गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, जेद्दा, साउदी अरब (NRNA, RCC, JEDDAH, KSA) को आयोजनामा २४ अक्टोबर २०२५ तदनुसार २०८२ साल कार्तिक ७ गते शुक्रबार का दिन नेपालीहरूको महान् पर्व दशैं तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान तथा देउसी-भैलो कार्यक्रम – २०२५’ आयोजना हुने भएको छ ।
नेपालीहरूको महान पर्व दशैं तथा शुभ दीपावली को अवसर पारेर विदेशमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीहरूलाई शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागेको उक्त कार्यक्रममा संघले साउदी अरबमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उल्लेखित स्थान र समयमा उपस्थित भईदिनुहुन हार्दिक निमन्त्रणा गरेको छ। अक्टोबर २४ तारिख शुक्रबार हुने उक्त कार्यक्रम साउदी अरबको जिद्दास्थित लक्की दरबार रेस्टुरेन्ट सरफियामा दिनको १ बजेदेखि सुरु हुने जनाइएको छ।
विगतका वर्षहरूमा पनि यस्तै कार्यक्रमहरू गर्दै नेपाली दाजुभाईहरूलाई आफ्नै चाडबाडको अनुभव महसुस गराएको संघले जनाउँदै गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, जेद्दा, साउदी अरबले यो वर्षपनि उक्त कार्यक्रम आयोजना गरेको जनाइएको छ। कार्यक्रममा उपस्थित हुनुभएका दाजुभाई तथा दिदीबहिनीहरूलाई भरपुर देउसी भैलो संस्कृतिक कार्यक्रमले मनोरञ्जन दिनुको साथै नेपाली परिकारहरू सेल रोटी तथा खानाको पनि व्यवस्था रहेको आयोजक संघले जनाएको छ।
✍️तुल्सी राम आचार्य धनगढीदेखि काठमाडौँ जाने पुरानो, थोत्रो बस खचाखच भरिएको थियो। खाल्टाखुल्टी, खोलानाला, हिमाल र पहाडको खोचहरू पार गर्दै त्यो बस काठमाडौँसम्मको गन्तव्यतर्फ लम्कँदै थियो। आफ्नो सिट संख्याभन्दा धेरै यात्रु गाडीभित्र राखेकाले वा पुरानो गाडी भएकाले होला गाडीको गति धीमा थियो। गाडीमा यात्रारत यात्रुहरूमध्ये केही बुढा बुवाआमा यात्रुगनहरुले आफ्नै भाग्यलाई कोस्दै “भाग्यमै यो थोत्रो गाडी परेको रहेछ हामीलाई त,…. भन्दै हुनुहुन्थ्यो। उक्त बसमा करिब दश–पन्ध्र जना युवा पनि थिए — प्रायः १५–२५ वर्ष उमेर समूहका — जो नौलो सोच र उग्र जोशले भरिएका थिए।
उनीहरूलाई बसको अवस्था र गति मन परिरहेको थिएन; अझ साँच्चै भन्ने हो भने त ड्राइभर सिटमा बसेका बुढा चालकप्रति उनीहरूको विश्वास कतै थिएन। धनगढीदेखि अगाडि बढेको बस जसरी—तसरी बामे सर्दै— कोहलपुरसम्म आइपुगेको थियो। तर गाडीको गति र अवस्था हेर्दा उनीहरू असन्तुष्ट थिए। बाटैमा गाडी रोकेर ती युवा आक्रोशमा झन् झन् उग्र भए: चालकलाई सिटबाट थुत्दै अपमानजनक तरिकाले घिसार्न थाले। गाडीमा एकछिन माहोल बिग्रियो। त त म म भन्दै तथानाम गालीगलोज ओहोरदोहोर चल्यो अनि त्यही रिसको आवेगमा उनीहरूले गाडीमा रहेको अतिरिक्त टायर जलाइदिए, सबै सिसाहरू फुटाइदिए र केही सिटहरू पनि तोडफोड गरे। यो ताण्डव देखेर बसभित्रका वृद्धहरूले शान्त स्वरमा बिन्ती गरे — “भाइहरू, तोडफोड नगर, आगजनी नगर; यो गाडी हामीलाई गन्तव्यसम्म पुर्याउन चाहिन्छ। यदि तिमीहरूलाई चाहियो भने तिमीले चाहेको मानिसलाई चालक सिटमा राखिदेऊ र गाडीको चाबी पनि तिमीहरू नै रेखदेख गर।
बुढापाका आमाहरूको त्यो आग्रह सुनेपछि ती जोशीला युवा बीचबाट चालक अनुमतिपत्र नभएका कुनै एकयुवालाई चालक सिटमा राखी विजय ताण्डव गर्दै शोर सराबा र होहल्लाका बीचमा बस फेरि अघि बढ्यो। आजै मौसम विभागले सूचना जारीगरे अनुसार कपिलवस्तुदेखि पूर्वी जिल्लाहरूमा आरी घोप्टे वर्षा आँकलन गरिएको छ जस अन्तर्गत खोलानाला बढ्न सक्ने पहाडमा पहिरो खस्न सक्ने र यसबाट राजमार्गहरूमा यात्रा गरिरहेका यात्रुहरूलाई जनधनको क्षति पुग्न सक्ने भनी चेतावनी जारी गरिएको छ। तर बस अघि बढ्दैछ….
🚌 पुरानो थोत्रो गाडी –
देश (नेपाल) को प्रतीक हो। जति भए पनि अगाडि बढिरहेको छ, तर धेरै पुरानो भइसकेको, प्राविधिक रूपमा बिग्रन लागेको, मर्मत नपाएको, अस्तव्यस्त गाडी।
👴🏼 बुढा चालक –
पुराना नेताहरू, सम्भवतः लामो समयदेखि सत्तामा बसेका तर थाकेका, अलिकति अलमलिएका, जनताको विश्वास गुमाएका नेतृत्वकर्ताहरू।
👵🏻 बाआमा दाजुभाई (शान्त नागरिक) –
साधारण जनता, जसले तिनका दु:ख, बेथिति, असुविधालाई “मेरो भाग्य यस्तै” भनेर स्वीकृति दिइरहेका छन्। निष्क्रिय सहनशीलता देखाएका छन्।
👦🏽👧🏼 १५–२५ वर्षका नानीबाबु (नयाँ पुस्ता/युवा) –
नयाँ पुस्ता, जसमा जोश छ, परिवर्तनको इच्छा छ, तर संयम र दिशाबोध कम छ। उनीहरू पुरानो व्यवस्थाबाट त आजित छन्, तर नयाँ विकल्प के हो भन्ने स्पष्ट छैन।
🔥 गाडी जलाउने, तोडफोड गर्ने घटना –
नयाँ पुस्ताको अराजक विद्रोह, जसमा व्यवस्थाको अस्वीकार छ तर सकारात्मक निर्माणको योजना छैन। यस्तो अन्ध-आक्रोशले गन्तव्य पुग्न गाह्रो बनाउँछ।
😟 बाआमाको अनुरोध: “गाडी नबिगार, चालक अनुमतिपत्र लिएर तिमीहरू नै चलाऊ” –
पुरानो पुस्ताको आग्रह — परिवर्तन गर, तर संरचना नबिगार। देश चलाउने प्रणाली रहनु जरुरी छ; नेतृत्व फेर्नुपर्छ, व्यवस्थालाई सधैंको लागि जलेर सक्ने होइन।
👨🔧 बिना लाइसेन्स तर जोशिला चालक –
अवैधानिक,अनुभव नभएका, तर जोशिला, अलि “छिट्टै विश्वास गर्न नसक्ने” नयाँ नेतृत्व — जसले राजनीतिमा प्रवेश त गरे तर गहिरो योजना, नीति, र दृष्टिकोण बिना सत्ता सम्हाल्न लागे।
✍️— तुल्सी राम आचार्य वैदेशिक रोजगारीको सिलसिलामा मध्यपूर्वमा आएको पनि दशकौं भइसकेछ। बिहान–बेलुकीको धपेडी उस्तै हुन्छ, रुटिन उस्तै हुन्छ, घामको ताप र पसिनाको गन्ध उस्तै छ… यिनै सबैसँग यहाँ जीवन कटिरहेको छ। आफ्ना परिवार, समाज र देशको लागि मरिमेटी पसिना बगाइरहेका छौं; हरेक महिनाको अन्त्यमा केही रकम ‘रेमिट्यान्स’को रूपमा स्वदेश पठाइरहेका छौं। काम सकेर थकाइले चुर हुँदै बासस्थान फर्किने बेला, गर्मीले चुत्रुक्क भिजेको शरीर लिएर बस कुर्दै गर्दा मेसेञ्जरमा छोरीको तोते बोलीमा आउने “बाबा…” भन्ने सम्बोधनले सबै थोक बिर्साइदिन्छ। त्यो मुस्कान, त्यो शब्द—थकान, पीडा र विछोडको भार बगाएर लैजान सक्ने रहेछ।
तर म यहाँ कुनै सम्पन्न देश वा सम्पन्न व्यक्तिको सहानुभूति खोजेर बसेको छैन। मलाई त केवल यति थोरै आश्वासन चाहिएको छ—मेरो गाउँ, मेरो सहर, मेरो समाज शान्त होस्; मेरो जीवन र पसिनाको सुरक्षा सुनिश्चित होस्। म जान्दछु, आन्दोलनले मेरो चुलो बल्दैन। यदि बल्ने भए—२०४७ सालदेखिको तर्स्याउने क्रियाकलाप, तोडफोड र भरपर्दो नभएका आश्वासनहरूले मेरो जीवनमा केही वास्तविक परिवर्तन ल्याइदिएको हुन्थ्यो। मैले ती आन्दोलनहरू देखेँ—संगठित हुन पाएनँ, तर नतिजाको प्रतीक्षामा रहिरहेँ। २०४७ मा भयो—राजनीतिक आन्दोलन। केही व्यवस्था फेरिएझैं देखियो। २०६३ मा भयो—लामो र तिखो जनयुद्ध। हजारौंले ज्यान गुमाए, अर्बौंको आर्थिक क्षति भयो। नियम-कानुन र संविधानमा केही संशोधनहरू भए होलान्, तर गरिबको भाग्य फेरिएन। जसले तोडफोड गरे, तिनलाई प्राय: राजनीति नामकै छाताले बचाइदियो। ‘क्रान्तिको नाममा’ भनेर कानुनी कारबाहीबाट उन्मुक्ति दिइयो। समय बित्यो, अनि हामी फेरि बिर्सियौं।
आज फेरि आन्दोलन हुँदैछ। फेरि तोडफोड हुँदैछ। फेरि सार्वजनिक सम्पत्तिमा आगो लाग्दैछ। र फेरि हामीलाई भनिँदैछ—“यो त देशको भविष्यका लागि हो।” अनि गृहमन्त्री बोल्छन्: तोडफोड गरिनेलाई कारबाही गरिनु हुँदैन।
यो स्वीकार्य छैन। कानून र सुरक्षाको प्रश्नमा दुईतर्फी मापदण्ड हुँदैन। सार्वजनिक शान्ति, व्यक्तिगत सुरक्षा र आर्थिक आधारभूत संरचनाको रक्षा गर्दै न्याय कायम गर्नु सबै नागरिकको पहिलो कर्तव्य हो—राजनीतिक स्वार्थ होइन। आन्दोलनले बोल्न पाउनुपर्छ; तर त्यो बोलाइले जीवन र सम्पत्तिमा क्षति पुर्याउनु हुँदैन, र दोषीहरूले राजनीतिमा सक्रिय भएकै कारण वा आधारमा छुट पाउनु हुँदैन।
हामीले अब प्रश्न उठाउनुपर्ने बेला आयो—के हामी वास्तवमा परिवर्तन चाहन्छौं, कि केवल ‘अर्को पटक’ को लागि बहाना? के हाम्रो लक्ष्य तोडफोड र अस्थिरता हो, कि न्याय, विकास र सुरक्षा हो? छुट वा संरक्षण पाउनेहरूको सूची लामो रहिरहेसम्म, असल परिवर्तनका लागि भरोसा कसरी फर्किन्छ?
देशको माया झन्डा फहराउनेभन्दा ठूलो हो—देशलाई जिम्मेवार नेतृत्व, उत्तरदायी शासन र सुसम्बन्धित न्यायिक प्रक्रिया चाहियो। मेरो पसिना र अनेकौं परिवारको बलिदानले त्यस्तो भविष्य चाहिन्छ जहाँ अरूले ‘क्रान्ति’को नाममा अमान्यतालाई धर्म नदिएर जवाफदेही बनून्। हामी चुप बस्ने समय सकियो — आवाज उठाउनै पर्दछ; तर आवाजले विनाश ल्याउनु हुँदैन, न्याय र इमानदारी माग्नुपर्छ। त्यसो भए मात्रै मेरो र तपाईंको पसिना असल तरिकाले मुल्यवान हुनेछ।
उमेश कुशवाहा, वीरगञ्ज जेन जेड आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा क्षति पुगेको वीरगञ्जस्थित गण्डक प्रहरी चौकीलाई आवश्यक सामग्री सहयोग गरिएको छ।
उत्कर्ष नेपाल, उपकार सेवा नेपाल र वीरगञ्ज पब्लिक कलेजको संयुक्त पहलमा चौकी सञ्चालनका लागि आवश्यक सामानहरू हस्तान्तरण गरिएको हो। सहयोग स्वरूप कुर्सी, टेबल, चालकलाई प्रयोग हुने सामान, पानी तान्ने इलेक्ट्रिक मोटर, बेडसिट, डसना, तकिया, खाना पकाउने भाँडाकुडा लगायतका सामग्री उपलब्ध गराइएका छन्।
यी सामग्रीले दैनिक कार्यालय सहज सञ्चालनमा ल्याउन, सेवाप्रवाहलाई सहज बनाउन र कानून-व्यवस्थालाई सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस योगदानमा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य सुमन बगेडिया, संरक्षक पद्मा देवी सरावगी, समाज सेवी प्रकाश थारू, बिरगंज पब्लिक कलेजका दीपक शाक्य र उत्कर्ष नेपालको सम्पूर्ण टिमको सक्रियता रहेको थियो।
काठमाडौं । नेपालमा जेन जिको आन्दोलन पछि गठित वर्तमान सरकारमा मन्त्री बनाउन विभिन्न व्यक्तित्वहरूको नाम चर्चामा भइरहेका बेला मुस्लिम समुदायबाट प्राध्यापक डा. मोहम्मद रमजान अली मियाँको नाम श्रम मन्त्रालयका लागि सिफारिस भएको जानाकारीमा आएकोछ ।
काठमाडौंको डाँछीमा जन्मिएका मियाँले अरबी साहित्यमा डबल एमए गरी उच्च शिक्षा हासिल गरेका छन् । सन् २००७ यता कतारलाई कर्मथलो बनाएर उनी श्रमिक अधिकार संरक्षण, उद्धार र सहायतामा क्रियाशील छन् । नेपाली मात्र नभई दक्षिण एसियाली श्रमिक समुदायबीच पनि उनी विश्वसनीय नामका रूपमा परिचित छन् ।
कर्मभूमि कतारमा लामो समयदेखि मानवअधिकार र श्रमिक अधिकारको क्षेत्रमा सक्रिय रहेर अनगिन्ति श्रमिकहरुको हकहितका लागि काम गरेका मियाँले नेपाल–कतार सम्बन्ध सुदृढ बनाउन उल्लेख्य योगदान पुर्याउँदै आएका छन् । वैदेशिक रोजगारीको क्षेत्रमा आम श्रमिक र युवाको आवाज बनेका उनी लेखक, अनुवादक, समाजसेवी, कानुनी परामर्शदाता मात्र नभई राष्ट्रिय मानव अधिकार समिति कतारसँग पनि आवद्ध छन् ।
उनका अरबी, नेपाली, उर्दू, हिन्दी भाषामा तीन दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । फारसी, मलेसियन, पस्तु, नेपाली, अंग्रेजी र हिन्दी भाषामा दक्ष मियाँ श्रम ऐन र श्रमिक अधिकार विषयक अनुसन्धानका कारण कतारमा सम्मानित व्यक्तित्व मानिन्छन् । उनलाई कतार सरकारले समेत दर्जनौँ पटक सम्मान गरिसकेको छ ।
उनी पछिल्लो पटक जेन जी अभियानमा सहभागी हुन कतारबाट काठमाडौ आएका थिए र आन्दोलनमा प्रत्यक्ष सहभागी भएर आफुले सक्दो सहयोग पनि गरेका थिए ।
२०७२ को भूकम्पताका उनले आधा घण्टाको टेलिभिजन अपिलमार्फत ३२ मिलियन कतारी रियाल संकलन गरी नेपाल पठाएका थिए । कोरोना महामारीताका पनि उनले कतार सरकारबाट नेपाललाई ठूलो परिमाणमा मेडिकल सामग्री सहयोग पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । नेपालमा कतार च्यारिटी र कतार डेभलपमेन्ट फन्डमार्फत विभिन्न सहयोग ल्याउन उनको योगदान रहँदै आएको छ । कतारी अमिर लगायत विभिन्न उच्च व्यक्तित्वको नेपाल भ्रमण मिलाउन उनले बलियो कसरत गरेका समेत थिए ।
भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलाम फाउन्डेसनले यस वर्षको अरबी साहित्य तथा समाजसेवा सम्मान प्रदान गर्ने पहिलो नेपाली व्यक्तित्वसमेत बनेका मियाँ हालै अन्तर्राष्ट्रिय मानवअधिकार संगठन बाट पनि उच्च सम्मान बाट सम्मानित भएका थिए । कतार फाउन्डेसन कतार सरकारका निकायहरु कतार फन्ड फर डेभलपमेन्ट लगायत कतारको विभिन्न निकाय संग मियाँको बलियो सम्बन्ध भएको हुनाले उनले आर्थिक कुटनिती गर्न सक्ने विश्वास समुदायले लिएको छ ।
कतार र खाडी मुलुकको राजदूतमा समेत बलियो दावेदार मानिँदै आएका मियाँ मुस्लिम समुदायका उदाउँदा तारा हुन । नेपालमा समेत उनी आफ्नो समुदायको शैक्षिक, सामाजिक तथा आर्थिक उत्थानमा सक्रिय रहँदै आएका छन्।
प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा श्रममन्त्रीका लागि मियाँको नाम जोडदार रूपमा सिफारिस हुन थालेपछि उनको बहुआयामिक व्यक्तित्व फेरि एकपटक चर्चामा आएको छ । वैदेशिक रोजगारीमा रहेका कामदारको हकहितमा धेरै काम गरेर अनुभव बटुलेका मिया श्रममन्त्री बनेमा उनले आमूल परिवर्तन ल्याउन सक्ने वैदेशिक रोजगार बिज्ञहरु बताउछन ।
हाल श्रममन्त्रीमा मियासङ्गै अन्य ३ जनाको सिफारिस परेको समाचार स्रोतले दावी गरेको छ । मुस्लिम समुदायबाट कोहि पनि बर्तमान मन्त्रीपरिसदमा नभएकोले मियाँको संभावना बढेर गएको छ ।
उहाँले श्रमिकहरुको समस्या बुझेको श्रमिकहरु तथा देश र जनताका लागि हरेक पल साथ सहयोग गरि करिब करिब बिश्वका अधिकांस देशहरुमा राम्रो छवि बनाउऩ सफल भएका मियाँ श्रम मन्त्रालय हाँक्न सक्ने प्रबल क्षमता रहेको देखिन्छ ।
बिगत केहि महिनादेखि साउदी अरबको यान्बु शहरमा अलपत्र परेका ११ जना नेपाली श्रमिकहरुको उद्वार भएको छ। अलपत्र ११ जना मध्ये १ जना स्थानीय कम्पनीमा ट्रान्सफर लिएको र बाँकी १० जना आज नेपाल फिर्ता भएका छन् ।
अलपत्र नेपाली नपाली श्रमिकहरुलाई राजदुतावास रियाद र नेपाली महाबाणिज्यदुतावास जेद्दाको अथक पहलकदमी पछि कम्पनीले बहिर्गमन भिषा र टिकट उपलब्ध गराएको थियो । बिगतक ५ महिना देखी कम्पनीले काम र तलब नदिएर पिडित बनेपछि १ महिना पहिले नेपाली सेवा समिति-यान्बु को सम्पर्कमा आएर विभिन्न मिडियामा समाचार आए पश्चात उद्दार प्रक्रिया अगाडि बढेर उद्वार गर्न सफल भएको हो ।
उद्दारका गरि नेपाल पठाउन सहयोग गर्नुहुने राजदुतावास रियाद, वाणिज्य दूतावास जेद्दा, पत्रकार तथा अन्य सहयोगीहरूलाई समितिका कार्यबहाक अध्यक्ष धन बहादुर गुरुङले धन्यवाद ज्ञापन गर्नुभयो। खान नपाएर परदेशमै भोकै मरिन्छ कि भन्ने लागेको थियो ३७ दिन यता आवश्यक खाद्यान्न, सरसफाइ सामाग्री र केही नगद रकम उपलब्ध गराएर नेपाली सेवा समितिले अभिवावक को जिम्मेवारी ग्रहण गरि हाम्रो ज्यान बचाईदियो बहिर्गमन भिषा र टिकट पाए पछि खुसी हुदै एक पिडितले भने।
रुममा बिजुली थिएन ५०-५५ डिग्रीको गर्मीमा यसै बस्दा केहि साथी बिरामी परेपछि उपचारको लागि पैसा नभएर नेपाल मेनपावर कम्पनीलाई जानकारी गराउदा रुम र उपचारको लागि पैसा पठाईदिन्छु भनेको तर आज भोलि भन्दै टारिदिएको अर्का पिडित ले बताए । घर जाने बेलामा कम्पनी ले बाँकी तलब उपलब्ध गराउने भनेता पनि ५ महिना देखि को करिब ५९ हजार साउदी रियल (ने.रु. २२ लाख) तलब नदिई टिकेट मात्र उपलब्ध गराएको पिडितहरुको गुनासो छ।
अल फराज इन्टरनेशनल ओभरसिज प्रा. लि. नेपाल बाट साउदी को इलाईट सपोर्टिङ कम्पनी एलएलसीमा गत सेप्टेम्बर २०२३ मा मेसन, टि ब्वाए, लेबर मा साउदी अरब पुगेका उनीहरूलाई शुरुवातमा तलब दिए तापनि ९ महिना देखी साउदी आवासीय कार्ड (अकामा) नविकरण नगरिदिएको, ५ महिना देखी तलब नदिएको र बिगत २ महिना देखी रुममा लाईट नभएकोले खाना बस्न को समस्या भएको थियो।
म पनि विदेशमै छु, तर नेपालमा विधि–विधान र प्रजातान्त्रिक पद्धतिको वकालत गर्छु। मेरो देश जहिले पनि खुशहाल, प्रगतिशील र उज्यालो भविष्यतर्फ अगाडि बढोस् भन्ने मेरो कामना छ।
तर म जस्तै विदेशमा रहेका कतिपय “कथित देशभक्त”हरूले सामाजिक सञ्जालमा देश, समाज र सरकार विरुद्ध बिष वमन गर्दा त्यसबाट उत्पन्न परिस्थितिले आज देशले हजारौं रोजगारी गुमाएको छ। अरबौंको क्षति भएको छ। सरकारी सम्पत्ति जलेर खरानी भएको छ।र करिब सयौँको सङ्ख्यामा नेपाली आमाका काख रित्तिएका छन्।
हो, देशमा विकास जति हुनुपर्ने थियो त्यति भएको छैन, भ्रष्टाचार पनि रोकिएको छैन। तर हामीले रोइलो गरेजति देश बिग्रेको पनि थिएन।
गाउॅ, सहर् पालीका, नगरपालिका–उपमहानगरलाई जोड्ने सडकहरू धमाधम हाम्रो अर्थतन्त्रले भ्याए अनुसार फराकिला बन्दै थिए। तराई–हिमाल–पहाडलाई जोड्ने सडक आफ्नै गतिमा अघि बढ्दै थियो। नागढुङ्गा सुरुङ मार्ग अन्तिम चरणमा थियो। काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माण भइरहेकै थियो। बुटवल–नारायणघाट सडक चार लेनमा विस्तार हुँदै थियो।
व्यापार–व्यवसाय फस्टाउँदै थियो, निजी लगानीकर्ताहरू उत्साहित थिए। भाटभटेनीले देशभर शाखा विस्तार गरिरहेको थियो। चन्द्र ढकाल केबलकार विस्तारमा सक्रिय थिए। विदेशी मल्टिनेसनल कम्पनीहरू नेपालमा लगानी गर्न थालेका थिए। यी सबै क्रियाकलापले रोजगारी सिर्जना गरिरहेका थिए। गाउँपालिकासम्म प्रहरी चौकी र अस्पताल विस्तार भइरहेका थिए।
हाम्रो जस्तो भूपरिवेष्ठित देश युरोप–अमेरिकासँग तुलना गर्न नसकिए पनि आफ्नै गतिमा अघि बढ्दै थियो। हामीले मौजुदा सरकारलाई नागरिकको तर्फबाट सहयोग गर्दै, डेलिभरी चित्त नबुझे प्रजातान्त्रिक पद्धतिबाट चुनावमार्फत परिवर्तन गर्ने हो भने हाम्रो लोकतन्त्र अझ बलियो बन्दै जाने थियो र हामीले चाहेका ब्क्ती सरकारमा पुग्ने थिए!
तर कसको आँखा लाग्यो—पलभरमै सबैकुरा खरानी बन्यो। भाटभटेनीको पसलभित्रको कपडा मात्र जलेन, त्यहाँ काम गर्ने गरिब–मध्यमवर्गीय परिवारको रोजीरोटी पनि जल्यो। अब उनीहरूले पनि झोला बोकी विदेशतिर पलायन हुने अवस्था आयो।
अब सुरुवात हामीबाटै गर्नुपर्छ। हाम्रो पुर्खाले हामीलाई क्रान्ति र लडाइँ त सिकाए, तर सिर्जनशील रूपमा समाजका लागि केही गर्न सिकाएनन्। त्यसैले आज हामीले लेख्ने, बोल्ने, सोच्ने पद्धति नै सकारात्मक बनाउनुपर्छ। जसले समाजमा सकारात्मक ऊर्जा भरिन्छ, त्यसले नै भविष्यको पुनर्निर्माण सम्भव बनाउँछ।
साउदी अरबको हाफर अल बातिन क्षेत्रमा पहिलो पटक गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरेबियाको पहलमा नेपाली भेला तथा परिचयात्मक कार्यक्रम यही शुक्रबार, २०२५ सेप्टेम्बर ५ का दिन मध्याह्न १२:०० बजेबाट हुने भएको छ।
नेपाली साझा मञ्च साउदी अरेबियाका महासचिव श्री राजु केसीका अनुसार, उक्त अवसरमा सामाजिक संस्था एनआरएनए क्षेत्रीय समन्वय समिति (आरसीसी) पनि गठन गरिने तयारी गरिएको छ। कुवेतको बोर्डरमा रहेको हाफर अल बातिनमा अहिलेसम्म कुनै संस्था नरहेको र पहिलोपटक एनआरएनए आरसिसी गठन गर्न लागिएको बताए ।
महासचिव केसीले भने, “अहिलेसम्म हाफर अल बातिन क्षेत्रमा कुनै पनि नेपाली संस्था पूर्ण रूपमा सक्रिय नभएकाले धेरै नेपालीहरू स–साना समस्यामा पनि अल्झिनुपर्ने अवस्था थियो। तर, आरसीसी गठन भएपछि आपतकालीन सहयोग र समस्या समाधानमा सहज हुनेछ।”
आयोजकहरूले यस भेलालाई नेपालीहरूको साझा समस्या समाधान र आपसी एकता मजबुत बनाउन महत्वपूर्ण कदमको रूपमा लिएका छन्। साथै, हाफर अल बातिनमा रहेका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी भई यसलाई सफल बनाउन आग्रह गरिएको छ।
कार्यक्रममा बरिष्ठ समाजसेवीहरुको उपस्थिति रहने जनाउँदै हाफर बातिन वरपर रहेका नेपालीहरुलाई उपस्थित हुनकालागि आयोजक टिमले अनुरोध गरेको छ ।
नेपाली राजदूतावास रियादका महामहिम राजदूत नरेश विक्रम ढकालको अल कासिम भ्रमणका क्रममा इस्लामिक सेन्टर बुराइदाले भव्यताका साथ स्वागत गरेको छ । गत २ सेप्टेम्बर मङ्गलबारका दिन इस्लामिक सेन्टर बुराइदरका प्रमुखहरु अबु फिरास अबु उमर, अबु अब्दुल्लाह सोहेम,अबु फहद तुवैजरीको उपस्थितिमा नेपाली विभागका सचेतक अलि हुसेनको समन्वय र संयोजकत्वमा सञ्चालित उक्त स्वागत कार्यक्रममा महामहिम नरेशविक्रम ढकाल प्रमुख अतिथिको रुपमा रहनुभएको थियो। कार्यक्रमको अतिथिहरूमा एनआरएनए आइसिसीका सदस्य समाजसेवी विशाल श्रेष्ठ, एनआरएनए साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, सचिव ध्रुव कटुवाल, आरसीसी अल कासिम का अध्यक्ष बिनोद खड्का उनैजा इस्लामिक सेन्टरका मुजीबू रहमान लगायत इस्लामिक युनिभर्सिटीका विद्यार्थीहरूको उपस्थिति रहेको थियो। बुराइदा इस्लामिक सेन्टरका नेपाली विभागका सचेतक अलि हुसेनद्वारा सञ्चालित उक्त कार्यक्रममा सञ्चालक अलिद्वारा नै प्रमुख अतिथि महामहिम दम्पति तथा अतिथिज्यूहरूलाई स्वागत गर्नुभएको थियो। स्वागत मन्तव्यका क्रममा इस्लामी सेन्टरद्वारा विविध कारणले समस्यामा परेका नेपाली श्रमिक दाजुभाईहरू लाई खान बस्न तथा नेपाल फिर्तीका लागि समेत साथ सहयोग समर्थन गरिरहेको बताए। यसका साथै इस्लामिक सेन्टरबाट गरिने कार्यहरू दर्शाउँदै विभिन्न संघसंस्था स्थापना हुनु पूर्वदेखि नै नेपालीहरूका लागि यस सेन्टरले सहयोग गर्दै आएको र आगामी दिनहरूमा पनि श्रमिकहरूको हक हितका लागि कामहरू गर्ने प्रतिबद्धता पनि जनाए। कार्यक्रममा मन्तव्य दिँदै अतिथि विशाल श्रेष्ठले इस्लामिक सेन्टर बुरैदाले विगतमा नेपाली हरूका लागि मनोरञ्जनात्मक खेल कार्यक्रमहरू गराउनुको साथै श्रमिकहरूको हक हितका लागि ठूलो योगदान दिएको बताउँदै इस्लामिक सेन्टर र संघसंस्था बीच एक आपसमा नङ र मासुको जस्तो सम्बन्ध रहेको बताए। इस्लामिक सेन्टर बुरैदाको सामाजिक कल्याण तथा सचेतता बिभागका मुदिर अबु फेरासले हामिले पछिल्लो समयमा नेपाली समुदायलाई विशेष प्राथमिकता दिएका छौ नेपाली हरुलाई हरेक कार्यक्रममा केही सहयोग गरेका छौं हामिले मुस्लिम तथा गैर मुस्लिमलाई कुनै पक्षपात फरक गरेका छैनौं पासपोर्ट बितरण गर्दा हलको व्यवस्था गरेका छौं आगामी दिन हरुमा अझ ब्यवस्थित तरिकाले गर्ने छौ अकामा नबनेका, यात्रा गर्न समय लाग्ने नेपाली लाई रोडमा सुत्न बाध्य बनाउने छैनौ तीन दिन सम्म बस्ने खाने सुत्ने अलग्गै रुम दिएर ब्यवस्थापन गर्ने छौँ भासा अनुवाद तथा कुनै पनि प्रकारको सरकारी सहयोगको लागि हाम्रो सचेतक (दाइया) तयार रहने छ ।अगामी दिन हरुमा हरेक सामाजिक काममा अझै सहयोग गर्ने कुरा इस्लामी सेन्टरका अबु फेरासले प्रतिबद्धता जनाउनु भएको थियो । यसैगरी कार्यक्रम मा आफ्नो मन्तव्य दिँदै महामहिम राजदूत नरेशविक्रम ढकालज्यूले हामी सबै मानव हौँ। हामी सबै मानवतामा एकआपसमा सहयोगी भावनामा बाँच्नेछौं। एक आपसमा सहयोगको भावना राख्नेछौ। दूतावासको तर्फबाट हुने सहयोग सदैव जारी रहनेछ। विगतका दिनहरूमा इस्लामिक सेन्टरद्वारा श्रमिक हक हितका लागि गरिएका कार्यप्रति सम्मान दर्शाउँदै इस्लामिक सेन्टरका नेपाली सचेतक अलि हुसेनलाई धन्यवाद व्यक्त गर्नु भएको थिए। मन्तब्यकै क्रममा नेपालको सौन्दर्यताको बर्णन गर्दै नेपालमा भ्रमण गर्नकालागि अनुरोध गर्नुका साथै भ्रमणका क्रममा कुनै पनि कुराको आवस्यकमा दूताबासले सहयोग गर्ने पनि जनाउऩु भयो । साथसाथै आगामी दिनहरूमा इस्लामिक सेन्टरसित समन्वय गर्दै अगाडि बढ्ने कुरा पनि जनाउनु भएको थियो।
महामहिम राजदूतज्यू को मन्तव्यलाई भाषा अनुवादक साजित अन्सारीले अरबिकमा अनुवादन गरेका थिए। कार्यक्रममा महामहिम राजदूतज्यूलाई इस्लामिक सेन्टरको तर्फबाट मायाको चिनो प्रदान गर्दै एक आपसी समन्वय अझै प्रगाढ बनाएर अगाडि बढ्नका लागि नेपाली विभागका सचेतक अलि हुसेनद्वारा महामहिम राजदूत समक्ष आफ्नो कुरा राख्नुभएको थियो। यसैगरी उक्त स्वागत कार्यक्रममा अतिथि मनिष कोइरालाले अल कसिममा क्षेत्रमा एउटा सेल्टरको व्यवस्थापनको लागि समेत अनुरोध गरेका थिए । कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई इस्लामिक सेन्टरको तर्फबाट gift पनि प्रदान गरिएको थियो। गत आठ महिना अगाडि नेपाली महामहिम राजदूत नरेशविक्रम ढकाल राजदूतावास रियादमा आउनुभए तापनि उहाँको यो अल कसिममा पहिलो भ्रमण गर्दै गर्दा इस्लामिक सेन्टरको यो स्वागत कार्यक्रम प्रति महामहिम राजदूत निकै खुसी हुनुभएको थियो।
नेपाल सरकारको हालैको निर्णय अनुसार, सामाजिक सञ्जाल दर्ता अनिवार्य हुने भएको छ।
👉 मुख्य बुँदाहरू:
सरकारले ७ दिनभित्र दर्ता (सूचीकरण) गर्न सामाजिक सञ्जाल सञ्चालकलाई आह्वान गरेको छ।
यो निर्णय मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकपछि सार्वजनिक गरिएको हो।
निर्देशिका २०८० र सर्वोच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जाललाई जिम्मेवार र जवाफदेही बनाउन यो कदम चालिएको हो।
निर्धारित अवधिमा दर्ता नगर्ने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय (बन्द) गरिँदै जानेछ।
तर, दर्ता भएपछि सञ्चार मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले ती सञ्जाल पुनः सक्रिय गर्न सक्नेछ।
यसले फेसबुक, टिकटक, युट्युब, एक्स (Twitter), इन्स्टाग्राम जस्ता लोकप्रिय प्लेटफर्महरूलाई समेत नेपालभित्र दर्ता वा सूचीकरण प्रक्रियामा आउन बाध्य पार्ने देखिन्छ।