• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: Uncategorized

कार्यालय ढिलो आउने र छिटो जाने : पकडी आयुर्वेद औषधालय प्रमुख

  • २३ बैशाख २०८३, बुधबार १८:०२ मा प्रकाशित
  • कपिलवस्तु, बैशाख २३ सरकारले देशभरका सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोके पनि कपिलवस्तुको मायादेवी गाउँपालिका १ पकडीमा रहेको आयुर्वेद औषधालयमा उक्त नियम प्रभावकारी रूपमा पालना नभएको गुनासो स्थानीय सेवाग्राहीले गरेका छन् ।
    स्थानीयका अनुसार औषधालयका प्रमुख तथा कविराज निरीक्षक इन्द्र आर्याल पौडेल नियमित रूपमा बिहान १० बजे मात्र कार्यालय आउने र दिउँसो ३ बजे नै कार्यालय छोड्ने गरेको आरोप लगाइएको छ । यस कारण उपचारका लागि आउने बिरामीहरू सेवा पाउनबाट वञ्चित हुने अवस्था आएको उनीहरूको भनाइ छ ।
    स्थानीय सेवाग्राही राजेश तिवारीले आफू उपचारका लागि औषधालय पुगे पनि प्रमुख उपस्थित नभएकाले सेवा लिन समस्या भएको बताए । म उपचारका लागि आएको थिएँ, तर प्रमुख नभेटिँदा सेवा लिन समस्या भयो, उनले भने ।
    यस विषयमा पकडी आयुर्वेद औषधालयका कविराज निरीक्षक इन्द्र आर्याल पौडेलले आफ्नो घर रुपन्देहीको ठुठीपिपलमा रहेको र दिउँसो ३ बजेपछि सो स्थानका लागि सवारी साधन उपलब्ध नहुने भएकाले समयअघि नै कार्यालय छोड्नुपर्ने अवस्था रहेको प्रतिक्रिया दिएका छन् ।

    Posted in Uncategorized

    बिरियानी खुवाएर तस्करी: नियन्त्रणमा लिएको धान गायब

  • १७ बैशाख २०८३, बिहीबार १२:१२ मा प्रकाशित
  • कपिलवस्तु, बैशाख १७
    प्रस्तावित सिमा सुरक्षा गुल्म चाकरचौडा अन्तर्गत मुख्य गेटमा ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि तस्करसँग मिलेमतो गरी अवैध गतिविधि सञ्चालन गरेको गम्भीर आरोप लागेको छ । पीडित किसानका अनुसार आइतबार करिब ११–१२ बजेको समयमा आफ्नो घरायसी प्रयोजनका लागि ल्याउँदै गरेको ३० केजी धानको बिउ गुल्मका एक जना सईले मुख्य गेटमै नियन्त्रणमा लिएका थिए । तर पछि उक्त धान गायब भएको भन्दै किसानहरूले शंका व्यक्त गरेका छन् ।
    सामान्यतया नियन्त्रणमा लिइएका समानहरू क्याम्प वा भन्सार कार्यालयमा बुझाउने प्रचलन भए पनि यस घटनामा त्यसो नभई धान नै हराएको आरोप लागेको छ । सो विषयमा गुल्ममा किसानले सोधपुछ गर्दा “चाकरचौडा गुल्मका डीएसपी दिपेन्द्र बिष्टले यहाँ कुनै पनि धान नियन्त्रणमा लिइएको छैन” भन्ने जवाफ दिएको किसानको भनाइ छ ।
    यसैबीच, सिमा क्षेत्रमा ड्युटीमा रहेका सुरक्षाकर्मीलाई तस्करहरूले चिकेन बिरियानी खुवाई प्रभावमा पारी बोर्डरको पूर्वतर्फ रहेको खेतको वैकल्पिक बाटो प्रयोग गरी धानको बिउ गोदामसम्म पुर्‍याउँदै आएको आरोपसमेत स्थानीयले लगाएका छन् । त्यस्तै, सोही दिन घरायसी प्रयोजनका लागि ल्याइएको करिब १० केजी चिनी पनि मुख्य गेटमै नियन्त्रणमा लिइएको भए पनि क्याम्प वा भन्सारसम्म नपुर्‍याई सुरक्षाकर्मीले आफ्नै प्रयोगका लागि पठाएको आरोपसमेत लागेको छ ।
    कृषि सिजन नजिकिँदै गर्दा बिउ छर्ने समय भए पनि किसानहरूले बिउ अभाव झेल्नुपरेको र भारतीय पक्षबाट सहजता भए पनि नेपालकै सुरक्षाकर्मीबाट अवरोध र दुःख पाउनु परेको स्थानीय सहजाद खानले बताएका छन् ।

    Posted in Uncategorized

    अध्यक्षसँग सम्मान साट्दै डीएसपी, अर्कोतिर उपाध्यक्षबाट कुटिँदै हवल्दार

  • १६ बैशाख २०८३, बुधबार १७:०४ मा प्रकाशित
  • कपिलवस्तु, बैशाख १६ ।
    कञ्चनपुरबाट सरुवा भई आइतबार मात्र कपिलवस्तु आएका सशस्त्र प्रहरी बलका एक डिएसपी विवादित जनप्रतिनिधिसँगको भेटपछि आलोचनामा सुरु भएको छ । प्रस्तावित सिमा सुरक्षा गुल्म चाकरचौडाका प्रहरी नयाब उपरीक्षक डिएसपी दिपेन्द्र विष्ट मंगलबार बिहान शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीसँग भेटघाट गर्न पुगेपछि स्थानीय तहदेखि सुरक्षा निकायभित्रसम्म प्रश्न उठ्न थालेका छ ।
    कञ्चनपुरस्थित ३५ नम्बर गणबाट सरुवा भई आएका विष्टले पदभार सम्हालेको दुई दिन नबित्दै पालिका अध्यक्ष चौधरीलाई भेटेका थिए । भेटका क्रममा अध्यक्ष चौधरीले आफ्नै कार्यकक्षमा विष्टलाई खादा ओढाएर टीका लगाइदिएको तस्बिरसमेत सार्वजनिक भएपछि यसले थप चर्चा पाएको छ ।
    तर, उक्त भेट सामान्य शिष्टाचार मात्रै नभई विवादित पृष्ठभूमिसँग जोडिएर हेर्न थालिएको छ । पालिका अध्यक्ष चौधरीमाथि सामूहिक बलात्कारको गम्भीर आरोप लागेका छ । सोही प्रकरणमा रुपन्देही जिल्ला अदालत ले चैत २२ गते ८ लाख रुपैयाँ धरौटीमा उनलाई रिहा गरेको थियो । कानुनी रूपमा मुद्दा अझै अन्तिम टुंगोमा नपुगेको अवस्थामा सुरक्षा निकायका उच्च अधिकृतले यस्तो व्यक्तिसँग औपचारिक भेट गर्नु उपयुक्त हो वा होइन भन्ने विषयमा बहस सुरु भएको छ ।
    यसैबीच, सोही शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीमाथि पनि गम्भीर आरोप लागिरहेको छ । चैत २३ गते चाकरचौडा सशस्त्र गुल्म मातहतको विओपी हथिहवामा कार्यरत सशस्त्र प्रहरी हवल्दार भीमबहादुर चौधरीमाथि मुक्का प्रहार गरेको आरोपमा उनीविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा विचाराधीन रहेको बताइएको छ । यस घटनाले पनि स्थानीय राजनीतिक नेतृत्व र सुरक्षा निकायबीचको सम्बन्धलाई थप संवेदनशील बनाएको देखिन्छ । एकातिर पालिका अध्यक्षमाथि गम्भीर आपराधिक आरोप लागेको र उनी धरौटीमा छुटेका छन् भने अर्कोतर्फ उपाध्यक्षमाथि आफ्नै सुरक्षाकर्मीमाथि आक्रमणको आरोप छ । यस्तो अवस्थामा सशस्त्र प्रहरीका जिम्मेवार अधिकृतले उनीहरूसँग निकटता देखिने गरी भेटघाट गर्नुले विभिन्न आशंका जन्माएको स्थानीयको भनाइ छ ।
    सीमानाका क्षेत्र चाकरचौडामा पछिल्लो समय भारतसँग जोडिएको भन्सार गतिविधि र तस्करी नियन्त्रणलाई लिएर तनाव बढिरहेको छ । यस्तो संवेदनशील परिस्थितिमा सुरक्षा संयन्त्रले निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा रहँदै आएको छ । तर, विवादित जनप्रतिनिधिसँगको यो भेटले सुरक्षा निकायको निष्पक्षतामाथि नै प्रश्न उठाएको भन्दै आलोचना भइरहेको छ ।
    चाकरचौडाका एक सशस्त्र हवल्दारका अनुसार, “सीमा क्षेत्रमा पहिलेको तुलनामा अहिले तनाव बढिरहेको छ । यस्तो अवस्थामा विवादित व्यक्तिसँग भएको विशेष भेटघाटले नयाँ खालको सन्देश दिन सक्छ ।” उनले थपे, “चैत २३ गते भएको हवल्दार कुटपिट घटनाबारे जानकारी लिन कपिलवस्तुस्थित सशस्त्र प्रहरीका एसपी गोपाल अधिकारीलाई मुख्यालयले बोलाएको थियो ।”

    Posted in Uncategorized

    भन्सार नपुग्दै सामान जफत: चाकरचौडामा सुरक्षाकर्मीको कडाइप्रति प्रश्न

  • १४ बैशाख २०८३, सोमबार १२:२० मा प्रकाशित
  • कपिलवस्तु – बैशाख १४
    पछिल्लो समय देशभरका सीमा क्षेत्रमा कडाइ बढेसँगै कपिलवस्तुको चाकरचौडामा सुरक्षाकर्मीको कार्यशैलीबारे प्रश्न उठ्न थालेको छ । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले भन्सार कार्यालयसम्म नपुग्दै सर्वसाधारणले बोकेको सामान नियन्त्रणमा लिने गरेको गुनासो बढ्दै गएको हो ।
    नियमअनुसार भन्सार प्रक्रियाबाट गुज्रिनुपर्ने सामान बाटोमै रोकिँदा सर्वसाधारण अनावश्यक सास्ती भोग्न बाध्य बनेका छन् । यसरी भन्सार नपुग्दै सामान नियन्त्रण गरिनु कानुनी प्रक्रिया विपरीत भएको भन्दै असन्तुष्टि बढ्दो छ ।
    यता, प्रस्तावित सीमा सुरक्षा गुल्म चाकरचौडाका सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र बिष्टले भने आफूहरू माथिल्लो निकायको आदेशअनुसार कडाइका साथ ड्युटीमा खटिएको बताएका छन् । उनी दुई दिनअघि मात्रै यस गुल्ममा हाजिर भएका हुन् । उनका अनुसार, “गेटमा नियन्त्रणमा लिएको सामान भन्सार प्रक्रियाका लागि पठाउने गरिएको हो, कसैको सामान जफत गरिएको छैन ।” उनले बसपार्क आसपास दायाँ बायाँतर्फ रहेका वैकल्पिक बाटाहरू प्रयोग गरी अवैध आवतजावत हुन सक्ने भएकाले निगरानी कडा पारिएको पनि बताए ।
    भन्सारमार्फत नेपालमा प्रतिबन्धित सामान भएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिने अधिकार हुन्छ । तर भन्सारयोग्य सामान भने कानुनी प्रक्रिया पूरा गर्न भन्सार कार्यालयसम्म लैजान दिनु पर्ने व्यवस्था रहेको छ ।
    तर, स्थानीयले भने फरक अनुभव सुनाएका छन् । बरोहियाका एक स्थानीयले भारतबाट आफ्नो घर प्रयोजनका लागि १५ किलो चिनी ल्याउँदा सीमा गेटमै सामान नियन्त्रणमा लिएर फर्काइएको बताएका छन् । ती स्थानीयका अनुसार, भन्सार गराउन आग्रह गर्दा समेत हालसम्म न त चिनी फिर्ता गरिएको छ, न त भन्सार प्रक्रियाका लागि पठाइएको छ ।
    त्यसैगरी, धरमपनियाका एक किसानले घरायसी प्रयोजनका लागि ल्याउँदै गरेको २५ केजी धानको बिउ पनि मेन गेटमै रोकिएको र आफूलाई फर्काइएको गुनासो गरेका छन् । ती किसानका अनुसार, पछि सशस्त्र प्रहरी क्याम्पमा पुगेर सोधपुछ गर्दा “हामीले कुनै धानको बिउ नियन्त्रणमा लिएका छैनौं” भन्ने जवाफ पाएका थिए, जसले घटनाप्रति थप अन्योल सिर्जना गरेको छ ।
    भन्सार प्रक्रियाका लागि सामान भौतिक रूपमा उपस्थित हुनुपर्ने सामान्य व्यवस्था रहे पनि, स्थानीयले नियन्त्रणमा लिइएका सामान भन्सार कार्यालयसम्म नपुगेको र प्रक्रिया कसरी अघि बढाइँदै छ भन्नेबारे अन्योल रहेको बताएका छन् ।

    Posted in Uncategorized

    कपिलवस्तुमा १४ लाख भारतीय रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ, पेट्रोल पम्पको आडमा अवैध धन्दा

  • १ बैशाख २०८३, मंगलवार ०७:०८ मा प्रकाशित
  • तौलिहवा, कपिलवस्तु – ०१

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले स्रोत नखुलेको ठूलो परिमाणको भारतीय रुपैयाँसहित एक हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तौलिहवा क्षेत्रबाट मायादेवी गाउँपालिका वडा नं. ८, बरकुलपुर बस्ने २२ वर्षीय अभिषेक गुप्तालाई १४ लाख भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।
    ​प्रहरीले गुप्ता सवार लु १८ प ८७४७ नम्बरको पल्सर मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त रकम फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालयका डीएसपी रिपेन्द्र कुमार सिंहका अनुसार पक्राउ परेका अभिषेकका बुबा सुरेश कुमार गुप्ता पहिलेदेखि नै प्रहरीको कडा निगरानीमा थिए। सुरेश बर्रोहियामा रहेको न्यू गुप्ता आयल सेन्टरका सञ्चालक हुन् ।


    ​चाकरचौडा नाकाबाट दैनिक २ करोड भारुको हुण्डी कारोबार हुने आशंका :


    पछिल्लो समय हुण्डी कारोबार चाकरचौडा क्षेत्रबाट व्यापक रुपमा हुँदै आएको छ । एक जना स्थानीय ब्यापारीका अनुसार चाकरचौडा नाकाबाट मात्रै अहिलेको समयमा दैनिक करिब २ करोड भारतीय रुपैयाँ हुण्डी मार्फत नेपाल भित्रिने गरेको छ । सीमावर्ती क्षेत्रमा रहेका केही पहुँचवाला ब्यापारीहरूको ‘सेटिङ’मा यो अवैध धन्दा निर्वाध चलिरहेको स्थानीयको दाबी छ ।


    ​पम्पको आड र दोहोरो नागरिकता :

    हुण्डी कारोबारमा सक्रिय गुप्ताले पेट्रोल पम्पको आडमा अवैध रकम कारोबार गर्दै आएका थिए । भारतको सिद्धार्थनगर जिल्ला, अलिगढवा थानाअन्तर्गत बरकुल निवासी गुप्ता परिवारका सदस्यहरुसँग दोहोरो नागरिकता भएको स्थानीयको आरोप छ । यसअघि पनि गुप्ताका भरिया निरज श्रीवास्तव १६ लाख र भाइ विष्णु गुप्ता १० लाख अवैध रकमसहित पक्राउ परिसकेका छन् ।
    ​प्रहरीले यस घटनासँग अन्य ठूला कारोबारीहरू समेत जोडिएको हुनसक्ने आशंका गर्दै अनुसन्धानलाई तीव्र बनाएको छ । पक्राउ परेका गुप्तालाई थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

    Posted in Uncategorized

    कपिलवस्तुमा ६३.६३ प्रतिशत मतदान, आजैदेखि मतगणना सुरु हुने

  • २१ फाल्गुन २०८२, बिहीबार २१:०३ मा प्रकाशित
  • कपिलवस्तु, फागुन २१

    कपिलवस्तु जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ । जिल्लाभरका सबै मतदान केन्द्रमा कुनै अप्रिय घटना बिना मतदान सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार जिल्लामा कुल ३ लाख ९६ हजार २६५ मतदाता रहेकोमा २ लाख ५२ हजार १५६ मत खसेको छ, जुन ६३.६३ प्रतिशत हो । खसेको मतमध्ये महिला १ लाख ३० हजार ४६३, पुरुष १ लाख २१ हजार ६९० र अन्य ३ जना रहेका छन् । क्षेत्रगत विवरण अनुसार कपिलवस्तु क्षेत्र नम्बर १ मा कुल १ लाख ४७ हजार ६५९ मतदाता रहेकोमा ९२ हजार ४९४ मत (६२.६४ प्रतिशत) खसेको छ । त्यस्तै क्षेत्र नम्बर २ मा १ लाख ३० हजार २०२ मतदाता मध्ये ८५ हजार ५६ मत (६५.३३ प्रतिशत) खसेको छ भने क्षेत्र नम्बर ३ मा १ लाख १८ हजार ४०४ मतदाता मध्ये ७४ हजार ६०६ मत (६३.०१ प्रतिशत) मतदान भएको छ । प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार मतदान सम्पन्न भएलगत्तै जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतले सर्वदलीय बैठक गरी आजै साँझदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । जिल्लामा ३ हजार ९६४ अस्थायी मतदाता समेत रहेका छन् ।

    Posted in Uncategorized

    हिमालयन एयरलाइन्सको दुबई, दमाम र दोहा — का सबै उडानहरू रद्द !

  • १६ फाल्गुन २०८२, शनिबार १७:५८ मा प्रकाशित
  • Screenshot

    मध्यपूर्व क्षेत्रको आकाशमा उत्पन्न भइरहेको परिस्थितिका कारण हिमालयन एयरलाइन्सले मध्यपूर्वका गन्तव्यहरू — दुबई, दमाम र दोहा — का सबै उडानहरू अर्को सूचना नभएसम्मका लागि रद्द गरिएको जनाएको छ।

    एयरलाइन्सले यात्रुहरूलाई आफ्नो आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत अद्यावधिक जानकारी लिन अनुरोध गरेको छ। साथै, यसबाट यात्रुहरूलाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै सहयोग र समझदारीका लागि धन्यवाद व्यक्त गरेको छ।

    Posted in Uncategorized, अन्तर्राष्ट्रिय, मुख्य खबर

    ढुक्कसंग निर्बाचन जित्छौ – कांग्रेस क्षेत्र नम्बर १ का उम्मेदवार कमाल

  • ६ फाल्गुन २०८२, बुधबार २१:४८ मा प्रकाशित
  • कपिलवस्तु ,फागुन ६

    जिल्लामा ‘भूँइ’ मान्छेको परिचय बनाएका अतहरकमाल मुसलमानले कपिलवस्तु सहीत देशभर कांग्रेसको माहौल बन्दै गएको बताएका छन । कपिलवस्तुको क्षेत्र नम्बर १ बाट कांग्रेस प्रतिनिधि सभाका उम्मेदवार कमालले मायादेबी गाउपालिको डुमरामा घरदैलोकोक्रममा संचारकर्मीसंग कुराकानी गर्दै सो कुरा बताएका हुन । निर्बाचन क्षेत्र नम्बर १ को मायादेबी,सुद्धोधन गाउपालिका कपिलवस्तु र बाणगंगा नगरपालिकाको कांग्रेसका लहर चलेकोले कांग्रेसको कसैले बराबरी गर्न नसक्ने दाबी गरे । उनले १० देखि १५ हजार मत निरन्तर अघि बढीरहेको र निर्बाचन जित्ने कुरामा ढुक्क भएको बताए । यस क्षेत्रको सामाजिक रुपान्तरण र बिकास निर्माणको काम बार आफुहरुलाई जानकारी रहेको बताए । केन्द्रय नेताले देखाएको साहस सहीत कांग्रेसको एकल नेतृत्वमा अबकी बार सय पार भन्ने नारा साक्षात हुने उनले बताए । उनले कांग्रेसले प्रत्यक्ष तर्फ सय र समानुपाति तर्फ ४० सिटछ जित्ने दाबी गरे । उनले गगन थापाको नेतृत्वमा सरकार बन्ने र कपिलवस्तुका ३ वटै सिट जित्ने समेत दाबी गरे ।
    को हुन त अतकर कमाल, जोले स्वतन्त्र लडदा समेत कांग्रेस मै भोट हाले
    २०७० सालमा चुनाव लडदा पनि आफनो मत भने कांग्रेसलाई देखाएर दिएका थिए ।खरो र स्पष्ट वाककलाबाट चिनिएका उनले २०७० को संविधानसभा सदस्य निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्म्मेदवार बनेर चुनाव जितेका थिए । आफू स्वतन्त्र उम्मेदवार भए पनि त्यसबेला उनले सबैलाई देखाएर कांग्रेसको चुनाव चिन्हमा भोट हालेका थिए ।२०७४ मा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका मुसलमान दुई दशकदेखि मधेशमा सिमान्तीकृत र बञ्चितीकरणमा परेका समुदायका बालबालिकाको शिक्षामा पहुँचकालागि वकालत गर्दै आएका छन् । सामाजिक परिचालन अभियान चलाएर गरिब, विपन्न र पछडिएका समुदायलाई छात्रवृत्ति, पढाइमा निरन्तरता, स्वच्छ खानेपानी र आयआर्जन काममा जोडेका छन् । स्वतन्त्र रुपमा संविधानसभा सदस्यमा निर्वाचित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीको प्रस्ताव गर्दा समेत पार्टी नछाडेको बताउँदै उनले भने, ‘अहिले कांग्रेसबाट उम्मेदवार हुन पाउँदा गर्व छ ।’ बाणगंगा–११ वनकटवाका ५५ वर्षीय मुसलमानले कृषिमा आधुनिकिरण गरेर उत्पादनदेखि बजारिकरणका काम मार्फत स्वरोजगारी बढाउने लक्ष्य लिएको बताए ।

    Posted in Uncategorized

    बागी उम्मेदवार शर्मा सहित १९ जना काँग्रेसवाट पाँच बर्ष निष्काशित

  • ५ फाल्गुन २०८२, मंगलवार १८:५४ मा प्रकाशित
  • कपिलवस्तु ५ फागुन

    नेपाली काँग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका आधिकारीक उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिएका आशिष शर्मा सहित १९ जनालाई पार्टीबाट पाँच बर्ष निष्काशन गर्ने निर्णय गरेको छ । निजहरुलाई पार्टीको जिल्ला अनुशासन समितिको बैठकको सिफारिस अनुसार जिल्ला कार्य समितीले पाँच बर्ष निष्कासनको कारवाही बारे पार्टीको लुम्बिनी प्रदेश कार्य समिती र केन्द्रिय अनुशासन समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो । कारवाही सिफारिस परेकामा पार्टीका पुर्व कन्द्रिय सदस्य, पुर्व मन्त्री तथा भारतका लागी पुर्व नेपाली राजदुत दिप कुमार उपाध्याय, महासमितीका सदस्यहरु राजेश बहादुर सिंह, कमल टण्डन, बिष्णु न्यौपाने, क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति अब्दुल मन्नान खाँ, जिल्ला सदस्यहरु हरिराज घिमिरे, कमलराज आचार्य, क्षेत्र नं. १ (क) का प्रदेश सभापति दुर्गा केसी, महाधिबेशन प्रतिनिधी डोलकराम घिमिरे, क्षेत्र नम्बर १ (क) प्रदेश सदस्य बिनोद घिमिरे, शुद्धोधन गाउँपालिका सभापति बिश्वम्भर कुर्मी, मायादेवी गाउँपालिकाका सभापति शैलेन्द्रधर द्विवेदी, बाणगंगा न.पा. ६ का बुथ ईकाई सभापति अनिल पाण्डे, क्षेत्रिय प्रतिनिधीहरु सरजु प्रसाद चौधरी, तिलकराम पाण्डे, सिडियो भन्ने परमेश्वर पाठक, चर्तुभुजीमणी त्रिपाठी र मिथीला शर्मा रहेका छन । पार्टीको आधिकारिक उम्मेदवार बिरुद्ध र अन्य उम्मेदवारलाई समर्थन गरेको प्रमाणका आधारमा जिल्ला अनुशासन समितीको फागुन ३ गतेको बैठकको सिफारिस अनुसार पार्टीको बिधानको धारा ३४ को उपधारा ४ (क) र (ख) बमोजिम पार्टीको साधारण सदस्य नरहने गरि निजहरुलाई पाँच बर्ष सम्म निष्कासन गर्ने निर्णय सहित पार्टीको लुम्बिनी प्रदेश कार्य समिती र केन्द्रिय अनुशासन समितिलाई सिफारिस गर्ने निर्णय भएको पार्टीका जिल्ला सचिव शक्ति सिंह ठकुरीले जानकारी दिए ।

    Posted in Uncategorized

    निर्वाचनको ७२ घण्टा अघि सिमा नाका बन्द हुने

  • ५ फाल्गुन २०८२, मंगलवार १४:५३ मा प्रकाशित
  • कपिलवस्तु,फागुन ५

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीबीच भर्चुअल समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक सन्तोष आचार्यले नेपालतर्फका कपिलवस्तु, पश्चिम नवलपरासी, रुपन्देही र दाङ तथा भारततर्फका चम्पारण, महाराजगञ्ज, सिद्धार्थनगर र बलरामपुर जिल्लाका सुरक्षा अधिकारीबीच छलफल भएको जानकारी दिनुभयो ।
    बैठकमा निर्वाचनको ७२ घण्टा अघि सबै सिमाना नाका बन्द गर्ने निर्णय गरिएको छ । साथै साना हतियार, नक्कली नोट तथा आपराधिक गतिविधिमाथि विशेष निगरानी राखिने जनाइएको छ । खुला सिमानाको दुरुपयोग रोक्न संयुक्त गस्ती, नियमित सूचना आदान–प्रदान तथा शंकास्पद गतिविधिमाथि कडाइ गरिने सुरक्षा निकायले जनाएको छ ।
    निर्वाचन अवधिभर संवेदनशील क्षेत्रको पहिचान गरी थप सुरक्षा परिचालन गरिने र मतदान स्थल वरपर कडा निगरानी राखिने प्रहरीले जानकारी दिएको छ । निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन दुवै देशका सुरक्षा निकायबीच निरन्तर समन्वय रहने बताइएको छ ।

    Posted in Uncategorized

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P