पनि द्धन्द्धका कारण संकट गहिरिएको छ । यहाँका विद्रोहीहरुले राष्ट्रसंघीय सहायताकर्मीलाई पनि सहायता वितरणमा रोक लगाएका छन् ।

    यहाँको टिगरे क्षेत्रमा संकट गहिरिएको देखिएको छ । यहाँ केही वर्ष यतादेखि द्धन्द्ध जारी रहेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदी अरेबियाबाट ७ हजार भन्दा बढी इथियोपियाली नागरिक फर्काइयो।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P