• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: Uncategorized

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी माेदीबीच ग्लास्गोमा भेटवार्ता

  • १६ कार्तिक २०७८, मंगलवार ०९:१३ मा प्रकाशित
  • काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र माेदीबीच सोमबार स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता भएको छ ।

    जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६)मा सहभागी विश्व नेताहरुको शिखर बैठकको क्रममा ग्लास्गोमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको हो ।

    भेटवार्तामा आफूहरुबीच हिमालय क्षेत्रको दिगो विकास र सहकार्यबारे कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्विटमा उल्लेख गरेका छन् ।

    Posted in UncategorizedLeave a Comment on प्रधानमन्त्री देउवा र भारतीय समकक्षी माेदीबीच ग्लास्गोमा भेटवार्ता

    मोतीपुर-दंगीशरण जोड्ने झोलुङ्गे पुलको शिलान्यास

  • २१ आश्विन २०७८, बिहीबार २१:२५ मा प्रकाशित
  • अंकित खनाल
    मोतीपुर-दंगीशरण जोड्ने झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालीका वडा न ११ को मोतीपुर र दंगिशरण गाउँ पालिकाको वडा न २ सरुवाडाडा जोड्न बबई नदिमा बन्न लागेको झोलुङ्गे पुलको राष्टिय सभा सदस्य कोमल ओलीले शिलान्यास गरेकि हुन । त्यस अवसरमा बोल्दै ओलीले नागरीकका आवस्यकता पुरा गर्न आफुले गरेको अथक प्रयासले आज पुलको शिलान्याश भएको बताएकि थिईन । समाजसेवी तिलक बहादुर बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर ११ का वडाध्यक्ष चित्र बहादुर वली, एमालेका नेताहरु लोकजग शाह, एमएन शाह,कांग्रेसका बालकृष्ण लामिछाने लगायतले बोलेका थिए ।
    ४ सय ५५ मिटर लामो पुल १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने भएपनि त्यस अगावै सक्ने निर्माण ब्यवसायी लोक बहादुर बस्नेतले बताएका थिए । उक्त कार्यक्रमको सहजिकरण एमालेका युवा नेता मान बहादुर रावतलले गरेका थिए । पुल निर्माण हुने भएपछि स्थानियहरु खुसी भएका छन । नदिमा पुल नहुदा बर्षायामको समयमा आवत जावत रोकिने गरेको छ । सघिंय सरकार बाट बिनियोजित उक्त झोलुङ्गे पुलको लागत ३ करोड ५५ लाख रहेको छ ।

    Posted in UncategorizedLeave a Comment on मोतीपुर-दंगीशरण जोड्ने झोलुङ्गे पुलको शिलान्यास

    लुम्बिनीमा झण्डै ४१ अर्बको बजेट

  • २० आश्विन २०७८, बुधबार १९:१९ मा प्रकाशित
  • बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । प्रमुख विपक्षी नेकपा एमालेको बहिस्कारका बीच आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभा बैठकमा ४० अर्व ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरका हुन् ।

    चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ अर्थात ११.८२ प्रतिशत विनियोजन गरिएको छ ।

    Posted in UncategorizedLeave a Comment on लुम्बिनीमा झण्डै ४१ अर्बको बजेट

    पत्रकार वलीको निधन

  • १५ आश्विन २०७८, शुक्रबार २२:२६ मा प्रकाशित
  • तुलसीपुर
    १५ असोज/ पत्रकार हेम प्रकाश वलीको अकस्मात निधन भएको छ । वलीको उपचारको क्रममा नर्सिङ होम बाँकेमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख झलक प्रसाद शर्माले जानकारी दिएका छन ।

    वली बिरामी भएपछी आफन्तले तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि वलीलाई थपा उपचारका लागि नसिंङ होममा लगिएको थियो । पत्रकार वलीले रेडियो तुलसीपुर र एसटीएन च्यानल लगाएतका संचार माध्यममा आबद्द  थिए  । सारांश तुल्सीपुर अनलाईन

    Posted in UncategorizedLeave a Comment on पत्रकार वलीको निधन

    गुणस्तरीय शिक्षा प्रदान गर्न घरदैलाे सिकाइ केन्द्रकाे स्थापना

  • १३ आश्विन २०७८, बुधबार १३:४८ मा प्रकाशित
  • पर्सा संवाददाता

    बीरगंज १३ असाेज । ठाेरी गाउँपालिकाका अध्यक्ष पदम लाल श्रेष्ठले गाउँपालिकामा रहेकाे बिधालयहरूमा ४ हजार १ सय अध्ययनरत बालबालिकाहरूकालागी थप गुणस्तरीय शिक्षा प्रदान गर्ने उधेश्यले ५० वटा घरदैलाे  सिकाइ केन्द्रकाे स्थापना  गर्नु भएकाे छ ।

    उक्त घरदैलाे सिकाइ केन्द्रले गाउँपालिकामा रहेकाे बिभिन्न वडाहरूकाे टाेल टाेलमा बिधार्थीहरूलाइ भेला गरी बिहान बेलुका  सिकाइ केन्द्रले बिधालयमा पढने बिधार्थीहरूलाइ बिधालयले दिइएकाे गृह कार्य  नअाएकाे वा बुझन नसकेकाेलाइ थप बुझाउने कार्य गर्दै अाएकाे गाउँपालिकाका शिक्षा शाखाका शिक्षा संयाेजक भुपाल कुमार जाेशीले यस दैनिकलाइ जानकारी गराउनु भयाे ।

    बिधालयमा कार्यरत शिक्षक तथा कर्मचारीरूलाइ गाउपालिकाले गाउँपालिकाकाे काेषबाट पाेशाककाे ब्यवस्था गर्नुकाे सथै  थप रकम पारिश्रमिक दिइ बिधालयमा थप गुणस्तरी शिक्षा प्रदान गर्नका लागी सहज बाताबरण समेत बनाएकाे ठाेरी गाउँपालिका कार्यालय पर्साका प्रमुख प्रशासकिय अधिकृत कृष्ण लाल श्रेष्ठले बताउनु भयाे ।

    Posted in UncategorizedLeave a Comment on गुणस्तरीय शिक्षा प्रदान गर्न घरदैलाे सिकाइ केन्द्रकाे स्थापना

    कर्मचारी नेताको आक्रोश : नेवानीलाई खसी बेचे झैं बेच्न खोज्ने ?

  • ३१ श्रावण २०७८, आईतवार ०९:३८ मा प्रकाशित
  • ऋषिकेश पन्थी

    महाप्रबन्धकको राजीनामा नआएसम्म आन्दोलन रोकिँदैन

    नेपाल वायुसेवा निगमलाई ‘पब्लिक कम्पनी’ बनाउने प्रस्तावविरुद्ध निगमका कर्मचारी आन्दोलित भएका छन् । निगमले पर्यटन मन्त्रालयसँग ‘पब्लिक लिमिटेड’ बनाउन प्रस्ताव गरेसँगै निगमका तीन कर्मचारी संगठनले संयुक्तरूपमा आन्दोलन गरिरहेका छन् । प्रस्ताव फिर्तासँगै निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको निगमका कर्मचारीको आधिकारिक ट्रेड युनियनका कार्यकारी अध्यक्ष ऋषिकेश पन्थीसँग आन्दोलनको कारण, समस्या र समाधानको बाटोबारे कुराकानी !

    – तपाईंहरू आन्दोलनमा उत्रनुको खास कारण के हो ? प्रष्ट पार्दिनुस् न !
    जेठ २८ गते अर्थमन्त्रालयले निगमलाई कसरी सुदृढीकरण गर्दै नाफामा लैजान सकिन्छ भन्नेबारे असार १५ सम्ममा जवाफ पठाउन पत्र लेख्यो । पत्र प्राप्त भएपछि निगममा संचालक समितिका अध्यक्ष नभएको बेलामा असार १० गते पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा बोर्डको बैठक बस्यो । त्यो वैठकले बोर्डका सदस्य किशोर प्रधानको संयोजकत्वमा बोर्ड सदस्य ईश्वरी पौडेल र नूरलामा शेर्पासहितको तीन सदस्यीय समिति गठन गरियो ।

    उक्त समितिले निगमलाई कम्पनीकरण गर्दा सही हुन्छ भनेर मोडलसहित पर्यटन मन्त्रालयमा पत्र पठायो । तर, निगममा भएका तीनवटा क्रियाशील कर्मचारी ट्रेड युनियनसँग कुनै छलफल नै भएन ।

    निगम कम्पनीकरण भयो भने कर्मचारीको रोजीरोटी खोसिने कुरा त छँदैछ, छापामार शैलीमा प्रबन्धपत्र बनाएर सीमित स्वार्थ समूहलाई निगम बेच्ने गरी प्रस्ताव लैजानु नै गलत छ । राज्यको एउटा संस्थालाई खसी बेचे जसरी बेच्ने प्रस्ताव गर्न मिल्छ ?

    त्यस्तै प्रस्तावमा ५१ प्रतिशत कुनै समूहलाई दिने भनिएको छ । एक हजार कित्ता सेयर किन्नेबित्तिकै एउटा समूह बन्ने गरी व्याख्या गरिएको छ । अन्य शेयर विभिन्न नाममा छुट्याइएको छ, जुन सही छैन ।

    यो कानूनीरूपमा पनि अत्यन्त घातक निर्णय छ । अहिले हामी जागिर जोगाउनमात्रै होइन, निगम जोगाउन लागिपरेका छौं । र यो आन्दोलन त्यसकै लागि हो । हामी उक्त प्रस्ताव फिर्ता नभएसम्म र महाप्रबन्धकको राजीनामा नआएसम्म आन्दोलन जारी राख्छौं ।

    – निगमलाई कम्पनीकरण गर्ने प्रस्ताव र महाप्रबन्धकको राजीनामाबीच के सम्बन्ध छ ?
    अहिले महाप्रबन्धकसँग संस्था चलाउने क्षमता नै छैन । उहाँ आएदेखि नै निगम ओरालोयात्रामा छ । उहाँ लामो समय रहनु भनेको निगमलाई झन् घाटामा लानु हो ।

    उहाँसँग कर्मचारीसँग समन्वय गर्ने क्षमता पनि रहेनछ । उहाँको कार्यकक्षमा सुन्दर कार्पेट विच्छ्याइएको छ । उहाँ महंगो गाडी चढ्नुहुन्छ । तर, संस्थाले लिएको ऋणको ब्याज तिर्न पुगेको छैन । उहाँसँग मिसन, भिजन केही पनि छैन ।

    हामीले विभागीय मन्त्रालयदेखि प्रधानमन्त्रीसम्म उहाँको राजीनामाको कुरा पुर्‍याएका छौं । अब उहाँले नैतिकताका आधारमा राजीनामा दिनु नै उत्तम हुन्छ ।

    – निगमलाई कम्पनीकरण गर्ने प्रयासमा चाहिँ उहाँको भूमिका के छ ?
    उहाँले नियुक्त भएकै दिनदेखि यो प्रयास गर्नुभएको हो । यहाँ ठूलो ‘हवाई माफियाको ग्याङ’ छ । उहाँ त्यसकै लहैलहैमा लाग्नुभयो ।

    – को हुन् हवाई माफिया चाहिँ ?
    नाम लिन मिल्दैन तर उनीहरू कहिल्यै निगमको हित चाहँदैनन् ।

    – तपाईंहरूको आन्दोलनले निगमको कम्पनीकरण रोकिएला र ?
    संस्थालाई निजीकरण गर्न चार चरण पार गर्नुपर्छ । त्यसमध्ये तीन चरण पूरा भइसकेको छ । अब अन्तिम चरण भनेको कर्मचारीलाई मनाएर सहीछाप गराउने हो । तर हामी कुनै हालतमा उक्त प्रस्ताव मान्न तयार छैनौं ।

    हिजो बासबारी जुत्ताचप्पल कारखाना, हिमाल सिमेन्टलगायतका ३० वटा सरकारी संस्थानलाई कम्पनीकरण गरियो । तीमध्ये १८ वटा समाप्त नै भइसकेका छन् । र, यसलाई पनि ती कम्पनी जस्तै बनाउन लागिएको हो ।

    त्यसैले हाम्रा माग पनि धेरै छैनन् । एउटा उक्त प्रस्ताव फिर्ता हुनुपर्यो, अर्को महाप्रबन्धकले राजीनामा दिनुपर्‍यो ।

    – संस्था निरन्तर घाटामा गएपछि विकल्प खोज्नु त स्वभाविक होइन र ?
    निजीकरण नेपालमा फेल भइसक्यो । हामीलाई चाहिएको कुशल व्यवस्थापन हो । हिजो ४० हजार तिरेर भारतमा उपचार गर्न जाने तपाईं हामी नै हो । तर, नेपाल वायुसेवा निगमले भारतमा उडान भर्न थालेपछि टिकटको मूल्य सात हजारसम्म झार्न सफल भयौं । क्यान्सरको बिरामीलाई त हामीले निःशुल्क टिकट दिइरहेका छौं । निजी कम्पनीको मनोपोली रोक्न पनि यो संस्था चाहिन्छ ।

    अहिले दुर्गम क्षेत्र- हुम्ला, जुम्लामा नेपालको वायुसेवा निगमले सस्तो दरमा सेवा दिइरहेको छ । साथै, त्यहाँ औषधोपचारदेखि सबै सामन नेपाल वायु सेवाले बोकिरहेको छ । त्यहाँ यति र हिमालयन एयरलाइन्स गएको देख्नु भएको छ ?

    – उसो भए निगमलाई अहिलेकै स्थितिमा छाड्दा ठीक हुन्छ भन्ने तपाईंहरुको बुझाइ हो ?
    होइन, सुदृढीकरण गर्नुपर्छ । यसको अर्थ बेच्नु पर्छ भन्ने होइन । अहिले विश्वभरका एयरलाइन्स कोरोनाका कारण घाटामा छन् । र, नेपाल वायुसेवा निगम पनि कोरोनाको मारमा परेको छ । तर, सधैँ यस्तो भइरहने होइन ।

    अहिले यसलाई निजीकरण गर्ने होइन, राम्रो व्यवस्थापकीय प्रणाली बनाएर चलाउनु पर्छ । राम्रो व्यवस्थापक हुँदा सरकारी संस्था पनि नाफामा जान सक्छ भन्ने कुरा त नेपाल विद्युत् प्राधिकरणलाई हेर्दा थाहा हुन्छ ।

    विगतमा हामीले १५ घण्टासम्मको लोडसेडिङको मार खेपिरहेका थियौं तर, कुशल व्यवस्थापक आएपछि आज प्राधिकरण नाफामा गएको छ । यस्तै कुशल व्यवस्थापक ल्याएर निगमलाई पनि नाफामा लैजान सकिन्छ ।

    – निगम घाटामा जानुका पछाडि कर्मचारीको पनि हात छ भनिन्छ नि !
    कसरी कर्मचारीको हात हुन्छ ? अहिले भइरहेको ३६ वटा संस्थानमध्ये निगमका कर्मचारी प्रविधिकरूपमा सक्षम छन् । सर्वसाधारणले निगममा देखिएका सबैलाई कर्मचारी नै ठान्छन् । तर, यहाँको वास्तविकता फरक छ ।

    यहाँ सबै लोकसेवा पास गरेर आउँदैनन् । राजनीतिक नियुक्ति हुन्छ । त्यस्ता मान्छेमा विषयवस्तुको ज्ञान हुँदैन । उनीहरूले नीति तथा योजना बनाउँछन् । त्यसकारण निगम सफल हुन सकेको छैन । नेतृत्व राजनीतिक नियुक्तिबाट ल्याउने चलन हटाए निगम सफल हुन्छ ।

    – निगम घाटामा जानुको मूल कारण नै राजनीतिक नियुक्ति हो त ?
    नेपाल वायुसेवा निगमले स्थापनाकालदेखि अहिलेसम्म धेरै उतारचढावको सामना गरेको छ । २०४६ सालसम्म यसको अवस्था निकै राम्रो थियो । २०५१ मा अलिकति उत्तरचढाब भयो । त्यसपछि २०६२ सालसम्ममा पनि राम्रैसँग चलेको हो ।

    २०६२/६३ मा अलि कमजोर भएको थियो । यो जहाज उडाउने कम्पनी हो तर, सरकारले न जहाज किन्यो न किन्न दियो । यसरी हेर्दा निगम घाटामा जानुको प्रमुख कारण राजनीतिक हस्तक्षेप नै हो ।

    यहाँका बोर्ड सदस्यदेखि कार्यकारी सबै राजनीति नियुक्तिका छन् । योग्यता, विषयवस्तुमा ज्ञान भएको मान्छे नै ल्याउँदैनन्, पार्टीका मान्छे भर्ती गर्छन् । अनि कसरी निगम उँभो लाग्छ त !

    – खासमा तपाईंहरूलाई संस्थाको चिन्ता कि जागिरको ?
    हामीलाई जागिरको चिन्ता छैन । हामी जे गरेर पनि खान सक्छौं । तर, राष्ट्रको गौरवमय इतिहास बोकेको यो संस्था जोगिनु पर्छ भन्ने हो । यो त प्रत्येक नागरिकको करबाट स्थापित गरिएको संस्था हो ।

    Posted in UncategorizedLeave a Comment on कर्मचारी नेताको आक्रोश : नेवानीलाई खसी बेचे झैं बेच्न खोज्ने ?

    विश्व स्तनपान दिवस सम्बन्धित टुक्काहरु

  • ३० श्रावण २०७८, शनिबार ११:१२ मा प्रकाशित

  • [१]
    १.
    ईश्वरले  दिए सर्वोत्कृष्ट  नारीलाई  हक,
    सम्मानको पालना गरौं हामी नमानि धक।
    २.
    शिशुको स्वास्थ्यको लागि अमृत रैछ स्तनपान,
    सौन्दर्य बिग्रन्छ भनी गल्ति नगरौं जानाजान ।
    ३.
    आधुनिक नारी जोड दिन्छन् पिलाउँन कृत्रिम दुध,
    अप्रत्यक्ष असर हो रोग संग जीवनभर जुध ।
    ✍️ शर्मिला श्रेष्ठ
    ललितपुर, हालपरदेश

    [२]
    १.
    अमृत थियो त्यो शरीर सुकाएर शिशु भिजाएकी,
    उनै हुन् आमा हाँसी हाँसी जीवनमा आँशु बगाएकी।
    २.
    आमाको त्यागले शिशु निस्फिक्री यस धर्तीमा हुर्कन्छ,
    बिर्सिन्छ दूधको भारा र आमा फाल्न बगर खुर्कन्छ ।
    ३.
    स्तनपान अमृत सरि थियो जीवनकै ऐना बन्ने,
    शिशुवस्थामा मिले बन्छ भोलि स्वस्थ नागरिक भन्ने।
    – पौडेल विमुन्स,
    पाेखरा

    [३]
    १.
    दशधारा दूध हाे शिशुकाे अमृत पान,
    अाफै भन्दा धेरै माया गर्ने अामा महान।
    २.
    स्तनपान जरुरी छ कृतिम अाहार हुन्न,
    अाँत बलियाे भए पछि राेग व्याधिले छुन्न।
    – ताराप्रसाद चापागाईं
    धुनिबेशी न.पा. -०९, धादिङ

    [४]
    १.
    स्तनपान हो शिशुको पहिलो अधिकार,
    आमाको प्राकृतिक कर्तव्य सर्वस्वीकार।
    २.
    स्तनपान सौन्दर्यको खिलाप हैन आज,
    आफ्नै शिशुको पालनमा केको हुने लाज।                               ✍️भूषण जंग
    अस्ट्रेलिया।

    [५]
    १.
    कलिला साना मुनाहरू जन्मिएकाछन् कति,
    आवश्यक स्तनपान गराउनुपर्छ अति l
    २.
    बच्चाहरू जन्माएर नै मर्ने आमाहरू धेरै भए,
    आमाको स्तनपान नपाएर कति बच्चा खेर गए l
    ✍️ रिता खराल
    रुपन्देही

    [६]
    १.
    स्तानपान गराए बालक हुन्छ निरोगी,
    आमाहरू यसको लागि हुन्छन् सहयोगी।
    २.
    छाड आमाले ध्रुमपान मध्यपान बनाऊँ निरोगी,
    आफ्ना शिशुको सुन्दर भविष्यलाई बन सहयोगी।
    ✍️ सुरेशकुमार पान्डे
    दाङ

    [७]
    १.
    छोराछोरी जन्माएपछि यति कुरा जान,
    सबैभदा  पहिला   त गराऊ स्तनपान।
    २.
    अब गर्भ राखी जन्म दिई नमान्नु है हार ,
    स्तनपान गर्न पाउँनु उसको अधिकार ।
    ✍️अभागी ललिता
    सिन्धुली

    [८]
    १.
    शुक्रअणु भ्रुण बाट हुन्छ गर्भाधान ,
    पूर्णावधी पार गरी जन्मिन्छ सन्तान ।
    २.
    जन्मदाकाे साथसाथै स्तनपान गरे ,
    शिशु स्वच्छ मुखमा अमृत पर्याे अरे।
    ✍️रामकृष्ण दुवाडी
    पाेखरा

    [९]
    १.
    शिशुलाई स्तनपानले सधैँ पोषिलो गर्छ,
    अमृत समान बच्चालाई खुवाउनु पर्छ ।
    २.
    अमृत सरि स्तनपान गराएर बच्चालाई,
    निरोगी बन्न दियौं आफ्नै जीवनका खम्बालाई।
    ✍️ दुर्गा भट्टराई
    मोरङ

    [१०]
    १.
    नगराएर बच्चालाई स्तनपान,
    जानी जानी गएको छ बच्चाको ज्यान।
    २.
    बढ्दैछ आमाहरूमा किन ठुलो विभेद,
    दूध नचुसाएर किन गर्छन् काम खेद।
    ✍️ –पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [११]
    १.
    तिम्रो मातृवात्सल्य बुँदबुँदमा झर्छ,
    बच्चालाई स्तनपान गराउनुपर्छ ।
    २.
    धन्य हुन् ती सबै आमा जसले अमृतपान गरायौ,
    आफ्ना सन्तानलाई रोगसँग लड्न समर्थ बनायौ ।
    ✍️ रचना शर्मा “प्रतीक्षा”
    ललितपुर, महालक्ष्मी न. पा.

    [१२]
    १.
    शिशुलाई जसले सधैँ स्तनपान गराउँछ,
    स्वस्थ्य हुन्छन् सन्तान अनि रोग ब्यथा हराउँछ।
    २.
    आमाको दुध अमृत हुन्छ जन्मन साथ बच्चालाई,
    सचेतना फैलाऊँ अहिलै दिदी बहिनी दाजु भाइ।
    ✍️ नवशिला
    बेलबारी न. पा.- २ लालभित्ती, मोरङ हाल: गोदावारी लालितपुर

    [१३]
    १.
    बच्चालाई स्तनपानले पाेषण भर्छ,
    हानी गर्ने तत्वबाट रक्षा पनि  गर्छ ।
    २.
    आमा हुन चाहनेले यति कुरा  जान ,
    जन्मसिद्ध अधिकार हुन्छ स्तनपान।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [१४]
    १.
    राम्रो हो बच्चालाई  स्तनपान  गराउने  बानी,
    जन्मेको एक घन्टा भित्रै दुध पिलाउनु नानी।
    २.
    दुध खुवाए आमाको स्वास्थ्य  राम्रो हुन्छ मान्नु,
    रोगसँग सधैँ लड्ने शक्ति  प्राप्त हुन्छ जान्नु।
    ✍️ इश्वरी अधिकारी
    लमजुङ्ग

    [१५]
    १.
    शिशु जन्मेदेखि छ महिनासम्म स्तनपान,
    खुवाउनु पर्दैन अन्नपानी सबैले जान।
    २.
    माछा, मासु ,सागपात र गेडागुडी सुत्केरीलाई,
    अनि पो शिशु स्वस्थ्य हुन्छ प्रशस्त स्तनपान पाई।
    ✍️ विशाल सुवेदी
    मकवानपुर

    [१६]
    १.
    झाडापखाला निको पार्ने अचुक उपाय हो स्तनपान
    अलिकति यो पनि त हो परिवार नियोजन समान।
    २.
    बिग्रिन्छ भन्दै अनुहारको सुन्दरता गराउँदैनन्  स्तनपान
    पश्चातापमा पर्दछन् पछि नचिन्दा शिशुले आफ्नै आमाको स्थान।
    ✍️ मुक्तिनाथ अधिकारी
    भरतपुर चितवन।

    [१७]
    १.
    शिशुलाई  स्तनपान गरी बचाउनु  हुन्छ ,
    विरामी हुँदा आमाको मन आँत्तेर नै रुन्छ।
    २.
    स्तनपान गरेर  नै भोलि  जाँगर चल्छ,
    जिन्दगी भर उसमा खुसीको दियो  बल्छ ।
    ✍️ कल्पना थामी
    सिन्धुपाल्चोक

    [१८]
    १.
    दिनहुँ अामाकाे स्तनपान गराए बच्चा हुन्छ निराेगी,
    अाफ्ना सन्तानलाई खुवाउनकाे लागि हुन्छ सहयोगी।
    २.
    सन्तानलाई स्तनपान गराउनु मान्नु हुदैन नि लाज,
    अाफ्ना बालबालिकाहरूकाे पछिल्लो भविष्य सोच्नु छ अाज।
      ✍️  शाेभा अर्याल
    रुपन्देही -१४ बुटवल

    [१९]
    १.
    स्तनपानको कमीले गर्दा लाग्छ रोग,
    राम्रो सँग पायो भने भाग्छ भोगसोग।
    २.
    हुर्काउन पर्छ बच्चालाई त स्तनपान गरी,
    भेदभाव  नगरौ  छोराछोरी  दुबै बराबरी।
    ✍️ जगत थापा
    बझाङ्ग

    [२०]
    १.
    स्तनपान गर्नु बच्चाको अधिकार ,
    आमा कर्तव्य निष्ठामा गर्छिन् स्वीकार।
    २.
    स्तनपानले रोगसँग लड्ने क्षमता बढाउँछ,
    आमाको दुधले बच्चालाई पौष्टिकता दिलाउँछ ।
    ✍️ बेदु न्यौपाने
    काठमाडौ

    [२१]
    १.
    आमाको दूध बच्चाको अधिकार,
    बिग्रेला नारीको तनको आकार।
    २.
    खुवाउनु छ ल्याक्टोजिन र लिटो,
    कसरी हुन्छ बच्चा तन्नेरी ठिटो।
    ✍️ रघु न्यौपाने
    पाेखरा

    [२२]
    १.
    बच्चाको अधिकार हो स्तनपान,
    यसबाट निरोगी बन्छन् सन्तान।
    २.
    स्वस्थ रहेपो तन सधैँ रहन्छ स्वस्थ मन,
    स्तनपानले दिन्छ बच्चालाई स्वस्थ जीवन।
    ✍️ रुपा पौडेल
    कुपण्डोल, ललितपुर

    [२३]
    १.
    नौ महिना गर्भ भित्रभित्रै, रक्त सिञ्चित गराएकी
    जन्मेपछि, भोक लाग्यो बा ! भन्दै दूध आफ्नो पिलाएकी ।
    २.
    सुत्केरी आमाले सन्तानलाई, गराइन् स्तनपान
    त्यो नै हो बालकका लागि, जीवन अमृत समान ।
    ✍️ गोपाल कृष्ण डंगोल
    महाराजगञ्ज, काठमाण्डू, हाल: इटहरी,  प्रदेश नं १

    [२४]
    १.
    मानिस या पशु आमा भनेको जन्म दाता हुन,
    स्तनपान गराउँदै सुनाउँछिन् मीठा धुन।
    २.
    नम्र स्वरमा बोलाउँदै भन्छिन्,यता  आऊ,
    मेरो काखमा बसेर  सोँच्छिन् तिमी रमाऊ।
    ✍️ कमला पाण्डे पराजुली
    झापा

    [२५]
    १.
    स्तनपान शिशुको निम्ति अनौठो भोजन,
    मेट्छ प्यास खुशीले सदा बिर्सन्छ रोदन।
    २.
    अमृत मानी बच्चाले चुस्छ सामिप्य बढाई,
    पाएर शक्ति हुर्कँदै जान्छ काखमा रमाई ।
    ✍️  त्रिलोचन भण्डारी
    मेचीनगर,झापा

    [२६]
    १.
    आमाले ममता भर्दछिन् स्तनमा अमृत  सरी,
    नवजातलाई पिलाउँछन् उनले प्रेम गरी।
    २.
    स्तनपान गर्न पाए भने बालक हुन्छन् स्वस्थ,
    आमा ले नि पोषण युक्त खाना खानुपर्छ मस्त ।
    ३.
    नवजातलाई पूर्ण भोजन हो आमाको दूध,
    आमाले नै बुझ्नु पर्छ मातृ शिशुका कुरा खुद ।
    ✍️ पुष्पासायरा
    बिराटनगर ।

    [२७]
    १.
    अबोध बालकलाई काख भरेर,
    बच्चा स्वस्थ्य राखौँ स्तनपान गरेर ।
    २.
    बच्चा  हूँ स्तन र खुनको,
    ऋणी गरिदेऊ  गुनको ।
    ३.
    बच्चाको आत्मा नमार्नु,
    सदा देवी रुप धार्नु ।
    ✍️ रिजाल विनोद
    बेलबारी माेरङ्ग

    [२८]
    १.
    नारी तिमी स्तनपान जो गराऊ,
    शिशुलाई सधैं अमृत पिलाऊ।
    २.
    निरोगी हुन्छिन् रे दूध खुवाउने आमा,
    शिशु तेजस्वी र स्वस्थ बन्छ भन्थे मामा।
    ३.
    आमाको स्तनपान बच्चाकै हो दिव्य रस,
    बेला बेला शिशुलाई टन्न ख्वाएर  बस ।
    ✍️ भगवती साधिका
    दमक, झापा

    [२९]      
    १.
    विश्व स्तनपान दिवश हामी सबैले    मनाऊँ,
    शिशुलाई स्तनपान गर्नै पर्छ भनी   जनाऊँ।
    २.
    जन्मेको छ महिना सम्म अामाले स्तनपान गराउँनै पर्छ,
    स्तनपान नगरे शिशुलाई रोग व्याध ले आक्रमण गर्छ।
    ३.
    यही मूल्य मान्यता विश्व स्तनपान दिवशले गर्दछ,
    अामा हरूले यो कुरा अनुसरण गर्दै  जानू पर्दछ।
    ✍️ लक्ष्मी श्रेष्ठ
    बिर्तामोड झापा

    [३०]
    १.
    आमाको दशधारा दूध पिएरै गर्छ ठूला कुरा,
    एक पेग लगाई चलाउँछ आमालाई नै छुरा।
    २.
    दशधारा दूध खुवाई ठूलो बनाउँछिन,
    अलिकति बच्चा रोए दौडी उनी आउँछिन।
    ✍️ – प्रशान्ति राई
    सामसिङ्ग खासमहल कालेबुङ्ग

    [३१]
    १.
    आमा र बच्चाको स्वास्थ्यलाई हित,
    स्तनपान   गराउनु   नै  उचित।
    २.
    राम्रोसँग  स्तनपान  अब नभए बच्चा,
    शारीरिक र मानसिकले हुने छ कच्चा।
    ✍️ रविन भण्डारी
    कानेपोखरी २,दलेली,मोरङ

    [३२]
    १/
    अमृत हो मातृ दुध, प्राकृतिक वरदान,
    पौष्टिक तत्वयुक्त हुन्छ, ताजा शिशुले खान ।
    २/
    फाल्नु हुँदैन विगौती दुध, शिशुलाई खुवायौं
    रोग कुपोषण लाग्नबाट उसलाई जोगायौं।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [३३]
    १.
    शिशुका आमाले स्तनपान गराऔँ अनिवार्य,
    शरीर वृद्धि पर्याप्त भिटामिन अपरिहार्य।
    २.
    छ महिनासम्म बच्चालाई दुध छुटाउन हुँदैन,
    पौष्टिक आहार भएकोले सामान्य रोगले छुँदैन।
    ✍️ म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर हाल:-जापान

    [३४]
    १.
    म आमा हुँ,सहज स्तनपान गराउँछु,
    शिशुको स्तनपान:मातृत्वमा हराउँछु।
    २.
    मेरो सन्तानभन्दा ठूलो छैन कुनै सुख,
    सौन्दर्यभन्दा रसिलो शिशुको दुधे मुख।
    ✍️  निर्मला शाही ठकुरी
         दैलेख, हाल दार्जिलिंग, भारत

    [३५]
    १.
    स्तनपान बच्चाको लागि अमृत सरि हुन्छ,
    काखमा सुती आमाको मन र मुटु नै छुन्छ ।
    २.
    आमा तिमी महान हौ दिन्छ्यौ संसारमा जीवनदान,
    नछाड नवजात शिशुलाई गराउन स्तनपान ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई-१०, मोरंग हाल- प्रवास

    [३६]
    १.
    शिशुको नैसर्गिक अधिकार हो स्तनपान,
    उपयोग गर्न पाउने भाग्यमानी सन्तान।
    २.
    आमाको दूधमा शिशुको प्राण अडेको हुन्छ,
    स्तनपान गर्न नपाए कुपोषणले छुन्छ।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग।

    [३७]
    १.
    स-साना बालबालिकाका लागि हुन्छ अमृत समान,
    अधिकार हो उसको पाउनु पर्छ पूर्ण स्तनपान !
    २.
    स्तनपान रोग कुपोषण सँग लड्ने प्राकृतिक शक्ति,
    आजको स्वस्थ बालबालिका भोलिका युवा देशको भक्ति!
    ३.
    स्वस्थ बालबालिकाले नै भोलि देशको गरिमा बढाउँछ,
    तन्दुरूस्त भए मात्र स्वाभिमानको लागि बलि चढाउँछ।
    ✍️ शरद प्रधानाङ्ग
    विराटनगर-७

    [३८]
    १,
    आमाको सहस्र  अमृत धारा,
    शिशुको स्वास्थको दिव्य सहारा ।
    २,
    महान छिन् तिनी आमा जसले स्तनपान  गराइन ,
    जसलाई हुँदैन  दुःख कहिल्यै सृष्टि जोगाइन।
    ३,
    बालबच्चा को पहिलो आहारा  स्तनपान,
    आफू सुकेर पनि हुर्काउँछिन् ती सन्तान ।
    ✍️ राजेश्वरी राजाेपाध्याय
    पाटन ललितपुर

    [३९]
    १.
    जन्मेको एक घण्टा भित्रमै गराउनू स्तनपान,
    आमाको दूध बालकलाई हुन्छ अमृत समान ।
    २.
    सानामा पर्याप्त स्तनपान नपाएको बच्चा,
    मधुमेह जस्तो घातक रोगले हुन्छ कच्चा ।
    ३.
    आफूले आँसु पिएर पनि बर्साउँछिन् अमृतका धारा,
    आमाको दूध नै एक हो जसमा पाइन्छन् पोषण सारा ।
    ✍️ श्रीकृष्ण शर्मा
    पोखरा

    [४०]
    १.
    जन्मेको छ भर्खर बच्चा गर्छ स्तनपान,
    भन्छन् सबै आमाको दूध अमृतसमान ।
    २.
    राम्रो स्वास्थ्य बनाउन स्तनपान गराऊ,
    पोषिलोले निरोगिता भिटामिन बढाऊ।
    ३.
    भविष्यका कर्णधार हुन आजका यि नानी,
    छ महिना सम्म लगाऔ स्तनपानको बानी ।
    ✍️ माधव पोखरेल गोज्याङ्ग्रे
    उदयपुर गाईघाट हाल ताप्लेजुङ

    :::::🌹 जय टुक्का! जय साहित्य!!🌹:::::

    Posted in UncategorizedLeave a Comment on विश्व स्तनपान दिवस सम्बन्धित टुक्काहरु

    मेरो NRNA NCC साउदीको अध्यक्ष पदमा उमेद्वारी किन? रोशन कुमार श्रेष्ठ ।

  • १२ श्रावण २०७८, मंगलवार १९:१९ मा प्रकाशित
  • आफ्नो महत्त्वपूर्ण एजेन्डाहरु सहित

    २७ जुलाई २०२१, साउदी अरब ! एनआरएनए साउदी अरबको महाधिवेशन अगामी ३० जुलाई मा हुँदै गर्दा अध्यक्ष पदमा २ जनाको उम्मेद्बारी परेको छ । दुइजना मध्यका एक हुन रोशन कुमार श्रेष्ठ ! बिगत् २०१३ देखि निरन्तर संस्थामा रहेर विभिन्न किसिमका सामाजिक कार्यमा अग्रिणी भूमिका निभाउदै आएका र २०१९-२१ कार्यकालमा उपाध्यक्षमा रहेर संस्थालाई उचाईमा पुर्याउन सफल रहेका रोशन श्रेष्ठले आफ्नो एजेन्डा सहित आफ्नो उम्मेद्बारी दिएको आफ्नो फेसबुक पेज बाट अबगत गराउंदै आफुलाइ सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।

    उहाँले भनेका छन् कि “आममाफीको बेला साउदी अरबमा पहिलो पटक आफ्नो एक्लो पहलमा आफ्नै नाममा शेल्टर खडा गरि संस्थागत सहयोग गरेको,
    नेपालमा बाढी पहिरो आउदा होस् या भुइचालो आउदा अग्रपंक्तिमा रहेर सहयोग गरेको, साउदीमा नेपाली श्रमिक दाजुभाइलाइ परेको हर समस्यामा सहयोगको हात बढाउनुमा अथवा कोभिड को मारले आक्रान्त पारेको समयमा नै किन नहोस, आफ्नै ज्यान को बाजी लगाएर दुखमा परेका दाजुभाइ को उद्धारमा, अनि नेपालमा कोभिड को दोश्रो लहरले नेपालमा रहेका सम्पुर्ण बा आमा, दाजुभाई दिदिबहिनी हरुले अक्सिजनको अभाबमा ज्यान गुमाउनु पर्ने परिस्थितिमा, अक्सिजन नेपाल पठाउन, जहाँ जस्तो सुकै परिस्थितिमा आफू दिन रात नभनी खटिदै आएको बताएका छन्।
    पछिल्लो समय संस्था भित्र देखिदै गएको बिकृति र एकाधिकार को बिरुद्ध, संस्था लाइ अझ सबै नेपाली हरुको साझा (व्याबहारिक रुपमा) संस्था बलियो बनाउन हजुर हरुले सहयोग गर्नुहुन्छ भन्ने पुर्ण विश्वास आफुले लिएको बताएका छन् ।

    श्रेष्ठद्वारा राखिएका केहि कार्य योजना हरु जस्ताको त्यस्तै :-

    मेरो प्रमुख अजेण्डा भनेको नेपाली समुदायलाई लर्निङ्ग कम्यूनिटी बनाउनतिर अगाडि बढाउने हो। यसर्थ यो कार्यकालमा नयाँ प्रोजेक्ट, परियोजना र पूर्व कार्यकालका परियोजना लाइ नियमितता दिई निम्न इस्यूहरुको ब्यबस्थापन गर्न पहल गरिने छ। यिनै आधारमा प्रोजेक्ट र सो कार्यान्वयन गर्ने कमिटीहरुको गठन र ब्यबस्थापन गरिने छ।
    संस्थागत बिकास र बिस्तार
    आफ्नो मातहत को क्षेत्रिय र स्थानिय समिति संग निरन्तर समन्वय र सहकार्य
    सबै संघ-संस्थाहरुसँग सहकार्य
    योजना, अनुगमन र मुल्यांकन
    ब्यापार,व्यवसाय र लगानी प्रबर्धन
    युवा बिकास र सहभागिता
    क्षमताको बिकास र रोजगारीमा थप सिर्जनशीलता र धेरै आम्दानी हुने खालका कामको अवसर बनाउने प्रोजेक्टहरु खेलकुद ब्यबस्थापन र संचालन
    कलाकारहरुको लागि विविध कार्यक्रम
    नेपाली मल्टाइ कल्चर/सांस्कृतिक ब्यबस्थापन र बिकास पब्लिक हेल्थ सम्बन्धि कार्यक्रम
    प्राबिधिक परियोजनाहरु, सदस्यहरुको सहयोग, बेनिफिटहरु, आकस्मिक सेवा र नीतिगत ब्यबस्थापन
    कुटनैतिक सम्बन्धको बिकास मा सहयोग गर्ने आदि इत्यादि ।

    Posted in UncategorizedLeave a Comment on मेरो NRNA NCC साउदीको अध्यक्ष पदमा उमेद्वारी किन? रोशन कुमार श्रेष्ठ ।

    जननेता भण्डारीले स्वार्थको किनबेच गर्नुभएन : प्रधानमन्त्री

  • १४ असार २०७८, सोमबार १५:४१ मा प्रकाशित

  • प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीले राजनीतिक स्वार्थको व्यापार नगरी सिद्धान्तको पक्षपोषण गरेको बताएका छन्।
    जननेता भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित विचार गोष्ठी तथा पुरस्कार कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले अहिलेको राजनीतिमा स्वार्थको किनबेचको महत्व बढी हुन थालेको बताउँदै आफूहरू मदनको ‘जनताको बहुदलीय जनवाद’ को विचारको आधारलाई सम्मान गर्दै अघि बढ्ने जनाए।
    उनले निहित स्वार्थका लागि आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीविरूद्ध हस्ताक्षर गर्दै विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन मुद्दामामिलामा समेत धाउनेहरूले लोकतन्त्र र देशको  स्थिरतालाई खतरामा पार्ने स्थिति आएको पनि बताए। 
    ‘उहाँहरू लोकतन्त्रका मूल्य मान्यता र दलीय व्यवस्थालाई सखाप पार्न अग्रसर हुनुहुन्छ, संसदलाई जनताको काम गर्ने थलो नबनाई पङ्गु बनाएर विघटन गर्न प्रेरित गरेर निर्वाचन तय भएपछि निर्वाचनको विरोध गर्दै हुनुहुन्छ, प्रधानमन्त्री चयन गर्ने थलो अदालतलाई बनाउँदै हुनुहुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘जननेता मदन भण्डारीको विचारसँग यी काम कत्ति पनि मेल खाँदैनन्, आफ्नो पार्टी ध्वस्त गर्ने र विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कसम खाएका माधवकुमार नेपाललगायतहरू विचारबाट पतित भएका छन्।’
    प्रधानमन्त्री ओलीले संसद भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) लाई संसदीय गतिविधिभन्दा अन्य काम (विपक्षी दल र नागरिक समाजको भेटघाट आदि) जस्ता गलत काममा प्रयोग गरिएकामा पनि असन्तुष्टि व्यक्त गरे।रासस

    Posted in Uncategorized, राजनीतिLeave a Comment on जननेता भण्डारीले स्वार्थको किनबेच गर्नुभएन : प्रधानमन्त्री

    प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथि नै खतरा: देउवा

  • १० असार २०७८, बिहीबार १५:१२ मा प्रकाशित
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गरिएको संसद विघटनले मुलुक संकटमा परेको बताएका छन्।

    बहुमत सांसदहरुको दावी राष्ट्रपतिबाट अस्वीकार गरेपछि पाँच दल अदालत जानुपरेको उनको भनाइ छ।

    बिहिबार राजधानीमा सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै देउवाले संवैधानिक अंग कब्जा गर्न खोजिए पनि अदालतले असंवैधानिक काम रोक्दै आएको दाबी गरेको छन्।

    सभापति देउवाले आवश्यक परे जनपरिचालन गर्ने पनि बताएका थिए। ‘हामी सबै मुलुकसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौं, नेपालको आन्तरिक मामिलामा नेपालीले नै निर्णय गर्न पाउनुपर्छ,’ देउवाले भने।

    यस्तो छ देउवाको सम्बोधनप्रिय सम्पादक मित्रहरु,

    आजको अन्तरक्रिया कार्यक्रममा यहाँहरुलाई हार्दिक स्वागत छ !

    संविधान सभाले निर्माण गरी जारी नेपालको संविधान आज प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णय र कामका कारण संकटमा छ। उहाँले असंवैधानिकरुपमा दुई–दुई पटक प्रतिनिधि सभाको विघटन गर्नुभएको छ। अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकाय लगायतका राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने, कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउनको लागि जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्व तयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएका छन्। राष्ट्रिय हितमा आँच पुग्ने किसिमका कार्यहरु भएका छन्। लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटतर्फ धकेल्ने कार्य भएको छ। यो चुनौती पार गरेर सहज संवैधानिक र राजनीतिक प्रक्रियामा अग्रसर हुन मुलुकमा नविन संघर्ष जारी छ। यो संघर्ष र अभिभारा साझा अपनत्व र कर्तब्यको विषय हो। अतः यसतर्फ आजको संवाद, समीक्षा र छलफलले योगदान गर्ने अपेक्षा गरेका छौं।

    राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोबाट मध्यरातमा असंवैधानिकरुपमा गरिएको प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथिनै खतरा उत्पन्न गरेको छ। प्रतिनिधि सभाका बहुमत १४९ सदस्यहरुको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वान अनुसार हामीले प्रधानमन्त्रीका लागि दावी सहित पेश गरेको आवेदनलाई स्वेच्छाचारी किसिमले अस्वीकर गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको छ। तसर्थ हामीले संवैधानिक अधिकार र लोकतन्त्रको लागि सर्वोच्च अदालतमा रिट निवेदन दिएका छौं।

    हामीहरु राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसदको रक्षा तथा जनतालाई महामारी एवम् प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यका साथ पाँच राजनीतिक दलहरुको संयुक्त मोर्चाका साथ अग्रसर छौं। सरकारबाट भएका कतिपय संविधान र कानून विपरीतका अलोकतान्त्रिक कार्यहरु अदालतको निर्णयबाट रोकिएका छन्। हामीले राष्ट्रिय स्वार्थ र जनताको हितलाई सर्वोपरी राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, सामाजिक न्याय, समावेशी लोकतन्त्र, कानूनी शासन र समृद्धिलाई साझा गन्तव्यका रुपमा लिएका छौं। देशमा सिर्जना गरिएको राजनीतिक अस्थीरता तथा अन्योल समाप्त गरी नेपाली जनताको लामो र कठोर संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्ने संकल्पका साथ हामीहरु राजनीतिक र कानूनी संघर्षका विविध कार्यक्रमका साथ क्रियाशील छौं। यस सन्दर्भमा आवश्यक परेमा हामी जनपरिचालनको दिशातर्फ समेत अगाडि बढ्ने छौं।

    हामी सबै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहन्छौं। नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै नेपालको बारेमा नेपालीहरुले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको आधारमा गर्नुपर्दछ भन्ने मान्यता राख्दछौं।

    विभिन्न कालखण्डमा निरंकुश शासन व्यवस्थाका विरुद्ध तथा लोकतन्त्रको पुनःस्थापनाका लागि नेपाली जनताको आन्दोलनमा राज्यको चौथो अंगको रुपमा स्थापित नेपाली सञ्चार जगतले महत्वपूर्ण योगदान गर्दै आएको छ। लोकतन्त्र, मानवाधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि पहरेदारको भूमिका निर्वाह गरेको छ। नेपाली सञ्चार जगतको निर्भिक सक्रियताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र माथिका प्रहार र खतरालाई चिर्न सार्थक योगदान पु¥याउंदै आएको

    छ। यसको हामीले सदैव उच्च मूल्यांकन गरेका छौं। आजको जटिल स्थितिमा पनि संविधान, लोकतन्त्र र न्यायको पक्षमा अविचलित क्रियाशील तपाई सम्पादकहरु एवम् तपाईहरु मार्फत सबै सञ्चारकर्मीहरुमा हामी धन्यवाद र सम्मान व्यक्त गर्दछौं।

    “निरंकुशता विरुद्ध लोकतन्त्रको पक्षमा उठौं, सबै किसिमका षडयन्त्र चिर्दै संविधान रक्षामा जुटौं” भन्ने आह्वान साथ राजनीतिक दलहरु, सञ्चार माध्यम, विभिन्न पेशा, वर्ग, समुदाय, नागरिक समाज, लेखक र श्रमजीवीका बीच वृहत्तर सहकार्य आज आवश्यक भएको छ। यही वृहत्तर सहकार्यको एउटा पाइलाको रुपमा आज तपाईहरुसँगको अन्तरक्रिया र संवादमा हामीले प्रवेश गरेका छौं। तपाईहरु सबैलाई अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै मुलुकका लागि सार्थक निष्कर्षको खोजीमा योगदान गर्न हार्दिक आग्रह गर्दछौं।

    धन्यवाद। जय नेपाल !

    copied;setopati

    Posted in UncategorizedLeave a Comment on प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथि नै खतरा: देउवा

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P