पाल्पाबाट गोरखाको मनकामना आउँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ।
आज बिहान करिब ४ बजे नवलपुरको बलिङटारमा ना ६ ख ७५८० नम्बरको बस दुर्घटनामा परेको हो।
बसमा करिब २९ यात्रु रहेका थिए।
पाल्पाबाट मनकामना दर्शनका लागि दर्शनार्थीहरू लिएर आउँदै गरेको बस दुर्घटनामा परेको हो।
नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले दुर्घटनामा परेका घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको र केहीलाई चितवनका अस्पताल पठाइएको बताए।
‘पाँच जना घाइतेको अवस्था गम्भीर छ,’ उनले भने, ‘अहिलेसम्म १८ जना घाइतेको उद्धार गरिएको छ।’ घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।
कैलालीमा पाँच तोला बराबरका सुनका गरगहना र नगद चोरी गरेर भाग्ने क्रममा दुर्घटनामा परेर एक युवक घाइते भएका छन् ।
जानकी गाउँपालिका–७ गोलौरीका शंकरप्रसाद शर्माको घरबाट गरगहना र नगद चोरी गरेर भाग्ने क्रममा जोशीपुर गाउँपालिका ४ बस्ने ३५ वर्षीय इमरान हसन आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परेर घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा खुट्टा भाँच्चिएर घाइते अवस्थामै उनी पक्राउ परेका हुन् । उनको प्रहरीको निगरानीमा टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।
चोरी गरेर लगेका सुनको ब्रासलेट, जुली, तिलहरी, झुम्का, औँठी, मंगलसुत्रसहितका गरगहना र नगद ६२ हजार ५३२ रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दाङको तुलसीपुरमा एउटै खाडलमा भेटिएका किशोर–किशोरीको हत्याका विषयमा अनुसन्धान गर्न प्रहरीले शंकास्पद ब्यक्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिरहेको छ । तर, सन्तोषजनक प्रगति हुन सकेको छैन । प्रहरीले अनुसन्धानको काम गरिरहेपनि अझै घटनाको विषयमा तथ्य पत्ता लाग्न सकेको छैन ।
अनुसन्धानकै लागि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतम पनि तुलसीपुरमै छन् । अनुसन्धान जारी रहेपनि अझै पनि सोचे अनुरुपको प्रगति हाँसिल गर्न नसकिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए ।‘सोँचे अनुरुप प्रगति हाँसिल गर्न सकिएको छैन, हामी अनुसन्धान मै छौं’,उनले भने‘अझै चित्त बुझ्दो हुन सकेको छैन ।’
पीडितहरु अहिले पीडामा रहेकाले धेरै कुरा बोल्न नमानिरहेकाले पनि उनीहरुको सम्बन्धका बारेमा धेरै कुरा आउन नसकेको उनले बताए । अहिले शंकास्पद ब्यक्तीहरुलाई सोधपुछ गरिरहेको भएपनि अझै त्यसको नजिकसम्म पुग्न सकिएको अबस्था नरहेको डीएसपी गौतमले बताए । ति केटाकेटीको आनीबानी बुझ्न उनका साथीहरुलाई पनि सोधपुछ गरिएको प्रहरीले बताएको छ ।
उनका अनुसार अहिले दर्जनबढि ब्यक्तीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ ।‘सोधपुछको काम चलिरहेको छ, १०/१५ जना ब्यक्तीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं, बानीब्यहोरा बुझ्न उनीहरुका साथीहरुलाई पनि सोधपुछ ग¥यौं’,उनले भने‘तर, फाईनल यही हो, भनेर अझै भन्न सकिने अबस्था छैन ।’
कल डिटेल रिपोर्ट नआउँदासम्म यही हो भन्न नसकिने उनले बताए । केटा बेपत्ता भएपछि एक टिप्पर चालकले उनको हजुरआमालाई फोन गरेको देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । उनले दिएको बयानकै आधारमा अनुसन्धान भइरहेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ दमारगाउँ स्थित एक सामुदायिक बनमा दंगीशरण गाउँपालिका वडा नं.६ थपगाउँ निवासी १५ बर्षीय शरद आचार्य र तुलसीपुर १३ डाँडागाउँ निवासी रोशनी महतारालाई हत्या गरि एउटै खाडलमा गाडिएको अबस्थामा आईतबार दिउसो १२ बजेतिर फेला पारिएको थियो । उनीहरुको टाउकोमा चोट लागेको छ । टाउकोमा ढुंगा प्रहार भएको जस्तो देखिने डीएसपी गौतमको भनाई छ । तर, यो विषयमा पोष्टमार्टम रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने उनको भनाई छ ।अझै पनि उनीहरुको पोष्टमार्टम हुन सकेको छैन ।
उनीहरु असोज २७ गते रातिदेखि परिवारको सम्पर्क विहीन बनेका थिए । केटाको शव तल र केटीको शव माथि राखेर गाडिएको थियो । उनीहरुबीच प्रेम सम्बन्ध रहेको स्रोतले बताएको छ ।
खाडल खनेर गाडिएको अबस्थामा फेला परेका उनीहरुको शब गन्ध आएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी पुगेर उनीहरुको शव निकालेर परीक्षणकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो ।
केटीको घर तुलसीपुर १३ स्थित डाँडागाउ हो । उनका आमा वुवा कमाउन भारत गएका थिए । घरमा दुई दिदी बहिनी बस्थे । त्यो दिन राति मोवाईलमा एक जना टिप्पर चालकले फोन गरको पाईएको थियो । अहिले ति टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सोधपुछ जारी राखिएको प्रहरीको भनाई छ ।
केटा आचार्यको घर दंगीशरण ६ थपगाउँ हो । तर, उनी दमारगाउँ मावलीमा बस्दै आएका थिए । उनीहरु दुबै जना एउटै स्कुलमा पढ्थे । तुलसीपुर १३ स्थित अम्बापुर स्कुलमा आचार्य कक्षा ८ र महतारा कक्षा ९ मा अध्ययनरत थिए । उनीहरु हराएकै दिन राति १२ बजेतिर ‘बचाउ’ भन्ने आवाज आएको स्थानीयले बताएका छन् ।
दुई छोराहरूलाई झुन्ड्याएपछि हेमले आत्महत्या गरेको अनुमान गाउँलेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान घाँस काटेर फर्किंदा मीनबहादुर रानाले जे देखे, त्यसले उनलाई धेरैबेर होस हराएजस्तो अवस्थामा पुर्याइदियो । घर छेउको काप्रोको रूखमा तीन जना झुन्डिएको अवस्थामा थिए । उनीहरू भतिजा नाता पर्ने हेमबहादुर राना, उनका ७ वर्षीय जुम्ल्याहा छोरा शिशिर र वसन्त थिए । मीनले घाँसको भारी मिल्काए, चिच्याएर छरछिमेकी बोलाए । एकैछिनमा गाउँमा होहल्ला भयो ।
भीमसेन थापा गाउँपालिका–६ अश्राङ मोहरियाका ३४ वर्षीय हेमबहादुर केही समयदेखि वैदेशिक रोजगारीमा थिए । भारतमा रहेका उनी गत असारमा मात्रै गाउँ फर्किए । घरमा आमा, श्रीमती, जुम्ल्याहा छोराहरू थिए । स्थानीयका अनुसार हेमबहादुर भारतबाट फर्किएपछि नै परिवारमा कलह सुरु भएको थियो । श्रीमती ४ महिनाकी गर्भवती थिइन् ।
आफू घरबाहिर रहँदा कसरी–कसको गर्भ रह्यो भन्नेमा चर्काचर्की भयो । भारतबाट कामको खोजीमा आएका मोतीहारीका एक मिस्त्रीसँगको सम्बन्ध खुलेपछि राना दम्पती सँगै बस्ने अवस्था रहेन । गत भदौको अन्तिम साता उनीहरूले गोरखा जिल्ला अदालतमा पुगेर सम्बन्धविच्छेद गरे । उनकी पत्नीले घर छाडिन् ।
त्यसपछि जुम्ल्याहा नातिहरूको हेरचाह हेमबहादुरकी वृद्धा आमाले गर्दै आएकी थिइन् । उनीहरू स्थानीय जनशक्ति आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्थे । हेमबहादुर धेरै बोल्दैनथे । लामो समय वैदेशिक रोजगारीमा रहेकाले घर बसेर गर्ने पेसा पहिल्याइसकेका थिएनन् । साथीभाइ भेट हुँदा उनी खुलेर कुरा गर्दैनथे, पत्नी र घरका प्रसंगमा कुरा चल्दा मौन रहन्थे । उनले गुनासो गरेको छिमेकीले सुनेका थिएनन् ।
‘अम्बा टिप्ने भन्दै छोराहरूलाई फकाइफुल्याई लिएर गएका रहेछन्,’ स्थानीय आशिष थापामगरले भने, ‘बिहान १० बजेतिर यस्तो देख्नुपर्यो ।’ घर आएर भारत जानुभन्दा अघि पनि हेमबहादुर वैदेशिक रोजगारीमै थिए । उनी ६ वर्ष साउदी अरब बसेका थिए ।
दुई छोराहरूलाई झुन्ड्याएपछि हेमले आत्महत्या गरेको अनुमान गाउँलेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोरखाका डीएसपी लीलाराज लामिछानेले घटनाबारे पोस्टमार्टम रिपोर्टपछि केही तथ्य खुल्न सक्ने बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानले भने घटना आत्महत्या नै भएको संकेत गरेको छ ।
पछिल्ला वर्षहरूमा जिल्लामा आत्महत्याको दर बढेको देखिन्छ । पछिल्ला ५ आर्थिक वर्षको अवधिमा गोरखा जिल्लामा ३ सय ५ जनाले आत्महत्या गरेका छन् । चालु वर्षको २ महिनामा १७ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा पुरुषको संख्या धेरै छ । गत आर्थिक वर्ष २०७८/७९ मा आत्महत्या गरेका ६९ मध्ये ३३ जना पुरुष छन् । २७ महिला, एक बालक र ८ बालिकाले गत आर्थिक वर्ष आत्महत्या गरेको प्रहरी तथ्यांकमा छ । एक सातामै पाँच जनासम्म झुन्डिएर मृत्यु भएका घटना पनि छन् ।
मादक पदार्थको अत्यधिक सेवन, वैदेशिक रोजागारीले पारिवारिक कलह, गरिबी र मानसिक विक्षिप्तता आत्महत्याको कारणका रूपमा देखिने डीएसपी लामिछानेले बताए ।
‘आत्महत्याको दर हेर्दा मादक पदार्थको प्रभाव अत्यधिक देखिन्छ, नशा गर्ने लतले सानो समस्या देखे आत्तिने, सामना गर्न नसक्ने बनाउँछ,’ उनले भने । आत्महत्याका घटना रोकथाम तथा न्यूनीकरणका लागि सामाजिक अभियान नै चलाउनुपर्ने उनले बताए ।
जुम्ला, असोज २२ गते । जुम्लामा पहिरोमा परी सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको कनकासुन्दरी गाउँपालिका –५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किँदा ७ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमूली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीका २२ वर्षीया श्रीमती पानसरा शाही, रमेश शाहीका ८ वर्षका छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीया विद्या शाहीको मृत्यु भएको छ ।
घटनामा परी स्थानीय सरस्वती हमाल, रामबहादुर हमाल गम्भीर घाइते हुनुभएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दसहितको टोली उद्धारका लागि पुगेको प्रशासनले जनाएको छ ।
आमा छोरा बेपत्ता
जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोले हिमा गाउँपालिकामा आमा छोरा बगेर वेपत्ता भएका छन् । हिमा गाउँपालिका –३ जोगिवाडामा बाढी आउँदा स्थानीय २५ वर्षीया सत्यदेवी योगी र उहाँका ३ वर्षीय छोरा विनम योगी बगेर बेपत्ता भएका छन् । उहाँहरुको खोजी भइरहेको छ । ्
गत मङ्गलबार साँझदेखि परेको अबिरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडादसैँको रौनकता बढाउन सकेन ।
चाडपर्वको समयमा आफन्त, इष्टमित्र, मान्यजनको हातको टीका थाप्न र आर्शीबाद लिन बर्षाका कारण कठिनाई भएको व्यास–१० निवासी तुलबहादुर सुनार बताउँछन् ।
अबिरल वर्षाकै कारण ससुराली घर चितवनमा जान समेत रोकिनुपरेको उनको दुखेसो छ ।
जाउँ जाउँ त लागेको छ, लामो दूरीको सडक त्यसमा पनि ठाउँ ठाउँमा पहिरो खस्ने चिन्ताले जाने चाहना हुँदाहुँदै पनि नसकिएको सुनार बताउँछन् ।
कोरोनाका कारण तीन बर्ष खुलेआम चाडपर्व मनाउन नपाएका नेपालीहरुले यसबर्ष दशैं हर्षोल्लास र उमङ्गका साथ मनाउने सपना देखेपनि त्यो पूरा हुने नहुने अवस्था सिर्जना भएको हो ।
वर्षा जारी रहेका कारण मौसमले समेत साथ नदिँदा पीङ खेल्न, रमाइला स्थानमा घुम्न जान नपाइएको व्यास–२ निवासी एवं संचारकर्मी विकास खनाल बताउनुहुन्छ ।
दशैंको दिन टीका,जमराका साथै नयाँ नयाँ कपडा लगाएर मान्यजनहरुको हातबाट टीका थाप्न जान बर्षाका कारण समस्या भएको उनको भनाइ छ ।
अबिरल वर्षाका कारण दसैँमा पीङ्ग खेलेर रमाइलो गर्ने र साथीभाईसँग भेटघाट गरी प्रत्यक्ष कुराकानी गर्ने अबसरबाट गर्न बञ्चित हुनुपरेको व्यास नगरपालिका–१ निवासी जानुका नेपालीको पनि गुनासो छ ।
उनी भन्छन्, अघिल्ला बर्षको चाडपर्व कोरोना सङ्क्रमणका कारण बाहिर खुलेर रमाउन नपाइएकामा यसबर्ष पनि मौसमले साथ नदिँदा खल्लो भयो । रासस
साउदी अरब। गैर आवासीय नेपाली संघ पुर्बी क्षेत्रीय समन्वय समिति द्वारा आउदै गरेको बिजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको छ।
साउदी अरबको पुर्बि क्षेत्र दमाम स्थित सियादमा आयोजित शुभकामना कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली राजदूतावासका पुर्बि क्षेत्रीय जनसम्पर्क अधिकारी नारायण पासवानको उपस्थिति रहेको थियो भने साउदी अरबमा सक्रिय बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे ।
उक्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले हामी नेपाली सन्सारको कुनै पनि भुगोलमा रहेतापनि आफ्नो कला संस्कृतिको जगेर्ना गर्नुपर्ने र यसै माध्यमबाट आफुलाई नेपाली समाजको परोपकार सङ्ग जोड्नु पर्नेमा जोड दिएका थियो।
कार्यक्रममा गैर आवासीय नेपाली संघ आईसीसी महिला उपाध्यक्ष यासमिन बेगम सैयद , आईसीसी सदस्य तेज थापा , एनसीसी साउदीका अध्यक्ष डमर यादब ,उपाध्यक्ष रबिना अर्याल , नेपाली साझा मन्चका अध्यक्ष अकल प्रधान , प्रवासी नेपाली मन्चका महासचिव याम लामा तामाङ ,पानस साउदीका महासचिव मनोज धिमाल ,हेल्प मधेसी साउदीका कार्यबाहक अध्यक्ष श्याम कुमार महतो ,किरात राई यायोय्खा शाखा साउदी अरबका अध्यक्ष चित्र कुमार चाम्लिङ्ग राई, तामाङ घेदुङ पुर्बी क्षेत्रका अध्यक्ष बिजय लामा , पत्रकार अन्जान गुभाजु , आरसीसी दमाम कोषाध्यक्ष प्रजिता महर्जन लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य दिएका थिए ।
गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति दमामका अध्यक्ष विष्णु भण्डारीले शुभकामना आदानप्रदान विषेश कार्यक्रममा गरिमामय उपस्थिति जनाइ कार्यक्रमको शोभा बढाउनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आभार ब्यक्त गरेका थिए।
कार्यक्रममा स्थानीय कलाकारहरूको नृत्य,गायन तथा साहित्यिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।
उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति दमामका सचिब पुर्ण सुनार संचालन गरेका थिए भने कार्यक्रमको सभापतित्व अध्यक्ष विष्णु भण्डारीले गरेका थिए।
कार्यक्रममा हेल्थ केयर अस्पताल दम्मामले त्यहाँ उपस्थित नेपाली दाजुभाईहरुलाई चेक जाँच गरि स्वास्थ्य सेवा उपलब्ध गराएको थियो ।
सल्यानमा गएराति भएको डबल क्याप जीप दुर्घटनामा परि आठ जनाको मृत्यु भएको छ। मृतक सबै जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ६ जलवाङका स्थानीय हुन्।
बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट जलवाङतर्फ जाँदै गरेको रा १ ज ५६३ नम्वरको जीप गएराति करिब १ बजे कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा दुर्घटना भएको थियो।
९ जना सवार जिपमा ३५ वर्षीय तिलक वली मात्र घाइते भएका छन्। बाँकी सबैको ज्यान गएको छ।
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचाररत वलीका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेहरू सबै एउटा गाउँका हुन्। जसमा ४५ बर्षीय टोपबहादुर वली, उनका ११ वर्षीय छोरा वसन्त वली, ४० बर्षीय ललित वली, ४५ वर्षीया कुमारी वली, ४५ बर्षीय धर्म वली, २७ वर्षीय सुरेश केसी र चालक २२ वर्षीय जीतबहादुर बोहरा छन्।
यस्तै ७० वर्षिय स्थानीय खुमलाल वलीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
घाइते वलीका अनुसार चालक निदाएकाले दुर्घटना भएको सेतोपाटीलाई बताए। ‘मैले त गाडी खसेपछि मात्रै थाहाँ पाएँ,’ उनले भने, ‘गाडीमा हामी सबै निदाएका थियौं। सायद चालक पनि निदाए पछि गाडी दुर्घटना भयो।’
प्रहरीले पनि चालक निदाएका कारण गाडी दुर्घटनमा परेको हुनसक्ने अनुमान गरेको छ।
घाइते वलीले आफूहरू बाँकेको ढकेरीस्थित आफन्तको बिहेमा गएर फर्किने क्रममा दुर्घटनामा परेको बताए।
कपुरकोट– ६ का वडाध्यक्ष श्यामकृष्ण बोहराले कपुरकोट– ५ बाट बसाई सरेर बाँकेको ढकेरीमा गएका आफन्तको छोरीको बिहेमा सहभागि भइ फर्किने क्रममा उनीहरू आफ्नै घर नजिकै आइपुग्दा दुर्घटनामा परेको बताए।
एकै ठाउँका ७ जनाको ज्यान गएपछि गाउँ शोकमा डुबेको उनले बताए। उनले एकै घर-परिवार भित्रका चार-पाँच जना मानिसको मृत्यु हुँदा दसैंको उल्लास आँशुमा बदलिएको सेतोपाटीलाई बताए।
एकै घर परिवार भित्रका बाबु–छोरा, काका र ठूला बुवाको मृत्यु भएको उनले बताए।
‘गाउँमा मात्रै होइन एकाबिहानै आठ जनाको मृत्युको खबरले पुरै जिल्ला शोकमग्न भएको छ,’ उनले भने, ‘सल्यानले फेरि एउटा कल्पना नगरेकै ठूलो बिपत्ति खेप्नुपर्यो।’
घाइते तिलक वलीको दुबै खुट्टामा गम्भीर चोट लागेको छ। ‘उनको घुडा मुनीबाट दुबै खुट्टा फ्याक्चर भएका छन्,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘तुलसीपुरमा उपचार सम्भव नभएपछि ब्लड रोक्ने प्रयास गरि हामीले बाँके रिफर गरेका छौ।’
घाइतेलाई बुधबार बिहान साढे ६ बजेतिर बाँकेको लागि रिफर गरिएको थियो।
सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले चालकको समेत मृत्यु भइसकेको हुँदा दुर्घटना के कारणले भयो भन्ने एकिन साथ भन्न कठिन भइरहेको बताए। ‘गाडी एकदमै ओरालोबाट करिब दुई सय मिटर तल खसेको छ,’ उनले भने, ‘चालक निदाएर दुर्घटना भएको हो वा ब्रेकले काम नगरेर दुर्घटना भयो, त्यो अनुमान गर्न सजिलो छैन।’ उनले मृतक सबैको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान खलंगामा ल्याइसकिएको जानकारी दिए। दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राति १२ बजेतिर रा १ ज ५६३ नम्बरको डबल क्याप जीप इन्ट्रिगरि सल्यान तर्फ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङका सञ्चार शाखामा कार्यरत सन्तोष बुढाथोकीले जानकारी दिए। मुलपानीस्थित वनस्पति उद्यान नजिकैबाट गाडी तल खसेको हो। स्थानीयका अनुसार मध्यरातमा दुर्घटना हुनु र प्रहरी प्रशासनले समयमै जानकारी नपाउँदा मृतकको संख्या बढेको हो। दुर्घटना साढे १ बजेतिर भए पनि स्थानीयको खबर पछि इलाका प्रहरी कार्यालय कपुरकोटबाट प्रहरी करिब साढे ४ बजेतिर मात्रै घटनास्थल पुगेको थियो।
पञ्चाङ्ग चित्रपट भाग:-११ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०५/३०
राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ११[एघारौँ] चित्रपटमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै
राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा बालबालिकाको बारेमा पञ्चाङ्ग यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक : ———— गुणनिधि घिमिरे तोयानाथ सुवेदी
चित्र संकलन
सोमनाथ लुइटेल “रवि पाल्पाली”
शुद्धीकरण ————– भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
सङ्कलक :- ———- दुर्गा आचार्य & भवानी घिमिरे
समायोजन ————- सोमनाथ लुइटेल “रवि पाल्पाली”
चित्रपट पञ्चाङ्ग ०१
भाषणमा सीमित कागजमा कोरिएको बाल अधिकार छ । आसेपासेको घेरा बन्दीमा नै सोरिएको बाल अधिकार छ । संविधानमा नै सुनिश्चित गर्न सकेको छैन बाल दिवस , नियमलाई ध्वस्त बनाएर फोरिएको बाल अधिकार छ। बालबच्चालाई बन्धक राखी चोरिएको बाल अधिकार छ।
❤️सोमनाथ लुइटेल “रवि पाल्पाली” , पाल्पा हाल बर्दिया ।
चित्रपट पञ्चाङ्ग ०२
मनमनमा लेखिनुपर्छ बाल अधिकार । हरकुनामा टेकिनुपर्छ बाल अधिकार । कागजको खोस्टो मात्र कदापि हुनुहुँदैन, व्यवहारमै भेटिनुपर्छ बाल अधिकार । सही आँखाले हेरिनुपर्छ बाल अधिकार ।
❤️वसन्त अनुभव, घोराही, दाङ।
चित्रपट पञ्चाङ्ग ०३
संबिधानले दिएको कति पाए हेर। बालबालिकाको नाममा के खाए हेर। सरकार बच्चाले दु:ख नपाओस कत्ती , नेपालका कर्णधार के के लाए हेर। शिक्षाले नै गर्दा कहाँ कहाँ छाए हेर।
❤️जानुका गौतम, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ०४
बाल अधिकारमा मुखले बोलेर हुदैन , अहिले गर्ने पछिको काम मोलेर हुदैन । जिम्मेवारी लिनुपर्छ सब अभिभावकले , उपचार गर्न कानुनमा घोलेर हुदैन , सुरक्षा बजारमा दोकान खोलेर हुदैन ।
❤️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
चित्रपट पञ्चाङ्ग ०५
बाल अधिकार नारामा मात्र सिमित बोलेको भेटिए । कस्तो सजिलोसँग नियमितरूपमा घोलेको भेटिए। कस्ले गर्ने खबर दारी सबैको एउटै चाल भेटिन्छ, अन्यत्रबाट बाहिरी संस्कार ल्याएर मोलेको भेटिए। कमाई खाने माध्याम बालअधिकार खोलेको भेटिए ।
❤️दुर्गा आचार्य, मोरङ ।
चित्रपट पञ्चाङ्ग ०६
बाल बालिकाहरुले हक अधिकार पाउनु पर्छ । सम्पुर्ण हाम्रा बाल बालिकामा खुसी छाउनु पर्छ । पोषिलाे खाना रोग निवारण खोप लाउनु पर्छ , पढ्न लेख्न रमाउदै बिद्यालयमा धाउनु पर्छ । बाल बालिकाको अधिकारका गीत आउनु पर्छ ।
❤️तारा घिमिरे, संखुवासभा ।
चित्रपट पञ्चाङ्ग ०७ [१] सबैको मनमा ज्ञान छर्नु पर्छ बाल अधिकारमा। शिक्षाले नै बच्चालाई भर्नु पर्छ बाल अधिकारमा। भाषणले मात्रै देखाएर कदापि हुनेछैन यहाँ , नयाँ सीप ज्ञान दिन झर्नु पर्छ बाल अधिकारमा । सहि तरिका सदैव गर्नु पर्छ बाल अधिकारमा । [२] बाल अधिकार सदैब तरिकाले गर्नु पर्छ। बालबालिकामा ती खुसी दिंदै ज्ञान छर्नु पर्छ। भाषणमा मात्रै देखाएर केही हुने नै छैन, शिक्षाको ज्ञान दिंदै सबैमा त्यो ज्ञान भर्नु पर्छ। यिनैमा नयाँ सिप त्यो ज्ञानमा मन झर्नु पर्छ।
❤️बेदु न्यौपाने काठमाडौ ✍️
चित्रपट पञ्चाङ्ग ०८
बालबालिका कोपिला भविष्य विकासका राजा हुन् । टपक्कै टिप्ने अनगिन्ति दिमागिय चाल ताजा हुन् । शोषणमा कुनैलाई नपारी शिक्षा दिनु सबैले , पछि बाबुआमालाई यिनैले भरिदिने खाजा हुन् । मनोरञ्जनका भरिपूर्ण लौ हेर आफैँ बाजा हुन् ।
❤️जमुना आचार्य कोइराला, सिन्धुपाल्चोक ।
चित्रपट पञ्चाङ्ग ०९
ठूला कुरा हैन काम गरौँ आउनुहोस् सबै । बालश्रम रोक्न अघि सरौँ आउनुहोस् सबै। व्यवहारमा खरो उत्रिन सिकी सबै जना , बाल-बालिकाको दुःख हरौँ आउनुहोस् सबै। सत्कर्ममा अब लागि परौँ आउनुहोस् सबै।
❤️ अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
चित्रपट पञ्चाङ्ग १०
संबिधानमा नि लेखिनुपर्छ बाल अधिकार, हर कानुनमा टेकिनुपर्छ बाल अधिकार, सेताे कागजकाे पानामा मात्रै त्यो नराख बारै धेरै जसाे गरी भेटिनुपर्छ बाल अधिकार, मनैदेखिबाट हेरिनुपर्छ बाल अधिकार।।
❤️सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल ।
चित्रपट पञ्चाङ्ग ११
बाल बालिकाहरूले आफ्नो हक लिन धाउनु पर्छ । उनीहरुको मन सधैं खुशी नै खुसी छाउनु पर्छ । सडकमा गरेका भाषणले मात्रै हुन्न अधिकार, विभिन्न रोग निवारण खाेपहरू नि लााउनु पर्छ । बाल बालिकाहरूले आफ्नो अधिकार पाउनु पर्छ ।
❤️दुर्गा भट्टराई, मोरङ ।
चित्रपट पञ्चाङ्ग १२
कलिलो बाल मस्तिष्क पहिला त यो खाली हुन्छ । भरिन्छ त्यो खाली जब त्यहाँ असल माली हुन्छ । पाउनैपर्छ उसले आधारभूत अधिकार , अवसर पाए उसको पनि बज्ने ताली हुन्छ । जति राम्रो स्याहार गर्यो उति राम्रो बाली हुन्छ।
❤️पशपति राई, खोटाङ ।
चित्रपट पञ्चाङ्ग १३
बाल दिवस मनाउँ कत्ती शोषण नगरी तिमी । कु पोषणका सिखार छन हाम्रै देशै भरी तिमि । उपहास बन्यो समाज नै मज्दुर जन्माई यहाँ , डुलेका देश विदेश काम गर्न घरि घरी तिमी । लेख पढ गर्ने वेला हेर पसिनाको झरी तिमी ।
❤️सुरेशकुमार पान्डे, घोराही १८ दाङ ।
चित्रपट पञ्चाङ्ग १४
बाल दिवसमा बच्चाकाे हक आउनु पर्छ । देशको कर्णधार नेपालमा छाउनु पर्छ । संबिधानले दिएको अधिकार पर्छ केके? सरकारले स्कुल स्कुलमा नै धाउनु पर्छ । शिक्षा दीक्षा बिद्यार्थीले निशुल्क पाउनु पर्छ ।
❤️पार्वती अर्याल, भरतपुर चितवन ।
चित्रपट पञ्चाङ्ग १५
मञ्चमा माइक समाएर के गर्नु ? ताली दिने मास जमाएर के गर्नु ? श्रमिक बालबालिका कमि भएन , मात्रै दिवसमा रमाएर के गर्नु ? सन्तति नरहे कमाएर के गर्नु ?
❤️भवानी घिमिरे, सर्लाही ।
चित्रपट पञ्चाङ्ग १६
पहिलो प्रयास १
मेरो मन आज धेरै डराएको हो की? छेउमा आई काग नि कराएको हो की? केहुने हो बिमारी छन घरमा सिकिस्त समयमा औषधी नगराएको हो की ? आज भोलि भन्दै दिन सराएको हो की ?
❤️सीता शर्मा, वीरगन्ज ।
चित्रपट पञ्चाङ्ग १७
पारीकाे खेतमा गाई चराएकाे हाे कि! तर्सिएर गयाे गाई डराएकाे हाे कि! वस्तु चाेरी लाने चाेरकाे छ बिगबिगी! गुहार भन्दै ती मान्छे कराएकाे हाे कि! कतै भेटिएन बाच्छो हराएकाे हाे कि!
❤️उर्मिला के.शी., धनकुटा ।
चित्रपट पञ्चाङ्ग १८
देशका भाबी पिँढी हुन । बा आमाका त सिँढी हुन । देखाऊ उज्ज्वल भविष्य , कसैले भन्ने बिढी हुन । घर घरको छिँढी हुन ।
❤️सुमित्रा पोखरेल, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १९
बालबालिकालाई नै ज्ञान छर्नु पर्छ सरकार । अधिकारबाट बञ्चित गरे मर्नु पर्छ सरकार । संविधानले दिएको अधिकार नखोसिदिनु कैले, हकहितको लागि नेता तल झर्नु पर्छ सरकार । कर्णधार हुन हाम्रो भर त पर्नु पर्छ सरकार ।
❤️संगिता शर्मा, सिन्धुली ।
चित्रपट पञ्चाङ्ग २०
आजका बालबालिका भोलिका कर्णधार हुन सक्छन् । चन्द्र र सुर्यलाई पनि बालबालिकाले छुन सक्छन् । बालकलाई शोषणमा नपारी शिक्षा दिनु सबैले , बाबाआमालाई लागि यिनैले सेवागरि रुन सक्छन् । देशको लागि लडाकु बनि दुश्मनलाई धुन सक्छन् ।
❤️भावना न्यौपाने ,काठमाडौं नेपाल ।
चित्रपट पञ्चाङ्ग २१
बालबालीकाले आफ्नो भविष्यको लागि शिक्षा चुन्ने गर्छन् । अगाडि कसरी बढिन्छ भनेर सिक्ने कुरा बुन्ने गर्छन् । अलिकति उचनिच भयो भने जीन्दगी बिग्रन्छ यहाँ , सम्हालेर जानु सोधेर थाह नपाए मात्र सुन्ने गर्छन् । पढ्नु पर्छ ज्ञानी भएर ठूलो मान्छे कसरी भन्ने गर्छन् ।
❤️ अम्विका अधिकारी, विर्तामोड झापा ।
चित्रपट पञ्चाङ्ग २२
बालबालिकाको हितमा केही त गर्नु पर्छ । यसमा सरकारको पनि ध्यान पर्नु पर्छ । सबैलाई छ बालदिवसको शुभकामना , सधैं राम्रो राम्रो कुराले दिमाग भर्नु पर्छ । उज्वल भविष्यको लागि सन्देश छर्नु पर्छ।
❤️सरस्वती श्रेष्ठ, इटहरी ।
चित्रपट पञ्चाङ्ग २३
बाल बालीकाको श्रम शोषणमा पर्नु हुन्न । खानेखेल्ने लेख्नेपढ्ने अधिकार हर्नु हुन्न । संविधान कानुनले यहीँ कुरा भन्छ सधैँ , परम्परा भनेर बालविवाह गर्नु हुन्न । उनको आत्मनिर्णयको स्वैच्छिक मर्नु हुन्न !
❤️बिबस पारदर्शी, भद्रपुर झापा ।
चित्रपट पञ्चाङ्ग २४ [१] छोराछोरी बराबरी हामी हुनुपर्छ । राम्रा राम्रा काम गरी दामी हुनुपर्छ । पुरातन संस्कार तोडेर अब हामी , विश्वमा नै अब अग्र-गामी हुनुपर्छ । असल सन्तान भई नामी हुनुपर्छ । [२] बालक हौँ पढ्न अनि खेल्न पाउनु पर्छ । खर्क तिर हैन हामी स्कूल धाउनु पर्छ । पढ्न,लेख्न ,खेल्न पाउने हाम्रो अधिकार , शिक्षा, दिक्षा लिई हामी विश्व छाउनु पर्छ । सबै मिली एकताको गीत गाउनु पर्छ ।
❤️पद्मा रिजाल, बाँके ।
चित्रपट पञ्चाङ्ग २५
मलाई निस्वार्थी जतिपनी छन् महोदय खास लाग्छ। यहाँ माया गर्छ त्यो टाँडा भएपनी सँधै पास लाग्छ। हामीले के नै ल्यायौ र के गुमायौ सम्झ त साथीहरू, तिमीले चालेका हरेक लक्ष खै किनहो काँश लाग्छ। एकदिन अवश्य फर्केर आउँछौ भन्ने आश लाग्छ।
२८ भदौ, काठमाडौं । प्रहरीले बच्चा चोरी गर्ने गिरोह नेपाल प्रवेश गरेको कुनै सूचना नभएको बताएको छ ।
साइबल व्यूरोले सूचना जारी गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएजस्तो कुनै पनि सूचना प्रहरीमा नआएको बताएको हो ।
सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैं देशभर रहेका कुनै पनि प्रहरी कार्यालयमा हालसम्म कुनै पनि माध्यमबाट कुनै पनि उजुरी/सूचना प्राप्त भएको छैन,’ व्यूरोले सूचनामा उल्लेख गरेको छ । पछिल्ला दिनमा भारतबाट सामाजिक सञ्जालमा जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्ति नेपाल प्रवेश गरेको अफवाह फैलिएपछि साइबर व्यूरोले सूचना जारी गरी कारबाहीको चेतावनी समेत दिएको छ ।
सामाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जोकोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानूनी कारबाही गरिने ब्यहोरासमेत जानकारी गराउँदछौं’. सूचनामा उल्लेख छ ।
प्रहरीले सामाजिक सञ्जालमा भ्रम फैलाइए जस्तो नेपालका कुनै पनि प्रहरी युनिटमा त्यस्तो सूचना प्राप्त नभएको उल्लेख गरेको छ ।
सामाजिक सञ्जालमा आएका सूचना भ्रामक भएको भन्दै व्यूरोले विश्वास नगर्न र त्यस्ता कुनै अपराधसँग सम्बन्धित सूचना भए प्रहरी कार्यालयमा खबर गर्न सूचित गरेको छ । सामाजिक सञ्जालमा बच्चा छोरी हुने सूचना भाइरल भएपछि नागरिक आतंकित भएका छन् । विद्यालय र सरोकारवालाले समेत सतर्क रहन सूचना जारी गरेका छन् ।