साताका तीन लघुकथा हिमालयन दृष्टि अनलाइन पत्रिकामार्फत सञ्चालित एक नियमित स्तम्भ हो । नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित गरिएका लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथा छ्नोट गरी प्राप्त हुन आएका लघुकथाहरू यहाँ प्रकाशन गर्ने गरिन्छ । यस साता प्रकाशित हुने लघुकथाहरूमा लघुकथाकार तुलसी पण्डितको ‘पैसा’, लघुकथाकार सरण राईको ‘गुट’ र लघुकथाकार राजन ग्याल्दाङ घलेको ‘बुर्जुवा शिक्षा’ रहेका छन् ।
१) लघुकथा : पैसा
✍️तुलसी पण्डित
धन्न खरदारले राम्रै सरकारी कार्यालय भेट्टाएछन् र खरदार्नीले मान्छे कजाउन पाएकी छन् । निरमायाले उनको घरमा काम गरेको केही समय भयो । खरदार्नीको घरको सबै काम उसैले गर्नुपर्थ्यो । त्यति हुँदापनि खरदार्नी बजैको चित्त बुझेको थिएन । उनी निरमायालाई गाली गरिरहन्छिन् । के गर्ने ऊ विवश छे गरिबीले । एकदिन निरमायाले छोरो बिरामी भएकोले तलव अगाडि दिन अनुरोध गरिन् । अँह बज्यैले दिइनन् । झन् उल्टो सराप्न थालिन् । निरमायाको मन भाँच्चियो । ऊ अर्को दिनबाट काममा आउन छोडी । उसले अग्रिम पैसा लिएर अन्तै काम खोजी । यता खरदार्नी बजैलाई समस्या भयो । घरको यावत् काम आफैँले गर्नु पर्दा बल्ल उनले सम्झन थालिन्, निरमायालाई । निरमायाले कसरी यति धेरै घरको काम गर्न सकेकी होली । उसले बुढालाई भनेर निरमायालाई लिन पठाइन् । “निरमाया अन्तै काममा लागि सकिछन् ? ” “ल बुढा त्यसो भए अर्कै मान्छे खोजेर ल्याऊँ । म घरको काम गर्दागर्दै आजित भैसके ।” बुढाले मान्छे खोजेर ल्याए । तर फित्तिकै काम न गर्ने । केही कुरा भने मुखमुखै लाग्ने । खरदार्नी बज्यैलाई काममा कत्ति चित्त बुझेनछ । उनले भनिन्, “भो भोलिदेखि तँ काममा नआइज ।” केही समयपछि बजार जादा निरमायालाई भेटिन् खरदार्नी बज्यैले । “निरमाया तिमी आउने भए म पहिलेभन्दा दोब्बर पैसा दिनेछु ?” उसले भनि । “पैसा नै ठूलो कुरा हैन नि बज्यै ।”
२) लघुकथा : गुट
✍️ सरण राई रित्ता गाग्रीहरूले गुट बनाए । एकापसमा ठाेक्किएर चर्काे आवाज निकाल्न सक्ने भए र चर्चाको शिखरमा पुगे । ती आवाजलाई साहित्य भने । कोहीले सङ्गीत भने । धेरैजसाेले सार्वभौम राजनीति भने । रित्ताहरू शक्तिशाली रित्ता देखिन थाले ।
भरिएका गाग्रीहरू भने रित्ताहरूझैँ हल्ला गर्न नसकी चुपचाप रित्ताहरूका यस्तो चर्तिकला चुपचाप हेरिरहेका हुन्थे ।
२०७५/८/२२ सुमेरु अस्पताल,धापाखेल
३) लघुकथा : बुर्जुवा शिक्षा
✍️ राजन ग्याल्दाङ घले शिशिर र वसन्त स्कुले सहपाठी थिए । शिशिर गरिब किसानको र वसन्त मास्टरका छोरा थिए ।
एकको पढाइ मध्यम स्तरको थियो भने अर्कोको अब्बल । जो बाउबाट प्रेरित भई कक्षा १ देखिनै सधैँ प्रथम हुन्थ्यो ।
दुवैले माध्यमिक शिक्षा त उत्तीर्ण गरे । तर किसानको छोरो पास मात्र भयो भने मास्टरको छोरोले स्कुल टप गर्यो ।
गाउँमा एक जना कर्मचारी चाहिँएको सूचना निस्कियो । दुवैले जागिरका लागि निवेदन हाले । “मेरो स्कुल टपर छोरोलाई टक्कर दिने, त्यो नाथे दरिद्रका सन्तानले, हा हा !” किसानको छोरोले दरखास्त दिएकोमा मास्टरले खिल्ली उडायो ।
छनोट प्रमुख अधिकारीले छनौट प्रक्रिया सञ्चालन गरी रिजल्ट निकाले । जागिर शिशिरको पोल्टोमा पर्यो । यो देखेर मास्टरलाई सहिनसक्नु भयो ।
“के हो प्रमुख ज्यू, जाँबो दोस्रो डिभिजन ल्याई पास गरेको त्यो शिशिरेले जागिर पाउने ? मेरो स्कुल टपर छोरा फेल हुने । यो कस्तो छनोट प्रक्रिया हो ? यसमा सरासर तपाईहरूको राजनिति खेल छ ।” आक्रोशित हुँदै मास्टरले प्रमुख अधिकारीलाई भन्यो ।
मुस्कुराउँदै प्रमुख अधिकारीले भने, “मास्टर साहेब ! तपाईले आफ्नो छोरालाई सैद्धान्तिक ज्ञान त अथाह दिनुभएछ । तर व्यावहारिक ज्ञान, सीप दिन भुल्नुभएछ । यो त्यसैको परिणाम हो ।”
२०७९/०८/२२ धार्चे- ६ काशीगाउँ ,गोरखा हाल – गुन्मा ,जापान
काठमाण्डौँ, २४ मङ्सिर । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८१औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
photo: social media
अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू
[१] मान्छे जात एउटै किन यस्तो विडम्बना ? 🌑गोपे दाजु पाँचथर ।
[२] भोगाइ मानव जीवन वास्तविक यथार्थको कथा ! 🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
[३] मानव व्यवहार दानव विभेद देख्दा तनाव ! 🌑भवानी घिमिरे सर्लाही ।
[४] मानव जाति एउटै फरक फरक भोगाइ ! 🌑सरिता सेढाई धादिङ
कमाउन जति सजिलाे छ ,दान गर्ने निकाय छनाेट गर्न धेरै गाह्रो छ । शास्त्रमा एउटा कुरा उल्लेख गरिएकाे पाईन्छ । त्याे हाे पराेपकार नै धर्म हाे ।पराेपकारकाे अर्थ एउटा छ भने कस्ताे ठाँउमा पराेपकार गर्ने ? त्यसकाे अर्थकाे अनर्थ हुन गएमा पराेपकार नभई पछुताे पनि हुनसक्छ । पराेपकार भनेकाे आवश्यक परेकालाई उपकार गर्ने कार्यलाई नै भनिन्छ । दान गर्ने त हाे ,कस्ताे निकायलाई गर्ने याे अझै महत्वपूर्ण हुन्छ । कसैले उसकाे आवश्यक्ता देखेरनै दान गरेकाे हुन्छ ।त्यस बस्तु उसैले प्रयाेगमा ल्याउँदछ भने मात्रै दानीलाई राम्राे हुन्छ । अर्थात उसलाई आत्मसन्तुष्टि मिल्दछ । अब यहाँनेर बुझ्नैपर्ने कुरा कतै गलत स्थानमा दान गरिरहेकाे त छैन ? या भनाै दान गरेकाे बस्तु बेचेर उस्ले धन आर्जन गरेकाे छ भने पनि दान गर्नेलाई पुण्य प्राप्त नहुने कुरा शास्त्रमा उल्लेख गरेकाे पाईन्छ । एउटा प्रश्न यहाँ उब्जियाे धेरै भएकाे घरमा राख्ने ठाउँ नभएमा नबेचेर के गर्ने ? याे कुरा हामीले बिर्सन हुँदैनकि भेरै भएमा केही दान गरेर पनि दाेष कटाउन सकिन्छ ।त्यसैले कमाउन जति सजिलाे छ दान गर्ने निकाय छुट्याउन गाह्रो अझै छ ।
यसै सिलसिलामा दाङकाे सिद्ध रत्ननाथ मठमा संचालित गाेरखनाथ वैदिक गुरुकुल चाैघेरामा दान गर्नकालागि गुरुकुलमा प्राय हरेक दिन केही न केही नगद तथा बस्तु आईरहेका छन् । यहाँ नि:शुल्क रुपमा गुरुकुलीय शिक्षा प्राप्तिका लागि जिल्लाभित्र तथा बाहिरका वटुक विद्यार्थीहरु रहेका छन् । समय जाडाेकाे छ । माथि टिनकाे छानाे रहेकाे छ । टिनपनि प्वाल परेका छन् । शीत तप तप चुहिएकाे अवस्थामा उनिहरुलाई न्यानाे कपडा निकै सुविधा बनेकाे छ ।
घाेराही भिङ्ग्रेली परिवारका धेरै सदस्यहरुकाे याेगदान बन्दै गएकाे छ गुरुकुलमा ।प्यूठानकाे भिङ्गिबाट बसाई सराई गरेर आएकाले नै भिङ्ग्रेलि परिवारकाे रुपमा दाङमा चिनिन्छ याे परिवार । यही मंसिर २२ गते रमेश राजभण्डारी ॐ शिरडि साई मन्दिरका अध्यक्ष पिता,पुत्र तथा नातिनिलाई लिएर गुरुकुलमा पाल्नु भई सबै विद्यार्थीहरुकालागि न्यानाे सल, दक्षिणा तथा फलफुल प्रसाद प्रदान गर्नु भएकाे छ ।
त्यस्तै आजकै दिन सगरमाथा सिमेन्टका गाेग्ली निवासी अमर सुवेदीज्यूबाट सबैकालागि न्यानाे कम्बल प्रदान भएकाे छ । यस शुभ कार्यकालागि गुरुकुल परिवारले दानिज्यूहरुप्रति कृतज्ञता ब्यक्त गर्दै सबै मिलेरनै याे गुरुकुललाई दाङमा हुर्काअेाें भनी आह्वान गरेकाे छ ।
अमेरिकाको मेरिल्याण्ड राज्यस्थीत रकभीलमा एक नेपाली युवाको आफ्नै घरमा सुतेको अवस्थामा निधन भएको छ ।
नेपालको उदयपूर जिल्लाको गाईघाट साउने घर भएका ३७ बर्षका भूपाल कुमार मगरको मंगलबार विहान निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
“सोमबार बेलुका भूपाल भर्जिनियाका आफन्तको घरमा भएको पूजामा गएका थिए ।” भूपालका फुपाजु उद्धव खपागींले भने ।
भूपालले त्यहां आफ्नो दुई महिनाको छोराको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै काखमा लिएर पूजास्थललाई तीन फन्को घुमेको पनि फुपाजु खपागींले सम्झिए ।
भूपाल घरमा आएर पनि खाना खाएर सुतेका थिए ।
“राती साढे २ बजेतीर छोरा रोयो । सधैं उहां उठेर फुल्याउनु हुन्थ्यो तर उठ्नु भएन । म उठ्दा उहांलाई श्वासप्रश्वासमा समस्या भएको देखें । छटपटाईरहनु भएको थियो । के भयो भन्दै झकझक्याएं । उहांलाई धेरैपटक बोलाउने कोशिस गरें । उहांले नबोलेपछि ईमरजन्सीमा कल गरें ।” श्रीमती पारु थापाले भनिन, “रेस्क्यु टिमले बेड मै आएर केही प्रयास गर्यो तर केही पार लागेन, ३ बजेतीर ‘डेथ डिक्लियर’ गरिदियो ।
भूपालको शबलाई अहिले बाल्टिमोर मेडिकल सेन्टरमा पोष्टमार्टमका लागि राखिएको उद्धवले जानकारी दिए । हिजो धेरै ‘डेड बडी’ को पोष्टमार्टम गर्नु पर्ने भएकोले पालो आएन । आज पोष्टमार्टम हुन्छ । अनि अन्तिम संस्कारका बारेमा निर्णय गर्छौं ।” उद्धवले भने ।
भूपाल सन् २०१४ मा डिभी लटरी परेर अमेरिका आएका थिए । सन् २०१८ मा नेपाल गएर उदयपुर बांसबोटेकी पार्बती थापा ‘पारू’ संग विवाह गरेर फर्किएका थिए ।
भूपालकी श्रीमती अमेरिका आएको एक बर्ष मात्र भएको छ । उनीहरुबाट जन्मिएको छोरा अहिले दुई महिनाका छन् ।
घट्नाका बारेमा बुझ्न नेप्लिज डायस्पोराका समाचार संकलकले उद्धवसंग कुरा गर्दा श्रीमान गुमाएकी पार्बती पनि संगै थिईन । उनले फोनमा समाचार संकलकलाई भनिन्- “तपाईको समाचारमा हामी तीनजनाको अन्तिम तस्वीर पनि संगै राखिदिनु होला । मैले ठूलो भएपछि छोरालाई उस्को बाबुको बारेमा त्यो समाचार देखाउने छु ।”
भूपालको निधनको खबर नेपाल आफन्तलाई पनि पठाईसकिएको जानकारी प्राप्त भएको छ ।
भूपालको श्रीमती र छोरालाई यहांका उनका साथीभाईहरुले सहयोग गरिरहेका छन् ।
भूपाल केही समयदेखि डब्लुएफजी नामक कम्पनीसंग पनि आबद्ध थिए । पारिवारको आर्थिक सुरक्षाको बारेमा ख्याल गर्नुपर्छ भनेर चेतना जगाउने सहयोग गर्ने गर्थे ।
“उनले यो संसार छाडेर जादै गर्दा परिवार र समाजलाई आर्थिक भार भने थोपरेका छैनन । उनले फेमिली प्रोटेक्सन वापत १.२ मिलियनको ईन्सुरेन्स खरीद गरेर बसेका थिए ।” डब्लुएफजीका सिनियर मार्केटिगं डाईरेक्टर समेत रहेका उद्धव खपांगीले भने ।
उनले थपे, “भूपाल अति नै रमाईलो र असल मान्छे थिए । उनले धेरै छिटो यो संसार छाडेर गएकोमा हामी दु:खी छौं । उनको अभाव परिवारमा सधै खड्किईरहनेछ तर, उनले परिवारको जिम्मेवारी चटक्क छाडेर गएनन् । जादाजादै एउटा लिगेसी भने छोडेर गएका छन् ।”
काठमाडौ, १७ कार्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६२ औँ शृङ्खला मङ्सिर १७ गते शनिबार सम्पन्न भएको थियो। अभ्यासमा नेपाल लगायत विश्वका ४२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६२ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
डाक्टर इन्जिनियर छोराछोरी, लन्डनमा छन् दासी, महल छन् खास दुई चारवटा, म त सुकुमबासी । ✍️वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[८] सुकुम्वासी भन्दै भित्रभित्रै चलखेल, कति गर्न जान्या राजनीति तालमेल । 🌑अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा
[९] हातमा छ आइफोन घाँटीमा छ ठूलो सिक्री, सुकुम्वासी हामीहरू हामीलाई के को फिक्री । 🌑सरिता सेढाई धादिङ
[१०] सुख दु:ख गर्दै आइयो काठमाण्डौको माटोमाथि । सुकुमवासी बन्यो अचेल के गर्नु नि अरू साथी । 🌑सुशान्त सुनिता
[११] सुकुमवासी सधैँलाई त हुँदैन होला, सरकार नियम नबनाई भयो भोला। 🌑सुरेशकुमार पान्डे
[१२] छोराछोरी अमेरिका अष्ट्रेलिया गएका छन् काममा, यहाँ हामी सबै आन्दोलित छौँ सुकुम्वासीको नाममा । 🌑डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
[१३] म त गाउँले धनी आएँ शहरमा , लालपूर्जा लुकाएर सुकुम्वासी बनी मौका छोपी अझ कुर्लिन्छु घोक्रो सुकाएर । 🌑प्रेम थापा “मन”
[१४] तीन तले घर छ, एक बिघा जमिन, म हुँ सुकुम्वासी, नक्कली सुकुम्वासी, भएको छ देशमा डन हुकुम्वासी। 🌑एवाइ प्रभात धनकुटा हाल मोरङ
[१५] टाटा सुमो गाडी टहरा अगाडि भएका सुकुमवासी, छत नभएर खाडीमा बेचिने हामी चैँ महल वासी । 🌑राजेशरज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
[१६] सुकुम्वासीको अर्थ गयो अब मासी, जो सुखसँग बस्छ उहीँ सुकुम्वासी । 🌑पुष्पा सुवेदी
[१७] छोराछोरी अष्ट्रेलिया कोही छन् जापान टोकियो, सच्चा सुकुम्वासी भइयो असली बिल्ला बोकियो! 🌑ईमानसिंह के.सि. ब्यास ९,तनहुँ हाल ठूलो भर्यागं,नागार्जुन-२
[१८] हुन्छन् भव्य निवास बस्न जसका कङ्गाल सोही हुने । कस्तो तुच्छ स्वभाव वा नियम हो जानिन्न केही मुने ।। (शार्दूलविक्रीडित छन्दमा) 🌑चूडा निर्भीक
[१९] अँध्यारोमा लुकिछिपी धन्दा गर्ने गर्छु देश मासी, गाडी महल छन् तर पनि बनेको छु सुकुम्वासी । 🌑बाबुराम गौतम गुल्मी
[२०] धनी सम्पन्न भएपनि ट्याग लागेको छ सुकुम्वासीको, कसरी हटाउने हो यो ट्याग आदेश छ हुकुम्वासीको। 🌑दीपक ठटाल जलन खरसाङ
[२१] सुकुम्वासीको छोराछोरी डाक्टर इन्जिनियर हुनु गलगाँडो, घर घडेरी र सुनको सिक्री नै भयो उनिहरूकै लागि घाँडो । 🌑रबि श्रेष्ठ सन्धिखर्क-१, अर्घाखाँची, हाल : बुटवल, रुपन्देही, नेपाल !
[२२] लालपुर्जा छन् कोही कसैको, भन्छन् म हुँ सुकुम्वासी, सरकारी जग्गा हडप्न खोज्छन्, देखिन्छन् हुकुम्वासी। 🌑कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[२३] देशको सुरक्षा गर्दा पनि न घर छ न ठहर छ मेरो , सरकारमा बस्नेले भन्छ फेरि के हो नागरिकता तेरो ? 🌑राजेन्द्र प्रधान ‘पासा,’ दार्जिलिङ, भारत ।
[२४] विदेश जान्न काम गर्छु यै माटो माथि, आमा बुवा कति रोए बुझ सबै साथी ! 🌑आर्त अकुलीन कैलाली
[२५] हुने खाने धनीमानी गर्छन् नाटक सुकुम्वासी, लाज सरम पचाएर भर्छन् पनि रुवाबासी । 🌑त्रिलोचन भण्डारी मेचीनगर, झापा
[२६] म त सुकुम्वासी पो हुँ छैन गाँस कपास, चारतले घर भए नि ! जान्छु वनवास । 🌑रचना मोक्तान “यात्री” नमोबुद्ध न. पा. – ५, काभ्रे ।
[२७] भन्छन् सुकुमवासी हाै घर घडेरी, सुविधा सम्पन्न छ साथमा, छाेरा र छाेरी डाक्टर छन् विदेशमा सार्वजनिक जग्गा हातमा । 🌑शाेभा अाचार्य गाैतम काठमाडौ
[२८] होलान् कति सक्कली, कति नक्कली सुकुमवासी, गाउँ छोडेर शहर बस्ने, होलान् हुकुमवासी ! 🌑बिबस पारदर्शी भद्रपुर झापा,
[३०] सुकुम्वासी बन्न छोराछोरी हुनेपर्ने डाक्टर इन्जिनियर गाडी, हातमा आइफोन गलामा सिक्री लगाए सजिलो हुन्छ रातो साडी । 🌑बुद्धिमान दनुवार सुरुङ्गा ४ झापा
[३१] महल छन् सहरमा, बस्छु झुपडीमा हाँसी, राज्यले दया गरी भन्छ अहो! सुकुमवासी। 🌑खग्रास
[३२] लालाबाला साना हुँदा चारैतिर सम्पत्तिको रवाफ र हर्ष, डाक्टर इन्जिनियर सन्तान भएका सुकुम्वासी वर्षौवर्ष । 🌑अम्विका अधिकारी झापा विर्तामोड
[३३] पैदल हिड्न लाज लागेर गाडी किने टक्क, सित्तैमा पाए सुकुम्वासी हुँ तिमी किन बक्क ? 🌑निरज कोइराला बेलका १ उदयपुर, हाल इटहरी
[३४] ठूलाे रूखकाे ओत लागेस् भन्नुहुन्थ्याे सदैव बाले , झण्डा बाेकी भएको छु सुकुम्वासी म दलकाे भाले । 🌑प्रद्युम्न चालिसे कटुञ्जे भक्तपुर ।
[३५] मस्तिमा छन्, बदनाम गरिरा’छन् केही हुकुम्वासीहरू, पीडा र अभाव झेलिरहेका छन् खास सुकुम्वासीहरू । 🌑मित्र `उराठी´ गाैतम अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा-२,रुपन्देही
[३६] छोराछोरी जर्मनी र अस्ट्रेलियामा नै छन् हेर मेरा, सित्तैमा करोडौँको जग्गा हडप्छु कसले खोज्छ डेरा ? 🌑अस्मिता सापकोटा भरतपुर ४,चितवन
[३७] सन्तान जति विदेशी भए आशा राखी रेमिन्ट्यासको, बुढेसकालमा एक्लै हुन्छन् भर छैन पक्कै अबको। 🌑अर्जुन प्रसाद चौलागाई रामेछाप:-सुनापति-१ हाल:-अमेरिका,बोस्टन।
सुनकोशीको बगरमा छरपस्ट बालुवाजस्तै गरेर बग्रेल्ती रहर बटुल्न लम्किरहेका मेरा पाइतालाहरू कैयौं पटक बालुवामा भासिएका छन् पहरामा चिप्लिएका छन् चट्टानमा ठोकिएका छन् सुनकोशीमा निस्सासिँदै बगेका छन् तैपनि रहरहरु बटुलेर पोल्टोमा राख्ने अथक मेरा कोसिसहरू कहिल्यै पनि पूर्णविराम गरिन र लाग्ने छैनन् पूर्णविराम जबसम्म विश्राम लिने छैनन् चितामा सघर्षशील मेरा यी पाइतालाहरुले !
दाङ, मंसिर २०। लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङमा सारिएको छ। अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्री कार्यालयका सामग्रीहरू स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा सारिएको हो। मुख्यमन्त्रीको कार्यालय र मुख्य सचिव कार्यालयका सबै सामग्रीहरू गए राति दाङ ल्याइएका हुन्। कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने फर्निचरलगायत सामग्रीहरू ट्रकबाट ढुवानी गरी दाङ ल्याइएका छन्। ‘मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने फर्निचरलगायत सामग्री दाङ ल्याइएको छ,’ मुख्यमन्त्रीको सचिवालयका एक कर्मचारीले भने, ‘स्थायी राजधानी कार्यान्वयन गर्न अब अन्तिम चरणका काम भइरहेका छन्।’
मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकालमा दाङबाट मुख्यमन्त्री कार्यालय सञ्चालनमा ल्याउन पहल गरिरहेका छन्। लुम्बिनीको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा अब नयाँ प्रदेशसभा सदस्यको सपथ र सभा सञ्चालनको तयारी पनि गरिएको छ। यहाँ प्रदेश सभा भवन निर्माण कार्य पूरा भइसकेको छ। स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) तोक्ने निर्णय गरे पनि पूर्वाधार अभावको कारण राजधानीको कामकाज अस्थायी मुकाम बुटवलबाटै हुँदै आएको थियो। प्रदेशसभा सदस्यको सपथ र सभा सञ्चालन स्थायी राजधानीमा निर्माण भएको प्रदेशसभा भवनबाट गर्ने योजना लुम्बिनी सरकारको छ। अब नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरुको पनि सपथग्रहण स्थायी राजधानीमै गर्ने तयारी थालिएको छ। अब नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरुको सपथ, प्रदेशसभा भवनमा सदन सञ्चालन गर्ने जिम्मेवारी प्रदेश सरकारको भएको स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले बताए। ‘प्रदेश सभाले निर्णय गरिसकेपछि कार्यान्वयन गर्ने जिम्मेवारी पूरा गर्न थालिएको हो,’ उनले भने, ‘प्रदेश सरकारका सबै काम दाङबाटै सुरू गर्ने अन्तिम तयारी भइरहेको छ।’ प्रदेश सभाको दुई तिहाइ मतले निर्णय गरेको विषय आफूहरुले कार्यान्वयन मात्रै गर्न लागेको उनले बताए। दाङमा यसअघि नै दुई मन्त्रालय आइसकेका थिए। तर काम भने बुटवलबाट हुँदै आएको थियो। निर्वाचन आचारसंहिता निस्कृय हुनेवित्तिकै औपचारिक कार्यक्रम गरेर स्थायी राजधानीलाई कार्यान्वयनमा ल्याउने तयारीमा सरकार जुटेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद बस्ने भवन मर्मतको काम भइरहेको छ। राप्ती प्राविधिक शिक्षालयले प्रशिक्षणको लागि प्रयोग गर्दै आएको भवनलाई मर्मत गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बनाउन लागिएको हो। प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले मन्त्रिपरिषद्को कार्यालय तत्काल तयार पार्ने योजनाअन्तर्गत काम भइरहेको बताए। यहाँ साना ठूला गरी २४ वटा भवन तयारी अवस्थामा छन्। प्राविधिक शिक्षालय राप्तीपारिको गढवा गाउँपालिकामा स्थान्तरण गरिसकिएको छ। लुम्बिनी प्रदेशको नाम र स्थायी राजधानी सार्ने निर्णय २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले गरेको थियो।