• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

राजीनामा पत्रमा पोखरेलले भने- अवाञ्छित र जनादेश प्रतिकूल काम भयो 

  • २७ श्रावण २०७८, बुधबार १८:०० मा प्रकाशित
  • २७ साउन, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो राजीनामा पत्रमा विपक्षी दललाई विभिन्न आरोप लगाएका छन् । उनले संविधान धारा १६८ (१) अनुसार  नियुक्त मुख्यमन्त्री विरुद्ध १८८(४) को व्यवस्था अनुसार पहिलो दुई वर्षसम्म अविश्वासको प्रस्ताव पेश गर्न नपाइनेमा विपक्षी दलहरु संवैधानिक प्रावधान विपरीत गएको बताएका छन् ।
    विपक्षी दलले प्रदेशसभाबाट दुईजना सांसदलाई राजीनामा, ५ जनालाई कारबाही र एक जनालाई दल परिवर्तन गराउने जस्ता अवाञ्चित र जनादेश प्रतिकूल अभ्यासहरु गरेको मुख्यमन्त्री पोखरेलको आरोप छ ।
    जसपाले आफ्ना सांसदलाई गरेको कारबाहीलाई पनि पोखरेलले गैरकानूनी भनेका छन् । उनले गैरकानूनी कारबाहीमा परेका सांसदहरु न्यायिक निरुपणको लागि सर्वोच्च अदालतमा गएका र  मुद्दाको किनारा नलागेको अवस्थामा प्रदेशसभाको विशेष अधिवेशनमा हुने छलफलले विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने र  न्यायिक निरुपणमा समेत प्रभाव पर्ने उल्लेख गरेका छन् ।
    विद्यमान अन्यौलताको अन्त्य गरी मार्ग प्रशस्त गर्न नेपालको संविधानको धारा १६९(१) क बमोजिम पदबाट राजीनामा दिएको पोखरेलले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
    मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशको स्थायी राजधानीलाई नमुना बनाउने आफ्नो सपना अधुरै रहेको बताएका छन् । राजीनामापछि मन्त्रालयका सचिव र कर्मचारीहरूलाई धन्यवाद दिने क्रममा पोखरेलले आञ्चलिक मनोविज्ञान जोड्ने प्रयत्न स्वरूप दाङको भालुवाङ क्षेत्रमा स्थायी राजधानी बनाएको बताए ।
    अबको सरकारलाई स्थायी राजधानीलाई नमुना बनाउने काममा सहयोग गर्न मुख्यमन्त्रीले सचिवहरुलाई आग्रह गरे । आफ्नो नेतृत्वमा प्रदेशलाई स्थापित गरिएको र सरकारले थुप्रै नयाँ काम गरेको उनले उल्लेख गरे ।
    हेर्नुहोस् मुख्यमन्त्री पोखरेलको राजीनामा पत्र


    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on राजीनामा पत्रमा पोखरेलले भने- अवाञ्छित र जनादेश प्रतिकूल काम भयो 

    “सम्बन्ध” शीर्षक टुक्का लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थानमा क्रमशः त्रिलोचन भण्डारी, गोपाल कृष्ण डंगोल र राजेशराज गड्तौला विजयी

  • २५ श्रावण २०७८, सोमबार ०८:३२ मा प्रकाशित
  • “सम्बन्ध” शीर्षक टुक्का लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थानमा क्रमशः टुक्काकारहरू त्रिलोचन भण्डारी, गोपाल कृष्ण डंगोल र राजेशराज गड्तौला विजयी हुनुभएको छ ।

    मिति २०७८ साउन २१ गते एक दिनको समयसिमा दिएर टुक्का साहित्य समाज, काठमाडौद्वारा आयोजना गरिएको उक्त प्रतियोगितामा २२ जना टुक्काकारहरूले समयसीमा भित्र सहभागीता जनाएको कार्यक्रमकि परिकल्पनाकार एवं आयोजक संस्थाकि सचीव विमुन्स पौडेल जनाउनु भयो । साथै उहाँले प्रतियोगितामा विजयी टुक्काकारहरूलाई प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो ।

    उक्त अवसरमा संस्थाका अध्यक्ष एवं टुक्का कविताका प्रवर्तक ताराप्रसाद चापागाईं र सचीव विमुन्स पौडेलले प्रतियोगितामा विजयी टुक्काकारहरूमा बधाई तथा शुभकामनाका साथै सहभागी सम्पूर्ण टुक्काकारहरू प्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुहुने टुक्काकारका टुक्काहरू

    १// प्रथम स्थान प्राप्त टुक्का
    १
    मदन मुना बनेर हामी जिन्दगी  याे जिउँला
    फाटेमा मन मुस्कान छरी प्रेमले त्याे सिउँला ।
    २
    नभमा सूर्य चन्द्रका ज्योति चम्केर रहुञ्जेल ।
    गाँसेका नाता प्रगाढ बनुन् यो धरा छउञ्जेल ।

    ✍️ त्रिलोचन भण्डारी, मेचीनगर, झापा

    २// दोस्रो स्थान प्राप्त टुक्का
    १
    छोडि दिएँ कुर्न बाटो, आँखा बन्द गरिदियौँ,
    जायजेथा पनि सबै, तिम्रै नाम लेखिदियौँ !
    २
    आऊ लिएर फेरि जाऊ, तिम्रै नै हो सम्पत्ति,
    माटोमा विलिन् भयौँ, अब हामी दुई दम्पत्ति !

    ✍️ गोपाल कृष्ण डंगोल, महाराजगञ्ज, काठमाण्डू
    हाल: इटहरी,  प्रदेश नं १

    ३// तेस्रो स्थान प्राप्त टुक्का
    १.
    जब बज्छ मनमा घण्टी प्यारको,
    आउॅछ भन्छन् धेरै याद यारको ।
    २.
    तोडेर बन्धन खाएका वाचा कसमको,
    छोडेर गइछन् साथ अर्कैको खसमको ।

    ✍️ राजेशराज गड्तौला, रतुवामाई-१०, मोरंग
    हाल- प्रवास

    प्रतियोगितामा सहभागी अन्य टुक्काकारहरूका टुक्काहरू

    ४//
    १.
    जुन चिज भेटिदैनन् तपाइमा म मा अनि कोही अरुमा,
    खोज्नुस त ति सबै चिज हरु भेटिनेछन् सम्बन्ध हरुमा।
                         २.
    जसरी यो शरीर बाट जानै सक्दैन मुटु पराइ बनि,
    हो त्यस्तै छ अटल तिम्रो र मेरो अटुट यो सम्बन्ध पनि।
                        ३.
    रगतले मात्र बनाउदैन यो नाता लाई सम्बन्ध लाई,
    आत्मियता नै हो नजिक्याउने त बनाएर दाजु भाइ।
                       
    ✍️ नवशिला, बेलबारी -२,लालभित्ती,मोरङ
    हाल गोदावारी ,लालितपुर।

    ५//
    १.
    बुढो सपना खोज्छ टेक्दै  खुकुरी धारमा
    उता स्वास्नी फसि सकिछे नाठोको प्यारमा ।
    २.
    प्रेमका नाउँमा नगर्नु  सहवास,
    बन्धनमा नबसी जन्मेला अनाथ ।

    ✍️ रिजाल विनोद , बेलबारी २मोरङ

    ६//
    ढुङ्गाकाे भर माटाे हुन्छ माटाेकाे भर ढुङाे ,
    तिम्राे मेराे भरचैं के हाे लगाउँनुछ टुङ्गो ।।१।।

    सम्बन्धकाे शुरुआतमा के के थियोे बाचा ,
    परिपक्व हुनुपर्थ्याे बाचा अालाकाचा ।।२।।

    देखावटी मायाँ भयाे हाम्रो छिन्नभिन्न ,
    पछुतो भाे यतिबेला सकिएन चिन्न ।।३।।

    ✍️ रामकृष्ण दुवाडी, पाेखरा

    ७//
    १
    हाम्रो देशको कुटनैतिक सम्बन्ध भएन,
    त्यसैले पनि जनताको दुःख कत्ति गएन।
    २
    प्रत्येक नागरिको देश सँग सम्बन्ध हुन्छ,
    देशलाई मायाँ गर्न नस्कदा यो मन रुन्छ।

    ✍️ सुरेशकुमार पान्डे दाङ घोराही१८

    ८//
    १
    एक आपसमा नाता गोता हुनुपर्छ हाम्रो,
    मिठो वचन सबैसँग भएको झन राम्रो।
    २
    कहिले सासुको त कहिले बुहारीको पालो,
    मिलेर काम गरे घरबार हुन्छ उज्यालो।

    -✍️पुर्ण  बहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे

    ९//
    १
    माया बस्दा कसैसँग देखु देखु हुने,
    भेटहुँदा ठिकठाक छुटे मन रुने ।
    २
    माछा अनि पानी जस्तो  तिम्रो मेराे नाता ,
    सधैँभरि तिमीलाई बनिदिन्छु छाता  ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    १०//
    १.
    असल सम्बन्ध नै हो मान्छेको  पहिचान
    यसैले बनाउछ जिवनमा स्वाभिमान ।
    २.
    परिवारमा खुसी आउँदा
    स्वर्ग लाग्छ बस्न पाउँदा ।

    ✍️ दुर्गा भट्टराई, मोरङ

    ११//
        १
    राम्रो सम्बन्ध भयाे भनी मात्रै हाम्रो जिन्दगी बित्छ,
    असल ब्यवहारले नै परिवारकाे मन जित्छ।
        २
    घर परिवारमा राम्रो सम्बन्ध राखे सबै राम्रो मान्छन्,
    असल नारि ब्यवहारीक छे भनेर उनिहरु ठान्छन् ।

         ✍️ शाेभा अर्याल , बुटवल १४ रुपन्देही

    १२//
    १.
    चलायौ क्रीडा डुब्न लागेको नाउमा,
    नुन ,चुक  लायौ यहि आलो घाउमा।
    २.
    जुनदिन गर्यौ  तिमिले अर्कैलाई चयन,
    कठै!घाइते मुटु, आँसुको मूल भो नयन।

        ✍️ महेश तामाङ

    १३//
    १.
    तिमीले धोका दिनु थियो भने नाता किन जोड्यौ,
    बिचमा आई बहाना बनाई सम्बन्ध नै तोड्यौ।
    २.
    धनकै कारण कतिपय सम्बन्ध बिग्रीँदै जान्छन् ,
    मलाई थाह छैन् अचेल सबले के सोच्छन् के ठान्छन् ।

    ✍️ ललिता अभागी, सिन्धुली

    १४//
                    १
    सम्बन्ध नै हो मानिसमा एक अर्काको सार ,
    त्योनै छैनभने मनिसको  बिचित्र संसार ।
                    २
    मानिसमा हुन्छ एक विश्वासको गति ,
    भरोसा छैन कलीयूगमा अलिकति ।

    ✍️ बेदु न्यौपाने , काठमाडौ

    १५//
    १.
    सम्बन्ध हो मानवीय सभ्यताको धारा,
    सम्बन्धकै सूत्रमा फुल्छन् जीवन सारा!
    २.
    जीवनमा सम्बन्धको छ ठूलो-ठूलो गाथा
    मानवीय संसारको सफा सगरमाथा!

       ✍️भूषण जंग,  अस्ट्रेलिया

    १६//
    १
    नङ्ग र मासु जस्तै  थियो सम्बन्ध राम्रो पनि,
    छुटाई  दिएका  छन् आफन्तले दुश्मन बनी।
    २
    हिजो सम्म हाम्रो सम्बन्ध आँखा र नानी‌ जस्तै थियो,
    आज आएर किन  किन आगो अनि  पानी  भैदियो।

    ✍️ जगत थापा बझाङ्ग

    १७//
    १
    हाम्रो देशमा राजनितिक सम्बन्धको ताल नै राम्रो छैन ,
    ठुला धाक लगाएर के काम ? त्यसैले बढेको छ बेचैन l
    २
    प्रेम सम्बन्ध राम्रो भयो भने जीवन सजिलै बित्छ,
    असल ईमानदार मान्छेले नै सधैं  संसार जित्छ l

    रिता खराल , रुपन्देही

    १८//
    १
    आमा बाबा मेरा ज्यूदा भगवान्,
    सक्दिन् गाएर उहाँका गुणगान्।।
    २
    मरेपछि श्राद्व गरेर बरु नगर पिण्ड दान,
    जिउँदैमा मीठो मसिनो ख्वाई बनाऊ नौजवान ।।

    ✍️ भगवती दवाडी

    १९//
    १.
    बाआमा सम्झेर मन धेरै लाग्यो रुन,
    सोर्ग गयौ छोडेर आज तस्बिर छुन।
    २.
    सुनचाँदी हिरा मोति भन्दानी ठूलो मेरा बाआमा हुँन्
    काशी  मथुरा चार धाम गएपनी सक्दिन तिर्न गुन्

    ✍️ कमला

    २०//
    १,
    अाउँछकी भनी कुरेर बस्याछु  पिढिमा अाएन मेरो छोरा,
    खायोकी खाएन दुब्लो पातलो केभयो कालो भयो कित गोरा।
    २,
    अामाको मनहो पिर लाग्छ छोराको के भयो भनिकन,
    जन्माएँ हुर्काएँ दु:ख गरेर यो मान्दैन रहेछ मन।

    ✍️ लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा

    २१//

    (१)
    सम्बन्ध रगतको नातामा होईन भावनामा हुन्छ,
    आपतमा जस्ले सहयोग गर्छ उसैले मन छुन्छ!
    (२)
    सम्बन्ध एउटा विश्वास हो साथ पाए शिखर चढ्छ,
    स्वार्थ आवरणले खुट्टा तानिदिए भिरबाट लड्छ !

    ✍️  शरद प्रधानाङ्ग,विराटनगर-७

    २२//

    १)
    मार्ने भन्दा त बचाउने कै हक हुन्छ,
    सिद्धार्थ र हाँसको कथाले मन छुन्छ।
    २)
    सम्बन्ध अनि प्रेम हात्तीको देखाउने दाँत जस्तो हैन,
    श्री कृष्ण र सुदामाको जस्तै उत्कृष्ट प्रमाण कसैको छैन्।

    ✍️ अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on “सम्बन्ध” शीर्षक टुक्का लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थानमा क्रमशः त्रिलोचन भण्डारी, गोपाल कृष्ण डंगोल र राजेशराज गड्तौला विजयी

    एसईईको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ 

  • २३ श्रावण २०७८, शनिबार १२:५६ मा प्रकाशित

  • २३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो ।
    परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।
    बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।
    त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि। इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।
    परीक्षार्थीले www.see.gov.np,www.neb.gov.np,www.theconnectplus.com,www.see.edusanjal.com, www.see.ntc.net.np www.ekantipur.com, www.ricell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on एसईईको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ 

    कक्षा १२ को परीक्षा बहस : परीक्षा ठूलो कि जीवन ?

  • २२ श्रावण २०७८, शुक्रबार १८:५६ मा प्रकाशित
  • राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन ३१ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने गरी तयारी लगभग पूरा गरेको छ । तर परीक्षाको मिति नजिकिँदै गर्दा परीक्षा स्थगन गर्न दबाब बढ्न थालेको छ । 
    गत जेठ २६ गतेबाट गर्ने भनिएको परीक्षा लकडाउनका कारण स्थगित भएको थियो । त्यसपछि बोर्डले साउन ५ गते एक सूचना प्रकाशन गर्दै साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जनाएको थियो । परीक्षा सञ्चालनका लागि तत्कालीन सिसिएमसीले स्वास्थ्य मापदण्ड पूरा गर्ने सर्तमा होम सेन्टर (आफू पढेको विद्यालय) मै परीक्षा दिने व्यवस्था गर्न भनेको थियो । 
    सोही आधारमा बोर्डले परीक्षाका लागि सबै तयारी पूरा गरेको भएपनि अहिले कोरोना सङ्क्रमणको दर बढेको भन्दै परीक्षा स्थगन गर्न माग गर्न थालिएको छ ।  सामाजिक सञ्जालमा ‘क्यान्सिल एनइबी एक्जामस्’ #CancelNEBExams भनेर ह्यासट्याग चलाइएको छ । यतिबेला उक्त ह्यासट्याग ट्रेण्डिङमा रहेको छ ।
    तीन लाख ८६ हजार विद्यार्थी एकैपटक परीक्षा दिँदा विद्यालयहरूमा भिडभाड बढ्ने र त्यसले सङ्क्रमणलाई झनै बढाउने भन्दै परीक्षा तत्कालै स्थगन गर्न विभिन्न सरोकारवाला निकाय र अभिभावकले आग्रह गरिरहेका छन् । 
    शुक्रबार नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा आफैले सामाजिक सञ्जालमा परीक्षा भन्दा जीवन बढी जरुरी रहेको भन्दै सुरक्षाको भरपर्दो व्यवस्थापन नभई परीक्षा गर्न नहुने भन्दै सुरक्षित नभए परीक्षा स्थगन गर्न माग गरेका छन् ।
    शर्माले लेखेका छन्,
    परीक्षा जरुरी, जीवन रक्षा झनै जरुरी ! कि सुरक्षाको भरपर्दो व्यवस्थापन सुनिश्चित र सुसूचित गरियो, कि क्यान्सिल एनइबी एक्जाम्स् ।
    म मेरी छोरीको सुरक्षित भविष्य चाहन्छु । त्यसैले चाहन्छु अरू धेरै छोराछोरीको भविष्य सुरक्षा । सम्बन्धित निकायसँग उचित समाधानका लागि संवाद गर्दैछौँ हामी ।’


    शर्माले ह्यास ट्यागकै प्रयोग गरेर यति लेख्नुको कारण के पनि हो भने अहिले कक्षा १२ को परीक्षालाई लिएर धेरैले चिन्ता जनाएका छन् । कोरोना सङ्क्रमणको ग्राफ दैनिकरुपमा बढिरहेको भन्दै यस्तो बेलामा भौतिकरुपमै परीक्षा लिँदा त्यसले सङ्क्रमण झनै बढाउने र तेस्रो लहर सुरु हुने चिन्ता र आशङ्का यतिबेला सर्वत्र छ । 
    सामाजिक सञ्जालहरूमा स्वास्थ्यभन्दा ठूलो परीक्षा हुन सक्दैन भन्दै परीक्षासँग नभएर आफूहरू कोरोनासँग डराएको प्रतिक्रिया आइरहेको छ । पहिले भ्याक्सिनको व्यवस्था गरौँ त्यसपछि मात्रै परीक्षा गरौँला भन्ने भनाई सामाजिक सञ्जालमा सर्वत्र छ । 


    अर्बपति विनोद चौधरीले जीवन रहे पढाई र परीक्षाको अवसर फेरि पनि आउने भन्दै यस्तो बेला अनावश्यक जोखिम नलिन र परीक्षा स्थगन गर्न आग्रह गरेका छन् । छिमेकी देशहरूमा कोरोना सङ्क्रमणको जोखिम बढिरहेको भन्दै यस्तो बेलामा भौतिकरुपमै परीक्षा लिनेबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।


    म नेपाली नामको ट्वीटर ह्याण्डलले परीक्षासम्बन्धी एक पोष्ट गरेका छन् । उनले लेखेका छन्,
    एक्जाम दिएको २ महिनापछि कलेजबाट फोन आयो, ‘बधाई छ तपाईंको छोरा कलेज टप भएको छ ।’
    बुवाले गहभरि आँसु बगाउँदै भन्छन्, छोराको डेढ महिनाअघि कोरोनाको कारण मृत्यु भयो ।’
    राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेदेखि गर्न लागेको कक्षा १२ को परीक्षामा एउटा बेञ्चमा एकजना विद्यार्थी र एउटा कक्षाकोठामा अधिकतम २० जना विद्यार्थी राख्ने भनेको छ । देशैभरका ९० प्रतिशत विद्यालयमा अनलाइन विधिबाट प्रश्नपत्र पठाउने र अनलाइन विधिबाट प्रश्नपत्र पठाउन नसकिने १० प्रतिशत विद्यालयमा प्रश्नपत्रको हार्डकपी नै पठाउने भनिएको छ । त्यसैगरी एउटा परीक्षा केन्द्रमा बढीमा २ सय विद्यार्थीलाई राखिने भनिएको छ । तर होम सेन्टर भनिएको अवस्थामा एउटै विद्यालयमा १ हजारभन्दा बढी विद्यार्थीलाई पढाउने कलेजहरूको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता पनि छ ।
    तपाईंहरु सामाजिक सञ्जाल चलाउनुहोस्, हामी परीक्षा गर्छौँ : बोर्डका अध्यक्ष पौडेल
    अहिले ट्वीटरमा ८० हजारभन्दा बढीले #CancelNEBExams को ह्यासट्याग चलाइरहेका छन् । राजनीतिक दलका नेतादेखि अभिभावक र सरोकारवालाले भौतिकरुपमै परीक्षा लिने नलिन आग्रह गरिरहेका छन् । कतिपयले साउन ३१ गतेलाई ‘तेस्रो लहरको सुरुवात’ भनी प्रतिक्रिया दिइरहेका छन् । विद्यार्थी र अभिभावकहरू एउटा मास्क र दुई थोपा स्यानिटाइजरले कोरोना नरोकिने भन्दै यसबारे सजग र सतर्क हुँदै गम्भीर भइदिन आग्रह गरिरहेका छन् । 
    यही सम्बन्धमा कक्षा १२ को परीक्षा के हुन्छ भनी प्रश्न गर्दा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले आक्रोश व्यक्त गरे । उनले भने, ‘परीक्षा के हुन्छ भनेको के हो ? परीक्षा हुन्छ, तोकिएकै मिति र समयमा हुन्छ ।’
    तर सामाजिक सञ्जालदेखि अन्य स्थानमा पनि परीक्षा रोक्न माग भइरहेको छ नि भन्ने प्रश्नमा पौडेलले भने, ‘परीक्षा के गर्ने भन्ने हाम्रो विषय हो । कस कसले के के लेखे, कसले के ट्याग चलायो भन्ने हामीलाई नसुनाउनुस् । तपाईंहरु सामाजिक सञ्जाल चलाएर बस्नुहोस्, हामी हाम्रो काम गर्छौँ ।’
    तेस्रो लहरको माहौल निर्माण हुनसक्छ : डा. शेर बहादुर पुन
    सङ्क्रमण रोग विशेषज्ञ डा. शेर बहादुर पुन कक्षा १२ को परीक्षा तेस्रो लहरका लागि माहौल बन्न सक्ने चिन्ता गर्छन् । अहिले दैनिकरुपमा कोरोना सङ्क्रमण बढिरहेको र डेल्टा भेरियन्ट सङ्क्रमणका हिसाबले तीव्र गतिको भएको कारण यसले समस्या ल्याउन सक्ने बताउँछन् । 
    पुन भन्छन्, ‘अहिले कक्षा १२ को परीक्षा सुरु हुँदैछ । धेरै विद्यार्थीहरू एकैपटक एकैठाउँमा हुने सम्भावना रहन्छ । कक्षाकोठामा मापदण्ड पालना गरेपनि कक्षाकोठा बाहिर उनीहरूले मापदण्ड पालना नगर्ने सम्भावना बढी हुन्छ । डेल्टा भेरियन्ट छिटो सर्ने र लक्षणबिना पनि सङ्क्रमित गराउने भेरियण्ट हो । त्यस कारण यसले समस्या निम्त्याउन सक्छ ।’
    पुनका अनुसार दोस्रो लहरमा देखिएको समस्या के हो भने लक्षण नदेखिकनै भाइरस लुप्तरुपमा रहने तर तीव्र गतिमा सर्ने देखिएको थियो । डेल्टा भेरियण्ट र डेल्टा प्लस भेरियन्टको प्रकृति उस्तै भएकाले लक्षण कम देखेर नै आक्रमण गर्ने र फोक्सोमा बढी समस्या गर्ने हो । त्यस कारण परीक्षाका दौरान पनि यही समस्या दोहोरिन सक्ने पुनको चिन्ता छ । 
    पुन भन्छन्, ‘मैले सुनेको छु कि ३ लाख भन्दा बढी विद्यार्थीले परीक्षा दिँदै छन् । कक्षाकोठामा उनीहरू सँगै नभए पनि मापदण्ड पालना गरेपनि बाहिर निस्किएपछिको अवस्था त हामीले देखेकै छौँ । बाहिर निस्किएपछि सबै सँगै हुने, खाजा खाने आदि काम गरिहाल्छन् । त्यस कारण विषय के हो भने यस्तो बेलामा परीक्षा कसरी गर्ने भनेर सोच्नु नै पर्छ । परीक्षा नै तेस्रो लहरका लागि माहौल बनाउने कारक बन्न पनि सक्छ ।’
    डा. पुन पहिले खोपलाई महाअभियानकै रूपमा लैजानुपर्ने बताउँछन् । व्यक्तिको शरीरमा एण्टीबडी बनिसकेको अवस्थामा भाइरसले आक्रमण गर्ने सम्भावना कम हुने र भाइरस पसेपनि समस्या खासै नहुने हुन्छ । तर शरीरमा एण्टीबडी नै छैन भने पछिल्ला समय म्युटेण्ट बन्दै गरेका र नयाँ नयाँ प्रजातिको भाइरसको कारण समस्या थप बढ्न सक्ने पुनको भनाई छ । 
    पहिलो लहरमा भन्दा दोस्रो लहरमा केही सङ्ख्यामा बेड र आइसियुहरु बढेको भएपनि तेस्रो लहरको तयारीमा खासै प्रगति नभएको पुनको भनाई छ । जसका कारण यदि भाइरस म्युटेण्ट हुँदै झनै शक्तिशाली बनेमा र पूर्वाधारको विकास नभएमा समस्या झनै जटिल बन्न सक्ने पुनको चेतावानी छ । परीक्षाभन्दा महत्त्वपूर्ण कुरा स्वास्थ्य भएकाले स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै परीक्षालाई जोड दिनुपर्ने पुनको सुझाव छ । पुन भन्छन्, ‘परीक्षा एक महत्त्वपूर्ण समय र कडी हो, तर त्यो भन्दा ठूलो मान्छेको जीवन हो ।’ 

    Posted in ताजा अपडेट, समाजLeave a Comment on कक्षा १२ को परीक्षा बहस : परीक्षा ठूलो कि जीवन ?

    २१ जना टुक्काकारहरूका ‘आफ्नो पहिचान’ विषयक उत्कृष्ट टुक्काहरू

  • २१ श्रावण २०७८, बिहीबार २२:१८ मा प्रकाशित
  • २१ जना टुक्काकारहरूका ‘आफ्नो पहिचान’ विषयक उत्कृष्ट टुक्काहरू

    १
    अगुवाई गरि समाज सेवामा खुसी मनाउछु,
    सारा जीवन सुम्पिएर अब याे देश बनाउछु।
    २
    आत्मविश्वास कर्मठ अनि छ बलवान,
    वीर गाेर्खाली भनी बिश्वमा नै पहिचान ।
    ३
    जन्मिएपछि केही त गराैं झल्कियाेस् पहिचान
    फाली खेर अमुल्य जीवन नबनाऔं रछान ।

    – ताराप्रसाद चापागाई
    धुनिबेशी न.पा.-९, धादिङ
    हाल काठमाडाैैं
    ~~~~~~~~~~~~~~~~~~~~~~~

    १/
    अब देश उठाउँछु मेरो शिरमा
    हाँस्छु सधैँ दुखेपनि रुन्न पीरमा।
    २/
    भक्ति थापा, बीरभद्र, गङ्गालालको रगत
    बगेको छ किल्लामा हेप्छौ तिमी फगत।
    ३/
    मधेशकी छोरी हूँ म त हिमालमा काम
    पहाडले दिन्छ खान पोषण युक्त माम।

    ✍️ पौडेल विमुन्स,
    पोखरा, कास्की
    ~~~~~~~~~~~~~~~~~

    १/
    छोडेर जन्मभूमि  परदेशतिर डुल्ने,
    हामी कस्ता मूर्ख मानव  पहिचान भुल्ने?
    २/
    जब गरिन्छ मेहनत  पाइन्छ सम्मान,
    यसले बदलिन सक्छ हाम्रो पहिचान।
    ३/
    देशको लागि लड्यो दियो बलिदान,
    सहिद लेखियो उसको पहिचान।

    ✍️ अनिल खग्रास, 
    पर्वत
    ~~~~~~~~~~~~~~~~~~~~~~~

    १/
    जन्मे पछि  लैजान आउँछ काल
    दु:ख,सुख बाँच्ने विनोद रिजाल ।
    २/
    सुर्य उदाउने क्षितिज पारी
    बसेको छु रमिते बेलबारी ।
    ३/
    टंक र कुमारीको छोरो
    रुपरङ्ग  छ  गहुँगोरो ।

    ✍️ रिजाल विनोद,
    बेलबारी२मोरङ
    ~~~~~~~~~~~~~~~~~~~~~

    १/
    प्रत्येक व्यक्तिमा गुण अवगुण दुवै हुन्छ,
    गुणकारी पहिचानले सबको मन छुन्छ।
    २/
    आफ्नो अस्तित्व र मूल्य-मान्यता जोगाउने गर,
    त्यही हो तिम्रो पहिचान दिगो राख्न लागि पर।
    ३/
    आफ्नो पहिचान कायम राख्न सङ्घर्ष गर्नु पर्छ,
    अरूकै कर्म दोहोराई बसेमा तल-तल झर्छ।

    ✍️ अरुण कुमार भुजेल,
    गोरूबथान,कालेबुङ्ग।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~

    १/
    खाली हेरेर अरूलाई, हामी आफैंलाई भुल्दछौं,
    कस्तुरीले झै स्वसुगन्ध, खोज्दै डाँडाकाँडा डुल्दछौं ।
    २/
    विन्ती छ नियालौं आफैंभित्र, आफ्नो खुवी र दक्षता,
    मन्दिरमा त भेटिन्न कला, चढाउदैमा अक्षता ।
    ३/
    जहाँ हुन्छ आफ्नोपन, छुट्टै हुन्छ पहिचान,
    फुल्दछ छाती गर्वले, शिरको बढ्दछ शान ।

    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    —————————————————–

    १/
    मौलिक पहिचान मान्छेलाई चिनाउँछ,
    अर्काको अन्ध नक्कलले युग घिनाउँछ!
    २/
    मानवको इतिहास हो उसको पहिचान,
    अरूलाई होच्याई नगर व्यर्थ अभिमान!
    ३/
    आफ्नै भाषा अनि इतिहास आफ्नै छ संस्कार,
    मौलिक भेष-भूषा परम्परा छ नमस्कार!
    ४/
    वीरता र इमान्दारी छ विश्वमै हाम्रो शान,
    मेहनत र राष्ट्रप्रेम छुट्टै छ पहिचान !

    ✍️ भूषण जंग, ललितपुर,
    हाल अस्ट्रेलिया
    ~~~~~~~~~~~~~~~~~~~~~
    १/
    चन्द्र सुर्य अंकित झण्डा हाम्रो हो सान ,
    नेपाली भाषा भेष हाम्रो हो पहिचान ।
    २/
    नेपालको जडिबुटी हरियाली हिमालको देश ,
    गुनियूचोली सिरमा टोपी दौरासुरुवाल भेष ।
    ३/
    हिमाल पहाड तराई नेपाल देशजान ,
    ग्रामीणभेक कृषिभूमि उन्नत पहिचान ।

    ✍️ बेदु न्यौपाने,
    काठमाडौ
    ~~~~~~~~~~~~~~~~~~~~~~~~

    १/
    सम्पन्न भई नसम्झनु अतित भुल्नुपर्छ  ,
    जहाँ पुग्छौं त्यही आफ्नो पहिचान खुल्नुपर्छ ।
    २/
    आफ्नै देश प्यारो हुन्छ उच्च राखौं नाम ,
    दिमाग भरी कुरीति नबनाऊ  जाम  ।
    ३/
    संस्कृति र संस्कारलाई जोगाउन सिक्नुपर्छ ,
    बुझिराख्नुस् यहि ठाउँमा पछिसम्म टिक्नुपर्छ।

    ✍️ ललिता अभागी,
    सिन्धुली
    ~~~~~~~~~~~~~~~~~~~~~~~~

    १/
    नेपाली हौं हामी यही हो हाम्रो पहिचान,
    हिमाल र तराई हुन् यसका परिधान।
    २/
    बुद्ध साथै सीताको जन्मभूमि पनि,
    बाॅच्न पाऊॅ सॅधै हामी नेपाली बनी।
    ३/
    पुर्खाले दु:ख गरी आर्जिएको देश,
    हिमाल पहाड तराई औ मधेश।

    ✍️ घनश्याम पौडेल,
    सृजना चोक, पोखरा
    ~~~~~~~~~~~~~~~~~~~~~~

    १/
    के दिउँ मेरो पहिचान म राष्टिय नेपाली हजुर,
    डाँफे मुनाल छम-छम नाच्ने अत्यन्त राम्रो मजुर।
    २/
    मलाई मनपर्ने आफ्नै मातृभूमिको  भाषा,
    पाखुरी चलाउँछु र गर्दिन कसैको आशा।
    ३/
    पुर्खाले छोडेको चिठ्ठी एकपल्ट खोलेर हेर्नुछ,
    विदेशी पोसाक छोडेर चौबन्दी  फरिया फेर्नुछ।
    ४/
    गुन्द्रुक सिस्नो ढिँढोमा टिमुरको अचार खानेछु,
    अन्याय अत्तिचार गर्नेलाई मैले पनि जानेछु।

    ✍️ कमला हरिमाया पाण्डे पराजुली
    झापा
    ~~~~~~~~~~~~~~~~~~~~~~

    १/
    सम्मानजनक व्यवहार मेरो सकारात्मक छ सोंच,
    इमानदार अनि  नैतिकवान छु छैन मनमा खोंच।
    २/
    आवरण होइन हजुर आचरण बदलेर बाँचौ,
    निष्ठा अनि बिश्वासको आफ्नो पहिचान सधैंभरी साँचौ।
    ३/
    खाइ खेली हुर्किएको म आँटो अनि पिठो,
    नाम मेरो मुक्तिनाथ चितवनको ठिटो।

    ✍️ मुक्तिनाथ अधिकारी,
    भरतपुर चितवन ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    १/
    सगरमाथा हाम्रो  शिर नेपालीको गौरव अनि  सान,
    शुन्दर शान्त नगरिकि छोरी हुँ यहि  मेरो पहिचान ।

    ✍️ दुर्गा भट्टराई,
    मोरङ
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~
    १/
    सृष्टिभरि लाखौं थरि अाविष्कार भए ,
    नानाथरी नाम गरि चिनिएर रहे ।
    २/
    सानातिना परमाणु र ठूला पिण्ड अरे ,
    जीवन र जगतमा नाम धारण गरे ।
    ३/
    अाफ्नाे नाम अाफ्नाे काम यहि भयाे सान ,
    जीवात्मा हाेस् वनस्पति रह्याे पहिचान ।

    ✍️ रामकृष्ण दुवाडी,
    पाेखरा ।
    ~~~~~~~~~~~~~~~~~~~~~

    १/
    राम्रो गरेकै छु नलगाउ दोष,
    हेर्नै पाउन हजुर शब्द कोश ।
    २/
    लड्न आउछन् लगाई खुकुरीमा धार,
    सिदा साधा को  हुदोरहेछ यहाँ हार।।
    ३/
    जानेर बुझेकाले गर्छन् क्रीडा,
    त्यही भएर लागेको छ पिडा ।।

    ✍️ प्रेम सुनार,
    दैलेख
    ~~~~~~~~~~~~~~~~~~~~~~

    १/
    नौ महिना पछि धर्तीमा जन्मिन्छ
    हुर्काइ बढाइ डाेलीमा अन्मिन्छ
    २/
    ज्ञान सीप संस्कार छोरीको पहिचान
    देखाउने उनै बुवा आमा भगवान
    ३/
    नारीको भूमिका बेग्लै हुन्छ घरमा
    सक्षम बन्छु हुन्न कसैको डरमा

    ✍️ तारा घिमिरे,
    संखुवासभा
    ~~~~~~~~~~~~~~~~~~~~~~
    १/
    हामी हौँ वीर नेपालीका सन्तान,
    संसारमा दिएका छौँ योगदान।
    २/
    देश विदेशमा सङ्घर्षको इतिहास,
    छैन राम्रो बस्नलाई वास मिठो गास।
    ३/
    म आफै पनि लेकाली बस्छु बिदेश,
    देख्दा होंचो छ कद जोसिलो छ भेष।

    ✍️ सुरेश कुमार पान्डे,
    दाङ
    ~~~~~~~~~~~~~~~~~~~~~~~

    १/
    विवेकशील प्राणी हौं नभूलौं आफ्नो पहिचान,
    शिखर पुग्न हौशला काफी चाहिँदैन मचान ।
    २/
    मानिसको चोला हो जिन्दगी सेवा कर्तब्य,
    मानवता औ स्वच्छता यही नाम छ भव्य ।
    ३/
    आमाको कोखबाट जन्मिन धेरै हात जोडयौं,
    जब आयौं धरतीमा कसम, नियम तोडयौं।

    ✍️ निरूविन्दु परियार,
    जल्ढक्का कालेबुङ्ग, भारत ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~

    १/
    जिन्दगी  हाे मानिसको  बगिजाने खाेला,
    छुट्टै  आफ्नो  पहिचान  बनाउनू हाेला ।
    २/
    अग्र साेची सुखी हुनू भन्छ उखानले ,
    खास मान्छे   चिनिन्छ उस्कै  पहिचानले ।
    ३/
    माटाेलाई  सकेसम्म  दिन्छु  याेगदान ,
    साहित्यमा बनाउँछु आफ्नै पहिचान ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    ~~~~~~~~~~~~~~~~~~~~~~

    १/
    देश बिदेशमा जति नै पाए पनि सम्मान,
    हामीले हाम्रो अाफ्नाे भुल्न हुदैन पहिचान।
    २/
    हाम्रा राष्ट्र सेवकले देशलाई दिए बलिदान,
    अाफ्नाे प्याराे जन्म भुमीकाे सम्झेर नै हाे पहिचान।
    ३/
    जिन्दगी दुई दिने मरी जाने चाेला,
    अाफ्नाे पहिचानलाई नभुल्नू हाेला।

    ✍️ शाेभा अर्याल,
    बुटवल रुपन्देही
    ~~~~~~~~~~~~~~~~~~~~~

    १/
    फरिया चोली र  शिरमा होस् मेरो ढाका टोपी,
    लगाँउछु धोती ढाकाको शरीर सबै छोपी।
    २/
    सम्हाली राख्छु मत देशको माटो सधैँभरि,
    माया गर्छु युगौँयुग जन्मदिने आमा  सरी।
    ३/
    आफ्नो देशको हरियाली वन पखेरीमा,
    मिलेर बस्न पाँऊ नेपालकै मझेरिमा

    ✍️ कल्पना थामी
    सिन्धुपाल्चोक
    जय टुक्का ! जय साहित्य !!

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on २१ जना टुक्काकारहरूका ‘आफ्नो पहिचान’ विषयक उत्कृष्ट टुक्काहरू

    गजल

  • १८ श्रावण २०७८, सोमबार ०८:५० मा प्रकाशित
  • “रेमिटेन्स भित्र्याएर फाल्तु नेता पाल्नु पर्यो
    लौन आउनुस सबै मिलि संघीयता फाल्नु पर्यो”

    अमृत पौडेल

    रेमिटेन्स भित्र्याएर फाल्तु नेता पाल्नु पर्यो
    लौन आउनुस सबै मिलि संघीयता फाल्नु पर्यो

    भक्कु चप्पल पड्काउनेले पजेरोको हर्न बजाउछ्न
    बेर्थै तिनका झोले बनी भ्रस्टाचार किन टाल्नु पर्यो

    समृद्धिको सपना देखाउदै नाङ्गो नाच देखाई सके
    ढिला भयो लौन हजुर बिकासका पाईला चाल्नु पर्यो

    प्रजातन्त्र लोकतन्त्र गणतन्त्र तन्त्र जति सबै आए
    सोझा साझा निमुखा लाई नागरिक तन्त्र थाल्नु पर्यो

    गाउँ गाउँ बाट उठौ बस्ती बस्ती बाट उठौ
    भ्रष्टाचारि ब्यवस्था लाई जरै देखि ढाल्नु पर्यो

    जाहा हेर्नुस् त्याहा भ्रष्ट जिम्बेवार हरु अन्धा भए
    सम्भावना टाढा छैन बिकासको दियो बाल्नु पर्यो

    रेमिटेन्स भित्र्याएर फाल्तु नेता पाल्नु पर्यो
    लौन आउनुस सबै मिलि संघीयता फाल्नु पर्यो

    अमृत पौडेल
    शुक्लागण्डकी ५ तनहुँ
    हाल रियाद साउदी अरबिया

    Posted in ताजा अपडेट, साहित्यLeave a Comment on गजल

    उदक अभ्यास शृङ्खलाको १० औ भाग सम्पन्न, ७४ जना उदकयात्रीहरूको सहभागीता

  • १६ श्रावण २०७८, शनिबार १९:५४ मा प्रकाशित
  • उदक अभ्यास शृङ्खलाको १० औ भाग सम्पन्न भएको छ । नविनतम काव्य विधाका रूपमा परिचित उदकको उन्ननयन र प्रवर्द्धनका लागि अभ्यास गरिदै आएको अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदकका प्रवर्तक आर्त अकुलीनले जनाउनु भयो । उहाँका अनुसार हरेक साता संचालन गरिने तस्बिरमा उदक शृङ्खलामा आज शनिबार  ७४ जना उदकयात्रीले सहभागीता जनाउनु भएको थियो ।

    प्रशिक्षक अकुलिनका अनुसार सहभागी उदकयात्रीहरूलाई दिइएको तस्बिर हेरेर गहन भाव झल्किने एक एक उदक साँझ ५ बजेसम्म लेख्न अनुरोध गरिएको थियोे ।

    अभ्यासका लागि दिइएको तस्बिर

    तस्बिरमा लेखिएका स्रष्टाका उदकहरू :

    १
    तुइन
    दुर्गम क्षेत्रमा
    ज्यान छ खतरामा !
    ✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे

    २
    सपना
    हजाराैँ जिन्दगीका
    झुन्डिए तुईन जस्तै !
    ✍️ चन्द्रावती अधिकारी, काेहलपुर, बाँके

    ३
    सपना
    पानी जहाजको
    यथार्थ तुइनको यात्रा!
    ✍️ राजाराम रत्गैंया, अमौरा, कैलाली

    ४
    तुइन
    नदीमा टाँगेको
    फलामको सानो लाईन !
    ✍️ घनश्याम पौडेल, पोखरा

    ५
    आँखामा
    सरकारी नीति
    जीवन सङ्घर्ष व्यथीत !
    ✍️ सविता के सी, काठमाडौँ

    ६
    तुइन
    यात्रा गरेर
    ज्यान जोखिम मोलेर !
    ✍️ दिलिप राई सागर

    ७
    भाषणमा
    सिमित जहाज
    खोलामा तुइन यथार्थ !
    ✍️ सावित्री अधिकारी, काठमाडौँ

    ८
    तुइन
    चुँडायो डोरी
    आफ्नै छिमेकी सत्रुले !
    ✍️ चक्र शाही, लम्की, कैलाली

    ९
    बाध्यता
    उर्लँदो नदी
    तुइनको कष्टकर यात्रा !
    ✍️ समुन्द्रा शर्मा, सुनसरी

    १०
    तुइन
    यात्रा जोखिम
    कात्रो ओडेको पानीजहाज !
    ✍️ राम न्यौपाने, कैलाली

    ११
    हत्केलामा
    विवश जिन्दगी
    निर्विकल्प तुइन यात्रा !
    ✍️ रामबहादुर चौधरी, कैलाली, हाल : गोरखा

    १२
    आत्मसमर्पण
    लठारोको शरण
    संघर्ष जीवन मरण !
    ✍️ अगस्टीन राई, पूर्व सिक्किम, भारत

    १३
    बाध्यता
    तुइनकाे यात्रा
    जीवन मरणकाे खतरा !
    ✍️ मुना दाहाल, ललितपुर

    १४
    प्रभु
    जेत  होला
    राम राम राम !

    श्रीनगर
    तानसेन पाल्पा
    पुष्कर अथक रेग्मी !

    १५
    जिन्दगी
    एउटा चौतारी
    राम सुरक्षाको काम !
    ✍️ ईश्वरी अधिकारी, लमजुङ

    १६
    जनता
    तुइन यात्रामा
    सरकार अविरल जात्रामा !
    ✍️ वसन्त अनुभव, घोराही उपमहानगरपालिका-१४, दाङ

    १७
    तुइन
    खतराको भूमरीमा
    नदी माथिको जीवन !
    ✍️ सरस्वती श्रेष्ठ, रुपन्देही

    १८
    कठिन
    असहज जीवन
    यात्रा यात्री कर्म !
    ✍️ राेशन पराजुली, धरान

    १९
    गन्तव्यमा
    उर्लिएको नदी
    तुइनले कठिनाईको सामना !
    ✍️ रिता खराल, रुपन्देही

    २०
    समय
    कठिन यात्रा
    जिनगीक् एक पात्रा !
    ✍️ सागर कुस्मी, कैलाली

    २१
    वाध्यता
    प्राणको बाजी
    जिन्दगीकाे  कठिन यात्रा !
    ✍️ वासुदेव ठकुरी, शिवपुरी, नुवाकोट

    २२
    बाध्यता
    परिस्थिति दुःखदायी
    जिस्काउदै देशको अवस्थालाई !
    ✍️ नारायण कोइराला, तानसेन, पाल्पा, हाल:यूएई

    २३
    नेपाली
    मृत्युसँगको पौंठेजोरी
    अभिशप्त तुइन यात्रा !
    ✍️ गोपालप्रसाद पौड्याल, बिराटनगर

    २४
    भाषण
    तुइन विस्थापित
    कमिशनले आफ्ना स्थापित !
    ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली

    २५
    खतरा
    तुइन यात्रा
    बाध्यताको जीवन जात्रा !
    ✍️ बिके माकजू, भक्तपुर

    २६
    तुइन
    यातायात साधन
    कठिन दुर्घटनामा जोगाउन
    ✍️ मङ्गला उपाध्याय, कलैया-१, बारा

    २७
    तुइन
    प्राणको बाजी
    जीवनको कठिन यात्रा !
    ✍️ सरस्वती श्रेष्ठ, इटहरी

    २८
    तुइन
    विवश परिवेशमा
    भ्रष्ट नेता देशमा !
    ✍️ रामचन्द्र ढकाल, चितवन

    २९
    नदी
    पार गरेका
    जिन्दगी राखेर धरापमा !
    ✍️ रामचन्द्र भट्टराई, स्याङ्जा

    ३०
    परदेशी
    तुइन जात्रा
    पलपल बाध्यताको यात्रा !
    ✍️ पुष्प यात्री प्रदेसी, सुनसरी

    ३१
    आशा
    भयो विलिन
    मानव बन्यो काल !
    ✍️ विजया घिमिरे, जनकपुर

    ३२
    तुइन
    विवशताको यात्रा
    जोखिममा मानव जीवन !
    ✍️ आर्त अकुलीन, कैलाली

    ३३
    जिन्दगी
    भदौरे बाढी
    तुइनको अनपेक्षित यात्रा !
    ✍️ वेद प्रसाद रिजाल, इलाम

    ३४
    विवश
    तुइन यात्रा
    दुई दिनको जीवन !
    ✍️ कविता आचार्य, लम्की, कैलाली

    ३५
    आशा
    सधैँ निराशा
    तुइनको जोखिमपूर्ण बाध्यता !
    ✍️ तेजप्रसाद खनाल, दाङ

    ३६
    बाध्यता
    तुइनको यात्रा
    मानव जीवन जोखिम
    ✍️ सुशीला पौडेल, काठमाडौँ

    ३७
    समय
    सहज नहुने
    त्यसैले यात्रा कठिनाई !
    ✍️ एच.वी.अविरल, लम्की, कैलाली

    ३८
    तुइन
    विस्थापित भयो
    बजेट कतातिर गयो ?
    ✍️ दुर्गा अधिकारी’भमरकोटे’, काठमाडौँ

    ३९
    तुइन
    मर्नु बाँच्नु
    जीवनको भरोसा नहुने !
    ✍️ खेमराज पुरी, कैलाली

    ४०
    जीवन                                        
    तुइनको यात्रा
    नदिको छाती माथि !                      
    ✍️ बिमला आठपहरिया, धनकुटा

    ४१
    थुक्क
    ए जिन्दगी
    तुइनमा कति झुण्डिनु ?
    ✍️ हृदय लेकाली, भैरहवा

    ४२
    जिन्दगी
    आशाकाे व्यापार
    तुइनकाे तराजुमा जाेखिरहेछ !
    ✍️ जनार्दन अधिकारी ‘धड्क’, नैकाप, काठमाडाैँ

    ४३
    तुइन
    नेताको भाषण
    विस्थापन गर्ने नाटक !
    ✍️ रामराजा के.सी., फर्पिङ, काठमाडौँ

    ४४
    जीवन
    तुइनमा झुण्डिँदै
    अनगिन्ती सपना बुन्दै !
    ✍️ शिव खनाल, स्याङ्जा

    ४५
    भ्रष्टाचार
    समृद्धिकाे भाषण
    तारमा खाेला वारपार !
    ✍️ बलराज गिरी, कैलाली

    ४६
    तुइन
    बाध्यताकाे यात्रा
    असहज परिस्थिति सामना !
    ✍️ शाेभा अर्याल, बुटवल, रुपन्देही

    ४७
    बाध्यता
    दु:खमा जनता
    तुइनबाट मुक्त आश्वासन !
    ✍️ चन्द्रकला अधिकारी, पाँचथर

    ४८
    बाध्यता
    सङ्घर्षमय जीवन
    ज्यानको जुवा खेल्दै !
    ✍️ अरुणा श्रेष्ठ ‘अनु’, झापा

    ४९
    नेपाल
    स्वर्ग जिन्दगानी
    दु:ख कष्ट पीडा !
    ✍️ अबोध निर्मल, लम्कीचुहा-०३, कैलाली

    ५०
    यात्रा
    तुइनको बाटो
    जीवन मृत्युको दोसाँध !
    ✍️ मुकेश न्यौपाने, अछाम

    ५१
    जिन्दगी
    सुख दुःखको
    आखिर अनेकौं बाध्यता !
    ✍️ विश्वनाथ श्रेष्ठ, फिक्कल, सिन्धुली

    ५२
    तुइन
    चरम विवशता
    हरेक क्षण जाेखिम !
    ✍️ सुधा बाँस्कोटा ढकाल, काठमाडौँ

    ५३
    विकास,
    खै निकास ?
    जोखिममा सासको आश !
    ✍️ लोकेश खनाल ‘मधुकर’, कैलाली, लम्की

    ५४
    यात्रा
    तुइनकाे सहारामा
    जिन्दगीलाई जाेखिममा राखेर !
    ✍️ राजकुमार  राजभण्डारी, मध्यपुर ठिमी-५,भक्तपुर

    ५५
    तुइन
    झुण्डिएको तार
    खोलाको किनारमा वारपार !
    ✍️ टीकाराम पुन, छत्रेश्वरी-२, सल्यान

    ५६
    तुइन
    उर्लिएकाे नदी
    कठिन पहाडी जनजीवन !
    ✍️ नारायणप्रसाद उपाध्याय, कैलाली

    ५७
    तुइन
    बाध्यता हाम्रो
    नदी तर्नु पर्दा !
    ✍️ रमेश प्रभात, चितवन

    ५८
    जहाँ
    इच्छा त्यहाँ
    उपाए अवश्य हुन्छ !
    ✍️ ताेयानाथ सुवेदी, काठमाडौँ

    ५९
    यात्रा
    तुइनको लप्का
    नबनोस् मृत्युको झट्का !
    ✍️ दीपकराज गौतम, कैलाली

    ६०
    जिन्दगीमा
    खत्रै खत्रा
    पहाडी तुइनको यात्रा !
    ✍️ बालकृष्ण खनाल, टीकापुर, कैलाली

    ६१
    वारपार
    तुइनकाे भर
    डर्दैन हिम्मती रतीभर !
    ✍️ टीकाराम जोशी, कैलाली

    ६२
    बल्छीमा
    परेको माछा
    तुइनको विवश जिन्दगी !
    ✍️ माधव पोखरेल ‘गोज्याङ्ग्रे’, ताप्लेजुङ

    ६३
    राज्य
    असमान सन्धि
    कठिनाइ गरिवी दासता !
    ✍️ विक्रम शिशिर, कोहलपुर, बाँके

    ६४
    दु:खमा
    तुइनकाे यात्रा
    जाेखिमपूर्ण छ जीवन !
    ✍️ लता पाैडेल, इलाम

    ६५
    तुइन
    नेपालको भूगोल
    गर्छाैं कुरा स्विजरल्याण्डकाे !
    ✍️ खड्गबहादुर गुरुङ, कैलाली

    ६६
    यात्रा
    पानी माथिको
    भयो तुइनको साहारा !
    ✍️ गुलाब कान्छो, बाजुरा

    ६७
    तुइन
    सीमा सुरक्षा
    धरापमा जीवन यात्रा !
    ✍️ विजयराज सिंह, कैलाली

    ६८
    तुइन
    मच्चियो मच्चियो
    आफै भुइँमा थच्चियो !
    ✍️ कमला देवकोटा, पाल्पा

    ६९
    झसङ्ग
    हटेेन अझैँ
    तुइन यात्राको प्रसङ्ग !
    ✍️ खगेन्द्र बस्याल, रुपन्देही

    ७०
    विवसता
    उकाली ओराली
    तुइनको कठिन यात्रा !
    ✍️ अनुपमा आकृति, कैलाली

    ७१
    तुइन
    बैकल्पिक मार्ग
    जीवन बाध्यात्मक परिस्थिति
    ✍️ विष्णुदीप सङ्कल्प, विराटनगर

    ७२
    संघर्ष
    पीडा हर्ष
    जिन्दगी दैवी स्पर्श !
    ✍️ बादल गुरुङ वियोगी, चिचिला-१, बर्खे, संखुवासभा

    ७३
    दुःखान्त
    दुर्गमको जीवन
    शासकको कुरुप दृश्य !
    ✍️ केशब न्यौपाने, नुवाकोट

    ७४
    खोला
    तुइनको यात्रा
    जीवन एक जात्रा !
    ✍️ हिमाल अम्मै, घोडाघोडी नगरपालिका-१०, पहलमानपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक अभ्यास शृङ्खलाको १० औ भाग सम्पन्न, ७४ जना उदकयात्रीहरूको सहभागीता

    ट्राफिक प्रहरी शिर्षकमा लेखिएका १६ जना टुक्काकारका उत्कृष्ट टुक्काहरू

  • १६ श्रावण २०७८, शनिबार ०७:१७ मा प्रकाशित
  • नेपाली काव्य विधा अन्तर्गत लघुतम विधाहरु मध्ये टुक्का कविता पनि एक हो । जसको प्रवर्तकका रूपमा साहित्यकार ताराप्रसाद चापागाईं रहनुभएको छ ।

    उहाँका अनुसार टुक्का दुई हरफको कविता भएको, जसको पहिलोलाई आद्य पङ्क्ति र दाेस्रोलाई अन्त्य पङ्क्ति वा अन्त्य हरफ भनिन्छ । दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्ने र अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म राख्न सकिने हुन्छ ।

    टुक्का कविताको उन्नयन र प्रवर्धनका लागि टुक्का साहित्य समाज गठन गरिएको छ । जसको अध्यक्षमा स्वयं टुक्का प्रवर्तक चापागाईं रहनुभएको छ । साथै  टुक्का साहित्य समाजले विभिन्न अवसर पारेर टुक्का सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको छ । जसमध्ये नियमित टुक्का अभ्यास कार्यक्रम पनि एक हो ।

    टुक्का कविताकाे संरचनात्मक स्वरुप/ आधारभूत सिद्धान्त निम्न अनुसार रहेका छन्।
    (१) टुक्का नेपाली माटोमा हुर्किएको सरल एवं मौलिक कविता विधा हो । दुई हरफमध्ये पहिलोलाई आद्य पङ्क्ति र दाेस्रोलाई अन्त्य पङ्क्ति वा अन्त्य हरफ भनिन्छ । दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म (जसले परिपूर्णता देओस्) राख्न सकिन्छ। टुक्काकाे दुवै हरफकाे अन्तमा तुक (अन्त्यानुप्रास) मिलेकाे हुनु पर्ने छ । शब्दानुप्रास तथा एकाक्षरी तुकान्त मान्य हुने छैन साथै अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ ।
    (२) टुक्काको संरचना
          (क) बाहिरी संरचना अन्तर्गत टुक्कामा जम्मा दुई हरफ हुन्छन् । यसका दुई हरफमध्ये पहिलोलाई आद्य पङ्क्ति र दाेस्रोलाई अन्त्य पङ्क्ति वा अन्त्य हरफ भनिन्छ । दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म (जसले परिपूर्णता देओस्) राख्न सकिन्छ। टुक्काकाे दुवै हरफकाे अन्तमा तुक (अन्त्यानुप्रास) मिलेकाे हुनु पर्ने छ । शब्दानुप्रास तथा एकाक्षरी तुकान्त मान्य हुने छैन साथै अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ ।
    (ख) टुक्काकाे भित्री संरचना अन्तर्गत टुक्का आफैँमा अर्थपूर्ण हुनुपर्ने । कविताका गहना अलङ्कार, छन्द, विम्ब, प्रतीक, शब्द शक्तिका साथै विविध प्रयोगपूर्ण कलात्मक सिर्जना हुनुपर्ने ।
    (३) टुक्कालाई मुख्य स्वच्छन्द टुक्का र छन्द टुक्का गरी दुई भागमा वर्गिकरण गरिएकाे छ ।
    (४) शब्दको पूर्णताभन्दा पनि भावको सघनता, तीव्रता र प्रभावकारी एवम् कलात्मक रचना हुनुपर्छ । दुवै हरफमा परस्पर सम्बन्ध प्रगाढ हुनुपर्ने ।
    (५) पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रो हरफमा समर्थनसँगै समापन गरेको हुनुपर्ने । साथै दोस्रो हरफमा मूलभाव उत्कर्ष वा परिपाकमा पुगेको हुनुपर्ने ।
    (६) टुक्का सृजना गर्ने व्यक्तिलाई टुक्काकार भनिन्छ ।
    (७) सकेसम्म गहकिला, थोरै शब्दमा वजनदार, रसिलो, कसिलो र चोटिलो शब्दावलीको प्रयोग गरी लेख्न सकिने तर समान अर्थ दिने एउटै शब्दलाई पटक पटक दाेहाेर्याउनु उचित मानिदैन।
    (८) भाषिक शुद्धतालाई ध्यान दिनुपर्ने । नेपाली भाषामा लेखिएकाे टुक्कामा सकेसम्म ठेट नेपाली शब्दहरुकाे प्रयाेग गरिन्छ । टुक्का नेपाली माैलिक साहित्य विधा भएता पनि याे जुनसुकै भाषामा पनि लेख्न सकिन्छ ।
    (९) टुक्का जुनसुकै विषयमा पनि लेख्न सकिने तर धार्मिक, सांस्कृतिक, सामाजिक, व्यक्तिगत संस्कार तथा स्वतन्त्रतामा असर पर्ने गरी टुक्काहरू लेख्न पाइने छैन ।
    (१०) टुक्कामा अावश्यकता अनुसार अल्पविराम, पूर्ण विराम, प्रश्नवाचक, विस्मयादिबोधक आदि चिह्नहरूको प्रयोग गर्नु पर्दछ ।
    (११) टुक्काले अन्ततः वाचनबाटै पूर्णता पाउने हुँदा टुक्का कवितामा अक्षर गणना गर्दा लेखन तथा उच्चारण दुवैका आधारमा मान्य हुने तर समानता रहनुपर्ने।

    👮‍♀️👮‍♀️शीर्षक : ट्राफिक प्रहरी 👮‍♂️👮‍♂️

    @ १
    १.
    सधै खटिन्छन जनताकै लागि धुवा र घुलाे नभनी,
    कर्तव्यपरायण ट्राफिक बस्छन देशका खम्बा बनी।
    २.
    ट्राफिक नियम पालना गरे दुर्घटना धेरै टर्छन्,
    सडकमा देखिने ती जनसेवक कत्ति दुख गर्छन्।
    ३.
    पैदल यात्रु, सवारी चालक, सवारी साधनहरू,
    सुरक्षित भई चलाउन सबैले साथ थपाै अरू।
    – ताराप्रसाद चापागाईं
    धुनिबेशी न.पा.-९, धादिङ

    @ २
    १.
    धुँवा, सडकको गन्ध, धुलोसँग खेल्छन्,
    त्यहीँ कठै ठगलाई दिनदिनै झेल्छन् ।
    २.
    कति गाह्रो बनाएको नियम पालना गर्न,
    बसेका होइनन् ट्राफिक यतिकै घाँस चर्न।
    ३.
    जोखिम घटोस् भन्ने चाहना हुन्छ,
    ट्राफिकको कुरा खै कसले सुन्छ।
    ४.
    न बस्ने ठाउँ हुन्छ र दिनभर उभिएरै जान्छ,
    ट्राफिकलाई सलाम छ तिम्रो धैर्य आत्मले मान्छ।
    – पौडेल विमुन्स, पोखरा

    @ ३
    १.
    ट्राफिक प्रहरी सधैं बन्नुपर्छ कानुनकाे रक्षक,
    बन्नुहुन्न कसैले नी यहाँ नीती नियमकाे भक्षक ।
    २.
    ट्राफिक प्रहरीले निस्वार्थी भई  काम गर्नुपर्छ,
    सेवाभावले ती जनताको मन सधैं भर्नुपर्छ ।
    ३.
    कतिले त निस्वार्थी भावले सेवा दिन्छन्
    धेरैले मनभित्र लाेभ र पाप लिन्छन् ।
    ४.
    ट्राफिक प्रहरीहरू रातदिन खट्छन्,
    जनताकाे हितमा नै  देशैभरि डट्छन् ।
    —लक्ष्मी घिमिरे, दहाल,( दमक -७,झापा )

    @ ४
    १.
    सवारी साधनको नियामक,
    बाटोघाटो चौबाटोको पालक।
    २.
    धुलो धुँवा बेपर्वाह कर्तव्यमा निष्ठा,
    रातदिन जोगाउँछन् देशको प्रतिष्ठा।
    ३.
    दत्तचित्त  भएर   सम्मान  गरौँ   जहिले,
    आवश्यक कुरा सोधेमा सघाऔँ पहिले।
    ४.
    एउटा राम्रो नारा छ क्यारे ‘प्रहरी मेरो साथी’,
    सडक र यात्रु सुरक्षानीति बोक्छन् शिरमाथि।
    – म्यामराज राई, भाेजपुर,
    हाल जापान

    @ ५
    १.
    दिन र रात नभनी गरिरहन्छौ काम,
    राष्ट्र सेवक ट्राफिकहरूलाई सलाम ।
    २.
    तन, धनको क्षतिमा कसैले नपरौं,
    ट्राफिक नियम सबैले पालना गरौँ ।
    ३.
    नियम मिच्नेलाई जरिवाना भराउने,
    ट्राफिक ज्यूले चालक सजग गराउने ।
    ४.
    बिस्तारै हिडे बाटामा,
    छिटो  कुदाए घाटामा ।
    – रिजाल विनोद, बेलबारी २ मोरङ

    @ ६
    १.
    लाइसेन्स नहुँदा भागी भागी गाडी चलाउने,
    ट्राफिक प्रहरीले जरिवाना सक्दो चढाउने।
    २.
    ट्राफिक नियन्त्रणलाई  उलङ्घन गर्छ जब,
    यस्तो हुँदा नै धेरै दुर्घटना बढ्दै जान्छ तब।
    ३.
    बेइमान लाइसेन्स नलिई चालक हुन्न जन,
    ट्राफिक नियमको पालना गर्न चाहिँ छैन मन
    ४.
    ट्राफिक  नियमको राम्रो पालना गर्छन् विदेशमा,
    त्यहीँ मान्छे लापरवाही गरेर हिँड्छन् स्वदेशमा ।
    —भगवती साधिका, दमक -५ झापा

    @ ७
    १.
    सामान्य हेलचेक्र्याइँले ठूलो घटना घट्ने गर्छ,
    त्यही रोक्न ट्राफिक प्रहरी दिन-रात लागी पर्छ।
    २.
    ट्राफिक प्रहरीको कथन अनि नियमहरू घोकी,
    हिडौँ बाँचेर अरूलाई पनि बचाउँको मन्त्र बोकी।
    ३.
    कर्तव्य निष्ठ ट्राफिक प्रहरी दिन-रात काम गर्छन् ,
    यात्री अनि सवारी साधनको रक्षार्थ नै अघि सर्छन।
    ४.
    बिस्तारै दगुरे मात्र गन्तब्य पुगिन्छ नबिर्सौं कसैले,
    अहोरात्र खटने सेवकको सहयोग गरौँ सबैले।
    – अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग।

    @ ८
    १.
    घामपानी भन्नुछैन जोखिम मोल्दै काम,
    जिम्मेवार सेवक ट्राफिकलाई सलाम ।
    २.
    दुर्घटना न्यूनीकरण गर्नका खातिर,
    हरदम तयार हुन्छन् पार्दै ठाडो शिर ।
    ३.
    ट्राफिक नियम हुदैन उलंघन गर्न,
    अटेर गरे भन्छन् छिट्टै जरिवाना भर्न ।
    ४.
    चालकलाई नैतिकता पाठ सिकाउने,
    ट्राफिक हो यात्रुलाई सजग बनाउने ।
    – वसन्त अनुभव
    घोराही उपमहानगरपालिका – १४, दाङ

    @ ९
    १.
    आफु सक्षम भएर जानेको काममा भर परौं,
    सडकको यात्रामा ट्राफिकलाई सहयोग गरौँ।
    २.
    बाटो काट्दा खेरि अथवा रोकिदा खेरि होओस,
    ट्राफिक नियम पालान गरी हिँड्नुस् सयौं कोस।
    ३.
    चालक भए लाईसेन्सलाई साथमा राख्नु पर्छ
    कहिलेकाहीँ दुर्घटनामा बढो सहयोग गर्छ।
    ४.
    कहिले पनि यात्रामा नगरौ है तल माथि,
    मद्दत चाहिँ लिनु पर्छ ट्राफिक हाम्रो साथी।
    – पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    @ १०
    १•
    सेतो टोपी नीलो पाइन्ट नीलो कमिज,
    मिलाएर लगाएका छन् नि हर चीज।
    २•
    दोबाटोमा बसेर सिठ्ठी फुकेका,
    कर्तव्य पालनामा छैनन् चुकेका।
    ३•
    धूलो धुवाॅ घाम पानी केही नभनी,
    खटिएका देखिन्छन् ती रातमा पनि।
    ४•
    कहाॅ होला घर अनि बस्ने कुन ठाउॅ,
    जाम परे मिलाउने ट्राफिक हो नाउॅ।
    – घनश्याम पौडेल, सृजना चोक
    पोखरा

    @ ११
    १.
    हामी मानव भएर दानव  भन्छन् कसरी,
    दुर्घटनामा कति पर्छन् खुलेआम यसरी।
    २.
    ट्राफिक प्रहरीहरूको नियम कानुन  मानिराखौँ,
    बिना लाईसेन्स हुन्न सवारी चलाउन जानिराखौँ।
    ३.
    बिचबाटोमा हेर्नू जाम छ वरिपरी,
    ट्राफिक आउँछ सवधान घरी-घरी।
    ४.
    देश र जनताकै लागि ज्यान जोखिम राखेर,
    गर्छन् संघर्ष देशमा बगेको पसिना चाखेर।
    —कमला पाण्डे पराजुली, झापा

    @ १२
    १.
    ट्राफिक भन्ने जागिर कति गाह्रो होला,
    न पानी भन्न पाइयो न त बाढी खोला ।
    २.
    नमस्कार गर्दै बाटो कुर्नुपर्ने ट्राफिक बिचरा,
    लाइसेन्स छैन सवारी चलाउने कस्ता छिचरा ।
    ३.
    जागिर खान साह्रै गाह्रो ट्राफिक पदको,
    सबै मिली सम्मान गरौँ कठिन कदको ।
    ४.
    हामीलाई हल्का लाग्ने जागिर तर काम गर्न गाह्रो,
    ट्राफिक भई काम गरे थाहा हुन्छ यो छ कति साह्रो।
    — राजेशराज गड्तौला, रतुवामाई-१०, मोरंग
    हाल- प्रवास

    @ १३
    १.
    आँधी-हुरी के हो उसले जान्दैन,
    भोक-तिर्खा के हो  त्यो पनि मान्दैन।
    २.
    जनताको ज्यान बचाउन धेरै जोखिम उठाउने,
    दिनभरि नै सीटी फुकी आफ्नो गन्तव्यमा जुटाउने।
    ३.
    परिवारसँग बस्न पाउँदैन ऊ कहिले,
    बाटोमा बसी यात्रीको सुरक्षा गर्छ जहिले।
    ४.
    ट्राफिक लाइटको नियम पालन गरौं,
    समयमा नै सुरक्षालाई झोलीमा भरौ।
    — प्रशान्ति राई, सामसिङ्ग खासमहल कालेबुङ

    @ १४
    १.
    सडकको नियम कानून जान्ने कसरी ,
    सिठ्ठी बजाई अाैंल्याउँछन् ट्राफिक प्रहरी ।
    २.
    सवारीकाे अावागमनलाई चुस्त गराउँछन् ,
    देखेपछि ट्राफिक पुलिस चालक डराउँछन् ।
    ३.
    सडकको कामकाज सडकमै बास
    ट्राफिककाे राेजगारी यहि भयाे खास ।
    ४.
    भवितब्य कर्तव्यमा घटना घट्यो भने
    सत्य र तथ्य निर्क्याैलमा सहभागी बने ।
    – रामकृष्ण दुवाडी, पाेखरा

    @ १५
    १.
    कसैले देशको लागि लडेर मरे,
    आपत बिपतमा नि अगाडि सरे।
    २.
    जीवन सबैको सङ्घर्षमय भयो,
    सङ्घर्ष गरेरै हाम्रो जिन्दगी गयो।
    ३.
    देशको बनावट पनि उस्तै हुँदा,
    कतै पहिरो त कतै बाढीले छुँदा।
    ४.
    बचाउन हाम्फाल्छन् ती वीर,
    असाहायको लागि आखिर।
    —सुरेशकुमार पान्डे , दाङ घोराही १८,

    @१६
    १.
    नेताहरूले गर्दा नै  हाम्रो देश बिग्रेर गयो,
    यिनैका आसेपासे भन्दा अरू नबसे नि भयो ।
    २.
    अहिले यिनीहरूको मुख हेर्न मन लाग्दैन,
    राजनीति शब्द सुन्ने जाँगर पनि त जाग्दैन ।
    — दुर्गा भट्टराई, बिराटनगर

    🌹 जय टुक्का ! जय साहित्य !! 🌹

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ट्राफिक प्रहरी शिर्षकमा लेखिएका १६ जना टुक्काकारका उत्कृष्ट टुक्काहरू

    नेपालमा कोरोनाबाट संक्रमित हुने बालबालिकाको संख्या ५४ हजार नाघ्यो

  • १४ श्रावण २०७८, बिहीबार १७:२७ मा प्रकाशित
  • १४ साउन, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने बालबालिकाको संख्या ५४ हजार नाघेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायका अनुसार हालसम्म ५४ हजार ४६० जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । यो तथ्यांक साउन १३ गतेसम्मको हो ।
    पहिलो लहरमा २१ हजार ५२३ जना बालबालिका संक्रमित हुँदा दोस्रो लहरमा ३२ हजार ९३७ बालबालिका संक्रमित भएका छन् । डा. उपाध्यायका अनुसार दोस्रो लहरमा संक्रमित भएका बालबालिकामध्ये २९ हजार ७७७ जना निको भएका छन् ।
    कोरोना संक्रमणबाट पहिलो लहरमा ३८ र दोस्रो लहरमा ४३ जना गरी कुल ८१ जना बालबालिकाको मृत्यु भएको उनले बताए ।

    Posted in ताजा अपडेटLeave a Comment on नेपालमा कोरोनाबाट संक्रमित हुने बालबालिकाको संख्या ५४ हजार नाघ्यो

    लघुकथा – भर्जिन

  • १४ श्रावण २०७८, बिहीबार ००:३३ मा प्रकाशित
  • ✍️ वसन्त अनुभव

    शहर पढेर आएको छोरालाई जति बिहे गर भन्दापनि नमानेपछि दिक्क भएका उमेशका बुवाआमाले मलाई देख्ने बित्तिकै गुनासो पोखे ।

    “लौन ए हर्के ! तेरो साथीलाई संझा । अब पढाई पनि सकियो, हामी पनि डाडामाथिको जून जस्तै भइसक्यौ । आँखामा पानी छदै छोराको घर बसेको हेरेर सन्तोषले जाऔंला भनेको । बिहे गर्न पटक्कै मान्दैन् ।”

    “बुवाआमाले भनेको कुरो सहि लाग्यो मलाई । आखिर त किन मान्दैनस् उहाँहरूको कुरा ?” मैले उमेशलाई एकान्तमा संझाउँदै भने ।

    “अब तेत्रो पढेर गर्छु नि, गाउँका पाखे केटीलाई बिहे ।” उमेशले चिढिदै भन्यो ।

    “ल ठिक छ, तेरै कुरो सहि । शहर पढ्दा सबितासँग तेरो निकै हिमचिम थियो, त्यसैलाई बिहे गर्न त ।”

    “अब कहिँ नपाएर त्यो चरित्रहीन केटीलाई जीवनसाथी बनाउछु ।”

    “त्यसोभए कविता या जुना या विपना मध्ये कुनै एउटीसँग बिहे गर, आखिर सबैजना तसँग हुरुक्क हुन्थे ।”

    “कस्तो ठिस कुरा गर्छस यार, म त्यत्तिकै भन्छु होला त । ती सबैसँग मैले रात बिताएको छु ।”

    “ह्या .. ती केटीहरूको कुरा नगर् । सबै चरित्रहीन हुन् । मलाई भर्जिन चाहिन्छ ।”

    “तलाई सबै चरित्रहीन हुन् भन्ने कसरी थाहा भो भन् त । त्यत्तिकै अरूको चरीत्रमाथि औंला उठाउन पाइन्छ ?”

    “कस्तो ठिस कुरा गर्छस यार, म त्यत्तिकै भन्छु होला त । ती सबैसँग मैले रात बिताएको छु ।”

    “वाह साथी वाह ! ती केटीहरूसँग रात विताउने त चाहिँ चरित्रवान, अनि ती सबै चरित्रहीन ? अझ तलाई बिहे गर्न भर्जिन केटी चाहियो ? यत्रो पढेलेखेको विद्वान भनाउँदोले त्यस्तो घृणित कार्य गर्दा र अहिले तुच्छ बोल्दा अलिकति लाजसरम लागेन ?”

    घोराही उपमहानगरपालिका १४, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on लघुकथा – भर्जिन

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P