
काम र मामको खोजीमा भोको पेट भौंतारिरहेका १९ वर्षीय बुद्धिमान भन्छन्– ‘मेरो उमेरको मैमात्र गरिब रहेछु जस्तो लाग्छ ।’
काठमाडौँ — उनलाई पहिलो प्रश्न थियो– ‘लकडाउनले के सिकायो ?’
‘भोक सहन,’ यत्ति छिटो भने मानौं मैले के सोध्दैछु भन्ने उनलाई पहिल्यै थाहा थियो । तर, उनले भनेजस्तो भोक सहन सजिलो छैन । केही उपाय नभएपछि मान्छेले भोक सहन्छ । उनले पनि त्यसरी नै भोक सहिरहेका छन् ।
यसो भनिरहँदा उनी आफैं भोकले छटपटाइरहेका थिए । खाना खानकै लागि बौद्ध, नयाँ बस्तीबाट डेढ घण्टा हिँडेर खुलामञ्च आइपुगेका थिए । अनि हाम्रो अगाडि बिहीबार उनीजस्तै कम्तीमा दुई सय जना थिए, जो भुइँमा बसेर रित्तो पेट भरिरहेका थिए । निःशुल्क खाना वितरण गरिरहेका मनकारीहरूलाई भ्याइनभ्याइ थियो । बिहान १० बजेतिर घाम पनि टन्टलापुर थियो, सबै असिनपसिन ।
उनी अर्थात् बुद्धिमान माझी । उमेर १९ वर्ष । अध्ययन बीबीएस पहिलो वर्ष । शरीर ठिक्कको । ज्यानमा टिसर्ट र पाइन्ट, खुट्टामा जुत्ता उनेका छन् । पिठ्युँमा ब्याग । सामुन्नेमा भात मुछिरहेकाहरूभन्दा ठ्याम्मै अलग लाग्ने ।
तर, देख्नु र भोग्नुमा कैयौं कोसको अन्तर हुने रहेछ ।
जस्तो, उनी भोकको रापमा पिल्सिरहेको अरूको आँखा देख्दैनन् । सुरुमा भोक सहनु बाध्यता थियो, विस्तारै बानी बन्दै गयो, उनलाई यस्तै लाग्छ । वा, क्रूर समयले उनलाई यही सिकायो ।
खुलामञ्चको एक कुनामा शीतल खोज्दै भुइँमा बसेपछि उनले ब्यागबाट एउटा लामो डायरी निकाले, भोकको बहिखाता रहेछ । जहाँ उनले खाएका हरेक रोटी र भोकको पाईपाई हिसाब छ । कमर्स पढेको केटो कुनै कम्पनीको नाफाघाटाको खाता राख्नुपर्ने तर निर्मम नियतिले उनलाई आफ्नो पेटको हिसाब राख्न बाध्य बनायो । …भदौ ९ गते खाना नआएको…. ११ छिमेकीकोमा खाना… १३ गते नखाएको… १८ गते छिमेकीकोमा खाना… आदि–आदि ।

प्लस टु पास गरेको हृष्टपुष्ट केटो भोकसँग पौठेजोरी खोज्दै सहरको चक्कर लगाइरहेको कटु यथार्थले राज्यले के देख्थ्यो ? यसको लेखाजोखाचाहिँ बुद्धिमानले गरेका छैनन्, सायद यसैगरी भौंतारिरहेका अरू बुद्धिमानहरूले पनि गरेका छैनन् । तर, यी बुद्धिमान यस्ता पात्र हुन्, जसले कोरोना महाव्याधिका कारण गरिएको/गर्नुपरेको लकडाउन/निषेधाज्ञाले चौपट भएका यो सहरका आगन्तुक विद्यार्थीहरूको साझा व्यथाको प्रतिनिधित्व गर्छ ।
झन्डै एक घण्टा कुरा गरेपछि लाग्यो, यी किशोरको जीवनमा सबैभन्दा धेरै केही छ भने कष्ट, संकट र हन्डर छ ।
उनको घर सिन्धुलीको गोलान्जोर गाउँपालिका । बुबा–आमाका दसमध्ये चौथो सन्तान । उनका दुई दिदी, एक दाइ, दुई बहिनी र चार भाइ छन् । धान फल्ने खेत छैन, पाखो बारी छ । हरेक कुरा किनेरै खानुपर्छ, दुःखजिलो गरेर उनका अभिभावकले सन्तानलाई पालेनन् मात्र, पढाए पनि । गाउँबाटै एसएलसी पास गरेपछि उनी काठमाडौं आए । दाइसँग बस्थे, उनै दाइ डेढ वर्षयता सम्पर्कविहीन छन् । बुद्धिमानले प्लस टु पास गरे तर पैसा नभएपछि बीबीएसमा भर्ना हुन पाएनन् । ‘हाम्रो केही खेत थियो, त्यही बेचेर बुबाले हामीलाई पढाउनुभयो, खेत सकियो तर हाम्रो पढाइ सकिएन, त्यसपछि पढ्नै धो–धो हुन थाल्यो,’ उनको स्वर मसिनो थियो ।
पढ्न नपाएपछि बालुवा र इँटा बोक्न थाले । खाएर अलि–अलि बच्थ्यो । कहिलेकाहीं काम नहुँदा मार्कसिट र नागरिकता बोकेर जब सेन्टर ध्याउँथे, चिने–जानेका सबैलाई फोन गरेर बिन्ती गर्थे । चार–पाँच महिना बित्यो, बालुवा बोक्नबाट छुट्कारा पाएनन् । बल्लतल्ल लेखापालको काम पाए, तलब जम्मा सात हजार । कोठा भाडा, गाडी भाडा, खाना खर्चमै ठिक्क । चामल किन्ने पैसासमेत हुन्थेन ।

तैपनि जागिर चलिरहेकै थियो, यता नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टका लागि आवेदन खुल्यो । बुद्धिमानले ‘ट्राई’ गरे, अफिसबाट कहिले छलेर, कहिले बहाना बनाएर परीक्षामा सहभागी हुन्थे । साहुले एक दिन थाहा पाइहाले । यता, जागिर चट् भो । उता, सेकेन्ड लेफ्टिनेन्टको दौडबाट ‘आउट’ । फेरि बिचल्ली ! ‘जागिर गइहाल्यो, खाना पनि मज्जाले पाइँदैन्थ्यो । त्यसमाथि घरबेटीको गाली, त्यतिबेलै हत्तुहैरान भइसकेको थिएँ,’ उनले करुणस्वरमा भने, ‘घरमा पैसा माग्ने स्थिति थिएन । त्यसैले जसले जे भने पनि सहेर बसिन्थ्यो ।’
https://www.youtube.com/embed/nAFDRw4nOrcअर्काको जागिरको भर नभएपछि उनलाई लागेछ, अब आफैं केही गर्ने । बडो अनुनयविनय गरेर साथीको मामासँग डेढ लाख ऋण लिए । बौद्धको कुमारीगालमा खाजा पसल खोले । यो थियो, गत माघको कुरा । यतिबेला नेपालमा कोरोना भाइरसको त्रास आइसकेको थियो । पसलमा ज्यान दिएर खट्ने, कमाइ गर्ने, पढ्ने, भाइबहिनीलाई पढाउने, बचेको पैसा घर पठाउने । यत्ति सपना थियो उनको ।
पहिलो महिना भाडा तिर्नै पुगेन, तैपनि हरेस खाएनन्, दोस्रो महिना घाटा कम भएको थियो । अब पसल उठ्ला जस्तो लागेको थियो, त्यही बेला कोरोना आतंक यता पनि आइपुग्यो । लकडाउनको हल्ला चल्यो, ग्यास पनि पाएनन् । पसल बन्द गरे, सिन्धुली घर गए, त्यसको केही दिनमा त लकडाउन भइहाल्यो ।

परिवारको छहारीमा त पुगे तर त्यहाँ आफ्नै व्यथा थियो । लकडाउनले गर्दा होटल सबै बन्द, फलेको तरकारी बारीमै कुहिन थाल्यो । बिहीबार उनका बुबा चित्रबहादुर माझीले फोनमा भने, ‘हिउँदको तरकारी शीतले खायो, बर्खाको लकडाउनले । कोही किन्न आएनन्, बारीमै खेर गयो ।’ हिउँदमा साढे दुई लाख नोक्सान भएको थियो, लकडाउनले साढे तीन लाख नास पार्यो । जबकि दस जनाको परिवार बाँच्ने एउटै आधार त्यही तरकारी थियो ।
एकातिर तरकारी खेर गएकाले घरमा चामल किन्नै धौ–धौ हुन थाल्यो, अर्कातिर काठमाडौंबाट घरबेटीले फोन गरेर हैरान । होटल र बस्ने गरी उनका दुई ठाउँमा कोठा थियो । ‘लकडाउन खुलेपछि आउँछु, जसरी पनि तिर्छु भन्थे तर घरबेटीले मान्दै–मानेनन्, बुबालाई पनि फोन गरेर सामान बाटोमा फालिदिन्छौं भनेर धम्काउन थाले,’ बुद्धिमानले पीडा पोखे, ‘त्यसपछि खुर्कोटबाट १५ सय भाडा बुझाएर काठमाडौं आएँ ।’ यहाँ आएपछि घरबेटीलाई ज्यामी काम गरेर भए पनि तिर्छु, केही दिन पर्खनु भन्दै बिन्ती गरे । दिउँसो देखे, गाली गर्थे, त्यसैले राति होटलको कोठामा थाहा नपाउने गरी जान्थे, मेचमा सुत्थे, सबेरै निस्कन्थे । उद्देश्य एउटै हुन्थ्यो, जसरी पनि काम खोज्ने ।

मार्कसिट र नागरिकता बोकेर जब सेन्टरमा ध्याए । आफूले चिनेकालाई फोन गरे । सबैको उत्तर एउटै हुन्थ्यो– ‘यस्तो बेला कहाँ जागिर पाउनु ?’ अझ जब सेन्टरमा त सुरुमा ३५ सयदेखि ५ हजारसम्म मागिन्थ्यो । यसरी छटपिटरहेका बेला साउन ३ गते चिनेको एउटा दाइले फोनमा भने– ‘ल भोलिबाट आइज, दिनमा ९ सय दिन्छु ।’ काम उही, बालुवा बोक्ने, इँटा बोक्ने । तैपनि उनलाई भोलि कहिले आउलाजस्तो भयो, पहिलो दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म काम गरे । भोलिपल्ट पनि ठाउँमा पुगे तर दाइ नै आएनन्, काम भएन । ‘दाइको आफ्नै भर रहेनछ, उहाँ नभई काम गर्न नपाइने । कहिले वर्षाले काम रोकिन्थ्यो,’ उनले सुनाए । तीन चार दिनमा एक दिन काम हुन थाल्यो, कहिले आधा दिन, कहिले त एक दुई घण्टा मात्र । पैसा पनि त्यहीअनुसार । यता होटलको साहुको म्यासेज आयो– ‘आज पैसा लिएर आएनौं भने सामान बाहिर फाल्छु ।’
पैसा थिएन, तैपनि आत्तिँदै पुगे । हात जोडे, भरमार गाली गरेपछि साहुजीले सामान निकाले भाडा नदिए हुने उर्दी जारी गरे । नजिकै एउटा कोठा भाडामा लिए, सामान सारे । त्यहीबेला उता, बस्ने गरेको कोठाको साहुजीले उनका बुबालाई फोन गरेर भनेछन्– ‘भाडा चार हजारबाट पाँच हजार पुग्यो । भाडा र पीसीआर टेस्ट गरेको रिपोर्ट लिएर मात्र यहाँ पठाउनु ।’ बुद्धिमानका अनुसार फागुनदेखि असोज (एक महिनाको अग्रिम) सम्म जोडेर घरबेटीले ४० हजार लिएर मात्र आउनु भनेका छन् । यत्रो पैसा कहाँबाट ल्याउनु ? त्यसैले उनी त्यहाँ गएकै छैनन् ।
‘चाबहिलतिर ज्यामी काम गर्दा कोरोना संघर्ष समितिका मान्छेहरूसँग भेट भएको थियो, घरबेटीले भनेका सबै कुराहरू उहाँहरूलाई सुनाए तर केही गर्न सकिन्न भन्नुभयो,’ गलेको स्वरमा उनले भने, ‘म एक्लैले घरबेटीलाई के नै भन्न सक्थें र ! पैसा नदिनु मेरै गल्ती हो ।’

चिनेको दाइको टुंगो नभएपछि आफैं ज्यामी काम खोज्न थाले, जहाँ भवन बनाइरहेको देख्थें, त्यहाँ गएर काम माग्थे, तर कसैले दिएनन् । उनको बुझाइमा नयाँ मान्छे भएर विश्वास नगरेको हुन सक्छ । उनको नियमित भोकको शृंखला यतैबाट सुरु भयो । साउन जसोतसो कट्यो । ‘अब त काम पाइएला जस्तो लागेको थियो, झन् निषेधाज्ञा पो लाग्यो,’ निधार खुम्चाउँदै उनले भने ।
निषेधाज्ञाको मुखैमा महाराजगन्जमा पुराना टायल सफा गर्ने काम पाएका थिए । निषेधाज्ञाको पहिलो दिन बिहानै कोठाबाट निस्किए, बौद्ध चोकमा प्रहरीले रोकिहाल्यो । आधा घण्टा त्यहीं राख्यो, निषेधाज्ञाभरि बाहिर ननिस्कनु भनेर पठाइदियो । तर, भोको पेटले त्यो मर्का के बुझ्थ्यो र, अर्को दिन बिहानै निस्के, धन्न त्यो दिन कतै रोकिएनन् । एक घण्टा हिँडेर महाराजगन्ज पुगे, उनी काम गर्ने ठाउँमा मेसिनहरू पनि चल्थ्यो । ‘छिमेकीले टिस्टर्ब भयो भनेर कामै गर्न दिएनन्, त्यतिकै फर्कनुपर्यो,’ उनले खिन्नता प्रकट गरे ।
खल्ती रित्तो थियो, खल्तीसँगै पेट रित्तिने भइहाल्यो, कोठा नजिकैको मान्छेलाई ग्यासबिनाको खाली सिलिन्डर बेचे, १५ सय आयो । ‘सुरुमा निषेधाज्ञा एक साता भनिएको थियो, ग्यास बेचेको पैसाले त्यतिन्जेल पुगिहाल्छ, त्यसपछि काम पाइहाल्छु भन्ने थियो,’ उनले सुनाए । तर आस, त्यसमाथि गरिबको, हम्मेसा निराशामा बदलिने गर्छ । बुद्धिमानको हकमा त्यही भयो । न निषेधाज्ञा खुल्यो, न त काम पाए । पैसा सकियो । ‘यहींबाट भोक सहने बानी पर्यो,’ खै किन हो कुन्नि, यसो भन्दाचाहिँ उनको आवाज अलि ठूलो सुनिएको थियो ।
निषेधाज्ञा अवधिमा ३, ११, १८ र २४ गतेमात्र उनले पेटभरि खाना (भात) खान पाएछन्, अरू दिन रोटी र चिउरा, त्यो पनि आधा पेट । घरमा बेलाबखत कुरा हुन्थ्यो, बुबाआमा बोलाउँथे, उनी जान मान्दैनन् । ‘नजा–नजा भनेको थिएँ, घरबेटीले फोन हानेको–हान्यै गरेपछि सारै पीर मानेर गयो । केही काम पाएनछ, घर आइज जे खाएर भए पनि बसौंला भन्छु, मान्दै–मान्दैन, भोकले मरेको छैन भन्छ,’ यति भनेपछि चित्रबहादुरको बोली रोकिएको थियो । उनीसँग चामल किन्ने पैसा छैन, तरकारी खेती गर्न लिएको ऋण तिर्न बैंकले ताकेता गरिरहेको छ । यसबारे बुद्धिमान जानकार छन् सायद, त्यसैले त भने नि, ‘घरमा पनि उस्तै हो, जे होला, यहीं बस्छु ।’ बरु उनलाई पश्चाताप रहेछ, बुबाले खेत बेचेर पढाउनुभयो तर पढेर कमाउन सकिएन, खेत पनि गयो ।
गत २३ गते उनले खुलामञ्चमा निःशुल्क खाना बाँडिरहेको थाहा पाए, बौद्धबाट सबेरै निस्केर खुलामञ्च आए, उनलाई धक लाग्यो किनभने आफ्नो उमेरको त्यहाँ कोही थिएनन् । ‘लाइनमा बसेर खाना माग्ने आँटै आएन, यत्रो हट्टाकट्टा भएर पनि के मागेर खाएको भनेर गाली गर्छन् भन्ने डर लाग्यो,’ उनले सुनाए, ‘मेरो उमेरको त मैमात्र गरिब रहेछु जस्तो लाग्यो । आफैंसँग नरमाइलो लाग्यो ।’ खाएनन् तर फर्कंदा खाना बाँड्ने समूह ‘हाम्रो सानो प्रयास’को नम्बर टिपे । घर पुगेर हिम्मत जुटाएर फोन गरे, आफ्नो सबै व्यथा सुनाए ।

समूहका नेतृत्वकर्ता पुकार बमसँग कुरा भएछ, उनले खुलामञ्च बोलाए । ‘उहाँ (पुकार) ले पीर र लाज नमानी टन्न खानु भनेर मलाई खाना ल्याइदिनुभयो, एक महिनासम्म खानाको चिन्ता नलिनु भन्नुभएको छ,’ उनको अनुहार उज्यालो भयो । अहिले बसेको कोठा एकदम साँघुरो छ, त्यही पनि होटलको सामानले भरिभराउ । न खाना पकाउने ग्यास छ, न ठाउँ नै । जस्तो काम पाए पनि गर्ने र सकेसम्म कोठा सर्ने छटपटी छ उनलाई ।
‘कोठामा बसिरहँदा के गर्नुहुन्छ ?’ उनलाई मेरो अन्तिम प्रश्न थियो ।
ब्यागबाट किताब निकाल्दै भने, ‘अहिले यही पढिरहेको छु ।’ त्यो रवीन्द्र मिश्रले लेखेको किताब ‘खान पुगोस्, दिन पुगोस्’ थियो ।
गोकर्ण गौतमले कान्तिपुरमा यो समाचार लेख्नु भएको छन।










