• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: समाज

चितवनको खुरखुरेमा स्रष्टा भेटघाट, कला-संस्कृति प्रदर्शन तथा विविध साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न

  • ५ भाद्र २०७९, आईतवार १६:५१ मा प्रकाशित
  • राप्ती, ५ भदौ २०७९ । नमस्ते अ‍ाधुनिक लघुकथा मञ्च, नेपालको अ‍ायोजनामा चितवनको राप्ती नगरपालिका वडा नं. ८, खुरखुरे स्थित नन्दिनी स्टार पार्टी प्यालेसको सभा हलमा स्रष्टा भेटघाट, परिचय, कला-संस्कृति प्रदर्शन तथा विविध साहित्यिक रचना वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
    उक्त कार्यक्रमको प्रायोजन राप्ती नगरपालिका वडा नं ७, ८, ९; अधिकारी नवनिर्माण हार्डवयर,खुरखुरे, अ‍ास्था मार्ट, खुरखुरे, नमुना हार्डवेयर मगनीचोक पर्साले गरेकोे थियो ।

    वाल्मीकि साहित्य सदन, रत्ननगर, टाँडीका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्री रामबाबु घिमिरेको प्रमुख अ‍ातिथ्यता र वरिष्ठ साहित्यकार केशवराज अ‍ामोदी, तिलकराज शर्मा, डा श्यामप्रसाद न्यौपाने, पुष्प अधिकारी अञ्जलि, गोर्खे साइँलो, वडा नं ७, ८ र ९ का वडाध्यक्षहरू क्रमस: सुमिता डल्लाकोटी, पूर्णप्रसाद अ‍ाचार्य, खड्ग बहादुर तामाङ, लगायतका विशिष्ट अतिथिहरू सहित ३० भन्दा बढी अतिथिहरूको आतिथ्यतामा भएको कार्यक्रममा कुमार सिंजाली मगर तथा उहाँको गायन समूहले राष्ट्रिय गीत गाएका थिए भने श्री आधारभूत विद्यालय बजरहट्टीका बहिरा विद्यार्थीहरूले साङ्केतिक भाषामा सँगसँगै राष्ट्रिय गीत गाएका थिए ।

    कार्यक्रममा राप्ती न.पा.वडा नम्बर ७ र ८ का सनातन भजन समूहले खैँजडी भजन, वडा नम्बर ७ र ८ कै आदिवासी थारू महिलाहरूले महान पर्व जितियामा नाचिने झाम्टा नाच; मगर जातीको कौडा नाच र नारीहरूको तीज गीत प्रदर्शन गरिएका थिए । विविध जातीय भेषभुषा सहित आउनु भएका सांस्कृतिक समूहहरूले आ-आफ्ना जातका पर्व विशेष नाचहरू प्रदर्शन गर्दा कार्यक्रमको माहोल निकै रमाइलो बनेको थियो ।

    कार्यक्रम स्थलमा राप्ती-७ का कुशल चित्रकार, स्वस्ती आर्ट, खुरखुरेका चित्रकला प्रशिक्षक श्री सीताराम उप्रेतीद्वारा बनाइएका दुई दर्जन भन्दा बढी चित्रहरूको प्रदर्शन पनि गरिएको थियो । उप्रेतीले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्री राम बाबू घिमिरेको मुहार चित्र पनि बनाउनु भएको थियो भने सुन्दर फोटो फ्रेममा राखिएको सो चित्रलाई कार्यक्रमका सभापति तथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी’कृष्णजी शर्मा’ले मायाको चिनो स्वरूप घिमिरेलाई उपहार प्रदान गर्नु भएको थियो ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा जिल्ला बाहिरबाट आमन्त्रित स्रष्टाहरूमा भुमही, नवलपरासीबाट डा. श्यामप्रसाद न्यौपाने; गैँडाकोट, नवलपुरबाट ज्यो. नानी बिवु ; स्याङ्जाबाट युवा कविहरू मिलन समीर र शम्भु अर्याल, तनहुँबाट जनार्दन दाहाल; काठमाडौँबाट नमस्ते आधुनिक लघुकथा मञ्चका कोषाध्यक्ष यमुना प्रधानाङ्ग ‘मुना’; सदस्य कल्पना भण्डारी ‘मुस्कान’ को उपस्थिति रहेको थियो ।

    त्यस्तै कार्यक्रममा चितवनका साहित्यकारहरू : राजेन्द्र घायल, गिरिराज डल्लाकोटी, रोहिणी प्रसाद लोहनी, हरिप्रसाद गजुरेल, चेतनाथ रुवाली, विश्वनाथ खनाल, तुलसी पण्डितले आ-आफ्ना रचना वाचन गर्नु भएको थियो । ८ वर्षे बालक सम्राट डल्लाकोटीले ‘बा’ लघुकथा सङ्ग्रहबाट लघुकथाकार प्रा. डा. कपिल लामिछानेले सिर्जना गर्नु भएको ‘बा र अक्षर’ शीर्षकको लघुकथा वाचन गरेर सुनाउनु भएको थियो ।

    कार्यक्रममा ४० जना भन्दा बढी साहित्यकारहरूले लघुकथा, गजल, कविता, मुक्तक लगायत विविध साहित्यिक रचनाहरू प्रस्तुत गरेका थिए । झण्डै ६ घण्टा लामो चलेको कार्यक्रममा जनप्रतिनिधि, लेखक, साहित्यकार, पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    समापन मन्तव्य दिनुहुँदै कार्यक्रमका सभापति घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले कोरोना महामारीको कारण धेरै समयदेखि साहित्यिक कार्यक्रम हुन नसकेकोले करिब ३ वर्षपछि स्रष्टा भेटघाट, परिचय, कला-संस्कृति लगायत साहित्यका विविध विधाहरूमा रचना वाचन कार्यक्रम गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै उहाँले संभवभएसम्म त्रैमासिक रूपमा यस्ता कार्यक्रमहरू आयोजना गरिने पनि जनाउनु भयो ।

    कार्यक्रममा राजेश रुम्बा लामाले स्वागत मन्तव्य दिनु भएको थियो भने रामशरण थपलिया ‘रमणजी शर्मा’, मिठुकुमारी पाठक, अन्जु सिन्जालीमगर ‘सारिका क्षितिज’ र राजेश रुम्बा लामाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यLeave a Comment on चितवनको खुरखुरेमा स्रष्टा भेटघाट, कला-संस्कृति प्रदर्शन तथा विविध साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न

    माइत जान्छु भनेर हराएकी थिइन् होटेलमा मृत भेटिएकी पुष्पा

  • ३ भाद्र २०७९, शुक्रबार ११:२८ मा प्रकाशित
  • १ भदौ, बुटवल । आइतबार राति बुटवलको होटलमा मृत भेटिएकी ३३ वर्षकी पुष्पा पुनमगर एक महिनादेखि घरमा सम्पर्कविहीन थिइन् ।

    नेपालगञ्जस्थित घरबाट माइत जान्छु भनेर हिँडेको तर माइतमा नपुगेको थाहा पाएपछि वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका श्रीमान्ले पुष्पा हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमार्फत अनुरोध गरेका थिए ।

    आइतबार राति बुटवल–२ फूलबारी नजिकैको स्याङ्जा कारीकोटे होटलमा धादिङका ३८ वर्षीय सीताराम भुजेलसँग एउटै कोठामा बास बसेकी पुष्पा अर्को दिन मृत भेटिइन् । भुजेल मानव अंग बेचबिखन सम्बन्धी अपराधमा सुनसरीको झुम्का कारागारमा ७ वर्ष जेल बसेर एक महिनाअघि मात्रै छुटेका थिए ।

    असार अन्तिममा साउन बार्न भनेर पुष्पा नेपालगञ्जबाट दाङको सतबरिया माइत जान्छु भनेर हिंडेकी रहिछन्’, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष रेग्मीले भने, ‘उनी हराएपछि श्रीमानले खोजी गरिदिन सामाजिक सञ्जालमा सूचना हालेका रहेछन् तर प्रहरीमा निवेदन आएको थिएन ।’

    होटेलको कोठा नम्बर १३४ बुक गर्दा उनीहरूले आफू श्रीमान–श्रीमती भएको र ठेगाना बुटवल उपमहानगरपालिका–४ उल्लेख गरेका होटलका सञ्चालक बासुदेव लामिछाने मगर बताउँछन् ।

    सोमबार बिहान ५ नबज्दै सीताराम एक्लै होटलबाट निस्कन खोजेका थिए’, लामिछानेले भने, ‘श्रीमान श्रीमती भनेर बसेपछि एक्लै निस्कनु राम्रो हुन्न भनेर कोठामै फर्काएका थियौंं ।’ ९ बजेसम्म पनि कोठाबाट उनीहरू बाहिर ननिस्केपछि प्रहरीलाई खबर गरेर ढोका तोडेर हेर्दा पुष्पा र सीताराम दुवै जना मृत अवस्थामा रहेका उनले बताए ।

    उनीहरु बसेको बेडका तन्ना र टाबेलमा रगत लागेकाले पुष्पाको हत्या गरी भुजेलले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक रेग्मीले बताए ।

    भुजेल र महिलाबीच कहिले कसरी भेट भयो र उनीहरुबीच कस्तो सम्बन्ध थियो भन्नेबारे केही खुलेको छैन ।

    भुजेल मानव अंग बेचबिखन सम्बन्धी अपराधमा सुनसरीको झुम्का कारागारमा ७ वर्ष जेल बसेर एक महिनाअघि मात्रै छुटेका पाइएको रेग्मीले बताए ।

    पुष्पाको साथमा मोबाइलसमेत नभएकाले धादिङका सीतारामसंग भेट कसरी भयो भन्ने अझै नखुलेको प्रहरी निरीक्षक रेग्मीले बताए ।

    पुष्पाका माइती पक्षका आफन्त जाहेरी दिने तयारीमा रहेका र श्रीमान् युएईबाट आएपछि पोस्टमार्टम हुने उनले बताए । दुबैजनाको शब लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा छ ।

    भुजेलसंगको विवाहेत्तर सम्बन्धमा खटपटकै कारण पुष्पाले ज्यान गुमाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    ‘पुष्पाका माइतीहरु जोहरी दिने क्रममा रहेकाले त्यसपछि थप कुरा खुल्ला’–रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्याम अर्यालले भने, ‘भुजेलको पृष्ठभूमिले पनि उनी अपराध कर्ममा संलग्न हुंदै आएको पुष्टी हुन्छ, त्यसको शिकार पुष्पा पनि भइन् भन्ने अहिलेसम्मको अनुसन्धानले देखाउँछ ।’
    यो खबर टोपराज शर्माले अनलाईन खबरमा लेखेका छन्

    Posted in मुख्य खबर, समाजLeave a Comment on माइत जान्छु भनेर हराएकी थिइन् होटेलमा मृत भेटिएकी पुष्पा

    मृतक सबै एउटै गाउँका, शोकमा डुब्यो बुङ्गल

  • २ भाद्र २०७९, बिहीबार ०८:५५ मा प्रकाशित
  • धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिका-५ को उल्लानीमा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका सबै बझाङका भएको खुलेको छ ।

    कामको खोजीमा भारततर्फ हिंडेका बझाङको बुङ्गल गाउँपालिका-८ का ६ जना मध्ये पाँच जनाको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक रणबहादुर विष्टकाअनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा बुङ्गल गाउँपालिका-८ का हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा छन् । मृतक मध्येका रैभान र चम्फा श्रीमानश्रीमती भएको खुलेको छ ।

    उनीहरुसँगै भारत गइरहेका धनबहादुर जाग्री भने घाइते छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनामा वडाका पाँच जनाको मृत्यु भएपछि बुङ्गल गाउँपालिका–८ शोकमा डुबेको छ । बुधबार गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको उनीहरू सवार से१ज ५५१ नम्बरको जिप दिउँसो करिब ४ बजेतिर दुर्घटनामा परेको थियो । उनीहरु सबै रोजगारीको खोजीमा भारत गइरहेका थिए ।

    भएका छन् । उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    Posted in मुख्य खबर, समाजLeave a Comment on मृतक सबै एउटै गाउँका, शोकमा डुब्यो बुङ्गल

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

  • २९ श्रावण २०७९, आईतवार २०:०३ मा प्रकाशित
  • काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आइतबार साँझ उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । संवैधानिक व्यवस्था अनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण वा फिर्ता गर्ने समय थियो ।
    राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ‚’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।गत साउन ६ गते संघीय संसद्‌बाट पारित विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालय पठाइएको थियो । पारित विधेयकमा छ , ‘०७२ असोज ३ भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।’

    नागरिकता विधेयकका केही प्रावधानहरूमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुको असहमतिसहित संशोधनका लागि प्रस्ताव गरेका थिए । उनीहरुले विशेषगरी नेपालीसँग विवाह गर्ने महिलाले प्राप्त गर्ने नागरिकताको हदम्यादबारे असहमति राखेका थिए । तर‚ एमालेको असहमतिका बीच सरकारले विदेशी महिलाले नेपालीसँग विवाह गरेलगत्तै नेपालको नागिरकता प्राप्त गर्ने पुरानै व्यवस्थालाई यथावत् राख्दै नेपाली नागरिकता पहिलो संशोधन विधेयक पारित गरेको थियो ।

    प्रतिनिधिसभाको राज्य व्यवस्था समितले २२ महिना लगाएर छलफल गरेको पुरानो विधेयक फिर्ता लिएर सरकारले गत असार २४ मा नयाँ विधेयक ल्याएको थियो । उक्त विधेयकलाई संसदीय समितिमा नलगी साउन ६ गते प्रतिनिधिसभाको बैठकमै छलफल गरी पारित गरिएको थियो ।
    त्यसअघि सरकारले ०७५ मा ल्याएको अघिल्लो विधेयकमा ‘नेपालको नागरिकता प्राप्त गरेको मितिले ६ महिनाभित्र विदेशको नागरिकता परित्याग गरेको निस्सा पेस गर्नुपर्ने’ प्रावधान प्रस्ताव गरिएको थियो । त्यसलाई संशोधन गरेर राज्यव्यवस्था समितिले ‘विवाह गरेर नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको हुनुपर्नेे’ प्रावधान पारित गरेको थियो ।

    समितिले लामो समय छलफल गरेर तय गरेको उक्त प्रावधान नयाँ विधेयकमा पनि समेट्नुपर्ने माग राखेर एमालेका सांसदहरुले संशोधन हालेका थिए । प्रतिनिधि सभाको छलफलमा पनि एमाले सांसदहरुले शुक्रबार उक्त विषय जोडका साथ उठाएका थिए । तर एमाले सांसदहरुले पेस गरेको संशोधनको पक्षमा बहुमत पुगेन ।

    तत्कालीन नेकपाले सात वर्षको प्रावधानमा जोडबल गरेको थियो । त्यही दलबाट अहिले छिन्नभिन्न भएर छुट्टै दलको रुपमा रहेका नेकपा मा‌‌ओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने वैवाहिक अंगीकृत नागिरकता प्राप्त गर्ने हदम्यादबारे मौन बसे । उनीहरुले कुनै संशोधन हालेनन् । सरकारले ल्याएको विधेयकमा उनीहरूले समर्थन गरे । मधेशकेन्द्रित दलहरुले भने वैवाहिक अंगीकृत नागरिकता प्राप्तिका लागि हदम्याद रहन नहुने अडान पहिलेदेखि नै राख्दै आएका थिए ।

    Posted in मुख्य खबर, समाजLeave a Comment on राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

    ६ महिने छोरी मार्ने आमासहित एक पुरुष पक्राउ

  • २२ श्रावण २०७९, आईतवार २१:४३ मा प्रकाशित
  • छ महिने छोरीलाई शौचालयको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन्।

    छोरीलाई खाल्डोमा फालेर मार्ने कार्यमा संलग्न स्याङ्जाको गल्याङ नगरपालिका–२ इलुंगा बस्ने २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमालगाउँ बस्ने २२ वर्षीय केदार कुमाल शुक्रबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।

    रामपुर–१० का २२ वर्षीय कुमालसँग साउन १० गते रानाले घरमा कसैलाई नसोधी छ महिनाको छोरीसहित भागी विवाह गरेको निवेदन परिवारले प्रहरीमा दिएसँगै खोजी गर्ने क्रममा साउन २० गते शुक्रबार गल्याङ बजारबाट नियन्त्रणमा लिइएको प्रवक्ता खनालले बताए।

    पक्राउ गरी अनुसन्धानका क्रममा लक्ष्मीले ६ महिनाकी छोरीलाई १० गते राति १२ बजेको समयमा घरकै अस्थायी शौचालयको खाल्डोमा फालेको खुलेको थियो। खोजी गर्दा सडेगलेको अवस्थामा बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ।

    प्रहरीले लक्ष्मी र केदार दुवैलाई नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरू गरेको बताएको छ।

    Posted in मुख्य खबर, समाजLeave a Comment on ६ महिने छोरी मार्ने आमासहित एक पुरुष पक्राउ

    छोराछोरी लगायत श्रीमतीको हत्यापछि आत्महत्या।

  • १७ श्रावण २०७९, मंगलवार ०९:३१ मा प्रकाशित
  • भीमसेन थापा गाउँपालिका–६ गोरखा स्थायी घर भई तारकेश्वर नगरपालिका–२, पदमसालमा बस्दै आएका एकै परिवारका चार जना सोमबार बिहान घरैमा मृत भेटिए ।

    बिहान परिवारका कोही पनि बाहिर ननिस्केको र घरमा भित्रबाट चुकुल लगाएको पाइएपछि छिमेकीले प्रहरीलाई खबर गरे । प्रहरी ढोका फोडेर भित्र जाँदा ४१ वर्षीय दिनेश पाण्डे, उनकी पत्नी ३९ वर्षीया सुनीता, १३ वर्षकी छोरी आशिका र ८ वर्षीय छोरा आशिकको शव बीभत्स अवस्थामा भेटियो ।

    घटनास्थलमा फेला परेको सुसाइड नोटमा दिनेशले ‘श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गर्न बाध्य भएको’ उल्लेख गरेका छन् । १२ वर्ष कुवेत बसेर केही वर्षअघि मात्रै फर्किएका दिनेश र श्रीमती सुनीताको केही वर्षयता पारिवारिक सम्बन्ध राम्रो नभएको र त्यसबाटै उत्पन्न विवादले बीभत्स हत्याको रूप लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सुसाइड नोटमा दिनेशले पत्नीसँग सम्बन्ध बिग्रिएको, माइती पक्षसँग मिलेर सम्पत्ति हडप्न खोजेको, आफूलाई घरेलु हिंसाको आरोपमा प्रहरीमा थुनाएको लगायत विषय उल्लेख गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । उनले छोराछोरीलाई एक्लै राख्न नसकेर सँगै लानुपरेको उल्लेख गरेका छन् । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार छोराछोरी र श्रीमतीलाई मार्न दिनेशले पेट, छाती र टाउकामा धारिलो हतियार प्रहार गरेका छन् ।

    प्रहरीका अनुसार पारिवारिक विवाद तीन पटक बालाजु प्रहरी र एक पटक महाराजगन्ज वृत्तसम्म पुगेको थियो । पछिल्लो पटक दिनेशले आफू बस्दै आएको घर पत्नीलाई थाहै नदिई बिक्रीको प्रयास गरेका थिए तर घर सुनीताका नाममा रहेको र उनले बेच्न नमानेपछि झनै विवाद बढेको थियो । मृतक सुनीता ‘सिजनल काम’ का लागि बेलायत जान भिसासमेत लगाएर बसेकी थिइन् । त्यसअघि छोराछोरीलाई माइतीको जिम्मा लगाउनेबारे कुराकानी भइरहेका बेला दिनेशले पत्नी र दुई छोराछोरीको बीभत्स हत्या गरेर आफैंले आत्महत्याको बाटो रोजेका हुन् ।

    काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले प्रारम्भिक अनुसन्धानमा दिनेशले श्रीमती र दुई छोराछोरीको हत्या गरेर आत्महत्या गरेको हुन सक्ने देखाएको तर पोस्टमार्टम रिपोर्ट र प्रहरीको विस्तृत अनुसन्धानपछि मात्रै घटना कोबाट र कसरी भयो भन्ने यकिन हुने बताए । काठमाडौं प्रहरी प्रवक्ता मैनालीका अनुसार मृतक चारै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

    त्रिवि शिक्षण अस्पतालमा कार्यरत फरेन्सिक विज्ञ डा. गोपाल चौधरीले दिनेशले परिवारका तीन जनाको हत्या गरेर आत्महत्या गरेको प्रारम्भिक जाँचमा देखिएको बताए । चौधरी सोमबार घटनास्थल पुगेका थिए । ‘घटनास्थलको अवस्था र सुसाइट नोट विश्लेषण गर्दा छोराछोरी र श्रीमतीको हत्यापछि दिनेश आफैंले आत्महत्या गरेको देखिन्छ, स्थलगत मुचुल्का र शवको अवस्थाले पनि त्यही देखाउँछ,’ चौधरीले भने, ‘बाँकी विषय पोस्टमार्टम रिपोर्टबाट आउला ।’

    पारिवारिक बेमेल र झगडा अनि सम्पत्तिसँग जोडिएको यो बीभत्स घटनाले श्रीमान्–श्रीमतीको विवाद व्यवस्थापन र समाधान नहुँदा मानिसलाई कतिसम्म क्रूर अपराधको बाटोमा पुर्‍याउँछ भन्ने देखाएको एक अनुसन्धान अधिकृतले बताए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले पारिवारिक विवाद/बेमेल, आर्थिक अभाव, सम्पत्ति बाँडफाँट, आवेग र प्रतिशोध अनि आपसी अविश्वास आत्महत्याका कारण रहने गरेको बताए । तारकेश्वर घटना पनि पारिवारिक बेमेल, सम्पत्ति, आपसी अविश्वास र त्यसले निम्त्याएका अरू कारणबाट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको उनको भनाइ छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ५ वर्षमा ३१ हजारभन्दा बढीले आत्महत्या गरेका छन् । यसमध्ये कतिले परिवार तथा नातागोताको हत्या गरी आत्महत्या गरेको देखिन्छ । आत्महत्यामा आर्थिक अभाव, सम्पत्ति विवाद, घरायसी कलह, परपुरुष/महिलासँगका सम्बन्ध, नैराश्य, प्रतिशोध, मानप्रतिष्ठामा आँचजस्ता कारण देखिने गरेको छ । मनोविद् गोपाल ढकालले आत्महत्या दिनानुदिन बढ्दै गएको र यसले समाजमा विकराल रूप लिएको बताए । ‘आत्महत्याको मूल कारण त मानसिक समस्या नै हो, ७०/८० प्रतिशत आत्महत्या मानसिक समस्याबाटै घटेको देखिन्छ,’ उनी भन्छन्, ‘परिवार, नातागोता तथा साथीभाइ र चिनेजानेका बीच जति पनि आपसी कलह/बेमेल, मनमुटाव, आर्थिक अभाव, बेरोजगारी, व्यवसायमा नोक्सानी, अविश्वासजस्ता समस्या देखिन्छन्, त्यसबाट निम्तिने मानसिक समस्या नै हो, त्यसबाटै मानिसमा प्रतिशोध, आवेग, उत्तेजना हुँदै दिमागमा योजनाबद्ध रूपमा आपराधिक सोधको विकास हुने हो, हत्या र आत्महत्याका घटना पनि यसकै परिणाम हो ।’
    २०७७ भदौ २३ मा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, निकोसेराका ३६ वर्षीय सुदीप अधिकारीले पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षीय सुशान्तको हत्या गरी आत्महत्या गरेका थिए । उनले घरमा पालेको कुकुर पनि मारेर आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । आर्थिक अवस्था बिग्रिँदै गएपछि पारिवारिक तनावमा रहेका सुदीपले त्यही कारणबाट सिर्जित तनाव व्यवस्थापन नगर्दा परिवारका सदस्यको हत्या गरी आत्महत्या गरेको खुलेको थियो ।

    २०७६ माघ २७ मा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना ललितपुरको सानेपास्थित निवासमा मृत भेटिइन् । घाँटीमा डोरीले बाँधेर टाउकोमा चोट लागेको अवस्थामा भेटिएकी कार्कीको अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घरमा काम गर्ने दाङ (लमही) का विजय चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले मुनाको हत्या विजयले गरेको र पछि उनले आत्महत्या गरेको निष्कर्ष निकालेको थियो ।

    २०७७ पुस २४ गते राति काठमाडौंको टोखामा एक दम्पती मृत फेला परे । सुर्खेत पुर्ख्यौली घर भएका उमेश केसी ओछ्यानमा र पत्नी सदीक्षा नजिकै भर्‍याङमा झुन्डिएको अवस्थामा भेटिएका थिए । अनुसन्धानमा उमेशको हत्या गरी सदीक्षाले झुन्डिएर आत्महत्या गरेको प्रहरी आशंका रहे पनि आइफोन अनलक गरेर अनुसन्धान अघि बढाउन नसकेपछि घटनामा बाहिरी पक्षको संलग्नता खोजबिन नै भएन ।

    २०७८ फागुनमा रामकोटमा एकै परिवारका चार जनाले आर्थिक अभावको कारण देखाएर विष सेवन गरी सामूहिक आत्महत्या प्रयास गरेका थिए । तीमध्ये एक जनाको मृत्यु भएको थियो । २०७८ असोज २२ मा धनुषाको नगराइन नगरपालिका–७ फूलगामाकी २४ वर्षीया गुडिया साहले २ छोरा ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको हत्यापछि आत्महत्या गरेकी थिइन् ।

    यी घटनाले आत्महत्या र हत्यापछि आत्महत्याजस्ता जघन्य अपराधमा मानिस कसरी संलग्न हुँदै गएका छन् भन्ने देखाउँछ ।

    आव २०७४/७५ देखि २०७८/७९ को ५ वर्षे विवरणमा हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखिन्छ । प्रहरीको ५ वर्षको तथ्यांकमा विष सेवन, आगोमा जलेर, झुन्डिएर, हाम फालेर, करेन्ट लगाएर, हातहतियार तथा औजार प्रयोग गरेर तथा नदी/खोला तथा पोखरीमा हाम फालेर आत्महत्या गरेको देखिन्छ । त्यसमध्ये झुन्डिएर र विष सेवन गरेर आत्महत्या गर्नेको संख्या ९८ प्रतिशतभन्दा बढी देखिन्छ । पछिल्लो ५ वर्षमा मात्रै आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या ३१ हजार २ सय २१ पुगेको छ । आव २०७४/७५ मा ५ हजार ३ सय १७ जनाको आत्महत्याबाट ज्यान गएकामा आव २०७५/७६ मा करिब साढे ४ सय बढी अर्थात् ५ हजार ७ सय ५४ ले ज्यान गुमाएको देखिन्छ । आव २०७६/७७ मा आत्महत्याको संख्या बढेर ६ हजार २ सय ४१ पुगेकामा आव २०७७/७८ मा ७ हजार १ सय १७ र आव २०७८/७९ मा ६ हजार ७ सय ९२ जनाको आत्महत्याबाट मृत्यु भएको देखिन्छ ।

    मनोविद् ढकाल समस्या र चुनौतीको सामना गर्ने क्रममा झेल्नुपरेका कठिनाइले मानिसमा नैराश्य र आवेग/प्रतिशोधजन्य परिस्थिति उत्पन्न हुने बताउँछन् । ‘जसले आवेग र उत्तेजनाको सहज व्यवस्थापन गर्न सक्तैन, ऊबाट हो अकल्पनीय अवस्था आउने, जस्तो आवेग र उत्तेजनाले मानिसको विवेक गुम्छ, विवेक गुमेपछि संयम हराउँछ, धैर्य र संयम हरायो भने त्यसको नतिजा भनेको अपराध नै हो,’ उनी भन्छन्, ‘यस्तै बेला हत्या, आत्महत्या, बलात्कार, कुटपिटजस्ता घटना हुने गरेको देखिन्छ ।’ हरेक दिनजसो सामूहिक र एकल आत्महत्याका घटना घटिरहेका र यस्ता अपराध हुन नदिन सम्बन्धित व्यक्ति नै बढी संवेदनशील हुनुपर्ने उनको भनाइ छ ।
    साभार: कान्तिपुर दैनिक बाट

    Posted in मुख्य खबर, समाजLeave a Comment on छोराछोरी लगायत श्रीमतीको हत्यापछि आत्महत्या।

    राहदानी नविकरण सेवा तथा श्रमिक अन्तर कृया सम्पन्न !!!

  • १६ श्रावण २०७९, सोमबार ०१:४७ मा प्रकाशित
  • नेपाली महावाणिज्य दूतावास जेद्दा ले ताबुकमा ३० जुलाई २०२२मा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न गरेको छ !
    यस कार्यक्रम अन्तर्गत राहदानी नविकरण फाराम संकलन तथा नविकरण भै-आएका राहदानी बितरण लगायतका सेवा सुबिधाहरु प्रदान गरिएको थियो ! सो कार्यको लागी नेपाली महावाणिज्य दूतावास जेद्दा बाट कन्सुलर भुवन पौड्याल, जेमलादीन इब्राहिम, मोहमत अटवाल्लाह साथै राजु बास्कोटा ज्युहरुबाट सहजीकरणको सेवा प्रदान गरिएको थियो !
    कार्यक्रममा ताबुक लगयात आसपासका दुबा,हाकल, शर्मा, सकाका सहित करिब ५००कि.मि. टाडा सम्मबाट उपस्थिति भई नेपाली दाजु भाइहरुले सेवाबाट लाभ लिनु भएको थियो !
    महावाणिज्यदूतावास जेद्दा द्वारा जारी पुर्व सूचना अनुसार राहदानी नविकरण फाराम संकलन एकदिने कार्यक्रम २९ जुलाइ २०२२ भनिए तापनि सेवाग्राहीको उच्च चाप लाई मध्यनजर गरि प्रावधिक समस्याका बाबजुत पनि महावाणिज्यदूतावासका प्रतिनिधि द्वारा बिहिवार बिहान १०:०० बजे देखि शनिवार बिहान ०९:३० बजे सम्म लगातार सेवा दिँदै महिला १ र पुरुष १५४ गरि कुल जम्मा १५५ जना सेवाग्राहीलाइ सेवा प्रदान गरिएको थियो।

    राहदानी नविकरणको घुम्ती सेवा सम्पन्न गर्न गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका सस्थापक तथा सल्लाहकार भक्त हमाल ज्यु, गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका उपाध्यक्ष अर्जुन थापा ज्यु, गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकका पदाधिकारी ज्युहरु अध्यक्ष नर बहादुर खतिवडा, उपाध्यक्ष देवी बहादुर कार्की, सचिव युवराज पोख्रेल, कोषाध्यक्ष दिपक कार्की, सदस्यहरु शक्ति भट्ट र आइ बि गुरुङ द्वारा कार्यक्रम व्यवस्थित बनाउन समन्वयकारी भुमिका निभाउनु भएको थियो।

        ताबुक जस्तो टाढा दूरदराजबाट जेद्दा र रियाद नियोगहरुमा धाउनुपर्ने झन्झट र खर्चिलो यात्राबाट आफुहरु मुक्त भएको र आगामी दिनहरुमा पनि यस्तै सहजिकरणका कार्यक्रमहरु होस् भन्ने सेवाग्राही हरुको भनाइ रहेको थियो ,

    सम्पुर्ण सेवाग्राहिले आफ्नो पालो आउन निकै लामो समय पर्खनु परेकोले अब आउदा दिनहरुमा सेवालाइ अझै प्रभावकारी र चुस्त बनाइ, लामो समयको प्रतीक्षाबाट मुक्ति दिलाउन सुझाव दिएका थिए भने यसरी आफ्नै कार्यक्षेत्रमा बसेर कम खर्चमा सेवा लिन पाएकोमा सम्पुर्ण सेवाग्राहीहरु निकै हर्षित पनि देखिएका थिए।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on राहदानी नविकरण सेवा तथा श्रमिक अन्तर कृया सम्पन्न !!!

    जब जापान उड्न लागेकी कोहलपुरकी सपनाको हातमा हत्कडी लाग्यो …

  • १४ श्रावण २०७९, शनिबार २२:५५ मा प्रकाशित
  • कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीया सपना मल्ल वैदेशिक अध्ययनका लागि जापान जान लगेज बोकेर गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् । साथीभाइ र आफन्तले खादा र माला लगाइदिएर बिदाबारी पनि गराइसकेका थिए ।

    बिहान ७ बजे उड्ने नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं, दिल्ली हुँदै टोकियो पुग्ने टिकट थियो ।

    त्यही अनुसार ५ बजे नै बिदाइ सकेर उनी सुरक्षा जाँच पार गरिसकेकी थिइन् । जाँच पार गरेर लगेज जोखिसकेको अवस्थामा उनी उडानका लागि अन्तिम जाँच कक्षमा थिइन् ।

    तर उडान हुनु केही समयअघि मात्रै एकाएक सादा पोशाकका चाररपाँच जना प्रहरीले पुगेर उनलाई केरकार गर्न थाले । उड्ने बेलामा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का प्रहरी हौं भन्दै सोधपुछ हुन थालेपछि उनी असिनपसिन भइन् ।

    ‘सुरुमा उनले आफूलाई केही कुरा थाहा नभएको बताइन्, कुनै अपराधमा संलग्न नभएको दाबी गरिन्’ विमानस्थल पुगेका एक अधिकृत भन्छन्, ‘तर कोहलपुरमा हत्या गरिएका सर्जन बिकसँगको बिवाह दर्ता गरेको कागजात देखाएपछि उनी अक्क बक्क भइन् ।’

    पक्राउ पूर्जी लिएर विमानस्थल पुगेको प्रहरीले उनको हातमा हत्कडी लगायो । वैदेशिक अध्ययन र उज्जवल भविष्यको परिकल्पना गर्दै विमानस्थल पुगेकी सपनाको सपना विमानस्थलमै तुहियो । उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लियो ।

    केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का निर्देशक एआईजी उत्तमराज सुवेदी भन्छन्, ‘उनीविरुद्ध अहिले विस्तृत अनुसन्धान भइरहेको छ ।’

    सुवेदीका अनुसार २ वैशाख २०७८ मा कोहलपुर–११, बाँकेमा २१ वर्षीया सर्जन विक चढेको मोटरसाइललाई मिनी बसले ठक्कर दिएको थियो । त्यसक्रममा ज्यान गुमाएका विकको २ करोड ५० लाख रुपैयाँको बीमा थियो ।

    बीमा गरेको एक महिनामै उनको मृत्यु भएपछि बीमा कम्पनीलाई शंका लाग्यो र सीआईबीमा ठगी कसूरमा उजुरी पर्‍यो । अनुसन्धानका सिलसिलामा बीमा रकम हत्याउनैका लागि सपनाको विकसँग नक्कली विवाह गराइएको खुलेको सुवेदीले बताए ।

    सपनाको बयान अनुसार उनलाई विकसँग विहे गरे डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लगिदिने प्रलोभन दिइएको थियो । विवाह दर्तापछि विकसँग मल्लको भेट समेत भएको थिएन । उनी विकको मृत्यु संस्कारमा पनि सहभागी भएकी थिइनन् ।

    उनले दिएको बयानमा आफूलाई बीमाबारे कुनै जानकारी नभएको बताएकी छन् । प्रहरीका अनुसार प्रकरणमा मल्लसहित सञ्जीव अर्याल, सरदार महमद खाँ, टोपबहादुर राना क्षेत्री, दिपकक केसी र ललिता सापकोटा ‘आरती’ पनि पक्राउ परेका छन् ।

    साभारः अनलाईनखबर

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on जब जापान उड्न लागेकी कोहलपुरकी सपनाको हातमा हत्कडी लाग्यो …

    सरकारी खातामा रेमिटेन्स भर्न १५ वर्ष विदेशिएका कृष्णको परिवारको कथा सरकारलाई के थाहा !

  • १३ श्रावण २०७९, शुक्रबार ००:५० मा प्रकाशित

  • चितवन : सरकार विदेशी मुद्रा घट्यो भन्दै वैदेशिक रोजगारीको नयाँ गन्तव्य खोज्दै छ। अनि विदेशमा काम गर्न गएकाहरूलाई उतै लामो समय काम गरेर देशको खाता विदेशी मुद्राले भरिदिन आग्रह गरिरहेको छ। तर त्यही वैदेशिक रोजगारीका कारण लामो समय परिवारका सदस्य छुट्टिएर बस्दा भइरहेका आपराधिक घटनाप्रति भने उसमा कुनै चासो देखिन्न।

    यो हप्ता यस्तै एक घटना घट्यो चितवनमा। जसको मुख्य कारण वैदेशिक रोजगारीका लागि श्रीमान् लामो समय बाहिर बस्दा मनमा गढेको शङ्का नै देखियो। लामो समय विदेश बसेर आएका श्रीमानले आफ्नी श्रीमतीको चरित्रमाथि शङ्का मात्र गरेनन् छोरीका अगाडि खुकुरीले हानेर हत्या गरे। अनि तीन तलामाथिबाट हाम फालेर आफूले आत्महत्या गरे।

    चितवनको भरतपुर महानगरपालिका वडा न १० मा रहेको रमाइलो चोकमा भएको घटना हो यो। ४३ वर्षका कृष्ण आचार्य वैदेशिक रोजगारीबाट फर्किएको एक महिना मात्र भएको थियो। उनी परिवारका सदस्यलाई खबरै नगरी घर आएका थिए।

    उनी घर आएदेखि नै उनले श्रीमतीमाथि शङ्का गर्ने गर्न थाले। शङ्का कुटपिटमा बदलियो। उनकी श्रीमती रुश्मा घिमिरेबिचको घरायसी झगडा प्रहरीसम्म पुग्यो। दुवै सँगै बस्नै नसक्ने भएपछि सहमतिमै सम्बन्ध विच्छेद गर्न राजी भए तर अदालत जानु अगाडि नै कृष्णले श्रीमतीको हत्या गरेर आत्महत्या गरे।

    यो बिचमा उनीहरूबिच जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा छलफल समेत भएको थियो। रश्मिले घरेलु हिंसा विरुद्ध उजुरी दिएकी थिइन्। ३३ वर्षकी रुष्माले कृष्ण विदेशबाट फर्किएपछि अन्य व्यक्तिसँग सम्बन्ध रहेको भन्दै कुटपिट गर्ने गरेको भन्दै एकाघरमा बस्न नसक्ने बताएकी थिइन्।

    रुष्माले चितवन प्रहरीमा दिएको उजुरीमा कृष्णले घरायसी खर्च पनि नदिएर चरित्रमा टिप्पणी गर्ने गरेको उल्लेख गरेकी थिइन्। घरेलु हिंसा अन्तर्गत जाहेरी दिएपछि प्रहरीले पहिले चरणमा रुष्माको माइती पक्ष अनि कृष्णको परिवारसहित राखेर छलफल गराएको थियो।

    प्रहरीले छलफलमा तीन फ्ल्याटको घर रहेकोले रुष्मा र कृष्ण अलग-अलग फ्ल्याटमा बस्ने गरी सहमति गराइदियो। बाँकी छलफल असार १७ गते गर्ने गरी दुवै जना घर फर्किए।

    OOO

    कृष्ण १५ वर्षदेखि वैदेशिक रोजगारीमा थिए। रुष्मा तोरी खेतमा रहेको एक प्राथमिक विद्यालयकी शिक्षिका थिइन्। लामो समय श्रीमान्-श्रीमती टाढा रहँदा शङ्का बढायो। उनी जेठ १९ गते मात्रै नेपाल फर्किएका थिए। वैदेशिक रोजगारीकै क्रममा कृष्णको सुन्ने शक्ति पनि कमजोर भएको थियो। कानमा मेसिन लगाएर मात्रै प्रस्ट सुन्न सक्ने भएका थिए उनी।

    १५ वर्ष परिवारसँग टाढिनु, एक्कासि थाहै नदिई घरमा आउनु र आएदेखि नै श्रीमतीमाथि कुटपिट गर्नुले उनमा शङ्का बढाएको प्रस्टै देखिएको थियो। शङ्का बढाउनुको कारण वा उनको मानसिक स्वास्थ्यबारे प्रहरीले पनि त्यति चासो राखेन। पारिवारिक समस्याको रूपमा हेरेर सहमति वा सम्बन्ध विच्छेदतिर मात्र केन्द्रित हुँदा घटना घटेको देखिन्छ।

    प्रहरीको महिला सेल प्रमुख पूजा कार्की भन्छिन्’ आफू कमजोर भएकोले पनि कृष्णले श्रीमतीमाथि शङ्का गरेको हो कि भन्ने देखिएको थियो। उहाँ मेसिनको सहाराले मात्र सुन्न सक्नुहुन्थ्यो।’ यसले पनि उनमा कुनै मानसिक समस्या बढाएको संकेत गर्छ नै।

    उनीहरू अब अदालत गएर सम्बन्ध कानुनी रूपमा टुङ्ग्याउन राजी भएपछि प्रहरीले सोही अनुसारको कागज गराएको थियो। साढे १० बजे एक्कासि कृष्णले श्रीमती रुष्माको हत्या गरेको खबर पायो प्रहरीले। कृष्णको घरमा आमा बट्टाइदेवी आचार्य र उनीहरूका १२ वर्षीया छोरी थिइन्।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार आमा बट्टाइदेवी घटना भएको दिन घरमा थिइनन्। छोरी बाबुले आमालाई खुकुरी प्रहार गरेपछि रुँदै सडकमा गुहार माग्न निस्किएकी थिइन्।

    कृष्णले रुष्माको हत्या मात्रै गरेनन्। श्रीमतीको हत्यापछि आफै पनि घरको तीन तला माथिबाट हाम फालेर आत्महत्या गरेको हालसम्मको अनुसन्धानमादेखिएको प्रहरी बताउँछ। चितवनका प्रहरी प्रवक्ता डिएसपी अधिकारी भन्छन्’ ‘कृष्ण भागेको भन्दा पनि घटना हेर्दा श्रीमतीको हत्यापछि आत्महत्या गर्ने उद्देश्यले नै तीन तला माथिबाट हाम फालेको देखिन्छ।’
    उकेरा डटकम २०७९ साउन १२ गते १८:४३ मा प्रकाशित

    Posted in मुख्य खबर, समाजLeave a Comment on सरकारी खातामा रेमिटेन्स भर्न १५ वर्ष विदेशिएका कृष्णको परिवारको कथा सरकारलाई के थाहा !

    पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १६ जना घाइते

  • ८ श्रावण २०७९, आईतवार १८:१२ मा प्रकाशित
  • साउन,बुटवल । पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार बेलुकी ५ बजेतिर दुर्घटना भएको हो ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर वीरदत्त पन्तका अनुसार दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १६ जनाको उपचारका लागि तानसेन अस्पताल लगिएको छ ।

    मृतकको सनाखत हुन बाँकी रहेको तथा घाइतेको उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १६ जना घाइते

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P