एएफसी कप २०२१ को प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिस एससीलाई पराजित गरेको छ।
बुधबार दशरथ रंगशालामा भएको खेलमा आर्मीले ५-१ गोल गर्दै विजय हासिल गरेको हो। आर्मीको तर्फबाट सन्तोष तामाङ, नवयुग श्रेष्ठ, टंक बस्नेत, सुदिल राईले गोल गरेका हुन्।
श्रीलंकालाई पराजित गरेसँगै अब आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरुसँग खेल्नेछ। सो खेल भने भारतमा हुनेछ।
दोस्रो चरणमा पनि जित हात परे आर्मीले प्ले अफमा प्रतिस्पर्धा गर्नेछ। प्लेअफमा दोस्रो चरणमा जित हात पार्ने दुई टिमबीच प्रतिस्पर्धा हुनेछ।
प्लेअफमा जित हात पर्ने टिम समूह चरणमा प्रवेश गर्नेछ।
दक्षिण एसियाको समूह डीमा भारतको एट्लेटिको मोहन बगान, बंगलादेशको बशुन्धरा किंग्स र माल्दिभ्सको माजिया छन्। समूहका लागि चौथो टिम प्लेअफबाट छनोट हुनेछ।
दक्षिण एसियाको समूहको खेल माल्दिभ्सको मालेमा आयोजना हुनेछ।
१७ चैत, काठमाडौं । नेपालले सोमबार घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशलाई २–१ ले पराजित गर्दै थ्री नेसन्स कप फुटबलको उपाधि जित्यो । ८ खेलको गोलविहीन यात्रा टुङ्ग्याएको नेपालले १९८४ को पहिलो सागपछि घरेलु मैदानमा पहिलो पटक उपाधि जित्यो । नेपालका सफल कप्तान विराज महर्जनले यही खेल खेलेपछि सन्यासको घोषणा गरे । यो सबै खेलको एक पाटो रह्यो । सोमबारको खेलमा अर्को पाटो पनि थियो । त्यो हो, खेल अवधिभर दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति र खेलाडीहरुले लगाएको ‘केपी बा, वी लभ यू’ को नारा । ‘केपी बा, वी लभ यू’ मन्त्रीहरुसहित रंगशाला पुगेका प्रधानमन्त्री ओलीले रेफ्रीलाई म्याच बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरे । भीआईपी कक्षमा बसेर खेल हेरेका उनले नेपालले गोल गर्दा खुशी मनाए । खेल सकिएपछि पुरस्कार वितरण गरे । सन्यास लिएका खेलाडी विराजलाई ब्लेजर लगाएर बिदाइ गरे । अन्तिममा मैदानमै गएर नेपाली खेलाडीसँग बसेर सामूहिक फोटो खिचाए । फोटो खिचाउँदै गर्दा नेपाली टिमका सदस्यहरुले ‘केपी बा, वी लभ यू’ को नारा लगाए, जुन त्यहाँ उपस्थित धेरैका लागि अनपेक्षित थियो । साबिकको नेकपा दुई समूहमा विभाजित भएको बेला प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूहका कार्यकर्ताले ‘केपी बा, वी लभ यू’ को नारा लगाउन थालेका थिए । ओली जुन जुन कार्यक्रममा जान्थे, यही नारा लाग्थ्यो । तर मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीकै सदस्यहरुले पनि यो नारा लगाएका छन् । केही खेलाडीले त मेडल थाप्न प्यारापिटमा जाँदा पनि ‘केपी बा, वी लभ यू’ भनेको पाइएको छ । धेरै खेलाडी केपी ओलीको फ्यान रहेको र आफूलाई पनि मन परेर त्यसो भनेको राष्ट्रिय टिमका विंगर सुजल श्रेष्ठले बताए । मैदानमै पुगेपछि यो नारा अझै चर्को स्वरमा लाग्यो । कसले सुरु गर्यो भन्ने चाहिँ यकीन छैन । प्राप्त भिडियो फुटेजहरुमा रन्जित धिमाल, विशाल राई लगायतका खेलाडीले सुरुमा ‘केपी बा, वी लभ यू’ भनेको देखिन्छ । नारा लगाउन सहायक प्रशिक्षक राजेश मानन्धरले पनि अगुवाइ गरेको देखिन्छ । सही कि गलत ? राष्ट्रिय टिमका खेलाडीहरुले ‘केपी बा, वी लभ यू’ भनेको भिडियो सामाजिक सञ्जाल भाइरल बनेको छ । कतिपयले यसको आलोचना समेत गरेका छन् । यसबारे राष्ट्रिय टिमका खेलाडीहरु बोल्न तयार छैनन् । कतिपयले ‘मैले त हो मा हो मिलाएको हुँ । सही वा गलत थाहा भएन’ भनेका छन् । ‘प्रधानमन्त्री आफैं मैदानमा आएर टिमलाई हौसला दिएपछि सम्मानस्वरुप त्यसो भनेको जस्तो लाग्छ । अब नारा लगाउने भनेर सल्लाह गरेर लगाएको होइन’ नाम उल्लेख नगर्ने शर्तमा एक खेलाडीले भने । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले यो विषय अनुशासन कमिटीभन्दा म्याच कमिसनरसँग जोडिने भन्दै प्रतिक्रिया नदिने बताए । फाइनल खेलका म्याच कमिसनर गोकुल थापा थिए । उनले भने मैदानबाहिरको विषय आफूलाई नसोध्न आग्रह गरे । ‘९० मिनेटभित्र कुनै जातजाति, भाषा लिङ्ग वा राजनीतिक विषयमा बोल्न पाइँदैन’ उनले भने, ‘त्यो खेल सकिएपछि भएको होला । यसबारे मलाई धेरै थाहा छैन ।’ एक खेल विश्लेषक रंगशालामा सोमबार जे भयो, त्यो गलत भएको मान्छन् । ‘राजनीतिक गन्ध देखिए जस्तो भयो । यसलाई सही मान्न सकिन्न’ उनले भने ।
१६ चैत, काठमाडौं । नेपालको सिनियर फुटबल टिमले १८ महिना लामो गोलको खडेरी तोड्दै थ्री नेसन्स कपको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालमा भएको फाइनलमा चिर परिचित प्रतिस्पर्धी बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालको लागि सन्जोग राई र विशाल राईले गोल गरे । विशालको गोलका लागि सन्जोगले असिस्ट गरेका थिए । समूह चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग गोलरहीत बराबरी खेलेको थियो । सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा चईनिज ताइपेइ लाई हराएको नेपालले त्यससता गोल गर्न सकेको थिएन । सन्जोगको गोलसंगै नेपालले ८ खेलको खडेरी तोड्यो । च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर पुस्कार पाएको छ भने बंगलादेशले ३ हजार डलरमा चित्त बुझायो । फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत दशरथ रंगशालमा उपस्थित थिए ।
आज एक कार्यक्रमका बिच जनता समाजबादी पार्टी का नेता शिव पटेल ले आज बहुदरमाई नगरपालिका का क्रिकेट खेलाडीहरु लाई पोसाक एवम् खेल सामग्री बितरण गर्नु भएको छ।
नेता पटेल का बुवा स्व.रामबहादुर राउत कुर्मी को नाममा स्थापित गरिएको “रामबहादुर राउत फाउन्डेसन” मार्फत सो सामग्री बितरण गरिएको क्रिकेट टिम का कप्तान रामेश्वर पटेल ले बताउनु भयो।
सामाग्री बितरण पश्चात खेलाडीहरु लाई सम्बोधन गर्दै नेता पटेल ले बहुदरामाई नगरपालिका क्षेत्र भित्र रहेका खेलाडी हरुको मनोबल बढाउन आफू सदैब सहयोग गर्न तत्पर रहेको बताउदै खेलाडीहरु लाई सभ्य र भब्य रुपले प्रतियोगिता मा प्रदर्शन गर्न शुभकामना सहित जित हासिल गर्न आग्रह गर्नु भयो ।
देवेन्द्र बस्न्यातले दोलखामा निर्माणाधीन विद्यालय भवन र डडेल्धुराको पुस्तकालयका लागि रकम संकलन गर्न दोलखादेखि डडेलधुरासम्म एकल साइकल यात्रा गर्ने भएका छन्।
भुकम्पले क्षतिग्रस्त दोलखाको राजकुलेश्वर विद्यालय भवन र डडेल्धुराको एक पुस्तकालय भवन निर्माणका लागि रकम संकलन गर्ने उद्देश्यले हेल्प नेपाल नेटवर्कको व्यवस्थापनमा साइकलयात्री बस्न्यातले दोलखादेखि दिपायलसम्म करिब १२ सय किलोमिटर एकल साइकल यात्रा गर्न लागेका हुन्।
मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर एक दशकभन्दा लामो समयदेखि साइकल यात्रामार्फत पर्यटन प्रवर्धन गर्दै आएका बस्न्यातले आफ्नो नयाँ कार्यक्रमका बारेमा जानकारी गराएका हुन्।
आफू पर्यटन प्रवर्धनका लागि मुलुकका विभिन्न भागमा साइकल कुदाएर गए पनि पहिलो पटक शिक्षाका लागि साइकलयात्रा गर्न लागेको जानकारी दिए। थोरै भए पनि आर्थिक सहायता संकलन हुनेमा विश्वस्त रहेका बस्न्यातले आफूले यसलाई एउटा सुनौलो अवसरका रुपमा लिएको बताए।
५० वर्ष पुगेका बस्नेतले यस्ता अभियानहरू विदेशमा धेरै हुने गरे पनि नेपालमा भने पहिलोपटक हुन लागेको र आफू त्यसको साझेदार बन्न भएकोमा खुसी व्यक्त गरे।
पत्रकार सम्मेलनमा बस्न्यातले आफ्नो अभियान ‘एक किलोमिटर एक रुपैयाँ’ रहेको जानकारी दिंदै सहयोग गर्न चाहने व्यक्ति, समूह तथा संस्थालाई स्वः स्फुर्त सहयोग गरेर विद्यालय भवन र पुस्तकालय निर्माणमा सहयोग पुर्याउन अपिल गरेका छन्।पत्रकार सम्मेलनमा नेटवर्ककी सचिव तथा स्वास्थ्य संयोजक लता घिमिरेले संस्थाले मूलतः शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको र विपदका बेला अल्पकालीन सहयोग गरिरहेको जानकारी दिइन्।
उनले यो अभियानबाट संकलन हुने रकम दोलखामा निर्माणाधीन राजकुलेश्वर विद्यालय भवन र भक्त बीबी फर ह्युमेनिटीको संयोजनमा डडेल्धुरामा स्थापना हुने बहादुर खडक स्मृति पुस्तकालयका लागि खर्च गरिने जानकारी दिइन्।
सहयोग गर्न चाहनेले मोबाइल एप वा हेल्प नेपाल नेटवर्कको बैंक खातामा रकम सहयोग गर्न सक्ने घिमिरेले जानकारी दिइन्। मोबाइल एप खल्तीको बजार ट्याबमा गएर पेडल फर एजुकेशन क्लिक गरेर रकम दिन सकिने उनले बताइन्। त्यसै गरी हेल्प नेपाल नेटवर्कको नाममा रहेको सानीमा बैंकको खाता नम्बर ००१०१००१००००७९१ मा जम्मा गर्नसकिने जानकारी दिइन्।
उनले यो अभियानका क्रममा साइकल यात्री बस्नेतले कुनै रकम नलिएको र साइकलको मर्मत, खाना बस्ने लगायतका खर्च स्वयंले व्यहोर्ने पनि जानकारी दिइन्।
सन् २००८ देखि निरन्तर साइकल अभियान चलाइरहनुभएका बस्न्यात विश्व साइकलयात्री पुश्कर साहसँग मिलेर विभिन्न प्रतियोगिता, पर्यटन प्रबर्धन लगायतका काम गर्दै आएका छन्।
फागुन २८ गते काठमाडौंबाट संस्कृतिविद् शताब्दिपुरुष सत्यमोहन जोशी तथा संस्थाका सल्लाहकार एवं अर्थमन्त्री तथा साहित्यकार शंकर कोइराला, विजय राजभण्डारीले बस्न्यातलाई विदाई गर्नेछन्।
दोलखाबाट धुलिखेलहुँदै काठमाडौं, हेटौडा, चितवन, वुटवल, लालमटिया, कोहलपुर, चिसापानी, धनगढी, डडेलधुराहुँदै दिपायल पुगेर चैत १३ गते अभियान समापन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रमका लागि ठाउँ ठाउँमा हेल्प नेपालले परिचयात्मक कार्यक्रमसमेत राखेको छ।
दुई दशकअघि ‘एक महिना एक डलर’ सहयोग अभियानबाट सुरु भएको नेटवर्कले अहिलेसम्म ५० भन्दा बढी विद्यालय भवन बनाइसकेको छ भने त्यतिकै संख्यामा पुस्तकालय तथा पछिल्ला दिनमा इ–लाइब्रेरीहरु पनि संचालनमा ल्याएको अध्यक्ष अरूणसिंह बस्न्यातले जानकारी दिए।
हेल्प नेपाल नेटवर्कले नै निर्माण गरेको राजकुलेश्वर विद्यालय भवन २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भएपछि पुनःनिर्माण भैरहेको र हालसम्म ३ करोड ७० लाख रुपैयाँ खर्च भएको, अनुमानित लागत ६ करोड रुपियाँ रहेको पनि अध्यक्ष बस्न्यातले जानकारी दिए।
यसअघि नेपथ्यले कन्सर्ट पनि यसका लागि रकम उठाएको थियो।
फागुन, काठमाडौं । काठमाडौं मेयर्स कपमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । शनिबारको खेलमा खेलाडीले उत्कृष्ट ब्याटिङ गरेपछि एपीएफले आर्मीलाई १ विकेटले पराजित गरेको हो । आर्मीले दिएको २३६ रनको लक्ष्य एपीएफले ४९.४ ओभर खेल्दै ९ विकेट गुमाएर पूरा गरेको हो । एपीएफको जितमा सुमित महर्जन, वसन्त रेग्मी र अमर सिंह रौटेलाले उत्कृष्ट ब्याटिङ गरे । सुमितले ६० रन बनाए । शानदार जितपछि एपीएफले गत माघमा भएको प्रधानमन्त्री कप फाइनलमा व्यहोरेको हारको बदलासमेत लिएको छ । अन्तिम ओभरमा एपीएफलाई जितका लागि ७ रन आवश्यक थियो र १ विकेट मात्र बाँकी थियो । आर्मीका शाहाब आलमलक पहिलो बलमा एपीएफका अभिनाशले रन जोड्न सकेनन् । तर दोस्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जित नजिक पु¥याए । तेस्रो बल डट खेलेका अभिनाशले चौथो बलमा सिंगल रन लिँदै जित पक्का गरेका थिए । अन्तिम ओभरमा मैदान प्रवेश गरेका अभिनाशले ४ बल खेल्दै अविजित ७ रन बनाए । कमल सिंह ऐरी ४ रनमा अविजित रहे । एपीएफको सुरुवात राम्रो हुन सकेन । १६ रन बनाउँदा एपीएफले सुरुवाती ४ विकेट गुमाएको थियो । ओपनर सुवास खकुरेल ४, कप्तान शरद भेषवाकर , आसिफ शेख १२ र सन्दीप जोरा शून्यमा आउट भएपछि एपीएफको इनिङ्स सुरुमै धर्मराएको थियो । तर पाँचौ विकेटका लागि शंकर राना र सुमित महर्जनले ५२ रनको साझेदारी गरे । शंकरले ४३ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३३ रन जोडे । त्यसपछि भुवन कार्की १० रन बनाएर आउट भएपछि सातौं विकेटका लागि सुमित र वसन्त रेग्मीले ७१ रनको साझेदारी गरे । सुमितले ७८ बल खेल्दै ८ चौका मद्दतमा ६० रन बनाए । सुमित आउट भएपछि वसन्त र अमरले इनिङ्स सम्हाले । आठौं विकेटका लागि वसन्त र अमर सिंह रौटेलाले ६५ रनको साझेदारी गरे । अमर ४८औं ओभरको चौथो बलमा आउट भए । उनले ३१ बल खेल्दै १ चौका र ४ छक्का मद्दतमा ३८ रन बनाए । एपीएफको जितको लागि आधार तयार गरेका वसन्त रेग्मी ४९औं ओभरको अन्तिम बलमा आउट भए । उनी अर्धशतक बनाउन १ रनले चुके । वसन्तले ७९ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ४९ रन योगदान गरे । उनले आर्मीका लागि १० ओभरमा ३ मेडन राख्दै २१ रन खर्चेर ३ विकेट लिए । यस्तै करण केसीले २ तथा सोमपाल कामी, शाहाब आलम र लोकेश बमले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पूरै ५० ओभर खेल्दै सबै १० विकेट गुमाएर २३५ रन बनाएको हो । आर्मीका लागि रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे । रोहितले ७८ बल खेल्दै ३ चौका मद्दतमा ५६ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले ४२ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा ४२ रन बनाए । लोकेश बमले ३०, सोमपाल कामीले २८ रन जोडे । पहिलो विकेटका लागि सोमपाल र लोकेशले ६१ रनको साझेदारी गरेका थिए । चौथो विकेटका लागि रोहित र विनोदले ७१ रनको साझेदारी गरेका थिए । आर्मीले अन्तिम ओभरमा ४ विकेट गुमाएको थियो । उक्त ओभरमा एपीएफका अभिनाश बोहराले ३ विकेट लिँदा एक खेलाडी रनआउट भए । अभिनाशले १० ओभर स्पेशलमा ४१ रन खर्चेर ३ विकेट लिएका हुन् । यस्तै अमर सिंह रौटेलाले १० ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेर २ विकेट लिए । भुवन कार्कीले पनि २ विकेट लिए । कमल ऐरी र वसन्त रेग्मीले समान १ विकेट लिए ।