• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: समाज

इस्लामिक दावा सेन्टर सनैया जेद्दाद्वारा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

  • ७ मंसिर २०८२, शनिबार ०९:५१ मा प्रकाशित

  • जेद्दा, साउदी अरब ! साउदी अरबको जेद्दा स्थित सनैयामा रहेको इस्लामिक दावा सेन्टरको नेपाली बिभागद्वारा गत २१ नोभेम्बर शुक्रबारका दिन नेपाली श्रमिकहरू बीच एक आपसी भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न गरेको छ।

    नेपाली महावाणिज्य दूतावास जेद्दाका महावाणिज्य दूत पारस पण्डितको प्रमुख अतिथ्यमा दावा सेन्टरका नेपाली विभागका प्रमुख मन्जुर अलि मियाँको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। सनैया स्थित श्रमिक नेपाली दाजुभाईहरूको उपस्थितिमा एकआपसी भेटघाट तथा परिचय गराउने उद्देश्यका साथ गरिएको उक्त कार्यक्रममा अतिथिहरूमा एनआरएनए साउदी अरबका उपाध्यक्ष राजगिरी, एनआरएनए आरसीसी जेद्दाका कार्यवाहक अध्यक्ष चिरञ्जीवी बस्नेत, साझा मञ्च साउदी अरबका उपाध्यक्ष तेजबहादुर सिन्दुली, सेन्टरका इन्चार्ज इब्राहिम अबु खालिद रहेका थिए !


    रमजान दिन मियाँद्वारा संचालित उक्त कार्यक्रम अलि अख्तरले कुरानिक आयत पढेर सुरु गरिएको थियो ! सेन्टरका इन्चार्ज अबु खालिदले स्वागत गरेका थिए ! छोटो छोटो मन्तव्य दिने क्रममा आफ्नो सेन्टरको उद्देश्य, सेन्टरले गर्ने कामहरु र नेपालीहरुका लागि सेन्टरले गर्ने साथ सहयोग तथा ईस्लाम प्रतिको आस्था संबन्धी सेन्टरका नेपाली बिभागका प्रमुख मन्जुर अलि मियाँले जानकारी गराएका थिए ! अतिथिहरु सबैले आ आफ्नो परिचय दिदैं सेन्टरले समय समयमा नेपाली दाजुभाइहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रमका साथै खेलकुद कार्यक्रम गर्दै नेपालीहरुलाइ एकजुट गराउन सहयोग गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेकाथिए ।


    प्रमुख अतिथी महाबाणिज्यदूत पारस पन्डितद्वारा कार्यक्रममा उठेका केही श्रमिक समस्याहरुको जवाफ दिदै यस्तो श्रमिकमुखी कार्यक्रम गरिएकोमा सेन्टरलाइ धन्यवाद दिएका थिए ! श्रमिकहरुलाइ कुनैपनि समस्या परेमा दूतावासको नम्बरमा कल गर्न र म्यासेज गर्न अनुरोध गर्दै श्रमिक समस्या समधानमा महाबाणिज्यदूताबास जेद्दाले कुनै कसर बाकी नराख्ने पनि जानकारी गराए ।
    कार्यक्रममा सेन्टरद्वारा प्रमुख अतिथिलाइ मायाको चिनो दिदैं कार्यक्रम समापन गरिएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    उपकार सेवा नेपालद्वारा भगवाननगर आश्रमका आश्रितलाई मासिक खाद्यान्न तथा जिन्सी सामग्री सहयोग

  • ३ मंसिर २०८२, मंगलवार ११:३५ मा प्रकाशित

  • उमेश कुशवाहा, वीरगञ्ज

    २ कार्तिक,
    उपकार सेवा नेपालले सधैंझैँ ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित १८ जना अपाङ्ग, सुस्त मानसिक अवस्था भएका व्यक्ति, वृद्ध–वृद्धा, आमा–बुवासहित बालबालिकाका लागि आवश्यक दैनिक उपभोग्य सामग्री वितरण गरेको छ।

    आश्रितहरूको नियमित उपभोगका लागि चामल, दाल, खानेतेल, नून, बिस्कुट, मसुर दाल, मुङ दाल, स्वाबिन, चना, अचार, सर्फ, लुगा धुने साबुन, नुहाउने साबुन, डाइपर, धनिया, खुर्सानी, बेसार तथा अन्य खाद्यान्न र जिन्सी सामग्रीहरू संस्थाद्वारा उपलब्ध गराइएको हो।

    आश्रयस्थलका सदस्य रामबहादुर थिङलाई घरमै बोलाई एक सानो कार्यक्रममार्फत संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारूले उक्त सामग्रीहरू हस्तान्तरण गरेका छन्।

    उपकार सेवा नेपालले आश्रममा आश्रित व्यक्तिहरूको आधारभूत आवश्यकता पूरा गर्नका लागि हरेक महिना खाद्यान्न तथा अन्य जिन्सी सामग्री प्रदान गर्दै आइरहेको छ।

    Posted in समाज

    १३ वर्षीया छोरीको शव खोज्दै सात दिनदेखि धाइरहेका बाबुआमा।।

  • १८ कार्तिक २०८२, सोमबार २०:३६ मा प्रकाशित
  • कपिलवस्तु — सडक दुर्घटनामा निधन भएकी आफ्नी १३ वर्षीया छोरीको शव खोज्दै एक दम्पती सात दिनदेखि जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु धाइरहेका छन् ।

    भारतको सिद्धार्थनगर बर्डपुर घर भई कपिलवस्तुको मायादेवी–१ पकडीमा मजदूरी गर्दै आएका हरिचन्द्र मल्लाह र उनकी श्रीमतीले प्रहरीमा बारम्बार गएर जाहेरी दिन खोजे पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।

    मल्लाह दम्पतीका अनुसार, कात्तिक २ गते लु.१ क ५७८० नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरूको १३ वर्षीया छोरी खुशी मल्लाहको मृत्यु भएको थियो । तर प्रहरीले शव उनको नाममा दर्ता नगरी घरबेटी पर्शुराम तेलीका छोरा पिन्टु तेलीलाई “श्रीमान्” भन्दै जिम्मा लगाएको पीडित पक्षको आरोप छ ।

    ‘मेरी छोरीको विवाह नै भएको थिएन। प्रहरीले नक्कली अभिभावक खडा गरेर हाम्रो दुःख बढायो,’ बाबु हरिचन्द्र मल्लाहले आँसु झार्दै भने ।

    घटनाको पृष्ठभूमि

    पीडित मल्लाह दम्पती कात्तिक १ गते भारतस्थित आफ्नै घरमा धान स्याहार्न गएका थिए । उनले छोरी खुशीलाई स्थानीय पर्शुराम तेलीको जिम्मा लगाएका थिए । त्यसको भोलिपल्ट साँझ ट्रकको ठक्करबाट बालिकाको मृत्यु भयो ।

    तर जब मल्लाह दम्पती कात्तिक ८ गते फर्किए, उनीहरूले छोरीको मृत्यु र शव पहिले नै अरूलाई बुझाइएको थाहा पाए ।

    गैरजिम्मेवार प्रहरी र विवादास्पद शव बुझाइ

    प्रहरी स्रोतका अनुसार, नाता प्रमाणित गर्ने कुनै पनि कागजात नहुँदा पनि जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका एसपी सन्तोष आचार्यको निर्देशनमा शव पिन्टु तेलीलाई बुझाइएको थियो ।
    एक प्रहरी अधिकृतले नाम नखुलाउने सर्तमा भने, “माथिबाट दबाब आएपछि शव बुझाइयो ।”

    पीडित परिवारले जाहेरी नदर्ता भएपछि हुलाकमार्फत पनि जाहेरी पठाए, तर प्रहरीले त्यो समेत बेवास्ता गरेको उनीहरूको भनाइ छ ।

    ‘मेरी छोरीको लाश कहाँ छ—जलाइदिए कि गाडे ? कि फालिदिए ? कम्तीमा अन्तिम पटक हेर्न पाए हुन्थ्यो,’ भन्दै आमाले बिलौना गरेकी छन् ।

    प्रहरीको भनाइ

    मामिला हेर्दै आएका प्रहरी नायब निरीक्षक सुशिल केसीले “शव श्रीमान् दाबी गर्ने पिन्टुलाई बुझाइएको” बताए । तर उनले नाता प्रमाणित गर्ने कागजात नभएको स्वीकारे ।
    सभार:- जनआस्था

    Posted in Uncategorized, मुख्य खबर, समाज

    मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु !

  • ८ कार्तिक २०८२, शुक्रबार २३:३० मा प्रकाशित
  • वालिङ (स्याङ्जा)। आज पुतलीबजार नगरपालिका–१४ आमडाँडामा मोटरसाइकल दुर्घटना हुँदा सोही वडाको लामागे लम्सालडाँडाका ४५ वर्षीय माधव लम्साल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल नेपालीले जानकारी दिए।

    पुतलीखेत–सतौँ जोड्ने भित्री पक्की सडकखण्डमा लु५९प ३७९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। सातौँबाट पुतलीखेततर्फ आउने क्रममा ओरालो सडकबाट मोटरसाइकल अनियन्त्रित भई झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

    दुर्घटना परी गम्भीर घाइते भएका लम्साललाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पु्र्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक लम्साल हाल राष्ट्रिय कृषि परियोजना एकाइ कार्यालय पोखराको कार्यालय प्रमुख थिए।

    Posted in मुख्य खबर, समाज

    सिर्जना साँस्कृतिक समुह साउदी अरबियाद्वारा शुभदीपावालीको शुभकामना आदानप्रदान ,देउसी भैलो कार्यक्रम गर्दै

  • २ कार्तिक २०८२, शनिबार २०:३८ मा प्रकाशित
  • रियाद, साउदी अरब ।

    नेपालीहरुको महान पर्व दशैं तथा शुभ दिपावलीको पावन अवसर पारेर यहि आउँदो अक्टोबर २४ तारिक शुक्रबारका दिन साउदी अरबियाको होटल यास्मिनमा सिर्जना साँस्कृतिक समुह द्वारा शुभदीपावालीको शुभकामना आदानप्रदान ,देउसी भैलो तथा स्थानिय कलाकार द्वारा विविध साँस्कृतिक प्रस्तुति कार्यक्रम” भव्य रूपमा आयोजना गरेको छ ।

    सिर्जना साँस्कृतिक समुह साउदीले नेपालीहरुलाई आफ्नो चार्डबार्ड र संस्कृतलाई उजागर गर्ने उद्देश्यका आयोजित उक्त कार्यक्रममा साउदी अरेबियामा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिता जनाउन हार्दिक निमन्त्रणा गरेको छ ।

    यसै पावन अवसरलाई मध्यनजर गर्दै “२०११ साल देखि निरन्तर हाम्रो कला – साँस्कृति ,सिर्जना बचाउने अभियान” हाम्रो कर्मभुमीमा भन्ने मुल नाराका साथ अगाडि बढ्दै आएको साँस्कृति समुहको चौंथो अधिवेशन समेत हुन लागेको उक्त समुहले जनाएको छ भने बिबिध कला ,साँस्कृति , सिर्जनामा आबद्ध हुन चाहने नेपाली दाजुभाई दिदिबहिनी तथा साथीहरूले यथासिघ्र सम्पर्क गरि समुहमा आबद्द हुन पनि अनुरोध गरेको छ ।

    हाम्रो कला ,साँस्कृति तथा सिर्जना संरक्षणमा योगदान दिन र साझा पहिचानलाई मजबुत बनाउन, सम्पूर्ण नेपालीहरुको उपस्थिति महत्वपूर्ण रहेको जानकारी गराउँदै कार्यक्रममा उपस्थित हुन सम्पर्कका लागि आफ्नो समुहको सम्पर्क नम्बरहरु पनि सार्बजनिक गरेको छ ।

    कार्यक्रम विवरण च –

    स्थान: होटल यास्मिन, रियाद, बथा साउदी अरेबिया
    मिति: २४ तारिख
    समय: दिउँसो १२ बजे देखि साझँ ७ बजे सम्म

    सम्पर्क व्यक्तिहरु
    अमृत पौडेल-056 056 4003
    दीपक रेग्मी-059 984 1724
    नागेश तामाङ -054 130 7153
    कमल शाहि -053 978 1398
    भीम बिश्वकर्मा -0570240353
    संजोक पाण्डे -0544131826
    राज चेम्जुङ लिम्बु – 054 506 0749
    लाल सिर्पाली -0575384157
    राज यात्री -0597964642
    अ्मृत घिसिङ -057 052 0332

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    साउदी अरबको जेद्दामा देउसी-भैलो कार्यक्रम २०२५ आयोजना हुँदै

  • १ कार्तिक २०८२, शुक्रबार १९:३१ मा प्रकाशित
  • जेद्दा । साउदी अरब।

    गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, जेद्दा, साउदी अरब (NRNA, RCC, JEDDAH, KSA) को आयोजनामा २४ अक्टोबर २०२५ तदनुसार २०८२ साल कार्तिक ७ गते शुक्रबार का दिन नेपालीहरूको महान् पर्व दशैं तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान तथा देउसी-भैलो कार्यक्रम – २०२५’ आयोजना हुने भएको छ ।

    नेपालीहरूको महान पर्व दशैं तथा शुभ दीपावली को अवसर पारेर विदेशमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीहरूलाई शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागेको उक्त कार्यक्रममा संघले साउदी अरबमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उल्लेखित स्थान र समयमा उपस्थित भईदिनुहुन हार्दिक निमन्त्रणा गरेको छ।
    अक्टोबर २४ तारिख शुक्रबार हुने उक्त कार्यक्रम साउदी अरबको जिद्दास्थित लक्की दरबार रेस्टुरेन्ट सरफियामा दिनको १ बजेदेखि सुरु हुने जनाइएको छ।

    विगतका वर्षहरूमा पनि यस्तै कार्यक्रमहरू गर्दै नेपाली दाजुभाईहरूलाई आफ्नै चाडबाडको अनुभव महसुस गराएको संघले जनाउँदै गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, जेद्दा, साउदी अरबले यो वर्षपनि उक्त कार्यक्रम आयोजना गरेको जनाइएको छ। कार्यक्रममा उपस्थित हुनुभएका दाजुभाई तथा दिदीबहिनीहरूलाई भरपुर देउसी भैलो संस्कृतिक कार्यक्रमले मनोरञ्जन दिनुको साथै नेपाली परिकारहरू सेल रोटी तथा खानाको पनि व्यवस्था रहेको आयोजक संघले जनाएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    धनगढी To काठमाडौँ

  • १९ आश्विन २०८२, आईतवार १८:४८ मा प्रकाशित
  • ✍️तुल्सी राम आचार्य
    धनगढीदेखि काठमाडौँ जाने पुरानो, थोत्रो बस खचाखच भरिएको थियो। खाल्टाखुल्टी, खोलानाला, हिमाल र पहाडको खोचहरू पार गर्दै त्यो बस काठमाडौँसम्मको गन्तव्यतर्फ लम्कँदै थियो।
    आफ्नो सिट संख्याभन्दा धेरै यात्रु गाडीभित्र राखेकाले वा पुरानो गाडी भएकाले होला गाडीको गति धीमा थियो।
    गाडीमा यात्रारत यात्रुहरूमध्ये केही बुढा बुवाआमा यात्रुगनहरुले आफ्नै भाग्यलाई कोस्दै “भाग्यमै यो थोत्रो गाडी परेको रहेछ हामीलाई त,…. भन्दै हुनुहुन्थ्यो। उक्त बसमा करिब दश–पन्ध्र जना युवा पनि थिए — प्रायः १५–२५ वर्ष उमेर समूहका — जो नौलो सोच र उग्र जोशले भरिएका थिए।

    उनीहरूलाई बसको अवस्था र गति मन परिरहेको थिएन; अझ साँच्चै भन्ने हो भने त ड्राइभर सिटमा बसेका बुढा चालकप्रति उनीहरूको विश्वास कतै थिएन।
    धनगढीदेखि अगाडि बढेको बस जसरी—तसरी बामे सर्दै— कोहलपुरसम्म आइपुगेको थियो। तर गाडीको गति र अवस्था हेर्दा उनीहरू असन्तुष्ट थिए। बाटैमा गाडी रोकेर ती युवा आक्रोशमा झन् झन् उग्र भए: चालकलाई सिटबाट थुत्दै अपमानजनक तरिकाले घिसार्न थाले।
    गाडीमा एकछिन माहोल बिग्रियो। त त म म भन्दै तथानाम गालीगलोज ओहोरदोहोर चल्यो अनि त्यही रिसको आवेगमा उनीहरूले गाडीमा रहेको अतिरिक्त टायर जलाइदिए, सबै सिसाहरू फुटाइदिए र केही सिटहरू पनि तोडफोड गरे। यो ताण्डव देखेर बसभित्रका वृद्धहरूले शान्त स्वरमा बिन्ती गरे — “भाइहरू, तोडफोड नगर, आगजनी नगर; यो गाडी हामीलाई गन्तव्यसम्म पुर्‍याउन चाहिन्छ। यदि तिमीहरूलाई चाहियो भने तिमीले चाहेको मानिसलाई चालक सिटमा राखिदेऊ र गाडीको चाबी पनि तिमीहरू नै रेखदेख गर।

    बुढापाका आमाहरूको त्यो आग्रह सुनेपछि ती जोशीला युवा बीचबाट चालक अनुमतिपत्र नभएका कुनै एकयुवालाई चालक सिटमा राखी विजय ताण्डव गर्दै शोर सराबा र होहल्लाका बीचमा बस फेरि अघि बढ्यो। आजै मौसम विभागले सूचना जारीगरे अनुसार कपिलवस्तुदेखि पूर्वी जिल्लाहरूमा आरी घोप्टे वर्षा आँकलन गरिएको छ जस अन्तर्गत खोलानाला बढ्न सक्ने पहाडमा पहिरो खस्न सक्ने र यसबाट राजमार्गहरूमा यात्रा गरिरहेका यात्रुहरूलाई जनधनको क्षति पुग्न सक्ने भनी चेतावनी जारी गरिएको छ। तर बस अघि बढ्दैछ….

    🚌 पुरानो थोत्रो गाडी –

    देश (नेपाल) को प्रतीक हो। जति भए पनि अगाडि बढिरहेको छ, तर धेरै पुरानो भइसकेको, प्राविधिक रूपमा बिग्रन लागेको, मर्मत नपाएको, अस्तव्यस्त गाडी।

    👴🏼 बुढा चालक –

    पुराना नेताहरू, सम्भवतः लामो समयदेखि सत्तामा बसेका तर थाकेका, अलिकति अलमलिएका, जनताको विश्वास गुमाएका नेतृत्वकर्ताहरू।

    👵🏻 बाआमा दाजुभाई (शान्त नागरिक) –

    साधारण जनता, जसले तिनका दु:ख, बेथिति, असुविधालाई “मेरो भाग्य यस्तै” भनेर स्वीकृति दिइरहेका छन्। निष्क्रिय सहनशीलता देखाएका छन्।

    👦🏽👧🏼 १५–२५ वर्षका नानीबाबु (नयाँ पुस्ता/युवा) –

    नयाँ पुस्ता, जसमा जोश छ, परिवर्तनको इच्छा छ, तर संयम र दिशाबोध कम छ। उनीहरू पुरानो व्यवस्थाबाट त आजित छन्, तर नयाँ विकल्प के हो भन्ने स्पष्ट छैन।

    🔥 गाडी जलाउने, तोडफोड गर्ने घटना –

    नयाँ पुस्ताको अराजक विद्रोह, जसमा व्यवस्थाको अस्वीकार छ तर सकारात्मक निर्माणको योजना छैन। यस्तो अन्ध-आक्रोशले गन्तव्य पुग्न गाह्रो बनाउँछ।

    😟 बाआमाको अनुरोध: “गाडी नबिगार, चालक अनुमतिपत्र लिएर तिमीहरू नै चलाऊ” –

    पुरानो पुस्ताको आग्रह — परिवर्तन गर, तर संरचना नबिगार। देश चलाउने प्रणाली रहनु जरुरी छ; नेतृत्व फेर्नुपर्छ, व्यवस्थालाई सधैंको लागि जलेर सक्ने होइन।

    👨‍🔧 बिना लाइसेन्स तर जोशिला चालक –

    अवैधानिक,अनुभव नभएका, तर जोशिला, अलि “छिट्टै विश्वास गर्न नसक्ने” नयाँ नेतृत्व — जसले राजनीतिमा प्रवेश त गरे तर गहिरो योजना, नीति, र दृष्टिकोण बिना सत्ता सम्हाल्न लागे।

    Posted in मुख्य खबर, लोकप्रिय, समाज

    देशको माया र पसिनाको मूल्य

  • १२ आश्विन २०८२, आईतवार १७:३१ मा प्रकाशित
  • ✍️— तुल्सी राम आचार्य
    वैदेशिक रोजगारीको सिलसिलामा मध्यपूर्वमा आएको पनि दशकौं भइसकेछ। बिहान–बेलुकीको धपेडी उस्तै हुन्छ, रुटिन उस्तै हुन्छ, घामको ताप र पसिनाको गन्ध उस्तै छ… यिनै सबैसँग यहाँ जीवन कटिरहेको छ। आफ्ना परिवार, समाज र देशको लागि मरिमेटी पसिना बगाइरहेका छौं; हरेक महिनाको अन्त्यमा केही रकम ‘रेमिट्यान्स’को रूपमा स्वदेश पठाइरहेका छौं।
    काम सकेर थकाइले चुर हुँदै बासस्थान फर्किने बेला, गर्मीले चुत्रुक्क भिजेको शरीर लिएर बस कुर्दै गर्दा मेसेञ्जरमा छोरीको तोते बोलीमा आउने “बाबा…” भन्ने सम्बोधनले सबै थोक बिर्साइदिन्छ। त्यो मुस्कान, त्यो शब्द—थकान, पीडा र विछोडको भार बगाएर लैजान सक्ने रहेछ।

    तर म यहाँ कुनै सम्पन्न देश वा सम्पन्न व्यक्तिको सहानुभूति खोजेर बसेको छैन। मलाई त केवल यति थोरै आश्वासन चाहिएको छ—मेरो गाउँ, मेरो सहर, मेरो समाज शान्त होस्; मेरो जीवन र पसिनाको सुरक्षा सुनिश्चित होस्।
    म जान्दछु, आन्दोलनले मेरो चुलो बल्दैन। यदि बल्ने भए—२०४७ सालदेखिको तर्स्याउने क्रियाकलाप, तोडफोड र भरपर्दो नभएका आश्वासनहरूले मेरो जीवनमा केही वास्तविक परिवर्तन ल्याइदिएको हुन्थ्यो। मैले ती आन्दोलनहरू देखेँ—संगठित हुन पाएनँ, तर नतिजाको प्रतीक्षामा रहिरहेँ।
    २०४७ मा भयो—राजनीतिक आन्दोलन। केही व्यवस्था फेरिएझैं देखियो।
    २०६३ मा भयो—लामो र तिखो जनयुद्ध। हजारौंले ज्यान गुमाए, अर्बौंको आर्थिक क्षति भयो। नियम-कानुन र संविधानमा केही संशोधनहरू भए होलान्, तर गरिबको भाग्य फेरिएन।
    जसले तोडफोड गरे, तिनलाई प्राय: राजनीति नामकै छाताले बचाइदियो। ‘क्रान्तिको नाममा’ भनेर कानुनी कारबाहीबाट उन्मुक्ति दिइयो। समय बित्यो, अनि हामी फेरि बिर्सियौं।

    आज फेरि आन्दोलन हुँदैछ। फेरि तोडफोड हुँदैछ। फेरि सार्वजनिक सम्पत्तिमा आगो लाग्दैछ। र फेरि हामीलाई भनिँदैछ—“यो त देशको भविष्यका लागि हो।” अनि गृहमन्त्री बोल्छन्: तोडफोड गरिनेलाई कारबाही गरिनु हुँदैन।

    यो स्वीकार्य छैन। कानून र सुरक्षाको प्रश्नमा दुईतर्फी मापदण्ड हुँदैन। सार्वजनिक शान्ति, व्यक्तिगत सुरक्षा र आर्थिक आधारभूत संरचनाको रक्षा गर्दै न्याय कायम गर्नु सबै नागरिकको पहिलो कर्तव्य हो—राजनीतिक स्वार्थ होइन। आन्दोलनले बोल्न पाउनुपर्छ; तर त्यो बोलाइले जीवन र सम्पत्तिमा क्षति पुर्‍याउनु हुँदैन, र दोषीहरूले राजनीतिमा सक्रिय भएकै कारण वा आधारमा छुट पाउनु हुँदैन।

    हामीले अब प्रश्न उठाउनुपर्ने बेला आयो—के हामी वास्तवमा परिवर्तन चाहन्छौं, कि केवल ‘अर्को पटक’ को लागि बहाना? के हाम्रो लक्ष्य तोडफोड र अस्थिरता हो, कि न्याय, विकास र सुरक्षा हो? छुट वा संरक्षण पाउनेहरूको सूची लामो रहिरहेसम्म, असल परिवर्तनका लागि भरोसा कसरी फर्किन्छ?

    देशको माया झन्डा फहराउनेभन्दा ठूलो हो—देशलाई जिम्मेवार नेतृत्व, उत्तरदायी शासन र सुसम्बन्धित न्यायिक प्रक्रिया चाहियो। मेरो पसिना र अनेकौं परिवारको बलिदानले त्यस्तो भविष्य चाहिन्छ जहाँ अरूले ‘क्रान्ति’को नाममा अमान्यतालाई धर्म नदिएर जवाफदेही बनून्।
    हामी चुप बस्ने समय सकियो — आवाज उठाउनै पर्दछ; तर आवाजले विनाश ल्याउनु हुँदैन, न्याय र इमानदारी माग्नुपर्छ। त्यसो भए मात्रै मेरो र तपाईंको पसिना असल तरिकाले मुल्यवान हुनेछ।

    Posted in मुख्य खबर, विचार, समाज

    जेन जेड आन्दोलनमा क्षति पुगेको गण्डक प्रहरी चौकीलाई आवश्यक सामग्री सहयोग

  • ७ आश्विन २०८२, मंगलवार ०९:३२ मा प्रकाशित
  • उमेश कुशवाहा, वीरगञ्ज
    जेन जेड आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा क्षति पुगेको वीरगञ्जस्थित गण्डक प्रहरी चौकीलाई आवश्यक सामग्री सहयोग गरिएको छ।

    उत्कर्ष नेपाल, उपकार सेवा नेपाल र वीरगञ्ज पब्लिक कलेजको संयुक्त पहलमा चौकी सञ्चालनका लागि आवश्यक सामानहरू हस्तान्तरण गरिएको हो। सहयोग स्वरूप कुर्सी, टेबल, चालकलाई प्रयोग हुने सामान, पानी तान्ने इलेक्ट्रिक मोटर, बेडसिट, डसना, तकिया, खाना पकाउने भाँडाकुडा लगायतका सामग्री उपलब्ध गराइएका छन्।

    यी सामग्रीले दैनिक कार्यालय सहज सञ्चालनमा ल्याउन, सेवाप्रवाहलाई सहज बनाउन र कानून-व्यवस्थालाई सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    यस योगदानमा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य सुमन बगेडिया, संरक्षक पद्मा देवी सरावगी, समाज सेवी प्रकाश थारू, बिरगंज पब्लिक कलेजका दीपक शाक्य र उत्कर्ष नेपालको सम्पूर्ण टिमको सक्रियता रहेको थियो।


    Posted in ताजा अपडेट, समाज

    अन्तरिम सरकारको श्रममन्त्रीको चर्चामा प्रोफेसर रमजान अलि मियाँ

  • ४ आश्विन २०८२, शनिबार १७:३२ मा प्रकाशित
  • काठमाडौं । नेपालमा जेन जिको आन्दोलन पछि गठित वर्तमान सरकारमा मन्त्री बनाउन विभिन्न व्यक्तित्वहरूको नाम चर्चामा भइरहेका बेला मुस्लिम समुदायबाट प्राध्यापक डा. मोहम्मद रमजान अली मियाँको नाम श्रम मन्त्रालयका लागि सिफारिस भएको जानाकारीमा आएकोछ ।

    काठमाडौंको डाँछीमा जन्मिएका मियाँले अरबी साहित्यमा डबल एमए गरी उच्च शिक्षा हासिल गरेका छन् । सन् २००७ यता कतारलाई कर्मथलो बनाएर उनी श्रमिक अधिकार संरक्षण, उद्धार र सहायतामा क्रियाशील छन् । नेपाली मात्र नभई दक्षिण एसियाली श्रमिक समुदायबीच पनि उनी विश्वसनीय नामका रूपमा परिचित छन् ।

    कर्मभूमि कतारमा लामो समयदेखि मानवअधिकार र श्रमिक अधिकारको क्षेत्रमा सक्रिय रहेर अनगिन्ति श्रमिकहरुको हकहितका लागि काम गरेका मियाँले नेपाल–कतार सम्बन्ध सुदृढ बनाउन उल्लेख्य योगदान पुर्याउँदै आएका छन् । वैदेशिक रोजगारीको क्षेत्रमा आम श्रमिक र युवाको आवाज बनेका उनी लेखक, अनुवादक, समाजसेवी, कानुनी परामर्शदाता मात्र नभई राष्ट्रिय मानव अधिकार समिति कतारसँग पनि आवद्ध छन् ।

    उनका अरबी, नेपाली, उर्दू, हिन्दी भाषामा तीन दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । फारसी, मलेसियन, पस्तु, नेपाली, अंग्रेजी र हिन्दी भाषामा दक्ष मियाँ श्रम ऐन र श्रमिक अधिकार विषयक अनुसन्धानका कारण कतारमा सम्मानित व्यक्तित्व मानिन्छन् । उनलाई कतार सरकारले समेत दर्जनौँ पटक सम्मान गरिसकेको छ ।

    उनी पछिल्लो पटक जेन जी अभियानमा सहभागी हुन कतारबाट काठमाडौ आएका थिए र आन्दोलनमा प्रत्यक्ष सहभागी भएर आफुले सक्दो सहयोग पनि गरेका थिए ।

    २०७२ को भूकम्पताका उनले आधा घण्टाको टेलिभिजन अपिलमार्फत ३२ मिलियन कतारी रियाल संकलन गरी नेपाल पठाएका थिए । कोरोना महामारीताका पनि उनले कतार सरकारबाट नेपाललाई ठूलो परिमाणमा मेडिकल सामग्री सहयोग पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । नेपालमा कतार च्यारिटी र कतार डेभलपमेन्ट फन्डमार्फत विभिन्न सहयोग ल्याउन उनको योगदान रहँदै आएको छ । कतारी अमिर लगायत विभिन्न उच्च व्यक्तित्वको नेपाल भ्रमण मिलाउन उनले बलियो कसरत गरेका समेत थिए ।

    भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलाम फाउन्डेसनले यस वर्षको अरबी साहित्य तथा समाजसेवा सम्मान प्रदान गर्ने पहिलो नेपाली व्यक्तित्वसमेत बनेका मियाँ हालै अन्तर्राष्ट्रिय मानवअधिकार संगठन बाट पनि उच्च सम्मान बाट सम्मानित भएका थिए । कतार फाउन्डेसन कतार सरकारका निकायहरु कतार फन्ड फर डेभलपमेन्ट लगायत कतारको विभिन्न निकाय संग मियाँको बलियो सम्बन्ध भएको हुनाले उनले आर्थिक कुटनिती गर्न सक्ने विश्वास समुदायले लिएको छ ।

    कतार र खाडी मुलुकको राजदूतमा समेत बलियो दावेदार मानिँदै आएका मियाँ मुस्लिम समुदायका उदाउँदा तारा हुन । नेपालमा समेत उनी आफ्नो समुदायको शैक्षिक, सामाजिक तथा आर्थिक उत्थानमा सक्रिय रहँदै आएका छन्।

    प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा श्रममन्त्रीका लागि मियाँको नाम जोडदार रूपमा सिफारिस हुन थालेपछि उनको बहुआयामिक व्यक्तित्व फेरि एकपटक चर्चामा आएको छ । वैदेशिक रोजगारीमा रहेका कामदारको हकहितमा धेरै काम गरेर अनुभव बटुलेका मिया श्रममन्त्री बनेमा उनले आमूल परिवर्तन ल्याउन सक्ने वैदेशिक रोजगार बिज्ञहरु बताउछन ।

    हाल श्रममन्त्रीमा मियासङ्गै अन्य ३ जनाको सिफारिस परेको समाचार स्रोतले दावी गरेको छ । मुस्लिम समुदायबाट कोहि पनि बर्तमान मन्त्रीपरिसदमा नभएकोले मियाँको संभावना बढेर गएको छ ।

    उहाँले श्रमिकहरुको समस्या बुझेको श्रमिकहरु तथा देश र जनताका लागि हरेक पल साथ सहयोग गरि करिब करिब बिश्वका अधिकांस देशहरुमा राम्रो छवि बनाउऩ सफल भएका मियाँ श्रम मन्त्रालय हाँक्न सक्ने प्रबल क्षमता रहेको देखिन्छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीति, समाज

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P