
साताका तीन लघुकथा हिमालयन दृष्टि अनलाइन पत्रिकामार्फत सञ्चालित एक नियमित स्तम्भ हो । नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित गरिएका लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथा छ्नोट गरी प्राप्त हुन आएका लघुकथाहरू यहाँ प्रकाशन गर्ने गरिन्छ । यस साता प्रकाशित हुने लघुकथाहरूमा लघुकथाकार तुलसी पण्डितको ‘पैसा’, लघुकथाकार सरण राईको ‘गुट’ र लघुकथाकार राजन ग्याल्दाङ घलेको ‘बुर्जुवा शिक्षा’ रहेका छन् ।
१) लघुकथा : पैसा

✍️तुलसी पण्डित
धन्न खरदारले राम्रै सरकारी कार्यालय भेट्टाएछन् र खरदार्नीले मान्छे कजाउन पाएकी छन् ।
निरमायाले उनको घरमा काम गरेको केही समय भयो । खरदार्नीको घरको सबै काम उसैले गर्नुपर्थ्यो । त्यति हुँदापनि खरदार्नी बजैको चित्त बुझेको थिएन । उनी निरमायालाई गाली गरिरहन्छिन् । के गर्ने ऊ विवश छे गरिबीले ।
एकदिन निरमायाले छोरो बिरामी भएकोले तलव अगाडि दिन अनुरोध गरिन् । अँह बज्यैले दिइनन् । झन् उल्टो सराप्न थालिन् । निरमायाको मन भाँच्चियो । ऊ अर्को दिनबाट काममा आउन छोडी । उसले अग्रिम पैसा लिएर अन्तै काम खोजी ।
यता खरदार्नी बजैलाई समस्या भयो । घरको यावत् काम आफैँले गर्नु पर्दा बल्ल उनले सम्झन थालिन्, निरमायालाई । निरमायाले कसरी यति धेरै घरको काम गर्न सकेकी होली । उसले बुढालाई भनेर निरमायालाई लिन पठाइन् ।
“निरमाया अन्तै काममा लागि सकिछन् ? ” “ल बुढा त्यसो भए अर्कै मान्छे खोजेर ल्याऊँ । म घरको काम गर्दागर्दै आजित भैसके ।” बुढाले मान्छे खोजेर ल्याए । तर फित्तिकै काम न गर्ने । केही कुरा भने मुखमुखै लाग्ने । खरदार्नी बज्यैलाई काममा कत्ति चित्त बुझेनछ । उनले भनिन्, “भो भोलिदेखि तँ काममा नआइज ।”
केही समयपछि बजार जादा निरमायालाई भेटिन् खरदार्नी बज्यैले । “निरमाया तिमी आउने भए म पहिलेभन्दा दोब्बर पैसा दिनेछु ?”
उसले भनि । “पैसा नै ठूलो कुरा हैन नि बज्यै ।”
२) लघुकथा : गुट

✍️ सरण राई
रित्ता गाग्रीहरूले गुट बनाए । एकापसमा ठाेक्किएर चर्काे आवाज निकाल्न सक्ने भए र चर्चाको शिखरमा पुगे । ती आवाजलाई साहित्य भने । कोहीले सङ्गीत भने । धेरैजसाेले सार्वभौम राजनीति भने । रित्ताहरू शक्तिशाली रित्ता देखिन थाले ।
भरिएका गाग्रीहरू भने रित्ताहरूझैँ हल्ला गर्न नसकी चुपचाप रित्ताहरूका यस्तो चर्तिकला चुपचाप हेरिरहेका हुन्थे ।
२०७५/८/२२
सुमेरु अस्पताल,धापाखेल
३) लघुकथा : बुर्जुवा शिक्षा

✍️ राजन ग्याल्दाङ घले
शिशिर र वसन्त स्कुले सहपाठी थिए । शिशिर गरिब किसानको र वसन्त मास्टरका छोरा थिए ।
एकको पढाइ मध्यम स्तरको थियो भने अर्कोको अब्बल । जो बाउबाट प्रेरित भई कक्षा १ देखिनै सधैँ प्रथम हुन्थ्यो ।
दुवैले माध्यमिक शिक्षा त उत्तीर्ण गरे । तर किसानको छोरो पास मात्र भयो भने मास्टरको छोरोले स्कुल टप गर्यो ।
गाउँमा एक जना कर्मचारी चाहिँएको सूचना निस्कियो । दुवैले जागिरका लागि निवेदन हाले ।
“मेरो स्कुल टपर छोरोलाई टक्कर दिने, त्यो नाथे दरिद्रका सन्तानले, हा हा !” किसानको छोरोले दरखास्त दिएकोमा मास्टरले खिल्ली उडायो ।
छनोट प्रमुख अधिकारीले छनौट प्रक्रिया सञ्चालन गरी रिजल्ट निकाले । जागिर शिशिरको पोल्टोमा पर्यो । यो देखेर मास्टरलाई सहिनसक्नु भयो ।
“के हो प्रमुख ज्यू, जाँबो दोस्रो डिभिजन ल्याई पास गरेको त्यो शिशिरेले जागिर पाउने ? मेरो स्कुल टपर छोरा फेल हुने । यो कस्तो छनोट प्रक्रिया हो ? यसमा सरासर तपाईहरूको राजनिति खेल छ ।” आक्रोशित हुँदै मास्टरले प्रमुख अधिकारीलाई भन्यो ।
मुस्कुराउँदै प्रमुख अधिकारीले भने, “मास्टर साहेब ! तपाईले आफ्नो छोरालाई सैद्धान्तिक ज्ञान त अथाह दिनुभएछ । तर व्यावहारिक ज्ञान, सीप दिन भुल्नुभएछ । यो त्यसैको परिणाम हो ।”
२०७९/०८/२२
धार्चे- ६ काशीगाउँ ,गोरखा
हाल – गुन्मा ,जापान

