म पनि विदेशमै छु, तर नेपालमा विधि–विधान र प्रजातान्त्रिक पद्धतिको वकालत गर्छु। मेरो देश जहिले पनि खुशहाल, प्रगतिशील र उज्यालो भविष्यतर्फ अगाडि बढोस् भन्ने मेरो कामना छ।
तर म जस्तै विदेशमा रहेका कतिपय “कथित देशभक्त”हरूले सामाजिक सञ्जालमा देश, समाज र सरकार विरुद्ध बिष वमन गर्दा त्यसबाट उत्पन्न परिस्थितिले आज देशले हजारौं रोजगारी गुमाएको छ। अरबौंको क्षति भएको छ। सरकारी सम्पत्ति जलेर खरानी भएको छ।र करिब सयौँको सङ्ख्यामा नेपाली आमाका काख रित्तिएका छन्।
हो, देशमा विकास जति हुनुपर्ने थियो त्यति भएको छैन, भ्रष्टाचार पनि रोकिएको छैन। तर हामीले रोइलो गरेजति देश बिग्रेको पनि थिएन।
गाउॅ, सहर् पालीका, नगरपालिका–उपमहानगरलाई जोड्ने सडकहरू धमाधम हाम्रो अर्थतन्त्रले भ्याए अनुसार फराकिला बन्दै थिए। तराई–हिमाल–पहाडलाई जोड्ने सडक आफ्नै गतिमा अघि बढ्दै थियो। नागढुङ्गा सुरुङ मार्ग अन्तिम चरणमा थियो। काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माण भइरहेकै थियो। बुटवल–नारायणघाट सडक चार लेनमा विस्तार हुँदै थियो।
व्यापार–व्यवसाय फस्टाउँदै थियो, निजी लगानीकर्ताहरू उत्साहित थिए। भाटभटेनीले देशभर शाखा विस्तार गरिरहेको थियो। चन्द्र ढकाल केबलकार विस्तारमा सक्रिय थिए। विदेशी मल्टिनेसनल कम्पनीहरू नेपालमा लगानी गर्न थालेका थिए। यी सबै क्रियाकलापले रोजगारी सिर्जना गरिरहेका थिए। गाउँपालिकासम्म प्रहरी चौकी र अस्पताल विस्तार भइरहेका थिए।
हाम्रो जस्तो भूपरिवेष्ठित देश युरोप–अमेरिकासँग तुलना गर्न नसकिए पनि आफ्नै गतिमा अघि बढ्दै थियो। हामीले मौजुदा सरकारलाई नागरिकको तर्फबाट सहयोग गर्दै, डेलिभरी चित्त नबुझे प्रजातान्त्रिक पद्धतिबाट चुनावमार्फत परिवर्तन गर्ने हो भने हाम्रो लोकतन्त्र अझ बलियो बन्दै जाने थियो र हामीले चाहेका ब्क्ती सरकारमा पुग्ने थिए!
तर कसको आँखा लाग्यो—पलभरमै सबैकुरा खरानी बन्यो। भाटभटेनीको पसलभित्रको कपडा मात्र जलेन, त्यहाँ काम गर्ने गरिब–मध्यमवर्गीय परिवारको रोजीरोटी पनि जल्यो। अब उनीहरूले पनि झोला बोकी विदेशतिर पलायन हुने अवस्था आयो।
अब सुरुवात हामीबाटै गर्नुपर्छ। हाम्रो पुर्खाले हामीलाई क्रान्ति र लडाइँ त सिकाए, तर सिर्जनशील रूपमा समाजका लागि केही गर्न सिकाएनन्। त्यसैले आज हामीले लेख्ने, बोल्ने, सोच्ने पद्धति नै सकारात्मक बनाउनुपर्छ। जसले समाजमा सकारात्मक ऊर्जा भरिन्छ, त्यसले नै भविष्यको पुनर्निर्माण सम्भव बनाउँछ।
मिडियामा बहस चर्किएको छ—गत सोमबार र मङ्गलबारको विध्वंसमा कसैले विदेशीको हात देख्छ, कसैले दलको, कसैले राजसंस्थाको।
कोही लिपापोतीमा छन्, कोही श्रेय लिन दौडिरहेका छन्। तर जनता अझै अलमलमा छन्।
प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेकी सुशीला कार्कीको उपस्थितिले एक कुरा स्पष्ट पार्छ—देशले केही समयका लागि भए पनि स्वच्छ छविको नेतृत्व खोजिरहेको थियो, र त्यो अपेक्षा पूरा भएको छ।
तर नेतृत्वमा पुगेकाले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कामलाई प्राथमिकता दिएन भने भोलि पनि यस्ता आयातित आन्दोलन दोहोरिन सक्छन्। देश आर्थिक दलदलमा फस्न सक्छ। त्यसैले नयाँ सरकारले यो सन्देश बुझ्न जरुरी छ।
सवारीचालक अनुमति पत्र बनाउन हजारौँ रुपैयाँ घुस नदिई सम्भव छैन। कर तिर्न जाँदा पनि घुसको माग। कार्यालयमा “चिया–पानी”को व्यवस्था नभएर एक दिनको काम पाँच दिन, पाँच दिनको काम महिना दिन, कहिलेकाहीँ वर्षौं लाग्छ।
यसका लागि आन्दोलनको जगमा उभिएको सरकारले गाउँ–गाउँ, टोल–टोलमा सुशासन कायम गर्नुपर्छ। नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने निकायमा हुने घुस्या प्रवृत्तिमाथि तुरुन्त कारबाही जरुरी छ, ताकि जनताले राजनीतिक परिवर्तनको वास्तविक अनुभूति गर्न सकून्।
आधारभूत सेवामा बाधा हुँदा जनताको आक्रोश बढ्नु स्वाभाविक हो। तर जनता पनि अनुशासित नभई देश बदलिँदैन। जति सरकार फेरिए पनि परिणाम उस्तै रहन्छ। “घुस लिन्या र दिन्या दुवै समाजका शत्रु” हुन् भन्ने सचेतना सबैमा हुनुपर्छ।
सरकारी सम्पत्ति जोगाउने जिम्मा पनि हामी सबैको हो। नेताहरूलाई प्रक्रिया अनुसार फेर्न सकिन्छ, तर सार्वजनिक सम्पत्ति पनि नष्ट गर्न थालियो भने गन्तव्य टाढा धकेलिन्छ—१० वर्षको लक्ष्य पचास वर्ष लाग्न सक्छ।
आजको युगमा सामाजिक सञ्जालमार्फत विभिन्न शक्तिहरू आफ्नै स्वार्थ सोझ्याउन लागिपरेका छन्। बजारको हल्ला, पत्रिकाको समाचारको सत्यता जाँच नगरी चरित्र हत्या गर्ने प्रवृत्ति रोक्नैपर्छ। आज ब्यक्ति बिषेसलाई खुइल्याउन प्रयोग भएको यही विष भोलि हाम्रो समाजमै फर्किन सक्छ।
यस्ता प्रवृत्तिले सरकार मात्र होइन, हामी नागरिकलाई पनि कटघरेमा उभ्याउँछ।
हामीले दोष सधैं सरकारलाई मात्र थोपर्दै आएका छौं। तर यो संकटमा नागरिकको पनि उत्तिकै जिम्मेवारी छ। सरकारमा हुँदा सुधार नगर्ने, बाहिरिएपछि नकारात्मकता फैलाउने राजनीतिक शक्तिहरू—दुवैले आजको अविश्वासको भित्तो बाक्लो बनाएका छन्। त्यसकै परिणाम जनतामा निराशा बढ्दै देश फेरि २० वर्ष पुरानै अवस्थामा फर्किनु परेको छ।
कहिल्यै सम्मानको पर्याय रहेको “नेता” भन्ने शब्द आज कतिपयको मुखमा तिक्त लाग्छ। सामाजिक सञ्जालको अन्धाधुन्ध प्रयोगले यसलाई झन् घातक बनाएको छ। सकारात्मक विमर्शको ठाउँमा दोषारोप र वितृष्णाले स्थान लिएको छ।
सरकारले ढिला–चाँडो सामाजिक सञ्जाल नियमनको आवश्यकता वैज्ञानिक रूपमा पहिचान गरी अगाडि बढाउनुपर्छ। तर नियमन मात्रै समाधान होइन; यसले व्यक्तिगत स्वतन्त्रतामा चोट पुर्याउन सक्छ। त्यसैले यस्तो कदम नागरिक र सरकार दुवैको सहमतिमा अघि बढ्नुपर्छ। नागरिक चेतना र स्वनियन्त्रण बिना कुनै पनि कानुन अपुरो हुन्छ।
सन्देश स्पष्ट छ—देशको भविष्य बदल्ने शक्ति केवल सिंहदरबारमा छैन। नागरिकको अनुशासन, इमानदारी र सक्रिय सहभागिताले मात्र विध्वंसको घाउ निको पार्न सक्छ। नेतृत्वको मूल्य जोगाउने र समाजको आत्मसम्मान उठाउने जिम्मा हामी सबैको हो।
नेपालको राजनीतिमा फेरि नयाँ बहस सुरु भएको छ—के देशले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको बाटो रोज्ने हो? जेन–जीको आन्दोलनले यो विषयलाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ। तर अहिलेको संविधानलाई टेकेर यस्तो संरचनात्मक परिवर्तन सम्भव छ त भन्ने प्रश्नले गम्भीर छलफल माग्छ।
संविधान २०७२ ले संशोधनको लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा उपस्थित सदस्यहरूको दुई–तिहाइ बहुमत अनिवार्य गरेको छ। साथै गणतन्त्र, लोकतन्त्र, सार्वभौमिकता र स्वतन्त्रता जस्ता मूल आधार सुरक्षित रहनुपर्ने संवैधानिक शर्त स्पष्ट छ। यसैले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीजस्तो प्रणाली ल्याउनु केवल कानुनी औपचारिकता मात्र होइन, संविधानकै ढाँचामा गहिरो हस्तक्षेप गर्ने विषय हो।
प्रतिनिधि सभामा नयाँ शक्तिले ठूलो सफलता हात पार्न सक्ने सम्भावना राजनीतिमा देखिएको छ। जनताको आक्रोश पुराना दलतर्फ मोडिएको छ भने बालेनजस्ता युवा नेताप्रतिको आकर्षण बढ्दो छ। तर संविधान संशोधनको बाटो लोकप्रियताले मात्र खुल्दैन।
राष्ट्रिय सभा स्थायी संरचना हो। यसलाई भंग गर्न सकिँदैन, प्रत्येक दुई वर्षमा एक–तिहाइ मात्र नयाँ हुन्छ। यस कारण यसमा पुराना दलहरूको पकड लामो समयसम्म रहने निश्चित छ। प्रतिनिधि सभामा दुई–तिहाइ जिते पनि राष्ट्रिय सभाको अनुमोदन विना संविधान संशोधन असम्भव हुन्छ।
यस्तो अवस्थामा नयाँ शक्ति वा अन्तरिम सरकारले पुराना दललाई पूर्णतया बाइपास गरेर अघि बढ्ने कल्पना राजनीतिक यथार्थसँग मेल खाँदैन। संविधान संशोधन सहमति र संवादकै आधारमा मात्र सम्भव हुन्छ।
नेपालले गणतन्त्र, लोकतन्त्र र सार्वभौमिकताको यात्रा धेरै संघर्षपछि हासिल गरेको हो। त्यसैले कुनै पनि संरचनात्मक परिवर्तनलाई जल्दबाजीमा होइन, व्यापक बहस र सहमतिको आधारमा अघि बढाउनुपर्छ। लोकप्रियता क्षणिक हुन्छ, तर संविधान दीर्घकालीन।
हामीले बुझ्नैपर्छ—देशलाई नयाँ गन्तव्यमा पुर्याउने बाटो सहमति र संवाद नै हो। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा अन्य कुनै विकल्प ल्याउने हो भने त्यसलाई जनताको अपेक्षा, राजनीतिक दलहरूको सहभागिता र संवैधानिक मर्यादासँगै अघि बढाउनुपर्छ।
नेपालमा धेरै पहिले देखि नै विभिन्न चाडपर्वहरु मनाउँदै आइएको छ। दशैँ, तिहार, तीज, छठ, माघी, ल्होसार, होली , क्रिशमस, उधौँली, उभौँली, लगायतका दर्जनौँ चाडपर्व विभिन्न समयमा विभिन्न जातजाति र समुदायले मनाउने गर्दछन्। दशैँ, तिहार, तीज भने नेपालका महान् पर्व हुन। होली पर्वलाई पनि एक रमाइलो पर्वको रुपमा लिने गरिन्छ।
होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ। त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ।यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ ।
होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् । यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।
होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ।
अभिभावक संघ नेपालको केन्द्रीय स्टेन्डिङ्ग कमिटीको बैठक साउन ३१ गते ललितपुरको मान भवनमा सम्पन्न भएको छ । संघका अध्यक्ष केशव पुरीको सभापतित्व, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीको प्रमुख आतिथ्य र कोशी प्रदेशका संयोजक देवी पन्थीको विशेष आतिथ्यमा बैठक सम्पन्न भएको हो ।
बैठकले निम्नलिखित बुँदामा व्यापक छलफल गरी निर्णयमा पुगेको थियोे ।
१. नेपाल सरकारले शिक्षा ऐन परिमार्जन गर्दै शिक्षा विधेयक २०८० सरोकारवालासँग छलफल नगरी ल्याउने प्रयास गरेकोमा अभिभावक संघ नेपालको विरोध रहेको छ। बैठकले निजी विद्यालय गुठीमा जाने या कम्पनी ऐन अन्तर्गत रहने सम्बन्धित विद्यालयको ऐच्छिक विषय भएकाले गुठीमा जान बाध्य गराउनु नेपालको संविधान २०७२ विपरीत रहेको ठहर गरेको छ। शिक्षा उपभोगमा सरोकार राख्ने सरोकारवाला संघसंस्थाको भूमिका निश्चित नगरी विधेयक ल्याएमा शिक्षा मन्त्रीको राजीनामा माग गर्ने निर्णय गरिएको छ। यसका लागि संघको एक प्रतिनिधि मण्डल सचेत गराउन अविलम्ब शिक्षा मन्त्रालय पुग्ने निर्णय गरिएको छ।
२. बैठकले सामुदायिक विद्यालयले कक्षा बाह्रसम्मको शिक्षा अनिवार्य निशुल्क शिक्षा प्रदान गर्नुपर्नेमा अंग्रेजी माध्यममा पढाउने बाहानामा चन्दा, सहयोग आदि शीर्षकमा लिइरहेको शुल्कलाई अवैध ठहर गरेको छ।
३. बैठकले संघको जिल्ला , प्रदेश र केन्द्रीय सम्मेलन ६ महिनाभित्र सम्पन्न गरिसक्ने निर्णय गरेको छ।
४. बैठकले अभिभावक संघ नेपालको मुखपत्र “अभिभावक आवाज ” प्रकाशित गर्ने निधो गरेको छ।
५. बैठकले अभिभावक संघ नेपालको सदस्यता शुद्धीकरण अभियान चलाउने निर्णय गरेको छ।
काठमाडौं । सर्वोच्च अदालतले माओवादी जनयुद्धका सुप्रिमो कमान्डर रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएपछि १० वर्षिय सशस्त्रद्धन्द्ध अन्त्यकालागि गरिएको प्रमुख कडी वृहत शान्ति सम्झौताका विषयमा चर्चा चुलिएको छ ।
दर्ताको आदेशपछि पक्ष–विपक्षमा मतहरू विभाजित देखिन्छन् । अझ् मंगलबार प्रचण्डविरुद्ध रिट नै दर्ता भएपछि त विस्तृत शान्ति सम्झौता र त्यसमा समेटिएका विषयमा सतहमै बहस छेडिएको देखिन्छ ।
जब सर्वोच्च अदालतले माओवादी सशस्त्र द्धन्द्धका सुप्रिमोविरुद्ध रिट दर्ता गर्न पाउने आदेश दियो त्यसपछि जनयुद्धपछि टुक्राटुक्रामा विभाजित माओवादीहरू एकै ठाउँमा उभिएका छन् ।
८ टुक्रामा छरपष्ट रहेका माओवादी अदालतको यसै आदेशपछि एकै ठाउँमा उभिएर रिटको विरोध मात्रै होइन चेतावनी नै दिएका छन् ।
प्रचण्डविरुद्ध द्धन्द्धकालिन समयलाई जोडेर रिट दर्ता हुनु विस्तृत शान्ति सम्झौता विपरित हो भन्दै माओवादी नेताहरु सम्झौता विपरित गतिविधि बढाएर अशान्ति ल्याउन खोजीरहेको बताइरहेका छन् ।
के छ विस्तृत शान्ति सम्झौतामा ?
सशस्त्र युद्धको औपचारिक अन्त्यको घोषणा
माओवादी सेना, हतियारको र नेपाली सेनाको हतियारको संयुक्त राष्ट्रसंघद्वारा प्रमाणीकरण र अनुगमन माओवादीद्वारा कब्जा गरिएका सम्पूर्ण सम्पति फिर्ता
मानव अधिकर र अन्तराष्ट्रिय मानवअधिकर सम्बन्धी कानूनहरूको पूर्ण पालना
राजाको सम्पूर्ण राजनीतिक अधिकारको अन्त्य
उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन
माओवादी सेनाका लडाकुहरूको रेखदेख समायोजन र पुनर्स्थापना
युद्धबाट पीडित र विस्थापित व्यक्तिहरूको ससम्मान पुनर्स्थापना
हातहतियार, गोलीगठ्ठा र विस्फोटक पदार्थ साथमा लिई आवतजावत गर्नु गैरकानुनी लगायत विषय समेटिएका छन् ।
२०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।
योसँगै दशक लामो द्वन्द्वबाट मुलुकले मुक्ति पाएको थियो । तर, संक्रमणकालीन न्यायलाई टुंगोमा पु-याउने सहमति कार्यान्वयनमा आउन नसक्दा आजको स्थिति बन्न पुगेको विश्लेषण हुन थालेको छ ।
यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन भए पनि द्वन्द्वपीडितले न्यायको महसुस गर्न सकेका छैनन् । झण्डै डेढ दशक बढि समयसम्म पनि संक्रमणकालीन न्याय निमटारा लाग्न नसकेपछि अन्तर्राष्ट्रिय समुदायले समेत चासो व्यक्त गर्दै आएका छन् ।
घर आएको भोलिपल्टै उ शहर फर्की। यत्रो समयपछि गाउँ आएकी छोरी। दुईचार दिन गाउँमै बसोस्, दही–दूध खाओस्, अलिकति भने पनि मोटाओस् भन्ने सोझा बाउआमाको चाहना। आमाबाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुङ्गामुढा माथि भन्ने उखान यत्तिकै बनेको होइनरहेछ। छोरी आधुनिक हुनु पनि बाबुआमालाई साह्रै पिरलो पो हुँदोरहेछ नि !
गाउँमा वाईफाई छैन। त्यसैले हाईफाई पनि छैन। अरु त परै जाओस् टेलिफोनको टावर पनि राम्रो छैन। द्वन्द्वकालमा माओवादीले भत्काएको टावर अहिलेसम्म पनि बनेको छैन। त्यही गाउँको टावर भत्काउने नेता तीन–तीन पटक संचार मन्त्री भइसके।त्यही गाउँको तिनैले भत्काएका टावर अहिलेसम्म उस्तै। उनीहरू कस्ता धनाढ्य भैसके गाउँ द्वन्द्वकालकै बुढो लौरो टेकिरहेछ। अहिलेको समय संचार र सोसल मिडियाको हो रे ! सबका सब भुलेका छन्। मस्त छन्। चुस्त छन्। सब चार इन्चीको पर्दामा रमाएका छन् मानौं मोबाइल र फेसबुक भनेको मान्छेलाई ज्यूँदो छु भन्ने प्रमाणदेखि रमाइलो गर्ने एउटा वैधानिक वेश्यालय जस्तो !यसैमा केटाकेटीको अन्तरङ्ग गफ। चुम्बन चाटाचाट–साटासाटदेखि देह देखाउने लीलागिरी थलो पनि। सेल्फीको चुच्चे नाक होस् या बुद्धि बङ्गारो खुस्केको हाब्रे मुख, सिंगानदेखि अल्छीको वैराग्य विरहसम्म यही फेसबुकमै देखाइन्छ। भागेर बिहे गर्ने कुरादेखि साँधेर अचार खाने कुरासम्मको घटना र विचारको पौडी पोखरी हो फेसबुक।घाटमा जलाएको लासदेखि खाएको गाँससम्म यसमै उत्तानिन्छ। उसो त काम नभएका बेरोजगारीहरुलाई समय कटाउने, गफ पड्काउने, विचार छड्काउने मेसो पनि हो फेसबुक। जतिबेला पनि केटालाई केटी र केटीलाई केटो उपलब्ध हुने आधुनिक रत्नपार्क भनेको अहिलेको फेसबुक हो। गाडीमा झन्डा हल्लाउनेदेखि पिंढीमा कोक्रो हल्लाउनेसम्मका उत्तरआधुनिक कथा यसमै पोख्छन् मनुवा।बुढो भएका बाउ भैंसीको भकारो सोर्ने, सत्तरी नाघेकी आमा डोको नाम्लोले तालु कुच्याउने जिन्दगी घिच्याउने ! यता तरुण छोराछोरी जतिबेला पनि घोप्टिंदै मोबाइलको मेसेन्जरमा समय सिध्याउने। एउटा विचित्रको घोप्टे रफ्तार हो फेसबुके लीला।
बल्लतल्ल घरमा आएकी छोरी। दु:खसुखका कुरा गर्ली, पढाइका कुरा गर्ली, मलाई यो चाहियो, मलाई उ थोक चाहियो भनेर भन्ली भनेको त मोबाइलमै झुन्डिएको देख्दा विचरा आमाबाबु आफैं लज्जित पो भए। मोबाइल नकिन्दिंदासम्म त राम्रोसँग बोल्थी। आमाबाबुका दु:ख बुझ्थी। जब आइफोन मोबाइल किन्देको छोरी त छोरी जस्ती छैन।
दुई दिन बसेर उ निस्की। उसलाई शहर नै प्यारो रे ! बाबुआमा थोत्रा भए उसका लागि। उ आधुनिक शहरिया। गाउँ त ओढार भयो उसको लागि। बाले माया गरी बोलाउने प्यारो नाम छ्यङ्री हो उसको। यो उसको नाम छ्याङ्री जुर्नुमा पनि रोचक कुरो छ। तामाङ बस्तीमा जन्मेकी उ। बच्चामै एउटी गुरुङ्सेनी फुपूले बेस्सरी छ्याङ ख्वाएर नचाइछन्। त्यसबेलादेखि उसको नाम छ्याङ्री।
गाउँ आएकै पिच्छे एक महीनालाई पुग्ने सामल लैजान्छे उ। स्कुलमा राखेको नाम चैं सरिता हो उसको। सरिताको अर्थ सरल, शान्त। नाम अनुसार काम कस्तो छ तपाईं यो कथा पूरै पढेपछि थाहा पाउनुहुन्छ। म विस्तारै भन्दै जान्छु। हतार नगर्नु न। हतार गरेको कुनै काम पनि राम्रो हुन्न क्या। तपाईं हतार गरेर दौडेर पनि के गर्नुहुन्छ आखिर गन्तव्यमा पुग्न हिंडेको बसले तपाईंलाई मात्रै कहाँ कुरेर बस्छ र ?
उ बस चढ्छे। धादिङबेसीदेखि बालाजु चोकसम्मको भाडा ४०० थियो। खलासीसँग बेला–बेलामा झगडा गर्छे। ५०० को नोट दिएकी थी उसले। खलासीसँग खुद्रा थिएन। एकछिनमा पैसा फिर्ता गर्छु है भन्यो उसले। हरेक आधा आधा घन्टामा उ पैसा फिर्ता माग्छे। खलासीले “कस्तो किचकिचे केटी हो तिमी! तिम्रो पैसा कसले खान्छ ?” भनेर कडापन देखाउँथ्यो। उ चुपचाप घोप्टो परेर मेसेन्जरमा च्याट गर्न थाल्थी।
मोबाइलमा च्याटिङ गर्दा गर्दै बाटो काटेको पत्तै भएन उसलाई।
आफ्ना केटाहरुसँग च्याटिङ गर्दा उ दायाँबायाँ वरपर अगाडि पछाडि केही हेर्दिनथी। उ खुब रमाइलो कुरा गर्छे। भर्खरैकी कोरली कोर्के बैंसले लोर्के जवानीको पानी भरिएकी खाइलाग्दी। धेरै बोकाहरुको बथानमा एउटी जवान बाख्री कसरी चोखी रहन्छे ? उसको पनि हालत त्यही हो। अहिलेका फेसबुके बोकाहरुको काम छैन।
कोही राम्री तरुनीको प्रोफाइल पिक्चर देखेपछि सक्किगो, भित्रको गडबडी कसलाई के थाहा ? कति बेते हुन् वा कति केटा फेरिसकिन्? नयाँ साथीहरूसँग जोडिनु, अलिकति खाइलाग्दा केटाहरुलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु। नचिनेका केटाहरुको फेसबुक प्रोफाइल खोलेर हेर्नु। अलिक मनले खाएको जस्तो केटा देखियो भने स्टाटसमा गएर लब्ली लाइक ठोक्नु, मीठो कमेन्ट गर्नु उसको रमाइलोको विषय हुन्थ्यो।
आफ्ना नजिकैको फेसबुके साथीहरूलाई आफ्ना फोटोहरु देखाउनु, रोमाञ्च गफ गर्नु, अनलाइन कुराकानी गर्नु, भ्वाइस मेसेज पठाउनु आदि कुरामा उ रमाउँछे। उ अर्थात् सरिता अर्थात् छ्याङ्री।
आजको त्यो यात्रामा आफूसँगै काम गरेको एकजना अफिसको साथी “सोम” भन्नेसँग गफ भैरह्यो र अहिले पनि भैरहेको छ। उनीहरूको मेसेन्जर च्याटमा नुहाएको, खाएको, गाएको, लाएको, पाएको, धाएको, छाएको कुरादेखि जवानीका कुरा समेत साटासाट हुन्थे।
“ओइ छ्याङ्री कहाँ आइपुगिस् ?”
“नौबिसे पुग्न लागें।”
“खोइ देखा त सेल्फी।”
“देखाउन्न।”
“तलाइँ मैले त्यो देखा भन्या हो र?”
“तैं देखा न।”
“किन जान्ने हुने।”
“मेरो जिन्दगी तेरो हातमा साँचो?”
“यस्तै हो धेरै केटा साथी हुने केटी भाउ खोज्छन् एउटासँग कुरा नमिले अर्को जगेडा।”
“तिमी बोकाहरु पनि कम्ता छौ र?”
“ओइ ! गाउँ गएपछि त पूरै चेन्ज भैछस् धेरै घ्यू खाइस् कि क्या हो?”
“ओइ जेपीटी बोल्छस्?”
“रातभर केटाहरुसँग च्याट गरेर थाकिस् होला।”
“तँ जस्तो हो र म?”
“म जस्तो भएको भए तेरो पूजा गर्थें?”
“गर्न त पूजा। सर्दाम ठिक पार म तेरो रुममा सीधै आउँछु।”
“पक्का आउछेस् छ्याङ्री ? नत्र म रेडी भएर बस्छु।”
“के गर्न?”
“पूजा गर्न।”
“भात पकाइ राख। म चिकेन र वाइन लिएर आउँछु। आज दिनभर जम्ने।”
“गिद्दी होइन नि फेरि खुरुक्क आइज।”
“हस् आउँछु नि राजा।”
“छोरी !” आफ्नै सिटको पछाडिबाट कोही बुढो मान्छे सुँक्क सुँक्क गरेर रुँदै कराए जस्तो लाग्यो। को रोयो भनेर यसो पछाडि फर्किंदा त आफ्नै बुवा। छ्याङ्री एकैचोटि चिसो भई। बाटोमा एक्कासि गाडीमा ब्रेक लागे जस्तो भो। एक्कासि अत्तालिएर बोली–
“बा !”
मैले तिमीलाई महँगो शहरमा पढ्न पठाएको फेसबुके प्रेम र मनोरञ्जन गर्न पो रहेछ। हामीले कोदो खायौं तिमीलाई चामल पठायौं। हामीले गुन्द्रुक खाई तिमलाई दाल पठायौं।
हामी बेखर्ची भएर पनि तिमीलाई खर्च पठायौं। हामी लुम्रेझुम्रे बस्यौं तिमीलाई सुकिलो बनायौं। तिमी पढेर ठूलो हौली, लोकसेवा पास गरौली, अधिकृतमा नाम निकालौली भनेको त फेसबुकमा पो नाम निकालिछौ छोरी! धादिङबेसीदेखि तिमी नौबिसे खोलासम्म आउँदा अनेक फोहोरी केटाहरुसँग मनपरी च्याट गरेको देखें। धिक्कार छोरी ! म तिम्रो बाबु भएकोमा।
तिम्रो कारणले यो उमेरमा म यति दुखी हुनुपर्ला भन्ने सोचेको पनि थिइनँ, यो सोसल मिडियाले सप्रिने भन्दा बिग्रने धेरै भए। अफसोच छ ! सोसल मिडियाको पिरो ज्वालाले तिमी पनि जल्यौ र हामीलाई पनि जलायौ। हामी गरिब भएर पनि, कहिल्यै गरिब छौं भनेर तिमीलाई अनुभूति हुन दिएनौं छोरी !
जामले गर्दा गाडी उकालोमा रोकियो। बुढा गाडीबाट सीधै ओर्लिए। जाम खुल्यो। गाडी अगाडि बढ्यो। बुढा पछाडि हटे। यही हो जिन्दगी कोही पछाडि हट्ने पनि असल हुन्छन् र कोही अगाडि बढ्ने पनि खराब हुँदारहेछन्।लक्ष्मण सिटौला
काठमाडौं, फागुन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै महाशिवरात्रि पर्वले सबै नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेकी छन् ।“नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ, शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय हो”, जारी सन्देशमा उल्लेख छ ।
आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात्शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको सन्देशमा उल्लेख छ ।
वैदिक परम्परामा शिवलाई मूलतः संहारका शक्ति मानिएको भए पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित रहेको भन्दै प्रकृतिको सिर्जनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गरेको र सौम्यशक्तिले मानव चेतनामा असल पक्षको बोध गराई त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यम् शिवम् सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा रहेको राष्ट्रपति भण्डारीद्वारा जारी सन्देशमा भनिएको छ ।
विवाहको मण्डपमा दुईजना पण्डित मन्त्र पढिरहेका थिए। पण्डित भन्ने बित्तिकै धेरैको कल्पनामा सामान्यतया पुरुष पात्र देखिन सक्छन्, तर यहाँ दुवै पण्डित महिला थिए। उनीहरूको निर्देशन अनुरूप बेहुला र बेहुलीले विधि पूरा गर्दै थिए।
नेपाली समाजमा परम्परागत ढङ्गमा हुने विवाहभन्दा फरक देखिएको यस विवाहलाई क्यामेरामा कैद गरिरहेकी थिइन् अर्की महिला नै।
विवाह थियो काठमाण्डूकी सुवेक्षा पौडेलको।
चलनचल्तीको विवाह समारोहभन्दा फरक लाग्ने यस समारोहबारे तब चर्चा भयो जब ‘टेल्स अफ मोडर्न बुहारी’ नामक इन्स्टाग्राम ह्यान्डलमार्फत् एउटा प्रश्न सार्वजनिक भयो: ‘तपाईँले आफ्नो विवाहमा कुन एउटा विधि त्याग्नुभयो?’
एउटा होइन यस प्रश्नको जवाफको लामै सूची थियो सुवेक्षासँग।
उनले प्रश्नकर्तालाई किटेर लेखिन्- “मैले कन्यादान र खुट्टा धुने विधि त्यागेँ। श्रीमान्ले श्रीमतीलाई मात्र सिन्दूर लगाइदिने परम्पराविरुद्ध आफूले पनि श्रीमान्लाई सिन्दूरको टिका लगाइदिएँ। श्रीमान्को खुट्टा ढोग्नुको साटो सहमतिमै एक अर्कालाई नमस्ते गर्यौँ।”
ती चलनहरू लैङ्गिक हिसाबले विभेदकारी लागेका कारण आफूले नअपनाएको ३० वर्षीया उनी बताउँछिन्।
उनको प्रतिक्रिया सामाजिक सञ्जालमा छाउन समय लागेन। केहीले उनको कदमलाई पितृसत्ता विरुद्धको बलियो सन्देश भएको बताए। केहीले आलोचना पनि गरे, तर औसतमा अधिकांश सन्देश सकारात्मक देखिए।
“जबदेखि मैले विवाह संस्थाबारे अध्ययन गर्न थालेँ तबदेखि मलाई विभेदपूर्ण लागेका विधि, परम्परा नमान्ने सोच बनाएकी हुँ,” उनले बीबीसीसँग भनिन्।
लैङ्गिक रूपमा आफूलाई असमान लागेका र पितृसत्ता प्रोत्साहित गर्ने जस्ता चलन आफूले त्यागेको उनी बताउँछिन्।
त्यसका लागि उनी नेपाली समाजमा स्थापित केही परम्पराविरुद्ध उभिइन् जसले उनको विवाहको दृश्यलाई चलनचल्तीको विवाह समारोहभन्दा भिन्न बनायो।
दुई महिला पण्डित दायाँबाट क्रमश: रुसा र सुनिता
‘महिलामैत्री र समावेशी विवाह‘
सुवेक्षाको विवाह मण्डपमा किशोरावस्थामा रहेका दुई महिला पण्डितले मन्त्रोच्चारणसहित बेहुलाबेहुलीलाई विधि सिकाइरहेका थिए। समाजमा हुँदै आएका विवाहहरूमा महिला पण्डित विरलै देखिन्छन्।
“देवघाटको एक अनाथालयमा विभिन्न समुदायका महिलालाई उनीहरूको जात र अन्य पृष्ठभूमिको पर्वाह नगरी संस्कृत सिकाइँदो रहेछ। त्यहीँबाट दुई जनालाई पण्डित बनिदिन आग्रह गरेका हौँ,” सुवेक्षाले जानकारी दिइन्।
उनको विवाहको दृश्य सृष्टि मगरले खिचेकी हुन्।
“महिला फोटोग्राफर खोज्दै केही व्यावसायिक स्टुडियोहरूमा फोन गरेँ। उनीहरूमध्ये कतिले मलाई- विवाहजस्तो उत्सवमा महिलालाई फोटो खिच्न लगाएर जोखिम नमोल्नु भन्ने सल्लाह दिए। मलाई त्यो कुरा निकै पक्षपाती महसुस भयो। त्यसपछि महिला नै खोज्ने मेरो इच्छा थप बलियो भयो,” उनले सुनाइन्।
“अन्ततः मेरो भेट सृष्टिजीसँग भयो र उहाँले सम्झन लायक क्षणहरूलाई सुन्दर ढङ्गमा कैद गरिदिनुभयो।”
आफ्नो विवाहमा आएको प्रतिक्रियाले ऊर्जा प्रदान गरेको उनी बताउँछिन्।
सुवेक्षा र उनका श्रीमान् प्रज्जवलले कानुनी प्रक्रिया अनुरूप विवाह गरिसकेका थिए। दुवैजना परम्परागत रूपमा विवाह नगर्न सहमत थिए। केही वर्षअघि मात्र सुवेक्षाले दिदी गुमाइन्।
त्यो वियोगपछि उनका आमाबुवाले पनि सामाजिक संस्कारभन्दा बढी जोड छोरीको इच्छा र खुसीलाई नै दिए।
“ठूलो वियोग भोगेको परिवारलाई सामाजिक दबाव गौण लाग्दो रहेछ।”
तर, सिन्दूर पोते गर्नुपर्ने आफन्तको तर्क र दबावपूर्ण वातावरणले उनको निर्णय उल्टाइदियो।
“गर्नै पर्ने भए आफ्नो तरिकाले गर्छु नत्र गर्दिनँ भन्ने कुरा प्रस्टसँग राखेँ। त्यसपछि हामीलाई विभेदपूर्ण लागेका विधि त्याग्ने, महिलामैत्री र समावेशी बनाउने योजना बनेको हो,” उनले भनिन्।
समाजशास्त्र अध्ययन गरेकी उनलाई विवाहमा हुने कन्यादानको ‘दान’ शब्दले छोरीलाई गाई वा वस्तु सरह चित्रित गरेको भान हुने गरेको उनले बताइन्।
उनलाई विवाहित हुनुको सङ्केत सिन्दूर वा पोते महिलाले मात्र लगाउनुपर्ने नियम, खुट्टा धुनुपर्ने चलन आदिप्रति पनि आपत्ति रहेछ।
त्यसपछि हो उनले ती चलनविपरीत प्रस्तुत हुने र आफ्नो पक्षबाट सक्ने जति लैङ्गिक समानता र समावेशिता कायम राख्ने योजना बनाएको।
महिला पण्डित र फोटोग्राफरको खोजी गरेको। जसबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भयो। तर सुवेक्षा स्वयंलाई आफूले चालेको कदम निकै सानो लाग्दो रहेछ।
ब्राह्मण परिवारकी उनलाई लाग्छ जन्मजात पाइने केही विशेषाधिकारले नेपाल र दक्षिण एशियामा निकै असर पुर्याएको छ। र, ती असर न्यूनीकरण गर्न असमानता झल्कने केही स्थापित परम्परागत विधि भत्काउने महिलाहरूबाट आफूलाई प्रेरणा मिलेको बताउँछिन्।
“म केही महिलाबाट प्रभावित छु। सिक्नुपर्ने धेरै कुरा छन् र म सिकाइको प्रक्रियामा छु।”
समानता र समावेशितालाई आफूले ‘आजीवन प्रतिबद्धता’ बनाएको उनले जिकिर गरिन्। र आफूले महिला र पुरुषबीचको समानता मात्र नभई हरेक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, जातीय समुदाय, अपाङ्गता भएका मानिस र आर्थिक- सामाजिक रूपमा पछाडि परेकाहरू र समानता पाउनका लागि अझै पनि विविध अड्चन भोग्न बाध्यहरूको मुद्दालाई आफ्नो जिम्मेवारी ठानी वहन गरेको बताइन्।
“यो रहर वा इच्छा लागेर गर्ने काम होइन। यो त हामीले निर्वाह गर्नै पर्ने जिम्मेवारी हो।”
विद्यालयमार्फत् व्यावहारिक प्रयास
सुवेक्षाको परिवारले उनकी दिदी संवृद्धि को सम्झनामा स्थापित “पुकु दिदी फाउन्डेसन”मार्फत् शिक्षामा सीमान्तकृत समुदायको समान पहुँचका लागि काम गर्दै आएको छ।
सर्लाही जिल्लास्थित पुर्ख्यौली गाउँ शिक्षाको क्षेत्रमा निकै पछाडि छुटेको भान भएकाले उनको परिवारले सर्लाहीका बालिकाहरूको शिक्षामा जोड दिएका छन्।
विशेषगरी मुस्लिम र दलित बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन्। “यो हाम्रो दायित्व हो।”
घरमा महिनावारी नबार्न कलिलो छँदै लिएको अडानदेखि विवाहमा ‘आफ्नो इच्छाअनुसार गर्छु’ भन्न सक्ने निर्णयसम्म आइपुग्दा स-साना प्रयासहरूले भूमिका खेलेको उनको विश्वास छ।
उनले आममानिसको प्रतिक्रियालाई नजिकबाट नियालेकी छन्। तीमध्ये केहीलाई निकै गहन र छलफलका आवश्यक महसुस गरेकी छन्।
“कसैले भन्नुभएको छ- जे गरे पनि यो विवाह भन्ने संस्था नै समस्याग्रस्त छ। विवाहपछि महिला पुरुषकै घर जानुपर्ने नियमदेखि अन्य बाध्यात्मक अवस्थाहरू। मेरो विवाह पनि प्रगतिशील त देखियो, तर विवाहलगत्तै अरू समस्याग्रस्त सामाजिक नियम छन् जसविरुद्ध अझै बलियो भएर डट्नुपर्छ।”
आफूलाई आफ्नो चाहनाअनुसार विवाह गर्न कसैले रोकतोक नगरेको तर अन्य कतिपयलाई त्यस्तो गर्न असम्भव रहेको उनको बुझाइ छ।
“यो गलत हो र हामीले समाजको रूपमा यस्ता विभेदलाई कम गर्न प्रयास गर्नुपर्छ।”
सामान्यीकरणको खोजी
सुवेक्षाले आफ्नो विवाहमा केही नियम नमान्दा अधिकांश मानिसले त्यसलाई स्वागत गरेको देखिन्। तर अन्तर्जातीय वा समलिङ्गीहरूले विवाह गर्दा मानिसले प्रायः नकारात्मक र केही घटनामा हिंसात्मक प्रतिक्रिया जनाएको देखेकी छन्।
यस विषयमा सहमति जनाउँछिन् समलिङ्गी स्वस्तिका परियार।
“एक महिला र एक पुरुषको विवाहमा देखिएका परिवर्तनलाई असामान्य भन्दै स्वीकार्न सक्ने समाज अन्तर्जातीय वा समलैङ्गिक विवाहलाई किन स्वीकार्न सक्दैन?,” उनी प्रश्न गर्छिन्।
“आखिर परिवर्तन त संस्कारसँग मात्र होइन सामाजिक, लैङ्गिक विभेदविरुद्ध पनि आवश्यक छ नि?”
हाल टिकटक वा फेसबुकमा थुप्रै समलैङ्गिक जोडी विवाह गरेको वा सँगै बसेको जानकारीसहित बाहिर देखिएका छन्। यसलाई परिवर्तनको एउटा खुड्किलो मान्न सकिए पनि कानुनले वर्जित गरेको विषय भएकाले समस्या यथावत् रहने उनी बताउँछिन्।
“विवाह दर्ता हुँदैन। कोठा खोज्न हिँड्दा विवाहित जोडीले समेत दिदीबहिनीको सम्बन्ध पुष्टि गर्नुपर्छ। कानुन नभएपछि हिंसा भएको खण्डमा सहनु र चुप लाग्नुको विकल्प हुँदैन,” उनले समस्याहरूबारे बोलिन्।
राज्यले महिला र पुरुषबीचको मात्र नभई व्यक्ति र व्यक्तिबीचको विवाहलाई मान्यता दिनुपर्ने उनको तर्क छ।
लैङ्गिकता तथा यौनिकता पहिचान मानिसको जैविकता र मानसिकतासँग जोडिएको पाटो हो। त्यसैले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको विवाहलाई कानुनले बाटो खोलिदिए यस विषयमा सामाजिक धारणा पनि बदलिँदै जाने उनी बताउँछिन्।
२०५८ सालमा एउटै गाउँका पुरुषसँग अन्तर्जातीय विवाह गरिन् गोर्खाकी विन्दु परियारले। उनको विवाहपछि गाउँको मेलापातदेखि पूजा, भोजसमेत विभाजित भएको उनी सम्झन्छिन्। सामाजिक प्रभावका कारण आफ्नी छोरीलाई मनोवैज्ञानिक परामर्श दिनु परेको उनले सुनाइन्।
“विवाह भएको ६ वर्षपछि छोरी जन्मिइन्। छोरी जन्मिएपछि घरमा बोलाइयो, तर भान्सामा पस्न दिइएन, बाहिर बसेर खानुपर्थ्यो। श्रीमान्को बुवा मसँग मात्र होइन उहाँसँग समेत बोल्नुभएन,” उनले भनिन्।
हेपाहा प्रवृत्तिको मारमा उनीहरूकी सानी छोरी पनि परिन्। आफ्नी आमा दलित भएकै कारण विभेद भोग्नुपरेको थाहा पाएपछि छोरी आफूबाट टाढिएको उनी सुनाउँछिन्।
“उसलाई निकै सम्झाउनुपर्यो। दुई वर्ष लामो परामर्शपछि उनी आमाबुवाको अन्तर्जातीय विवाहका कारण भोग्नुपरेको विभेदको असरबाट उम्कन सकिन्।”
आजभोलि अन्तर्जातीय विवाह सङ्ख्यात्मक हिसाबमा बढे पनि दलित समुदायका हरूले कथित गैरदलितहरूसँग विवाह गर्नुलाई सामान्य मान्ने नगरिएको उनको धारणा छ।
आफ्नो विचार पुष्टि गर्न अजित मिजार, नवराज विक लगायतको उदाहरण दिइन्।
“अन्तर्जातीय विवाहलाई विचारदेखि व्यवहारसम्म स्वीकार्य हुने स्थिति बनाउनुपर्यो। हामीभन्दा अघिको पुस्ताले सिकाएको विभेदमा हाम्रो पुस्ताले अडान लिनु भएन,” उनी समाधानको उपायबारे बोलिन्।
सुवेक्षा, स्वस्तिका र विन्दुहरूको आवाजमाथिको जोडदार ऐक्यबद्धता भएको बताउँछिन्।
विवाहको बद्लिँदो तस्बिर
अनुसन्धानकर्ता एवं मानव अधिकारकर्मी जीनिता विश्वकर्मा नेपालको कानुनले अन्तर्जातीय विवाहलाई वैधता दिए पनि समाजले सामान्य नमानेका कारण कैयौँ जोडी आफूलाई सुरक्षित महसुस नगर्ने बताउँछिन्।
“विवाह प्रत्यक्ष रूपमा वंश र धर्मसँग जोडिएको कारणले विवाहमा “जातिगत शुद्धता”लाई विषेश महत्त्व दिएको पाइन्छ,” उनले भनिन्।
समाजशास्त्री डा. मीना पौडेल भने विवाहको बद्लिँदो चित्र अर्थ र आत्मनिर्भरतासँग सम्बन्धित भएको बताउँछिन्।
“पहिले विवाह धर्मसँग जोडिएको थियो। कन्यादान गर्नु, रजस्वला हुनु वा सानैमा छोरीलाई विवाह गरेर पठाउनु पुण्य कमाउनु हो भन्ने मान्यता थियो। तर यो बाहिरी विश्वास हो,” डा. मिनाले प्रस्ट्याइन्।
“मूल रूपमा भने यो महिलाको आर्थिक पराधीनतासँग जोडिएको थियो जहाँ छोरीलाई हुर्किसकेपछि उसलाई पालिदिने वर खोजिदिने विषय थियो।”
पहिले महिला शिक्षा र रोजगारीबाट टाढा रहने भएकाले त्यसो भए पनि अहिलेका विवाह आधुनिकता, अधिकार, आत्मनिर्भरता र अर्थसँग जेलिएको उनको तर्क छ।
“समग्रमा विवाह असमान सामाजिक सम्झौता हो जसमा पुरुष स्वतन्त्र रहन्छन् भने जिम्मेवारी र नियमहरूको भारी महिलासँग हुन्छ। जसले उनीहरूलाई तल पार्छ,” उनले भनिन्।
सुवेक्षा त्यस्तै असमानतालाई सङ्केतदेखि व्यवहारको पक्षबाट सन्तुलित बनाउने प्रयासमा रहेको बताउँछिन्। त्यही अठोटका कारण उनको विवाह समारोह परम्परागत विवाहहरूभन्दा फरक देखियो।
“मैले साथै अन्य दिदीबहिनीले समानताका लागि आफ्नो विवाहमा उठाएको कदमहरू केवल सानो सुरुवात हो। हामी सबैले थप गर्न अत्यन्त जरुरी छ र आफ्नो क्षमताभन्दा अझै बढी कोसिस गर्नु नै हाम्रो दायित्व हो,” सुवेक्षाले भनिन्।
एमसीसीका कारण गठबन्धनमै गडबड भएपछि प्रधानमन्त्री देउवासमक्ष अहिले तीनवटा विकल्प छन् । पहिलो, संसदमा मतदानका लागि लैजाने । दोस्रो, प्रधानमन्त्रीबाटै राजीनामा दिएर जेठमा प्रतिनिधिसभा र स्थानीय चुनाव सँगसँगै गराउने र तेस्रो अमेरिकालाई भनेर एमसीसी थाती राख्ने ।
१९ माघ, काठमाडौं । बुधबार विहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर बाहिरिनेबित्तिकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने पार्टीसम्वद्ध विद्यार्थीहरुको कार्यक्रममा पुगेर भने, ‘सत्ता गठबन्धन टुट्दैन ।’
बुधबार नै आयोजित पार्टी प्रवेश कार्यक्रममा पनि अध्यक्ष नेपालले उही अभिव्यक्ति दोहोर्याएर भने, ‘सत्ता गठबन्धन टुट्दैन ।’
नेपालमात्रै होइन, पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु यही वाक्य बारम्बार भन्ने गर्छन् । तर गठबन्धन टुट्दैन भन्ने अभिव्यक्तिको पछाडि टुटिहाल्छ कि भन्ने भय भने जबरजस्त लुकेको छ । र, भयको सिर्जना गरेको हो अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर प्रधानमन्त्री देउवामाथिको दबाव ।प्रधानमन्त्री देउवा हर हालतमा संसदमा एमसीसी टेबल गर्न चाहन्छन् । उनले बुधबार पनि सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई विहान र साँझ दुई पटक भेटेर पास फेल जे भएपनि एमसीसी संसदमा लैजानुपर्नेमा जोड लिएका छन् । तर दुबै नेता त्यसमा सहमत छैनन् ।प्रधानमन्त्रीले कुनै हालतले पास गर्छु भन्ने कमिटमेन्ट देखिँदैन, तर अमेरिकालाई मैले त संसदमा लगेँ, पास भएन त के गरुँ भन्न पाए हुन्थ्यो भन्ने छ’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, हामी संसदमा टेबल गर्न सहमति दिँदैनौं ।’संसदमा टेबल हुनसाथ सांसदहरु ‘थ्रेट’मा पर्ने भएकाले स्थितिमा एमसीसी अगाडि नबढ्ने दुबै दलको अडान छ । प्रमुख विपक्षी नेकपा एमालेले पनि सत्तारुढ गठबन्धन कायम रहँदासम्म एमसीसी अनुमोदनमा साथ नदिने प्रष्ट बताएको छ ।
त्यसैले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा पछिल्लो समय अहिलेकै परिस्थितिमा एमसीसी अनुमोदन गर्ने वा गठबन्धन जोगाउने अर्थात ‘गर या मर’ को अवस्थामा पुगेका निकटवर्तीहरु बताउँछन् ।
एमसीसीसम्बन्धी परियोजना जसरी भए पनि संसदबाट अनुमोदन गराउन अमेरिकाले दिएको दबाव र गठबन्धनमा देखिएको टकरावका कारण प्रधानमन्त्री देउवाका अघिल्तिर अब तीन वटामात्रै विकल्प देखिन्छन् । कम क्षतिपूर्ण विकल्प कुन हुनसक्छ भनेर उनले परामर्श समेत शुरु गरेको निकटस्थहरु बताउँछन् ।
पहिलो विकल्प : संसदमा मतदानमा लैजाने, एमालेको साथ लिने
पहिले एमसीसी विकास परियोजना भन्दै अनुमोदनका लागि जोड दिएको नेकपा एमाले प्रमुख प्रतिपक्षी भएपछि मौनता साँधिरहेको छ । उसको मौनतालाई आउँदो चुनावसँग पनि जोडेर हेर्ने गरिन्छ । यदि एमालेको समर्थन बिनै संसदबाट एमसीसी अगाडि बढाउँदा चुनावमा उसले एमसीसी विरोधी जनमतलाई ‘क्यास’ गर्न सक्ने भय कांग्रेस र स्वयं देउवामा पनि छ ।
त्यसैले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा संसदमा दर्ता भएको एमसीसी अनुमोदनसम्बन्धी प्रस्तावलाई संसदको पूर्ण बैठकमा मतदानका लागि पेश गर्ने र सबैको सहमतिमा त्यसलाई पारित गराउने देउवाको पहिलो चाहना हो ।
कांग्रेस केन्द्रीय सदस्य एनपी साउद प्रधानमन्त्रीको पहिलो विकल्प नै प्रतिपक्षीलाई समेत साथमा लिएर राष्ट्रिय सहमति कायम गर्दै एमसीसी अनुमोदन गराउनु रहेको र उनको छलफल त्यतै केन्द्रित रहेको बताउँछन् । उनले अघि भने, ‘दोस्रो विकल्प सत्ताधारी दलहरुलाई साथमा लिएर सहमति जुटाउनु हो । त्यो पनि भएन भने यो विषयवस्तुलाई सदनमा लगेर पास फेल जे हुन्छ, छिनोफानो गर्नुपर्छ ।’
देउवाले यसलाई सुरक्षित विकल्प मानेपनि यति सजिलै एमसीसी अनुमोदन हुने सम्भावना न्यून छ । किनभने एमसीसी अनुमोदनका लागि चाहिने बहुमत सत्ता पक्षसँगै रहेकाले गठबन्धन कायम हुँदासम्म आफूहरुले एमसीसीको पक्षमा मतदान गर्न नसक्ने स्पष्टै सन्देश ओलीले देउवालाई दिइसकेका छन् । त्यसो हुँदा देउवाले सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई मनाउनुपर्छ ।
तर उनीहरु एमसीसी सम्झौताका केही प्रावधान संशोधन नभएसम्म संसदमा टेबल गर्नै नदिने पक्षमा छन् । बरु गठबन्धन टुटोस्, तर यथास्थितिमा एमसीसी संसदमा पेश गर्न हुँदैन भन्ने अडान माओवादी र एकीकृत समाजवादीको मात्र होइन, स्वयं सभामुख अग्निप्रसाद सापकोटाको छ ।
यस्तोमा प्रधानमन्त्री देउवाले पनि गठबन्धनको माया मारेर एमसीसी पास गराउने गरी अघि बढ्न सक्छन् । त्यसो हुँदा उनलाई प्रमुख प्रतिपक्षी एमालेले साथ दिनसक्छ । त्यो बेला सभामुख बाधक बने के गर्ने भन्ने प्रश्न आउँछ ।
संसदका अरु साना दललाई पनि विश्वासमा लिएर दुई तिहाई बहुमत पुर्याउने र सभामुख परिवर्तन गर्ने परिस्थितिसम्म सिर्जना हुनसक्ने बालुवाटारको आकलन हो । त्यसका लागि देउवाले जनता समाजवादी पार्टी (जसपा) को मन जित्नुपर्ने हुन्छ । तर अहिलेकै परिस्थितिमा जसपा एमसीसीका लागि सभामुख हटाउने हदसम्म नजान सक्छ ।
त्यसैले देउवाले यो विकल्पमा छलफल र परामर्श त गरेका छन् तर सजिलो छैन भन्ने उनलाई राम्रोसँग थाहा छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि देउवाले गठबन्धन नै तोड्ने र सभामुख परिवर्तन नै गर्नेसम्मको विकल्पमा जाने सम्भावना आफूले अहिलेसम्म नदेखेको बताउँछन् । ‘एमसीसीमा केही भएको छैन, गठबन्धनका बीचमा कुरा मिलेको छैन । के हुन्छ अब प्रधानमन्त्रीले हामीसित छलफल पनि गर्नुभएको छैन,’ पौडेलले भने, ‘प्रधानमन्त्रीले सल्लाह गर्नुहुन्छ होला नि !’
दोस्रो विकल्प : प्रधानमन्त्रीबाट राजीनामा दिने, चुनावको घोषणा गर्ने
यसैपनि यो गठबन्धन प्रधानमन्त्री देउवाको रोजाईको होइन । शक्ति राष्ट्र अमेरिका र भारतको पनि चाहनाको होइन । नेपाली कांग्रेस पार्टीभित्रै पनि गठबन्धन जोगाउने ध्याउन्नमा लाग्नुभन्दा बरु चाँडै प्रतिनिधिसभा र स्थानीय तहको चुनावमा जानु नै उपयुक्त हुन्छ भन्ने मत बलियो छ ।
त्यसैले एमसीसीलाई लिएर गठबन्धनभित्र मतभेद चर्किदै गयो भने देउवाले प्रधानमन्त्रीबाट राजीनामा दिने र आउँदो जेठमा स्थानीय तह र प्रतिनिधिसभाको चुनाव सँगसँगै गर्ने विकल्प पनि छ । यो विकल्पमा अघि बढ्न पनि प्रधानमन्त्री देउवालाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले साथ दिनुपर्छ ।
यदि यो रोडम्यापमा अघि बढे भने बाहिरबाट सघाउने बचन एमाले अध्यक्ष ओलीले देउवालाई दिएका छन् । किनभने एमाले ५ पुस २०७७ र ७ जेठ २०७८ मा गरी दुईदुई प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमलाई सही सावित गर्न चाहन्छ ।
देउवा पनि गठबन्धनले आफ्नो चाहनाअनुसार काम गर्न दिएन भने सरकारलाई अरु लम्ब्याएर थप अलोकप्रिय बन्ने पक्षमा छैनन् । यसबारेमा उनले कानुनविद्हरुसँग पनि परामर्श पनि गरेको देउवा निकट स्रोतको दाबी छ । देउवाले राजीनामा दिने र संसदको ठूलो दल एमालेले सरकारको नेतृत्वका लागि दाबी नगर्ने परिस्थिति बन्दा देउवाले चाहेझैं जेठमै प्रतिनिधिसभा चुनाव हुनसक्छ ।
गठबन्धनकै नेताहरु पनि देउवा यो हदसम्म जानसक्छन् भन्नेमा तयार देखिन्छन् । ‘देउवाजीले मैले भनेको भएन अब गठबन्धनलाई नै देखाइदिन्छु भनेर प्रधानमन्त्रीबाटै राजीनामा दिन पनि सक्नुहुन्छ,’ गठबन्धनका एक शीर्ष नेताले भने, ‘हामी त्यसका लागि पनि तयार भएर बसेका छौं, तर यही अवस्थामा संसदमा एमसीसी अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्न दिन्नौं ।’
तेस्रो विकल्प : अमेरिकालाई मनाउने, एमसीसी पर धकेल्ने
गठबन्धन टुट्ने भयले जति माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुको मन पोलेको छ, त्यति नै भयभित प्रधानमन्त्री देउवा पनि छन् । गठबन्धन टुट्दा चुनावमा संकटमा पर्ने जति डर कम्युनिष्टहरुलाई छ, देउवालाई पनि कम्युनिस्टहरु मिल्छन् र फेरि ०७४ साल दोहोरिन्छ भन्ने पिर छ ।
०७४ मा स्थानीय तहको चुनावमा कांग्रेससँग तालमेल गरेको माओवादीले एकाएक प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एमालेसँग मिल्दा आफ्नो पार्टीले अकल्पनीय पराजय व्यहोर्नुपरेको देउवाको ठम्याई छ । त्यसमाथि ०७४ मा एमाले र माओवादी केन्द्र मिलाउन भूमिका खेलेको भनिएको चीनले आउँदो चुनावमा पनि वाम तालमेल गर्न एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धेरैपटक सुझाव दिइसकेको छ ।
देउवाको डर पनि यहीँनिरै हो । त्यसैले उनले एमसीसीलाई संसदबाट अनुमोदन गराउने विषय आउँदो चुनावसम्म थाती राख्ने र चुनाव जितेर आएपछि मात्रै अघि बढाउने अमेरिकासँग लबिइङ गर्न सक्छन् । देउवालाई गठबन्धनका नेताहरुले दिएको सुझाव पनि यही छ ।
यसो हुँदा गठबन्धन टुट्ला र एक्लै परिएला भन्ने डरबाट प्रचण्ड र माधव नेपालहरु मुक्त हुनेछन् भने फेरि कम्युनिस्टहरु नै मिल्ने भय देउवालाई रहने छैन ।
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पनि यो तर्कसँग सहमत छिन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवामा सरल सहज र कुनै पनि कुरालाई निर्णयमा पुर्याउन सक्ने क्षमता छ,’ उपाध्यायले अनलाइनखबरसँग भनिन्, ‘मलाई लाग्छ, उहाँले गठबन्धन र प्रमुख प्रतिपक्षी दललाई एमसीसीको विषयमा मनाएरै ठोस निर्णय लिनुहुनेछ । अरु नेताहरुले पनि यसको गहनताको बारेमा बुझ्नुहुनेछ ।’